ROMANS

रोमी


Chapter 1

1 म पावल, येशू ख्रीष्टको कमारो, प्रेरित हुनलाई बोलाइएको र परमेश्वरको सुसमाचारको निम्ति अलग पारिएको हुँ,

2 जुन सुसमाचार उहाँले पवित्र धर्मशास्त्रमा उहाँका अगमवक्ताहरूद्वारा अघिबाटै प्रतिज्ञा गर्नुभएको थियो।

3 उहाँको पुत्रको विषयमा, जो शरीरअनुसार दाऊदको वंशबाट जन्मनुभयो।

4 येशू ख्रीष्ट हाम्रा प्रभु पवित्रताको आत्माअनुसार मृतकहरूबाट पुनर्जीवित भएर शक्तिसित परमेश्वरको पुत्र ठहरिनुभयो,

5 जसद्वारा उहाँको नाउँको खातिर सबै अयहूदीहरूका बीचमा विश्वासको आज्ञापालन ल्याउनको निम्ति हामीले अनुग्रह र प्रेरितका काम पाएका छौं।

6 तिमीहरू पनि तिनीहरूसँगसँगै येशू ख्रीष्टका हुन बोलाइएका हौ,

7 रोममा भएका तिमीहरू सबै परमेश्वरका प्रियजन र सन्त हुन बोलाइएकाहरूलाई, परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्टबाट अनुग्रह र शान्ति।

8 सर्वप्रथम, म मेरा परमेश्वरलाई तिमीहरू हरेकको निम्ति येशू ख्रीष्टद्वारा धन्यवाद चढाउँछु, किनकि तिमीहरूको विश्वासको कुरा सारा संसारमा फैलिएको छ।

9 म सम्पूर्ण हृदयले उहाँका पुत्रको सुसमाचार प्रचारमा उहाँको सेवा गर्दछु र परमेश्वर मेरो गवाही हुनुहुन्छ कि कसरी म निरन्तर मेरो प्रार्थनामा तिमीहरूलाई याद गर्दछु।

10 सधैँ मेरो प्रार्थनामा यो विन्ती छ कि यदि अन्तमा परमेश्वरको इच्छा भए म तिमीहरूकहाँ आउन सफल हुनसकूँ।

11 किनभने प्रभुमा तिमीहरूलाई बलियो पार्नलाई केही आत्मिक वरदानहरू दिनसकूँ भनेर म तिमीहरूलाई भेट्‍‌ने उत्कट इच्छा गर्दछु।

12 यसरी तिमीहरू र मेरो पारस्परिक विश्वासबाट हामी दुवैले एक-अर्काबाट प्रोत्साहन पाउनसकौं।

13 अनि ए भाइ हो, यस कुरामा तिमीहरू अजान रहो भन्‍‌ने म चाहन्‍‌नँ कि म तिमीहरू र बाँकी अयहूदीहरूका बीचमा पनि केही फल बटुल्‍‌नसकूँ भनेर तिमीहरूकहाँ आउने धेरैपल्ट इच्छा गरेँ तर म अहिलेसम्म रोकिएको छु।

14 म ग्रीकहरू र असभ्य जातिहरू, बुद्धिमान् र निर्बुद्धि दुवैको ऋणी छु।

15 यसैले सकेसम्म तिमी, रोममा हुनेहरूलाई पनि सुसमाचार सुनाउन म उत्सुक छु।

16 किनकि ख्रीष्टको सुसमाचारसँग म सर्माउँदिनँ, किनभने विश्वास गर्ने हरेकका निम्ति, पहिले यहूदीलाई र ग्रीकलाई पनि मुक्तिको निम्ति यो परमेश्वरको शक्ति हो।

17 किनभने यसैमा विश्वासद्वारा विश्वासका निम्ति परमेश्वरको धार्मिकता प्रकट भएको छ, जसरी लेखिएको छ : ‘‘तर धर्मीजन विश्वासद्वारा जिउनेछ।’’

18 किनभने सत्यतालाई अधर्ममा दबाइराख्‍‌ने मानिसहरूका सारा भक्तिहीनता र अधर्मको विरुद्धमा स्वर्गबाट परमेश्वरको क्रोध प्रकट भएको छ।

19 परमेश्वरको विषयमा जे जान्‍‌न सकिन्छ, त्यो तिनीहरूमा प्रकट भएको छ, किनभने परमेश्वरले त्यो तिनीहरूकहाँ प्रकट गर्नुभएको छ।

20 उहाँका अदृश्य गुण, उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव संसारको सृष्टिदेखि नै बनाइएका थोकमा छर्लङ्गै देखिएको छ। यसैले तिनीहरूलाई कुनै किसिमको बहाना छैन।

21 तिनीहरूले परमेश्वरलाई चिने तापनि न त उहाँको महिमा गरे, न धन्यवाद नै दिए। आफ्‍‌ना कल्पनामा तिनीहरू बेकम्मा भए र तिनीहरूका मूर्ख हृदय अँध्यारो तुल्याइयो।

22 बुद्धिमान् छौं भन्‍‌ने दाबी गरेर तिनीहरू मूर्ख ठहरिए।

23 अनि अविनाशी परमेश्वरको महिमालाई तिनीहरूले विनाशी मानिस, चराचुरुङ्गी, चारखुट्टे जनावर र घस्रने जीवहरूका मूर्त्तिका रूपमा परिवर्तन गरे।

24 यसकारण परमेश्वरले पनि तिनीहरूलाई तिनीहरूका आफ्‍‌नै हृदयका कामुकताद्वारा आफ्‍‌ना शरीरहरूलाई आपसमा अनादर गरून् भनेर अशुद्धताको निम्ति त्यागिदिनुभयो।

25 किनकि तिनीहरूले परमेश्वरको सत्यतालाई झूटसँग साटे र सदासर्वदा परमधन्यका सृष्टिकर्तालाई भन्दा सृष्टि गरिएका थोकको पूजा र सेवा गरे।

26 यसैकारण परमेश्वरले तिनीहरूलाई नीच कामुकताको निम्ति छोडिदिनुभयो। तिनीहरूका स्त्रीहरूले आफ्‍‌नो स्वाभाविक व्यवहारलाई त्यागेर स्त्रीहरूसितै निर्लज्ज काम गरे।

27 त्यसरी नै स्त्रीतर्फको यौनसम्बन्ध नगरेर एक-अर्कामा कामुक बनेर पुरुषहरूले पुरुषहरूसितै नीच काम गरे र आफ्‍‌नै शरीरमा आफ्‍‌नो कसूरको पाउनैपर्ने दण्ड भोगे।

28 तिनीहरूले परमेश्वरको ज्ञान प्राप्त गर्न उचित नठानेको हुनाले परमेश्वरले तिनीहरूलाई भ्रष्ट मनको अवस्थामा त्यागिदिनुभयो र तिनीहरूले कहिल्यै नगरेका अनुचित कामहरू गर्नथाले।

29 तिनीहरू सबै किसिमका अधर्म, व्यभिचार, दुष्टता, लोभ, खराबीले भरिएकाहरू डाहा, हत्या, झगडा, छल, दुष्ट विचारले भरपूर,

30 कान फुक्‍‌नेहरू, निन्दा गर्नेहरू, परमेश्वरलाई घृणा गर्नेहरू, अनादर गर्नेहरू, घमण्डी, सेखीबाजहरू, खराब-खराब कुरा जन्माउनेहरू, बुबा-आमाको आज्ञा नमान्‍‌नेहरू,

31 समझ नभएकाहरू, करार भङ्ग गर्नेहरू, स्वाभाविक माया नभएकाहरू, मेलमिलाप गर्न नचाहनेहरू, दया नभएकाहरू,

32 यस्ताहरू मृत्युदण्ड पाउने योग्यका हुन्छन् भन्‍‌ने परमेश्वरको न्याय जान्दा-जान्दै पनि तिनीहरू ती काम नै गर्छन्, त्यति मात्र होइन तर यस्ता काम गर्नेहरूसँग खुशी पनि हुन्छन्।




2

1 यसकारण हे न्याय गर्ने मानिस, तिमी जोसुकै भए तापनि तिम्रो कुनै बहाना छैन, किनभने जुन कुरामा तिमी अरुको न्याय गर्दछौ, त्यही कुरामा तिमीले आफैलाई दोषी ठहर्‍याउँदछौ, किनकि तिमी न्याय गर्ने आफैले ती कुरा गर्दछौ।

2 अनि हामी जान्दछौं कि यस्ता काम गर्नेहरूमाथि परमेश्वरको न्याय ठीकसँग पर्छ।

3 ए मानिस, यस्ता काम गर्नेहरूमाथि परमेश्वरको न्याय आइपर्छ भनी दोष लगाउँछौ र आफै पनि त्यही काम गर्छौ भने के परमेश्वरको न्यायबाट उम्कन्छु भनी तिमी ठान्छौ?

4 अथवा परमेश्वरको कृपाले तिमीलाई पश्चात्तापमा डोर्‍याउँछ भन्‍‌ने थाहा नपाएर के तिमी उहाँको दया, सहनशीलता, धैर्यको सम्पत्तिलाई तुच्छ ठान्छौ?

5 तर तिम्रो कठोरता र पश्चात्तापी नहुने हृदयले गर्दा तिमीले आफ्‍‌नो निम्ति क्रोध र परमेश्वरको धार्मिक न्याय प्रकट हुने दिनका लागि क्रोध थुपारिरहेका छौ।

6 परमेश्वरले हरेकलाई उसको कामअनुसार प्रतिफल दिनुहुनेछ।

7 धैर्यसँग असल काम गरेर महिमा, आदर र अमरत्वको खोजी गरिरहनेहरूलाई उहाँले अनन्त जीवन दिनुहुनेछ।

8 तर जो स्वार्थी छन् र सत्यलाई त्यागेर दुष्टताको पछि लाग्छन्, तिनीहरूमाथि प्रकोप र क्रोध आइपर्नेछ।

9 दुष्ट कार्य गर्ने हरेकलाई, पहिले यहूदी र अयहूदीहरूमाथि पनि सङ्कष्ट र आपद् आइपर्नेछ।

10 तर असल काम गर्नेहरू सबैलाई, पहिले यहूदी अनि अयहूदीलाई गौरव, इज्जत र शान्ति हुनेछ।

11 किनभने परमेश्वरले कसैलाई काखी च्याप्‍‌नुहुन्‍‌न।

12 अयहूदीले पाप गर्दा परमेश्वरले तिनीहरूलाई व्यवस्थाबिना नै दण्ड दिनुहुनेछ र यहूदीहरूले आफ्‍‌नो पापको दण्ड व्यवस्थाअनुसार भोग्‍‌नेछन्।

13 किनभने व्यवस्था सुन्‍‌नेहरू मात्र परमेश्वरको सामुन्‍‌ने धर्मी ठहरिँदैनन् तर व्यवस्थाअनुसार चल्‍‌नेहरू धर्मी ठहरिनेछन्।

14 व्यवस्था नभएका अयहूदीहरूले विवेकको भरमा व्यवस्थाअनुसारका काम गर्दछन् भने तिनीहरू आफ्‍‌नो लागि आफै व्यवस्था हुन्।

15 यसले तिनीहरूको हृदयमा लेखिएको व्यवस्थाको कामलाई देखाउँछ, तिनीहरूका आफ्‍‌नै विवेकले पनि साक्षी दिन्छ, तिनीहरूका विचारले कहिले तिनीहरूलाई दोष्याउँछ त कहिले समर्थन गर्छ।

16 त्यो दिन परमेश्वरले येशू ख्रीष्टद्वारा मेरो सुसमाचारअनुसार मानिसहरूका गुप्त कुराको न्याय गर्नुहुनेछ।

17 तर यदि तिमी यहूदी हुँ भनी परमेश्वरको व्यवस्थामा भर पर्छौ तथा उहाँसितको सम्बन्ध ठीक छ भनेर घमण्ड गर्दछौ

18 अनि तिमीलाई व्यवस्थाका कुरा सिकाइएका हुनाले ठीक-बेठीक के हो र उहाँको इच्छा पनि जान्दछौ,

19 अन्धाको अगुवा र अन्धकारमा हुनेहरूको निम्ति ज्योति हुँ भन्‍‌ने कुरामा तिमीलाई निश्चयता छ,

20 मूर्खहरूलाई सुधार्छौ, अपरिपक्वहरूलाई शिक्षा दिन्छौ, किनभने व्यवस्थामा नै सम्पूर्ण ज्ञान र सत्य प्राप्त गरेका छौ,

21 यसरी जब तिमी अरुहरूलाई सिकाउँछौ भने के आफैलाई सिकाउँदैनौं? जब तिमी चोरीको विरुद्धमा प्रचार गर्छौ? के तिमी आफै चोरी गर्छौ?

22 तिमी जसले व्यभिचार नगर भनी भन्दछौ के तिमी आफै व्यभिचार गर्छौ? तिमी जो मूर्त्तिहरूसँग घिनाउँछौ, के तिमी आफै मन्दिरहरू लुट्छौ?

23 तिमी जो व्यवस्था जानेकोमा घमण्ड गर्छौ, के व्यवस्था भङ्ग गरेर परमेश्वरको अनादर गर्छौ?

24 किनभने यस्तो लेखिएको छ ‘‘अयहूदीहरूको बीचमा परमेश्वरको नाउँ तिमीहरूद्वारा नै निन्दित भएको छ।’’

25 यदि तिमीले परमेश्वरको व्यवस्था पालन गर्‍यौ भने मात्र यहूदीहरूले गर्ने खतनाको संस्कार केही मूल्यको गनिन्छ। तर व्यवस्थाको उल्लङ्घन गर्छौ भने तिमी बेखतने अयहूदीहरूभन्दा बढी मूल्यका हुँदैनौ।

26 यसैले यदि बेखतनेहरूले व्यवस्थाका धार्मिकता पालन गर्छन् भने के त्यसको बेखतना खतना नै गनिनेछैन र ?

27 अनि शारीरिकरूपले खतना नहुनेले व्यवस्था पालन गर्दछ भने तिमीसँग लेखिएको व्यवस्था र खतना भए तापनि के त्यसले तिमी व्यवस्था भङ्ग गर्नेलाई न्याय गर्नेछैन र?

28 किनभने बाहिरी रूपमा यहूदी जनाउने यहूदी होइन र बाहिरी शरीरमा खतना हुने खतनाकै होइन।

29 यसर्थ साँचो यहूदी उही हो, जो भित्री रूपले यहूदी हो। साँचो खतनाको शरीरसित सम्बन्ध छैन तर परमेश्वरको आत्माद्वारा नयाँ तुल्याइएको परिवर्तित हृदयसित छ। यस्तो मानिसको प्रशंसा मानिसहरूबाट होइन तर परमेश्वरबाट हुन्छ।




3

1 तब यहूदी भएर के फाइदा भयो त? खतनाको के लाभ ?

2 हरेक प्रकारले ज्यादै फाइदा छ। सर्वप्रथम त यहूदीहरूलाई परमेश्वरको वाणी सुम्पिएको थियो।

3 यदि तिनीहरूमध्ये कसै-कसैले विश्वास गरेनन् भने के भयो त? के तिनीहरूको अविश्वासले परमेश्वरको विश्वसनीयतालाई रद्द तुल्याउँछ र?

4 त्यसो कहिल्यै नहोस् ! संसारको हरेक व्यक्ति झूटो ठहरिए तापनि परमेश्वर सत्य रहिरहनुहुन्छ। जस्तो लेखिएको छ ‘‘तपाईं आफ्‍‌नो वचनमा ठीक ठहरिनुहुनेछ र न्याय हुँदा तपाईं विजयी बन्‍‌नुहुनेछ ।’’

5 यदि हाम्रो अधार्मिकताले परमेश्वरका धार्मिकतालाई प्रकाशमा ल्याउँछ भने हामी के भनौं? क्रोध गर्नुभयो भन्दैमा के परमेश्वर अधर्मी हुनुहुन्छ र? (म मानिसजस्तै भएर बोल्दछु)।

6 कदाचित् होइन ! यदि परमेश्वर निष्पक्ष हुनुहुन्‍‌न भने संसारको न्याय कसरी गर्न सक्‍‌नुहुन्थ्यो र?

7 यदि मेरो झूटद्वारा परमेश्वरको सत्यता उहाँकै महिमाको निम्ति प्रशस्त हुन्छ भने किन अझै म पापीझैँ न्यायमा पर्छु त?

8 त्यसो भए, असल काम होस् भनेर खराबी नै किन नगर्ने त? हामी त्यसै भन्छौं भनी कोही-कोही मानिसहरूले हामीलाई निन्दापूर्ण दोष लगाउँछन्। तिनीहरूको दोषारोपण उचितै छ।

9 उसो भए के हामी तिनीहरूभन्दा असल छौं त? अवश्य छैनौं, किनभने सबै मानिसहरू, चाहे यहूदी होस् वा अयहूदी, पापको शक्तिको वशमा छन् भनी मैले अघिबाटै स्पष्ट पारिसकेको छु।

10 जसरी लेखिएको छ‘‘धर्मी कोही छैन, एक जना पनि छैन,

11 बुझ्‍‌ने कोही छैन, परमेश्वरलाई खोज्‍‌ने कोही छैन।

12 ती सबै परमेश्वरदेखि बरालिएका छन्, तिनीहरू एकसाथ भूलमा परेका छन्। कसैले असल गर्दैन, असल गर्ने एक जना पनि छैन।’’

13 ‘‘तिनीहरूका घोक्रा खुला चिहान हुन्, तिनीहरूका जिब्रोले छलका कुरा बोल्छन्।’’ ‘‘सर्पर्को विष तिनीहरूको ओठमा छ।’’

14 ‘‘तिनीहरूका मुख सराप र तीता कुराले भरिएका छन्।’’

15 ‘‘तिनीहरूका खुट्टा रक्तपात गर्न हतारिन्छन्।

16 बाटोमा हिँड्दा तिनीहरूलाई विनाश र दुर्दशाले ढुकिबसेका हुन्छन्,

17 अनि शान्तिको बाटो तिनीहरूले चिनेका छैनन्।’’

18 ‘‘तिनीहरूका आँखाको सामुन्‍‌ने परमेश्वरको भय छैन।’’

19 अब हामी जान्दछौं, जेजति व्यवस्थाले भन्छ, व्यवस्थामुनि हुनेहरूलाई नै भन्छ ताकि हरेक मुख चुप रहोस् र सारा संसार परमेश्वरको अघि जवाफदेही होस्।

20 यसैकारण व्यवस्थाको कर्मले कोही मानिस पनि परमेश्वरको दृष्टिमा धर्मी ठहरिँदैन, किनकि व्यवस्थाद्वारा नै पापको ज्ञान हुन्छ।

21 तर अब त व्यवस्थाबिना नै परमेश्वरबाट आउने धार्मिकता प्रकट भएको छ। त्यसैको गवाही व्यवस्था र अगमवक्ताहरूले दिएका छन्।

22 येशू ख्रीष्टमा विश्वास गर्ने सबै जनामाथि परमेश्वरको धार्मिकता विश्वासद्वारा प्रकट भएको छ। किनकि त्यहाँ कुनै भेद छैन,

23 किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्‍‌न चुकेका छन्।

24 तिनीहरू परमेश्वरका अनुग्रहको वरदानद्वारा ख्रीष्ट येशूमा भएको उद्धारबाट सित्तैँमा धर्मी ठहरिएका छन्।

25 परमेश्वरले ख्रीष्टलाई उहाँको रगतद्वारा क्षतिपूर्त्तिको बलिदानस्वरूप प्रस्तुत गर्नुभयो, जुन क्षतिपूर्त्ति विश्वासद्वारा ग्रहण गर्नुपर्छ। यो काम परमेश्वरले आफ्‍‌नो धार्मिकता देखाउनलाई गर्नुभयो, किनभने उहाँको ईश्वरीय धैर्यमा अगाडिका पापलाई उहाँले वास्ता गर्नुभएको थिएन।

26 वर्तमान समयमा उहाँको न्याय प्रदर्शन गर्नलाई यसो गर्नुभयो : उहाँ आफै धर्मी ठहरीन र येशूमा विश्वास गर्नेहरूलाई पनि धर्मी ठहराउन।

27 तब हाम्रो घमण्ड कहाँ गयो? त्यसको त ठाउँ नै छैन। कुन व्यवस्थामा यसो गर्ने त? के यो कामद्वारा हो त? कदाचित् होइन ! तर यो त विश्वासको व्यवस्थाबाट मात्र हुनसक्छ।

28 यसकारण व्यवस्थाका कर्मको पालनद्वारा नभई विश्वासद्वारा नै मानिस धर्मी ठहरिन्छ भनी हामी निष्कर्षमा आउँछौं।

29 के उहाँ यहूदीहरूको मात्र परमेश्वर हुनुहुन्छ र ? के उहाँ अयहूदीहरूको पनि परमेश्वर हुनुहुन्‍‌न र ? अँ, हो; उहाँ अयहूदीहरूका पनि परमेश्वर हुनुहुन्छ ।

30 किनकि एक परमेश्वर हुनुहुन्छ, जसले खतना भएकाहरूलाई पनि विश्वासद्वारा र खतना नभएकाहरूलाई पनि विश्वासद्वारा नै धर्मी ठहराउनुहुनेछ ।

31 तब के हामी यही विश्वासद्वारा व्यवस्थालाई रद्द गर्छौं? कदाचित् होइन ! बरु हामीले कायम पो राख्छौं।




4

1 तब हामी के भनौं त? शरीरअनुसार हाम्रा पिता अब्राहामले के पाए त?

2 किनकि यदि अब्राहाम कर्मद्वारा धर्मी ठहरिएका भए उनको निम्ति घमण्ड गर्ने केही कारण हुनेथियो, तापनि परमेश्वरको अघि त होइन।

3 किनकि धर्मशास्त्रले के भन्छ? ‘‘अब्राहामले परमेश्वरमाथि विश्वास गरे र त्यो उनको निम्ति धार्मिकता गनियो।’’

4 जब मानिसले काम गर्छ, तब ज्याला पाउँछ, त्यो कृपा होइन तर त्यो उसको हकपूर्ण कमाइ हो।

5 जुन मानिसले काम गर्दैन तर भक्तिहीनलाई धर्मी ठहराउनुहुनेमाथि विश्वास गर्छ, उसको विश्वास धार्मिकताजस्तो गनिन्छ।

6 दाऊदले त्यस मानिसलाई धन्यको भन्छन् जसलाई परमेश्वरले कर्मबिना नै धार्मिक गन्‍‌नुहुन्छ

7 ‘‘तिनीहरू धन्यका हुन्, जसका अपराध क्षमा भएका छन् र जसका पाप ढाकिएका छन्।

8 त्यो मानिस धन्यको हो, जसको पापको लेखा परमप्रभुले लिनुहुन्‍‌न।’’

9 अब उसो भए, के यो आशीर्वाद खतनेहरूको निम्ति मात्र हो कि बेखतनेहरूको निम्ति पनि हो ? अब्राहामको सम्बन्धमा हेरौं न त ! अब्राहाम उनको विश्वासद्वारा नै धार्मिक गनिए भनी हामीले भन्दै आएका छौं।

10 तब उनी कसरी गनिए? उनी खतनामा हुँदा कि बेखतनामा हुँदा? खतनामा हुँदा होइन, तर बेखतनामा हुँदा,

11 अनि विश्वास गर्नेहरू सबैका पिता हुनलाई तिनीहरू बेखतनामै धर्मी ठहरिऊन् भनेर उनी बेखतनामा हुँदै विश्वासबाट पाउने धार्मिकताको छाप वा खतनाको चिन्ह उनले पाए।

12 अनि उनी ती खतनेहरूका पनि पिता हुन्, जसका खतना भएको मात्रै होइन तर जो विश्वासका पाइलामा हिँड्छन्, जुन विश्वासखतना हुनअघि हाम्रा पिता अब्राहाममा थियो।

13 किनकि अब्राहाम अथवा उनका सन्तानलाई संसारको उत्तराधिकारी हुने प्रतिज्ञा व्यवस्थाद्वारा होइन, तर विश्वासको धार्मिकताद्वारा दिइएको हो।

14 यदि व्यवस्था पालन गर्नेहरू उत्तराधिकारी हुन् भने विश्वास व्यर्थ र प्रतिज्ञा बेकम्मा हुन्छ।

15 किनभने व्यवस्थाले क्रोध उत्पन्‍‌न गर्छ तर जहाँ व्यवस्था छैन त्यहाँ अपराध पनि हुँदैन।

16 यसैकारण यो अनुग्रहअनुसार होस् भनेर विश्वासबाट भएको हो र यो प्रतिज्ञा सबै वंशको निम्ति निश्चय होस् भन्‍‌ने कारणले पनि हो। व्यवस्थामा भएकाहरूलाई मात्र होइन तर अब्राहामको विश्वासमा हुनेहरूका निम्ति पनि हो, जो हामी सबैका पिता हुन्।

17 जसरी लेखिएको छ ‘‘मैले तँलाई धेरै जातिहरूका पिता तुल्याएको छु।’’ जुन परमेश्वरको उपस्थितिमा उनले विश्वास गरे, जसले मरेकाहरूलाई जीवन दिनुहुन्छ र अस्तित्वमा नभएका कुरालाई अस्तित्वमा ल्याउनुहुन्छ।

18 जसले ‘‘तेरो सन्तान यस्तै हुनेछ’’ भनी भनेको हुनाले धेरै जातिहरूका पिता हुनलाई निराशामा पनि आशा राखेर विश्वास गरे।

19 प्राय: सय वर्ष पुगिसकेका अब्राहाम मरेतुल्य भइसकेको आफ्‍‌नो शरीर तथा साराको कोख बाँझो भएको बुझेर पनि विश्वासमा कमजोर भएनन्।

20 परमेश्वरको प्रतिज्ञाबारे कुनै पनि शङ्काले अब्राहामलाई डगमगाउन सकेन, बरु आफ्‍‌नो दह्रिलो विश्वासद्वारा उनले परमेश्वरलाई महिमा दिए।

21 प्रतिज्ञा गर्नुभएका कुरा परमेश्वरले गर्न पनि सक्‍‌नुहुन्छ भन्‍‌ने अब्राहामलाई पूरा निश्चय थियो।

22 यसैकारण पनि यो ‘‘उनको निम्ति धार्मिकता गनियो।’’

23 अनि ‘‘उनको निम्ति यो धार्मिकता गनियो’’ भन्‍‌ने कुरा उनको निम्ति मात्र लेखिएको होइन,

24 तर हाम्रो निम्ति पनि हो। परमेश्वरले ती मानिसहरूलाई धर्मी ठहराउनुहुन्छ, जसले येशू हाम्रा प्रभुलाई मरेकाहरूबाट जीवित तुल्याउनुहुनेमाथि विश्वास गर्छन्।

25 उहाँ जो हाम्रा अपराधहरूका निम्ति सुम्पिइनुभयो र हामीलाई धर्मी ठहराउन पुनर्जीवित हुनुभयो।




5

1 यसैकारण विश्वासद्वारा परमेश्वरको अघि धर्मी ठहरिएर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरसँग हाम्रो मिलाप भएको छ।

2 उहाँद्वारा विश्वासको कारण हामीले यस अनुग्रहभित्र प्रवेश पाएका छौं, यही अनुग्रहभित्र हामी खडा छौं र परमेश्वरको महिमाको आशामा आनन्द गर्दछौं।

3 यति मात्र होइन तर सङ्कष्टले धैर्य उत्पन्‍‌न गराउँछ भनी जानेर हामी सङ्कष्टमा पनि आनन्दित होऔं।

4 अनि धैर्यले खारिएको चरित्र र खारिएको चरित्रले आशा

5 अनि आशाले निराश बनाउँदैन, किनकि हामीलाई दिइएका पवित्र आत्माद्वारा परमेश्वरको प्रेम हाम्रा हृदयमा खन्याइएको छ।

6 किनकि हामी असहाय छँदै ख्रीष्ट अधर्मीहरूका निम्ति ठीक समयमा मर्नुभयो।

7 किनकि धर्मी मानिसको निम्ति मर्ने कोही बिरलै पाइएला, कतै असल मानिसको निम्ति कसैले मर्ने आँट गरी पनि हाल्ला।

8 तर परमेश्वरले हामीतर्फ आफ्‍‌नो प्रेम यसैमा प्रकट गर्नुहुन्छ- हामी पापी छँदै ख्रीष्ट हाम्रो निम्ति मर्नुभयो।

9 यसकारण झन् बढ्ता गरी अब रगतद्वारा हामी धर्मी ठहरिएका छौं, उहाँद्वारा हामी परमेश्वरको क्रोधबाट बचाइनेछौं।

10 किनकि हामी शत्रु छँदै उहाँका पुत्रको मृत्युद्वारा परमेश्वरसँग हाम्रो मिलाप भयो भने झन् बढ्ता गरी मिलाप पाएको भएर उहाँको जीवनद्वारा उद्धार पाउनेछौं।

11 यति मात्र होइन तर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरमा हामी रमाउँछौं पनि । उहाँद्वारा अब हामीलाई परमेश्वरसँग मिलाप प्राप्त भएको छ।

12 त्यसकारण, जसरी एक जना मानिसद्वारा पापले संसारमा प्रवेश गर्‍यो र पापद्वारा मृत्यु, यसरी सबैले पाप गरेका हुनाले सबै मानिसमा मृत्यु फैलियो।

13 किनकि व्यवस्था दिइनअघि पनि पाप संसारमा थियो तर जहाँ व्यवस्था छैन, त्यहाँ पापको लेखा पनि हुँदैन ।

14 तापनि आदमले जस्तै पाप नगरेकाहरूमाथि पनि मृत्युले आदमदेखि मोशासम्म राज्य गर्‍यो, जो आउनुहुनेको प्रतिरूप थियो।

15 तर सित्तैँको वरदान त्यस अपराधजस्तो होइन किनकि एउटा मानिसको अपराधले गर्दा धेरै जना मरे भने त झन् बढी परमेश्वरको अनुग्रह र एउटा मानिस अर्थात् येशू ख्रीष्टद्वारा आएको सित्तैँको वरदान धेरैका निम्ति प्रशस्त भयो।

16 सित्तैँको वरदान त्यस एक जना मानिसको पापको न्यायजस्तो होइन। किनकि एउटा अपराधको न्यायले दण्डको आज्ञा ल्यायो तर धेरै अपराधपछि आउने सित्तैँको वरदानले धार्मिकता ल्याउँछ।

17 यदि एक जनाको अपराधको कारण मृत्युले राज्य गर्‍यो भने त झन् बढ्ता गरी प्रशस्त अनुग्रह र धार्मिकताको वरदान पाउनेहरूले एक जना अर्थात् येशू ख्रीष्टद्वारा जीवनमा राज्य गर्नेछन्।

18 यसैले जसरी एउटै अपराधद्वारा सबै मानिसलाई दोषी ठहराउनलाई न्याय आइलाग्यो, त्यसैगरी धार्मिकताको एउटै कामद्वारा सबै मानिसलाई जीवनको निम्ति धर्मी ठहराउनलाई सित्तैँको वरदान आयो।

19 किनभने जसरी एक जनाको अनाज्ञाकारिताले धेरै जना पापी ठहरिए, त्यसैगरी एकै जनाको आज्ञाकारिताद्वारा धेरै जना धर्मी ठहरिनेछन्।

20 अपराध प्रशस्तै हुन्छ भनेर व्यवस्था आयो तर जहाँ पाप प्रशस्त भयो, त्यहाँ अनुग्रह झन् बढी प्रशस्त भयो,

21 किनकि जसरी पापले मृत्युमा राज्य गर्‍यो, त्यसरी नै येशू ख्रीष्ट हाम्रा प्रभुद्वारा अनुग्रहले पनि धार्मिकताद्वारा अनन्त जीवनसम्म राज्य गरोस्।




6

1 उसो भए हामी के भनौं ? के अनुग्रह प्रशस्त मात्रामा छ भनेर हामी पापमा नै लागिरहने त?

2 त्यसो कहिल्यै नहोस् ! हामी जो पापको निम्ति मर्‍यौं, अझ कसरी त्यसैमा जिउने?

3 के तिमीहरू जान्दैनौं? हामी सबै जति जनाले ख्रीष्टमा बप्तिस्मा लियौं, उहाँकै मृत्युमा बप्तिस्मा लिएका थियौं।

4 यसकारण बप्तिस्माद्वारा हामी उहाँसँगै मृत्युमा गाडियौं, यसैले कि जसरी पिताको महिमाद्वारा ख्रीष्ट मृतकहरूबाट जीवित पारिनुभयो, त्यसरी नै हामी पनि नयाँ जीवनको चालमा हिँडौं।

5 किनकि उहाँको मृत्युमा हामी उहाँसँग एकै भएका छौं भने उहाँको पुनरुत्थानमा पनि निश्चय नै हामी उहाँसँगै एक हुनेछौं।

6 हामी जान्दछौं, हाम्रो पुरानो मनुष्यत्व उहाँसँग क्रूसमा टाँगियो, यसैले कि हाम्रो पापमय शरीर नाश होस् र अब उसो हामी पापको कमारा नहोऔं।

7 किनभने जो मरेको छ, त्यो पापबाट स्वतन्त्र भएको छ।

8 यदि अब हामी ख्रीष्टसँग मरेका छौं भने त उहाँसँग जिउने पनि छौं भन्‍‌ने विश्वास गर्दछौं।

9 यो जानेर कि ख्रीष्ट मृतकबाट पुनर्जीवित भएर फेरि मर्नुहुन्‍‌न, फेरि उहाँमाथि मृत्युको अधिकार हुँदैन।

10 किनकि जुन मृत्युमा उहाँ मर्नुभयो, त्यसमा सबैको पापको निम्ति सधैंको लागि एकैपल्ट मर्नुभयो तर जुन जीवनमा उहाँ अब जिउनुहुन्छ, परमेश्वरको निम्ति जिउनुहुन्छ।

11 त्यसरी नै तिमीहरूले पनि आफूलाई पापको लागि मरेको तर ख्रीष्ट येशूमा परमेश्वरको निम्ति जीवित भएको ठान।

12 यसकारण शरीरका अभिलाषाअनुसार चल्‍‌न नपरोस् भनी तिमीहरूको मरणशील शरीरमा पापलाई राज्य गर्न नदेओ।

13 आफ्‍‌ना शरीरका अङ्गहरू दुष्टताका साधनको रूपमा पाप गर्नको निम्ति समर्पण नगर। तर मृत्युबाट जीवनमा ल्याइएका मानिसहरूजस्तै आफैलाई परमेश्वरकहाँ दिइहाल र शरीरका अङ्गहरूलाई धार्मिकताका साधनजस्तै परमेश्वरकहाँ समर्पण गर।

14 किनकि पापले तिमीहरूमाथि राज्य गर्नेछैन, किनभने तिमीहरू व्यवस्थाको अधीनमा छैनौ तर अनुग्रहको अधीनमा छौ।

15 तब के त ? के हामी व्यवस्थाको अधीनमा होइन तर अनुग्रहको अधीनमा छौं भनेर पापै गरौं त ? त्यसो कहिल्यै नहोस्।

16 के तिमीहरूलाई थाहा छैन? जसको वशमा आज्ञापालन गर्नका निम्ति तिमीहरूले आफूलाई दासझैँ सुम्पिदिन्छौ, जसको आज्ञापालन गर्दछौ, तिमीहरू उसैका दास हौ-कि त मृत्युका निम्ति पापका दास, कि त धार्मिकताका निम्ति आज्ञापालनका दास।

17 तर परमेश्वरलाई धन्यवाद होस् कि तिमीहरू पापका दास हुँदा नै तिमीहरूलाई दिइएको शिक्षाको नमुनाप्रति हृदयबाट नै आज्ञाकारी भयौ।

18 तिमीहरू पापबाट स्वतन्त्र पारिएर धार्मिकताका दास भएका छौ।

19 तिमीहरूका शरीरको कमजोरीले गर्दा म मानिसजस्तो गरी बोलिरहेको छु। किनकि जसरी तिमीहरूले आफ्‍‌ना अङ्गहरूलाई अपवित्रता र व्यवस्थाहीनतालाई दासको रूपमा सुम्पियौ, जसले अझ बढी व्यवस्थाहीनता उत्पन्‍‌न गर्छ, त्यसरी नै अब तिमीहरूका अङ्गहरूलाई धार्मिकताको दासको रूपमा सुम्पिदेऊ, जसले पवित्रता उत्पन्‍‌न गर्छ।

20 किनकि जब तिमीहरू पापका दास थियौ, त्यसबेला धार्मिकताको सम्बन्धमा स्वतन्त्र थियौ।

21 अहिले तिमीहरू जुन कुराको निम्ति सर्माउँछौ, त्यसबेला ती कुराबाट तिमीहरूलाई के फाइदा भयो? किनकि ती कुराको प्रतिफल मृत्यु हो।

22 तर अहिले पापबाट स्वतन्त्र भएर परमेश्वरको दास भएको हुनाले यसले पवित्रता उत्पन्‍‌न गर्छ, जसको प्रतिफल अनन्त जीवन हुन्छ।

23 किनकि पापको ज्याला मृत्यु हो तर परमेश्वरको सित्तैँको वरदान ख्रीष्ट येशू, हाम्रा प्रभुमा अनन्त जीवन हो।




7

1 भाइहरू हो, के तिमीहरूलाई थाहा छैन (किनकि म व्यवस्था जान्‍‌नेहरूसित बोलिरहेको छु), जबसम्म मानिस जीवित हुन्छ तबसम्म ऊमाथि व्यवस्थाको अधिकार हुन्छ।

2 एउटी विवाहित स्त्री उसको पति बाँचुन्जेल कानूनले बँाधिएकी हुन्छे तर पति मर्‍यो भने पतिसम्बन्धी कानूनबाट ऊ मुक्त हुन्छे।

3 यसैगरी पति हुँदाहुँदै उसले अर्को पुरुषसँग विवाह गरी भने ऊ व्यभिचारिणी हुन्छे। तर पति मरिसकेपछि ऊ त्यस कानूनबाट मुक्त हुन्छे र अर्को पुरुषसँग विवाह गरी भने पनि व्यभिचारिणी हुँदिनँ।

4 यसकारण मेरा भाइहरू हो, परमेश्वरको निम्ति फल फलाऔं भनेर अर्का व्यक्तिका अर्थात् जो मरेकाहरूबाट पुनर्जीवित हुनुभएको छ, उहाँका हुनलाई तिमीहरू पनि ख्रीष्टको शरीरद्वारा व्यवस्थाका निम्ति मरेका भयौ।

5 किनकि हामी शरीरमा हुँदा व्यवस्थाले जगाएको पापमय तीव्र इच्छाहरूले मृत्युको फल फलाउनलाई हाम्रा शरीरका अङ्गहरूमा काम गर्थे।

6 तर हामीलाई बन्धनमा राख्‍‌ने व्यवस्थाको निमित्त मरेर हामी अब त्यसदेखि मुक्त भएका छौं र हाम्रो पुरानो लिखित विधानको अधीनमा होइन, तर पवित्र आत्माको नयाँ जीवनमा सेवा गर्दछौं।

7 त्यसो भए, हामीले के भन्‍‌ने त? के व्यवस्था पाप हो? यसो कहिल्यै नहोस् ! बरु व्यवस्थाबिना मैले पाप थाहा पाउने थिइनँ, किनकि ‘‘तैँले लोभ नगर’’ भनी व्यवस्थाले नभनेको भए लोभ गर्नु पाप हो भनी मलाई जानकारी हुनेथिएन ।

8 तर पापले यस व्यवस्थाबाट फाइदा उठाएर मभित्र नाना प्रकारका लोभ उत्पन्‍‌न गरायो, किनकि व्यवस्थाबिना पाप मरेको हुन्छ।

9 एकपल्ट म व्यवस्थाबिना जीवित थिएँ तर जब आज्ञा आयो तब पाप जीवित भयो र म मरेँ।

10 अनि यो आज्ञा जसले जीवन दिनुपर्थ्यो, मेरोनिम्ति मृत्यु साबित भयो।

11 किनकि पापले आज्ञाबाट फाइदा उठाएर मलाई छल्यो र त्यसद्वारा मलाई मार्‍यो।

12 त्यसो भए तापनि व्यवस्था पवित्र छ र आज्ञा पवित्र, धार्मिक र असल छ।

13 त के जे असल छ, त्यसले मेरोनिम्ति मृत्यु ल्याएको हो त? कदापि होइन ! तर पाप पापकै रूपमा देखियोस् भनेर असल कुराद्वारा पापले ममा मृत्यु उत्पन्‍‌न गराइरहेछ, यसैले कि आज्ञाद्वारा पाप सम्पूर्णरूपले पापमय बनोस्।

14 किनकि हामी जान्दछौं, व्यवस्था आत्मिक हो तर म शारीरिक छु, किनकि म पापको दासत्वमा बेचिएको छु।

15 किनकि म जे गर्छु, त्यो म बुझ्दिनँ, किनभने म जे गर्न चाहन्छु त्यो गर्दिनँ तर जे म घृणा गर्छु, त्यही गर्छु।

16 तर यदि म आफूले नचाहेको कुरा गर्छु भने व्यवस्था असल छ भनी म त्यससँग सहमत हुन्छु।

17 यसैले अब त्यो गर्ने म होइनँ तर मभित्र वास गर्ने पाप हो।

18 किनकि मलाई थाहा छ कि ममा अर्थात् मेरो शरीरमा केही असल कुराले वास गर्दैन, किनभने असल गर्ने इच्छा मभित्र छ तर म असल गर्न सक्दिनँ।

19 किनभने असल काम जो म गर्न चाहन्छु, त्यो म गर्दिनँ तर खराब काम जो म गर्न चाहन्‍‌नँ, त्यही म गर्छु।

20 तर यदि म गर्न नचाहेको कुरा गर्छु भने त्यो गर्ने म होइन तर मभित्र वास गर्ने पाप हो।

21 यसकारण असल गर्ने इच्छा मलाई हुँदाहुँदै पनि खराबी मसित हाजिरै हुँदो रहेछ भन्‍‌ने नियम म पत्तो लाउँछु।

22 किनकि मेरो अन्तस्करणमा परमेश्वरको व्यवस्थामा म आनन्दित हुन्छु।

23 तर मेरा शरीरका अङ्गहरूमा म एउटा भिन्‍‌नै नियम देख्छु, जसले मेरो मनको नियमसँग सङ्घर्ष गर्दछ र मेरा अङ्गहरूमा वास गर्ने पापको नियमले मलाई बन्धनमा पार्छ।

24 हाय, म कस्तो दु: खी मानिस ! यस मृत्युको शरीरबाट कसले मलाई छुटकारा देला ?

25 ख्रीष्ट येशू हाम्रा प्रभुद्वारा परमेश्वरलाई धन्यवाद होस्। यसैले मनले त म परमेश्वरको व्यवस्थाको सेवा गर्दछु, तर शरीरले पापको व्यवस्थाको सेवा गर्दछु।




8

1 यसकारण अब ख्रीष्ट येशूमा शरीरअनुसार होइन तर आत्माअनुसार हिँड्‍‌नेहरूलाई दण्डको आज्ञा छैन।

2 किनकि ख्रीष्ट येशूमा जीवनका आत्माको व्यवस्थाले मलाई पाप र मृत्युको व्यवस्थाबाट स्वतन्त्र गराएको छ।

3 पाप स्वभावले दुर्बल पारिएको हुनाले शरीरले जे गर्न सकेन, त्यो परमेश्वरले आफ्‍‌ना पुत्रलाई पापमय शरीरको स्वरूपमा पापबलिझैँ पठाएर गर्नुभयो, उहाँले पापलाई शरीरमा नै दोषी ठहराउनुभयो।

4 यसैले कि हामीमा व्यवस्थाको माग पूरा होस्, हामी जो पाप-स्वभावअनुसार होइन तर आत्माअनुसार चल्दछौं।

5 किनभने पाप-स्वभावअनुसार चल्‍‌नेहरूले शरीरका कुरामा मन लगाउँछन् तर पवित्र आत्माको अधीनमा चल्‍‌नेहरूले आत्माका कुरामा मन लगाउँछन्।

6 किनकि पाप-स्वभावमा मन लगाउनु मृत्यु हो तर पवित्र आत्मामा मन लगाउनु जीवन र शान्ति हो।

7 किनकि पाप स्वभावमा मन लगाउनु परमेश्वरप्रति शत्रुता हो, किनकि यो परमेश्वरको व्यवस्थाको अधीनमा हुँदैन, न त कहिल्यै हुनसक्छ ।

8 त्यसकारण पाप स्वभावमा हुनेहरूले परमेश्वरलाई खुशी तुल्याउन सक्तैनन्।

9 तापनि यदि परमेश्वरका आत्मा साँच्चै तिमीहरूमा वास गर्नुहुन्छ भने तिमीहरू पाप-स्वभावमा होइन तर आत्मामा हुन्छौ। तर यदि कसैसित ख्रीष्टको आत्मा छैन भने ऊ उहाँको होइन।

10 अनि यदि ख्रीष्ट तिमीहरूमा हुनुहुन्छ भने पापको कारण शरीर मरे पनि धार्मिकताको कारण आत्मा जीवित हुन्छ।

11 तर येशूलाई मरेकाबाट जीवित पार्नुहुने परमेश्वरका आत्मा तिमीहरूमा वास गर्नुहुन्छ भने तिमीहरूमा वास गर्ने उहाँको आत्माद्वारा तिमीहरूका मरणशील शरीरलाई पनि जीवन दिनुहुनेछ।

12 यसैले भाइहरू हो, पाप-स्वभावअनुसार जिउनलाई हामी पाप-स्वभावको ऋणी छैनौं।

13 किनकि यदि तिमीहरू पाप स्वभावअनुसार जिइरहन्छौ भने त मर्छौ तर तिमीहरूले पवित्र आत्माद्वारा शारीरिक कार्यहरू जरैसमेत उखेल्यौ भने तिमीहरू जिउनेछौ।

14 किनभने सबै, जो परमेश्वरका आत्माले डोर्‍याइएका हुन्छन्, तिनीहरू नै परमेश्वरका सन्तान हुन्।

15 किनभने तिमीहरूले फेरि डर उत्पन्‍‌न गर्ने दासत्वको आत्मा पाएका छैनौ तर तिमीहरूले धर्मपुत्र हुने अधिकार पाएको हुनाले उहाँलाई ‘‘अब्बा ! पिता !’’ भनी पुकारा गर्न सक्छौ।

16 आत्मा आफैले हाम्रो आत्मासँग ‘तिमीहरू परमेश्वरका सन्तान हौ’ भनी गवाही दिनुहुन्छ।

17 अनि सन्तान हौ भने त उत्तराधिकारीहरू पनि हौ, साँच्चै परमेश्वरका उत्तराधिकारीहरू र ख्रीष्टसँग साझे-उत्तराधिकारीहरू हौ। यदि हामीले उहाँसँगै दु:ख भोग्यौं भने उहाँसँगै महिमा पनि पाउनेछौं।

18 किनकि म ठान्दछु कि अहिले हामीले भोग्‍‌नुपरेका कष्ट उहाँले हामीलाई पछिबाट प्रकट गर्नुहुने महिमासित तुलना गर्न योग्यका छैनन्।

19 किनकि सृष्टिको तीव्र आशाले परमेश्वरका पुत्रहरू प्रकट हुने कुराको उत्सुकतापूर्वक बाटो हेर्दछ।

20 किनकि सृष्टि व्यर्थताको अधीनमा पारियो, त्यसको आफ्‍‌नै इच्छामा होइन तर त्यसलाई अधीन गर्नुहुनेको इच्छामा, यो आशामा

21 कि परमेश्वरका सन्तानको महिमित स्वतन्त्रतामा सृष्टि आफैले पनि विनाशको दासत्वबाट छुटकारा पाउनेछ ।

22 हामी जान्दछौं, सारा सृष्टिले अहिलेसम्म सुस्केरा हालिरहेछ र प्रसववेदनाको कष्ट भोगिरहेको छ।

23 अनि यति मात्र होइन, हामी आफै पनि जसमा आत्माको पहिलो फल छ, धर्मपुत्र हुन र हाम्रो शरीरको छुटकाराको निम्ति हामी उत्सुकतापूर्वक बाटो हेर्दै आफैभित्र सुस्केरा हाल्छौं।

24 किनकि यही आशामा हामीले मुक्ति पाएका छौं तर देखिने आशा त आशा नै होइन किनकि जुन कुरा मानिसले देख्दछ, त्यसको आशा किन गर्छ र?

25 तर यदि हामीले नदेखेका कुराको आशा गर्छौं भने त दृढतापूर्वक त्यसैको बाटो हेर्दछौं।

26 यसरी नै आत्माले पनि हामीलाई हाम्रा दुर्बलतामा सहायता गर्नुहुन्छ। किनकि हामी जसरी प्रार्थना गर्नुपर्ने त्यसरी गर्न जान्दैनौं तर आत्मा आफैले बयान गर्न नसकिने सुस्केरामा हाम्रा निम्ति अन्तर्विन्ती गर्नुहुन्छ।

27 सबै मानिसहरूका हृदयभित्र भएका कुरा जान्‍‌नुहुने पिताले आत्माको विचार बुझ्‍‌नुहुन्छ, किनभने परमेश्वरकै इच्छामुताबिक उहाँले सन्तगणका निम्ति अन्तर्विन्ती गरिदिनुहुन्छ।

28 अनि हामी जान्दछौं कि परमेश्वरलाई प्रेम गर्ने र उहाँको उद्देश्यअनुसार बोलाइएकाहरूका निम्ति सबै कुराद्वारा परमेश्वरले भलाइ नै उत्पन्‍‌न गराउनुहुन्छ ।

29 किनकि जसलाई उहाँले अघिबाटै चिन्‍‌नुभएको थियो, तिनीहरूलाई आफ्‍‌नो पुत्रको स्वरूपमा बनाउनलाई, धेरै भाइहरूमध्ये जेठो होऊन् भनेर उहाँलाई अघिबाटै नियुक्त गर्नुभयो।

30 अनि ज-जसलाई उहाँले अघिबाटै नियुक्त गर्नुभयो, तिनीहरूलाई बोलाउनुभयो, जसलाई उहाँले बोलाउनुभयो, तिनीहरूलाई उहाँले धर्मी ठहराउनुभयो रजसलाई धर्मी ठहराउनुभयो तिनीहरूलाई महिमित पनि तुल्याउनुभयो।

31 त्यसो भए यी कुराको विषयमा हामी के भनौं त? यदि परमेश्वर हाम्रो पक्षमा हुनुहुन्छ भने हाम्रो विरुद्धमा को खडा हुनसक्छ?

32 यदि उहाँले आफ्‍‌नै निज पुत्रलाई बाँकी राख्‍‌नुभएन तर उहाँलाई हाम्रो निम्ति दिनुभयो। के उहाँले हामीलाई सबै थोक पनि उहाँकै साथमा सित्तैँमा दिनुहुनेछैन र?

33 कसले परमेश्वरका चुनिएकाहरूलाई दोष लगाउनेछ? धर्मी ठहराउने परमेश्वर नै हुनुहुन्छ भने

34 दोष लगाउने को हो त? येशू ख्रीष्ट जो मर्नुभयो र मृतकबाट जीवित हुनुभयो, जो परमेश्वरको दाहिने बाहुलीपट्टि बस्‍‌नुभएको छ, जसले हाम्रो निम्ति अन्तर्विन्ती गर्नुहुन्छ।

35 कसले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्नसक्छ र ? के सङ्कष्टले वा दु:खले वा अनिकालले वा नग्‍‌नताले वा खतराले वा तरवारले?

36 जसरी लेखिएको छ : ‘‘हामी तपाईंको खातिर दिनभरि मारिन्छौं, हामी काटिने भेडाहरूजस्तै गनिएका छौं।’’

37 तर यी सबै कुरामा, हामीलाई प्रेम गर्नुहुनेद्वारा हामी विजेताहरूभन्दा पनि अझ बढी छौं।

38 किनकि म यो निश्चय गरी जान्दछु, कि न मृत्युले, न जीवनले, न स्वर्गदूतहरूले, न प्रधानताहरूले, न वर्तमानका कुराले, न पछि हुनआउने कुराले, न शक्तिले,

39 न उचाइले, न गहिराइले, न सृष्टि गरिएका अरु कुनैपनि कुराले, हामीलाई ख्रीष्ट येशू हाम्रा प्रभुमा भएका परमेश्वरको प्रेमबाट अलग गर्न सक्छ।






9



1 म ख्रीष्टमा सत्य बोल्दछु, म झूट बोल्दिनँ। मेरो विवेकले पवित्र आत्मामा गवाही दिन्छ

2 कि मेरो हृदयमा असाध्य ठूलो शोक र अटूट वेदना छ।

3 किनकि मेरा भाइहरूका निम्ति बरु म नै ख्रीष्टमा श्रापित भएको भए हुनेथियो भन्‍‌ने इच्छा म गर्दथेँ, जो शरीरअनुसार मेरा कुटुम्बहरू हुन्

4 र जो इस्राएलीहरू हुन्, धर्मपुत्र हुने हक, महिमा, करार, व्यवस्था, मन्दिरको सेवा र प्रतिज्ञाहरू उनीहरूकै हुन्,

5 पिता-पुर्खाहरू पनि उनीहरूकै हुन् र उनीहरूबाट शरीरअनुसार ख्रीष्ट पनि आउनुभयो, जो सर्वोच्च सदासर्वदै धन्यको परमेश्वर हुनुहुन्छ। आमेन्।

6 तर यसमा परमेश्वरको वचन असफल भयो भन्‍‌ने होइन, किनकि जो इस्राएलकै वंशका हुन्, उनीहरू सबै इस्राएलीहरू होइनन्।

7 न त अब्राहामका सन्तान हुँदैमा सबै तिनका छोराछोरी नै हुन्, तर ‘‘इसहाकबाट नै तिम्रो वंश गनिनेछ।’’

8 अर्थात् शरीरबाट जन्मेकाहरू परमेश्वरका सन्तान होइनन् तर प्रतिज्ञाका सन्तान नै अब्राहामका सन्तान हुन्।

9 प्रतिज्ञामा यसो भनिएको छ ‘‘यस समयमा म आउनेछु र साराको एउटा छोरो हुनेछ।’’

10 यति मात्र होइन तर रिबेका पनि थिइन्, जसले एक जना व्यक्ति, हाम्रो पिता इसहाकबाट जुम्ल्याहा गर्भधारण गरिन्

11 तर जुम्ल्याहा बालकहरू जन्मनुभन्दाअघि तिनीहरूले कुनै असल वा खराब काम गर्नअघि नै कर्मले होइन तर उहाँको बोलावटअनुसार परमेश्वरको चुनाउको उद्देश्य कायम रहोस् भनेर

12 तिनलाई यसो भनिएको थियो, ‘‘जेठोले कान्छोको सेवा गर्नेछ।’’

13 जसरी लेखिएको छ, ‘‘याकूबलाई मैले प्रेम गरेँ तर एसावलाई तुच्छ ठानेँ।’’

14 अब हामी के भनौं? के परमेश्वरले अन्याय गर्नुभएको हो त ? त्यसो होइन !

15 परमेश्वरले मोशालाई यसो भन्‍‌नुभयो, ‘‘जसमाथि म कृपा गर्न चाहन्छु, त्यसलाई म कृपा देखाउनेछु र जसलाई म टिठ‍याउन चाहन्छु, त्यसलाई म टिठ‍याउनेछु।’’

16 यसकारण यो मानिसको इच्छा वा प्रयासमाथि निर्भर गर्दैन तर परमेश्वरको कृपामाथि निर्भर गर्दछ।

17 किनकि धर्मशास्त्रले फारोलाई भन्दछ, ‘‘तँमा मेरो शक्ति प्रकट गर्न र सारा पृथ्वीमा मेरो नाउँको घोषणा गर्ने उद्देश्यले मैले तँलाई खडा गरेँ।’’

18 यसकारण उहाँले जसलाई कृपा देखाउन चाहनुहुन्छ, कृपा देखाउनुहुन्छ र जसलाई कठोर पार्न चाहनुहुन्छ, त्यसलाई कठोर पार्नुहुन्छ।

19 तब तिमी मलाई भन्‍‌नेछौ, ‘‘परमेश्वरले अझ किन दोष लगाउनुहुन्छ? कसले उहाँको इच्छाको विरोध गर्नसक्छ?’’

20 तर हे मानिस, परमेश्वरको विरुद्धमा बोल्‍‌ने तिमी को हौ? जसलाई बनाइयो, उसैले ‘‘तपाईंले मलाई किन यस्तो बनाउनुभयो’’ भनी बनाउनेलाई सोध्‍‌ने?

21 अथवा के एउटै माटोको डल्लाबाट एउटालाई आदरको र अर्कोलाई अनादरको भाँडा बनाउने माटोमाथि कुमालेको अधिकार छैन?

22 न्याय र आफ्‍‌नो शक्ति प्रकट गर्ने परमेश्वरलाई अधिकार छ तर विनाशको लागि तयार पारिएको क्रोधका पात्रहरूलाई अत्यन्त धैर्यसाथ सहने अधिकार उहाँलाई छ।

23 आफ्‍‌नो कृपाको पात्र हुनलाई तयार पारिएकाहरूमाथि महिमाको सम्पत्ति खन्याउने पनि उहाँलाई अधिकार छ।

24 अर्थात् हामी, जसलाई यहूदीहरूबाट मात्र होइन तर अयहूदीहरूबाट पनि उहाँले बोलाउनुभएको छ भने, के भयो त?

25 अयहूदीहरूको सम्बन्धमा परमेश्वरले होशेको पुस्तकमा यसरी भन्‍‌नुहुन्छ, ‘‘जुन मेरा मानिसहरू थिएनन्, तिनीहरूलाई म ‘मेरा प्रजा’ तुल्याउनेछु र जसलाई मैले प्रेम गरेको थिइनँ, त्यसलाई म ‘मेरो प्रिय’ भन्‍‌नेछु।’’

26 ‘‘अनि जहाँ ‘तिमीहरू मेरा प्रजा होइनौ’ भनी तिनीहरूलाई भनिएको थियो, त्यहीँ तिनीहरू ‘जीवित परमेश्वरका सन्तान’ कहलाइनेछन्।’’

27 इस्राएलको बारेमा यशैया घोषणा गर्छन्, ‘‘इस्राएलका सन्तानको सङ्ख्या समुद्रको बालुवाजतिकै भए पनि, बाँकी रहेकाहरूको मात्र उद्धार हुनेछ।

28 किनकि प्रभुले पृथ्वीमा उहाँका दण्डको आज्ञा दृढता र शीघ्रतासाथ पूर्ण गर्नुहुनेछ।’’

29 यशैयाले यो भविष्यवाणी गरेका छन्, ‘‘सेनाहरूका परमप्रभुले हाम्रा निम्ति सन्तान नछोड्‍‌नुभएको भए हामी सदोमजस्तै हुनेथियौं र गमोराजस्तो बन्‍‌नेथियौं।’’

30 अब हामी के भनौं? धार्मिकताको पछि नलाग्‍‌ने अयहूदीहरूले विश्वासद्वारा पाइने धार्मिकता प्राप्त गरेका छन्।

31 तर इस्राएलले धार्मिकताको व्यवस्थाको खोजी गर्दा पनि यसलाई प्राप्त गर्न सकेको छैन।

32 किन? किनभने तिनीहरूले व्यवस्थाका कर्म गरेर परमेश्वरको अघि धर्मी ठहरिन सकिन्छ भनी ठानेर विश्वासद्वारा धार्मिकता खोजेनन्। तिनीहरू ठेस लाग्‍‌ने ढुङ्गामा ठक्कर खाएर लडे।

33 जसरी यो लेखिएको छ, ‘‘हेर म सियोनमा एउटा ढुङ्गो राख्तछु, जसमा मानिसहरूलाई ठेस लाग्छ, एउटा चट्टान, जसले तिनीहरूलाई लडाउँछ तर उहाँमा विश्वास गर्ने कोही शर्ममा पर्नेछैन।’’




10

1 हे भाइहरू हो, मेरो हृदयको इच्छा र परमेश्वरमा प्रार्थना यही छ कि तिनीहरूले मुक्ति पाऊन्।

2 म जान्दछु कि परमेश्वरप्रति तिनीहरूको जोश त छ तर ज्ञानअनुसार छैन।

3 किनभने परमेश्वरबाट आउने धार्मिकताको बारेमा नजानेर तिनीहरूको आफ्‍‌नै धार्मिकता स्थापित गर्न खोज्दा तिनीहरू परमेश्वरको धार्मिकताको अधीनमा रहेनन्।

4 किनकि विश्वास गर्ने हरेकको लागि ख्रीष्ट धार्मिकताको निम्ति व्यवस्थाको अन्त्य हुनुहुन्छ।

5 मोशाले यसरी लेखेका छन्, ‘‘व्यवस्थामा आधारित धार्मिकता पालन गर्ने मानिस त्यही धार्मिकताद्वारा जिउँदछ।’’

6 तर विश्वासमा आधारित धार्मिकताले भन्दछ, ‘‘आफ्‍‌नो मनमा यसो नभन, ‘स्वर्गमा को उक्लन्छ?’ (अर्थात् ख्रीष्टलाई तल ल्याउन)

7 वा ‘पातालमा को ओर्लन्छ?’ ’’ (अर्थात् ख्रीष्टलाई मृतकबाट माथि ल्याउन)

8 तर यसले के भन्छ? ‘‘वचन तिम्रो नजिकै छ, तिम्रो मुखैमा र तिम्रो हृदयमा,’’ अर्थात् विश्वासको वचन जुन हामीले प्रचार गरिरहेका छौं।

9 किनकि यदि तिमीले येशूलाई प्रभु हो भनी आफ्‍‌नो मुखले स्वीकार गर्‍यौ र परमेश्वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भनी आफ्‍‌नो हृदयमा विश्वास गर्‍यौ भने तिमीले मुक्ति पाउनेछौ।

10 किनकि हृदयले विश्वास गर्दा तिमी धर्मी ठहरिन्छौ र मुखले स्वीकार गर्दा मुक्ति पाउनेछौ।

11 धर्मशास्त्रले भन्छ, ‘‘उहाँमाथि भरोसा राख्‍‌ने कोही शर्ममा पर्नेछैन।’’

12 यहूदी र अयहूदीमा कुनै भिन्‍‌नता छैन किनकि उहाँ, जो सबैका प्रभु हुनुहुन्छ, उहाँलाई पुकार्नेहरूका निम्ति धनवान् हुनुहुन्छ।

13 किनभने ‘‘प्रभुको नाउँ पुकार्नेहरूले मुक्ति पाउनेछन्।’’

14 तर जसलाई तिनीहरूले विश्वास गरेकै छैनन्, उहाँलाई तिनीहरूले कसरी पुकार्ने? जसको विषयमा सुनेका छैनन्, उहाँमाथि कसरी विश्वास गर्ने ? प्रचारकबिना तिनीहरूले कसरी सुन्‍‌ने?

15 कसैले नपठाईकन तिनीहरूले कसरी प्रचार गर्ने? जस्तो लेखिएको छ, ‘‘सुसमाचार सुनाउनेहरूका पाउ कति सुन्दर !’’

16 ती सबैले सुसमाचारमा ध्यान दिएनन्, किनकि यशैया भन्छन्, ‘‘हे प्रभु, हामीले सुनाएको सन्देशलाई कसले विश्वास गरेको छ?’’

17 यसैले विश्वास सुनाइबाट आउँछ र सुनाइ ख्रीष्टको वचनबाट आउँछ।

18 तर म भन्दछु, ‘‘के तिनीहरूले साँच्चै सुनेनन्?’’ साँच्चै तिनीहरूले सुनेका छन्: ‘‘तिनीहरूको आवाज सारा पृथ्वीभरि पुगेको छ र तिनीहरूका वचन संसारको पल्लो छेउसम्म पुगेका छन्।’’

19 तर म भन्दछु, के इस्राएललाई थाहा थिएन र? पहिले मोशाले भन्दछन्, ‘‘जो एक जाति नै होइन, म तिमीहरूलाई तिनीहरूद्वारा डाही तुल्याउनेछु, एउटा मूर्ख जातिद्वारा म तिमीहरूलाई क्रुद्ध तुल्याउनेछु।’’

20 तब यशैयाले साहसपूर्वक भन्दछन्, ‘‘मलाई नखोज्‍‌नेहरूले मलाई भेट्टाएका छन्, जसले मेरो खोजी गरेनन्, तिनीहरूका माझमा मैले आफैलाई प्रकट गरेको छु।’’

21 तर इस्राएलको विषयमा तिनी भन्छन्, ‘‘दिनभरि नै अटेरी र विरोधी मानिसहरूप्रति मैले मेरो हात पसारेको छु।’’




11

1 यसकारण म भन्दछु, के परमेश्वरले आफ्‍‌ना मानिसहरूलाई त्याग्‍‌नुभएको छ? कदापि होइन ! किनकि म पनि त अब्राहामको सन्तान, बेन्यामीन कुलको एक इस्राएली हुँ।

2 परमेश्वरले पहिलेदेखि नै चिन्‍‌नुभएका आफ्‍‌ना मानिसहरूलाई त्याग्‍‌नुभएको छैन। एलियाले इस्राएलको विरुद्धमा कसरी विन्ती गरेका छन्, के तिमीहरूलाई थाहा छैन?

3 ‘‘हे प्रभु, तिनीहरूले तपाईंका अगमवक्ताहरूलाई मारेका छन् र तपाईंका वेदीहरू भत्काइदिएका छन् अनि म मात्र एकलै छोडिएको छु र अब तिनीहरूले मलाई पनि मार्न खोज्दैछन्।’’

4 तर परमेश्वरले कस्तो जवाफ दिनुभयो, थाहा छ? उहाँले भन्‍‌नुभयो, ‘‘बालको सामुन्‍‌ने घुँडा नटेक्‍‌ने सात हजार मानिसहरूलाई मैले आफ्‍‌नोनिम्ति जोगाइराखेको छु।’’

5 यसैगरी अहिले पनि परमेश्वरको अनुग्रहको चुनाउअनुसार बाँकी रहेका मानिसहरू छन्।

6 यदि यो अनुग्रहद्वारा हो भने कामको आधारमा भएको होइन, नत्र त अनुग्रह अनुग्रह नै हुँदैन। तर यो कामद्वारा हो भने अनुग्रहको आधारमा भएको होइन, नत्र त काम काम नै हुँदैन।

7 तब के त? इस्राएलले आफूले खोजेको कुरा पाएको छैन। तर चुनिएकाहरूले पाएका छन् र अरु सबै कठोर पारिए,

8 जसरी लेखिएको छ, ‘‘परमेश्वरले तिनीहरूलाई चेतनाहीन आत्मा दिनुभएको छ। यस्तो आँखा दिनुभएको छ, जसले नदेखून् र यस्ता कान जसले नसुनून् र आजको दिनसम्म पनि तिनीहरू यस्तै छन्।’’

9 र दाऊद भन्छन्, ‘‘तिनीहरूको भोज पासो र धराप बनोस्, एउटा भड्खालो र तिनीहरूलाई बदला दिने कुरा होस्।

10 तिनीहरूका आँखा नदेख्‍‌नलाई धमिला होऊन् र तिनीहरूका ढाड सधैँ कुप्रा भइरहून्।’’

11 यसैले म भन्दछु, के तिनीहरू पतन हुनलाई ठेस खाएका हुन् त? कदापि होइन ! तर तिनीहरूलाई डाही बनाउन तिनीहरूकै अपराधद्वारा अयहूदीहरूमा मुक्ति आएको छ।

12 अब यदि तिनीहरूको अपराध संसारको निम्ति सम्पत्ति ठहरियो र तिनीहरूको असफलता अयहूदीहरूको सम्पत्ति हुनगयो भने तिनीहरूको पूर्णता अझ कति अर्थपूर्ण होला !

13 यी कुरा म अयहूदीहरूलाई भनिरहेको छु। परमेश्वरले मलाई अयहूदीहरूको प्रेरित हुनलाई नियुक्त गर्नुभएको हुनाले म मेरो सेवालाई महत्त्व दिँदछु।

14 यस आशामा कि मेरो आफ्‍‌नै यहूदी जातिलाई डाही बनाउनसकूँ र तीमध्ये कसै-कसैलाई बचाउनसकूँ ।

15 किनकि यदि तिनीहरूको बहिष्कार संसारको निम्ति मिलापको कारण बन्छ भने तिनीहरूको स्वीकृति मृतकबाट जीवनमा ल्याउने कुरा हुँदैन र?

16 यदि मुछेको पीठोको पहिलो भाग पवित्र छ भने समस्त ढिका पवित्र हुन्छ। यदि रूखको जरा पवित्र छ भने हाँगाहरू पनि पवित्र हुनेछन्।

17 तर कोही हाँगाहरू भाँचिए र तिमी जो जङ्गली भद्राक्ष भएर तिनीहरूमा कलमी बाँधियौ अनि असली भद्राक्षको रूख, जरा र रसको सहभागी भयौ भने त

18 हाँगाहरूमा घमण्ड नगर। यदि तिमी घमण्ड नै गर्छौ भने यो याद राख कि जरालाई थाम्‍‌ने तिमी होइनौ तर जराले पो तिमीलाई थाम्छ।

19 तब तिमी भन्‍‌नेछौ, ‘‘म कलमी बाँधिनलाई नै हाँगाहरू भाँचिएका थिए।’’

20 ठीकै हो, तिनीहरूको अविश्वासले गर्दा नै तिनीहरू भाँचिएका थिए तर तिमी विश्वासद्वारा खडा छौ । घमण्ड नगर तर भय मान ।

21 यदि परमेश्वरले स्वाभाविक हाँगाहरूलाई त बाँकी राख्‍‌नुभएन भने तिमीलाई पनि बाँकी राख्‍‌नुहुनेछैन।

22 परमेश्वरको उद्धार र कठोर व्यवहारलाई हेर ! पतन हुनेहरूमाथि कठोरता देखाइयो तर यदि तिमी उहाँको कृपामा रहिरह्यौ भने तिमीले परमेश्वरको कृपा पाउनेछौ, नत्र त तिमी पनि काटिनेछौ।

23 अनि तिनीहरू पनि यदि आफ्‍‌ना अविश्वासमा रहिरहेनन् भने कलमी बाँधिइनेछन् किनभने परमेश्वरले तिनीहरूलाई फेरि पनि कलमी बाँध्‍‌न सक्‍‌नुहुन्छ।

24 किनभने यदि तिमी स्वभावअनुसार जङ्गली भद्राक्ष भएर पनि काटियौ र अर्कै स्वभाव भएको एउटा रोपिएको भद्राक्षको बोटमा कलमी बाँधियौ भने त यी स्वाभाविक हाँगाहरू आफ्‍‌नै निज भद्राक्षकै रूखमा झन् कति बढ्ता गरी कलमी बाँधिएलान्?

25 प्रिय भाइहरू हो, तिमीहरू घमण्डी नबन भनेर यस रहस्यबारे तिमीहरू अजान रहो भन्‍‌ने म चाहन्‍‌नँ, इस्राएलीहरूको एक भाग त्यसबेलासम्म कठोर रहनेछ, जबसम्म अयहूदीहरूको सङ्ख्या पूर्ण हुँदैन।

26 यसरी सारा इस्राएलले मुक्ति पाउनेछ, जसरी लेखिएको छ, ‘‘उद्धारक सियोनबाट आउनुहुनेछ, उहाँले याकूबबाट अधर्म हटाउनुहुनेछ।’’

27 ‘‘अनि तिनीहरूसँग मेरो करार यही हुनेछ, जब म तिनीहरूका पाप हरण गर्नेछु।’’

28 सुसमाचारको दृष्टिकोणबाट तिमीहरूको खातिर तिनीहरू शत्रुहरू हुन् तर परमेश्वरको चुनाउको दृष्टिकोणबाट तिनीहरू पिता-पुर्खाका खातिर प्रियहरू हुन्।

29 किनभने परमेश्वरका वरदानहरू र बोलावट अटल छन्।

30 तिमीहरू पनि एकपल्ट आज्ञापालन नगर्नेहरू थियौ तर तिनीहरूले आज्ञापालन नगर्दा तिमीहरूले कृपा पाएका छौ।

31 त्यसरी नै तिमीहरूलाई कृपा देखाएको हुनाले तिनीहरूमाथि पनि अब कृपा देखाइयोस् भनेर यिनीहरू पनि अहिले अनाज्ञाकारी भएका छन् ।

32 किनभने परमेश्वरको कृपा सबैमाथि होस् भनेर उहाँले सबैलाई अनाज्ञाकारितामा नै रोकेर राख्‍‌नुभएको छ।

33 आहा ! परमेश्वरको बुद्धि र ज्ञानको वैभव कति गहिरो छ ! उहाँको न्याय कति अगम र उहाँको मार्ग अभेद्य छ !

34 ‘‘किनभने प्रभुको विचारलाई कसले जानेको छ? अथवा को उहाँको सल्लाहकार भएको छ?’’

35 ‘‘कसैले परमेश्वरलाई केही दिएको छ, जुन उहाँले फिर्ता गर्नुपर्नेछ?’’

36 किनकि सबै थोक उहाँबाट आउँछ, उहाँको शक्तिद्वारा अस्तित्वमा रहन्छ र उहाँकै महिमाको निम्ति हुन्छ। उहाँलाई नै सदासर्वदा महिमा होस्। आमेन्।




12

1 यसकारण भाइहरू हो, परमेश्वरका कृपाद्वारा म तिमीहरूलाई आग्रह गर्दछु कि तिमीहरूले आ-आफ्‍‌ना शरीरलाई परमेश्वरमा जिउँदो, पवित्र र ग्रहणीय बलिदानको रूपमा अर्पण गर, जुन तिमीहरूको यथोचित आराधना हो।

2 यस संसारसित एकै चालका नहोओ तर तिम्रो मनको नवीकरणद्वारा परिवर्तित होओ अनि परमेश्वरका असल, ग्रहणीय र सिद्ध इच्छा के रहेछ भनेर तिमीहरू प्रमाणित गर्न सक्‍‌नेछौ।

3 किनकि मलाई दिइएको अनुग्रहद्वारा तिमीहरूको बीचमा भएको हरेक मानिसलाई म भन्दछु कि चाहिँदोभन्दा बढी आफूलाई नठान तर परमेश्वरले हरेकलाई दिनुभएको विश्वासको नापअनुसार सुबुद्धिले सोच।

4 जसरी हाम्रो एउटै शरीरमा धेरै अङ्ग हुन्छन् तर सबै अङ्गहरूको एउटै काम हुँदैन,

5 त्यसरी नै हामी जो धेरै छौं, ख्रीष्टमा एउटै शरीरमा हौं र प्रत्येक एक-अर्काका अङ्गहरू हौं।

6 हामीलाई दिइएको अनुग्रहअनुसार हामीसित विभिन्‍‌न वरदानहरू भएको हुनाले प्रत्येकले ती ठीकसँग प्रयोग गरोस् । यदि अगमवाणीको हो भने उसको विश्वासको नापअनुसार,

7 यदि सेवाको हो भने उसको सेवाको काममा वा शिक्षा दिने हो भने उसको शिक्षामा

8 वा अर्ती दिने हो भने अर्ती दिने काममा, दान दिने हो भने उदारतासित दिनुमा, नेतृत्व गर्ने हो भने परिश्रमसाथ, कृपा देखाउने हो भने त्यो काममा हर्षसाथ लागिरहोस्।

9 प्रेम निष्कपट होस्, जुन कुरा खराब छ, त्यसलाई घृणा गर, जुन कुरा असल छ, त्यसमा लागिरहो ।

10 भातृ-प्रेममा एक- अर्काप्रति समर्पित होओ र आफूलाई भन्दा बढी अरुलाई कदर गर।

11 प्रयत्‍‌न गर्नमा अल्छे नहोओ, आत्मामा जोशिला होओ, प्रभुको सेवा गरिरहो।

12 आशामा आनन्द गर, सङ्कष्टमा दृढ बस। प्रार्थनामा निरन्तर लागिरहो।

13 सन्तहरूको खाँचोमा सहायता देओ, अतिथिसत्कार गर।

14 तिमीहरूको खेदो गर्नेहरूलाई आशीर्वाद देओ, नसराप।

15 आनन्द मनाउनेहरूसँग आनन्द मनाओ। रुनेहरूसँग रोओ।

16 एक-अर्काप्रति एकै मनका होओ। अभिमानी नहोओ तर नम्रहरूसँग सङ्गत गर। आफ्‍‌नै दृष्टिमा बुद्धिमान् नहोओ।

17 कसैलाई खराबीको सट्टामा खराब नगर। जुन कुरा सबै मानिसहरूका दृष्टिमा आदरणीय छ, त्यही गर।

18 हुनसक्छ भने सबै मानिससित मेलमिलापमा बस।

19 हे प्रिय हो, बदला लिने काम नगर तर परमेश्वरको क्रोधलाई स्थान देओ। किनभने लेखिएको छ, ‘‘बदला लिने काम मेरो हो, म नै बदला लिनेछु,’’ परमप्रभु भन्‍‌नुहुन्छ।

20 यसकारण, ‘‘तिम्रो शत्रु भोकाएको छ भने त्यसलाई खुवाओ, त्यो तिर्खाएको छ भने त्यसलाई पिउन देओ। त्यसो गर्नाले तिमीले त्यसको टाउकोमा आगोको भुङ्ग्रो थुपार्नेछौ।’’

21 खराबीद्वारा पराजित नहोओ तर खराबीलाई भलाइले जित।




13

1 हरेक व्यक्ति शासन गर्ने अधिकारीहरूको अधीनमा बसोस्, किनकि अख्तियार परमेश्वरबाट नै आउँछ अनि जुन अधिकारीहरू छन्, ती परमेश्वरबाट नै नियुक्त भएका हुन् ।

2 यसकारण जसले अधिकारीको विरोध गर्दछ, त्यसले परमेश्वरकै विधिलाई विरोध गर्दछ र विरोध गर्नेहरूले आफूमाथि दण्ड ल्याउनेछन् ।

3 किनकि शासकहरू असल कामका निम्ति होइनन् तर खराब कामका निम्ति डरका कारक हुन्। के तिमी अधिकारीसँग डराउन चाहँदैनौ? असल काम गर र तिमीले अधिकारीबाट प्रशंसा पाउनेछौ।

4 किनकि तिनी तिम्रो भलाइको लागि परमेश्वरका सेवक हुन्। तर यदि तिमी खराब गर्छौ भने डर मान, किनभने तिनले तरवार व्यर्थमा भिर्दैनन् । खराब काम गर्नेमाथि परमेश्वरको दण्ड ल्याउने तिनी परमेश्वरका सेवक हुन्।

5 क्रोधको कारणले मात्र होइन तर विवेकको खातिर पनि अधीनमा बस्‍‌नु आवश्यक छ।

6 यसैकारणले पनि तिमी कर तिर्दछौ, किनकि प्रशासकहरू पनि यसै कामको लागि आफैलाई दिइएका परमेश्वरका सेवक हुन् ।

7 तिर्नुपर्ने कुरा सबैलाई तिर : कर तिर्नुपर्नेलाई कर, राजस्व तिर्नुपर्नेलाई राजस्व, डराउनुपर्नेसित डराओ र आदर गर्नुपर्नेलाई आदर गर।

8 एक-अर्कालाई प्रेम गर्नुबाहेक कुनै पनि कुरामा कसैको ऋणी नहोओ, किनकि जसले छिमेकीलाई प्रेम गर्दछ, उसैले व्यवस्था पूरा गरेको हुन्छ।

9 ‘‘तैँले व्यभिचार, हत्या, चोरी र लोभ नगर्’’ जस्ता आज्ञाहरूबाहेक अरु जति आज्ञाहरू छन्, ती सबैको सारांश यसै आज्ञामा पाइन्छ अर्थात् ‘‘तैँले आफ्‍‌नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्।’’

10 प्रेमले आफ्‍‌नो छिमेकीको खराबी गर्दैन, यसकारण प्रेम गर्नु नै व्यवस्था पूरा गर्नु हो।

11 समयलाई चिन, अब निद्राबाट ब्यूँझने बेला आइसकेको छ, किनकि अहिले हाम्रो मुक्ति हामीले विश्वास गरेको समयभन्दा नजिकै छ।

12 रात धेरै बितिसक्यो, दिन नजिकै आइपुगेको छ, यसकारण हामी अन्धकारका काम छोडेर ज्योतिका हातहतियार धारण गरौं।

13 हामी दिनमा जस्तै गरी इमानदारीसाथ चलौं। मोजमज्जामा, मतवालीपनामा, व्यभिचारमा, कामुकतामा, भ्रष्टाचारमा, झगडामा र डाहमा होइन।

14 तर प्रभु येशू ख्रीष्टलाई धारण गर र शरीरको अभिलाषा पूरा गर्नलाई अघिबाटै तयारी विचारमा नलाग।




14

1 विश्वासमा कमजोर हुनेलाई ग्रहण गर तर उसका विचारको न्याय गर्न होइन।

2 एक जना व्यक्तिमा सबै कुरा खान हुन्छ भन्‍‌ने विश्वास हुन्छ तर जो विश्वासमा कमजोर छ, उसले सागपात मात्र खान्छ।

3 खानेले नखानेलाई तुच्छ नठानोस् र नखानेलाई खानेले दोष नलगाओस्। किनभने परमेश्वरले त्यसलाई ग्रहण गर्नुभएको छ।

4 अर्काको न्याय गर्ने तिमी को हौ? ऊ आफ्‍‌नै मालिकको निम्ति खडा हुँदछ वा लड्छ, किनकि प्रभुले उसलाई स्थिर गराउन सक्‍‌नुहुन्छ।

5 यसरी नै कुनै मानिसले एउटा दिनलाई अर्को दिनभन्दा महत्वपूर्ण ठान्छ, अर्कोले हरेक दिनलाई एउटै ठान्छ, हरेक मानिस आफ्‍‌नो मनमा निश्चित होस्।

6 कुनै विशेष दिन पालन गर्नेले प्रभुकै निम्ति गर्छ, खानेले प्रभुकै निम्ति खान्छ, किनकि उसले परमेश्वरलाई धन्यवाद दिन्छ, अनि जसले खाँदैन, उसले प्रभुकै निम्ति खाँदैन र उसले परमेश्वरलाई धन्यवाद दिन्छ।

7 किनकि हामी कोही पनि आफ्‍‌नैनिम्ति बाँच्दैनौं र कोही पनि आफ्‍‌नैनिम्ति मर्दैनौं।

8 किनभने हामी बाँच्दा प्रभुकै निम्ति बाँच्छौ वा मर्दा पनि प्रभुकै निम्ति मर्छौं। यसकारण हामी चाहे बाँचौं वा मरौं, हामी प्रभुकै हौं।

9 जीवित र मरेकाहरू, दुवैका प्रभु हुनका निम्ति नै ख्रीष्ट मर्नुभयो र फेरि जीवित हुनुभयो।

10 यसकारण तिमी, किन आफ्‍‌नो भाइको न्याय गर्छौ? तिमी किन आफ्‍‌नो भाइलाई तुच्छ ठान्छौ? किनकि हामी सबै जना परमेश्वरको न्याय-आसनको अघि खडा हुनेछौं।

11 किनकि यसरी लेखिएको छ, ‘‘प्रभु भन्‍‌नुहुन्छ, जसरी म जिएको छु, मेरो सामुन्‍‌ने प्रत्येक घुँडा टेकिनेछ र हरेक जिब्रोले परमेश्वरको प्रशंसा गर्नेछ।’’

12 यसैले हामी हरेकले परमेश्वरलाई आ-आफ्‍‌नो लेखा बुझाउनुपर्नेछ।

13 यसैकारण हामी एउटाले अर्कोको अब उसो न्याय नगरौं ।बरु आफ्‍‌नो भाइको बाटोमा बाधा वा ठेस लाग्‍‌ने कुरा नराख्‍‌ने अठोट गरौं।

14 म जान्दछु र प्रभु येशूमा निश्चय छु कि कुनै कुरा आफैमा अशुद्ध हुँदैन तर जसले अशुद्ध हुन्छ भन्‍‌ने विश्वास गर्छ त्यसको निम्ति अशुद्धै हुन्छ।

15 किनकि यदि खानेकुराको कारण तिम्रो भाइलाई चोट पुग्छ भने तिमी प्रेमअनुसार चलेका हुँदैनौ। तिम्रो खानेकुराले उसलाई नाश नपार, जसको निम्ति ख्रीष्ट मर्नुभयो।

16 तिमीले असल ठानेको कुरालाई अरुहरूले खराब भन्‍‌न नपाओस्।

17 किनभने परमेश्वरको राज्य भनेको खानु र पिउनु होइन तर पवित्र आत्मामा धार्मिकता, शान्ति र आनन्द हो।

18 किनकि यस प्रकारले ख्रीष्टको सेवा गर्ने व्यक्ति परमेश्वरमा ग्रहणीय र मानिसहरूका निम्ति मनपर्दो हुन्छ।

19 यसैले हामी ती कुराको पछि लागौं, जसले मण्डलीमा मेलमिलाप ल्याउँछ र एक-अर्काको आत्मिक उन्‍‌नति गराउँछ।

20 खानेकुराको खातिर परमेश्वरको कामलाई नष्ट नपार। वास्तवमा सबै थोक शुद्ध छन् तर आफूले खाएको कुराले अरुलाई बाधा पार्नु खराबी हो।

21 मासु नखानु वा मद्य नपिउनु वा त्यस किसिमको कुनै काम नगर्नु नै असल हो, जसद्वारा तिम्रो भाइलाई ठेस लाग्छ।

22 तिमीमा भएको विश्वास परमेश्वर र तिम्रो बीचमा राख। आफूले असल ठहराएर गरेको कामको कारणले आफैलाई दोषी नठहराउने मानिस धन्यको हो।

23 तर यदि कसैले शङ्का गरेर खायो भने, त्यो मानिस दोषी ठहर्छ किनकि उसले विश्वाससाथ खाएको हुँदैन। विश्वासबाट नआएको कुनै पनि कुरा पाप हो।




15

1 अब हामी बलियाहरूले कमजोरहरूका दुर्बलता सहनुपर्छ र आफैलाई मात्र खुशी पार्नु हुँदैन।

2 हामी सबैले आफ्‍‌नो छिमेकीलाई उसको भलाइको निम्ति उन्‍‌नति गराउनलाई खुशी पारौं।

3 किनकि ख्रीष्टले पनि आफैलाई प्रसन्‍‌न पार्नुभएन। धर्मशास्त्रले यसो भन्छ, ‘‘तपाईंलाई निन्दा गर्नेहरूको निन्दा ममाथि पर्‍यो।’’

4 दृढता र धर्मशास्त्रको उत्साहद्वारा हामीले आशा प्राप्त गर्नसकौं भनेर पहिले-पहिले लेखिएका कुरा हामीलाई शिक्षा दिन लेखिएका थिए।

5 अब दृढता र उत्साह प्रदान गर्नुहुने परमेश्वरले तिमीहरूलाई ख्रीष्ट येशूमा एक-अर्कामा एउटै मन देऊन्।

6 तब मात्र तिमीहरूले हाम्रा प्रभु येशू ख्रीष्टका पिता र परमेश्वरलाई एउटै सोरमा प्रशंसा र महिमा दिनसक्छौ।

7 यसकारण जसरी ख्रीष्टले परमेश्वरको महिमाको निम्ति हामीलाई स्वीकार गर्नुभयो, त्यसरी नै हामी पनि एक-अर्कालाई स्वीकार गरौं।

8 अब म भन्दछु, पिता-पुर्खाहरूलाई दिइएका प्रतिज्ञाहरू पुष्टि गर्नलाई परमेश्वरको सत्यता प्रकट गर्न प्रभु येशू खतनाका सेवक हुनुभयो,

9 यस हेतुले कि अयहूदीहरूले उहाँका कृपाको निम्ति परमेश्वरको महिमा गरून्। यस्तो लेखिएको छ: ‘‘यसैकारण अयहूदीहरूका बीचमा म तपाईंको प्रशंसा गर्नेछु, र तपाईंका नाउँको स्तुति गाउनेछु।’’

10 अनि फेरि यसो भनिएको छ, ‘‘ए अयहूदी हो, उहाँको प्रजासँग आनन्द मनाओ।’’

11 र फेरि ‘‘ए सारा अयहूदी हो, प्रभुको प्रशंसा गर, र सबै मानिसहरूले उहाँको प्रशंसा गरून्।’’

12 र फेरि यशैया भन्दछन्, ‘‘यिशैको वंशबाट एक जना आउनुहुनेछ, उहाँले अयहूदीहरूमाथि शासन गर्नुहुनेछ, उहाँमाथि अयहूदीहरूले आशा राख्‍‌नेछन्।’’

13 अब आशाका परमेश्वरले तिमीहरूलाई विश्वासमा आनन्द र शान्तिले भरिदेऊन्, यसैले कि पवित्र आत्माको शक्तिद्वारा तिमीहरू आशामा प्रशस्त हुँदै जानसक।

14 भाइ हो, तिमीहरूको विषयमा म आफै पनि निश्चित छु कि तिमीहरू भलाइले पूर्ण, ज्ञानले भरिएका र एउटाले अर्कोलाई अर्ती दिनसक्‍‌ने भएका छौ।

15 तर पनि भाइहरू हो, परमेश्वरद्वारा मलाई दिइएको अनुग्रहको कारणले गर्दा तिमीहरूलाई सम्झना गराउँदै, धेरै साहसिलो भएर मैले तिमीहरूलाई कुनै-कुनै विषयमा लेखेको छु

16 र अयहूदीरूपी भेटी पवित्र आत्माद्वारा पवित्र गरिएकोमा ग्रहणीय होस् भनेर पूजाहारीले झैँ परमेश्वरको सुसमाचारको सेवा गर्दै म अयहूदीहरूको निम्ति येशू ख्रीष्टको सेवक बनेँ।

17 यसैले परमेश्वरसम्बन्धी कुरामा मलाई ख्रीष्ट येशूमा गर्व गर्ने कारण छ।

18 किनभने वचन र कामले अयहूदीहरूलाई आज्ञाकारी बनाउनलाई ख्रीष्टले मद्वारा जे गर्नुभएको छ, तीबाहेक कुनै विषयमा बोल्‍‌ने आँट म गर्नेछैनँ।

19 यो काम चिन्हहरू र आश्चर्यकर्महरूको शक्तिले र पवित्र आत्माको शक्तिद्वारा मैले गरेको छु, यसरी मैले यरूशलेमदेखि लिएर इल्लुरिकनसम्मै चारैतिर ख्रीष्टको सुसमाचार पूर्णरूपले प्रचार गरेको छु।

20 तर अरुहरूले बसालेको जगमाथि निर्माण नगरूँ भनेर ख्रीष्टको नाउँ नै नलिएका ठाउँहरूमा सुसमाचार सुनाउने मैले लक्षय लिएको छु।

21 यस्तो लेखिएको छ, ‘‘उहाँको विषयमा जसलाई कहिल्यै भनिएको छैन, तिनीहरूले उहाँलाई देख्‍‌नेछन् र उहाँको विषयमा जसले कहिल्यै सुनेका छैनन्, तिनीहरूले बुझ्‍‌नेछन्।’’

22 यही कारणले गर्दा तिमीहरूकहाँ आउन मलाई धेरैचोटि बाधा भयो।

23 यी क्षेत्रहरूमा अब मैले प्रचार गर्नुपर्ने ठाउँहरू नभएकोले र धेरै वर्षदेखि तिमीहरूकहाँ आउने मेरो इच्छा भएकोले

24 म स्पेन जाँदा तिमीहरूलाई भेट्‍‌ने आशा राख्दछु, तिमीहरूसँग केही समयसम्म सङ्गतिमा मैले आनन्द लिएपछि, तिमीहरूले मलाई मेरो बाँकी यात्रामा सहयोग दिनेछौ भन्‍‌ने आशा राख्दछु।

25 तर अहिले म सन्तहरूको सेवा गर्न यरूशलेमतिर जाँदैछु।

26 किनकि यरूशलेममा हुने सन्तहरू जो गरीब छन्, तिनीहरूका निम्ति म्यासिडोनिया र अखैयाका मण्डलीहरू भेटी दिन खुशी छन्।

27 साँच्चै तिनीहरू यसो गर्न खुशी थिए र यसका निम्ति तिनीहरू उनीहरूप्रति ऋणी छन्। किनकि यदि अयहूदीहरू उनीहरूका आत्मिक कुरामा सहभागी भएका छन् भने तिनीहरू भौतिक कुराद्वारा उनीहरूको सेवा गर्न ऋणी छन् ।

28 यसकारण यो कार्य सिद्ध‍याएपछि उठेको भेटी तिनीहरूलाई सुम्पिएर म तिमीहरूकहाँ हुँदै स्पेन जानेछु।

29 अनि म जान्दछु कि तिमीहरूलाई भेट्‍‌न आउँदा म ख्रीष्टको आशिष्को परिपूर्णतामा आउनेछु।

30 भाइहरू हो, म तिमीहरूलाई प्रभु येशू ख्रीष्टको नाउँमा र आत्माको प्रेमद्वारा आग्रह गर्दछु कि मेरोनिम्ति परमेश्वरसँग प्रार्थना गर्दै मेरो सङ्घर्षमा सहभागी बनिदेओ।

31 यसैले कि म यहूदियामा भएका अनाज्ञाकारीहरूबाट मुक्त हुनसकूँ र मैले यरूशलेमको निम्ति गरेको सेवा सन्तहरूमा ग्रहणीय होस्।

32 साथै परमेश्वरको इच्छाद्वारा आनन्दसँग तिमीहरूकहाँ आएर तिमीहरूको सङ्गतिद्वारा म ताजा हुनसकूँ।

33 अब शान्तिका परमेश्वर तिमीहरू सबैसँग रहून्, आमेन्।




16

1 किंक्रियामा स्थित मण्डलीकी धर्म-सेविका हाम्री बहिनी फिबी तिमीहरूलाई भेट्‍‌न आइरहेकी छिन्।

2 म तिमीहरूलाई आग्रह गर्दछु कि प्रभुमा सन्तहरूलाई सुहाउँदो सम्मान दिएर तिनलाई ग्रहण गर र सकभर तिनलाई चाहिएको कुनै पनि सहायता गर किनकि तिनी आफैले धेरैको र मेरो पनि खाँचोमा सहायता गरेकी छिन्।

3 प्रिस्किला र अक्विला, ख्रीष्ट येशूमा मेरा सहकर्मीहरूलाई अभिवादन ।

4 ज-जसले मेरोनिम्ति आफ्‍‌नो जीवन जोखिममा हाले, उनीहरूप्रति म मात्र होइन तर अयहूदीका सबै मण्डलीहरू धन्यवादी छन् ।

5 तिनीहरूको घरमा जम्मा हुने मण्डलीलाई अभिवादन देओ। मेरा प्रिय इपेनितसलाई अभिवादन देओ, जो ख्रीष्टको निम्ति एसियाको पहिलो विश्वासी हुन्।

6 तिमीहरूको निम्ति कडा परिश्रम गर्ने मरियमलाई अभिवादन देओ।

7 एन्ड्रोनिकस र युनियस, मेरो आफन्तहरू मात्र होइनन्, मेरा सङ्गी-कैदीहरू हुन्, जसलाई अभिवादन देओ। तिनीहरू प्रेरितहरूमध्ये प्रख्यात हुन् र मभन्दा अगाडि ख्रीष्टमा आएका थिए।

8 एम्प्लीआतस, प्रभुमा मेरा प्रियलाई, अभिवादन भनिदेओ।

9 उर्बानस, ख्रीष्टमा हाम्रा सहकर्मी र मेरा प्रिय मित्र स्ताखुसलाई अभिवादन भनिदेओ।

10 ख्रीष्टले योग्य ठहराउनुभएका अपेल्लेसलाई अभिवादन भनिदेओ। अरिस्तोबुलसको घरकाहरूलाई अभिवादन भनिदेओ ।

11 मेरा आफन्त हेरोदियनलाई अभिवादन भनिदेओ। प्रभुमा भएका नर्किससका घरानालाई अभिवादन भनिदेओ।

12 प्रभुमा परिश्रम गर्ने त्रुफेना र त्रोफोसालाई अभिवादन भनिदेओ, प्रभुमा बढी परिश्रम गर्ने प्रिय परसीसलाई अभिवादन भनिदेओ।

13 प्रभुद्वारा विशेषरूपले चुनिएका रूफस र तिनकी आमा जो मेरी पनि आमा भएकी थिइन्, तिनीहरूलाई अभिवादन भनिदेओ।

14 असिंक्रितस, फ्लगेन, हर्मेस, पत्रोबास, हर्मास र तिनीहरूसँग भएका भाइ-बहिनीहरूलाई अभिवादन भनिदेओ।

15 फिलोलोगस, युलिया, नेरियस र तिनकी बहिनी अनि ओलिम्पास र तिनीहरूसँग भएका सबै सन्तहरूलाई अभिवादन भनिदेओ।

16 एकले अर्कालाई पवित्र चुम्बनले अभिवादन गर। ख्रीष्टमा सबै मण्डलीहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्।

17 भाइहरू हो, म तिमीहरूलाई आग्रह गर्दछु कि तिमीहरूलाई सिकाइएको विश्वासको सिद्धान्तमा फूट र बाधाको पर्खाल खडा गर्नेहरूमाथि नजर राख र तिनीहरूबाट अलग्गै बस।

18 किनभने यस्ता मानिसहरू ख्रीष्ट हाम्रा प्रभुको दासहरू होइनन् तर आफ्‍‌नै पेट भर्नेहरू हुन् र तिनीहरूको चिप्लो बोली र मीठो कुराले सीधासादाहरूका हृदयलाई धोका दिन्छन्।

19 तर प्रभुप्रतिको तिमीहरूको आज्ञाकारिता सबैलाई जाहेर भएकै छ र यसले मलाई आनन्द दिदँछ। तर म चाहन्छु कि तिमीहरू असल कुरामा बुद्धिमान् बन र खराब कुरामा निर्दोष बन।

20 शान्तिका परमेश्वरले चाँडै नै शैतानलाई तिमीहरूका खुट्टामुनि कुल्चनुहुनेछ । हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूसँग रहोस्।

21 तिमोथी मेरा सहकर्मी र मेरा आफन्तहरू लुकियस, यासोन र सोसिपात्रोसले तिमीहरूलाई अभिवादन पठाएका छन्।

22 यो पत्र लेख्‍‌ने म तर्तियसले पनि तिमीहरूलाई अभिवादन पठाउँदै छु।

23 मलाई र सम्पूर्ण मण्डलीलाई सत्कार गर्ने गायसले अभिवादन पठाएका छन्। शहरका कोषाध्यक्ष इरास्तस र भाइ कवार्टसले तिमीहरूलाई अभिवादन पठाएका छन्। [

24 हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूसँग रहोस्, आमेन्।]

25 अब उहाँलाई ,जो मेरा सुसमाचार र येशू ख्रीष्टको प्रचारअनुसार तिमीहरूलाई स्थिर पार्नलाई सामर्थी हुनुहुन्छ, त्यस रहस्यको प्रकाशअनुसार, जो संसारको उत्पत्तिदेखि गुप्त राखिएको थियो,

26 तर अहिले प्रकट भएको छ र अनन्तका परमेश्वरको आज्ञाअनुसार अगमवक्ताहरूका धर्मशास्त्रद्वारा विश्वासप्रति आज्ञाकारी बनाउनलाई सबै जातिहरूलाई बताइएको छ -

27 अद्वितीय सर्वज्ञानी परमेश्वरलाई नै येशू ख्रीष्टद्वारा सदासर्वदा महिमा भइरहोस्। आमेन्।



AMAZING GRACE BIBLE INSTITUTE