PROVERBS

हितोपदेश


Chapter 1

1 दाऊदका छोरा, इस्राएलका राजा सोलोमनका हितोपदेश:

2 जसद्वारा मानिसले बुद्धि र अनुशासन जानून्, समझका वचन बुझून्;

3 तीद्वारा बुद्धि, धार्मिकता, न्याय र निष्पक्षताको शिक्षा प्राप्त गर्नेछन्;

4 जसले सोझाहरूलाई विवेकशील बनाउनेछन्; जवान मानिसहरूले ज्ञान र बुद्धि प्राप्त गर्नेछन्।

5 बुद्धिमान् मानिसले ध्यानसित सुन्नेछ र बुद्धि बढाउनेछ; समझदार मानिसले सही सल्लाह प्राप्त गर्नेछ;

6 जसद्वारा हितोपदेश र दृष्टान्तहरू, बुद्धिमान्को वचन र रहस्यमय कुरा बुझ्नेछ।

7 परमप्रभुको भय नै ज्ञानको सुरु हो, तर मूर्खहरूले बुद्धि र अनुशासनलाई तुच्छ ठान्छन्। बहकाउको विरुद्ध चेताउनी

8 हे मेरो छोरा, आफ्ना बाबुको शिक्षा ध्यानसित सुन् र आफ्नी आमाको अर्तीलाई नत्याग्;

9 किनकि ती तेरो शिरमा शोभाको मुकुट र तेरो गलामा सम्मानको हार हुनेछ।

10 हे मेरो छोरा, यदि पापीहरूले तँलाई बहकाए तापनि तिनीहरूको बहकाउमा नलाग्।

11 यदि तिनीहरूले ‘‘हामीसँग आऊ, रक्तपात गर्न बाटो ढुकौं; कुनै निर्दोषलाई लुट्न ढुकिबसौं;

12 हामी तिनीहरूलाई चिहानले झैँ जिउँदै निलौं; खाडलभित्र जानेहरूलाई झैँ पूरै निलौं;

13 हामी सबै बहुमूल्य थोक लिनेछौं; लुटका मालसामानले हाम्रा घर भर्नेछौं;

14 तिमी हाम्रो साझेदार होऊ, हामी ती आपसमा बाँडौं।’’

15 हे मेरो छोरा, तिनीहरूसँग सङ्गत नगर्; तिनीहरूका मार्गमा हिँड्दै नहिँड्।

16 किनकि तिनीहरूका खुट्टा खराबी गर्न दगुर्छन्; अनि रक्तपात गर्न हतारिन्छन्।

17 चराचुरुङ्गीले देख्नेगरी जाल फिँजाउनु कति व्यर्थ छ।

18 यी मानिसहरू आफ्नै रक्तपात गर्न ढुकिरहन्छन्, तर तिनीहरू आफ्नो पासोमा आफै जाकिन्छन्।

19 अनुचित लाभ उठाउन खोज्ने मानिसको अन्त्य यस्तै हुन्छ, यसरी धनसम्पत्ति कमाउन खोज्नेहरूको अन्त्य लोभबाटै हुन्छ। बुद्धिको तिरस्कार नगर्न चेताउनी

20 बुद्धि सडकहरूतिर चर्को सोरले कराउँछ; त्यसले चोकहरूतिर आफ्नो सोर उचाल्छ।

21 ऊ भीड लाग्ने ठाउँको मुख्य स्थानमा, मूलढोकाहरूको मुखमा चिच्च्याउँछ; यसो भन्दै शहरमा आफ्ना वचन सुनाउँछ,

22 ‘‘हे मूर्ख हो, कहिलेसम्म मूर्खतालाई प्रेम गर्दछौ र कहिलेसम्म गिल्ला गर्नेहरू आफ्नो गिल्लामा प्रसन्न रहन्छन्? कहिलेसम्म मूर्खहरूले ज्ञानलाई घृणा गर्छन्?

23 यदि तिमीहरू मेरो हप्की सुनेर फर्केको भए, म मेरो आत्मा तिमीहरूमा खन्याउने थिएँ र मेरा वचन तिमीहरूलाई बुझाउने थिएँ।

24 किनभने मैले पुकारेँ, तर तिमीहरूले इन्कार गर्यौ, मैले आफ्नो हात फैलाएँ तर तिमीहरूले बेवास्ता गर्यौ;

25 तर तिमीहरूले मेरा सबै सल्लाहलाई तुच्छ ठान्यौ र मेरो कुनै हप्की चाहेनौ;

26 यसर्थ म पनि तिमीहरूको विपत्तिमा हाँस्नेछु; तिमीहरूमाथि आपत्ति आइपर्दा म खिसी गर्नेछु;

27 जब आँधीबेहरीले झैँ तिमीहरूलाई विपत्तिले ढाक्छ; जब भुमरीझैँ आपत्ति तिमीहरूमाथि मडारिएर आउँछ, जब सङ्कष्ट र दु:ख तिमीहरूमाथि आइपर्छन्,

28 ‘‘तब तिनीहरूले मलाई पुकार्नेछन्, तर म जवाफ दिनेछैनँ; तिनीहरूले धुइँपत्ताल मलाई खोज्नेछन् तर भेट्टाउनेछैनन्;

29 किनकि तिनीहरूले ज्ञानलाई घृणा गरे र परमप्रभुको भयलाई चुनेनन्;

30 तिनीहरूले मेरा अर्ती ग्रहण गरेनन्; तिनीहरूले मेरा सबै हप्कीलाई इन्कार गरे।

31 तिनीहरूले आफ्नो व्यवहारअनुसारको फल भोग्नेछन् र आफ्ना युक्तिहरूमा तिनीहरू आफै वाक्क हुनेछन्।

32 किनकि मूर्खहरू पछि हट्नाले मृत्युमा पर्छन् र निर्बुद्धिहरू आफ्नै निस्फिक्रीले गर्दा नाश हुन्छन्।

33 तर जसले मेरा वचन ध्यानसित सुन्छन्, तिनीहरू सुरक्षित रहनेछन् र खराबीको डरबाट तिनीहरू ढुक्क हुनेछन्।’’




2

1 हे मेरो छोरा, तैँले मेरा वचन ग्रहण गरिस् र मेरा आज्ञाहरूलाई आफ्नो हृदयभित्र लुकाइराखिस् भने,

2 अनि बुद्धितिर ध्यान दिइस् र तेरो हृदयलाई समझशक्तितिर लगाइस् भने,

3 ज्ञानका निम्ति पुकारिस् र समझशक्तिका निम्ति आफ्नो सोर उचालिस् भने,

4 यदि तैँले त्यसलाई चाँदीझैँ खोजिस् र गाडधनझैँ त्यो खनिस् भने,

5 तब तैँले परमप्रभुको भय बुझ्नेछस् र परमेश्वरको ज्ञान प्राप्त गर्नेछस्।

6 किनकि बुद्धि दिने परमप्रभु नै हुनुहुन्छ; ज्ञान र समझशक्ति उहाँबाट नै आउँदछन्।

7 उहाँले धर्मीजनका निम्ति आफ्नो भण्डारमा उत्तम बुद्धि साँचेर राख्नुहुन्छ; जसको चाल निर्दोष छ, तिनीहरूका

8 लागि उहाँ ढाल हुनुहुन्छ। किनभने उहाँले न्यायको मार्गको रक्षा गर्नुहुन्छ र आफ्ना विश्वासयोग्य व्यक्तिको मार्ग सुरक्षित राख्नुहुन्छ।

9 तब जे उचित र न्यायसङ्गत छ, सो तैँले बुझ्नेछस्, साथै हरेक असल मार्ग के हो तैँले त्यो जान्नेछस्।

10 जब बुद्धि तेरो हृदयमा प्रवेश गर्नेछ र ज्ञान तेरो प्राणको आनन्द हुनेछ।

11 विवेकले तँलाई सुरक्षित गर्नेछ, समझशक्तिले तेरो रक्षा गर्नेछ,

12 त्यसले तँलाई खराब चाल र छली मानिसबाट जोगाउनेछ।

13 त्यस्ताहरू धार्मिकताको मार्ग छोडेर अन्धकारमा हिँडडुल गर्छन्,

14 तिनीहरू खराब काम गर्नमा प्रसन्न हुन्छन् र दुष्टको छली कुरामा आनन्दित हुन्छन्,

15 जसका मार्ग टेढा र चाल दुष्ट छन्।

16 बुद्धिले तँलाई व्यभिचारिणी र अनैतिक स्त्रीका लोभ्याउने कुराबाट जोगाउनेछ;

17 जसले आफ्नो यौवनको पतिलाई त्यागेकी छे र परमेश्वरको सामु आफूले बाँधेकी करारको बेवास्ता गरेकी छे।

18 त्यसको घर मृत्युतिर र त्यसका मार्ग मृतक आत्माहरूतिर डोर्याइएको हुन्छ।

19 जो त्यसकहाँ जान्छ, त्यो कहिल्यै फर्कदैन, न त तिनीहरूले जीवनको मार्ग नै भेट्टाउनेछन्।

20 यसैकारण भला मानिसहरूको अनुसरण गर् र धर्मी मानिसको चालमा लागिबस्।

21 किनकि धर्मीहरू देशमा वास गर्नेछन् र निर्दोष मानिसहरू त्यहाँ रहनेछन्।

22 तर दुष्ट मानिसहरू पृथ्वीबाट नष्ट हुनेछन् र अपराधीहरू त्यहाँबाट जरैसमेत उखेलिनेछन्।




3

1 हे मेरो छोरा, मेरो अर्तीलाई नबिर्सी; तर तेरो हृदयमा मेरा आज्ञाहरू जोगाइराख्;

2 किनभने त्यसले तँलाई दीर्घायु र पूर्णजीवन दिनेछ, अनि तेरो उन्नति गराउनेछ।

3 तँलाई प्रेम र विश्वसनीयताले कहिल्यै नछोडून्, ती तैँले आफ्नो गलामा बाँधिराख्, आफ्नो हृदयको पाटीमा लेखिराख्;

4 तब तैँले परमेश्वर र मानिसको दृष्टिमा निगाह र असल समझ पाउनेछस्।

5 आफ्नो सारा हृदयले परमप्रभुमा भरोसा राख् र तेरो आफ्नै समझशक्तिमा भर नपर्।

6 आफ्ना सारा मार्गमा उहाँलाई सम्झी र उहाँले तेरा मार्गहरू सुगम तुल्याइदिनुहुनेछ।

7 आफैंलाई बुद्धिमान् नसम्झी, तर परमप्रभुको भय मान् र दुष्टताबाट अलग बस्।

8 यसले तेरो शरीरलाई स्वस्थ तुल्याउनेछ र तेरो हड्डीको लागि पोषण दिनेछ।

9 आफ्नो धनसम्पत्ति र सबै उब्जनीको अगौटे फलले परमप्रभुको आदर गर्;

10 तब तेरा ढुकुटीहरू अन्नले भरिएर पोखिनेछन् र तेरा मशक नयाँ अङ्गुरमद्यले भरिभराउ हुनेछन्।

11 हे मेरो छोरा, परमप्रभुको अनुशासनलाई तुच्छ नठान् र उहाँको हप्कीलाई तिरस्कार नगर्;

12 किनभने जसलाई परमप्रभुले प्रेम गर्नुहुन्छ, त्यसैलाई उहाँले हप्काउनुहुन्छ, र बाबुले प्यारो छोरालाई ताडना दिएझैँ उहाँले पनि दिनुहुन्छ।

13 धन्य हो, त्यो मानिस जसले बुद्धि प्राप्त गर्छ र समझशक्ति हासिल गर्छ।

14 किनकि बुद्धि चाँदीभन्दा धेरै उत्तम हुन्छ र त्यसबाट हुने फाइदा सुनभन्दा मूल्यवान् हुन्छ।

15 त्यो मुगा-मोतीभन्दा पनि बहुमूल्य हुन्छ, र तैँले इच्छा गरेको कुनै पनि थोकसँग तुलना गर्न सकिँदैन।

16 बुद्धिको दाहिने हाततिर दीर्घायु र त्यसको देब्रे हाततिर धन र सम्मान हुन्छन्।

17 त्यसका मार्गहरू मनोहर हुन्छन्, र सबै बाटोहरू शान्तमय हुन्छन्।

18 बुद्धिलाई अँगाल्नेहरूका निम्ति त्यो जीवनको रूख हो र त्यसलाई पक्रनेहरू धन्यका हुन्।

19 बुद्धिद्वारा परमप्रभुले पृथ्वीको जग बसाल्नुभयो र समझशक्तिद्वारा उहाँले आकाश स्थापित गर्नुभयो।

20 उहाँको ज्ञानद्वारा गहिरा सागरहरू विभाजित भए र बादलले शीत झारे।

21 हे मेरो छोरा, उत्तम बुद्धि र विवेकलाई जोगाइराख्, तेरो दृष्टिबाट तिनलाई उम्केर जान नदे;

22 ती तेरो प्राणको निम्ति जीवन र तेरो गलाको निम्ति सम्मानको हार हुनेछन्।

23 तब तँ आफ्नो बाटोमा निष्फिक्रीसाथ हिँड्नेछस्, र तेरा खुट्टाले ठेस खानेछैनन्।

24 जब तँ ढल्किनेछस् तँ डराउनेछैनस्, जब तँ ढल्किनेछस् तँलाई मीठो निद्रा लाग्नेछ।

25 एक्कासि आइपर्ने विपत्तिदेखि नडरा, दुष्टहरूमाथि आइपर्ने विनाशदेखि पनि नडरा।

26 किनभने परमप्रभु तेरा पक्षमा हुनुहुनेछ, उहाँले तेरो खुट्टालाई पासोमा पर्नदेखि जोगाउनुहुनेछ।

27 जसलाई भलाइ गर्नुपर्छ, तेरो औकात होउन्जेल त्यसलाई दया देखाउन अस्वीकार नगर्।

28 तँसित छ भने तेरो मित्रलाई, ‘फेरि आऊ, भोलि दिनेछु,’ भनी नभन्।

29 जो तेरो नजिक भरोसा राखेर बस्दछ, त्यसको विरुद्धमा षडयन्त्र नरच्।

30 जसले तेरो कुनै खराबी गरेको छैन, बिनाकारण त्यसलाई दोष नलगा।

31 हिंसात्मक मानिसको ईर्ष्या नगर् र त्यसको कुनै पनि मार्गलाई नछान्।

32 किनकि परमप्रभुले दुष्ट मानिसलाई घृणा गर्नुहुन्छ; तर धर्मी मानिसलाई उहाँले आफ्नो भेद प्रकट गर्नुहुन्छ।

33 दुष्टको घरमा परमप्रभुको श्राप आइपर्छ; तर धर्मीजनको वासस्थानलाई उहाँले आशिष् दिनुहुन्छ।

34 घमन्डी मानिसलाई परमेश्वरले घृणा गर्नुहुन्छ; तर नम्रहरूलाई उहाँले अनुग्रह गर्नुहुन्छ।

35 बुद्धिमान्को भाग आदर हो; तर मूर्खको भाग अपमान हो।




4

1 हे मेरा छोराहरू हो, बाबुको अर्ती ध्यानसित सुन र समझशक्ति प्राप्त गर्न ध्यान देओ।

2 किनभने म तिमीहरूलाई उत्तम शिक्षा दिन्छु, यसर्थ मेरो अर्तीलाई नत्याग।

3 जब म बाबुको एक छोरा थिएँ, मेरी आमाको दृष्टिमा एकमात्र कोमल र प्रिय थिएँ।

4 उहाँले मलाई शिक्षा दिनुभयो र भन्नुभयो, ‘‘तेरो पूरा हृदयले मेरो वचन पक्रिराख्, मेरा आज्ञाहरू पालन गर् र तँ जिउनेछस्।

5 बुद्धि प्राप्त गर्, समझशक्ति प्राप्त गर्; तिनलाई नबिर्सी र तिनीहरूबाट तर्किएर नजा।

6 बुद्धिलाई नत्याग् र त्यसले तँलाई सुरक्षित राख्नेछ, त्यसलाई प्रेम गर् र त्यसले तेरो रक्षा गर्नेछ।

7 बुद्धि मुख्य कुरा हो; यसैले त्यसलाई प्राप्त गर्; तैँले मूल्य चुकाउनुपरे तापनि समझशक्ति प्राप्त गर्।

8 त्यसलाई तैँले कदर गर् र त्यसले तँलाई उच्च पार्नेछ। त्यसलाई तैँले अँगालिस् भने त्यसले तेरो आदर गर्नेछ।

9 त्यसले तेरो शिरमा शोभाको मुकुट पहिराइदिनेछ र महिमाको शिरपेच प्रदान गर्नेछ।’’

10 हे मेरो छोरा, सुन्; मेरा कुरा ग्रहण गर्; र तेरो जीवन दीर्घायु हुनेछ।

11 म तँलाई बुद्धिको बाटोमा डोर्याउनेछु र सोझो बाटोमा हिँडाउनेछु।

12 तँ हिँड्दा तेरा पाइलाहरू लरबरिनेछैनन्; तँ दगुरिस् भने पनि ठेस खानेछैनस्।

13 अर्तीलाई समातिराख्, त्यसलाई उम्कन नदे, त्यसलाई राम्ररी पालन गर् किनकि त्यो तेरो निम्ति जीवन हो।

14 दुष्टको मार्गमा हिँड्दै नहिँड्, र खराबीको चालमा चल्दै नचल्।

15 त्योदेखि परै बस्; त्योसँग यात्रा नगर्; त्यसबाट तर्केर आफ्नै बाटो लाग्।

16 किनभने दुष्टहरू खराब काम नगरेसम्म सुत्नै सक्तैनन्; र कसैको हानि नगरेसम्म तिनीहरूलाई निद्रै लाग्दैन।

17 दुष्टता तिनीहरूको भोजन हो, र उपद्रव तिनीहरूको पेय पदार्थ हो।

18 धर्मीको चाल प्रभातको प्रथम किरणजस्तै हो, त्यो मध्यदिन नभएसम्म झन्झन् चहकिलो हुँदै जान्छ।

19 तर दुष्टको चाल घोर अन्धकारजस्तै हो, कसरी आफ्नो पतन हुँदै छ, सो तिनीहरू जान्दैनन्।

20 हे मेरो छोरा, मेरो वचनमा ध्यान दे, मेरा कुरामा कान थाप्।

21 ती तेरो दृष्टिबाट उम्केर जान नदे, ती तेरो हृदयभित्र राखिछोड्।

22 किनकि त्यसलाई प्राप्त गर्नु जीवन हो, र त्यसको सारा शरीरको लागि स्वास्थ्य हो।

23 मूल्यवान् वस्तुलाई भन्दा आफ्नो हृदयलाई सुरक्षित राख्, किनभने त्यो सारा जीवनको श्रोत हो।

24 तेरो मुखबाट कुवाक्य ननिकाल्, तेरो ओठ छली कुरा गर्नदेखि टाढै राख्।

25 तेरो आँखाले सीधा हेरोस्, अगाडि के छ सो तेरो आँखाले एकटक लाएर हेरोस्,

26 पैतालाको निम्ति तैँले ठीक मार्गको खोजी गर्, जुन मार्ग स्थिर छ, त्यही मार्गमा लागिराख्।

27 दाहिने र देब्रेतिर नलाग्, सबै दुष्टताबाट तेरो पाइला अलग राख्।




5

1 हे मेरो छोरा, मेरो बुद्धिमा ध्यान दे; र मेरो अर्तीलाई ध्यानसित सुन्।

2 यसरी तैँले विवेकलाई जोगाइराख्नेछस्, र तेरो ओठले ज्ञानको रक्षा गर्नेछ।

3 किनकि व्यभिचारिणी स्त्रीको ओठबाट मह चुहुन्छ, र त्यसको बोली तेलभन्दा चिप्लो हुन्छ।

4 तापनि अन्तमा त्यो स्त्री तीतेपातीजस्तै तीतो र दुईधारे तरवारझैँ धारिलो हुन्छे।

5 त्यसका खुट्टाहरू मृत्युतिर ओरालो लाग्छन्, र त्यसका पाइलाहरू पातालतिर लम्कन्छन्।

6 त्यसले जीवनको बाटोलाई ध्यानसित विचार गर्दिनँ, त्यसका चाल अस्थिर छन्, तर त्यसले यसबारे केही जान्दिनँ।

7 अब हे मेरा छोरा हो, मेरो कुरा सुन, मैले भनेका कुराबाट तर्केर नजाओ।

8 त्यस्ती स्त्रीदेखि टाढा बस् र त्यसको घरको ढोकाको नजिक नजाओ।

9 नत्र त तिमीहरूले आफ्नो बल अरूलाई दिनेछौ र तिमीहरूको आयु दुष्टको हातमा पर्नेछ।

10 अरूले तिम्रा धनसम्पत्तिमा चैन गर्नेछन् र तिमीहरूले दु:खसित कमाएको धन अरू मानिसको घरमा जानेछ।

11 जीवनको आखिरी समयमा तिमीहरूले बिलौना गर्नेछौ, जुन बेला तिमीहरूको शरीर हाड र छाला मात्र हुनेछ।

12 तब तिमीहरूले भन्नेछौ, ‘‘हाय ! मैले अनुशासनलाई किन घृणा गरेँ र कसरी सुधारका कुरालाई मेरो हृदयले तुच्छ ठान्यो !

13 न त मैले मेरा गुरुहरूको आज्ञापालन गरेँ, न मलाई सिकाउनेका अर्तीलाई नै ध्यान दिएँ।

14 म सर्वनाशको खाडल छेउ आइपुगेँ, र सारा समुदायको माझमा झन्डै निन्दित भएँ।’’

15 आफ्नै कुण्डको पानी र आफ्नै कुवाबाट बगेको पानी पी।

16 के तेरो कुवाको पानी सडकतिर र तेरो खोलाको पानी बाटोतिर बग्न दिन्छस्?

17 त्यो तेरै निम्ति मात्रै होस्। अरूले यसको उपभोग नगरून्।

18 तेरो फुहारा आशिषित हुनसकोस्, र तेरो युवावस्थाकी पत्नीसित तँ आनन्दित हो।

19 मायालु मृगी र राम्री हरिणीझैँ त्यसकै स्तनमा तँ सन्तुष्ट बन्, तँ सधैँ त्यसको प्रेममा मग्न भइरह।

20 हे मेरो छोरा, तँ किन वेश्याको मोहमा फस्छस्? तँ किन अर्काकी पत्नीलाई अँगालो हाल्छस्?

21 किनभने मानिसको चाल त सधैँ परमप्रभुको दृष्टिमा रहिरहन्छ, त्यो हिँड्ने हरेक मार्गलाई उहाँले जाँच्नुहुन्छ।

22 दुष्ट मानिस आफ्नै अधर्ममा पक्राउ पर्छ, र आफ्नै पापको पासोमा जेलिन्छ।

23 अनुशासनको अभावले त्यो नाश हुनेछ, उसको आफ्नै मूर्खताले त्यसलाई भर्माउनेछ।




6

1 हे मेरो छोरा, यदि तँ आफै कसैको जमानी बसेको छस्, र कसैसँग वाचा बाँधेको छस् भने,

2 आफ्नो प्रतिज्ञाको वचनले तँ फँसेको छस्, र आफ्नै मुखको प्रतिज्ञाले बाँधिएको छस् भने,

3 हे मेरो छोरा, अब जे भन्दै छु, त्यही गर् र तैँले आफैलाई स्वतन्त्र पार्, किनकि तँ आफ्नो छिमेकीको पन्जामा परेको छस्, जा आफूलाई नम्र तुल्या र छिमेकीसँग खुरन्धार विन्ती गर्।

4 तेरा आँखामा निद्रा पर्न नदे, र पटल बन्द हुन नदे।

5 शिकारीको पासोबाट मृग उम्केझैँ, शिकारीको हातबाट चरा फुत्केझैँ, तैँले आफूलाई स्वतन्त्र पार्।

6 ए अल्छे, कमिलाकहाँ गएर त्यसकोचालढाल हेर र बुद्धिमान् बन्;

7 त्यसको अगुवा हुँदैन, संरक्षक वा शासक हुँदैन;

8 तर ग्रीष्मऋतुमा त्यसले आफ्नो अन्नको भण्डार तयार गर्छ, र कटनीको समयमा खानेकुरा बटुल्छ।

9 ए अल्छे, तँ कहिलेसम्म सुतिरहन्छस्? तँ कहिले आफ्नो निद्राबाट बिउँझन्छस्?

10 एकछिनको सुताइ र एकछिनको उँघाइले, आरामको निम्ति एकछिनको हात बधाइँले,

11 दरिद्रता तँमाथि डाँकुझैँ र अभाव हतियार भिरेको मानिसझैँ आइलाग्नेछ।

12 बदमास र दुष्ट मानिस त्यही हो, जो खराब कुरा बोलिहिँड्छ।

13 आँखा झिम्क्याउँछ, खुट्टाले चाल गर्छ, औंलाले पनि इसारा गर्छ।

14 त्यसले हृदयमा दुष्ट कुरा रच्दछ, त्यसले सधैँ विवाद उत्पन्न गराउँदछ।

15 त्यसर्थ, त्यसमाथि अचानक विपत्ति आइपर्छ;उपायबिना नै त्यो एक्कासि नष्ट हुन्छ।

16 परमप्रभुले यी छ वटा कुरालाई घृणा गर्नुहुन्छ; सात वटा कुरादेखि उहाँ घिनाउनुहुन्छ

17 अहङ्कारी आँखा, झुट बोल्ने जिब्रो,निर्दोषको रगत बगाउने हात,

18 दुष्ट युक्ति रच्ने मन, खराबीतिर लम्कने पाइला,

19 असत्य बोल्ने झुटो साक्षी र दाजुभाइका माझमा झगडा उत्पन्न गर्ने मानिस। व्यभिचारको विरुद्धमा चेताउनी

20 हे मेरो छोरा, आफ्ना पिताको आज्ञापालन गर्,र आफ्नी आमाको अर्तीलाई इन्कारनगर्।

21 ती तेरो हृदयमा सधैँ राखिराख्, र तिनलाई तेरो गलामा नै बाँधिराख्।

22 जब तँ हिँड्छस्, त्यसले तँलाई डोर्याउनेछ; जब तँ सुत्छस्, त्यसले तँलाई रक्षा गर्नेछ; जब तँ जागा हुन्छस्, त्यसले तँसित बातचित गर्नेछ।

23 किनकि आज्ञा एउटा बत्ती हो, र अर्ती एउटा ज्योति हो, अनुशासनको निम्ति गरिने हप्काइ जीवनको मार्ग हो;

24 यसले अर्काकी पत्नीबाट, खराब स्त्रीको लोभ्याउने जिब्रोबाट तँलाई जोगाउनेछ।

25 तैँले तेरो मनमा त्यसको सुन्दरताको लालसा नगर्; त्यसको आँखाले तँलाई नफसाओस्।

26 किनकि वेश्याले तँलाई दरिद्रतामा पुर्याउँछे र व्यभिचारिणी स्त्रीले तँलाई नाशमा पुर्याउँछे।

27 के मानिसले छात्तीमा आगो राख्दा पनि त्यसको लुगा डढ्दैन र?

28 के आगोका भुङ्ग्रामा हिँड्नेको पैताला जल्दैन र?

29 त्यसैले, अर्काकी पत्नीसित सुत्ने त्यस्तै हुन्छ, त्यसलाई छुने जो कोही दण्डबिना उम्कँदैन।

30 आफ्नो भोक मार्न चोरी गर्दा पनि के चोर दोषी ठहरिँदैन र?

31 यदि त्यो पक्राउ पर्यो भने के त्यसले सात गुणा बढी दिनुपर्दैन र? त्यसको घरमा भएका सबै थोक त्यसले दिनुपर्दैन र?

32 व्यभिचार गर्ने मानिस विवेकहीन मूर्ख हो; त्यस मानिसले आफ्नो प्राण आफै नष्ट गर्छ।

33 त्यसले मुक्का र अपमान पाउनेछ; त्यसको निन्दा कहिल्यै मेटिनेछैन।

34 किनभने ईर्ष्याले लोग्नेको क्रोधलाई बढाउँछ; बदला लिने दिनमा त्यसले दया नै देखाउँदैन।

35 त्यसले क्षतिपूर्तिको कुनै वास्ता गर्नेछैन; जतिसुकै घुस दिए तापनि त्यो सन्तुष्ट हुनेछैन। 1 हे मेरो छोरा, मेरो वचन पालन गर्, मेरा आज्ञा तेरो मनमा राखिछोड।

2 मेरा आज्ञा पालन गरिस् भने तँ जिउनेछस्, र मेरो अर्तीलाई तेरो आँखाको नानीझैँ जोगाइराख्।

3 त्यसलाई तेरो औंलीमा बाँधिराख्, तेरो हृदयको पाटीमा ती लेखिराख्।

4 बुद्धिलाई भन्, ‘‘तिमी मेरी बहिनी हौं।’’ र समझशक्तिलाई भन्,‘‘तिमी मेरो आफन्त हौ।’’

5 तब तिनले तँलाई वेश्याबाट, र व्यभिचारिणी पत्नीका मोहित गराउने कुराबाट जोगाइराख्नेछन्।

6 मेरो घरमा भएको झ्यालको आँखीझ्यालद्वारा चियाएर हेरेँ,

7 सीधासादाहरूका माझमा मैले विचार गरेँ, त्यहाँ जवानहरूको बीचमा एक विवेकहीन ठिटो रहेछ।

8 त्यस स्त्रीको घरको कुनानेरको बाटो हुँदै त्यो गइरहेथ्यो; र त्यसले आफ्नो पाइला त्यस स्त्रीको घरतिर बढाइरहेको थियो।

9 जब दिन ढल्किँदै जान्छ, तब रात अँध्यारो हुँदै जान्छ।

10 अचानक हेर, वेश्याकी वस्त्र लगाएकी र धूर्त हृदय भएकी एक स्त्री देखा परी; र त्यस स्त्रीले त्यसलाई भेटी।

11 चञ्चली र जिद्दी गर्ने स्त्री, त्यसका खुट्टा कहिल्यै आफ्नो घरमा अडिँदैनन्;

12 कहिले त्यो बाहिर हुन्छे, कहिले गल्लीतिर; कुनाकाप्चाहुँदी त्यो ढुकेर बस्छे।

13 त्यसले उसलाई च्याप्प समाती र चुम्बन गरी, लाजै नमानी त्यसले त्यसलाई अनुरोध गरी,

14 ‘‘मैले घरमा मेलबलि चढाउनुपर्ने थियो, त्यो भाकल आज पूरा भएको छ।

15 त्यसर्थ, म तपाईंलाई भेट्न बाहिर आएकी छु, मैले तपाईंलाई हेरिरहेकी थिएँ र अहिले भेट्टाएकी छु !

16 मैले मेरो ओछयानमा मिश्रबाट ल्याएकी रङ्गीबिरङ्गी मलमलको तन्ना ओछयाएकी छु।

17 मैले मेरो बिछयौनामा मूर्र छर्केकी छु, मेरा वस्त्रमा एलवा र दालचिनीको अत्तर छर्केर सुगन्धिततुल्याएकी छु।

18 आउनुहोस्, बिहानसम्मै हामी प्रेमको सागरमा डुबौं, हामी प्रेममा मग्न होऔं।

19 मेरो पति घरमा हुनुहुन्न, उहाँ त टाढा यात्रामा जानुभएको छ।

20 उहाँले आफूसित भएको रुपियाँको थैली लानुभएको छ, र पूर्णिमासम्म उहाँ घर फर्कनुहुन्न।’’

21 फकाइफुस्ल्याईकन त्यसले उसलाई विवश पारी, मोहित कुरा गरेर त्यसले उसलाई फँसाई।

22 लाटो मूर्खझैँ ऊ त्यसको पछि लाग्यो, कसाईखानातिर लागेको पशुझैँ, पासोतिर लागेको मृगझैँ,

23 जबसम्म वाणले त्यसको मुटु छेँड्दैन, पासोतिर वेगले उडेको चराझैँ, आफ्नो ज्यान नै गुमाउँछु भन्ने कुरा उसलाई थाहा नै हुँदैन।

24 हे मेरा छोराहरू हो, अब मेरा कुरा सुन, मैले भनेको वचनमा ध्यान देओ।

25 तेरो मन त्यसको चालतिर नलगा, त्यसका मार्गतिर बरालिएर नजा।

26 धेरै जनालाई त्यसले घाइते बनाएकी छे, त्यसको शिकार बन्नेहरू असङ्ख्य छन्।

27 त्यसको घर पाताल जाने बाटो हो, जसले मृत्यु-स्थलतिर पुर्याउँछ।




8

1 के बुद्धिले पुकार्दैन र? के समझशक्तिले आफ्नो आवाज उच्च पार्दैन र?

2 त्यो त चौबाटोहरूमा उभिरहन्छ, सडकको किनारमा, डाँडाको टाकुरामा त्यो खडा हुन्छ।

3 मूलढोकाको छेउमा, शहरको प्रवेश द्वारमा, ढोकाहरूबाट भित्र पस्ने ठाउँमा त्यसले यसो भन्दै कराउँछ,

4 ‘‘हे मानिसहरू हो, म तिमीहरूलाई बोलाउँछु, म सबै मानिसलाई मेरो आवाज सुनाउँछु।

5 हे निर्बुद्धि हो, बुद्धि प्राप्त गर। हे मूर्ख हो, समझशक्ति प्राप्त गर।

6 सुन, म उत्तम कुरा बताउँछु, र ठीक कुरा बोल्न म मेरो मुख खोल्छु।

7 मेरो मुखले सत्य कुरा बोल्दछ, किनकि मेरो मुखले दुष्टतालाई घृणा गर्दछ,

8 मेरो मुखका सबै वचन न्यायपूर्ण छन्, तिनमा कुनै पनि टेढा वा कुटिल छैनन्।

9 जसले बुझ्नसक्छ, त्यसको लागि सबै सरल छन्। ज्ञान हुने मानिसको निम्ति सबै स्पष्टै छन्।

10 चाँदी होइन, तर मेरो उपदेशलाई चुन, नम्बरी सुन होइन, तर ज्ञानलाई छान।

11 किनभने बुद्धि हीरा-मोतीभन्दा उत्तम हो, कुनै पनि रत्न त्यसको दाँजोमा आउन सक्तैन।

12 ‘‘म, बुद्धि निपुणतासँग वास गर्दछु, मसँग ज्ञान र विवेक छन्।

13 परमेश्वरको भय मान्नु नै दुष्टतालाई घृणा गर्नु हो, अभिमान, अहङ्कार, खराब चाल, भड्काउने कुरा, म घृणा गर्छु।

14 सरसल्लाह र असल बुद्धि मेरा हुन्; मसँग समझशक्ति र सामर्थ्य छन्।

15 मद्वारा नै राजाहरू राज्य गर्छन्, र शासकहरूले उचित कानून बनाउँछन्।

16 मद्वारा नै राजकुमारहरू राज्य गर्छन्, मद्वारा नै अख्तियारवालहरूले पृथ्वीमा शासन गर्दछन्।

17 तिनीहरूलाई म प्रेम गर्छु, जसले मलाई प्रेम गर्छन्, जसले मलाई धुइँधुइँती खोज्छन्, तिनीहरूले मलाई भेट्टाउँछन्।

18 मसित धनसम्पत्ति र आदर छन्, मसित वैभव र समृद्धि छन्।

19 मेरो फल निखुर सुनभन्दा उत्तम छ, मेरो कमाइ चाँदीभन्दा पनि असल छ।

20 म धार्मिकताको बाटोमा हिँड्छु, म न्यायको मार्गमा हिँड्छु।

21 मलाई प्रेम गर्नेलाई म धनसम्पत्तिले भरिपूर्ण पार्छु, म तिनीहरूका ढुकुटी भरिदिन्छु।

22 ‘‘परमप्रभुले सृष्टिको सुरुमा नै सृजनुभयो, उहाँले मलाई उहाँका सबै कार्यभन्दा अघि नै सृष्टि गर्नुभयो।

23 आदिमा अर्थात् संसारको सुरुभन्दा अघि नै, अनन्तको निम्ति म नियुक्ति गरिएको थिएँ।

24 महासागर नहुँदै, पानीले भरिएका खोलानाला नहुँदै म जन्मेको थिएँ।

25 पर्वतहरू आफ्नो स्थानमा स्थापित हुनुभन्दा पहिले नै, पहाडहरूभन्दा पनि अघि नै मेरो जन्म भएको थियो।

26 उहाँले पृथ्वी वा जमिन वा संसारको धुलोको कण सृष्टि गर्नुभन्दा अघि नै म सृजिएको थिएँ।

27 उहाँले आकाशलाई स्थापित गर्नुहुँदा, महासागरलाई क्षितिजले घेर्नुहुँदा म त्यहीँ थिएँ।

28 उहाँले बादललाई आकाशमा स्थापित गर्नुहुँदा, महासागरका असङ्ख्य मूललाई तिनीहरूका ठाउँमा दृढसँग बसाल्नुहुँदा,

29 उहाँको आज्ञा विपरीत पानी नाघेर नजाओस् भनी समुद्रको सिमाना तोकिदिनुहुँदा म त्यहीँ थिएँ।

30 म एक निपुण कारीगरझैँ उहाँकै साथमा थिएँ, म दिनहुँ हर्षले विभोर हुन्थेँ, निरन्तर उहाँको उपस्थितिमा म प्रसन्न थिएँ।

31 उहाँले सृजनुभएको सिङ्गो संसारमा आनन्दित हुँदै, म मानव-जातिमा प्रसन्न रहन्थेँ। हितोपदेश

32 ‘‘अब हे छोरा हो, मेरो कुरा सुन, किनकि जसले मेरो मार्ग पालन गर्छन्, उनीहरू धन्यका हुन्।

33 मेरो अर्ती सुन र बुद्धिमान् होओ, यसलाई अस्वीकार नगर।

34 त्यो मानिस धन्यको हो, जसले मेरो ढोकामा पहरा दिँदै र मेरो ढोकामा पर्खिंदै मेरो वचन सुन्छ।

35 किनभने जसले मलाई भेट्टाउँछ, त्यसले जीवन पाउँछ र परमप्रभुको निगाह प्राप्त गर्छ।

36 मलाई नभेट्टाउनेले आफैलाई हानि गर्छ, मलाई घृणा गर्ने सबैले मृत्युसित प्रेम राख्छ।’’




9

1 बुद्धिले आफ्नो घर बनाएको छ; त्यसले आफ्ना सात खाँबा गाडेको छ।

2 त्यसले आफ्नो पशु मारेको छ, अङ्गुरमद्य तयार पारेको छ र त्यसले आफ्नो टेबुल पनि ठीकठाक पारेको छ।

3 त्यसले आफ्ना दासीहरूलाई निम्तो दिन पठाएको छ; त्यसले शहरका अग्ला ठाउँहरूबाट बोलाउँछ,

4 ‘‘ए निर्बुद्धिहरू हो, यतातिर आओ।’’समझ नभएकोलाई त्यसले भन्छ,

5 ‘‘आओ, मसँग खाओ र मैले मसला मिसाएको अङ्गुरमद्य पिओ।

6 आफ्ना अज्ञानी चाल छोडिदेओ र तिमी बाँच्नेछौ; अनि समझशक्तिको मार्गमा हिँड।

7 ‘‘जसले गिल्ला गर्ने व्यक्तिलाई सुधार्छ, त्यसले अपमान सहनुपर्छ, जसले दुष्ट मानिसलाई हप्काउँछ, त्यसले दुर्व्यवहार बेहोर्नुपर्छ।

8 गिल्ला गर्नेलाई नसुधार्, नत्र त त्यसले तँलाई घृणा गर्नेछ। बुद्धिमान् मानिसलाई सुधार्, र त्यसले तँलाई प्रेम गर्नेछ।

9 बुद्धिमान्लाई अर्ती दियो भने त्यो झन् बुिद्धमानी हुनेछ, धर्मीलाई शिक्षा दियो भने त्यसको ज्ञान अझ बढ्नेछ।

10 ‘‘परमप्र्रभुको भय नै बुद्धिको सुरुआत हो, र परमपवित्रको ज्ञान नै समझशक्ति हो।

11 किनभने मद्वारा नै तँ दीर्घायु हुनेछस्, र तेरो जीवनको वर्ष थपिनेछ।

12 तँ बुद्धिमान् भइस् भने, त्यो तेरै लाभको निम्ति हुनेछ, तँ अहङ्कारी भइस् भने, तैँले नोक्सानी बेहोर्नुपर्नेछ।’’

13 मूर्ख स्त्री होहल्ला मच्चाउने हुन्छे, त्यो अनुशासनहीन र अज्ञानी हुन्छे।

14 किनभने त्यो आफ्नो घरको ढोकामा बस्छे, शहरका अग्ला स्थानहरूमा बस्छे।

15 आ-आफ्ना मार्गमा हिँडेका मानिसहरूलाई यसो भनेर बोलाउँछे,

16 ‘‘ए मूर्ख मानिसहरू हो, यतातिर आओ।’’ समझ नभएकोलाई त्यसले भन्छे,

17 ‘‘चोरेको पानी मीठो हुन्छ, लुकेर खाएको रोटी स्वादिष्ठ हुन्छ।’’

18 तर मृतकहरू त्यहाँ छन् भन्ने कुरा तिनीहरूलाई अलिकति पनि थाहा छैन, र त्यसका पाहुनाहरू पातालको गहिराइमा पुगिसकेका छन् भन्ने कुरा तिनीहरूलाई थाहै छैन।




10

1 बुद्धिमान् छोराले बाबुलाई खुसी तुल्याउँछ तर मूर्ख छोराले आफ्नी आमालाई पिरोल्छ।

2 अन्यायसँग कमाएको धनको कुनै मूल्य हुँदैन, तर धार्मिकताले मृत्युबाट छुटकारा दिन्छ।

3 परमप्रभुले धर्मीलाई भोकै राख्नुहुन्न, तर दुष्टको इच्छालाई व्यर्थ तुल्याउनुहुन्छ।

4 अल्छे हातले मानिसलाई गरिब तुल्याउँछ, तर परिश्रमी हातले धनी तुल्याउँछ।

5 बुद्धिमानी छोराले ग्रीष्मऋतुमा अनाज जम्मा गर्छ, तर फसलको समयमा सुत्ने छोराले लाजमा पार्छ।

6 धर्मीको शिरमा आशिष्को मुकुट हुन्छ, तर दुष्टको मुख हिंसाले भरिएको हुन्छ।

7 धर्मीको सम्झना गर्नु आशिष्मय हुनेछ, तर दुष्टको नामनिसाना मेटिनेछ।

8 बुद्धिमान् मानिसले आज्ञालाई मनमा राख्छ, तर मूर्ख कुरा गर्ने दु:खमा पर्छ।

9 निर्दोष जीवन जिउने सुरक्षित हुन्छ, कुचाल चल्ने मानिसको पतन हुन्छ।

10 कुविचार राखेर आँखा झिम्क्याउनेले दु:ख ल्याउँछ, तर मूर्ख कुरा गर्ने दु:खमा पर्छ।

11 धर्मीको मुखमा जीवनको श्रोत हुन्छ, तर दुष्टको मुख हिंसाले भरिएको हुन्छ।

12 घृणाले कलह उत्पन्न गराउँछ, तर प्रेमले सम्पूर्ण पाप ढाक्छ।

13 विवेकशील मानिसको मुखमा बुद्धिको कुरा पाइन्छ, तर मूर्खको पिठयुँमा लौरो बज्रन्छ।

14 बुद्धिमान् मानिसले ज्ञान सञ्चय गर्छ, तर मूर्खको मुखले सर्वनाश निम्त्याउँछ।

15 धनीको धन नै तिनीहरूको बलियो शहर हो, तर गरिबको दरिद्रता नै तिनीहरूको विनाश हो।

16 धर्मीको ज्यालाले तिनीहरूमा जीवन ल्याउँछ, तर दुष्टको कमाइले तिनीहरूमा दण्ड ल्याउँछ।

17 अनुशासन पालन गर्नेले जीवनको बाटो देखाउँछ, तर सुधारको बेवास्ता गर्नेले अरूलाई भड्काउँछ।

18 छली मुखले घृणा लुकाउँछ, तर मूर्खको बोलीले अपवाद फैलाउँछ।

19 धेरै बोल्नेले धेरै पाप गर्छ, तर बुद्धिमान्ले आफ्नो मुखमा लगाम लगाउँछ।

20 धर्मीको जिब्रो निखुर चाँदीझैँ हुन्छ, तर दुष्टको हृदय मूल्यहीन हुन्छ।

21 धर्मी मानिसको मुखले धेरैलाई तृप्त गराउँछ, तर बुद्धिको अभावले मूर्ख मर्दछ।

22 परमप्रभुको आशिष्ले धनसम्पत्ति ल्याउँछ, उहाँले त्यसलाई कुनै दु:ख दिनुहुन्न।

23 मूर्ख मानिस दुष्ट चालमा रमाउँछ, तर समझशक्ति भएको मानिस बुद्धिमा प्रसन्न हुन्छ।

24 दुष्ट काम गर्ने आफै भयभीत हुन्छ, तर धर्मीको इच्छा पूरा हुन्छ। हितोपदेश

25 दुष्टमाथि विपत्तिको आँधीबेहरी आउँदा सबै नाश हुन्छन्, तर धर्मीजन अनन्तसम्मै स्थिर रहन्छन्।

26 सिर्काले दाँत कुँडिएझैँ, धुवाँले आँखा पोलेझैँ, त्यसरी नै अल्छे मानिस पठाउनेको निम्ति त्यस्तै हुन्छ।

27 परमप्रभुको भयले मानिस दीर्घायु हुन्छ, तर दुष्टको आयु छोटो हुन्छ।

28 धर्मीको उन्नतिले हर्षित तुल्याउँछ, तर दुष्टको आशा फासफुस हुन्छ।

29 परमप्रभुको मार्ग धर्मीजनको निम्ति शरणस्थान हो, तर दुष्ट काम गर्नेहरूका निम्ति विध्वंस हो।

30 धर्मी मानिस कहिल्यै डगमगाउनेछैन, तर दुष्ट मानिस पृथ्वीमा रहनेछैन।

31 धर्मीजनको मुखबाट बुद्धिको कुरा निस्कनेछ, तर छली मानिसको जिब्रो काटिनेछ।

32 धर्मीजनको मुखले ग्रहणयोग्य कुरा बोल्दछ, तर दुष्टको मुखले छली कुरा मात्र गर्दछ।




11

1 छलको तराजुलाई परमप्रभु घृणा गर्नुहुन्छ, तर ठीक तराजुदेखि उहाँ प्रसन्न हुनुहुन्छ।

2 अहङ्कार आउँदा निन्दा पनि आउँछ, तर नम्रहरूसँग बुद्धि पाइन्छ।

3 सोझाहरूको इमानदारीले उनीहरूलाई डोर्याउँछ, तर विश्वासघातीहरूको छली कुराले तिनीहरूलाई नष्ट पार्छ।

4 क्रोधको दिनमा धनसम्पत्ति मूल्यहीन हुन्छ, तर धार्मिकताले मृत्युबाट छुटकारा दिन्छ।

5 निर्दोषको धार्मिकताले तिनीहरूको बाटो सोझो पार्छ, तर दुष्टहरूको दुष्टताले आफ्नै पतन गराउँछ।

6 सोझाहरूको धार्मिकताले तिनीहरूलाई छुटकारा दिन्छ, तर अविश्वासीहरूको खराब अभिलाषाले पासोमा पार्छ।

7 जब दुष्ट मानिस मर्छ, तब त्यसको आशा पनि मर्छ, त्यसले आशा गरेको सबै कुरा निरर्थक हुन्छ।

8 धर्मी मानिस सर्वनाशबाट बचाइन्छ, दुष्ट मानिस त्यसभित्र जाकिन्छ।

9 ईश्वरहीनको मुखले आफ्नो छिमेकीलाई नाश पार्छ, तर ज्ञानद्वारा धर्मीजनले छुटकारा पाउँछ।

10 जब धर्मीजनको फलिफाप हुन्छ, तब शहरै आनन्दित हुन्छ, जब दुष्टहरू नष्ट हुन्छन्, तब रमाहटको नारा लगाइन्छ।

11 धर्मीजनको आशीर्वादले शहरको उन्नति हुन्छ, तर दुष्टको मुखले गर्दा त्यो नष्ट हुन्छ।

12 निर्बुद्धि मानिसले अरूलाई घृणा गर्छ, समझशक्ति भएको मानिस मौन रहन्छ।

13 कुरौटे मानिसले गुप्त कुरा प्रकट गर्छ, तर विश्वासयोग्य मानिसले गुप्त कुरा मनमा राख्छ।

14 पथप्रदर्शनको अभावले जातिको पतन हुन्छ, तर धेरै सल्लाहकारको कारण सुरक्षा निश्चित हुन्छ।

15 परदेशीको जमानी बस्नेले पीडा भोग्नेछ, तर जमानी बस्न अस्वीकार गर्ने सुरक्षित रहनेछ।

16 दयावन्त स्त्रीले आदर पाउँछिन्, तर निर्दयी मानिसहरूले केवल धनसम्पत्ति कमाउँछन्।

17 दयालु मानिसले आफ्नै भलाइ गर्छ, तर निर्दयी मानिसले आफ्नै शरीरलाई कष्ट दिन्छ।

18 दुष्ट मानिसले छली काम गर्छ, धर्मी मानिसले निश्चय इनाम पाउँछ।

19 धार्मिक मानिसले जीवन पाउँछ, तर दुष्टताको पछि लाग्ने मानिस मृत्युमा पर्छ।

20 कुटिल हृदय भएकालाई परमप्रभुले घृणा गर्नुहुन्छ, निर्दोष चाल भएकाहरूसँग उहाँ प्रसन्न हुनुहुन्छ।

21 यो कुरा निश्चित छ; दुष्ट मानिस सजायबाट उम्कनेछैन, तर धर्मी मानिस र त्यसका वंशको केही हानि हुनेछैन।

22 विवेक नभएकी सुन्दरी स्त्री, सुङ्गुरको नाथ्रीमा सुनको नत्थ लाएझैँ हो।

23 धर्मीजनको चाहना असल कुरामा मात्र हुन्छ, तर दुष्टको आशाको अन्त दण्डमा हुन्छ।

24 कुनै मानिसले उदार हातले दिन्छ र अझ बढी पाउँछ, अर्कोले असाध्य जोहो गर्छ, तापनि ऊ दरिद्रतामा नै मर्छ।

25 उदार मानिसको फलिफाप हुन्छ, उत्साह दिने मानिस, आफै उत्साहित हुन्छ।

26 अन्न लुकाएर ढुकुटी भर्ने मानिसलाई अरूले सराप्नेछ, तर स्वेच्छाले अनाज बिक्री गर्ने व्यक्ति आशिष्ले भरपुर हुनेछ।

27 भलाइको खोजी गर्नेले निगाह प्राप्त गर्छ, तर कुभलो चिताउने मानिसमाथि हानि आइपर्छ।

28 आफ्नो धनसम्पत्तिमा भरोसा गर्ने मानिसको पतन हुनेछ, तर धर्मीजन हरियो पातझैँ लहलह मौलाउनेछ।

29 आफ्नो परिवारलाई दु:ख दिनेको भाग हावा मात्रै हुनेछ, र मूर्ख मानिस बुद्धिमान्को सेवक हुनेछ।

30 धर्मीजनको फल जीवनको रूख हो, जसले आत्मा जित्छ, त्यो बुद्धिमान् हो।

31 यदि धर्मीजनले पृथ्वीमा इनाम पाउँछन् भने, ईश्वरहीन र पापीको अवस्था झन् कति डरलाग्दो होला !




12

1 जसले अनुशासनलाई प्रेम गर्छ, उसले ज्ञानलाई प्रेम गर्छ, तर जसले सुधारलाई घृणा गर्छ, त्यो मूर्ख हो।

2 असल मानिसले परमप्रभुको निगाह प्राप्त गर्छ, तर खराब युक्ति रच्ने दोषी ठहरिनेछ।

3 दुष्ट कामद्वारा कुनै मानिस स्थापित हुनसक्दैन, तर धर्मीजनको जरा हल्लिनेछैन।

4 सुयोग्य पत्नी आफ्नो पतिको मुकुट हो, तर तिनीमाथि अपमान ल्याउने पत्नी तिनका हड्डी सडाउने घाउजस्तै हो।

5 धर्मीजनको योजना न्यायसङ्गत हुन्छ, तर दुष्टहरूको युक्ति छलले भरिएको हुन्छ।

6 दुष्टको वचनले कसैको रक्तपात गर्न ढुकिबस्छ, तर धर्मीजनको वचनले तिनीहरूलाई छुटकारा दिन्छ।

7 दुष्टहरू पराजित भएपछि नामोनिसाना रहँदैन, तर धर्मीजनको वासस्थान सधैँ स्थिर रहन्छ।

8 मानिसको बुद्धिअनुसार उसलाई प्रशंसा गरिन्छ, तर बाङ्गो-टेढो मन हुने तुच्छ ठहरिन्छ।

9 आफूलाई उच्च पारेर रोटी नहुनेभन्दा आफैलाई होच्याएर दास हुनु असल हो।

10 धर्मीजनले आफ्ना पशुको वास्ता गर्छ, तर दुष्ट मानिसको दया पनि कठोर हुन्छ।

11 आफ्नो जमिन खनजोत गर्नेसँग प्रशस्त अन्नपात हुन्छ, तर कल्पनाका पछि लाग्ने बुद्धिहीन हुन्छ।

12 दुष्टले लुटका मालको अभिलाषा गर्छ, तर धर्मीजन जरा गाडेर बस्छ।

13 दुष्ट मानिस आफ्नै झुटा कुराद्वारा पक्राउ पर्छ, तर धर्मीजन सङ्कष्टबाट उम्कन्छ।

14 मानिस आफ्नो ओठको फलद्वारा असल थोकले तृप्त हुन्छ, निश्चय नै उसले आफ्नो हातको कामद्वारा इनाम पाउनेछ।

15 मूर्खको चाल त्यसको दृष्टिमा ठीक हुन्छ, तर बुद्धिमान् मानिसले अरूको सल्लाह लिन्छ।

16 मूर्खले आफ्नो रिस झट्टै पोखाउँछ, तर समझदार मानिस अपमान हुँदा पनि चुप रहन्छ।

17 इमानदारीले साँचो कुरा बोल्छ, तर झुटो साक्षी छलले भरिएको हुन्छ।

18 कटुतापूर्ण वचन बोल्नेले तरवारले झैँ घोच्छ, तर बुद्धिमान्को बोलीले निको पार्छ।

19 सत्य कुरा सधैँका लागि स्थिर रहन्छ, तर झुट कुरा क्षणिक हुन्छ।

20 खराब युक्ति रच्ने हृदय छली हुन्छ; तर शान्ति फैलाउने हृदय आनन्दित हुन्छ।

21 धर्मीजनमाथि खराबी आइपर्दैन; तर दुष्ट मानिसहरू दु:ख-कष्टले भरिएका हुन्छन्।

22 परमप्रभुले झुटो ओठलाई घृणा गर्नुहुन्छ, तर इमानदार मानिससित उहाँ प्रसन्न हुनुहुन्छ।

23 समझदार मानिसले आफ्नो ज्ञान आफैसित राख्छ; तर मूर्ख मानिसले आफ्नो मूर्खताको प्रकट गर्छ।

24 परिश्रमी हातले शासन गर्छ, तर आलस्यले कमारो बनाउँछ।

25 चिन्तित हृदयले मानिसलाई कमजोर बनाउँछ, तर दयालु वचनले त्यसलाई आनन्दित तुल्याउँछ।

26 धर्मीजनले छिमेकीलाई सचेत गराउँछ, तर दुष्ट मानिसको चालले तिनीहरूलाई भड्काउँछ।

27 अल्छे शिकारीले शिकार फेला पार्दैन, तर परिश्रमी मानिसले धनसम्पत्ति आर्जन गर्छ।

28 धार्मिकताको बाटोमा जीवन छ; मूर्खताको बाटोमा मृत्यु छ।




13

1 बुद्धिमान् छोराले बाबुको अर्तीमा ध्यान दिन्छ; तर गिल्ला गर्नेले हप्कीलाई बेवास्ता गर्छ।

2 असल मानिसले आफ्नो मुखको फलबाट असल कुराको भोग गर्छ; तर छलीले हिंसाको लालसा गर्छ ।

3 जसले आफ्नो मुख सम्हाल्छ, उसले आफ्नो जीवनको रक्षा गर्छ; तर जसले आफ्नो मुख बजाउँछ, त्यो नाश हुनेछ।

4 अल्छेले लालसा गर्छ तर केही पनि पाउँदैन; तर परिश्रमीको इच्छा तृप्त हुनेछ।

5 धर्मीजनले झुटलाई घृणा गर्छ, तर दुष्ट मानिसले घिनलाग्दो काम गर्छ र लाजमा पार्छ।

6 धार्मिकताले इमानदार मानिसको रक्षा गर्छ, तर दुष्टताले पापीको संहार गर्छ।

7 कोही मानिस धनको धाक लगाउँछ, तापनि त्यससँग केही हुँदैन, कोही मानिस निर्धनझैँ देखिन्छ, तापनि त्यससँग प्रशस्तै धन हुन्छ।

8 धनीले धन दिएर आफ्नो प्राण बचाउँछ; तर गरिब धम्कीबाट सुरक्षित रहन्छ।

9 धर्मीजनको ज्योति चहकिलो भएर चम्कन्छ; तर दुष्टको बत्ती निभाइन्छ।

10 घमन्डले झगडा उत्पन्न गराउँछ; सरसल्लाह लिनेहरूबाट बुद्धि पाइन्छ।

11 बेइमानीसँग कमाएको धन घट्दै जान्छ, तर इमानदारिसाथ कमाएको धन बढ्दै जान्छ।

12 आशा साकार नहुँदा मन मर्छ, तर इच्छा पूरा हुनु जीवनको रूख हो।

13 अर्तीलाई तुच्छ ठान्नेमाथि दु:ख आइपर्छ; तर आज्ञालाई आदर गर्नेले इनाम पाउँछ।

14 बुद्धिमान् मानिसको अर्ती जीवनको मूल हुन्छ; जसद्वारा मृत्युको पासोबाट मानिस उम्कन्छ।

15 असल समझले अनुग्रह दिन्छ; तर बेइमानको मार्गले नाशमा पुर्याउँछ।

16 समझदार मानिसले बुद्धि पुर्याएर काम गर्छ; तर मूर्खले आफ्नो मूर्खता देखाउँछ।

17 दुष्टसन्देशवाहकले फुट ल्याउँछ; तर विश्वासयोग्य सन्देशवाहकले निको तुल्याउँछ।

18 अनुशासनलाई अपमान गर्नेमाथि दरिद्रता र लाज आइपर्छ; तर आज्ञालाई आदर गर्नेले इनाम पाउँछ।

19 इच्छा पूरा हुँदा आत्मसन्तुष्टि हुन्छ, तर खराबीबाट हट्नु मूर्खहरूका निम्ति घृणित हुन्छ।

20 बुद्धिमान्को सङ्गत गर्ने मानिस बुद्धिमान् हुन्छ; मूर्खको सङ्गत गर्ने मानिस जोखिममा पर्छ।

21 पापीलाई खराबीले पछयाउँछ; तर धर्मीको इनाम समृद्धि हुन्छ।

22 असल मानिसले आफ्ना सन्तानको निम्ति पैतृकि सम्पत्ति छोडिराख्छ; तर पापीले धर्मीजनको निम्ति धनसम्पत्ति थुपार्छ।

23 गरिबहरूको जमिनले प्रशस्त अन्नपात उब्जाउँछ; तर अन्यायले गर्दा त्यो खोसिन्छ।

24 छडी नचलाउने बाबुले छोरालाई घृणा गर्छ; तर प्रेम गर्ने बाबुले त्यसलाई अनुशासनमा राख्छ।

25 धर्मी मानिसले पेटभरि खान्छ, तर दुष्ट मानिस भोकभोकै हिँड्नुपर्छ।




14

1 बुद्धिमती स्त्रीले आफ्नो घरको निर्माण गर्छे; तर निर्बुद्धि स्त्रीले आफ्नै हातले त्यो भत्काउँछे।

2 इमानदार मानिसले परमप्रभुको भय मान्छ; तर छलीले उहाँको तिरस्कार गर्छ।

3 मूर्खको बोलीले आफ्नै पीठमाथि लाठो ल्याउँछ; तर बुद्धिमान्को बोलीले त्यसको सुरक्षा गर्छ।

4 जहाँ गोरुहरू छैनन्, त्यहाँ भकारी खाली रहन्छ, तर बलियो गोरुको बलले प्रशस्त अन्नको कटनी हुन्छ।

5 विश्वासयोग्य साक्षीले झुट बोल्दैन; तर झुटो साक्षीले झुट कुरा बक्नेछ।

6 खिल्ली उडाउनेले बुद्धिको खोजी गर्छ, तर पाउँदैन, तर समझशक्ति भएकोलाई ज्ञान सजिलैसित आउँछ।

7 मूर्ख मानिसदेखि टाढै बस्, किनभने त्यसका ओठमा ज्ञानको कुरा पाइँदैन।

8 समझदार मानिससित ठीक बाटो पहिल्याउने बुद्धि हुन्छ; तर मूर्ख मानिसको मूर्खताले मानिसहरूलाई बहकाउँछ।

9 पापको क्षतिपूर्ति गर्ने कुरामा मूर्खले खिल्ली उडाउँछ, तर इमानदारीसँग चल्नेहरूका माझमा श्रद्धाभाव पाइन्छ।

10 हृदयले आफ्नै तीतोपनलाई जान्दछ; अनि अरू मानिस त्यसको आनन्दमा सहभागी हुँदैन।

11 दुष्टको घर भत्काइनेछ; तर सोझो मानिसको पाल फैलिनेछ।

12 कुनै बाटो मानिसको नजरमा ठीक देखिएला; तर अन्त्यमा त्यसले मृत्युमा पुर्याउँछ।

13 हाँसेको बेलामा पनि हृदय शोकाकुल हुनसक्छ; तर आनन्दको अन्त पनि खिन्नता हुनसक्छ।

14 धर्मभ्रष्टले आफ्नै चालको फल भोग्नेछ; असल मानिसले आफ्नै कामको इनाम पाउनेछ।

15 निर्बुद्धि मानिसले जुनसुकै कुरा पत्याउँछ; तर समझदार मानिसले आफ्नो पाइलामा ध्यान दिन्छ।

16 बुद्धिमान् मानिसले परमप्रभुको भय राख्छ र खराब कुरादेखि टाढै बस्छ; तर मूर्ख मानिस बेसमझदार र रिसाहा हुन्छ।

17 रिसाहा मानिसले मूर्ख काम गर्छ; तर दुष्ट युक्ति रच्ने मानिस घृणित हुन्छ।

18 निर्बुद्धि मानिसले मूर्खता कमाउँछ; तर समझदार मानिसले ज्ञानको मुकुट लगाउँछ।

19 दुष्ट मानिसहरू असल मानिसहरूको सामु र खराब मानिसहरू धर्मी मानिसहरूको ढोकामा झुक्नुपर्छ।

20 गरिब मानिस आफ्नै छिमेकीद्वारा तिरस्कृत हुन्छ; तर धनीका धेरै मित्र हुन्छन्।

21 जसले छिमेकीलाई तुच्छ ठान्छ, त्यसले पाप गर्छ; तर जसले गरिबमाथि दया राख्छ, त्यो धन्यको हो।

22 के दुष्ट युक्ति रच्नेहरू भड्किएर जाँदैनन् र? तर असल युक्ति रच्नेहरूले करुणा र सत्यता पाउनेछन्।

23 सबै परिश्रमबाट लाभ हुन्छ; तर कुरा मात्र गर्नाले दरिद्रता बढ्छ।

24 बुद्धिमान्को मुकुट उनीहरूको धनसम्पत्ति हो, तर मूर्खको मूर्खता नै उनीहरूको गहना हो।

25 साँचो गवाहीले प्राण जोगाउँछ; तर झुटो गवाही छली हुन्छ।

26 परमप्रभुको भय मान्ने मानिस सुरक्षित हुन्छ; र त्यसका छोरोछोरीका निम्ति त्यो एक शरणस्थान हुनेछ।

27 परमप्रभुको भय नै जीवनको मूल हो, जसद्वारा मानिस मृत्युको पासोबाट उम्कन्छ।

28 प्रजाको बुद्धिले राजा आदरयोग्य हुन्छ; तर प्रजाको अभावमा शासकको पतन हुन्छ।

29 धैर्य धारण गर्ने मानिसको समझशक्ति हुन्छ; तर रिसाहा मानिसले मूर्खता देखाउँछ।

30 शान्त हृदयले शरीरलाई जीवन दिन्छ; तर डाहले हड्डी मक्काउँछ।

31 गरिबलाई थिचोमिचो गर्नेले आफ्नो सृष्टिकर्ताको अपमान गर्छ, तर दरिद्रलाई दया देखाउनेले उहाँको आदर गर्छ।

32 दुष्ट मानिस आफ्नै खराबीले नष्ट हुन्छ; तर धर्मीजनले आफ्नो इमानदारितामा शरण पाउँछ।

33 समझदार मानिसको हृदयमा बुद्धिले वास गर्छ; तर मूर्खहरूको बीचमा समेत बुद्धिले आफैलाई प्रकट गराउँदछ।

34 धार्मिकताले देशलाई माथि उचाल्छ; तर पाप कुनै पनि जातिको निम्ति कलङ्क हुन्छ।

35 राजाको निगाह बुद्धिमान् सेवकमाथि रहन्छ; तर लाजमर्दो दासमाथि तिनको क्रोध खनिन्छ।




15

1 नम्र जवाफले क्रोधलाई शान्त पार्छ; तर कठोरवचनले रिस उठाउँछ।

2 बुद्धिमान्को जिब्रोले ज्ञानलाई ठीकसँग प्रयोग गर्छ; तर मूर्ख मानिसले मूर्खै कुरा उकेल्छ।

3 परमप्रभुको दृष्टि सर्वत्र रहन्छ, उहाँले असल र खराब दुवैमाथि दृष्टि राख्नुहुन्छ।

4 स्वस्थ जिब्रोजीवनको रूख हो; तर छली जिब्रो आत्माको निम्ति आघात हो।

5 मूर्खले आफ्नो बाबुको अनुशासनलाई तुच्छ ठान्छ; तर अर्तीलाई शिरोपर गर्ने मानिस समझदार हुन्छ।

6 धर्मीजनको घरमा प्रशस्त धन हुन्छ; तर दुष्ट मानिसको कमाइले दु:ख ल्याउँछ।

7 बुद्धिमान् मानिसको मुखले ज्ञान फैलाउँछ; तर मूर्खहरूका हृदय भने त्यस्तो हुँदैन।

8 दुष्ट मानिसको बलिदान परमप्रभुको निम्ति घृणित कुरा हो; तर असल मानिसको प्रार्थना उहाँको निम्ति आनन्द हो।

9 दुष्ट मानिसको चालचलन परमप्रभुको दृष्टिमा घृणित हुन्छ; तर धार्मिकताको पछि लाग्नेलाई उहाँले प्रेम गर्नुहुन्छ।

10 धर्मभ्रष्ट मानिसको निम्ति अनुशासन कष्टदायक हुन्छ; हप्कीलाई घृणा गर्ने मानिस मर्नेछ।

11 मृत्यु र विनाश परमप्रभुको सामुन्ने खुलस्त छन् भने, झन् कति धेरै मानिसको हृदय खुलस्त होला !

12 हठी मानिसले अर्ती रुचाउँदैन; त्यसले बुद्धिमान् मानिसको सल्लाह लिँदैन।

13 आनन्दित हृदयले अनुहार उज्यालो पार्छ; दु:खित हृदयले आत्मालाई आघात पुर्याउँछ।

14 समझशक्ति भएको हृदयले ज्ञानको खोजी गर्छ; तर मूर्ख मानिसले मूर्खता नै रुचाउँछ।

15 अपहेलितको जीवन दिनहुँ दु:खको हुन्छ, तर आनन्दित हृदय निरन्तर प्रसन्न हुन्छ।

16 अशान्तिसँग कमाएको धनभन्दा परमप्रभुको भयसित थोरै धन राख्नु असल हो।

17 डाहसित खाएको मोटो पशुभन्दा प्रेमसित खाएको सागपात असल हो।

18 रिसाहा मानिसले झगडा उत्पन्न गराउँछ; तर सहनशील मानिसले झगडालाई शान्त पार्छ।

19 अल्छेको बाटोमा काँडैकाँडा हुन्छ; धर्मीजनको बाटो समतल हुन्छ।

20 बुद्धिमान् छोराले बाबुलाई आनन्दित तुल्याउँछ; तर मूर्ख छोराले आमाको अनादर गर्छ।

21 समझ नभएको मानिस मूर्खतामा प्रसन्न हुन्छ; तर समझशक्ति भएको मानिस सीधा चालमा चल्छ।

22 परामर्शबिनाको योजना विफल हुन्छ; तर धेरै परामर्श लिएर गरेको योजना सफल हुन्छ।

23 आफ्नो मुखको जवाफद्वारा मानिस आनन्दित हुन्छ; झन् ठीक समयमा बोलेको वचन कति असल हुन्छ !

24 जीवनको मार्गले बुद्धिमान्लाई माथितिर डोर्याउँछ; र त्यसलाई पातालदेखि जोगाउँछ।

25 घमन्डीहरूको घरलाई परमप्रभुले भत्काउनुहुनेछ; तर विधवाको साँधसिमाना उहाँले स्थिर पार्नुहुनेछ।

26 दुष्टका विचारलाई परमप्रभुले घृणा गर्नुहुन्छ; तर शुद्ध मानिसका विचारले उहाँलाई प्रसन्न तुल्याउँछ।

27 लोभी मानिसले आफ्नो परिवारमा सङ्कष्ट ल्याउँछ; तर घुसलाई घृणा गर्ने मानिसको जीवन सुखी हुन्छ।

28 धर्मीजनको हृदयले जवाफ दिनअघि सोच्दछ; तर दुष्ट मानिसको मुखले खराब कुरा उकेलिहाल्छ।

29 दुष्टदेखि परमप्रभु टाढै रहनुहुन्छ; तर धर्मीजनको प्रार्थना उहाँले सुन्नुहुन्छ।

30 हँसिलो अनुहारले मनलाई आनन्द दिन्छ; अनि शुभसामाचारले हड्डीहरूलाई पोषण दिन्छ।

31 जसले जीवन दिने हप्कीलाई सुन्छ; त्यो बुद्धिमान् मानिसहरूको सङ्गतमा रहन्छ।

32 अर्ती अस्वीकार गर्नेले आफ्नै प्राणलाई तुच्छ ठान्छ; तर हप्की सुन्नेले समझशक्ति पाउँछ।

33 परमप्रभुको भयले मानिसलाई बुद्धिका कुरा सिकाउँछ; अनि आदर आउनअघि नम्रता आउँछ।






16

1 मानिसको हृदयले आफ्नो योजना बनाउँछ; तर जिब्रोको जवाफ भने परमप्रभुबाट आउँछ।

2 मानिसका सारा मार्ग आफ्नो दृष्टिमा असल होला; तर मानिसको इच्छा जाँच गर्ने परमप्रभु नै हुनुहुन्छ।

3 आफूले गर्ने सबै काम परमप्रभुलाई सुम्पिदेऊ; अनि तिम्रो योजना सफल हुनेछ।

4 परमप्रभुले सबै थोक आफ्नो उद्देश्यको निम्ति बनाउनुभएको छ; हो, दुष्टलाई पनि विनाशको दिनको निम्ति बनाउनुभएको छ।

5 हृदयमा घमन्ड भएका सबैलाई परमप्रभुले घृणा गर्नुहुन्छ; निश्चय नै तिनीहरू दण्ड नपाई उम्कनेछैनन्।

6 प्रेम र सत्यताद्वारा पाप ढाकिनेछ; परमप्रभुको भयद्वारा मानिस खराबीदेखि अलग बस्छ।

7 जब मानिसका चालले परमप्रभुलाई प्रसन्न तुल्याउँछ; तब उहाँले त्यसका शत्रुहरूलाई त्यससित मिलापमा राख्नुहुन्छ।

8 इमानदारिसित कमाएको थोरै धन, अन्यायसित कमाएको धेरै धनभन्दा असल हो।

9 मानिसले आफ्नो हृदयमा योजना बनाउँछ; तर परमप्रभुले नै उसको पाइलालाई निर्धारण गर्नुहुन्छ।

10 राजाको मुखबाट दिव्यवचन निस्कन्छ; न्याय गर्दा उनको मुखले उचित न्याय गर्दछ ।

11 ठीक नापतौल परमप्रभुबाटै आउँछ; थैलीका सबै ढक उहाँकै काम हुन्।

12 राजाहरूले दुष्ट कामलाई तिरस्कार गर्छन्; किनकि धार्मिकताद्वारा नै सिंहासन स्थापित हुन्छ।

13 राजाहरू इमानदार ओठसँग हर्षित हुन्छन्; सत्य बोल्ने मानिसलाई तिनीहरू कदर गर्छन्।

14 राजाको क्रोध मृत्युको दूत हो; तर बुद्धिमान् मानिसले त्यो शान्त गराउँछ।

15 राजाको मुहारको उज्यालोमा जीवन हुन्छ; तिनको निगाह वसन्तऋतुका बादलको झरीजस्तै हुन्छ।

16 बुद्धि प्राप्त गर्नु सुनभन्दा पनि असल हो; अनि समझशक्ति छान्नु निखुर चाँदीभन्दा असल हो।

17 खराबीबाट हट्नु सोझाहरूको मूलबाटो हो; जसले आफ्नो मार्गको सुरक्षा गर्छ; उसले आफ्नो जीवनलाई जोगाउँछ।

18 नाशको अघि अहङ्कार आउँछ; पतनको अघि अभिमान आउँछ।

19 घमन्डीहरूसँग लुटका माल बाँड्नुभन्दा खाँचोमा परेकाहरूसित नम्रपूर्वक बस्नु असल हो।

20 वचन ध्यानपूर्वक सुन्ने मानिस सुखी हुन्छ; परमप्रभुमा भरोसा राख्ने मानिस आशिषित हुन्छ।

21 हृदयमा बुद्धिमान् हुनेहरूलाई विवेकशील भनिन्छ; अनि मीठो वचनले शिक्षाको वृद्धि गराउँछ।

22 समझशक्ति हुनेसँग जीवनको स्रोत हुन्छ; तर मूर्खहरूको मूर्खताले दण्ड ल्याउँछ। हितोपदेश

23 बुद्धिमान्को हृदयले आफ्नो मुख सम्हाल्छ; अनि त्यसका वचनले शिक्षाको वृद्धि गराउँछ।

24 मधुर वचन महको चाकाझैँ हुन्छ; जसले प्राणलाई मिठास दिन्छ र हड्डीहरू निको पार्छ।

25 कुनै बाटो मानिसको दृष्टिमा ठीकै झैँ देखिन्छ; तापनि यसले अन्तमा मृत्युमा पुर्याउँछ।

26 परिश्रमीको पेटले त्यसलाई परिश्रमी बनाउँछ; किनकि त्यसको मुखले त्यसलाई करमा पार्छ।

27 भक्तिहीन मानिसले खराबीलाई खोतल्छ; अनि त्यसको बोलीवचन आगोको भुङ्ग्रोझैँ हुन्छ।

28 छली मानिसले झगडा उत्पन्न गराउँछ; चुक्लीखोरले मित्रहरूमा फाटो गराउँछ।

29 विद्रोही मानिसले आफ्नो छिमेकीलाई फसाउँछ; त्यसले उसलाई खराब बाटोतिर डोर्याउँछ।

30 आँखा झिम्क्याउनेले षडयन्त्र रच्दछ; ओठ लेब्र्याउनेले खराब विचार गर्दछ।

31 फुलेको केश शोभाको मुकुट हो; धर्मी जीवनबाट यो प्राप्त हुन्छ।

32 धैर्यवान् मानिस वीर योद्धाभन्दा महान् हो; शहरलाई कब्जा गर्नुभन्दा आफ्नो क्रोधलाई दमन गर्नु उत्तम हो।

33 चिट्ठा त हालिन्छ; तर त्यसको निर्णायक परमप्रभु नै हुनुहुन्छ।




17

1 कलहले भरिएको घरमा भोज खानुभन्दा शान्तिको साथमा निस्तो गाँस खानु नै उत्तम हो।

2 बुद्धिमान् दासले लाजमा पार्ने छोरामाथि शासन गर्नेछ र दाजुभाइसरह पैतृक सम्पत्तिको हकदार हुनेछ।

3 चाँदी पगाल्ने भाँडो हुन्छ र सुन खार्ने आरन हुन्छ, तर मानिसको हृदय जाँच गर्ने परमप्रभु नै हुनुहुन्छ।

4 कुकर्मीले झुट बोल्ने ओठतिर ध्यान दिन्छ; र झुट बोल्नेले चुक्ली कुरातिर ध्यान दिन्छ।

5 गरिबलाई खिसी गर्नेले सृष्टिकर्ताको अपमान गर्छ, जो अरूका विपत्तिमा रमाउँछ, त्यो दण्ड नपाई उम्कनेछैन।

6 नातिनातिना वृद्धहरूका मुकुट हुन्; अनि आमा-बाबु आफ्ना छोराछोरीका गर्व हुन्।

7 मूर्खलाई मीठो कुरा सुहाउँदैन; शासकलाई झुट बोल्ने ओठ त झन् सुहाउँदैन !

8 घुस दिने मानिसका आँखामा घुस बहुमूल्य मोतीझैँ हुन्छ; जता त्यो फर्कन्छ, त्यतै त्यो सफल हुन्छ।

9 अर्काको दोष ढाकछोप गर्नेले त्यसबाट प्रेमभावको आशा गर्छ; तर जसले त्यही कुरा दोहोर्याइरहन्छ, त्यसले मित्रता तोड्छ।

10 मूर्खलाई सय कोर्रा लगाउँदा जति प्रभाव पार्छ, समझशक्ति भएको मानिसलाई एउटै हप्कीले झन् बढी प्रभाव पार्छ।

11 दुष्ट मानिसले विद्रोही कुरा मात्र सोच्दछ; यसकारण त्यसको विरुद्धमा निर्दयी शासक पठाइनेछ।

12 मूर्ख मानिसलाई मूर्खतामा भेट्नुभन्दा त बरु बच्चा खोसिएको भालुलाई भेट्नु उचित हो।

13 यदि मानिसले भलाइको साटो खराबी गर्छ भने खराबीले उसको घरलाई कहिल्यै छोड्नेछैन।

14 झगडाको सुरु बाँध फुटेर निस्केको बाढजस्तै हो; यसकारण वादविवाद चर्किनुअघि नै त्यसलाई साम्य पार।

15 दोषीलाई निर्दोष र निर्दोषीलाई दोषी ठहर्याउने, ती दुवैलाई परमप्रभुले घृणा गर्नुहुन्छ।

16 बुद्धिको निम्ति मूर्खको हृदयमा ठाउँ नै छैन भने त्यसको हातमा भएको रुपियाँपैसाको के काम?

17 मित्रले हरसमय प्रेम गर्छ, तर दाजुभाइ दु:खमा सहभागी हुन जन्मेको हुन्छ।

18 समझशक्ति नभएको मानिसले वाचाबन्धन गर्छ; र आफ्नो छिमेकीको निम्ति जमानी बस्छ।

19 झगडालाई प्रेम गर्नेले पापलाई रुचाउँछ, अहङ्कारी वचनले विनाशलाईनिम्त्याउँछ।

20 कुटिल हृदय भएको मानिसको उन्नति हुँदैन, छली जिब्रो भएको मानिसले सत्यानाश निम्त्याउँछ।

21 मूर्ख छोराले अफसोस ल्याउँछ, र मूर्खको बाबुलाई पछुतो हुन्छ।

22 प्रसन्नहृदय उत्तम औषधी हो; तर विचलित आत्माले हड्डीलाई सुकाउँछ।

23 दुष्ट मानिसले न्याय बिगार्न गुप्तमा घुस लिन्छ। 2

24 समझशक्ति भएको मानिसले आफ्नो दृष्टि बुद्धितिर लगाउँछ; तर मूर्ख मानिसको दृष्टिले पृथ्वीको चारैतिर आँखा डुलाउँछ।

25 मूर्ख छोराले आफ्ना बाबुलाई पिरोल्छ; र जन्म दिनेमाथि तीतोपन ल्याउँछ।

26 धर्मीजनलाई दण्ड दिनु असल होइन, न त इमानदारी कर्मचारीलाई कोर्रा लगाउनु नै असल हो।

27 ज्ञानी मानिसले थोरै शब्द मात्र बोल्छ; र समझशक्ति भएको मानिस मिजासिलो हुन्छ।

28 चुप लागिबस्ने मूर्ख पनि ज्ञानी देखिन्छ, र जिब्रोलाई लगाम लगाउने मानिस विवेकी मानिन्छ।




18

1 मित्रभाव नराख्ने मानिस स्वार्थको पछि लाग्छ; त्यसले सबै उचित ठहरको विरोध गर्छ।

2 मूर्खले समझशक्तिमा कुनै आनन्द पाउँदैन, तर आफ्नै विचार पोख्न पाए त्यो प्रसन्न हुन्छ।

3 जब दुष्टता आउँछ, तब अपमान पनि आउँछ, अनि अनादरको साथमा निन्दा पनि आउँछ।

4 मानिसको मुखको वचन पानीको गहिराइझैँ हुन्छ, तर बुद्धिको स्रोत बगिरहने खोलाझैँ हुन्छ।

5 दुष्टको पक्ष लिनु उचित होइन, र निर्दोषलाई न्यायबाट वञ्चित गर्नु असल होइन।

6 मूर्ख मानिस बोल्दा झगडा उत्पन्न हुन्छ, र मुखको वचनले गर्दा त्यसले कुटाइ खान्छ। हितोपदेश

7 मूर्खको मुख त्यसको विनाश हो, र त्यसका ओठ त्यसको प्राणको निम्ति पासो हो।

8 कुराउटेको वचन स्वादिष्ठ खानेकुराझैँ हुन्छ, र त्यो मानिसको भित्री भागसम्मै पुग्छ।

9 जसले आफ्नो काममा अल्छी गर्छ, त्यो सर्वनाश गर्नेको साक्खै भाइजस्तै हो।

10 परमप्रभुको नाउँ एक बलियो धरहरा हो; धर्मीजन दगुरेर त्यसभित्र जान्छन् र सुरक्षित हुन्छन्।

11 धनी मानिसको धनसम्पत्ति नै त्यसको बलियो शहरजस्तै हो, र त्यसको विचारमा त्यो अग्लो पर्खालजस्तो हो।

12 विनाश हुनुभन्दा पहिले मानिसको हृदय अहङ्कारी हुन्छ र आदर पाउनुभन्दा पहिले नम्रता आउँछ।

13 राम्ररी सुन्नुअघि नै जवाफ दिनु मूर्खता र अशिष्टता हो।

14 मानिसको आत्माले त्यसलाई बिरामी अवस्थामा सहारा दिन्छ, तर आत्मालाई चोट लागेको छ भने कसले सहन सक्छ?

15 समझशक्ति भएको हृदयले ज्ञान प्राप्त गर्छ, अनि बुद्धिमान्को कानले ज्ञानको खोजी गर्छ।

16 मानिसको उपहारले उसको निम्ति मार्गर् तयार पार्छ र उसलाई ठूला मानिसहरूका सामु पुर्याउँछ।

17 दोस्रो व्यक्तिले प्रश्न नगरेसम्म, मुद्दा हाल्ने पहिलो व्यक्ति नै ठीक देखा पर्छ।

18 गोला हाल्नाले झगडा मेटिन्छ, र बलिया प्रतिद्वन्द्वीहरूलाई एक-अर्काबाट अलग पार्छ।

19 बलियो शहरलाई जित्नुभन्दा चित्त दुखाएको भाइलाई मनाउनु झन् गाह्रो हुन्छ, अनि तिनीहरूका झगडा किल्लाका बारहरूजस्तै बलियो हुन्छ।

20 मानिसको पेट उसको मुखको फलले भरिएको हुन्छ; अनि उसका ओठको कमाइले ऊ तृप्त हुन्छ।

21 जीवन र मृत्युको शक्ति जिब्रोमा हुन्छ, त्यसलाई प्रेम गर्नेहरूले त्यसको फल खानुपर्छ।

22 जसले पत्नी पाउँछ, उसले असल कुरा पाउँछ, र त्यसले परमप्रभुबाट निगाह प्राप्त गर्छ।

23 गरिबले दयाको निम्ति विन्ती गर्छ, तर धनी मानिसले रुखो जवाफ दिन्छ।

24 धेरै साथी भएको मानिस पनि सर्वनाश हुनसक्छ, तर त्यहाँ एक जना साथी छन्, जो भाइभन्दा पनि नजिक टाँसिन्छन्।




19

1 छली कुरा गर्ने मूर्ख मानिसभन्दा गरिब भएर निष्कलङ्क रहनु उत्तम हो।

2 बिनाज्ञानको उत्साह असल हुँदैन। हतार गर्नेले बाटो बिराउँछ।

3 मानिसको आफ्नै मूर्खताले उसको जीवन नाश हुन्छ, त्यसपछि त्यसको हृदयले परमप्रभुको विरुद्धमा असन्तोष प्रकट गर्छ।

4 धनले धेरै मित्र बनाउँछ, तर गरिब आफ्नो मित्रबाट अलग पारिन्छ।

5 झुटो गवाही दिने मानिस दण्ड नपाई उम्कँदैन, अनि झुट बोल्ने मानिस पनि उम्कनेछैन।

6 धेरै मानिसहरू शासकको निगाह खोज्छन्, तर उदारसित दिनेको निम्ति सबै आफ्नो मित्र हुन्छन्।

7 गरिब मानिस आफ्ना सबै आफन्तबाट त्यागिन्छ, त्यसका मित्रहरूले त त्यसलाई झन् कति बढी त्याग्लान् ! त्यसले विन्ती गरेर तिनीहरूको पछि लागे तापनि तिनीहरू कहीँ फेला पर्दैनन्।

8 बुद्धि प्राप्त गर्नु आफैलाई साँचो प्रेम गर्नु हो, समझशक्ति प्राप्त गर्नु सफलता पाउनु हो।

9 झुटो गवाही दिने मानिस दण्ड नपाई उम्कँदैन, झुट बोल्ने मानिस नाश हुनेछ।

10 मूर्खलाई अमनचैनमा जिउनु सुहाउँदैन, दासले राजकुमारमाथि शासन गर्न झन् सुहाउँदैन !

11 मानिसको बुद्धिले त्यसलाई धैर्य दिन्छ; अरूले गरेको अपमान सहिदिनु उसको निम्ति महानता हो।

12 राजाको क्रोध सिंहको गर्जनजस्तै हो; तिनको निगाह घाँसमाथिको शीतजस्तै हो।

13 मूर्ख छोराले आफ्नो बाबुमाथि विपत्ति ल्याउँछ; अनि कचकचे पत्नी नटुङ्गिने पानीको तपतप गर्ने थोपाझैँ हो।

14 घर र धनसम्पत्ति पिता-पुर्खाबाट आएको हुन्छ; तर बुद्धिमत्ती पत्नी परमप्रभुबाट आएकी हुन्छे।

15 अल्छीपनले गहिरो निद्रामा पार्छ; अल्छे मानिस भोकभोकै तड्पिनुपर्छ।

16 आज्ञापालनले मानिस सुरक्षित हुन्छ, तर परमप्रभुको मार्गलाई तुच्छ ठान्ने मर्नेछ।

17 गरिबलाई दया देखाउनु परमप्रभुलाई सापट दिनु हो; अनि उसले उहाँलाई जे दिएको छ, उहाँले त्यो फिर्ता दिनुहुनेछ।

18 आशा भएसम्म छोरालाई दण्ड देऊ, तर पिटेर मृत्युसम्म नपुर्याऊ।

19 रिसाहा मानिसले दण्ड भोग्नेछ; यदि त्यसलाई जोगायौ भने फेरि पनि त्यसै गर्नुपर्नेछ।

20 दिएको सल्लाह राम्ररी सुन र अर्तीलाई ग्रहण गर, अनि अन्त्यमा तिमी बुद्धिमान् हुनेछौ।

21 मानिसको मन योजनाले भरिएको हुन्छ, तर परमप्रभुको उद्देश्य नै सफल हुन्छ।

22 मानिसले अचुक प्रेमको चाहना गर्छ, झुट बोल्नुभन्दा त गरिब हुनु असल हो।

23 परमप्रभुको भयले जीवनतिर डोर्याउँछ, तब मानिस ढुक्क भएर बस्नेछ र दु:खले त्यसलाई छुनेछैन।

24 अल्छेले आफ्नो हात थालमा गाड्छ, त्यसले आफ्नो हात उठाएर मुखमा समेत पुर्याउँदैन।

25 खिल्ली उडाउनेलाई कोर्रा लगाऊ, अनि निर्बुद्धि मानिस होसियार हुनेछ; समझशक्ति भएको मानिसलाई हप्काऊ, अनि त्यसले आफ्नो ज्ञान बढाउनेछ।

26 जसले बाबुलाई लुट्छ, त्यसले आमालाई लखेट्छ, त्यही नै सर्ममा पार्ने र कलङ्क लगाउने छोरा हो। हितोपदेश

27 हे मेरो छोरा, त्यस्तो शिक्षा सुन्न छोडिदे, जसले तँलाई ज्ञानका वचनबाट भड्काउँछ।

28 भक्तिहीन गवाहीले न्यायलाई ठट्टामा उडाउँछ; अनि दुष्ट मानिसको कुराले उपद्रव बढाउँछ।

29 खिल्ली उडाउनेको निम्ति दण्ड र मूर्खको निम्ति कोर्रा राखिएको छ।




20



अङ्गुरमद्यले खिल्ली उडाउँछ र मद्यले होहल्ला मच्चाउँछ, त्यसमा लत बस्ने कोही पनि बुद्धिमानी हुँदैन।

2 राजाको क्रोध सिँहको गर्जनजस्तै हुन्छ, तिनलाई रिस उठाउने मानिसले जीवन गुमाउँछ।

3 झगडादेखि हट्नु आदरणीय कुरा हो, तर हरेक मूर्ख यसैमा फसिरहन्छ।

4 अल्छेले बेलामा जोत्दैन, त्यसले फसलको बेलामा खोज्छ तर केही फेला पार्दैन।

5 मानिसको उद्देश्य भनेको पानीको गहिराइमा भएजस्तै हो, तर समझदार मानिसले त्यसलाई बाहिर निकाल्छ।

6 धेरै मानिसले आफूमा अचुक प्रेम भएको दाबी गर्छन्, तर विश्वासयोग्य मानिस कहाँ पाउन सकिन्छ र?

7 धर्मीजनले निर्दोष जीवन जिउँछ भने त्यसपछि आउने त्यसका सन्तान आशिषित हुन्छ।

8 जब राजा न्याय गर्न सिंहासनमा बस्छन्, तब सबै खराबीलाई छानबिन गरेर छरपस्ट पार्छन्।

9 ‘‘मैले मेरो हृदय शुद्ध राखेको छु, म सफा र पापरहित छु’’ भनेर कसले भन्न सक्छ?

10 दुई थरीका ढक र नाप परमप्रभुले घृणा गर्नुहुन्छ।

11 बालकको व्यवहारद्वारा उसको काम ठीक छ कि छैन भन्ने कुरा जान्न सकिन्छ।

12 सुन्ने कान र देख्ने आँखा, दुवैलाई परमप्रभुले बनाउनुभएको हो।

13 निद्रालाई प्रेम गर्ने दरिद्र हुँदै जान्छ, जागा रहनेसित अन्नपात हुन्छ।

14 ग्राहकले भन्छ, ‘‘भाउ महँगो भयो।’’ तर अलिक पर पुगेर आफूले भाउ कसेकोमा घमन्ड गर्छ।

15 सुन र हिरा-मोती प्रशस्त पाइन्छन्, तर ज्ञानको वचन बोल्ने ओठहरू दुर्लभ रत्न हुन्।

16 अपरिचितको जमानी बस्नेको लुगासमेत खोस, स्वेच्छाचारी स्त्रीको निम्ति जमानी बस्नेबाट धरौटी लिइराख।

17 छलको भोजन मानिसलाई मीठो लाग्छ; तर अन्त्यमा त्यसको मुखमा त्यो रोडासरह हुन्छ।

18 यदि लडाइँ लड्नुछ भने सल्लाह गरेर योजना बना, अनि सल्लाह पाएपछि युद्ध गर्।

19 कुराउटेले निश्चित कुरामा आघात पुर्याउँछ, त्यसैले धेरै बोल्ने मानिसदेखि टाढा बस्।

20 जसले आमा-बाबुलाई सराप्छ, त्यसको बत्ती अन्धकार आउँदा निभ्नेछ।

21 सुरुमा हतार गरेर हात पारेको सम्पत्ति, अन्त्यमा आशिष्पूर्ण हुनेछैन।

22 खराबको सट्टा खराब नगर्, तर परमप्रभुको बाटो हेर्, र उहाँले तँलाई बचाउनुहुनेछ।

23 दुई थरीका ढकदेखि परमप्रभु घिनाउनुहुन्छ, अनि छलको तराजुले उहाँलाई प्रसन्न तुल्याउँदैन।

24 मानिसको मार्ग परमप्रभुबाट निर्देशित हुन्छ, तब मानिसले आफ्नो मार्ग कसरी बुझ्नसक्छ र?

25 बेहोसीसित भाकल गर्नु र त्यसपछि मात्र विचार गर्नु मानिसको निम्ति पासो हो।

26 बुद्धिमान् राजाले दुष्टहरूलाई पन्साउँछन्, अनि तिनीहरूलाई दया नै नगरी दण्ड दिन्छन्।

27 परमप्रभुको बत्तीले मानिसको आत्मालाई खोज्छ, यसले उसको अन्तस्करणलाई खोजी निकाल्छ।

28 करुणा र सत्यताले राजालाई सुरक्षित राख्छन्; तिनको सिंहासन प्रेमद्वारा सुरक्षित हुन्छ।

29 युवाहरूको गौरव तिनीहरूको बल हो, वृद्धहरूको शोभा तिनीहरूको फुलेको केश हो।

30 मुक्का र चोटले खराबी हटाउँछ, अनि पिटाइले मानिसको अन्तस्करणलाई सफा बनाउँछ।




21

1 राजाको हृदय परमप्रभुको हातमा हुन्छ, उहाँले त्यसलाई खोलाको पानीझैँ जता मन लाग्यो, त्यतै डोर्याउनुहुन्छ।

2 मानिसको हरेक चाल आफ्नै दृष्टिमा ठीक हुन्छ; तर हृदय जाँच्ने परमप्रभु नै हुनुहुन्छ।

3 जे ठीक र न्यायसङ्गत छ त्यही गर, बलिदानभन्दा बढी परमप्रभुलाई त्यही ग्रहणयोग्य हुन्छ।

4 घमन्डी आँखा र अहङ्कारी हृदय- यिनै हुन् दुष्टको दियो, जो पाप हो।

5 परिश्रमीको योजनाले फलिफाप गराउँछ, अनि हतार गर्नाले दरिद्रतातिर डोर्याउँछ।

6 झुटद्वारा आर्जन गरेको सम्पत्ति उडिजाने बादल र घातक पासो हो।

7 दुष्टहरूको अत्याचारले तिनीहरूलाई नष्ट पार्छ; किनभने जे कुरा न्यायसङ्गत छ, त्यो तिनीहरू इन्कार गर्छन्।

8 दोषी मानिसको चाल कुटिल हुन्छ, तर निर्दोषको चाल इमानदार हुन्छ।

9 कचकचे पत्नीसँग महलमा बस्नुभन्दा कौसीको कुनामा बस्नु उत्तम हो।

10 दुष्ट मानिसले खराबीको लालसा गर्छ, त्यसबाट छिमेकीले दया पाउँदैन।

11 जब खिल्ली गर्नेले दण्ड पाउँछ, तब निर्बुद्धि मानिस बुद्धिमान् बन्छ; जब बुद्धिमान्लाई अर्ती दिइन्छ, तब त्यसले ज्ञान प्राप्त गर्छ।

12 परमेश्वरले दुष्टको घरमाथि दृष्टि राख्नुहुन्छ, अनि उहाँले दुष्टहरूमाथि सर्वनाश ल्याउनुहुन्छ।

13 जसले गरिबको पुकार सुन्न कान थुन्दछ, त्यो आफैले पनि पुकार्नेछ, तर त्यसको सुनाइ हुनेछैन।

14 गुप्तमा दिएको दानले रिस मारिदिन्छ, सुटुक्क दिएको घुसले ठूलो क्रोधलाई शान्त गराउँछ।

15 जब न्याय हुन्छ, धर्मीजन हर्षित हुन्छन्, तर कुकर्मीमाथि विनाश आइपर्नेछ।

16 समझशक्तिअनुसार नचल्ने मानिस मृतकहरूसँग सङ्गत गर्न पुग्नेछ।

17 सुखविलासलाई प्रेम गर्ने मानिस दरिद्र हुनेछ, अङ्गुरमद्य र तेललाई प्रेम गर्ने मानिस कहिल्यै धनी हुनेछैन।

18 धर्मीजनको छुटकाराको माध्यम दुष्ट मानिस हो,इमानदारीको छुटकाराको माध्यमबेइमान मानिस हो।

19 कचकचे र रिसालु पत्नीसँग बस्नुभन्दा उजाडस्थानमा बस्नु उत्तम हो।

20 बुद्धिमान्को घरमा असल भोजन र तेल हुन्छ, तर मूर्खले आफूसँग भएको सबै उडाउँछ।

21 धार्मिकता र प्रेमको पछि लाग्नेले जीवन, सफलता र आदर पाउँछ।

22 बुद्धिमान् मानिसले शक्तिशालीहरूको शहरमाथि आक्रमण गर्छ, अनि तिनीहरूले भरोसा राखेको बलियो गढलाई भताभुङ्ग पारिदिन्छ।

23 जसले आफ्नो मुख र जिब्रो सम्हाल्छ, उसले आफूलाई सङ्कष्टबाट बचाउँछ।

24 अहङ्कारी र हठी मानिसको नाउँ ‘‘खिल्ली उडाउने’’ हो, त्यसले अभिमानीपूर्ण व्यवहार गर्छ।

25 अल्छेको इच्छाले आफैलाई मार्छ, किनकि त्यसले परिश्रम गर्नु इन्कार गर्छ।

26 त्यसले दिनभरि लालच गर्छ, तर धर्मीजनले उदार चित्तले दिन्छ।

27 दुष्टको बलिदान परमप्रभुको दृष्टिमा घिनलाग्दो हुन्छ; खराब विचारले चढाएको बलिदान झन् कति बढी घृणित होला !

28 झुटो गवाही नष्ट हुनेछ, झुटो गवाही सुन्ने मानिस सधैँको निम्ति नष्ट हुनेछ।

29 दुष्ट मानिस साहसीझैँ हिँड्छ, तर इमानदारी मानिसले आफ्नो मार्गको विचार गर्छ।

30 कुनै पनि बुद्धि, समझशक्ति, योजना परमप्रभुको विरुद्धमा सफल हुनेछैन।

31 युद्धको दिनको निम्ति घोडा तयार पारिन्छ, तर विजय परमप्रभुबाट नै आउँछ।




22

1 धेरै धनसम्पत्तिभन्दा असल नाउँको इच्छा गर्नु उत्तम हो; सुन-चाँदीभन्दा सम्मान पाउनु असल हो।

2 धनी र गरिब यस कुरामा समान छन्- ती दुवैका सृष्टिकर्ता परमप्रभु नै हुनुहुन्छ।

3 बुद्धिमान्ले खतरा आएको देखेर शरण लिन्छ, तर निर्बुद्धि मानिस त्यतैतिर जान्छ र दु:ख भोग्छ।

4 नम्रता र परमप्रभुको भयले धन, मान र जीवन ल्याउँछ।

5 कुटिल मानिसको मार्गमा काँडा र पासो राखिएको हुन्छ, तर आफ्नो प्राणको रक्षा गर्ने त्यसबाट टाढै बस्छ।

6 बालकलाई ठीक मार्गमा हिँड्न सिकाऊ, र वृद्धावस्थासम्म ऊ त्यसबाट तर्किएर जानेछैन।

7 धनीले गरिबमाथि शासन गर्छ; ऋण लिने ऋण दिनेको नोकर हुन्छ।

8 दुष्टता रोप्नेले खराबीको कटनी गर्नेछ; अनि त्यसको क्रोधको लौरो भाँचिनेछ।

9 दयालु मानिस आशिषित हुन्छ; किनकि त्यसले आफ्नो खानेकुरा गरिबलाई बाँड्छ।

10 गिल्ला गर्नेलाई निकालिदियो भने झगडा मेटिन्छ; अनि कलह र निन्दा टुङ्गिन्छ।

11 हृदयको शुद्धतालाई प्रेम गर्नेको बोलीवचनमा अनुग्रह हुन्छ; उसको बोलीले गर्दा राजा पनि मित्र हुन्छ।

12 परमप्रभुको आँखाले ज्ञानको रक्षा गर्छ; तर उहाँले अपराधीका वचनलाई विफल पार्नुहुन्छ।

13 अल्छेले भन्छ, ‘‘बाहिर एउटा सिंह छ। सडकमा गएँ भने मलाई मार्छ !’’

14 व्यभिचारिणी स्त्रीको वचन गहिरो खाडलजस्तै हुन्छ, जो परमप्रभुको दृष्टिमा घृणित छ, त्यो त्यसैमा फस्छ।

15 बालकको हृदय मूर्खताले जेलिएको हुन्छ, तर अनुशासनको लौरोले उसबाट त्यो टाढा भाग्नेछ।

16 जसले आफ्नो सम्पत्ति बढाउनको निम्ति गरिबमाथि थिचोमिचो गर्छ र धनीलाई उपहार दिन्छ, निश्चय ती दुवै व्यक्ति दरिद्र हुनेछन्। बुद्धिमान्का उखानहरू

17 बुद्धिमान्का वचन ध्यान दिएर सुन्, र मेरो ज्ञानमा तेरो मन लगा।

18 किनभने ती तेरो हृदयमा राखिस् भने तँलाई आनन्द हुनेछ; र ती तेरो ओठमा तत्पर रहनेछन्।

19 तेरो भरोसा परमप्रभुमा रहोस् भनेर मैले तँलाई आज यो बुझ्ने तुल्याइदिएको छु।

20 के मैले तँलाई सल्लाह र ज्ञानको साथमा तीस वटा नीतिवचन लेखेको छैन र?

21 तँलाई पठाउनेकहाँ तैँले उचित जवाफ दिनसकेको होस् भनेर मैले तँलाई सत्य र विश्वासयोग्य वचन सिकाएको होइन र?

22 गरिबलाई, त्यो गरिब छ भनेर शोषण नगर्; र दीनहीनलाई अदालत्ामा लगेर दु:ख दिने काम नगर्।

23 किनभने परमप्रभुले तिनीहरूको पक्ष लिनुहुनेछ; अनि तिनीहरूलाई लुट्नेहरूलाई उहाँले लुट्नुहुनेछ।

24 रिसाहा मानिसलाई मित्र नबना; अनि झडङ्ग रिसाउनेसँग सङ्गत नै नगर्।

25 नत्र त तैँले त्यसको चाल सिक्लास्, र आफ्नो प्राणलाई पासोमा पार्लास्।

26 कहिल्यै कसैको जमानी नबस्, वा अर्काको ऋणको निम्ति जमानी नबस्।

27 यदि तँसँग तिर्ने औकात छैन भने, तँ सुतेको खाटसमेत तँबाट खोसिनेछ।

28 पिता-पुर्खाले गाडिराखेको प्राचीन साँधसिमाना नहटा, हितोपदेश

29 के तैँले आफ्नो काममा सिपालु कुनै मानिसलाई देखेको छस्? त्यसले साधारण मानिसको होइन, राजाको सेवा गर्नेछ।




23

1 जब तँ शासकसँग खान बस्छस्, तेरो अघि जे छ, त्यसको ख्याल गर्।

2 यदि तँ खन्चुवा छस् भने, आफैलाई वशमा राखेर खा।

3 तिनका स्वादिष्ठ खानेकुराको लालसा नगर; किनकि त्यो धोकापूर्ण भोजन हो।

4 धनी बन्न कठोर परिश्रम नगर्; विवेकी मानिस बन् र त्यसो गर्न छोडिदे।

5 तैँले हेर्दाहेर्दै त्यो त्यसै उडिजान्छ, चिल आकाशतिर उडेझैँ त्यसको पखेटा लाग्छ।

6 लोभी मानिसकहाँ भोजन खान नजा, त्यसले दिएको स्वादिष्ठ खानेकुराको लोभ नगर्।

7 किनभने त्यो त्यस्तो मानिस हो, जसले सधैँ त्यसको दाम सोचिरहेको हुन्छ, त्यसले तँलाई ‘‘खानुहोस्, पिउनुहोस्’’ भन्छ, तर त्यसको मन तँसित हुँदैन।

8 तैँले जति खाएको छस्, त्यो उकेल्नेछस्; अनि त्यसलाई तैँले गरेको अभिवादन त्यसै खेर जानेछ।

9 मूर्खसँग कुरै नगर्; किनभने त्यसले तेरो बुद्धिका वचनलाई तुच्छ ठान्नेछ।

10 प्राचीन साँधसिमाना नहटा; अनि टुहुरा-टुहुरीको जग्गा-जमिन नमिच्।

11 किनकि तिनीहरूका उद्धारक सामर्थी हुनुहुन्छ; उहाँले तँसित तिनीहरूको मुद्दा लड्नुहुनेछ।

12 तेरो मन अर्तीमा लगा र तेरा कान ज्ञानका वचनतिर लगा।

13 बालकलाई अनुशासन गर्न नछोड्; किनकि तैँले लौरो लगाइस् भने पनि त्यो मर्नेछैन।

14 लौरो लगाएर त्यसलाई सजाय दे, अनि तैँले त्यसको आत्मा मृत्युदेखि बचाउनेछस्।

15 हे मेरो छोरा, यदि तेरो हृदय बुद्धिमान् छ भने, मेरो हृदय पनि आनन्दित हुनेछ।

16 जब तेरो ओठले असल कुरा गर्दछ, तब मेरो अन्तस्करण आनन्दले गदगद हुनेछ।

17 पापीहरूको अनुसरण गर्ने चेष्टा नगर्; तर निरन्तर परमप्रभुको भय मान्।

18 त्यसो गरिस् भने तेरो भविष्य उज्ज्वल हुनेछ, अनि तेरो आशा व्यर्थ हुनेछैन।

19 हे मेरो छोरा, सुन् र बुद्धिमान् बन्, अनि तेरो हृदय ठीक मार्गतिर लगा।

20 बेसरी अङ्गुरमद्य पिउने र मासु हसुर्नेहरूसँग सङ्गत नगर्।

21 किनकि पियक्कड र खन्चुवा कङ्गाल हुनेछन्; अनि लट्ठयाइले तिनीहरू झुत्रेझाम्रे हुनेछन्।

22 तँलाई जन्म दिने बाबुको कुरा सुन्, अनि आफ्नी आमा वृद्ध हुँदा तिनलाई तुच्छ नठान्।

23 सत्य किन् र त्यसलाई नबेच्, बुद्धि, अर्ती र समझशक्ति प्राप्त गर्।

24 धर्मीजनको बाबु खुबै रमाउनेछन्, बुद्धिमान् छोरादेखि तिनी प्रसन्न हुनेछन्।

25 तेरा बाबु-आमा आनन्दित हुनेछन्; अनि तँलाई जन्म दिने आमा हर्षित हुनेछिन्।

26 हे मेरो छोरा, मेरा कुरा ध्यानसित सुन्, अनि तेरो दृष्टिले मेरो मार्ग पालन गर्।

27 किनकि वेश्या गहिरो भड्खालोझैँ हो, अनि व्यभिचारिणी स्त्री साँघुरो कुवाझैँ हो।

28 निश्चय त्यो शिकारको खोजीमा झैँ ढुकेर बस्छे, अनि मानिसहरूका बीचमा अपराधीहरूको संख्या बढाउँछे।

29 कष्ट कसलाई हुन्छ? शोक कसले गर्छ? कलह कसले गर्छ? कसले गुनासो गर्छ? कसलाई व्यर्थैमा चोटपटक लाग्छ? कसको आँखा रगतजस्तो रातो हुन्छ?

30 जो अबेरसम्म अङ्गुरमद्य पिइरहन्छ, जो सधैँ मिश्रित मद्यमा भुलिरहन्छ।

31 रातो अङ्गुरमद्यमा एकटक लगाएर नहेर्, जब त्यो कचौरामा खन्याउँदा फिँज उठ्छ, अनि त्यो सहजै उँधो जान्छ।

32 किनभने अन्तमा त्यसले सर्पले झैँ डस्छ, र गोमनले झैँ विष हालिदिन्छ।

33 तब तेरा आँखाले पराई स्त्रीलाई हेर्नेछ, अनि तेरो मनले नचाहिँने कुरा विचार गर्नेछ।

34 तँलाई महासमुद्रमा सुतिरहेझैँ हुनेछ, मस्तुलको डोरीको टुप्पामाझुन्डिरहनेजस्तै तँ हुनेछस्।

35 तैँले भन्छस्, ‘‘तिनीहरूले मलाई हिर्काए तापनि चोट लाग्दैन, तिनीहरूले मलाई पिटे तापनि थाहै हुँदैन। कहिले म बिउँझुँला र म अझ पिउन सकुँला?’’




24

1 दुष्ट मानिसहरूको डाह नगर्, तिनीहरूसँग सङ्गत गर्ने इच्छा नगर्,

2 किनभने तिनीहरूको हृदयले उपद्रव रच्दछ र तिनीहरूका ओठले झमेला ल्याउने कुरा गर्दछ।

3 बुद्धिद्वारा घर बनाइन्छ; र समझशक्तिले त्यो स्थापित हुन्छ;

4 ज्ञानद्वारा त्यसका कोठाहरू बहुमूल्य र सुन्दर थोकले भरिभराउ हुन्छन्।

5 बुद्धिमान् मानिस बलवान् हुन्छ; र ज्ञानी मानिसको सामर्थ्य बढ्छ।

6 युद्ध गर्नका निम्ति दक्ष अगुवाइ चाहिन्छ, विजय पाउनलाई धेरै सल्लाहकार चाहिन्छ।

7 मूर्खको निम्ति बुद्धि साह्रै उच्च हुन्छ; ढोकामा जम्मा भएका समुदायको अघि त्योसित बताउने कुरा हुँदैन।

8 जसले खराबी रच्दछ, त्यो षडयन्त्रकारीको नाउँले चिनिन्छ।

9 मूर्खपूर्ण षडयन्त्र पाप हो; अर्काको खिल्ली उडाउने मानिस घृणित हुन्छ।

10 यदि सङ्कष्टको दिनमा तँ लर्खराइस् भने तेरो बल कति थोरै रहेछ !

11 मार्न लगिएकाहरूलाई बचा, अनि काटमार गर्न डोर्याइएकाहरूलाई रोक् ।

12 अनि ‘‘हामीलाई त यसबारे केही थाहै थिएन’’ भनिस् भने के हृदय जाँच गर्नुहुनेले यो कुराको ख्याल राख्नुहुन्न र? जसले तेरो जीवनको रक्षा गर्नुहुन्छ, उहाँलाई यो कुरा थाहा छैन र? अनि के उहाँले हरेक मानिसलाई उसको कामअनुसारको इनाम दिनुहुन्न र?

13 हे मेरो छोरा, मह खा, किनभने त्यो असल छ, अनि चाकाको महको स्वाद तँलाई स्वादिष्ठ लाग्छ।

14 यो पनि याद राख् कि बुद्धि तेरो प्राणको लागि गुलियो हुनेछ, यदि यसलाई तैँले प्राप्त गरिस् भने तेरो भविष्यको लागि आशा छ र तेरो आशा व्यर्थ हुनेछैन।

15 हे दुष्ट मानिस, धर्मीजनको घरको विरुद्ध दुष्टले ढुकेझैँ ढुकी नबस्; त्यसको वासस्थान नलुट्;

16 किनभने धर्मीजन सातपटकसम्म लोटयो भने पनि उठ्छ; तर दुष्ट मानिस विपत्तिमा जाकिनेछ।

17 तेरो शत्रुको पतन हुँदा तँ नरमा, त्यसले ठेस खाँदा तेरो हृदय हर्षित नहोस्,

18 नत्र भने परमप्रभुले त्यो देख्नुहुनेछ, र असहमति जनाउनुहुनेछ, अनि त्यसदेखि आफ्नो क्रोध हटाउनुहुनेछ।

19 दुष्ट मानिसहरूको कारण पिर नमान् वा दुष्टप्रति डाह नगर;

20 किनभने दुष्ट मानिसको भविष्यको आशा हुँदैन; दुष्टको बत्ती निभाइनेछ।

21 हे मेरो छोरा, परमप्रभु र राजाको भय मान् र विद्रोहीहरूसँग सङ्गत नगर्;

22 किनभने उहाँहरू दुवैले तिनीहरूमाथि एक्कासि विनाश पठाउनुहुनेछ, अनि कस्ता विपत्ति उहाँहरूले पठाउनुहुनेछ भनी कसलाई के थाहा छ र? बुद्धिमान्का अरू उखान

23 यी पनि बुद्धिमान्का उखान हुन्: न्याय गर्दा पक्षपात गर्नु असल होइन।

24 दोषीलाई जसले ‘तिमी निर्दोष छौ’ भन्छ, मानिसहरूले त्यसलाई सराप्नेछन् र जाति-जातिले त्यसको निन्दा गर्नेछन्।

25 तर जसले दोषीको अपराध साबित गर्छ, तिनीहरूको भलो हुनेछ। तिनीहरूमाथि प्रशस्त आशिष् बर्सनेछ।

26 इमानदार जवाफ ओठको चुम्बनजस्तै हो।

27 बाहिरको काम पूरा गर्, र आफ्नो खेतबारी तयार पार्, अनि त्यसपछि आफ्नो घर बना।

28 बिनाकारण आफ्नो छिमेकीको विरुद्धमा कुनै गवाही नदे, अनि आफ्ना ओठलाई झुट कामको लागि प्रयोग नगर्।

29 ‘‘त्यसले मलाई गरेझैँ म पनि त्यसलाई त्यसै गर्नेछु, म त्यसलाई त्यसले गरेझैँ बदला लिनेछु’’ भनी नभन्।

30 म एउटा अल्छेको खेतबारी, र एउटा समझशक्ति नभएको मानिसको अङ्गुरबारीबाट भएर गएँ;

31 अनि हेर, जताततै काँडा उम्रेको थियो, झारैझारले खेत ढाकिएको थियो, अनि ढुङ्गाको पर्खाल भताभुङ्ग भएको थियो।

32 मैले अवलोकन गरेका कुरालाई हृदयमा विचार गरेँ, र मैले देखेका कुराबाट एउटा पाठ सिकेँ।

33 क्षणभरको सुताइ र क्षणभरको उँघाइ, हात बाँधेर क्षणभरको आराम गराइले,

34 दरिद्रता तँमाथि डाँकुझैँ र अभाव सशस्त्र मानिसझैँ आइलाग्नेछ।




25

1 सोलोमनका यी हितोपदेश यहूदाका राजा हिजकियाहका मानिसहरूले उतारेका हुन्;

2 कुनै कुरा गोप्य राख्नुमा परमेश्वरको महिमा हुन्छ, कुनै कुराको खोजी निकाल्नुमा राजाहरूको महिमा हुन्छ।

3 जसरी स्वर्ग उच्च र पृथ्वी गहिरो छ, त्यसरी नै राजाहरूका हृदय जान्न नसकिने हुन्छ।

4 चाँदीको कस निकालिदे, अनि मात्र सुनारको निम्ति काम लाग्ने वस्तु निस्कन्छ।

5 राजाको उपस्थितिबाट दुष्टलाई हटाइदे, अनि मात्र तिनको सिंहासन धार्मिकतामा स्थापित हुनेछ।

6 राजाको उपस्थितिमा आफैलाई ठूलो नबना र महापुरुषहरूका माझमा बस्ने दाबी नगर्।

7 ठूलाबडाका अगि तँलाई तिनले होच्याउनुभन्दा, तिनी आफैले तँलाई ‘‘यहाँ माथि आऊ’’ भनेको बेस हुनेछ।

8 तेरो आँखाले देखेको कुरा हत्तपत्त अदालतमा नलैजा, यदि अन्तमा तेरो छिमेकीले तँलाई लाजमा पार्यो भने के गर्छस्?

9 तेरो छिमेकीको मुद्दामा तैँले बहस गर्दा उसको विश्वासघात नगर्।

10 जसले त्यो सुन्छ, त्यसले तँलाई लाजमर्दो पार्ला र तेरो बदनाम कसै गरेर पनि मेटिनेछैन।

11 उचित समयमा बोलिएका ठीक कुरा चाँदीका भाँडोमा राखिएका सुनका स्याउहरू जस्ता हुन्।

12 बुद्धिमान् मानिसको अर्ती सुन्ने कानका लागि सुनको कुण्डल वा निखुर सुनको गहनाझैँ हुन्छ।

13 विश्वसनीय दूत त्यसलाई पठाउनेको निम्ति कटनीको समयमा हिउँको शीतलताजस्तै हुन्छ, किनकि उसले मालिकको आत्मालाई ताजा बनाउँछ।

14 आफूले नदिएको दानमा धाक लगाउने मानिस झरीबिनाको बादल र बतासझैँ हुन्छ।

15 धैर्य गर्नाले शासकलाई मनाउन सकिन्छ, र विनम्र जिब्रोले हड्डी पनि गलाउन सक्छ।

16 मह पाउँदा, आफूले पचाउनसक्ने मात्र खा; यो धेरै खाइस् भने तैँले बान्ता गर्नेछस्।

17 आफ्नो छिमेकीको घरमा कहिलेकहीँ मात्र जाने गर्, धेरै जाने बानी गरिस् भने उसलाई दिक्क लागेर तँलाई घृणा गर्नेछ।

18 आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही दिने मानिस लौरो, तरवार वा तिखो वाणझैँ हो।

19 सङ्कष्टको बेलामा विश्वासहीन व्यक्तिमा भर पर्नु दुखेको दाँत वा लङ्गडो खुट्टामा भर परेझैँ हो।

20 दु:खित मन भएकोलाई सुमधुर गीत गाउनु, जाडोको दिनमा वस्त्र फुकालिदिनु वा काटेको घाउमा नुनचुक लगाउनुजस्तै हो। हितोपदेश

21 तेरो शत्रु भोकाएको छ भने त्यसलाई खान दे, त्यो तिर्खाएको छ भने त्यसलाई पिउन दे।

22 यसो गर्नाले तैँले त्यसको टाउकोमा आगोको कोइला खन्याउनेछस्; र परमप्रभुले तँलाई इनाम दिनुहुनेछ।

23 उत्तरी बतासले वृष्टि ल्याएझैँ धूर्त जिब्रोले क्रुद्ध अनुहार ल्याउँछ।

24 कचकचे पत्नीसँग महलमा बस्नुभन्दा कौसीको कुनामा बस्नु उत्तम हो।

25 टाढाबाट आएको शुभसमाचार तिर्खाएको प्राणको लागि चिसो पानीझैँ हो।

26 दुष्टको सामु झुक्ने धर्मीजन हिले जरुवा पानी वा दूषित कुवाझैँ हो।

27 धेरै मह खानु उचित हुँदैन, न त आफ्नै मान खोज्नु कसैलाई आदरणीय हुन्छ।

28 आत्मसंयम नभएको मानिस पर्खालबिनाको शहरझैँ हो।




26

1 ग्रीष्मऋतुको हिउँ र कटनीको बेलामा झरी परेझैँ मूर्खलाई दिएको मानमर्यादा कदापि सुहाउँदैन।

2 भुर्र उड्ने भँगेरा अथवा तेजले उड्ने गौंथलीझैँ बिनाकारण दिएको श्राप लाग्दैन।

3 घोडाको लागि कोर्रा, गधाको लागि लगाम र मूर्खहरूका पिठयुँको लागि लट्ठी !

4 मूर्खलाई उसको मूर्खताअनुसार जवाफ नदे; नत्र त तँ पनि त्यो जस्तै हुनेछस्।

5 मूर्खलाई त्यसको मूर्खताअनुसार जवाफ दे, नत्र त त्यो आफ्नै नजरमा बुद्धिमानी हुनेछ।

6 मूर्खको हातमा समाचार पठाउनु आफैले आफ्नै खुट्टामा बन्चरो हान्नु अथवा हिंसाको पीडा भोग्नुजस्तै हो।

7 लुलालङ्गडा मानिसहरूका झुन्डिएका दुर्बल खुट्टाहरू र मूर्खका मुखमा भएका अर्तीका कुरा एकै हुन्।

8 मूर्खलाई आदर गर्नु, घुयेँत्रोमा ढुङ्गा बाँधेझैँ हो।

9 जँडयाहाको हातमा भएको घोच्ने काँडाजस्तै मूर्खको मुखको अर्ती हुन्छ।

10 मूर्ख वा कुनै बटुवालाई ज्यालामा काम लगाउनु, एउटा धनुर्धारीले जथाभाबी काँड हानेर चोटैचोट पार्नुझैँ हो।

11 जसरी कुकुर आफ्नो बान्ता खान फर्किन्छ, त्यसरी नै मूर्खले आफ्नो मूर्खता दोहोर्याउँछ।

12 आफ्नो दृष्टिमा आफैलाई बुद्धिमान् ठान्ने मानिस देखेको छस्? त्योभन्दा त बरु मूर्खको लागि धेरै आशा हुन्छ।

13 अल्छेको बहाना यस्तो हुन्छ, ‘‘सडकमा सिंह छ, डरलाग्दो सिंह गल्लीहरूमा डुलिरहेको छ !’’

14 ढोका आफ्नो कब्जामा यताउति फर्केझैँ, अल्छे आफ्नो खाटमा ओल्टयाङपल्टयाङ गर्दछ।

15 अल्छेले आफ्नो हात थालमा राखिरहन्छ र उठाएर आफ्नो मुखसम्म पुर्याउनसमेत त्यसलाई अल्छी लाग्छ।

16 कुशल जवाफ दिनसक्ने सात जना मानिसभन्दा पनि अल्छे आफ्नै दृष्टिमा बुद्धिमान् बन्छ।

17 अरूको झगडामा सरोकार राख्ने बटुवा, हिँड्दै गरेको कुकुरको कान पक्रन पुग्ने व्यक्तिजस्तै हो।

18 त्यो अगुल्टो वा घातक काँड हान्ने बौलाहाजस्तै हो,

19 जसले आफ्नो छिमेकीलाई छल गरिसकेपछि भन्छ, ‘‘ए, मैले त ठट्टा पो गरेको थिएँ।’’

20 दाउराबिना आगो निभ्छ, कुराउटेबिना खिचलो शान्त हुन्छ।

21 भुङ्ग्राको लागि कोइला र आगोको लागि दाउराझैँ, कलह उत्पन्न गराउने झगडालु मानिस हुन्छ।

22 कुराउटेका चुक्लीपूर्ण शब्द मीठो गाँसजस्तै हुन्छ, त्यो मानिसको भित्री भागसम्मै पुग्छ।

23 माटोको भाँडोमा चाँदीको जलप लाएझैँ दुष्ट हृदय भएको मानिसको चिप्लो ओठ हुन्छ।

24 द्वेषपूर्ण मानिसले आफूलाई आफ्नै कुराले ढाकछोप गर्छ, अनि आफ्नो हृदयमा त्यसले छली कुरालाई आश्रय दिन्छ।

25 त्यसको बोली मीठो भए तापनि त्यसमाथि विश्वास नगर्, किनभने त्यसको हृदय सातओटा द्वेषले भरिएको हुन्छ।

26 त्यसले आफ्नो द्वेष छल गरेर छिपाएको हुन्छ, तर त्यसको दुष्टता समुदायमा प्रकट हुनेछ।

27 जसले अर्काको निम्ति खाडल खन्छ, त्यसमा ऊ आफै जाकिन्छ, मानिसले गुडाएको ढुङ्गा ऊ आफैतिर फर्कन्छ।

28 झुटो जिब्रोले पीडामा परेकाहरूलाई घृणा गर्छ र चाप्लुसी घस्ने मूर्खले सर्वनाश गराउँछ।




27

1 भोलिको धाक नलगा, किनभने त्यस दिनमा के आइपर्नेछ, तँलाई थाहा हुँदैन।

2 तेरो प्रशंसा तेरो आफ्नै मुखले होइन, अरूले गरून्, तेरो आफ्नै ओठले होइन तर अरू कसैले गरून्।

3 ढुङ्गा गह्रौं हुन्छ र बालुवा वजनदार, तर मूर्खको क्रोध ती दुवैभन्दा अझ गह्रौं हुन्छ।

4 क्रोध निर्दयी र झोंक अत्यधिक हुन्छ, तर डाहको सामु को खडा हुनसक्छ?

5 गुप्त प्रेमभन्दा खुला हप्की उत्तम हुन्छ।

6 मित्रबाट पाएको चोट विश्वसनीय हुन्छ, तर शत्रुको चुम्बन कपटपूर्ण हुन्छ।

7 अघाएको व्यक्तिलाई मह अमन हुन्छ, तर भोकाएको व्यक्तिलाई तीतो पनि मीठो लाग्छ।

8 जस्तो गुँड छोडी बरालिएको चरा हुन्छ, त्यस्तै आफ्नो घर छाडी निस्किने मानिस हुन्छ।

9 जसरी अत्तर र धूपले मनलाई हर्षित पार्छ, त्यसरी नै मित्रबाटको साँचो सल्लाह मिठासपूर्ण हुन्छ।

10 आफ्नै र आफ्नो बाबुको मित्रलाई नत्याग् र आफ्नो विपत्तिको दिनमा दाजुभाइको घरमा नजा; किनकि टाढाको दाजुभाइभन्दा नजिकको छिमेकी नै उत्तम हो।

11 हे मेरो छोरा, बुद्धिमान् बन् र मेरो हृदयलाई आनन्दित बना, तब म, मेरो आलोचना गर्नेहरूलाई जवाफ दिनसकूँ ।

12 बुद्धिमान्ले खतरा आएको देखेर शरण लिन्छ, तर निर्बुद्धि मानिस त्यतैतिर जान्छ र दु:ख भोग्छ।

13 अपरिचितको जमानी बस्नेको लुगासमेत खोस्, स्वेच्छाचारी स्त्रीको निम्ति जमानी बस्नेबाट धरौटी लिइराख्।

14 यदि कसैले आफ्नो छिमेकीलाई एकाबिहानै चर्को स्वरले आशिष् दिन्छ भने, त्यो त श्रापजस्तै हुनेछ।

15 कचकचे पत्नी नटुङ्गिने पानीको तप्ातप्ा गर्ने थोपाझैँ हो।

16 त्यसलाई अधीन गर्नु बतासलाई अधीन गर्नु बराबर हो, अथवा औंलाले तेल टिप्नुजस्तै हो।

17 फलामले फलामलाई उध्याएजस्तै एउटाले अर्को मानिसलाई उध्याउँछ।

18 अञ्जीरको रूखको रेखदेख गर्नेले त्यसको फल खानेछ, र आफ्नो मालिकको हेरचाह गर्ने व्यक्ति सम्मानित हुनेछ।

19 पानीमा आफ्नो अनुहार प्रतिविम्बित भएझैँ, मानिसको हृदयमा मानिस प्रतिविम्बित हुन्छ।

20 जसरी मृत्यु र विनाश कहिल्यै तृप्त हुँदैन, त्यसरी नै मानिसका आँखा पनि कहिल्यै सन्तुष्ट हुँदैन।

21 चाँदी पगाल्ने भाँडो हुन्छ, र सुन खार्ने आरन हुन्छ, र आफूले पाउने प्रशंसाबाट मानिस जाँचिएको हुन्छ।

22 मूर्खलाई ओखलमा हालेर कुटे पनि, त्यसलाई जाँतोमा राखेर अन्नझैँ पिँधे तापनि, तैँले त्यसको मूर्खता त्यसबाट हटाउनेछैनस्।

23 आफ्ना भेडाहरूको अवस्थाबारे निश्चित होओ, आफ्ना बगालप्रति होसियारिपूर्वक ध्यान दे,

24 किनभने धनसम्पत्ति सधैँका लागि रहँदैन र मुकुट पनि सबै पुस्ताका लागि सुरक्षित रहँदैन।

25 जब पात झर्छ र नयाँ पालुवा देखा पर्छ, तब पाखापखेरोबाट घाँस बटुलिन्छ,

26 भेडाद्वारा तेरो निम्ति लुगा जुट्छ, र बाख्राद्वारा जग्गा-जमिन किन्न रकम जुट्छ।

27 बाख्राको दूध तँ र तेरो परिवारको निम्ति प्रशस्त हुनेछ र तेरा दासीहरूका निम्ति पोषण हुनेछ।




28

1 कसैले नखेदे पनि दुष्ट मानिस भाग्छ, तर धर्मीजन सिंहजस्तै आँटिलो हुन्छ।

2 जब देशमा विद्रोह बढ्छ, त्यहाँ धेरै शासक खडा हुन्छन्, तर समझशक्ति भएको मानिसले अमनचैन कायम राख्छ।

3 गरिबमाथि थिचोमिचो गर्ने शासक बालीनाली नष्ट पार्ने मुसलधारे वर्षाजस्तै हो।

4 व्यवस्थालाई तिरस्कार गर्नेहरूले दुष्टको प्रशंसा गर्छन्, तर व्यवस्था पालन गर्नेहरूले तिनीहरूको विरोध गर्छन्।

5 दुष्ट मानिसहरूले न्यायलाई बुझ्दैनन्, तर परमप्रभुलाई खोज्नेहरूले यसलाई पूर्ण रूपमा बुझ्दछन्।

6 छली कुरा गर्ने धनी मानिसभन्दा गरिब भएर निष्कलङ्क रहनु उत्तम हो।

7 विवेकी छोराले व्यवस्था पालन गर्छ, तर खन्चुवाको सङ्गत गर्नेले आफ्नो बाबुमाथि बेइज्जत ल्याउँछ।

8 जसले रुपियाँ बढी ब्याजमा लगाएर धन कमाउँछ, त्यसको धन गरिबमाथि उदारता देखाउने मानिसको लागि हुनेछ।

9 जसले व्यवस्थाप्रति आफ्नो कान बन्द गर्छ, त्यसको प्रार्थना पनि घृणित हुन्छ।

10 जसले इमानसँग चल्नेलाई खराब बाटोतिर लैजान्छ, त्यो आफ्नै पासोमा फस्नेछ, तर निर्दोष मानिसले प्रशस्त अंश पाउनेछ।

11 धनी मानिस आफ्नै दृष्टिमा बुद्धिमान् ठहरिन्छ, तर समझशक्ति भएको गरिब मानिसले त्यसलाई जाँचेर हेर्छ।

12 धर्मीको विजय हुँदा ठूलो खुसियाली हुन्छ, तर जब दुष्ट सत्तामा पुग्छ, तब अरूलाई थिचोमिचो हुन्छ।

13 आफ्नो पाप लुकाउनेको उन्नति हुँदैन, तर जसले त्यो स्वीकार गर्छ र त्याग्छ, त्यसले कृपा पाउँछ।

14 सधैँ परमप्रभुसँग डराउने मानिस आशिषित हुन्छ, तर हृदय कठोर भएको मानिस सङ्कष्टमा पर्छ।

15 असहाय मानिसहरूमाथि शासन गर्ने दुष्ट मानिस गर्जने सिंह र जाइलाग्ने भालुजस्तै हुन्छ।

16 निर्दयी तानासाही शासकमा बुद्धिको अभाव हुन्छ, तर भ्रष्टाचारको धनलाई घृणा गर्ने मानिस दीर्घायु हुन्छ।

17 हत्याको अभियोग लागेको मानिस मृत्युसम्मै फरार रहनेछ,कसैले पनि त्यसको समर्थन नगरोस्।

18 जसको चाल निर्दोष छ, त्यो सुरक्षित रहन्छ, तर जसको मार्ग छलपूर्ण छ, त्यो पतित हुनेछ।

19 आफ्नो जमिन खनजोत गर्नेसित प्रशस्त भोजन हुनेछ, तर कल्पनाको पछि दौडने दरिद्रताले भरिनेछ।

20 विश्वासयोग्य मानिसले प्रशस्त आशिष् पाउनेछ, तर धनी हुन प्रगाढ इच्छा राख्नेले दण्ड पाउनेछ।

21 पक्षपात गर्नु राम्रो होइन, किनकि एक टुक्रा रोटीको लागि मानिसले अपराध गर्नेछ।

22 धनी हुन आतुर गर्ने मानिसका आँखा लोभी हुन्छ, र दरिद्रताले प्रतीक्षा गरिराखेको छ भन्ने त्यसलाई थाहै हुँदैन।

23 फु र्क्याउनेभन्दा हप्काउने मानिसले नै आखिरमा धेरै निगाह प्राप्त गर्नेछ।

24 आफ्नो बाबु-आमालाई लुटेर ‘‘यो गल्ती होइन’’ भन्ने मानिस नाश गर्नेको मित्र हो।

25 लोभी मानिसले कलह मच्चाउँछ, तर परमप्रभुमा भरोसा राख्ने मानिसको फलिफाप हुन्छ।

26 आफैमा भरोसा राख्ने मानिस मूर्ख हुन्छ, तर बुद्धिको मार्गमा हिँड्ने मानिस सुरक्षित रहन्छ। हितोपदेश

27 जसले गरिबलाई दिन्छ, उसलाई अभाव हुनेछैन, तर त्यसलाई वास्ता नगर्नेले श्राप पाउनेछ।

28 दुष्ट सत्तामा पुग्दा अरूलाई थिचोमिचो हुन्छ, तर जब त्यो नाश हुन्छ, तब धर्मीजन मौलाउँछ।




29

1 धेरै हप्की पाएर पनि हठी बानी नछोड्ने मानिस एक्कासि नाश हुनेछ।

2 धर्मीजन मौलाउँदा मानिसहरू रमाउँछन्, दुष्टले शासन गर्दा मानिसहरू विलाप गर्छन्।

3 जसले बुद्धिलाई प्रेम गर्छ, उसले आफ्ना बाबुलाई हर्षित तुल्याउँछ, तर जसले वेश्याहरूसँग सङ्गत गर्छ, त्यसले आफ्नो सम्पत्ति उडाउँछ।

4 राजाको न्यायसङ्गत शासनले राज्य स्थिर हुन्छ, तर घुसको लोभ गर्नेले राज्यलाई नै सर्वनाश पार्छ।

5 आफ्नो छिमेकीलाई फुर्क्याउनेले त्यसका खुट्टामा जाल फिँजाएको हुन्छ।

6 दुष्ट मानिस आफ्नो पापले गर्दा पासोमा पर्छ, तर धर्मीजन गाउँछ र आनन्दित हुन्छ।

7 धर्मीजनले गरिबको न्यायबारे हेरविचार गर्छ, तर दुष्टले त्यसबारे सरोकार नै राख्दैन।

8 खिल्ली उडाउनेले शहरभरि हल्ला मच्चाउँछ, तर बुद्धिमान् मानिसले क्रोधलाई पन्साउँछ।

9 बुद्धिमान्ले मूर्खसँग वादविवाद गर्दा मूर्ख झोंकिन्छ र गिल्ला गर्छ,त्यसैले त्यहाँ शान्ति हुँदैन।

10 हत्या गर्ने मानिसले इमानदार मानिसलाई घृणा गर्छ, र इमानदारसँग चल्नेलाई मार्न खोज्छ।

11 मूर्खले आफ्नो रिस पोखाउँछ, तर बुद्धिमान् मानिसले आफूलाई वशमा राख्छ।

12 यदि शासकले झुटा कुरा सुन्छ भने, उसका सबै कर्मचारी दुष्ट बन्छन्।

13 गरिब र अत्याचारी मानिसमा यो कुरा समान हुन्छ; परमप्रभुले तिनीहरू दुवैलाई दृष्टि दिनुहुन्छ;

14 यदि राजाले ठीकसँग गरिबको न्याय गर्छन् भने तिनको सिंहासन सदैव सुरक्षित हुनेछ।

15 सुधारको लौरोले बुद्धि प्रदान गर्छ, तर छाडा छोडेको छोराले आफ्नी आमाको बेइज्जत गर्छ।

16 जब दुष्टको संख्यामा वृद्धि हुन्छ, तब अपराधको पनि वृद्धि हुन्छ, तर धर्मीजनले तिनीहरूको पतन देख्नेछ।

17 आफ्नो छोरालाई ताडना दे, र त्यसले तँलाई शान्ति दिन्छ, अनि त्यसले तेरो आत्मालाई आनन्दित तुल्याउनेछ।

18 जहाँ दर्शन छैन, त्यहाँ मानिसहरू भाँडिन्छन्, तर जसले व्यवस्था पालन गर्छ, त्यो मानिस धन्यको हो।

19 कुराले मात्रै दास सुध्रँदैन, त्यसले बुझे तापनि प्रत्युत्तर दिँदैन।

20 के तैँले बोल्नमा हतार गर्ने मानिसलाई देखेको छस्? त्यसको भन्दा त मूर्खको निम्ति बढी आशा हुन्छ।

21 जसले आफ्नो नोकरलाई पुलपुल्याउँछ, उसलाई अन्त्यमा त्यसले शोकित तुल्याउँछ।

22 रिसाहाले कलह मच्चाउँछ, र गरम मिजास भएकोले धेरै पाप गर्छ।

23 घमन्डले मानिसलाई होच्याउँछ, तर नम्रताले उसलाई सम्मान दिँदछ।

24 चोरको सङ्गत गर्ने आफै आफ्नो शत्रु बन्दछ, त्यो अपराधमा मुछिएको हुनाले त्यसले ठीक गवाही दिँदैन।

25 मानिसको डर पासोजस्तै हो, तर परमप्रभुमा भरोसा राख्ने मानिस सुरक्षित रहन्छ।

26 धेरैले शासकको कृपा पाउन खोज्छन्; तर हरेक मानिसको न्याय परमप्रभुबाट नै आउँछ।

27 न्याय गर्ने मानिसले अन्याय गर्नेलाई घृणा गर्छ; दुष्टले इमानदार मानिसलाई घृणा गर्छ।




30

1 याकेका छोरा आगूरका नीति-वचनएक ईश्वरवाणी: यस मानिसले इथिएललाई भन्यो, इथिएल र यूकाललाई पनि घोषणा गर्यो,

2 ‘‘मानिसहरूमध्ये म सबभन्दा पटमूर्ख हुँ, मानिसमा हुनुपर्ने समझशक्ति मसँग छैन।

3 न त मसित बुद्धि छ, न परमपवित्रको ज्ञान नै छ।

4 माथि स्वर्गमा को गएर तल ओर्लिआएको छ? कसले बतासलाई आफ्नो मुठीमा पार्नसक्छ? कसले पानीलाई आफ्नो खास्टोमा लपेटेको छ? पृथ्वीको चारकुनालाई कसले स्थापित गरेको छ? उहाँको नाउँ के हो र उहाँका पुत्रको नाउँ के हो? यदि तँलाई थाहा छ भने मलाई भन्।

5 ‘‘परमेश्वरको हरेक वचन दोषरहित छ। उहाँमा शरण लिनेहरूका निम्ति उहाँ ढाल हुनुहुन्छ।

6 उहाँका वचनमा केही नथप्, नत्र त उहाँले तँलाई हप्काउनुहुनेछ र झुटा प्रमाणित गर्नुहुनेछ।

7 ‘‘हे परमप्रभु, म तपाईंसँग दुई वटा कुरा माग्दछु। म मर्नुअघि ती कुरा मलाई दिन इन्कार नगर्नुहोस्।

8 असत्यता र झुट मबाट टाढै राख्नुहोस्, मलाई दरिद्र पनि नबनाउनुहोस्, र धनी पनि नतुल्याउनुहोस्, तर मलाई दिनदिनको रोटी दिनुहोस्।

9 नत्र त मसँग धेरै भएकाले ‘‘परमप्रभु को हो र?’’ भनी म तपाईंलाई इन्कार गरूँला, अथवा म गरिब भएकोले चोरी गरी परमप्रभु मेरा परमेश्वरको नाउँ अपमानित पारूँला।

10 ‘‘मालिकको सामु त्यसका नोकरको निन्दा नगर्, नत्र त त्यसले तँलाई सराप्नेछ र तँ दोषी ठहरिनेछस्।

11 ‘‘यस्तो एउटा पुस्ता छ, जसले आफ्ना बाबुहरूलाई सराप्तछन् र आमाहरूलाई धन्यका ठान्दैनन्,

12 तिनीहरू, जो आफ्नै दृष्टिमा शुद्ध हुन्छन्, तर आफ्ना फोहोरबाट सफा भएका हुँदैनन्,

13 तिनीहरू, जसका आँखा अतिघमन्डी हुन्छन्, जसको हेराइ अतिघृणित हुन्छ,

14 तिनीहरू, जसका दाँत तरवारजस्ता छन् र जसका बङ्गारा, पृथ्वीका दु:खी मानिसहरूका बीचबाट खाँचोमा परेकाहरूलाई खानका निम्ति छुराजस्ता छन्।

15 ‘‘जूकाका दुई छोरी छन्, जो ‘‘देऊ ! देऊ !’’ भन्दै चिच्च्याउँछन्। तीन कुरा छन्, जो कहिल्यै सन्तुष्ट हुँदैनन्, चौथो, जसले ‘‘पुग्यो’’ कहिल्यै भन्दैन:

16 पाताल, बाँझो गर्भ, पानी सोस्ने जमिन कहिल्यै सन्तुष्ट हुँदैनन् र आगो, जसले ‘‘पुग्यो’’ कहिल्यै भन्दैन।

17 ‘‘आफ्ना बाबुको निन्दा गर्ने र आफ्नी आमालाई तुच्छ ठान्नेका आँखा बेँसीका कागहरूले ठुँगेर बाहिर निकाल्नेछन्, र गिद्धका आहार बन्नेछन्।

18 ‘‘तीन वटा कुरा छन्; जो मेरो निम्ति साह्रै अचम्मका छन्, चौथो, जुन म बुझ्नै सक्दिनँ:

19 आकाशमा गरुडको चाल, चट्टानमाथि सर्पको चाल, महासमुद्रमा जहाजको चाल र पुरुषसँग स्त्रीको चाल।

20 ‘‘व्यभिचारिणी स्त्रीको चाल यस्तो हुन्छ: त्यसले खान्छे र आफ्नो मुख पुछ्छे, र त्यसपछि भन्छे, ‘‘मैले कुनै गल्ती गरेकी छैनँ।’’

21 ‘‘तीन वटा कुराले पृथ्वी काम्छ, चौथो कुरा, जुन त्यसले खप्नै सक्दैन:

22 नोकर राजा भएको, मूर्ख टन्न अघाएको,

23 अपहेलित स्त्रीले विवाह गरेकी, नोकर्नी, जो आफ्नी मालिक्नीलाई पन्साएर तिनको ठाउँमा बस्छे।

24 ‘‘पृथ्वीमा चार वटा कुरा साना छन्, तापनि तिनीहरू अत्यन्तै बुद्धिमान् छन्:

25 कमिला थोरै बल भएका प्राणी हुन्, तापनि तिनीहरू ग्रीष्मऋतुमा नै आफ्ना आहारको सञ्चय गर्छन्।

26 शापन थोरै शक्ति भएका प्राणी हुन्, तापनि पहरामा तिनीहरूले आफ्नो घर बनाउँछन्,

27 सलह, जसको राजा हुँदैन, तापनि तिनीहरू लहरै हुल बाँधेर अघि बढ्छन्,

28 छेपारालाई हातले पक्रन सकिन्छ, तापनि राजाको महलमा यो पाइन्छ।

29 ‘‘तीन वटा कुरा छन्, जो आफ्नो हिँडाइमा रवाफिला छन्, चौथो, जो शानसँग हिँड्छ :

30 सिँह, जो पशुहरूमा सबभन्दा बलवान् हुन्छ, जो कसैको सामु हच्कँदैन,

31 सानदारसित हिँड्ने कुखुराको भाले र बोका, अनि आफ्नो वरिपरि सेना राखेर हिँड्ने राजा, जसको विरुद्धमा कोही खडा हुन सक्दैन।

32 ‘‘यदि तँ मूर्ख र हठी छस् भने र खराब कुरा गर्न तँलाई मन पर्छ भने चुप लाग्।

33 किनभने दूध मथेर घिउ निस्कन्छ, नाक माडयो भने रगत निस्कन्छ,त्यसरी नै रिस उठाउनेले झगडा उत्पन्नगराउँछ।’’




31

1 राजा लमूएलका नीति-वचन, जो तिनकी आमाले सिकाएकी थिइन्:

2 हे मेरो छोरा, हे मेरो गर्भको छोरा, हे मेरो भाकलको छोरा,

3 तेरो बल स्त्रीलाई नदे, तेरो ताकत तिनीहरूलाई नदे, जसले राजाहरूको पतन गराउँछन्।

4 ‘‘हे लमूएल, यो राजाहरूका निम्ति होइन, राजाहरूलाई अङ्गुरमद्य पिउनु असल होइन, शासकहरूले कडा मद्यको लालसा गर्नु असल होइन,

5 तिनीहरूले त्यो पिए भने ऐनकानुन र नीतिनियमलाई बिर्सनेछन्, अनि थिचोमिचोमा परेकालाई अधिकारदेखि वञ्चित गराउनेछन्।

6 नाश हुन लागेकालाई कडा मद्य देऊ, र विरह चलेकाहरूलाई अङ्गुरमद्य देऊ।

7 तिनीहरूले पिऊन् र दरिद्रतालाई बिर्सून्, र आफ्नो वेदनालाई फेरि नसम्झून्।

8 ‘‘आफ्नो पक्षमा बोल्न नसक्नेहरूका निम्ति बोल्, अनि असहायहरूका निम्ति तैँले आफ्नो मुख खोल्।

9 बोल् र ठीक न्याय गर्, गरिब र दरिद्रको अधिकारको रक्षा गर्।’’ असल चरित्र भएकी पत्नी

10 असल चरित्र भएकी पत्नी कसले पाउनसक्छ? तिनी बहुमूल्य रत्नभन्दा पनि अति नै मूल्यवान् हुन्छिन्।

11 तिनका पतिले तिनीमाथि पूरा भरोसा गर्छन् र उनलाई कुनै कुराको अभाव हुँदैन।

12 तिनले आफ्नो जीवनभरि नै कुभलो होइन, तर भलो गर्छिन्।

13 तिनले ऊन र सनपाट छान्छिन्, अनि आफ्ना हातले उत्सुकतासाथ काम गर्छिन्।

14 व्यापारीका जहाजहरूले जस्तै तिनले टाढाबाट खाद्यसामग्री ल्याउँछिन्।

15 तिनी झिसमिसेमै उठ्छिन्, आफ्नो परिवारको लागि खानाको बन्दोबस्त गर्छिन् र आफ्ना सेविकाहरूलाई आ-आफ्ना भागअनुसार अह्राउँछिन्।

16 खुबै सोचविचार गरेर तिनले एउटा खेत किन्छिन् र आफ्नो कमाइले अङ्गुरबारी लगाउँछिन्।

17 तिनले आफ्नो कामको निम्ति कम्मर कस्छिन् र आफ्ना पाखुरा बलियो बनाउँछिन्।

18 तिनले आफ्नो व्यवसाय राम्ररी चलेको देख्छिन् र रातभरि तिनको घरमा बत्ती निभ्दैन।

19 तिनले आफ्नो हातले चर्खा चलाउँछिन्, र धागो कात्छिन्।

20 तिनले गरिबको निम्ति मुठी खोल्छिन्, र आफ्नो हात असहायहरूका लागि बढाउँछिन्।

21 हिउँ पर्दा आफ्नो परिवारको निम्ति तिनी डराउँदिनन्, किनभने तिनीहरू सबैले दुईसरे चहकिलो रातो वस्त्र पहिरेका हुन्छन्। हितोपदेश

22 तिनले आफ्नो निम्ति बुट्टेदार ओढ्ने ओछयाउने बनाउँछिन्, तिनले मलमल र बैजनी कपडा पहिरेकी हुन्छिन्।

23 तिनका पति शहरको मूलढोकामा सम्मानित हुन्छन्, जहाँ उनी मुलुकका भद्र-भलादमीसँग बसेका हुन्छन्।

24 तिनले मलमलका वस्त्र बनाउँछिन् र बिक्री गर्छिन्, अनि व्यापारीहरूका निम्ति पटुका उपलब्ध गराउँछिन्।

25 तिनी सामर्थ्य र गौरवले सुशोभित छिन्, अनि आउने दिनका निम्ति चिन्तित हुँदिनन्।

26 तिनी आफ्नो मुख खोल्दा बुद्धिका कुरा गर्छिन् र तिनको जिब्रोमा विश्वसनीय उपदेश हुन्छ।

27 तिनी आफ्नो घरानाको चालचलनको हेरविचार गर्छिन् र आलस्यको रोटी खाँदिनन्।

28 तिनका छोराछोरीले खडा भएर तिनलाई धन्यकी भन्नेछन्, तिनका पतिले पनि तिनको प्रशंसा गरेर यसो भन्छन्,

29 ‘‘धेरै स्त्रीहरूले आदरयोग्यका काम गर्छन्, तर तिमी नै तिनीहरू सबैभन्दा श्रेष्ठ छयौ।’’

30 आकर्षण धोकापूर्ण हुन्छ र सुन्दरता उडिजाने हुन्छ, तर परमेश्वरको भय मान्ने स्त्रीको नै प्रशंसा गरिनुपर्छ।

31 तिनको कमाइको इनाम तिनैलाई देऊ, र तिनको कामले शहरको मूलढोकामा नै तिनलाई प्रशंसा ल्याओस्।



AMAZING GRACE BIBLE INSTITUTE