Psalms 76 TO 150

भजनसंग्रह


Chapter 76

1 यहूदामा परमेश्वर चिनिनुभएको छ, इस्राएलमा उहाँको नाम महान् छ।

2 सालेममा पनि उहाँको निवासस्थान छ, र सियोनमा उहाँको वासस्थान छ।

3 उहाँले त्यहाँ धनुका काँडहरू, ढाल, तरवार र युद्धका हातहतियार भाँच्नुभयो। सेला

4 तपाईं शिकारले भरिएका पहाडहरूभन्दा महिमापूर्ण र उत्तम हुनुहुन्छ।

5 साहसी हृदय भएकाहरू लुटिएका छन्, तिनीहरू आफ्नो निद्रामा परेका छन्, अनि शूरवीरहरूमध्ये कसैले पनि आफ्ना हात उठाउन पाएनन्।

6 हे याकूबका परमेश्वर, तपाईंको हप्कीले घोडा र रथी दुवै गहिरो निद्रामा परेका छन्।

7 तपाईं मात्र भय मान्ने योग्यका हुनुहुन्छ, तपाईं क्रोधित हुँदा, तपाईंको सामु को खडा हुनसक्छ र?

8 स्वर्गबाट तपाईंले न्यायको घोषणा गर्नुभयो, पृथ्वी डरायो र चुपचाप भयो,

9 तब परमेश्वर, न्यायको लागि र पृथ्वीका सबै नम्रहरूलाई बचाउनको लागि उठ्नुभयो। सेला

10 साँच्चै मानिसप्रतिको तपाईंको क्रोधले तपाईंलाई प्रशंसा ल्याउनेछ, तपाईंले पूरा नापमा आफ्नो क्रोध प्रकट गर्नुहुन्छ।

11 आफ्ना परमेश्वर परमप्रभुको निम्ति भाकल गर र त्यो पूरा गर, भययोग्य परमेश्वरको वरिपरि रहनेहरूले उहाँकहाँ भेटी ल्याऊन्।

12 उहाँले शासकहरूको आत्मालाई चकनाचुर पार्नुहुनेछ, पृथ्वीका राजाहरूका निम्ति उहाँ भयानक हुनुहुन्छ।




77

1 मैले आफ्नो सोर उचालेर परमेश्वरलाई पुकारेँ, अँ, आफ्नो सोर उचालेर परमेश्वरलाई पुकारेँ, अनि उहाँले मतिर ध्यान दिनुभयो।

2 मेरो सङ्कष्टको दिनमा मैले परमप्रभुलाई खोजेँ, रातभरि नथाकी मैले मेरो हात पसारेँ, अनि मेरो प्राणले सान्त्वना ग्रहण गर्न मानेन।

3 मैले परमेश्वरलाई सम्झेँ र विचलित भएँ, मैले दु:ख पोखेँ र मेरो आत्मा व्याकुल भयो। सेला

4 तपाईंले मेरा आँखालाई जागै राख्नुभयो, म यति विचलित भएँ कि म बोल्नै सकिनँ।

5 मैले बितेका दिन र प्राचीनकालका वर्षहरूको बारेमा विचार गरेको छु।

6 राती म आफ्नो गीत सम्झन्छु, म मेरो हृदयसित बात गर्दछु, र मेरो आत्माले प्रयत्नसाथ खोज्यो।

7 के प्रभुले सधैँका निम्ति त्याग्नुहुनेछ? अनि के उहाँले फेरि कहिल्यै कृपा गर्नुहुनेछैन?

8 के उहाँको कृपा सदाको निम्ति मेटिएको छ? के उहाँको प्रतिज्ञा सदाका निम्ति भङ्ग हुन्छ?

9 के परमेश्वरले अनुग्रही हुन बिर्सनुभएको छ? के रिसाएर उहाँले आफ्नो कृपादृष्टि बन्द गर्नुभएको छ? सेला

10 अनि मैले भनेँ, ‘‘यो मेरो कमजोरी हो, तर म सर्वोच्चको दाहिने बाहुलीका वर्षहरू सम्झना गर्नेछु।

11 म परमप्रभुका कामहरू सम्झना गर्नेछु, साँच्चै म प्राचीनकालका तपाईंका अचम्मका कामहरू सम्झना गर्नेछु।

12 म तपाईंका सबै कामको मनन गर्नेछु, र तपाईंका कार्यहरूको विषयमा बताउनेछु।’’

13 हे परमेश्वर, तपाईंको मार्ग पवित्र छन्, हाम्रा परमेश्वरझैँ महान् ईश्वर अरू को छ र?

14 तपाईं अचम्मका कामहरू गर्नुहुने परमेश्वर हुनुहुन्छ, जाति-जातिका मानिसहरूको बीचमा तपाईंले आफ्नो सामर्थ्य प्रकट गर्नुभएको छ।

15 तपाईंले आफ्नै बाहुबलले आफ्ना जनलाई, याकूब र यूसुफका सन्तानलाई मोल तिरेर छुटकारा दिनुभएको छ। सेला

16 समुद्रले तपाईंलाई देखे, हे परमेश्वर, समुद्रले तपाईंलाई देखे र ती डराए, गहिरा सागर कम्पायमान भयो।

17 बादलले पानी बर्सायो, आकाश गर्ज्यो, तपाईंका काँडहरू चम्कँदै चारैतिर गए।

18 तपाईंको गर्जनको आवाज आँधीबेहरीसहित सुनियो,बिजुली चम्केर संसारलाई उज्यालोपार्यो, पृथ्वी काम्यो र हल्लियो।

19 तपाईंको मार्ग समुद्र र महासागरमा थियो, तर तपाईंका पाइलाका पदचिन्हहरू थाहा पाईंदैन।

20 मोशा र हारूनका हातद्वारा तपाईंले आफ्ना जनलाई भेडाको बगाललाई जस्तै अगुवाइ गर्नुभयो।




78

1 हे मेरा मानिसहरू, मेरो व्यवस्थातिर ध्यान देऊ, मेरो मुखका वचनतिर आफ्नो ध्यान देऊ।

2 म मेरो मुख दृष्टान्तमा खोल्नेछु, प्राचीनकालका पहेलीहरू म बताउनेछु,

3 जो हामीले सुनेका र जानेका छौं, अनि हाम्रा पिता-पुर्खाले हामीलाई बताएका छन्।

4 हामी यी कुरा उनीहरूका सन्तानबाट लुकाउनेछैनौं, आउँदो पुस्तालाई परमप्रभुका स्तुतिगान, उहाँको सामर्थ्य र उहाँले गर्नुभएका अचम्मका कामहरूको वर्णन गर्नेछौं।

5 किनकि उहाँले याकूबमा एउटा साक्षी खडा गर्नुभयो र इस्राएलमा एउटा व्यवस्था स्थापित गर्नुभयो, हाम्रा पिता-पुर्खाले यी कुरा आफ्ना सन्तानलाई जनाऊन् भनेर उहाँले तिनीहरूलाई आज्ञा गर्नुभयो,

6 जसले गर्दा आउँदो पुस्ता अर्थात् भविष्यमा जन्मने सन्तानले यी कुरा जानून् र खडा भएर तिनीहरूका सन्तानलाई बताऊन्,

7 तिनीहरूले परमेश्वरमाथि आफ्नो भरोसा राखून् र परमेश्वरका कामहरू नबिर्सून्, तर उहाँका आज्ञाहरू पालन गरून्,

8 तिनीहरू आफ्ना पिता-पुर्खाझैँ हठी र विद्रोही पुस्ता नबनून्, जो यस्तो पुस्ता थियो, जसले आफ्नो हृदय ठीक राखेन, र जसको आत्मा परमेश्वरप्रति विश्वासयोग्य रहेन।

9 एफ्राइमका सन्तान हतियार भिर्ने र धनु बोक्नेहरू थिए, तापनि युद्धको दिनमा पछि हटे।

10 तिनीहरूले परमेश्वरको करार पालन गरेनन् र उहाँको व्यवस्थाअनुसार हिँड्न इन्कार गरे,

11 तिनीहरूले उहाँका काम र उहाँले तिनीहरूलाई देखाउनुभएका उहाँका अचम्मका कामहरू बिर्से।

12 तिनीहरूका पिता-पुर्खाका नजरको सामुन्ने उहाँले मिश्रदेश र सोअनको मैदानमा अचम्मका कामहरू गर्नुभयो।

13 उहाँले समुद्रलाई दुई भाग पार्नुभयो, र उनीहरूलाई पारि लैजानुभयो, अनि उहाँले पानीलाई पर्खालझैँ खडा गर्नुभयो।

14 दिनमा उहाँले उनीहरूलाई बादल र रातभरि आगोको प्रकाशले डोर्याउनुभयो।

15 उहाँले उजाडस्थानमा चट्टानलाई दुई फ्याक पार्नुभयो र समुद्रबाट दिएजस्तै गरी उनीहरूलाई प्रशस्त पानी पिउन दिनुभयो।

16 अनि उहाँले चट्टानबाट खोला निकाल्नुभयो र नदीझैँ पानी बगाउनुभयो।

17 तापनि उजाडस्थानमा सर्वोच्चलाई रिस उठाएर उनीहरूले उहाँको विरुद्धमा झन् धेरै पाप गरे।

18 आफ्नो अभिलाषाको निम्ति खानेकुरा मागेर उनीहरूले आफ्नो हृदयमा परमेश्वरलाई परीक्षा गरे।

19 अँ, उनीहरूले परमेश्वरको विरुद्धमा यस्तो वचन बोले, ‘‘के परमेश्वरले उजाडभूमिमा खानेकुरा दिन सक्नुहुन्छ र?

20 हेर, उहाँले चट्टानलाई हिर्काउनुभयो र पानी फुटेर निस्क्यो, अनि खोलाहरू बढेर आए, के उहाँले रोटी पनि दिन सक्नुहुन्छ? के उहाँले आफ्ना मानिसहरूका निम्ति मासु जुटाउन सक्नुहुन्छ?’’

21 यसैकारण जब परमप्रभुले यो सुन्नुभयो, तब उहाँ रिसाउनुभयो र याकूबको विरुद्धमा आगो सल्क्यो, अनि इस्राएलको विरुद्धमा क्रोध पनि दन्क्यो,

22 किनकि उनीहरूले परमेश्वरमा विश्वास गरेनन् र उहाँको उद्धारमा भरोसा राखेनन्,

23 तापनि उहाँले आकाशलाई हुकुम गर्नुभयो र स्वर्गका ढोकाहरू खोलिदिनुभयो,

24 खानको निम्ति उनीहरूमाथि मन्न बर्साउनुभयो र उनीहरूलाई स्वर्गको अन्न दिनुभयो।

25 मानिसहरूले स्वर्गदूतहरूको भोजन खाए, उहाँले उनीहरूलाई प्रशस्त खानेकुरा पठाउनुभयो।

26 आकाशमा उहाँले पूर्वीय बतास छोड्नुभयो, अनि आफ्नो शक्तिद्वारा उहाँले दक्षिणी बतास ल्याउनुभयो।

27 उहाँले उनीहरूमाथि धुलोसरह मासु र समुद्रको बालुवासरह उड्ने पक्षीहरू बर्साउनुभयो,

28 अनि उहाँले यी पक्षीलाई उनीहरूका छाउनीको बीचमा र उनीहरूका वासस्थानहरूको वरिपरि झार्नुभयो।

29 तब उनीहरूले खाए र तृप्त भए, किनकि उहाँले उनीहरूलाई उनीहरूको इच्छाबमोजिम दिनुभयो।

30 उनीहरू आफ्नो इच्छाबाट अलग भएनन्, उनीहरूको खाना अझै पनि उनीहरूकै मुखमा थियो,

31 परमेश्वरको क्रोध उनीहरूमाथि दन्क्यो, र उहाँले उनीहरूमध्ये बलवानहरूलाई मार्नुभयो अनि इस्राएलका चुनिएका मानिसहरूलाई प्रहार गर्नुभयो।

32 यति हुँदा पनि उनीहरूले अझै पाप गरिरहे र उहाँका अचम्मका कामहरूमा विश्वास गरेनन्।

33 यसकारण उहाँले उनीहरूका दिनहरू व्यर्थतामा र उनीहरूका वर्षहरू कष्टमय तुल्याउनुभयो।

34 जब उहाँले उनीहरूलाई प्रहार गर्नुभयो, तब उनीहरूले उहाँको खोजी गरे, तब उनीहरू फर्के र परमेश्वरको खोजी गरे।

35 अनि परमेश्वर हाम्रा चट्टान हुनुहुँदो रहेछ र सर्वोच्च परमेश्वर हाम्रा उद्धारक हुनुहुँदो रहेछ भनी उनीहरूले सम्झे।

36 तैपनि उनीहरूले आफ्ना मुखले उहाँलाई चापलुसी गरे र जिब्रोले उहाँसित झुट बोले,

37 किनकि उनीहरूको हृदय उहाँप्रति ठीक थिएन, न त उनीहरू उहाँको करारप्रति विश्वासयोग्य थिए।

38 तर उहाँले दयाले भरपुर भएर उनीहरूको अधर्म क्षमा गर्नुभयो, र उनीहरूलाई नष्ट गर्नुभएन, उहाँले धेरैपटक आफ्नो रिस थाम्नुभयो, र आफ्नो सबै क्रोध दन्कन दिनुभएन।

39 किनकि उनीहरू त मानिस मात्र हुन्, बहेर जाने र फेरि नफर्कने हावाजस्तै हुन् भनी उहाँले सम्झनुभयो।

40 कतिपल्ट उनीहरूले उहाँलाई उजाडस्थानमा रिस उठाए र मरुभूमिमा उहाँलाई शोकित तुल्याए !

41 तिनीहरूले बारम्बार परमेश्वरको परीक्षा गरे र इस्राएलका परमपवित्रलाई तिनीहरूले सीमित तुल्याए।

42 उनीहरूले उहाँको शक्तिको सम्झना गरेनन्, न त त्यो दिन सम्झे, जुन दिन उहाँले उनीहरूलाई शत्रुबाट छुटाउनुभएको थियो,

43 उहाँले मिश्रदेशमा आफ्ना चिन्ह र सोअनको मैदानमा आफ्ना अचम्मका कामहरू देखाउनुभएको थियो,

44 अनि उहाँले उनीहरूका नदी र खोलाहरूलाई रगतमा परिवर्तन गर्नुभयो र उनीहरूले त्यो पिउन सकेनन्।

45 उहाँले उनीहरूका बीचमा झिँगाहरूको हुल पठाउनुभयो, जसले उनीहरूलाई टोके र उहाँले भ्यागुताहरू पठाउनुभयो, जसले उनीहरूलाई उजाड पारे।

46 उहाँले उनीहरूका फसल फटेङ्ग्राहरूलाई दिनुभयो र उनीहरूका परिश्रमको फल सलहलाई दिनुभयो।

47 उहाँले उनीहरूका अङ्गुरका बोटहरू असिना र उनीहरूका नेभाराका रूखहरू तुसारोले नष्ट पार्नुभयो।

48 उहाँले उनीहरूका गाईवस्तुको बथानलाई असिना र उनीहरूका भेडाबाख्राका बगाललाई चटयाङ्गले प्रहार गर्नुभयो।

49 उहाँले उनीहरूको बीचमा दुष्ट दूतहरू पठाएर उनीहरूमाथि आफ्नो क्रोध, रिस, रोष र सङ्कष्ट खन्याउनुभयो।

50 उहाँले आफ्नो क्रोधको मार्ग तयार गर्नुभयो, उहाँले उनीहरूको प्राणलाई मृत्युबाट बचाउनुभएन, तर उनीहरूका प्राण महामारीलाई सुम्पनुभयो,

51 र मिश्रदेशका सबै ज्येष्ठ सन्तानलाई, हामका तम्बुमा उनीहरूको पुरुषार्थको पहिलो फललाई मार्नुभयो।

52 तर आफ्ना जनलाई उहाँले भेडाहरूलाई झैँ निकालेर लैजानुभयो र उजाडस्थानमा उनीहरूलाई भेडाबाख्राको बगाललाई झैँ अगुवाइ गर्नुभयो।

53 उनीहरू नडराऊन् भनी उहाँले उनीहरूलाई सुरक्षासाथ डोर्याउनुभयो, तर उनीहरूका शत्रुहरूलाई समुद्रले निल्यो।

54 उहाँले उनीहरूलाई आफ्नो पवित्रस्थानको सिमानामा ल्याउनुभयो, त्यही पहाडमा, जुन उहाँले आफ्नो दाहिने बाहुलीले जित्नुभएको थियो।

55 उहाँले जाति-जातिलाई उनीहरूकै सामु लखेट्नुभयो र भाग-भाग गरेर उनीहरूको अधिकारको भाग बाँडिदिनुभयो, अनि इस्राएलका कुलहरूलाई उनीहरूको तम्बुहरूमा बसाल्नुभयो।

56 तापनि उनीहरूले सर्वोच्च परमेश्वरलाई परीक्षा गरेर रिस उठाए, अनि उहाँका करारको साक्षी पालन गरेनन्,

57 तर उनीहरूका पिता-पुर्खाझैँ पछि हटेर विश्वासघात गरे, उनीहरू धोका दिने धनुझैँ अर्कातिर लागे।

58 किनकि उनीहरूले आफ्ना डाँडाका थानहरूद्वारा उहाँलाई रिस उठाए, र आफ्ना कुँदिएका आकृतिहरूद्वारा उहाँलाई ईर्ष्यालु बनाए।

59 जब परमेश्वरले यो सुन्नुभयो, तब उहाँ रिसाउनुभयो र इस्राएललाई साह्रै घृणा गर्नुभयो।

60 यसकारण उहाँले शीलोमा भएको पवित्र वासस्थानलाई त्याग्नुभयो, त्यो पाल, जो उहाँले मानिसहरूका बीचमा राख्नुभएको थियो,

61 र आफ्नो सामर्थ्य कैदमा र आफ्नो महिमा शत्रुको हातमा सुम्पिदिनुभयो।

62 उहाँले आफ्ना मानिसहरू तरवारलाई सुम्पनुभयो र आफ्नो हकको उत्तराधिकारसित क्रोधित हुनुभयो।

63 आगोले उनीहरूका जवानहरूलाई भस्म पार्यो, अनि उनीहरूका कन्याहरूले विवाहको दिन देख्न पाएनन्।

64 उनीहरूका पूजाहारीहरू तरवारले मारिए, अनि उनीहरूका विधवाहरूले विलाप गर्न पाएनन्।

65 तब परमप्रभु निद्राबाट बिउँझनेझैँ, मद्यको कारण कराउने शक्तिशाली मानिसझैँ बिउँझनुभयो।

66 तब उहाँले आफ्ना शत्रुहरूलाई पिठयुँमा प्रहार गर्नुभयो, उहाँले उनीहरूलाई सदासर्वदा निन्दामा पार्नुभयो।

67 यसबाहेक उहाँले योसेफको तम्बुलाई इन्कार गर्नुभयो, र एफ्राइमको कुललाई छान्नुभएन,

68 तर उहाँले यहूदाको कुललाई छान्नुभयो, जो सियोन पर्वत हो, त्यसलाई उहाँले प्रेम गर्नुभयो।

69 उहाँले आफ्नो पवित्रस्थान उच्चस्थानमा झैँ बनाउनुभयो, र पृथ्वीजस्तै, जो उहाँले सदाको लागि स्थापित गर्नुभएको छ।

70 उहाँले आफ्नो दास दाऊदलाई पनि चुन्नुभयो, र भेडाहरूका गोठबाट उनलाई निकाल्नुभयो,

71 भेडाहरूको देखरेख गर्ने कामबाट उहाँले दाऊदलाई याकूबका सन्तान र आफ्नो उत्तराधिकार इस्राएलको गोठालो हुन ल्याउनुभयो।

72 यसकारण उनले उनीहरूलाई आफ्नो हृदयको इमानदारिसाथ देखरेख गरे र आफ्ना हातको निपुणताले उनीहरूलाई अगुवाइ गरे।




79

1 हे परमेश्वर, जाति-जातिहरू तपाईंको उत्तराधिकारभित्र पसेका छन्, उनीहरूले तपाईंको पवित्र मन्दिरलाई अशुद्ध पारेका छन्, उनीहरूले यरूशलेमलाई संहार पारेका छन्।

2 तिनीहरूले तपाईंका दासहरूका शव आकाशका चराचुरुङ्गीलाई, र तपाईंका पवित्रजनको मासु पृथ्वीका पशुहरूलाई आहारको रूपमा दिएका छन्।

3 तिनीहरूले उनीहरूको रगत यरूशलेमको चारैतिर पानीझैँ बगाएका छन्, र उनीहरूलाई गाड्ने कोही छैन।

4 हाम्रा छरछिमेकका सामु हामी निन्दाको कारण भएका छौं, हाम्रा चारैतिर रहनेहरूका निम्ति हामी गिल्ला र ठट्टाका पात्रहरू भएका छौं।

5 हे परमप्रभु, कहिलेसम्म? के तपाईं सधैँभरि रिसाउनुहुन्छ? के तपाईंको डाह आगोझैँ दन्किरहनेछ?

6 ती जाति जसले तपाईंलाई स्वीकार गर्दैनन्, ती राज्य जसले तपाईंलाई पुकार्दैनन्, तिनीहरूमाथि तपाईंको क्रोध खन्याउनुहोस्।

7 किनकि तिनीहरूले याकूबलाई निलेका छन् र उनको वासस्थान उजाड पारेका छन्।

8 हाम्रा पिता-पुर्खाका पापको लेखा हामीहरूसँग नलिनुहोस्, तपाईंको कृपा चाँडै हामीकहाँ आइपुगोस्, किनकि हामी साह्रै खाँचोमा छौं।

9 हे हाम्रा उद्धारका परमेश्वर, आफ्नो नामको महिमाको खातिर हामीलाई सहायता गर्नुहोस् र आफ्नो नामको खातिर हामीलाई छुटाउनुहोस्, र हाम्रा पाप क्षमा गरिदिनुहोस्।

10 जाति-जातिले किन यसो भनून्, ‘‘तिमीहरूको परमेश्वर कहाँ छ?’’ तपाईंका सेवकहरूको रक्तपात गर्ने हाम्रा वरिपरिका जाति-जातिलाई बदला लिएको हामी देख्न पाऊँ।

11 कैदीको सुस्केरा तपाईंको सामु पुगोस्, तपाईंको सामर्थ्यको महानताअनुसार मारिनका निम्ति नियुक्त भएकाहरूलाई जोगाउनुहोस्,

12 हे परमप्रभु, जुन निन्दाले हाम्रा छरछिमेकले तपाईंको निन्दा गरेका छन्, त्यही निन्दाको सात गुणा धेरै तिनीहरूका छातीमा हालिदिनुहोस्।

13 यसकारण हामी, तपाईंका जन र तपाईंका खर्कका भेडाहरू सदासर्वदा तपाईंलाई धन्यवाद चढाउनेछौं, पुस्ता-पुस्तासम्म हामी तपाईंको प्रशंसाको घोषणा गर्नेछौं।




80

1 हे इस्राएलका गोठाला, तपाईं जसले यूसुफलाई भेडाबाख्राको बगाललाई झैँ अगुवाइ गर्नुहुन्छ, ध्यान दिनुहोस्, तपाईं, जो करूबहरूको बीचमा बस्नुहुन्छ, प्रकाशमान हुनुहोस्।

2 एफ्राइम, बेन्यामीन र मनश्शेको सामुन्ने आफ्नो सामर्थ्य जगाउनुहोस्, अनि आउनुहोस् र हामीलाईबचाउनुहोस्।

3 हे परमेश्वर, हामीलाई पुनर्स्थापना गर्नुहोस्, अनि आफ्नो मुहार हामीमाथि चम्काउनुहोस् र हामी बाँच्नेछौं।

4 हे सेनाहरूका परमप्रभु परमेश्वर, आफ्नो जनको प्रार्थनाको विरुद्धमा तपाईं कहिलेसम्म रिसाउनुहुनेछ?

5 तपाईंले तिनीहरूलाई आँसुको रोटी खुवाउनुहुन्छ र तिनीहरूलाई प्रशस्त मात्रामा आँसु पिउन दिनुहुन्छ।

6 तपाईंले हामीलाई हाम्रा छरछिमेकको निम्ति झगडाको कारण तुल्याउनुहुन्छ, अनि हाम्रा शत्रुहरू हामीलाई खिसी गरेर हाँस्छन्।

7 हे सेनाहरूका परमेश्वर, हामीलाई पुनर्स्थापना गर्नुहोस्, अनि आफ्नो मुहार हामीमाथि चम्काउनुहोस् र हामी बाँच्नेछौं।

8 तपाईंले मिश्रदेशबाट एउटा अङ्गुरको बोट ल्याउनुभयो, तपाईंले जातिजातिलाई लखेट्नुभयो र यसलाई रोप्नुभयो।

9 तपाईंले यसको सामु ठाउँ तयार पार्नुभयो र यसलाई गहिरो जरा हाल्न दिनुभयो, अनि यो देशभरि फैलियो।

10 यसको छायाँले पहाडहरू ढाकिए र यसका हाँगाहरू ठूल्ठूला देवदारुझैँ भए।

11 त्यसका हाँगाहरू समुद्रसम्म गए, अनि त्यसका मुनाहरू नदीसम्मै फैलिए।

12 के त्यहाँबाट भएर जाने सबैले यसलाई टिपून् भनेर तपाईंले यसका पर्खालहरू भत्काइदिनुभएको हो?

13 जङ्गलको बँदेलले यसलाई उजाड पार्छ, र वनको जङ्गली पशुले यसलाई निल्छ।

14 हे सेनाहरूका परमेश्वर, हामी तपाईंलाई विन्ती गर्छौं, फर्कनुहोस्, स्वर्गबाट तल हेर्नुहोस्, अनि यस अङ्गुरको बोटको हेरचाह गर्नुहोस्,

15 तपाईंको आफ्नो दाहिने बाहुलीले रोप्नुभएको त्यस बिरुवाको, त्यस छोराको, जसलाई तपाईंले आफ्नो लागि हुर्काउनुभएको छ, त्यसलाई बलियो पार्नुहोस्।

16 यो आगोले जल्यो, यो काटियो, तपाईंको मुहारको हप्कीले ती नष्ट हुँदै छन्।

17 तपाईंको दाहिनेपट्टिको मानिसमाथि तपाईंको हात रहोस्, त्यो मानिसको पुत्रमाथि जसलाई तपाईंले आफ्नो निम्ति खडा गर्नुभएको छ।

18 तब हामी तपाईंबाट कहिल्यै पिठयुँ फर्काउनेछैनौं, हामीलाई पुनर्जागृत पार्नुहोस् र हामी तपाईंको नाउँ पुकार्नेछौं।

19 हे सेनाहरूका परमप्रभु परमेश्वर, हामीलाई पुनर्स्थापना गर्नुहोस्, अनि आफ्नो मुहार हामीमाथि चम्काउनुहोस् र हामी बाँच्नेछौं।




81

1 परमेश्वरको निम्ति आनन्दले गाओ, उहाँ हाम्रो शक्ति हुनुहुन्छ, उच्च सोरले याकूबका परमेश्वरको जयजयकार गर।

2 भजन गाओ र खैँजडी बजाओ, सारङ्गीको साथ मीठो बज्ने वीणा बजाओ।

3 औंसीको दिन र पूर्णिमा अनि हाम्रो ठूलो चाडको दिनमा तुरही बजाओ।

4 किनकि यो इस्राएलको निम्ति एउटा विधि र याकूबका परमेश्वरको यो एउटा व्यवस्था हो।

5 मिश्रदेशबाट भएर जानुहुँदा उहाँले यो योसेफमा साक्षी ठहराउनुभयो, जहाँ मैले एउटा भाषा सुनेँ, त्यो मैले बुझिनँ।

6 मैले तिनीहरूका काँधबाट भारी हटाएँ, उसका हातहरू टोकरीहरूबाट छुटाएँ।

7 सङ्कष्टमा तिमीले पुकार्यौ र मैले तिमीलाई छुटाएँ, गर्जनको गुप्त स्थानबाट मैले तिमीलाई जवाफ दिएँ, मेरीबाको पानीमा मैले तिम्रो जाँच गरेँ। सेला

8 ‘‘हे मेरो प्रजा, सुन, तिम्रो विषयमा म साक्षी दिनेछु, हे इस्राएल, तिमीले मेरो कुरा सुन्यौं भने,

9 तिमीहरूको बीचमा कुनै पराई देउता नहोस्, न त तिमीले कुनै पराई देउतालाई दण्डवत् गर्नू।

10 म परमप्रभु, तिम्रो परमेश्वर हुँ, जसले तिमीलाई मिश्रदेशबाट निकालेर ल्याएको छ, आफ्नो मुख पूरा खोल र म त्यो भरिदिनेछु।

11 ‘‘तर मेरो प्रजाले मैले भनेको सुनेन, र इस्राएलले मेरो अधीनमा रहन मानेन।

12 यसकारण मैले उनीहरूलाई उनीहरूकै हृदयको अभिलाषामा छोडिदिएँ, र उनीहरू आफ्नै सल्लाहअनुसार हिँडे।

13 ‘‘मेरो प्रजाले मेरो कुरा सुनेको भए त ! इस्राएलले मेरो मार्गमा हिँडेको भए त,

14 चाँडै म उनीहरूका शत्रुहरूलाई दबाउने थिएँ र उनीहरूका विरोधीहरूको विरुद्धमा मेरो हात उठाउने थिएँ !

15 परमप्रभुलाई घृणा गर्नेहरूले आफूलाई उहाँकै अधीनतामा सुम्पिने थिए, तर उनीहरूको दण्डको समय सदासर्वदा रहिरहनेथियो।

16 अनि उहाँले उनीहरूलाई सबैभन्दा उत्तम गहुँ खुवाउनुहुनेथ्यो, अनि चट्टानबाटको महले म तिमीलाई तृप्त पार्ने थिएँ।’’




82

1 परमेश्वर ठूलो सभामा उपस्थित हुनुहुन्छ, ‘‘देवहरू’’ का बीचमा उहाँले न्याय गर्नुहुन्छ।

2 कहिलेसम्म तिमीहरू बेठीकसँग न्याय गर्छौ र दुष्टहरूको पक्ष लिन्छौ? सेला

3 गरिब र टुहुराहरूको इन्साफ गरिदेओ, दु:खी र दरिद्रहरूको न्याय गरिदेओ।

4 असहाय र दरिद्रहरूलाई बचाओ, दुष्टहरूको हातबाट तिनीहरूलाई छुटाओ।

5 तिनीहरूले जान्दैनन्, न त तिनीहरूले बुझ्दछन्, तिनीहरू अँध्यारोमा यताउता हिँड्छन्, पृथ्वीका सबै जग हल्लिएका छन्।

6 मैले भनेको छु, ‘‘तिमीहरू देवहरू हौ, र तिमीहरू सबै सर्वोच्चका सन्तान हौ।

7 तापनि तिमीहरू मानिसहरूझैँ मर्नेछौ, र शासकहरूमध्ये कुनै एक जनाझैँ ढल्नेछौ।’’

8 हे परमेश्वर, उठ्नुहोस्, पृथ्वीको न्याय गर्नुहोस्, किनकि तपाईंले सबै जातिमाथि अधिकार गर्नुहुनेछ।




83

1 हे परमेश्वर, तपाईं चुप नरहनुहोस्, हे परमेश्वर, चुपचाप नबस्नुहोस्, र शान्त नरहनुहोस्।

2 किनकि हेर्नुहोस्, तपाईंका शत्रुहरू हुलदङ्गा मच्चाउँछन्, अनि तपाईंलाई घृणा गर्नेहरूले आफ्नो शिर ठाडो पारेका छन्।

3 तिनीहरूले तपाईंको प्रजाको विरुद्धमा छलपूर्ण सल्लाह गरेका छन् र तपाईंले कदर गरेका विरुद्धमा षडयन्त्र रचेका छन्।

4 तिनीहरूले भनेका छन्, ‘‘आओ, हामी उनीहरूको जातिलाई नाश गरौं, जसले गर्दा इस्राएल भन्ने नाउँको सम्झना नै नरहोस्।’’

5 किनकि तिनीहरूले एउटै मनको भएर षडयन्त्र रचेका छन्, तिनीहरू तपाईंको विरुद्धमा एक भएका छन्,

6 एदोम र इश्माएलका निवासीहरू, मोआबीहरू र हग्री,

7 गबाली, अम्मोनी, अमालेकी, पलिश्ती र टुरोसका निवासीहरू,

8 अश्शूर पनि तिनीहरूसँग मिलेको छ। तिनीहरूले लूतका सन्तानलाई सहायता गरेका छन्। सेला

9 किशोनको खोलामा मिद्यानी, सीसरा र याबीनलाई गरेजस्तै तिनीहरूसित व्यवहार गर्नुहोस्,

10 तिनीहरू एन्दोरमा नष्ट भए र जमिनका फोहोरसरि भए।

11 तिनीहरूका भारादारहरूलाई ओरेब र जएबझैँ अनि तिनीहरूका सबै राजकुमारलाई जेबह र सल्मुन्नाझैँ बनाउनुहोस्,

12 जसले भनेका थिए, ‘‘परमेश्वरका खर्कमा हामी आफ्नो अधिकार जमाऔं।’’

13 हे मेरा परमेश्वर, तिनीहरूलाई भुमरीको धुलोजस्तो र बतासले उडाएको भुसझैँ तुल्याउनुहोस्।

14 जसरी आगोले जङ्गल भस्म पार्छ, र ज्वालाले पहाडहरू जलाइदिन्छ,

15 त्यसरी नै तपाईंको आँधीले खेद्नुहोस्, र तपाईंको आँधीबेहरीले तिनीहरूलाई भयभीत पार्नुहोस्।

16 तिनीहरूका मुहार सर्मले भरिदिनुहोस्, जसले गर्दा हे परमप्रभु, तिनीहरूले तपाईंको नाउँको खोजी गरून्।

17 तिनीहरू सदासर्वदा अन्योल र सङ्कष्टमा परून्, तिनीहरू सर्ममा परून् र नष्ट होऊन्,

18 जसले गर्दा तपाईंको नाउँ मात्र परमप्रभु हो र तपाईं सम्पूर्ण पृथ्वीमाथि सर्वोच्च हुनुहुन्छ भनी मानिसहरूले जानून्।




84

1 हे सेनाहरूका परमप्रभु, तपाईंको पवित्र वासस्थान कति मनोहर छ !

2 मेरो प्राणले परमप्रभुको चोकहरूका तिर्सना गर्छ र खिन्न पनि हुन्छ, मेरो हृदय र मेरो शरीर, दुवैले जीवित परमेश्वरको पुकार गर्दछ।

3 हे सेनाहरूका परमप्रभु, मेरा राजा र मेरा परमेश्वर, तपाईंका वेदीको नजिक भँगेरीले पनि बास पाउँछे, अनि गौंथलीले गुँड बनाउँछे, जहाँ त्यसले आफ्ना बचेराहरूलाई हुर्काउँछे।

4 तपाईंको वासस्थानमा बस्नेहरू धन्यका हुन्, तिनीहरूले सदैव तपाईंको प्रशंसा गर्नेछन्। सेला

5 त्यो मानिस धन्यको हो, जसको सामर्थ्य तपाईंमा छ, जसको हृदय सियोनको बाटोमा लागेका छन्।

6 बाकाको बेँसीबाट भएर जाँदा तिनीहरूले यसलाई पानीको मुहान बनाउँछन्, शरद्ऋतुको वर्षाले त्यहाँ तलाउहरू भरिन्छन्।

7 तिनीहरूले बलमाथि बल प्राप्त गर्छन्, तिनीहरूमध्ये सबै सियोनमा परमेश्वरको सामुन्ने उपस्थित हुन्छन्।

8 हे सेनाहरूका परमप्रभु परमेश्वर, मेरो प्रार्थना सुन्नुहोस्, हे याकूबका परमेश्वर, ध्यान दिनुहोस्। सेला

9 हे परमेश्वर, हाम्रो ढाल हेर्नुहोस्, र आफ्नो अभिषिक्तजनको मुहारमाथि, दृष्टि लगाउनुहोस्।

10 किनकि तपाईंको मन्दिरभित्रको एकदिन अरू ठाउँका हजार दिनभन्दा उत्तम हुन्छ। दुष्टहरूका पालमा बस्नुभन्दा बरु मेरा परमेश्वरका भवनको ढोके हुनु मलाई मन पर्छ।

11 किनकि परमप्रभु परमेश्वर, सूर्य र ढाल हुनुहुन्छ, परमप्रभुले अनुग्रह र महिमा दिनुहुनेछ, सीधा चालमा चल्नेहरूलाई परमप्रभुले कुनै असल कुराबाट वञ्चित गर्नुहुनेछैन।

12 हे सेनाहरूका परमप्रभु, त्यो मानिस धन्यको हो, जसले तपाईंमाथि भरोसा राख्छ।




85

1 हे परमप्रभु, तपाईं आफ्नो देशप्रति कृपालु बन्नुभएको छ, तपाईंले याकूबको सुदिन फर्काउनुभएको छ।

2 तपाईंले आफ्नो प्रजाको अधर्म क्षमा गर्नुभएको छ, तपाईंले उनीहरूका सबै पाप ढाक्नुभएको छ। सेला

3 तपाईंले आफ्नो सम्पूर्ण क्रोध हटाउनुभएको छ, तपाईं आफ्नो दन्कँदो क्रोधबाट फर्कनुभएको छ।

4 हे हाम्रा उद्धारका परमेश्वर, हामीलाई पुनर्स्थापित गर्नुहोस् र हामीप्रति भएको तपाईंको रिस बन्द गर्नुहोस्।

5 के तपाईं हामीसित सधैँभरि रिसाउनुहुन्छ? के तपाईं पुस्तापुस्तासम्म आफ्नो रिस खन्याइरहनुहुन्छ?

6 तपाईंको प्रजाले तपाईंमा रमाउन पाऊन् भनेर के तपाईं हामीलाई पुनर्जागृत गर्नुहुन्न र?

7 हे परमप्रभु, हामीलाई आफ्नो कृपा देखाउनुहोस् र हामीलाई तपाईंको उद्धार दिनुहोस्।

8 परमप्रभु परमेश्वरले जे बोल्नुहुनेछ, सो म सुन्नेछु, किनकि उहाँले आफ्नो प्रजा र आफ्ना पवित्रजनसित शान्तिको वचन बोल्नुहुनेछ, तर उनीहरू फेरि मूर्खतातिर नफर्कून्।

9 साँच्चै उहाँको उद्धार उहाँको डर मान्नेहरूका नजिकै छ, यसैले कि हाम्रो देशमा महिमाले वास गरोस्।

10 कृपा र सत्यता आपसमा मिल्छन्, धार्मिकता र शान्तिले एक-अर्कालाई चुम्बन गरेका छन्।

11 पृथ्वीदेखि सत्यता उम्रेर निस्कनेछ, र धार्मिकताले स्वर्गबाट तल हेर्नेछ।

12 जे असल छ, परमप्रभुले त्यही दिनुहुनेछ, अनि हाम्रो भूमिले आफ्नो उब्जनी दिनेछ।

13 धार्मिकता उहाँको अगिअगि जानेछ र हामीलाई उहाँका पाइलाहरूको मार्गमा राख्नेछ।




86

1 हे परमप्रभु, तपाईंले ध्यान दिनुहोस्, मेरो विन्ती सुन्नुहोस्, किनकि म दु:खी र दरिद्र छु।

2 मेरो प्राणलाई रक्षा गर्नुहोस्, किनकि म तपाईंप्रति समर्पित छु, हे मेरा परमेश्वर, तपाईंले आफ्नो दासलाई बचाउनुहोस्, जसले तपाईंमाथि भरोसा राख्छ।

3 हे परमप्रभु, मप्रति कृपालु हुनुहोस्, किनकि म दिनहुँ तपाईंलाई पुकार्छु।

4 आफ्नो दासको प्राणलाई आनन्दित तुल्याउनुहोस्, किनकि हे परमप्रभु, तपाईंतिर नै म आफ्नो प्राण उचाल्छु।

5 हे परमप्रभु, तपाईं भला र क्षमाशील हुनुहुन्छ र तपाईंलाई पुकार्नेहरू सबैका लागि तपाईंको कृपा प्रशस्त रहन्छ।

6 हे परमप्रभु, मेरो प्रार्थनामा ध्यान दिनुहोस्, मेरा विन्तीको सोरमा ध्यान दिनुहोस्।

7 मेरो सङ्कष्टको दिनमा म तपाईंलाई पुकार्नेछु, किनकि तपाईंले मलाई जवाफ दिनुहुनेछ।

8 हे परमप्रभु, ईश्वरहरूमध्ये तपाईंजस्तो अरू कोही छैन, न त तपाईंका कामजस्ता अरू कसैका काम छन्।

9 हे परमप्रभु, तपाईंले बनाउनुभएका सबै जाति आउनेछन् र तपाईंको सामु दण्डवत् गर्नेछन्, अनि तपाईंको नाउँको महिमा गर्नेछन्।

10 किनकि तपाईं महान् हुनुहुन्छ र अचम्मका कामहरू गर्नुहुन्छ,तपाईं मात्र परमेश्वर हुनुहुन्छ।

11 हे परमप्रभु, मलाई तपाईंको मार्ग सिकाउनुहोस्, म तपाईंको सत्यतामा हिँड्नेछु, तपाईंको नाउँको भय मान्न भनी मेरो हृदय एकाग्र पार्नुहोस्।

12 हे परमप्रभु मेरा परमेश्वर, मेरो सम्पूर्ण हृदयले म तपाईंको प्रशंसा गर्नेछु, र सदासर्वदा तपाईंको नाउँको महिमा गर्नेछु।

13 किनकि मप्रति तपाईंको कृपा महान् छ, अनि तपाईंले मेरो प्राणलाई सबैभन्दा गहिरो पातालबाट छुटाउनुभएको छ।

14 हे परमेश्वर, घमण्डीहरू मेरो विरुद्धमा उठेका छन् र अत्याचारी मानिसहरूको झुन्डले मेरो प्राण लिन खोजेको छ, अनि तिनीहरूले तपाईंलाई आफ्ना सामु राखेका छैनन्।

15 तर हे परमप्रभु, तपाईं दयाले भरपुर र अनुग्रही परमेश्वर हुनुहुन्छ, रिसाउनमा ढिलो अनि कृपा र सत्यताले पूर्ण हुनुहुन्छ।

16 मतिर फर्कनुहोस् र ममाथि कृपा गर्नुहोस्, तपाईंको दासलाई तपाईंको सामर्थ्य दिनुहोस्, र तपाईंकी दासीको छोरालाई बचाउनुहोस्।

17 मलाई भलाइको एउटा चिन्ह देखाउनुहोस् अनि मलाई घृणा गर्नेहरूले यो देखून् र लज्जित होऊन्, किनभने हे परमप्रभु, तपाईंले मलाई सहायता गर्नुभएको छ र मलाई सान्त्वना दिनुभएको छ।




87

1 परमेश्वरले उहाँको जग पवित्र पर्वतमा स्थापना गर्नुभएको छ।

2 परमप्रभुले याकूबका सबै वासस्थानलाई भन्दा सियोनका ढोकाहरूलाई धेरै प्रेम गर्नुहुन्छ।

3 हे परमेश्वरको शहर, तिम्रो विषयमा महिमापूर्ण कुरा भनिएका छन्, सेला

4 ‘‘मलाई चिन्नेहरूसित म राहाब र बेबिलोनको नाम लिनेछु, पलिश्त, टुरोस र कूशलाई समेत हेर, ‘यो मानिस सियोनमा जन्मेको थियो’।’’

5 सियोनको विषयमा यो भनिनेछ, ‘‘यो र त्यो मानिस त्यहीँ जन्मेका थिए, अनि सर्वोच्च आफैले यसलाई स्थापित गर्नुहुनेछ।’’

6 जाति-जातिका मानिसहरूको नाउँ दर्ता-बहीमा लेख्नुहुँदा परमप्रभुले गणना गर्नुहुनेछ, ‘‘यो मानिस त्यहीँ जन्मेको थियो।’’ सेला

7 अनि गाउने र बाजा बजाउनेहरू दुवैले भन्नेछन्, ‘‘मेरो मुहान सबै तिमीमा नै छन्।’’




88

1 हे परमप्रभु, मेरा उद्धारका परमेश्वर, मैले रातदिन तपाईंको सामु पुकार गरेको छु,

2 मेरो प्रार्थना तपाईंको सामु पुगोस्, मेरो पुकारतिर आफ्नो ध्यान दिनुहोस्,

3 किनकि मेरो प्राण कष्टले भरिएको छ, र मेरो जीवन चिहानको नजिकै पुगेको छ।

4 खाडलमा जानेहरूसँग मेरो गन्ती भएको छ, म शक्तिहीन मानिसजस्तो भएको छु,

5 मरेकाहरूको बीचमा छोडिएको, मारिेएका मानिसजस्तो, जो चिहानमा लडिरहेका छन्, जसलाई तपाईंले कहिल्यै सम्झना गर्नुहुन्न र तिनीहरू तपाईंको हेरचाहबाट त्यागिएका छन्।

6 तपाईंले मलाई सबैभन्दा तल्लो खाडलमा, अन्धकारमय गहिराइमा राख्नुभएको छ।

7 तपाईंको क्रोधको भारीले मलाई थिचेको छ, अनि तपाईंले आफ्ना सबै छालले मलाई शासना दिनुभएको छ। सेला

8 तपाईंले मेरा चिनारुहरूलाई मदेखि टाढा राख्नुभएको छ, तपाईंले मलाई तिनीहरूको दृष्टिमा घृणित तुल्याउनुभएको छ, म बन्दी भएको छु र म निस्केर आउन सक्दिनँ।

9 कष्टको कारणले मेरो आँखा धमिला भएका छन्, हे परमप्रभु, दिनहुँ मैले तपाईंलाई पुकारेको छु, तपाईंतिर मैले आफ्ना हात फैलाएका छु।

10 के मरेकाहरूलाई तपाईं अचम्मका काम देखाउनुहुन्छ? के मरेकाहरूले उठेर तपाईंको प्रशंसा गर्लान् र ? सेला

11 के चिहानमा तपाईंको करुणा अथवा विनाशमा तपाईंको विश्वासयोग्यताको घोषणा गरिन्छ र?

12 के अन्धकारमा तपाईंका अचम्मका काम र विस्मृतिको देशमा तपाईंको धार्मिकता जानिन्छन् र?

13 तर हे परमप्रभु, मैले तपाईंलाई पुकारेको छु, अनि बिहानै मेरो प्रार्थना तपाईंको सामुन्ने आउँछ।

14 हे परमप्रभु, तपाईं किन मेरो प्राणलाई त्याग्नुहुन्छ? तपाईं किन आफ्नो मुहार मबाट लुकाउनुहुन्छ?

15 म कष्टमा परेको छु र युवावस्थादेखि नै म मर्नलागेको छु, तपाईंका त्रासको पीडाले गर्दा म निराश भएको छु।

16 तपाईंको क्रोध ममाथि ओइरिएको छ, तपाईंको त्रासले मलाई नष्ट पारेको छ।

17 दिनभरि तिनीहरूले मलाई बाढले झैँ घेरे, तिनीहरूले मलाई चारैतिरबाट एकसाथ घेरा हाले।

18 तपाईंले मेरो प्रेमी र मित्रलाई मदेखि टाढा लैजानुभयो, अन्धकार मेरो घनिष्ठ मित्र बनेको छ।




89

1 म सदासर्वदा परमप्रभुको कृपाको गीत गाउनेछु, म आफ्नो मुखले पुस्तापुस्तासम्म तपाईंको विश्वसनीयता जनाउनेछु।

2 तपाईंको कृपा सदाको निम्ति दृढ रहिरहनेछ र तपाईंले स्वर्गमा आफ्नो विश्वसनीयता स्थिर गर्नुहुनेछ भनी मैले भनेँ।

3 मैले आफ्नो चुनिएको जनसँग करार बाँधेको छु, ‘‘मैले आफ्नो दास दाऊदसँग शपथ खाएको छु,

4 ‘‘म तिम्रो वंशलाई सदासर्वदाको निम्ति स्थापित गर्नेछु र तिम्रो सिंहासन पुस्तापुस्तासम्म स्थिर राख्नेछु।’’ सेला

5 हे परमप्रभु, स्वर्गले तपाईंका अचम्मका कामको प्रशंसा गर्नेछ र पवित्रजनको सभामा तपाईंको विश्वसनीयताको घोषणा गर्नेछ।

6 किनकि स्वर्गमा परमप्रभुको तुलना कोसँग हुनसक्छ र? शक्तिशालीहरूका सन्तानको बीचमा परमप्रभु समान को छ र?

7 पवित्रजनको सभामा परमेश्वरको भय मानिनुपर्छ र उहाँको वरिपरि हुनेहरू सबैले उहाँको आदर गर्नुपर्छ।

8 हे परमप्रभु, सेनाहरूका परमेश्वर, तपाईंजस्तो सामर्थी अरू को छ र? अनि तपाईंको विश्वसनीयता तपाईंको चारैतिर छ।

9 तपाईंले उर्लंदो समुद्रमाथि पनि शासन गर्नुहुन्छ, जब त्यसका छाल उर्लन्छन् तब तपाईंले नै त्यसलाई शान्त पार्नुहुन्छ।

10 तपाईंले मारिएकालाई झैँ राहाबलाई नष्ट पार्नुभयो, तपाईंले आफ्ना शत्रुहरूलाई आफ्नो बाहुबललेतितरबितर पार्नुभयो।

11 स्वर्ग तपाईंको हो, पृथ्वी पनि तपाईंकै हो, संसार र त्यसको सारा पूर्णता तपाईंले नै बसाल्नुभएको हो।

12 उत्तर र दक्षिण तपाईंले नै सृष्टि गर्नुभएको हो, तबोर र हेर्मोन तपाईंको नाउँमा रमाउनेछन्।

13 तपाईंको बाहुली शक्तिशाली छ, तपाईंको हात बलियो छ र तपाईंको दाहिने हात उच्च पारिएको छ।

14 धार्मिकता र न्याय तपाईंको सिंहासनको जग हुन्, कृपा र सत्यता तपाईंको अगिअगि जानेछन्।

15 ती मानिसहरू धन्यका हुन्, जसले तपाईंको प्रशंसा गर्न जानेका छन्, हे परमप्रभु, तिनीहरू तपाईंको मुहारको ज्योतिमा हिँड्नेछन्।

16 दिनभरि उनीहरू तपाईंकै नाउँमा रमाउनेछन्, अनि उनीहरू तपाईंकै धार्मिकतामा उच्च पारिनेछन्।

17 किनकि तपाईं उनीहरूको सामर्थ्यको महिमा हुनुहुन्छ, अनि तपाईंकै कृपा दृष्टिमा हाम्रो सिङ उच्च पारिनेछ।

18 किनकि परमप्रभु हाम्रा रक्षक हुनुहुन्छ, अनि इस्राएलका परमपवित्र हाम्रा राजा हुनुहुन्छ।

19 एकपल्ट तपाईंले आफ्ना पवित्रजनसित दर्शनमा बोल्नुभयो र भन्नुभयो,‘‘ मैले एक योद्धालाई बल प्रदान गरेको छु, मैले मानिसहरूको बीचबाट चुनिएको एक जनालाई उच्च पारेको छु।

20 मैले आफ्नो दास दाऊदलाई भेट्टाएको छु, मैले आफ्नो पवित्र तेलले उनलाई अभिषेक गरेको छु।

21 मेरो हातले त्यसलाई स्थापित गर्नेछ, मेरो पाखुराले पनि त्यसलाई बलियो बनाउनेछ।

22 कुनै शत्रुले उनलाई धुत्नेछैन, न त दुष्टताको सन्तानले उनलाई कष्ट दिनेछ।

23 अनि म उनका शत्रुहरूलाई उनकै सामु परास्त गर्नेछु र उनलाई घृणा गर्नेहरूमाथि विपत्ति ल्याउनेछु।

24 तर मेरो विश्वसनीयता र कृपा उनीसँग रहनेछन् र मेरो नाममा उनको सिङ उच्च पारिनेछ।

25 अनि म उनको शासन समुद्रसम्म बढाउनेछु र उनको दाहिने बाहुलीको शक्ति नदीहरूमाथि पुर्याउनेछु।

26 उनले मलाई पुकार्नेछन्, ‘तपाईं मेरा पिता, मेरा परमेश्वर र मेरो उद्धारको चट्टान हुनुहुन्छ।’

27 म उनलाई मेरो जेठो छोरो तुल्याउनेछु, पृथ्वीका राजाहरूभन्दा उच्च पार्नेछु।

28 म आफ्नो कृपा उनको निम्ति सदासर्वदा राख्नेछु र मेरो करार उनीसित अटल रहनेछ।

29 म उनको वंशलाई सधैँको लागि स्थापित गर्नेछु र उनको सिंहासन स्वर्गको अस्तित्व रहेसम्म राख्नेछु।

30 ‘‘यदि उनका सन्तानले मेरो व्यवस्थालाई त्यागे भने र मेरा नियमहरूमा हिँडेनन् भने,

31 उनीहरूले मेरा आदेशहरू भङ्ग गरेर मेरा आज्ञाहरू पालन गरेनन् भने,

32 तब म उनीहरूका अपराधको दण्ड छडी र उनीहरूको अधर्मको दण्ड कोर्राले दिनेछु।

33 तैपनि म आफ्नो करुणा उनीबाट पूरा रीतिले हटाउनेछैनँ, न त मेरो विश्वसनीयता नै चुक्न दिनेछु।

34 म मेरो करार भङ्ग गर्नेछैनँ, न त मेरा ओठबाट निस्केका वचन बदल्नेछु।

35 म दाऊदसँग झुट बोल्नेछैन भनेर एकचोटि मैले मेरो पवित्रताको कसम खाइसकेको छु।

36 उनको वंश सदासर्वदा रहिरनेछ, र उनको सिंहासन मेरो अघि सूर्यझैँ स्थिर रहनेछ।

37 यो चन्द्रमाझैँ सदासर्वदा स्थापित हुनेछ, र आकाशमा विश्वसनीय साक्षीझैँ बनिरहनेछ।’’ सेला

38 तर तपाईंले आफ्नो अभिषिक्तजनलाई त्याग्नुभएको छ र घृणा गर्नुभएको छ, तपाईं उनीसँग क्रोधित हुनुभएको छ।

39 तपाईंले आफ्नो दासको करार रद्द गर्नुभएको छ, उनको मुकुट भुइँमा फ्याँकेर त्यसलाई अपवित्र पार्नुभएको छ।

40 तपाईंले उनका सबै पर्खाल भत्काउनुभएको छ, तपाईंले उनका किल्लाहरू ध्वंस पार्नुभएको छ।

41 त्यहाँबाट भएर जाने सबैले उनलाई लुटेका छन्, आफ्ना छरछिमेकका निम्ति उनी निन्दाको पात्र भएका छन्।

42 तपाईंले उनका विरोधीहरूका दाहिने हात उच्च पार्नुभएको छ, तपाईंले उनका सबै शत्रुलाई आनन्दित तुल्याउनुभएको छ।

43 तपाईंले उनको तरवारको धार बोधो पार्नुभएको छ र उनलाई युद्धमा सहायता गर्नुभएको छैन।

44 तपाईंले उनको गौरव समाप्त गरिदिनुभएको छ र उनको सिंहासन भुइँमा फालिदिनुभएको छ।

45 तपाईंले उनको जवानीको दिन घटाउनुभएको छ, तपाईंले उनलाई सर्मले ढाकिदिनुभएको छ। सेला

46 हे परमप्रभु, कहिलेसम्म? के तपाईंले आफूलाई सदासर्वदा लुकाइराख्नुहुन्छ? के तपाईंको क्रोध आगोझैँ दन्कनेछ?

47 मेरो आयु कति छोटो छ, सो सम्झनुहोस्, तपाईंले सबै मानिसलाई किन व्यर्थैमा सृष्टि गर्नुभयो?

48 सधैँ जीवित रहने र मृत्यु नदेख्ने मानिस को होला? के पातालको शक्तिबाट उसले आफ्नो प्राणलाई बचाउला? सेला

49 हे परमप्रभु, तपाईंका पहिलेका करुणा कहाँ छन्, जसको विषयमा तपाईंले दाऊदसँग आफ्नो सत्यतामा शपथ खानुभएको थियो?

50 हे परमप्रभु, तपाईंका दासहरूको निन्दाको सम्झना गर्नुहोस्, म कसरी सबै मानिसको निन्दा आफ्नो हृदयमा सहँदै छु,

51 हे परमप्रभु, कसरी तपाईंका शत्रुहरूले मेरो निन्दा गरेका छन्, तिनीहरूले कसरी पाइला-पाइलामा तपाईंका अभिषिक्तजनको उपहास गरेका छन्।

52 परमप्रभु सदासर्वदा धन्यका होऊन् ! आमेन र आमेन। चौथो खण्ड




90

1 हे परमप्रभु, पुस्तादेखि पुस्तासम्म तपाईं हाम्रा वासस्थान हुनुभएको छ।

2 पहाडहरू उत्पन्न हुनुभन्दा अघि, अथवा तपाईंले पृथ्वी र संसार सृजनुभन्दा अघि, अनादिदेखि अनन्तसम्म तपाईं नै परमेश्वर हुनुहुन्छ।

3 तपाईंले मानिसहरूलाई धुलोमा फर्काइदिनुहुन्छ र भन्नुहुन्छ, ‘‘हे मानिसका सन्तान हो, धुलोमा फर्किजाओ।’’

4 किनकि हजार वर्ष त तपाईंका दृष्टिमा बितेर गएको हिजोजस्तो मात्र हो, र रातको एक पहरजस्तो हो।

5 बाढले लगेझैँ तपाईंले तिनीहरूलाई लैजानुहुन्छ, तिनीहरू निद्राजस्तै हुन्, तिनीहरू बिहान पलाउने घाँसजस्तै हुन्।

6 बिहान त्यो मौलाउँछ र बढ्छ, बेलुकी त्यो ओइलिन्छ र सुक्छ।

7 किनकि तपाईंको रिसमा हामी नष्ट भएका छौं र तपाईंको क्रोधमा हामी व्याकुल भएका छौं।

8 तपाईंले हाम्रा अधर्म आफ्नो सामु राख्नुभएको छ, हाम्रा गुप्त पाप आफ्नो मुहारको उज्यालोमा राख्नुभएको छ।

9 किनकि हाम्रा सबै दिन तपाईंकै क्रोधमा बितेका छन्, हामी आफ्ना वर्षहरू सुस्केरामा बिताउँछौं।

10 हाम्रो आयु त सत्तरी वर्ष मात्र हो, बलले भ्यायो भने असी पुग्ला। तापनि तिनीहरूको अवधि हिंसा, कष्ट र शोकमा बित्छ, किनकि आयु चाँडै बित्छ र हामी उडिजान्छौं।

11 तपाईंका क्रोधको शक्ति कसले जान्दछ? किनकि तपाईंको क्रोध तपाईंलाई दिनुपर्ने भय जतिकै ठूलो छ।

12 यसकारण हाम्रो आयु ठीकसँग गन्न हामीलाई सिकाउनुहोस्, जसले गर्दा हामीले बुद्धिको हृदय प्राप्त गर्न सकौं।

13 हे परमप्रभु, नरम हुनुहोस्, कहिलेसम्म कठोर भइरहनुहुन्छ? आफ्ना दासहरूमाथि दया गर्नुहोस्।

14 बिहानै आफ्नो कृपाले हामीलाई तृप्त पार्नुहोस् र हामी हाम्रा जीवनभरि नै रमाउन र आनन्दित हुन सकौं।

15 जति दिन तपाईंले हामीलाई कष्ट दिनुभयो र जति वर्ष हामीले खराबी देख्यौं, त्यहीअनुसार हामीलाई आनन्दित तुल्याउनुहोस्।

16 तपाईंको काम तपाईंका दासहरूकहाँ र तपाईंको महिमा तिनीहरूका सन्तानकहाँ प्रकट होस्।

17 हाम्रा परमप्रभु परमेश्वरको निगाह हामीमाथि रहोस् र हाम्रा हातका कामहरू हाम्रा निम्ति दृढ पारिऊन्। अँ, हाम्रा हातका काम स्थिर पार्नुहोस्।




91

1 जो सर्वोच्चको शरणमा वास गर्दछ, त्यो मानिस सर्वशक्तिमान्को छत्रछायाँमुनि रहन्छ।

2 म परमप्रभुको विषयमा भन्नेछु, ‘‘उहाँ मेरो शरणस्थान र मेरो किल्ला हुनुहुन्छ, म मेरा परमेश्वरमाथि भरोसा राख्दछु।

3 साँच्चै उहाँले नै तिमीलाई शिकारीको पासो र घातक महामारीबाट छुटाउनुहुनेछ।

4 उहाँले तिमीलाई आफ्ना प्वाँखहरूले ढाक्नुहुनेछ र उहाँका पखेटामुनि तिमीले शरण लिनेछौ, उहाको सत्यता तिम्रो ढाल र झिलम हुनेछ।

5 तिमी न त रातको आतङ्कदेखि, न दिनमा उड्ने काँडदेखि नै डराउनेछौ,

6 न त अन्धकारमा हिँड्ने महामारीदेखि, न मध्यदिनमा नै उजाड पार्ने विनाशदेखि डराउनेछौ।

7 एक हजार जना तिम्रो नजिक ढल्नेछन्, र तिम्रो दाहिने हाततर्फ दश हजार जना, तर त्यो तिम्रो नजिक आउनेछैन।

8 तिमीले आफ्ना आँखाले हेर्नेछौ, र दुष्टहरूको प्रतिफल देख्नेछौ।

9 किनकि तिमीले परमप्रभुलाई तिम्रो शरणस्थान र सर्वोच्चलाई आफ्नो वासस्थान बनाएका छौ,

10 यसकारण तिमीमाथि कुनै खराबी आइपर्नेछैन, न त कुनै महामारी तिम्रो वासस्थानको नजिक आउनेछ।

11 किनकि उहाँले आफ्ना स्वर्गदूतहरूलाई तिम्रा सबै मार्गमा रक्षा गर्नलाई आज्ञा दिनुहुनेछ।

12 तिनीहरूले तिमीलाई आफ्ना हातहातै थाम्नेछन्, नत्र त तिम्रो खुट्टा ढुङ्गामा ठोकिनेछन्।

13 तिमीले सिंह र साँभे सर्प कुल्चनेछौ, जवान सिंह र अजिङ्गरलाई तिमीले पाउमुनि कुल्चीमिल्ची पार्नेछौ।

14 किनभने उसले आफ्नो प्रेम ममाथि राखेको छ, यसकारण म उसलाई छुटाउनेछु, म उसलाई उच्च स्थानमा राख्नेछु, किनकि उसले मेरो नाउँ जानेको छ।

15 उसले मलाई पुकार्नेछ र म उसलाई जवाफ दिनेछु, सङ्कष्टमा म उसको साथमा हुनेछु, म उसलाई छुटाउनेछु र उसलाई आदर गर्नेछु।

16 म उसलाई लामो आयु दिएर तृप्त पार्नेछु र उसलाई मेरो उद्धार देखाउनेछु।




92

1 हे सर्वोच्च परमेश्वर, परमप्रभुलाई धन्यवाद चढाउनु र तपाईंको नाउँको स्तुति गाउनु असल कुरा हो,

2 बिहान तपाईंको करुणा र हरेक रात तपाईंको विश्वसनीयताको घोषणा गर्नु,

3 दशतारे सारङ्गी र वीणाको मृदु लयमा तपाईंको स्तुति गाउनु असल कुरा हो।

4 किनकि हे परमप्रभु, तपाईंले आफ्नो कामद्वारा मलाई आनन्दित तुल्याउनुभएको छ, म तपाईंको हातका कामहरूमा हर्षले जयजयकार गर्नेछु।

5 हे परमप्रभु, तपाईंका कार्यहरू कति महान् छन् ! तपाईंका विचार अति गम्भीर छन् !

6 विवेकहीन मानिसले यो जान्न सक्दैन, न त मूर्खले नै यो बुझ्दछ।

7 जब दुष्टहरू घाँसजस्तै मौलाउँछन्, अनि सबै कुकर्मी फस्टाउँछन्, तब तिनीहरू सधैँको निम्ति नष्ट पारिनेछन्।

8 तर हे परमप्रभु, तपाईं सदासर्वदा उच्चमा विराजमान हुनुहुन्छ।

9 किनकि हे परमप्रभु, तपाईंका शत्रुहरू साँच्चै नै नष्ट हुनेछन्, सबै कुकर्मी तितरबितर पारिनेछन्।

10 तर मेरो सिङ तपाईंले जङ्गली साँढेको सिङझैँ उच्च पार्नुहुनेछ, ताजा तेलले म अभिषेक गरिनेछु।

11 मेरा आँखाले मेरा शत्रुहरूको हार भएको देखेका छन्, मेरा कानले दुष्ट वैरीहरू लखेटिएका कुरा सुनेका छन्।

12 धर्मीजन खजूरको रूखझैँ मौलाउनेछ, ऊ लेबनानको देवदारुझैँ बढ्नेछ।

13 परमप्रभुको भवनमा रोपिएकाहरू हाम्रा परमेश्वरका चोकहरूमा मौलाउनेछन्।

14 बूढेसकालमा पनि तिनीहरू फलदायी हुनेछन्, तिनीहरू हरियापरिया र रसिला हुनेछन्,

15 ‘‘परमप्रभु भला हुनुहुन्छ’’ भनी तिनीहरूले घोषणा गर्नेछन्, उहाँ मेरा चट्टान हुनुहुन्छ, र उहाँमा कुनै अधर्म छैन।




93

1 ्यो कहिल्यै डगमगाउनेछैन।

2 सनातनदेखि नै तपाईंको सिंहासन स्थिर छ, अनन्तकालदेखि नै तपाईं हुनुहुन्छ।

3 हे परमप्रभु, बाढ उर्लेर आएका छन्, यसले आफ्नो सोर उचालेको छ, र आफ्नो छाल उर्लाएको छ।

4 महासमुद्रको गर्जनभन्दा, समुद्रका शक्तिशाली तरङ्गभन्दा पनि, उच्चमा विराजमान हुनुहुने परमप्रभु शक्तिशाली हुनुहुन्छ।

5 तपाईंका कानूनहरू दृढ छन्, हे परमप्रभु, पवित्रताले नै तपाईंको भवनलाई सदासर्वदा सुशोभित पार्दछ।




94

1 हे परमप्रभु, परमेश्वर, जसले बदला लिनुहुन्छ, हे बदला लिनुहुने परमेश्वर आफैलाई प्रकट गर्नुहोस्।

2 हे पृथ्वीका न्यायकर्ता, आफूलाई उच्च पार्नुहोस्, अहङ्कारीहरूलाई उचित प्रतिफल दिनुहोस्।

3 हे परमप्रभु, कहिलेसम्म दुष्टहरू, अँ, कहिलेसम्म दुष्टहरू विजयी हुन्छन्?

4 कहिलेसम्म तिनीहरू हठी कुरा गर्छन् र कहिलेसम्म कुकर्मीहरू घमन्ड गर्छन्?

5 हे परमप्रभु, तिनीहरूले तपाईंको प्रजालाई टुक्रा-टुक्रा पार्छन् र तपाईंको उत्तराधिकारका मानिसहरूलाई दु:ख दिन्छन्।

6 तिनीहरूले विधवा र विदेशीहरूको हत्या गर्छन् र अनाथहरूलाई मार्दछन्।

7 तैपनि तिनीहरू भन्छन्, ‘‘परमप्रभुले देख्नुहुनेछैन, न त याकूबका परमेश्वरले यसमा ध्यान दिनुहुनेछ।’’

8 हे मानिसहरूमध्ये विवेकहीन हो, ध्यान देऊ, हे मूर्खहरू हो, तिमीहरू कहिले बुद्धिमान् हुन्छौ?

9 जसले कान बनाउनुभयो, के उहाँले सुन्नुहुनेछैन र? जसले आँखा बनाउनुभयो, के उहाँले देख्नुहुनेछैन र?

10 जसले जाति-जातिलाई ताडना दिनुहुन्छ, के उहाँले सुधार्नुहुन्न र? जसले मानिसलाई ज्ञान सिकाउनुहुन्छ, के उहाँले जान्नुहुन्न र?

11 परमप्रभुले मानिसका विचार व्यर्थ हुन्, भनी जान्नुहुन्छ।

12 हे परमप्रभु, त्यो मानिस धन्यको हो, जसलाई तपाईं ताडना दिनुहुन्छ, र जसलाई तपाईं आफ्नो व्यवस्थाबाट सिकाउनुहुन्छ,

13 यसैले कि दुष्टहरूका निम्ति खाडल नखनिएसम्म तपाईंले त्यसलाई विपत्तिका दिनहरूबाट विश्राम दिनुहोस्।

14 किनकि परमप्रभुले आफ्नो प्रजालाई त्याग्नुहुनेछैन, न त उहाँले आफ्नो अधिकारको भागलाई त्याग्नुहुनेछ।

15 इन्साफ फेरि धार्मिकताको आधारमा गरिनेछ र सबै सोझो मन भएकाहरू त्यसको पछि लाग्नेछन्।

16 दुष्टहरूका विरुद्धमा मसँग को खडा हुनेछ? अधर्म गर्नेहरूका विरुद्धमा मेरो पक्षमा को उठ्नेछ?

17 परमप्रभु मेरा सहायक नभएको भए त, मेरो प्राण अघि नै मृत्युको शून्यतामा वास गरिसकेको हुनेथियो।

18 जब मैले भनेँ, ‘‘मेरो खुट्टा चिप्लँदै छ,’’ तब हे परमप्रभु, तपाईंको कृपाले मलाई थाम्यो।

19 जब मेरो मनमा धेरै फिक्री भयो, तपाईंको सान्त्वनाले मेरो प्राणलाई आनन्दित तुल्यायो।

20 के दुष्ट शासकहरू तपाईंसँग मिल्न सक्छन्, जसले आफ्ना ऐनद्वारा विपत् ल्याउँछन्?

21 धर्मीजनको प्राणको विरुद्धमा तिनीहरू भेला हुन्छन् र निर्दोषलाई दोषी ठहर्याउँछन्।

22 तर परमप्रभु मेरो रक्षक हुनुहुन्छ, अनि मेरो परमेश्वर मेरो शरणस्थानको चट्टान हुनुहुन्छ।

23 उहाँले तिनीहरूका अपराध तिनीहरूमाथि नै खन्याउनुहुन्छ, र तिनीहरूकै दुष्टताको खातिर तिनीहरूलाई नाश पार्नुहुनेछ, अँ, हाम्रा परमप्रभु परमेश्वरले तिनीहरूलाई नाश पार्नुहुनेछ।




95

1 आओ, हामी परमप्रभुको निम्ति गाऔं, हाम्रा उद्धारका चट्टानलाई हर्षका साथ जयजयकार गरौं।

2 धन्यवादसाथ उहाँको उपस्थितिमा आऔं र उहाँको निम्ति भजन गाउँदै आनन्दको सोर उचालौं।

3 किनकि परमप्रभु महान् परमेश्वर हुनुहुन्छ र सबै देवहरूमाथि महान् राजा हुनुहुन्छ।

4 पृथ्वीका गहिरा-गहिरा ठाउँहरू उहाँकै हातमा छन्, पहाडका चुचुराहरू पनि उहाँकै हुन्।

5 समुद्र उहाँकै हो र उहाँले नै त्यसलाई बनाउनुभयो, अनि उहाँकै हातले सुक्खा भूमि बनाउनुभयो।

6 आओ, हामी दण्डवत् गरौं, हाम्रा सृष्टिकर्ता परमप्रभुको सामु घुँडा टेकौं।

7 किनकि उहाँ नै हाम्रा परमेश्वर हुनुहुन्छ, अनि हामी उहाँको खर्कका प्रजा र उहाँको हातका भेडाहरू हौं। आज तिमीहरूले उहाँको आवाज सुन्यौ भने,

8 तिमीहरूले मेरीबामा झैँ र उजाडस्थानमा परीक्षाको दिनमा झैँ आफ्नो हृदय कठोर नपार,

9 जुन समयमा तिमीहरूका पिता-पुर्खाले मलाई परीक्षा गरे, मलाई जाँचे र मेरो काम देखे,

10 चालीस वर्षसम्म म त्यस पुस्तासँग दु:खित भएँ र भनेँ, ‘‘यो आफ्नो हृदयमा भड्केर जाने जाति हो, अनि तिनीहरूले मेरा मार्गहरू जानेका छैनन्।’’

11 जोसँग मैले आफ्नो क्रोधमा शपथ खाएँ, ‘‘तिनीहरू मेरो विश्राममा पस्न पाउनेछैनन्। ’’




96

1 परमप्रभुका निम्ति एउटा नयाँ भजन गाओ, हे सारा पृथ्वी, परमप्रभुका निम्ति गाओ।

2 परमप्रभुका निम्ति गाओ, उहाँको नाउँलाई धन्यको भन, दिनहुँ उहाँको उद्धारको घोषणा गर।

3 जाति-जातिका बीचमा उहाँको महिमाको घोषणा गर, सबै जातिका बीचमा उहाँका अचम्मका कामको वर्णन गर।

4 किनकि परमप्रभु महान् हुनुहुन्छ, र अति नै प्रशंसाको योग्य हुनुहुन्छ, सबै देवभन्दा धेरै उहाँको भय मान्नुपर्छ।

5 किनकि जाति-जातिका सबै देव मूर्तिहरू हुन्, तर परमप्रभुले त स्वर्ग सृष्टि गर्नुभयो।

6 आदर र प्रताप उहाँको सामु छन्, सामर्थ्य र सौन्दर्य उहाँका पवित्रस्थानमा छन्।

7 हे जाति-जातिका कुलहरू हो, परमप्रभुलाई देओ, महिमा र सामर्थ्य परमप्रभुलाई देओ।

8 परमप्रभुलाई उहाँको नाम सुहाउँदो महिमा देओ, भेटी लिएर उहाँको मन्दिरमा प्रवेश गर।

9 पवित्रताको सुन्दरतामा परमप्रभुलाई दण्डवत् गर, हे सारा पृथ्वी, उहाँको भय मान।

10 जाति-जातिका बीचमा भन, ‘‘परमप्रभुले राज्य गर्नुहुन्छ, संसार पनि स्थिर छ र त्यो डगमगाउनेछैन, उहाँले धार्मिकतापूर्वक जाति-जातिका न्याय गर्नुहुनेछ।’’

11 स्वर्ग रमाओस् र पृथ्वी आनन्दित होओस्, समुद्र र त्यसमा भएका सबै थोक गर्जून्।

12 मैदान र त्यसमा भएका सबै थोक प्रफुल्लित होऊन्, तब परमप्रभुको सामुन्ने जङ्गलका सबै वनस्पति रमाउनेछन्,

13 किनकि उहाँ आउनुहुन्छ, किनकि उहाँ पृथ्वीको न्याय गर्न आउनुहुन्छ, उहाँले संसारको न्याय धार्मिकता र जातिजातिका मानिसहरूका न्याय आफ्नो सत्यताअनुसार गर्नुहुनेछ।




97

1 परमप्रभुले राज्य गर्नुहुन्छ, पृथ्वी रमाओस्, असङ्ख्य टापुहरू आनन्दित होऊन्।

2 बादल र अन्धकार उहाँको वरिपरि छन्, धार्मिकता र न्याय उहाँको सिंहासनको जग हुन्।

3 आगो उहाँको अगिअगि जान्छ र चारैतिर भएका उहाँका शत्रुहरूलाई भस्म पार्छ।

4 उहाँको चटयाङ्गले संसारलाई उज्यालो पार्यो, पृथ्वीले यो देख्यो र थरथर काम्यो।

5 परमप्रभुको उपस्थितिमा, सारा पृथ्वीका परमप्रभुको उपस्थितिमा पहाडहरू मैनजस्तै पग्लिए।

6 स्वर्गले उहाँको धार्मिकताको वर्णन गर्दछ, र सबै मानिसहरूले उहाँको महिमा देख्नेछन्।

7 कुँदिएका मूर्तिहरूको पूजा गर्नेहरू, मूर्तिहरूमा गर्व गर्नेहरू सबै सर्ममा परून्, हे सबै देवहरू हो, तिमीहरूले उहाँलाई नै दण्डवत् गर।

8 सियोनले सुन्यो र आनन्दित भयो, हे परमप्रभु, तपाईंका न्यायको कारण यहूदाका गाउँहरू रमाए।

9 किनकि हे परमप्रभु, सारा पृथ्वीमाथि तपाईं नै सर्वोच्च हुनुहुन्छ, तपाईं सबै देवहरूभन्दा अति नै उच्च हुनुहुन्छ।

10 हे परमप्रभुलाई प्रेम गर्नेहरू हो, खराबीलाई घृणा गर, उहाँले आफ्ना पवित्रजनको प्राणको रक्षा गर्नुहुन्छ, उहाँले उनीहरूलाई दुष्टको हातदेखि छुटाउनुहुन्छ।

11 धर्मीजनको निम्ति ज्योति र हृदयमा सोझा भएकाहरूका निम्ति आनन्द छरिएको हुन्छ।

12 हे धर्मीजन हो, परमप्रभुमा आनन्द गर, अनि उहाँको पवित्रताको सम्झनामा धन्यवाद चढाओ।




98

1 परमप्रभुका निम्ति एउटा नयाँ भजन गाओ, किनकि उहाँले अचम्मका काम गर्नुभएको छ, उहाँको दाहिने हात र उहाँको पवित्र बाहुबलले उहाँका निम्ति विजय प्राप्त गरेका छन्।

2 परमप्रभुले आफ्नो उद्धार प्रकट गर्नुभएको छ, जाति-जातिका दृष्टिमा उहाँले आफ्नो धार्मिकता प्रकट गर्नुभएको छ।

3 उहाँले इस्राएलको घरानाप्रति आफ्नो कृपा र आफ्नो सत्यता सम्झना गर्नुभएको छ, पृथ्वीका छेउ-छेउसम्मका सबैले हाम्रा परमेश्वरको उद्धार देखेका छन्।

4 हे सारा पृथ्वी, आनन्दसँग परमप्रभुको जयजयकार गर, उच्च सोरले भजन गाएर आनन्द गर।

5 वीणा बजाएर र भजनको सोरमा परमप्रभुको निम्ति गाओ।

6 तुरही र भेडाको सीङ बजाएर परमप्रभु महाराजाको सामुन्ने आनन्दका साथ जयजयकार गर।

7 समुद्र र त्यसमा भएका सबै थोक, पृथ्वी र त्यसमा बसोबास गर्ने सबैले हर्षबढाइँ गरून्।

8 नदीका तरङ्गले ताली बजाऊन्, पहाड र पर्वतहरू परमप्रभुको सामुन्ने एकसाथ आनन्दित होऊन्,

9 किनकि उहाँ पृथ्वीको न्याय गर्न आउनुहुन्छ, उहाँले धार्मिकता र निष्पक्षतासाथ संसारका मानिसहरूको न्याय गर्नुहुनेछ।




99

1 परमप्रभुले राज्य गर्नुहुन्छ, जातिजातिका मानिसहरू थरथरी कामून्, उहाँ करूबहरूका बीच सिंहासनमा विराजमान हुनुहुन्छ, पृथ्वी डगमगाओस्।

2 सियोनमा परमप्रभु महान् हुनुहुन्छ, अनि उहाँ सबै जातिमाथि सर्वोच्च हुनुहुन्छ।

3 तिनीहरूले तपाईंको महान् र भययोग्य नामको प्रशंसा गरून् किनकि यो पवित्र छ।

4 राजाको सामर्थ्यले न्यायलाई प्रेम गर्छ, तपाईंले निष्पक्षता स्थापित गर्नुहुन्छ, याकूबमा तपाईंले न्याय र धार्मिकतालाई व्यवहारमा ल्याउनुहुन्छ।

5 परमप्रभु हाम्रा परमेश्वरलाई उच्च पार, र उहाँको पाउदानमा दण्डवत् गर, किनकि उहाँ पवित्र हुनुहुन्छ।

6 उहाँका पूजाहारीहरूमध्ये मोशा र हारून थिए र उहाँको नाम पुकार्नेहरूमध्ये शमूएल थिए,उनीहरूले परमप्रभुलाई पुकारे,र उहाँले उनीहरूलाई जवाफ दिनुभयो।

7 बादलको खाँबोमा उहाँ उनीहरूसँग बोल्नुभयो, उहाँका साक्षी र उहाँले उनीहरूलाई दिनुभएको व्यवस्था उनीहरूले पालन गरे।

8 हे परमप्रभु हाम्रा परमेश्वर, तपाईंले उनीहरूलाई जवाफ दिनुभयो, तपाईंले उनीहरूका दुष्कर्महरूको बदला लिनुभए तापनि तपाईं उनीहरूलाई क्षमा गर्नुहुने परमेश्वर हुनुहुन्थ्यो।

9 परमप्रभु हाम्रा परमेश्वरलाई उच्च पार, र उहाँको पवित्र पर्वतमा दण्डवत् गर, किनकि परमप्रभु हाम्रा परमेश्वर पवित्र हुनुहुन्छ।




100

1 हे सारी पृथ्वीका मानिस हो, परमप्रभुको जयजयकार गर।

2 आनन्दसाथ परमप्रभुको सेवा गर, भजन गाएर उहाँको सामुन्ने आओ।

3 परमप्रभु नै परमेश्वर हुनुहुन्छ भनी जान। उहाँले नै हामीलाई बनाउनुभयो, र हामी उहाँकै हौं, हामी उहाँका प्रजा र उहाँका खर्कका भेडाहरू हौं।

4 धन्यवादसाथ उहाँको ढोका र प्रशंसा गर्दै उहाँको चोकभित्र पस। उहाँलाई धन्यवाद चढाओ र उहाँको नाउँलाई धन्यको भन।

5 किनकि परमप्रभु भलो हुनुहुन्छ र उहाँको कृपा सधैँभरि छ। अनि उहाँको सत्यता पुस्तौंसम्म स्थिर रहन्छ।




101

1 म कृपा र न्यायको गीत गाउनेछु, हे परमप्रभु, म तपाईंकै निम्ति गाउनेछु।

2 म निर्दोष जीवन बिताउनलाई होसियार रहनेछु। तपाईं मकहाँ कहिले आउनुहुनेछ? म निर्दोष हृदय लिएर आफ्नो घरभित्र हिँडडुल गर्नेछु।

3 म आफ्नो आँखाको सामुन्ने कुनै अधर्म कुरा राख्नेछैन, म कुबाटोमा हिँड्नेहरूको कामलाई घृणा गर्छु, त्यो मसित टाँसिनेछैन।

4 टेढो हृदय भएको मानिस मदेखि हट्नेछ, कुनै खराबी कुरासित म सम्बन्ध राख्नेछैनँ।

5 जसले गुप्तमा आफ्नो छिमेकीको निन्दा गर्छ, त्यसलाई म नाश गर्नेछु, अभिमानी दृष्टि र घमन्डी हृदय भएको मानिसलाई म सहनेछैनँ।

6 देशका विश्वसनीय जन मसँग बसोबास गरून् भनेर मेरा आँखा उनीहरूमाथि लागिरहनेछन्, निर्दोष मार्गमा हिँड्ने मानिसले मेरो सेवा गर्नेछ।

7 छलकपट गर्ने मानिस मेरो घरमा बस्न पाउनेछैन, झुट बोल्ने मानिस मेरो नजरको सामुन्ने रहन पाउनेछैन।

8 हरेक बिहान देशका सबै दुष्टलाई म नाश पार्नेछु, जसले गर्दा परमेश्वरको शहरबाट सबै कुकर्मीलाई नष्ट गर्न सकूँ।




102

1 हे परमप्रभु, मेरो प्रार्थना सुन्नुहोस्, र मेरो पुकार तपाईंकहाँ पुगोस्।

2 म सङ्कष्टमा परेको दिनमा आफ्नो मुहार मदेखि नलुकाउनुहोस्, मतिर ध्यान दिनुहोस्, मैले पुकारेको दिनमा मलाई तुरुन्तै जवाफ दिनुहोस्।

3 किनकि मेरा दिनहरू धुवाँझैँ मेटिएका छन् र मेरा हड्डीहरू आगोझैँ जलेका छन्।

4 मेरो हृदय घायल पारिएको छ र घाँसझैँ ओइलिएको छ, म आफ्नो भोजन खान पनि बिर्सन्छु।

5 मेरो ऐयाआत्थाको आवाजले मेरा हड्डीहरू मेरो छालासित टाँसिन्छन्।

6 म उजाडस्थानको धनेस भएको छु, म मरुभूमिको उल्लुजस्तो भएको छु।

7 म जागै रहन्छु र छानामाथिको एकलो परेको भँगेरोझैँ भएको छु।

8 दिनभरि मेरा शत्रुहरूले मेरो निन्दा गर्छन्, अनि मलाई खिसी गरेर हाँस्नेहरूले मेरो विरुद्धमा शपथ खाएका छन्।

9 किनकि मैले रोटीझैँ गरी खरानी खाएको छु र मेरो पिउने कुरा आँसुसँग मिसिएको छ।

10 यो तपाईंको रिस र तपाईंको क्रोधको कारणले भएको हो, किनभने तपाईंले मलाई उचालेर पछारिदिनुभएको छ।

11 मेरा दिनहरू ढल्किँदै गएको छायाँजस्ता छन्, अनि म घाँसजस्तो ओइलिएको छु।

12 तर हे परमप्रभु, तपाईं सदासर्वदा रहिरहनुहुन्छ र तपाईंको सम्झना पुस्तापुस्तासम्म रहिरहन्छ।

13 तपाईं उठ्नुहुनेछ र सियोनमाथि कृपादृष्टि गर्नुहुनेछ, किनकि यसमाथि अनुग्रह गर्ने समय अहिले नै हो।

14 किनकि तपाईंका सेवकहरू यसका ढुङ्गाहरूमा प्रसन्न हुन्छन् र यसको धुलोलाई टिठाउँछन्।

15 यसकारण जाति-जातिका मानिसहरूले परमप्रभुको नाउँको भय मान्नेछन्, साथै पृथ्वीका सबै राजाहरूले तपाईंको महिमाको आदर गर्नेछन्।

16 परमप्रभुले जब सियोनको पुनर्निर्माण गर्नुहुनेछ, तब उहाँ आफ्नो महिमामा प्रकट हुनुहुनेछ।

17 उहाँले दीनहीनहरूको प्रार्थनाप्रति ध्यान दिनुहुनेछ, उहाँले तिनीहरूको प्रार्थनाको उपेक्षा गर्नुहुनेछैन।

18 यो कुरा आउँदो पुस्ताको लागि लेखिनेछ, अनि त्यस जातिले, जो सृजना गरिनेछन्, परमप्रभुको प्रशंसा गर्नेछन्।

19 किनभने उहाँले आफ्नो पवित्रस्थानको उच्चाइबाट तल हेर्नुभएको छ, परमप्रभुले स्वर्गबाट पृथ्वीलाई हेर्नुभएको छ।

20 कैदीको सुस्केरा सुन्नको निम्ति, मृत्युको निम्ति नियुक्त गरिएकाहरूलाई छुटकारा दिनको निम्ति,

21 सियोनमा परमप्रभुको नाउँ घोषणा गर्न र यरूशलेममा उहाँको प्रशंसा गर्नको निम्ति,

22 जब जाति-जाति र राज्य-राज्यका मानिसहरू परमप्रभुको सेवा गर्न भेला हुन्छन्।

23 बीच बाटोमा उहाँले मेरो बल घटाउनुभयो, उहाँले मेरा दिनहरू छोटयाउनुभयो।

24 यसैले मैले भनेँ, ‘‘हे मेरा परमेश्वर, मेरो आधा उमेरमा नै मलाई नलैजानुहोस्, तपाईंका वर्षहरू त पुस्तापुस्तासम्म रहिरहन्छन्।

25 प्राचीनकालदेखि नै तपाईंले पृथ्वीको जग बसाल्नुभयो, अनि स्वर्गहरू तपाईंकै हातका काम हुन्।

26 ती नष्ट हुनेछन्, तर तपाईं रहिरहनुहुनेछ, ती सबै नै वस्त्रझैँ पुराना हुनेछन्, तपाईंले तिनलाई वस्त्रझैँ बदली गर्नुहुनेछ र ती बदली हुनेछन्।

27 तर तपाईं एक-समान हुनुहुन्छ, र तपाईंका वर्षहरूको अन्त हुनेछैन।

28 तपाईंका दासहरूका सन्तान रहिरहनेछन् र उनीहरूको वंश तपाईंको सामु स्थिर रहनेछ।’’




103

1 हे मेरो प्राण, परमप्रभुलाई धन्यको भन्, हे मेरो सारा अन्तस्करण, उहाँको पवित्र नाउँलाई धन्यको भन्।

2 हे मेरो प्राण, परमप्रभुलाई धन्यको भन्, र उहाँका सबै उपकार नबिर्सी,

3 उहाँले तेरा सबै अधर्म क्षमा गर्नुहुन्छ, उहाँले तेरा सबै रोग निको पार्नुहुन्छ,

4 उहाँले तेरो जीवनलाई विनाशबाट छुटाउनुहुन्छ, उहाँले तँलाई करुणा र कोमल कृपाको मुकुट पहिराइदिनुहुन्छ,

5 उहाँले तेरो मुखलाई असल कुराले तृप्त पार्नुहुन्छ, जसले गर्दा तेरो जवानी चिलको झैँ फेरि नयाँ हुन्छ।

6 परमप्रभुले थिचोमिचोमा परेकाहरू सबैका लागि धार्मिकता र न्यायको काम गर्नुहुन्छ।

7 उहाँले मोशालाई आफ्ना मार्ग र इस्राएलका सन्तानलाई आफ्ना काम प्रकट गर्नुभयो।

8 परमप्रभु कृपालु र अनुग्रही हुनुहुन्छ, रिसाउनमा ढिलो र अति करुणामय हुनुहुन्छ।

9 उहाँले सधैँ हप्काइरहनुहुन्न, न त सधैँभरि आफ्नो रिस नै लिइरहनुहुन्छ।

10 उहाँले हामीसँग हाम्रा पापअनुसार व्यवहार गर्नुभएको छैन, न त हाम्रा अधर्मअनुसार हामीलाई प्रतिफल दिनुभएको छ।

11 किनकि पृथ्वीबाट स्वर्ग जति अग्लो छ, उहाँका भय मान्नेहरूमाथि उहाँको कृपा त्यतिकै महान् छ।

12 पश्चिमबाट पूर्व जति टाढा छ, उहाँले हाम्रा अपराध हामीबाट त्यतिकै टाढा हटाइदिनुभएको छ।

13 जसरी बाबुले आफ्ना छोराछोरीलाई टिठयाउँछन्, त्यसरी नै उहाँका भय मान्नेहरूलाई परमप्रभुले टिठयाउनुहुन्छ।

14 किनकि उहाँले हाम्रो बनोट जान्नुहुन्छ, हामी धुलो मात्र हौं भनी उहाँ सम्झनुहुन्छ।

15 मानिसको आयु त घाँसजस्तै छ, मैदानको फूलझैँ त्यो ढकमक्क फुल्दछ,

16 किनकि बतास त्यसमाथि भएर जाँदा त्यो रहँदैन, अनि त्यसले आफ्नो ठाउँ फेरि चिन्दैन।

17 तर परमप्रभुको कृपा उहाँको भय मान्नेहरूमाथि र उहाँको धार्मिकता नातिपनातिमाथि सनातनदेखि सनातनसम्म रहिरहन्छ,

18 उनीहरूमाथि, जसले उहाँका करार पालन गर्छन् र जसले उहाँका आज्ञाहरू पालन गर्न ध्यान दिन्छन्।

19 परमप्रभुले स्वर्गमा आफ्नो सिंहासन स्थापित गर्नुभएको छ, अनि उहाँको राज्यले सबैमाथि शासन गर्दछ।

20 हे उहाँका स्वर्गदूतहरू हो, उहाँको वचन पालन गर्ने शक्तिशाली जन हो, र उहाँको वचनमा ध्यान दिनेहरू हो, परमप्रभुलाई धन्यको भन।

21 हे उहाँका सबै सेनाहरू हो, उहाँका इच्छाअनुसार काम गर्ने उहाँका सेवकहरू हो, परमप्रभुलाई धन्यको भन।

22 हे परमप्रभुका सारा सृष्टि हो, उहाँका समस्त राज्यमा रहेकाहरू हो, परमप्रभुलाई धन्यको भन, ए मेरो प्राण, परमप्रभुलाई धन्यको भन् !




104

1 हे मेरो प्राण, परमप्रभुलाई धन्यको भन् ! हे परमप्रभु, मेरा परमेश्वर, तपाईं अति महान् हुनुहुन्छ, तपाईंले आदर र प्रतापको वस्त्र पहिरनुभएको छ,

2 तपाईंले आफैलाई वस्त्रले झैँ ज्योतिले ढाक्नुभएको छ, तपाईंले स्वर्गलाई पालझैँ फैलाउनुभएको छ,

3 तपाईंले आफ्ना कोठाहरूका दलिनहरू पानीमाथि राख्नुहुन्छ, तपाईंले बादललाई आफ्नो रथ बनाउनुहुन्छ र बतासको पखेटामाथि तपाईं सवार हुनुहुन्छ।

4 तपाईंले बतासलाई आफ्नो दूत र आगोका ज्वालालाई आफ्ना सेवक तुल्याउनुहुन्छ।

5 तपाईंले पृथ्वीको जग बसाल्नुभयो, यसैले कि यो कहिल्यै नडगमगाओस्।

6 तपाईंले यसलाई वस्त्रले झैँ गहिरो सागरले ढाक्नुभयो, अनि पहाडहरू माथि-माथिसम्म पानी पुग्यो।

7 तपाईंको हप्कीले पानी भाग्यो, तपाईंको गर्जनको आवाजले त्यो तुरुन्तै हटयो।

8 पहाडहरू भएर त्यो माथि जान्छ, बेँसीहरू भएर त्यो तल जान्छ, जुन ठाउँ तपाईंले त्यसको निम्ति तयार पार्नुभएको छ।

9 पानीले फेरि पृथ्वीलाई नडुबाओस् भनेर, त्यसले नाघ्न नसक्ने सिमाना तपाईंले राखिदिनुभयो।

10 उहाँले पानीका मूलहरूलाई बेँसीहरूमा पठाउनुहुन्छ, त्यो पहाडहरूको बीचबाट भएर बग्दछ।

11 त्यसले मैदानको हरेक पशुलाई पिउन दिन्छ, जङ्गली गधाहरूले आफ्नो तिर्खा मेट्छन्,

12 त्यसकै छेउछाउमा आकाशका चराचुरुङ्गीले आफ्नो गुँड बनाउँछन्, हाँगाहरूका बीचमा तिनीहरू गीत गाउँछन्।

13 उहाँले आफ्नो उच्च स्थानबाट पहाडहरूमा पानी बर्साउनुहुन्छ, उहाँको कार्यहरूका फलबाट पृथ्वी तृप्त हुन्छ।

14 उहाँले गाईवस्तुको निम्ति घाँस, अनि मानिसहरूका निम्ति अन्नपात उमार्नुहुन्छ, जसले गर्दा मानिसले पृथ्वीबाट खाद्यसामग्री उत्पादन गर्नसकोस्,

15 अङ्गुरमद्यले मानिसको हृदयलाई आनन्दित पार्छ, तेलले उसको मुहार चम्काइदिन्छ, अनि रोटीले मानिसको हृदय बलियो पार्छ।

16 परमप्रभुले लाउनुभएका वनस्पति र लेबनानका देवदारुले प्रशस्त पानी पाएका छन्।

17 त्यहाँ चराचुरुङ्गीले आफ्नो गुँड बनाउँछन्, सारसले सल्लाको रूखमा आफ्नो वासस्थान बनाउँछ।

18 अग्ला-अग्ला पहाडहरू जङ्गली बाख्राहरूका निम्ति, अनि चट्टान शापनहरूका निम्ति शरणस्थान हुन्।

19 चन्द्रमाले ऋतु ठहराउँछ, सूर्यलाई आफ्नो अस्ताउने बेला थाहा हुन्छ।

20 तपाईंले अन्धकार ल्याउनुहुन्छ र रात पर्छ, अनि वनका सबै पशु घुमफिर गर्न थाल्छन्।

21 जवान ®सहहरू शिकारका निम्ति गर्जन्छन् र परमेश्वरबाट आफ्नो आहार खोज्छन्।

22 सूर्य उदाउँछ, तब ती भेला हुन्छन्, र आफ्ना ओडारमा गएर लेट्छन्।

23 तब मानिस आफ्नो कामतिर जान्छ, र साँझसम्म परिश्रम गर्छ।

24 हे परमप्रभु, तपाईंका काम कति धेरै छन् ! तपाईंले यी सबैलाई आफ्नै बुद्धिले बनाउनुभएको हो, पृथ्वी तपाईंको सम्पत्तिले परिपूर्ण छ।

25 समुद्र यति विशाल र फराकिलो छ कि त्यहाँ अनगिन्ती जलचर छन्, ठूलासाना दुवै थरीका जीवित प्राणीहरू छन्।

26 त्यहाँ जहाजहरू ओहोरदोहोर गर्छन्, त्यहाँ लिव्यातन् जन्तु पनि छ, जसलाई तपाईंले त्यहाँ खेल्नलाई बनाउनुभयो।

27 ठीक समयमा तपाईंले तिनीहरूलाई आहार दिनुहुन्छ भनेर तिनीहरू सबैले तपाईंकै बाटो हेर्छन्।

28 तपाईंले तिनीहरूलाई दिनुहुन्छ, र तिनीहरूले बटुल्छन्, तपाईंले आफ्नो मुट्ठी खोल्नुहुँदा उत्तम पदार्थले तिनीहरू तृप्त हुन्छन्।

29 तपाईंले आफ्नो मुहार छोप्नुहुँदा तिनीहरू भयभीत हुन्छन्। तपाईंले तिनीहरूको सास लिनुहुँदा, ती मरिहाल्छन् र फेरि धुलोमै फर्कन्छन्।

30 तपाईंले आफ्ना आत्मा पठाउनुहुँदा, तिनीहरूका सृष्टि हुन्छ र तपाईंले पृथ्वीको रूपलाई नयाँ तुल्याउनुहुन्छ।

31 परमप्रभुको महिमा सदासर्वदा भइरहनेछ, परमप्रभु आफ्ना कामहरूमा आनन्दित हुनुहुनेछ।

32 तपाईंको दृष्टि पर्दा पृथ्वी कम्पायमान हुन्छ, तपाईंको स्पर्शमा मात्र पहाडहरूबाट धुवाँ निस्कन्छ।

33 मेरो जीवनभरि म परमप्रभुको निम्ति गाउनेछु, बाँचुन्जेल म मेरो परमेश्वरको स्तुति गाउनेछु।

34 मेरो ध्यान उहाँलाई मन परोस्, किनकि म परमप्रभुमा आनन्दित हुनेछु।

35 पापीहरू पृथ्वीबाट मेटिजाऊन्, र दुष्टहरू फेरि कहिल्यै नरहून्। हे मेरो प्राण, परमप्रभुलाई धन्यको भन्, परमप्रभुको प्रशंसा गर्।




105

1 परमप्रभुलाई धन्यवाद चढाओ, उहाँका नाउँको पुकार गर, जाति-जातिका मानिसहरूका बीचमा उहाँले गर्नुभएका कार्यहरू प्रचार गर।

2 उहाँको निम्ति गाओ, उहाँको स्तुति गाओ, उहाँका सबै आश्चर्यकर्मको बयान गर।

3 उहाँको पवित्र नाउँमा तिमीहरू गौरव गर, परमप्रभुलाई खोज्नेहरूका हृदय आनन्दित होऊन्।

4 परमप्रभु र उहाँको शक्तिको खोजी गर, उहाँको मुहारको निरन्तर खोजी गर।

5 उहाँले गर्नुभएका अचम्मका काम, उहाँका आश्चर्यकर्म र उहाँका मुखका फैसलाहरूको सम्झना गर।

6 हे उहाँका दास, हे अब्राहामको वंश, हे उहाँबाट चुनिएका याकूबका सन्तान हो,

7 उहाँ नै हाम्रा परमप्रभु परमेश्वर हुनुहुन्छ, सारा पृथ्वीमा उहाँकै न्याय छन्।

8 उहाँले आफ्नो करार सधैँभरि सम्झना गर्नुभएको छ, त्यो वचन, जो उहाँले हजार पुस्ताका लागि दिनुभएको थियो,

9 त्यही करार, जो उहाँले अब्राहामसँग बाँध्नुभयो, त्यही शपथ, जो उहाँले इसहाकसँग गर्नुभएको थियो,

10 उहाँले त्यसलाई याकूबको निम्ति विधि र इस्राएलको निम्ति अनन्त करारको रूपमा यसो भन्दै पक्का गर्नुभयो,

11 ‘‘तँलाई म कनान देश दिनेछु, त्यो उत्तराधिकार तेरो भाग हुनेछ।’’

12 जब उनीहरू संख्यामा थोरै थिए, साह्रै थोरै र त्यसमा पनि उनीहरू विदेशी थिए।

13 जब उनीहरू एउटा देशबाट अर्को देशमा र एउटा राज्यबाट अर्को राज्यमा घुमफिर गर्थे,

14 उहाँले कुनै मानिसलाई उनीहरूमाथि थिचोमिचो गर्न दिनुभएन, उनीहरूका खातिर उहाँले राजाहरूलाई यसो भन्दै हप्काउनुभयो,

15 ‘‘मेरा अभिषिक्तजनलाई नछोओ, अनि मेरा भविष्यवक्ताहरूलाई कुनै हानी नगर।’’

16 उहाँले त्यस देशमा अनिकाल पठाउनुभयो र अन्नका सारा आपूर्ति नै नष्ट गरिदिनुभयो।

17 उहाँले योसेफ नाउँ भएका एक जनालाई तिनीहरूका अगि पठाउनुभयो, जो कमारा हुनलाई बेचिएका थिए।

18 तिनको खुट्टामा तिनीहरूले नेल ठोकेर दु:ख दिए र तिनको गलामा फलामको जन्जिर लगाइदिए,

19 जबसम्म उहाँको वचन पूरा भएन अनि परमप्रभुको वचनले तिनलाई सत्य प्रमाणित गरेन,

20 राजाले मानिस पठाएर तिनलाई छुटाए, जनताका शासकले तिनलाई मुक्त गरे।

21 तिनले उनलाई आफ्नो घरका मालिक तुल्याए र आफ्नो सारा सम्पत्तिमाथि शासक बनाए,

22 यसैले कि आफ्नो इच्छाअनुसार राजकुमारहरूलाई कैद गरून् र तिनका बूढा प्रधानहरूलाई बुद्धिका कुरा सिकाऊन्।

23 अनि इस्राएल पनि मिश्रदेशमा आए, अनि याकूब हामको देशमा प्रवासीको रूपमा बसे।

24 अनि उहाँले आफ्नो प्रजालाई खुबै बढाउनुभयो र उनीहरूलाई उनीहरूका शत्रुहरूभन्दा बलियो बनाउनुभयो।

25 उहाँले मिश्रीहरूका हृदय परिवर्तन गर्नुभयो र तिनीहरूले उहाँका जनलाई घृणा गर्नथाले र उहाँका सेवकहरूसँग छलपूर्ण व्यवहार गर्नथाले।

26 उहाँले आफ्ना दास मोशा र हारूनलाई पठाउनुभयो, जसलाई उहाँले चुन्नुभएको थियो।

27 उनीहरूले तिनीहरूका बीचमा उहाँका चिन्हहरू र हामको देशमा अचम्मका कामहरू देखाए।

28 उहाँले अन्धकार पठाउनुभयो र त्यो देशलाई अँध्यारो पार्नुभयो र तिनीहरूले उहाँको वचनको विरुद्धमा विद्रोह गरेनन्।

29 उहाँले तिनीहरूको पानी रगतमा परिणत गर्नुभयो र तिनीहरूका माछाहरू मार्नुभयो।

30 भ्यागुताहरू देशभरि, यहाँसम्म कि राजाहरूका कोठाहरूसम्म पनि पुगे।

31 उहाँले आज्ञा गर्नुभयो र सारा देश झिँगा र भुसुनाले भरियो।

32 उहाँले तिनीहरूलाई पानीको सट्टा असिना र तिनीहरूको देशमा आगोको वर्षा पठाउनुभयो।

33 उहाँले तिनीहरूका दाख र अन्जिरका बोटहरू ध्वंस पारिदिनुभयो र उनीहरूका देशका रूखहरू ढाल्नुभयो।

34 उहाँले बोल्नुभयो र सलहहरू आए, अनगिन्ती फटेङ्ग्राहरू पनि आए।

35 यिनीहरूले तिनीहरूका देशका सबै सागपात खाइदिए र तिनीहरूका जमिनका सबै फलफूल सखाप पारिदिए।

36 अनि उहाँले तिनीहरूका देशका सबै ज्येष्ठ सन्तान, तिनीहरूको पुरुषार्थको सबै पहिलो फल नाश गर्नुभयो।

37 उहाँले इस्राएलीहरूलाई चाँदी र सुनको साथमा निकालेर ल्याउनुभयो, अनि तिनीहरूका कुलहरूमा एक जना पनि कमजोर व्यक्ति थिएन।

38 तिनीहरू निस्केर जाँदा मिश्रदेश आनन्दित भयो, किनकि उनीहरूमाथि तिनीहरूको भय परेको थियो।

39 उहाँले ढाक्नको निम्ति बादल फिँजाउनुभयो र राति उज्यालो दिनलाई आगो दिनुभयो।

40 तिनीहरू ले मागे र उहाँले बट्टाई चराहरू ल्याउनुभयो, अनि स्वर्गको रोटीले तिनीहरूलाई तृप्त पार्नुभयो।

41 उहाँले चट्टान फोर्नुभयो र पानी फुटेर निस्क्यो, त्यो सुक्खा जमिनमा नदीझैँ बग्यो।

42 किनभने उहाँले आफ्नो पवित्र प्रतिज्ञा र आफ्नो दास, अब्राहामलाई सम्झनुभयो।

43 अनि उहाँले आफ्नो प्रजालाई आनन्द र आफ्ना चुनिएकाहरूलाई हर्षको साथमा निकालेर ल्याउनुभयो,

44 तिनीहरूलाई जाति-जातिका देशहरू दिनुभयो, अनि तिनीहरूले जातिजातिका मानिसहरूको परिश्रमको फल आफ्नो अधिकारमा लिए,

45 यसैले कि तिनीहरूले उहाँका विधि र कानून पालन गरून्। तिमीहरूले परमप्रभुको प्रशंसा गर।




106

1 तिमीहरूले परमप्रभुको प्रशंसा गर। परमप्रभुलाई धन्यवाद चढाओ, किनकि उहाँ भलो हुनुहुन्छ, किनकि उहाँको कृपा सदासर्वदा रहिरहन्छ।

2 परमप्रभुका सामर्थी कामहरूको बयान कसले गर्नसक्छ? उहाँको प्रशंसा सम्पूर्ण रूपले कसले घोषणा गर्नसक्छ?

3 तिनीहरू धन्यका हुन्, जो न्यायमा चल्दछन्, जसले सदैव धार्मिकताको काम गर्छन्।

4 हे परमप्रभु, आफ्नो प्रजाप्रति निगाह गर्नुहुँदा मलाई सम्झनुहोस्, तपाईंको उद्धारसहित मकहाँ आउनुहोस्।

5 यसैले कि तपाईंका चुनिएकाहरूका भलाइ देख्न सकूँ, तपाईंको प्रजाको आनन्दमा रमाउन सकूँ र तपाईंको उत्तराधिकारसँग गर्व गर्न सकूँ।

6 हाम्रा पिता-पुर्खाले जस्तै हामीले पनि पाप गरेका छौं। हामीले अपराध गरेका छौं, हामीले दुष्टयाइँ गरेका छौं।

7 मिश्रमा हाम्रा पिता-पुर्खाले तपाईंका अचम्मका कामहरू बुझेनन्, तिनीहरूले तपाईंको प्रशस्त कृपालाई सम्झेनन्, तर लालसमुद्रमा तपाईंकै विरुद्धमा विद्रोह गरे।

8 तैपनि आफ्नो अपार शक्ति प्रकट होस् भनेर उहाँले आफ्नो नाउँको खातिर तिनीहरूलाई बचाउनुभयो।

9 उहाँले लालसमुद्रलाई पनि हप्काउनुभयो, र त्यो सुकिहाल्यो, यसरी उहाँले तिनीहरूलाई उजाडस्थानबाट जस्तैगरी त्यसको गहिराइबाट डोर्याउनुभयो।

10 उहाँले तिनीहरूलाई घृणा गर्नेको हातबाट बचाउनुभयो र तिनीहरूलाई शत्रुको हातबाट छुटकारा दिनुभयो।

11 समुद्रले तिनीहरूका शत्रुहरूलाई छोपिदियो, उनीहरूमध्ये एउटै पनि बाँचेन।

12 तब तिनीहरूले उहाँका वचनमा विश्वास गरे, तिनीहरूले उहाँको स्तुति गाए।

13 तिनीहरूले चाँडै नै उहाँका कामहरू बिर्से, तिनीहरूले उहाँको सल्लाहको निम्ति पर्खेनन्,

14 तर उजाडस्थानमा साह्रै नै लालसा गरे, र मरुभूमिमा परमेश्वरलाई परीक्षा गरे।

15 उहाँले तिनीहरूको माग त पूरा गर्नुभयो, तर तिनीहरूको प्राणमा शिथिलताको रोग पठाइदिनुभयो।

16 अनि छाउनीमा तिनीहरूले मोशा र परमप्रभुका पवित्रजन, हारूनलाई डाहा गरे।

17 पृथ्वी फाटयो र दातानलाई निल्यो अनि अबीरामको दललाई पुरिदियो।

18 अनि तिनीहरूको झुन्डमा आगो सल्क्यो, ज्वालाले दुष्टहरूलाई भस्म पार्यो।

19 होरेबमा तिनीहरूले एउटा बाछा बनाए, र ढालेर बनाएको मूर्तिको पूजा गरे।

20 यसरी तिनीहरूले आफ्नो महिमालाई घाँस खाने गोरुको मूर्तिसँग साटे।

21 तिनीहरूले आफ्ना उद्धारकर्ता परमेश्वरलाई बिर्से, जसले मिश्रदेशमा महान् कार्यहरू गर्नुभएको थियो,

22 जसले हामको देशमा अचम्मका काम र लालसमुद्रमा भयानक कामहरू गर्नुभएको थियो।

23 यसकारण उहाँले तिनीहरूलाई नाश गर्छु भन्नुभएको थियो, तर उहाँको विनाश पार्ने क्रोध हटाउनलाई उहाँका चुनिएका जन मोशा उहाँको सामुन्ने खडा भए।

24 तिनीहरूले यस मनोहर देशलाई तुच्छ ठाने, तिनीहरूले उहाँको वचनमा विश्वास गरेनन्,

25 तिनीहरू आफ्ना पालहरूमा गनगनाए र परमप्रभुको सोर सुनेनन्,

26 तिनीहरूलाई उजाडस्थानमा संहार गर्नको निम्ति उहाँले तिनीहरूको विरुद्धमा आफ्नो हात उठाउनुभयो,

27 साथै उहाँले, तिनीहरूका सन्तानलाई जाति-जातिका बीचमा छरपस्ट पार्छु र तिनीहरूलाई देश-विदेशमा तितरबितर पार्छु भनी भन्नुभयो।

28 तिनीहरू बाल-पोरसँग लागे र मरेकाहरूलाई चढाइएका बलिहरू खाए।

29 यसरी तिनीहरूले आफ्ना कामद्वारा उहाँलाई रिस उठाए, अनि तिनीहरूमा रुढी फैलियो।

30 तर पीनहास उठेर मध्यस्थता गरे, यसैले रुढी थामियो।

31 अनि यो तिनका निम्ति पुस्ता-पुस्तासम्म सदासर्वदाको लागि धार्मिकता गनियो।

32 तिनीहरूले मेरीबाका पानीमा पनि रिस उठाए, यसैले उनीहरूले गर्दा मोशाको खराबी भयो,

33 किनकि तिनीहरू परमेश्वरका आत्माको विरुद्धमा बागी भएका थिए र मोशाको मुखबाट अनर्थ कुरा निस्क्यो।

34 परमप्रभुको आज्ञाअनुसार तिनीहरूले जाति-जातिलाई नाश गरेनन्।

35 तर तिनीहरू जाति-जातिसँग मिसिए, र उनीहरूका कामहरू सिके।

36 अनि तिनीहरूले उनीहरूका मूर्तिहरू पुजे र ती तिनीहरूको निम्ति पासो बन्यो।

37 तिनीहरूले आफ्ना छोराछोरी दुष्टात्माको निम्ति बलि चढाए,

38 र निर्दोष रगत, अर्थात् आफ्नै छोराछोरीको रगत बगाए, जसलाई तिनीहरूले कनानका मूर्तिहरूको निम्ति बलि चढाए र देश रगतले अशुद्ध भयो।

39 यसरी तिनीहरू आफ्ना कामले गर्दा अशुद्ध भए र आफ्ना कामहरूद्वारा व्यभिचार गर्दै गए।

40 यसकारण परमप्रभुको क्रोध आफ्नै प्रजाको विरुद्धमा दन्क्यो, यहाँसम्म कि उहाँले आफ्नै उत्तराधिकारलाई घृणा गर्नुभयो।

41 अनि उहाँले तिनीहरूलाई जातिजातिको हातमा सुम्पनुभयो, अनि तिनीहरूलाई घृणा गर्नेहरूले तिनीहरूमाथि शासन गरे।

42 तिनीहरूका शत्रुहरूले तिनीहरूलाई थिचोमिचो गरे र तिनीहरू उनीहरूका अधीनतामा ल्याइए।

43 धेरैचोटि उहाँले तिनीहरूलाई छुटकारा दिनुभयो, तर तिनीहरूले षडयन्त्र रचे र उहाँको विद्रोह गरे र आफ्नो अधर्ममा पतन भए।

44 तैपनि जब उहाँले तिनीहरूका पुकार सुन्नुभयो, तब उहाँले तिनीहरूका सङ्कष्टमा ध्यान दिनुभयो।

45 अनि उहाँले तिनीहरूका निम्ति आफ्नो करार सम्झनुभयो र उहाँ, आफ्ना प्रशस्त कृपाअनुसार दयाले भरिनुभयो।

46 तिनीहरूलाई कैद गर्नेहरू सबैका नजरमा तिनीहरूलाई दयाको पात्र बनाउनुभयो।

47 हे परमप्रभु, हाम्रा परमेश्वर, हामीलाई बचाउनुहोस् र तपाईंको पवित्र नाउँलाई धन्यवाद चढाउन, तपाईंको प्रशंसामा गर्व गर्न हामीलाई जाति-जातिको बीचबाट भेला पार्नुहोस्।

48 इस्राएलका परमप्रभु परमेश्वर, सनातनदेखि सनातनसम्म धन्यका होऊन्। अनि सबै मानिसहरूले भनून्, ‘आमेन्।’ हल्लेलूयाह। पाँचौं खण्ड




107

1 परमप्रभुलाई धन्यवाद चढाओ, किनकि उहाँ भलो हुनुहुन्छ, किनकि उहाँको कृपा सदासर्वदा रहिरहन्छ।

2 परमप्रभुद्वारा मोल तिरेर छुटकारा पाएकाहरूले यसै भनून्, जसलाई उहाँले शत्रुहरूको हातबाट मोल तिरेर छुटकारा दिनुभएको छ,

3 जसलाई देश-देशबाट, पूर्व र पश्चिमबाट, उत्तर र दक्षिणबाट भेला गर्नुभएको छ।

4 तिनीहरू उजाडस्थानमा मरुभूमिको बाटोमा बरालिएर हिँडे, तिनीहरूले बस्नको निम्ति कुनै शहर भेट्टाएनन्।

5 भोक र प्यासले तिनीहरूको प्राण क्षीण भयो।

6 तब आफ्ना सङ्कष्टमा तिनीहरूले परमप्रभुलाई पुकारे, र उहाँले तिनीहरूलाई तिनीहरूका आपत्विपत्बाट छुटाउनुभयो।

7 तिनीहरू बस्नको निम्ति कुनै शहरमा पुगून् भनी उहाँले तिनीहरूलाई ठीक बाटोद्वारा डोर्याउनुभयो।

8 परमप्रभुको भलाइ र मानिसको सन्तानप्रति उहाँको आश्चर्यकर्मको निम्ति मानिसहरूले उहाँलाई धन्यवाद चढाऊन्।

9 किनकि उहाँले तिर्सना गर्ने प्राणलाई तृप्त पार्नुहुन्छ र भोको प्राणलाई उत्तम पदार्थले सन्तुष्ट पार्नुहुन्छ।

10 कोही-कोही घोर अन्धकार र मृत्युको छायाँमा बसे, कैदीहरू फलामका साङ्लाले बाँधिएर कष्टमा परे,

11 किनकि तिनीहरूले परमेश्वरका वचनको विरुद्धमा विद्रोह गरे र सर्वोच्चको सल्लाहलाई तुच्छ ठाने,

12 यसकारण उहाँले कष्ट दिएर तिनीहरूका हृदयलाई नम्र तुल्याउनुभयो, तिनीहरू लडे, अनि तिनीहरूलाई सहायता गर्ने कोही भएन।

13 तब आफ्ना सङ्कष्टमा तिनीहरूले परमप्रभुलाई पुकारे र उहाँले तिनीहरूलाई तिनीहरूका आपत्विपत्बाट छुटाउनुभयो।

14 उहाँले तिनीहरूलाई अन्धकार र मृत्युको छायाँबाट निकालेर ल्याउनुभयो, र तिनीहरूका बन्धनबाट तिनीहरूलाई स्वतन्त्र पार्नुभयो।

15 परमप्रभुको भलाइ र मानिसको सन्तानप्रति उहाँको आश्चर्यकर्मको निम्ति मानिसहरूले उहाँलाई धन्यवाद चढाऊन्।

16 किनकि उहाँले पित्तलका ढोकाहरू तोड्नुभएको छ, फलामका आग्लाहरू टुक्रा-टुक्रा पार्नुभएको छ।

17 आफ्ना अपराध र आफ्ना अधर्मको कारणले मूर्खहरूले कष्ट भोग्दछन्।

18 तिनीहरूको प्राण सब प्रकारको खानेकुरादेखि घिनाउँछ र तिनीहरू मृत्युका ढोकाहरूको नजिक आइपुग्छन्।

19 तब आफ्ना सङ्कष्टमा तिनीहरूले परमप्रभुलाई पुकारे, र उहाँले तिनीहरूलाई तिनीहरूका आपत्विपत्ा्बाट छुटाउनुभयो।

20 उहाँले आफ्नो वचन पठाउनुभयो, तिनीहरूलाई निको पार्नुभयो, र तिनीहरूलाई तिनीहरूका विनाशबाट छुटाउनुभयो।

21 परमप्रभुको भलाइ र मानिसको सन्तानप्रति उहाँको आश्चर्यकर्मको निम्ति मानिसहरूले उहाँलाई धन्यवाद चढाऊन्।

22 अनि तिनीहरूले धन्यवाद-बलि चढाऊन् र रमाहट गर्दै उहाँका कामहरूको बयान गरून्।

23 जहाजमा चढेर समुद्रमा जानेहरू र महासागरमा व्यापार गर्नेहरूले,

24 परमप्रभुका कामहरू र गहिरो सागरमा उहाँका अचम्मका कामहरू देख्छन्।

25 किनकि उहाँले आज्ञा गर्नुहुन्छ, र आँधीबेहरी चलाउनुहुन्छ, जसले त्यसका छालहरू उठाउँछन्।

26 ती आकाशसम्मै चढेर जान्छन्, फेरि तल गहिराइमा झर्छन्, सङ्कष्टले गर्दा तिनीहरूको प्राण पग्लन्छ।

27 तिनीहरू मतवालाजस्तै रन्थनिएर धरमराउँछन् र तिनीहरूको अक्कल गुम हुन्छ।

28 तब आफ्ना सङ्कष्टमा तिनीहरूले परमप्रभुलाई पुकारे र उहाँले तिनीहरूलाई तिनीहरूका आपत्विपत्ा्बाट छुटाउनुभयो।

29 उहाँले आँधीलाई शान्त गराउनुहुन्छ, र त्यसका छालहरू स्थिर हुन्छन्।

30 तब ती शान्त भएकाले तिनीहरू आनन्दित हुन्छन्, यसरी उहाँलेतिनीहरूले चाहेका बन्दरगाहमाल्याइपुर्याउनुहुन्छ।

31 परमप्रभुको भलाइ र मानिसको सन्तानप्रति उहाँको आश्चर्यकर्मको निम्ति मानिसहरूले उहाँलाई धन्यवाद चढाऊन्।

32 अनि तिनीहरूले उहाँलाई मानिसहरूका सभामा उच्च पारून्, बूढा प्रधानहरूका बैठकमा उहाँको स्तुति गरून्।

33 उहाँले नदीहरू उजाडस्थानमा र बग्ने खोलाहरूलाई सुक्खा भूमिमा,

34 र उर्वराभूमिलाई नुनिलो मरुभूमिमा परिवर्तन गर्नुहुन्छ, यो त्यहाँ बस्नेहरूको दुष्टताको कारणले हो।

35 उहाँले उजाडस्थानलाई पानीको तलाउमा र सुक्खा भूमिलाई बग्ने खोलाहरूमा परिवर्तन गर्नुहुन्छ।

36 तिनीहरूले वासस्थानको निम्ति एउटा शहर स्थापित गरून् भनेर उहाँले भोकाहरूलाई त्यहाँ बसाल्नुहुन्छ।

37 तिनीहरूले खेतबारीमा बीउ छरून् र अङ्गुरबारी लगाऊन्, जसले धेरै उब्जनी दिन्छन्।

38 अनि उहाँले तिनीहरूलाई आशिष् दिनुहुन्छ, यसकारण तिनीहरूको वृद्धि ज्यादै हुन्छ, अनि उहाँले तिनीहरूका गाईवस्तुलाई घट्न दिनुहुन्न।

39 फेरि तिनीहरू थिचोमिचो, कष्ट र शोकद्वारा घट्दै जान्छन् र दबाइन्छन्।

40 उहाँले राजकुमारहरूमाथि अपमान खन्याउनुहुन्छ र तिनीहरूलाई बाटै नभएको उजाडस्थानमा बरालिने तुल्याउनुहुन्छ।

41 तैपनि उहाँले दरिद्रलाई कष्टबाट छुटाएर उच्च स्थानमा राख्नुहुन्छ र उसका परिवारलाई वृद्धि गराएर भेडाको बगालझैँ तुल्याउनुहुन्छ।

42 धर्मीजनले यो देख्नेछन् र आनन्दित हुनेछन्, अनि सबै अधर्मीले आफ्नो मुख बन्द गर्नेछन्।

43 जो बुद्धिमान् छ र यी कुरामा ध्यान दिन्छ, तिनीहरूले नै परमप्रभुको करुणा बुझ्नेछन्।




108

1 हे परमेश्वर, मेरो हृदय स्थिर छ, म गाउनेछु र मेरो पूरा हृदयले म स्तुति गर्नेछु।

2 हे सितार र वीणा हो, जाग, म आफै पनि एकाबिहानै जाग्नेछु।

3 हे परमप्रभु, जाति-जातिका मानिसहरूको बीचमा म तपाईंको प्रशंसा गर्नेछु, देश-देशका मानिसहरूका बीचमा म तपाईंको स्तुति गाउनेछु।

4 किनकि तपाईंको कृपा आकाशभन्दा महान् छ, अनि तपाईंको सत्यता बादलसम्म पुग्दछ।

5 हे परमेश्वर, तपाईं आकाशभन्दा पनि उच्च हुनुहोस् र तपाईंको महिमा सारा पृथ्वीमाथि होस्,

6 तपाईंका प्रियजनले छुटकारा पाऊन्, तपाईंको दाहिने हातले बचाउनुहोस् र मलाई जवाफ दिनुहोस्।

7 परमेश्वरले आफ्नो पवित्रतामा भन्नुभएको छ, ‘म रमाउनेछु, म शकेम बाँड्नेछु र सुक्कोतको बेँसी नाप्नेछु।

8 गिलाद मेरो हो, मनश्शे मेरो हो, एफ्राइम पनि मेरो शिरको बल हो, यहूदा मेरो राजदण्ड हो,

9 मोआब मेरो धुने बाटा हो, एदोममाथि म आफ्नो जुत्ता फ्याँक्नेछु, पलिश्तदेशमाथि म विजय गर्नेछु।’

10 कसले मलाई बलियो शहरमा पुर्याउला? कसले मलाई एदोमसम्म डोर्याउला?

11 हे परमेश्वर, के तपाईंले हामीलाई त्याग्नुभएको छैन र? हे परमेश्वर, के तपाईं हाम्रा सेनाहरूको साथमा जानुहुन्न र ?

12 सङ्कष्टबाट हामीलाई सहायता दिनुहोस्, किनकि मानिसको सहायता व्यर्थ छ। 13 परमेश्वरद्वारा हामी वीरता देखाउनेछौं, किनकि उहाँले नै हाम्रा शत्रुहरूलाई कुल्चनुहुनेछ।




109

1 हे मेरा प्रशंसाका परमेश्वर, तपाईं चुप नरहनुहोस्,

2 किनकि दुष्ट र छलीहरूको मुख मेरो विरुद्धमा खोलिएका छन्, तिनीहरूले झुट बोल्ने जिब्रोले मेरो विरुद्धमा बोलेका छन्।

3 तिनीहरूले मलाई घृणास्पद वचनले घेरा हाले र बिनाकारण नै मसँग झगडा गरे।

4 मेरो प्रेमको सट्टामा तिनीहरू मेरा शत्रु भएका छन्, तर म प्रार्थनामा लागिरहन्छु।

5 तिनीहरूले मलाई भलाइको सट्टामा खराबी र मेरो प्रेमको सट्टामा घृणा गरेका छन्।

6 त्यसमाथि कुनै दुष्ट मानिसलाई नियुक्त गर्नुहोस् र त्यसलाई दोष लगाउने मानिस त्यसको दाहिने हातपट्टिखडा होस्।

7 त्यसको न्याय हुँदा त्यो दोषी ठहरियोस्, र त्यसको प्रार्थना पाप बनोस्।

8 त्यसका दिन थोरै होऊन्, त्यसको पद अर्काले लेओस्।

9 त्यसका छोराछोरी टुहुरा होऊन् र त्यसकी स्वास्नी विधवा होस्।

10 त्यसका छोराछोरी निरन्तर डुलुवा होऊन् र भीख मागून्, अनि तिनीहरूले आफ्नो उजाड भएका ठाउँहरूबाट निस्केर खानेकुरा खोज्नुपरोस्।

11 त्यससँग भएका सबै थोक धुताहाले जफत गरोस्, अनि पराईहरूले त्यसको परिश्रमको फल लुटून्।

12 त्यसलाई कृपा देखाउने कोही नहोस्, न त त्यसका टुहुरा छोराछोरीलाई दया देखाउने कोही होस्।

13 त्यसका सन्तान-दरसन्तान नष्ट होऊन्, आउँदो पुस्तामा तिनीहरूको नाउँ मेटिऊन्।

14 त्यसका पिता-पुर्खाको अधर्म परमप्रभुको सामु सम्झना गरियोस्, त्यसकी आमाको पाप कहिल्यै नमेटियोस्।

15 निरन्तर ती परमप्रभुको सामु रहून्, र उहाँले तिनीहरूको सम्झना पृथ्वीबाट मेटाइदेऊन्।

16 किनभने त्यसले कृपा देखाउन कहिल्यै विचार गरेन, तर दु:खी-दरिद्र साथै चूर्ण हृदय भएका मानिसहरूलाई मार्नका निम्ति सतायो।

17 जसरी त्यसले सराप्न मन पराउँथ्यो, त्यसरी नै त्यो सराप त्यसमाथि आइपरोस्, जसरी आशिष् दिनुमा त्यो प्रसन्न हुँदैनथ्यो, त्यसरी नै त्यो आशिष् त्यसबाट टाढै रहोस्।

18 जसरी त्यसले आफ्नो वस्त्र पहिरेझैँ श्रापलाई पहिरियो, त्यसरी नै त्यो पानीझैँ त्यसको पेटमा र तेलझैँ त्यसका हड्डीहरूमा आओस्।

19 श्राप त्यसको लागि वस्त्रजस्तै होओस्, साथै त्यो निरन्तर कम्मरमा बाँधिने पेटीजस्तै होस्।

20 मेरा शत्रु र मेरो प्राणको विरुद्धमा खराबी बोल्नेहरूलाई परमप्रभुबाट यही प्रतिफल मिलोस्।

21 तर हे परमप्रभु परमेश्वर, तपाईंको नामको खातिर मसित सद्व्यवहार गर्नुहोस्, मलाई छुटकारा दिनुहोस्, किनकि तपाईंको कृपा उत्तम छ।

22 किनकि म दु:खी र दरिद्र छु, मभित्र मेरो हृदय घायल भएको छ।

23 ढल्किँदै गएको छायाँझैँ म लुप्त भएकोछु, सलहझैँ माथि तल हुत्त्याइन्छु।

24 उपवास बसेकोले मेरा घुँडा कमजोर भएका छन्, बोसो नभएकोले मेरो शरीर दुब्लो भएको छ।

25 म तिनीहरूका निम्ति निन्दाको पात्र बनेँ, तिनीहरूले मलाई देखेर आफ्ना मुन्टो हल्लाए।

26 हे मेरा परमप्रभु परमेश्वर, मलाई सहायता गर्नुहोस्, तपाईंको कृपाअनुसार मलाई बचाउनुहोस्;

27 अनि तिनीहरूले यो तपाईंको हात हो, र तपाईं, परमप्रभुले यो गर्नुभएको हो भनी जानून्।

28 तिनीहरूले सराप्नेछन्, तर तपाईंले आशिष् दिनुहुनेछ; तिनीहरू उठ्दा सर्ममा परून्, तर तपाईंको दास आनन्दित हुनेछ।

29 मेरा विरोधीहरूले अपमानको वस्त्र पहिरेका होऊन्, र तिनीहरूले आफ्नै व्याकुलताले आफूलाई खास्टोले झैँ ढाकून्।

30 म आफ्नो मुखले परमप्रभुलाई धेरै धन्यवाद चढाउनेछु; अँ, धेरै मानिसहरूको बीचमा म उहाँको स्तुति गर्नेछु।

31 किनभने उहाँ दरिद्रको दाहिने हाततर्फ खडा हुनुहुन्छ र उहाँले त्यसलाई दण्ड दिन चाहनेको हातबाट बचाउनुहुनेछ।




110

1 परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो, ‘जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान तुल्याउँदिनँ, तबसम्म तिमी मेरो दाहिने हातपट्टि बस।’

2 परमप्रभुले सियोनबाट तिम्रो सामर्थ्यको राजदण्ड यसो भन्दै पठाउनुहुनेछ, ‘तिमीले आफ्ना शत्रुहरूको बीचमा शासन गर।’

3 तपाईंको पराक्रमको दिनमा तपाईंको प्रजा इच्छुक हुनेछ, पवित्रताको सुन्दरतामा प्रभातको गर्भदेखि तपाईंसँग तपाईंको जवानीको शीत छ।

4 परमप्रभुले शपथ खानुभएको छ र पछुताउनुहुनेछैन, मल्कीसेदेकका दर्जाबमोजिम तिमी सधैँको निम्ति पूजाहारी हौ।

5 तपाईंको दाहिने हाततर्फ हुनुहुने प्रभुले आफ्नो क्रोधको दिनमा राजाहरूलाई नष्ट पार्नुहुनेछ।

6 उहाँले जाति-जातिको बीचमा न्याय गर्नुहुनेछ; उहाँले लासहरू थुप्रो लाउनुहुनेछ; उहाँले धेरै देशका शासकहरूलाई नाश गर्नुहुनेछ।

7 उहाँले बाटोमा खोलाको पानी पिउनुहुनेछ; यसकारण उहाँले शिर उठाउनुहुनेछ।




111

1 परमप्रभुको स्तुति गर। सोझा जनको सभा र समुदायमा म मेरो सम्पूर्ण हृदयले परमप्रभुको प्रशंसा गर्नेछु।

2 परमप्रभुका कामहरू महान् छन्, तिनमा प्रसन्न हुनेहरू सबैले तिनको मनन गर्छन्।

3 उहाँको काम आदरयोग्य र महिमापूर्ण छ अनि उहाँको धार्मिकता सदासर्वदा रहिरहन्छ।

4 उहाँले आफ्ना अचम्मका कामहरूलाई स्मरणीय तुल्याउनुभएको छ; परमप्रभु अनुग्रही र दयाले भरिपूर्ण हुनुहुन्छ।

5 उहाँको भय मान्नेहरूलाई उहाँले भोजन दिनुभएको छ; उहाँले सदाकाल आफ्नो करारको सम्झना गर्नुहुनेछ।

6 उहाँले आफ्नो प्रजालाई अरू जातिको हकको सम्पत्ति दिनका निम्ति उनीहरूलाई आफ्ना कामहरूको सामर्थ्य देखाउनुभएको छ।

7 उहाँका हातका कामहरू सत्य र न्याय हुन्; उहाँका सबै आज्ञा विश्वसनीय हुन्छन्।

8 ती सदासर्वदा स्थिर रहन्छन्, ती सत्यता र इमानदारितामा गरिएका छन्।

9 उहाँले आफ्नो निज प्रजाकहाँ छुटकारा पठाउनुभयो; उहाँले आफ्नो करारलाई सदाकालको निम्ति स्थापित गर्नुभएको छ; उहाँको नाम पवित्र र भययोग्य छ।

10 परमप्रभुको भय मान्नु नै बुद्धिको सुरु हो; उहाँका आज्ञापालन गर्ने सबैसँग असल समझ हुन्छ; उहाँको स्तुति सदाकाल रहिरहन्छ।




112

1 परमप्रभुको स्तुति गर। त्यो मानिस धन्यको हो, जसले परमप्रभुको भय मान्छ र उहाँका आज्ञाहरूमा अतिप्रसन्न रहन्छ।

2 उसको वंश पृथ्वीमाथि शक्तिशाली हुनेछ; सोझा जनको पुस्ताले आशिष् पाउनेछ।

3 उसको घरमा धनसम्पत्ति हुनेछ र उसको धार्मिकता सदासर्वदा रहिरहन्छ।

4 सोझा जनका निम्ति अन्धकारमा ज्योति उदाउँछ; ऊ अनुग्रहकारी, दयालु र धर्मी हुन्छ।

5 भलो मानिसले कृपा देखाउँछ र ऋण दिन्छ; उसले आफ्ना कामकुरा न्यायपूर्वक कायम राख्छ।

6 किनकि ऊ कहिल्यै डगमगाउनेछैन; धर्मीजनको सम्झना सदासर्वदा रहिरहनेछ।

7 ऊ खराब समाचारदेखि डराउनेछैन; उसको हृदय परमप्रभुमाथि भरोसा राखेकाले स्थिर रहन्छ।

8 जबसम्म उसले आफ्नो इच्छा आफ्ना शत्रुहरूमाथि पूरा भएको देख्दैन, तबसम्म उसको हृदय अटल रहनेछ, ऊ डराउनेछैन।

9 त्यसले उदारतासाथ गरिबहरूलाई दिएको छ, त्यसको धार्मिकता सधैँभरि रहिरहन्छ; उसको सिङ आदरसाथ उच्च पारिनेछ।

10 दुष्ट यो देखेर कुँडिनेछ; त्यसले दाह्रा किट्नेछ र दुर्बल हुनेछ; दुष्टहरूको अभिलाषा नष्ट हुनेछ।




113

1 परमप्रभुको स्तुति गर। हे परमप्रभुका दासहरू हो, स्तुति गर ! परमप्रभुको नामको स्तुति गर !

2 अहिलेदेखि सदासर्वदा परमप्रभुको नाम धन्यको होस्।

3 सूर्योदयदेखि सूर्यास्तसम्म परमप्रभुको नामको स्तुति गरिनुपर्छ।

4 सबै जातिमाथि परमप्रभु सर्वोच्च हुनुहुन्छ; उहाँको महिमा आकाशभन्दा उच्च छ।

5 हाम्रा परमप्रभु परमेश्वरजस्तो को छ र ? उहाँ उच्च स्थानमा विराजमान् हुनुहुन्छ।

6 जो आकाश र पृथ्वीका कुरा निहार्नका निम्ति झुक्नुहुन्छ।

7 उहाँले दुर्बललाई धुलोबाट उठाउनुहुन्छ, र दरिद्रलाई घुर्यानबाट उचाल्नुहुन्छ,

8 उहाँले तिनीहरूलाई राजकुमारहरूसँग र आफ्नै प्रजाका राजकुमारहरूका साथमा बसाल्नुहुन्छ।

9 उहाँले बाँझी स्त्रीलाई घर गर्ने र छोराछोरीकी हर्षित आमा तुल्याउनुहुन्छ। परमप्रभुको स्तुति गर।




114

1 जब इस्राएल मिश्रदेश र याकूबको घराना बिरानो भाषा बोल्ने मानिसहरूको बीचबाट निस्क्यो,

2 तब यहूदा पवित्रस्थान र एस्राएल उहाँको राज्य बन्यो।

3 यो देखेर समुद्र भाग्यो; यर्दन नदी उल्टो बग्न लाग्यो।

4 पहाडहरू थुमाहरूझैँ र साना डाँडाहरू पाठाहरूझैँ उफ्रे।

5 हे समुद्र, तँलाई के भयो र तँ भागिस्? हे यर्दन, तँ किन पछिल्तिर फर्किस्?

6 हे पहाडहरू हो, तिमीहरू किन थुमाहरूझैँ र हे साना डाँडाहरू हो, तिमीहरू किन पाठाहरूझैँ उफ्रयौ?

7 हे पृथ्वी, प्रभुको उपस्थितिदेखि, याकूबका परमेश्वरको उपस्थितिदेखि थरथरी काँप;

8 उहाँले चट्टानलाई पानीको तलाउमा, दर्सिनढुङ्गालाई पानीको धारामा परिवर्तन गर्नुभयो।




115

1 हामीलाई होइन, हे परमप्रभु, हामीलाई होइन तर तपाईंको कृपा र सत्यताको खातिर तपाईंको नामलाई महिमा दिनुहोस्।

2 ‘तिनीहरूका परमेश्वर कहाँ छन्?’ भनी जाति-जातिका मानिसहरूले किन भन्न पाऊन्?

3 तर हाम्रा परमेश्वर स्वर्गमा हुनुहुन्छ; उहाँलाई जे इच्छा लाग्यो, त्यही गर्नुहुन्छ।

4 तिनीहरूका मूर्तिहरू त सुन र चाँदी हुन्; मानिसका हातका काम हुन्।

5 तिनीहरूका मुख छन् तर बोल्दैनन्; तिनीहरूका आँखा छन् तर देख्दैनन्;

6 तिनीहरूका कान छन् तर सुन्दैनन्; तिनीहरूका नाक छन् तर सुँघ्दैनन्;

7 तिनीहरूका हात छन् तर समात्दैनन्; तिनीहरूका खुट्टा छन् तर हिँड्दैनन्, न त आफ्ना गलाबाट आवाज निकाल्न सक्छन्।

8 तिनीहरूलाई बनाउने र तीमाथि भरोसा गर्नेहरू सबै त्यस्तै हुन्छन्।

9 हे इस्राएल, परमप्रभुमाथि भरोसा राख; उहाँ नै तिनीहरूका सहारा र रक्षक हुनुहुन्छ।

10 हे हारूनको घराना, परमप्रभुमाथि भरोसा राख; उहाँ नै तिनीहरूका सहारा र रक्षक हुनुहुन्छ।

11 हे परमप्रभुका भय मान्नेहरू हो, परमप्रभुमाथि भरोसा राख; उहाँ नै तिनीहरूका सहारा र रक्षक हुनुहुन्छ।

12 परमप्रभुले हाम्रो सम्झना गर्नुभएको छ; उहाँले हामीलाई आशिष् दिनुहुनेछ; उहाँले इस्राएलको घरानालाई आशिष् दिनुहुनेछ; उहाँले हारूनको घरानालाई आशिष् दिनुहुनेछ।

13 उहाँले परमप्रभुको भय मान्ने साना र ठूला दुवैलाई आशिष् दिनुहुनेछ।

14 परमप्रभुले तिमीहरूको वृद्धि गर्नुहुनेछ, तिमीहरू र तिमीहरूका सन्तानलाई।

15 स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुने परमप्रभुबाट तिमीहरू आशिषित छौ।

16 स्वर्ग र स्वर्गहरू पनि परमप्रभुका हुन् तर पृथ्वी उहाँले मानिसका सन्तानलाई दिनुभएको छ।

17 मृतकहरूले परमप्रभुको स्तुति गर्दैनन्, न त मृतलोकमा जानेहरूले नै गर्दछन्;

18 तर हामी त अहिलेदेखि सदासर्वदासम्म परमप्रभुलाई धन्यको भन्नेछौं। परमप्रभुको स्तुति गर !




116

1 म परमप्रभुलाई प्रेम गर्दछु; किनभने उहाँले मेरो सोर र मेरा अन्तर्विन्ती सुन्नुभएको छ।

2 किनभने उहाँले आफ्नो कान मतिर लगाउनुभएको छ; यसकारण म बाँचुञ्जेल उहाँलाई पुकार्नेछु।

3 मृत्युका वेदनाले मलाई घेरेका थिए र नरकका पीडाले मलाई पक्रेका थिए; मैले दु:ख र शोक भोगेँ।

4 तब मैले परमप्रभुको नाउँ पुकारेँ, ‘हे परमप्रभु, म तपाईंलाई विन्ती गर्दछु, मेरो प्राणलाई बचाउनुहोस्।’

5 परमप्रभु अनुग्रहकारी र धर्मी हुनुहुन्छ; हाम्रा परमेश्वर कृपालु हुनुहुन्छ।

6 परमप्रभुले सोझाहरूलाई रक्षा गर्नुहुन्छ; म कमजोर थिएँ तर उहाँले मलाई सहायता गर्नुभयो।

7 हे मेरो प्राण, तँ आफ्नो विश्राममा फर्की; किनभने परमप्रभुले तेरो उपकार गर्नुभएको छ।

8 किनकि तपाईंले मेरो प्राणलाई मृत्युदेखि, मेरा आँखालाई आँसु झार्नदेखि र मेरा खुट्टालाई ठेस लाग्नदेखि जोगाउनुभएको छ।

9 म जीवितहरूका देशमा परमप्रभुको सामु हिँड्नेछु।

10 मैले विश्वास गरेँ; यसकारण मैले भनेँ, ‘म त साह्रै कष्टमा परेको थिएँ।’

11 मेरो आतुरीमा मैले भनेँ, ‘सबै मानिस झुटा हुन्।’

12 परमप्रभुले मप्रति गर्नुभएका सबै उपकारको बदलामा म उहाँलाई के दिऊँ?

13 म उद्धारको कचौरा लिएर परमप्रभुको नाउँ पुकार्नेछु।

14 परमप्रभुका समस्त प्रजाको सामुन्ने उहाँकै निम्ति म आफ्ना भाकल पूरा गर्नेछु।

15 परमप्रभुको दृष्टिमा उहाँका पवित्रजनको मृत्यु अनमोल छ।

16 हे परमप्रभु, साँच्चै म तपाईंको दास हुँ; म तपाईंकी दासीको छोरो,तपाईंको दास हुँ; तपाईंले मेरा बन्धनखोलिदिनुभएको छ।

17 म तपाईंलाई धन्यवादको बलि चढाउनेछु र परमप्रभुको नामको पुकारा गर्नेछु।

18 परमप्रभुका समस्त प्रजाको सामुन्ने उहाँकै निम्ति म आफ्ना भाकल पूरा गर्नेछु;

19 परमप्रभुको भवनका चोकहरूमा, हे यरूशलेम, तेरै माझमा परमप्रभुको स्तुति गर !




117

1 हे सबै जातिका मानिसहरू हो, परमप्रभुको स्तुति गर; हे सबै मानिसहरू हो, उहाँको तारिफ गर !

2 किनभने हामीप्रति उहाँको करुणा महान् छ; अनि परमप्रभुको सत्यता सदासर्वदा रहन्छ। परमप्रभुको स्तुति गर !




118

1 परमप्रभुलाई धन्यवाद चढाओ; किनभने उहाँ भलो हुनुहुन्छ; किनकि उहाँको कृपा सदासर्वदा रहिरहन्छ।

2 अब इस्राएलले भनोस्, ‘उहाँको कृपा सदासर्वदा रहिरहन्छ।’

3 अब हारूनको घरानाले भनोस्, ‘उहाँको कृपा सदासर्वदा रहिरहन्छ।’

4 अब उहाँको डर मान्नेहरूले भनून्, ‘उहाँको कृपा सदासर्वदा रहिरहन्छ।’

5 मैले सङ्कष्टमा परमप्रभुलाई पुकारेँ; परमप्रभुले मेरो विन्ती सुन्नुभयो र मलाई फराकिलो ठाउँमा राख्नुभयो।

6 परमप्रभु मेरो पक्षमा हुनुहुन्छ, म डराउनेछैनँ; मानिसले मलाई के गर्न सक्छ र?

7 मलाई सहायता गर्नेहरूसित परमप्रभु मेरो पक्षमा हुनुहुन्छ; यसकारण मलाई घृणा गर्नेहरूमाथि म मेरो इच्छा पूरा भएको देख्नेछु।

8 मानिसमाथि भरोसा राख्नुभन्दा परमप्रभुमाथि भरोसा राख्नु उत्तम हो।

9 राजकुमारहरूमाथि भरोसा राख्नुभन्दा परमप्रभुमाथि भरोसा राख्नु उत्तम हो।

10 सबै जातिले मलाई घेरेका छन् तर निश्चय परमप्रभुको नाममा म तिनीहरूलाई नाश गर्नेछु।

11 तिनीहरूले मलाई घेरेका छन्, अँ, तिनीहरूले मलाई घेरेका छन् तर परमप्रभुको नाममा म तिनीहरूलाई नाश गर्नेछु।

12 तिनीहरूले मलाई मौरीले झैँ घेरेका छन्; तिनीहरू काँडाको आगोझैँ निभेका छन्, किनकि परमप्रभुको नाममा म तिनीहरूलाई नाश गर्नेछु।

13 मलाई लडाउनलाई तैँले बेसरी घचेटिस्; तर परमप्रभुले मलाई सहायता गर्नुभयो।

14 परमप्रभु मेरो बल र गीत हुनुहुन्छ; अनि उहाँ मेरो उद्धार पनि हुनुहुन्छ।

15 धर्मीजनका पालमा रमाहट र उद्धारको ध्वनि सुनिन्छ; परमप्रभुको दाहिने बाहुलीले पराक्रमी काम गर्दछ।

16 परमप्रभुको दाहिने हात उचालिएको छ; परमप्रभुको दाहिने हातले पराक्रमी काम गर्दछ।

17 म मर्नेछैन तर बाँच्नेछु र परमप्रभुका कामहरूको वर्णन गर्नेछु।

18 परमप्रभुले मलाई बेसरी ताडना दिनुभएको छ तर उहाँले मलाई मृत्युको वशमा सुम्पिदिनुभएको छैन।

19 मेरा निम्ति धार्मिकताका ढोकाहरू खोलिदेओ; म तीभित्र पस्नेछु र परमप्रभुलाई प्रशंसा गर्नेछु।

20 यो परमप्रभुको ढोका हो, धर्मीजन यसभित्र पस्नेछन्।

21 म तपाईंलाई प्रशंसा गर्नेछु, किनभने तपाईंले मलाई जवाफ दिनुभएको छ र तपाईं मेरा उद्धार हुनुभएको छ।

22 जुन ढुङ्गालाई डकर्मीहरूले रद्द गरे, त्यही नै कुनाको शिर-ढुङ्गो भएको छ।

23 यो परमप्रभुबाट भएको हो; हाम्रो दृष्टिमा यो अचम्मको छ।

24 यो दिन परमप्रभुले बनाउनुभएको हो; यसमा हामी रमाउनेछौं र आनन्दित हुनेछौं।

25 हे परमप्रभु, म तपाईंलाई विन्ती गर्दछु, अब बचाउनुहोस्;हे परमप्रभु, म तपाईंलाई विन्ती गर्दछु, अब सफलता दिनुहोस्।

26 परमप्रभुको नाममा जो आउँदछ, ऊ धन्यको हो; हामीले तिमीहरूलाई परमप्रभुको भवनबाट आशिष् दिएका छौं।

27 परमप्रभु नै परमेश्वर हुनुहुन्छ; उहाँले हामीलाई ज्योति दिनुभएको छ; पर्वको बलिलाई डोरीले वेदीका सिङहरूमा बाँध।

28 तपाईं मेरा परमेश्वर हुनुहुन्छ र म तपाईंलाई प्रशंसा गर्नेछु। तपाईं मेरा परमेश्वर हुनुहुन्छ; म तपाईंको बढाइँ गर्नेछु।

29 परमप्रभुलाई धन्यवाद चढाओ; किनभने उहाँ भलो हुनुहुन्छ; किनकि उहाँको कृपा सदासर्वदा रहिरहन्छ।




119

1 धन्य हुन् उनीहरू, जसको चाल निर्दोष छ, जो परमप्रभुको व्यवस्थामा हिँड्दछन्।

2 धन्य हुन् उनीहरू, जसले उहाँका साक्षीवचन पालन गर्दछन्, जसले उहाँलाई सम्पूर्ण हृदयले खोज्दछन्।

3 उनीहरूले कुनै अधर्म पनि गर्दैनन्; उनीहरू उहाँका मार्गमा हिँड्दछन्।

4 तपाईंले हामीलाई तपाईंका आदेशहरू यत्नपूर्वक पालन गर्नू भनी आज्ञा गर्नुभएको छ।

5 तपाईंका नियमहरू पालन गर्नको निम्ति मेरा चाल स्थिर भइदिए त !

6 जब म तपाईंका सबै आज्ञालाई आदर गरूँला, तब म सर्ममा पर्नेछैन।

7 जब म तपाईंका धार्मिक नियमहरू सिकेको हुनेछु, तब म हृदयको सोझोपनमा तपाईंको प्रशंसा गर्नेछु।

8 तपाईंका नियमहरू म पालन गर्नेछु; मलाई पूर्णरूपले नत्याग्नुहोस्।

9 जवान मानिसले आफ्नो चाल कसरी शुद्ध राख्न सक्छ? तपाईंको वचनअनुसार त्यसमा ध्यान दिएर नै हो।

10 मेरो सम्पूर्ण हृदयले तपाईंलाई खोजेको छु; तपाईंका आज्ञाहरूबाट मलाई भड्केर जान नदिनुहोस्।

11 तपाईंको विरुद्धमा पाप नगरूँ भनेर मैले तपाईंको वचन आफ्नो हृदयमा सुरक्षित राखेको छु।

12 हे परमप्रभु, तपाईं धन्यको हुनुहुन्छ; तपाईंका नियमहरू मलाई सिकाउनुहोस्।

13 मैले मेरा ओठले तपाईंको मुखका सबै न्यायको वर्णन गरेको छु।

14 सारा धनसम्पत्तिमा रमाएझैँ तपाईंका साक्षी-वचनको मार्गमा म रमाएको छु।

15 म तपाईंका आदेशहरूमाथि मनन गर्नेछुर तपाईंका मार्गमा ध्यान दिनेछु।

16 म तपाईंका नियमहरूमा प्रसन्न हुनेछु; म तपाईंको वचन बिर्सनेछैनँ।

17 आफ्नो दासको उपकार गर्नुहोस्, जसले गर्दा म बाँच्न सकूँ र तपाईंका वचन पालन गर्न सकूँ।

18 मेरा आँखा खोलिदिनुहोस् र म तपाईंका व्यवस्थाबाट अद्भुत कुरा देख्न सकूँ।

19 म पृथ्वीमा एक परदेशी हुँ; तपाईंका आज्ञाहरू मबाट नलुकाउनुहोस्।

20 तपाईंका न्यायका चाहनाले गर्दा मेरो प्राण हरघडी चूर्ण हुन्छ।

21 तपाईंले घमन्डीहरूलाई हप्काउनुभएको छ-जो श्रापित छन्, जो तपाईंका आज्ञाहरूबाट भड्केर जान्छन्।

22 मबाट निन्दा र अपमान हटाइदिनुहोस्, किनभने मैले तपाईंका साक्षी-वचन पालन गरेको छु।

23 राजकुमारहरूले पनि बसेर मेरो विरुद्धमा कुरा गरे, तर तपाईंको दासले तपाईंकै नियमहरूमा मनन गर्यो।

24 तपाईंका साक्षी-वचन मेरा आनन्द हुन् र ती मेरा सल्लाहकार हुन्।

25 मेरो प्राण धुलोमा टाँसिएको छ; तपाईंको वचनअनुसार मलाई पुनर्जीवित पार्नुहोस्।

26 मैले मेरा चाल तपाईंलाई बताएको छु र तपाईंले मलाई जवाफ दिनुभयो; तपाईंका नियमहरू मलाई सिकाउनुहोस्।

27 तपाईंका आदेशहरूको मार्ग मलाई बुझाइदिनुहोस् र म तपाईंका अचम्मका काममा मनन गर्नेछु।

28 शोकले गर्दा मेरो प्राण क्षीण हुन्छ; तपाईंको वचनअनुसार मलाई बलियो पार्नुहोस्।

29 मबाट झुट बोल्ने चाल हटाउनुहोस् र मलाई अनुग्रहसाथ तपाईंको व्यवस्था दिनुहोस्।

30 मैले सत्यको मार्ग रोजेको छु; तपाईंका न्याय मैले आफ्नो सामु राखेको छु।

31 म तपाईंका साक्षी-वचनमा टाँसिएको छु; हे परमप्रभु, मलाई सर्ममा पर्न नदिनुहोस्।

32 जब तपाईंले मेरो हृदय चौडा पार्नुहुनेछ, तब म तपाईंका आज्ञाहरूका मार्गमा दगुर्नेछु।

33 हे परमप्रभु, तपाईंका नियमहरूका मार्ग मलाई सिकाउनुहोस् र अन्तसम्म म त्यो पालन गर्नेछु।

34 मलाई समझ दिनुहोस् र म तपाईंको व्यवस्था पालन गर्नेछु; अँ, सम्पूर्ण हृदयले म त्यो पालन गर्नेछु।

35 तपाईंका आज्ञाहरूको मार्गमा मलाई हिँडाउनुहोस्; किनकि यसैमा म प्रसन्न हुन्छु।

36 मेरो हृदय लोभतिर होइन तर तपाईंका साक्षी-वचनतिर लगाउनुहोस्।

37 मेरा आँखा व्यर्थका कुरा हेर्नदेखि फर्काइदिनुहोस्; अनि तपाईंको मार्गमा मलाई पुनर्जीवित पार्नुहोस्।

38 तपाईंको डर मान्ने तपाईंका दासका निम्ति आफ्नो वचन पक्का गर्नुहोस्।

39 म जुन निन्दादेखि डराउँछु, त्यो निन्दा हटाइदिनुहोस्; किनभने तपाईंका न्यायहरू असल छन्।

40 हेर्नुहोस्, तपाईंका आदेशहरू मैले चाह गरेको छु; तपाईंको धार्मिकतामा मलाई फेरि पुनर्जीवित पार्नुहोस्।

41 हे परमप्रभु, तपाईंका कृपा मकहाँ आऊन्; तपाईंको वचनअनुसार तपाईंको उद्धार पनि मकहाँ आऊन्।

42 तब मेरो निन्दा गर्नेलाई जवाफ दिनको निम्ति मसँग केही कुरा हुनेछ; किनकि म तपाईंको वचनमाथि भरोसा राख्छु।

43 मेरो मुखबाट सत्यको वचन पूर्णरूपले नलैजानुहोस्; किनभने मैले तपाईंका न्यायमा आशा राखेको छु।

44 तब म तपाईंको व्यवस्था सदासर्वदै पालन गरिरहनेछु।

45 म स्वतन्त्रतासाथ हिँड्नेछु; किनकि म तपाईंका आदेशहरू खोज्दछु।

46 म तपाईंका साक्षी-वचनको बारेमा राजाहरूको सामु पनि बोल्नेछु र सर्माउनेछैनँ।

47 म तपाईंका आज्ञाहरूमा प्रसन्न हुनेछु, जसलाई मैले प्रेम गरेको छु।

48 मैले प्रेम गरेका तपाईंका आज्ञाहरूतिर म आफ्ना हात पनि उठाउनेछु र म तपाईंका नियमहरूमा मनन गर्नेछु।

49 तपाईंका दासको निम्ति वचनको सम्झना गर्नुहोस्, जुन वचनमा तपाईंले मलाई आशा राख्ने तुल्याउनुभएको छ।

50 मेरो सङ्कष्टमा मेरो सान्त्वना यही हो, किनभने तपाईंकै वचनले मलाई पुनर्जीवित पारेको छ।

51 घमन्डीहरूले मलाई ज्यादै खिसी गरेका छन्; तैपनि तपाईंको व्यवस्थाबाट म पछि हटेको छैनँ।

52 हे परमप्रभु, मैले तपाईंका प्राचीनकालका न्यायहरू सम्झेँ र आफैलाई सान्त्वना दिएँ।

53 दुष्टहरूले तपाईंको व्यवस्थालाई त्यागेका हुनाले तातो रिसले मलाई पक्रेको छ।

54 मेरो जीवन-यात्राको घरमा तपाईंका नियमहरू नै मेरा गीतहरू भएका छन्।

55 हे परमप्रभु, मैले रातको समयमा तपाईंको नामको सम्झना गरेको छु, अनि तपाईंको व्यवस्था पालन गरेको छु।

56 यो कुरा मलाई भयो; किनभने मैले तपाईंका आदेशहरू पालन गरेको छु।

57 हे परमप्रभु, तपाईं मेरो भाग हुनुहुन्छ; तपाईंका वचन पालन गर्नेछु भनी मैले भनेको छु।

58 मैले तपाईंको निगाहका निम्ति सम्पूर्ण हृदयले विन्ती चढाएँ; तपाईंको वचनअनुसार मप्रति कृपालु हुनुहोस्।

59 मैले मेरा चाल विचार गरेँ र तपाईंका साक्षी-वचनतिर आफ्नो कदम बढाएँ।

60 मैले तपाईंका आज्ञापालन गर्न हतार गरेँ र ढिलो गरिनँ।

61 दुष्टहरूका डोरीले मलाई घेरेका छन् तर मैले तपाईंको व्यवस्था बिर्सेको छैनँ।

62 तपाईंका धार्मिक न्यायको कारण म मध्यरातमा तपाईंलाई धन्यवाद चढाउन उठ्नेछु।

63 म तपाईंको डर मान्ने र तपाईंका आदेश पालन गर्ने सबैको साथी हुँ।

64 हे परमप्रभु, पृथ्वी तपाईंको कृपाले भरपुर छ; मलाई तपाईंका नियमहरू सिकाउनुहोस्।

65 हे परमप्रभु, तपाईंले आफ्नो वचनअनुसार आफ्नो दासको भलाइ गर्नुभएको छ।

66 मलाई असल विवेक र ज्ञान सिकाउनुहोस्; किनभने मैले तपाईंका आज्ञामा विश्वास गरेको छु।

67 म कष्ट भोग्नुभन्दा पहिले बरालिन्थेँ, तर अब त मैले तपाईंको वचन पालन गरेको छु।

68 तपाईं भलो हुनुहुन्छ र भलाइ गर्नुहुन्छ; मलाई तपाईंका नियमहरू सिकाउनुहोस्।

69 घमन्डीहरूले मेरो विरुद्धमा झुटो आरोप लगाएका छन्; तर म त सम्पूर्ण हृदयले तपाईंका आदेशहरू पालन गर्दछु।

70 तिनीहरूको हृदय बोसोजस्तै बोधो भएको छ, तर म तपाईंको व्यवस्थामा प्रसन्न हुन्छु।

71 ममाथि जुन कष्ट आयो, त्यो मेरो लागि असलै भयो; जसले गर्दा मैले तपाईंका नियमहरू सिक्न सकेँ।

72 तपाईंको मुखको व्यवस्था मेरो लागि हजारौं सुन र चाँदीभन्दा उत्तम छ।

73 तपाईंका हातले मलाई बनाएका र रचेका हुन्; मलाई समझ दिनुहोस् र म तपाईंका आज्ञाहरू सिक्न सकूँ।

74 तपाईंको डर मान्नेहरू मलाई देखेर आनन्दित हुनेछन्; किनभने मैले तपाईंको वचनमा आशा राखेको छु।

75 हे परमप्रभु, तपाईंका न्याय धार्मिक छन् अनि तपाईंले सच्चाइअनुसार मलाई शासना दिनुभएको हो भनी म जान्दछु।

76 म तपाईंलाई विन्ती गर्दछु: तपाईंको दासलाई भन्नुभएको वचनअनुसार तपाईंको कृपा मेरो सान्त्वनाको कारण बनोस्।

77 तपाईंका कोमल कृपा मकहाँ आऊन् र म बाँच्न सकूँ;किनकि तपाईंको व्यवस्था नै मेरो आनन्द हो।

78 घमन्डीहरू सर्ममा परून्; किनकि तिनीहरूले बिनाकारण मसँग टेढा व्यवहार गरेका छन्; तर म तपाईंका आदेशहरूमा मनन गर्नेछु।

79 तपाईंको भय मान्नेहरू र तपाईंका साक्षी-वचन जान्नेहरू मतिर फर्कून्।

80 मेरो हृदय तपाईंका नियमहरूमा निर्दोष होओस् र म सर्ममा नपरूँ।

81 मेरो प्राण तपाईंको उद्धारको निम्ति बेचैन छ; तर म तपाईंको वचनमा आशा राख्छु।

82 ‘तपाईंले मलाई कहिले सान्त्वना दिनुहुन्छ?’ भन्दै तपाईंको वचनको बाटो हेर्दाहेर्दै मेरा आँखा धमिला भएका छन्।

83 किनभने म धुवाँमा राखिएको मशकजस्तै भएको छु; तापनि म तपाईंका नियमहरू बिर्संदिनँ।

84 तपाईंको दासका दिनहरू कति छन् र? मलाई सताउनेहरूमाथि तपाईंले कहिले न्यायको फैसला गर्नुहुन्छ?

85 तपाईंको व्यवस्थाअनुसार नचल्ने घमन्डीहरूले मेरा निम्ति खाडल खनेका छन्।

86 तपाईंका सबै आज्ञा विश्वासयोग्य छन्; तिनीहरूले मलाई बिनाकारण सताउँछन्; मलाई सहायता गर्नुहोस्।

87 तिनीहरूले मलाई झन्डै पृथ्वीमा नाश पारेका थिए; तर मैले तपाईंका आदेशहरू त्यागिनँ।

88 तपाईंको करुणाअनुसार मलाई फेरि पुनर्जीवित पार्नुहोस्; अनि म तपाईंको मुखको साक्षी-वचन पालन गर्नेछु।

89 हे परमप्रभु, स्वर्गमा तपाईंको वचन सदासर्वदा स्थिर छ।

90 तपाईंको विश्वसनीयता पुस्तौँ-पुस्तासम्म रहन्छ; तपाईंले पृथ्वी स्थापित गर्नुभएको छ र त्यो स्थिर रहन्छ।

91 तिनीहरू तपाईंको विधानअनुसार आजसम्म स्थिर छन्; किनकि ती सबै तपाईंका सेवक हुन्।

92 तपाईंको व्यवस्था मेरो आनन्द नहुँदो हो त म त्यति नै खेर आफ्नो कष्टमा नष्ट भइसक्ने थिएँ।

93 तपाईंका आदेशहरू म कहिल्यै बिर्सनेछैन; किनभने तीद्वारा नै तपाईंले मलाई पुनर्जीवित पार्नुभएको छ।

94 म तपाईंकै हुँ; मलाई बचाउनुहोस्; किनकि मैले तपाईंका आदेशहरूको खोजी गरेको छु।

95 दुष्टहरूले मलाई नाश गर्नका निम्ति ढुकिबसेका छन्; तर म त तपाईंका साक्षी-वचनमा ध्यान दिनेछु।

96 मैले सबै सिद्धताको अन्त देखेको छु; तर तपाईंको आज्ञा असीमित छ।

97 आहा ! तपाईंको व्यवस्थालाई म कति प्रेम गर्दछु ! दिनभरि मेरो ध्यान यसैमा रहिरहन्छ।

98 आफ्ना आज्ञाहरूद्वारा तपाईंले मलाई मेरा शत्रुहरूभन्दा पनि बुद्धिमान् तुल्याउनुभएको छ; किनभने ती सधैँ मसँगै छन्।

99 मेरा सबै गुरुभन्दा पनि मेरो समझ बढ्ता छ; किनकि तपाईंका साक्षी-वचन नै मेरो मनन हुन्।

100 धर्मगुरुहरूभन्दा म धेरै बुझ्दछु; किनकि म तपाईंका आदेशहरू पालन गर्दछु।

101 तपाईंको वचन पालन गरूँ भनेर मैले आफ्ना खुट्टा हरेक खराब मार्गदेखि रोकेको छु।

102 तपाईंका न्यायबाट म हटेको छैनँ; किनभने तपाईंले मलाई सिकाउनुभएको छ।

103 तपाईंका वचन मेरो जिब्रोको निम्ति कति मीठा छन् ! मेरो मुखको निम्ति महभन्दा पनि मीठा छन्।

104 तपाईंका आदेशद्वारा म समझशक्ति पाउँछु; यसैकारण हरेक झुटो मार्गलाई म घृणा गर्छु।

105 तपाईंको वचन मेरा खुट्टाका निम्ति बत्ती हो र मेरो बाटोको निम्ति ज्योति हो।

106 तपाईंका धार्मिक नियमहरू पालन गर्नेछु भनी मैले शपथ खाएको छु र म यसलाई पूरा गर्नेछु।

107 मैले साह्रै कष्ट भोगेको छु; हे परमप्रभु, तपाईंको वचनअनुसार मलाई पुनर्जीवित पार्नुहोस्।

108 हे परमप्रभु, म तपाईंलाई विन्ती गर्दछु, मेरो मुखका स्वेच्छा-बलि ग्रहण गर्नुहोस् र तपाईंका नियमहरू मलाई सिकाउनुहोस्।

109 मेरो प्राण निरन्तर मेरो हातमा छ; तापनि म तपाईंको व्यवस्था बिर्संदिनँ।

110 दुष्टहरूले मेरा निम्ति पासो थापेका छन्; तापनि म तपाईंका आदेशबाट हटेको छैनँ।

111 तपाईंका साक्षी-वचन मैले सधैँको निम्ति हकको सम्पत्तिको रूपमा अपनाएको छु;किनभने ती मेरो हृदयको हर्षकोकारण हुन्।

112 सधैँभरि, अँ अन्तसम्मै तपाईंका नियमहरू पालन गर्न मैले आफ्नो मन लगाएको छु।

113 व्यर्थका विचार म घृणा गर्छु; तर तपाईंको व्यवस्था म प्रेम गर्छु।

114 तपाईं मेरो आश्रय र मेरो ढाल हुनुहुन्छ; म तपाईंको वचनमा आशा राख्छु।

115 हे कुकर्मीहरू हो; मबाट हटिजाओ; किनकि म मेरा परमेश्वरका आज्ञापालन गर्नेछु।

116 आफ्नो वचनअनुसार तपाईंले मलाई सम्हाल्नुहोस् र म बाँचूँ; अनि मेरो आशाको खातिर मलाई सर्ममा पर्न नदिनुहोस्।

117 मलाई सम्हाल्नुहोस् र म सुरक्षित रहनेछु र म सधैँ तपाईंका नियमहरूमा ध्यान दिनेछु।

118 तपाईंका नियमहरूबाट भड्किएर जाने सबैलाई तपाईंले हटाउनुभएको छ; किनभने तिनीहरूको छल झुट नै हो।

119 पृथ्वीका सबै दुष्टलाई तपाईंले कसिङ्गरझैँ हटाउनुहुन्छ; यसकारण म तपाईंका साक्षी-वचन प्रेम गर्दछु।

120 तपाईंको डरले गर्दा मेरो शरीर काम्छ; अनि तपाईंका न्यायदेखि म डराउँछु।

121 मैले न्यायपूर्ण र उचित काम गरेको छु; ममाथि थिचोमिचो गर्नेहरूको हातमा मलाई नछोड्नुहोस्।

122 भलाइको निम्ति तपाईंका दासको जमानी हुनुहोस्; घमन्डीहरूले मलाई थिचोमिचो गर्न नपाऊन्।

123 तपाईंको उद्धार र धार्मिकताको वचनको बाटो हेर्दाहेर्दै मेरा आँखा नदेख्ने भएका छन्।

124 तपाईंको कृपाअनुसार तपाईंको दाससँग व्यवहार गर्नुहोस् र तपाईंका नियमहरू मलाई सिकाउनुहोस्।

125 म तपाईंको दास हुँ; मलाई समझ दिनुहोस् र म तपाईंका साक्षी-वचन जान्न सकूँ।

126 हे परमप्रभु, तपाईंले काम गर्ने समय आएको छ; किनभने तिनीहरूले तपाईंको व्यवस्था भङ्ग गरेका छन्।

127 यसैकारण म तपाईंका आज्ञालाई सुनभन्दा बढी, निखुर सुनभन्दा पनि बढ्ता प्रेम गर्दछु।

128 यसकारण म तपाईंका सबै आदेश हरेक विषयमा ठीक ठान्दछु र हरेक झुटो मार्ग म घृणा गर्दछु।

129 तपाईंका साक्षी-वचन अचम्मका छन्; यसैकारण मेरो प्राणले तिनीहरूलाई पालन गर्छ।

130 तपाईंका वचनको प्रवेशले ज्योति दिन्छ; यसले सोझाहरूलाई समझ दिन्छ।

131 मैले मेरो मुख पूरा खोलेँ र तिर्सना गरेँ; किनभने म तपाईंका आज्ञाको लागि प्यासी थिएँ।

132 तपाईंको नाउँ प्रेम गर्नेहरूलाई तपाईं जस्तो गर्नुहुन्थ्यो, त्यसरी नै मतिर फर्कनुहोस् र मप्रति कृपालु हुनुहोस्।

133 मेरा पाइला तपाईंको वचनमा स्थिर पारिदिनुहोस् र कुनै अधर्मले ममाथि राज्य गर्न नपाओस्।

134 मानिसको थिचोमिचोबाट मलाई मुक्त गर्नुहोस् र म तपाईंका आदेश पालन गर्नेछु।

135 तपाईंको दासमाथि तपाईंको मुहार चम्काउनुहोस् र तपाईंका नियमहरू मलाई सिकाउनुहोस्।

136 मेरा आँखाबाट आँसुका धारा बहन्छन् किनभने तिनीहरूले तपाईंको व्यवस्था पालन गर्दैनन्।

137 हे परमप्रभु, तपाईं धर्मी हुनुहुन्छ र तपाईंका न्याय सीधा छन्।

138 तपाईंले ठहराउनुभएका साक्षी-वचन धर्ममय र अतिविश्वसनीय छन्।

139 मेरो जोशले मलाई खाइसकेको छ; किनभने मेरा शत्रुहरूले तपाईंका वचन बिर्सेका छन्।

140 तपाईंको वचन शुद्ध छ; यसकारण तपाईंको दासले यसलाई प्रेम गर्दछ।

141 म क्षुद्र र तुच्छ छु; तैपनि म तपाईंका आदेश बिर्संदिनँ।

142 तपाईंको धार्मिकता अनन्तकालसम्म रहने धार्मिकता हो, अनि तपाईंको व्यवस्था सत्य छ।

143 मलाई सङ्कष्ट र वेदनाले पक्रेका छन्; तैपनि तपाईंका आज्ञा मेरो आनन्दको कारण हुन्।

144 तपाईंका साक्षी-वचनको धार्मिकता अनन्तको छ; मलाई समझ दिनुहोस् र म बाँच्नेछु।

145 मैले सम्पूर्ण हृदयले पुकारेँ; हे परमप्रभु, मलाई जवाफ दिनुहोस्; म तपाईंका नियमहरू पालन गर्नेछु।

146 मैले तपाईंलाई पुकारेँ; मलाई बचाउनुहोस् र म तपाईंका साक्षीवचन पालन गर्नेछु।

147 मिरमिरे उज्यालो खस्नुभन्दा पहिल्यै मैले पुकारेँ; मैले तपाईंको वचनमा आशा राखेँ।

148 तपाईंको वचनमा मनन गर्न सकूँ भनी मेरा आँखा रातका प्रहर-प्रहरमा खुला रहन्छन्।

149 तपाईंको करुणाअनुसार मेरो सोर सुन्नुहोस्; हे परमप्रभु, तपाईंको न्यायअनुसार मलाई पुनर्जीवित पार्नुहोस्।

150 दुष्टताको पछि लाग्नेहरू नजिक आइपुगेका छन्; तिनीहरू तपाईंको व्यवस्थाबाट टाढा छन्।

151 हे परमप्रभु, तपाईं नजिक हुनुहुन्छ र तपाईंका सबै आज्ञा सत्य छन्।

152 तपाईंका साक्षी-वचन मैले उहिलेदेखि जानेको छु, कि तपाईंले ती सधैँका निम्ति स्थापित गर्नुभएको छ।

153 मेरो कष्ट विचार गर्नुहोस् र मलाई छुटकारा दिनुहोस्; किनभने तपाईंको व्यवस्था म बिर्संदिनँ।

154 मेरो मुद्दा लड्नुहोस् र मलाई छुटाउनुहोस्; तपाईंको वचनअनुसार मलाई पुनर्जीवित पार्नुहोस्।

155 दुष्टहरूदेखि उद्धार टाढो हुन्छ, किनकि तिनीहरूले तपाईंका नियमहरूको खोजी गर्दैनन्।

156 हे परमप्रभु, तपाईंका कोमल कृपा महान् छन्; तपाईंका न्यायअनुसार मलाई पुनर्जीवित पार्नुहोस्।

157 मलाई सताउने र मेरा शत्रुहरू धेरै छन्; तापनि तपाईंका साक्षी-वचनबाट म हट्दिनँ।

158 मैले अपराधीहरूलाई देखेँ र म विरक्त भएँ; किनभने तिनीहरूले तपाईंको वचन पालन गरेनन्।

159 विचार गर्नुहोस्, तपाईंका आदेश म कति धेरै प्रेम गर्दछु; हे परमप्रभु, तपाईंको करुणाअनुसार मलाई पुनर्जीवित पार्नुहोस्।

160 तपाईंको वचन सुरुदेखि नै सत्य छ र तपाईंका धार्मिक नियमहरू हरेक सदासर्वदा रहिरहन्छ।

161 राजकुमारहरूले मलाई बिनाकारण सताएका छन्; तर मेरो हृदय तपाईंको वचनदेखि डराएको छ।

162 ठूलो लुटको माल पाउने मानिसझैँ म तपाईंको वचनमा रमाउँदछु।

163 झुट बोल्ने काम म घृणा गर्छु र तिरस्कार गर्छु; तर तपाईंको व्यवस्था म प्रेम गर्छु।

164 तपाईंका धार्मिक नियमहरूको कारण म दिनमा सातचोटि तपाईंको स्तुति गर्दछु।

165 तपाईंको व्यवस्था प्रेम गर्नेहरूले ठूलो शान्ति पाउँछन् र उनीहरूले कुनै कुरामा ठेस खानेछैनन्।

166 हे परमप्रभु, मैले तपाईंको उद्धारको आशा राखेको छु र तपाईंका आज्ञापालन गरेको छु।

167 मैले तपाईंका साक्षी-वचन पालन गरेको छु र म तिनलाई ज्यादै प्रेम गर्छु।

168 मैले तपाईंका आदेश र साक्षी-वचन पालन गरेको छु; किनभने मेरा सबै चाल तपाईंकै सामु छन्।

169 हे परमप्रभु, मेरो पुकार तपाईंको सामु पुगोस्; तपाईंका वचनअनुसार मलाई समझ दिनुहोस्।

170 मेरो अन्तर्विन्ती तपाईंको सामु पुगोस्; तपाईंको वचनअनुसार मलाई छुटकारा दिनुहोस्।

171 मेरा ओठहरूले प्रशंसा गरून्; किनभने तपाईंले मलाई तपाईंका नियमहरू सिकाउनुभएको छ।

172 मेरो जिब्रोले तपाईंको वचन बोल्नेछ, किनकि तपाईंका सबै आज्ञा धार्मिकता हुन्।

173 तपाईंको हातले मलाई सहायता गर्नुहोस्, किनभने मैले तपाईंका आदेश चुनेको छु।

174 हे परमप्रभु, मैले तपाईंको उद्धारको चाह गरेको छु; अनि तपाईंको व्यवस्था मेरो आनन्द हो।

175 मेरो प्राण बाँचोस् र यसले तपाईंको स्तुति गर्नेछ; अनि तपाईंका नियमहरूले मलाई सहायता गरून्।

176 हराएको भेडाझैँ म भड्किएको छु; तपाईंको दासलाई खोज्नुहोस्, किनभने मैले तपाईंका आज्ञाहरू बिर्सेको छैनँ।




120

1 मेरो सङ्कष्टमा मैले परमप्रभुलाई पुकारेँ, अनि उहाँले मेरो विन्ती सुन्नुभयो।

2 हे परमप्रभु, झुट बोल्ने ओठहरू र छली जिब्रोबाट मेरो प्राणलाई छुटकारा दिनुहोस्।

3 हे छली जिब्रो, तँलाई के दिइनेछ? अथवा तँलाई के थपिनेछ?

4 चेप्टे सल्लाको आगोसित योद्धाका तीखा वाणहरू !

5 मलाई धिक्कार छ, किनभने म मेशेकमा प्रवासी भई बसेको छु; म केदारका पालहरूमा बस्दछु।

6 मिलापलाई घृणा गर्नेसँग मेरो प्राणले धेरै समयदेखि वास गर्दै आएको धेरै भयो।

7 म त मिलाप खोज्छु; तर जब म बोल्छु, तब तिनीहरू लडाइँ गर्न खोज्छन्।




121

1 पर्वतहरूतिर म आफ्ना आँखा उठाउँछु; मेरो गुहार कहाँबाट आउँछ?

2 मेरो गुहार परमप्रभुबाट नै आउँछ, जसले स्वर्ग र पृथ्वी बनाउनुभयो।

3 उहाँले तिम्रो खुट्टा चिप्लन दिनुहुनेछैन; तिम्रो रक्षा गर्नुहुने कहिल्यै उँग्नुहुनेछैन।

4 हेर, इस्राएललाई रक्षा गर्नुहुने उँग्नुहुनेछैन, न त निदाउनुहुनेछ।

5 परमप्रभु तिम्रो रक्षक हुनुहुन्छ; परमप्रभु नै तिम्रो दाहिने हातपट्टि तिम्रो छहारी हुनुहुन्छ।

6 दिनको समयमा सूर्यले तिमीलाई पोल्नेछैन, न त रातको समयमा चन्द्रमाले हानी गर्नेछ।

7 परमप्रभुले तिमीलाई सबै खराबीबाट रक्षा गर्नुहुनेछ; उहाँले तिम्रो प्राणको सुरक्षा गर्नुहुनेछ।

8 तिमी बाहिर जाँदा र भित्र आउँदा अबदेखि उसो परमप्रभुले सदासर्वदा तिम्रो रक्षा गर्नुहुनेछ।




122

1 जब तिनीहरूले मलाई ‘लौ, हामी परमप्रभुको भवनमा जाऔं’ भने, तब म आनन्दित भएँ।

2 हे यरूशलेम, हाम्रा खुट्टा तेरा ढोकाहरूमा उभिनेछन्।

3 यरूशलेम एकसाथ टम्म मिलेको शहरझैँ बनिएको छ।

4 जहाँ कुल-कुलका मानिसहरू, परमप्रभुका कुलहरू परमप्रभुको नामलाई धन्यवाद चढाउन इस्राएलका साक्षीको निम्ति जान्छन्।

5 किनभने त्यहाँ न्यायका सिंहासनहरू छन्, दाऊदका घरानाका सिंहासनहरू स्थापित गरिएका छन्।

6 यरूशलेमको शान्तिको लागि प्रार्थना गर; जसले तँलाई प्रेम गर्छन्, उनीहरूले उन्नति गर्छन्।

7 तेरा पर्खालहरूभित्र शान्ति होओस् र तेरा महलहरूभित्र उन्नति होओस्।

8 मेरा दाजुभाइ र मेरा मित्रहरूको खातिर म अब भन्नेछु, ‘तँभित्र शान्ति होओस् !’

9 परमप्रभु, हाम्रा परमेश्वरको भवनको कारण म तेरो भलाइको खोजी गर्नेछु।




123

1 हे स्वर्गमा विराजमान हुनुहुने, तपाईंतिर म मेरा आँखा उठाउँछु।

2 2361?ुन्न तबसम्म हाम्रा आँखाले परमप्रभु हाम्रा परमेश्वरतिर हेरिरहन्छन्।

3 हामीमाथि दया गर्नुहोस्, हे परमप्रभु, हामीमाथि दया गर्नुहोस्; किनभने हामी असाध्यै अपमानले भरिएका छौं।

4 निश्चिन्त भएर बस्नेहरूको खिसी र घमन्डीहरूको अपमानले हाम्रो प्राण पूरा भरिएको छ।




124

1 हाम्रो पक्षमा हुनुहुने परमप्रभु यदि नहुनुभएको भए, इस्राएलले अब भनोस्,

2 मानिसहरू हाम्रा विरुद्धमा उठ्दा हाम्रो पक्षमा हुनुहुने परमप्रभु यदि नहुनुभएको भए;

3 तब, तिनीहरूको क्रोध हाम्रो विरुद्धमा दन्केको बेलामा, तिनीहरूले हामीलाई जिउँदै निल्नेथिए।

4 हामीमाथि बाढ उर्लनेथियो; भेलले हाम्रो प्राणलाई छोप्नेथियो।

5 तब उर्लिरहेको बाढले हाम्रो प्राणलाई छोप्नेथियो।

6 परमप्रभु धन्यको हुनुहुन्छ, जसले हामीलाई तिनीहरूका दाँतको शिकार हुन दिनुभएन।

7 शिकारीको पासोबाट चरा उम्केझैँ हाम्रो प्राण उम्केको छ; पासो छिन्यो र हामी उम्क्यौं।

8 आकाश र पृथ्वी बनाउनुहुने परमप्रभुको नाउँमा हाम्रो सहायता छ।




125

1 जसले परमप्रभुमाथि भरोसा गर्दछन्, उनीहरू सियोन-पर्वतझैँ हुनेछन्, जो डगमगाउन सक्तैन, तर सदासर्वदा रहिरहन्छ।

2 जसरी यरूशलेमको चारैतिर पहाडहरू छन्, त्यसरी नै अहिलेदेखि लिएर सदासर्वदा परमप्रभु आफ्नो जातिको चारैतिर रहनुहुन्छ।

3 किनभने दुष्टको राजदण्ड धर्मीजनको भागमा पर्नेछैन, नत्र त धर्मीजनले आफ्ना हात अधर्मतिर बढाउनेछन्।

4 हे परमप्रभु, असल गर्नेहरूलाई असलै गर्नुहोस् र उनीहरूलाई पनि, जो सोझा हृदयका छन्।

5 जो कुमार्गतिर लाग्दछन्, तिनीहरूलाई परमप्रभुले कुकर्मीहरूसित लैजानुहुनेछ। इस्राएलमा शान्ति होस्।




126

1 जब परमप्रभुले सियोनलाई कैदबाट फर्काएर ल्याउनुभयो, तब हामी सपना देख्नेहरूजस्तै भयौं;

2 त्यसपछि हाम्रो मुख हाँसो र हाम्रो जिब्रो गीतले भरियो; तब जाति-जातिको बीचमा तिनीहरूले भने, ‘परमप्रभुले तिनीहरूका निम्ति महान् काम गर्नुभएको छ।’

3 परमप्रभुले हाम्रा निम्ति महान् काम गर्नुभएको छ, यसर्थ हामी आनन्दित छौं।

4 हे परमप्रभु, दक्षिणका खोलाहरूझैँ हामीलाई कैदबाट फर्काएर ल्याउनुहोस्।

5 जसले आँसु बहाउँदै छर्छन्, उनीहरूले हर्षसहित कटनी गर्नेछन्।

6 बीउ बोकेर रुँदै-रुँदै अघि बढ्ने मानिसहरू निश्चय नै आफ्नो बिटा बोकेर हर्षको गीत गाउँदै फर्कनेछन्।




127

1 परमप्रभुले नै घरनिर्माण गर्नुभएन भने त बनाउनेहरूले व्यर्थमा यसमा परिश्रम गर्दछन्; परमप्रभुले नै शहरको रक्षा गर्नुभएन भने त व्यर्थमा पहरेदार जागो बस्दछ।

2 एकाबिहानै उठ्नु, अबेरसम्म जागा बस्नु र शोकको रोटी खानु तिमीहरूको निम्ति व्यर्थ छ; किनकि उहाँले आफ्नो प्रियजनलाई निद्रा दिनुहुन्छ।

3 हेर, छोराछोरी परमप्रभुले दिनुभएको हकको सम्पत्ति हुन् र गर्भको फल उहाँको इनाम हो।

4 वीर योद्धाको हातमा भएका काँडहरूझैँ युवावस्थाका छोराछोरी हुन्छन्।

5 त्यो मानिस धन्यको हो, जसले आफ्नो ठोक्रो उनीहरूले भरेको छ; उनीहरू सर्ममा पर्नेछैनन्, तर उनीहरू ले मूलढोकामा शत्रुहरूको सामना गर्नेछन्।




128

1 धन्य हो त्यो मानिस, जसले परमप्रभुको भय मान्दछ, जो उहाँका मार्गमा हिँड्दछ।

2 किनभने तिमीले आफ्ना हातको परिश्रमको फल खानेछौ; तिमी सुखी हुनेछौ र तिम्रो भलाइ हुनेछ।

3 तिम्री पत्नी तिम्रो घरको छेउमा भएको अङ्गुरको बोटझैँ हुनेछिन् र तिम्रा छोराछोरी तिम्रो टेबुलको चारैतिर जैतूनका मुनाझैँ हुनेछन्।

4 हेर, जसले परमप्रभुको भय मान्दछ, उसले यसरी नै आशिष् पाउनेछ।

5 परमप्रभुले तिमीलाई सियोनबाट आशिष् दिनुहुनेछ र आफ्नो जीवनभरि नै तिमीले यरूशलेमको भलाइ देख्नेछौ।

6 अँ, तिमीले आफ्ना नातिनातिनालाई देख्नेछौ। इस्राएलमा शान्ति होओस्।




129

1 मेरो युवावस्थादेखि नै तिनीहरूले मलाई धेरैचोटि कष्ट दिएका छन्, इस्राएलले अब यसो भनोस्

2 मेरो युवावस्थादेखि नै तिनीहरूले मलाई धेरैचोटि कष्ट दिएका छन्, तापनि तिनीहरू ममाथि विजयी भएका छैनन्।

3 हलीहरूले मेरो पिठयुँमा जोते; तिनीहरूले आ-आफ्ना सिया लामो पारे।

4 परमप्रभु धर्मी हुनुहुन्छ; उहाँले दुष्टहरूका बन्धन काटेर टुक्राटुक्रा पार्नुभएको छ।

5 सियोनलाई घृणा गर्नेहरू सबै सर्ममा परून् र पछि हटेर जाऊन्।

6 तिनीहरू घरका छानाको घाँसजस्ता होऊन्, जो बढ्नुभन्दा पहिल्यै ओइलिहाल्छ;

7 जसबाट घाँसीले आफ्नो मुट्ठी भर्दैन, न त बिटा बाँध्नेले आफ्नो अँगालो भर्दछ।

8 त्यहाँबाट भएर जानेहरूले यसो पनि भन्दैनन्, ‘‘परमप्रभुको आशिष् तिमीहरूमाथि रहोस्। हामी तिमीहरूलाई परमप्रभुको नाउँमा आशिष् दिन्छौं।’’




130

1 हे परमप्रभु, गहिराइबाट मैले तपाईंलाई पुकारेको छु।

2 हे परमप्रभु, मेरो सोर सुन्नुहोस्; मेरा अन्तर्विन्तीको आवाजतिर तपाईंका कानले ध्यान देऊन्।

3 हे परमप्रभु, तपाईंले अधर्मको लेखा लिनुभयो भने त, हे परमप्रभु, को खडा रहन सक्ला र?

4 तर तपाईंमा पाप क्षमा छ, जसले गर्दा तपाईंको भय मानियोस्।

5 म परमप्रभुको बाटो हेर्छु, मेरो प्राणले बाटो हेर्छ र उहाँको वचनमा म आशा राख्छु।

6 पालेहरूले बिहानको बाटो हेरेको भन्दा धेरै, अँ पालेहरूले बिहानको बाटो हेरेको भन्दा धेरै मेरो प्राणले परमप्रभुको बाटो हेर्दछ।

7 इस्राएलले परमप्रभुमा आशा राखोस्; किनभने परमप्रभुमा कृपा छ र उहाँमा प्रशस्त छुटकारा छ।

8 उहाँले नै इस्राएललाई सबै अधर्मबाट छुटकारा दिनुहुनेछ।




131

1 हे परमप्रभु, मेरो हृदय अहङ्कारी छैन, न त मेरा आँखा नै घमन्डी छन्; अनि जुन कुरा ठूला र मेरा निम्ति अति अद्भुत छन्, तिनमा म आफूलाई अल्झाउँदिनँ।

2 साँच्चै, मैले आफूलाई आफ्नी आमाको दूध छोडाइएको बालकझैँ शान्त र चुप गराएको छु; मेरो प्राण दूध छुडाइएको बालकझैँ छ।

3 अहिलेदेखि लिएर सदासर्वदा इस्राएलले परमप्रभुमा आशा राखोस्।




132

1 हे परमप्रभु, दाऊद र उनका सबै कष्टको सम्झना गर्नुहोस्,

2 उनले कसरी परमप्रभुसँग शपथ खाएका छन् र याकूबका शक्तिशाली परमेश्वरसित भाकल गरेका छन्:

3 ‘निश्चय नै म तबसम्म आफ्नो घरको वासस्थानभित्र पस्नेछैनँ, न त म आफ्नो खाटमा चढ्नेछु;

4 म मेरा आँखा निदाउन दिनेछैनँ, न त मेरा पलकलाई उँग्न नै दिनेछु;

5 जबसम्म परमप्रभुको निम्ति म एउटा ठाउँ र याकूबका शक्तिशाली परमेश्वरको निम्ति एउटा वासस्थान पाउँदिनँ।’

6 हेर, यसको विषयमा हामीले एप्रातामा सुन्यौं; हामीले यसलाई वनका खुला मैदानमा भेट्टायौं;

7 हामी उहाँका वासस्थानमा जानेछौं; हामी उहाँको पाउदानमा दण्डवत् गर्नेछौं।

8 हे परमप्रभु, उठ्नुहोस्, तपाईं आफ्नो सामर्थ्यको सन्दुकसित तपाईंको विश्रामस्थानभित्र आउनुहोस्।

9 तपाईंका पूजाहारीहरूले धार्मिकताको वस्त्र पहिरेका होऊन्; अनि तपाईंका पवित्रजन हर्षले जयजयकार गरून्।

10 आफ्नो दास दाऊदको खातिर आफ्नो अभिषिक्तजनलाई इन्कार नगर्नुहोस्।

11 परमप्रभुले दाऊदसँग इमानदारिसाथ शपथ खानुभएको छ; यस कुराबाट उहाँ पछि हट्नुहुन्न: ‘तिम्रै शरीरको फलबाट म तिम्रो सिंहासनमा बसाल्नेछु।’

12 यदि तिम्रा सन्तानले मैले सिकाएका मेरा वाचा र साक्षी-वचन पालन गरे भने तिनीहरूका सन्तान पनि सधैँभरि तिम्रो सिंहासनमाथि बस्नेछन्।

13 किनभने परमप्रभुले सियोनलाई चुन्नुभएको छ; उहाँले यसलाई आफ्नो वासस्थानका निम्ति चाहनुभएको छ।

14 ‘यो सधैँको निम्ति मेरो विश्रामस्थान हो; यहाँ म बस्नेछु, किनकि यसलाई मैले चाहेको छु।

15 म यसको खानेकुरामा प्रशस्त गरी आशिष् दिनेछु; म यसका गरिबहरूलाई भोजनले तृप्त पार्नेछु।

16 यसका पूजाहारीहरूलाई म उद्धारको वस्त्र पहिराउनेछु; अनि यसका पवित्रजनले हर्षले जयजयकार गर्नेछन्।

17 त्यहीँ म दाऊदको सिङको टुसा उमार्नेछु; मैले मेरा अभिषिक्तजनको लागि एउटा बत्ती तयार पारेको छु।

18 उनका शत्रुहरूलाई म सर्मको वस्त्र पहिराउनेछु; तर उनीमाथि उनको मुकुट चम्कनेछ।’




133

1 हेर, दाजुभाइ एकतामा एकसाथ बस्नु कति असल र मनोहर कुरा हुन्छ !

2 यो त शिरमाथिको त्यो बहुमूल्य तेलजस्तो हो, जो दाह्रीमा, अँ, हारूनको दाह्रीमा बगेथ्यो, जो बग्दै-बग्दै उनका वस्त्रको किनारसम्मै पुगेको थियो।

3 यो हेर्मोनको शीतजस्तो, सियोनका पहाडमाथि खसेको शीतजस्तो हो; किनभने परमप्रभुले त्यहीँ नै आशिष्, सदासर्वदा रहने जीवन ठहर्याउनुहुन्छ।




134

1 हे परमप्रभुका सबै सेवक हो, जो रातको समयमा परमप्रभुको भवनमा उभिन्छौ, परमप्रभुलाई धन्यको भन।

2 पवित्रस्थानमा आफ्ना हातहरू उठाओ र परमप्रभुलाई धन्यको भन।

3 स्वर्ग र पृथ्वी बनाउनुहुने परमप्रभुले सियोनबाट तिमीलाई आशिष् देऊन्।




135

1 परमप्रभुको स्तुति गर, परमप्रभुको नाउँको स्तुति गर; हे परमप्रभुका सेवकहरू हो, उहाँको स्तुति गर !

2 तिमीहरू, जो परमप्रभुको भवनमा, हाम्रा परमेश्वरको भवनका चोकहरूमा उभिन्छौ,

3 परमप्रभुको स्तुति गर, किनभने परमप्रभु भलो हुनुहुन्छ। उहाँको नाउँको स्तुति गाओ, किनभने यो मनोहर छ।

4 किनकि परमप्रभुले याकूबलाई आफ्नै निम्ति चुन्नुभएको छ, इस्राएललाई आफ्नो निज सम्पत्ति हुनका निम्ति चुन्नुभएको छ।

5 किनभने म जान्दछु, परमप्रभु महान् हुनुहुन्छ र हाम्रा प्रभु सबै देवभन्दा महान् हुनुहुन्छ।

6 परमप्रभुले जे जे कुरा गर्न चाहनुभयो, ती सबै कुरा उहाँले स्वर्ग, पृथ्वी, समुद्र र सबै गहिरा ठाउँमा गर्नुभयो।

7 उहाँले पृथ्वीको छेउबाट कुइरो उठाउनुहुन्छ; उहाँले वर्षाका निम्ति बिजुली बनाउनुहुन्छ; उहाँले आफ्ना भण्डारहरूबाट बतास निकाल्नुहुन्छ।

8 उहाँले मिश्रदेशमा मानिस र पशु दुवैका जेठा-जेठालाई मार्नुभयो।

9 हे मिश्रदेश, उहाँले तेरै बीचमा, फारो र त्यसका सबै भारादारमाथि चिन्ह र अचम्मका कामहरू पठाउनुभयो।

10 उहाँले धेरै जातिलाई प्रहार गर्नुभयो रसामर्थी राजाहरूलाई मार्नुभयो;

11 एमोरीहरूको राजा सीहोन र बाशानको राजा ओग, साथै कनानका सबै राज्यलाई;

12 अनि उहाँले तिनीहरूका देश आफ्नो निज प्रजा इस्राएललाई पैतृक सम्पत्तिको रूपमा दिनुभयो।

13 हे परमप्रभु, तपाईंको नाउँ सदासर्वदा रहिरहन्छ; हे परमप्रभु, तपाईंको सम्झना पुस्तौं-पुस्तासम्म रहिरहन्छ।

14 किनभने परमप्रभुले आफ्ना प्रजाको न्याय गर्नुहुनेछ र आफ्ना दासहरूको विषयमा पछुताउनुहुनेछ।

15 जाति-जातिका मूर्तिहरू त सुन र चाँदी हुन्, मानिसका हस्तकला हुन्।

16 तिनीहरूका मुख छन् तर बोल्दैनन्; तिनीहरूका आँखा छन् तर देख्दैनन्।

17 तिनीहरूका कान छन् तर सुन्दैनन्; न त तिनीहरूको मुखमा सास नै छ।

18 जसले तिनीहरूलाई बनाए, ती पनि तिनीहरूजस्तै छन्; तिनीहरूमाथि भरोसा गर्नेहरू पनि तिनीहरूजस्तै हुनेछन्।

19 हे इस्राएलका घराना हो, परमप्रभुलाई धन्यको भन; हे हारूनको घराना हो, परमप्रभुलाई धन्यको भन;

20 हे लेवीको घराना हो, परमप्रभुलाई धन्यको भन; हे परमप्रभुको भय मान्नेहरू हो,परमप्रभुलाई धन्यको भन।

21 सियोनको परमप्रभु धन्यका होऊन्, जो यरूशलेममा वास गर्नुहुन्छ, परमप्रभुको स्तुति गर।




136

1 परमप्रभुलाई धन्यवाद चढाओ; किनकि उहाँ भलो हुनुहुन्छ; किनभने उहाँको करुणा सदासर्वदा रहिरहन्छ।

2 देवहरूका परमेश्वरलाई धन्यवाद चढाओ; किनभने उहाँको करुणा सदासर्वदा रहिरहन्छ।

3 प्रभुहरूका परमप्रभुलाई धन्यवाद चढाओ; किनभने उहाँको करुणा सदासर्वदा रहिरहन्छ;

4 उहाँलाई, जसले एक्लैले महाआश्चर्यकर्म गर्नुहुन्छ; किनभने उहाँको करुणा सदासर्वदा रहिरहन्छ;

5 उहाँलाई, जसले बुद्धिले आकाश बनाउनुभयो; किनभने उहाँको करुणा सदासर्वदा रहिरहन्छ;

6 उहाँलाई, जसले पानीमाथि पृथ्वीलाई फैलाउनुभयो; किनभने उहाँको करुणा सदासर्वदा रहिरहन्छ;

7 उहाँलाई, जसले ठूला-ठूला ज्योति बनाउनुभयो; किनभने उहाँको करुणा सदासर्वदा रहिरहन्छ;

8 दिनमा राज्य गर्नको निम्ति सूर्य बनाउनुभयो; किनभने उहाँको करुणा सदासर्वदा रहिरहन्छ;

9 रातमा राज्य गर्नको निम्ति चन्द्रमा र ताराहरू बनाउनुभयो; किनभने उहाँको करुणा सदासर्वदा रहिरहन्छ;

10 उहाँलाई, जसले मिश्रदेशका जेठाजेठालाई मार्नुभयो; किनभने उहाँको करुणा सदासर्वदा रहिरहन्छ;

11 इस्राएललाई तिनीहरूको बीचबाट निकालेर ल्याउनुभयो; किनभने उहाँको करुणा सदासर्वदा रहिरहन्छ;

12 शक्तिशाली हात र फैलाइएको बाहुबलले तिनीहरूलाई निकालेर ल्याउनुभयो; किनभने उहाँको करुणा सदासर्वदा रहिरहन्छ;

13 उहाँलाई, जसले लालसमुद्र दुई भागमा विभाजित गर्नुभयो; किनभने उहाँको करुणा सदासर्वदा रहिरहन्छ;

14 उहाँले इस्राएललाई त्यसको बीचबाट पार गराउनुभयो; किनभने उहाँको करुणा सदासर्वदा रहिरहन्छ;

15 उहाँले फारो र त्यसको सेनालाई लालसमुद्रमा फ्याँकिदिनुभयो; किनभने उहाँको करुणा सदासर्वदा रहिरहन्छ;

16 उहाँले आफ्नो प्रजालाई उजाडस्थानद्वारा डोर्याउँदै लैजानुभयो; किनभने उहाँको करुणा सदासर्वदा रहिरहन्छ;

17 उहाँले ठूला-ठूला राजाहरूलाई प्रहार गर्नुभयो; किनभने उहाँको करुणा सदासर्वदा रहिरहन्छ;

18 उहाँले सामर्थी राजाहरूलाई मार्नुभयो; किनभने उहाँको करुणा सदासर्वदा रहिरहन्छ;

19 उहाँले एमोरीहरूको राजा सीहोनलाई मार्नुभयो; किनभने उहाँको करुणा सदासर्वदा रहिरहन्छ;

20 उहाँले बाशानको राजा ओगलाई मार्नुभयो; किनभने उहाँको करुणा सदासर्वदा रहिरहन्छ;

21 उहाँले तिनीहरूको देश पैतृक सम्पत्तिको रूपमा दिनुभयो; किनभने उहाँको करुणा सदासर्वदा रहिरहन्छ;

22 उहाँले त्यो देश आफ्नो दास इस्राएलको पैतृक सम्पत्तिको निम्ति दिनुभयो; किनभने उहाँको करुणा सदासर्वदा रहिरहन्छ;

23 उहाँले हामीलाई हाम्रो दीन अवस्थामा सम्झनुभयो; किनभने उहाँको करुणा सदासर्वदा रहिरहन्छ;

24 उहाँले हामीलाई हाम्रा शत्रुहरूबाट छुटकारा दिनुभयो; किनभने उहाँको करुणा सदासर्वदा रहिरहन्छ;

25 उहाँले सबै प्राणीलाई आहार दिनुहुन्छ; किनभने उहाँको करुणा सदासर्वदा रहिरहन्छ।

26 स्वर्गका परमेश्वरलाई धन्यवाद चढाओ; किनभने उहाँको करुणा सदासर्वदा रहिरहन्छ।




137

1 बेबिलोनका नदीहरूका किनारमा हामी बस्यौं; सियोनलाई सम्झना गर्यौं र रोयौं।

2 त्यसको बीचमा हामीले बैँसका रूखहरूमा आफ्ना वीणाहरू झुन्डयायौं।

3 किनभने हामीलाई कैद गरेर लैजानेहरूले त्यहाँ हामीलाई गीत गाउन लगाए र हामीलाई सास्ती दिनेहरूले यसो भन्दै हामीबाट मनोरञ्जन खोजे: ‘हाम्रो लागि सियोनका गीतहरूमध्ये कुनै एउटा गीत गाओ।’

4 पराई देशमा हामी कसरी परमप्रभुको गीत गाऔं?

5 हे यरूशलेम, मैले तँलाई बिर्सें भने मेरो दाहिने हातले आफ्नो सीप बिर्सोस् !

6 मैले तँलाई सम्झना गरिनँ भने, यरूशलेमलाई मेरो सर्वोत्तम आनन्दभन्दा श्रेष्ठ ठानिनँ भने, मेरो जिब्रो मेरो मुखको तालुमा टाँसियोस्।

7 हे परमप्रभु, यरूशलेमको पतनको दिनमा एदोमीहरूलाई सम्झनुहोस्, जसले भनेका थिए: ‘यसलाई भत्काओ। यसको जगसम्मै यसलाई ढालिदेओ।’

8 हे बेबिलोनकी छोरी, तँ उजाड पारिनेछेस्; तैँले हामीलाई जस्तो व्यवहार गरेकी छस्, त्यही प्रकारले जसले तँलाई बदला लिनेछ, त्यो धन्यको हुनेछ।

9 जसले तेरा बालबच्चालाई पक्रेर ढुङ्गामा पछार्ला, त्यो धन्यको हुनेछ।




138

1 मेरो सम्पूर्ण हृदयले म तपाईंको प्रशंसा गर्नेछु; देवहरूको सामु म तपाईंको स्तुति गाउनेछु।

2 तपाईंको पवित्र मन्दिरतर्फ म दण्डवत् गर्नेछु र तपाईंको करुणा र तपाईंको सत्यताका निम्ति तपाईंको नाउँको प्रशंसा गर्नेछु; किनभने तपाईंले आफ्नो वचन आफ्नो सबै नाउँभन्दा उच्चतुल्याउनुभएको छ।

3 मैले पुकारेको दिनमा तपाईंले मलाई जवाफ दिनुभयो; तपाईंले मेरो प्राणलाई बल दिईकन मलाई साहसिलो तुल्याउनुभयो।

4 हे परमप्रभु, पृथ्वीका सबै राजाले तपाईंको प्रशंसा गर्नेछन्; किनकि तिनीहरूले तपाईंको मुखका वचन सुनेका छन्।

5 तिनीहरूले परमप्रभुका मार्गहरूको विषयमा गाउनेछन्; किनभने परमप्रभुको महिमा महान् छ।

6 परमप्रभु उच्च हुनुभए तापनि उहाँले नम्रलाई हेर्नुहुन्छ, तर घमण्डीलाई उहाँले टाढैबाट चिन्नुहुन्छ।

7 सङ्कष्टको बीचमा म हिँडे तापनि तपाईंले मलाई पुनर्जीवित पार्नुहुनेछ। मेरा शत्रुहरूको क्रोधको विरुद्धमा तपाईंले आफ्नो हात फैलाउनुहुनेछ र तपाईंको दाहिने हातले मलाई बचाउनेछ।

8 परमप्रभुले मेरो विषयमा भएका कुरा पूरा गर्नुहुनेछ; हे परमप्रभु, तपाईंको करुणा सदासर्वदा रहिरहन्छ; तपाईंका हातका कामहरूलाई नत्याग्नुहोस्।




139

1 हे परमप्रभु, तपाईंले मलाई जाँच गर्नुभएको छ र जान्नुभएको छ।

2 तपाईंले मेरो बसाइ र मेरो उठाइ जान्नुहुन्छ; तपाईंले टाढैबाट मेरो विचार बुझ्नुहुन्छ।

3 मेरो हिँडाइ र मेरो सुताइ तपाईंले छानबिन गर्नुहुन्छ र मेरा सबै चालचलनसँग तपाईं परिचित हुनुहुन्छ।

4 किनभने मेरो जिब्रोमा कुनै शब्द आउनअघि नै हेर्नुहोस्, हे परमप्रभु, तपाईंले त्यसलाई सम्पूर्णरूपले जान्नुहुन्छ।

5 तपाईंले मलाई अघिपछि घेर्नुभएको छ र तपाईंको हात ममाथि राख्नुभएको छ।

6 मेरो लागि यस्तो ज्ञान अति अचम्मको छ; यो अति उच्च छ, म त्यहाँसम्म पुग्नै सक्दिनँ।

7 तपाईंको आत्मादेखि म कहाँ जाऊँ? अथवा तपाईंको उपस्थितिबाट म कहाँ भागूँ?

8 म आकाशमा उक्लेँ भने, तपाईं त्यहाँ हुनुहुन्छ; हेर्नुहोस्, मैले पातालमा आफ्नो ओछयान बनाएँ भने, त्यहाँ पनि तपाईं हुनुहुन्छ।

9 म प्रभातको पखेटामा उडेर समुद्रका आखिरी भागहरूमा गई बसेँ भने पनि,

10 त्यहाँ पनि तपाईंको हातले डोर्याउनेछ र तपाईंको दाहिने हातले मलाई समात्नेछ।

11 ‘‘निश्चय अन्धकारले मलाई ढाक्नेछ र रो वरिपरि ज्योति रात हुनेछ’’ भनी ले भने पनि,

12 अन्धकार तपाईंको निम्ति रात हुनेछैन, रात त दिनजस्तै चम्कन्छ, तपाईंको निम्ति अँध्यारो र उज्यालो दुवै एकै हुन्।

13 किनभने तपाईंले नै मेरो अन्तस्करणलाई सृष्टि गर्नुभयो; मेरी आमाको गर्भमा तपाईंले मलाई रच्नुभयो।

14 म तपाईंको प्रशंसा गर्नेछु; किनभने म भययोग्य र आश्चर्यपूर्ण रीतिले बनाइएको छु; तपाईंका काम अचम्मका छन् र मेरो प्राणले यो कुरा राम्ररी जान्दछ।

15 जब म गुप्तमा बनिएँ, जुन समयमा म पृथ्वीका सबभन्दा तल्ला भागमा अनौठो प्रकारले बनिएँ, तब मेरो रचना तपाईंबाट लुकेको थिएन।

16 तपाईंका आँखाले मेरो नबनिएको शरीरलाई देखे। मेरो निम्ति नियुक्त गरिएको आयु तपाईंको पुस्तकमा लेखिएको थियो। त्यसको एउटै पनि कुरा पूर्ण हुनअघि सब लेखिएका थिए।

17 हे परमेश्वर, तपाईंका विचार मेरो निम्ति कति बहुमूल्य छन् ! तिनको योगफल कति महान् छ !

18 मैले तिनलाई गन्ती गर्नु हो भने ती बालुवाभन्दा बढी छन्। जब म बिउँझन्छु, तब म अझ तपाईंसँगै हुन्छु।

19 हे परमेश्वर, निश्चय तपाईंले दुष्टलाई मार्नुहुनेछ; यसकारण हे रक्तपात गर्ने मानिसहरू हो, मदेखि हटिजाओ।

20 किनभने तिनीहरू तपाईंको विरुद्धमा दुष्ट कुरा बोल्छन् र तपाईंका शत्रुहरूले तपाईंको नाउँ व्यर्थमा लिन्छन्।

21 हे परमप्रभु, के तपाईंलाई घृणा गर्नेहरूलाई म घृणा गर्दिनँ र? अनि के मैले तपाईंको विरुद्धमा उठ्नेहरूलाई हेला गरेको छैनँ र?

22 म तिनीहरूलाई पूरै घृणा गर्दछु; म तिनीहरूलाई मेरा शत्रु ठान्दछु।

23 हे परमेश्वर मलाई जाँच्नुहोस् र मेरो हृदयलाई जान्नुहोस्, मलाई जाँच्नुहोस् र मेरा विचार बुझ्नुहोस्;

24 ममा कहीँ कुनै दुष्टचाल पो छ कि भनी हेर्नुहोस् र मलाई अनन्तको मार्गमा डोर्याउनुहोस्।




140

1 हे परमप्रभु, खराब मानिसबाट मलाई छुटकारा दिनुहोस्; अत्याचारी मानिसबाट मलाई रक्षा गर्नुहोस्;

2 जसले आफ्नो हृदयमा खराब युक्ति रच्दछन्, तिनीहरूले नै दिनदिनै निरन्तर लडाइँ मच्चाइरहन्छन्।

3 तिनीहरूले साँपले झैँ आफ्नो जिब्रो उध्याएका छन्; तिनीहरूका ओठमुनि साँभे सर्पको विष छ। सेला

4 हे परमप्रभु, दुष्टका हातबाट मलाई बचाउनुहोस्; अत्याचारी मानिसबाट मलाई रक्षा गर्नुहोस्, जसले मेरा पाइला चिप्लाउने युक्ति गरेका छन्।

5 घमन्डीहरूले मेरो निम्ति पासो र बन्धनहरू लुकाएका छन्; तिनीहरूले बाटोका किनारमा जाल थापेका छन्; तिनीहरूले मेरो निम्ति धराप थापेका छन्। सेला

6 मैले परमप्रभुलाई भनेँ, ‘तपाईं मेरा परमेश्वर हुनुहुन्छ; हे परमप्रभु, मेरो अन्तर्विन्तीको सोर सुन्नुहोस्।’

7 हे परमप्रभु परमेश्वर, मेरो उद्धारको बल, लडाइँको दिनमा तपाईंले मेरो शिर ढाकिदिनुभएको छ।

8 हे परमप्रभु, दुष्टका लालसा पूरा हुन नदिनुहोस्; त्यसको दुष्ट युक्ति सफल हुन नदिनुहोस्, नत्र तिनीहरूले आफ्नो शिर ठाडो पार्नेछन्। सेला

9 मलाई चारैतिरबाट घेर्नेहरूको शिर तिनीहरूका आफ्नै ओठको दुष्टताले ढाकोस्।

10 आगाको झरझराउँदो भुङ्ग्रो तिनीहरूमाथि ओइरियोस्; तिनीहरू आगोभित्र खसून्, गहिरा खाडलभित्र खसून् र तिनीहरू फेरि नऊठून्।

11 खराब बोलीवचन गर्ने मानिस पृथ्वीमा स्थापित नहोस्, अत्याचारी मानिसलाई एकमाथि अर्को गर्दै खराबीले खेदो गरोस्।

12 म जान्दछु, परमप्रभुले थिचोमिचोमा परेको मानिसको पक्षमा लड्नुहुनेछ, खाँचोमा परेकाहरूको न्याय गरिदिनुहुनेछ।

13 निश्चय धर्मीजनले तपाईंको नामलाई धन्यवाद चढाउनेछन्; सोझाहरूले तपाईंको उपस्थितिमा वास गर्नेछन्।




141

1 हे परमप्रभु, म तपाईंलाई पुकार्छु; मकहाँ आउन हतार गर्नुहोस्; मैले तपाईंलाई पुकार्दा मेरो सोरतिर ध्यान दिनुहोस्।

2 मेरो प्रार्थना तपाईंको सामुन्ने सुगन्धित धूपजस्तै होस् र मैले आफ्ना हात उचाल्दा, त्यो बेलुकीको बलिजस्तै ठहरिओस्।

3 हे परमप्रभु, मेरो मुखको निम्ति पाले राखिदिनुहोस्; मेरा ओठको ढोकामा पहरा दिनुहोस्।

4 अधर्म गर्ने मानिसहरूसित दुष्ट काम गर्न मेरो हृदय ढल्कन नदिनुहोस् रतिनीहरूका स्वादिष्ठ भोजनबाट मैले खान नपरोस्।

5 धर्मीजनले मलाई हिर्काऊन्; त्यो त दया ठहरिनेछ; तिनले मलाई हप्काऊन्; त्यो उत्तम तेल मानिनेछ, जसलाई मेरो शिरले अस्वीकार गर्नेछैन; किनभने तिनीहरूका विपत्तिमा मेरो प्रार्थना अझ पनि अटुट रहनेछ।

6 जब तिनीहरूका न्यायाधीशहरू पहरामाथिबाट खसालिन्छन्, तब तिनीहरूले मेरा वचन सुन्नेछन्,किनभने ती मीठा छन्।

7 कसैले जमिनमा दाउरा काट्दा र चिर्दा भएझैँ हाम्रा हड्डी चिहानको मुखमा छरिएका छन्।

8 तर हे परमप्रभु परमेश्वर, मेरा आँखा तपाईंतिर लगाइएका छन्; तपाईंमा म शरण लिन्छु; मेरो प्राणलाई सहाराहीननबनाउनुहोस्।

9 तिनीहरूले मेरो निम्ति थापेको पासो र कुकर्मीका धरापबाट मलाई जोगाउनुहोस्।

10 दुष्टहरू आफ्नै जालभित्र परून्, जब म सुरक्षित उम्कन सकूँ।




142

1 मेरो सोरले मैले परमप्रभुलाई पुकारेँ; मेरो सोरले नै मैले परमप्रभुलाई अन्तर्विन्ती चढाएँ।

2 उहाँको सामु मैले मेरो गुनासो पोखेँ; उहाँकै सामु मैले आफ्नो दु:ख प्रकट गरेँ।

3 मभित्र मेरो आत्मा खिन्न हुँदा तपाईंले मेरो चाल जान्नुहुन्थ्यो। म हिँडेको बाटोमा तिनीहरूले मेरो निम्ति गुप्तरूपले पासो थापेका छन्।

4 मैले मेरो दाहिनेतिर नजर लगाएँ, तर त्यहाँ मलाई चिन्ने कोही थिएन; मेरो निम्ति कुनै उम्किने बाटो थिएन; कसैले मेरो प्राणको वास्ता गरेन।

5 हे परमप्रभु, मैले तपाईंलाई पुकारेँ; मैले भनेँ,‘तपाईं मेरो शरणस्थान हुनुहुन्छ रजीवितहरूको देशमा मेरो भाग हुनुहुन्छ।’

6 मेरो पुकारतिर ध्यान दिनुहोस्; किनकि म धेरै खिन्न भएको छु। मलाई सताउनेहरूबाट मलाई छुटकारा दिनुहोस्; किनकि तिनीहरू मभन्दा बलिया छन्।

7 तपाईंको नाउँको प्रशंसा गर्न मेरो प्राणलाई कैदबाट छुटाउनुहोस्; धर्मीजनले मलाई घेर्नेछन्; किनभने तपाईंले मेरो प्रशस्त उपकार गर्नुहुनेछ।




143

1 हे परमप्रभु, मेरो प्रार्थना सुन्नुहोस्; मेरो अन्तर्विन्तीतिर ध्यान दिनुहोस्; तपाईंको विश्वसनीयता र तपाईंको धार्मिकताअनुसार मलाई जवाफ दिनुहोस्।

2 आफ्नो दासको विरुद्धमा मुद्दा नलड्नुहोस्; किनभने कुनै जिउँदो मानिस तपाईंको दृष्टिमा धर्मी छैन।

3 किनकि शत्रुले मेरो प्राणलाई सताएको छ; त्यसले मेरो जीवनलाई भुइँमा कुच्च्याएको छ; त्यसले मलाई उहिले मरेकाहरूझैँ अन्धकारमा राखेको छ।

4 यसैकारण मभित्र मेरो आत्मा खिन्न भएको छ; मभित्र मेरो हृदय उदास भएको छ।

5 म उहिलेका दिनहरू सम्झन्छु; म तपाईंका सबै काममा ध्यानपूर्वक विचार्छु; म तपाईंका हातको काममा मनन गर्छु।

6 तपाईंतिर म आफ्ना हात पसार्छु; बाँझो जमिनझैँ मेरो प्राण तपाईंको निम्ति तिर्खाउँछ। सेला

7 हे परमप्रभु, छिटो मेरो पुकार सुन्नुहोस्; मेरो आत्मा मूर्च्छित हुँदै छ। आफ्नो मुहार मदेखि नलुकाउनुहोस्; नत्र त म खाडलमा जानेहरूझैँ हुनेछु।

8 बिहानै मलाई तपाईंको करुणा सुन्ने तुल्याउनुहोस्; किनभने तपाईंमाथि म भरोसा राख्छु। जुन मार्गमा म हिँड्नुपर्छ, त्यो मार्ग जान्ने मलाई तुल्याउनुहोस्; किनकि तपाईंतिर म आफ्नो प्राण उठाउँछु।

9 हे परमप्रभु, मेरा शत्रुहरूबाट मलाई छुटकारा दिनुहोस्; आफूलाई लुकाउन म तपाईंकहाँ भागिआउँछु।

10 मलाई तपाईंको इच्छा पालन गर्न सिकाउनुहोस्; किनकि तपाईं मेरो परमेश्वर हुनुहुन्छ। तपाईंको असल प्रेरणाले मलाई सीधा मार्गमा डोर्याउनुहोस्।

11 हे परमप्रभु, आफ्नो नामको खातिर मलाई पुनर्जीवित पार्नुहोस्; तपाईंको धार्मिकताअनुसार मेरो प्राणलाई सङ्कष्टबाट छुटाउनुहोस्।

12 तपाईंको कृपाको कारणले मेरा शत्रुहरूलाई नष्ट पार्नुहोस् र मेरो प्राणलाई कष्ट दिने सबैलाई नष्ट गर्नुहोस्; किनभने म तपाईंको दास हुँ।




144

1 हे परमप्रभु, मेरा चट्टान, धन्यका होऊन्, जसले मेरा हातलाई युद्ध गर्न र मेरा औंलाहरूलाई लडाइँ गर्न सिकाउनुहुन्छ।

2 उहाँ मेरो करुणा र मेरो किल्ला हुनुहुन्छ; मेरो उच्च गढ र मेरो उद्धारक हुनुहुन्छ; मेरो ढाल र मेरो शरणस्थान हुनुहुन्छ, जसले मेरो प्रजालाई मेरो अधीनमा राख्नुहुन्छ।

3 हे परमप्रभु, मानिस के हो र तपाईंले त्यसको सुधी लिनुहुन्छ? अथवा मानिसको पुत्र के हो र तपाईं त्यसको वास्ता गर्नुहुन्छ?

4 मानिस त बाफजस्तो मात्र छ; यसको आयु बितिजाने छायाँजस्तो मात्र छ।

5 हे परमप्रभु, आफ्नो आकाश झुकाउनुहोस् र ओर्लनुहोस्; पहाडहरू छुनुहोस् र तीबाट धुवाँ निक्लेर आओस्।

6 बिजुली चम्काउनुहोस् र तिनीहरूलाई तितरबितर पार्नुहोस्; आफ्ना काँड हान्नुहोस् र तिनीहरूलाई सखाप पार्नुहोस्।

7 उच्च स्थानबाट आफ्नो हात पसारीकन महासागर र परदेशीका सन्तानको हातबाट मलाई बचाउनुहोस् र मलाई छुटकारा दिनुहोस्,

8 जसको मुखले व्यर्थ कुरा बक्दछ र जसको दाहिने हात झुटको दाहिने हात हो।

9 हे परमेश्वर, म तपाईंको निम्ति एउटा नयाँ गीत गाउनेछु; दशतारे वीणा बजाईकन म तपाईंको स्तुति गाउनेछु।

10 तपाईंले नै राजाहरूलाई उद्धार गर्नुहुन्छ; तपाईंले आफ्नो दास दाऊदलाई घातक तरवारबाट छुटकारा दिनुहुन्छ।

11 परदेशीका सन्तानको हातबाट मलाई बचाउनुहोस् र मलाई छुटकारा दिनुहोस्; जसको मुखले व्यर्थको कुरा बक्दछ र जसको दाहिने हात झुटको दाहिने हात हो;

12 हाम्रा छोराहरू आफ्ना जवानीमा बढेका रूखहरूजस्ता होऊन् र हाम्रा छोरीहरू महलको कुँदिएका कुने ढुङ्गाहरूजस्ता होऊन्;

13 हाम्रा ढुकुटी सब किसिमको अन्नले भरिभराउ होऊन्; हाम्रा भेडाबाख्राका बगालले मैदानहरूहुँदो हजारौं हजार जन्माऊन्।

14 हाम्रा गोरुहरूले गह्रौं भारी बोक्नेछन्, हाम्रा पर्खालहरू फोरिनेछैनन्, न हामी कैदमा जानुपर्नेछ, न त हाम्रा सडकहरूमा रुवाइको आवाज उठ्नेछ।

15 यस्तो अवस्थामा रहने मानिसहरू धन्यका हुन्; अँ, जुन मानिसका परमेश्वर परमप्रभु हुनुहुन्छ, ती धन्यका हुन्।




145

1 हे मेरा परमेश्वर, हे राजा, म तपाईंको प्रशंसा गर्नेछु र सदासर्वदा तपाईंको नामलाई धन्यको भन्नेछु।

2 हरेक दिन तपाईंलाई धन्यको भन्नेछु र सदासर्वदा तपाईंको नामको प्रशंसा गर्नेछु।

3 परमप्रभु महान् हुनुहुन्छ र स्तुतिको अतियोग्य हुनुहुन्छ अनि उहाँको महानता अगम्य छ।

4 एक पुस्ताले अर्को पुस्तासित तपाईंका कामको गुणगान गर्नेछ र तिनीहरूले तपाईंका शक्तिशाली कार्यहरूको बयान गर्नेछन्।

5 तपाईंको प्रतापको महिमापूर्ण श्रेष्ठता र तपाईंका अचम्मका कार्यहरूको विषयमा म बोल्नेछु।

6 मानिसहरूले तपाईंका भयानक कार्यहरूको सामर्थ्यको विषयमा कुरा गर्नेछन् र म तपाईंको महानताको बयान गर्नेछु।

7 तिनीहरूले तपाईंको प्रशस्त भलाइको सम्झनाको वर्णन गर्नेछन् र तपाईंको धार्मिकताको गीत गाउनेछन्।

8 परमप्रभु अनुग्रहकारी र दयाले भरपुर हुनुहुन्छ; रिसाउनमा ढिलो र अतिकरुणामय हुनुहुन्छ।

9 परमप्रभु सबैको निम्ति भलो हुनुहुन्छ र उहाँको कोमल कृपा उहाँका सबै काममाथि रहन्छ।

10 हे परमप्रभु, तपाईंका सबै कार्यले तपाईंको प्रशंसा गर्नेछन् र तपाईंका पवित्रजनले तपाईंलाई धन्यको भन्नेछन्।

11 उनीहरूले तपाईंको राज्यको महिमाको बयान गर्नेछन् र तपाईंको सामर्थ्यको विषयमा कुरा गर्नेछन्,

12 उहाँका शक्तिशाली कार्यहरू र उहाँको राज्यको महिमापूर्ण प्रतापको विषयमा मानिसका सन्तानलाई जानकारी दिनेछन्।

13 तपाईंको राज्य अनन्त राज्य हो र तपाईंको शासन पुस्तौं-पुस्तासम्म रहिरहन्छ।

14 लडेकाहरू सबैलाई परमप्रभुले सम्हाल्नुहुन्छ र झुकेकाहरू सबैलाई उठाउनुहुन्छ।

15 सबैका आँखाले तपाईंकै बाटो हेर्छन् र तपाईंले तिनीहरूलाई ठीक समयमा भोजन दिनुहुन्छ।

16 तपाईंले आफ्नो मुट्ठी खोल्नुहुन्छ र हरेक जीवित प्राणीको चाहना तृप्त पार्नुहुन्छ।

17 परमप्रभु, आफ्ना सबै चालमा धर्मी र आफ्ना सबै काममा दयालु हुनुहुन्छ।

18 परमप्रभु, उहाँलाई पुकार्ने, उहाँलाई सत्यतामा पुकार्ने सबैको नजिक हुनुहुन्छ।

19 उहाँको भय मान्नेहरूको चाहना उहाँले पूरा गर्नुहुनेछ; उहाँले उनीहरूको पुकार सुन्नुहुनेछ र उनीहरूलाई बचाउनुहुनेछ।

20 परमप्रभुलाई प्रेम गर्नेहरू सबैलाई उहाँले रक्षा गर्नुहुन्छ; तर दुष्टहरू सबैलाई उहाँले नाश गर्नुहुनेछ।

21 मेरो मुखले परमप्रभुको प्रशंसाको बयान गर्नेछ र सबै प्राणीले उहाँको पवित्र नामलाई सदासर्वदा धन्यको भनून्।




146

1 परमप्रभुको स्तुति गर। हे मेरो प्राण, परमप्रभुको स्तुति गर्।

2 मेरो जीवनभरि म परमप्रभुको स्तुति गर्नेछु; मेरो जीवनभरि म मेरा परमेश्वरको स्तुति गाउनेछु।

3 राजकुमारहरूमाथि भरोसा नराख, मरणशील मानिसको सन्तानमाथि पनि नराख; जसले बचाउन सक्दैन।

4 त्यसको सास निस्कन्छ, त्यो आफ्नो माटोमा फर्किजान्छ; त्यही दिन त्यसका कल्पनाहरू पनि नष्ट हुन्छन्।

5 त्यो मानिस धन्यको हो, जसको सहायता याकूबका परमेश्वर हुनुहुन्छ, जसको आशा त्यसका परमप्रभु परमेश्वरमाथि छ;

6 जसले स्वर्ग र पृथ्वी, समुद्र र त्यहाँ भएका सबै थोक बनाउनुभयो, जसले सदासर्वदा सत्यता कायम राख्नुहुन्छ;

7 जसले थिचोमिचोमा परेकाहरूको न्याय गर्नुहुन्छ; जसले भोकाएकाहरूलाई भोजन दिनुहुन्छ। परमप्रभुले कैदीहरूलाई मुक्त गर्नुहुन्छ।

8 परमप्रभुले अन्धाहरूका आँखा खोलिदिनुहुन्छ; परमप्रभुले झुकेकाहरूलाई उठाउनुहुन्छ; परमप्रभुले धर्मीजनलाई प्रेम गर्नुहुन्छ;

9 परमप्रभुले परदेशीहरूलाई जोगाउनुहुन्छ; उहाँले टुहुरा र विधवालाई सहायता गर्नुहुन्छ; तर दुष्टहरूका युक्तिहरू उहाँले विफल पार्नुहुन्छ।

10 हे सियोन, तेरा परमप्रभु परमेश्वरले सदासर्वदा पुस्तौं-पुस्तासम्म राज्य गर्नुहुनेछ। परमप्रभुको स्तुति गर !




147

1 परमप्रभुको स्तुति गर ! किनभने हाम्रा परमेश्वरको स्तुति गाउनु कति असल कुरा हो ! किनकि यो मनोहर हुन्छ र स्तुति गर्नु उचित छ।

2 परमप्रभुले यरूशलेम निर्माण गर्नुहुन्छ; उहाँले इस्राएलका निर्वासितहरूलाई भेला गराउनुहुन्छ।

3 उहाँले टुटेका हृदय भएकाहरूलाई निको पार्नुहुन्छ र उनीहरूका चोटमा मलमपट्टी बाँध्नुहुन्छ।

4 उहाँले ताराहरूको संख्या गन्नुहुन्छ; उहाँले ती सबैलाई आ-आफ्नो नाउँ दिनुहुन्छ।

5 हाम्रा प्रभु महान् र अतिशक्तिशाली हुनुहुन्छ; उहाँको ज्ञान अपार छ।

6 परमप्रभुले दु:खीहरूलाई सहायता गर्नुहुन्छ; उहाँले दुष्टहरूलाई भुइँमा पछार्नुहुन्छ।

7 धन्यवादका साथ परमप्रभुको निम्ति गाओ; वीणा बजाउँदै हाम्रा परमेश्वरको स्तुति गाओ;

8 उहाँले आकाशलाई बादलले ढाक्नुहुन्छ र पृथ्वीलाई वर्षा दिनुहुन्छ अनि पहाडहरूमा घाँस उमार्नुहुन्छ।

9 उहाँले पशुहरू र कागका कराइरहने बचेराहरूलाई आहार दिनुहुन्छ।

10 उहाँ घोडाको बलमा प्रसन्न हुनुहुन्न; उहाँ मानिसहरूका खुट्टामा प्रसन्न हुनुहुन्न।

11 परमप्रभु त उहाँको भय मान्नेहरू र उहाँको करुणामा आशा राख्नेहरूसँग प्रसन्न रहनुहुन्छ।

12 हे यरूशलेम, परमप्रभुको प्रशंसा गर्। हे सियोन, आफ्नो परमेश्वरको स्तुति गर्;

13 किनभने उहाँले तेरा मूलढोकाहरूका आग्लोहरू बलियो पार्नुभएको छ; उहाँले तँभित्र तेरा छोराछोरीलाई आशिष् दिनुभएको छ।

14 उहाँले तेरा साँधसिमानामा शान्ति दिनुहुन्छ र तँलाई सबभन्दा उत्तम गहुँले तृप्त पार्नुहुन्छ।

15 उहाँले पृथ्वीमा आफ्नो आदेश पठाउनुहुन्छ; उहाँको वचन तेजगतिले दौडन्छ।

16 उहाँले ऊनजस्तै गरी हिमपात गराउनुहुन्छ; उहाँले खरानीझैँ तुसारो छर्नुहुन्छ।

17 उहाँले रोडाझैँ असिना बर्साउनुहुन्छ; उहाँको जाडोको सामु को टिक्नसक्छ र?

18 उहाँले आफ्नो वचन पठाउनुहुन्छ र ती पगाल्नुहुन्छ; उहाँले आफ्नो हावा चलाउनुहुन्छ र पानी बग्न थाल्छ।

19 उहाँले आफ्नो वचन याकूबलाई, आफ्ना नियम र न्यायहरू इस्राएललाई घोषणा गर्नुहुन्छ।

20 अरू कुनै जातिसँग उहाँले यस्तो व्यवहार गर्नुभएको छैन र उहाँका न्यायहरू त तिनीहरूले जानेका छैनन्। परमप्रभुको स्तुति गर !




148

1 परमप्रभुको स्तुति गर ! स्वर्गबाट परमप्रभुको स्तुति गर; उच्च स्थानहरूमा उहाँको स्तुति गर।

2 हे उहाँका सबै दूत हो, उहाँको स्तुति गर; हे उहाँका सारा सेना हो, उहाँको स्तुति गर।

3 हे सूर्य र चन्द्रमा हो, उहाँको स्तुति गर; हे सबै ज्योतिर्मय तारा हो, उहाँको स्तुति गर।

4 हे सर्वोच्च आकाश र आकाशमाथिको पानी हो, उहाँको स्तुति गर।

5 तिनीहरूले परमप्रभुको नाउँको स्तुति गरून्; किनभने उहाँले आज्ञा दिनुभयो र ती सृजिए।

6 उहाँले तिनीहरूलाई सदाकालको निम्ति स्थापित गर्नुभयो; उहाँले एउटा आदेश दिनुभयो, जो टल्नेछैन।

7 हे विशाल जलजन्तु र सबै गहिरा सागरहो, पृथ्वीबाट परमप्रभुको स्तुति गर;

8 हे आगो र असिना, हिउँ र कुइरो, उहाँकोवचन पालन गर्ने आँधी-बतास हो;

9 पहाडहरू र सबै डाँडा हो, फल फलाउने रूखहरू र सबै देवदारु हो;

10 जङ्गली जनावर र सबै गाईवस्तु हो, घस्रने जन्तु र उड्ने चराचुरुङ्गी हो;

11 पृथ्वीका राजाहरू र सबै मानिस हो, राजकुमारहरू र सबै न्यायाधीश हो;

12 जवान ठिटा र कुमारीहरू हो, वृद्ध मानिसहरू र केटाकेटी हो;

13 तिनीहरूले परमप्रभुको नाउँको स्तुति गरून्; किनभने उहाँको नाउँ मात्र सर्वोत्तम छ; उहाँको महिमा पृथ्वी र आकाशमाथि रहन्छ।

14 उहाँले आफ्नो प्रजाको सिङ उच्च पार्नुहुन्छ; उहाँका सबै पवित्रजन, उहाँको नजिकमा रहने प्रजा इस्राएलका सन्तानका निम्ति यो प्रशंसाको विषय हो। परमप्रभुको स्तुति गर !




149

1 परमप्रभुको स्तुति गर ! परमप्रभुको निम्ति एउटा नयाँ भजन गाओ र पवित्रजनको सभामा उहाँको स्तुति गाओ।

2 आफ्ना सृष्टिकर्तामा इस्राएलले रमाहट गरोस्; आफ्नो राजामा सियोनका सन्तान आनन्दित होऊन्।

3 नृत्यसाथ तिनीहरूले उहाँको नाउँको स्तुति गरून्; खैँजडी र वीणा बजाएर तिनीहरूले उहाँको स्तुति गाऊन्।

4 किनभने परमप्रभु आफ्नो निज प्रजासँग प्रसन्न हुनुहुन्छ; उहाँले नम्रहरूलाई उद्धारले सुशोभित तुल्याउनुहुनेछ।

5 पवित्रजन महिमामा आनन्दित होऊन्; उनीहरू आफ्ना ओछयानमा हर्षले गाऊन्।

6 उनीहरूको मुखमा परमेश्वरको उच्च प्रशंसा होस् र उनीहरूको हातमा दुईधारे तरवार होस्,

7 जसले गर्दा तिनीहरूले जाति-जातिलाई बदला लिन सकून् र जाति-जातिका मानिसहरूलाई सजाय दिन सकून्;

8 तिनीहरूका राजालाई साङ्लाले र तिनीहरूका भारादारहरूलाई फलामका नेलले बाँध्न सकून्;

9 अनि तिनीहरूको निम्ति ठहराइएको न्याय-दण्ड दिन सकून्। उहाँका सबै पवित्रजनले यही आदर पाउँछन्। परमप्रभुको स्तुति गर !




150

1 परमप्रभुको स्तुति गर ! उहाँको पवित्रस्थानमा परमेश्वरको स्तुति गर; उहाँको पराक्रमको आकाशमण्डलमा उहाँको स्तुति गर।

2 उहाँका शक्तिशाली कार्यहरूका निम्ति उहाँको स्तुति गर; उहाँको सर्वश्रेष्ठ महानताअनुसार उहाँको स्तुति गर।

3 तुरहीको आवाजमा उहाँको स्तुति गर; सितार र वीणा बजाएर उहाँको स्तुति गर।

4 खैँजडी बजाउँदै नाचेर उहाँको स्तुति गर; तार-वाद्य र बाँसुरी बजाएर उहाँको स्तुति गर।

5 चर्को बज्ने झ्यालीका झङ्कारसाथ उहाँको स्तुति गर; गुञ्जायमान पार्ने झ्यालीहरू बजाएर उहाँको स्तुति गर।

6 सास हुने हरेक प्राणीले परमप्रभुको प्रशंसा गरोस्। परमप्रभुको स्तुति गर।



AMAZING GRACE BIBLE INSTITUTE