PHILEMON

फिलेमोन


Chapter 1

1 येशू ख्रीष्टका कैदी, पावल र हाम्रो भाइ तिमोथीबाट: हाम्रा प्रिय भाइ, सहकर्मी फिलेमोन

2 र हाम्री बहिनी अप्फिया, हाम्रा सङ्गी-सिपाही अर्खिप्पस र तिम्रो घरका मण्डलीलाई,

3 अनुग्रह र हाम्रा पिता परमेश्वर अनि येशू ख्रीष्टबाट शान्ति। धन्यवाद ज्ञापन र प्रार्थना

4 म मेरो प्रार्थनामा तिमीलाई सम्झना गर्दै परमेश्वरलाई सधैँ धन्यवाद चढाउँछु,

5 किनकि प्रभु येशूप्रति र सबै सन्तगणप्रति भएको तिम्रो प्रेम र विश्वासको बारेमा म सुन्दछु।

6 अनि ख्रीष्ट येशूमा तिमीमा भएको हरेक असल कुराको ज्ञानद्वारा तिम्रो विश्वासको सङ्गति प्रभावकारी होस्।

7 तिम्रो प्रेममा मैले धेरै आनन्द र सान्त्वना पाएको छु, किनकि तिमीद्वारा सन्तहरूका हृदय फेरि ताजा भएका छन्।

8 त्यसकारण जुन कुरा उचित छ, त्यसको विषयमा तिमीलाई आज्ञा दिन ख्रीष्टमा मलाई हिम्मत छ,

9 तापनि म वृद्ध पावल, अनि अहिले ख्रीष्ट येशूको एक कैदी, प्रेमको खातिर म तिमीलाई बरु विन्ती गर्न चाहन्छु,

10 म तिमीलाई मेरो छोरो ओनेसिमसका निम्ति विन्ती गर्दछु, जसलाई मैले मेरो बन्धनमा जन्माएको हुँ,

11 जो तिम्रो निम्ति एक समय बेकम्मा भएको थियो, तर अहिले तिम्रो निम्ति र मेरोनिम्ति पनि काम लाग्‍‌ने भएको छ।

12 उसलाई मैले तिमीकहाँ फिर्ता पठाउँदै छु, जो मेरो आफ्‍‌नै हृदयको टुक्रा हो, उसलाई ग्रहण गर।

13 उसलाई मसँगै राख्‍‌न म खुशी हुनेथिएँ, किनकि सुसमाचारको निम्ति मेरो कैदी अवस्थामा मसँगै तिम्रो सट्टामा उसले मेरो सेवा गर्न सक्‍‌नेथियो।

14 तर तिम्रो सल्लाहबिना म केही गर्न चाहन्‍‌नँ, तिम्रो भलाइको काम करले होइन, स्वेच्छाले गरिएको होस्।

15 किनकि तिमीले उसलाई सधैँभरिको निम्ति प्राप्त गर्नसक भनेर नै ऊ केही समयको निम्ति तिमीबाट अलग भएको होला।

16 अब एउटा दासजस्तो होइन, तर दासभन्दा बढी एउटा प्यारो भाइजस्तो, विशेष गरी मेरोलागि तर झन् बढ्ता गरी शरीरमा र प्रभु, दुवैमा समेत तिम्रैनिम्ति।

17 यसकारण यदि तिमी मलाई एउटा साझेदार सम्झन्छौ भने, मलाई जस्तै गरी उसलाई ग्रहण गर।

18 यदि उसले तिमीलाई केही खराबी गरेकै भए पनि, अथवा केही कुराको ऊ ऋणी छ भने पनि, सो मेरो हिसाबमा राखिदेऊ।

19 म पावल, आफ्‍‌नै हातले यो लेखिरहेको छु। त्यो ऋण म स्वयम् तिरिदिनेछु। तिमीलाई भनिरहनुपर्दैन होला कि आफ्‍‌नै निम्ति पनि तिमी मेरो ऋणी छौ।

20 हो, भाइ, तिमीबाट म प्रभुमा आनन्द पाऊँ, मेरो हृदयलाई प्रभुमा ताजा पारिदेऊ।

21 तिम्रो आज्ञाकारितामा भरोसा राखेर, मैले भनेको भन्दा बढी नै तिमीले गर्नेछौ भन्‍‌ने जानेर मैले तिमीलाई लेखेँ।

22 साथै मेरो निम्ति एउटा बस्‍‌ने ठाउँ पनि तयार पारिदेऊ, किनकि तिमीहरूका प्रार्थनाको कारणले म तिमीकहाँ आउन पाउँछु कि भन्‍‌ने आशा गर्दछु।

23 येशू ख्रीष्टमा मेरो सङ्गी-कैदी इपाफ्रासले तिमीलाई अभिवादन पठाएका छन्।

24 त्यसैगरी सहकर्मी मर्कूस, अरिस्तार्खस, डेमास र लूकाले पनि।

25 प्रभु येशू ख्रीष्टको अनुग्रह तिम्रो आत्मासँग रहोस्।



AMAZING GRACE BIBLE INSTITUTE