REVELATION

प्रकाश


Chapter 1

1 परमेश्वरले आफ्‍‌नो दूत पठाएर चाँडै हुनआउने कुरा आफ्‍‌ना दासहरूलाई देखाउनलाई आफ्‍‌नो दास यूहन्‍‌नाद्वारा यो प्रकाश दिनुभयो।

2 जसले परमेश्वरको वचन, येशू ख्रीष्टको गवाही र आफूले देखेका सबै कुराको साक्षी दिए।

3 अगमवाणीको यो वचन जसले पढ्छ र तिनीहरू, जसले वचन सुन्दछन् अनि लेखिएका यी वचन पालन गर्नेहरू धन्यका हुन्, किनकि समय नजिक छ।

4 यूहन्‍‌नाबाट एसियामा भएका सातवटा मण्डलीहरूलाई अनुग्रह र शान्ति। उहाँबाट, जो हुनुहुन्छ, हुनुहुन्थ्यो, हुनआउनुहुनेछ र उहाँको सिंहासनको अघि भएका सातवटा आत्माहरूबाट:

5 अनि विश्वसनीय साक्षी, मृतकहरूमध्येका ज्येष्ठ र पृथ्वीका राजाहरूका शासक येशू ख्रीष्टबाट। हामीलाई प्रेम गर्नुहुने, हामीलाई हाम्रा पापबाट आफ्‍‌नो रगतले धोएर स्वतन्त्र पार्नुहुने,

6 हामीलाई एउटा राज्य र उहाँका पिता अनि परमेश्वरका पूजाहारी बनाउनुहुनेलाई महिमा र पराक्रम सदासर्वदा होस्, आमेन्।

7 हेर, उहाँ बादलका साथमा आउनुहुन्छ र प्रत्येक आँखाले उहाँलाई देख्‍‌नेछ, उहाँलाई घोच्‍‌नेहरूले पनि देख्‍‌नेछन् अनि उहाँको कारण पृथ्वीमा भएका सबै कुलले बिलौना गर्नेछन्। यसै होस्, आमेन्।

8 ‘‘अल्फा र ओमेगा, शुरु र अन्त म नै हुँ’’ सर्वशक्तिमान् परमप्रभु परमेश्वर भन्‍‌नुहुन्छ, ‘‘जो हुनुहुन्छ, हुनुहुन्थ्यो र हुनआउनुहुनेछ।’’

9 म तिमीहरूको दाज्यू यूहन्‍‌ना, सङ्कष्टमा, राज्यमा र ख्रीष्ट येशूको धैर्यको सहभागी, परमेश्वरका वचन र येशू ख्रीष्टको गवाहीको निम्ति पत्मोस भनिने टापुमा थिएँ।

10 म प्रभुको दिनमा आत्मामा थिएँ र तुरहीको जस्तो यसो भन्‍‌ने चर्को आवाज मेरो पछाडि सुनेँ,

11 ‘‘अल्फा र ओमेगा, पहिलो र अन्तिम म नै हुँ र तिमी जे देख्छौ सो एउटा पुस्तकमा लेख र एसियामा भएका यी सातवटा मण्डलीहरू - एफिसस, स्मुर्ना, पर्गामम, थिआटीरा, सार्डिस, फिलाडेल्फिया र लाउडिकियालाई पठाओ।’’

12 मसँग बोल्‍‌ने आवाज को हो भनी मैले फर्केर हेरेँ, त्यहाँ हेर्दा मैले सातवटा सुनका सामदानहरू देखेँ,

13 अनि ती सातवटा सामदानहरूको बीचमा मानिसका पुत्रजस्तो देखिनुहुने एक जनालाई मैले देखेँ, जसले पाउसम्मै पोशाक पहिरिनुभएको र छातीमा सुनौलो चौडा फित्ता बाँध्‍‌नुभएको थियो।

14 उहाँको शिर र कपाल ऊन र हिउँजस्तै सेता अनि उहाँका आँखाहरू आगोको ज्वालाजस्ता थिए।

15 उहाँका पाउहरू आगोको भट्टीमा खारेर टल्काएका काँसाजस्ता थिए र उहाँको सोर उर्लिंदो पानीको आवाजजस्तै थियो।

16 उहाँको दाहिने हातमा सातवटा ताराहरू थिए र उहाँको मुखबाट दुईधारे तरवार निस्केको थियो अनि उहाँको मुहार पूरा तेजमा चम्केको सूर्यजस्तो थियो।

17 जब मैले उहाँलाई देखेँ, म मरेतुल्य भएर उहाँको पाउमा परेँ। उहाँले यसो भन्‍‌नुहुँदै आफ्‍‌नो दाहिने बाहुली ममाथि राख्‍‌नुभयो, ‘‘नडराऊ, म पहिलो र अन्तिम हुँ।

18 अनि जीवित म नै हुँ। म मरेको थिएँ र हेर, म सदाको निम्ति जीवित छु, आमेन्। अनि पाताल र मृत्युका साँचोहरू मसित छन्।

19 यसकारण तिमीले जे देखेका छौ, जे छन् र जे पछि हुनआउनेछन्, लेख,

20 मेरो दाहिने हाततर्फ तिमीले देखेका सातवटा ताराहरू र सातवटा सुनका सामदानहरूका रहस्य यो हो सात ताराहरू, सात मण्डलीहरूका दूतहरू हुन् र सात सामदानहरू सात मण्डलीहरू हुन्।’’




2

1 ‘‘एफिससको मण्डलीको दूतलाई यो लेख : सातवटा ताराहरू आफ्‍‌नो दाहिने हातमा लिनुहुने र सातवटा सुनका सामदानहरूका बीचमा हिँड्‍‌नुहुनेले भन्‍‌नुहुन्छ :

2 ‘म तिम्रा कार्यहरू, तिम्रो परिश्रम र धैर्य जान्दछु अनि यो पनि जान्दछु कि तिमीले दुष्टहरूलाई सहन सक्दैनौ र प्रेरित नभए पनि आफूलाई प्रेरित भन्‍‌नेहरूलाई जाँच्यौ र झूटो साबित गर्‍यौ।

3 म जान्दछु, तिमीले सहेका छौ, मेरो नाउँको खातिर धैर्य गरेका छौ र थकित भएका छैनौ।

4 तापनि मसँग तिम्रो विरुद्धमा केही कुरा छ, किनभने तिमीले आफ्‍‌नो पहिलो प्रेम छोडिदिएका छौ।

5 यसकारण तिमी कहाँबाट पतित भएका छौ सो सम्झ, र पश्चात्ताप गर अनि पहिले गरेका काम गर, नत्र त म छिट्टै नै तिमीकहाँ आउनेछु र पश्चात्ताप गरेनौ भने तिम्रो सामदानलाई त्यसको ठाउँबाट हटाइदिनेछु ।

6 तर तिमीसँग यो कुरा त छ, तिमीले निकोलाइटसहरूका कार्यहरूलाई घृणा गरेका छौ, जसलाई म पनि घृणा गर्छु।

7 आत्माले मण्डलीहरूलाई के भन्‍‌नुहुन्छ, सुन्‍‌न चाहनेले सुनोस् ! जसले जित्छ, त्यसलाई परमेश्वरको स्वर्गलोकमा भएको जीवनको रूखबाट खान दिनेछु’।’’

8 अनि स्मुर्नाको मण्डलीको दूतलाई यो लेख : ‘‘यी कुरा पहिलो र अन्तले भन्‍‌नुहुन्छ, जो मर्नुभएको थियो र फेरि जीवित हुनुभएको छ,

9 ‘मैले तिम्रो कष्ट र तिम्रो गरीबी देखेको छु तर तिमी धनी छौ। यहूदी नभए पनि आफैलाई यहूदी हुँ भन्‍‌नेहरूको ईश्वर-निन्दा म जान्दछु, तर तिनीहरू शैतानका सभाघर हुन्।

10 तिमीहरूले भोग्‍‌न लागेको कष्टसँग नडराओ, शैतानले तिमीहरूमध्ये कतिलाई जाँच्‍‌नको निम्ति कैदमा हाल्‍‌न आँटेको छ र दश दिनसम्म सङ्कष्ट हुनेछ । तर तिमी मृत्युसम्मै विश्वसनीय होऊ र म तिमीलाई जीवनको मुकुट दिनेछु।

11 आत्माले मण्डलीहरूलाई के भन्‍‌नुहुन्छ सुन्‍‌न चाहनेले सुनोस् ! जसले जित्छ, त्यसलाई दोस्रो मृत्युदेखि केही हानि हुनेछैन’।’’

12 अनि पर्गाममका मण्डलीका दूतलाई यो लेख : ‘‘यी कुरा धारिलो दुईधारे तरवार साथमा लिनुहुनेले भन्‍‌नुहुन्छ, ‘

13 मलाई थाहा छ, तिमी कहाँ बस्छौ, त्यहीँ, जहाँ शैतानको सिंहासन छ, तर पनि तिमी मेरो नाउँमा स्थिर भएर बसेका छौ। मेरो विश्वसनीय साक्षी एन्टिपासको समयमा पनि ममाथि भएको आफ्‍‌नो विश्वास तिमीले त्यागेनौ । तिनी तिम्रै बीचमा मारिए, जहाँ शैतान वास गर्छ।

14 तर तिम्रो विरुद्धमा मसित केही कुरा छन्, किनकि तिमीकहाँ बालामको शिक्षा मान्‍‌नेहरू कोही-कोही छन्, जुन बालामले बालाकलाई इस्राएलका सन्तानका अघि मूर्त्तिहरूलाई चढाएका चीज खाने र व्यभिचार गर्नेजस्ता ठेस लाग्‍‌ने कारण राख्‍‌न सिकायो।

15 यसैगरी तिमीसँग कोही-कोही निकोलाइटस्हरूका शिक्षा मान्‍‌नेहरू पनि छन्, जुन कुरालाई म घृणा गर्दछु।

16 पश्चात्ताप गर, नत्र म तिमीकहाँ चाँडै आउनेछु र आफ्‍‌नो मुखको तरवारले तिनीहरूको विरुद्धमा लडाइँ गर्नेछु।

17 आत्माले मण्डलीहरूलाई के भन्‍‌न चाहनुहुन्छ, सुन्‍‌न चाहनेले सुनोस्। जसले जित्छ, उसलाई गुप्तमा रहेको मन्‍‌न खान दिनेछु र म उसलाई एउटा सेतो पत्थर दिनेछु, त्यस पत्थरमा एउटा नयाँ नाउँ लेखिएको हुन्छ, जो पाउनेबाहेक अरु कसैले जान्दैन’।’’

18 अनि थिआटीराको मण्डलीका दूतलाई यो लेख: ‘‘यी कुरा आगोको ज्वालाजस्ता आँखा र टल्केका काँसाजस्ता पाउहरू हुनुहुने परमेश्वरका पुत्रले भन्‍‌नुहुन्छ,

19 ‘मलाई तिम्रो काम, प्रेम, सेवा, विश्वास र धैर्य थाहा छ। तिम्रा पछिल्ला कामहरू पहिलेका कामहरूभन्दा अझ असल छन्।

20 तापनि तिम्रो विरुद्धमा मसँग केही कुरा छ, किनभने तिमीले आफैलाई अगमवादिनी भन्‍‌ने स्त्री, ईजेबेललाई सहेका छौ, जसले आफ्‍‌नो शिक्षाद्वारा मेरा दासहरूलाई व्यभिचार गर्न र मूर्त्तिहरूलाई चढाएको प्रसाद खान हुन्छ भनी भड्काउँछे।

21 अनि मैले त्यसलाई आफ्‍‌नो व्यभिचारबाट पश्चात्ताप गरोस् भनेर समय दिएँ तर त्यसले पश्चात्ताप गरिनँ।

22 हेर, म त्यसलाई रोगी-ओछ‍यानमा फालिदिनेछु र त्योसँग व्यभिचार गर्नेहरूलाई तिनीहरूका कार्यहरूबाट पश्चात्ताप गरेनन् भने ठूलो कष्टमा पार्नेछु।

23 म त्यसका सन्तानलाई रूढीले मारिदिनेछु अनि मन र हृदय जाँच्‍‌ने म नै हुँ भनी सबै मण्डलीहरूले जान्‍‌नेछन् र म तिमी, हरेकलाई आ-आफ्‍‌ना कामअनुसारको प्रतिफल दिनेछु।

24 तर तिमी थिआटीरामा भएका बाँकीलाई म भन्दछु कि यो शिक्षा नमान्‍‌नेहरू र शैतानका गुप्त कुरा थाहा छैन भन्‍‌नेहरूलाई म भार बोकाउनेछैनँ।

25 तापनि तिमीसँग भएका कुरा म नआउञ्जेलसम्म पक्रिराख।

26 जसले जित्छ र अन्त्यसम्म मेरा काम गर्दै जान्छ, उसलाई जाति-जातिहरूमाथि अधिकार दिनेछु।

27 कुमालेका भाँडाहरू चकनाचूर भएझैँ उसले फलामको छडीले तिनीहरूमाथि शासन गर्नेछ, जसरी मैले मेरा पिताबाट अधिकार पाएको छु।

28 अनि म उसलाई बिहानको तारा दिनेछु,

29 आत्माले मण्डलीहरूलाई के भन्‍‌नुहुन्छ, सुन्‍‌न चाहनेले सुनोस्’।’’




3

1 अनि सार्डिसको मण्डलीका दूतलाई यो लेख: ‘‘यी कुरा परमेश्वरका सातवटा आत्माहरू र सातवटा ताराहरू हुनुहुनेले भन्‍‌नुहुन्छ, ‘म तिम्रो कामहरू जान्दछु, तिमी जीवित छौ भन्‍‌ने नाम त छ, तर तिमी मृत छौ।

2 जागा रहो र बाँकी रहेका ती कुरा जुन मर्नै लागेका छन्, तिनलाई बलियो तुल्याओ, किनकि मैले तिम्रो कार्यहरू परमेश्वरको सामु सिद्ध पाएको छैनँ।

3 यसकारण तिमीले जुन कुरा पायौ र सुन्यौ, याद राख, त्यसलाई पक्रिराख र पश्चात्ताप गर। यदि तिमी जागा रहेनौ भने म चोरजस्तै आउनेछु र म कुन घडी आउनेछु तिमीलाई थाहा हुनेछैन।

4 तिमीसँग त्यहाँ सार्डिसमा पनि कति नाउँहरू छन्, जसले आफ्‍‌ना वस्त्र फोहोर पारेका छैनन्, तिनीहरू मसँग सेता वस्त्र लाएर हिँड्‍‌नेछन्, किनकि तिनीहरू योग्यका छन्।

5 जसले जित्छ, त्यसलाई सेतो वस्त्र पहिराइनेछ र म जीवनको पुस्तकबाट त्यसको नाउँ मेटाउनेछैन, तर म त्यसको नाउँ मेरा पिता र उहाँका दूतहरूका सामु स्वीकार गर्नेछु।

6 आत्माले मण्डलीहरूलाई के भन्‍‌नुहुन्छ, सुन्‍‌न चाहनेले सुनोस्’।’’

7 अनि फिलाडेल्फियाको मण्डलीका दूतलाई यो लेख: ‘‘यी कुरा पवित्र, सत्य र दाऊदको साँचो हुनेले भन्‍‌नुहुन्छ कि उहाँले खोल्‍‌नुभयो भने कसैले बन्द गर्न सक्दैन, उहाँले बन्द गर्नुभयो भने कसैले खोल्‍‌न सक्दैन।

8 ‘म तिम्रो कार्यहरू जान्दछु, हेर मैले तिम्रो सामु एउटा खुला ढोका राखिदिएको छु र यसलाई कसैले बन्द गर्न सक्दैन, किनकि तिमीसँग थोरै शक्ति छ तापनि मेरा वचन तिमीले पालन गरेका छौ, मेरो नाउँ तिमीले इन्कार गरेका छैनौ।

9 हेर, यहूदी नभए पनि आफैलाई यहूदी हुँ भन्‍‌ने झूट बोल्‍‌नेहरूलाई म शैतानका सभाघरका बनाइदिनेछु, हेर, म तिनीहरूलाई तिम्रो पाउको सामु आएर दण्डवत् गर्ने बनाउनेछु र म तिमीलाई प्रेम गर्दछु भन्‍‌ने कुरा तिनीहरूलाई थाहा गराउनेछु।

10 किनभने, तिमीले मेरा धैर्यताको वचन पालन गरेका छौ, पृथ्वीमा बस्‍‌नेहरूलाई जाँच गर्नको निम्ति सारा संसारमाथि आउनै लागेको परीक्षाको घडीबाट म तिमीलाई बचाउने पनि छु।

11 हेर, म चाँडै आउनेछु, तिमीसँग जे छ त्यसलाई पक्रिराख, यसैले कि तिम्रो मुकुट कसैले नलैजाओस्।

12 जसले जित्छ, त्यसलाई म मेरा परेमश्वरको मन्दिरमा खाँबो बनाउनेछु र त्यो कहिल्यै बाहिर जानेछैन अनि त्यसमा मेरा परमेश्वरको नाउँ र परमेश्वरको शहरको नाउँ, नयाँ यरूशलेम, जो स्वर्गबाट ओर्लिआउँछ र मेरो नयाँ नाउँ पनि म त्यसमाथि लेख्‍‌नेछु ।

13 आत्माले मण्डलीहरूलाई के भन्‍‌नुहुन्छ, सुन्‍‌न चाहनेले सुनोस्’।’’

14 अनि लाउडिकियाको मण्डलीको दूतलाई यो लेख : ‘‘यी कुरा आमेन्, विश्वसनीय र सत्य गवाही र परमेश्वरका सृष्टिको मूलले भन्‍‌नुहुन्छ,

15 ‘म तिम्रो कार्यहरू जान्दछु, तिमी न चिसो न तातो छौ, कि चिसो वा तातो भएको भए हुन्थ्यो,

16 यसैले तिमी मनतातो, न तातो न चिसो छौ, यसकारण म तिमीलाई मेरो मुखबाट उकेलिदिनेछु।

17 किनभने तिमी ‘म धनी छु,’ ‘मसित धनसम्पत्ति छ,’ ‘मलाई कुनै कुराको खाँचो छैन’ भन्छौ तर तिमी दु:खी, दयनीय, दरिद्र, अन्धा र नाङ्गो छौ भन्‍‌ने तिमीलाई थाहा छैन।

18 म तिमीलाई धनी हुनलाई मबाट आगोमा शुद्ध पारिएको सुन र आफ्‍‌नो नाङ्गोपनको सरम ढाक्‍‌नलाई सेतो वस्त्र र तिमीले आफ्‍‌नो आँखा देख्‍‌नलाई मलहम किन्‍‌नेसल्लाह दिन्छु।

19 जतिलाई म प्रेम गर्छु, तिनीहरूलाई म हप्काउँछु र ताडना दिन्छु, यसकारण जोशिलो होऊ र पश्चात्ताप गर।

20 हेर, म ढोकामा उभिन्छु र ढकढक्याउँछु, यदि कसैले मेरो सोर सुन्छ र ढोका खोल्दछ भने म त्यसकहाँ भित्र आउनेछु र त्यससँग म भोजन खानेछु, र त्यसले मसँग खानेछ।

21 जसले जित्छ, त्यसलाई म मेरो सिंहासनमा मसँग बस्‍‌ने अधिकार दिनेछु, जसरी मैले पनि जितेँ र मेरा पितासँग सिंहासनमा बसेको छु।

22 आत्माले मण्डलीहरूलाई के भन्‍‌न चाहनुहुन्छ, सुन्‍‌न चाहनेले सुनोस्’।’’




4

1 यसपछि मैले हेरेँ र हेर, स्वर्गमा एउटा ढोका उघ्रिएको थियो र मैले सुनेको पहिलो सोर मसँग कुरा गरिरहेको तुरहीको आवाजजस्तो थियो, जसले यसो भनिरहेको थियो ‘‘माथि आऊ र म तिमीलाई यसपछि हुनआउने यी कुरा देखाउनेछु।’’

2 म तुरुन्तै आत्मामा भएँ। हेर, स्वर्गमा एउटा सिंहासन थियो र सिंहासनमा एक जना बस्‍‌नुभएको थियो।

3 उहाँ जो त्यसमा बस्‍‌नुहुने स्फटिक र लालमणिझैँ देखिनुहुन्थ्यो र सिंहासनको वरिपरि हरितमणीझैँ देखिने इन्द्रेणी थियो।

4 सिंहासनको वरिपरि चौबीसवटा आसनहरू थिए अनि ती आसनहरूमा सेता वस्त्र पहिरिएका र आफ्‍‌ना शिरमा सुनका मुकुटहरू लगाएका चौबीस जना एल्डरहरू बसेका थिए।

5 अनि सिंहासनबाट बिजुलीको चमकहरू, आवाजहरू र गर्जनहरू निस्कन्थे। अनि त्यहाँ सिंहासनको सामुन्‍‌ने आगोका सातवटा बत्तीहरू बलिरहेका थिए, जो परमेश्वरका सात आत्मा हुन्।

6 अनि सिंहासनको अघि स्फटिकझैँ देखिने काँचको समुद्रजस्तो थियो, अनि त्यस सिंहासनको बीचमा, त्यसको वरिपरि र अघि-पछि आँखै-आँखालेभरिएका चारवटा जीवित प्राणीहरू थिए।

7 पहिलो प्राणी सिंहजस्तो थियो अनि दोस्रो प्राणी बाछोजस्तो, तेस्रो प्राणी मानिसको जस्तो अनुहार भएको र चौथो प्राणी उडिरहेको गरुडजस्तो थियो।

8 ती चारैवटा जीवित प्राणीहरूका छ-छ वटा पखेटा र वरिपरि अनि अघि-पछि आँखै-आँखाले भरिएका थिए र तिनीहरू बिनाविश्राम रातदिन यसो भन्थे, ‘‘पवित्र, पवित्र, पवित्र, सर्वशक्तिमान् परमेश्वर, जो हुनुहुन्थ्यो, हुनुहुन्छ र हुनआउनुहुनेछ।’’

9 जब ती जीवित प्राणीहरूले सिंहासनमा विराजमान हुनुहुने, जो सदासर्वदा जीवित रहनुहुन्छ, उहाँलाई महिमा, आदर र धन्यवाद चढाउँछन्।

10 तब ती चौबीस जना एल्डरहरू सिंहासनमा विराजमान हुनुहुनेको सामु घोप्टो पर्छन् र सदासर्वदा जीवित हुनुहुनेलाई दण्डवत् गर्छन् र यसो भन्दै सिंहासनको सामुन्‍‌ने आ-आफ्‍‌ना मुकुट राख्छन्,

11 ‘‘हे परमप्रभु, परमेश्वर तपाईं महिमा, आदर र शक्ति ग्रहण गर्ने योग्यको हुनुहुन्छ, किनभने सबै कुरा तपाईंले नै, तपाईंकै इच्छाबमोजिम र तपाईंद्वारै सृजिएका हुन्।’’




5

1 मैले सिंहासनमा विराजमान हुनुहुनेको दाहिने बाहुलीमा सातवटा मोहोर लगाएर बन्द गरिएको एउटा चर्मपत्रको मुट्ठो देखेँ।

2 अनि मैले एउटा शक्तिशाली स्वर्गदूतले चर्को सोरमा यस्तो घोषणा गरिरहेको सुनेँ, ‘‘यो मुट्ठो खोल्‍‌न र यसका मोहोरहरू तोड्‍‌न को योग्य छ ?’’

3 अनि त्यो मुट्ठो खोल्‍‌न र त्यसलाई हेर्नसक्‍‌ने न स्वर्गमा, न पृथ्वीमाथि, न पृथ्वीमुनि कोही थियो।

4 म धेरै रोएँ, किनकि त्यो मुट्ठो खोल्‍‌न, त्यो पढ्‍‌न र त्योभित्र हेर्नसक्‍‌ने कोही योग्यको पाइएन ।

5 तब एल्डरहरूमध्ये एउटाले मलाई भन्यो, ‘‘नरोऊ ! हेर, यहूदा कुलका सिंह, दाऊदको मूल यो मुट्ठो खोल्‍‌न र त्यसका सातवटा मोहोरहरू तोड्‍‌न विजयीहुनुभएको छ।’’

6 अनि हेर मैले सिंहासन र चारवटा जीवित प्राणीहरूको बीचमा मारिएको जस्तो देखिनुहुने थुमा एल्डरहरूको बीचमा उभिनुभएको देखेँ, जसका सातवटा सीङ र सातवटा आँखाहरू थिए, जुन सारा संसारभरि पठाइएका परमेश्वरका सात आत्माहरू हुन्।

7 अनि उहाँ आउनुभयो र सिंहासनमा विराजमान हुनुहुनेको दाहिने हातबाट त्यो मुट्ठो लिनुभयो।

8 जब उहाँले त्यो मुट्ठो लिनुभयो, तब चारवटा जीवित प्राणीहरू र चौबीसै एल्डरहरू हरेकले वीणा र धूपले भरिएका सुनका धुपौराहरू लिई थुमाको सामु घोप्टो परे, जुन पवित्रजनका प्रार्थना हुन्।

9 तिनीहरूले यसो भन्दै एउटा नयाँ भजन गाए : ‘‘तपाईं यो चर्मपत्रको मुट्ठो लिने र त्यसका मोहोरहरू तोड्‍‌ने योग्यका हुनुहुन्छ, तपाईं मारिनुभयो र आफ्‍‌नो रगतद्वारा तपाईंले परमेश्वरको निम्ति हरेक कुल, भाषा, मानिस र जातिबाट, मानिसहरूलाई छुटकारा दिनुभयो,

10 अनि तिनीहरूलाई राज्य र हाम्रा परमेश्वरका पूजाहारी बनाउनुभएको छ अनि तिनीहरूले पृथ्वीमा राज्य गर्नेछन्।’’

11 तब मैले हेरेँ र सिंहासन, जीवित प्राणीहरू र एल्डरहरूका वरिपरि मैले असङ्ख्य स्वर्गदूतहरूका सोर सुनेँ अनि तिनीहरूको सङ्ख्या लाखौं र करोडौं थियो।

12 तिनीहरूले चर्को सोरमा यसो भनिरहेका थिए : ‘‘मारिएका थुमा सामर्थ्य, वैभव, बुद्धि, शक्ति, सम्मान, महिमा र धन्यवाद ग्रहण गर्ने योग्यका हुनुहुन्छ।’’

13 अनि स्वर्ग र पृथ्वीमा, पृथ्वीमुनि, समुद्र र त्यहाँ भएका हरेक प्राणीले यसो भनिरहेको मैले सुनेँ, ‘‘सिंहासनमा विराजमान हुनुहुनेलाई र थुमालाई स्तुति, सम्मान, महिमा र सामर्थ्य सदासर्वदा होस्।’’

14 तब ती चारैवटा जीवित प्राणीले भने, ‘‘आमेन्।’’ अनि ती एल्डरहरूले घोप्टो परेर दण्डवत् गरे।




6

1 अनि जब थुमाले ती मोहोरहरूमध्ये एउटा खोल्‍‌नुभएको मैले देखेँ, तब चारवटा जीवित प्राणीहरूमध्ये एक जनाले गर्जनको आवाजजस्तो ‘‘आऊ र हेर’’ भनिरहेको सुनेँ।

2 मैले हेरेँ, अनि हेर, एउटा सेतो घोडा देखेँ, त्यसमाथि सवार हुनेसँग एउटा धनु थियो र उसलाई एउटा मुकुट दिइयो अनि ऊ जित्दै-जित्दै विजय गर्नलाई अघि बढ‍यो।

3 जब उहाँले दोस्रो मोहोर तोड्‍‌नुभयो, तब दोस्रो प्राणीले ‘‘आऊ र हेर’’ भनिरहेको मैले सुनेँ।

4 अर्को एउटा रातो घोडा निस्क्यो, मानिसहरूले एक-अर्काको हत्या गरून् भनी यस घोडसवारलाई पृथ्वीबाट शान्ति हरण गर्ने अख्तियार दिइयो। उसलाई एउटा ठूलो तरवार दिइयो।

5 जब उहाँले तेस्रो मोहोर तोड्‍‌नुभयो, मैले तेस्रो जीवित प्राणीले ‘‘आऊ र हेर’’ भनिरहेको सुनेँ। मैले एउटा कालो घोडा देखेँ । त्यस घोडसवारको हातमा एउटा तराजु थियो।

6 तब मैले चारवटा जीवित प्राणीहरूको बीचमा यसो भनिरहेको सोरजस्तो केही सुनेँ, ‘‘एक दिनको ज्याला एक किलो गहुँ र एक दिनको ज्याला तीन किलो जौ; तर तेल र मद्यलाई नष्ट नगर्नू।’’

7 जब उहाँले चौथो मोहोर तोड्‍‌नुभयो, तब मैले चौथो जीवित प्राणीले ‘आऊ र हेर’ भनिरहेको सुनेँ।

8 अनि मैले हेरेँ, हेर, एउटा पहेँलो घोडसवार देखेँ, जसको नाउँ ‘मृत्यु’ थियो र नरक उसको पछि लागेको थियो। अनि उसलाई पृथ्वीको चौथाइ भागलाई तरवार, अनिकाल, महामारी र पृथ्वीका जङ्गली पशुहरूद्वारा मार्ने अधिकार दिइएको थियो।

9 जब उहाँले पाँचौं मोहोर तोड्‍‌नुभयो, तब मैले वेदीको मुन्तिर परमेश्वरको वचन र तिनीहरूले थामेर राखेका गवाहीको खातिर मारिएकाहरूको आत्मालाई देखेँ।

10 अनि तिनीहरू यसो भन्दै चर्को सोरले कराइरहेका थिए, ‘‘हे सर्वशक्तिमान्, पवित्र र सत्य प्रभु, कहिलेसम्म तपाईंले पृथ्वीमा रहनेहरूको न्याय गर्नुहुन्‍‌न र हाम्रो रगतको बदला लिनुहुन्‍‌न?’’

11 तिनीहरू प्रत्येकलाई एक-एकवटा सेतो लबेदा दिइयो अनि तिनीहरूका सहकर्मी र भाइहरू पनि तिनीहरूझैँ मारिएर सङ्ख्यामा पूरा नहुञ्जेल तिनीहरूलाई पर्खनू भनियो।

12 अनि जब उहाँले छैटौं मोहोर तोड्‍‌नुभयो, हेर त्यहाँ एउटा ठूलो भूकम्प गयो र सूर्य रौंले बनेको भाङग्राजस्तो कालो अनि चन्द्रमा रगतजस्तै रातो भयो,

13 ठूलो बतासले नेभारोको रूखलाई हल्लाउँदा नपाकेका फलहरू झरेझैँ आकाशका ताराहरू पृथ्वीमा खसे।

14 आकाश चर्मपत्रको मुट्ठोझैँ बेरिएर लोप भयो र हरेक टापु र पहाड तिनीहरूका आ-आफ्‍‌ना ठाउँबाट हटेर गए।

15 अनि पृथ्वीका राजाहरू, मुख्य मानिसहरू, धनीहरू, मुख्य कप्तानहरू, बलवान् मानिसहरू, हरेक कमारा र स्वतन्त्र मानिसहरू ओडारहरू र पहाडका चट्टानहरूमा लुके।

16 तिनीहरूले पहाडहरू र चट्टानहरूलाई भने, ‘‘हामीमाथि खस र हामीलाई सिंहासनमा बस्‍‌नुहुनेको मुहार र थुमाको क्रोधबाट लुकाऊ।

17 किनकि उहाँको क्रोधको भयानक दिन आएको छ र कसले यसको सामना गर्नसक्छ?’’




7

1 यसपछि पृथ्वी वा समुद्र वा कुनै रूखमा बतास नचलोस् भनेर चार स्वर्गदूतहरू पृथ्वीका चारैपट्टिका बतास रोकेर पृथ्वीका चार कुनामा उभिरहेका मैले देखेँ।

2 अनि मैले जीवित परमेश्वरको मोहोर लिएर अर्को एउटा स्वर्गदूतलाई पूर्वबाट उक्लिरहेको देखेँ, उनले पृथ्वी र समुद्रलाई हानि गर्ने अधिकार पाएका चार स्वर्गदूतहरूलाई चर्को सोरले यसो भने,

3 ‘‘जबसम्म हामी हाम्रा परमेश्वरका कमाराहरूका निधारमा मोहोर लगाउँदैनौं, तबसम्म भूमि, समुद्र र रूखहरूलाई केही हानि नगर।’’

4 अनि मैले इस्राएलका सबै कुलबाट मोहोर लगाइएकाहरूको सङ्ख्या सुनेँ र तिनीहरू एक लाख चवालीस हजार थिए।

5 यहूदाको कुलबाट बाह्र हजारलाई मोहोर लगाइयो, रूबेनको कुलबाट बाह्र हजारलाई, गादको कुलबाट बाह्र हजारलाई,

6 आशेरको कुलबाट बाह्र हजारलाई, नप्तालीको कुलबाट बाह्र हजारलाई, मनश्शेको कुलबाट बाह्र हजारलाई,

7 शिमियोनको कुलबाट बाह्र हजारलाई, लेवीको कुलबाट बाह्र हजारलाई, इस्साखारको कुलबाट बाह्र हजारलाई,

8 जबूलूनको कुलबाट बाह्र हजारलाई, योसेफको कुलबाट बाह्र हजारलाई, बेन्यामीनको कुलबाट बाह्र हजारलाई मोहोर लगाइयो।

9 यसपछि मैले हेरेँ, हेर, हरेक जाति, कुल, मानिस र भाषाहरूका कसैले गन्‍‌न नसक्‍‌ने ठूलो भीड सेतो वस्त्र पहिरेर अनि आ-आफ्‍‌ना हातमा खजूरका हाँगाहरू लिई सिंहासन र थुमाका सामु उभिरहेका थिए।

10 अनि तिनीहरू यसो भन्दै चर्को सोरमा कराए : ‘‘सिंहासनमा विराजमान हुनुहुने हाम्रा परमेश्वर र थुमामा मुक्ति छ।’’

11 अनि सबै स्वर्गदूतहरू सिंहासन, एल्डरहरू र चार जीवित प्राणीहरूका वरिपरि खडा भए अनि सिंहासनको सामुन्‍‌ने घोप्टो परी तिनीहरूले यसो भन्दै परमेश्वरलाई दण्डवत् गरे।

12 ‘‘आमेन् ! हाम्रा परमेश्वरलाई प्रशंसा, महिमा, बुद्धि, धन्यवाद, सम्मान, शक्ति र सामर्थ्य सदासर्वदा होस्, आमेन्।’’

13 एल्डरहरूमध्ये एउटाले मलाई सोधे, ‘‘यी सेता वस्त्र लाउनेहरू को हुन् र कहाँबाट आएका हुन्?’’

14 अनि मैले तिनलाई जवाफ दिएँ, ‘‘हजूर तपाईं नै जान्‍‌नुहुन्छ ।’’ तिनले मलाई भने, ‘‘यिनीहरू ती नै हुन्, जो महासङ्कष्ट पार गरेर आएका हुन् र तिनीहरूले आ-आफ्‍‌ना वस्त्रहरू थुमाका रगतमा धोएर सेता बनाएका छन्।

15 यसैकारण, तिनीहरू परमेश्वरका सिंहासनको सामुन्‍‌ने छन् र उहाँको मन्दिरमा दिनरात उहाँको सेवा गर्दछन् अनि सिंहासनमा विराजमान हुनुहुनेले आफ्‍‌नै उपस्थितिले तिनीहरूलाई शरण दिनुहुनेछ।

16 तिनीहरू कहिल्यै भोकाउने र तिर्खाउनेछैनन्, सूर्यको राप अथवा कुनै प्रचण्ड ताप तिनीहरूमाथि पर्नेछैन,

17 किनकि सिंहासनको बीचमा हुनुहुने थुमा तिनीहरूको गोठालो हुनुहुनेछ र तिनीहरूलाई डोर्‍याएर जिउँदो पानीको मुहानसम्म लानुहुनेछ र परमेश्वरले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ।’’




8

1 जब उहाँले सातौँ मोहोर तोड्‍‌नुभयो, तब प्राय: आधा घण्टासम्म स्वर्गमा सन्‍‌नाटा छायो।

2 तब मैले परमेश्वरका सामुन्‍‌ने उभिएका सात स्वर्गदूतहरूलाई देखेँ। तिनीहरूलाई सातवटा तुरही दिइयो।

3 अर्को एउटा स्वर्गदूत आए अनि सुनको धुपौरो लिएर वेदीको छेउमा खडा भए। सिंहासनको सामुन्‍‌ने रहेको सुनको वेदीमाथि सबै सन्तहरूका प्रार्थनासँग चढाउनका निम्ति तिनलाई धेरै धूप दिइयो ।

4 सन्तहरूको प्रार्थनासँग धूपको धूवाँ स्वर्गदूतको हातबाट परमेश्वरको अघि पुग्यो।

5 तब स्वर्गदूतले धूपौरो लिएर त्यसमा वेदीको आगो भरेर पृथ्वीमाथि फ्याँकिदिए । अनि गर्जनहरू, आवाजहरू, बिजुलीका चमकहरू उत्पन्‍‌न भए र भूकम्प गयो।

6 तब सातवटा तुरही लिएका सात स्वर्गदूतहरू ती फुक्‍‌न तयार भए,

7 पहिलो स्वर्गदूतले आफ्‍‌नो तुरही फुके अनि असिना र रगतसँग मिसिएको आगो आयो र ती पृथ्वीमा फालियो। अनि पृथ्वीको एक तिहाइ भाग, रूखहरूको एक तिहाइ भाग र सबै हरिया घाँसहरू डढिहाले।

8 दोस्रो स्वर्गदूतले आफ्‍‌नो तुरही फुके र आगोले जलिरहेको एउटा ठूलो पहाडजस्तो केही समुद्रमा फालियो र समुद्रको एक तिहाइ भाग रगत बन्यो।

9 अनि समुद्रमा भएका जीवित प्राणीको एक तिहाइ भाग मरे र जहाजहरूको एक तिहाइ भाग नष्ट भए।

10 तेस्रो स्वर्गदूतले आफ्‍‌नो तुरही फुके र आकाशबाट जलिरहेको राँकोझैँ एउटा ठूलो तारा नदीहरूको एक तिहाइ भाग र पानीका मुहानहरूमा खस्यो।

11 त्यस ताराको नाउँ एेरेलु हो र त्यसले गर्दा पानीको एक तिहाइ भाग तीतो भयो र पानी तीतो भएको हुनाले धेरै मानिसहरू मरे।

12 चौथो स्वर्गदूतले आफ्‍‌नो तुरही फुके, सूर्यको एक तिहाइ, चन्द्रमाको एक तिहाइ ताराहरूको एक तिहाइ भागमाथि प्रहार गरियो अनि तिनीहरूका प्रकाशको एक तिहाइ भागलाई अन्धकारले छोप्यो। तब दिनको एक तिहाइ र रातको एक तिहाइ पनि अन्धकार भयो।

13 तब मैले हेरेँ र बीच आकाशमा उडिरहेको एउटा गरुड यसो भन्दै चर्को सोरले कराएको सुनेँ, ‘‘फुक्‍‌न बाँकी रहेका तीन स्वर्गदूतका अरु तुरहीका आवाजको कारणले पृथ्वीमा वास गर्नेहरूलाई धिक्कार ! धिक्कार ! धिक्कार !’’




9

1 अनि पाँचौँ स्वर्गदूतले आफ्‍‌नो तुरही फुके, तब मैले एउटा तारा देखेँ, जो स्वर्गबाट पृथ्वीमा खसेको थियो। त्यसलाई अतलकुण्डको साँचो दिइयो।

2 त्यसले अतलकुण्ड खोल्यो र त्यसबाट आगोको ठूलो भट्टीको धूवाँजस्तो निस्केर माथि उठ‍यो र त्यो कुण्डको धूवाँले सूर्य र वायुमण्डल अँध्यारो पार्‍यो।

3 त्यस धूवाँबाट पृथ्वीमा सलहहरू निस्के र पृथ्वीका बिच्छीहरूको जस्तो शक्ति तिनीहरूलाई दिइयो।

4 तिनीहरूलाई पृथ्वीका घाँस वा कुनै बोटबिरुवा वा रूखलाई हानि नगर्नू तर निधारमा परमेश्वरको मोहोर नभएका मानिसहरूलाई मात्र हानि गर्नू भन्‍‌ने आदेश दिइयो।

5 तिनीहरूलाई तुरुन्तै नमार्नू तर पाँच महिनासम्म यातना दिनू भन्‍‌ने अख्तियार दिइयो र मानिसलाई बिच्छीले डस्दा जस्तो पीडा हुन्छ, तिनीहरूले दिएको पीडा पनि त्यस्तै थियो।

6 ती दिनमा मानिसहरूले मृत्यु खोज्‍‌नेछन् तर पाउनेछैनन्। तिनीहरू मर्न इच्छा गर्नेछन् तर मृत्यु तिनीहरूबाट भाग्‍‌नेछ।

7 ती सलहहरूको रूप लडाइँको निम्ति तयार पारिएका घोडाहरूजस्ता देखिन्थे, तिनीहरूका शिरमा सुनका जस्ता मुकुट र तिनीहरूका अनुहार मानिसका अनुहारजस्ता थिए।

8 तिनीहरूका केश स्त्रीका केशजस्तै थिए र तिनीहरूका दाँत सिंहका दाँतजस्ता थिए,

9 अनि तिनीहरूका छातीमा लगाइने रक्षाकवच फलामका जस्ता थिए र तिनीहरूका पखेटाहरूको आवाज लडाइँमा दगुर्ने धेरै रथ र घोडाहरूको आवाजजस्तै थियो।

10 तिनीहरूका पुच्छर र खील बिच्छीका जस्तै थिए। तिनीहरूका पुच्छरमा पाँच महिनासम्म मानिसलाई चोट पुर्‍याउने शक्ति थियो।

11 अतलकुण्डको दूत तिनीहरूको राजा थियो। हिब्रूभाषामा त्यसको नाउँ एबाड्डोन र ग्रीकभाषामा त्यसको नाउँ अपोल्लियोन हो।

12 पहिलो विपत्ति बितिहाल्यो, हेर, यसपछि फेरि दुईटा विपत्ति आउन बाँकी छन्।

13 अनि छैटौँ स्वर्गदूतले आफ्‍‌नो तुरही फुके र मैले परमेश्वरको अगाडि भएको सुनको वेदीका चारैवटा सीङबाट एउटा आवाज निस्केको सुनेँ।

14 तुरही लिने छैटौँ स्वर्गदूतलाई यसो भनिएको मैले सुनेँ, ‘‘ठूलो नदी यूफ्रेटिसमा बाँधिराखेका ती चार दूतलाई छोडिदेऊ ।’’

15 अनि मानिस जातिको एक तिहाइ भागलाई मारून् भनेर त्यस घडी, त्यस दिन, त्यस महिना र त्यस वर्षको निम्ति तयार पारिराखिएका ती चार दूतहरूलाई छोडियो ।

16 ती घोडचढी फौजको सङ्ख्या बीस करोड थियो, मैले तिनीहरूको सङ्ख्या सुनेँ।

17 मेरो दर्शनमा देखिएका घोडा र घोडसवारहरूको रक्षाकवचहरू आगोको, नीलमणि र गन्धकको रङ्गका थिए । ती घोडाहरूका टाउका सिंहहरूका टाउका जस्ता थिए। तिनीहरूका मुखबाट आगो, धूवाँ र गन्धक निस्कन्थे।

18 तिनीहरूका मुखबाट निस्केका आगो, धूवाँ र गन्धकका तीन विपत्तिद्वारा मानिस जातिको एक तिहाइ भाग मारियो।

19 किनकि ती घोडाहरूको शक्ति तिनीहरूका मुख र पुच्छरमा थियो, किनभने तिनीहरूका पुच्छरहरू हानि गर्ने टाउका भएका सर्पजस्ता थिए।

20 यी विपत्तिहरूद्वारा नमारिएका बाँकी मानिसहरूले आफ्‍‌ना हातका कामहरूबाट अझ पनि पश्चात्ताप गरेनन् । तिनीहरूले भूतहरूलाई र देख्‍‌न नसक्‍‌ने, सुन्‍‌न नसक्‍‌ने र हिँड्‍‌न नसक्‍‌ने सुन, चाँदी, काँसा, ढुङ्गा र काठका मूर्त्तिहरूलाई पुज्‍‌न छोडेनन्।

21 न त तिनीहरूले आफूले गरेको हत्या, जादुगरी, व्यभिचार र चोरीको निम्ति पश्चात्ताप नै गरे।




10

1 मैले बादलको वस्त्र पहिरिएको अर्को शक्तिशाली स्वर्गदूतलाई स्वर्गबाट आेर्लेको देखेँ। उनको शिरमा इन्द्रेनी थियो अनि उनको अनुहार सूर्यजस्तो र पाउहरू आगोको खाँबाजस्ता थिए।

2 उनको हातमा खोलिएको सानो चर्मपत्रको मुट्ठो थियो। उनले आफ्‍‌नो दाहिने पाउ समुद्रमा र देब्रे पाउ पृथ्वीमा राखे,

3 अनि एउटा सिंह गर्जेझैँ उनी ठूलो सोरले कराए र उनी कराएपछि ती सात गर्जनहरूले आवाज निकाले।

4 जब ती सात गर्जनहरूले आ-आफ्‍‌नो आवाज निकाले, म लेख्‍‌नै लागेको थिएँ अनि त्यसैबेला स्वर्गबाट यसो भन्‍‌ने आवाज मैले सुनेँ, ‘‘ती सात गर्जनहरूले निकालेका आवाजलाई मोहोर लगाऊ र ती नलेख।’’

5 अनि पृथ्वी र समुद्रमा उभिएका जुन स्वर्गदूतलाई मैले देखेको थिएँ, उनले आफ्‍‌नो हात स्वर्गतिर उचाले।

6 अनि सदासर्वदा जीवित रहनुहुने, तथा स्वर्ग र त्यसमा भएका कुरा, पृथ्वी र त्यसमा भएका कुरा, समुद्र र त्यसमा भएका कुरा सृष्टि गर्नुहुनेको नाउँमा उनले शपथ खाएर अब ढीलो हुनेछैन भने।

7 तर ती दिनहरूमा सातौँ स्वर्गदूतले आफ्‍‌नो तुरही फुक्‍‌नैलाग्दा उहाँले आफ्‍‌ना दास अगमवक्ताहरूलाई घोषणा गर्नुभएझैँ परमेश्वरको रहस्य पूरा हुनेछ।

8 तब स्वर्गबाट मैले सुनेको आवाजले मलाई फेरि यसो भन्यो, ‘‘जाऊ, समुद्र र पृथ्वीमा उभिने दूतको हातमा भएको खुल्ला चर्मपत्रको मुट्ठो लेऊ।’’

9 अनि म ती स्वर्गदूतकहाँ गएँ र त्यो सानो चर्मपत्रको मुट्ठो मागेँ अनि उनले मलाई भने, ‘‘यो लेऊ र खाऊ। यसले तिम्रो पेट तीतो गराउनेछ तर तिम्रो मुखमा त्यो महजस्तै गुलियो हुनेछ।’’

10 मैले ती स्वर्गदूतको हातबाट त्यो सानो चर्मपत्रको मुट्ठो लिएँ र खाएँ। मेरो मुखमा त्यो महजस्तै गुलियो भयो। तर त्यो खाएपछि मेरो पेट तीतो भयो।

11 तब मलाई यसो भनियो, ‘‘तिमीले धेरै जना मानिसहरू, जातिहरू, भाषाहरू र राजाहरूका विषयमा फेरि अगमवाणी बोल्‍‌नुपर्छ।’’




11

1 त्यसपछि मलाई नाप्‍‌ने लट्ठीजस्तो एउटा निगालो दिइयो र कसैले यसो भन्यो, ‘‘उठ र परमेश्वरको मन्दिर र वेदीको नाप लेऊ र त्यहाँ आराधना गर्नेहरूको गन्ती गर।

2 तर मन्दिरबाहिरको चोकलाई छोड र त्यसको नाप नलेऊ, किनकि त्यो अयहूदीहरूलाई दिइएको छ र बयालीस महिनासम्म पवित्र शहरलाई तिनीहरूले कुल्चीमिल्ची गर्नेछन्।

3 मेरा दुई साक्षीहरूलाई म एक हजार दुई सय साठी दिनसम्म भाङ्ग्राको वस्त्र लगाएर अगमवाणी बोल्‍‌ने शक्ति दिनेछु।’’

4 पृथ्वीको प्रभुका अघि खडा रहेका जैतुनका दुई रूखहरू र दुई सामदानहरू यी नै हुन्।

5 यदि कसैले तिनीहरूलाई हानि गर्ने इच्छा गर्‍यो भने तिनीहरूका मुखबाट निस्केको आगोले तिनीहरूका शत्रुहरूलाई नाश पार्नेछ। यदि कसैले तिनीहरूको हानि गर्ने इच्छा गर्‍यो भने यस्तै प्रकारले त्यसलाई मारिनुपर्छ।

6 तिनीहरूसित अगमवाणी गरेका दिनहरूमा पानी नपरोस् भनी आकाश बन्द गर्ने, पानीलाई रगतमा परिणत गर्ने र तिनीहरूले चाहेको बेला पृथ्वीमा प्रत्येक किसिमको विपत्तिले चोट पुर्‍याउने शक्ति छ।

7 अब तिनीहरूको गवाही सिद्धिएपछि अतलकुण्डबाट निस्केर आउने पशुले तिनीहरूलाई आक्रमण गरी वशमा ल्याएर मारिदिनेछ।

8 तिनीहरूका लाशहरू त्यस ठूलो शहरको सडकमा पस्रिरहनेछन्, जुन शहरलाई उपमाको रूपमा सदोम र मिश्र भनिन्छ, जहाँ तिनीहरूका प्रभु क्रूसमा टाँगिनुभएको थियो।

9 साढे तीन दिनसम्म तिनीहरूका लाशहरूलाई मानिसहरू, कुल, भाषाहरू र जाति-जातिका मानिसहरूले हेर्नेछन् अनि ती लाशहरू गाड्‍‌न दिनेछैनन्,

10 पृथ्वीमा वास गर्नेहरू तिनीहरूका मृत्युमा रमाउनेछन्, आनन्द मनाउनेछन् र आपसमा उपहार लेनदेन गर्नेछन्। किनभने ती दुई अगमवक्ताले पृथ्वीमा वास गर्नेहरूलाई सताएका थिए।

11 साढे तीन दिनपछि परमेश्वरबाट आएको जीवनको सास तिनीहरूभित्र पस्यो र तिनीहरू आफ्‍‌ना पाउमा खडा भए अनि तिनीहरूलाई देख्‍‌नेहरू भयभीत भए।

12 अनि तिनीहरूले स्वर्गबाट ‘यतामाथि आओ’ भन्‍‌ने एउटा ठूलो आवाज सुने। तिनीहरूका शत्रुहरूले हेर्दाहेर्दै तिनीहरू बादलमा स्वर्गतिर उक्ले।

13 त्यही घडी ठूलो भूकम्प गयो र शहरको दशौँ भाग ढल्यो अनि त्यस भूकम्पमा सात हजार मानिसहरू मारिए। अरु बाँचेकाहरू डराए र स्वर्गका परमेश्वरलाई महिमा दिए।

14 दोस्रो विपत्ति बितिहाल्यो, ‘‘हेर, तेस्रो विपत्ति चाँडै आउँदैछ।’’

15 अनि सातौँ स्वर्गदूतले सातौँ तुरही फुके र त्यसपछि स्वर्गमा यसो भन्‍‌ने ठूलो आवाज गुञ्जियो, ‘‘संसारको राज्य हाम्रा प्रभुको र उहाँको ख्रीष्टको राज्य भएको छ, अनि उहाँले सदासर्वदा राज्य गर्नुहुनेछ।’’

16 अनि परमेश्वरको सामुन्‍‌ने आ-आफ्‍‌नो आसनमा बस्‍‌ने ती चौबीसै जना एल्डरहरूले घोप्टो परेर परमेश्वरलाई दण्डवत् गरे

17 र भने, ‘‘हे सर्वशक्तिमान्, परमप्रभु परमेश्वर, हामी तपाईंलाई धन्यवाद चढाउँछौं, जो हुनुहुन्छ र जो हुनुहुन्थ्यो, किनभने तपाईंले आफ्‍‌नो ठूलो सामर्थ्य हातमा लिनुभयो र राज्य गर्न थाल्‍‌नुभयो।

18 जाति-जातिहरू क्रुद्ध भए, तपाईंको क्रोध प्रकट भयो। मरेकाहरूका न्यायको समय आयो र तपाईंका दास अगमवक्ताहरू र सन्तहरूलाई अनि तपाईंका नाउँको डर मान्‍‌ने ठूला-सानाहरूलाई इनाम दिने समय र पृथ्वीको विनाश गर्नेहरूलाई नाश गर्ने समय आयो।’’

19 स्वर्गमा परमेश्वरको मन्दिर खोलियो र उहाँको मन्दिरभित्र उहाँका करारको सन्दुक देखियो। बिजुलीका चमक देखिए। आवाज र गर्जनहरू सुनिए, भूकम्प गयो अनि ठूल्ठूला असिना परे।




12

1 स्वर्गबाट एउटा ठूलो चिन्ह देखियो, सूर्य पहिरेकी, पाउमा चन्द्रमा भएकी र शिरमा बाह्रवटा ताराको मुकुट लाएकी एउटी स्त्री देखा परी,

2 त्यो गर्भवती थिई र प्रसववेदनाले चिच्च्याइरहेकी थिई।

3 अनि स्वर्गमा अर्को एउटा चिन्ह देखियो: हेर, सातवटा शिर, दशवटा सीङ र शिरमा सातवटा मुकुट लाएको एउटा ठूलो रातो अजिङ्गर देखा पर्‍यो।

4 त्यसको पुच्छरले स्वर्गको एक तिहाइ भाग ताराहरूलाई सोहोरेर पृथ्वीमा फालिदियो। बालक जन्मनासाथ त्यसलाई निलिहालूँ भनी त्यो अजिङ्गर बालक जन्माउन लागेकी स्त्रीको सामुन्‍‌ने खडा थियो।

5 त्यस स्त्रीले जाति-जातिका सबैलाई फलामको डन्डाले शासन गर्ने एउटा छोरो जन्माई। त्यसको बालक उठाइएर परमेश्वरकहाँ उहाँको सिंहासनमा लगियो।

6 त्यो स्त्री उजाड-स्थानभित्र भागी, जहाँ एक हजार दुई सय साठी दिनसम्म त्यसको पालनपोषण होस् भनेर परमेश्वरले त्यसको निम्ति ठाउँ तयार पार्नुभएको थियो।

7 अनि स्वर्गमा लडाइँ भयो, मिखाएल र तिनका दूतहरूले त्यस अजिङ्गरसँग युद्ध गरे। अजिङ्गर र त्यसका दूतहरूले पनि युद्ध गरे।

8 तर ऊ बलियो थिएन र तिनीहरूले स्वर्गमा आफ्‍‌नो स्थान गुमाए ।

9 त्यो ठूलो अजिङ्गर तल फालियो, सारा संसारलाई बहकाउने त्यो प्राचीन सर्प दुष्ट र शैतान हो। त्यो पृथ्वीमा फ्याँकियो र त्यसका दूतहरू त्यसका साथसाथै फ्याँकिए।

10 अनि मैले स्वर्गमा यसो भनिरहेको एउटा ठूलो आवाज सुनेँ, ‘‘अब हाम्रा परमेश्वरको मुक्ति, शक्ति राज्य र उहाँका ख्रीष्टको अधिकार आएको छ। किनकि हाम्रा भाइहरूलाई दोष लगाउने, जसले हाम्रा परमेश्वरका सामुन्‍‌ने तिनीहरूलाई दिनरात दोष लगाउँछ, त्यो तल फ्याँकिएको छ।

11 तिनीहरूले थुमाको रगत र आफ्‍‌ना गवाहीद्वारा त्यसलाई जितेका छन् र तिनीहरूले आफ्‍‌नो मृत्युसम्मै पनि आफ्‍‌नो ज्यानको माया गरेनन्।’’

12 यसकारण, हे स्वर्गहरू र यसमा रहनेहरू, तिमीहरू रमाओ। तर पृथ्वी र समुद्रलाई धिक्कार छ ! किनभने आफ्‍‌नो समय थोरै छ भनी थाहा पाएर शैतान भयानक क्रोधसाथ तिमीहरूकहाँ तल आएको छ।’’

13 जब त्यस अजिङ्गरले आफू पृथ्वीमा फ्याँकिएको देख्यो, तब त्यसले छोरो जन्माउने त्यस स्त्रीलाई सतायो।

14 तर त्यस स्त्रीलाई त्यस सर्पको उपस्थितिबाट उजाड-स्थानमा उडेर जानलाई ठूलो गरुडका दुई पखेटा दिइयो। त्यो उजाड-स्थान साढे तीन वर्षसम्म त्यस स्त्रीको पालनपोषणको निम्ति तयार पारिएको थियो।

15 त्यस स्त्रीलाई बाढीले बगाओस् भनेर त्यस सर्पले स्त्रीको पछि आफ्‍‌नो मुखबाट नदीजस्तै पानी निकाल्यो।

16 तर पृथ्वीले त्यस स्त्रीलाई सहायता गर्‍यो र अजिङ्गरले आफ्‍‌नो मुखबाट निकालेका नदी पृथ्वीले आफ्‍‌नो मुख उघारेर निलिदियो।

17 अनि त्यो अजिङ्गर त्यस स्त्रीसँग क्रोधित भयो, परमेश्वरका आज्ञापालन गर्ने अनि येशूको गवाही दिने तिनका बाँकी सन्तानसँग लडाइँ गर्नगयो।




13

1 अनि त्यो अजिङ्गर समुद्रको किनारमा खडा भयो। तब मैले समुद्रबाट एउटा पशु निस्किआएको देखेँ, त्यसका दशवटा सीङ र सातवटा शिर थिए। त्यसका सीङमा दशवटा मुकुट थिए र त्यसका शिरमा ईश्वर-निन्दाका नाउँहरू थिए।

2 मैले देखेको त्यो पशु चितुवाजस्तै थियो, त्यसका पाउहरू भालुका जस्ता थिए र त्यसको मुख सिंहको जस्तो थियो। त्यस अजिङ्गरले त्यस पशुलाई आफ्‍‌नो शक्ति, आफ्‍‌नो सिंहासन र महान् अधिकार दियो।

3 त्यसको एउटा शिरमा घातक चोट लागेको जस्तो देखिन्थ्यो, तर त्यसको चोट निको भयो र सारा पृथ्वी चकित भएर त्यस पशुको पछि-पछि लाग्यो।

4 तिनीहरूले अजिङ्गरको पूजा गर्दथे, किनकि त्यसले आफ्‍‌नो अधिकार पशुलाई दिएको थियो। तिनीहरूले यसो भन्दै पशुको पूजा गरे, ‘‘यो पशुजस्तो अरु को छ र? यसको विरुद्धमा को लड्‍‌न सक्छ?’’

5 त्यसको मुखमा अहङ्कारी र ईश्वर-निन्दा गर्ने शब्दहरू उच्चारण गर्न दिइयो र त्यसलाई बयालीस महिनासम्म अधिकार चलाउन दिइयो।

6 परमेश्वरको विरुद्धमा निन्दा गर्न, उहाँको नाउँ र उहाँको वासस्थान अनि स्वर्गमा बस्‍‌नेहरूसमेत सबैको निन्दा गर्नलाई त्यसले आफ्‍‌नो मुख खोल्यो।

7 अनि त्यसलाई सन्तहरूसँग लडाइँ गर्ने र तिनीहरूलाई जित्‍‌ने अनुमति दिइयो। सबै कुल, भाषाहरू र जातिहरूमाथि त्यसलाई अधिकार दिइयो।

8 अनि पृथ्वीमा वास गर्ने सबैले त्यस पशुको पूजा गर्नेछन्, जसको नाउँ संसारको सृष्टिदेखि नै मारिनुभएको थुमाको जीवनको पुस्तकमा लेखिएको छैन।

9 सुन्‍‌न चाहनेले सुनोस् ;

10 कैदमा जानुपर्ने कैदमा नै जानेछ, तरवारले मारिनुपर्ने तरवारले नै मारिनेछ। सन्तहरूको सहनशीलता र विश्वसनीयता यसैमा छ।

11 अनि पृथ्वीबाट निस्किरहेको अर्को एउटा पशु मैले देखेँ। त्यसको पनि थुमाका जस्तै दुईवटा सीङ थिए र त्यो अजिङ्गरजस्तै बोल्दथ्यो।

12 त्यसले पहिलो पशुको उपस्थितिमा त्यही पशुको सारा अख्तियार चलाउँथ्यो अनि पृथ्वी र त्यसका सम्पूर्ण बासिन्दाहरूलाई पहिलो पशुको पूजा गर्न लाउँथ्यो, जसको घातक चोट निको भएको थियो।

13 मानिसहरूका आँखाको अघि आकाशबाट पृथ्वीमा आगो झार्नेजस्ता ठूल्ठूला चिन्हहरू पनि त्यसले गर्‍यो ।

14 पहिलो पशुको उपस्थितिमा जुन चिन्हहरू देखाउने शक्ति त्यसलाई दिइएको थियो, त्यहीद्वारा त्यसले पृथ्वीका बासिन्दाहरूलाई बहकायो। तरवारको चोट खाएर पनि जीवित भएको त्यस पहिलो पशुको सम्मानमा एउटा मूर्त्ति बनाउने हुकुम त्यसले तिनीहरूलाई दियो ।

15 त्यस पहिलो पशुको मूर्त्तिमा सास हालिदिने अनुमति त्यसलाई दिइयो, यस हेतुले कि पशुको त्यो मूर्त्ति बोल्‍‌नसकोस् र त्यस पशुको मूर्त्तिलाई नपुज्‍‌नेहरू मारिऊन्।

16 अनि त्यसले साना-ठूला, धनी-गरीब, स्वतन्त्र र कमारा सबैलाई तिनीहरूका दाहिने हात वा निधारमा छाप लाउन कर लगायो।

17 त्यो छापबिना कसैले पनि किनमेल गर्न नपाउने भयो, त्यो छाप, त्यस पशुको नाउँ वा नाउँको सङ्ख्या हो।

18 बुद्धि यहाँ छ, समझ हुनेले त्यस पशुको सङ्ख्या जोडोस्, किनकि त्यो कुनै मानिसको सङ्ख्या हो र यो सङ्ख्या छ सय छयसट्ठी हो ।




14

1 अनि मैले हेरेँ र सियोन डाँडामा थुमा खडा हुनुभएको मैले देखेँ। उहाँको साथमा एक लाख चवालीस हजार थिए, जसका निधारमा उहाँको नाउँ र उहाँका पिताको नाउँ लेखिएका थिए।

2 अनि धेरै पानीको आवाजजस्तो र ठूलो गर्जनको आवाजजस्तो स्वर्गबाट आएको एउटा सोर मैले सुनेँ। मैले सुनेको त्यो सोर वीणा बजाउनेहरूले बजाइरहेका वीणाको सोरजस्तो थियो।

3 सिंहासन र ती चार जीवित प्राणीहरू अनि एल्डरहरूका अगाडि तिनीहरूले एउटा नयाँ गीत गाउँथे। पृथ्वीबाट मोल तिरेर छुटाएका एक लाख चवालीस हजारले बाहेक कसैले त्यो गीत सिक्‍‌न सक्दैनथ्यो।

4 तिनीहरू स्त्रीसँग लसपस भएका थिएनन् र आफूलाई चोखो राखेका थिए। थुमा जताजता जानुहुन्थ्यो तिनीहरूले उहाँलाई त्यतैत्यतै पछ‍याउँथे। परमेश्वर र थुमाको निम्तिपहिलो फलको रूपमा मानिसहरूका बीचबाट यिनीहरू मोल तिरेर छुटाइएका थिए।

5 तिनीहरूका मुखमा कुनै झूट पाइएन, परमेश्वरका सिंहासनको अघि यिनीहरू निस्खोट छन्।

6 अनि अर्को स्वर्गदूतलाई बीच आकाशमा उडिरहेको मैले देखेँ। पृथ्वीमा वास गर्ने हरेक जाति, कुल, भाषा र मानिसलाई घोषणा गर्न अनन्त सुसमाचार तिनीसँग थियो।

7 तिनले चर्को स्वरमा भने, ‘‘परमेश्वरसँग डराओ र उहाँलाई महिमा देओ। किनकि उहाँको न्यायको घडी आएको छ। स्वर्ग, पृथ्वी, समुद्र र पानीका मूलहरू बनाउनुहुनेलाई दण्डवत् गर।’’

8 अनि दोस्रो स्वर्गदूत यसो भन्दै पछि लागे, ‘‘पतन भयो ! पतन भयो ! जाति-जातिलाई आफ्‍‌नो व्यभिचारको क्रोधको मद्य पिउन लाउने महान् बेबिलोनको पतन भयो।’’

9 त्यसपछि तेस्रो स्वर्गदूत चर्को सोरले यसो भन्दै तिनीहरूका पछि आए, ‘‘यदि कुनै मानिसले त्यो पशु र त्यसको मूर्त्तिलाई पुज्यो र निधार वा हातमा त्यसको छाप लियो भने,

10 त्यसले पनि उहाँको क्रोधको कचौरामा केही नमिसाई तयार गरिएको परमेश्वरको क्रोधको कडा मद्य पिउनेछ अनि पवित्र स्वर्गदूतहरू र थुमाको सामुन्‍‌ने आगो र गन्धकमा त्यसलाई यातना दिइनेछ।

11 तिनीहरूका यातनाको धूवाँ सदासर्वदा मास्तिर गइरहनेछ। तिनीहरू यी नै हुन्, जसले त्यो पशु र त्यसको मूर्त्तिलाई पूजा गर्छन् र त्यसको नाउँको छाप लिन्छन्। तिनीहरूले दिनरात कहिल्यै पनि आराम पाउनेछैनन्।’’

12 परमेश्वरका आज्ञापालन गर्ने र येशूूमाथि विश्वास राख्‍‌ने सन्तहरूको धैर्य धारण यसैमा छ।

13 अनि स्वर्गबाट आएको यस्तो आवाज मैले सुनेँ, ‘‘यो लेख : अब उप्रान्त प्रभुमा मर्नेहरू धन्यका हुन्।’’ आत्मा भन्‍‌नुहुन्छ, ‘‘ हो, तिनीहरूले आ-आफ्‍‌नो परिश्रमबाट आराम पाउनेछन्, किनकि तिनीहरूका काम तिनीहरूका पछि लाग्‍‌नेछन्।’’

14 अनि मैले हेरेँ र एउटा सेतो बादल र त्यसमाथि बस्‍‌नुभएको मानिसको पुत्रजस्तो एक जनालाई देखेँ, जसको शिरमा सुनको मुकुट थियो र हातमा एउटा धारिलो हँसिया थियो।

15 अर्को एउटा स्वर्गदूत मन्दिरबाट बाहिर आए र बादलमाथि बस्‍‌नुहुनेलाई चर्को सोरले भने, ‘‘तपाईंको हँसिया लिनुहोस् र कटनी गर्नुहोस्, किनकि कटनीको समय आएको छ, किनभने पृथ्वीको बाली पूरै पाकिसकेको छ।’’

16 यसरी बादलमाथि बस्‍‌नुहुनेले आफ्‍‌नो हँसिया पृथ्वीमाथि चलाउनुभयो अनि पृथ्वीको कटनी भयो।

17 अनि स्वर्गमा भएको मन्दिरबाट एउटा अर्को स्वर्गदूत बाहिर आए। तिनीसँग पनि एउटा धारिलो हँसिया थियो।

18 तब वेदीबाट अर्को स्वर्गदूत आए, जसको आगोमाथि शक्ति थियो। धारिलो हँसिया लिनेलाई चर्को सोरले तिनले भने, ‘‘तिम्रो धारिलो हँसिया चलाऊ र पृथ्वीका अङ्गुरका झुप्पाहरू जम्मा गर, किनकि पृथ्वीका अङ्गुर पूरै पाकिसकेका छन्।’’

19 ती स्वर्गदूतले आफ्‍‌नो हँसिया पृथ्वीमा चलाए र पृथ्वीका अङ्गुरको फसल जम्मा गरे र त्यसलाई परमेश्वरका क्रोधको ठूलो अङ्गुर-कोलमा फालिदिए।

20 शहरबाहिरको अङ्गुर-कोलमा ती अङ्गुर कुल्चिए, अङ्गुर-कोलबाट रगत निस्केर आयो। त्यो रगत घोडाको लगामसम्म आयो र त्योसय किलोमिटरसम्म फैलिएको थियो।




15

1 मैले स्वर्गमा ठूलो अचम्मको अर्को एउटा चिन्ह देखेँ, सात स्वर्गदूतहरूले सातवटा अन्तिम विपत्ति लिएका थिए, किनकि तिनीहरूमा नै परमेश्वरको क्रोध पूरा भएको हो।

2 आगोसँग मिसिएको काँचको समुद्रजस्तो केही मैले देखेँ। त्यहाँ पशु र त्यसको मूर्त्तिमाथि र त्यसको नाउँको सङ्ख्यामाथि विजय पाउनेहरू आफ्‍‌ना हातमा परमेश्वरको वीणा लिई त्यस काँचको समुद्रमाथि उभिएका थिए।

3 अनि तिनीहरूले यसो भन्दै परमेश्वरका दास मोशा र थुमाको भजन गाउँदै थिए, ‘‘हे सर्वशक्तिमान् परमप्रभु परमेश्वर, तपाईंका कार्य महान् र आश्चर्यपूर्ण छन्, युगौँयुगका महाराजा तपाईंका मार्ग धार्मिक र सत्य छन्।

4 हे परमप्रभु, तपाईंको डर कसले मान्दैन? अनि तपाईंका नाउँको महिमा कसले गर्दैन? किनकि तपाईं मात्र पवित्र हुनुहुन्छ। सबै जातिले आएर तपाईंलाई दण्डवत् गर्नेछन्, किनभने तपाईंका धार्मिक कार्यहरू प्रकट भएका छन्।’’

5 यी कुरापछि मैले हेरेँ र स्वर्गमा गवाहीका मण्डपको मन्दिर उघारियो।

6 स्वच्छ र चहकिलो वस्त्र धारण गरेका र छातीमा सुनौला फित्ता बाँधेका सात स्वर्गदूतहरू सात विपत्ति लिएर मन्दिरबाट बाहिर निस्के।

7 ती चार जीवित प्राणीहरूमध्ये एउटाले सदासर्वदा जीवित रहनुहुने परमेश्वरको क्रोधले भरिएका सुनका सात कचौरा ती सात स्वर्गदूतलाई दिए।

8 अनि परमेश्वरको महिमा र उहाँका शक्तिबाट मन्दिर धूवाँले भरियो। ती सात स्वर्गदूतका सात विपत्ति नसिद्धिन्जेल कोही पनि मन्दिरभित्र पस्‍‌नसकेन।




16

1 तब मन्दिरबाट आएको एउटा चर्को सोरले सात स्वर्गदूतहरूलाई यसो भनिरहेको मैले सुनेँ, ‘‘तिमीहरू जाओ र परमेश्वरका क्रोधका सात कचौरा पृथ्वीमाथि खन्याओ।’’

2 तब पहिलो स्वर्गदूत गएर आफ्‍‌नो कचौरा पृथ्वीमाथि खन्याए र त्यसले गर्दा त्यस पशुको छाप हुने र त्यसको मूर्त्तिलाई पुज्‍‌ने मानिसहरूलाई घिनलाग्दा र दुख्‍‌ने घाउखटिरा निस्के।

3 दोस्रो स्वर्गदूतले आफ्‍‌नो कचौरा समुद्रमा खन्याए र त्यो मरेको मानिसको रगतजस्तै भयो। अनि समुद्रमा भएका सबै जीवित प्राणीहरू मरे।

4 अनि तेस्रो स्वर्गदूतले आफ्‍‌नो कचौरा नदीहरू र पानीका मूलहरूमा खन्याए अनि ती रगतै भइहाले।

5 तब पानीको स्वर्गदूतले यसो भनिरहेको मैले सुनेँ; ‘‘हे प्रभु, तपाईं धर्मी हुनुहुन्छ, तपाईं जो हुनुहुन्छ र जो हुनुहुन्थ्यो, हे पवित्र परमेश्वर, किनभने यसरी नै तपाईंले न्याय गर्नुभएको छ।

6 किनकि तिनीहरूले सन्तहरू र अगमवक्ताहरूको रक्तपात गरेका छन् र तपाईंले तिनीहरूलाई रगत पिउन दिनुभएको छ, तिनीहरू यसैको योग्य छन्।’’

7 तब वेदीले यसो भनिरहेको मैले सुनेँ, ‘‘हो, सर्वशक्तिमान् परमप्रभु परमेश्वर, तपाईंका न्याय सत्य र न्यायसङ्गत छन्।’’

8 त्यसपछि चौथो स्वर्गदूतले आफ्‍‌नो कचौरा सूर्यमाथि खन्याए र मानिसहरूलाई अग्‍‌निले डढाउने अनुमति सूर्यलाई दिइयो।

9 मानिसहरू प्रचण्ड तापले डढे र तिनीहरूले ती विपत्तिहरूमाथि अधिकार भएका परमेश्वरका नाउँको निन्दा गरे। तर तिनीहरूलेपश्चात्ताप गर्न र उहाँलाई महिमा दिन इन्कार गरे।

10 अनि पाँचौं स्वर्गदूतले आफ्‍‌नो कचौरा त्यस पशुको सिंहासनमा खन्याए र त्यसको राज्यमा अन्धकार छायो अनि मानिसहरूले वेदनामा आ-आफ्‍‌नो जिब्रो चपाए।

11 तिनीहरूका वेदना र घाउखटिराले गर्दा तिनीहरूले स्वर्गका परमेश्वरको निन्दा गरे। तर तिनीहरू ले आफूले गरेका कुकर्मबाट पश्चात्ताप गर्न इन्कार गरे।

12 तब छैटौँ स्वर्गदूतले आफ्‍‌नो कचौरा महानदी यूफ्रेटिसमा खन्याए र पूर्वबाट आउने राजाहरूका निम्ति मार्ग तयार होस् भनेर नदीको पानी सुकिहाल्यो,

13 तब मैले अजिङ्गरको मुखबाट, त्यस पशुको मुखबाट र झूटो अगमवक्ताको मुखबाट भ्यागुताहरूजस्ता तीनवटा अशुद्ध आत्मा निस्किरहेको देखेँ।

14 तिनीहरू चमत्कार देखाउने दुष्टात्माहरू हुन्। तिनीहरू सारा संसारका राजाहरूकहाँ जान्छन् र सर्वशक्तिमान् परमेश्वरको महान् दिनको युद्धको निम्ति तिनीहरूलाई भेला गर्छन्।

15 ‘‘हेर, म चोरजस्तै आउनेछु, त्यो धन्य हो, जो जागा रहन्छ र आफ्‍‌नो वस्त्रको रक्षा गर्छ। नत्र त त्यो नाङ्गै हिँड्‍‌नेछ र तिनीहरूले त्यसको लाज देख्‍‌नेछन्।’’

16 तिनीहरूले राजाहरूलाई त्यस ठाउँमा भेला गरे, जसलाई हिब्रूभाषामा आर-मागेड्डोन भनिन्छ।

17 अनि सातौँ स्वर्गदूतले आफ्‍‌नो कचौरा हावामा खन्याए र मन्दिरको सिंहासनबाट यसो भन्‍‌ने एउटा चर्को आवाज निस्क्यो, ‘‘अब सिद्धियो।’’

18 तब बिजुली चम्के, आवाजहरू र गर्जनहरू भए र भयानक भूकम्प गयो, यति भयानक भूकम्प कि पृथ्वीमा मानिसहरूको उत्पत्ति भएदेखि यता कहिल्यै गएको थिएन।

19 त्यो महानगरी तीन भागमा टुक्राटुक्रा भयो र देश-देशका शहरहरू ध्वंस-विध्वंस भए। परमेश्वरलाई महान् बेबिलोनको याद आयो र उहाँले आफ्‍‌नो भयानक क्रोधले भरिएको मद्यको कचौरा त्यसलाई दिनुभयो।

20 अनि हेर, हरेक टापु लोप भएर गयो र पहाडहरू बेपत्ता भए।

21 एक-एक सय किलोग्रामका असिना मानिसहरूमाथि ओइरिनलागे र मानिसहरूले असिनाको विपत्तिको कारण परमेश्वरलाई सराप्‍‌न लागे, किनकि यो विपत्ति अतिभयानक थियो।




17

1 ती सात कचौरा लिने सात स्वर्गदूतहरूमध्ये एक जनाले मकहाँ आएर भने, ‘‘यता आऊ, म तिमीलाई धेरै पानीमा बसेकी त्यस महावेश्यालाई दिइएको दण्ड देखाउनेछु।

2 त्यससँग पृथ्वीका राजाहरूले व्यभिचार गरेका छन् र पृथ्वीका बासिन्दाहरू त्यसका व्यभिचारको मद्यले मातेका छन्।’’

3 अनि तिनले मलाई आत्मामा बोकेर एउटा उजाड-स्थानमा लगे। त्यहाँ सातवटा शिर र दशवटा सीङ भएको ईश्वर-निन्दाका नाउँहरूले भरिपूर्ण भएको चहकिलो रातो रङ्गको पशुमाथि बसेकी एउटी स्त्रीलाई मैले देखेँ।

4 त्यस स्त्रीले बैजनी र चहकिलो रातो लुगा लाएकी थिई, अनि त्यो सुन, रत्‍‌न र मोतीहरूले सिँगारिएकी थिई र घिनलाग्दा कुरा अर्थात् त्यसका व्यभिचारका अशुद्ध कुराले भरिएको एउटा सुनको कचौरा हातमा लिएकी थिई।

5 त्यसको निधारमा एउटा नाउँ लेखिएको थियो : ‘‘रहस्य, पृथ्वीका वेश्याहरू र घिनलाग्दा कुराहरूकी आमा महान् बेबिलोन।’’

6 अनि मैले त्यस स्त्रीलाई सन्तहरूको रगत र येशूका शहीदहरूको रगत पिएर मातेकी देखेँ। त्यसलाई देखेर म साह्रै आश्चर्यले चकित भएँ।

7 तब ती स्वर्गदूतहरूले मलाई भने, ‘‘तिमी किन अचम्म मान्छौ? त्यो स्त्री र त्यसलाई बोक्‍‌ने सातवटा शिर र दशवटा सीङ भएको पशुको रहस्य म तिमीलाई बताउनेछु।

8 तिमीले देखेको त्यो पशु कुनै समय थियो, तर अब छैन, र सर्वनाशमा जान अतलकुण्डबाट त्यो माथि उक्लन लागेको छ। अनि पृथ्वीका बासिन्दाहरू, जसका नाउँ संसारको उत्पत्तिदेखि जीवनको पुस्तकमालेखिएका छैनन्, तिनीहरू त्यस पशुलाई देखेर अचम्म मान्‍‌नेछन्, किनकि त्यो कुनै समय थियो, तर अब छैन र पछि आउनेछ।

9 ‘‘बुद्धि यसैमा छ: ती सात शिर सात पर्वतहरू हुन्, जसमाथि त्यो स्त्री बसेकी छे।

10 तिनीहरू सात राजाहरू हुन्-पाँच जनाको पतन भइसकेको छ, एउटा छँदै छ र अर्को अझै आएको छैन। त्यो आएपछि केही समयको लागि मात्र रहनुपर्छ।

11 त्यो पशु, जो एक समय थियो तर अब छैन, त्यो आठौँ राजा हो। सातमध्येको त्यो एक हो तर त्यसको सर्वनाश हुनेछ।

12 तिमीले देखेका ती दशवटा सीङ दश जना राजाहरू हुन्, जसले अहिलेसम्म राज्य पाएका छैनन्। तर तिनीहरूले त्यस पशुसँग केही समयको निम्ति राजाकै अधिकार पाउनेछन्।

13 तिनीहरूको एउटै उद्देश्य छ र तिनीहरूले आफ्‍‌नो शक्ति र अधिकार त्यस पशुलाई सुम्पनेछन्।

14 तिनीहरूले थुमाको विरुद्धमा युद्ध गर्नेछन् र थुमाले तिनीहरूलाई जित्‍‌नुहुनेछ, किनकि उहाँ प्रभुहरूका प्रभु र राजाहरूका राजा हुनुहुन्छ। उहाँको साथमा हुनेहरू बोलाइएका, चुनिएका र विश्वसनीय हुन्।’’

15 अनि ती स्वर्गदूतले मलाई भने, ‘‘तिमीले देखेका त्यो वेश्या बसेकी पानी, मानिसहरू, भीडहरू, जातिहरू र भाषाहरू हुन्।

16 अनि तिमीले देखेका ती दश सीङहरू र त्यस पशुले त्यस वेश्यालाई घृणा गर्नेछन् अनि त्यसलाई एकलो र नाङ्गो पार्नेछन्, त्यसको मासु खानेछन् र त्यसलाई आगोमा भस्म पारिदिनेछन्।

17 किनकि परमेश्वरको वचन पूरा नहुञ्जेल एकै मनको भई तिनीहरूले आफ्‍‌नो राज्य त्यस पशुलाई दिएर उहाँको उद्देश्य पूरा गर्न परमेश्वरले तिनीहरूका हृदयमा यो विचार हालिदिनुभयो।

18 तिमीले देखेको त्यो स्त्री पृथ्वीका राजाहरूमाथि शासन गर्ने महानगरी हो।’’




18

1 यी कुरापछि ठूलो अधिकार भएका अर्का एउटा स्वर्गदूत स्वर्गबाट ओर्लेको मैले देखेँ। तिनको वैभवले पृथ्वी उज्यालो भयो।

2 अनि तिनी ठूलो सोरले यसो भन्दै शक्तिसाथ कराए, ‘‘महान् बेबिलोन पतन भयो, पतन भयो ! अनि त्यो दुष्ट आत्माहरूको वासस्थान, हरेक अशुद्ध आत्माको झ्यालखान अनि हरेक अशुद्ध र घिनलाग्दो चराको खोर भएकी छे।

3 किनकि सबै जातिहरूले त्यसको अशुद्ध कामवासनाको मद्य पिएका छन् र पृथ्वीका राजाहरूले त्यससँग व्यभिचार गरेका छन् र पृथ्वीका व्यापारीहरू त्यसको विलासिताको प्रभावले धनी भएका छन्।’’

4 तब मैले स्वर्गबाट यसो भनिरहेको अर्को आवाज सुनेँ: ‘‘हे मेरा मानिस हो, त्यसबाट निस्केर आओ, तिमीहरू त्यसका पापका सहभागी हुन नपरोस् र तिमीहरूमा त्यसका कुनै विपत्ति पनि नआओस्,

5 किनकि त्यसका पाप स्वर्गसम्मै थुप्रो लागेका छन् र परमेश्वरले त्यसका अधर्म सम्झनुभएको छ।

6 त्यसले जे गरेकी थिई, त्यही त्यसलाई देओ, त्यसले गरेकी कामको दोबर त्यसलाई फर्काइदेओ, त्यसले कचौरामा जे मिसाएकी थिई, त्यसको दोबर हुने गरी त्यसलाई देओ।

7 त्यसले जति गौरव र सुखविलासमा जीवन बिताएकी थिई, त्यत्तिकै त्यसलाई यातना र शोक देओ। किनकि त्यसले मनमा भन्दछे, ‘महारानी भएर म बसेकी छु, म विधवा होइनँ, मैले कहिल्यै शोक गर्नुपर्नेछैन।’

8 यसकारण एकै दिनमा त्यसमाथि मृत्यु, शोक र अनिकालजस्ता विपत्तिहरू आउनेछन्। आगोले त्यो भस्म पारिनेछे, किनकि त्यसको न्याय गर्नुहुने परमप्रभु परमेश्वर शक्तिशाली हुनुहुन्छ।’’

9 त्यससँग व्यभिचार गर्ने र सुखविलासमा रहने पृथ्वीका राजाहरू त्यो जलेको धूवाँ देखेर त्यसको निम्ति रूनेछन् र विलाप गर्नेछन्।

10 त्यसको यातनाको डरले टाढै उभिएर तिनीहरूले यसो भन्‍‌नेछन्, ‘‘धिक्कार ! धिक्कार ! तँ महानगरी, तँ शक्तिशाली बेबिलोन ! एकै क्षणमा नै तेरो दण्ड तँमाथि आएको छ।’’

11 ‘‘पृथ्वीका व्यापारीहरू त्यसको निम्ति रूनेछन् र विलाप गर्नेछन्, किनभने कसैले पनि तिनीहरूका व्यापारका यी मालसामान फेरि कहिल्यै किन्दैनन्,

12 ती सुन, चाँदी, रत्‍‌न, मोती र मलमलका कपडा, बैजनी कपडा, रेशम र चहकिलो रातो रङ्गका कपडा अनि सबै किसिमका सुगन्धित काठ, हरेक किसिमका हस्तिहाडका सामग्री र हरेक बहुमूल्य काठ, काँसा, फलाम र सिङ्गमरमरका पात्रहरू

13 र दालचिनी, मसला, सुगन्धित धूप, मूर्र, सेतो धूप, मद्य, जैतुनको तेल, मसिनो पीठो, गहुँ, गाई-भैँसी, भेडाहरू, घोडाहरू, रथहरू, कमाराकमारीहरू र मानिसहरूका जीवनहरू हुन्।

14 ‘‘तेरो मनले चाहेका फलहरू तँबाट गएका छन्, सबै स्वादिष्ठ भोजन र समस्त वैभव तैँले गुमाइस् र ती फेरि कहिल्यै प्राप्त गर्नेछैनस्।’’

15 यी सामानका व्यापारीहरू जसले त्यस नगरीमा व्यापार गरेर धन कमाएका थिए, त्यसमाथि परिआउने यातनाको डरले टाढै उभिएर यसो भन्दै तिनीहरू रूनेछन् र विलाप गर्नेछन्,

16 ‘‘धिक्कार ! धिक्कार ! तँ, महानगरी जो मलमल, बैजनी र चहकिलो रातो वस्त्र लगाएर सुन, रत्‍‌न र मोतीहरूले सिँगारिएकी थिइस्।

17 किनकि एकै क्षणमा यति धेरै धन नष्ट भएको छ।’’ हरेक जहाजको कप्तान, जहाजमा यात्रा गर्नेहरू, नाविकहरू र सामुद्रिक व्यापारीहरू टाढै उभिए,

18 अनि त्यो महानगरी जलेर निस्केको धूवाँ देखेर यसो भनी कराउनेछन्, ‘‘त्यो महानगरीजस्तो कुन शहर थियो?’’

19 अनि तिनीहरूले आ-आफ्‍‌नो टाउकोमा धूलो हालेर रुँदै र विलाप गर्दै यसो भनेर कराउनेछन्, ‘‘धिक्कार ! धिक्कार ! त्यो महानगरी, जहाँ समुद्रमा जहाज हुने सबै जना त्यसको सम्पत्तिद्वारा धनी भएका थिए, एकै क्षणमा त्यो नष्ट भएको छ।’’

20 हे स्वर्ग, त्यसको न्यायमा रमाओ। हे सन्तहरू, प्रेरितहरू र अगमवक्ताहरू, तिमीहरूमाथि गरेका अन्यायको निम्ति परमेश्वरले त्यसको न्याय गर्नुभएको छ।’’

21 अनि एउटा शक्तिशाली स्वर्गदूतले ठूलो जाँतोजस्तै एउटा ढुङ्गा उठाए र यसो भन्दै त्यसलाई समुद्रमा फाले, ‘‘यसरी नै महानगरी बेबिलोन ठूलो वेगले फालिनेछे र त्यो फेरि कहिल्यै पाइनेछैन।

22 वीणा बजाउनेहरू, सङ्गीतकारहरू, बाँसुरी बजाउनेहरू र तुरही फुक्‍‌नेहरूका धुन तँमा कहिल्यै सुनिनेछैन। अनि कुनै पनि शिल्पको शिल्पकार तँमाथि कहिल्यै पाइनेछैन। जाँतोको आवाज तँमाथि कहिल्यै सुनिनेछैन।

23 बत्तीको उज्यालो तँमा कहिल्यै चम्किनेछैन। दुलहा र दुलहीको सोर पनि तँमा कहिल्यै सुनिनेछैन। किनकि तेरा व्यापारीहरू पृथ्वीका ठूल्ठूला मानिसहरू थिए र तेरा मन्त्रतन्त्रले जाति-जातिहरू ठगिएका थिए।

24 त्यसमा नै अगमवक्ताहरू, सन्तहरू र पृथ्वीमा मारिएकाहरू सबैको रगत पाइएको थियो।’’




19

1 त्यसपछि मैले स्वर्गबाट एउटा ठूलो भीडले चर्को सोरमा यसो भनिरहेको जस्तो सुनेँ, ‘‘हल्लेलूयाह ! मुक्ति, महिमा र शक्ति हाम्रा परमेश्वरका हुन्।

2 किनकि उहाँको न्याय सत्य र धार्मिक छ। सारा पृथ्वीलाई आफ्‍‌नो व्यभिचारले भ्रष्ट पार्ने त्यस महावेश्यालाई उहाँले दण्ड दिनुभएको छ र त्यसका हातबाट उहाँले आफ्‍‌ना दासहरूका रगतको बदला लिइसक्‍‌नुभएको छ।’’

3 तिनीहरूले फेरि भने, ‘‘हल्लेलूयाह ! त्यो महानगरी जलेको धूवाँ सदासर्वदा मास्तिर गइरहन्छ।’’

4 अनि ती चौबीसै जना एल्डर र ती चार जीवित प्राणीहरूले घोप्टो परेर सिंहासनमा विराजमान हुनुहुने परमेश्वरलाई यसो भन्दै दण्डवत् गरे, ‘‘आमेन् ! हल्लेलूयाह !’’

5 तब सिंहासनबाट यसो भनिरहेको एउटा आवाज आयो, ‘‘हाम्रा परमेश्वरको प्रशंसा गर। उहाँका सबै दास हो, तिमीहरू साना-ठूला जसले उहाँको भय मान्दछौं।’’

6 त्यसपछि एउटा ठूलो भीडको सोर, उर्लंदो पानीको आवाज र धेरै शक्तिशाली गर्जनको आवाजजस्तो मैले सुनेँ, जसले यसो भनिरहेको थियो, ‘‘हल्लेलूयाह ! किनकि परमप्रभु हाम्रा परमेश्वर सर्वशक्तिमान्ले राज्य गर्नुहुन्छ।’’

7 ‘‘हामी रमाऔं र अत्यन्त खुशी होऔं र उहाँलाई महिमा दिऔं । किनकि थुमाका विवाहको दिन आएको छ र उहाँकी दुलही स्वयम् तयार भएकी छिन्।’’

8 चहकिलो र स्वच्छ मलमलको वस्त्र पहिरन तिनलाई दिइयो। चहकिलो मलमलको वस्त्र सन्तहरूका धर्मी कार्यहरू हुन्।

9 अनि ती स्वर्गदूतले मलाई भने, ‘‘यो लेख, थुमाको विवाहको भोजमा निमन्त्रणा पाउनेहरू धन्यका हुन्।’’ तिनले फेरि मलाई भने, ‘‘परमेश्वरका सत्य वचन यी नै हुन्।’’

10 अनि तिनलाई दण्डवत् गर्न म तिनको पाउमा घोप्टो परेँ । तर तिनले मलाई भने, ‘‘तिमीले यसो नगर। म येशूको गवाही कायम राख्‍‌ने र परमेश्वरको आराधना गर्ने तिम्रा भाइहरू र तिम्रो सङ्गी-दास मात्र हुँ। किनकि येशूको गवाही अगमवाणीको आत्मा हो।’’

11 मैले स्वर्ग उघ्रेको देखेँ र त्यहाँ एउटा सेतो घोडा थियो। त्यसमाथि सवार हुनुहुने ‘विश्वसनीय’ र ‘सत्य’ कहलाइनुहुन्छ। धार्मिकतामा उहाँले न्याय र युद्ध गर्नुहुन्छ।

12 उहाँका आँखा आगोका ज्वालाजस्ता थिए र उहाँका शिरमा धेरै राजमुकुट थिए। उहाँमा एउटा नाउँ अङ्कित थियो, जो उहाँबाहेक अरु कसैलाई थाहा थिएन।

13 उहाँले रगतमा चोबलिएको पोशाक पहिरिनुभएको थियो र उहाँको नाउँ परमेश्वरको वचन थियो।

14 स्वर्गका सेनाहरू सेता र स्वच्छ मलमलका वस्त्र पहिरिई सेता घोडाहरूमा चढेर उहाँको पछि-पछि लागे।

15 जाति-जातिहरूलाई प्रहार गर्न उहाँको मुखबाट धारिलो तरवार निस्कन्छ र उहाँले फलामको डन्डाले तिनीहरूमाथि शासन गर्नुहुनेछ। सर्वशक्तिमान् परमेश्वरका क्रोधको अङ्गुर-कोल उहाँले कुल्चनुहुन्छ।

16 उहाँका पोशाक र तिघ्रामा, ‘‘राजाहरूका राजा र प्रभुहरूका प्रभु’’ लेखिएको छ।

17 अनि मैले एउटा स्वर्गदूतलाई सूर्यमा उभिरहेको देखेँ। तिनले बीच आकाशमा उड्‍‌ने सबै पक्षीहरूलाई चर्को सोरले यसो भने, ‘‘आओ, परमेश्वरको ठूलो भोजमा भेला होओ।

18 तिमीहरूले राजाहरू, कप्तानहरू, शक्तिशाली मानिसहरू र घोडाहरू अनि तीमाथि सवार हुनेहरू, स्वतन्त्र र कमाराकमारीहरू, ठूला र साना सबैको मासु खोनेछौ।’’

19 अनि घोडामा सवार हुने र उहाँका सेनाहरूका विरुद्धमा युद्ध गर्न त्यो पशु अनि पृथ्वीका राजाहरू र तिनका सेनाहरू भेला भएका मैले देखेँ।

20 तब त्यो पशु र त्यसको उपस्थितिमा अचम्मका काम गर्ने झूटो अगमवक्ता, दुवै पक्राउ परे। यी अचम्मका कामद्वारा त्यस झूटो अगमवक्ताले त्यस पशुको छाप लिने र त्यसको मूर्त्तिको पूजा गर्नेहरूलाई बहकाएको थियो। यी दुवै जलिरहेको गन्धकको अग्‍‌निकुण्डमा जिउँदै फालिए।

21 बाँकी रहेकाहरू घोडामाथि सवार हुनुहुनेको मुखबाट निस्केको तरवारद्वारा मारिए र सबै पक्षीहरूले तिनका मासु अघाउन्जेल खाए।




20

1 त्यसपछि अतलकुण्डको साँचो र एउटा ठूलो साङ्लो हातमा लिएका एउटा दूत स्वर्गबाट ओर्लेर आएको मैले देखेँ।

2 तिनले त्यो अजिङ्गर, त्यो प्राचीन सर्प, जो दुष्ट शैतान हो, त्यसलाई पक्रे र एक हजार वर्षका निम्ति बाँधे ।

3 तिनले त्यसलाई अतलकुण्डमा फालिदिए र त्यो कुण्ड बन्द गरी मोहोर लगाइदिए, यसैले कि एक हजार वर्ष पूरा नभएसम्म जाति-जातिहरूलाई त्यसले बहकाउन नपाओस् । त्यसपछि केही समयको निम्ति त्यसलाई स्वतन्त्र गरिनुपर्छ।

4 तब मैले सिंहासनहरू र त्यसमाथि बस्‍‌नेहरूलाई देखेँ, जसलाई न्याय गर्ने अधिकार दिइएको थियो। तब येशूका गवाहीको निम्ति र परमेश्वरका वचनको निम्ति शिर काटिएकाहरूका आत्माहरू अनि त्यो पशु र त्यसका मूर्त्तिको पूजा नगर्नेहरू र त्यसको छाप निधार वा हातमा नलगाउनेहरूका आत्माहरूलाई मैले देखेँ। तिनीहरू फेरि जीवित भए र तिनीहरूले ख्रीष्टसँग एक हजार वर्षसम्म राज्य गरे।

5 तर अरु मरेकाहरू ती एक हजार वर्ष पूरा नभएसम्म जीवित भएनन्। यो पहिलो पुनरुत्थान हो।

6 पहिलो पुनरुत्थानमा सहभागी हुनेहरू धन्यका र पवित्र हुन्। यिनीहरूमाथि दोस्रो मृत्युको शक्तिले केही गर्न सक्दैन तर तिनीहरूले परमेश्वर र ख्रीष्टका पूजाहारी भएर उहाँसँग एक हजार वर्षसम्म राज्य गर्नेछन्।

7 एक हजार वर्ष बितेपछि शैतान त्यसको कैदबाट छोडिनेछ,

8 अनि पृथ्वीका चारै दिशामा भएका जाति-जातिहरूलाई बहकाउन अर्थात् गोग र मागोगलाई लडाइँको निम्ति भेला गर्न निस्केर आउनेछ। तिनीहरूका सङ्ख्या समुद्रका बालुवाजतिकै हुनेछ।

9 तिनीहरूले सारा पृथ्वीभरि गएर सन्तहरूका छाउनीको वरिपरि र प्रिय शहरलाई घेरे तर स्वर्गबाट आगो बर्सेर तिनीहरूलाई भस्म पार्‍यो।

10 तिनीहरूलाई बहकाउने त्यो शैतान आगो र गन्धकको कुण्डमा फालियो, जहाँ त्यो पशु र झूटो अगमवक्ता पनि थिए। त्यहाँ तिनीहरूले दिनरात सदासर्वदै यातना भोग्‍‌नेछन्।

11 तब मैले एउटा ठूलो सेतो सिंहासन र त्यसमाथि विराजमान हुनुहुनेलाई देखेँ। उहाँको सामुन्‍‌नेबाट पृथ्वी र आकाश भागेर गए र तिनीहरूका निम्ति कतै ठाउँ पाइएन।

12 मैले ठूला र साना सबै मृतकहरूलाई सिंहासनको सामुन्‍‌ने उभिरहेका देखेँ र पुस्तकहरू खोलिए। अर्को एउटा पुस्तक पनि खोलियो, जो जीवनको पुस्तक हो। ती पुस्तकहरूमा लेखिएका कुराको आधारमा तिनीहरूका कामअनुसार मृतकहरूको न्याय भयो।

13 समुद्रले त्यसमा भएका मृतकहरू दिइहाल्यो अनि मृत्यु र पातालले पनि तिनीहरूमा भएका मृतकहरू दिइहाले। तिनीहरू प्रत्येकको आ-आफ्‍‌नो कामअनुसार न्याय भयो।

14 मृत्यु र पाताल अग्‍‌निकुण्डमा फालिए। यो अग्‍‌निकुण्ड दोस्रो मृत्यु हो।

15 जसको नाउँ जीवनको पुस्तकमा लेखिएको भेट्टाइएन, त्यो अग्‍‌निकुण्डमा फालियो।




21

1 तब मैले नयाँ आकाश र नयाँ पृथ्वी देखेँ, किनकि पहिलो आकाश र पहिलो पृथ्वी बितिगएका थिए। समुद्र त अब छँदै थिएन ।

2 अनि मैले परमेश्वरबाट दुलहाको निम्ति दुलहीजस्तै गरी सिँगारिएर तयार पारिराखेकी अर्थात् पवित्र शहर, नयाँ यरूशलेम स्वर्गबाट तलतिर झरिरहेको देखेँ।

3 सिंहासनबाट यसो भन्‍‌ने एउटा चर्को सोर मैले सुनेँ, ‘‘हेर, परमेश्वरको पवित्र वासस्थान मानिसहरूसँग छ । उहाँ तिनीहरूसँग वास गर्नुहुनेछ र तिनीहरू उहाँका प्रजा हुनेछन् अनि परमेश्वर आफै तिनीहरूका परमेश्वर हुनुभएर तिनीहरूसँग रहनुहुनेछ।

4 उहाँले तिनीहरूका आँखाबाट प्रत्येक आँसुका थोपा पुछिदिनुहुनेछ र त्यहाँ अब उप्रान्त मृत्यु नै हुनेछैन अनि शोक र रोदन पनि हुनेछैन । किनकि पहिलेका कुरा बितिसकेका छन्।’’

5 सिंहासनमा विराजमान हुनुहुनेले भन्‍‌नुभयो, ‘‘हेर, म सबै कुरा नयाँ तुल्याउँछु।’’ उहाँले यसो पनि भन्‍‌नुभयो, ‘‘यो लेख, यी कुरा विश्वसनीय र सत्य छन्।’’

6 उहाँले मलाई भन्‍‌नुभयो, ‘‘अब सिद्धियो। म अल्फा र ओमेगा, शुरु र अन्त्य हुँ। तिर्खाउनेहरूलाई जीवनको पानीको फुहाराहरूबाट म सित्तैँमा दिनेछु।

7 जसले विजय प्राप्त गर्छ, त्यसले यो उत्तराधिकार पाउनेछ र म त्यसको परमेश्वर हुनेछु र त्यो मेरो छोरो हुनेछ ।

8 तर डरपोकहरू, अविश्वासीहरू, घिनलाग्दा भएकाहरू, हत्याराहरू, व्यभिचारीहरू, जादुगरहरू, मूर्त्तिपूजकहरू र झूट बोल्‍‌नेहरू सबैको हिस्सा आगो र गन्धक दन्कने कुण्डमा हुनेछ। यो दोस्रो मृत्यु हो।’’

9 तब ती सात अन्तिम विपत्तिले भरिएका सात कचौरा हुने सात स्वर्गदूतहरूमध्ये एक जना आएर मलाई यसो भने, ‘‘यहाँ आऊ, म तिमीलाई थुमाकी पत्‍‌नी, उहाँकी दुलही देखाउनेछु।’’

10 तिनले मलाई आत्मामा एउटा ठूलो र उच्च पर्वतमा लगे अनि परमेश्वरबाट स्वर्गदेखि तलतिर झरिरहेको पवित्र शहर यरूशलेम मलाई देखाए।

11 त्यसमा परमेश्वरको महिमा थियो र त्यसको चमक बहुमूल्य रत्‍‌नहरू तथा बिल्लौर, स्फटिकजस्तो चहकिलो थियो।

12 त्यसको वरिपरि ठूलो र अल्गो पर्खाल थियो र त्यसमा बाह्र ढोका थिए। ढोकाहरूमा बाह्र स्वर्गदूत थिए। ती ढोकाहरूमा इस्राएलका सन्तानका बाह्रै कुलका नाउँ लेखिएका थिए।

13 पूर्वमा तीन ढोकाहरू, उत्तरमा तीन, दक्षिणमा तीन र पश्चिममा तीन ढोकाहरू थिए।

14 शहरको पर्खालका बाह्र जग थिए। तीमाथि थुमाका बाह्रै प्रेरितहरूको बाह्र नाउँ लेखिएका थिए।

15 शहर र त्यसका ढोकाहरू र पर्खाल नाप्‍‌नलाई मसँग बोल्‍‌नेसँग एउटा सुनको नाप्‍‌ने डण्डा थियो।

16 त्यो शहर वर्गाकार थियो। त्यसको चौडाइ र लमाइ समान थियो। तिनले त्यस डन्डाले नाप्दा त्यो शहर दुई हजार चार सय किलोमिटर थियो। त्यसको लमाइ, चौडाइ र उचाइ बराबर थियो।

17 तिनले त्यसको पर्खाल पनि नापे र मानिसले चलाएको नापअनुसार त्यो पैँसट्ठी मिटर बाक्लो थियो। यो स्वर्गदूतले चलाउने नाप पनि हो।

18 त्यो पर्खाल बिल्लौरले बनेको थियो साथै शहर निक्खुर सुनले बनेको थियो र सफा काँचजस्तै त्यो चम्कन्थ्यो।

19 पर्खालका जगहरू अनेक किसिमका बहुमूल्य रत्‍‌नहरूले जडिएका थिए। पहिलो जग बिल्लौरको, दोस्रो नीर, तेस्रो हरित रत्‍‌न, चौथो पन्‍‌ना

20 पाँचौं आनिक्स, छैटौँ लालमणि, सातौँ पीतमणि, आठौँ बेरूज, नवौं पुष्पराज, दशौं लसुने रत्‍‌न, एघारौं नीलमणि र बाह्रौँ कटेलाको थियो।

21 ती बाह्र ढोकाहरू बाह्र मोतीका थिए। प्रत्येक ढोका मोतीको थियो। त्यसको शहरको सडक काँचजस्तै छर्लङ्ग देखिने निक्खुर सुनको थियो।

22 मैले त्यस शहरमा कुनै मन्दिर देखिनँ, किनकि त्यहाँको मन्दिर स्वयम् परमेश्वर सर्वशक्तिमान् र थुमा नै हुनुहुन्छ।

23 त्यो शहर उज्यालो गराउन सूर्य र चन्द्रमाको खाँचो छैन, किनभने परमेश्वरको महिमा नै त्यसको उज्यालो हो। त्यहाँको बत्ती थुमा आफै हुनुहुन्छ।

24 त्यहाँकै उज्यालोमा जाति-जातिहरू हिँडडुल गर्नेछन्। पृथ्वीका राजाहरूले आफ्‍‌ना वैभव त्यसमा ल्याउनेछन्।

25 दिनमा त्यसका ढोकाहरू कुनै किसिमले बन्द हुनेछैनन् किनभने त्यहाँ रात नै हुनेछैन।

26 तिनीहरूले जाति-जातिहरूका वैभव र सम्मान त्यसभित्र ल्याउनेछन्।

27 तर थुमाको जीवनको पुस्तकमा नाउँ लेखिएकाहरूबाहेक कुनै अशुद्ध कुरा, घृणित काम गर्ने र झूट बोल्‍‌ने कुनै किसिमले पनि त्यसभित्र पस्‍‌नेछैनन्।




22

1 तब तिनले मलाई स्वच्छ स्फटिकजस्तै जीवनको पानीको नदी देखाए। त्यो नदी परमेश्वरको र थुमाको सिंहासनबाट निस्केर,

2 त्यस शहरका सडकको बीचबाट बगिरहेको थियो। त्यस नदीका दुवै किनारमा जीवनको वृक्ष थियो, जसले हरेक महिना बाह्रै किसिमका फलहरू दिइरहन्थे । त्यसका पातहरू जाति-जातिहरूलाई निको पार्नका निम्ति थिए।

3 अबदेखि उसो त्यहाँ कहिल्यै सराप हुनेछैन। परमेश्वर र थुमाको सिंहासन त्यहाँ हुनेछ र उहाँका दासहरूले उहाँको सेवा गर्नेछन्।

4 तिनीहरूले उहाँको मुहार देख्‍‌नेछन् र उहाँको नाउँ तिनीहरूका निधारमा हुनेछ।

5 त्यहाँ फेरि रात हुनेछैन, तिनीहरूलाई बत्ती वा सूर्यको उज्यालो चाहिनेछैन, किनकि परमप्रभु परमेश्वर नै तिनीहरूको उज्यालो हुनुहुनेछ, तिनीहरूले सदासर्वदै राज्य गर्नेछन्।

6 तिनले मलाई भने, ‘‘यी वचन विश्वसनीय र सत्य छन्। अब चाँडै हुनआउने कुरा आफ्‍‌ना दासहरूलाई देखाउन परमप्रभु, अगमवक्ताहरूका आत्माका परमेश्वरले आफ्‍‌ना स्वर्गदूत पठाउनुभयो।’’

7 ‘‘हेर, म चाँडै आउँदै छु। यस पुस्तकको अगमवाणीका वचन पालन गर्ने धन्यको हो।’’

8 यी कु रा सुन्‍‌ने र देख्‍‌ने म यूहन्‍‌ना हुँ। जब मैले यी कुरा सुनेँ र देखेँ, तब मलाई यी कुरा देखाउने स्वर्गदूतको पाउमा दण्डवत् गर्न म घोप्टो परेँ।

9 तर तिनले मलाई भने, ‘‘ हेर, तिमीले यसो नगर। म त तिम्रो र अगमवाणी बोल्‍‌ने तिम्रा भाइहरू अनि यस पुस्तकका वचन पालन गर्नेहरूका सङ्गी-दास मात्र हुँ । पमेश्वरलाई दण्डवत् गर।’’

10 तब तिनले मलाई यसो भने, ‘‘यस पुस्तकको अगमवाणीका वचनमा मोहोर नलगाऊ, किनकि समय नजिकै छ।

11 दुष्ट काम गर्नेले दुष्ट काम गरिरहोस्, अश्लील काम गर्नेले अश्लील काम गरिरहोस्, धर्मात्माले धार्मिक कार्य गरिरहोस् र पवित्रजन पवित्र नै रहून्।’’

12 ‘‘हेर, म चाँडै आउँदै छु । हरेक मानिसलाई उसले गरेका कामअनुसार दिने प्रतिफल मसँग छ।

13 म, अल्फा र ओमेगा, पहिलो र पछिल्लो, आदि र अन्त्य हुँ।’’

14 जीवनका वृक्षको हक पाउन र शहरका ढोकाहरूबाट भित्र पस्‍‌न पाऊँ भनी आफ्‍‌ना वस्त्र धुनेहरू धन्यका हुन्।

15 कुकुरहरू, मन्त्रतन्त्र गर्नेहरू, व्यभिचारीहरू, हत्याराहरू, मूर्त्तिपूजकहरू र झूटलाई प्रेम गर्ने र झूट बोल्‍‌नेहरू बाहिर रहन्छन्।

16 ‘‘म, येशूले आफ्‍‌ना दूतलाई तिमीकहाँ मण्डलीहरूका निम्ति यो गवाही दिन पठाएको छु। दाऊदका मूल र सन्तान अनि बिहानको चहकिलो तारा म नै हुँ।’’

17 पवित्र आत्मा र दुलही भन्‍‌नुहुन्छ, ‘‘आओ।’’ जसले सुन्छ, त्यसले भनोस् ‘‘आओ।’’ जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ, त्यसले जीवनको पानी सित्तैँमा लेओस्।

18 यस पुस्तकको अगमवाणीका वचन सुन्‍‌ने हरेक मानिसलाई म चेताउनी दिन्छु : यदि कसैले तिनमा थप्यो भने यस पुस्तकमा लेखिएका विपत्तिहरू परमेश्वरले त्यसमाथि थपिदिनुहुनेछ।

19 अनि कसैले यस अगमवाणीको पुस्तकका वचनबाट केही घटायो भने, यस पुस्तकमा लेखिएका जीवनको वृक्ष र पवित्र शहरबाट त्यसले पाउने हिस्सा परमेश्वरले त्यसबाट खोस्‍‌नुहुनेछ।

20 यी कुराको गवाही दिनेले भन्‍‌नुहुन्छ, ‘‘निश्चय, म चाँडै आउँदै छु।’’ आमेन्, आउनुहोस्, हे प्रभु येशू !

21 प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरू सबैसँग रहोस्। आमेन्।



AMAZING GRACE BIBLE INSTITUTE