MATTHEWमत्तीChapter 11 अब्राहामका पुत्र, राजा दाऊदका पुत्र येशू ख्रीष्टको वंशावली :2 अब्राहाम इसहाकका पिता थिए। इसहाक याकूबका पिता थिए। याकूब, यहूदा र उनका दाज्यू-भाइहरूका पिता थिए। 3 यहूदा फारेस र जाहेरका पिता थिए, तिनीहरूकी आमा तामार थिइन्। फारेस हेस्रोनका पिता थिए। हेस्रोन आरामका पिता थिए। 4 आराम अम्मीनादाबका पिता थिए। अम्मीनादाब नहशोनका पिता थिए। नहशोन सल्मोनका पिता थिए। 5 सल्मोन बोअजका पिता थिए, तिनकी आमा राहाब थिइन्। बोअज ओबेदका पिता थिए। रूथ ओबेदकी आमा थिइन्। ओबेद यिशैका पिता थिए। 6 यिशै राजा दाऊदका पिता थिए। दाऊद सोलोमनका पिता थिए, तिनकी आमा उरियाहकी पत्नी बतशेबा थिइन् । 7 सोलोमन रहबामका पिता थिए। रहबाम अबियाका पिता थिए। अबिया आसाका पिता थिए। 8 आसा यहोशापातका पिता थिए। यहोशापात यहोरामका पिता थिए। यहोराम उज्जियाहका पिता थिए। 9 उज्जियाह योतामका पिता थिए। योताम आहाजका पिता थिए। आहाज हिजकियाका पिता थिए। 10 हिजकिया मनश्शेका पिता थिए। मनश्शे अमोनका पिता थिए। अमोन योशियाहका पिता थिए। 11 योशियाह यकोनियासका पिता थिए र उनका भाइहरू यहूदीहरूलाई बेबिलोनमा कैद गरेर लगिएको समयमा जन्मिएका थिए। 12 बेबिलोनमा कैदी बनाएर लगिएपछि : यकोनियास शालतिएलका पिता थिए। शालतिएल यरूबाबेलका पिता थिए। 13 यरूबाबेल अबिउदका पिता थिए। अबिउद एल्याकीमका पिता थिए। एल्याकीम आजोरका पिता थिए। 14 आजोर सादोकका पिता थिए। सादोक आखिमका पिता थिए। आखिम एलिउदका पिता थिए। 15 एलिउद एलाजारका पिता थिए। एलाजार मत्तानका पिता थिए। मत्तान याकूबका पिता थिए। 16 याकूब, मरियमका पति यूसुफका पिता थिए। यिनै मरियमबाट येशू जन्मनुभयो, जो मसीह कहलाइनुहुनेछ। 17 यसरी अब्राहामदेखि राजा दाऊदसम्म चौध पुस्ता, राजा दाऊददेखि बेबिलोनमा कैद गरेर लगिएको समयसम्म चौध पुस्ता र बेबिलोनमा कैद गरी लगिएको समयदेखि ख्रीष्टसम्म चौध पुस्ता भयो। 18 येशू ख्रीष्टको जन्म यस प्रकारले भयो: उहाँकी आमा मरियमको मगनी यूसुफसँग भएको थियो। उनीहरूको विवाह हुनअघि नै तिनी पवित्र आत्माद्वारा गर्भवती भएकी थाहा भयो। 19 अनि तिनका पति यूसुफले चुपचाप उक्त मगनी तोड्ने विचार गरे, किनकि उनी धार्मिक स्वभावका मानिस थिए र उनले मरियमको सार्वजनिक अपमान नहोस् भनी गुप्तमै त्याग्न चाहे। 20 यस्तो विचार गर्दागर्दै उनी निदाए र सपनामा प्रभुका स्वर्गदूत उनको सामु देखा परे। दूतले उनलाई भने, ‘‘दाऊदका पुत्र यूसुफ, मरियमलाई विवाह गरेर ल्याउन नडराऊ, किनभने तिनी पवित्र आत्माद्वारा गर्भवती भएकी छिन्। 21 तिनले छोरो जन्माउनेछिन् र तिमीले उहाँको नाउँ येशू राख्नेछौ, किनभने उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट उद्धार गर्नुहुनेछ।’’ 22 अगमवक्ताद्वारा बोलिएको प्रभुको वचन पूरा होस् भनेर यी सबै हुनआएको थियो : 23 ‘‘हेर ! कन्या गर्भवती हुनेछिन् ! तिनले एउटा पुत्र जन्माउनेछिन् र उहाँको नाउँ ‘इम्मानुएल’ राखिनेछ।’’ यसको अर्थ ‘परमेश्वर हामीहरूसँग’। 24 यूसुफले निद्राबाट ब्यूँझिएपछि प्रभुका दूतले अह्राएअनुसार गरे। उनले मरियमलाई पत्नीको रूपमा आफ्नो घरमा ल्याए। 25 तर छोरो नजन्माउन्जेल मरियम, कुमारी नै रहिन्। छोरो जन्मिएपछि यूसुफले उहाँको नाउँ येशू राखे। 21 यहूदियाको बेथलेहेम शहरमा हेरोद राजाको शासनकालमा येशू जन्मनुभयो। त्यसैबेला पूर्वका ज्योतिषीहरू यरूशलेममा यसो भनेर सोद्धै-खोज्दै आइपुगे,2 ‘‘यहूदीहरूका राजा भएर जन्मिनुभएका कहाँ हुनुहुन्छ? हामीले उहाँको तारा पूर्वमा उदाएको देख्यौं र हामी उहाँलाई दर्शनभेट गर्न आएका हौं।’’ 3 तिनीहरूको कुरा सुनेर हेरोद अत्यन्तै बेचैन भए र उनीसँगै सारा यरूशलेमका मानिसहरू पनि बेचैन भए। 4 उनले मुख्य पूजाहारीहरू र धार्मिक व्यवस्थाका सबै शिक्षकहरूको सभा बोलाए र उनले तिनीहरूलाई सोधे, ‘‘अगमवक्ताहरूले ख्रीष्ट कहाँ जन्मिन्छन् भनी अगमवाणी गरेका छन्?’’ 5 तिनीहरूले जवाफ दिए, ‘‘यहूदियाको बेथलेहेममा, किनभने अगमवक्ताले यस्तो लेखेका छन् : 6 ‘ए, यहूदाको बेथलेहेम, तँ यहूदाको सानो गाउँ मात्रै हुनेछैनस्। तँबाटै एक जना शासक निस्केर आउनुहुनेछ, जसले मेरा मानिस, इस्राएलको हेरचाह गर्नुहुनेछ’।’’ 7 तब हेरोदले ज्योतिषीहरूलाई गुप्तमा बोलाएर भेटे। तिनीहरूसँगको त्यस भेटमा उनले तारा उदाएको ठीक समय कुन थियो, सो पत्ता लगाए। 8 त्यसपछि उनले तिनीहरूलाई भने, ‘‘बेथलेहेममा जाओ र सावधानीपूर्वक बालकको खोजी गर। जब तिमीहरू बालकलाई भेट्टाउँछौ, मकहाँ आएर खबर देओ किनकि म पनि गएर उहाँलाई दण्डवत् गर्नसकूँ।’’ 9 त्यस कुराकानीपश्चात् ज्योतिषीहरू आफ्नो बाटो लागे। फे रि पनि तिनीहरूको सामुन्ने तारा देखा पर्यो र तिनीहरूलाई बेथलेहेमतिर डोर्यायो। तारा तिनीहरूको अगिअगि गयो र बालक भएको ठाउँमाथि अडियो। 10 जब तिनीहरूले त्यो तारा देखे, तिनीहरू अति नै आनन्दित भए। 11 तिनीहरू बालक र उहाँकी आमा भएको घरभित्र पसे। तिनीहरूले उहाँको सामु भुइँमा निहुरिएर दर्शनभेट गरे । तिनीहरूले आफूसँग ल्याएका कन्तुर उघारेर सुन, सुगन्धित अत्तर र मूर्रको भेटी चढाए। 12 तर त्यहाँबाट फर्किदा, तिनीहरू अर्कै बाटो भएर गए, किनभने परमेश्वरले तिनीहरूलाई सपनामा हेरोदकहाँ नजानू भनी चेताउनी दिनुभएको थियो। 13 ती ज्योतिषीहरू त्यहाँबाट गइसकेपछि यूसुफको सपनामा प्रभुका स्वर्गदूत देखा परे। ‘‘उठ, बालक र उहाँकी आमालाई लिएर मिश्रदेशतिर भागिहाल। मैले फर्क नभनेसम्म तिमी मिश्रदेशमा नै बस्नू, किनभने हेरोदले बालकलाई मार्न खोज्दैछ।’’ 14 त्यही राती यूसुफ बालक र उहाँकी आमा मरियमलाई लिएर मिश्रदेशतिर लागे। 15 हेरोदको मृत्यु नभएसम्म उनीहरू त्यहीँ बसे। यसरी प्रभुले अगमवक्ताद्वारा भन्नुभएको कुरा पूरा भयो : ‘‘मैले मेरो छोरोलाई मिश्रदेशबाट बोलाएँ।’’ 16 जब ज्योतिषीहरूले आफूलाई छक्क्याएको चाल पाए तब हेरोद क्रोधित भए र उनले ज्योतिषीहरूद्वारा पत्तो लगाइएको ठीक समयअनुसार बेथलेहेम र त्यसका वरपर भएका दुई वर्ष र त्यस मुनिका बालकहरूलाई मार्ने आदेश दिए। 17 हेरोदको यस्तो क्रूर व्यवहारद्वारा यर्मिया अगमवक्ताको अगमवाणी पूरा भयो : 18 ‘‘रामामा डाँको छोडी-छोडी रोएको र विलाप गरेको आवाज सुनियो । राहेल आफ्ना बालकहरूका निम्ति रोइरहेकी, सान्त्वना तिनले अस्वीकार गरिन्, किनकि तिनका बालकहरू मारिए।’’ 19 हेरोदको मृत्यु भएपछि प्रभुका स्वर्गदूत मिश्रमा यूसुफसित सपनामा देखा परे र उनलाई भने, 20 ‘‘उठ, बालक र उहाँकी आमालाई लिएर इस्राएलमा फर्क, किनभने बालकलाई मार्न खोज्नेहरू मरिसकेका छन्।’’ 21 त्यसकारण यूसुफ तुरुन्तै बालक र उहाँकी आमालाई लिएर इस्राएलमा फर्किए। 22 तर हेरोदकै छोरो अर्खिलाउस यहाँको राजा भएको छ भन्ने कुरा थाहा पाएर उनी निकै डराए । तब अर्को सपनामा, उनलाई गालीलतिर जाने चेताउनी दिइयो । 23 तसर्थ उनीहरू नासरत भनिने नगरमा गएर बस्नथाले। यसरी अगमवक्ताले ख्रीष्टको विषयमा भनेको कुरा पूरा हुन आयो : ‘‘उहाँलाई नासरी भनिनेछ।’’ 31 ती दिनमा बप्तिस्मा दिने यूहन्नाले यहूदियाको उजाड-स्थानमा प्रचार गर्नथाले। उनी यसो भन्दै प्रचार गर्दथे,2 ‘‘तिमीहरूका पापकर्मबाट फर्केर परमेश्वरकहाँ आओ, किनभने स्वर्गको राज्य नजिकै छ।’’ 3 यशैयाले यूहन्नाको विषयमा यसो भनेका थिए : ‘‘उजाड-स्थानमा कराउनेको एउटा आवाज, ‘परमप्रभुको बाटो तयार पार, उहाँ आउँदै हुनुहुन्छ। उहाँको बाटो सोझो बनाओ’।’’ 4 यूहन्नाले ऊँटको रौंबाट बुनेको वस्त्र लगाएका र कम्मरमा छालाको पेटी बाँधेका थिए। उनको भोजन सलह र वन - मह थियो। 5 यरूशलेम, यहूदियाका सबै क्षेत्रहरू र यर्दन उपत्यकाका सबै बासिन्दाहरू यूहन्नाको प्रचार सुन्न उजाड-स्थानमा आए। 6 जब तिनीहरूले आ-आफ्ना पाप स्वीकार गरे तब यूहन्नाले तिनीहरूलाई यर्दन नदीमा बप्तिस्मा दिए। 7 तर धेरै जना फरिसीहरू र सदुकीहरू पनि बप्तिस्मा लिन आएको देखेर उनले तिनीहरूलाई हप्काए, ‘‘ए सर्पका सन्तानहरू हो, आउनलागेको परमेश्वरको दण्डबाट उम्किने चेताउनी तिमीहरूलाई कसले दियो ? 8 तिमीहरू आफ्नै चालचलनबाट साँच्चै फर्किएर परमेश्वरतिर मन फिराएका हौं भन्ने कुरा पक्का गराओ। 9 ‘हामी सुरक्षित छौं, हामी अब्राहामका सन्तान हौं’ मात्रै नभन। तिमीहरूले त्यसो भन्दैमा केही हुनेछैन। परमेश्वरले यहाँ भएका यी ढुङ्गाहरूलाई अब्राहामका सन्तान बनाउन सक्नुहुन्छ। 10 अहिले नै परमेश्वरको न्यायको बन्चरो रूखको फेदमा परिसकेको छ। तिमीहरू जरैसमेत ढल्नलागेका छौ। हो, असल फल नफलाउने हरेक रूख काटेर ढालिनेछ र आगोमा मिल्काइनेछ। 11 आफ्ना पापबाट परमेश्वरतर्फ फर्किनेहरूलाई म पानीले बप्तिस्मा दिन्छु। तर मभन्दापछि एक जना चाँडै आउँदै हुनुहुन्छ, उहाँ मभन्दा शक्तिशाली हुनुहुन्छ। म त उहाँको जुत्ता बोक्ने दासजस्तो पनि छैनँ। उहाँले नै तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुन्छ। 12 उहाँ भुसलाई गहुँबाट छुट्टयाउनलाई नाङ्लो लिएर तयार हुनुहुन्छ । उहाँले खला सफा गर्नुहुनेछ, गहुँजतिलाई बटुलेर आफ्नो भकारीमा थन्क्याउनुहुनेछ र भुसलाई कहिल्यै ननिभ्ने आगोको भट्टीमा फालिदिनुहुनेछ।’’ 13 त्यसपछि येशू यूहन्नाद्वारा बप्तिस्मा लिनका लागि गालीलबाट यर्दन नदीमा आउनुभयो। 14 तर यूहन्नाले उहाँलाई बप्तिस्मा दिन मानेनन्। उनले भने, ‘‘मैले पो तपाईंबाट बप्तिस्मा लिनुपर्ने, तपाईं किन मकहाँ आउनुभएको ?’’ 15 तर येशूले भन्नुभयो,‘‘अहिलेलाई यसै हुनदेऊ, किनभने हामीले यसरी नै धार्मिकता पूरा गर्दै जानुपर्छ।’’ अनि यूहन्नाले उहाँलाई बप्तिस्मा दिए। 16 येशू बप्तिस्मा लिएर पानीबाट निस्किनु हुँदा आकाश उघ्रियो। परमेश्वरको आत्मा ढुकुरझैँ ओर्लनुभएको र उहाँमाथि बस्नुभएको उनले देखे। 17 अनि स्वर्गबाट यस्तो वाणी आयो, ‘‘यिनी मेरा प्यारो पुत्र हुन्, म यिनीसँग अति नै प्रसन्न छु।’’ 41 त्यसपछि शैतानबाट परीक्षा गरिनलाई येशू पवित्र आत्माद्वारा उजाड- स्थानमा लगिनुभयो।2 उहाँ चालीस दिन र चालीस रातसम्म उपवास बसिसक्नुभएपछि धेरै भोकाउनुभयो। 3 परीक्षा गर्ने उहाँकहाँ आयो र भन्यो, ‘‘यदि तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने यी ढुङ्गालाई रोटी होऊन् भनी आज्ञा गर्नुहोस्।’’ 4 तर येशूले त्यसलाई जवाफ दिएर भन्नुभयो, ‘‘धर्मशास्त्रमा यसो लेखिएको छ, ‘मानिस रोटीले मात्र होइन तर परमेश्वरको मुखबाट निस्केको हरेक वचनले बाँच्दछ’।’’ 5 तब शैतानले उहाँलाई पवित्र शहरमा लग्यो र मन्दिरको गजुरमा खडा गरायो 6 र भन्यो, ‘‘यदि तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने यहाँबाट हामफाल्नुहोस्, किनभने धर्मशास्त्रले भन्छ : ‘उहाँले आफ्ना स्वर्गदूतहरूलाई अह्राएर तपाईंको रक्षा गर्नुहुनेछ। तिनीहरूले तपाईंलाई हातहातै थाम्नेछन् र तपाईंका खुट्टा भुइँमा बजारिनेछैनन्’।’’ 7 येशूले त्यसलाई जवाफ दिनुभयो, ‘‘धर्मशास्त्रले यसो पनि भनेको छ, ‘तैंले आफ्नो परमप्रभु परमेश्वरलाई परीक्षा नगर्नू’।’’ 8 त्यसपछि, त्यसले उहाँलाई धेरै अग्लो पहाडको चुचुरोमा लग्यो अनि संसारका सबै राज्य र तिनका सारा वैभव देखायो, 9 र त्यसले भन्यो, ‘‘यदि तपाईंले घुँडा टेकेर मलाई दण्डवत् गर्नुभयो भने म तपाईंलाई यो सारा संसार नै दिनेछु।’’ 10 येशूले त्यसलाई हप्काएर भन्नुभयो, ‘‘शैतान, तँ यहाँबाट गइहाल्, किनभने धर्मशास्त्रमा यसो लेखिएको छ, ‘तैंले परमप्रभु तेरा परमेश्वरको आराधना गर्नू र उहाँकै मात्र सेवा गर्नू’।’’ 11 तब शैतानले उहाँलाई छोडेर गयो र स्वर्गदूतहरू आएर उहाँको सेवाटहल गरे। 12 जब येशूले यूहन्ना पक्राउ परेको कुरा सुन्नुभयो, उहाँ यहूदियाबाट निस्केर गालीलमा आउनुभयो। 13 तर नासरत जानुको सट्टा उहाँ कफर्नहुमतिर लाग्नुभयो । त्यो जबूलून र नप्तालीहरूको इलाका, गालीलको किनारमा पर्छ। 14 यसरी यशैया अगमवक्ताले भनेको कुरा पूरा भयो : 15 ‘‘जबूलून र नप्तालीहरूको मुलुक, समुद्रको छेउ, यर्दन नदीको पारिपट्टि गालीलमा, जहाँ असङ्ख्य अयहूदीहरू बस्छन्। 16 अन्धकारमा बस्ने ती मानिसहरूले महान् ज्योति देखेका छन्। मृत्युले छायाँ पारेको त्यस ठाउँका बासिन्दाहरूको निम्ति एउटा ज्योति उदाएको छ ।’’ 17 त्यसैबेलादेखि येशूले प्रचार गर्न थाल्नुभयो र भन्नुभयो, ‘‘तिमीहरूका पापदेखि फर्केर परमेश्वरकहाँ आओ, किनभने स्वर्गको राज्य नजीकै छ।’’ 18 एक दिन येशू गालीलसमुद्रको किनारमा हिँडिरहनुभएको थियो। उहाँले पत्रुस भनिने सिमोन र उसको दाजु अन्द्रियासलाई जाल हान्दैगरेको देख्नुभयो। तिनीहरूको पेशा नै माछा पक्रिने थियो । 19 येशूले तिनीहरूलाई बोलाउनुभयो, ‘‘आओ, मलाई पछयाओ र म तिमीहरूलाई मानिसहरू पक्रने जालहारी बनाउँछु।’’ 20 उनीहरूले त्यसै घडी आफ्ना जालहरू छोडेर उहाँको पछि लागे । 21 त्यसको केही पर उहाँले अरु पनि दुई जना दाजुभाइ, याकूब र यूहन्नालाई समुद्र किनारमा देख्नुभयो। तिनीहरू एउटा डुङ्गामा बसिरहेका थिए र तिनीहरूका बुबा जब्दिया आफ्नो जाल तुन्दै थिए। उहाँले तिनीहरूलाई पनि बोलाउनुभयो। 22 तिनीहरूले तत्कालै डुङ्गा र आफ्नो बुबालाई छोडेर उहाँको पछि लागे। 23 येशू सभाघरहरूमा शिक्षा दिँदै र राज्यको सुसमाचार सबैतिर सुनाउँदै गालीलभरि घुम्नुभयो। उहाँले त्यहाँ विभिन्न प्रकारका रोग-बिमारले ग्रस्त भएका मानिसहरूलाई निको पार्नुभयो। 24 उहाँको कीर्ति गालीलबाहिर पनि फैलियो । त्यसकारण सिरियासम्मका थुप्रै रोगी-बिमारीहरू उहाँकहाँ आउनलागे। तिनीहरूसँग जस्तोसुकै रोग-कष्ट भए पनि उहाँले निको पार्नुभयो। भूत लागेका, छारेरोग लागेका र पक्षाघात भई थला परेकाहरू सबैलाई उहाँले निको पार्नुभयो। 25 अनि उहाँलाई गालील, डेकापोलिस, यरूशलेम, सारा यहूदिया र यर्दनपूर्वका मानिसहरूको ठूलो भीडले पछयायो। 51 एक दिन ठूलो भीड भेला हुँदै गर्दा उहाँ आफ्ना चेलाहरूसँग डाँडामा उक्लनुभयो र अग्लो ठाउँमा बसेर सिकाउन लाग्नुभयो।2 उहाँले यसरी शिक्षा दिनुभयो : 3 ‘‘मलाई ‘परमेश्वरको खाँचो छ’ भन्ने व्यक्तिहरू धन्यका हुन्, किनभने स्वर्गको राज्य तिनीहरूकै हो। 4 शोक गर्नेहरू धन्यका हुन्, किनभने तिनीहरूले सान्त्वना पाउनेछन्। 5 सोझा र नम्रहरू धन्यका हुन्, किनभने सम्पूर्ण पृथ्वी नै तिनीहरूलाई दिइनेछ। 6 धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरू धन्यका हुन्, किनभने तिनीहरू सन्तुष्ट हुनेछन्। 7 कृपा देखाउनेहरू धन्यका हुन्, किनभने तिनीहरूले कृपा पाउनेछन्। 8 शुद्ध हृदय हुनेहरू धन्यका हुन्, किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्। 9 मेलमिलाप गराउनेहरू धन्यका हुन्, किनभने तिनीहरू परमेश्वरका सन्तान कहलाइनेछन्। 10 परमेश्वरको निम्ति जिएको कारण सताइनेहरू धन्यका हुन्, किनभने स्वर्गको राज्य तिनीहरूकै हो। 11 धन्य हौ तिमीहरू, जब मानिसहरूले मेरोनिम्ति तिमीहरूलाई सताउनेछन्, गिल्ला गर्नेछन् र झूटा आरोप लगाएर दु:ख दिनेछन्। 12 तब रमाओ ! खुशी होओ ! किनभने तिमीहरूको निम्ति स्वर्गमा ठूलो इनाम राखिएको छ। याद राख, पहिले-पहिलेका अगमवक्ताहरू पनि त्यसरी नै सताइएका थिए। 13 तिमीहरू पृथ्वीका नून हौ। तर नूनको स्वाद हरायो भने त्यसको के काम? के तिमीहरू त्यसलाई फेरि उपयोगी बनाउन सक्छौ? त्यसलाई बाहिर मिल्काउन र खुट्टाले कुल्चनबाहेक अरु केही कामको हुँदैन। 14 सबैले देख्नसक्ने गरी डाँडामा स्थापित गरिएको शहरजस्तै तिमीहरू संसारका ज्योति हौ। 15 तिम्रो बत्ती डालोमुनि नलुकाऊ। बरु त्यसलाई पानसमा राख र सबैका लागि उज्यालो होस्। 16 त्यसरी नै सबैले तिम्रो असल काम देखून् र स्वर्गमा हुनुहुने तिम्रा पिताको प्रशंसा गरून्। 17 ‘म किन आएको हुँ’ भन्ने विषयमा तिमीहरू भ्रममा नपर । म मोशाको व्यवस्था वा अगमवक्ताहरूका कुरा रद्द गर्न आएको होइन, बरु म ती सबै कुरा पूरा गर्नर् आएको हुँ। 18 किनकि म तिमीहरूलाई साँचो भन्दछु, स्वर्ग र पृथ्वी नटलेसम्म अनि परमेश्वरको व्यवस्थाको उद्देश्य पूरा नभएसम्म त्यसको एउटै पनि कुरा टलेर जानेछैन । 19 त्यसकारण तिमीहरूले सानोभन्दा सानो आज्ञा पनि भङ्ग गर्यौ र अरुलाई पनि त्यसै गर्न सिकायौ भने स्वर्गको राज्यमा तिमीहरू सबैभन्दा तुच्छ गनिनेछौ। तर कसैले परमेश्वरको व्यवस्था पालन गर्दछ र अरुलाई पनि त्यसै गर्न सिकाउँछ भने स्वर्गको राज्यमा ऊ सबैभन्दा उच्च पारिनेछ। 20 तर म तिमीहरूलाई चेताउनी दिन्छु, धार्मिक व्यवस्थाका शिक्षकहरू र फरिसीहरूले भन्दा असल प्रकारले तिमीहरूले परमेश्वरको आज्ञापालन गरेनौ भने तिमीहरू स्वर्गको राज्यमा कुनै रीतिले पनि प्रवेश गर्नेछैनौ। 21 मोशाको व्यवस्थामा तिमीहरूले यसो भनेको सुनेका छौ, ‘तैँले हत्या नगर्नू। यदि तैँले हत्या गरिस् भने तँ दण्डको योग्य हुनेछस्।’ 22 तर म भन्दछु, यदि तिमीहरू बिनाकारण कसैसित रिसायौ भने दण्डको योग्य हुनेछौ। यदि तिमीहरूले कसैलाई ‘मूर्ख’ भन्यौ भने तिमीहरू न्यायालयको सामुन्ने उभ्याइनेछौ र त्यसको जवाफदेही तिमीहरू आफै हुनेछौ। यदि तिमीहरूले कसैलाई सराप्यौ भने तिमीहरू नरकको आगोमा पर्ने जोखिममा हुनेछौ। 23 यसकारण यदि तिमीहरू मन्दिरमा वेदीको सामुन्ने परमेश्वरलाई आफ्नो भेटी चढाउनलाग्दा तिमीहरूलाई अकस्मात् कसैले तिम्रो विरोधमा केही गरेको सम्झना भयो भने 24 तिम्रो भेटी त्यहीँ राख र त्यस व्यक्तिसँग गएर मिलाप गरिहाल, त्यसपछि आएर परमेश्वरलाई तिम्रो भेटी चढाऊ। 25 ढीलो नगरी तिमीहरू बाटोमा छँदै वादीसँग मिलाप गरिहाल, नत्र त उसले तिमीहरूलाई अदालतमा पुर्याउला, अनि त्यहाँको अधिकारीको हातमा सुम्पिदेला र तिमीहरूलाई झ्यालखानमा थुनिदेला। 26 म तिमीहरूलाई भन्दछु, तिमीहरूले त्यसको एक-एक हिसाब चुक्ता नगरेसम्म मुक्त हुनेछैनौ। 27 मोशाको व्यवस्थामा तिमीहरूले यसो भनेको सुनेका छौ, ‘तैँले व्यभिचार नगर्नू’। 28 तर म भन्दछु, जोसुकैले कुनै स्त्रीलाई खराब दृष्टिले हेर्ला, उसले अघिबाटै आफ्नो हृदयमा त्यससित व्यभिचार गरिसकेको हुन्छ। 29 त्यसकारण तिमीहरूको दाहिने आँखाले तिमीहरूलाई पाप गर्नतिर डोर्याउँछ भने त्यसलाई झिकेर फ्याँक। पूरै शरीर नरकमा जाकिनुभन्दा त बरु त्यसको एउटा अङ्ग गुमाउनु तिमीहरूको निम्ति लाभदायक हुन्छ। 30 यदि तिमीहरूको दाहिने हातले तिमीहरूलाई पाप गर्न लगाउँछ भने त्यसलाई काटेर मिल्काऊ। पूरै शरीर नरकमा जाकिनुभन्दा त बरु त्यसको एउटा अङ्ग गुमाउनु तिमीहरूको निम्ति लाभदायक हुन्छ। 31 तिमीहरूले मोशाको व्यवस्थामा यसो भनेको सुनेका छौ, ‘एउटा लोग्नेले आफ्नी स्वास्नीलाई त्याग्न चाहेमा त्यागपत्र लेखेर पारपाचुके गर्नसक्छ।’ 32 तर म भन्दछु, यदि कसैले आफ्नी स्वास्नीलाई व्यभिचारबाहेक अरु कुनै कारणले त्याग्दछ भने उसले तिनलाई व्यभिचारिणी तुल्याउँछ, अनि जसले त्यागिएकी स्त्रीसँग विवाह गर्दछ, ऊ पनि व्यभिचारी ठहरिन्छ। 33 मोशाको व्यवस्थामा तिमीहरूले यसो भनेको सुनेका छौ, ‘तैँले आफ्नो भाकल नतोड्नू, तैँले परमप्रभुसित गरेको भाकल पूरा गर।’ 34 तर म भन्दछु, शपथ खाँदै नखाओ। तिमीहरूले स्वर्गको नाउँमा शपथ नहाल, त्यो पवित्र शपथ हुन्छ, किनभने स्वर्ग परमेश्वरको सिंहासन हो। 35 पृथ्वीको नाउँमा पनि शपथ नहाल, त्यो पवित्र शपथ हुन्छ, किनभने पृथ्वी उहाँको पाउदान हो। त्यसरी नै यरूशलेमको नाउँमा पनि शपथ नहाल, किनभने यरूशलेम महान् राजाको शहर हो । 36 आफ्नै शिरको शपथ नहाल, किनभने तिमीहरू आफ्नो शिरका एउटै रौंलाई पनि सेतो वा कालो बनाउन सक्दैनौ। 37 बरु ‘हो’ लाई ‘हो’ र ‘होइन’ लाई ‘होइन’ मात्रै भन । तिमीहरूले सामान्यरूपमा बोलेको कुरा नै यथेष्ट हुन्छ। योभन्दा बढी दुष्टताबाट आउँछ। 38 तिमीहरूले मोशाको व्यवस्थामा यसो भनेको सुनेका छौ, ‘यदि कसैले तिम्रो एउटा आँखा फुटाइदियो भने त्यसको पनि एउटा आँखा फुटाइदिनू। यदि कसैले तिम्रो दाँत झारिदिएको छ भने त्यसको पनि दाँत झारिदिनू’। 39 तर म भन्दछु, दुष्ट व्यक्तिको प्रतिकार नै नगर। यदि कसैले तिम्रो दाहिने गालामा थप्पड लगाउँछ भने त्यसलाई देब्रे गाला पनि थापिदेऊ। 40 यदि कसैले तिम्रो दौरा लिन मुद्दा लगाउँछ भने त्यसलाई सुरुवाल र कोटसमेत देऊ। 41 यदि कसैले तिमीलाई उसको भारी बोकेर एक माइल परसम्म पुर्याउन लगाउँछ भने दुई माइल परसम्म पुर्याइदेऊ । 42 माग्नेलाई देऊ र तिमीहरूसँग पैँचो माग्नेबाट आफ्नो मुख नफर्काऊ। 43 तिमीहरूले मोशाको व्यवस्थामा यसो भनेको सुनेका छौ,‘आफ्नो छिमेकीलाई प्रेम गर, र शत्रुलाई घृणा गर’। 44 तर म भन्दछु, तिम्रा शत्रुहरूलाई प्रेम गर। तिमीहरूलाई सताउने व्यक्तिहरूका लागि प्रार्थना गर। 45 यसरी मात्रै तिमीहरू स्वर्गमा हुनुहुने पिताका छोराछोरी कहलाइनेछौ, किनभने उहाँले असल र दुष्ट दुवैको लागि घाम लगाइदिनुहुन्छ, धर्मी र अधर्मी दुवैको लागि उत्तिकै झरी पठाइदिनुहुन्छ। 46 यदि तिमीहरू आफूलाई प्रेम गर्नेहरूलाई मात्रै प्रेम गर्छौ भने त्यो के असल गर्यौ र ? भ्रष्ट आचरण भएका महसुल उठाउनेहरूले पनि त्यति त गर्छन् नि ! 47 यदि तिमीहरू आफ्ना दाज्यू-भाइहरूलाई मात्रै अभिवादन गर्छौ भने तिमीहरू अरुभन्दा कसरी फरक भयौ र ? त्यति त अयहूदीहरूले पनि गर्छन् नि ! 48 तर तिमीहरू सिद्ध हुनुपर्छ, जसरी तिमीहरूका स्वर्गका पिता पनि सिद्ध हुनुहुन्छ। 61 होशियार होऊ, सबैले देखून् भनेर केही काम नगर, तिनीहरूबाट सम्मान पाउनलाई सबैले देख्ने गरी केही काम गर्यौ भने स्वर्गमा हुनुहुने पिताबाट पाइने इनाम तिमीहरूले गुमाउनेछौ।2 यदि अभावमा परेको कुनै मानिसलाई तिमीहरू केही दिँदै छौ भने कपटीहरूले झैँ त्यस विषयमा हल्ला नगर, जसले आफ्नो दानकार्यप्रति अरुहरूको ध्यान खिँच्न सभाघर र मूल बाटोहरूमा तुरही फुक्छन्। साँच्चै, म तिमीहरूलाई भन्दछु, तिनीहरूले आफ्नो इनाम अघिबाटै पाइसकेका हुन्छन्। 3 तर यदि तिमीहरू कसैलाई केही दिँदै छौ भने तिम्रो दाहिने हातले के दिँदै छ, सो देब्रे हातलाई थाहा नहोस् । 4 तिमीहरूले दिनुपर्ने कुरा गुप्तमा देऊ र सबै गुप्त कुरा जान्नुहुने तिम्रा पिताले तिमीहरूलाई इनाम दिनुहुनेछ। 5 ‘‘जब तिमीहरू प्रार्थना गर्छौ, तब कपटीहरूजस्ता नहोऊ। तिनीहरू सबैले सुनून् भनेर सडकका चोक र सभाघरहरूमा खडा भएर प्रार्थना गर्छन् । साँच्चै, म तिमीहरूलाई भन्दछु, तिनीहरूले पाउने इनाम त्यति नै हो। 6 तर तिमीहरूले प्रार्थना गर्दा आफ्नो कोठाभित्र पसेर ढोका लगाऊ र पितासँग गुप्तमा प्रार्थना गर। तब सबै गुप्त कुरा देख्नुहुने तिम्रा पिताले तिमीहरूलाई इनाम दिनुहुनेछ। 7 प्रार्थना गर्दा अन्य धर्मावलम्बीहरूझैँ व्यर्थै नबर्बराऊ। तिनीहरू घरीघरी एउटै शब्द फलाकेर मात्रै आफ्नो प्रार्थनाको जवाफ पाइन्छ भनी विचार गर्छन्। 8 तिनीहरूजस्तो नहोऊ, किनभने तिमीहरूलाई के खाँचो छ र तिमीहरूले के माग्न लागेका छौ भन्ने कुरा तिम्रा पिताले जान्नुहुन्छ। 9 तिमीहरू यसरी प्रार्थना गर : ‘हे हाम्रा स्वर्गमा बस्नुहुने पिता, तपाईंको नाउँ पवित्र मानियोस्, 10 तपाईंको राज्य चाँडै आओस्। तपाईंको इच्छा स्वर्गमा झैँ यस पृथ्वीमा पनि पूरा होस्। 11 हामीलाई आजको भोजन दिनुहोस्, 12 हाम्रा पाप क्षमा गरिदिनुहोस्, जसरी हामीले पनि हाम्रा अपराधीहरूलाई क्षमा गरेका छौं। 13 हामीलाई परीक्षामा पर्न नदिनुहोस्, तर दुष्टबाट छुटकारा दिनुहोस्। 14 यदि तिमीहरूले आफ्नो विरुद्धमा पाप गर्नेहरूलाई क्षमा गर्यौ भने तिम्रा स्वर्गमा हुनुहुने पिताले पनि तिमीहरूलाई क्षमा गर्नुहुनेछ । 15 यदि तिमीहरूले अरुलाई क्षमा गरेनौ भने तिम्रा पिताले पनि तिम्रा पाप क्षमा गर्नुहुनेछैन। 16 जब तिमीहरू उपवास बस्छौ, कपटीहरूले झैँ नगर, जसले आफूलाई उपवास बसेकोमा मानिसहरूले प्रशंसा गरून् भनेर आफ्नो अनुहार निन्याउरो र फुस्रो बनाउँछन् । साँच्चै, म तिमीहरूलाई भन्दछु, तिनीहरूले पाउने इनाम त्यत्ति नै हो। 17 तर तिमीहरू, जब उपवास बस्दछौ तब कपाल कोर र मुख धोऊ। 18 तिम्रा पिताबाहेक अरु कसैले पनि तिमीहरू उपवास बसेका छौ भन्ने कुरा थाहा नपाओस्, उहाँले मात्रै तिमीहरूले गुप्तमा गरेका कुरा जान्नुहुन्छ। सबै गोप्यता जान्नुहुने तिम्रा पिताले तिमीहरूलाई इनाम दिनुहुनेछ। 19 यस पृथ्वीमा धनसम्पत्ति नथुपार, जहाँ त्यसमा खिया लाग्छ र कीराले खाएर नष्ट पार्छन् अनि चोरले फोर्छन् र चोरेर लैजान्छन् । 20 तिम्रो धनसम्पत्ति स्वर्गमा थुपार, जहाँ त्यसमा न त खिया लाग्छ, न कीराले नै नष्ट पार्दछ, अनि चोरले पनि चोर्न सक्दैन । 21 जहाँ तिम्रो धन हुन्छ, त्यहीँ तिम्रो मन हुन्छ। 22 तिम्रो आँखा शरीरको निम्ति बत्ती हो । तिम्रो स्वच्छ आँखाले तिम्रो शरीरलाई नै उज्यालो बनाउँछ। 23 तर खराब आँखाले तिम्रो ज्योति निभाउँछ र तिमीहरूलाई अन्धकारमा पुर्याइदिन्छ। यदि तिमीहरूमा भएको ज्योति अन्धकार हो भने अन्धकार अझ कति गाढा होला। 24 कसैले पनि दुई मालिकको सेवा गर्न सक्दैन, किनभने तिमीहरूले एउटालाई प्रेम गर्नेछौ र अर्कोलाई घृणा गर्नेछौ, अथवा तिमीहरू एउटाप्रति समर्पित हुनेछौ र अर्कोलाई हेला गर्नेछौ। तिमीहरूले धन र परमेश्वर, दुवैको सेवा गर्न सक्दैनौ। 25 त्यसकारण म तिमीहरूलाई भन्दछु, ‘प्रशस्त खाने, पिउने र लगाउने कुरा होस्’ भनेर आफ्नो दैनिक जीवनको निम्ति फिक्री नगर। के जीवन खानेकुरा र वस्त्रभन्दा बढ्ता मूल्यवान् होइन र ? 26 चराचुरुङ्गीहरूलाई हेर । तिनीहरूले रोप्नु पर्दैन, बाली उठाउनु पर्दैन र भकारीमा खानेकुरा थन्क्याउनु पर्दैन, किनभने तिमीहरूका स्वर्गमा हुनुहुने पिताले तिनीहरूलाई खुवाउनुहुन्छ। ती चराचुरुङ्गीहरूभन्दा त तिमीहरू उहाँको दृष्टिमा ज्यादै मूल्यवान् छौ। 27 तिम्रो जतिसुकै चिन्ता-फिक्रीले पनि के तिम्रो जीवनमा एक पल मात्रै आयु थप्नसक्छ र? 28 किन तिमी लाउने वस्त्रको निम्ति चिन्ता गर्छौ? मैदानका लिली फूलहरूलाई हेर, ती कसरी बढ्छन्, ती काम गर्दैनन् वा आफ्नोलागि लुगा बुन्दैनन्। 29 तर सोलोमन राजा पनि उनको सारा वैभवमा ती फूलहरूजति सुन्दर प्रकारले विभूषित थिएनन्। 30 आज देखिने र भोलि बितिजाने ती फूलहरूलाई परमेश्वरले त्यति अचम्म प्रकारले हेरचाह गर्नुहुन्छ भने के उहाँले तिमीहरूलाई त्यसभन्दा बढी वास्ता गर्नुहुन्न र ? तिमीहरू कति थोरै विश्वासका ? 31 त्यसकारण प्रशस्त खाने, पिउने र पहिरिने कुराको निम्ति फिक्री नगर । 32 यिनै कुराको निम्ति बढ्ता चिन्ता गर्ने अरु समुदायका मानिसहरूजस्ता किन हुने? स्वर्गमा हुनुहुने तिम्रा पिताले अघिबाटै तिमीहरूका यी सबै खाँचो बुझ्नुहुन्छ। 33 तर पहिले उहाँको राज्य र धार्मिकताको खोजी गर र यी सबै कुरा तिमीहरूलाई थपिइनेछ। 34 यसकारण भोलिको निम्ति फिक्री नगर, किनभने भोलिको दिनले आफ्नै फिक्री लिएर आउनेछ। आजको समस्या आजको निम्ति यथेष्ट छ। 71 अर्कालाई दोष्याउन छोड र तिमीहरू दोषी ठहरिनेछैनौ,2 किनभने तिमीहरूले अरुसँग जस्तो व्यवहार गर्छौ, अरुले पनि तिमीहरूसँग त्यस्तै गर्छन्। जुन नापमा तिमीहरू अरुलाई दोष्याउँछौ, त्यही अनुपातमा तिमीहरू दोष्याइनेछौ। 3 जब तिम्रो आफ्नै आँखामा मूढो छ भने भाइको आँखामा भएको कसिङ्गरको किन चिन्ता गर्छौ? 4 जब तिम्रो आँखामा मूढो छ र देख्न सक्तैनौ भने तिमी ‘उसको आँखाको कसिङ्गर निकाल्छु’ भन्दै कसरी अघि सर्न सक्छौ? 5 ए कपटी पाखण्डी ! पहिले आफ्नै आँखाको मूढो निकाल् र बल्ल तैँले आफ्नो भाइको आँखामा भएको कसिङ्गर निकाल्नलाई छर्लङ्ग देख्नेछस्। 6 जे पवित्र छ, त्यो कुकुरहरूलाई नदेऊ। सुँगुरहरूको अगाडि मोती नफाल। त्यसले त्यो मोती कुल्चीमिल्ची पार्नेछ र त्यसपछि तिमीलाई नै झम्टनेछ। 7 माग्न नछोड र तिमीहरूलाई मागेको कुरा दिइनेछ। खोजिरहो, तिमीहरूले भेट्टाउनेछौ। ढोका ढकढक्याइरहो र त्यो तिम्रो निम्ति उघारिनेछ। 8 किनभने माग्नेले पाउँछ, खोज्नेले भेट्टाउँछ र ढकढक्याउनेको निम्ति ढोका उघारिनेछ। 9 तिमी आमा-बुबाहरू, तिम्रा छोराछोरीले तिमीहरूसँग रोटी माग्दा के तिनीहरूलाई ढुङ्गा दिन्छौ र? 10 अथवा तिनीहरूले माछा माग्दा के सर्प दिन्छौ र ? 11 तिमीहरू पापी मानिस भएर पनि आफ्ना छोराछोरीहरूलाई असल थोक दिन जान्दछौ भने स्वर्गमा हुनुहुने तिमीहरूका पिताले माग्नेहरूलाई कति धेरै असल थोक दिनुहुन्छ। 12 अरुले तिमीसित जस्तो व्यवहार गरून् भन्ने तिमी इच्छा गर्छौ, तिमी पनि उनीहरूसित त्यस्तै गर। यो नै सबै व्यवस्था र अगमवक्ताहरूले दिएको शिक्षाको सार हो। 13 तिमी साँघुरो ढोकाबाट मात्रै परमेश्वरको राज्यमा पस्न सक्छौ। सजिलो बाटो रोज्ने धेरैको लागि नरकतिर जाने मूल बाटो चौडा हुन्छ र त्यसको ढोका पनि फराकिलो हुन्छ। 14 तर जीवनमा पुर्याउने ढोका सानो हुन्छ र बाटो साँघुरो हुन्छ अनि थोरैले मात्र यसलाई भेट्टाउनेछन्। 15 सोझो भेडाको रूपमा भेष बद्लेर आउने झूटा अगमवक्ताहरूदेखि होशियार बस तर ती साँच्चैका ब्वाँसा हुन् र तिनीहरूले तिमीहरूलाई बगालबाट छुट्टयाउलान् । 16 तिमीहरूले तिनीहरूका फलबाट तिनीहरूलाई चिन्नेछौ। तिमीहरू काँडाको झ्याङ्गबाट अङ्गुर टिप्दैनौ, न त सिउँडीबाट नेभारो टिप्छौ। 17 त्यसरी नै असल रूखले असलै फल फलाउँछ र बिग्रेको रूखले खराबै फल फलाउँछ। 18 असल रूखले खराब फल फलाउँदैन र बिग्रेको रूखले असल फल फलाउन सक्दैन। 19 त्यसकारण असल फल नफलाउने हरेक रूख ढालिनेछ र आगोमा मिल्काइनेछ। 20 यसरी नै फलबाट रूखलाई चिनेजस्तै फल हेरेर तिनीहरूलाई पनि चिन्नेछौ। 21 धार्मिक कुरा गर्ने सबै मानिसहरू धर्मी हुँदैनन्। तिनीहरूले मलाई ‘प्रभु’ भने तापनि ती सबै जनाले स्वर्गको राज्यमा प्रवेश पाउनेछैनन्। बरु स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्ने व्यक्तिले स्वर्गको राज्यमा प्रवेश गर्न पाउनेछ। 22 न्यायको दिनमा, धेरैले मलाई ‘प्रभु, प्रभु, हामीले तपाईंको नाउँमा अगमवाणी गर्यौं, तपाईंको नाउँमा भूतहरू धपायौं र धेरै आश्चर्यकर्महरू गर्यौं’ भन्नेछन्। 23 तर म तिनीहरूलाई यसो भनेर जवाफ दिनेछु, ‘मैले तिमीहरूलाई कहिल्यै चिनेको छैनँ, तिमी दुष्ट काम गर्नेहरू हो, मबाट टाढा भैजाओ।’ 24 ‘‘मेरो शिक्षा ध्यान दिएर सुन्ने र पालन गर्ने जोसुकै बुद्धिमान् हो। ऊ, त्यो व्यक्तिजस्तो हो, जसले आफ्नो घर चट्टानमाथि बनाउँछ। 25 पानी पर्छ, बाढी आउँछ, हुरी चल्छ र त्यस घरमाथि बज्रन्छ तर त्यो घर ढल्दैन, किनभने त्यो घर चट्टानमाथि बसालिएको हुन्छ। 26 तर मेरो शिक्षा सुनेर पनि त्यसको बेवास्ता गर्ने जोसुकै मूर्ख हो। ऊ, त्यो व्यक्तिजस्तो हो, जसले आफ्नो घर बालुवामा बनाउँछ। 27 जब पानी पर्छ, बाढी आउँछ, हुरी चल्छ र त्यस घरमाथि बज्रन्छ अनि त्यो घर पूर्णरूपले ध्वस्त हुन्छ।’’ 28 येशूले शिक्षा दिइसक्नुभएपछि भीड उहाँको शिक्षा सुनेर छक्क पर्यो, 29 किनभने उहाँले तिनीहरूका धार्मिक शिक्षकहरूले जस्तो होइन तर साँचो अख्तियारसाथ शिक्षा दिनुहुन्थ्यो। 81 येशू डाँडाबाट ओर्लनुभएपछि ठूलो भीडले उहाँलाई पछयायो।2 त्यसैबेला एउटा कुष्ठरोगी उहाँको सामु आयो। त्यसले घुँडा टेकेर उहाँलाई दण्डवत् गर्दै भन्यो, ‘‘प्रभु, तपाईंले चाहनुभयो भने मलाई निको पार्न सक्नुहुन्छ।’’ 3 येशूले त्यसलाई छोएर भन्नुभयो, ‘‘म इच्छा गर्छु, निको होऊ।’’ अनि तुरुन्तै त्यसको कुष्ठरोग हराइहाल्यो। 4 तब येशूले त्यसलाई भन्नुभयो,‘‘अब सोझै पूजाहारीकहाँ जाऊ र उनलाई देखाऊ। यस विषयमा बाटोमा कसैलाई केही नभन । रोगबाट शुद्ध भएपछि मोशाको व्यवस्थाअनुसार चढाउनुपर्ने बलिदान लिएर जाऊ र तिमी निको भएको पक्का हो भनी सबैलाई थाहा होस्।’’ 5 त्यसपछि येशू कफर्नहुममा आइपुग्नुभयो, एउटा रोमी कप्तानले उहाँकहाँ आएर यसो भन्दै विन्ती गर्यो, 6 ‘‘प्रभु, मेरो जवान दास पक्षाघात भएर थला परेको छ, ऊ साह्रै कष्टमा परेको छ।’’ 7 येशूले भन्नुभयो, ‘‘म आएर उसलाई निको पार्नेछु।’’ 8 तब त्यस कप्तानले भन्यो,‘‘प्रभु तपाईं मेरो घरमा आउनुहुने? म त्यस योग्यको छैनँ। यहीँबाट आज्ञा गरिदिनुहोस् र मेरो दास निको हुनेछ। 9 म पनि अख्तियारमा छु र मभन्दा माथि पनि अख्तियारवालाहरू छन्। मैले मेरो अधीनका सिपाहीहरूलाई ‘जाओ’ भने ती जान्छन् ‘आओ’ भने ती आउँछन्, अनि मैले जे गर भनेर अह्राए पनि तिनले गर्छन्।’’ 10 जब येशूले यो कुरा सुन्नुभयो, उहाँ छक्कै पर्नुभयो र भीडतिर फर्किएर उहाँले भन्नुभयो, ‘‘साँच्चै, म तिमीहरूलाई भन्दछु, मैले इस्राएलभरि यस्तो विश्वास देखेकै छैनँ ! 11 म तिमीहरूलाई भन्दछु, असङ्ख्य अयहूदीहरू संसारको चारैतिरबाट आउनेछन् र स्वर्गको राज्यको भोजमा अब्राहाम, इसहाक र याकूबसँगै बसेर खानेछन्। 12 तर धेरै इस्राएलीहरू, जसको निम्ति राज्य तयार गरिएको थियो, उनीहरूलाई नै बाहिरी अन्धकारमा फालिनेछ, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।’’ 13 तब येशूले त्यस रोमी कप्तानलाई भन्नुभयो, ‘‘घर जाऊ, तिमीले विश्वास गरेको कुरा भइहालेको छ।’’ त्यो जवान दास त्यही घडी निको भइहाल्यो। 14 येशू पत्रुसको घरमा आइपुग्नुहुँदा उनकी सासू ज्वरोले थलिएकी थिइन्। 15 तर जब येशूले तिनका हात छुनुभयो, तब ज्वरोले तत्कालै तिनलाई छाडयो। तिनी उठिन् र उहाँको निम्ति खानेकुरा बनाउन थालिन् । 16 त्यही साँझ येशूकहाँ भूतात्माले सताइएका थुप्रै मानिसहरूलाई ल्याइयो । उहाँले ती भूतात्माहरूलाई हटिजाने आज्ञा दिनुभयो र ती गइहाले अनि उहाँले सबै बिमारीहरूलाई निको पार्नुभयो । 17 यसरी यशैयाद्वारा बोलिएको परमप्रभुको वचन पूरा भयो : ‘‘उहाँले हाम्रो बिमारहरू लिनुभयो र रोगहरू हटाइदिनुभयो।’’ 18 धेरै ठूलो भीड आफूकहाँ आइरहेको कुरा थाहा पाएर येशूले चेलाहरूलाई झीलको पारिपट्टि जाने आज्ञा दिनुभयो । 19 तब शास्त्रीहरूमध्ये एक जनाले उहाँलाई भने, ‘‘गुरुज्यू, तपाईं जहाँ जानु भए पनि म तपाईंलाई पछयाउनेछु।’’ 20 तर येशूले भन्नुभयो, ‘‘फ्याउराहरूको लुक्ने दुलाहरू छन् र चराचुरुङ्गीहरूका गुँड छन्, तर म, मानिसको पुत्रको त शिर अडयाउने ठाउँसमेत छैन।’’ 21 उहाँको अर्को चेलाले भने, ‘‘प्रभु, पहिले घरमा गएर मेरा बुबालाई गाड्न दिनुहोस्।’’ 22 तर येशूले तिनलाई भन्नुभयो,‘‘अहिल्यै मेरोपछि लाग। तिनीहरू, जो आत्मिकरूपमा मरेका छन्, तिनीहरूले नै आफ्ना मृतकहरूलाई गाडून्।’’ 23 तब येशू डुङ्गामा चढ्नुभयो र आफ्ना चेलाहरूको साथमा झीलको पारिपट्टि जान लाग्नुभयो। 24 अचानक एउटा डरलाग्दो आँधी आयो र पानीका छालहरूले डुङ्गालाई हुत्त्याउन थाल्यो । तर येशू सुतिरहनुभएको थियो। 25 चेलाहरू गएर उहाँलाई ब्यूँझाए र आँत्तिदै भने,‘‘प्रभु, हामीलाई बचाउनुहोस् ! हामी डुब्न लाग्यौं।’’ 26 येशूले जवाफ दिएर भन्नुभयो, ‘‘तिमीहरू किन डराएका ! तिमीहरूको विश्वास खोई?’’ तब उहाँले उभिएर बतास र छाललाई हप्काउनुभयो र त्यो तुरुन्तै शान्त भइहाल्यो। 27 चेलाहरू भयभीत हुँदै चुपचाप बसे र उनीहरूले आपसमा प्रश्न गरे, ‘‘उहाँ को हुनुहुन्छ? बतास र पानीका छालहरूले समेत उहाँको आज्ञापालन गर्छन् !’’ 28 जब येशू झीलको पारिपट्टि गदरिनीहरूको क्षेत्रमा आइपुग्नुभयो, भूतात्माले सताइएका दुई जना मानिसहरू उहाँको अगाडि उभिए। ती दुवै चिहानघारीमा बस्थे, ती अति नै डरलाग्दा थिए, त्यसकारण कोही पनि त्यस क्षेत्रबाट भएर जान सक्दैनथिए। 29 तिनीहरू उहाँको अघि यसो भनेर चिच्च्याउन लागे, ‘‘तपाईंसँग हाम्रो के सरोकार? हे परमेश्वरका पुत्र, के तपाईं तोकिएको समयभन्दा अघि हामीलाई सताउन आउनुभएको हो?’’ 30 त्यसको केही पर सुँगुरहरूको एउटा ठूलो बगाल चरिरहेको थियो। 31 ती भूतहरूले विन्ती गरे, ‘‘यदि तपाईं हामीलाई धपाउनुहुन्छ भने सुँगुरको त्यस बगालमा जान दिनुहोस्।’’ 32 येशूले तिनीहरूलाई आज्ञा दिनुभयो, ‘‘ठीक छ, जाओ।’’ त्यसरी तिनीहरू दुई जनाबाट निस्केर सुँगुरहरूभित्र पसे। तब त्यो सुँगुरको बगाल भीरदेखि हुर्रिंदै झीलको पानीमा डुबेर मरे। 33 सुँगुर चराउने मानिसहरू त्यहाँबाट भागेर नजीकैको शहरमा गए र भूतात्मा लागेका ती दुई जनालाई के भयो सो हरेकलाई बताए। 34 त्यो सम्पूर्ण शहर नै उर्लिएर येशूलाई भेट्न आए, तर तिनीहरूले उहाँलाई त्यो ठाउँ छाडेर अन्तै गइहाल्नुहोस् भनी विन्ती गरे। 91 येशू डुङ्गामा चढ्नुभयो र त्यहाँबाट फर्किएर आफ्नै शहरमा जानुभयो।2 केही मानिसहरूले एक जना पक्षाघातीलाई गुन्द्रीमा उठाएर उहाँकहाँ ल्याए। ती मानिसहरूको विश्वास देखेर येशूले त्यस पक्षाघातीलाई भन्नुभयो, ‘‘छोरा, साहस गर। तिम्रा पाप क्षमा भए।’’ 3 केही शास्त्रीहरूले आपसमा भने, ‘‘हेर ईश्वर-निन्दा गरेको, ऊ त आफै परमेश्वर भएजस्तो गरी बोल्दैछ।’’ 4 तिनीहरू आपसमा के कुरा गर्दैछन् भन्ने थाहा पाएर येशूले तिनीहरूलाई सोध्नुभयो, ‘‘किन तिमीहरू, तिमीहरूका हृदयमा दुष्ट कुरा सोच्दछौ? 5 ‘तिम्रा पाप क्षमा भए’ भन्नु सजिलो हो कि ‘उठ र हिँड’ भन्नु? 6 म पुष्टि गरिदिन्छु, मानिसको पुत्रसँग पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ ।’’ येशू त्यस पक्षाघातीतर्फ फर्किनुभयो र भन्नुभयो, ‘‘उठ, तिम्रो गुन्द्री उठाऊ, तिमी निको भएका छौ, अब आफ्नो घर जाऊ।’’ 7 त्यो मानिस बुर्लुक्क उफ्रेर खडा भयो र घरतिर लाग्यो। 8 आफ्नै आँखाको सामुन्ने यो घटना भएको देखेर सारा भीडमा भय उत्पन्न भयो । परमेश्वरले त्यस्तो महान् अख्तियार भएको मानिसलाई पठाइदिनुभएको निम्ति तिनीहरूले उहाँको प्रशंसा गरे। 9 येशू तलतिर जाँदै गर्नुहुँदा उहाँले मत्तीलाई महसुल उठाउने सानो अड्डामा बसिरहेको देख्नुभयो। येशूले मत्तीलाई भन्नुभयो, ‘‘आऊ, मेरोपछि लाग।’’ तब मत्ती जुरुक्कै उठे र उहाँको पछि लागे। 10 जब येशू मत्तीको घरमा बेलुकीको भोजनमा सरिक हुनुहुँदा धेरै महसुल उठाउने र पापीहरू आएर उहाँ र उहाँका चेलाहरूसँग खान बसे। 11 जब फरिसीहरूले यो देखे तब तिनीहरूले टकटकिँदै उहाँका चेलाहरूलाई सोधे, ‘‘तिमीहरूका गुरु किन ती पापीहरूसित बसेर खान्छन् हँ ?’’ 12 जब येशूले तिनीहरूका कुरा सुन्नुभयो तब उहाँले यसो भनेर जवाफ दिनुभयो, ‘‘रोगीहरूलाई मात्रै वैद्यको आवश्यकता पर्छ, तर निरोगीहरूलाई होइन।’’ 13 उहाँले फेरि भन्नुभयो,‘‘अब जाओ र यस धर्मशास्त्रको अर्थ पत्तो लगाओ: ‘म बलिदान होइन, दया चाहन्छु’, किनभने म पापीहरूलाई खोज्न आएको हुँ तर आफैलाई धर्मी र भलो ठान्नेहरूलाई होइन।’’ 14 एक दिन बप्तिस्मा दिने यूहन्नाका चेलाहरू आएर येशूलाई सोधे, ‘‘हामी र फरिसीहरू उपवास बस्छौं तर तपाईंका चेलाहरू किन बस्दैनन् ?’’ 15 येशूले जवाफ दिनुभयो,‘‘दुलहाको साथमा रहेका जन्तीहरूले के शोक मनाउँछन् र ? जुन दिन दुलहा तिनीहरूका साथमा रहनेछैनन्, त्यस दिन तिनीहरू उपवास बस्नेछन्। 16 पुरानो लुगामा कसले नयाँ टालो टाल्छ र? किनकि नयाँ टालोले पुरानो लुगालाई फटाउँछ र वस्त्र अझै बढी च्यातिन्छ। 17 कसैले पनि नयाँ अङ्गुरमद्य पुरानो छालाको मशकमा राख्दैन। नत्र त मशक फुट्छ र अङ्गुरमद्य पोखिन्छ। नयाँ अङ्गुरमद्यलाई नयाँ मशकमा नै राख्नुपर्दछ, यसो गर्नाले अङ्गुरमद्य र मशक दुवै जोगिन्छन्।’’ 18 येशूले त्यसो भन्दै गर्नुहुँदा सभाघरका एक जना अगुवा आएर उहाँको अगाडि घुँडा टेके र उनले भने,‘‘मेरी छोरी भर्खरै मरी, तर तपाईं मेरो घरमा आएर त्यसमाथि आफ्नो हात राखिदिनुभयो भने त्यो फेरि जीवित हुनेछे।’’ 19 येशू र उहाँका चेलाहरू उनको घरतिर जाँदै गर्नुहुँदा, 20 बाह्र वर्षदेखि रगत बग्ने रोग भएकी एउटी स्त्री उहाँको पछिल्तिर आई र उहाँको वस्त्रको फेरो छोई, 21 किनभने ‘‘यदि मैले उहाँको वस्त्र मात्रै छुनसकेँ भने पनि म निको हुनेछु’’ भनी उसले मनमनै सोचेकी थिई। 22 येशू फनक्कै फर्किनुभयो र त्यस स्त्रीलाई भन्नुभयो,‘‘छोरी, साहस गर, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।’’ त्यो स्त्री त्यति नै बेला निको भइहाली। 23 जब येशू त्यस सभाघरको अगुवाको घरमा पुग्नुभयो, त्यहाँ उहाँले रोइकराइ गर्नेको चर्को आवाज र अन्त्येष्टीमा बजाइने सङ्गीतको धुन सुन्नुभयो। 24 उहाँले तिनीहरूलाई भन्नुभयो, ‘‘पछि हट, किनभने बालिका मरेकी छैन, त्यो सुतिरहेकी छे।’’ उहाँको कुरा सुनेर तिनीहरू हाँसे। 25 जब भीड बाहिर गयो, उहाँ घरभित्र पस्नुभयो र त्यस केटीको हात समातेर उठाउनुभयो अनि त्यो उठी । 26 यो आश्चर्यकर्मको खबर त्यस इलाकाभरि फैलियो। 27 येशू त्यहाँबाट निस्किनुभएपछि दुई जना अन्धाहरू यसो भनेर कराउँदै उहाँको पछि लागे, ‘‘हे दाऊदका पुत्र, हामीमाथि कृपा गर्नुहोस्।’’ 28 तिनीहरू उहाँ बस्नुभएकै घरमा गए र येशूले तिनीहरूलाई सोध्नुभयो, ‘‘के म तिमीहरूलाई दृष्टि दिनसक्छु भनी तिमीहरू विश्वास गर्छौ?’’ तिनीहरूले भने, ‘‘ज्यू प्रभु, हामी गर्छौं।’’ 29 अनि उहाँले तिनीहरूका आँखामा छुनुभयो र भन्नुभयो,‘‘तिमीहरूको विश्वासले तिमीहरू देख्नसक्ने हुनेछौ।’’ 30 तब तुरुन्तै तिनीहरूले देख्नसके। येशूले तिनीहरूलाई कडा चेताउनी दिनुभयो,‘‘यस विषयमा कसैलाई केही पनि नभन्नू।’’ 31 तर तिनीहरूले त्यस इलाकाभरि उहाँको कीर्ति फैलाए। 32 तिनीहरू गइसकेपछि केही मानिसहरूले एउटा बोल्न नसक्ने व्यक्तिलाई उहाँकहाँ ल्याए, त्यसलाई भूतात्माले लाटो बनाएको थियो। 33 तब येशूले त्यस भूतात्मालाई निकाल्नुभयो र तुरुन्तै त्यो मानिस बोल्नसक्ने भयो। यो देखेर भीड छक्कै पर्यो। तिनीहरूले भने, ‘‘यस्तो त इस्राएलमा अघि कहिल्यै भएको थिएन !’’ 34 तर फरिसीहरूले भने, ‘‘भूतहरूकै मालिकले उसलाई शक्ति दिएको छ र त उसले भूतहरूलाई धपाउनसक्छ।’’ 35 सभाघरहरूमा शिक्षा दिँदै र राज्यको सुसमाचार प्रचार गर्नुहुँदै येशू त्यस क्षेत्रका सबै शहर र गाउँभरि घुम्नुभयो। उहाँ जहाँ-जहाँ जानुभयो, त्यहाँ उहाँले हरेक प्रकारका रोग-बिमारले ग्रस्त भएका मानिसहरूलाई निको पार्नुभयो। 36 उहाँले आफूकहाँ आएको भीडलाई देखेर अति नै टिठाउनुभयो, किनकि तिनीहरू सबै गोठाला नभएका भेडाहरूझैँ सहाराविहीन र असहाय थिए। 37 उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, ‘‘फसल त साँच्चै तयार छ, तर फसल उठाउने खेतालाहरूको भने अभाव छ। 38 त्यसकारण फसलका मालिक, प्रभुसँग प्रार्थना गर र उहाँको खेतमा प्रशस्त खेतालाहरू पठाइदिनुहोस् भनेर विन्ती गर।’’ 101 येशूले आफ्ना बाह्र चेलाहरूलाई आफूकहाँ बोलाउनुभयो र उनीहरूलाई सबै प्रकारका रोग निको पार्ने र भूतात्माहरू धपाउने अख्तियार दिनुभयो।2 उहाँका बाह्र प्रेरितको नाउँ यस प्रकार छ: पहिलो पत्रुस भनिने सिमोन र उनको दाजु अन्द्रियास। जब्दियाका छोरा याकूब र उनका भाइ यूहन्ना। 3 फिलिप, बारथोलोमाइ, थोमा, महसुल उठाउने मत्ती र अल्फयसका छोरा याकूब र थेदियस । 4 सिमोन कनानी र यहूदा इस्करियोत, जसले पछि उहाँलाई धोका दियो। 5 येशूले यसो भनेर सिकाउँदै ती बाह्रै जना चेलाहरूलाई पठाउनुभयो : ‘‘अयहूदी वा सामरीहरूकहाँ नजाओ। 6 तर इस्राएलका घरानामा मात्रै जाओ, जो परमेश्वरका हराएका भेडाहरू हुन्। 7 जाओ र तिनीहरूलाई, ‘स्वर्गको राज्य नजिकै छ’ भनी घोषणा गर । 8 बिमारीहरूलाई निको पार, मरेकाहरूलाई जीवित पार, कुष्ठरोगीहरूलाई शुद्ध पार र भूतात्माहरू धपाओ। तिमीहरूले जे सित्तैंँमा पाएका छौ, त्यो सित्तैँमा देओ। 9 तिमीहरूका आफ्ना थैलीमा सुनचाँदी र तामा नबोक। 10 तिमीहरूसँग झिटीगुन्टा नबोक, जगेडा वस्त्र र चप्पल पनि नबोक, न त लौरो नै बोक। कसैले घरमा अतिथिसत्कार गर्यो भने अप्ठयारो नमान, किनभने काम गर्ने खेताला ज्यालाको योग्य हुन्छ। 11 तिमीहरू जब कुनै शहर वा गाउँभित्र पस्छौ, एक जना योग्य मानिसको खोजी गर र त्यो ठाउँ छोडेर अर्को शहरमा नगएसम्म त्यहीँ बस। 12 तिमीहरूलाई कुनै घरमा निम्तो दिइयो भने त्यस घरलाई आशीर्वाद देओ। 13 त्यो घर तिमीहरूको योग्य रहेछ भने तिमीहरूको आशिष् त्यस घरमा रहोस्। यदि त्यो योग्य रहेन छ भने तिमीहरूको आशिष् त्यस घरमा रहनेछैन। 14 यदि कुनै गाउँले तिमीहरूलाई स्वागत गरेन र तिमीहरूका कुरा पनि सुनेन भने त्यहाँबाट निस्कँदा आफ्नो खुट्टाको धूलो टकटक्याइदेओ। 15 साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूलाई स्वागत नगर्ने त्यस ठाउँको हालत न्यायको दिनमा दुष्ट शहर सदोम र गमोराको भन्दा पनि अझै खराब हुनेछ। 16 हेर, म तिमीहरूलाई ब्वाँसाको बथानमा भेडाझैँ पठाइरहेको छु । तसर्थ सर्पझैँ सतर्क र ढुकुरझैँ सोझो बन। 17 तर होशियार बस, किनभने मानिसहरूले तिमीहरूलाई अदालतमा पुर्याउनेछन् र सभाघरको अगाडि पिट्नेछन्। 18 तिमीहरू सरकारी अधिकारीहरूको सामु खडा हुनुपर्नेछ, किनभने तिमीहरू मेरा अनुयायीहरू हौ। त्यो तिमीहरूको निम्ति मेरो विषयमा बताउने अवसर हुनेछ - साँच्चै, संसारलाई साक्षी दिने त्यो राम्रो मौका हुनेछ। 19 जब तिमीहरू पक्राउ पर्नेछौ, त्यसबेला आफ्नो बचाउको निम्ति के बोल्ने भनेर चिन्ता नगर, किनभने त्यो समयमा ठीक कुरा बोल्ने वचन तिमीहरूलाई दिइनेछ। 20 किनकि त्यसबेला बोल्ने तिमीहरू आफैँ हुनेछैनौ तर तिमीहरूद्वारा पिताको आत्मा बोल्नुहुनेछ। 21 भाइले भाइलाई धोका दिएर मृत्युमा पुर्याउनेछ, बुबाहरूले आफ्नै छोराछोरीहरूलाई धोका दिनेछन्, छोराछोरीहरू आफ्नै आमा - बुबाको विरुद्धमा उठ्नेछन् र तिनीहरूलाई मृत्युमा पुर्याउनेछन्। 22 मप्रति तिमीहरूको निष्ठाको कारण सबैले तिमीहरूलाई घृणा गर्नेछन्। तर जो अन्त्यसम्म स्थिर रहन्छ, त्यो बचाइनेछ। 23 यदि एउटा शहरमा तिमीहरूलाई सताइयो भने अर्को शहरतिर जाओ । साँच्चै, म तिमीहरूलाई भन्दछु, मानिसको पुत्र फेरि फर्केर आउनअघि तिमीहरू इस्राएलका सबै शहर घुमिसकेका हुनेछैनौ। 24 चेला गुरुभन्दा र नोकर मालिकभन्दा श्रेष्ठ हुँदैन। 25 चेला आफ्नो गुरुजस्तो र नोकर आफ्नो मालिकजस्तो हुनु पर्याप्त हुन्छ। यदि तिनीहरूले म, घरको स्वामीलाई नै भूतात्माहरूको मालिक भनेका छन् भने तिमी, मेरा घरानाका सदस्यहरूलाई झन् कति बढी भन्लान् ! 26 तर तिमीहरूलाई धम्काउनेहरूदेखि नडराओ। समय आउँदैछ र सबै थोक खुलस्त हुनेछ, अनि गुप्तमा भएका सबै थोक सार्वजनिक गरिनेछन्। 27 जुन कुरा मैले तिमीहरूलाई अँध्यारोमा भनेको छु, त्यो कुरा दिनको उज्यालोमा कराएर सुनाओ । जे कुरा मैले तिमीहरूका कानमा सुस्तरी भनेको छु, त्यो सबैले सुन्नेगरी घरको धुरीबाट कराएर सुनाओ। 28 तिमीहरूलाई मार्न खोज्नेहरूसँग नडराओ। तिनीहरूले तिम्रो शरीर मात्रै मार्न सक्छन् तर तिम्रो आत्मालाई छुन पनि सक्दैनन्। परमेश्वरसँग मात्रै डराओ, जसले शरीर र आत्मा दुवैलाई नरकमा नाश पार्न सक्नुहुन्छ। 29 एक पैसा दाम पर्ने भँगेरोसमेत तिमीहरूका पिताको ज्ञानबिना भुइँमा खस्दैन। 30 तिम्रो शिरका केशहरू गन्ती गरिएका छन्। 31 त्यसकारण नडराओ, तिमीहरू उहाँको निम्ति संसारभरिका सबै भँगेराहरूभन्दा पनि बढ्ता मूल्यवान् छौ। 32 यदि कसैले यस पृथ्वीमा मलाई सबैको अगाडि स्वीकार गर्दछ भने म पनि त्यसलाई स्वर्गमा मेरा पिताको अगाडि खुशीसाथ स्वीकार गर्नेछु। 33 तर यदि कसैले मलाई यस पृथ्वीमा इन्कार गर्छ भने म पनि त्यसलाई स्वर्गमा मेरा पिताको सामुन्ने इन्कार गर्नेछु। 34 म यस पृथ्वीमा शान्ति ल्याउन आएको हुँ भनी नठान। त्यसो होइन, म त तरवार चलाउन आएँ। 35 म त एउटा मानिसलाई उसको बाबुको, छोरीलाई आमाको र बुहारीलाई सासूको विरुद्धमा फाटो ल्याउन आएको हुँ। 36 तिमीहरूका शत्रुहरू तिम्रै घराना भित्रकाहरू नै हुनेछन्। 37 यदि तिमीहरू मलाईभन्दा बढ्ता आफ्ना आमा-बुबालाई प्रेम गर्छौ भने मेरा चेलाहरू हुने योग्यका हुँदैनौ अथवा यदि तिमीहरू मलाईभन्दा बढ्ता आफ्ना छोराछोरीहरू लाई प्रेम गर्छौ भने मेरा योग्यका हुँदैनौ। 38 तिमीहरू आफ्नो क्रूस उठाएर मेरोपछि लाग्न इन्कार गर्छौ भने मेरा चेलाहरू हुने योग्यका हुँदैनौ। 39 यदि तिमीहरूले आफ्नो जीवन बचाउने प्रयत्न गर्यौ भने त्यो गुमाउनेछौ। तर मेरोनिम्ति आफ्नो जीवन अर्पण गर्यौ भने त्यो पाउनेछौ। 40 तिमीहरूलाई स्वागत गर्नेले मलाई स्वागत गर्नेछ अनि जसले मलाई स्वागत गर्दछ, उसले मलाई पठाउनुहुने पितालाई स्वागत गर्दछ। 41 यदि तिमीहरूले कुनै अगमवक्तालाई परमेश्वरको तर्फबाट बोल्ने व्यक्तिको रूपमा स्वागत गर्छौ भने तिमीहरूले पनि अगमवक्ताले पाउने इनाम पाउनेछौ। धर्मीजनलाई धर्मीजन नै मानेर ग्रहण गर्नेले धर्मीजनले पाउने इनाम नै पाउनेछ। 42 यदि कसैले मेरा अनुयायीहरूमध्ये सानालाई एक कचौरा पानी मात्रै भए पनि पिउन देला, उसले निश्चय नै आफ्नो इनाम गुमाउनेछैन।’’ 111 येशूले आफ्ना बाह्र चेलाहरूलाई यी शिक्षा दिनुभएपछि उहाँ त्यस देशभरिका शहरहरूमा शिक्षा दिँदै र प्रचार गर्दै हिँड्नुभयो।2 जब बप्तिस्मा दिने यूहन्ना झ्यालखानमा थिए, तब उनले मसीहले गरेका कामहरूको बारेमा सुने र उनले आफ्ना चेलाहरूलाई येशूकहाँ यो सोध्न पठाए, 3 ‘‘के हामीले बाटो हेरेको मसीह तपाईं नै हुनुहुन्छ, कि हामी अर्कैको प्रतीक्षा गरौं?’’ 4 येशूले तिनीहरूलाई भन्नुभयो, ‘‘यूहन्नाकहाँ फर्केर जाओ र तिमीहरूले देखेका र सुनेका सबै कुरा उनलाई भन- 5 अन्धाहरूले देख्छन्, लङ्गडाहरू हिँड्छन्, कुष्ठरोगीहरू निको भएका छन्, बहिराहरू सुन्छन् र मूर्दाहरू जीवित भएका छन् अनि गरीबहरूलाई सुसमाचार सुनाउने काम भइरहेको छ। 6 अनि उनलाई यो पनि भन, त्यो मानिस धन्यको हो, जसले मबाट ठेस खाँदैन।’’ 7 यूहन्नाका चेलाहरू गइसकेपछि येशूले, उनको विषयमा भीडसित कुरा गर्न थाल्नुभयो, ‘‘उजाड-स्थानमा यो मानिस को थियो र तिमीहरू उनलाई हेर्न गयौ? के तिमीहरूले उनलाई बतास चल्दा लर्किने निगालोजस्तो पायौ? 8 के तिमीहरूले उनी महँगो लुगा लगाउने व्यक्ति हुनुपर्छ भन्ने ठानेका थियौ? त्यस्तो लुगा लगाउनेहरू त दरबारमा बस्छन्, उजाड-स्थानमा होइन। 9 के तिमीहरूले अगमवक्ताको खोजी गरिरहेका थियौ? हो, उनी अगमवक्ताभन्दा पनि महान् हुन्। 10 धर्मशास्त्रले भनेको व्यक्ति यूहन्ना नै हुन्, जहाँ यसो भनिएको छ : ‘हेर, म मेरो सन्देशवाहकलाई तिमीभन्दा अघि पठाउँदैछु, र तिनले तिम्रोलागि बाटो तयार पार्नेछन्।’ 11 साँच्चै, म तिमीहरूलाई भन्दछु, अहिलेसम्म स्त्रीबाट जन्मिएका मानिसहरूमध्ये बप्तिस्मा दिने यूहन्नाभन्दा महान् कोही पनि छैनन्। तैपनि स्वर्गको राज्यमा जो सबैभन्दा सानो छ, त्यो यूहन्नाभन्दा महान् हुनेछ। 12 बप्तिस्मा दिने यूहन्नाले प्रचार गर्न र बप्तिस्मा दिनथालेदेखि यता आजसम्म स्वर्गको राज्य बडो द्रुतगतिमा अघि बढिरहेको छ र हिँस्रक मानिसहरूले यसलाई आक्रमण गर्छन्, 13 किनकि यूहन्ना आउनुभन्दा पहिले, सबै अगमवक्ता र व्यवस्थाले अगमवाणी गरे। 14 यदि तिमीहरू मेरो कुरा स्वीकार गर्न इच्छुक छौ भने म भन्दछु, ‘अगमवक्ताहरूले आउनेछन् भनेका एलिया उनी नै हुन्।’ 15 जसलाई सुन्ने मन छ, उसले सुनोस् र बुझोस्। 16 म यस पुस्ताको बयान कसरी गरूँ? यी मानिसहरू त चौकमा भेला भएर खेल्ने ससाना केटाकेटीहरूजस्तै छन्। तिनीहरू गुनासो गर्दै आफ्ना साथीहरूलाई भन्छन्, 17 ‘हामीले तिमीहरूको लागि बाँसुरी बजायौं र पनि तिमीहरू नाचेनौ, हामीले विलापको गीत गायौं, र पनि तिमीहरू रोएनौ।’ 18 बप्तिस्मा दिने यूहन्नाले मद्य पिएनन्, तिनी प्राय: जसो उपवास बस्थे र तिमीहरू ‘उनलाई भूत लागेको छ’ भन्छौ । 19 म, मानिसको पुत्र खाँदै र पिउँदै आएँ र तिमीहरू भन्छौ, ‘उनी घिचुवा, पियक्कड र नीच पापीहरूको मित्र हुन् !’ तर बुद्धि ठीक हो कि होइन भन्ने कुरा त्यसको परिणामबाट प्रकट हुन्छ।’’ 20 त्यसपछि येशूले ती शहरहरूलाई हप्काउन थाल्नुभयो, जहाँ उहाँले धेरैजसो आश्चर्यकर्महरू गर्नुभएको थियो, किनभने तिनीहरू आफ्ना पाप त्यागेर परमेश्वरतिर फर्केका थिएनन्। 21 ‘‘धिक्कार ए खोराजीन, धिक्कार ए बेथसेदा ! तिमीहरूमा गरिएका आश्चर्यकर्महरू यदि दुष्ट टुरोस र सीदोनमा गरिएका भए, त्यहाँका मानिसहरूले धेरै अघि नै पश्चात्ताप गरिसक्ने थिए, तिनीहरूले भाङ्ग्रा लगाएर शिरमा खरानी घसेर आफ्नो दु:ख व्यक्त गर्ने थिए। 22 साँच्चै, म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा तिमीहरूको भन्दा त टुरोस र सीदोनको अवस्था धेरै राम्रो हुनेछ। 23 ए कफर्नहुमका बासिन्दाहरू हो, के तिमीहरू स्वर्गमा उचालिनेछौ र? तिमीहरू त तल मृतकको ठाउँमा खसालिनेछौ। यदि मैले तिमीहरूको निम्ति गरेका आश्चर्यकर्महरू सदोममा गरेको भए, त्यो अहिलेसम्म यहाँ हुनेथियो। 24 साँच्चै, म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा तिमीहरूको भन्दा सदोमको अवस्था धेरै राम्रो हुनेछ ।’’ 25 तब येशूले यसो भन्दै प्रार्थना गर्नुभयो, ‘‘स्वर्ग र पृथ्वीका परमप्रभु, हे पिता, आफैलाई बुद्धिमान् र चलाख ठान्नेहरूबाट सत्य लुकाएर बालकहरूलाई त्यो प्रकट गरिदिनुभएको निम्ति तपाईंलाई धन्यवाद छ। 26 हो, पिता, तपाईंले यसै गर्न उचित ठान्नुभयो। 27 मेरा पिताले मलाई सबै थोकमाथि अधिकार दिनुभएको छ। पिताबाहेक अरु कसैले पुत्रलाई राम्ररी चिन्दैन। 28 हे, सबै चिन्ता र गह्रौं बोझले लादिएका हो, मकहाँ आओ र म तिमीहरूलाई विश्राम दिनेछु। 29 मेरो जुवा बोक, म तिमीहरूलाई सिकाउनेछु, किनभने म नम्र र विनयी हृदयको छु, तिमीहरूले आफ्नो मनमा विश्राम पाउनेछौ। 30 मेरो जुवा सजिलो छ र मैले तिमीहरूलाई दिने भारी पनि हलुको छ।’’ 121 त्यसबेला येशू विश्राम-दिनमा गहुँको खेत बीचबाट हिँड्दै हुनुहुन्थ्यो। उहाँका चेलाहरू भोकाएका थिए, त्यसकारण तिनीहरूले गहुँका बाला चुँडेर माड्दै खान थाले।2 तिनीहरूले यसरी खाएको केही फरिसीहरूले देखे र त्यसको विरोध गर्दै भने, ‘‘तपाईंका चेलाहरूले त्यसो गर्नु हुँदैनथ्यो। विश्राम-दिनमा यसरी बाली चुँडेर खानु मोशाको व्यवस्था विपरीत हुन्छ।’’ 3 तर येशूले उनीहरूलाई भन्नुभयो, ‘‘राजा दाऊद र उनका साथीहरू भोकाउँदा उनीहरूले के गरेका थिए? के तिमीहरूले धर्मशास्त्रमा पढेका छैनौ? 4 उनी कसरी परमेश्वरको मन्दिरमा गए र पूजाहारीहरूको निम्ति मात्रै भनेर छुट्टयाइएको रोटी उनीहरूले खाए। त्यो पनि त व्यवस्था विपरीत काम थियो नि। 5 मन्दिरमा खटिएको पूजाहारीले विश्राम-दिनमा पनि काम गर्नुपर्छ भन्ने कुरा के तिमीहरूले मोशाको व्यवस्थामा कहिले पढेका छैनौ ? 6 म तिमीहरूलाई भन्दछु, यहाँ एक जना छन्, जो मन्दिरभन्दा पनि महान् छन्। 7 तर ‘म तिमीहरूको बलिदान होइन, करुणा चाहन्छु’ भन्ने धर्मशास्त्रको वचनको अर्थ बुझेका भए तिमीहरूले निर्दोष व्यक्तिलाई दोष्याउने थिएनौ, 8 किनभने म, मानिसको पुत्र, विश्राम-दिनको पनि प्रभु हुँ।’’ 9 त्यसपछि उहाँ सभाघरमा जानुभयो, 10 जहाँ उहाँले हात सुकेको एउटा मानिस छ भन्ने कुरा थाहा पाउनुभयो। फरिसीहरूले येशूलाई सोधे, ‘‘के विश्राम-दिनमा निको पार्नु उचित हो?’’ (उहाँमाथि दोष लगाउने अभिप्रायले तिनीहरूले यो प्रश्न गरेका थिए।) 11 उहाँले जवाफ दिनुभयो, ‘‘यदि तिमीहरूसँग एउटै मात्र भेडा भए र विश्रामकै दिनमा त्यो खाल्डोमा परेको भए के तिमी त्यसलाई निकाल्ने थिएनौ र? 12 एउटा भेडाभन्दा मानिस कति बढ्ता मूल्यको हुन्छ ! त्यसकारण विश्राम-दिनमा असल काम गर्नु उचित हुन्छ।’’ 13 त्यसपछि उहाँले हात सुकेको त्यस मानिसलाई भन्नुभयो,‘‘तिम्रो हात पसार।’’ उसले हात पसार्यो र त्यो अर्कोजस्तै ठीक भइहाल्यो। 14 तब फरिसीहरूले एउटा बैठक बोलाए र येशूलाई मार्ने योजनाबारे छलफल गरे। 15 तर येशूले, तिनीहरूले के योजना बनाउँदैछन् भन्ने कुरा चाल पाउनुभयो। उहाँले त्यो ठाउँ छोड्नुभयो र धेरै जनाले उहाँलाई पछयाए। उहाँले तिनीहरूमध्येका बिमारीहरूलाई निको पार्नुभयो, 16 तर उहाँले तिनीहरूलाई ‘उहाँ को हुनुहुन्छ’ भन्ने कुरा कसैलाई नभन्नू भनी सावधान गराउनुभयो। 17 यसरी यशैयाले उहाँको विषयमा गरेको अगमवाणी पूरा भयो : 18 ‘‘मैले चुनेको मेरो दासलाई हेर, उनी मेरा प्रिय हुन्, म उनीसित ज्यादै प्रसन्न छु। म मेरो आत्मा उनीमाथि राखिदिनेछु। उनले जाति-जातिहरूमाथि न्यायको घोषणा गर्नेछन्। 19 उनले झगडा गर्नेछैनन्, न त हल्ला गर्नेछन्, उनले सबैले सुन्नेगरी आफ्नो आवाज उठाउनेछैनन्। 20 उनले आफ्नो अन्तिम विजयको साथमा पूर्ण न्याय नल्याएसम्म कमजोरहरूलाई मिच्नेछैनन्, न त क्षीण आशा भएकालाई निभाउनेछन्। 21 उनको नाउँ संसारको आशा हुनेछ।’’ 22 एउटा भूत लागेको मानिसलाई येशूकहाँ ल्याइयो, त्यो अन्धो र लाटो थियो। उहाँले त्यसलाई निको पार्नुभयो, ऊ देख्न र बोल्नसक्ने भयो। 23 भीड त्यो देखेर छक्कै पर्यो,‘‘के येशू दाऊदको पुत्र, मसीह हुनुहुन्छ?’’ तिनीहरूले आश्चर्य प्रकट गरे। 24 तर त्यस आश्चर्यकर्मको बारेमा सुनेपछि फरिसीहरूले भने,‘‘उसले भूतहरू निकालेकोमा अचम्म मान्नु पर्दैन। उसले भूतहरूको मालिक शैतानबाट शक्ति पाउँछ।’’ 25 येशूले तिनीहरूको विचार बुझेर जवाफ दिनुभयो, ‘‘आपसमा लडाइँ गर्ने राज्य विनाश हुन्छ, आफैभित्र विभाजित शहर वा घर विनाश हुन्छ। 26 यदि शैतानले शैतानलाई नै धपाउँछ भने त ऊ आफ्नै विरोधमा खडा भएको हुन्छ र यस्तो भयो भने उसको राज्य टिक्नेछैन। 27 यदि मैले भूतहरूको मालिकबाट शक्ति पाएको छु भने तिमीहरूका अनुयायीहरूले कसबाट पाएका छन्? तिनीहरूले पनि त भूतात्माहरू निकाल्छन् ! यसकारण तिनीहरूले त्यसैद्वारा तिमीहरूको न्याय गर्नेछन्। 28 तर यदि म परमेश्वरको आत्माद्वारा भूतात्माहरूलाई निकाल्छु भने त परमेश्वरको राज्य तिमीहरूको बीचमा आएको छ। 29 म तिमीहरूलाई एउटा उदाहरण दिन्छु। तिमीहरूले एउटा बलियो मानिसलाई नबाँधी उसको घरमा पस्न र लुट्न सक्दैनौ। 30 मलाई सहायता नगर्नेले मेरो विरोध गर्छ र मसँग काम नगर्नेले साँच्ची नै मेरो कामको विरोध गरिरहेको हुन्छ। 31 प्रत्येक पाप वा ईश्वर-निन्दा क्षमा हुनसक्छ तर पवित्र आत्माको विरोधमा गरिएको ईश्वर-निन्दा कदापि क्षमा हुनेछैन। 32 म, मानिसको पुत्रको विरुद्धमा ईश्वर-निन्दा गर्नेलाई क्षमा हुनसक्छ तर पवित्र आत्माको ईश्वर-निन्दा गर्नेले न त यस युगमा न आउने युगमा नै क्षमा पाउनेछ। 33 रूखलाई त्यसको फलद्वारा चिनिन्छ। पहिले रूखलाई असल बनाओ र त्यसको फल असल हुनेछ। यदि तिम्रो रूख खराब भयो भने त्यसको फल पनि खराब हुनेछ। 34 ए सर्पका सन्तान हो ! तिमीहरूजस्तो, दुष्टले कसरी असल र ठीक बोल्नसक्छौ? किनभने तिम्रो हृदयमा जे कुरा हुन्छ, त्यसैले तिम्रो बोलीलाई निर्धारण गर्छ। 35 एउटा असल व्यक्तिले आफ्नो असल हृदयबाट असलै कुरा बोल्छ र खराब व्यक्तिले आफ्नो खराब हृदयबाट दुष्ट कुरा नै निकाल्छ । 36 म तिमीहरूलाई यो कुरा भन्दछु, तिमीहरूको मुखबाट निस्केका हरेक व्यर्थका शब्दहरूको लेखा न्यायको दिनमा तिमीहरूले दिनैपर्छ। 37 तिमीहरूले अहिले बोलेको वचनद्वारा त्यसबेला कि त तिमीहरू निर्दोष ठहरिनेछौ, कि त दोषी ठहरिनेछौ।’’ 38 एक दिन धार्मिक व्यवस्थाका केही शिक्षकहरू र फरिसीहरूले येशूकहाँ आएर भने, ‘‘गुरुज्यू, तपाईं परमेश्वरबाटै आउनुभएको हो भने हामीलाई एउटा चिन्ह देखाउनुहोस्।’’ 39 तर येशूले जवाफ दिनुभयो, ‘‘दुष्ट र व्यभिचारी पुस्ताले मात्र आश्चर्यका चिन्हहरूको खोजी गर्छ तर मैले यस पुस्तालाई दिने एउटै मात्र चिन्ह अगमवक्ता योनाको चिन्ह हो। 40 जसरी योना तीन दिन र तीन रात ठूलो माछाको पेटमा थिए, त्यसरी नै म, मानिसको पुत्र पनि तीन दिन र तीन रातसम्म पृथ्वीको गर्भमा बस्नेछु। 41 न्यायको दिनमा निनवेका मानिसहरू यस पुस्ताको विरुद्धमा खडा हुनेछन् र यसलाई धिक्कार्नेछन्, किनभने निनवेले त योनाको प्रचार सुनेर पश्चात्ताप गरेको थियो तर यहाँ योनाभन्दा पनि महान् एक जना छन् र तिमीहरूले उनको कुरा सुन्न इन्कार गर्यौ। 42 शेबाकी रानीले पनि न्यायको दिनमा खडा भएर यस पुस्तालाई धिक्कार्नेछिन्, किनभने तिनी सोलोमनको ज्ञानका कुरा सुन्नलाई टाढाबाट आइन् तर सोलोमनभन्दा महान् यहाँ एक जना छन् र तिमीहरूले उनको कुरा सुन्न इन्कार गर्यौ। 43 जब दुष्टात्माले कुनै मानिसलाई छोडेर जान्छ, तब त्यो उजाड-स्थानतिर भौंतारिन्छ, त्यसले अर्को ठाउँको खोजी गर्छ र भेट्टाएन भने 44 त्यसले यसो भन्छ, ‘म जुन व्यक्तिबाट निस्किआएको थिएँ, उसैकहाँ फर्किजानेछु।’ तब त्यो फर्किआउँदा उसको पहिलेको ठाउँ रित्तो, बढारिएको र सफा भेट्टाउँछ। 45 अनि त्यसले आफूभन्दा बढ्ता दुष्ट सातवटा आत्मालाई आफूसँग ल्याउँछ, ती सबैले त्यस मानिसमा पसेर बास गर्छन् र उसको अवस्था पहिलेकोभन्दा ज्यादै खराब हुन्छ। यस दुष्ट पुस्ताले पनि त्यस्तै अनुभव गर्नुपर्नेछ।’’ 46 येशूले भीडसँग कुरा गरिरहनुहुँदा उहाँकी आमा र भाइहरू उहाँसँग कुरा गर्न बाहिर पर्खिरहेका थिए। 47 कसैले उहाँलाई भन्यो, ‘‘तपाईंकी आमा र भाइहरू बाहिर पर्खिरहेका छन् र उनीहरू तपाईंसँग कुराकानी गर्न चाहन्छन्।’’ 48 येशूले सोध्नुभयो, ‘‘मेरी आमा को हुन्? मेरा भाइहरू को हुन्?’’ 49 तब उहाँले आफ्ना चेलाहरूलाई आैंल्याउँदै भन्नुभयो, ‘‘मेरी आमा र मेरा भाइहरू यिनीहरू नै हुन्। 50 मेरा स्वर्गका पिताको इच्छा पालन गर्ने जोसुकै मेरा भाइ, बहिनी र आमा हुन्।’’ 131 त्यही दिन येशू त्यस घरबाट निस्केर झीलको किनारतिर जानुभयो,2 जहाँ तुरुन्तै एउटा ठूलो भीड जम्मा भयो। उहाँ एउटा डुङ्गामा चढ्नुभयो र त्यसमा बसेर किनारमा उभिएर सुनिरहेका मानिसहरूलाई शिक्षा दिन थाल्नुभयो। 3 उहाँले धेरैवटा दृष्टान्तहरू भन्नुभयो, तीमध्ये एउटा यो हो : ‘‘एउटा किसान बीउ छर्नको निम्ति बाहिर निस्क्यो । 4 उसले बीउ छर्दा केही बीउ बाटोमा परे र चराचुरुङ्गीहरू आएर ती खाए। 5 अरु कति ढुङ्गेनी जमीनमा परे र ती चाँडै उम्रिए, 6 तर ढुङ्गेनी जमीन भएकोले तिनको जरा राम्ररी गाडिन पाएन र घामको रापमा परेर ती चाँडै ओइलिएर मरे। 7 अरु बीउ काँडाघारीमा परे र ती उम्रिए तापनि घारीले निसासिएर बढ्न पाएनन्। 8 तर केही बीउ मलिलो जमीनमा परे र छरिएको भन्दा तीस, साठी र सय गुणासम्म फल फलाए। 9 जसको सुन्ने इच्छा छ, त्यसले सुनोस् र बुझोस्।’’ 10 उहाँका चेलाहरू उहाँकहाँ आए र सोधे, ‘‘मानिसहरूसँग कुराकानी गर्दा तपाईं किन दृष्टान्तहरूमा बोल्नुहुन्छ?’’ 11 तब उहाँले तिनीहरूलाई अर्थ खोलिदिनुभयो, ‘‘तिमीहरूलाई स्वर्गको राज्यका रहस्यहरू जान्न दिइएको छ, तर अरुहरूलाई दिइएको छैन। 12 जसले मेरो शिक्षामा ध्यान दिन्छन्, तिनीहरूलाई अझै बढी समझ दिइनेछ र तिनीहरूसित प्रशस्त ज्ञान हुनेछ। तर जसले सुन्दैनन्, तिनीहरूसँग भएको ज्ञान पनि खोसिनेछ। 13 त्यसकारण म यी दृष्टान्तहरूमा बोल्दछु : ‘किनकि मेरा काम हेरेर पनि तिनीहरूले देख्दैनन्, सुनेर पनि सुन्दैनन्, न त बुझ्छन् नै।’ 14 यसरी यशैयाको यो भविष्यवाणी पूरा हुँदछ: ‘तिमीहरूले मेरो वचन सुन्नेछौ, तर बुझ्नेछैनौ, तिमीहरूले मेरा काम देख्नेछौ, तर बुझ्नेछैनौ, 15 किनभने यी मानिसहरूको हृदय कठोर भएका छन्, तिनीहरूले कान थुनेका छन् र आँखा बन्द गरेका छन् - त्यसकारण तिनीहरूका आँखाले देख्न सक्दैनन्, तिनीहरूका कानले सुन्न सक्दैनन् र तिनीहरूका हृदयले पनि बुझ्न सक्दैनन्, तिनीहरू मतिर फर्किन सक्दैनन्, नभए त म तिनीहरूलाई निको पार्ने थिएँ।’ 16 तर तिमीहरूका आँखा धन्यका हुन्, किनभने तिनीहरूले देख्छन् । तिमीहरूका कान धन्यका हुन्, किनभने तिनीहरूले सुन्छन्। 17 साँच्चै, म तिमीहरूलाई भन्दछु, पहिले धेरै जना अगमवक्ताहरू र पवित्रजनले आज तिमीहरूले देखेका र सुनेका कुरा देख्न र सुन्न खूबै चाहना गरेका थिए तर पाएनन्। 18 मैले बीउ छर्ने किसानको बारेमा भनेको दृष्टान्तको अर्थ सुन : 19 बाटोमा परेको बीउले तिनीहरूलाई जनाउँछ, जसले परमेश्वरको राज्यको बारेमा सुसमाचार सुने र त्यो बुझेनन्। तब दुष्ट आउँछ र तिनीहरूका हृदयबाट त्यो वचन खोसेर लैजान्छ । 20 ढुङ्गेनी जमीनले तिनीहरूलाई जनाउँछ, जसले वचन सुन्छन् र खुशीसाथ ग्रहण गर्छन्। 21 तर ढुङ्गेनी जमीनमा राम्ररी जरा गाडिन नपाएको कलिलो बिरुवाझैँ शुरुमा त ती ठीकै हुन्छन्, तर जब समस्या आइलाग्दछ अथवा तिनीहरूले वचनमा विश्वास गरेको कारण सतावटमा पर्छन् तब ती ओइलाउँछन्। 22 काँडाघारीले सुसमाचार सुनेर त्यसलाई स्वीकार गर्नेहरूलाई जनाउँछ तर तत्कालै तिनीहरूको आफ्नै जीवनका टन्टा र धनको लोभले त्यस वचनलाई निसासिदिन्छ र त्यसले फल फलाउन सक्दैन। 23 असल जमीनले परमेश्वरको वचन सुनेर साँचो रूपले स्वीकार गर्नेहरूका हृदयलाई जनाउँछ, तिनीहरूले प्रशस्त फसल उब्जनीगर्छन् - ती छरिएको भन्दा तीस, साठी र सय गुणासम्म फल फलाउँछन्।’’ 24 येशूले अर्को पनि दृष्टान्त भन्नुभयो: ‘‘स्वर्गको राज्य एउटा किसानजस्तो हो, जसले आफ्नो खेतमा गहुँ छर्यो। 25 तर त्यसै रात सबै सुतेको बेला, उसको शत्रु आएर गहुँ छरिएको जमीनमा सामा छरिदियो। 26 जब बाली बढ्न थाल्यो र बाला लाग्ने बेलामा सामा पनि देखा पर्यो। 27 किसानका नोकरहरू आएर उसलाई भने, ‘हजूर, तपाईंले राम्रो गहुँको बीउ छर्नुभएको खेतमा त सामा पनि उम्रिएको रहेछ।’ 28 किसानले छक्क पर्दै भन्यो, ‘कुनै शत्रुले यो गरेको हो !’ नोकरहरूले सोधे, ‘गोडेर सामाजति उखेलौं कि?’ 29 उसले जवाफ दियो, ‘अहिले होइन, अहिले नै तिमीहरूले सामा उखेल्दा गहुँ पनि उखेलिएला । 30 बरु दुवैलाई फसलको समयसम्म सँगसँगै बढ्न देओ। तब म खेतालालाई अह्राएर सामाजति उखेलेर जलाउन लगाउँछु र गहुँजति भेला गरेर भकारीमा थुपार्न लगाउँछु’।’’ 31 येशूले भन्नुभएको अर्को दृष्टान्त यो हो, ‘‘स्वर्गको राज्य बारीमा छरिएको रायोको बीउजस्तै हो। 32 यो बीउमध्ये सबैभन्दा सानो हुन्छ, तर बारीमा रोपिएका अरु सागपातका बोटबिरुवाभन्दा यो ठूलो भएर झाँगिन्छ र चराहरू आएर यसका हाँगाहरूमा बस्न सक्छन्।’’ 33 उहाँले तिनीहरूलाई अर्को पनि दृष्टान्त भन्नुभयो,‘‘स्वर्गको राज्य रोटी बनाउने पीठोमा मिसाइने खमीरजस्तै हो। रोटी बनाउने स्त्रीले धेरै पीठोमा थोरै खमीर मिसाएर राम्ररी नघोलिएसम्म गुम्स्याएर राख्दछे।’’ 34 येशू भीडहरूको सामुन्ने बोल्नुपर्दा सधैँ यस्तै दृष्टान्तहरूमा बोल्नुभयो। दृष्टान्त प्रयोग नगरी उहाँले भीडलाई शिक्षा दिनुभएन। 35 यसबाट अगमवक्ताहरूले भनेको कुरा पूरा हुनआयो:‘‘म आफ्नो मुख दृष्टान्तहरूमा खोल्दछु, लुकाएका गुप्त रहस्यहरूको व्याख्या म गर्नेछु, जुन कुरा संसारको उत्पत्तिदेखि नै गुप्तमा थिए।’’ 36 त्यसपछि भीडलाई बाहिर छोडेर उहाँ घरभित्र पस्नुभयो। उहाँका चेलाहरूले उहाँलाई अनुरोध गर्दै भने, ‘‘कृपया, सामाको दृष्टान्तको अर्थ के हो हामीलाई बताइदिनुहोस् ।’’ 37 उहाँले भन्नुभयो,‘‘ठीक छ, सुन, म, मानिसको पुत्र, असल बीउ छर्ने किसान हुँ। 38 खेत संसार हो र असल बीउ भनेका राज्यका मानिसहरू हुन्, सामा दुष्टतर्फका मानिसहरू हुन्। 39 गहुँ छरिएको खेतमा सामा छर्ने शत्रु शैतान हो। फसलको समय भनेको युगको अन्त्य हो र खेतालाचाहिँ स्वर्गदूतहरू हुन्। 40 जसरी सामालाई बटुलेर आगोमा जलाइन्छ, त्यस्तै यो संसारको अन्त्यमा हुनेछ। 41 म, मानिसको पुत्रले मेरा दूतहरूलाई पठाउनेछु र तिनीहरूले मेरो राज्यबाट पाप उत्पन्न गराउने सबै कुरा र दुष्ट काम गर्नेहरू सबैलाई हटाउनेछन्। 42 तिनीहरूले उनीहरूलाई कहिल्यै ननिभ्ने आगोको भट्टीमा फालिदिनेछन्। त्यहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ। 43 तब धर्मीजन मेरा पिताको राज्यमा सूर्यझैँ चम्किनेछन्। जसको सुन्ने इच्छा छ, त्यसले सुनोस् र बुझोस्। 44 स्वर्गको राज्य एउटा यस्तो गाडधनजस्तो हो, जुन एक जना मानिसले खेतमा लुकाइराखेको भेट्टायो र त्यो गोप्य राख्यो अनि हर्षले विभोर भई आफ्नो श्रीसम्पत्ति बेच्यो र त्यो खेत किन्यो। 45 फेरि, स्वर्गको राज्य बहुमूल्य मोती खोजी हिँड्ने व्यापारीजस्तो हो। 46 जब उसले बहुमूल्य मोती भेट्टायो, तब गएर आफ्नो श्रीसम्पत्ति बेचेर त्यो किन्यो। 47 त्यसैगरी, स्वर्गको राज्य समुद्रमा हालिएको माछा मार्ने ठूलो जालजस्तो हो, जसले विभिन्न प्रकारका माछाहरू पक्रन्छ। 48 जब जाल भरिन्छ, मछुवाहरूले त्यसलाई तानेर पाखामा ल्याउँछन्। ती सबै जना भेला हुन्छन् र बसीकन राम्रा राम्रा माछाहरू छानेर टोकरीमा राख्छन् र नराम्रा माछाहरूलाई मिल्काइदिन्छन्। 49 संसारको अन्त्यमा पनि यसरी नै हुनआउनेछ। स्वर्गदूतहरू आउनेछन् र धर्मी मानिसहरूको बीचबाट दुष्टहरूलाई अलग गर्नेछन्, 50 अनि दुष्टजति सबैलाई आगोमा मिल्काइदिनेछन् । त्यहाँ सधैँभरि रुवाबासी र दाह्रा किटाइ हुनेछ।’’ 51 येशूले सोध्नुभयो, ‘‘के तिमीहरूले बुझ्यौ?’’ तिनीहरूले भने,‘‘ज्यू प्रभु, बुझ्यौं।’’ 52 त्यसपछि उहाँले भन्नुभयो, ‘‘यसकारण स्वर्गका राज्यको बारेमा सिकाइएका प्रत्येक व्यवस्थाका शिक्षक, एउटा घरको मालिकजस्तो हो, जसले आफ्नो ढुकुटीबाट नयाँ र पुराना, दुवै बहुमूल्य कुरा झिक्तछ।’’ 53 येशूले यी दृष्टान्तहरू भनिसक्नुभएपछि, उहाँ त्यस ठाउँबाट हिँड्नुभयो। 54 उहाँ आफ्नै गाउँ नासरत फर्किनुभयो। उहाँले त्यहाँको सभाघरमा सिकाउनुहुँदा सबै जना छक्क परे र भने,‘‘यिनले यति धेरै बुद्धि र शक्ति कहाँबाट पाए? 55 यिनी त सिकर्मीका छोरो हुन्। हामी यिनकी आमा मरियम, यिनका भाइहरू, याकूब, योसेस, सिमोन र यहूदालाई पनि चिन्छौं। 56 यिनका सबै बहिनीहरू पनि हामीसँगै त छन्। यिनलाई कुन कुराले यति धेरै महान् बनायो?’’ 57 तिनीहरू उहाँसँग चिढिए। तर येशूले तिनीहरूलाई भन्नुभयो, ‘‘अगमवक्तालाई उसको आफ्नै गाउँ वा आफ्नै परिवारमा बाहेक सबैतिर आदर गरिन्छ।’’ 58 त्यसैले, तिनीहरूको अविश्वासको कारण उहाँले त्यहाँ धेरै आश्चर्यकर्महरू गर्नुभएन। 141 हेरोद एन्टिपासले जब येशूको विषयमा सुने,2 उनले आफ्ना सल्लाहकारहरूसँग भने,‘‘यो त बप्तिस्मा दिने यूहन्ना मृतकबाट जीवित भएको हुनुपर्छ । त्यसैले त उसले यति अचम्मका कामहरू गर्नसक्छ।’’ 3 किनभने यूहन्ना पक्राउ परेका थिए, हेरोदले, हेरोदियास(हेरोदको भाइ फिलिपकी पत्नी)को आग्रहअनुसार यूहन्नालाई झ्यालखानमा हालेका थिए। 4 यूहन्नाले हेरोदलाई यसो भन्ने गर्थे, ‘‘तपाईंले उनलाई पत्नीको रूपमा राख्नु उचित हुँदैन।’’ 5 हेरोदले उसैबेला यूहन्नालाई मृत्युदण्ड दिनसक्थे तर तिनी अगमवक्ता हुन् भनी सबैले विश्वास गरेका हुनाले उनलाई हूलदङ्गा होला भन्ने डर भयो। 6 तर हेरोदको जन्मदिनको भोजमा उनलाई हेरोदियासकी छोरीले नाचेर ज्यादै खुशी बनाई। 7 त्यसकारण तिनलाई ‘जेसुकै मागे पनि दिनेछु’ भनी उनले शपथ खाए। 8 आफ्नी आमाको सल्लाहअनुसार तिनले हेरोदलाई भनिन्,‘‘मलाई यूहन्नाको टाउको थालमा राखेर दिनुहोस् ।’’ 9 राजा निकै दु:खित भए तर उनले अघि नै शपथ हालेको हुनाले आफू पाहुनाहरूको अगाडि लज्जित हुन चाहेनन् र उनले त्यसो गर्ने आज्ञा दिए। 10 त्यसैले झ्यालखानमा यूहन्नाको टाउको काटियो, 11 तिनको टाउको एउटा थालमा राखेर ल्याइयो र त्यस केटीलाई दिइयो। त्यसले त्यो आफ्नी आमालाई दिई। 12 यूहन्नाका चेलाहरू आएर तिनको शरीर चिहानमा गाडे अनि येशूकहाँ गएर तिनीहरूले त्यहाँ भएका सबै कुरा सुनाए। 13 त्यो खबर सुनेर येशू एकलै एकान्ततिर जानलाई डुङ्गामा चढ्नुभयो। तर उहाँ कता जाँदै हुनुहुन्छ भन्ने कुरा थाहा पाएर गाउँ-गाउँदेखि आएका मानिसहरूको ठूलो भीडले पैदलै उहाँलाई पछयाए। 14 डुङ्गाबाट निस्केर बाहिर आउँदा उहाँले त्यहाँ ठूलो भीड जम्मा भएको देख्नुभयो, उहाँले ती मानिसहरूलाई टिठाउनुभयो र रोगी-बिमारीहरूलाई निको पार्नुभयो। 15 त्यही साँझ उहाँका चेलाहरूले नजिक आएर उहाँलाई भने,‘‘हामी निर्जन ठाउँमा छौं र रात पर्नलागेको छ। यी मानिसहरूलाई यहाँबाट पठाइदिनुहोस् र उनीहरूले गाउँतिर गएर खानेकुरा किनेर खाऊन्।’’ 16 तर येशूले जवाफ दिएर भन्नुभयो, ‘‘त्यसो गर्नु हुँदैन, बरु तिमीहरूले नै खानेकुराको बन्दोबस्त गर।’’ 17 तिनीहरूले भने,‘‘असम्भव ! हामीसँग त पाँचवटा रोटी र दुईटा माछाबाहेक अरु केही पनि छैन।’’ 18 उहाँले ती माछा र रोटी माग्दै भन्नुभयो, ‘‘ती यहाँ ल्याओ।’’ 19 अनि उहाँले ती सबै मानिसहरूलाई चउरमा मिलेर बस्न लगाउनुभयो । तब उहाँले पाँच रोटी र दुई माछा हातमा लिएर स्वर्गतिर हेर्नुभयो र त्यस खानेकुरामा परमेश्वरको आशिष् माग्नुभयो। उहाँले ती रोटी र माछाहरू भाँच्नुभयो र चेलाहरूलाई दिँदै सबैलाई बाँड्न लगाउनुभयो। 20 तिनीहरू सबैले अघाउन्जेल खाए। तिनीहरूले खाएर उब्रिएका टुक्राटाक्रीहरू बाह्र डाला बटुले। 21 यसरी पाँच हजारजति पुरुषहरू लगायत स्त्री र केटाकेटीहरूले पनि अघाउन्जेल खाएका थिए। 22 त्यसपछि येशूले ती मानिसहरूलाई बिदा गर्दै, उहाँले चेलाहरूलाई लगत्तै डुङ्गामा चढेर पारिपट्टि जान अह्राउनुभयो। 23 त्यसपछि उहाँ एकलै प्रार्थना गर्न डाँडातिर उक्लनुभयो। साँझ पर्दासम्म उहाँ त्यस ठाउँमा एकलै हुनुहुन्थ्यो। 24 त्यसैबेला जोडले बतास चलिरहेको हुनाले चेलाहरू आपतमा परेका थिए, पानीका छालले विपरीत दिशाबाट डुङ्गालाई हुत्त्याइरहेको हुनाले तिनीहरू डरले थुरथुर भएका थिए। 25 बिहानको तीन बजेको हुँदो हो, येशू पानीमाथि हिँड्दै तिनीहरू भएतिर जानुभयो। 26 जब चेलाहरूले उहाँलाई देखे, तब भूत हो कि भनी ठानेर तिनीहरू डरले चिच्च्याए। 27 त्यसैबेला उहाँ तिनीहरूसित बोल्नुभयो, ‘‘साहस गर, नडराओ, म नै हुँ ।’’ 28 तब पत्रुसले उहाँलाई भने,‘‘प्रभु, यदि तपाईं हुनुहुन्छ भने मलाई पनि पानीमाथि हिँडेर तपाईंकहाँ आउने आज्ञा दिनुहोस्। ’’ 29 उहाँले भन्नुभयो, ‘‘हुन्छ, आऊ।’’ तब पत्रुस डुङ्गाबाट उत्रिएर पानीमाथि हिँड्दै येशू भएतिर गए। 30 तर जब पत्रुसका आँखा उर्लिंदै गरेको पानीका छालमा परे, तब उनी डराए र डुब्न लागे । उनी चिच्च्याए र भने, ‘‘प्रभु, मलाई बचाउनुहोस्।’’ 31 येशूले तुरुन्तै हात पसारेर उनलाई समात्नुभयो र भन्नुभयो, ‘‘ए अल्पविश्वासी, तिमीले किन शंका गर्यौ?’’ 32 अनि उहाँहरू डुङ्गामा चढेपछि बतास थामियो र छाल शान्त भइहाल्यो। 33 तब चेलाहरूले उहाँलाई दण्डवत् गर्दै भने, ‘‘साँच्चै, तपाईं परमेश्वरको पुत्र हुनुहुन्छ।’’ 34 उहाँहरू झील पार गरेपछि गनेसरेततिर लाग्नुभयो। 35 उहाँहरू त्यहाँ आउनुभएको छ भन्ने कुरा त्यस क्षेत्रभरि फैलिहाल्यो र तत्कालै मानिसहरूले रोगी-बिमारीहरूलाई उहाँकहाँ ल्याए। 36 अनि रोगी-बिमारीहरूले उहाँको वस्त्रको फेरो मात्र छुन दिनुहोस् भनी उहाँलाई विन्ती गरे र उहाँलाई छुनेजति सबै निको भए। 151 तब केही फरिसी र धार्मिक व्यवस्थाका शिक्षकहरू यरूशलेमबाट आएर येशूसँग यसरी सोधे,2 ‘‘तपाईंका चेलाहरू हाम्रो पुर्खाहरूको परम्परा किन पालन गर्दैनन्? खाना खानुभन्दा पहिले हात धुने हाम्रो चलनको समेत उनीहरू किन बेवास्ता गर्छन्?’’ 3 येशूले जवाफ दिनुभयो, ‘‘अनि तिमीहरू नि ? आफ्नो परम्पराहरूको खातिर परमेश्वरका आज्ञाहरू किन उल्लङ्घन गर्छौ? 4 किनभने परमेश्वरले भन्नुभयो, ‘आफ्ना आमा-बुबाको आदर गर, आफ्ना आमा-बुबाको अनादर गर्ने कोही पनि मारियोस्।’ 5 तर तिमीहरू भन्छौ,‘जसले आफ्ना आमा-बुबालाई दिनुपर्ने कुरा परमेश्वरलाई चढाउँछ, उसले तिनीहरूको आदर गरिरहनुपर्दैन।’ 6 यसरी तिमीहरूका आफ्नै परम्पराद्वारा तिमीहरूले परमेश्वरको स्पष्ट आज्ञालाई बेकम्मा तुल्याएका छौ। 7 पाखण्डीहरू हो, यशैयाले तिमीहरूकै विषयमा यसो भन्दै अगमवाणी गरेका थिए : 8 ‘यी मानिसहरूले मुखले मात्रै मेरो आदर गर्छन्, तर तिनीहरूका हृदय मबाट धेरै टाढा छ। 9 तिनीहरूको आराधना व्यर्थ छ, किनकि तिनीहरूले परमेश्वरको आज्ञाको सट्टामा मानिसले बनाएको रीति-विधिहरू स्थापना गरे’।’’ 10 तब येशूले भीडतिर फर्किएर भन्नुभयो, ‘‘म के भन्दैछु, त्यो सुन र बुझ्ने कोशिश गर। 11 तिमीहरू जे खान्छौ, त्यसले तिमीहरूलाई अशुद्ध पार्दैन, बरु तिमीहरू जे बोल्छौ वा गर्छौ, त्यसले तिमीहरूलाई अशुद्ध पार्छ।’’ 12 तब चेलाहरू उहाँकहाँ आए र सोधे,‘‘तपाईंले अहिले भन्नुभएको कुरा सुनेर फरिसीहरू चिढिएका बारेमा के तपाईंले थाहा पाउनुभयो?’’ 13 येशूले जवाफ दिनुभयो,‘‘मेरा स्वर्गका पिताले नरोप्नुभएको हरेक बिरुवा उखेलिएको हुनेछ । 14 तिनीहरूलाई छोडिदेओ, ती अन्धाहरूलाई डोर्याउने अन्धाहरू हुन्, यदि अन्धालाई अन्धाले नै डोर्याउँछ भने ती दुवै खाल्डामा पर्नेछन्।’’ 15 पत्रुसले उहाँलाई भने,‘‘मानिसहरूले जे खान्छन्, त्यसले अशुद्ध तुल्याउँदैन भन्नुभएको दृष्टान्तको अर्थ बताइदिनुहोस्।’’ 16 येशूले उनलाई सोध्नुभयो,‘‘के तिमी बुझ्दैनौ? 17 तिमीले जे खान्छौ त्यो तिम्रो पेटमा पस्दछ र शरीरबाट बाहिरिन्छ। 18 दुष्ट हृदयबाट दुष्ट कुरा बोल्ने मानिसले आफूलाई नै अशुद्ध पार्छ, 19 किनकि दुष्ट हृदयबाट नै सबै किसिमका खराब विचार, हत्या, व्यभिचार, यौन-अनैतिकता, चोरी, झूट, निन्दा आदि निस्केर आउँछन्। 20 यस्तै कुराहरूले मानिसलाई अशुद्ध बनाउँछ, हात नधोई खाँदा मानिस अशुद्ध हुने होइन, न त यसले परमेश्वरको सामु अस्वीकार्य बनाउँछ।’’ 21 त्यसपछि येशू गालील छोडेर टुरोस र सीदोनको उत्तरी इलाकामा जानुभयो। 22 त्यहाँकी एउटी कनानी स्त्री उहाँलाई भेट्न आइन् र विन्ती गरिन्,‘‘हे प्रभु, दाऊदका पुत्र, ममाथि कृपा गर्नुहोस्। मेरी छोरीलाई भूतले साह्रै सताएको छ।’’ 23 तर येशूले तिनको विन्तीलाई वास्तै गर्नुभएन, उहाँले केही जवाफ दिनुभएन। उहाँका चेलाहरू आएर उहाँलाई आग्रह गर्दै भने, ‘‘त्यसलाई जाऊ भनिदिनुहोस्। त्यसले कराएर हामीलाई दिक्क पारिरहेकी छे।’’ 24 तब उहाँले तिनलाई भन्नुभयो, ‘‘म परमेश्वरका हराएका भेडा, इस्राएलका मानिसहरूलाई सहायता गर्न पठाइएको हुँ।’’ 25 तर तिनले, उहाँकहाँ आएर उहाँलाई दण्डवत् गर्दै विन्ती गरिन्, ‘‘प्रभु, मलाई सहायता गर्नुहोस् !’’ 26 उहाँले भन्नुभयो, ‘‘छोराछोरीहरूको खानेकुरा लिएर कुकुरहरूलाई दिनु ठीक हुँदैन।’’ 27 तिनले जवाफ दिइन्, ‘‘हो, प्रभु, तर कुकुरहरूलाई पनि त मालिकको टेबुलबाट खसेका टुक्राटाक्री खान दिइन्छ नि।’’ 28 येशूले भन्नुभयो,‘‘ए नारी, तिम्रो विश्वास ठूलो रहेछ। तिम्रो माग पूरा भएको छ।’’ अनि त्यति नै बेला तिनकी छोरी निको भइहालिन्। 29 येशू गालीलतिरै फर्केर आउनुभयो। उहाँ एउटा डाँडामा उक्लेर त्यहाँ बस्नुभयो। 30 तब एउटा ठूलो भीडले उहाँको अगाडि लुला, लङ्गडा, अन्धा, गुँगा र अनेक किसिमका शारीरिक रोग भएकाहरूलाई ल्याएर राखिदिए। ती सबैलाई उहाँले निको पार्नुभयो। 31 त्यो देखेर सम्पूर्ण भीड नै आश्चर्यचकित भयो। बोल्न नसक्नेहरू बोल्नलागे, लङ्गडाहरू स्वस्थ भएर हिँड्नथाले, कुँजिएकाहरू निको भए, अन्धाहरू फेरि देख्नसक्ने भए र ती सबैले इस्राएलका परमेश्वरको प्रशंसा गरे। 32 तब येशूले आफ्ना चेलाहरूलाई बोलाएर भन्नुभयो,‘‘यी मानिसहरूलाई देखेर मलाई दया लागेको छ। तीन दिन अघिदेखि यिनीहरू यहाँ मसँगै छन्, र यिनीहरूसँग केही पनि खानेकुरा छैन। म यिनीहरूलाई भोकै पठाउन चाहन्नँ, नभए त यिनीहरू बाटोमै मूर्च्छा पर्नेछन्।’’ 33 चेलाहरूले जवाफ दिए,‘‘यस उजाड-स्थानमा यत्तिका मानिसहरूलाई पुग्ने खानेकुरा कहाँ पाउने?’’ 34 येशूले तिनीहरूलाई सोध्नुभयो, ‘‘तिमीहरूसँग कति वटा रोटी छन्?’’ तिनीहरूले भने, ‘‘सातवटा र थोरै माछाहरू।’’ 35 तब येशूले ती सबै मानिसहरूलाई भुइँमा बस्न लगाउनुभयो। 36 उहाँले ती सातवटा रोटी र माछा हातमा लिनुभयो, परमेश्वरलाई धन्यवाद चढाउनुभएपछि भाँच्नुभयो र सबै जनालाई बाँड्नको निम्ति चेलाहरूलाई दिनुभयो, जसले ती बाँडे। 37 तिनीहरू सबैले अघाउन्जेल खाए र चेलाहरूले उब्रेका टुक्राटाक्री बटुल्दा सातवटा ठूल्ठूला डाला भरिए। 38 यसरी खानेहरूमा स्त्री र केटाकेटीहरूको सङ्ख्याबाहेक जम्मा चार हजारजति पुरुषहरू मात्र थिए। 39 त्यसपछि येशूले ती मानिसहरूलाई आ-आफ्नो घर पठाउनुभयो र आफू डुङ्गामा चढेर मगादानको इलाकातिर जानुभयो। 161 एक दिन फरिसी र सदुकीहरू येशूका दाबीहरूलाई जाँच्न स्वर्गबाटका चिन्ह देखाउनुहोस् भनी माग गर्दै आए।2 उहाँले जवाफ दिनुभयो, ‘‘तिमीहरूलाई यो भनाइ थाहा छ,‘आज राती आकाश रातो देखिए, भोलि मौसम राम्रो हुन्छ। 3 बिहानै आकाश रातो देखिए दिनभरि धुम्मिन्छ।’ आकाश हेरेर दिन कस्तो हुन्छ, तिमीहरू भन्नसक्छौ तर तिमीहरूका अगाडि प्रस्टै देखाइएको समयको चिन्ह तिमीहरू बुझ्दैनौ। 4 दुष्ट विश्वासहीन पुस्ताले मात्रै चिन्हको माग गर्दछ। तर तिनीहरूलाई अगमवक्ता योनाको चिन्हबाहेक अरु चिन्ह दिइनेछैन।’’ अनि येशूले तिनीहरूलाई छोडेर जानुभयो। 5 झीलको पारिपट्टि पुगेपछि आफूहरूले खानेकुरा बोक्न बिर्सिएको कुरा चेलाहरूले थाहा पाए। 6 येशूले तिनीहरूलाई चेताउनी दिँदै भन्नुभयो,‘‘ सावधान ! फरिसी र सदुकीहरूको खमीरदेखि होशियार बस ।’’ 7 तिनीहरूले रोटी नल्याएका कारणले येशूले त्यसो भन्नुभएको हो भनी चेलाहरूले ठाने। 8 तिनीहरूले के सोचिरहेका छन् भन्ने कुरा येशूले थाहा पाउनुभयो। तब उहाँले भन्नुभयो, ‘‘तिमीहरूको विश्वास खोई ? खानेकुरा नभएकोमा तिमीहरू किन यति चिन्ता गर्छौ? 9 के तिमीहरू कहिल्यै बुझ्दैनौ? त्यसबेला मैले पाँचवटा रोटीद्वारा पाँच हजारलाई खुवाएर कति डालो उब्रिएको थियो, के तिमीहरूलाई याद छैन? 10 के तिमीहरूलाई सम्झना छैन? मैले सातवटा रोटीबाट चार हजारलाई खुवाएर पनि कति डाला उब्रिएका थिए? 11 मैले खानेकुराको विषयमा कुरा गरिरहेको थिएँ भनी तिमीहरू कसरी सोच्न सक्छौ? त्यसकारण म फेरि तिमीहरूलाई भन्दछु, फरिसी र शास्त्रीहरूको खमीरदेखि होशियार बस ।’’ 12 आखिरमा उहाँले खमीर हालेको रोटीको होइन तर फरिसी र सदुकीहरूका शिक्षाको विषयमा कुरा गरिरहनुभएको रहेछ भनेर तिनीहरूले बुझे। 13 जब येशू फिलिप्पीको कैसरिया क्षेत्रमा आउनुभयो, उहाँले चेलाहरूलाई सोध्नुभयो, ‘‘मानिसहरूले मानिसको पुत्रलाई को हो भनी भन्दछन् ?’’ 14 चेलाहरूले भने,‘‘हजूर, तपाईंलाई कतिले बप्तिस्मा दिने यूहन्ना, कतिले एलिया र अरुले यर्मिया वा अगमवक्ताहरूमध्ये कुनै एक भन्दछन्।’’ 15 त्यसपछि उहाँले तिनीहरूलाई सोध्नुभयो, ‘‘तिमीहरू मलाई को हो भनी भन्छौ?’’ 16 सिमोन पत्रुसले जवाफ दिए, ‘‘तपाईं जीवित परमेश्वरका पुत्र मसीह हुनुहुन्छ।’’ 17 येशूले जवाफ दिनुभयो, ‘‘योनाको छोरो सिमोन, तिमी धन्यका हौ, किनभने स्वर्गमा हुनुहुने मेरा पिताले तिमीलाई यो प्रकट गर्नुभयो। तिमीले यो कुरा मानिसबाट सिकेनौ। 18 म भन्दछु, तिमी पत्रुस हौ, यस चट्टानमाथि म मेरो मण्डली स्थापना गर्नेछु र नरकका कुनै पनि शक्तिहरू त्यसमाथि विजयी हुनेछैनन्। 19 म तिमीलाई स्वर्गको राज्यका साँचोहरू दिनेछु । यस पृथ्वीमा तिमी जे बन्द गर्दछौ, त्यो स्वर्गमा पनि बन्द हुनेछ, अनि तिमीले यहाँ जे खोल्छौ, त्यो स्वर्गमा पनि खोलिनेछ।’’ 20 त्यति भनिसक्नुभएपछि उहाँले, उहाँ ‘मसीह हुनुहुन्छ’ भन्ने कुरा कसैलाई नभन्नू भन्ने कडा चेताउनी चेलाहरूलाई दिनुभयो। 21 त्यसैबेला देखि येशूले चेलाहरूलाई उहाँ यरूशलेम जानुपर्छ र त्यहाँका अगुवाहरू, पूजाहारीहरू र धार्मिक व्यवस्थाका शिक्षकहरूको हातबाट धेरै कष्ट भोग्नुपर्नेछ, उहाँ मारिनुहुनेछ र तेस्रो दिनमा मृत्युबाट पुनर्जीवित हुनुहुनेछ भन्ने कुरा बताउनुभयो। 22 तर पत्रुसले उहाँलाई अलग्गै लगे र त्यस्तो हुनसक्दैन भनी हप्काए। उनले भने, ‘‘प्रभु, स्वर्गले त्यो मनाही गरोस्, तपाईंमाथि त्यस्तो कदापि हुनेछैन।’’ 23 येशू पत्रुसतिर फर्किनुभयो र हप्काउँदै भन्नुभयो, ‘‘शैतान, तँ मेरो सामुन्नेबाट हटिजा ! तँ मेरोनिम्ति खतरनाक पासो होस्। तैँले त परमेश्वरको दृष्टिद्वारा होइन, मानवीय दृष्टिद्वारा मात्रै हेरिरहेको छस्।’’ 24 त्यसपछि येशूले चेलाहरूलाई भन्नुभयो,‘‘यदि तिमीहरूमध्ये कोही मेरोपछि लाग्न चाहन्छ भने उसले आफ्नो सबै स्वार्थी इच्छाहरू त्यागोस् र आफ्नो क्रूस उठाएर मेरो अनुसरण गरोस्। 25 यदि तिमीले आफ्नैनिम्ति जीवन बचाउने कोशिश गर्यौ भने त्यो गुमाउनेछौ। तर यदि तिमीले आफ्नो जीवन मेरोनिम्ति त्याग्यौ भने साँचो जीवन पाउनेछौ। 26 तिमीले सारा संसारै हात पार्यौ तर आफ्नै प्राण गुमायौ भने तिमीलाई के फाइदा भयो? के तिम्रो प्राणभन्दा मूल्यवान् केही कुरा छ? 27 किनभने म, मानिसको पुत्र पिताको महिमामा उहाँका दूतहरूको साथमा आउनेछु र मानिसहरूले गरेका कामअनुसार म तिनीहरूको न्याय गर्नेछु। 28 साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूमध्ये कोही-कोहीले मानिसको पुत्रलाई आफ्नो राज्यमा आउनुभएको नदेखेसम्म मृत्युको स्वादचाख्नेछैनौ।’’ 171 त्यसको छ दिनपछि येशूले पत्रुस, यूहन्ना र याकूबलाई अग्लो डाँडामा लिएर जानुभयो।2 उनीहरूले हेर्दाहेर्दै येशूको रूप परिवर्तन भयो, उहाँको मुहार घामजस्तै चम्किलो भयो र उहाँका वस्त्र पनि चहकिला सेता भए। 3 त्यसैबेला अचानक मोशा र एलिया देखा परे अनि उहाँसँग बातचित गर्नथाले। 4 पत्रुसले झट्टै भने, ‘‘प्रभु यो कस्तो अचम्म ! यदि तपाईं चाहनुहुन्छ भने म यहाँनेर तीनवटा तम्बु हाल्नेछु, एउटा तपाईंको लागि, एउटा मोशा र अर्को एलियाको लागि।’’ 5 तर उनले त्यसो भन्दै गर्दा चम्किलो बादल आयो र त्यसले उनीहरूलाई ढाक्यो । तब बादलभित्रबाट एउटा आवाज आयो, ‘‘यिनी मेरा प्यारो पुत्र हुन्, म यिनीसँग अति नै प्रसन्न छु। तिमीहरूले यिनको कुरा सुन्नू।’’ 6 त्यो सुनेर चेलाहरू भयभीत भए र सबै भुइँमा घोप्टो परे। 7 येशू उनीहरूको छेउमा आउनुभयो र उनीहरूलाई छोएर भन्नुभयो, ‘‘उठ, नडराओ।’’ 8 उनीहरूले हेर्दा त त्यहाँ येशू मात्रै उनीहरूसँग हुनुहुन्थ्यो। 9 डाँडाबाट ओर्लंदै गर्दा येशूले तिनीहरूलाई आज्ञा दिनुभयो, ‘‘म, मानिसको पुत्र मृत्युबाट पुनर्जीवित नभएसम्म तिमीहरूले देखेका यी कुरा कसैलाई नभन्नू।’’ 10 उहाँका चेलाहरूले सोधे,‘‘मसीहभन्दा पहिले एलिया आउनुपर्छ भनी धार्मिक व्यवस्थाका शिक्षकहरूले किन जोड दिन्छन्?’’ 11 येशूले जवाफ दिनुभयो,‘‘सबै थोक पहिल्यै ठीक पार्न एलिया साँच्चै आइरहेका छन्। 12 तर म तिमीहरूलाई भन्दछु, उनी अघि नै आइसकेका छन्, मानिसहरूले उनलाई चिनेनन्, तर उनीमाथि नराम्रो व्यवहार गरे। मानिसको पुत्रलाई पनि तिनीहरूले अब चाँडै त्यस्तै व्यवहार गर्नेछन्।’’ 13 उहाँले बप्तिस्मा दिने यूहन्नाको विषयमा कुरा गर्नुभएको हो भनी चेलाहरूले बुझे। 14 उहाँहरू डाँडाको फेदमा आइपुग्नुहुँदा एउटा ठूलो भीडले उहाँहरूलाई पर्खिरहेको थियो। एउटा मानिस येशूको अगाडि आयो र घुँडा टेकेर विन्ती गर्यो, 15 ‘‘प्रभु, मेरो छोरोमाथि कृपा गर्नुहोस्, उसलाई छोप्ने रोग छ, ऊ मूर्छा पर्छ, ऊ आगो र पानीमा घरीघरी पर्छ। 16 त्यसकारण मैले उसलाई तपाईंका चेलाहरूको अगाडि ल्याएँ तर तिनीहरूले उसलाई निको पार्न सकेनन्।’’ 17 येशूले जवाफ दिनुभयो, ‘‘ए हठी, अविश्वसनीय मानिसहरू, म कहिलेसम्म तिमीहरूको साथमा रहूँला र तिमीहरूले विश्वास गरौला? कहिलेसम्म तिमीहरूलाई पर्खने? त्यस केटोलाई यहाँ ल्याओ।’’ 18 त्यस केटामा रहेको भूतात्मालाई येशूले हप्काउनुभयो, त्यो निस्केर गयो। त्यसैबेला केटो निको भइहाल्यो। 19 केही बेरपछि चेलाहरूले एकान्तमा येशूसँग सोधे, ‘‘किन हामीले त्यस भूतात्मालाई निकाल्न सकेनौं?’’ 20 येशूले तिनीहरूलाई भन्नुभयो, ‘‘तिमीहरूसँग पर्याप्त विश्वास थिएन। साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरूसँग रायोको दानाजति मात्रै विश्वास हुन्थ्यो भने तिमीहरूले त्यस डाँडालाई ‘त्यहाँबाट हटिजा’ भने पनि त्यो हट्ने थियो र कुनै कुरा पनि असम्भव हुनेथिएन। 21 तापनि यस किसिमको भूतात्मा प्रार्थना र उपवासविना निस्किँदैन।’’ 22 गालीलमा फर्किएपछि एक दिन येशूले तिनीहरूलाई भन्नुभयो, ‘‘मानिसको पुत्रलाई धोका दिइनेछ। 23 उसलाई मारिनेछ। तर तेस्रो दिनमा ऊ मृत्युबाट जीवित हुनेछ।’’ उहाँको कुरा सुनेर चेलाहरू दु:खित भए। 24 उहाँहरू कफर्नहुम आइपुग्नुहुँदा, मन्दिरको कर उठाउनेहरू पत्रुसकहाँ आए र उनीसँग कर मागे,‘‘के तिमीहरूका गुरुले मन्दिरको कर तिर्नुहुन्न?’’ 25 पत्रुसले जवाफ दिँदै भने, ‘‘किन नतिर्नु, तिर्नुहुन्छ।’’ तब पत्रुस त्यस विषयमा कुरा गर्न येशूकहाँ गए। तर उनले बोल्नुभन्दा पहिल्यै येशूले उनलाई सोध्नुभयो, ‘‘पत्रुस तिमी के सोच्छौ ? राजाहरूले आफ्नै जनताबाट कर उठाउँछन् कि तिनीहरूले जितेका विदेशीहरूबाट?’’ 26 पत्रुसले जवाफ दिए, ‘‘विदेशीहरूबाट।’’ उनको जवाफ सुनेर येशूले भन्नुभयो,‘‘त्यसो भए, उनका आफ्नै जनताले कर तिर्नु पर्दैन । 27 तैपनि हामी तिनीहरूलाई चिढाउन चाहँदैनौं। त्यसकारण तिमी झीलमा जाऊ र जाल हान। तिमीले एउटा माछो पक्रिनेछौ। त्यसको मुखमा एउटा सिक्का भेट्नेछौ र त्यही सिक्का निकालेर हामी दुवैको कर तिर।’’ 181 त्यसैबेला चेलाहरू आएर येशूलाई सोधे,‘‘स्वर्गको राज्यमा हामीमध्ये को सबैभन्दा ठूलो हुन्छ?’’2 येशूले एउटा सानो बालकलाई आफूकहाँ बोलाउनुभयो र तिनीहरूको बीचमा त्यस बालकलाई राख्नुभयो। 3 तब उहाँले भन्नुभयो, ‘‘साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरू आफ्ना पापबाट फर्किएर यस बालकजस्ता भएनौ भने स्वर्गको राज्यमा कदापि पस्न पाउनेछैनौ। 4 त्यसकारण जो यस बालकजस्तो विनम्र हुन्छ, त्यही स्वर्गको राज्यमा सबैभन्दा ठूलो हुन्छ। 5 जसले मेरो नाउँमा सानो बालकलाई स्वीकार गर्छ, उसले मलाई नै स्वीकार गर्दछ। 6 तर यदि कसैले ममाथि भरोसा गर्ने यी सानाहरूमध्ये एउटाको विश्वासमा ठेस पुर्याउँछ भने त्यसको घिच्रोमा एउटा गह्रौं जाँतो बाँधिदिएर त्यसलाई समुद्रको गहिराइमा फालिदिनु बेश हुन्छ। 7 पाप गर्न लगाउने कुराको लागि यस संसारलाई धिक्कार ! गल्ती गर्न लगाउने परीक्षाहरू त आउँछन् नै तर परीक्षा ल्याउनेको हालत कति डरलाग्दो होला ! 8 तसर्थ यदि तिम्रो हात वा खुट्टाले तिमीलाई पाप गर्न लगाउँछ भने त्यसलाई काटेर मिल्काऊ, किनभने दुवै हातखुट्टासहित नरकमा फालिनुभन्दा त बरु डुँडो वा लङ्गडो भएर स्वर्ग जानु उत्तम हुन्छ। 9 तिम्रो आँखाले तिमीलाई पाप गर्न लगाउँछ भने त्यसलाई झिकेर मिल्काऊ, किनभने दुवै आँखासहित नरकमा फालिनुभन्दा त बरु अन्धो भएर स्वर्ग जानु उत्तम हुन्छ। 10 होशियार रहो, यी सानाहरूमध्येका एक जनालाई पनि तुच्छ नठान, किनभने म तिमीहरूलाई भन्दछु, स्वर्गमा मेरा पिताको सामुन्ने तिनीहरूका स्वर्गदूत सधैँ हाजिर छन्। 11 किनभने मानिसको पुत्र हराएकालाई बचाउन आएको हो। 12 एउटा गोठालोको एक सय भेडा छन्। तीमध्ये एउटा अलमलिएर हरायो भने उसले के गर्नेछ? के उसले ती उनान्सयलाई छोडेर हराएकोलाई खोजी गर्न डाँडाहरूमा जाँदैन र? 13 साँच्चै म तिमीहरूलाई भन्दछु, उसले त्यसलाई भेट्टाएपछि ती नहराएको उनान्सय भेडाहरूभन्दा बढ्ता भेटिएको त्यस एउटा भेडाको निम्ति ऊ रमाउनेछ। 14 त्यसैगरी यी सानाहरूमध्ये एउटै पनि नष्ट नहोस् भन्ने मेरो स्वर्गका पिताको इच्छा छ। 15 यदि कुनै भाइले तिम्रो विरोधमा पाप गर्यो भने उसलाई एकलै पारेर उसको गल्ती देखाइदेऊ। यदि उसले तिम्रो कुरा सुन्यो र पश्चात्ताप गर्यो भने तिमीले उसलाई फर्काउन सक्यौ। 16 तर उसले तिम्रो कुरा सुनेन भने तिम्रोसाथमा एक वा दुई जनालाई लिएर फे रि उसकहाँ जाऊ र तिमीले भनेका कुरा दुई वा तीन जना साक्षीको सामुन्ने पक्का होस्। 17 यदि उसले अझै पनि सुनेन भने त्यो कुरा मण्डलीको अगाडि राखिदेऊ। मण्डलीले तिम्रो कुरा ठीक मान्यो तर उसले तिमीलाई अझै इन्कार गर्यो भने त्यसलाई एउटा अयहूदी वा महसुल उठाउने भ्रष्ट व्यक्तिसँग झैँ व्यवहार गर। 18 साँच्चै म तिमीहरूलाई यो कुरा भन्दछु, तिमीहरू यस पृथ्वीमा जे कुरा मनाही गर्छौ, त्यो स्वर्गमा पनि मनाही गरिनेछ र जे कुरा तिमीहरू यस पृथ्वीमा मानिलिन्छौ, त्यो स्वर्गमा पनि स्वीकारिनेछ। 19 म तिमीहरूलाई यो पनि भन्दछु, यदि तिमीहरूमध्ये दुई जना एउटै कुरामा सहमत भएर स्वर्गमा हुनुहुने मेरा पितासँग माग्यौ भने त्यो तिमीहरूका निम्ति गरिदिनुहुनेछ। 20 यसकारण जहाँ मेरो नाउँमा दुई कि तीन जना भेला हुन्छौ, म त्यहाँ तिमीहरूका बीचमा हुन्छु।’’ 21 त्यसपछि पत्रुसले उहाँको नजिक आएर भने,‘‘प्रभु, मेरो विरोधमा पाप गर्नेलाई मैले कतिपल्ट क्षमा गर्नुपर्छ? के सातपल्टसम्म?’’ 22 येशूले जवाफ दिनुभयो, ‘‘होइन, सत्तरी गुणा सातपल्ट क्षमा गर्नुपर्छ। 23 यसैकारणले गर्दा स्वर्गको राज्यलाई एउटा राजासँग तुलना गर्न सकिन्छ, जसले आफ्ना ऋणीहरूसँगको हिसाबकिताब मिलाउने विचार गरे। 24 त्यस क्रममा दश हजार तोडा ऋण लिने नोकरलाई उनको अगाडि ल्याइयो। 25 त्यसले उनको सबै ऋण चुक्ता गर्न सकेन, तसर्थ राजाले त्यसलाई आफू लगायत आफ्नी स्वास्नी र छोराछोरी साथै त्यससँग भएका सबै कुरा बेचेर ऋण चुक्ता गर्ने आदेश दिए। 26 तर त्यसले राजाको पाउमा घोप्टो परेर विन्ती गर्यो, ‘हे मेरा मालिक, मप्रति धैर्य गर्नुहोस्। म सबै ऋण तिर्नेछु।’ 27 त्यो सुनेर राजालाई दया लाग्यो र उनले सबै ऋण माफ गरी त्यसलाई छोडिदिए। 28 तर जब त्यो मानिस राजाकहाँबाट मुक्त भई हिँडयो, ऊ सोझै एक जना सहकर्मीकहाँ गयो, जसले त्यसबाट सय दिनार ऋण लिएको थियो। त्यसले उसको गर्दनमा समात्यो र तुरुन्तै तिरिहाल् भनी माग्यो। 29 उसको त्यो सहकर्मी त्यसको पाउमा घोप्टो पर्यो र केही समय अझै पर्खिदिनुहोस् भन्दै विन्ती गर्यो, ‘ममाथि धैर्य गर्नुहोस्, म सबै तिर्नेछु।’ 30 त्यो ऋण दिनेले पर्खिन मानेन । त्यसले मानिस लगाएर उसलाई पक्रायो र एक-एक पैसा चुक्ता नगरेसम्म झ्यालखानमा हालिदियो। 31 जब त्यसले त्यसो गरेको अरु नोकरहरूले देखे, तिनीहरू त्योप्रति ज्यादै दु:खी भए। तिनीहरू राजाकहाँ गए र त्यसले गरेको सबै कुरा बताइदिए। 32 तब राजाले क्षमा दिइसकेको त्यस व्यक्तिलाई बोलाएर भने,‘तँ दुष्ट नोकर, तैँले विन्ती गरेको हुनाले मैले त्यति धेरै ऋण माफ गरिदिएँ। 33 मैले तँमाथि कृपा देखाएझैँ के तैँले पनि तेरो ऋणीलाई दया गर्नुपर्ने थिएन र?’ 34 तब राजाले रिसाएर त्यसलाई एक-एक पैसा चुक्ता नगरेसम्म झ्यालखानमा थुनिदिए। 35 हो, आफ्नो दाजुभाइ वा दिदीबहिनीलाई हृदयदेखि नै क्षमा नगर्नेलाई पनि मेरा स्वर्गका पिताले त्यस्तै गर्नुहुनेछ।’’ 191 यति भनिसक्नुभएपछि येशू गालील छोडेर यहूदियाको दक्षिणी इलाका र यर्दन नदीको पूर्वी किनारतिर जानुभयो।2 त्यहाँ पनि धेरै ठूलो भीड उहाँको पछि लाग्यो। उहाँले तिनीहरूका रोग-बिमारलाई निको पार्नुभयो। 3 केही फरिसीहरू उहाँकहाँ आए र यस्तो प्रश्न सोधेर उहाँलाई फ साउन खोजे, ‘‘के एउटा मानिसले जुनसुकै कारण देखाएर आफ्नी पत्नीलाई पारपाचुके दिनसक्छ?’’ 4 येशूले जवाफ दिनुभयो, ‘‘के तिमीहरूले धर्मशास्त्र पढेका छैनौ? त्यहाँ शुरुदेखि नै यस्तो उल्लेख भएको छ, ‘परमेश्वरले नै तिनीहरूलाई पुरुष र स्त्री गरी बनाउनुभयो’ 5 र उहाँले भन्नुभयो,‘त्यसैकारण मानिसले आफ्ना आमा-बुबालाई छोड्दछ र आफ्नी पत्नीसँगै मिलिरहन्छ। ती दुवै एउटै शरीर हुन्छन्। 6 त्यसैकारण ती दुवै अब दुई होइनन् एक हुन्। तसर्थ परमेश्वरले जसलाई एक बनाउनुभएको छ, त्यसलाई मानिसले नछुट्टयाओस्।’’ 7 तिनीहरूले फेरि सोधे, ‘‘तब मोशाले किन मानिसले एउटा छोडपत्र लेखेर आफ्नी पत्नीलाई त्याग्नसक्छ’ भनी लेखिदिए त?’’ 8 उहाँले जवाफ दिनुभयो, ‘‘तिमीहरूको कठोर हृदयको दुष्टताले गर्दा मोशाले त्यस्तो अनुमति दिनुपरेको थियो। तर परमेश्वरले शुरुदेखि नै चाहनुभएको कुरा त्यो थिएन। 9 म तिमीहरूलाई भन्दछु, यदि कसैले व्यभिचारको कारणबाहेक अरु कुनै कारणले आफ्नी पत्नीलाई पारपाचुके गरी अर्की स्त्रीसँग विवाह गर्छ भने त्यसले व्यभिचार गर्छ। ’’ 10 त्यसपछि येशूका चेलाहरूले उहाँलाई भने, ‘‘त्यसो भए त विवाह नगर्नु नै ठीक हुन्छ।’’ 11 येशूले भन्नुभयो, ‘‘हरेकले यो कुरा स्वीकार गर्न सक्दैन, परमेश्वरले जसलाई सहायता गर्नुहुन्छ, तिनीहरूले मात्रै यो कुरा स्वीकार गर्न सक्छन्। 12 कोही जन्मैका नपुंसक हुन्छन्, कोही पछि नपुंसक बनाइएका हुन्छन्, अनि कोही परमेश्वरको राज्यको खातिर विवाह नगरी बस्ने निश्चय गर्छन्। जसले सक्छ, उसले यो कुरा स्वीकार गरोस्।’’ 13 येशूले हात राखेर प्रार्थना गरिदेऊन् भनी केही बालबालिकाहरूलाई उहाँकहाँ ल्याइयो तर चेलाहरूले उनीहरूलाई हप्काए। 14 तर येशूले भन्नुभयो, ‘‘बालबालिकाहरूलाई मकहाँ आउन देओ, उनीहरूलाई नरोक, किनभने स्वर्गको राज्य यस्तैहरूको हो।’’ 15 तब त्यो ठाउँबाट हिँड्नुभन्दा अघि उहाँले तिनीहरूका शिरमा हात राखेर आशिष् दिनुभयो। 16 एक जना मानिसले उहाँकहाँ आएर भन्यो, ‘‘गुरुज्यू, अनन्त जीवन पाउनका लागि मैले के असल काम गर्नुपर्छ?’’ 17 येशूले जवाफ दिनुभयो, ‘‘तिमी मसँग किन असल कामको विषयमा सोध्छौ? परमेश्वर मात्रै असल हुनुहुन्छ। यदि तिमीले आज्ञाहरू पालन गर्यौ भने अनन्त जीवन पाउन सक्छौ।’’ 18 त्यसले सोध्यो, ‘‘कुन चाहिँ आज्ञा?’’ येशूले जवाफ दिनुभयो, ‘‘हत्या नगर, व्यभिचार नगर, नचोर, झूटो साक्षी नदेओ, 19 आफ्ना आमा-बुबालाई आदर गर र छिमेकीलाई आफूलाई जस्तै गरी प्रेम गर।’’ 20 त्यसले जवाफ दिँदै भन्यो,‘‘यी आज्ञाहरू त मैले शुरुदेखि नै पालन गर्दै आएको छु। यसभन्दा बाहेक मैले अरु के गर्नुपर्छ?’’ 21 येशूले त्यसलाई भन्नुभयो,‘‘यदि तिमी सिद्ध हुन चाहन्छौ भने जाऊ र आफूसँग भएका सबै थोक बेच, त्यसबाट आएको पैसा गरीबहरूलाई बाँडिदेऊ र स्वर्गमा तिम्रो धन हुनेछ। त्यसपछि आएर मेरोपछि लाग।’’ 22 तर जब त्यस व्यक्तिले उहाँको कुरा सुन्यो तब ऊ दु:खी भएर त्यहाँबाट गइहाल्यो, किनकि ऊ धेरै धनी थियो। 23 तब येशूले आफ्ना चेलाहरूलाई यसो भन्नुभयो, ‘‘साँच्चै, म तिमीहरूलाई भन्दछु, धनी मानिसलाई स्वर्गको राज्यमा प्रवेश गर्न धेरै गाह्रो हुन्छ। 24 म फेरि पनि भन्दछु, धनी मानिसलाई परमेश्वरको राज्यमा प्रवेश गर्नुभन्दा त बरु एउटा ऊँटलाई सियोको नाथ्रीबाट छिर्न सजिलो हुन्छ।’’ 25 चेलाहरूले छक्क पर्दै सोधे, ‘‘त्यसो भए यस संसारमा कसले उद्धार पाउनसक्छ त?’’ 26 येशूले छक्क पर्दै तिनीहरूलाई हेर्नुभयो र भन्नुभयो, ‘‘मानिसहरूको लागि यो असम्भव छ तर परमेश्वरको लागि सबै कुरा सम्भव छ।’’ 27 तब पत्रुसले उहाँलाई भने, ‘‘हामीले तपाईंलाई पछयाउन आफ्ना सबै थोक त्यागेका छौं। यसबाट हामीलाई के फाइदा हुनेछ?’’ 28 येशूले जवाफ दिनुभयो, ‘‘साँच्चै, म तिमीहरूलाई भन्दछु, म, मानिसको पुत्र जब नयाँ सृष्टिमा मेरो महिमाको सिंहासनमा बस्नेछु, तब तिमी, मलाई पछयाउनेहरू पनि इस्राएलका बाह्र कुलको न्याय गर्न बाह्रवटा सिंहासनमा बस्नेछौ। 29 जसले मेरो खातिर आफ्ना घर, दाजु-भाइ, दिदी-बहिनी, आमा-बुबा, स्वास्नी, छोराछोरीहरू कि आफ्नो धनसम्पत्ति त्याग्दछ, उसले त्यसको बदलामा सय गुणाका साथै अनन्त जीवन पाउनेछ। 30 तर धेरै जना, जो पहिला छन्, पछिल्ला हुनेछन् र पछिल्लाहरू पहिला हुनेछन्। 201 किनभने स्वर्गको राज्य एउटा धनी किसानजस्तो हो, जो एकाबिहानै अङ्गुरबारीमा काम गर्ने खेतालाको खोजी गर्न निस्कियो।2 उसले एक दिनको ज्याला दिने अठोट गरेर अङ्गुरबारीमा काम गर्न केही खेताला पठायो। 3 बिहान नौ बजेतिर ऊ बजारको बाटो भएर जाँदै गर्दा त्यहाँ उसले विनाकाम उभिरहेका केही मानिसहरूलाई देख्यो। 4 उसले तिनीहरूलाई दिनको अन्त्यमा उचित ज्याला दिने वचन दिएर काम गर्न पठायो। 5 त्यसैगरी मध्यान्हमा र अपराह्न तीन बजेतिर पनि उसले त्यसै गर्यो। 6 बेलुकी पाँच बजेतिर ऊ बजारमा गयो र फेरि पनि उसले विनाकाम अलमलिरहेका मानिसहरूलाई देख्यो। उसले तिनीहरूलाई सोध्यो, ‘तिमीहरूले आज किन केही काम नगरेका?’ 7 तिनीहरूले जवाफ दिए, ‘किनभने हामीलाई कसैले काम गर्न बोलाएन।’ उसले तिनीहरूलाई भन्यो, ‘त्यसो भए जाओ र मेरो अङ्गुरबारीमा काम गर्ने खेतालासँग सामेल होओ।’ 8 त्यसै साँझ उसले खेतालालाई बोलाउन कामदारलाई अह्रायो र आखिरमा आउने खेतालाबाट शुरु गरेर ज्याला दिनथाल्यो। 9 बेलुकी पाँच बजेदेखि काम गर्न थालेकाहरूले दिनभरिको ज्याला पाए। 10 बिहान सबेरैदेखि काम गर्नेहरूले तिनीहरूको भन्दा बढ्ता पाउने आशा गरेका थिए तर तिनीहरूलाई पनि एक दिनभरिको ज्याला मात्रै दिइयो। 11 जब तिनीहरूले आफ्नो ज्याला पाए, तब तिनीहरूले यसो भन्दै विरोध जनाए, 12 ‘ती मानिसहरूले खेतमा आएर एक घण्टा मात्रै काम गरे तापनि तपाईंले तिनीहरूलाई हामीलाई जति नै ज्याला दिनुभयो, हामीले त दिनभरि चर्को घाममा काम गरेका थियौं नि।’ 13 तिनीहरूमध्ये एउटालाई जवाफ दिँदै उसले भन्यो, ‘साथी, म तिमीहरूप्रति अन्यायी भएको छैनँ। के तिमीहरू यति नै ज्यालामा काम गर्न राजी भएका थिएनौ र? 14 यो ज्याला लिएर जाओ । मैले तिमीहरूलाई जति नै आखिरमा आउनेलाई पनि दिने विचार गरेँ। 15 के मैले आफ्नो खुशीमा यसो गर्नु व्यवस्था विपरीत हुन्छ र ? के तिमीहरू म दयालु हुँदा रिसाउनुपर्छ?’ 16 त्यसैगरी जो अहिले पहिला छन्, तिनीहरू त्यसबेला पछिल्ला हुनेछन् अनि जो अहिले पछिल्ला छन्, तिनीहरू त्यसबेला पहिला हुनेछन्।’’ 17 यरूशलेमतिर जाँदै गर्नुहुँदा, उहाँले आफ्ना बाह्र जना चेलाहरूलाई एकातिर लगेर आफूमाथि के के हुन गइरहेको छ भनी बताउनुभयो, 18 ‘‘हामी जब यरूशलेम पुग्छौं, मानिसको पुत्रलाई मुख्य पूजाहारीहरू र धार्मिक व्यवस्थाका शिक्षकहरूको हातमा सुम्पिइनेछ । तिनीहरूले उसलाई मृत्युदण्डको आज्ञा गर्नेछन्। 19 तिनीहरूले त्यसपछि मानिसको पुत्रलाई गिल्ला गर्न, कोर्रा लगाउन र क्रूसमा टाँग्न अयहूदीहरूको हातमा सुम्पिदिनेछन्। तर त्यसको तीन दिनमा ऊ मृतकबाट उठाइनेछ।’’ 20 त्यसबेला जब्दियाका छोराहरू, याकूब र यूहन्नाकी आमा आफ्ना छोराहरूलाई लिएर येशूकहाँ आइन्। तिनले उहाँको कृपा पाउन आदरपूर्वक घुँडा टेकिन्। 21 येशूले सोध्नुभयो, ‘‘तिमी के चाहन्छौ?’’ तिनले जवाफ दिइन्, ‘‘तपाईंको राज्यमा मेरा यी छोराहरूलाई तपाईंको दायाँ र बायाँतिरको आदरको स्थानमा बस्न दिनुहुन्छ कि?’’ 22 तर येशूले तिनीहरूलाई जवाफ दिँदै भन्नुभयो, ‘‘तिमीहरूले के मागिरहेका छौ, त्यो बुझेका छैनौ। के मैले पिउन लागेको कष्टको तीतो कचौराबाट तिमीहरू पिउन सक्छौ?’’ तिनीहरूले जवाफ दिए, ‘‘हजूर, हामी पिउन सक्छौं।’’ 23 उहाँले भन्नुभयो, ‘‘साँच्चै, तिमीहरूले त्यो पिउने छौ। तर मेरो सिंहासनको दायाँ र बायाँपट्टि को बस्नेछ भन्ने अधिकार मसँग छैन। ती ठाउँ मेरा पिताले चुन्नुभएकाहरूका निम्ति तयार पारिएका हुन्।’’ 24 जब बाँकी दश जना चेलाहरूले याकूब र यूहन्नाले भनेका कुरा सुने, तब तिनीहरू रुष्ट भए। 25 तर येशूले ती सबैलाई बोलाएर भन्नुभयो,‘‘तिमीहरूलाई थाहा छ, यस संसारका राजाहरू निरङ्कुश छन् र शासन गर्ने अधिकारीहरूले जनतामाथि आफ्नो प्रभुत्व जमाउँछन्। 26 तर तिमीहरूको माझमा यस्तो हुनुहुँदैन, तिमीहरूमध्ये जो अगुवा बन्ने इच्छा गर्दछ, ऊ तिमीहरूको सेवक हुनुपर्छ, 27 अनि जो पहिलो हुने इच्छा गर्छ, ऊ तिमीहरूको दास हुनुपर्छ। 28 किनभने म, मानिसको पुत्र, आफै पनि अरुबाट सेवा पाउन आएको होइनँ तर अरुको सेवा गर्न र धेरैको निम्ति छुटकाराको मोलको रूपमा आफ्नो जीवन अर्पण गर्न आएको हुँ।’’ 29 येशू र उहाँका चेलाहरू यरीहो शहरबाट निस्किँदै गर्दा एउटा ठूलो भीडले उहाँलाई पछयायो। 30 बाटो किनारमा दुई जना अन्धा बसिरहेका थिए। त्यही बाटो भएर येशू आउँदै हुनुहुन्छ भन्ने कुरा चाल पाएर तिनीहरू कराउन लागे, ‘‘हे प्रभु, दाऊदको पुत्र, हामीमाथि दया गर्नुहोस्।’’ 31 भीडले तिनीहरूलाई चुप लगाउन खोजे, तर तिनीहरू अझै जोडसित कराउन लागे, ‘‘हे प्रभु, दाऊदको पुत्र, हामीमाथि दया गर्नुहोस्।’’ 32 येशू टक्क अडिनुभयो र तिनीहरूलाई बोलाएर सोध्नुभयो, ‘‘मैले तिमीहरूको निम्ति के गरिदिऊँ भन्ने चाहन्छौ?’’ 33 तिनीहरूले भने, ‘‘प्रभु, हामी देख्न चाहन्छौं।’’ 34 येशूले तिनीहरूलाई टिठाउनुभयो र तिनीहरूका आँखा छुनुभयो। तिनीहरू तत्कालै देख्नसक्ने भए। त्यसपछि तिनीहरूले उहाँलाई पछयाए। 211 येशू र उहाँका चेलाहरू यरूशलेमतिर आउँदै गर्नुहुँदा उहाँहरू जैतुन डाँडाको बेथफागे शहरमा आइपुग्नुभयो।2 येशूले दुई जनालाई अघि पठाउनुभयो र भन्नुभयो, ‘‘सामुन्नेको गाउँमा जाओ, तिमीहरूले त्यहाँ एउटा गधालाई त्यसको बछेडासहित बाँधिराखेको भेट्टाउनेछौ। त्यसलाई बछेडासहित फुकाएर यहाँ लिएर आओ। 3 कसैले तिमीहरूलाई ‘यो के गरिरहेका छौ’ भनी सोध्यो भने उसलाई भन्नू, ‘हाम्रो प्रभुलाई यी चाहिएका छन् र उहाँले तुरुन्तै पठाउनुहुनेछ’।’’ 4 यो अगमवाणी पूरा होस् भनेर त्यसो गरिएको थियो : 5 ‘‘सियोनकी छोरीलाई भन,‘हेर तिम्रा राजा तिमीकहाँ आउँदै हुनुहुन्छ। उहाँ नम्र र विनयी हुनुहुन्छ, उहाँ गधाको बछेडामा चढेर आउँदै हुनुहुन्छ।’’ 6 येशूले अह्राउनुभएको काम दुई जना चेलाहरूले गरे। 7 उनीहरूले ती गधाहरूलाई उहाँकहाँ ल्याए, तब उनीहरूले आफ्ना वस्त्र फुकाले र त्यस बछेडाको पिठयूँमा राखिदिए अनि उहाँ त्यसमाथि चढ्नुभयो। 8 भीडका मानिसहरूले आ-आफ्ना खास्टोहरू येशूको अघि बाटोमा ओछयाए, अरुले रूखका स्याउलाहरू काटेर उहाँ जाने बाटोमा फिँजाए। 9 उहाँ ठूलो भीडको बीचमा हुनुहुन्थ्यो । उहाँको वरिपरिका मानिसहरूले चर्को सोरमा यसो भनिरहेका थिए: ‘‘परमेश्वरलाई स्तुति होस् ! दाऊदका पुत्रको जयजयकार ! परमप्रभुको नाउँमा आउने धन्यको हुनुहुन्छ ! सर्वोच्चमा हुनुहुने परमेश्वरलाई स्तुति होस् !’’ 10 उहाँ यरूशलेम प्रवेश गर्नुहुँदा सारा शहरभरि हलचल मच्चियो। तिनीहरूले सोध्न लागे, ‘‘यिनी को हुन्?’’ 11 भीडले जवाफ दियो, ‘‘यिनी गालीलको नासरतबाट आएका अगमवक्ता, येशू हुन्।’’ 12 येशू मन्दिरभित्र पस्नुभयो र त्यहाँ भएका व्यापारी र तिनका ग्राहकहरूलाई त्यहाँबाट धपाउन लाग्नुभयो । पैसा साट्ने र ढुकुर बेच्नेहरूले थापेका टेबुलहरू उहाँले धकेलेर पल्टाइदिनुभयो । 13 उहाँले भन्नुभयो, ‘‘धर्मशास्त्रमा भनिएको छ, ‘मेरो मन्दिर प्रार्थनाको ठाउँ कहलाइनेछ।’ तर तिमीहरूले त यसलाई चोर-डाँकाहरूको ओडार तुल्यायौ ।’’ 14 उहाँको छेउमा अन्धा र लङ्गडाहरू आए अनि उहाँले मन्दिरमा नै तिनीहरूलाई निको पार्नुभयो । 15 उहाँले गर्नुभएका यी आश्चर्यकर्महरू मुख्य पूजाहारीहरू र शास्त्रीहरूले देखे र भीडका ससाना केटाकेटीहरूले समेत ‘‘परमेश्वरलाई स्तुति होस्, दाऊदका पुत्रको जयजयकार !’’ भन्दै चर्को सोरले कराइरहेका सुनेर तिनीहरू साह्रै रिसाए। 16 अनि तिनीहरूले येशूलाई सोधे, ‘‘यी केटाकेटीहरूले के भनिरहेका छन् तिमीले सुन्दैछौ?’’ येशूले जवाफ दिनुभयो, ‘‘सुन्दैछु, के तिमीहरूले धर्मशास्त्र कहिल्यै पढेका छैनौ? जसले भन्दछ,‘शिशुहरू र दूधेबालकहरूका ओठबाट तपाईंले पूर्ण प्रशंसा निकाल्नुभएको छ’।’’ 17 तब उहाँ बेथानीतिर फर्किनुभयो र त्यहाँ रात बिताउनुभयो। 18 बिहानै येशू यरूशलेमतिर फर्किरहनुभएको बेला उहाँ भोकाउनुभयो। 19 उहाँले बाटोको छेउमा नेभारोको रूख देख्नुभयो। त्यसमा केही फलेको छ कि भनेर हेर्नलाई उहाँ त्यस रूखतिर जानुभयो तर त्यसमा पातबाहेक केही थिएन । तब उहाँले त्यसलाई भन्नुभयो,‘‘अब तैँले कहिल्यै फल फलाउने छैनस्।’’ तब तत्कालै त्यो रूख ओइलाइहाल्यो। 20 त्यो देखेर चेलाहरू चकित भए र उहाँसँग सोधे, ‘‘यो नेभारोको रूख कसरी यति चाँडै ओइलाइहाल्यो?’’ 21 तब येशूले तिनीहरूलाई भन्नुभयो, ‘‘साँच्चै, म तिमीहरूलाई भन्दछु, यदि तिमीहरूसँग विश्वास छ र शंका गरेनौ भने नेभारोको रूखलाई जे गरियो त्यति मात्र होइन तर यस पहाडलाई ‘त्यहाँबाट उखेलिएर समुद्रमा खस्’ भन्यौ भने पनि त्यस्तै हुनेछ। 22 तिमीहरूले विश्वाससाथ प्रार्थनामा जे माग्छौ सो पाउनेछौ।’’ 23 जब येशू मन्दिरमा फर्किनुभयो र उहाँले सिकाइरहनुभएको बेला मुख्य पूजाहारीहरू र अन्य अगुवाहरू उहाँकहाँ आए र सोधे, ‘‘मन्दिरबाट व्यापारीहरूलाई हटाउने अधिकार तिमीले कसबाट पायौ? तिमीलाई यो अधिकार कसले दियो?’’ 24 येशूले जवाफ दिनुभयो, ‘‘यदि तिमीहरूले मेरो एउटा प्रश्नको जवाफ दियौ भने मलाई यी कुरा गर्ने अधिकार कसले दियो, सो बताउनेछु। 25 यूहन्नाको बप्तिस्मा स्वर्गबाटको थियो कि मानिसबाटको ?’’ उनीहरूले आपसमा यस विषयमा यसरी छलफल गरे, ‘‘यदि हामीले स्वर्गबाटको भन्यौं भने ‘तिमीहरूले किन उनलाई विश्वास गरेनौ त’ भन्लान्। 26 तर मानिसबाटको हो भन्यौं भने हामीलाई यी मानिसहरूको भीडले विरोध गर्लान्, किनकि यिनीहरू ‘यूहन्ना, अगमवक्ता थिए’ भनी विश्वास गर्छन्।’’ 27 त्यसैले उनीहरूले अन्त्यमा जवाफ दिए, ‘‘हामी जान्दैनौं।’’ येशूले पनि त्यसैगरी जवाफ दिनुभयो, ‘‘म पनि तिमीहरूले सोधेको प्रश्नको जवाफ दिन्नँ।’’ 28 तिमीहरू यस विषयमा के सोच्छौ? एक जना मानिसका दुई भाइ छोरा थिए, उनले जेठोलाई भने, ‘छोरा, आज अङ्गुरबारीमा गएर काम गर है।’ 29 छोराले जवाफ दियो, ‘अहँ, म जाँदिनँ।’ तर पछि उसले मन परिवर्तन गर्यो र गयो। 30 त्यसपछि कान्छो छोरालाई बुबाले सोधे, ‘तँ जान्छस्?’ त्यसले भन्यो, ‘हुन्छ, म जान्छु।’ तर ऊ गएन। 31 ती दुई जना छोरामध्ये कसले आफ्नो बुबाको आज्ञापालन गर्यो?’’ उनीहरूले जवाफ दिए, ‘‘जेठोले।’’ तब उहाँले त्यसको व्याख्या गर्दै भन्नुभयो, ‘‘साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूभन्दा पहिले महसुल उठाउने भ्रष्ट मानिसहरू र वेश्याहरूले परमेश्वरको राज्यमा प्रवेश पाउनेछन्। 32 किनभने बप्तिस्मा दिने यूहन्नाले तिमीहरूलाई धार्मिकताको बाटो देखाए, तापनि तिमीहरूले उनलाई विश्वास गरेनौ तर महसुल उठाउनेहरू र वेश्याहरूले विश्वास गरे। अझै यतिका कुराहरू देखेर पनि आफ्ना पापबाट फर्किन र उनमाथि विश्वास गर्न तिमीहरूले इन्कार गर्यौ।’’ 33 अब यो दृष्टान्त सुन । एउटा धनी किसानले आफ्नो जमीनमा अङ्गुर लगायो र त्यसको वरिपरि पर्खाल बनायो। त्यहाँ उसले अङ्गुर पेल्ने कोल राख्यो र मचान पनि बनायो। त्यसपछि उसले मोहीहरूलाई आफ्नो अङ्गुरबारी हेरचाह गर्ने जिम्मा लगायो र अर्कै मुलुकमा गएर बस्यो। 34 अङ्गुर पाक्ने बेला आयो, तब उसले फसलबाट आफ्नो भाग उठाउन भनेर नोकरहरूलाई मोहीहरूकहाँ पठायो। 35 तर मोहीहरूले उसका नोकरहरूमध्ये एउटालाई पिटे, अर्कोलाई मारे र अर्को एउटालाई ढुङ्गाले हाने। 36 फेरि त्यस जमीनको मालिकले अझै ठूलो संख्यामा नोकरहरू पठाएर आफ्नो भाग उठाउन खोज्यो । तर ती मोहीहरूले तिनीहरूलाई पनि त्यसै गरे। 37 आखिरमा उसले विचार गर्यो, ‘मैले आफ्नै छोरालाई पठाएँ भने तिनीहरूले आदर गर्लान्।’ तब उसले आफ्नो छोरोलाई पठायो। 38 जब ती मोहीहरूले मालिकको छोरोलाई आउँदैगरेको देखे र आपसमा सल्लाह गरे,‘यस जमीनको हकवाला आउँदै छ। लौ त्यसलाई मारौं, त्यसपछि त यो सबै सम्पत्ति हाम्रो हुनेछ। 39 यसरी तिनीहरूले उसलाई पक्रेर घिसार्दै अङ्गुरबारीबाट बाहिर लगे र मारे।’’ 40 तब येशूले प्रश्न गर्नुभयो, ‘‘अङ्गुरबारीको मालिक फर्केर आउँदा उसले ती मोहीहरूलाई के गर्छ होला?’’ 41 धार्मिक अगुवाहरूले जवाफ दिए, ‘‘उसले ती दुष्ट मोहीहरूलाई भयानक दण्ड दिएर मार्नेछ र त्यो अङ्गुरबारी वर्षैपिच्छे फसलको समयमा उसको भाग छुट्टयाउने अर्कै मोहीहरूलाई कमाउन दिनेछ।’’ 42 त्यसपछि येशूले तिनीहरूलाई सोध्नुभयो, ‘‘के तिमीहरूले धर्मशास्त्रमा यो कहिल्यै पढेका छैनौ : ‘डकर्मीहरूले रद्द गरेको ढुङ्गो नै कुनाको शिरढुङ्गो बन्यो। यो परमप्रभुको काम हो, यो हाम्रो दृष्टिमा अचम्मको छ।’ 43 मैले भन्न खोजेको के हो भने परमेश्वरको राज्य तिमीहरूबाट खोसिनेछ र अर्कै जातिलाई दिइनेछ, जसले त्यसको फल फलाउनेछ। 44 त्यस ढुङ्गामा ठोक्किने जोसुकै टुक्राटुक्रा हुन्छ र जसमाथि त्यो ढुङ्गो बज्रिन्छ, ऊ पनि धूलोपीठो हुन्छ।’’ 45 मुख्य पूजाहारीहरू र फरिसीहरूले येशूको यो दृष्टान्त सुनेपछि तिनीहरूकै विषयमा उहाँ बोल्नुभएको हो भनी बुझे। 46 तर उहाँलाई पक्रन खोज्दा तिनीहरू भीडसँग डराए, किनकि उनीहरूले उहाँलाई भविष्यवक्ता भनी मानेका थिए। 221 राज्यको बारेमा येशूले थुप्रै दृष्टान्तहरू सुनाउनुभयो। उहाँले भन्नुभयो,2 ‘‘स्वर्गको राज्यलाई एक जना राजासँग दाँज्न सकिन्छ, जसले आफ्नो छोराको निम्ति विशाल विवाह-भोजको तयार गरे। 3 धेरै पाहुनाहरू निम्त्याइए र जब भोजन तयार भयो, उनले आफ्ना दासहरूलाई पठाएर सबैलाई भोजमा सामेल हुनू भनी सूचना दिए। तर निम्त्याइएका सबैले भोजमा आउन अस्वीकार गरे। 4 यसकारण उनले अरु दासहरूलाई पनि पठाएर भोजमा बोलाए,‘भोजन तयार भएको छ, थरीथरी मासुका परिकारहरू तयार छन्। चाँडै आउनुहोस्।’ 5 तर राजाले निम्तो दिएका पाहुनाहरूले भोजमा आउन अस्वीकार गरे, बरु तिनीहरू आ-आफ्नै काम-व्यापारतिर लागे, कोही खेततिर र कोही बजारतिर। 6 कतिले त राजाको खबर लिएर आउनेहरूलाई अपमान गरे र तिनीहरूलाई मारे। 7 तब राजा निकै क्रोधित भए। उनले ती हत्याराहरूलाई मार्न र तिनीहरूका शहर ध्वस्त पार्न आफ्ना सेना पठाए। 8 उनले आफ्नो दासहरूलाई भने, ‘विवाहको भोज तयार छ, मैले निम्त्याएका पाहुनाहरू आदरका योग्य भएनन्। 9 अब सडकका चोक र गल्लीहरूमा जाओ र भेटेका जति सबैलाई बोलाओ।’ 10 राजाका दासहरूले भेटेका जति असल र खराब सबै मानिसहरूलाई भोजमा लिएर आए। यसरी भोजको घर पाहुनाहरूले भरियो। 11 तर राजा जब ती पाहुनाहरूलाई भेट्न आए, तब त्यहाँ विवाहको पोशाक नलगाएको एक जना पाहुनालाई उनले देखे । 12 उनले भने,‘मित्र, तिमी विवाहको पोशाक नलगाई कसरी यहाँ छौ?’ त्यसले केही जवाफ दिन सकेन। 13 तब राजाले आफ्ना सेवकहरूलाई भने, ‘यसका हातखुट्टा बाँधेर अन्धकारमा फालिदेओ, जहाँ सधैँभरि रुवाबासी र दाह्रा किटाइ भइरहन्छ।’ 14 किनभने बोलाइएका धेरै हुन्छन् तर चुनिएका थोरै हुन्छन्।’’ 15 त्यसपछि फरिसीहरू येशूलाई उहाँकै कुरामा कसरी फसाउन सकिन्छ भनी सल्लाह गर्न भेला भए । 16 तिनीहरूले आफ्ना चेलाहरूमध्ये कोहीलाई हेरोदका समर्थकहरूको साथमा पठाएर यस्तो प्रश्न सोध्न लगाए : ‘‘गुरुज्यू, तपाईं कति इमानदार हुनुहुन्छ भन्ने कुरा हामी जान्दछौं। तपाईं जस्तोसुकै परिणाम आइपरे पनि परमेश्वरको मार्गको बारेमा शिक्षा दिनुहुन्छ। तपाईं कसैको पक्षपात गर्नुहुन्न र कसैको समर्थन पनि खोज्नुहुन्न। 17 अब हामीलाई भन्नुहोस्, तपाईं यस विषयमा के सोच्नुहुन्छ: ‘‘सिजरलाई कर तिर्नु ठीक हो कि होइन?’’ 18 तर येशूले तिनीहरूका दुष्ट अभिप्राय थाहा पाउनुभयो । उहाँले तिनीहरूलाई भन्नुभयो, ‘‘पाखण्डी हो, तिमीहरूले यस्तो छलपूर्ण प्रश्न सोधेर कसलाई मूर्ख बनाउन खोजेका? 19 खोई ? कर तिर्ने सिक्का यहाँ ल्याओ।’’ जब तिनीहरूले एउटा सिक्का उहाँको हातमा राखिदिए, 20 तब उहाँले सोध्नुभयो, ‘‘यसमा कसको आकृति छापिएको छ ?’’ 21 तिनीहरूले जवाफ दिए,‘‘सिजरको।’’ उहाँले तिनीहरूलाई भन्नुभयो, ‘‘त्यसो भए, जे सिजरको हो त्यो सिजरलाई देओ र जे परमेश्वरको हो, त्यो उहाँलाई नै दिइनुपर्छ।’’ 22 उहाँको जवाफले तिनीहरू चकित भए र उहाँलाई छोडेर त्यहाँबाट गइहाले। 23 त्यही दिन मृत्युपछि पुनरुत्थान हुँदैन भन्ने सदुकीहरूको एउटा समूह त्यहाँ आयो। तिनीहरूले गरेको प्रश्न यस्तो थियो : 24 ‘‘गुरुज्यू, मोशाले यसो भनेका छन्, ‘यदि कोही व्यक्ति छोराछोरी नजन्माई मर्यो भने उसको दाजु वा भाइले विधवालाई विवाह गरोस् र उसको हक लिने सन्तान जन्माओस्।’ 25 सात जना दाजुभाइ थिए। जेठोले विवाह गर्यो र छोराछोरी नजन्माई मर्यो। त्यसकारण दाजुकी विधवालाई माहिलोले विवाह गर्यो। 26 ऊ पनि छोराछोरी नजन्माई मर्यो र विधवालाई साहिँलोले विवाह गर्यो। 27 त्यसैगरी सातै भाइले त्यस स्त्रीसँग विवाह गरे। अन्त्यमा सन्तान नजन्माई त्यो विधवा पनि मरी। 28 त्यसैले अब भन्नुहोस्, पुनरुत्थान हुँदा त्यो कसकी पत्नी हुनेछे? किनकि सातै भाइसँग त्यसको विवाह भएको थियो।’’ 29 येशूले जवाफ दिनुभयो, ‘‘तिमीहरूले धर्मशास्त्र र परमेश्वरको शक्तिलाई नबुझ्नु नै तिमीहरूको समस्या हो। तिमीहरू भ्रममा परेका छौ, 30 किनभने पुनरुत्थानमा बिहेबारी हुनेछैन। सबै जना स्वर्गमा परमेश्वरका दूतहरूजस्ता हुनेछन्। 31 पुनरुत्थानको विषयमा के भनिएको छ, तिमीहरूले धर्मशास्त्रमा कहिल्यै पढेका छैनौ? धेरै पहिले नै अब्राहाम, इसहाक र याकूब मरे, तापनि परमेश्वरले भन्नुभयो, 32 ‘म अब्राहाम, इसहाक र याकूबका परमेश्वर हुँ।’ त्यसकारण उहाँ जीवितहरूका परमेश्वर हुनुहुन्छ, मृतकहरूका होइन।’’ 33 भीड उहाँको शिक्षा सुनेर खुबै प्रभावित भयो। 34 येशूले सदुकीहरूलाई चुप बनाइदिनुभयो भनेको सुनेर फरिसीहरू मतो गर्नलाई एकसाथ भेला भए। 35 तिनीहरूमध्ये व्यवस्थामा निकै पोख्त एक जनाले यसो भनेर उहाँलाई फसाउन खोज्यो : 36 ‘‘गुरुज्यू, मोशाको व्यवस्थामा सबैभन्दा महत्वपूर्ण आज्ञा कुन हो?’’ 37 येशूले जवाफ दिनुभयो, ‘‘तैँले परमप्रभु तेरा परमेश्वरलाई ‘आफ्नो सारा हृदयले, सारा प्राणले र सारा मनले प्रेम गर्नू।’ 38 यो नै पहिलो र सबैभन्दा महत्वपूर्ण आज्ञा हो। 39 अनि अर्को पनि उत्तिकै महत्वपूर्ण छ, ‘तैँले आफ्नो छिमेकीलाई आफैँलाई जस्तै प्रेम गर्नू।’ 40 अरु सबै आज्ञाहरू र अगमवक्ताहरूले भनेका कुराहरू यिनै दुईटा आज्ञाहरूमा आधारित छन्।’’ 41 तब फरिसीहरूद्वारा घेरिएकै बेलामा येशूले तिनीहरूलाई सोध्नुभयो: 42 ‘‘तिमीहरू मसीहको बारेमा के भन्छौ? उनी कसका पुत्र हुन्?’’ तिनीहरूले भने, ‘‘दाऊदका पुत्र।’’ 43 येशूले जवाफ दिनुभयो, ‘‘त्यसो भए, दाऊदले पवित्र आत्माको प्रेरणामा, किन उनलाई ‘प्रभु’ भने त? किनभने दाऊदले यसो भनेका छन्: 44 परमप्रभुले मेरा प्रभुलाई भन्नुहुन्छ, ‘तिमी मेरो दाहिने हातपट्टि बस, जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पाउदान तुल्याउँदिनँ।’ 45 यदि दाऊद आफैले ख्रीष्टलाई प्रभु भन्छन् भने उनी कसरी दाऊदका छोरा भए त?’’ 46 कसैले पनि उहाँलाई जवाफ फर्काउन सकेन। त्यसपछि कसैले पनि उहाँलाई अरु प्रश्न सोध्ने आँट गरेन। 231 तब येशूले भीड र आफ्ना चेलाहरूलाई यसो भन्नुभयो,2 ‘‘धार्मिक व्यवस्थाका शिक्षकहरू र फरिसीहरू जो मोशाको आसनमा बस्छन्, उनीहरू नै धर्मशास्त्रका आधिकारिक व्याख्याकारहरू हुन्। 3 त्यसकारण उनीहरूले जे सिकाउँछन्, सो पालना गर। तर उनीहरूको अनुकरण नगर, किनकि उनीहरू एउटा कुरा भन्छन् र अर्कै कुरा गर्छन्। 4 उनीहरूले धार्मिक रीति-विधिहरूको गह्रौं भारी मानिसहरूको काँधमा राखिदिन्छन् तर त्यसलाई हलुका पार्न उनीहरूले एउटा औँलाले समेत सहायता गर्दैनन्। 5 उनीहरूले सबै कुरा मानिसहरूलाई देखाउनको निम्ति मात्र गर्छन्। धर्मशास्त्रका पदहरूले भरिएका प्रार्थनाहरूको मुट्ठो उनीहरूका पाखुरामा बाँधिएको हुन्छ र उनीहरूका वस्त्रमा अनावश्यक लामा-लामा झुम्काहरू लगाउँछन्। 6 उनीहरू भोजमा मुख्य स्थानमा बस्न मन पराउँछन् र सभाघरमा पनि उनीहरू प्रमुख आसनहरू पाउन चाहन्छन् । 7 उनीहरू बजारमा अरुले आदरपूर्वक अभिवादन गरून् भन्ने चाहन्छन् र मानिसहरूले ‘गुरुज्यू’ भनी सम्बोधन गरेको मन पराउँछन्। 8 तर तिमीहरूलाई कसैले ‘गुरुज्यू’ नभनोस् किनकि तिमीहरूका एउटै मात्र ‘गुरु’ हुनुहुन्छ, किनभने तिमीहरू सबै दाजुभाइ-दिदीबहिनीहरू हौ। 9 यस पृथ्वीमा कसैलाई ‘पिता’ भनी सम्बोधन नगर, किनभने स्वर्गमा हुनुहुने परमेश्वर नै तिमीहरूका आत्मिक पिता हुनुहुन्छ। 10 कसैले तिमीहरूलाई ‘मालिक’ नभनोस्, किनभने मालिक एक मात्र छन् र उनी मसीह हुन्। 11 तिमीहरूमध्ये जो सबैभन्दा ठूलो छ, ऊ तिमीहरूको सेवक हुनेछ। 12 तर ज-जसले आफैलाई उचाल्छन् र ठूलो बनाउन खोज्छन् उनीहरू होच्याइनेछन्, ज-जसले आफैलाई होच्याउँछन् तिनीहरू उच्च पारिनेछन्। 13 धार्मिक व्यवस्थाका शिक्षकहरू र फरिसीहरू, धिक्कार पाखण्डीहरू ! किनभने तिमीहरू आफै स्वर्गमा पस्दैनौ र अरुहरूलाई पनि पस्न दिँदैनौ। 14 धिक्कार तिमीहरूलाई, धार्मिक व्यवस्थाका शिक्षकहरू र फरिसीहरू, कपटीहरू ! किनकि तिमीहरूले विधवाहरूको घर निलिहाल्दछौ र बहानाको लागि लामा-लामा प्रार्थना गर्दछौ, त्यसैकारण तिमीहरूले अझ ठूलो दण्ड पाउनेछौ। 15 धिक्कार धार्मिक व्यवस्थाका शिक्षक र फरिसीहरू ! तिमीहरू एक जनालाई आफ्नो मतमा ल्याउन खोलानाला र जमीन चाहार्छौ र त्यसपछि त्यसलाई आफूजस्तै दोबर नरकको भागीदार बनाउँछौ। 16 धिक्कार अन्धा अगुवाहरू ! तिमीहरू भन्छौ, ‘परमेश्वरको मन्दिर छोएर शपथ खानु केही होइन, त्यो शपथ भङ्ग गर्न सकिन्छ तर मन्दिरको सुन छोएर शपथ खाने व्यक्ति त्यस शपथद्वारा बाँधिन्छ ।’ 17 तिमी अन्धा मूर्खहरू हो, कुन ठूलो हो? सुन कि सुनलाई पवित्र तुल्याउने मन्दिर? 18 अनि तिमीहरू भन्छौ, ‘वेदीलाई छोएर खाएको शपथ भङ्ग गर्नुहुन्छ तर त्यसमा राखिएको भेटीलाई छोएर शपथ खाने व्यक्ति त्यस शपथद्वारा बाँधिनेछ।’ 19 अन्धाहरू हो, भेटी ठूलो हो कि त्यसलाई पवित्र तुल्याउने वेदी? 20 वेदीलाई छोएर शपथ खानेले वेदी र त्यसमा राखिएका सबै थोकको शपथ खान्छ। 21 त्यसैगरी मन्दिरको शपथ खानेले मन्दिर र त्यसमा वास गर्नुहुने परमेश्वरको शपथ खान्छ। 22 तिमीहरूले स्वर्गको शपथ खायौ भने परमेश्वरको सिंहासन र त्यसमा विराजमान हुनुहुने परमेश्वरकै नाउँमा शपथ खाएका हुन्छौ। 23 धार्मिक व्यवस्थाका शिक्षक र फरिसीहरू, धिक्कार पाखण्डीहरू ! किनभने तिमीहरू पुदिना, सूँप र जीराका दशांश दिन होशियार रहन्छौ, तर न्याय, कृपा र विश्वासजस्ता व्यवस्थाका महत्वपूर्ण कुराको भने बेवास्ता गर्छौ। 24 अन्धा अगुवाहरू हो, तिमीहरू भुसुनालाई छानेर मिल्काउँछौ तर ऊँटलाई जानीबुझी निल्दछौ। 25 धार्मिक व्यवस्थाका शिक्षक र फरिसीहरू, धिक्कार पाखण्डीहरू ! किनभने तिमीहरू आफ्ना कचौरा र थालको बाहिरपट्टि त राम्ररी माझ्दछौ तर भित्रपट्टि तिमीहरू लोभ र असंयमले भरिएर घिनलाग्दा छौ। 26 अन्धा फरिसीहरू हो, पहिले आफ्नो कचौराको भित्रपट्टि सफा गर र त्यो बाहिरपट्टि पनि सफा हुनेछ। 27 धार्मिक व्यवस्थाका शिक्षक र फरिसीहरू, धिक्कार पाखण्डीहरू ! किनभने तिमीहरू सेतो चुनाले पोतिएका चिहानहरूजस्ता छौ, बाहिर हेर्दा तिमीहरू सुन्दर देखिन्छौ तर भित्र तिमीहरू मुर्दाका हाडहरू र सबै प्रकारका अशुद्धताले भरिएका छौ। 28 मानिसहरूका अगाडि तिमीहरू आफूलाई धर्मी देखाउने प्रयत्न गर्छौ तर तिमीहरूको हृदय कपट र व्यवस्थाहीन कुराले भरिएकोछ। 29 धार्मिक व्यवस्थाका शिक्षक र फरिसीहरू, धिक्कार पाखण्डीहरू ! किनभने तिमीहरू पुर्खाहरूले हत्या गरेका अगमवक्ताहरूका चिहान बनाउँछौ, धर्मी मानिसहरूका स्मारकहरू सिँगार्छौ। 30 त्यसपछि भन्छौ, ‘हामी भएको भए कुनै हालतमा पनि अगमवक्ताहरूको हत्यामा सहमत हुने थिएनौं।’ 31 यसो भनेर तिमीहरू आफै अगमवक्ताहरूका हत्याराका सन्तान हौं भनी पुष्टि गर्छौ। 32 आफ्ना पुर्खाहरूले थालेको काम पूरा गर। 33 हे साँपहरू, धूर्तका सन्तानहरू, तिमीहरू नरकको दण्डबाट कसरी उम्कौला? 34 यसकारण म अझै तिमीहरूकहाँ अगमवक्ताहरू, बुद्धिमान् मानिसहरू र धार्मिक व्यवस्थाका शिक्षकहरू पठाउनेछु र तिमीहरूले तिनीहरूमध्ये कसैलाई क्रूसमा टाँगेर मार्नेछौ, कसैलाई सभाघरमा कोर्रा लगाउनेछौ र कसैलाई एक शहरदेखि अर्को शहरमा खेद्नेछौ । 35 यसरी पृथ्वीमा बहाइएका धर्मीहरूको सबै रगत तिमीहरूमाथि आइपर्नेछ, धर्मी हाबिलको रगतदेखि लिएर बेरेक्याहका छोरा जकरियाको रगतसम्म, जसलाई तिमीहरूले मन्दिर र वेदीका बीचमा मार्यौ। 36 साँच्चै, म तिमीहरूलाई भन्दछु, युगौंयुगदेखि थुपारिएको दण्ड यो पुस्ताको थाप्लोमा आइलाग्नेछ। 37 ए यरूशलेम, ए यरूशलेम, अगमवक्ताहरूलाई मार्ने र परमेश्वरबाट पठाइएका मानिसहरूलाई ढुङ्गाले हान्ने शहर ! मैले तँलाई कुखुराले चल्लाहरूलाई आफ्ना पखेटाले छोपेझैँ तेरो रक्षा गर्न खोजेँ तर तैँले मानिनस्। 38 हेर्, तेरा घरहरू अब रित्ता र उजाड पारिनेछन्। 39 किनभने म तिमीहरूलाई भन्दछु, ‘प्रभुको नाउँमा आउने धन्य हुन्’ नभनेसम्म तिमीहरूले मलाई फेरि कहिल्यै देख्नेछैनौ।’’ 241 येशू मन्दिरबाट निस्केर हिँड्न लाग्नुहुँदा उहाँका चेलाहरूले उहाँलाई मन्दिरका भवनहरू देखाउन थाले।2 तर उहाँले तिनीहरूलाई भन्नुभयो, ‘‘के तिमीहरू यी भवनहरूलाई देख्दछौ? साँच्चै, म तिमीहरूलाई भन्दछु, यी सबै ध्वस्त पारिनेछन्, तिनका ढुङ्गाहरू एउटा अर्कोमाथि रहनेछैन।’’ 3 त्यसपछि येशू त्यहाँबाट निस्किएर जैतुन डाँडामा बसिरहनुभएको बेला चेलाहरू आएर सुटुक्कै सोधे, ‘‘तपाईंले भन्नुभएका यी कुराहरू कहिले हुन आउनेछन्? तपाईंको आगमन र संसारको अन्त्यको सङ्केत गर्ने चिन्ह के हुनेछ?’’ 4 येशूले तिनीहरूलाई भन्नुभयो, ‘‘कसैले पनि तिमीहरूलाई बहकाउन नपाओस्, 5 किनभने, ‘म ख्रीष्ट हुँ’ भन्दै धेरै जना मेरो नाउँमा आउनेछन् र धेरैलाई भड्काउनेछन्। 6 तिमीहरूले युद्धहरू र युद्धहरूका हल्ला सुन्नेछौ तर नआत्तिओ। यी सबै कुरा हुनैपर्छ तर अन्त्य त्यत्ति नै बेला हुनेछैन। 7 जाति-जातिको विरुद्धमा र राज्य-राज्यको विरुद्धमा युद्ध चर्किनेछ। संसारमा जताततै अनिकाल, महामारी र भूकम्पहरू हुनेछन्। 8 तर यी सबै त अन्त्य आउनुभन्दा अघिका चिन्हहरू मात्रै हुन्। 9 तब तिमीहरू पक्राउ पर्नेछौ, सताइनेछौ र मारिनेछौ। तिमीहरू मेरो नाउँको खातिर जाति-जातिहरूबाट घृणित हुनेछौ। 10 तब धेरै जना विश्वासबाट भड्किएर जानेछन् अनि एउटाले अर्कोलाई घृणा गर्नेछन् र आपसमा विश्वासघात गर्नेछन्। 11 धेरै झूटा अगमवक्ताहरू देखा पर्नेछन् र धेरैलाई बहकाउनेछन्। 12 जताततै पाप र दुष्टता बढेर जानेछ र धेरैको प्रेम सेलाउनेछ। 13 तर अन्त्यसम्मै जो स्थिर रहन्छ, त्यो बचाइनेछ । 14 सारा संसारमा सबै जातिहरूका लागि गवाहीको निम्ति राज्यको सुसमाचार प्रचार गरिनेछ, त्यसपछि अन्त आउनेछ। 15 दानिएल अगमवक्ताले बोलेको कुरा पूरा हुने समय आउनेछ : पवित्र ठाउँमा दुष्ट र घृणित थोकलाई तिमीहरूले देख्नेछौ, यो पढ्नेले यस विषयमा ध्यान देओस्। 16 त्यसपछि यहूदियामा हुनेहरू पहाडतिर भागून्। 17 घरबाहिर हुनेहरू सरसामान झिक्न घरभित्र नपसून्। 18 खेतबारीमा हुनेहरू आफ्नो लुगा लिन घरमा नफर्कून्। 19 ती दिनहरूमा दूध चुसाउने आमाहरू र गर्भवतीहरूलाई हाय ! 20 तिमीहरूको भगाइ हिउँदमा कि विश्राम-दिनमा नपरोस् भनी प्रार्थना गर, 21 किनभने संसारमा अहिलेसम्म कहिल्यै नदेखिएको र फेरि कहिल्यै नदेखिने महासङ्कष्ट आइपर्नेछ। 22 वास्तवमा, कष्टका ती दिनहरू नघटाइने हो भने कुनै पनि मानिसले त्यो सहन सक्दैन। तर परमेश्वरले चुन्नुभएकाहरूको खातिर त्यो कष्ट घटाइनेछ । 23 त्यसबेला कसैले तिमीहरूलाई ‘हेर, ख्रीष्ट यहाँ छन् कि त्यहाँ छन्’ भन्यो भने विश्वास नगर, तिनीहरूका त्यस्ता कुरालाई वास्तै नगर, 24 किनभने परमेश्वरद्वारा चुनिएकाहरूलाई समेत बहकाउने गरी चिन्हहरू र अचम्मका कामहरू गर्ने झूटा मसीह र झूटा अगमवक्ताहरू देखा पर्नेछन्। 25 हेर, मैले तिमीहरूलाई चेताउनी दिएको छु। 26 यसकारण यदि कसैले तिमीहरूलाई ‘ख्रीष्ट उजाड-स्थानमा हुनुहुन्छ’ भन्यो भने त्यहाँ गएर ख्रीष्टलाई भेट्ने मन नगर अथवा ‘ख्रीष्ट भित्री कोठाहरूमा हुनुहुन्छ’ भनी कसैले तिमीहरूलाई भन्यो भने त्यस्तो कुरामा विश्वासै नगर। 27 जसरी आकाशमा बिजुली चम्कँदा चारैतिर देखिन्छ, मानिसको पुत्रको आगमन त्यसरी नै हुनेछ। 28 गिद्धहरूको भेलाले सिनो भएको सङ्केत गरेझैँ यी चिन्हहरूले अन्त्य नजीकै छ भन्ने सङ्केत गर्नेछ। 29 ती भयानक दिनहरूको लगत्तैपछि, सूर्य अँध्यारो हुनेछ, चन्द्रमाले पनि चमक दिनेछैन। ताराहरू आकाशबाट झर्नेछन् र आकाशका शक्तिहरू डगमगाउनेछन्। 30 तब मानिसको पुत्रको आगमनको चिन्ह आकाशमा देखा पर्नेछ। तब पृथ्वीका सबै जातिहरूले विलाप गर्नेछन्। तिनीहरूले मानिसको पुत्रलाई बादलमा ठूलो महिमा र शक्तिसहित आइरहेका देख्नेछन्। 31 उनले आफ्ना स्वर्गदूतहरूलाई तुरहीको चर्को आवाजसहित पठाउनेछन् र तिनीहरूले पृथ्वी र स्वर्गको चारैतिरबाट उहाँका चुनिएकाजनलाई एकसाथ भेला गर्नेछन्। 32 नेभारोको रूखबाट एउटा कुरा सिक: जब त्यसका हाँगाहरू कोमल हुन्छन् र पालुवा हाल्छन्, तब ग्रीष्म ऋतु आएछ भनी तिमीहरू आफै थाहा पाउँछौ। 33 त्यसैगरी मैले बताएका कुरा हुनआएको देखेपछि मानिसको पुत्रको आगमन नजीकै ढोकैमा छ भन्ने जान। 34 साँच्चै, म तिमीहरूलाई भन्दछु, यी सबै कुरा पूरा नभएसम्म यो पुस्ता कुनै रीतिले बित्नेछैन। 35 स्वर्ग र पृथ्वी टलेर जानेछन् तर मेरा यी वचन कहिल्यै टल्नेछैनन्। 36 तापनि त्यो दिन वा समय कहिले हो भनी कसैलाई थाहा छैन। स्वर्गका दूतहरूले पनि त्यो भन्न सक्दैनन्, न त पुत्र आफैले, तर पितालाई मात्र थाहा छ । 37 मानिसको पुत्र जब फर्किआउनेछन्, त्यसबेला पहिले नोआको पालामा भएजस्तै हुनेछ। 38 त्यसबेला, जलप्रलय शुरु हुनुभन्दा अघि मानिसहरू खाँदै र पिउँदै आनन्द मनाइरहेका थिए। नोआ र तिनका परिवार जहाजभित्र पसुन्जेलसम्म नै बाँकी मानिसहरू विवाह-भोज आदिमा मस्त थिए। 39 जलप्रलय आएर नबगाएसम्म तिनीहरूले के हुन गइरहेको छ भनेर पत्तै पाएनन्। मानिसको पुत्र आउने बेलामा पनि त्यस्तै हुनेछ। 40 दुई जनासँगै खेतमा काम गरिरहेका हुनेछन्, एउटा लगिनेछ र अर्को छोडिनेछ। 41 दुई स्त्रीहरू जाँतोमा अन्न पिँधिरहेका हुनेछन्, एउटी लगिनेछे र अर्की छोडिनेछे। 42 त्यसकारण तिमीहरू होशियार बस, किनभने तिमीहरूका प्रभु कुन बेला आउनुहुन्छ सो तिमीहरू जान्दैनौ। 43 यो जानिराख: चोर कुन बेला आउँछ भन्ने थाहा पाएको भए घर-मालिक चनाखो भएर बस्ने थियो र उसले आफ्नो घर चोरिनबाट जोगाउने थियो। 44 तिमीहरू पनि हरपल तयार भएर बस, किनभने तिमीहरूले नसोचेको समयमा मानिसको पुत्र आउन सक्नेछन्। 45 विश्वसनीय र बुद्धिमान् दास को हो? जसलाई त्यसको मालिकले आफ्ना अरु नोकरहरू तथा आफ्नो परिवारको रेखदेख गर्ने र तिनीहरूलाई खुवाउने-पियाउने जिम्मेवारी दिनसक्छ। 46 मालिक फर्किंदा त्यसले जिम्मा लगाएको काम राम्ररी गरिरहेको भेट्टायो भने उसले त्यसलाई इनाम दिन्छ। 47 साँच्चै, म तिमीहरूलाई भन्दछु, मालिकले त्यसलाई आफ्ना सबै सम्पत्तिको जिम्मेवार व्यक्ति बनाउनेछ। 48 तर त्यो नोकर दुष्ट छ र ‘मेरा मालिक अहिल्यै फर्किहाल्नुहुन्न’ भनी सोच्छ, 49 अनि अरु नोकरहरूलाई पिरोल्छ र आफू खानपिनमा मस्त भएर बस्छ भने 50 त्यसको मालिक त्यसले आशा नगरेको समयमा सूचना नदिई टुप्लुक्कै आइपुग्नेछ। 51 उसले त्यस नोकरलाई पाता कसेर दण्ड दिनेछ र पाखण्डीहरूसँगै निकालिदिनेछ। त्यस ठाउँमा रुवाबासी र दाह्रा किटाइ हुनेछ। 251 स्वर्गको राज्यलाई दश कन्याहरूसँग तुलना गर्न सकिन्छ, जो आ-आफ्ना बत्ती लिएर दुलहालाई भेट्न गए।2 तिनीहरूमा पाँच जना निर्बुद्धिहरू थिए र पाँच जना बुद्धिमतीहरू थिए। 3 पाँच निर्बुद्धि कन्याहरूले आफूसँग जगेडा तेल बोकेका थिएनन्। 4 तर अरु पाँच बुद्धिमती कन्याहरूले जगेडा तेल आफूसँगै लगेका थिए। 5 दुलहा आउन ढीला भएको थियो, ती सबै ढल्किए र निदाइहाले। 6 मध्यराततिर तिनीहरूले यसो भनेर बोलाएको सुने,‘हेर,दुलहा आउँदैछन्। आओ र उनको स्वागत गर ।’ 7 सबै कन्याहरू उठे र आ-आफ्ना बत्ती ठीक पार्नलागे । 8 तर पाँच निर्बुद्धि कन्याहरूले बुद्धिमतीहरूलाई भने,‘तिमीहरूको तेल अलिकति हामीलाई पनि देओ, हाम्रा बत्तीहरू त निभ्नलागे।’ 9 तर बाँकी पाँच बुद्धिमतीहरूले जवाफ दिए, ‘हामीसँगै पर्याप्त तेल छैन, बरु पसलमा गएर आफ्नालागि तेल किन।’ 10 तर, जब तिनीहरू तेल किन्न पसलतिर लागे, दुलहा आइपुगे र तिनको प्रतीक्षा गरिरहेका पाँच कन्याहरू उनीसँगै विवाह-भोजमा सामेल हुन भित्र पसे र ढोका बन्द भइहाल्यो। 11 त्यसपछि, बाँकी पाँच आए र ढोका बाहिर उभिएर यसो भन्दै ढोका घचघच्याउन थाले,‘महाशय, हाम्रानिम्ति ढोका उघार्नुहोस् !’ 12 तर उनले भित्रबाट जवाफ दिए, ‘म तिमीहरूलाई चिन्दिनँ।’ 13 त्यसकारण जागा रहो र तयार भई बस, किनभने म कुन दिन, कुन बेला फर्किआउँछु, तिमीहरू जान्दैनौ। 14 त्यसैगरी, स्वर्गर्को राज्य टाढा देशमा जाने एक जना मानिसजस्तो हो, जसले आफ्ना नोकरहरूलाई बोलाएर आफ्नो सम्पत्ति तिनीहरूलाई जिम्मा दियो। 15 उसले तिनीहरूको क्षमताअनुसार एक जनालाई पाँच, अर्कोलाई दुई र अर्कोलाई एक तोडा दियो अनि आफ्नो बाटो लाग्यो। 16 पाँच तोडा पाउनेले लगानी गरिहाल्यो र दोबर कमायो। 17 दुई तोडा पाउनेले पनि लगानी गर्यो र दोबर कमायो। 18 तर एक तोडा पाउनेले मालिकको त्यो तोडा लगेर भुइँ खनेर लुकाइराख्यो। 19 धेरै समय बितेपछि मालिक फर्कियो र ती नोकरहरूसँग आफ्नो रुपियाँको हिसाब माग्यो। 20 पाँच तोडा पाउनेले भन्यो,‘हजूर तपाईंले मलाई पाँच तोडा लगानी गर्न भनेर दिनुभएको थियो। हेर्नुहोस्, मैले त्यसलाई दोबर बनाएँ।’ 21 उसको मालिकले त्यसलाई भन्यो, ‘स्याबास, तिमी मेरो असल र विश्वसनीय नोकर ! तिमीलाई मैले दिएको थोरै रकममा विश्वसनीय भयौ, त्यसैले अब म तिमीलाई धेरै जिम्मेवारीहरू दिनेछु। आऊ, मसँगै तिमी आनन्द मनाऊ।’ 22 दुई तोडा पाउनेले पनि आएर भन्यो,‘हजूर, तपाईंले मलाई दुई तोडा दिनुभएको थियो। मैले त्यसलाई दोबर बनाएको छु।’ 23 मालिकले भन्यो, ‘स्याबास, तिमी असल र विश्वसनीय नोकर ! तिमीलाई मैले दिएको थोरै रकममा विश्वसनीय भयौ, त्यसैले अब म तिमीलाई धेरै जिम्मेवारीहरू दिनेछु। आऊ, मसँगै तिमी आनन्द मनाऊ।’ 24 त्यसपछि एउटै मात्र तोडा पाउने आयो र भन्यो, ‘हजूर, तपाईं कति निर्दयी हुनुहुन्छ भन्ने कुरा मलाई थाहा छ। तपाईं आफूले नछरेको ठाउँमा बटुल्ने र नरोपेको ठाउँमा कटनी गर्ने व्यक्ति हुनुहुन्छ। 25 त्यसकारण तपाईंको तोडा हराउला भनेर मलाई डर लाग्यो र मैले यसलाई जमीनमा गाडेर राखेँ। यी, तपाईंको तोडा जस्ताको त्यस्तै छ, लिनुहोस्।’ 26 तर मालिकले त्यसलाई जवाफ दियो, ‘तँ अल्छे र दुष्ट नोकर, म त्यस्तो नछरेको ठाउँमा बटुल्ने र नरोपेको ठाउँमा कटनी गर्ने निर्दयी छु भन्ने कुरा तँलाई थाहा थियो भने त 27 तैंले त्यसलाई ब्याजमा लगाउँथिस् र कम्तीमा पनि अहिले मलाई ब्याजसहित फिर्ता गर्न ल्याउँथिस्। 28 यो नोकरबाट त्यो तोडा खोसेर दश तोडा हुनेलाई दिइहाल। 29 जसले आफूले पाएको कुराको ठीक सदुपयोग गर्छ, उसलाई अझै बढ्ता दिइनेछ र ऊसँग प्रशस्त हुनेछ । तर थोरै कुरामा विश्वसनीय नहुनेबाट भएको पनि खोसिनेछ र जससँग धेरै छ, उसैलाई दिइनेछ । 30 यस बेकम्मा नोकरलाई बाहिरको अन्धकारमा फालिदेओ, जहाँ दाह्रा किटाइ र रुवाबासी हुनेछ।’ 31 तर जब मानिसको पुत्र स्वर्गदूतहरूको साथमा आफ्नो महिमामा आउनेछ, तब ऊ आफ्नो महिमित सिंहासनमा बस्नेछ। 32 सबै जातिहरू उसको सामुन्ने खडा हुनेछन् र उसले तिनीहरूलाई गोठालोले बाख्राहरूबाट भेडाहरूलाई छुट्टयाएजस्तै छुट्टयाउनेछ। 33 उसले भेडाहरूलाई आफ्नो दाहिनेपट्टि र बाख्राहरूलाई आफ्नो देब्रेपट्टि राख्नेछ। 34 त्यसपछि दाहिनेतिरकाहरूलाई राजाले भन्नेछ, ‘मेरा पिताद्वारा आशिष् पाउनेहरू हो ! संसारको जग बसालिएकै बेलादेखि तिमीहरूको निम्ति तयार पारिएको राज्य अधिकार गर। 35 किनभने, म भोकाएको थिएँ, तिमीहरूले मलाई खान दियौ। म तिर्खाएको थिएँ र तिमीहरूले मलाई पिउन दियौ। म परदेशी थिएँ र तिमीहरूले मलाई आफ्नै घरमा निम्त्यायौ। 36 म नाङ्गो थिएँ र तिमीहरूले मलाई कपडा पहिर्यायौ। म बिमारी थिएँ र तिमीहरूले मेरो वास्ता गर्यौ। म झ्यालखानमा परेको थिएँ र तिमीहरू त्यहाँ मलाई भेट्न आयौ।’ 37 तब ती धर्मीहरूले सोध्नेछन्, ‘प्रभु, हामीले तपाईंलाई कहिले भोको देख्यौं र खान दियौं? अथवा कहिले तिर्खाएको देख्यौं र पिउन दियौं? 38 अथवा तपाईं कहिले परदेशी हुनुभएको थियो र हामीले तपाईंलाई पाहुना बनायौं? वा कहिले नाङ्गो देख्यौं र लुगा लगाइदियौं? 39 तपाईं कहिले बिरामी वा झ्यालखानमा पर्नुभएको थियो र हामी तपाईंलाई हेर्न आयौं?’ 40 राजाले तिनीहरूलाई जवाफ दिनेछ, ‘साँच्चै, म तिमीहरूलाई भन्दछु, मेरा दाजुभाइ र दिदी-बहिनीहरूमध्ये सबैभन्दा सानोलाई जे गर्यौ, त्यो तिमीहरूले मलाई नै गरेका थियौ।’ 41 त्यसपछि राजाले आफ्नो देब्रे हातपट्टिकाहरूतर्फ फर्किएर भन्नेछ, ‘ए श्रापितहरू हो ! मबाट टाढा भइजाओ। शैतान र त्यसका भूतात्माहरूको निम्ति तयार पारिएको अनन्त आगोको खाँदमा तिमीहरू पनि जाकिओ। 42 किनभने, म भोकाएको थिएँ, तिमीहरूले मलाई खान दिएनौ। म तिर्खाएको थिएँ र तिमीहरूले मलाई केही पनि पिउन दिएनौ। 43 म परदेशी थिएँ, तिमीहरूले मलाई बास बस्न दिएनौ। म नाङ्गो थिएँ र तिमीहरूले मलाई लुगा पहिर्याइदिएनौ, म बिरामी परेको र झ्यालखानमा थुनिएको थिएँ र तिमीहरू मलाई हेर्न पनि आएनौ।’ 44 तब तिनीहरूले उहाँलाई सोध्नेछन्, ‘प्रभु, हामीले तपाईंलाई कहिले भोकाएको वा तिर्खाएको, परदेशी, नाङ्गो वा बिरामी परेको कि झ्यालखानमा थुनिएको देख्यौं र?’ 45 अनि उसले जवाफ दिनेछ, ‘साँच्चै, म तिमीहरूलाई भन्दछु, मेरा दाजुभाइ र दिदीबहिनीहरूमध्ये सबैभन्दा सानोलाई तिमीहरूले सहायता गर्न इन्कार गर्यौ, त्यो तिमीहरूले मलाई नै गर्यौ।’ 46 तब तिनीहरू अनन्तको दण्डमा पर्नेछन्, तर धर्मीहरू अनन्त जीवनमा सहभागी हुनेछन्।’’ 261 येशूले यी कुरा भनिसकेपछि आफ्ना चेलाहरूलाई भन्नुभयो,2 ‘‘तिमीहरूलाई थाहा छ, अबको दुई दिनमा निस्तार-चाड शुरु हुँदैछ। त्यसबेला मानिसको पुत्र पक्राउ पर्नेछ र उसलाई तिनीहरूले क्रूसमा टाँग्नेछन्।’’ 3 त्यसैबेला प्रधान पूजाहारी कैयाफाको घरमा मुख्य पूजाहारीहरू र अरु यहूदी अगुवाहरू भेला भए। 4 तिनीहरूले येशूलाई कसरी गुप्तमा पक्रने र मार्ने भनी आपसमा छलफल गरे। 5 ‘‘निस्तार-चाडको समयमा उहाँलाई पक्रेर मार्ने काम गर्नु हुँदैन, नत्र हूलदङ्गा हुनसक्छ’’ भन्ने कुरामा तिनीहरू सहमत भए। 6 त्यसबेला येशू बेथानीमा सिमोन भन्ने एक जना कुष्ठरोगीको घरमा हुनुहुन्थ्यो, 7 खाना खाने बेलामा एउटी स्त्री हातमा सिङ्गमरमरको एउटा शीशीमा जटामसीको बहुमूल्य अत्तर लिएर भित्र आई र त्यसले येशूको शिरमा त्यो खन्याइदिई। 8 त्यो देखेर चेलाहरू रिसाए। तिनीहरूले झर्को मान्दै भने, ‘‘व्यर्थमा यति महँगो अत्तर किन खेर फालेकी? 9 त्यो बेच्दा निकै पैसा आउनेथियो र त्यो गरीबहरूलाई दिन सकिने थियो।’’ 10 तर येशूले जवाफ दिनुभयो, ‘‘तिमीहरू किन ऊसित झर्को मान्छौ? यिनले असलै गरेकी छिन्। 11 तिमीहरूसँग गरीबहरू सधैँ हुनेछन्, तर अब धेरै दिनसम्म म तिमीहरूसँग हुनेछैनँ। 12 यिनले मेरो शरीरमा लगाइदिएको यो अत्तर त मेरो दफनको निम्ति तयारी हो। 13 साँच्चै, म तिमीहरूलाई भन्दछु, संसारभरि जहाँजहाँ सुसमाचार प्रचार गरिनेछ, यिनको सम्झनास्वरूप यस कामको सधैँ चर्चा हुनेछ।’’ 14 त्यसपछि येशूका बाह्र चेलामध्येका एउटा, यहूदा इस्करियोत मुख्य पूजाहारीहरूलाई भेट्न गयो। 15 त्यसले तिनीहरूलाई सोध्यो, ‘‘मैले येशूलाई तपाईंहरूको हातमा पक्राइदिएँ भने मलाई कति दिनुहुन्छ।’’ तब तिनीहरूले उसलाई तीसवटा चाँदीका सिक्का दिए। 16 त्यसैबेलादेखि यहूदाले येशूलाई पक्राउने उचित मौका खोज्न थाल्यो। 17 अखमीरी रोटीको चाडको पहिलो दिनमा चेलाहरूले येशूकहाँ आएर सोधे, ‘‘हामीले निस्तार-चाडको भोज कहाँ तयार गरौं भन्ने तपाईं चाहनुहुन्छ।’’ 18 उहाँले तिनीहरूलाई भन्नुभयो, ‘‘तिमीहरू जब शहरमा जान्छौ, त्यहाँ एउटा मानिसलाई भेट्नेछौ, तब उसलाई भन्नू, हाम्रा गुरु भन्नुहुन्छ: ‘मेरो समय आएको छ, म तिम्रो घरमा मेरा चेलाहरूसँग निस्तार - चाडको भोजन गर्न चाहन्छु’।’’ 19 चेलाहरूले, येशूले भन्नुभएझैँ गरे र तिनीहरूले निस्तार-चाडको भोज तयार पारे। 20 साँझ परेपछि येशू आफ्ना बाह्रै चेलाहरूसँग भोजको टेबुलमा बस्नुभयो। 21 खाँदै गर्दा उहाँले भन्नुभयो, ‘‘साँच्चै म तिमीहरूलाई भन्छु, तिमीहरूमध्ये एक जनाले मलाई धोका दिनेछ।’’ 22 तिनीहरू सबै साह्रै दु:खी भए र एक-एक गर्दै तिनीहरूले उहाँलाई सोधे, ‘‘प्रभु, तपाईंलाई धोका दिने त्यो एक जना म नै त होइनँ?’’ 23 अनि उहाँले भन्नुभयो, ‘‘मसँगै खान बस्ने तिमीहरूमध्येको एक जनाले मलाई धोका दिनेछ, 24 किनकि मानिसको पुत्र त धर्मशास्त्रले धेरै अघिबाटै भनेअनुसार मर्नैपर्छ, तर धिक्कार होस् मलाई धोका दिनेलाई ! ऊ त बरु नजन्मिएको भए पनि हुन्थ्यो। ’’ 25 उहाँलाई धोका दिन तयार रहेको यहूदाले पनि उहाँलाई सोध्यो, ‘‘गुरुज्यू, तपाईंलाई धोका दिने त्यो एक जना, म नै त होइनँ?’’ उहाँले भन्नुभयो, ‘‘तिमी आफैले भनिहाल्यौ ।’’ 26 तिनीहरूले खाँदै गर्दा येशूले रोटी लिनुभयो र त्यसमा परमेश्वरको आशिष् माग्नुभयो। अनि उहाँले त्यो भाँच्नुभयो र यसो भन्दै चेलाहरूलाई बाँड्नुभयो,‘‘यो मेरो शरीर हो, लेओ र खाओ।’’ 27 त्यसपछि उहाँले अङ्गुरको रस भएको कचौरा लिनुभयो र त्यसको निम्ति परमेश्वरलाई धन्यवाद दिनुभयो। त्यो कचौरा तिनीहरूलाई दिँदै भन्नुभयो,‘‘तिमीहरू सबैले यसबाट पिओ, 28 किनभने परमेश्वर र उहाँका मानिसहरू बीचमा बाँधिएको यो नयाँ करारको रगत हो, जुन धेरैका पाप क्षमा गर्नका निम्ति बगाइन्छ। 29 तर म तिमीहरूलाई भन्दछु, मेरा पिताको राज्यमा तिमीहरूसित नयाँ रीतिले नपिएसम्म म यसलाई फेरि पिउनेछैनँ।’’ 30 त्यसपछि उहाँहरूले एउटा भजन गाउनुभयो र जैतुन डाँडातिर जानुभयो। 31 येशूले चेलाहरूलाई भन्नुभयो, ‘‘आज राती तिमीहरू सबैले मलाई त्याग्नेछौ, किनभने धर्मशास्त्रमा यसो भनिएको छ, ‘म गोठालालाई प्रहार गर्नेछु र बगालका भेडाहरू तितरबितर हुनेछन्।’ 32 तर मृतकबाट पुनर्जीवित भएपछि म तिमीहरूभन्दा अघि नै गालीलमा जानेछु र त्यहीँ तिमीहरूलाई भेट्नेछु।’’ 33 पत्रुसले उहाँको कुरा सुनेर भनिहाले, ‘‘सबै जनाले तपाईंलाई त्यागे तापनि म तपाईंलाई कहिल्यै त्याग्नेछैनँ।’’ 34 येशूले उनलाई भन्नुभयो, ‘‘पत्रुस, साँचो कुरा त के हो भने आजै राती भाले बास्नुभन्दा अघि तिमीले मलाई तीनपल्ट इन्कार गर्नेछौ।’’ 35 पत्रुसले उहाँलाई भने, ‘‘कदापि त्यस्तो हुनेछैन। म तपाईंसँगै मर्नुपरे पनि तपाईंलाई कहिल्यै त्याग्नेछैनँ।’’ अनि अरु सबैले पनि त्यसै भने। 36 त्यसपछि येशूले आफ्ना चेलाहरूलाई गेतसमनी भन्ने ठाउँमा लिएर जानुभयो। तिनीहरूलाई त्यहाँ पर्खिन लगाउँदै उहाँले भन्नुभयो, ‘‘तिमीहरू यहीँ बस्दै गर, म अलिक पर गएर प्रार्थना गर्छु।’’ 37 उहाँले पत्रुस र जब्दियाका छोरा यूहन्ना र याकूबलाई अलिक पर लैजानुभयो, उहाँ ज्यादै शोकित र व्याकुल हुन लाग्नुभयो । 38 उहाँले तिनीहरूलाई भन्नुभयो, ‘‘मेरो प्राण मृत्यु नै होलाझैँ गरी अति नै शोकले भरिएको छ, तिमीहरू यहीँ बस र मसँग जागा रहो।’’ 39 उहाँ अझै परतिर जानुभयो र घोप्टो परेर प्रार्थना गर्दै भन्नुभयो, ‘‘हे पिता, सम्भव हुन्छ भने यो दु:खको कचौरा मबाट हटाइदिनुहोस्, तैपनि मेरो इच्छाअनुसार होइन, तपाईंको इच्छाअनुसार हुन दिनुहोस्।’’ 40 त्यसपछि उहाँ चेलाहरू भएको ठाउँमा आउनुभयो र तिनीहरूलाई निदाइरहेका भेट्टाउनुभयो। उहाँले पत्रुसलाई भन्नुभयो, ‘‘के तिमी एक घण्टा पनि मसँग जागा रहन सकेनौ? 41 जागा बस र प्रार्थना गर, नत्रभने परीक्षाले तिमीलाई जित्ला। आत्मा त तयार छ तर शरीर कमजोर छ।’’ 42 फेरि उहाँले तिनीहरूलाई त्यहीँ छोडेर जानुभयो र यो प्रार्थना गर्नुभयो, ‘‘हे मेरा पिता, यदि यो कचौरा मैले नपिएसम्म हट्न सक्दैन भने तपाईंकै इच्छा पूरा होस्।’’ 43 उहाँ फेरि तिनीहरूकहाँ फर्किनुभयो र तिनीहरूलाई सुतिरहेको भेट्टाउनुभयो, किनभने तिनीहरूका आँखा निद्राले लट्ठिएका थिए। 44 तिनीहरूलाई छोडेर उहाँ फेरि जानुभयो र तेस्रोपल्ट पनि त्यही शब्दहरू दोहोर्याउँदै प्रार्थना गर्नुभयो। 45 त्यसपछि उहाँ चेलाहरूकहाँ फर्किनुभयो र भन्नुभयो, ‘‘तिमीहरू अझै निदाइरहेका छौ? के तिमीहरू अझै आराम गरिरहेका छौ ? हेर, समय आएको छ, म, मानिसको पुत्रलाई पापीहरूका हातमा सुम्पिइएको छ। 46 उठ, जाऔं। हेर, मलाई धोका दिने यहीँ छ।’’ 47 उहाँले त्यसो भन्दै गर्नुहुँदा, उहाँका बाह्र चेलाहरूमध्येको एक, यहूदा भाला र तरवार बोकेक ा सिपाहीहरूको एउटा पल्टन लिएर त्यहाँ आइपुग्यो। तिनीहरू प्रधान पूजाहारीहरू र मानिसका अरु अगुवाहरूद्वारा पठाइएका थिए। 48 ‘म जसलाई चुम्बन गर्छु, तिमीहरूले उसैलाई पक्रनू’ भनी यहूदाले पहिल्यै सङ्केत दिएको थियो। 49 त्यसकारण यहूदा सीधै येशूकहाँ आयो र ‘‘गुरु, अभिवादन !’’ भन्दै उहाँलाई चुम्बन गर्यो। 50 येशूले त्यसलाई भन्नुभयो, ‘‘मित्र, तिमी जे गर्न भनेर आएका छौ, त्यो गरिहाल।’’ ऊसँगै आएका अरु मानिसहरूले उहाँलाई पक्रे। 51 येशूसँग हुनेहरूमध्ये एक जनाले तरवार थुतेर प्रधान पूजाहारीको सेवकको कान च्वाट्टै पारिदियो। 52 येशूले उसलाई भन्नुभयो, ‘‘तिम्रो तरवार म्यानमा राख। तरवार चलाउनेहरू तरवारद्वारा नै नष्ट हुन्छन्। 53 के तिमीलाई थाहा छैन, मैले पितासँग गुहार मागेँ भने उहाँले अहिल्यै स्वर्गदूतहरूका बाह्र पल्टनभन्दा बढी मेरोनिम्ति पठाइदिनुहुन्न र? 54 तर मैले त्यसो गरेँ भने यी कुरा हुनैपर्छ भनेर धर्मशास्त्रले भनेको कसरी पूरा हुन्छ र?’’ 55 त्यसपछि येशूले भीडतिर फर्केर भन्नुभयो, ‘‘के म त्यस्तो खतरनाक अपराधी हुँ र तिमीहरू मलाई पक्रिन यसरी भाला र तरवार बोकेर आयौ ? म मन्दिरमा हुँदा किन मलाई पक्रेनौ ? म त्यहाँ दिनहुँ शिक्षा दिइरहेको हुन्थेँ। 56 तर धर्मशास्त्रमा उल्लेख भएका अगमवक्ताहरूको वचन पूरा होस् भनेर यो हुनआएको हो ।’’ त्यसैबेला उहाँका सबै चेलाहरूले उहाँलाई एकलै छोडेर भागे। 57 पक्रनेहरूले येशूलाई प्रधान पूजाहारी कैयाफाको घरमा लगे, जहाँ यहूदी अगुवाहरू र धार्मिक व्यवस्थाका शिक्षकहरू भेला भएका थिए। 58 त्यसैबेला पत्रुस येशूलाई टाढैबाट पछयाउँदै प्रधान पूजाहारीको आँगनसम्म आइपुगे। उनी भित्र पसे र त्यहाँ येशूलाई के के गरिने हो भनी हेर्न पालेहरूसँग बसे। 59 त्यहाँ, प्रधान पूजाहारी र सम्पूर्ण महासभाले येशूको विरुद्धमा झूटो साक्षी दिने मानिसको खोजी गरिरहेका थिए, जसको आधारमा तिनीहरूले उहाँलाई मृत्युदण्ड दिनसक्थे। 60 उहाँको विरोधमा झूटो गवाही दिने धेरै जना मानिसहरू भेटिए पनि तिनीहरूले प्रयोग गर्नसक्ने कुनै गवाही थिएन। आखिरीमा दुई जना भेटिए, 61 तिनीहरूले भने,‘‘यस मानिसले ‘परमेश्वरको मन्दिरलाई भत्काएर तीन दिनमा बनाउनसक्छु’ भन्यो।’’ 62 तब प्रधान पूजाहारी खडा भएर येशूलाई भने, ‘‘के तँ केही जवाफ दिँदैनस्? आफ्नो विषयमा तेरो भन्नु के छ?’’ 63 तर येशूले मुख खोल्नुभएन। त्यो देखेर प्रधान पूजाहारीले भने,‘‘जीवित परमेश्वरको नाउँमा म तँलाई सोध्छु- हामीलाई बता, के तँ परमेश्वरको पुत्र, मसीह होस्?’’ 64 येशूले जवाफ दिनुभयो,‘‘हो, तपाईंले भन्नुभएजस्तै हो। तपाईंले भविष्यमा म, मानिसको पुत्रलाई स्वर्गमा परमेश्वरको दाहिने बाहुलीतिर बसिरहेको र बादलमा फर्किआउँदै गरेको देख्नुहुनेछ।’’ 65 उहाँको कुरा सुनेर प्रधान पूजाहारीले आफ्नो वस्त्र च्याते र कराउँदै भने, ‘‘यसले त ईश्वर-निन्दा गर्दैछ। अब हामीलाई अरु साक्षीको आवश्यकता नै किन पर्यो र? तिमीहरू सबैले यसले ईश्वर-निन्दा गरेको सुन्यौ। 66 अब तिमीहरू के भन्छौ?’’ तिनीहरूले एकै स्वरमा भने, ‘‘यो दोषी छ, यसलाई मार्नुपर्छ।’’ 67 त्यसपछि तिनीहरूले येशूको मुखमा थुकेर मुक्काले हाने र कसैले यसो भन्दै थप्पड लगाए, 68 ‘‘ए मसीह, लौ हाम्रोलागि अगमवाणी गर् ! तँलाई कसले पिटयो, भन्?’’ 69 त्यसबेला पत्रुस बाहिरपट्टि आँगनमा बसिरहेका थिए। एउटी नोकर्नी उनको नजिक आई र यसो भनी, ‘‘तिमी पनि गालीली येशूसँग हुनेहरूमध्येका एक हौ, होइनौ र?’’ 70 तर त्यहाँ हुनेहरू सबैको अगाडि उनले त्यो कुरा अस्वीकार गर्दै भने, ‘‘तिमी के भनिरहेकी छयौ, मलाई केही पनि थाहा छैन।’’ 71 त्यसको केही बेरपछि बाहिरी ढोकामा अर्की नोकर्नीले पत्रुसलाई देखी र त्यहाँ हुनेहरूलाई भनी, ‘‘यो मानिस पनि नासरतको येशूसँगै थियो।’’ 72 फेरि पनि पत्रुसले यसो भनेर शपथ खाँदै अस्वीकार गरे, ‘‘म त्यस मानिसलाई चिन्दै चिन्दिनँ।’’ 73 एकैछिनपछि त्यहाँ हुनेहरूमध्ये कोही उनको नजीकै आएर भन्यो, ‘‘तिम्रो चालढाल नै गालीली देखिन्छ, यसकारण तिमी पनि तिनीहरूमध्येका एक हौ भनी हामी भन्न सक्छौं।’’ 74 तब पत्रुसले आफैलाई धिक्कार्दै शपथ खाएर तिनीहरूलाई भने, ‘‘ म त्यस मानिसलाई चिन्दै चिन्दिनँ !’’ उनले यसो भन्नेबित्तिकै भाले बास्यो। 75 तब येशूले भन्नुभएको कुरा पत्रुसलाई याद भयो । उहाँले यसो भन्नुभएको थियो, ‘‘भाले बास्नभन्दा अघि तिमीले मलाई तीनपल्ट इन्कार गर्नेछौ।’ त्यसपछि उनी त्यहाँबाट निस्केर गए र पछुतो गर्दै रोए। 271 येशूलाई मृत्युदण्ड दिलाउन कसरी रोमी शासक सामु पुर्याउने भनी सरसल्लाह गर्न एकाबिहानै पूजाहारीहरू र अरु अगुवाहरू भेला भए।2 तिनीहरूले उहाँलाई बाँधे र रोमी शासक पन्तियस पिलातसकहाँ लगे। 3 तिनीहरूले येशूलाई मृत्युदण्ड नै दिन लागेका छन् भन्ने थाहा पाएपछि उहाँलाई धोका दिने यहूदालाई पछुतो लाग्यो। त्यसकारण उसले मुख्य पूजाहारीहरू र अन्य अगुवाहरूकहाँ तीस चाँदीका सिक्का फिर्ता गर्यो। 4 उसले भन्यो, ‘‘मैले निर्दोष व्यक्तिलाई धोका दिएर ठूलो पाप गरेँ।’’ तिनीहरूले उसको उपहास गर्दै भने, ‘‘हामी के गरौं त? तिमी आफै जान।’’ 5 तब यहूदाले ती सिक्का मन्दिर अगाडि फ्याँक्यो र बाहिर गएर झुन्डिएर आत्महत्या गर्यो। 6 पूजाहारीहरूले त्यो पैसा बटुले। तिनीहरूले भने, ‘‘हत्यारालाई दिइएको यो पैसा हामीले मन्दिरको ढुकुटीमा राख्नु उचित हुँदैन, किनकि यो रगतको मोल हो।’’ 7 केही बेरको छलफलपछि तिनीहरूले त्यस पैसाले कुम्हालेको जमीन किनेर त्यसलाई परदेशीहरूको चिहानघारी बनाउने निर्णय गरे। 8 त्यसैकारणले गर्दा, त्यस ठाउँलाई अझै पनि रगतको जमीन भनिन्छ । 9 यसरी यर्मिया अगमवक्ताको अगमवाणी पूरा भयो, ‘‘इस्राएलका मानिसहरूद्वारा तोकिएको उहाँको मोल तीस टुक्रा चाँदीबाट मैले, 10 परमप्रभुले अह्राउनुभएअनुसार कुम्हालेको जमीन किनेँ।’’ 11 येशू रोमी शासक पिलातसको सामुन्ने उभिनुभएको थियो। उनले येशूलाई सोधे, ‘‘के तिमी यहूदीहरूका राजा हौ?’’ येशूले जवाफ दिनुभयो,‘‘तपाईं नै भन्नुहुन्छ।’’ 12 तर मुख्य पूजाहारीहरू र अन्य अगुवाहरूले उहाँलाई दोष लगाउँदा उहाँ चुप लागिरहनुभयो । 13 पिलातसले सोधे, ‘‘यिनीहरूले तिमीमाथि आरोप लगाएको सुनेनौ?’’ 14 तर उहाँले केही पनि प्रतिवाद नगर्नुभएको देखेर तिनी छक्क परे। 15 निस्तार-चाडको अवसरमा जनताले चाहेको कुनै एउटा कैदीलाई झ्यालखानबाट छोडिदिने चलन थियो। 16 त्यसबेला एक जना बारब्बा भनिने कुख्यात अपराधी झ्यालखानमा थियो। 17 त्यस बिहानी मानिसहरू आफ्नो घरमा भेला भइरहेकै मौका पारेर पिलातसले सोधे, ‘‘म कसलाई छोडिदिऊँ भन्ने तिमीहरू चाहन्छौ- बारब्बा कि मसीह कहलिएका येशूलाई?’’ 18 यहूदी अगुवाहरूले येशूलाई ईर्ष्या गरेर मात्रै पक्रिएका हुन् भन्ने कुरा उनले राम्ररी बुझेका थिए। 19 पिलातस आफ्नो न्याय-आसनमा बसिरहेकै बेला उनकी पत्नीले उनलाई यसो भन्ने खबर पठाइन्: ‘‘त्यस धर्मीजनलाई छोडिदिनुहोस्, किनभने हिज राती मैले तिनको विषयमा डरलाग्दो सपना देखेकी थिएँ।’’ 20 त्यसैबेला मुख्य पूजाहारीहरू र अन्य अगुवाहरूले मानिसहरूलाई यसो भनेर हल्ला मच्चाउन लगाए- ‘बारब्बालाई छोडिदिनुहोस् र तिनको बदलामा येशूलाई मृत्युदण्ड दिनुहोस्।’ 21 त्यसकारण, पिलातसले दोहोर्याएर सोधे, ‘‘यी दुईमध्ये म कसलाई छोडिदिऊँ भन्ने चाहन्छौ?’’ भीडले उच्च स्वरमा भन्यो, ‘‘बारब्बालाई।’’ 22 पिलातसले आग्रह गर्दै भने, ‘‘तर मैले बारब्बालाई छोडिदिएँ भने मसीह कहलिएका येशूलाई के गरौं त?’’ अनि तिनीहरू सबै जना कराए,‘‘त्यसलाई क्रूसमा टाँग्नुहोस्।’’ 23 पिलातसले सोधे, ‘‘किन? यिनले त्यस्तो के अपराध गरेका छन् र ?’’ तर भीडले अझ चर्को स्वरमा कराउँदै भन्यो, ‘‘त्यसलाई क्रूसमा टाँग्नुहोस्।’’ 24 आफ्नो केही सीप नलागेको र त्यसको सट्टामा झन् कोलाहल मच्चिएको देखेर पिलातसले पानी लिएर भीडका सामु यसो भन्दै आफ्नो हात धोए : ‘‘म यस धर्मी मानिसको रगतदेखि निर्दोष छु, तिमीहरू आफै जान।’’ 25 तब भीडले जवाफ दिँदै भन्यो, ‘‘त्यसको दोष हामीलाई नै लागोस्। त्यो रगतको दोष हामी र हाम्रा सन्तानमा परोस्।’’ 26 यसरी पिलातसले तिनीहरूका निम्ति बारब्बालाई छोडिदिए र येशूलाई कोर्रा लगाउने हुकुम दिएर क्रूसमा टाँग्न रोमी सिपाहीहरूको जिम्मा लगाइदिए। 27 रोमी शासकका केही सिपाहीहरूले येशूलाई पल्टनमा लगे र जम्मै फौजलाई बोलाए। 28 तिनीहरूले उहाँलाई नाङ्गोझार पारे र शाही पोशाक लगाइदिए। 29 तिनीहरूले काँडैकाँडाले भरिएको एउटा मुकुट गुँथेर उहाँको शिरमा लगाइदिए र उहाँको हातमा एउटा निगालोको लौरो राखिदिए अनि उहाँको सामुन्ने घुँडा टेक्दै यसो भनेर गिल्ला गरे,‘‘हे यहूदीहरूका राजा, जय होस् !’’ 30 त्यसपछि तिनीहरूले उहाँलाई थुके र उहाँको हातको लौरो खोसेर उहाँको शिरमा हिर्काए। 31 यसरी गिल्ला गरेर थाकेपछि, तिनीहरूले त्यो शाही पोशाक फुकाले र उहाँको आफ्नै वस्त्र लगाइदिए। त्यसपछि उहाँलाई क्रूसमा टाँग्न भनेर लगे। 32 बाटोमा जाँदै गर्दा कुरेनीबाट आएको एक जना सिमोन भनिने मानिसलाई तिनीहरूले भेट्टाए र उसलाई येशूको क्रूस बोक्न कर लगाए। 33 तब तिनीहरू शहरभन्दा बाहिर गलगथा भनिने ठाउँमा पुगे(गलगथाको अर्थ खप्परे डाँडा हुन्छ)। 34 सिपाहीहरूले येशूलाई पित्त मिसाएको सिर्का पिउन दिए तर त्यो चाखेर उहाँले पिउन मान्नुभएन। 35 तिनीहरूले उहाँलाई क्रूसमा टाँगिसकेपछि उहाँको वस्त्र कसले लिने भनी गोला हाले र बाँडे। यो भविष्यवक्ताद्वारा बोलिएका वचन पूरा हुनलाई भएको हो: तिनीहरूले मेरा वस्त्रहरू आपसमा बाँडे र मेरा पोशाकका लागि गोला हाले । 36 त्यसपछि तिनीहरू वरिपरि बसेर उहाँलाई पहरा दिए। 37 उहाँको शिरमास्तिर तिनीहरूले दोषपत्र टाँसिदिए। त्यसमा यस्तो लेखिएको थियो : ‘‘यो यहूदीहरूको राजा, येशू हो।’’ 38 दुई जना अपराधीहरूलाई पनि उहासँगै, उहाँको दायाँ-बायाँतिर क्रूसमा टाँगिएको थियो। 39 आउने - जाने मानिसहरूले आफ्नो मुन्टो हल्लाउँदै उहाँको गिल्ला गर्नलागे, 40 ‘‘मन्दिरलाई भत्काएर तीनै दिनमा बनाउँछु भन्ने तैँ होइनस्? आफैलाई बचा र तँ साँच्चै परमेश्वरको पुत्र होस् भने क्रूसबाट ओर्लिआइज।’’ 41 मुख्य पूजाहारीहरू, धार्मिक व्यवस्थाका शिक्षकहरू र अरु यहूदी अगुवाहरूले पनि त्यसरी नै येशूको गिल्ला गर्दै भने, 42 ‘‘यसले अरुलाई त बचायो तर आफैलाई बचाउन सकेन। यो यहूदीहरूको राजा हो त? यदि हो भने क्रूसबाट तल ओर्लिआओस् र हामी विश्वास गरौंला। 43 उसले परमेश्वरमा भरोसा राख्दथ्यो, यदि परमेश्वरले चाहनुहुन्छ भने उहाँले उसलाई बचाऊन् किनकि उसले भन्थ्यो, ‘म परमेश्वरको पुत्र हुँ’ ।’’ 44 उहाँसँगै टाँगिएका अपराधीहरूले समेत त्यसैगरी उहाँको अपमान गरे। 45 मध्यदिनमा चारैतिर अँध्यारो भयो र दिउँसोको प्राय : तीन बजेसम्म नै अन्धकार भइरह्यो। 46 तीन बजेतिर येशू यसो भनेर जोडले कराउनुभयो, ‘‘एली, एली, लामा सबखथनी?’’ यसको अर्थ हो, ‘हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईंले मलाई किन त्याग्नुभयो?’ 47 त्यहाँ उभिनेहरूमध्ये कतिले उहाँको कुरा बुझ्नसकेनन् र भने, ‘‘यसले एलियालाई बोलाउँदै छ।’’ 48 तिनीहरूमध्ये एउटाले दगुरेर गई अमिलिएको अङ्गुरमद्य स्पन्जमा चोपेर निगालोको टाँगोमा राखी उहाँलाई पिउन दियो। 49 तर अरुले भने, ‘‘पर्ख, तिनलाई एकलै छोडिदिऔं, कतै एलिया आएर तिनलाई बचाउने हुन् कि हेरौं।’’ 50 येशू फेरि जोडले कराउनुभयो र आफ्नो प्राण त्याग्नुभयो। 51 त्यसैबेला मन्दिरको पर्दा टुप्पादेखि फेदसम्मै दुई भाग भएर बीचैमा च्यातियो, पृथ्वी काँप्यो र चट्टानहरू फुटे। 52 चिहानहरू उघ्रिए र पहिल्यै मरिगएका सन्तहरूका मृत-शरीरहरू जीवित भई उठे, 53 अनि येशू मृत्युबाट पुनर्जीवित भएपछि, तिनीहरू चिहानबाट निस्क े र येशूसँग पवित्र शहर यरूशलेममा गए र धेरै मानिसहरूकहाँ देखा परे। 54 त्यहाँ पहरा दिएर बसेका रोमी कप्तानहरू भूकम्प र त्यहाँ भएका घटनाहरूद्वारा भयभीत भए । तिनीहरूले भने, ‘‘यिनी त साँच्चै परमेश्वरका पुत्र रहेछन्।’’ 55 गालीलबाट आएका धेरै जना स्त्रीहरूले टाढै बसेर ती घटनाहरू हेरिरहेका थिए। 56 तिनीहरूमा मरियम मग्दलिनी, याकूब र योसेसकी आमा मरियम अनि याकूब र यूहन्नाकी आमा जब्दियाकी पत्नी थिए। 57 साँझ परेपछि अरिमाथिया बस्ने एक जना धनी मानिस, योसेफ - जो येशूलाई पछयाउनेहरूमध्ये एक थिए, 58 उनी पिलातसकहाँ गए र येशूको मृत-शरीर पाऊँ भनी विन्ती गरे। तब पिलातसले उहाँको मृत-शरीर क्रूसबाट उतारेर योसेफलाई दिनू भनी हुकुम गरे। 59 योसेफले येशूको मृत-शरीरलाई लामो सुतीको कपडाले बेह्रे। 60 तब उनले चट्टानमा कपेर आफ्नैलागि बनाएको नयाँ चिहानमा उहाँलाई राखे। अनि बाहिर निस्केर एउटा ठूलो ढुङ्गो गुडाएर त्यसको मुख थुनिदिए। 61 मरियम मग्दलिनी र अर्की मरियम, दुवै नजीकै बसेर उहाँलाई चिहानमा राखेको हेरिरहेका थिए। 62 त्यसको भोलिपल्ट निस्तार-चाडको पहिलो दिन मुख्य पूजाहारीहरू र फरिसीहरू पिलातसकहाँ गएर अनुरोध गरे। 63 तिनीहरूले उनलाई भने, ‘‘हजूर, त्यस ठगले जिउँदो हुँदा ‘म तेस्रो दिनमा फेरि मृतकबाट जीवित हुनेछु’ भनी भनेको कुरा हामीलाई सम्झना छ। 64 त्यसकारण तीन दिन नबितेसम्म त्यसको चिहानमा सिलछाप लगाएर पहरेदार खटाइदिनुहोस् भनी हामी तपाईंसँग अनुरोध गर्छौं। त्यसो भयो भने, उसका चेलाहरूले त्यसलाई त्यहाँबाट चोरेर लैजान पाउँदैनन् र ‘त्यो फेरि जीवित भयो’ भनेर हल्ला फिँजाउन पनि पाउँदैनन्। यदि तिनीहरूले त्यसो गर्न पाए भने त पहिलेको भन्दा पनि अझ नराम्रो स्थिति आउनसक्छ।’’ 65 पिलातसले जवाफ दिए, ‘‘तिमीहरूको आफ्नै पहरा छँदैछ, जाओ र सकेसम्म राम्ररी पहरा दिन लगाओ।’’ 66 त्यसरी तिनीहरूले चिहानको मुखमा सिलछाप लगाए र त्यसको सुरक्षा गर्न पहरेदारहरू खटाए । 281 आइतवार बिहानै रिमरिम उज्यालो हुँदा मरियम मग्दलिनी र अर्की मरियम चिहान हेर्न भनेर गए।2 अचानक त्यहाँ ठूलो भूकम्प गयो, किनकि स्वर्गबाट एक जना प्रभुका दूत ओर्लिआए र चिहानको ढुङ्गो हटाएर त्यसमाथि बसे। 3 तिनको अनुहार चम्किलो ज्योतिजस्तै थियो र तिनको वस्त्र पनि हिउँजस्तै सेतो थियो। 4 पहरामा खटिएका सिपाहीहरू तिनलाई देखेर डरले मूर्च्छा परे। 5 तब स्वर्गदूतले ती स्त्रीहरूलाई भने, ‘‘नडराओ, मलाई थाहा छ, तिमीहरू क्रूसमा टाँगिनुभएको येशूलाई खोज्दैछौ। 6 उहाँ त यहाँ हुनुहुन्न। उहाँले भन्नुभएझैँ उहाँ मृत्युबाट जीवित हुनुभएको छ। उहाँलाई राखिएको ठाउँमा आएर हेर। 7 अब तिमीहरू चाँडो गरी जाओ र उहाँ मृत्युबाट पुनर्जीवित हुनुभयो भनी उहाँका चेलाहरूलाई सुनाओ। उहाँ तिमीहरूभन्दा अघि नै गालीलमा जानुभएको छ। मैले तिमीहरूलाई भनेको कुरा याद राख, तिमीहरूले उहाँलाई त्यहीँ भेट्टाउनेछौ।’’ 8 ती स्त्रीहरू चिहानबाट तुरुन्तै दौडिएर गए। तिनीहरू डराएका थिए, तापनि अत्यन्तै खुशीले भरिएका थिए। तिनीहरू चेलाहरूलाई भेटेर त्यो खबर सुनाउन ज्यादै हतारिएका थिए। 9 तिनीहरू जाँदै गर्दा बाटोमा येशूले भेट्नुभयो र उहाँले अभिवादन गर्नुभयो। तिनीहरू दौडिँदै गएर उहाँको पाउमा परे र उहाँको आराधना गरे । 10 तब येशूले तिनीहरूलाई भन्नुभयो, ‘‘नडराओ, गएर मेरा भाइहरूलाई गालीलमा जानू भनिदेओ। तिनीहरूले मलाई त्यहाँ भेट्टाउनेछन्।’’ 11 ती स्त्रीहरू शहरतिर जाँदै गर्दा चिहानमा पहरा दिएर बस्ने सिपाहीहरू मुख्य पूजाहारीहरूकहाँ गए र सबै खबर बताए। 12 सबै धार्मिक अगुवाहरूको बैठक डाकियो र तिनीहरूले सल्लाह गरेर सिपाहीहरूलाई धेरै घूस दिए। 13 तिनीहरूले भने, ‘‘तिमीहरूले ‘हामी सुतिरहेको बेला राती येशूका चेलाहरू आए र उसलाई चोरेर लगे’ भन्नू। 14 यदि हाकिमले यो कुरा सुने भने हामी छौं, हामी नै तिमीहरूको पक्षमा बोलौंला र सबै कुरा ठीक हुनेछ।’’ 15 त्यसरी ती सिपाहीहरूले घूस लिए र तिनीहरूले भनेझैँ भनिदिए । त्यही कुरा यहूदीहरूमाझ व्यापकरूपमा फैलियो र उनीहरू आजसम्मै त्यसै भन्छन्। 16 तब एघारै जना चेलाहरू गालीलतिर लागे, तिनीहरू येशूले भन्नुभएझैँ त्यहाँको एउटा डाँडामा गए। 17 जब तिनीहरूले येशूलाई भेटे, तब उहाँलाई दण्डवत् गरे तर कतिले अझै शङ्का गरे। 18 येशू तिनीहरूको नजिकै आउनुभयो र आफ्ना चेलाहरूलाई भन्नुभयो, ‘‘स्वर्ग र पृथ्वीमा सम्पूर्ण अधिकार मलाई दिइएको छ। 19 यसकारण, जाओ र सबै जातिका मानिसहरूलाई चेला बनाओ। तिनीहरूलाई पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा देओ। 20 मैले तिमीहरूलाई दिएका सबै आज्ञाहरू पालन गर्न ती चेलाहरूलाई सिकाओ। हेर, यस कुरामा तिमीहरू निश्चित होओ : संसारको अन्त्यसम्म नै म तिमीहरूको साथमा छु।’’ |