TITUS

तीतस


Chapter 1

1 परमेश्वरका दास र ख्रीष्ट येशूका प्रेरित पावलको तर्फबाट: परमेश्वरका चुनिएकाहरूका विश्वास भक्तितिर डोर्‍याउने त्यस सत्यको ज्ञानअनुसार छ।

2 जुन अनन्त जीवनको आशामा कहिल्यै झूट नबोल्‍‌नुहुने परमेश्वरले सनातनदेखि नै प्रतिज्ञा गर्नुभयो।

3 तर ठीक समयमा प्रचारद्वारा आफ्‍‌नो वचन प्रकट गर्नुभएको छ, जुन हाम्रा मुक्तिदाता परमेश्वरको आज्ञाअनुसार मलाई सुम्पिएको छ।

4 साझा विश्वासअनुसार मेरो आफ्‍‌नै छोरो तीतसलाई : परमेश्वर पिता र हाम्रा मुक्तिदाता प्रभु येशू ख्रीष्टबाट अनुग्रह, कृपा र शान्ति।

5 यसैकारण मैले तिमीलाई क्रेटमा छोडेँ, ताकि मैले तिमीलाई निर्देशन दिएअनुसार बाँकी रहेका कामहरू पूरा गर र प्रत्येक शहरमा एल्डरहरू नियुक्त गर।

6 यदि कुनै निर्दोष र एउटै पत्‍‌नीका पति छन् भने, विलासीपना र अधीनतामा नबस्‍‌ने भन्‍‌ने दोष नलागेका साथै ख्रीष्ट-विश्वासी छोराछोरीहरू छन् भने त्यस्ताहरूलाई नियुक्त गर।

7 किनकि परमेश्वरका कारिन्दा हुनुपर्ने हुनाले एल्डर निर्दोष हुनुपर्छ, स्वेच्छाचारी, झडङ्ग रिसाउने, मतवाला, वा धनको लोभी हुनुहुँदैन,

8 तर अतिथिसत्कार गर्ने, भलाइ रुचाउने, आत्मसंयमी, न्यायी, पवित्र, आफैलाई वशमा राख्‍‌ने हुनुपर्छ,

9 तिनलाई सिकाइएको विश्वसनीय वचनमा तिनी दह्रिलो बस्‍‌नुपर्छ, यसैले कि तिनले सत्य सिद्धान्तअनुसार शिक्षा दिनसकून् र ती कुराको खण्डन गर्नेहरूलाई झूटो साबित गर्नसकून्।

10 किनभने अधीनमा नबस्‍‌ने, खोक्रो कुरा गर्ने, धोकेबाजहरू धेरै छन्, विशेष गरी खतनेहरू यस्ता छन्।

11 तिनीहरूको मुख बन्द गर्नुपर्छ, किनकि तिनीहरूले आफ्‍‌नै फाइदाको निम्ति सारा परिवारलाई खलबल्याइ राखेका छन्, तिनीहरूले यस्तो शिक्षा दिनुहुँदैनथ्यो।

12 तिनीहरूमध्येका एक जना, तिनीहरूका आफ्‍‌नै अगमवक्ताले भनेका छन्, ‘‘क्रेटका मानिसहरू सधैँ झूट बोल्‍‌ने, दुष्ट पशुहरू र अल्छे घिचुवाहरू हुन्छन्।’’

13 यो गवाही सत्य छ। त्यसैकारण तिनीहरूलाई कडासित हप्काऊ, ताकि तिनीहरू विश्वासमा पक्का होऊन्,

14 अनि तिनीहरूले यहूदीहरूका दन्त्यकथाहरूमा र सत्यदेखि भड्केर जाने मानिसहरूका आज्ञाहरूमा ध्यान नदेऊन्।

15 शुद्ध मानिसहरूका निम्ति सबै थोक शुद्ध छन्, तर अशुद्ध र विश्वास नगर्नेहरूका निम्ति, कुनै कुरा पनि शुद्ध छैन, तिनीहरूका मन र विवेक पनि अशुद्ध भएका हुन्छन्।

16 तिनीहरू परमेश्वरलाई चिनेका छौं भनी भान त पार्छन्, तापनि तिनीहरूले आफ्‍‌ना कामद्वारा उहाँलाई इन्कार गर्दछन्। तिनीहरू घृणित र अनाज्ञाकारी हुन्छन् र कुनै पनि असल कामको निम्ति योग्यका हुँदैनन्।




2

1 तर तिमीले जे सत्य सिद्धान्त सुहाउँदो छ, त्यही मात्र सिकाऊ।

2 वृद्ध मानिसलाई संयमी, गम्भीर, समझदार, विश्वासमा पक्का, प्रेम र धैर्यमा दृढ हुन सिकाऊ।

3 यसरी नै वृद्धा स्त्रीहरू आचार-व्यवहारमा श्रद्धालु हुनुपर्छ, बदख्वाइँ नगर्ने, धेरै मद्यपान नगर्ने हुनुपर्छ भन्‍‌ने आदेश देऊ। तिनीहरूले जे असल छ त्यही सिकाऊन्।

4 तिनीहरूले तरुणी स्त्रीहरूलाई आ-आफ्‍‌ना पतिलाई प्रेम गर्न र आफ्‍‌ना छोराछोरीहरूलाई माया गर्न,

5 आत्मसंयमी र शुद्ध हुन, घरधन्दा चलाउन, दयालु हुन र आफ्‍‌ना पतिहरूको अधीनमा बस्‍‌न सिकाऊन्, यसैले कि परमेश्वरको वचनको निन्दा हुन नपाओस्।

6 यसरी नै जवान ठिटाहरूलाई बुद्धिमान्पूर्ण जीवनयापन गर्न उत्साह देऊ।

7 तिनीहरूलाई जे असल छ सो गरेर हरेक कुरामा उदाहरण देखाइदेऊ, अनि तिम्रो शिक्षामा इमानदारी, गम्भीरता

8 र कसैले निन्दा गर्न नपाउने ठीक बोली होस्, यसैले कि हाम्रा विरुद्धमा खराबी बोल्‍‌ने कुरा केही नभएकोले तिम्रा विरोधीहरू शर्ममा परून्।

9 दासहरूलाई आ-आफ्‍‌ना मालिकको आज्ञाकारी हुने अर्ती देऊ, तिनीहरूले उनीहरूको विरुद्धमा नबोली सबै कुरामा तिनीहरूलाई खुशी पारून्।

10 तिनीहरूले चोरी नगरून्, तर पूर्णरूपमा विश्वसनीय होऊन्। यसरी हरेक कुरामा तिनीहरूले हाम्रा मुक्तिदाता परमेश्वरका शिक्षाको शोभा बढाऊन्।

11 किनकि सबै मानिसको उद्धारका लागि मुक्ति ल्याउने परमेश्वरका अनुग्रह प्रत्यक्ष प्रकट भएको छ,

12 अनि यसले हामीलाई यो सिकाउँछ, भक्तिहीनता र सांसारिक अभिलाषाहरू इन्कार गरेर यस वर्तमान संसारमा हामीले आत्मसंयम, धार्मिकता र भक्तिसाथ जिउनुपर्छ।

13 साथै त्यस धन्य आशाको, हाम्रा महान् परमेश्वर र मुक्तिदाता येशू ख्रीष्टको महिमापूर्ण आगमनको बाटो हेर्दै जिउनुपर्छ।

14 हामीलाई सबै अधर्मबाट छुटकारा दिन र जे असल छ सो गर्न तयार रहने उहाँको एक जाति, उहाँकै निम्ति पवित्र बनाइनको लागि दिइहाल्‍‌नुभयो।

15 सम्पूर्ण अधिकारसित यी कुरा भन, अर्ती देऊ र हप्काऊ। कुनै मानिसले तिमीलाई तुच्छ ठान्‍‌न नपाओस्।




3

1 तिनीहरूलाई शासकहरू र अधिकारीहरूको अधीनमा रहन याद दिलाइदेऊ। तिनीहरू आज्ञाकारी र जे असल छ सो गर्न तत्पर रहनुपर्छ।

2 तिनीहरूले कसैको बदनाम नगरून्, झगडालु नहोऊन्, तर कोमल र सबै मानिसहरूलाई सबै प्रकारको नम्रता देखाउनेहरू होऊन्।

3 किनकि हामी आफै पनि एक समय मूर्ख, अनाज्ञाकारी, भ्रममा परेकाहरू, विभिन्‍‌न अभिलाषा र सुखविलासका कमाराहरू थियौं, द्वेष र डाहमा जीवन बिताउँदथ्यौं, घृणित थियौं, र एक-अर्कालाई घृणा गर्थ्यौं।

4 तर जब हाम्रा मुक्तिदाता परमेश्वरको दया र मानिसहरूप्रति प्रेम प्रकट भयो,

5 तब हामी आफैले गरेका धार्मिक कामहरूको आधारमा होइन, तर उहाँकै कृपाअनुसार नयाँ जन्मको स्‍‌नान र पवित्र आत्माको नवीकरणद्वारा हामीलाई उद्धार गर्नुभयो।

6 पवित्र आत्मालाई उहाँले हाम्रो मुक्तिदाताद्वारा हामीमाथि प्रशस्त गरी खन्याउनुभयो।

7 ताकि उहाँको अनुग्रहद्वारा धर्मी ठहरिएर अनन्त जीवनको आशाअनुसार हामी उत्तराधिकारीहरू बन्‍‌न सकौं।

8 यो विश्वसनीय वचन हो र म चाहन्छु, तिमीले निरन्तर यी कुरामा जोड देऊ कि ज-जसले परमेश्वरमा विश्वास गरेका छन्, उनीहरूले असल कामहरूमा लागिरहन ध्यान देऊन्। यी कुरा मानिसहरूका निम्ति असल र लाभदायक छन्।

9 तर मूर्खतापूर्ण वादविवाद, वंशावली, कलह र व्यवस्थासम्बन्धी झगडाहरूबाट टाढा बस, किनकि ती बेफाइदाका र व्यर्थका हुन्।

10 पहिलो र दोस्रो चेताउनीपछि विवाद ल्याउने व्यक्तिलाई इन्कार गर।

11 यो जानेर कि यस्तो मानिस कुबाटोमा लागेको हुन्छ र आफैद्वारा दोषी ठहरिँदै पाप गरिरहन्छ।

12 जब अर्तिमास वा तुखिकसलाई तिमीकहाँ पठाउँछु, तब तिमी निकोपोलिसमा मकहाँ आउनलाई भरमग्दुर चेष्टा गर किनकि त्यहीँ नै हिउँद कटाउने मैले निश्चय गरेको छु।

13 वकील जेनास र अपोल्लसलाई यात्रामा भरमग्दुर सहायता गरिदेऊ र तिनीहरूलाई केही कुराको खाँचो नपरोस्।

14 अनि हाम्रा मानिसहरूले पनि नभई नहुने खाँचोहरू पूरा गर्नलाई असल कामहरूमा लागिरहन सिकून्, यसैले कि तिनीहरू निष्फल नहोऊन्।

15 मसँग भएका सबैले तिमीलाई अभिवादन पठाएका छन् । हामीलाई विश्वासमा प्रेम गर्नेहरूलाई अभिवादन भनिदेऊ। तिमीहरू सबैसँग अनुग्रह रहोस्।



AMAZING GRACE BIBLE INSTITUTE