PHILIPPIANS

फिलिप्पी


Chapter 1

1 ख्रीष्ट येशूका दासहरू, पावल र तिमोथीबाट, ख्रीष्ट येशूमा फिलिप्पीमा भएका बिशपहरू र डिकनहरू साथै सबै सन्तहरूलाई:

2 परमेश्वर, हाम्रा पिता र प्रभु येशू ख्रीष्टबाट तिमीहरूलाई अनुग्रह र शान्ति।

3 तिमीहरूप्रतिको मेरो सबै सम्झनामा म मेरा परमेश्वरलाई धन्यवाद दिन्छु।

4 तिमीहरू सबैका लागि सधैँ मेरा प्रत्येक प्रार्थनामा आनन्दसाथ प्रार्थना गर्दछु।

5 जो ख्रीष्टको सुसमाचार फैलाउनमा तिमीहरू पहिलो दिनदेखि अहिलेसम्म सहभागी भयौ।

6 म यसैमा निश्चित छु कि तिमीहरूमा असल काम शुरु गर्नुहुनेले ख्रीष्टको दिनसम्म त्यसलाई पूरा गर्नुहुनेछ।

7 तिमीहरू सबैका लागि यसरी विचार गर्नु मेरोनिम्ति उचित छ, किनभने तिमीहरूलाई मेरो हृदयमा राखेको छु। किनकि मेरो कैदमा र सुसमाचारको प्रतिरक्षा र समर्थन गर्दा, यी दुवैमा तिमीहरू सबै मसँग परमेश्वरको अनुग्रहमा सहभागी भएका छौ।

8 म कसरी ख्रीष्ट येशूको कोमल कृपामा तिमीहरू सबैका निम्ति तिर्सना गर्दछु भन्‍‌ने कुरामा परमेश्वर मेरा साक्षी हुनुहुन्छ।

9 मेरो प्रार्थना यही छ कि ज्ञान र समझमा तिमीहरूको प्रेम झन् झन् प्रशस्त हुँदै जाओस्।

10 तिमीहरूले ख्रीष्टको दिनसम्म शुद्ध र दोषरहित हुनका निम्ति उत्तम कुरा खुट्ट‍याउन सक।

11 परमेश्वरको महिमा र प्रशंसाको निम्ति येशू ख्रीष्टद्वारा धार्मिकताका फलले तिमीहरू सधैँ भरिपूर्ण होओ।

12 अब हे भाइहरू हो, जेजति मेरोनिम्ति भएका छन्, त्यसद्वारा सुसमाचारलाई विस्तार गर्न ठूलो सहायता मिलेको छ भनी तिमीहरूले जान भन्‍‌ने म चाहन्छु।

13 यहाँसम्म कि महलका सारा गारद र सबै बाँकीकहाँ पनि मेरो कैद ख्रीष्टको निम्ति भएको हो भन्‍‌ने जाहेर भएको छ।

14 मेरो कैदको कारण धेरै जना भाइहरूले प्रभुमा भरोसा गर्छन् र परमेश्वरका वचन बिनाडर बोल्‍‌नलाई झन् आँटिला भएका छन्।

15 कसै-कसैले डाह र कलहले तर कसै-कसैले शुद्ध विचारले ख्रीष्टलाई प्रचार गर्दछन्।

16 म यहाँ सुसमाचारको प्रतिरक्षाको निम्ति छु भनी जान्‍‌नेहरूले प्रेमसाथ प्रचार गर्दछन्।

17 तर शेखी गर्नेहरूले मलाई कैदमा कष्ट थपिदिने विचार गरेर शुद्ध मनले होइन, बरु स्वार्थी भावनाले ख्रीष्टको प्रचार गर्दछन्।

18 तब के त? चाहे सत्यमा होस् वा बहानामा, हरकिसिमले ख्रीष्ट प्रचारिनुभएको छ, यसैले म आनन्द मनाउँछु र मनाइरहनेछु।

19 किनकि म जान्दछु कि तिमीहरूको प्रार्थना र येशू ख्रीष्टको आत्माको सहायताले यो मेरो छुटकाराको निम्ति हुनआउनेछ।

20 मेरो उत्कट प्रतीक्षा र आशाअनुसार म कुनै पनि कुरामा लज्जित हुनेछैन तर सधैँ ख्रीष्टको निम्ति साहसी हुनेछु, चाहे मृत्युद्वारा होस् अथवा जीवनद्वारा, सदाझैँ ख्रीष्ट मेरो शरीरमा उचालिनुभएको होस्।

21 किनभने मेरोनिम्ति जिउनु ख्रीष्ट हो र मर्नु लाभ हो।

22 तर यदि म शरीरमा जिउनुपर्छ भने त त्यो मेरोनिम्ति फलदायी परिश्रम हुनेछ तापनि मैले कुन कुरा चुन्‍‌नुपर्ने हो त्यो म जान्दिनँ।

23 तर म दोधारमा परेको छु, म त बिदा भएर ख्रीष्टको साथमा हुने इच्छा गर्दछु, किनकि त्यो धेरै असल छ।

24 तिमीहरूको खातिर म शरीरमा नै रहनु अति आवश्यक छ।

25 अब यस कुरामा निश्चित भएर म जान्दछु कि म तिमीहरूको साथमा रहनेछु र विश्वासमा तिमीहरू सबैको प्रगति र आनन्दको निम्ति म रहिरहनेछु।

26 यसैले कि म फेरि तिमीहरूकहाँ आउँदा ममाथि भएको तिमीहरूको भरोसा बढोस्।

27 चाहे म आएर तिमीहरूलाई देखूँ वा अनुपस्थित रहूँ, तिमीहरू आफै ख्रीष्टको सुसमाचारको योग्य चालमा चल। सुसमाचारको विश्वासको निम्ति तिमीहरू एउटै मनको भएर परिश्रम गरिरहेछौ भन्‍‌ने म सुन्‍‌न पाऊँ।

28 तिमीहरूका विरोधीहरूसँग कुनै कुरामा नडराओ। तिनीहरूका निम्ति यो विनाशको चिन्ह हो तर तिमीहरूको निम्ति यो मुक्तिको चिन्ह हो, जुन परमेश्वरबाटको हो।

29 किनभने यो उहाँमा विश्वास गर्न मात्र तिमीहरूलाई दिइएको होइन, तर ख्रीष्टको खातिर दु:ख भोग्‍‌नलाई पनि हो।

30 तिमीहरूले ममा जुन सङ्घर्ष देख्यौ र अहिले पनि ममा छँदै छ भन्‍‌ने सुन्दै छौ, त्यसैमा तिमीहरू लागेका छौ।




2

1 यदि ख्रीष्टमा केही प्रोत्साहन, प्रेमको सान्त्वना, आत्माको केही सङ्गति, केही स्‍‌नेह र सहानुभूति छ भने

2 तिमीहरू एउटै मनका भएर, एउटै प्रेममा रहेर, एउटै उद्देश्यमा आत्मामा एक भएर मेरो आनन्द पूरा गर।

3 स्वार्थ वा खोक्रो घमण्डले केही नगर, तर नम्रतामा एउटाले अर्कालाई आफूभन्दा श्रेष्ठ ठान।

4 आफ्‍‌नै हित मात्र नहेर तर अरुहरूको हितमा ध्यान देऊ।

5 तिमीहरूमा यस्तो मन होस् जो येशू ख्रीष्टमा पनि थियो।

6 परमेश्वरको स्वरूपमा भएर पनि उहाँले परमेश्वरसँग बराबरी हुने कुरालाई एउटा पक्रिराख्‍‌ने वस्तुजस्तो ठान्‍‌नुभएन।

7 तर आफैलाई रित्त्याएर कमाराको रूप धारण गरी मानिसको स्वरूपमा बनाइनुभयो।

8 स्वरूपमा मानिसजस्तै भएर आफैलाई होच्याउनुभयो र मृत्युसम्मै अर्थात् क्रूसको मृत्युसम्मै आज्ञाकारी हुनुभयो।

9 त्यसैकारण पनि परमेश्वरले उहाँलाई उच्च पार्नुभयो र उहाँलाई त्यो नाउँ प्रदान गर्नुभयो, जो हरेक नाउँभन्दा उच्च छ।

10 कि स्वर्गमा, पृथ्वीमाथि र पृथ्वीमुनि भएकाहरूले येशूको नाउँमा घुँडा टेक्‍‌नुपर्छ

11 र हरेक जिब्रोले परमेश्वर पिताको महिमाको निम्ति येशू ख्रीष्टलाई प्रभु भनी स्वीकार गर्नुपर्छ।

12 यसकारण, ए मेरा प्रिय हो, म तिमीहरूसँग हुँदा मैले दिएका अर्ती जसरी सधैँ पालन गरेका थियौ, अब झन् बढी मेरो अनुपस्थितिमा पनि डर र कम्पसाथ आफ्‍‌नो मुक्तिको काम तिमीहरू पूरा गर्दै जाओ,

13 किनकि तिमीहरूलाई उहाँको असल अभिप्रायअनुसार इच्छा गर्ने र काम गर्ने, दुवै तुल्याउनलाई परमेश्वरले तिमीहरूमा काम गर्नुहुन्छ।

14 गनगन अथवा वादविवाद नगरी सबै काम गर्दै जाओ,

15 तिमीहरू निर्दोष र सुधा भएर टेढा र बरालिएका पुस्ताको बीचमा परमेश्वरका निस्खोट सन्तान होओ, जुन पुस्ताको बीच संसारमा तिमीहरू ताराहरूझैँ चम्कन्छौ।

16 जीवनको वचनलाई बलियोसँग पक्रिराख। यसैले कि म व्यर्थमा दगुरिनँ र मैले व्यर्थमा परिश्रम गरिनँ भनी ख्रीष्टको दिनमा म गर्व गर्नसकूँ।

17 यदि तिमीहरूको विश्वसनीय सेवाको बलिदानमाथि अर्घ-बलिको रूपमा अर्पित हुनुपरे तापनि म आनन्दित हुनेछु र तिमीहरू सबैसँग म रमाउनेछु।

18 त्यसैगरी तिमीहरू पनि आनन्दित होओ र मसँग रमाओ।

19 तिमीहरूको अवस्था थाहा पाएर म आनन्दित हुनसकूँ भनी म तिमोथीलाई तिमीहरूकहाँ चाँडै पठाउने प्रभुमा आशा गर्दछु।

20 साँचो रूपले तिमीहरूको भलाइ चाहने तिमोथीजस्तो दयालु मन भएको व्यक्ति अरु कोही छैन।

21 किनकि अरुहरूले येशू ख्रीष्टको होइन तर आफ्‍‌नै स्वार्थ खोज्छन्।

22 यो प्रमाणित भएको तिमीहरूलाई थाहै छ कि जसरी छोराले बुबाको सेवा गर्दछ, त्यसरी नै तिनले मसित सुसमाचार फैलाउने काममा सेवा गरे।

23 यसकारण मेरो बारेमा के कसो हुन्छ सो बुझ्‍‌नेबित्तिकै तिनलाई पठाउने आशा गर्दछु

24 र म आफै पनि चाँडै आउँला भनी प्रभुमा म भरोसा गर्दछु।

25 इपाफ्रोडिटस, जो मेरा भाइ, सहकर्मी र सङ्गी-सिपाही तथा तिमीहरूले पठाएका दूत र मलाई खाँचो पर्दा सेवा गर्ने सेवक हुन्, तिनलाई तिमीहरूकहाँ पठाउन आवश्यक ठानेको छु।

26 किनकि तिनले तिमीहरू सबैका अति नै तिर्सना गरिरहेका छन्। तिनी बिरामी भएको खबर तिमीहरूले थाहा पाएकोले तिनी साह्रै व्याकुल भएका छन्।

27 तिनी साँच्चै बिरामी थिए, मरणान्त बिरामी तर परमेश्वरले तिनीमाथि दया देखाउनुभयो। तिनीमाथि मात्र होइन तर मलाई शोकमाथि शोक नथपियोस् भनेर ममाथि पनि दया देखाउनुभयो।

28 यसकारण तिनलाई पठाउन म झन् बढी उत्सुक छु, यसैले कि तिनलाई फेरि देखेर तिमीहरू आनन्दित हुनेछौ र मेरो चिन्ता पनि कम हुनेछ।

29 त्यसैले ज्यादै आनन्द र प्रेमसाथ प्रभुमा तिनलाई स्वीकार गर।

30 किनकि मप्रतिको तिमीहरूको सेवा पूरा गर्नलाई आफ्‍‌नो जीवन जोखिममा हाल्दै तिनी ख्रीष्टका कामको निम्ति मृत्युको मुखसम्मै पुगे।




3

1 अन्त्यमा प्रिय भाइ हो, प्रभुमा आनन्दित होओ, तिमीहरूलाई त्यही कुरा फेरि लेख्‍‌न मलाई झर्को लाग्दैन किनकि त्यो तिमीहरूका निम्ति सुरक्षा हो।

2 कुकुरहरूदेखि होशियार बस, दुष्ट काम गर्नेहरूदेखि होशियार बस, झूटो खतनादेखि होशियार बस।

3 किनभने हामी आत्मामा परमेश्वरको उपासना गर्नेहरू, ख्रीष्ट येशूमा आनन्द मनाउनेहरू र शरीरमा भरोसा नराख्‍‌नेहरू नै साँचो खतना हौं।

4 तरै पनि म त शरीरमा पनि भरोसा राख्‍‌न सक्थेँ। यदि कसैले शरीरमा भरोसा राख्‍‌ने कारण छ भन्‍‌ने सोच्छ भने मेरो त झन् बढी कारण छ।

5 आठौं दिनमा मेरो खतना भएको हो, म इस्राएल जातिको बेन्यामीन कुलको, हिब्रूहरूको हिब्रू, व्यवस्थाको विषयमा हो भने एक फरिसी,

6 जोशको विषयमा हो भने मण्डलीलाई सताउने, व्यवस्थाअनुसारको धार्मिकताको विषयमा हो भने निर्दोष ठहरिएको हुँ।

7 तर जुन कुरा मेरोनिम्ति फाइदा थिए, तिनलाई मैले ख्रीष्टको खातिर हानि सम्झेको छु।

8 साँच्चै ख्रीष्ट येशू मेरा प्रभुलाई चिन्‍‌न पाउने अमूल्य कुराको तुलनामा सबै कुरालाई म हानि नै ठान्दछु। ख्रीष्टलाई प्राप्त गर्नसकूँ भनेर उहाँको निम्ति मैले सबै कुराको नोक्सानी भोगेको छु र ती सबैलाई फोहोर-मैला समान म गन्दछु।

9 म उहाँमा भएको पाइनसकूँ, व्यवस्थामा आधारित मेरो आफ्‍‌नै धार्मिकता होइन तर मेरो धार्मिकता ख्रीष्टमाथि राखिएको विश्वासमा निर्भर छ, यो धार्मिकता विश्वासको आधारमापरमेश्वरबाट आउँछ।

10 म उहाँलाई र उहाँको पुनरुत्थानको शक्तिलाई जान्‍‌नसकूँ र उहाँको मृत्युमा उहाँजस्तै भई उहाँका दु: खभोगमा सहभागी हुनसकूँ;

11 यसैले कि जसरी भए पनि मैले मृतकबाट पुनर्जीवन प्राप्त गर्नसकूँ।

12 मैले यी सबै अघिबाटै प्राप्त गरिसकेको छु अथवा म अघिबाटै सिद्ध भइसकेको छु भनेको होइन। तर जुन कुराको निम्ति ख्रीष्टले मलाई पक्रनुभयो, त्यसलाई हात पार्नको निम्ति म अघि बढिरहेको छु।

13 ए भाइ हो, मैले यी सबै पक्रिसकेको छु भनी म ठान्दिनँ तर म एउटा काम गर्दछु कि पछाडिका कुरा बिर्सेर अगाडिका कुरातिर लम्कँदै,

14 ख्रीष्ट येशूमा परमेश्वरको माथिको बोलावटमा पाइने पुरस्कारको निम्ति निसानातिर म अघि बढ्दछु।

15 यसैकारण, हामीमा परिपक्व भएकाहरूको जस्तो मन होस् तर यदि कुनै कुरामा तिमीहरूको फरक विचार छ भने परमेश्वरले तिमीहरूलाई त्यो पनि प्रकट गरदिनुहुनेछ।

16 तैपनि हामीले जे प्राप्त गरिसकेका छौं, त्यसमा स्थिर भई बसौं।

17 भाइ हो, तिमीहरू मेरो देखासिकी गर्नेहरू होओ, हामीमा तिमीहरूले देखेका नमुनाअनुसार जिउनेहरूलाई हेर।

18 किनकि जसका विषयमा मैले तिमीहरूलाई बारम्बार भनेथेँ र फेरि पनि म तिमीहरूलाई रुँदै भन्दछु कि तिनीहरू साँच्चै ख्रीष्टका क्रूसका शत्रुहरूजस्तै जीवन बिताउँछन्।

19 जसको अन्त्य विनाश हो, जसको ईश्वर पेटै हो, तिनीहरू आफ्‍‌ना शर्ममा घमण्ड गर्दछन् र तिनीहरूको मन सांसारिक कुरामा लागिरहन्छ।

20 तर हाम्रो नागरिकता स्वर्गमा छ, जहाँबाट प्रभु येशू ख्रीष्ट हाम्रो मुक्तिदाता आउनुहुन्छ, जसको बाटो हामी हेर्दछौं।

21 उहाँले जुन शक्तिद्वारा सबै ठाउँका सबै कुरालाई आफ्‍‌नो अधीनमा ल्याउन सक्‍‌नुहुन्छ र हाम्रो हीन शरीरलाई आफ्‍‌नै महिमित शरीरजस्तै हुनलाई परिवर्तन गरिदिनुहुनेछ।




4

1 यसकारण मेरा प्रिय भाइहरू हो, म तिमीहरूलाई प्रेम गर्दछु र तिमीहरूको चाहना गर्दछु, तिमीहरू मेरो आनन्द र मुकुट हौ। मेरा प्रियहरू, यसरी नै प्रभुमा स्थिर रहो।

2 म इयोदिया र सुन्तुखेलाई प्रभुमा एउटै मनका होओ भनी आग्रहपूर्वक विन्ती गर्दछु।

3 ए साँचो सहकर्मी, म तिमीलाई पनि आग्रहपूर्वक विन्ती गर्दछु कि यी स्त्रीहरूलाई सहायता गर, किनकि यिनीहरूले मसँग सुसमाचारको काममा क्लेमेससँग र मेरा अन्य सहकर्मीहरूसँग परिश्रम गरेका छन्, जसका नाउँ जीवनको पुस्तकमा छन्।

4 प्रभुमा सधैँ आनन्द गर। म फेरि पनि भन्दछु, आनन्द गर।

5 तिमीहरूको सहनशीलता सबै मानिसहरूलाई थाहा होस्। प्रभु नजिकै हुनुहुन्छ।

6 केही कुरामा चिन्तित नहोओ, तर सबै कुरामा धन्यवादसाथ प्रार्थना र अन्तर्विन्तीमा तिमीहरूको माग परमेश्वरमा जाहेर होस्।

7 अनि समझले भियाउन नसकिने परमेश्वरको शान्तिले तिमीहरूका हृदय र मनलाई ख्रीष्ट येशूमा रक्षा गर्नेछ।

8 अन्त्यमा भाइ हो, जे कुरा सत्य छ, जे कुरा आदरणीय छ, जे कुरा ठीक छ, जे कुरा पवित्र छ, जे कुरा मनपर्दो छ, तिनमा केही सद्गुण र प्रशंसा छ भने तिनै कुराको विचार गर।

9 तिमीहरूले जुन कुरा मबाट सिक्यौ, ग्रहण गर्‍यौ, सुन्यौ र ममा देख्यौ, त्यही गर अनि शान्तिका परमेश्वर तिमीहरूसित हुनुहुनेछ।

10 तर प्रभुमा म साह्रै आनन्दित छु कि अब मप्रति तिमीहरूको वास्ता पलाएको छ। तिमीहरू साँच्चै मेरोनिम्ति चिन्तित थियौ तर तिमीहरूले मौका पाएका थिएनौ।

11 खाँचो परेर त मैले भनेको होइनँ, किनभने मैले जुनसुकै परिस्थितिमा पनि सन्तुष्ट रहन सिकेको छु।

12 म घट्‍‌न पनि जान्दछु, बढ्‍‌न पनि जान्दछु। परिपूर्णतामा होस् वा भोकमा, प्रशस्ततामा होस् वा अभावमा, सबै परिस्थितिमा सन्तुष्ट रहने रहस्य मैले सिकेको छु।

13 मलाई शक्ति दिनुहुने ख्रीष्टद्वारा म सबै कुरा गर्नसक्छु।

14 तापनि तिमीहरूले मेरो कष्टमा सहभागी भएर असलै गर्‍यौ।

15 अब तिमी फिलिप्पीहरू आफै पनि जान्दछौ कि सुसमाचारको शुरुमा र म म्यासिडोनियाबाट बिदा भएपछि तिमीहरूबाहेक अरु कुनै मण्डली लिने र दिने विषयमा सहभागी भएनन्।

16 म थेसलोनिकेमा हुँदा पनि तिमीहरूले मेरो खाँचो पूरा गर्नलाई धेरैपटक सहायता पठाइरह्यौ।

17 मैले भेटी खोजेको होइनँ, तर तिमीहरूको हिसाबमा बढ्दै आउने फल खोजेको हुँ।

18 मैले पूरा मोल र त्योभन्दा पनि बढी नै प्राप्त गरेको छु। मलाई प्रशस्त मात्रामा दिइएको छ। इपाफ्रोडिटससँग पठाइदिएको तिमीहरूको मीठो बास्‍‌ना भएको परमेश्वरलाई मनपर्दो र ग्रहणीय बलिदान पाएर म तृप्त भएको छु।

19 अनि मेरा परमेश्वरले आफ्‍‌नो महिमित सम्पत्तिअनुसार तिमीहरूका सबै खाँचोहरू ख्रीष्ट येशूमा पूरा गरिदिनुहुन्छ।

20 अब परमेश्वर हाम्रा पितालाई सदासर्वदा महिमा होस्। आमेन्।

21 त्यहाँ भएका ख्रीष्टका हरेक पवित्रजनलाई अभिवादन भनिदेओ । यहाँ मसँग हुने भाइहरूले तिमीहरूलाई अभिवादन पठाएका छन् ।

22 अनि सबै पवित्रजनले विशेषगरी सिजरका घरानाले तिमीहरूलाई अभिवादन पठाएका छन्।

23 प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूको आत्मासँग रहोस्।



AMAZING GRACE BIBLE INSTITUTE