MARKमर्कुसChapter 11 परमेश्वरका पुत्र येशू ख्रीष्टको बारेमा सुसमाचारको सुरुआत :2 यशैया अगमवक्ताको पुस्तकमा परमेश्वरले भन्नुभयो : ‘‘हेर, म मेरो सन्देशवाहकलाई तिम्रो अगिअगि पठाउँदै छु, उसले तिम्रो निम्ति बाटो तयार पार्नेछ। 3 ऊ उजाड-स्थानमा कराउनेको आवाज हो: ‘प्रभुको आगमनको निम्ति बाटो बनाऊ, उहाँको निम्ति बाटो सीधा बनाऊ’।’’ 4 यो सन्देशवाहक बप्तिस्मा दिने यूहन्ना थिए। उनी उजाड-स्थानमा बस्थे र पापमोचनको लागि पश्चात्तापको बप्तिस्माको प्रचार गर्थे । 5 यरूशलेम र सारा यहूदियाका मानिसहरू यूहन्नाको प्रचार सुन्न उजाड-स्थानमा आउँथे। जब तिनीहरूले आफ्ना पाप स्वीकार गरे तब तिनीहरूलाई उनले यर्दन नदीमा बप्तिस्मा दिए। 6 उनले ऊँटको रौंबाट बुनेको वस्त्र लगाएका र कम्मरमा छालाको पेटी बाँधेका थिए। उनको भोजन सलह र वन-मह थियो। 7 उनले घोषणा गरे,‘‘एक जना चाँडै आउँदै हुनुहुन्छ, उहाँ मभन्दा धेरै शक्तिशाली हुनुहुन्छ, म त निहुरेर उहाँको जुत्ताको फित्ता खोल्ने योग्यको पनि छैनँ। 8 म तिमीहरूलाई पानीले बप्तिस्मा दिन्छु तर उहाँले तिमीहरूलाई पवित्र आत्माले बप्तिस्मा दिनुहुनेछ।’’ 9 एक दिन येशू नासरतबाट गालीलमा आउनुभयो र यूहन्नाद्वारा यर्दन नदीमा बप्तिस्मा लिनुभयो। 10 जब उहाँ पानीबाट बाहिर निस्किनुभयो, आकाश उघ्रियो र पवित्र आत्मालाई ढुकुरझैँ उहाँमाथि आउँदै गरेको उनले देखे। 11 अनि स्वर्गबाट यसो भन्ने आवाज आयो, ‘‘यिनी मेरा प्रिय पुत्र हुन्, म यिनीसँग प्रसन्न छु।’’ 12 तुरुन्तै पवित्र आत्माले येशूलाई उजाड-स्थानतिर लैजानुभयो। 13 उहाँ त्यहाँ चालीस दिनसम्म शैतानबाट परीक्षित हुँदै बस्नुभयो। उहाँ जङ्गली जनावरहरूको बीचमा एकलै रहनुभयो र स्वर्गदूतहरूले उहाँको सेवाटहल गरे। 14 राजा हेरोद एन्टिपासले बप्तिस्मा दिने यूहन्नालाई पक्रेको लगत्तैपछि येशू गालीलमा परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्न जानुभयो। 15 उहाँले प्रचार गर्न थाल्नुभयो, ‘‘समय पूरा भएको छ र परमेश्वरको राज्य नजिकै छ । आ-आफ्ना पापबाट फर्क र यो सुसमाचारमा विश्वास गर। ’’ 16 एक दिन गालील समुद्रको किनारमा जाँदै गर्नुहुँदा येशूले सिमोन र तिनका दाजु अन्द्रियासलाई जाल लिएर माछा मार्दै गरेको भेट्नुभयो, किनभने तिनीहरूको पेशा नै माछा मार्ने थियो । 17 येशूले तिनीहरूलाई बोलाउनुभयो, ‘‘आओ, मलाई पछयाओ। म तिमीहरूलाई मानिसहरू पक्रिने जालहारी बनाउँछु।’’ 18 तिनीहरूले त्यसैबेला आफ्ना जालहरू त्यहीँ छोडे र उहाँको पछि लागे। 19 त्यसको केही पर येशूले जब्दियाका छोराहरू, याकूब र यूहन्नालाई डुङ्गामा बसेर जाल तुन्दै गरेको देख्नुभयो। 20 उहाँले तिनीहरूलाई पनि बोलाउनुभयो र तुरुन्तै तिनीहरूले आफ्ना बुबा जब्दियालाई ज्यामीहरूसँग डुङ्गामा नै छोडेर उहाँको पछि लागे। 21 येशू र उहाँका साथीहरू कफर्नहुममा जानुभयो अनि हरेक विश्राम-दिनमा उहाँले सभाघरमा गएर शिक्षा दिने गर्नुहुन्थ्यो। 22 मानिसहरू उहाँको शिक्षामा चकित भए, किनभने उहाँले धार्मिक व्यवस्थाका शिक्षकहरूले जस्तो होइन तर साँच्चैको अख्तियार प्राप्त व्यक्तिले जस्तो सिकाउनुभयो। 23 दुष्टात्माद्वारा सताइएको एउटा मानिस सभाघरमा थियो, 24 त्यो मानिस चिच्च्याउन थाल्यो, ‘‘हे नासरतका येशू, तपाईं हामीलाई किन दु:ख दिनुहुन्छ? के तपाईं हामीलाई नाश गर्न आउनुभएको हो? म जान्दछु, तपाईं परमेश्वरबाट पठाइनुभएका अति पवित्र व्यक्ति हुनुहुन्छ।’’ 25 येशूले त्यसलाई त्यसभन्दा बढ्ता बोल्न दिनुभएन र उहाँले त्यसलाई हप्काएर भन्नुभयो, ‘‘चुप लाग् र त्यस मानिसबाट निस्किआइज ।’’ 26 त्यस मानिसलाई लछारपछार पारेर, ठूलो स्वरले चिच्च्याउँदै त्यो दुष्टात्मा त्यसबाट निस्केर गयो। 27 त्यो देखेर सबै जनाले अचम्म माने। तिनीहरू आपसमा यसो भन्दै छलफल गर्नथाले, ‘‘यो के हो? यो त नयाँ शिक्षा पो रहेछ। यिनको शिक्षामा ठूलो अख्तियार छ। भूतात्माहरूले समेत यिनको आदेश मान्दारहेछन् !’’ 28 उहाँले गर्नुभएको कामको चर्चा चाँडै गालील वरिपरिका सबै क्षेत्रभरि फैलियो। 29 येशू र उहाँका चेलाहरू सभाघरबाट निस्किएपछि उहाँहरू सिमोन र अन्द्रियासको घरमा जानुभयो, यूहन्ना र याकूब पनि साथमै थिए। 30 सिमोनकी सासू ज्वरोले थलिएकी थिइन्, त्यसैबेला तिनको विषयमा तिनीहरूले येशूलाई सुनाए। 31 उहाँ तिनको छेउमा जानुभयो अनि जब उहाँले तिनका हात समातेर उठ्न मदत गर्नुभयो, ज्वरोले तत्कालै छोडयो अनि तिनी उठिन् र उहाँको निम्ति भोजन बनाउनमा सहायता गर्न लागिन्। 32 त्यसै साँझमा, घाम अस्ताउनलाग्दा मानिसहरूले धेरै जना रोगी-बिमारी र भूतात्माले सताइएकाहरूलाई उहाँकहाँ ल्याए। 33 अनि सारा कफर्नहुमबाट आएका मानिसहरूको ठूलो भीड उहाँलाई हेर्न ढोकामा भेला भए। 34 त्यसकारण, येशूले विभिन्न किसिमका रोगले ग्रस्त धेरै जना रोगी-बिमारीहरूलाई निको पार्नुभयो र धेरै जना व्यक्तिहरूमा भएका भूतात्माहरूलाई उहाँले निस्किजाने आज्ञा दिनुभयो र उहाँले दुष्टात्माहरूलाई बोल्न दिनुभएन, किनकि तिनीहरूले उहाँलाई चिन्थे। 35 बिहान उज्यालो हुनुभन्दा निकै अगाडि नै येशू उठ्नुभयो र प्रार्थना गर्नको लागि एकलै उजाड-स्थानमा जानुभयो। 36 पछि सिमोन र अरु पनि उहाँलाई खोज्न त्यतै गए। 37 तिनीहरूले उहाँलाई भेटेर भने, ‘‘सबैले तपाईंलाई खोजिरहेका छन्।’’ 38 तर उहाँले जवाफ दिनुभयो, ‘‘हामी अरु गाउँहरूमा पनि जानुपर्छ, त्यहाँ पनि मैले प्रचार गर्नुपर्छ, किनभने म यही कामको निम्ति आएको हुँ।’’ 39 यसरी उहाँ सभाघरहरूमा प्रचार गर्दै र धेरै मानिसहरूबाट भूतात्माहरू निकाल्दै गालीलको सम्पूर्ण इलाकाभरि घुम्नुभयो। 40 एउटा कुष्ठरोगी येशूको अगाडि आयो र यसो भन्दै घुँडा टेकेर विन्ती गर्यो, ‘‘यदि तपाईंले चाहनुभयो भने म निको हुनेछु।’’ 41 दयाले भरिएर उहाँ अघि बढ्नुभयो र त्यसलाई छोएर भन्नुभयो, ‘‘म इच्छा गर्छु, निको होऊ ।’’ 42 तत्कालै कुष्ठरोगले उसलाई छोडयो, र ऊ शुद्ध भयो। 43 उहाँले त्यसलाई कडा आज्ञा दिएर तुरुन्तै पठाउनुभयो, 44 अनि उहाँले त्यसलाई भन्नुभयो, ‘‘बाटोमा कसैसँग केही नबोल। जाऊ र आफैलाई पूजाहारीकहाँ देखाऊ अनि मोशाको व्यवस्थामा लेखिएअनुसार कुष्ठरोगबाट शुद्ध भएपछि लैजानुपर्ने भेटी लिएर जाऊ र यसरी तिमी निको भएको प्रमाण सबैले देखून्।’’ 45 तर त्यो मानिस त्यहाँबाट निस्किनसाथ भेटेजति सबैलाई, आफूलाई के भएको थियो सो कुरा सुनाइदियो । फलस्वरूप मानिसहरूको ठूलो भीडले येशूलाई घेर्न थाले। त्यसकारण उहाँखुल्लमखुल्ला कुनै पनि शहरमा पस्न सक्नुभएन, उहाँले एकान्त ठाउँमै बस्नुपर्ने भयो र मानिसहरू येशूलाई भेट्न त्यहीँ आउन थाले। 21 केही दिनपछि येशू कफर्नहुममा फर्किनुभयो र उहाँ, त्यहाँ आइपुग्नुभएको खबर तुरुन्तै फैलिहाल्यो।2 उहाँ बस्नुभएको घर एकैछिनमा भरियो, ढोका वरिपरिसमेत मानिसहरू बस्ने ठाउँ थिएन। येशूले तिनीहरूलाई वचन प्रचार गर्नुभयो। 3 एउटा पक्षाघातीलाई गुन्द्रीमा राखेर चार जना मानिसहरू त्यहाँ आए। 4 भीडको कारण तिनीहरू भित्र पस्न सकेनन्। त्यसकारण तिनीहरू छानामा चढेर येशू बस्नुभएको ठीक माथिको छाना उप्काए र त्यहाँबाट तिनीहरूले त्यस बिमारीलाई गुन्द्रीसहित येशूको अघिल्तिर झारे। 5 तिनीहरूको विश्वास देखेर येशूले त्यस पक्षाघातीलाई भन्नुभयो, ‘‘छोरा, तिम्रा पाप क्षमा भएका छन्।’’ 6 तर त्यहाँ बसिरहेका कोही-कोही धार्मिक व्यवस्थाका शिक्षकहरूले आपसमा भने, 7 ‘‘के यो ईश्वर-निन्दा होइन? परमेश्वरबाहेक अरु कसले पाप क्षमा गर्नसक्छ?’’ 8 तिनीहरू आपसमा के भन्दैछन् भन्ने कुरा चाल पाएर येशूले भन्नुभयो, ‘‘तिमीहरू यसलाई किन ईश्वर-निन्दा भन्छौ? 9 कुन सजिलो, पक्षाघातीलाई ‘तिम्रा पाप क्षमा भए’ भन्नु कि, ‘उठ र आफ्नो गुन्द्री उठाएर घर जाऊ’ भन्नु? 10 तर पुष्टि गरिदिन्छु, म, मानिसको पुत्रलाई पाप क्षमा गर्ने अधिकार छ।’’ अनि उहाँ त्यस पक्षाघातीतिर फर्किनुभयो र भन्नुभयो, 11 ‘‘उठ, तिम्रो गुन्द्री उठाऊ र घर जाऊ, किनभने तिमी निको भएका छौ।’’ 12 त्यो मानिस बुर्लुक्कै उफ्रिएर खडा भयो र आफ्नो गुन्द्री बोकेर सबैलाई छक्क पार्दै बाटो लाग्यो। त्यो देखेर त्यहाँ हुने सबैले परमेश्वरको प्रशंसा गर्दै भने,‘‘यसभन्दा पहिले हामीले कहिल्यै यस्तो देखेका थिएनौं !’’ 13 त्यसपछि येशू फेरि झीलको किनारमा जानुभयो र त्यहाँ भेला भएका मानिसहरूलाई उहाँले शिक्षा दिनुभयो। 14 उहाँ त्यस ठाउँबाट जाँदै गर्नुहुँदा महसुल उठाउने अड्डामा अल्फयसका छोरो मत्तीलाई बसिरहेको देख्नुभयो। उहाँले तिनलाई बोलाउनुभयो, ‘‘आऊ, तिमी मेरोपछि लाग।’’ त्यो सुनेर लेवी जुरुक्कै उठे र उहाँको पछि लागे। 15 त्यस बेलुकी लेवीले येशू र उहाँका अरु चेलाहरूलाई आफ्नो घरमा भोजन गर्न निम्त्याए। उहाँ तिनको घरमा भोजन गर्न बस्नुहुँदा त्यहाँ अरु धेरै जना महसुल उठाउनेहरू र अरु पापीहरू पनि सामेल भएका थिए। येशूलाई पछयाउनेहरूमा धेरै जना त्यस्ता मानिसहरू थिए। 16 तर धार्मिक व्यवस्थाका शिक्षकहरू जो फरिसीहरू थिए, येशूलाई तिनीहरूसँगै बसेर खाँदै गरेको देखेर फरिसीहरूले उहाँका चेलाहरूलाई भने, ‘‘उनी किन यस्ता नीच मानिसहरूसँगै बसेर खान्छन्?’’ 17 जब येशूले त्यो कुरा सुन्नुभयो, उहाँले तिनीहरूलाई भन्नुभयो,‘‘निरोगीलाई वैद्यको खाँचो पर्दैन, रोगीलाई मात्र। त्यसैगरी म, आफूलाई धर्मी ठान्नेहरूलाई होइन तर पापीहरूलाई बोलाउन आएको छु।’’ 18 यूहन्नाका चेलाहरू र कोही-कोही फरिसीहरू बेला-बेलामा उपवास बस्थे। एक दिन तिनीहरूमध्ये केही मानिसहरू येशूकहाँ आए र सोधे, ‘‘यूहन्नाका चेलाहरू र फरिसीहरू उपवास बस्छन् तर तपाईंका चेलाहरू किन उपवास बस्दैनन्?’’ 19 येशूले जवाफ दिनुभयो, ‘‘के दुलहासँगै आनन्द मनाउने जन्तीहरू उपवास बस्छन्? जबसम्म दुलहा तिनीहरूको साथमा हुन्छन् तिनीहरू उपवास बस्न सक्दैनन्। 20 तर एक दिन तिनीहरूबाट दुलहालाई लगिनेछ र त्यसपछि तिनीहरू उपवास बस्नेछन्। 21 त्यसैगरी पुरानो लुगामा कसले नयाँ टालो टाल्छ? किनकि नयाँ टालोले लुगालाई फटाउनेछ र वस्त्र झन् बढी च्यातिन्छ। 22 पुरानो छालाको मशकमा कसैले पनि नयाँ अङ्गुरमद्य हाल्दैन। नत्र त अङ्गुरमद्यले मशकलाई फटाउँछ र अङ्गुरमद्य पोखिन्छ। नयाँ अङ्गुरमद्य राख्न त नयाँ नै छालाको मशक चाहिन्छ।’’ 23 एक विश्रामको दिनमा येशू गहुँको खेतको बाटो हिँडिरहनुभएको थियो। उहाँका चेलाहरूले गहुँका बाला टिपेर माड्दै खान थाले। 24 त्यो देखेर फरिसीहरूले येशूलाई भने, ‘‘यिनीहरूले यस्तो गर्नु हुँदैनथ्यो। विश्राम-दिनमा फसलको काम गर्नुसमेत व्यवस्थाको विरुद्धमा हुन्छ।’’ 25 तर येशूले जवाफ दिनुभयो,‘‘तिमीहरूले धर्मशास्त्रमा पढेका छैनौ-दाऊद र तिनका मानिसहरू भोकाउँदा तिनले के गरे ? 26 प्रधान पूजाहारी अबियाथारको पालामा तिनी परमप्रभुको भवनभित्र पसे र पूजाहारीहरूको निम्ति मात्रै अलग गरिएको रोटी आफूले खाए र आफ्ना मानिसहरूलाई पनि खान दिए। त्यो पनि त व्यवस्थाको विरुद्धमा थियो।’’ 27 त्यसपछि उहाँले तिनीहरूलाई भन्नुभयो, ‘‘विश्राम-दिन त मानिसहरूको भलाइको निम्ति बनाइएको हो र मानिस विश्राम-दिनको निम्ति बनाइएको होइन। 28 यसकारण म, मानिसको पुत्र त विश्राम-दिनको पनि प्रभु हुँ।’’ 31 येशू फेरि सभाघरमा जानुभयो र त्यहाँ उहाँले हात सुकेको एक जना मानिसलाई बसिरहेको देख्नुभयो।2 त्यो विश्राम-दिन परेको हुनाले येशूका विरोधीहरूले उहाँको चेवा गरिरहेका थिए -के उहाँले विश्राम-दिनमा त्यसलाई पनि निको पार्नु होला ! यदि उहाँले विश्राम-दिनमा त्यसो गर्नुभएमा उहाँलाई दोष्याउन सकिन्छ भन्ने योजना तिनीहरूले बनाएका थिए। 3 येशूले त्यस मानिसलाई भन्नुभयो, ‘‘यहाँ आएर सबैको अगाडि खडा होऊ।’’ 4 त्यसपछि उहाँ आफ्ना विरोधीहरूतिर फर्किनुभयो र सोध्नुभयो, ‘‘के विश्राम-दिनमा असल काम गर्नु न्यायसङ्गत हुन्छ? कि यो दिन खराब काम गर्नका लागि हो? यो जीवन बचाउने दिन हो कि नाश पार्ने?’’ तर तिनीहरूले कुनै जवाफ दिएनन्। 5 उहाँले तिनीहरूलाई रिसाएर हेर्नुभयो, किनभने तिनीहरूको कठोर हृदय देखेर उहाँ ज्यादै विचलित हुनुभएको थियो। त्यसपछि उहाँले त्यस मानिसलाई भन्नुभयो, ‘‘तिम्रो हात पसार।’’ त्यसले हात पसार्यो र त्यो ठीक भइहाल्यो। 6 त्यसैबेला फरिसीहरू त्यहाँबाट निस्केर गए र हेरोदका समर्थकहरूसँग बसेर येशूलाई कसरी मार्ने भनी योजना बनाउन थाले। 7 येशू र उहाँका चेलाहरू त्यहाँबाट निस्किएर समुद्रतिर लाग्नुभयो र उहाँलाई गालीलीहरूले पछयाए। 8 अनि यरूशलेम, इदुमिआ, यर्दन नदीको पूर्वी इलाका, टुरोस र सीदोनभन्दा टाढाका मानिसहरूका भीड उहाँको ठूला - ठूला कामहरूको बारेमा सुनेर उहाँलाई भेट्न आए। 9 भीडले उहाँलाई नमिचोस् भनी उहाँले आफ्ना चेलाहरूलाई आफ्नोनिम्ति एउटा डुङ्गा तयार पार्न लगाउनुभयो। 10 त्यस दिन उहाँले धेरैलाई निको पार्नुभयो। फलस्वरूप धेरै रोगी-बिमारीहरू उहाँलाई छुनका लागि ठेलमठेला गरिरहेका थिए । 11 अशुद्ध आत्माहरूले सताइएकाहरू उहाँको सामु पर्दा ‘तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ’ भनेर कायल हुँदै भुइँमा लड्दथे। 12 तर येशूले तिनीहरूलाई उहाँको विषयमा केही नबोल्ने चेताउनी दिनुभयो। 13 त्यसपछि येशू डाँडामा उक्लनुभयो। उहाँले चाहनुभएकाहरूलाई मात्र आफूसँग लैजानुभयो र ती उहाँसँग गए। 14 तब उहाँले आफूसँगै सधैँ रहून् भनेर तिनीहरूमध्ये बाह्र जनालाई चुन्नुभयो र तिनीहरूलाई प्रेरित भन्नुभयो । उहाँले तिनीहरूलाई प्रचार गर्न पठाउनुभयो, 15 उहाँले तिनीहरूलाई भूतात्मा निकाल्ने अधिकार पनि दिनुभयो। 16 उहाँले चुन्नुभएका बाह्र प्रेरितहरू यिनै हुन् : सिमोन (जसलाई पत्रुस पनि भनिन्छ), 17 याकूब र यूहन्ना(जब्दियाका छोराहरू,येशूले उनीहरूलाई ‘गर्जनका पुत्रहरू’ भन्नुभयो), 18 अन्द्रियास, फिलिप, बारथोलोमाइ, मत्ती, थोमा, याकूब (अल्फयसको छोरो), थेदियस, सिमोन कनानी 19 र यहूदा इस्करियोत (जसले पछि येशूलाई धोका दियो)। 20 येशू जब त्यहाँबाट फर्किएर आफू बसेको घरमा आउनुभयो, मानिसहरू त्यहाँ फेरि भेला हुनथाले। चाँडै नै ठूलो भीड जम्मा भइहाल्यो अनि उहाँ र उहाँका चेलाहरूलाई खाने फुर्सद पनि भएन। 21 जब येशूका परिवारले त्यो कुरा सुने, तब उहाँलाई घरमा लैजान भनी तिनीहरू त्यहाँ आए, किनकि ‘उहाँको होश ठेगानमा छैन’ भनी तिनीहरू ठान्दथे। 22 तर यरूशलेमबाट आएका धार्मिक व्यवस्थाका शिक्षकहरूले भने, ‘‘यिनमा शैतानको शक्ति छ । त्यसैले यिनले भूतात्माहरूलाई धपाउनसकेका हुन् ।’’ 23 येशूले तिनीहरूलाई बोलाउनुभयो र उदाहरण दिँदै भन्नुभयो, ‘‘कसरी शैतानले शैतानलाई निकाल्न सक्छ? 24 आपसमा लडाइँ गर्ने राज्य विनाश हुन्छ। 25 आफैभित्र विभाजित घर नष्ट हुन्छ। 26 शैतानले पनि आफैसित लडाइँ गर्छ भने त्यो कसरी टिक्छ र? ऊ टिक्दैन। 27 म तिमीहरूलाई एउटा उदाहरण दिन्छु, तिमीहरूले एउटा बलियो मानिसलाई नबाँधी उसको घरमा पस्न र लुट्न सक्दैनौ। 28 साँच्चै, म तिमीहरूलाई भन्दछु, ईश्वर-निन्दा लगायत कुनै पनि पाप क्षमा हुनसक्छ, 29 तर जसले पवित्र आत्माको निन्दा गर्छ, त्यसलाई कदापि क्षमा हुनेछैन। तर त्यो अनन्त पापको दोषी हुन्छ।’’ 30 उहाँले तिनीहरूलाई यो कुरा भन्नुभयो, किनभने तिनीहरू ‘उहाँमा दुष्टात्मा छ’ भन्थे। 31 उहाँले शिक्षा दिइरहनुभएको घरमा येशूकी आमा र भाइहरू आइपुगे। उनीहरू बाहिरै बसे र ‘बाहिर आएर हामीसँग बात गर्नुहोस्’ भनी खबर पठाए। 32 येशूको वरिपरि ठूलो भीड थियो । कसैले उहाँलाई भन्यो, ‘‘तपाईंकी आमा र भाइहरू बाहिर तपाईंलाई पर्खिरहेका छन्।’’ 33 येशूले जवाफ दिनुभयो, ‘‘मेरी आमा को हुन्? मेरा भाइहरू को हुन्?’’ 34 तब उहाँले आफ्नो वरिपरि उभिएका ती मानिसहरूलाई हेर्दै भन्नुभयो, ‘‘हेर, मेरी आमा र मेरा दाजुभाइहरू ! 35 जसले परमेश्वरको इच्छा पालन गर्छन्, तिनीहरू नै मेरा दाजुभाइ, दिदीबहिनी र आमा हुन्।’’ 41 फेरि एकपल्ट येशू झीलको किनारमा बसेर सिकाउन थाल्नुभयो। त्यस ठाउँमा अत्यन्तै ठूलो भीड थियो। त्यसकारण उहाँ डुङ्गामा चढेर बस्नुभयो र त्यहाँबाट बोल्न थाल्नुभयो।2 त्यहाँ उहाँले मानिसहरूलाई दृष्टान्तहरूमा सिकाउनुभयो, ती दृष्टान्तहरूमध्ये एउटा यो हो: 3 ‘‘सुन, एउटा किसान बीउ छर्न भनेर निस्क्यो। 4 उसले खेतमा बीउ छर्दा, केही बीउ बाटोमा परे, चराहरू आए र खाइदिए। 5 अरु ढुङ्गेनी जमीनमा परे, ती चाँडै उम्रिए। 6 तर ढुङ्गेनी जमीन भएकोले तिनको जरा राम्ररी गाडिन पाएन र घामको रापमा परेर ती चाँडै ओइलिएर मरे। 7 अरु बीउ काँडाघारीमा परे र ती उम्रिए तापनि घारीले निसासिएर बढ्न पाएनन्। त्यसैले फल फलाउन सकेनन्। 8 तर केही बीउ मलिलो जमीनमा परे र छरिएका भन्दा तीस, साठी र सय गुणासम्म फल फलाए।’’ 9 त्यसपछि फेरि उहाँले भन्नुभयो, ‘‘जसको सुन्ने इच्छा छ, त्यसले सुनोस् र बुझोस्।’’ 10 त्यसको केही समयपछि, उहाँ बाह्र जना चेला र अरु थोरै मानिसहरूसँग मात्रै हुनुभएको बेलामा तिनीहरूले सोधे, ‘‘तपाईंले भन्नुभएको दृष्टान्तको अर्थ के हो?’’ 11 उहाँले जवाफ दिनुभयो, ‘‘तिमीहरूलाई त परमेश्वरको राज्यका गोप्य रहस्यहरू बुझ्ने अनुमति दिइएको छ। तर अरु मानिसहरूको अगाडि भने म दृष्टान्तहरूमा शिक्षा दिन्छु, 12 यसरी धर्मशास्त्र पूरा होस् : मैले गरेका काम तिनीहरू देख्छन् तर त्यसको अर्थ बुझ्दैनन्। मेरा वचन तिनीहरू सुन्छन् तर तिनीहरू त्यो बुझ्दैनन्। तसर्थ तिनीहरू आफ्ना पापदेखि फर्किदैनन् र क्षमा पनि पाउँदैनन्। 13 तिमीहरूले यो दृष्टान्त बुझ्न सक्दैनौ भने मैले अब भन्नलागेका धेरै कुरा कसरी बुझौला? 14 मैले दृष्टान्तमा किसान भनेको परमेश्वरको वचन अरुकहाँ पुर्याउने व्यक्ति हो। 15 बाटोमा पर्ने बीउले ती मानिसहरूलाई दर्सार्उँछ, जसले वचन सुन्छन्, तर शैतान आएर उनीहरूबाट त्यो वचन चोरी लैजान्छ। 16 ढुङ्गेनी जमीनले वचन सुनेर खुशीसाथ ग्रहण गर्नेहरूलाई दर्साउँछ, 17 तर त्यस्तो जमीनमा उम्रिएको कलिलो बिरुवाझैँ तिनीहरूमा वचनले भित्रसम्म जरा गाड्न पाउँदैन र शुरुमा ती राम्रै देखिए तापनि सानोतिनो समस्या वा परमेश्वरको वचनमा विश्वास गरेको कारण आइपरेको सतावटको सामना गर्नुपर्दा लडिहाल्छन्। 18 काँडाघारीले सुसमाचार सुनेर त्यसलाई ग्रहण गर्नेहरूलाई दर्साउँछ, 19 तर यस जीवनको फिक्री, धनको लोभ, असल कुराको अभिलाषा, आदिको कारण तिनीहरूले ग्रहण गरेको वचनले कुनै फल फलाउन पाउँदैन। 20 असल जमीनले परमेश्वरको वचन सुनेर त्यसलाई दिलोज्यानले ग्रहण गर्नेहरूलाई दर्साउँछ, जसले रोपिएको भन्दा तीस, साठी र सय गुणा बढी फल फलाउँछन्।’’ 21 त्यसपछि येशूले तिनीहरूलाई सोध्नुभयो, ‘‘के कसैले बत्ती बालेर डालोमुनि कि खाटमुनि छोपेर राख्छ र ? के त्यसलाई पानसमाथि राखिँदैन र? 22 अहिले जे-जति कुरा गुप्तमा राखिएका छन्, ती आखिरीमा सबैको सामुन्ने खुलस्त पारिनेछन्। 23 जसको सुन्ने इच्छा छ, त्यसले सुनोस् र बुझोस्। 24 अनि तिमीहरूले सुनेका कुरामा ध्यान देओ, जति बढ्ता ध्यान दिन्छौ, त्यति नै तिमीहरूले बुझ्नेछौ। तिमीहरूले त्यसभन्दा पनि बढी बुझ्नेछौ। 25 जो मेरो शिक्षाप्रति उदार छन्, तिनीहरूलाई अझै बढी बुझ्ने शक्ति दिइनेछ। तर जसले मेरो कुरा सुन्दैनन्, तिनीहरूसँग भएको ज्ञान पनि खोसिनेछ।’’ 26 येशूले अझै भन्नुभयो,‘‘परमेश्वरको राज्य कस्तो हुन्छ भन्ने विषयमा अर्को पनि उदाहरण छ, एउटा किसानले आफ्नो खेतमा बीउ छर्यो 27 र त्यसपछि ऊ अरु नै काममा लाग्यो। दिन बित्दै गयो, उसले छरेको त्यो बीउ उम्रियो र हेरचाहबिना नै बढ्दै गयो। 28 किनभने पृथ्वीले आफै अन्न उत्पादन गर्दछ। पहिले बीउमा टुसा पल्हाउँछ, त्यसपछि पात लाग्छ र बाला लाग्न थाल्छ अनि आखिरमा त्यसमा दाना भरिन्छ र पाक्छ। 29 अनि बाली पाक्नेबित्तिकै त्यो किसान खेतमा फर्किन्छ र हँसिया लिएर बाली काट्न थाल्छ।’’ 30 येशूले सोध्नुभयो, ‘‘म कसरी परमेश्वरको राज्यको विषयमा बताउन सक्छु? म कुन दृष्टान्तको उदाहरण दिऊँ? 31 यो त रायोको मसिनो दानाजस्तो हो। रायोको दाना अति नै सानो हुन्छ, 32 तर बारीमा रोपिएका अरु सागपातका बोटबिरुवाभन्दा यो ठूलो भएर झाँगिन्छ र चराहरू आएर त्यसका हाँगाहरूमा बस्नसक्छन्।’’ 33 तिनीहरूले धेरै बुझून् भनेर उहाँले तिनीहरूलाई अरु पनि धेरै दृष्टान्तहरू भन्नुभयो। 34 विशेषगरी उहाँले धेरै मानिसहरूको अगाडि शिक्षा दिँदा दृष्टान्तहरूमा बोल्नुभयो तर चेलाहरूसँग भएको बेलामा मात्रै उहाँले ती दृष्टान्तहरूको अर्थ खोल्नुहुन्थ्यो । 35 साँझ पर्नैलाग्दा येशूले चेलाहरूलाई भन्नुभयो, ‘‘हामी झीलको पारिपट्टि जाऔं।’’ 36 उहाँ डुङ्गामा बसिरहनुभएको थियो । तिनीहरूले भीडलाई छोडेर डुङ्गा खियाउन लागे, तापनि अरु डुङ्गाहरूले उहाँहरूलाई पछयाउँदै थिए। 37 तर अचानक आँधी आयो। पानीका ठूला-ठूला छालले डुङ्गालाई धक्का दिनलागे र डुङ्गामा पानी भरिएर डुब्नै लाग्यो। 38 येशू डुङ्गाको पछिल्तिर एउटा चकटीको सिरानी लगाएर सुतिरहनुभएको थियो। तिनीहरूले अत्तालिँदै उहाँलाई ब्यूँझाए, ‘‘गुरुज्यू, हामी डुब्न लाग्यौं, तपाईंलाई यसको वास्ता छैन?’’ 39 उहाँ जब बिउँझिनुभयो,उहाँले बतासलाई हप्काउनुभयो र पानीलाई भन्नुभयो, ‘‘शान्त भइहाल् !’’ उहाँले त्यति भन्नेसाथ अचानक बतास रोकियो र त्यहाँ शान्त भइहाल्यो। 40 त्यसपछि उहाँले चेलाहरूलाई प्रश्न गर्नुभयो,‘‘तिमीहरू किन यसरी डराएका? के तिमीहरू अझै ममाथि विश्वास गर्दैनौ?’’ 41 तिनीहरू साह्रै भयभीत भए र आपसमा यसो भने, ‘‘यिनी को हुन् ? बतास र पानीका छालले पनि यिनको आज्ञापालन गर्दछन्?’’ 51 यसरी उहाँहरू झीलको पारिपट्टि गेरासेनसको मुलुकमा आइपुग्नुभयो।2 येशू डुङ्गाबाट किनारमा उत्रँदै गर्दा अशुद्ध आत्माले सताइएको एउटा मानिस चिहानघारीबाट दगुर्दै उहाँको सामु आयो। 3 त्यो मानिस चिहानघारीमा बस्दथ्यो, त्यसलाई साङ्लाले समेत बाँधेर राख्न सकिँदैनथ्यो। 4 धेरैपल्ट त्यसलाई नेल र साङ्लाले बाँधेर राख्न खोजिएको थियो तर त्यसले साङ्लाहरू चुडाउँथ्यो र नेलहरू टुक्राटुक्रा पार्थ्यो। त्यसलाई कसैले पनि वशमा राख्न सक्दैनथ्यो। 5 सारा दिन र रातभरि ऊ चिहानघारी र डाँडापाखातिर चिच्च्याउँदै र आफैलाई ढुङ्गाले फहराउँदै डुल्दथ्यो। 6 त्यस मानिसले येशूलाई टाढैबाट देख्यो र दगुर्दै आएर उहाँलाई दण्डवत् गर्यो। 7 त्यसले ठूलो सोरले चिच्च्याउँदै भन्यो, ‘‘हे येशू, सर्वोच्च परमेश्वरका पुत्र, तपाईंसँग मेरो के सरोकार? परमेश्वरको खातिर म विन्ती गर्छु, मलाई कष्ट नदिनुहोस् ।’’ 8 किनभने येशूले त्यसलाई भन्नुभएको थियो,‘‘तँ अशुद्ध आत्मा, यस मानिसबाट निस्केर जा।’’ 9 तब येशूले सोध्नुभयो, ‘‘तेरो नाउँ के हो?’’ अशुद्ध आत्माले जवाफ दिँदै भन्यो,‘‘फौज, किनभने यस मानिसभित्र हामी धेरै छौं।’’ 10 त्यसपछि ती अशुद्ध आत्माहरूले येशूसँग त्यस इलाकादेखि तिनीहरूलाई टाढा नधपाइयोस् भनी बारम्बार विन्ती गरे। 11 त्यसको नजिकै पाखामा सुँगुरको एउटा ठूलो बगाल चरिरहेको थियो। 12 ती अशुद्ध आत्माहरूले यसो भनी विन्ती गरे, ‘‘हामीलाई तिनै सुँगुरहरूभित्र जान दिनुहोस्।’’ 13 येशूले अनुमति दिनुभयो, तब त्यस मानिसबाट अशुद्ध आत्माहरू निस्केर सुँगुरहरूभित्र पसे अनि दुई हजार जति सुँगुरहरू भीरबाट हुर्रिंदै गएर समुद्रमा झरे र डुबेर मरे। 14 ती सुँगुर चराउनेहरू भागेर नजिकका शहर र वरिपरिका गाउँमा गए र त्यसको हल्ला फिँजाए। मानिसहरू, त्यहाँ के भएको रहेछ भनी हेर्न आए। 15 चाँडै नै एउटा ठूलो भीड येशूको वरिपरि भेला भयो तर अशुद्ध आत्माले सताइएको त्यस मानिसलाई देखेर तिनीहरू डराए, किनभने ऊ, त्यहाँ लुगा लगाएर सद्दे भई बसिरहेको थियो। 16 त्यस मानिसलाई र ती सुँगुरहरूलाई के भयो भनी देख्नेहरू हरेकले सो घटनाको विषयमा सबैलाई बताए। 17 तब भीडले येशूसँग, त्यो ठाउँ छोडेर जानुहोस् भनी विन्ती गर्नलाग्यो। 18 जब येशू फर्किएर डुङ्गामा चढ्नुभयो, भूतात्माले सताइएको त्यो मानिसले उहाँको साथमा जान पाऊँ भनी विन्ती गर्यो। 19 तर येशूले त्यसलाई भन्नुभयो,‘‘होइन, बरु तिमी घर जाऊ र प्रभुले तिमीमाथि कस्तो कृपा गरेर कति ठूलो काम गर्नुभएको छ, त्यो आफ्ना मित्रहरूलाई बताइदेऊ।’’ 20 त्यसकारण त्यो मानिस डेकापोलिसभरि घुम्न थाल्यो र येशूले आफूमाथि कति महान् काम गरिदिनुभयो भनी प्रत्येकलाई बताउन थाल्यो । त्यसले भनेको कुरा सुनेर सबै जना छक्क परे। 21 जब येशू झीलको वारिपट्टि आइपुग्नुभयो, त्यहाँ किनारमा उहाँको वरिपरि एउटा ठूलो भीड भेला भयो, 22 अनि स्थानीय सभाघरको एक जना अगुवा, याइरस आएर उहाँको पाउमा परे, 23 र उनकी सानी छोरीलाई निको पारिदिनुहोस् भनी उहाँसँग विन्ती गरे। उनले निराश हुँदै भने, ‘‘प्रभु, मेरो सानी छोरी मर्न लागेकी छे। कृपया, आएर त्यसमाथि हात राखिदिनुहोस् र त्यो बाँचोस्।’’ 24 येशू उनीसँग जानुभयो र त्यो भीड पनि ठेलमठेला गर्दै उहाँको पछि लाग्यो। 25 त्यस भीडमा बाह्र वर्षदेखि रगत बग्ने रोग भएकी एउटी स्त्री थिइन्। 26 उनले वर्षौंदेखि धेरै जना वैद्यहरूबाट धेरै कष्ट भोगेकी र आफूसित भएको सबै कुरा खर्च गरेकी थिइन् तर उनको अवस्थामा सुधार हुनुको साटो झन् खराब भएको थियो। 27 उनले येशूको विषयमा सुनेकी थिइन्। त्यसकारण भीडलाई छिचोल्दै उनी येशूको पछि पुगिन् र उहाँको वस्त्रको फेरो छोइन्, 28 किनकि उनले मनमनै सोचेकी थिइन्,‘‘यदि मैले उहाँको वस्त्र मात्रै छुनसकेँ भने म निको हुनेछु।’’ 29 तुरुन्तै उनको रगत थामियो र आफू निको भएकी अनुभव गरिन्। 30 येशूले आफूबाट शक्ति निस्किएको थाहा पाएर भीडतिर फर्केर सोध्नुभयो, ‘‘कसले मेरो वस्त्र छोयो?’’ 31 उहाँका चेलाहरूले जवाफ दिए, ‘‘यति ठूलो भीडले ठेलमठेला गरिरहेको देखिरहनुभएको छ, तापनि तपाईं, कसले मलाई छोयो भन्नुहुन्छ?’’ 32 तर आफूलाई छुने को रहेछ भनी पत्ता लगाउनको निम्ति येशूले वरिपरि हेरिरहनुभयो। 33 तब ती स्त्रीले आफूलाई जे भएको थियो सो थाहा पाएर थरथर काम्दै उहाँको पाउमा परेर उहाँलाई, आफूले गरेको कुरा बताइन्। 34 त्यसपछि येशूले उनलाई भन्नुभयो, ‘‘छोरी, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ । शान्तिसित जाऊ । तिमी निको भएकी छयौ।’’ 35 उहाँ ती स्त्रीसँग बोल्दै गर्नुहुँदा याइरसको घरबाट खबर ल्याउनेहरू आएर भने, ‘‘तपाईंकी छोरी त मरिसकी, अब गुरुज्यूलाई किन दु:ख दिनुहुन्छ?’’ 36 तर येशूले तिनीहरूको कुरालाई ख्यालै नगरी याइरसलाई भन्नुभयो,‘‘नडराऊ, ममाथि भरोसा गर।’’ 37 तब येशूले भीडलाई रोक्नुभयो अनि पत्रुस, याकूब र यूहन्नाबाहेक अरु कसैलाई पनि आफूसित आउन दिनुभएन। 38 उहाँहरू सभाघरको अगुवाको घरमा आइपुग्दा येशूले त्यहाँ रुने र विलाप गर्नेहरूको खैलाबैला देख्नुभयो। 39 उहाँ भित्र पस्नुभयो र ती मानिसहरूलाई भन्नुभयो, ‘‘तिमीहरू किन रुवाबासी र खैलाबैला गर्छौं? बालिका मरेकी छैन, ऊ त निदाएकी छे।’’ 40 तिनीहरूले उहाँलाई हाँसोमा उडाए। तर उहाँले तिनीहरू सबैलाई बाहिर निकाल्नुभयो। त्यसपछि उहाँले त्यस बालिका सुताइएको कोठामा त्यस बालिकाको आमा-बुबा र आफ्ना तीन जना चेलाहरूलाई मात्रै लैजानुभयो । 41 त्यस बालिकाको हात समातेर उहाँले भन्नुभयो, ‘‘ए नानी, उठ।’’ 42 त्यो बाह्र वर्षकी बालिका जुरुक्कै उठी र हिँडडुल गर्न थाली। यो देखेर उसका आमा-बुबा अत्यन्त चकित भए। 43 येशूले त्यस विषयमा कसैलाई नभन्नू भनी कडा आदेश दिनुभयो र त्यस बालिकालाई ‘केही खानेकुरा देओ’ भन्नुभयो। 61 येशू त्यस ठाउँलाई छोडेर आफ्नै शहर, नासरतमा फर्किनुभयो र चेलाहरूले उहाँलाई पछयाए।2 अर्को विश्राम-दिन उहाँ सभाघरमा जानुभयो र सिकाउनुभयो। उहाँको उपदेश सुन्नेहरू चकित भए। तिनीहरूले सोधे,‘‘यिनले यत्तिका बुद्धि र आश्चर्यकर्महरू गर्ने शक्ति कहाँबाट पाए? 3 के यिनी ती सिकर्मी, युसूफ र मरियमका छोरा होइनन् र? के यिनी याकूब, योसेस, यहूदा र सिमोनका दाजु होइनन् र ? के यिनीहरूका बहिनीहरू यहाँ हामीसँग छैनन् र?’’ तिनीहरू उहाँसँग चिढिए र विश्वास गरेनन्। 4 तब येशूले तिनीहरूलाई भन्नुभयो,‘‘एउटा अगमवक्ताले आफ्नै गाउँ, आफन्तहरू र परिवारमा बाहेक अरु सबैतिर आदर पाउँछ।’’ 5 तिनीहरूको अविश्वासको कारण येशूले केही बिमारीहरूमाथि हात राखेर निको पार्नुबाहेक अरु कुनै शक्तिका कामहरू गर्न सक्नुभएन। 6 तिनीहरूको अविश्वास देखेर उहाँ छक्कै पर्नुभयो। तब त्यहाँबाट निस्किएर उहाँ शिक्षा दिँदै गाउँ-गाउँ घुम्दै हिँड्नुभयो। 7 येशूले बाह्र जना चेलाहरूलाई बोलाउनुभयो र तिनीहरूलाई अशुद्ध आत्माहरूमाथि अधिकार दिएर दुई-दुई जना गरी पठाउनुभयो। 8 उहाँले तिनीहरूलाई यस्तो आज्ञा दिनुभयो : ‘‘तिमीहरूले यात्राको निम्ति आफ्नो साथमा लौरोबाहेक खानेकुरा, झिटीगुन्टा, रुपियाँपैसा केही पनि नबोक। 9 चप्पल लगाओ तर जगेडा वस्त्र नबोक।’’ 10 उहाँले फेरि तिनीहरूलाई भन्नुभयो, ‘‘जब तिमीहरू कुनै गाउँभित्र पस्दछौ, तब त्यो गाउँ नछोडिन्जेल त्यहाँको एउटा घरमा मात्रै पाहुना लाग। 11 यदि कुनै गाउँले तिमीहरूलाई स्वागत गरेन र तिमीहरूका कुरा पनि सुनेन भने त्यहाँबाट निस्कँदा आफ्नो खुट्टाको धूलो उनीहरूको विरुद्धमा गवाहीको निम्ति टकटक्याइदेऊ।’’ 12 त्यसकारण चेलाहरू गए र भेटिएका जति सबैलाई पापबाट फर्किआओ भन्ने सन्देश सुनाउँदै हिँडे। 13 तिनीहरूले धेरै भूतात्माहरू निकाले र जैतुनको तेलले अभिषेक गर्दै धेरै रोगी-बिमारीहरूलाई निको पारे। 14 राजा हेरोद एन्टिपासले येशूको विषयमा सुने, किनभने जताततै मानिसहरूले उहाँकै चर्चा गरिरहेका थिए र कतिले भन्दै थिए,‘‘यो मानिस पक्कै पनि बप्तिस्मा दिने यूहन्ना पुनर्जीवित भएको हुनुपर्छ, त्यसैले त यसले यत्तिका धेरै आश्चर्यकर्महरू गर्नसक्छ।’’ 15 अरुहरूले येशूलाई ‘‘प्राचीन अगमवक्ता एलिया हुन्’’ भन्थे। अझै अरुहरूले उहाँलाई ‘‘विगतका महान् अगमवक्ताहरूमध्ये एक हुन्’’ भन्थे। 16 जब हेरोदले येशूको विषयमा सुने, तब उनले भने,‘‘मैले टाउको काटेर मार्न लगाएको यूहन्ना फेरि मृतकबाट जीवित भई उठेछ।’’ 17 हेरोदले आफ्नो भाइ फिलिपकी पत्नी, हेरोदियासको खातिर यूहन्नालाई पक्रेर बाँधी झ्यालखानमा थुन्ने आदेश दिएका थिए, किनभने उनले हेरोदियाससित विवाह गरेका थिए 18 किनकि यूहन्नाले हेरोदलाई यसो भनेका थिए, ‘‘तपाईंले उनलाई पत्नीको रूपमा राख्नु उचित हुँदैन।’’ 19 हेरोदियासले तिनीमाथि ईख राखेकी थिइन् र तिनलाई मार्न चाहन्थिन् तर सकेकी थिइनन्। 20 हेरोदले यूहन्नालाई एक असल र पवित्र व्यक्ति हुन् भनेर आदर गर्थे। तसर्थ उनले यूहन्नालाई आफ्नो सुरक्षामा राखेका थिए। यूहन्नाको कुरा सुन्दा उनी निकै विचलित हुन्थे, तापनि उनको कुरा सुन्न मन पराउँथे। 21 अन्त्यमा हेरोदियासले खोजेको मौका आयो। हेरोदको जन्मदिन थियो र उनले दरबारमा राजकीय भोजको आयोजना गरे। यसरी दरबारका भारादारहरू, सेना प्रमुखहरू र गालीलका गण्यमान्य नागरिकहरू भेला भएका थिए। 22 तब उनकी छोरी, जसको नाउँ सलोमी थियो, तिनी भोजको समयमा आइन् र नाचेर सबैलाई मुग्ध पारिन्। राजाले खुशी हुँदै तिनलाई भने,‘‘तिमीलाई जे मन लाग्छ माग, म तिमीलाई दिनेछु।’’ 23 उनले शपथ हालेर वचन दिए,‘‘तिमीले मसित जे माग्छयौ, मेरो आधा राज्यसम्म पनि म तिमीलाई दिनेछु।’’ 24 तिनी बाहिर गइन् र आमासँग सोधिन्:‘‘म के मागूँ?’’ उनले भनिन्: ‘‘बप्तिस्मा दिने यूहन्नाको टाउको।’’ 25 तब तिनी फर्किन् र राजालाई भनिन्,‘‘मलाई अहिले नै बप्तिस्मा दिने यूहन्नाको टाउको थालमा राखेर दिनुहोस्।’’ 26 तिनको माग सुनेर राजा धेरै दु:खित भए तर आफ्ना पाहुनाहरूको अगाडि दिएको आफ्नै वचन उल्लङ्घन गर्न उनले सकेनन्। 27 त्यसकारण उनले मानिसहरू पठाएर झ्यालखानबाट यूहन्नाको टाउको ल्याउनू भनी आदेश दिए। सिपाहीहरूले झ्यालखानमा यूहन्नाको टाउको काटे। 28 तिनीहरूले यूहन्नाको टाउको थालमा राखेर ल्याए र तिनलाई दिए अनि तिनले त्यो लगेर आफ्नी आमालाई दिइन्। 29 यूहन्नाका चेलाहरू यो खबर सुनेर आए र तिनको शरीर लगेर चिहानमा गाडे। 30 प्रेरितहरू आफ्नो सेवकाइको यात्राबाट फर्किए र तिनीहरूले गएर गरेका र सिकाएका सबै कुरा येशूलाई बताए। 31 तब उहाँले भन्नुभयो, ‘‘यो भीडलाई छोडेर कतै जाऔं र आराम गरौं।’’ त्यहाँ आउने-जाने मानिसहरू यति धेरै थिए कि येशू र उहाँका चेलाहरूले खानेसम्म पनि फुर्सद पाउँदैन थिए। 32 त्यसकारण उहाँहरू डुङ्गामा चढेर एकान्त ठाउँमा जानुभयो। 33 तर उहाँहरू त्यहाँबाट गइरहनुभएको धेरैले देखे र उहाँलाई चिने अनि धेरै शहरका मानिसहरू पैदलै दौडिँदै उहाँहरूभन्दा अगाडि पुगे। 34 डुङ्गाबाट उत्रिन लाग्दा ठूलो भीड जम्मा भइसकेको थियो। तिनीहरूलाई गोठालाबिनाका भेडाहरूझैँ देखेर उहाँको हृदय दयाले भरियो। त्यसकारण उहाँले तिनीहरूलाई त्यहाँ धेरै कुरा सिकाउनुभयो। 35 दिउँसो अबेलातिर उहाँका चेलाहरू आएर उहाँलाई भने,‘‘हामी गाउँभन्दा धेरै टाढा छौं र दिन निकै ढल्किसकेको छ। 36 यी मानिसहरूलाई पठाइदिनुहोस् र यिनीहरूले नजिक गाउँ-बस्तीमा गएर आफ्नोलागि खानेकुरा किनून्।’’ 37 येशूले तिनीहरूलाई भन्नुभयो, ‘‘तिमीहरूले नै यिनीहरूलाई खुवाओ।’’ तिनीहरूले सोधे, ‘‘के हामीले गएर दुई सय दिनारको रोटी किनेर तिनीहरूलाई खान दिने र?’’ 38 उहाँले तिनीहरूलाई भन्नुभयो, ‘‘तिमीहरूसँग कति खानेकुरा छ ? गएर पत्ता लगाओ।’’ केही बेरपछि उनीहरू फर्किए र भने, ‘‘हामीसँग त पाँचवटा रोटी र दुईटा माछा मात्रै छ।’’ 39 तब येशूले भीडका मानिसहरूलाई हरियो चउरमा पङ्क्तिमा मिलेर बस्न लगाउनुभयो। 40 यसरी उनीहरू पचास-पचास र सय-सयको समूहमा मिलेर बसे। 41 येशूले पाँच रोटी र दुई माछा लिनुभयो, स्वर्गतिर हेर्नुभयो र त्यसमा परमेश्वरको आशिष् माग्नुभयो। ती रोटीलाई भाँचेर मानिसहरूलाई देऊन् भनी रोटी र माछा चेलाहरूलाई दिनुभयो। 42 उनीहरूले अघाउन्जेल खाए। 43 तिनीहरूले उब्रिएका टुक्राटाक्रीहरू बाह्र डाला बटुले। 44 ती रोटी खानेहरूको सङ्ख्या पाँच हजार थिए। 45 त्यसको लगत्तैपछि येशूले चेलाहरूलाई डुङ्गामा चढेर बेथसेदातिर पठाउनुभयो र अरु मानिसहरूलाई आ-आफ्नो घरमा पठाउनुभयो। 46 त्यसपछि उहाँ आफै डाँडातिर उक्लनुभयो र प्रार्थना गर्नको लागि जानुभयो। 47 राती चेलाहरू झीलको बीचमा डुङ्गा खियाउँदै थिए र येशू एकलै हुनुहुन्थ्यो। 48 उहाँले तिनीहरूलाई गम्भीर समस्यामा परेको देख्नुभयो, तिनीहरूले बतास र छालको विरुद्धमा डुङ्गा खियाउँदै सङ्घर्ष गरिरहेका थिए। बिहान तीन बजेतिर उहाँ पानीमाथि हिँड्दै तिनीहरू भएतिर आउनुभयो र चेलाहरूलाई उछिनेर अघि बढ्न लाग्नुभयो। 49 जब चेलाहरूले उहाँलाई पानीमाथि हिँड्दै गरेको देखे तब तिनीहरू उहाँलाई भूत हो भनी ठानेर डरले चिच्च्याए। 50 उहाँलाई देखेर सबै जना डरले थरथर काँपे। तर येशूले झट्टै तिनीहरूलाई भन्नुभयो,‘‘साहस गर, म हुँ, नडराओ।’’ 51 त्यसपछि उहाँ डुङ्गामा चढ्नुभयो र बतास थामियो। तिनीहरू आफूले देखेका कुरामा चकित भए। 52 तिनीहरूले रोटी बढाइएको आश्चर्यकर्मको महत्वलाई अझै पनि बुझेनन्, किनकि तिनीहरूका हृदय कठोर भएका थिए। 53 जब तिनीहरू झीलको अर्कोपट्टि गनेसरेत भन्ने ठाउँमा आइपुगे, तिनीहरूले त्यहाँ डुङ्गा अडयाए 54 र बाहिर निस्किए। त्यहाँ भएका मानिसहरूले येशूलाई चिनिहाले 55 अनि तिनीहरूले त्यस ठाउँको चारैतिर पुगेर रोगी-बिमारीहरूलाई गुन्द्रीमा बोकेर उहाँकहाँ ल्याउन थाले। 56 उहाँ गाउँ, शहर र बस्तीहरूमा जहाँ गए पनि मानिसहरूले उहाँको अगाडि रोगी-बिमारीहरू राखिदिन्थे। उहाँको वस्त्रको किनारसम्म पनि छुन पाऊँ भनी ती रोगी-बिमारीहरू उहाँसँग विन्ती गर्थे र जति जनाले छुन्थे, ती सबै जना निको भइहाल्थे। 71 एक दिन केही फरिसीहरू र धार्मिक व्यवस्थाका शिक्षकहरू येशूसँग तर्क गर्न यरूशलेमबाट आए।2 येशूका चेलाहरूमध्ये कुनै कुनैले यहूदी प्रथाअनुसार भोजन गर्नुभन्दा पहिले हात धुने नियमपालन नगरेको तिनीहरूले चाल पाए। 3 यहूदीहरू, विशेषगरी फरिसीहरू आफ्ना पुर्खाहरूको परम्पराअनुसार हात नधोई खाँदैनन्। 4 त्यसैगरी बजारबाट आएपछि पनि तिनीहरू स्नान नगरी खाँदैनन्। यति मात्र होइन, तिनीहरूले अरु परम्पराहरू पनि पालन गर्थे, जस्तै-कचौरा, लोहोटा, काँसोका भाँडा र टेबुलहरू धुने गर्थे। 5 त्यसकारण ती फरिसीहरू र धार्मिक व्यवस्थाका शिक्षकहरूले येशूलाई सोधे, ‘‘तपाईंका चेलाहरू हाम्रा पुर्खाहरूको परम्परा किन पालन गर्दैनन्? किन तिनीहरू नियमपूर्वक हात नधोई खान्छन्?’’ 6 येशूले जवाफ दिनुभयो, ‘‘ए पाखण्डीहरू हो, यशैयाले तिमीहरूको विषयमा अगमवाणी गर्दै ठीकै भनेका छन् : ‘यी मानिसहरू मलाई आफ्नो ओठले मात्र आदर गर्छन् तर तिनीहरूका हृदय मदेखि धेरै टाढा छन्। 7 मप्रतिको तिनीहरूको आराधना व्यर्थ छ, किनकि यी मानिसहरूले सिकाएका विधि मात्र हुन्।’ 8 किनकि तिमीहरू परमेश्वरको व्यवस्थालाई पर सारेर मानिसका परम्पराहरू पालन गर्छौ।’’ 9 उहाँले फेरि भन्नुभयो, ‘‘तिमीहरू आफ्नो परम्परा कायम राख्नको निम्ति परमेश्वरको व्यवस्थालाई इन्कार गर्दछौ। 10 उदाहरणको लागि मोशाले परमेश्वरबाट यो आज्ञा दिए: ‘आफ्ना आमा-बुबालाई आदर गर। आमा-बुबाको अनादर गर्ने कोही पनि मारियोस्।’ 11 तर तिमीहरू मानिसहरूले आफ्ना आमा-बुबालाई यसो भनेको ठीक मान्छौ, ‘म तपाईंहरूलाई सहायता गर्न सक्दिनँ, किनकि मैले तपाईंहरूलाई दिनसक्ने कुरा परमेश्वरलाई दिने भाकल गरिसकेको छु।’ 12 यसरी तिमीहरूले मानिसहरूलाई खाँचोमा परेका आफ्ना आमा-बुबाको अनादर गर्न लगाउँछौ। 13 हो, यस प्रकारले तिमीहरू आफ्ना परम्परा बचाउन परमेश्वरको व्यवस्था भङ्ग गर्छौ। यो त एउटै मात्र उदाहरण हो, यस्ता थुप्रै उदाहरणहरू छन्।’’ 14 तब येशूले मानिसहरूलाई आफूकहाँ बोलाएर भन्न लाग्नुभयो,‘‘तिमीहरू सबैले सुन, र बुझ्ने कोशिश गर। 15 तिमीहरू जे खान्छौ, त्यसले तिमीहरूलाई अशुद्ध पार्दैन, बरु तिमीहरू जे बोल्छौ र गर्छौ, त्यसले तिमीहरूलाई अशुद्ध बनाउँछ। 16 जसको सुन्ने इच्छा छ, त्यसले सुनोस् र बुझोस्।’’ 17 त्यसपछि भीडलाई छोडेर उहाँ एउटा घरभित्र पस्नुभयो। उहाँले के भन्न खोज्नुभएको हो भनी चेलाहरूले उहाँलाई सोधे। 18 उहाँले तिनीहरूलाई सोध्नुभयो, ‘‘के तिमीहरू अझै पनि बुझ्दैनौ? तिमीहरू जे खान्छौ, त्यसले अशुद्ध पार्दैन भन्ने कुरा के तिमीहरू बुझ्दैनौ? 19 हाम्रो हृदयसँग खानेकुराको कुनै सम्बन्ध हुँदैन, त्यो त हाम्रो पेटमा पस्दछ र बाहिर निस्किहाल्छ।’’(त्यसो भनेर उहाँले सबै प्रकारको खानेकुरा ग्रहणीय हुन्छ भनी देखाउनुभयो।) 20 उहाँले अझै भन्नुभयो, ‘‘विचारले तिमीहरूलाई अशुद्ध पार्दछ, 21 किनभने मानिसको हृदयभित्रबाट नै सबै प्रकारका दुष्ट विचारहरू, अनैतिकता, चोरी, हत्या, 22 व्यभिचार, लोभ, दुष्टता, छल, खराब कुराको अभिलाषा, क्रोध, धोका, घमण्ड र मूर्खता आदि निस्किन्छन्। 23 हृदयभित्रबाट निस्किने यस्ता नराम्रा कुराले नै मानिसलाई अशुद्ध बनाउँछ र परमेश्वरमा ग्रहणीय हुन दिँदैन।’’ 24 येशू गालीलबाट निस्केर टुरोसको उत्तरी इलाकामा जानुभयो। आफू त्यहाँ आएको कुरा नफैलियोस् भन्ने चाहना उहाँले गर्नुभयो, तर त्यसो हुन सकेन, सधैँझैँ उहाँ त्यहाँ आइपुग्नुभएको खबर तुरुन्तै फैलिहाल्यो। 25 त्यसैबेला एउटी स्त्री उहाँको नजिकै आइन्, उनकी सानी छोरीलाई दुष्टात्माले सताएको थियो। उनले येशूको विषयमा सुनेकी थिइन्, त्यसैले उनी त्यहाँ आएर येशूकोपाउमा परिन्। 26 उनले आफ्नी सानी छोरीलाई दुष्टात्माको नियन्त्रणबाट छुटकारा दिलाउनुहोस् भनी येशूसँग विन्ती गरिन् । उनी यहूदी थिइनन्, उनी सिरियाको फोनिकेमा जन्मिएकी अयहूदी स्त्री थिइन्। 27 येशूले भन्नुभयो,‘‘मैले सबभन्दा पहिले मेरो आफ्नै जाति, यहूदीहरूलाई सहायता गर्नुपर्छ। छोराछोरीहरूको खानेकुरा कुकुरको अगाडि फ्याँक्नु ठीक हुँदैन।’’ 28 उनले भनिन्, ‘‘ठीक हो प्रभु, तर टेबुलमुनि बस्ने कुकुरलाई पनि छोराछोरीका थालबाट झरेका टुक्राटाक्रीहरू दिइन्छ नि।’’ 29 येशूले भन्नुभयो, ‘‘राम्रो जवाफ दियौ। यो जवाफ दिएको कारण तिमी जाऊ; तिम्रो छोरीबाट भूतात्मा निस्किसकेको छ।’’ 30 उनी जब घरमा पुगिन्, उनकी छोरी शान्त भई सुतिरहेकी भेट्टाइन्, भूतात्माले तिनलाई छाडिसकेको थियो। 31 येशू टुरोसबाट सीदोन हुँदै तल गालीलको समुद्र र डेकापोलिसका क्षेत्रहरूमा जानुभयो। 32 त्यहाँ एउटा बहिरो र भकभकेलाई उहाँकहाँ ल्याइयो। मानिसहरूले त्यसको शिरमा हात राखेर त्यसलाई निको पारिदिनुहोस् भनी उहाँसँग विन्ती गरे। 33 येशूले त्यसलाई भीडबाट केही पर एकान्तमा लैजानुभयो। उहाँले त्यसका कानमा औँला हाल्नुभयो र आफ्नै औँलामा थुक लगाएर त्यसको जिब्रो पनि छुनुभयो। 34 अनि स्वर्गतिर फर्किएर उहाँले लामो सास लिँदै आज्ञा गर्नुभयो, ‘‘खोलिजा।’’ 35 तत्कालै त्यो मानिस राम्ररी सुन्न र बोल्नसक्ने भयो। 36 येशूले त्यस घटनाको विषयमा ‘‘कसैलाई नभन्नू’’ भनी आज्ञा दिनुभयो तर तिनीहरूले त्यो अझै बढ्ता फैलाउँदै गए। 37 किनभने तिनीहरू आश्चर्यले चकित भएका थिए। तिनीहरूले भने, ‘‘उहाँले हरेक कुरा अचम्म प्रकारले गर्नुहुन्छ, बहिरा र लाटाहरूलाई समेत उहाँले निको पार्नुहुन्छ।’’ 81 ती दिनहरूमा अर्को ठूलो भीड पनि जम्मा भयो र फेरि तिनीहरूसित खानेकुरा केही थिएन। येशूले आफ्ना चेलाहरूलाई बोलाएर भन्नुभयो,2 ‘‘यी मानिसहरूलाई देखेर मलाई दया लाग्दछ। यिनीहरू तीन दिनदेखि मसँगै छन्, अब यिनीहरूसँग खानेकुरा पनि केही छैन। 3 यदि मैले यिनीहरूलाई नखुवाई घर पठाएँ भने यिनीहरू बाटोमै मूर्च्छा पर्नेछन् किनभने यिनीहरूमध्ये कोही-कोही त धेरै टाढाबाट आएका छन्।’’ 4 उहाँका चेलाहरूले भने, ‘‘यस्तो निर्जन ठाउँमा यत्तिका मानिसहरूलाई हामी कसरी खाना जुटाउन सक्छौं र?’’ 5 येशूले तिनीहरूलाई सोध्नुभयो, ‘‘तिमीहरूसँग कति वटा रोटी छन्?’’ तिनीहरूले जवाफ दिए, ‘‘सातवटा।’’ 6 त्यसकारण येशूले सबैलाई भुइँमा बस्न लगाउनुभयो। तब उहाँले ती सातवटा रोटी लिनुभयो, त्यसको निम्ति परमेश्वरलाई धन्यवाद दिनुभयो र भाँचेर चेलाहरूलाई बाँड्न लगाउनुभयो । त्यसपछि चेलाहरूले भीडलाई रोटी बाँडे। 7 थोरै साना माछाहरू पनि पाइयो, येशूले त्यसमा पनि आशिष् मागेर चेलाहरूलाई बाँड्न लगाउनुभयो। 8 उनीहरूले अघाउन्जेल खाए। यसरी मानिसहरूले खाइसके र उबारेका टुक्राटाक्रीहरू बटुल्दा सातवटा ठूलठूला डालाहरू भरिए। 9 त्यस दिन रोटी खाने मानिसहरूको सङ्ख्या चार हजारजति थिए। उनीहरूले त्यसरी खाइसकेपछि उहाँले उनीहरूलाई आ-आफ्नो घर पठाउनुभयो। 10 त्यसको लगत्तैपछि आफ्ना चेलाहरूसँग येशू डुङ्गामा चढ्नुभयो र दलमनुथाको क्षेत्रमा जानुभयो। 11 येशू आउनुभएको छ भन्ने सुनेर फरिसीहरू उहाँसँग तर्क गर्न आए। उहाँ साँच्चै परमेश्वरबाट आउनुभएको हो कि होइन भनी पारख गर्दै तिनीहरूले भने, ‘‘तपाईं आफैलाई प्रमाणित गर्नको निम्ति स्वर्गबाट हामीलाई एउटा चिन्ह देखाउनुहोस्।’’ 12 उहाँले तिनीहरूका कुरा सुनेर लामो सास फेर्दै भन्नुभयो, ‘‘तिमीहरू किन बारम्बार चिन्ह माग्छौ? साँच्चै म तिमीहरूलाई भन्दछु, यस पुस्तालाई म त्यस्तो कुनै चिन्ह दिनेछैन।’’ 13 यसरी उहाँ डुङ्गामा चढ्नुभयो र तिनीहरूलाई छोडेर झीलको पारिपट्टि जानुभयो। 14 तर चेलाहरूले आफूसित खानेकुरा बोक्न बिर्सेकाले डुङ्गामा तिनीहरूसित एउटै मात्र रोटी थियो। 15 समुद्र तर्दै गर्दा येशूले तिनीहरूलाई चेताउनी दिनुभयो, ‘‘तिमीहरू हेरोद र फरिसीहरूको खमीरदेखि होसियार बस।’’ 16 तिनीहरूसित रोटी नभएको कारण उहाँले त्यसो भन्नुभएको हो भनी तिनीहरूले आपसमा कुराकानी गरे। 17 के तिमीहरू आँखा भएर पनि देख्न सक्दैनौ? के तिमीहरूका कान भएर पनि सुन्दैनौ? के तिमीहरू केही पनि सम्झँदैनौ? 18 तिनीहरू के सोचिरहेका छन् भन्ने थाहा पाएर येशूले भन्नुभयो, ‘‘रोटी छैन भनेर तिमीहरू किन चिन्ता गर्छौ? के तिमीहरू कहिल्यै देख्दैनौ वा बुझ्दैनौ? के तिमीहरूको हृदय यति पनि बुझ्न नसक्ने गरी कठोर भएको छ? 19 के मैले पाँचवटा रोटीबाट पाँच हजारलाई खुवाइनँ र? उब्रेका टुक्राटाक्रीहरू तिमीहरूले कति डाला बटुलेका थियौ?’’ तिनीहरूले भने, ‘‘बाह्र डाला।’’ 20 उहाँले तिनीहरूलाई भन्नुभयो, ‘‘अनि मैले सातवटा रोटीबाट चार हजारलाई खुवाउँदा तिमीहरूले कति डाला टुक्राटाक्री बटुल्यौ?’’ तिनीहरूले भने, ‘‘सात डाला।’’ 21 उहाँले तिनीहरूलाई भन्नुभयो, ‘‘तिमीहरूले अझै पनि बुझेनौ त ?’’ 22 जब उहाँहरू बेथसेदामा आइपुग्नुभयो, केही मानिसहरूले एउटा अन्धालाई येशूकहाँ ल्याए र उहाँले त्यसलाई छोइदेऊन् भनी उहाँसँग विन्ती गरे। 23 येशूले त्यसलाई डोर्याउँदै गाउँबाट बाहिर लैजानुभयो। त्यसपछि त्यसका आँखामा थुकेर उहाँले त्यसमाथि आफ्ना हात राखेर सोध्नुभयो,‘‘अहिले केही देख्दैछौ?’’ 24 त्यस मानिसले यताउति हेरेर भन्यो, ‘‘हजूर, म मानिसहरूलाई देख्दैछु, तर प्रस्टसँग देख्न सक्दिनँ। म त तिनीहरूलाई रूखहरूजस्ता तर हिँडिरहेको देख्दैछु।’’ 25 येशूले फेरि त्यसका आँखामा हात राख्नुभयो। त्यसपछि जब त्यसले एकटक लगाएर हेर्यो, तब त्यसले पूर्णरूपले दृष्टि प्राप्त गर्यो र सबै कुरा प्रस्टैसँग देख्न थाल्यो। 26 येशूले त्यसलाई यसो भनेर घर पठाउनुभयो, ‘‘तिमी गाउँतिर नपसी सीधै घर जाऊ र यो कुरा कसैलाई नभन।’’ 27 येशू र चेलाहरू गालील छाडेर कैसरिया फिलिप्पीका गाउँहरूतिर जानुभयो। त्यहाँ हिँड्दै गर्दा येशूले चेलाहरूलाई सोध्नुभयो,‘‘मानिसहरू ‘म को हुँ’ भनी भन्छन्?’’ 28 तिनीहरूले भने,‘‘हजूर, कोही तपाईंलाई बप्तिस्मा दिने यूहन्ना, कोही एलिया र अरुले अगमवक्ताहरूमध्ये कुनै एक भन्छन्।’’ 29 त्यसपछि येशूले सोध्नुभयो, ‘‘तिमीहरू म को हुँ भनी भन्छौ?’’ पत्रुसले जवाफ दिए, ‘‘तपाईं त स्वयम् मसीह हुनुहुन्छ।’’ 30 तर येशूले कसैलाई पनि यस विषयमा नभन्नू भनी कडा चेताउनी दिनुभयो। 31 तब उहाँले तिनीहरूलाई ‘मानिसको पुत्रले धेरै कष्ट सहनुपर्छ र धर्मगुरुहरू, मुख्य पूजाहारीहरू र धार्मिक व्यवस्थाका शिक्षकहरूबाट तिरस्कृत हुनु, मारिनु र तेस्रो दिनमा पुनर्जीवित हुनुपर्नेछ’ भनी सिकाउन थाल्नुभयो। 32 येशूले तिनीहरू सबैले सुन्नेगरी यसो भन्नुहुँदा पत्रुसले उहाँलाई अलग्गै लगेर हप्काए। 33 येशू चेलाहरूतिर फर्केर तिनीहरूलाई हेर्नुभयो र पत्रुसलाई झपार्दै भन्नुभयो, ‘‘शैतान, तँ मेरो सामुन्नेबाट हटिजा। तँ त मानवीय दृष्टिले हेर्दछस्, परमेश्वरको दृष्टिले होइन ।’’ 34 त्यसपछि उहाँले आफ्ना चेला र अरु मानिसहरूलाई आफूकहाँ बोलाएर भन्नुभयो, ‘‘यदि तिमीहरूमध्ये कोही मेरोपछि लाग्न चाहन्छ भने उसले आफ्ना सबै स्वार्थी इच्छाहरू त्यागोस् र आफ्नो क्रूस उठाएर मेरो अनुसरण गरोस्। 35 तिमीहरू आफैले आफ्नो प्राण बचाउने प्रयास गर्यौ भने त्यो गुमाउनेछौ । तर यदि तिमीहरूले मेरो र सुसमाचारको खातिर आफैलाई अर्पण गर्यौ भने साँचो जीवन पाउनेछौ। 36 सारा संसार नै हात पारेर पनि तिमीहरूले आफ्नो प्राण गुमायौ भने तिमीहरूलाई के लाभ? 37 के तिमीहरूको प्राणभन्दा मूल्यवान् अरु कुनै कुरा छ र? 38 यदि यस व्यभिचारी र पापी पुस्तामा कोही म र मेरो वचनसित सर्माउँछ भने म, मानिसको पुत्र पनि आफ्ना पिताको महिमामा र पवित्र स्वर्गदूतहरूको साथमा फर्किआउँदा ऊसित सर्माउनेछु।’’ 91 येशूले अझै भन्नुभयो, ‘‘साँच्चै म तिमीहरूलाई भन्दछु, यहाँ उभिनेहरूमध्ये कोही कोहीले परमेश्वरको राज्य महान् शक्तिसाथ आएको नदेखेसम्म मृत्युको स्वाद चाख्नेछैनन्।’’2 छ दिनपछि येशूले पत्रुस, यूहन्ना र याकूबलाई लिएर एउटा डाँडामा जानुभयो। त्यहाँ अरु कोही पनि थिएनन्। उनीहरूले हेर्दाहेर्दै येशूको रूप परिवर्तन भयो। 3 अनि उहाँको वस्त्र उज्ज्वल र अति नै सेता भए, यस्तो कि पृथ्वीमा कसैले पनि धोएर सेतो पार्न सक्दैन। 4 तब एलिया र मोशा येशूको छेउमा देखा परे र येशूसँग बात मार्न लागे। 5 पत्रुसले उहाँलाई भने, ‘‘गुरुज्यू, कस्तो अचम्म ! हामी यहाँ तीनवटा तम्बु बनाऔं। एउटा तपाईंको निम्ति, एउटा मोशाको निम्ति र एउटा एलियाको निम्ति।’’ 6 के भन्नुपर्ने हो भन्ने कुरा उनलाई पत्तै भएन, किनकि उनीहरू साह्रै भयभीत भएका थिए। 7 उनले यसो भन्दाभन्दै बाक्लो बादलले उनीहरूलाई छोप्यो र बादलबाट एउटा आवाज आयो, ‘‘यिनी मेरा प्रिय पुत्र हुन्, यिनको कुरा सुन्नू।’’ 8 उनीहरूले झट्टै यताउति हेरे, मोशा र एलिया त्यहाँबाट गइसकेका थिए, उनीहरूसँग येशू मात्रै हुनुहुन्थ्यो। 9 डाँडाबाट ओर्लिंदै गर्दा ‘मानिसको पुत्र मृतकबाट पुनर्जीवित नहोउन्जेलसम्म त्यस घटनाको विषयमा कसैलाई नभन्नू’ भनी येशूले सतर्क गराउनुभयो । 10 त्यसकारण उनीहरूले त्यस घटनालाई आफ्नै मनमा राखे तर मृतकबाट पुनर्जीवित हुनु भनेको के हो भनी उनीहरूले आपसमा बहस गरे। 11 उनीहरूले सोध्न थाले, ‘‘ख्रीष्ट आउनुभन्दा पहिले एलिया आउनुपर्छ भनेर धार्मिक व्यवस्थाका शिक्षकहरूले किन जोड दिन्छन् त?’’ 12 येशूले जवाफ दिनुभयो, ‘‘निश्चय, सबै थोकलाई पुनर्स्थापन गर्न एलिया पहिले नै आउँछन्। तर मानिसको पुत्रले तिरस्कार र कष्ट धेरै नै भोग्नुपर्छ भनेर धर्मशास्त्रमा किन लेखिएको छ त? 13 तर म तिमीहरूलाई भन्दछु, एलिया अघि नै आइसकेका छन् र धर्मशास्त्रमा अगमवाणी गरिएझैँ तिनीहरूले उनीसँग जे मन लाग्यो, त्यही गरे।’’ 14 डाँडाको फेदीमा ठूलो भीडले अरु चेलाहरूलाई घेरिराखेको उनीहरूले भेट्टाए । त्यहाँ कोही कोही धार्मिक व्यवस्थाका शिक्षकहरूले तिनीहरूसँग तर्कवितर्क गरिरहेका थिए। 15 येशूलाई आउँदै गर्नुभएको देखेर सबै मानिसहरूले अचम्म माने र उहाँलाई स्वागत गर्न अघि बढे। 16 उहाँले तिनीहरूलाई सोध्नुभयो, ‘‘के विषयमा तर्क गरिरहेका छौ?’’ 17 भीडमा भएका मानिसहरूमध्ये एउटाले भन्यो, ‘‘गुरुज्यू, तपाईंले मेरो छोरोलाई निको पारिदिनुहोस् भनी मैले उसलाई ल्याएको छु। दुष्टात्माले उसलाई पक्रेको छ, त्यसले उसलाई बोल्न नसक्ने बनाएको छ। 18 जब त्यसले छोप्छ, त्यसले उसलाई लछारपछार पार्छ, ऊ मुखभरि फीँज काड्छ र दाह्रा किटेर कक्रक्कै पर्छ । मैले तपाईंका चेलाहरूलाई यस दुष्टात्मालाई निकाली देओ भनेँ, तर तिनीहरूले सकेनन्।’’ 19 येशूले तिनीहरूलाई भन्नुभयो, ‘‘ए अविश्वसनीय मानिसहरू हो, म कहिलेसम्म तिमीहरूको साथमा रहूँला र तिमीहरूले विश्वास गरौला ? मैले कहिलेसम्म तिमीहरूलाई पर्खिने? त्यस केटोलाई यहाँ ल्याऊ।’’ 20 तिनीहरूले त्यस केटोलाई उहाँको नजिक लगे। तर दुष्टात्माले येशूलाई देख्नेबित्तिकै ऊ जमीनमा लडयो, त्यसले केटोलाई लछारपछार पार्यो र चिच्च्याउँदै फीँज काडयो। 21 येशूले त्यसको बुबालाई सोध्नुभयो, ‘‘कहिलेदेखि यसलाई यस्तो भएको हो?’’ उसले भन्यो, ‘‘ऊ सानो छँदै देखि 22 दुष्टात्माले त्यसलाई कहिले आगोमा, त कहिले पानीमा फाल्दछ र मार्न खोज्दछ। कृपया, हामीमाथि कृपा गर्नुहोस्, यदि सक्नुहुन्छ भने यसलाई बचाउन सहायता गर्नुहोस्।’’ 23 येशूले उसलाई सोध्नुभयो, ‘‘तिमीले ‘सक्नुहुन्छ भने’ भनेर के भन्न खोजेका? विश्वास गर्नेको लागि त सबै थोक सम्भव हुन्छ।’’ 24 उसले तुरुन्तै जवाफ दियो, ‘‘प्रभु, म विश्वास गर्छु, मेरो अविश्वासमा मलाई सहायता गर्नुहोस्।’’ 25 भीड बढ्दै गएको देखेर येशूले त्यस दुष्टात्मालाई हप्काउनुभयो, ‘‘ए लाटो र बहिरो आत्मा, यस बालकबाट निस्किआइज, म तँलाई आज्ञा गर्छु, अब फेरि कहिल्यै पनि यस केटोभित्र नपस्।’’ 26 तब त्यो दुष्टात्मा चिच्च्यायो, त्यसले केटोलाई साह्रै निमोठ्दै त्यसबाट निस्केर गयो। त्यो केटो मरेतुल्य भई लम्पसार परिरह्यो। त्यहाँ भएकाहरूले ‘केटो मर्यो’ सम्म पनि भने। 27 तर येशूले त्यसको हात समातेर भुइँबाट उठ्न सहायता गर्नुभयो र त्यो उभियो। 28 त्यसपछि, उहाँ घरमा एकलै हुनुभएको बेला चेलाहरूले उहाँलाई सोधे, ‘‘हामीले त्यस दुष्टात्मालाई किन निकाल्न सकेनौं?’’ 29 येशूले जवाफ दिनुभयो, ‘‘यस्तो दुष्टात्मालाई प्रार्थना र उपवासद्वारा मात्रै निकाल्न सकिन्छ।’’ 30 त्यो ठाउँ छोडेर उहाँहरू गालीलमा आइपुग्नुभयो। येशूले आफूलाई सार्वजनिक गर्न चाहनुभएन। 31 किनकि उहाँ आफ्ना चेलाहरूलाई धेरै समय दिन र तिनीहरूलाई शिक्षा दिन चाहनुहुन्थ्यो। उहाँले तिनीहरूलाई भन्नुभयो, ‘‘मानिसको पुत्रलाई धोका दिइनेछ। उसलाई मारिनेछ। तर त्यसको तीन दिनमा ऊ मृतकबाट पुनर्जीवित हुनेछ।’’ 32 तर येशूले भन्नुभएको कुरा चेलाहरूले बुझेनन् र त्यसको बारेमा सोध्ने आँट पनि गरेनन्। 33 उहाँहरू कफर्नहुम आइपुग्नुभएपछि, येशू र उहाँका चेलाहरू सधैँ बस्ने गरेकै घरमा बस्नुभयो। येशूले तिनीहरूलाई सोध्नुभयो, ‘‘बाटोमा तिमीहरूले के कुरामा तर्क गरिरहेका थियौ?’’ 34 तर तिनीहरूले केही जवाफ दिएनन्, किनभने ‘तिनीहरूमध्ये को सबैभन्दा ठूलो हुने’ भनेर तिनीहरू बहस गर्दै थिए। 35 उहाँ बस्नुभयो र बाह्र चेलाहरूलाई बोलाउनुभयो र भन्न लाग्नुभयो,‘‘तिमीहरूमा जो पहिलो हुन चाहन्छ, उसले आफूलाई सबैभन्दा सानो बनाओस् र अरु सबैको सेवक बनोस्।’’ 36 तब उहाँले एउटा सानो बालकलाई आफ्नो काखमा राख्नुभयो र तिनीहरूलाई भन्नुभयो, 37 ‘‘जसले मेरो खातिर यस बालकलाई स्वीकार गर्दछ, त्यसले मलाई स्वीकार गर्दछ। अनि जसले मलाई स्वीकार गर्दछ, त्यसले मलाई पठाउनुहुने मेरा पितालाई पनि स्वीकार गर्दछ।’’ 38 यूहन्नाले येशूलाई भने,‘‘गुरुज्यू, एक जना मानिसले तपाईंको नाउँमा भूतहरू धपाइरहेको हामीले देख्यौं र त्यसलाई रोक्यौं, किनभने ऊ हामीहरूमध्येको होइन।’’ 39 येशूले भन्नुभयो,‘‘त्यसलाई नरोक, जसले मेरो नाउँमा आश्चर्यकर्महरू गर्दछ, त्यसले तुरुन्तै मेरो विरुद्धमा केही नराम्रो बोल्न सक्दैन। 40 जो हाम्रो विरुद्धमा छैन, ऊ हाम्रो पक्षमा छ। 41 तिमीहरू ख्रीष्टका हौ भन्ने थाहा पाएर जसले तिमीहरूलाई एक कचौरा पानी पिउन दिन्छ, साँच्चै म तिमीहरूलाई भन्दछु, त्यसले निश्चय नै स्वर्गमा इनाम गुमाउनेछैन। 42 तर यदि कसैले ममाथि विश्वास गर्ने यी सानाहरूमध्ये कुनै एउटालाई बाधा दिन्छ भने त्यसलाई त एउटा गह्रौं जाँतो घिच्रोमा बाँधिदिएर समुद्रमा फालिदिनु बेश हुन्छ। 43 यदि तिम्रो हातले तिमीलाई पाप गर्न लगाउँछ भने त्यसलाई काटेर फालिदेऊ, किनभने दुवै हात लिएर नरकको कहिल्यै ननिभ्ने आगोमा जाकिनुभन्दा त एउटै मात्र हात लिएर स्वर्गमा जानु उत्तम हुन्छ। 44 नरकमा न त कीराहरू नै मर्छन्, न आगो नै निभ्छ। 45 यदि तिम्रो खुट्टाले तिमीलाई पाप गर्न लगाउँछ भने त्यसलाई काटेर फालिदेऊ, किनभने दुवै खुट्टा लिएर नरकमा जाकिनुभन्दा त एउटै खुट्टा लिएर स्वर्ग जानु उत्तम हुन्छ। 46 नरकमा न त कीराहरू नै मर्छन्, न आगो नै निभ्छ । 47 अनि तिम्रो आँखाले तिमीलाई पाप गर्न लगाउँछ भने त्यसलाई झिकेर फ्याँकिदेऊ। किनभने दुवै आँखा लिएर नरकमा जाकिनुभन्दा त एउटै मात्र आँखा लिएर परमेश्वरको राज्यमा प्रवेश गर्नु तिम्रोनिम्ति उत्तम हुन्छ। 48 नरकमा न त कीराहरू नै मर्छन्, न आगो नै निभ्छ, 49 किनभने प्रत्येकलाई आगोद्वारा स्वादिलो पारिनेछ। 50 स्वादको निम्ति नुन असल हुन्छ। तर त्यसले स्वाद गुमायो भने त्यसलाई फेरि कसरी नुनिलो बनाउनु? तिमीहरू हरेकमा नुनको गुण छ, त्यसैले आपसमा मेलमिलापमा रहो।’’ 101 त्यसपछि उहाँ कफर्नहुम छाडेर यहूदियाको दक्षिणी मुलुक यर्दन नदीको पूर्वी इलाकामा जानुभयो। सधैँझैँ त्यहाँ ठूलो घुइँचो थियो र उहाँले तिनीहरूलाई शिक्षा दिनुभयो।2 केही फरिसीहरू आए अनि यस्तो प्रश्न सोधेर उहाँलाई अप्ठयारोमा पार्ने कोशिश गरे : ‘‘के एउटा मानिसले उसकी पत्नीलाई त्याग्न उचित छ?’’ 3 येशूले तिनीहरूलाई नै सोध्नुभयो, ‘‘मोशाले यस विषयमा के भनेका छन्?’’ 4 तिनीहरूले जवाफ दिए, ‘‘उनले त त्यसो गर्ने अनुमति दिएका छन्। मानिसले उसकी पत्नीलाई त्यागपत्र लेखेर छाड्न सक्छ।’’ 5 तर येशूले तिनीहरूलाई जवाफ दिनुभयो, ‘‘तिमीहरूका हृदयको कठोरताको कारणले गर्दा नै मोशाले त्यस्तो आज्ञा लेखे। 6 तर सृष्टिको आदिकालदेखि नै परमेश्वरले तिनीहरूलाई पुरुष र स्त्री बनाउनुभयो। 7 यसैले ‘मानिसले आफ्ना आमा- बुबालाई छोड्छ र आफ्नी पत्नीसँगै मिलिरहन्छ 8 र ती दुवै मिलेर एउटै शरीर हुनेछन्, किनभने तिनीहरू अब दुई होइनन्, बरु एउटै शरीर हुन्छन्।’ 9 यसकारण परमेश्वरले जसलाई एकसाथ जोर्नुभएको छ, मानिसले नछुट्टयाओस्।’’ 10 पछि, उहाँ चेलाहरूसँग घरमा हुनुभएको बेला, तिनीहरूले त्यही विषयमा फेरि कुरा निकाले। 11 उहाँले तिनीहरूलाई भन्नुभयो, ‘‘आफ्नी पत्नीलाई त्यागेर अर्कीसँग विवाह गर्नेले त्यसको विरुद्धमा व्यभिचार गर्छ । 12 त्यसैगरी, एउटी स्त्रीले आफ्नो पतिलाई त्यागेर अर्कोसँग विवाह गर्छे भने त्यसले पनि व्यभिचार गर्छे।’’ 13 येशूले साना बालबालिकाहरूलाई छोएर आशिष् देऊन् भनी मानिसहरूले तिनीहरूलाई उहाँकहाँ ल्याए तर चेलाहरूले तिनीहरूलाई हप्काए। 14 यो देखेर उहाँ चेलाहरूसँग अप्रसन्न हुनुभयो र भन्नुभयो, ‘‘ती बालबालिकाहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक, किनभने परमेश्वरको राज्य यस्तैहरूको हो। 15 साँच्चै म तिमीहरूलाई भन्दछु, जसले परमेश्वरको राज्यलाई एउटा बालकले झैँ स्वीकार गर्दैन ऊ त्यसमा कहिले पस्नेछैन ।’’ 16 तब उहाँले ती बालबालिकाहरूलाई अँगालोमा लिनुभयो र तिनीहरूका शिरमा हात राखी आशिष् दिनुभयो। 17 येशू त्यहाँबाट हिँड्न लाग्नुहुँदा एउटा मानिस दगुर्दै उहाँकहाँ आयो। त्यसले घुँडा टेक्दै सोध्यो, ‘‘हे असल गुरु, अनन्त जीवन प्राप्त गर्न मैले के गर्नुपर्छ?’’ 18 येशूले त्यसलाई सोध्नुभयो, ‘‘तिमी मलाई किन असल भन्छौ? परमेश्वर मात्रै साँच्चै असल हुनुहुन्छ। 19 तर जहाँसम्म तिम्रो प्रश्न छ, तिमी व्यवस्थाका यी आज्ञाहरू त जान्दछौ: हत्या नगर, व्यभिचार नगर, नचोर, झूटो साक्षी नदेओ, नठग र आफ्ना आमा-बुबालाई आदर गर।’’ 20 त्यस मानिसले भन्यो, ‘‘गुरुज्यू, मैले ती सबै आज्ञाहरू बालककालदेखि नै पालन गर्दै आएको छु।’’ 21 येशूले त्यसलाई हेर्दै प्रेमपूर्वक भन्नुभयो, ‘‘तिमीसँग एउटै कुराको मात्र कमी छ, जाऊ, तिमीसँग भएका सबै थोक बेच र गरीबहरूलाई बाँडिदेऊ अनि तिमीले स्वर्गमा धेरै धनसम्पत्ति पाउनेछौ। त्यसपछि आएर मेरोपछि लाग।’’ 22 यो कुरा सुनेर त्यो मानिस निराश भयो र घोसेमुन्टो लगाएर त्यहाँबाट गइहाल्यो, किनभने ऊ असाध्यै धनी थियो। 23 येशूले वरिपरि हेर्दै चेलाहरूलाई भन्नुभयो, ‘‘धनी मानिसहरूलाई परमेश्वरको राज्यमा प्रवेश गर्न कति कठिन हुन्छ !’’ 24 उहाँको कुराले चेलाहरू चकित भए। तर उहाँले अझै भन्नुभयो, ‘‘प्रिय बालक हो, धनसम्पत्तिमा भरोसा राख्नेहरूलाई परमेश्वरको राज्यमा प्रवेश गर्न निकै कठिन छ । 25 एउटा धनी मानिसलाई परमेश्वरको राज्यमा प्रवेश गर्नुभन्दा त ऊँटलाई सियोको नाथ्रीमा छिर्न सजिलो हुन्छ।’’ 26 चेलाहरूले अझै चकित हुँदै उहाँलाई सोधे, ‘‘त्यसो भए संसारमा कसले उद्धार पाउला त?’’ 27 येशूले एकटक लाएर हेर्दै भन्नुभयो,‘‘मानिसको दृष्टिमा यो असम्भव छ तर परमेश्वरमा सबै कुरा सम्भव छ।’’ 28 पत्रुसले उहाँलाई भने, ‘‘हामीले तपाईंलाई पछयाउन सबै थोक त्यागेर आएका छौं।’’ 29 येशूले जवाफ दिनुभयो, ‘‘साँच्चै म तिमीहरूलाई भन्दछु, जसले मेरो र सुसमाचारको खातिर आफ्नो घर वा दाजुभाइ वा दिदीबहिनी वा आमा-बुबा वा छोराछोरी वा सम्पत्ति त्यागेको छ, 30 उसले यस संसारमा सतावटको साथसाथै सयौं गुणा बढ्ता गरेर घरहरू, दाजुभाइहरू, दिदीबहिनीहरू, आमा-बुबाहरू, छोराछोरीहरू र धनसम्पत्ति प्राप्त गर्नेछ, साथै आउँदो युगमा उसले अनन्त जीवन पाउनेछ। 31 तर धेरै जना, जो पहिला छन्, पछिल्ला हुनेछन् र पछिल्लाहरू पहिला हुनेछन्।’’ 32 उहाँहरू माथि यरूशलेमतिर जाँदै हुनुहुन्थ्यो, येशू सबैभन्दा अगाडि हिँडिरहनुभएको थियो। चेलाहरू बेचैन थिए र पछिपछि आउने मानिसहरू सबै नै भयभीत थिए । बाह्र चेलाहरूलाई एकातिर लगेर फेरि एकचोटि येशूले यरूशलेममा आफूमाथि के के हुनआउनेछ भनेर बताउन लाग्नुभयो। 33 उहाँले भन्नुभयो, ‘‘हामी जब यरूशलेम पुग्छौं, मानिसको पुत्रलाई धोका दिएर मुख्य पूजाहारीहरू र धार्मिक व्यवस्थाका शिक्षकहरूको हातमा सुम्पिनेछ। तिनीहरूले उसलाई मृत्युदण्ड तोक्नेछन् र रोमीहरूका हातमा सुम्पिनेछन्। 34 तिनीहरूले उसलाई गिल्ला गर्नेछन्, थुक्नेछन्, कोर्राले चुट्नेछन् र मार्नेछन्। तर त्यसको तीन दिनपछि ऊ फेरि मृतकबाट जीवित भई उठ्नेछ।’’ 35 त्यसपछि जब्दियाका छोराहरू, यूहन्ना र याकूब उहाँकहाँ आएर भने, ‘‘गुरुज्यू, तपाईंले हामीलाई विशेष कृपा गरिदिनुहोस् भन्ने हामी चाहन्छौं।’’ 36 उहाँले तिनीहरूलाई सोध्नुभयो, ‘‘म तिमीहरूको निम्ति के गरूँ भन्ने चाहन्छौ?’’ 37 तिनीहरूले उहाँलाई भने, ‘‘तपाईंको महिमित राज्यमा हामी दुई दाजुभाइ तपाईंको दाहिने र देब्रेपट्टि आदरको स्थानमा बस्न पाऊँ।’’ 38 तर येशूले तिनीहरूलाई भन्नुभयो, ‘‘तिमीहरू के मागिरहेका छौ त्यो बुझ्दैनौ। के मैले पिउनलागेको कचौराबाट तिमीहरू पनि पिउन सक्छौ र? के मैले लिनैपर्ने बप्तिस्मा तिमीहरू पनि लिन सक्छौ?’’ 39 तिनीहरूले जवाफ दिए, ‘‘हजूर, हामी सक्छौं।’’ अनि येशूले भन्नुभयो, ‘‘तिमीहरूले मेरो कचौराबाट पिउनेछौ र मैले लिएको बप्तिस्मा लिनेछौ, 40 तर मेरो दाहिने र देब्रेतिर को बस्न पाउँछ भन्ने अधिकार मसँग छैन। परमेश्वरले नै मेरो दाहिने र देब्रेतिर बस्ने व्यक्तिहरू रोजिसक्नुभएको छ।’’ 41 यो कुरा सुनेर ती दश जना, याकूब र यूहन्नासँग रिसाए। 42 यसकारण येशूले सबैलाई भेला गरेर भन्नुभयो,‘‘तिमीहरूलाई थाहा छ, संसारका राजाहरू निरङ्कुश छन् र शासन गर्ने अधिकारीहरूले जनतामाथि आफ्नो प्रभुत्व जमाउँछन्। 43 तर तिमीहरूको बीचमा त त्यस्तो हुनुहुँदैन, तिमीहरूमध्ये जो अगुवा बन्ने इच्छा गर्छ, ऊ तिमीहरूको सेवक हुनुपर्छ। 44 अनि जो पहिलो हुने इच्छा गर्छ, ऊ तिमीहरूको दास हुनुपर्छ। 45 किनभने म, मानिसको पुत्र आफै पनि अरुबाट सेवा पाउन आएको होइनँ तर अरुको सेवा गर्न र धेरैको निम्ति छुटकाराको मोलको रूपमा आफ्नो प्राण अर्पण गर्न आएको हुँ।’’ 46 उहाँहरू यरीहोमा पुग्नुभयो। पछि येशू र चेलाहरूले त्यो ठाउँ छोडेर जाँदै गर्दा एउटा ठूलो भीडले पछयाइरहेको थियो। तिमैको छोरो बर्तिमै, अन्धो भिखारी सडक छेउमा बसिरहेको थियो र येशू त्यही बाटो भएर जाँदै हुनुहुन्थ्यो। 47 नासरतबाट आउनुभएका येशू नजिकै हुनुहुन्छ भन्ने सुनेर ऊ कराउन थाल्यो, ‘‘हे येशू, दाऊदको छोरो, ममाथि कृपा गर्नुहोस्।’’ 48 कसै-कसैले उसलाई यसरी हप्काए, ‘‘एई चुप लाग्।’’ तर ऊ अझै जोडसित कराइरह्यो, ‘‘हे दाऊदको छोरा, ममाथि दया गर्नुहोस्।’’ 49 येशूले उसको पुकारा सुन्नुभयो र टक्क अडिएर भन्नुभयो,‘‘उसलाई यहाँ बोलाऊ।’’ अनि मानिसहरूले उसलाई बोलाउँदै भने, ‘‘साहस गर्, उहाँले तँलाई बोलाउँदै हुनुहुन्छ, आइज।’’ 50 बर्तिमैले आफ्नो खास्टो एकातिर मिल्कायो र जुरुक्क उठेर येशूकहाँ आयो। 51 येशूले उसलाई सोध्नुभयो,‘‘मैले तिम्रो लागि के गरिदिऊँ भन्ने चाहन्छौ?’’ उसले भन्यो,‘‘गुरुज्यू, म देख्न चाहन्छु।’’ 52 अनि येशूले उसलाई भन्नुभयो, ‘‘आफ्नो बाटो लाग, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।’’ त्यति नै बेला उसले देख्नसक्योर ऊ बाटोमा येशूको पछि लाग्यो। 111 येशू र उहाँका चेलाहरू यरूशलेमतिर आउँदै गर्नुहुँदा उहाँहरू जैतुन डाँडाको बेथफागे र बेथानी शहरहरूमा आइपुग्नुभयो। उहाँले चेलाहरूमध्ये दुई जनालाई अघिअघि पठाउनुभयो।2 उहाँले तिनीहरूलाई भन्नुभयो, ‘‘सामुन्नेको गाउँमा जाओ, त्यहाँ पस्दै गर्दा तिमीहरूले कहिल्यै कोही नचढेको एउटा गधाको बछेडो बाँधिराखेको भेट्टाउनेछौ। त्यसलाई खोलेर यहाँ ल्याओ। 3 यदि कसैले तिमीहरूलाई के गरेको भनी सोध्यो भने यसो भन्नू, ‘हाम्रा गुरुलाई यसको आवश्यकता छ र उहाँले चाँडै फर्काउनुहुनेछ’। ’’ 4 चेलाहरू गए र तिनीहरूलाई भनिएझैँ घरबाहिर सडकमा बछेडोलाई बाँधिराखेको भेट्टाए। 5 तिनीहरूले त्यसलाई फुकाउँदै गर्दा नजिकैबाट कसैले सोध्यो, ‘‘यसलाई फुकाएर तिमीहरूले के गर्न लागेका?’’ 6 येशूले अह्राउनुभएकै कुरा तिनीहरूले भने र उनीहरूले त्यो बछेडालाई लैजाने अनुमति पाए। 7 त्यसपछि तिनीहरूले त्यस बछेडालाई येशूकहाँ ल्याए र तिनीहरूले आफ्नो वस्त्र फुकालेर त्यसको ढाडमा ओछयाइदिए अनि उहाँ त्यसमाथि चढ्नुभयो। 8 भीडमा भएका धेरैले आफ्नो खास्टोहरू फुकालेर येशूको अघिअघि बाटोमा ओछयाइदिए, अरु कतिले वरपर भएका स्याउलाहरू काटेर ल्याई बाटोभरि बिछयाइदिए। 9 उहाँ ठूलो भीडको बीचमा हुनुहुन्थ्यो। सम्पूर्ण भीड नै यसो भनेर जोडले कराउँदै थियो, ‘‘परमेश्वरलाई स्तुति होस् ! परमप्रभुको नाउँमा आउनुहुने धन्यका हुन् ! 10 हाम्रा पुर्खा दाऊदको आउने राज्य धन्यको होस् ! सर्वोच्च स्वर्गमा हुनुहुने हाम्रा परमेश्वरलाई स्तुति होस् !’’ 11 यसरी येशू यरूशलेममा आइपुग्नुभयो र मन्दिरमा जानुभयो; उहाँले त्यहाँ वरपर राम्ररी हेर्नुभयो र अबेर भएको हुनाले उहाँ त्यहाँबाट निस्किएर बाह्र चेलाहरूलाई साथमा लिएर बेथानीतिर जानुभयो। 12 भोलिपल्ट बिहान बेथानीबाट निस्केर जाँदै गर्दा येशू भोकाउनुभयो। 13 येशूले केही पर एउटा झ्याम्म परेको नेभारोको रूखलाई देख्नुभयो र त्यसमा केही फल लागेको छ कि भनेर हेर्न उहाँ जानुभयो। त्यसबेला नेभारोको फल फल्ने समय आएकै थिएन। त्यसकारण त्यस रूखमा पातैपात मात्र थियो। 14 तब येशूले त्यस रूखलाई भन्नुभयो,‘‘अब उप्रान्त कसैले तेरो फल खान नपाओस्।’’ उहाँले बोल्नुभएको कुरा उहाँका चेलाहरूले सुने। 15 उहाँहरू फर्किएर यरूशलेममा नै आउनुभयो र येशू मन्दिरभित्र पस्नुभयो। अनि त्यहाँ भएका व्यापारीहरू र तिनका ग्राहकहरूलाई उहाँले धपाउनुभयो। उहाँले पैसा साट्नेहरूका टेबुल र ढुकुर बेच्नेहरूका पसल पल्टाइदिनुभयो। 16 उहाँले कसैलाई पनि व्यापारका मालहरू यताउति लैजान दिनुभएन। 17 उहाँले तिनीहरूलाई सिकाउनुभयो, ‘‘धर्मशास्त्रमा लेखिएको छ, ‘मेरो मन्दिर सबै जातिका लागि प्रार्थनाको घर कहलिनेछ।’ तर तिमीहरूले यसलाई डाँकाहरूको ओडार बनाएका छौ।’’ 18 त्यहाँ येशूले के गर्नुभयो भन्ने कुरा जब मुख्य पूजाहारीहरू र धार्मिक व्यवस्थाका शिक्षकहरूले सुने, तबदेखि नै उहाँलाई कसरी मार्ने भनी तिनीहरूले षडयन्त्र रच्न थाले। तर तिनीहरू उहाँसँग डराउँथे, किनभने मानिसहरू येशूको शिक्षाप्रति ज्यादै उत्साहित थिए। 19 त्यही साँझ येशू र उहाँका चेलाहरू शहरबाहिर गए। 20 भोलिपल्ट बिहानै त्यही बाटो भएर जाँदै गर्दा येशूले सराप दिनुभएको त्यस नेभारोको रूखलाई चेलाहरूले जरैदेखि सुकेको देखे। 21 अघिल्लो दिन येशूले त्यसलाई के भन्नुभएको थियो भन्ने सम्झिएर पत्रुसले भने, ‘‘गुरुज्यू, हेर्नुहोस् त, तपाईंले सराप्नुभएको रूख त सुकेछ।’’ 22 येशूले चेलाहरूलाई भन्नुभयो, ‘‘परमेश्वरमा विश्वास राख। 23 साँच्चै म तिमीहरूलाई भन्दछु, यदि कसैले आफ्नो हृदयमा शङ्का गर्दैन तर आफूले भनेका कुरा पूरा हुन्छ भनी विश्वास गरेर यस पहाडलाई ‘उखेलिएर तँ समुद्रमा खस्’ भन्यो भने, त्यसको निम्ति त्यस्तै हुनेछ। 24 मेरो कुरा सुन। तिमीहरूले प्रार्थनामा जेसुकै माग्छौ सो पाएका छौ भन्ने विश्वास राख र त्यो तिमीहरूको हुनेछ। 25 तर तिमीहरू जब प्रार्थना गर्छौ, कसैको विरुद्धमा तिम्रो केही छ भने क्षमा गर र स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका पाप क्षमा गरिदिनुहुनेछ। 26 तर यदि तिमीहरूले क्षमा गरेनौ भने स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका अपराध क्षमा गर्नुहुनेछैन।’’ 27 त्यसबेला उहाँहरू फेरि यरूशलेम आइपुग्नुभयो । येशू मन्दिरको परिसरमा हिँड्दै गर्नुहुँदा मुख्य पूजाहारीहरू, धार्मिक व्यवस्थाका शिक्षकहरू र फरिसीहरू उहाँको अगाडि आए र 28 यसो भन्दै प्रश्न गरे, ‘‘मन्दिरबाट व्यापारीहरूलाई हटाउने अधिकार तिमीले कसबाट पायौ? तिमीलाई यस्तो अधिकार कसले दियो?’’ 29 येशूले भन्नुभयो, ‘‘यदि तिमीहरूले मेरो प्रश्नको जवाफ दियौ भने मलाई यसो गर्ने अधिकार कसले दियो भनी म बताउनेछु। 30 यूहन्नाको बप्तिस्मा स्वर्गबाटको थियो कि मानिसबाटको? मलाई भन।’’ 31 तिनीहरूले त्यस विषयमा आपसमा यसरी छलफल गरे, ‘‘यदि हामीले ‘स्वर्गबाट’ भन्यौं भने तिमीहरूले किन उसलाई विश्वास गरेनौ त भन्लान्, 32 तर ‘मानिसबाट’ भन्यौं भने यी मानिसहरूले विरोध गर्लान्।’’ किनकि बप्तिस्मा दिने यूहन्ना अगमवक्ता हुन् भनेर सबै मानिसहरूले विश्वास गर्थे। 33 त्यसपछि तिनीहरूले अन्त्यमा भने, ‘‘हामी जान्दैनौं।’’ येशूले पनि त्यस्तै जवाफ दिनुभयो,‘‘म पनि तिमीहरूले सोधेको प्रश्नको जवाफ दिन्नँ।’’ 121 त्यसपछि येशूले तिनीहरूलाई दृष्टान्त सुनाउन थाल्नुभयो : ‘‘एक जना मानिसले आफ्नो जमीनमा अङ्गुरबारी लगायो। त्यसको वरिपरि पर्खाल बनायो र अङ्गुर पेल्ने कोल राख्यो अनि पाले बस्ने मचान पनि बनायो। त्यसपछि उसले अङ्गुरबारी मोहीहरूलाई जिम्मा लगाएर टाढा देशमा गयो।2 अङ्गुर टिप्ने समयमा उसले आफ्ना एक जना नोकरलाई आफ्नो भाग लिन पठायो। 3 तर मोहीहरूले त्यो नोकरलाई पक्रेर पिटे र रित्तै हात पठाइदिए। 4 फेरि उसले अर्को नोकरलाई पठायो तर तिनीहरूले त्यसको टाउकोमा हिर्काए र बेइज्जत गरी पठाए। 5 उसले अर्को नोकरलाई पनि पठायो तर त्यसलाई पनि तिनीहरूले मारे । त्यसैगरी पठाइएका अरुहरू कोही पिटिए त कोही मारिए। 6 अब उसले पठाउनसक्ने उसको एउटै प्रिय छोरो मात्र थियो ‘तिनीहरूले मेरो छोरोलाई त आदर गर्लान्’ भन्ने सोचेर उसलाई तिनीहरूकहाँ पठायो। 7 तर ती मोहीहरूले उसको छोरोलाई देखेर आपसमा भने, ‘‘यस जमीनको हकवाला नै आउँदै छ। लौ, त्यसलाई पनि मारौं र त्यसपछि यो सबै सम्पत्ति हाम्रो हुनेछ।’’ 8 त्यसकारण तिनीहरूले त्यसलाई पक्रेर मारे र अङ्गुरबारीको बाहिरपट्टि फालिदिए। 9 अब त्यस जमीनको मालिकले ती मोहीहरूलाई कस्तो दण्ड देला ? म तिमीहरूलाई भन्दछु, ऊ आफै आउनेछ र ती सबैलाई मारेर त्यो अङ्गुरबारी अर्कैलाई दिनेछ। 10 के तिमीहरूले धर्मशास्त्रमा कहिल्यै पढेका छैनौ? ‘डकर्मीहरूले रद्द गरेको ढुङ्गो नै कुनाको शिरढुङ्गो बन्यो। 11 यो परमप्रभुको काम हो र यो हाम्रो दृष्टिमा अचम्मको छ।’ 12 उहाँले त्यस्तो दृष्टान्त दिएर बोल्नुभएको कारण यहूदी अगुवाहरू येशूलाई पक्रन चाहन्थे-उहाँले दृष्टान्तमा बताउनुभएका मोहीहरू तिनीहरू नै थिए। तर भीडको कारण तिनीहरू उहाँलाई छुन डराए। त्यसकारण तिनीहरूले उहाँलाई छोडेर गइहाले। 13 धार्मिक अगुवाहरूले केही फरिसीहरू र हेरोदका समर्थकहरूलाई पठाई येशूलाई उहाँकै कुरामा फँसाएर उहाँमाथि आरोप लगाउने कोशिश गरे। 14 ती मानिसहरूले भने,‘‘गुरुज्यू, तपाईं कति इमानदार हुनुहुन्छ भन्ने कुरा हामीलाई थाहा छ। तपाईं निष्पक्ष हुनुहुन्छ र कसैलाई भेदभाव गर्नुहुन्न। तपाईंले सत्यतामा परमेश्वरको मार्ग सिकाउनुहुन्छ। अब हामीलाई भन्नुहोस्- हामीले सिजरलाई कर तिर्नु ठीक हो कि होइन? 15 हामी सिजरलाई कर तिरौं कि नतिरौं?’’ येशूले तिनीहरूको कपटलाई बुझेर भन्नुभयो, ‘‘तिमीहरू यस्तो छलपूर्ण प्रश्न गरेर कसलाई फसाउन खोज्दैछौ? मलाई एउटा सिक्का देखाओ, तब म भनूँला।’’ 16 जब तिनीहरूले उहाँको हातमा एउटा सिक्का राखिदिए, उहाँले सोध्नुभयो, ‘‘यसमा कसको आकृति खोपिएको छ?’’ तिनीहरूले भने,‘‘सिजरको ।’’ 17 येशूले भन्नुभयो,‘‘त्यसो भए जे सिजरका हुन् ती सिजरलाई देओ, तर जेजति कुरा परमेश्वरका हुन्, ती परमेश्वरलाई देओ।’’ उहाँले दिनुभएको यस्तो जवाफ सुनेर तिनीहरू बोल्नै सकेनन्। 18 मृत्युपछि पुनरुत्थान हुँदैन भनी विश्वास गर्ने केही सदुकीहरू येशूकहाँ आएर यस्तो प्रश्न गरे, 19 ‘‘गुरुज्यू, मोशाले यस्तो व्यवस्था दिएका छन् - यदि कुनै मानिसले विवाह गरेर सन्तान नजन्माई मर्यो भने उसको दाजु वा भाइले त्यस विधवासित विवाह गरोस् र उसको हक लिने सन्तान जन्माओस्। 20 कुनै परिवारमा सात जना दाजुभाइ थिए। जेठोले विवाह गर्यो र सन्तान नजन्माई मर्यो। 21 त्यसकारण माहिलोले विधवासित विवाह गर्यो, ऊ पनि सन्तान नजन्माई मर्यो । त्यसपछि साहिँलोले विवाह गर्यो र ऊ पनि सन्तान नजन्माई मर्यो। 22 त्यस्तै प्रकारले सातै भाइहरूले त्यस विधवासित विवाह गरे र सन्तान नजन्माई मरे । अन्त्यमा त्यस विधवा पनि मरी । 23 अब भन्नुहोस्, पुनरुत्थानमा त्यो कसकी पत्नी हुनेछे? किनभने सातै भाइसँग त्यसको विवाह भएको थियो ।’’ 24 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, ‘‘तिमीहरूले धर्मशास्त्र र परमेश्वरको शक्तिलाई नबुझ्नु नै तिमीहरूको समस्या हो। तिमीहरू भ्रममा परेका छौ। 25 किनभने पुनरुत्थानमा बिहेबारी हुनेछैन । सबै जना स्वर्गमा परमेश्वरका दूतहरूजस्ता हुनेछन्। 26 पुनरुत्थानको विषयमा के भनिएको छ, तिमीहरूले मोशाको पुस्तकमा पढेका छैनौ? कसरी जलिरहेको पोथ्रामा परमेश्वरले यसो भन्दै बोल्नुभयो, ‘म अब्राहाम, इसहाक र याकूबका परमेश्वर हुँ।’ 27 उहाँ मृतकहरूका होइन तर जीवितहरूका परमेश्वर हुनुहुन्छ; तिमीहरूले ठूलो भूल गरेका छौ।’’ 28 धार्मिक व्यवस्थाका शिक्षकहरूमध्ये कुनै एक जना त्यो बहस सुन्दै नजिकै उभिरहेका थिए। येशूले ठीक जवाफ दिनुभयो भन्ने बुझेर तिनले सोधे, ‘‘आज्ञाहरूमध्ये सबैभन्दा महत्वपूर्ण कुन हो?’’ 29 येशूले जवाफ दिनुभयो, ‘‘आज्ञाहरूमा सबैभन्दा महत्वपूर्ण यो हो: ‘हे इस्राएल सुन, परमप्रभु हाम्रा परमेश्वर, एकमात्र प्रभु हुनुहुन्छ। 30 तिमीहरूले आफ्नो सम्पूर्ण हृदयले, सम्पूर्ण प्राणले, सम्पूर्ण समझले र सम्पूर्ण शक्तिले परमप्रभु परमेश्वरलाई प्रेम गर्नू।’ 31 अर्को आज्ञा पनि त्यत्तिकै महत्वपूर्ण छ :‘तिमीहरूले आफ्नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर्नू।’ अरु कुनै पनि आज्ञा यीभन्दा महत्वपूर्ण छैनन्।’’ 32 धार्मिक व्यवस्थाका शिक्षकले जवाफ दिए, ‘‘गुरुज्यू, ठीक भन्नुभयो। एउटै मात्र परमेश्वर हुनुहुन्छ, उहाँबाहेक अरु कोही छैन भनेर तपाईंले साँचो कुरा भन्नुभयो । 33 अनि म जान्दछु, मैले मेरा परमेश्वरलाई मेरो सम्पूर्ण हृदयले, सम्पूर्ण समझले, सम्पूर्ण शक्तिले प्रेम गर्नू र मेरो छिमेकीलाई आफूलाई जस्तै गरी प्रेम गर्नू अत्यन्तै महत्वपूर्ण छ। यो आज्ञापालन गर्नु भनेको व्यवस्थालेभनेबमोजिम सबै प्रकारका भेटीहरू र बलिदानहरू चढाउनुभन्दा पनि महत्वपूर्ण छ।’’ 34 तिनको ज्ञानपूर्ण जवाफ सुनेर येशूले भन्नुभयो,‘‘तिमी परमेश्वरको राज्यबाट टाढा छैनौ।’’ अनि त्यसपछि कसैले पनि येशूलाई प्रश्न सोध्ने आँट गरेन। 35 अनि येशूले मन्दिरमा मानिसहरूलाई सिकाउँदै गर्नुहुँदा तिनीहरूलाई सोध्नुभयो,‘‘किन धार्मिक व्यवस्थाका शिक्षकहरूले ख्रीष्ट दाऊदका छोरा हुनुहुन्छ भनी दाबी गर्छन्? 36 दाऊद आफैले त पवित्र आत्माको प्रेरणामा यसो भनेका थिए : परमप्रभुले मेरा प्रभुलाई भन्नुहुन्छ, ‘तिमी मेरो दाहिने हातपट्टि बस, जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पाउदान तुल्याउँदिनँ।’ 37 दाऊद आफैले ख्रीष्टलाई प्रभु भन्छन् भने, उनी कसरी दाऊदका छोरा भए?’’ भीडमा जम्मा भएका मानिसहरूले अझै चाख मानेर उहाँको कुरा सुने। 38 उहाँले त्यसबेला सिकाउनुभएका शिक्षाहरूमध्ये केही यी नै हुन्, ‘‘धार्मिक व्यवस्थाका शिक्षकहरूदेखि होशियार बस। तिनीहरू लामा-लामा पोशाक लगाउँछन् र बजारमा मानिसहरूले अभिवादन गरेको मन पराउँछन् । 39 तिनीहरू सभाघरमा मुख्य स्थान र भोजहरूमा आदरको स्थान खोज्छन्, 40 तिनीहरूले विधवाहरूका घर लुट्छन् र लोकाचारको लागि लामो-लामो प्रार्थना गर्छन्। यी मानिसहरूले अझ बढी दण्ड पाउनेछन्।’’ 41 येशू मन्दिरको दानपात्रको छेउमा बस्नुभयो र मानिसहरूले भेटी चढाउँदा हरेकलाई हेर्नुभयो। अनि धेरै धनी मानिसहरूले प्रशस्त भेटी चढाए। 42 त्यसपछि एउटी गरीब विधवाले आएर तामाका दुई सिक्का अर्थात् एक पैसा चढाई। 43 येशूले चेलाहरूलाई बोलाएर भन्नुभयो, ‘‘साँच्चै म तिमीहरूलाई भन्दछु, यी सबै मानिसहरूले भन्दा धेरै भेटी यस विधवाले चढाएकी छ, 44 किनभने अरुले त आफ्नो प्रशस्तताबाट थोरै अंश मात्र भेटी हाले तर यस गरीब विधवाले आफूसँग भएको सबै थोक चढाई।’’ 131 त्यस दिन येशू मन्दिरबाट निस्किँदै गर्दा उहाँका चेलाहरूमध्ये एक जनाले भने, ‘‘गुरुज्यू, हेर्नुहोस् त यो मन्दिरको भवनहरू कति भव्य र कति ठूला-ठूला ढुङ्गाहरू !’’2 येशूले भन्नुभयो, ‘‘यो भव्य भवन एउटा ढुङ्गामाथि अर्को ढुङ्गा नरहने गरी पूर्णरूपले ध्वस्त भइजानेछ।’’ 3 येशू मन्दिरको सीधै पारिपट्टि जैतुन डाँडामा बस्नुभएको बेला पत्रुस, यूहन्ना, याकूब र अन्द्रियास उहाँकहाँ आएर सुटुक्क उहाँलाई सोधे, 4 ‘‘हामीलाई भन्नुहोस्, यी सबै घटनाहरू कहिले हुनेछन् ? यी सबै पूरा हुनुभन्दा अघि कस्तो चिन्ह हुनेछ?’’ 5 येशूले जवाफ दिनुभयो,‘‘कसैले पनि तिमीहरूलाई भ्रममा नपारोस्, 6 किनभने धेरै जना मेरो नाउँमा ‘ख्रीष्ट हुँ’ भनेर दाबी गर्दै आउनेछन्। तिनीहरूले धेरैलाई बहकाउनेछन्। 7 तिमीहरूले युद्ध र युद्धहरूका हल्ला सुन्नेछौ तर नआत्तिओ। यी सबै कुरा हुनैपर्छ तर अन्त्य त्यति नै बेला हुनेछैन। 8 जाति जातिको विरुद्धमा र राज्य राज्यको विरुद्धमा युद्ध चर्किनेछ अनि संसारको धेरै भागमा भूकम्प र अनिकालहरू हुनेछन्। तर यी सबै त आउने दिनका सङ्कष्टको शुरु मात्र हो। 9 जब यी घटनाहरू घट्न थाल्नेछन्, होशियार रहो। तिमीहरूलाई पक्रेर अदालतमा हाजिर गराइनेछ र सभाघरहरूमा तिमीहरूलाई पिटिनेछ। तिमीहरू मेरा चेला भएको कारण राजाहरू र शासकहरूको सामुन्ने आरोपित हुनेछौ । अनि त्यसबेला तिमीहरूले तिनीहरूलाई मेरो विषयमा बताउने मौका पाउनेछौ। 10 यसरी पहिले हरेक जातिमा सुसमाचार प्रचार गरिनु नै पर्छ। 11 तर जब तिमीहरू पक्राउ पर्नेछौ र तिमीहरूलाई अदालतमा उभ्याइनेछ, तब आफ्नो बचाउको लागि के बोल्ने भनेर चिन्ता नगर। परमेश्वरले जे भन्नुहुन्छ, त्यही कुरा बोल। त्यसरी बोल्ने तिमीहरू आफै हुनेछैनौ, तर पवित्र आत्मा बोल्नुहुनेछ। 12 भाइले भाइलाई धोका दिएर मार्नेछ, बुबाले आफ्नै छोराछोरीलाई धोका दिनेछ अनि छोराछोरीहरू आफ्नै आमा-बुबाको विरोधमा उठ्नेछन् र धोका दिएर मृत्युको मुखमा पुर्याउनेछन्। 13 तिमीहरू मेरो नाउँले चिनिएको कारण हरेकले नै तिमीहरूलाई घृणा गर्नेछ तर अन्त्यसम्मै विश्वासमा स्थिर रहनेले उद्धार पाउनेछ। 14 यस्तो समय आउनेछ, जब पवित्र ठाउँमा घृणित र दुष्ट थोकहरूलाई तिमीहरूले देख्नेछौ, यो पढ्नेले यस विषयमा ध्यान देओस्। तब यहूदियामा बस्नेहरू भागेर पहाडतिर जाऊन्। 15 घरबाहिर हुनेहरू सरसामान झिक्न घरभित्र नपसून्। 16 खेतबारीमा हुनेहरू आफ्नो वस्त्र लिन घरमा नपसून् । 17 ती दिनहरूमा दूध चुसाउने आमाहरू र गर्भवतीहरूलाई हाय ! 18 तिमीहरूको भगाइ हिउँदमा नपरोस् भनी प्रार्थना गर, 19 किनभने संसारमा अहिलेसम्म कहिल्यै नदेखेको र फेरि कहिल्यै नदेख्ने महासङ्कष्ट आइपर्नेछ। 20 वास्तवमा कष्टका ती दिनहरू नघटाइने हो भने कुनै पनि मानिसले त्यो सहन सक्दैन। तर परमेश्वरले चुन्नुभएकाहरूको खातिर त्यो कष्ट घटाइनेछ। 21 त्यसबेला कसैले तिमीहरूलाई ‘हेर, ख्रीष्ट यहाँ छन्’ कि ‘त्यहाँ छन्’ भन्यो भने विश्वास नगर, तिनीहरूका त्यस्ता कुरालाई वास्तै नगर । 22 किनभने परमेश्वरद्वारा चुनिएकाहरूलाई समेत बहकाउने गरी चिन्हहरू र अचम्मका कामहरू गर्ने झूटा ख्रीष्ट र झूटा अगमवक्ताहरू देखा पर्नेछन् । 23 हेर, मैले तिमीहरूलाई चेताउनी दिएको छु। 24 ती भयानक दिनहरूको लगत्तैपछि सूर्य अँध्यारो हुनेछ, चन्द्रमाले पनि चमक दिनेछैन, 25 आकाशबाट ताराहरू खस्नेछन् र आकाशका शक्तिहरू डगमगाउनेछन्। 26 तिनीहरूले मानिसको पुत्रलाई महान् शक्ति र महिमासहित बादलमा आइरहेको देख्नेछन्। 27 उनले आफ्ना स्वर्गदूतहरूलाई पठाएर पृथ्वी र आकाशको चारैतिरबाट आफ्ना चुनिएका जति सबैलाई भेला गर्न लगाउनेछन् । 28 नेभारोको रुखबाट एउटा कुरा सिक: जब त्यसका हाँगाहरू कोमल हुन्छन् र पालुवा हाल्छन् तब ग्रीष्म ऋतु आएछ भनी तिमीहरू आफै थाहा पाउँछौ। 29 त्यसैगरी, मैले बताएका कुरा हुनआएको देखेपछि मानिसको पुत्रको आगमन नजिकै ढोकैमा छ भन्ने जान। 30 साँच्चै म तिमीहरूलाई भन्दछु, यी सबै कुरा पूरा नभएसम्म यो पुस्ता कुनै रीतिले बित्नेछैन। 31 स्वर्ग र पृथ्वी टलेर जानेछन् तर मेरा यी वचन कहिले टल्नेछैनन्। 32 तापनि त्यो दिन वा समय कहिले हो भनी कसैलाई थाहा छैन। स्वर्गदूतहरूले पनि त्यो भन्न सक्दैनन् न त पुत्र आफैले, तर पितालाई मात्र थाहा छ। 33 अनि त्यो कहिले हुनेछ भन्ने तिमीहरूले थाहा नपाउने भएको हुनाले सधैँभरि होशियार भएर जागा रहो। 34 मानिसको पुत्रको आगमनलाई आफ्नो घर छोडेर परदेश जाने एउटा मानिससँग तुलना गर्न सकिन्छ । जसले आफ्ना सबै नोकरहरूलाई काम अह्राइराख्छ र ढोकाको पालेलाई आफू फर्केर आउने बाटो हेर्दै बस्नू भनी खटाउँछ। 35 त्यसकारण चनाखो भएर बस, किनभने ऊ कहिले फर्केर आउँछ, साँझमा वा मध्यरातमा कि बिहानै वा दिउँसो अबेलातिर सो तिमीहरू जान्दैनौ। 36 ऊ अकस्मात् आइपुग्दा तिमीहरूलाई निदाइरहेको नभेटोस्। 37 तिमीहरूलाई म जे भन्छु त्यो सबैलाई भन्छु, ‘सजग रहो’।’’ 141 निस्तार-चाड र अखमीरी रोटीको चाड आउन दुई दिनअघि मुख्य पूजाहारीहरू र धार्मिक व्यवस्थाका शिक्षकहरू अझै पनि येशूलाई गुप्तमा पक्रेर मार्ने मौकाको खोजीमा थिए।2 तिनीहरूले सहमत भएर यसरी भनेका थिए, ‘‘तर निस्तार-चाडको अवसरमा होइन,नत्र त मानिसहरूमा हूलदङ्गा मच्चिएला।’’ 3 त्यसबेला येशू बेथानीमा सिमोन कुष्ठरोगीको घरमा भोजन गरिरहनुभएको बेला एउटी स्त्री सिङ्गमरमरको एउटा शीशीमा बहुमूल्य जटामसीको अत्तर लिएर आई र शीशीको बिर्को खोलेर उहाँको शिरमा अत्तर खन्याई। 4 त्यो देखेर मेचमा बसिरहेका कोही कोही चिढिए र तिनीहरूले यसो भने, ‘‘यति महँगो अत्तर यसरी किन खेर फालेको? 5 त्यसले त्यो तीन सय दिनारभन्दा बढी दाममा बेच्न सक्थी र त्यो पैसा गरीबहरूलाई दिन सकिन्थ्यो।’’ तिनीहरूले त्यसलाई नराम्रोसित झपारे। 6 तर येशूले भन्नुभयो,‘‘छाड्देऊ, यिनले मेरोनिम्ति असलै गरेकी छिन्, तिमीहरू किन यिनलाई सताउँछौ ? 7 गरीबहरू त सधैँ तिमीहरूसँग रहन्छन् र तिमीहरूले चाहेको बेलामा तिनीहरूलाई सहायता गर्न सक्छौ। तर म अब तिमीहरूसँग धेरै दिनसम्म रहनेछैनँ। 8 यिनले मेरोनिम्ति सक्नेजति गरेकी छिन्, यिनले मेरो समय आउनुभन्दा पहिल्यै मेरो शरीरलाई दफनको निम्ति तयार गरेकी छिन्। 9 साँच्चै म तिमीहरूलाई भन्दछु, संसारभरि नै जहाँ-जहाँ सुसमाचार प्रचार गरिनेछ, त्यहाँ यस कामको सम्झनास्वरूप यिनको चर्चा हुनेछ।’’ 10 बाह्र चेलाहरूमध्येका एक, यहूदा इस्करियोत येशूलाई कसरी पक्राउन सकिन्छ भन्ने कुराको जानकारी दिन मुख्य पूजाहारीहरूकहाँ गयो। 11 ऊ किन आएको हो भनी थाहा पाएर तिनीहरू खुशी भए र तिनीहरूले उसलाई उचित इनाम दिने वाचा गरे। त्यसकारण यहूदाले येशूलाई पक्राउने उचित दिन र अवसरको खोजी गर्न लाग्यो। 12 अखमीरी रोटीको चाडको पहिलो दिन (निस्तारको थुमालाई बलिदान गरिने दिन) येशूका चेलाहरूले उहाँलाई सोधे,‘‘हामी कहाँ गएर तपाईंको निम्ति चाडको भोजको बन्दोबस्त गरौं भन्ने तपाईं चाहनुहुन्छ?’’ 13 त्यसकारण येशूले दुई जनालाई यरूशलेम पठाएर निस्तार-चाडको भोजको बन्दोबस्त गर्न लगाउनुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, ‘‘तिमीहरू शहरमा पस्दा पानीको गाग्रो बोकेको एउटा मानिसले तिमीहरूलाई भेट्नेछ। उसैलाई पछयाओ। 14 ऊ आफ्नो घरभित्र पस्नैलाग्दा उसलाई सोध,‘हाम्रा गुरुले यो सोध्न पठाउनुभएको छ, उहाँले आफ्ना चेलाहरूसँग बसेर निस्तारकोभोज खाने पाहुना कोठा कहाँ छ?’ 15 उसले तिमीहरूलाई तयार गरिराखिएको माथिल्लो तलाको ठूलो कोठामा लैजानेछ। तिमीहरूले त्यहीँ हाम्रो निम्ति भोज तयार गर्नू।’’ 16 यसरी चेलाहरू अघिअघि गएर शहरमा पुगे र येशूले भन्नुभएकै जस्तो सबै थोक भेट्टाए र त्यहाँ निस्तार-चाडको भोज तयार गरे। 17 साँझ पर्दा येशू बाह्र चेलाहरूसँग त्यहाँ आइपुग्नुभयो। 18 टेबुलको वरिपरि बसेर खाँदै गर्दा येशूले भन्नुभयो, ‘‘म तिमीहरूलाई साँचो भन्दछु, यहाँ मसँग बसेर खाइरहेकाहरूमध्ये एक जनाले मलाई धोका दिनेछ।’’ 19 तिनीहरूले दु:खित भएर एक-एक गरी उहाँलाई सोधे, ‘‘के तपाईंलाई धोका दिने म नै त होइन?’’ 20 उहाँले जवाफ दिनुभयो,‘‘मसँगै खान बस्ने तिमीहरूमध्येका एक जनाले मलाई धोका दिनेछ। 21 म, मानिसको पुत्र त धर्मशास्त्रले अघिबाटै भनेअनुसार मर्नैपर्छ। तर धिक्कार होस् मलाई धोका दिनेलाई ! ऊ त बरु नजन्मिएको भए हुन्थ्यो।’’ 22 तिनीहरूले खाँदै गर्दा येशूले रोटी लिनुभयो र त्यसमा परमेश्वरको आशिष् माग्नुभयो। अनि उहाँले त्यसलाई भाँच्नुभयो र यसो भन्दै चेलाहरूलाई बाँड्नुभयो,‘‘यो मेरो शरीर हो, लेओ र खाओ।’’ 23 अनि उहाँले अङ्गुरको रसको कचौरा लिनुभयो र त्यसको निम्ति परमेश्वरलाई धन्यवाद दिनुभयो। त्यो कचौरा तिनीहरूलाई दिँदै भन्नुभयो, ‘‘तिमीहरू सबैले यसबाट पिओ।’’ 24 तब उहाँले तिनीहरूलाई भन्नुभयो, ‘‘यो परमेश्वर र उहाँका मानिसहरूबीचमा बाँधिएको नयाँ करारको रगत हो, जुन धेरैका अधर्म क्षमा गर्नका निम्ति बगाइन्छ। 25 साँच्चै म तिमीहरूलाई भन्दछु, परमेश्वरको राज्यमा नयाँ रीतिले नपिएसम्म म अब यसबाट फेरि पिउनेछैनँ।’’ 26 त्यसपछि एउटा भजन गाएर उहाँहरू त्यहाँबाट निस्केर जैतुन डाँडातिर जानुभयो। 27 येशूले चेलाहरूलाई भन्नुभयो,‘‘तिमीहरू सबैले मलाई त्याग्नेछौ, किनभने धर्मशास्त्रमा यसो भनिएको छ, ‘म गोठालालाई प्रहार गर्नेछु र बगालका भेडाहरू तितरबितर हुनेछन्।’ 28 तर म मृतकबाट पुनर्जीवित भएपछि तिमीहरूभन्दा अघि गालीलमा जानेछु र त्यहाँ तिमीहरूलाई भेट्नेछु।’’ 29 पत्रुसले उहाँलाई भने, ‘‘अरु सबैले तपाईंलाई छोडे पनि म तपाईंलाई छोड्नेछैनँ।’’ 30 येशूले जवाफ दिनुभयो, ‘‘पत्रुस, म तिमीलाई साँच्चै भन्दछु, आजै राती भाले दुईपल्ट बास्नुभन्दा पहिले नै तिमीले मलाई तीनपल्ट इन्कार गर्नेछौ।’’ 31 तर पत्रुसले जिद्दी गर्दै भनिरहे,‘‘म मर्नु परे तापनि तपाईंलाई छोड्नेछैनँ, म कदापि तपाईंलाई इन्कार गर्नेछैनँ।’’ अनि अरु सबैले पनि पत्रुसले झैँ शपथ खाँदै त्यसै भने। 32 त्यसपछि उहाँहरू जैतुनघारी भएको ठाउँ गेतसमनीमा पुग्नुभयो। येशूले चेलाहरूलाई भन्नुभयो, ‘‘म गएर प्रार्थना गर्छु, तिमीहरू यहीँ बस्दै गर ।’’ 33 उहाँले पत्रुस, याकूब र यूहन्नालाई साथमा लैजानुभयो। अनि उहाँ ज्यादै शोकित र व्याकुल हुनलाग्नुभयो। 34 उहाँले तिनीहरूलाई भन्नुभयो,‘‘मेरो प्राण मृत्यु नै होलाझैँ गरी अति नै शोकले भरिएको छ, तिमीहरू यहीँ बस र मसँगै जागा रहो।’’ 35 उहाँ केही परतिर जानुभयो र भुइँमा घोप्टो पर्नुभयो। यदि सम्भव भए त्यो दु:खको घडी हटिजाओस् भनी यसरी प्रार्थना गर्नुभयो, 36 ‘‘हे पिता, तपाईंको निम्ति सबै थोक सम्भव छ। यो कष्टको कचौरा मबाट हटाइदिनुहोस्, तापनि मेरो होइन, तपाईंको इच्छाअनुसार हुनदिनुहोस्।’’ 37 उहाँ फर्किएर आउनुभयो र चेलाहरूलाई निदाइरहेको भेट्टाउनुभयो। उहाँले पत्रुसलाई बोलाउँदै भन्नुभयो, ‘‘सिमोन, के तिमी निदाइरहेका छौ? के तिमी मेरो खातिर एक घण्टा पनि जागा रहन सक्दैनौ? 38 जागा रहेर प्रार्थना गर। नत्रभने तिमीहरू परीक्षामा परौला, किनभने आत्मा तयार छ तर शरीर कमजोर छ।’’ 39 त्यसपछि येशूले फेरि तिनीहरूलाई त्यहीँ छोडेर केही परतिर जानुभयो र त्यही प्रार्थना दोहोर्याउनुभयो। 40 उहाँ फेरि फर्किएर आउनुभयो र यसपल्ट पनि तिनीहरूलाई निदाइरहेको भेट्टाउनुभयो, किनभने तिनीहरूका आँखा साह्रै लट्ठ भएका थिए र तिनीहरूले के भन्नुपर्ने हो त्यो पनि बुझेनन्। 41 उहाँ तेस्रोपल्ट पनि प्रार्थना गरेर फर्किनुभयो र तिनीहरूलाई भन्नुभयो,‘‘तिमीहरू अझै सुतिरहेका छौ? तिमीहरू अझै आराम गरिरहेका छौ? भयो, बेला आइपुग्यो, म, मानिसको पुत्रलाई धोका दिएर पापीहरूका हातमा सुम्पिएको छ। 42 उठ, जाऔं। हेर, मलाई धोका दिने यहीँ छ।’’ 43 उहाँले त्यसो भनिसक्न नपाउँदै बाह्रमध्येको एक, यहूदा भाला र तरवार बोकेको एउटा जत्था लिएर आइपुग्यो। तिनीहरू मुख्य पूजाहारीहरू, धार्मिक व्यवस्थाका शिक्षक र अन्य अगुवाहरूद्वारा पठाइएका थिए। 44 यहूदाले पहिल्यै तिनीहरूलाई एउटा सङ्केत दिएको थियो, ‘‘म गएर जसलाई अभिवादनको चुम्बन गर्नेछु, पक्रनुपर्ने व्यक्ति उही हो भनी तिमीहरूले जान्नेछौ, उसैलाई पक्र।’’ 45 तिनीहरू आइपुग्नेबित्तिकै यहूदा येशूको छेउमा आयो र ‘गुरुज्यू’ भन्दै उहाँलाई चुम्बन गर्यो। 46 अरुहरूले येशूलाई गिरफ्तार गरे। 47 तर त्यसैबेला एक जनाले तरवार थुतेर प्रधान पूजाहारीका नोकरको कान छिनाइदियो। 48 येशूले तिनीहरूलाई सोध्नुभयो, ‘‘के म त्यस्तो भयानक अपराधी हुँ र तिमीहरू तरवार र भाला लिएर मलाई पक्रन आएका? 49 तिमीहरूले मलाई मन्दिरमा हुँदा किन पक्रेनौ? म त्यहाँ दिनहुँ शिक्षा दिइरहेको हुन्थेँ । तर धर्मशास्त्रले मेरो विषयमा भनेका कुरा पूरा होऊन् भनेर यी कुरा भएका हुन् ।’’ 50 त्यसैबेला उहाँका सबै चेलाहरू एक-एक गर्दै उहाँलाई छाडेर भागे। 51 रातमा लगाउने कपडा मात्र लगाएको एक जना जवान मानिसले उहाँलाई केही परबाट पछयाइरहेको थियो। तिनीहरूले त्यसलाई पनि पक्रन खोजे। 52 तर तिनीहरूले त्यसको कपडा मात्रै समात्न भ्याए, त्यो जवान तिनीहरूबाट फुत्किएर नाङ्गै भाग्यो। 53 तिनीहरूले येशूलाई प्रधान पूजाहारीको घरमा लगे, त्यहाँ मुख्य पूजाहारीहरू, अन्य अगुवाहरू र धार्मिक व्यवस्थाका शिक्षकहरू भेला भएका थिए। 54 त्यसबेला पत्रुस टाढैबाट पछयाउँदै मुख्य पूजाहारीको आँगनमा पुगे। केही क्षण उनी पालेहरूसँग आगो ताप्दै बसे। 55 त्यहाँ भित्रपट्टि मुख्य पूजाहारीहरू र सम्पूर्ण महासभाले नै येशूको विरुद्धमा बोल्ने साक्षीको खोजी गरिरहेका थिए, यसैले कि उहाँलाई मृत्युदण्ड दिनसकियोस्। तर तिनीहरूको कोशिश असफल भयो। 56 धेरैले उहाँको विरुद्धमा झूटो साक्षी दिए तर तिनीहरूकै कुरा आपसमा बाझियो। 57 अन्त्यमा केही मानिसहरू खडा भए र यसो भन्दै उहाँको विरुद्धमा झूटो साक्षी दिए : 58 ‘‘हामीले, यसले यस्तो भनेको सुन्यौं,‘म मानिसका हातले बनाएको यो मन्दिर भत्काउनेछु र हातैविना बनाइएको अर्को मन्दिर म तीन दिनमै खडा गर्नेछु’।’’ 59 तर तिनीहरूकै गवाहीमा पनि एकमत थिएन। 60 तब प्रधान पूजाहारी सबैको सामुन्ने खडा भए र येशूलाई सोधे,‘‘के तँ यी आरोपहरूको विषयमा केही भन्दैनस्? तँ आफ्नो विषयमा के भन्छस्?’’ 61 येशूले कुनै जवाफ दिनुभएन। तब प्रधान पूजाहारीले फेरि सोधे, ‘‘के तँ परमधन्य परमेश्वरका पुत्र, मसीह होस्?’’ 62 येशूले जवाफ दिनुभयो,‘‘हुँ, तपाईंले म, मानिसको पुत्रलाई परमेश्वरको दाहिने बाहुलीतर्फ शक्तिको स्थानमा बसिरहेको र आकाशमा बादलको सवारीमा आउँदै गरेको देख्नुहुनेछ।’’ 63 प्रधान पूजाहारीले आफ्नो वस्त्र च्यातेर क्रोध जनाउँदै भने,‘‘हामीलाई अरु साक्षीको किन खाँचो पर्यो र? 64 यसले ईश्वर-निन्दा गरेको तिमीहरू सबैले सुनिहाल्यौ। अब तिमीहरू के भन्छौ?’’ अनि सबैले उहाँलाई मृत्युदण्डको दोषी ठहराए। 65 त्यसपछि तिनीहरूमध्ये कोही-कोहीले उहाँलाई थुके र उहाँका आँखा छोपेर यसो भन्दै उहाँलाई थप्पड लगाए, ‘‘एई अगमवक्ता, भन् त, तँलाई कुट्ने को हो?’’ तिनीहरूले उहाँको गिल्ला गरे। त्यहाँबाट जाँदै गर्दा पालेहरूले समेत उहाँलाई थप्पड लगाए। 66 त्यसबेला, पत्रुस आँगनमा बसिरहेका थिए। प्रधान पूजाहारीको सेवा गर्ने नोकर्नीहरूमध्ये एउटी त्यहाँ आई। 67 पत्रुसलाई आगो ताप्दै बसिरहेको देखेर त्यसले उनलाई राम्ररी हेर्दै भनी, ‘‘तिमी पनि नासरतको येशूसँग हुनेहरूमध्येका एक हौ।’’ 68 पत्रुसले त्यसको कुरालाई इन्कार गर्दै भने, ‘‘तिमीले के भनिरहेकी छयौ, मलाई केही थाहा छैन।’’ त्यति भनेर उनी बाहिर निस्किनैलाग्दा भाले बास्यो। 69 त्यस नोकर्नीले उनलाई त्यहाँ उभिरहेको देखेर अरुलाई भनी,‘‘त्यो मान्छे तिनीहरूमध्येकै एक हो।’’ 70 पत्रुसले फेरि पनि इन्कार गरे। केही बेरपछि पत्रुसको छेउमा उभिनेहरूले उनलाई भन्न लागे, ‘‘तिमी पनि तिनीहरूमध्येकै एक हौ, किनभने तिमी गालीली हौ।’’ 71 पत्रुसले भने, ‘‘म परमेश्वरको नाउँमा शपथ खाएर भन्छु, तिमीहरूले भनेको त्यस मानिसलाई म चिन्दै चिन्दिनँ। ’’ 72 अनि त्यसको लगत्तै दोस्रोपल्ट भाले बासेको सुनियो। तब पत्रुसलाई येशूले भन्नुभएको कुरा सम्झना भयो, ‘‘दुईपल्ट भाले बास्नभन्दा अघि तिमीले मलाई तीनपल्ट इन्कार गर्नेछौ।’’ अनि उनी पछुताउँदै धुरुधुरु रोए । 151 भोलिपल्ट बिहानै सम्पूर्ण महासभाका मुख्य पूजाहारीहरू, धार्मिक व्यवस्थाका शिक्षकहरू र फरिसीहरू भेला भएर अब के गर्ने भनी छलफल गर्नलागे। तिनीहरूले येशूलाई बाँधे र रोमी राज्यपाल पिलातसकहाँ पुर्याए।2 पिलातसले येशूलाई सोधे, ‘‘के तिमी यहूदीहरूका राजा हौ?’’ येशूले जवाफ दिनुभयो, ‘‘हो, तपाईं नै त्यसो भन्नुहुन्छ।’’ 3 मुख्य पूजाहारीहरूले उहाँमाथि धेरै कुराको दोष लगाए। 4 अनि पिलातसले फेरि सोधे, ‘‘के तिम्रो भन्नु केही पनि छैन? हेर, यिनीहरूले तिमीमाथि कति धेरै दोष लगाइरहेका छन् ।’’ 5 तर येशूले केही पनि भन्नुभएन, त्यो देखेर पिलातस चकित भए। 6 निस्तार-चाडको समयमा मानिसहरूले अनुरोध गरेको एक जना कैदीलाई छोडिदिने चलन थियो। 7 हत्याको आरोप लागेका केही विद्रोहीहरूमध्ये बारब्बा भनिने मानिस त्यसबेला झ्यालखानमा थियो। 8 पिलातसको सामुन्ने जम्मा भएको भीडले तिनीहरूको चलनअनुसार एउटा कैदी छोडियोस् भनी विन्ती गर्न लाग्यो। 9 पिलातसले सोधे,‘‘के म यहूदीहरूका राजा भनिनेलाई छोडिदिऊँ?’’ 10 किनभने यहूदी अगुवाहरूले येशूलाई ईर्ष्याको कारण पक्रेका हुन् भनी तिनले बुझेका थिए। 11 तर यसबेला मुख्य पूजाहारीहरूले भीडलाई उक्साएर येशूको साटो बारब्बालाई छोडिदिनुहोस् भन्न लगाए। 12 पिलातसले सोधे, ‘‘तर मैले बारब्बालाई छोडिदिएँ भने यहूदीहरूका राजा भनिने यी येशूलाई के गर्ने नि?’’ 13 तिनीहरूले चिच्च्याउँदै भने,‘‘उसलाई क्रूसमा टाँग्नुहोस्।’’ 14 पिलातसले सोधे,‘‘किन? यिनले त्यस्तो के अपराध गरेका छन् र?’’ तर भीडले यसो भन्दै अझै जोरले चिच्च्याए, ‘‘उसलाई क्रूसमा टाँग्नुहोस्।’’ 15 त्यसकारण पिलातसले भीडको चित्त बुझाउनका लागि बारब्बालाई छोडिदिने आज्ञा दिए र येशूलाई कोर्रा लगाएर क्रूसमा टाँग्न सुम्पिदिए। 16 सिपाहीहरूले उहाँलाई प्रेटोरियन अर्थात् राज्यपालको महलमा लगेर जम्मै पल्टनलाई बोलाए। 17 अनि तिनीहरूले उहाँलाई बैजनी रङ्गको वस्त्र लगाइदिए र लामा तीखा काँडाको मुकुट गुँथेर उहाँको शिरमा लगाइदिए। 18 त्यसपछि तिनीहरूले यसो भन्दै सलाम गरे, ‘‘हे यहूदीहरूका राजा, हजूरको जय होस्।’’ 19 तिनीहरूले उहाँको शिरमा लौरोले हिर्काए, उहाँको मुखमा थुके र उहाँको अगाडि घुँडा टेकेर गिल्ला गरे। 20 तब आफै थाकेपछि, तिनीहरूले उहाँलाई लगाइदिएको बैजनी वस्त्र फुकालेर फेरि उहाँको आफ्नै वस्त्र लगाइदिए। त्यसपछि उहाँलाई क्रूसमा टाँग्न त्यहाँबाट लगे। 21 कुरेनीको सिमोन, अलेक्जेन्डर र रूफसका बाबु नाउँ भएको एक जना कुरेनीबासी त्यसैबेला गाउँबाट आइरहेका थिए, तिनीहरूले जबरजस्ती उसलाई येशूको क्रूस बोक्न लगाए। 22 तिनीहरूले येशूलाई गलगथा (जसको अर्थ हो-खप्परे डाँडा)मा ल्याए। 23 तिनीहरूले उहाँलाई मूर्र मिसाएको अङ्गुरमद्य पिउन दिए तर उहाँले त्यो पिउन मान्नुभएन। 24 तब तिनीहरूले उहाँलाई क्रूसमा टाँगे। अनि उहाँको वस्त्र कसले लैजाने भनी गोला हाले। 25 तिनीहरूले उहाँलाई क्रूसमा टाँग्दा बिहानको नौ बजेको थियो। 26 क्रूसमा उहाँको शिरमाथि एउटा दोषपत्र टाँसिएको थियो, जसमा ‘येशू, यहूदीहरूका राजा’ भनी लेखिएको थियो। 27 उहाँको दुवैतिर दुई जना अपराधीहरू पनि टाँगिएका थिए। 28 धर्मशास्त्रको वचन यसरी पूरा भयो, ‘‘उहाँ अपराधीहरूसँग गनिनुभयो।’’ 29 आउने-जाने मानिसहरूले आफ्नो मुन्टो हल्लाउँदै उहाँको गिल्ला गर्नलागे, ‘‘मन्दिरलाई भत्काएर तीनै दिनमा बनाउँछु भन्ने तैँ होइनस्? 30 आफैलाई बचा र क्रूसबाट ओर्लिआइज।’’ 31 मुख्य पूजाहारीहरू र धार्मिक व्यवस्थाका शिक्षकहरूले पनि येशूको गिल्ला गर्दै यसो भने,‘‘उसले अरुहरूलाई बचायो तर आफैलाई बचाउन सकेन। 32 यो इस्राएलको राजा, मसीह क्रूसबाट ओर्लिएर आओस् तब हामी त्यो देखेर विश्वास गरौंला।’’ उहाँसँगै क्रूसमा टाँगिएका अपराधीहरूले समेत उहाँको गिल्ला गरे। 33 मध्यदिनमा चारैतिर अँध्यारो भयो र दिउँसोको प्राय: तीन बजेसम्म नै सारा देशभरि अन्धकार छायो। 34 येशू ठूलो सोरले कराउनुभयो, ‘‘एलोई, एलोई लामा सबकथनी?’’ यसको अर्थ हो, ‘‘हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईंले मलाई किन त्याग्नुभयो?’’ 35 त्यहाँ नजिकै उभिनेहरूले त्यो सुनेर भने, ‘‘हेर, यसले एलिया अगमवक्तालाई बोलाउँदै छ।’’ 36 तिनीहरूमध्ये एक जना दगुर्दै गई अमिलिएको अङ्गुरमद्यमा स्पन्ज चोपेर त्यसलाई एउटा निगालोको टाँगोमा अडयाएर उहाँलाई पिउन दियो। अर्कोले भन्यो,‘‘त्यसलाई त्यतिकै छोडिदेऊ, हेरौं, कतै त्यसलाई बचाउन एलिया आउँछन् कि।’’ 37 त्यसपछि येशू फेरि जोडले कराउनुभयो र प्राण त्याग्नुभयो। 38 अनि मन्दिरको पर्दा टुप्पादेखि फेदसम्मै च्यातिएर दुई फ्याक भयो। 39 उहाँको मृत्युलाई नजिकैबाट हेरिरहेको रोमी सेनाको अधिकारीले भन्यो, ‘‘साँच्चै, यिनी त परमेश्वरका पुत्र रहेछन्।’’ 40 त्यसको केही पर बसेर मरियम मग्दलिनी, सानो याकूब र योसेसकी आमा मरियम र सलोमीले सबै घटना हेरिरहेका थिए। 41 तिनीहरू पनि येशूलाई पछयाउनेहरू नै थिए र उहाँ गालीलमा हुनुहुँदा तिनीहरूले नै उहाँको सेवा गरेका थिए। तिनीहरूसहित अरु पनि धेरै जना स्त्रीहरू उहाँसँगै यरूशलेम आएका थिए। 42 अनि साँझ परेपछि त्यो तयारीको दिन अर्थात् विश्राम-दिनको अघिल्लो दिन भएको हुनाले, 43 अरिमाथियाका योसेफ, महासभाका माननीय सदस्य (जसले गुप्तमा परमेश्वरको राज्यको प्रतीक्षा गरिरहेका थिए) साहस गरेर पिलातसकहाँ गए रयेशूको लाश मागे। 44 येशू त्यति चाँडै मर्नुभयो भन्ने कुरा पिलातसले पत्त्याउन सकेनन्। तसर्थ तिनले रोमी सेनाका अधिकारीलाई बोलाएर सोधखोज गरे। 45 त्यस अधिकारीले येशू मर्नुभएको साँचो हो, भनेपछि पिलातसले योसेफलाई उहाँको लाश लगेर दफन गर्ने अनुमति दिए। 46 योसेफले लामो सुतीको कपडा किनेर ल्याए। येशूको लाश क्रूसबाट उतारे र त्यस कपडाले बेह्रेर चट्टानमा कपेर बनाएको चिहानमा लगेर राखे अनि उनले एउटा ठूलो ढुङ्गो गुडाएर चिहानको मुख थुनिदिए। 47 येशूलाई त्यहाँ लगेर राखिएको कुरा मरियम मग्दलिनी र योसेफकी आमा मरियमले राम्ररी हेरिरहेका थिए। 161 विश्राम-दिन बितेपछि साँझ मरियम मग्दलिनी, याकूबकी आमा मरियम र सलोमीले येशूको लाशमा घस्न सुगन्धित मसला किनेर ल्याए।2 आइतवार बिहान सबेरै तिनीहरू चिहानमा आए। 3 बाटोमा तिनीहरूले आपसमा बातचित गर्दै भने, ‘‘हाम्रोनिम्ति कसले चिहानको मुखबाट ढुङ्गो गुडाइदेला?’’ 4 तर जब तिनीहरू त्यहाँ आइपुगे, तिनीहरूले त्यो ठूलो ढुङ्गो चिहानको मुखबाट हटाइएको देखे। 5 तिनीहरू चिहानभित्र पसे, दाहिनेपट्टि सेता वस्त्र लगाएको एक जना जवान मानिसलाई बसिरहेको देखेर ती स्त्रीहरू अत्यन्तै चकित भए । 6 तिनले तिनीहरूलाई भने, ‘‘अचम्म नमान, तिमीहरू क्रूसमा टाँगिनुभएका नासरतका येशूलाई खोज्दैछौ, होइन? उहाँ यहाँ हुनुहुन्न। उहाँ मृतकबाट जीवित भई उठ्नुभएको छ। उहाँलाई राखिएको ठाउँमा हेर त। 7 अब जाओ अनि यो समाचार पत्रुस र उहाँका चेलाहरूलाई सुनाओ; उहाँले पहिले नै भन्नुभएझैँ उहाँ तिमीहरूको अघि गालीलमा गइरहनुभएको छ, तिमीहरूले उहाँलाई त्यहाँ भेट्टाउनेछौ।’’ 8 ती स्त्रीहरू डर र आश्चर्यले काँप्दै चिहानबाट निस्केर भागे, बाटोमा तिनीहरूले कसैलाई केही भनेनन्, किनभने तिनीहरू साह्रै डराएका थिए। 9 येशू आइतवार बिहानै मृतकबाट जीवित भई उठ्नुभयो र उहाँलाई पहिलोपल्ट मरियम मग्दलिनी (जसबाट येशूले सातवटा भूतात्मा निकाल्नुभएको थियो) ले देखेकी थिइन्। 10 तिनी त्यहाँबाट गइन् र चेलाहरूलाई रुँदै र विलाप गर्दै गरेका भेट्टाइन्। 11 तर तिनले, ‘येशू जीवित हुनुभएको छ र म आफैले उहाँलाई भेटेकी हुँ’ भन्दा तिनीहरूले विश्वासै गरेनन्। 12 त्यसपछि गाउँतिर गइरहेका दुई जना चेलाहरूकहाँ येशू बेग्लै रूपमा देखा पर्नुभयो। 13 तिनीहरू फर्केर गई त्यो कुरा अरुहरूलाई बताए तर तिनीहरूमध्ये एउटैले पनि विश्वास गरेनन्। 14 त्यसपछि एघारै चेलाहरूले खाना खाइरहेको बेलामा उहाँ देखा पर्नुभयो। तिनीहरूको अविश्वास र हृदयको कठोरताको निम्ति उहाँले तिनीहरूलाई हप्काउनुभयो । किनभने उहाँ मृतकबाट जीवित भई उठ्नुभएपछि उहाँलाई देख्नेहरूले ल्याएको खबरमा तिनीहरूले विश्वास गरेनन्। 15 अनि उहाँले तिनीहरूलाई भन्नुभयो, ‘‘सारा संसारमा गएर सबै सृष्टिलाई सुसमाचार प्रचार गर। 16 जसले विश्वास गर्छ र बप्तिस्मा लिन्छ, उसले उद्धार पाउँछ । तर विश्वास नगर्नेहरू दोषी ठहरिनेछन् । 17 विश्वास गर्नेहरूसँग यी चिन्हहरू हुनेछन् : तिनीहरूले मेरो नाउँमा भूतहरू धपाउनेछन्, अन्यभाषा बोल्नेछन्। 18 तिनीहरूले सर्पहरू समात्न सक्नेछन् र कुनै विष पिए तापनि त्यसले तिनीहरूको हानी गर्नेछैन। तिनीहरूले आफ्ना हात बिमारीहरूमाथि राख्नेछन् र तिनीहरू निको हुनेछन्।’’ 19 जब प्रभु येशूले तिनीहरूलाई यी कुरा भनिसक्नुभयो, उहाँ स्वर्गतिर उठाइलगिनुभयो र परमेश्वरको दाहिने बाहुलीपट्टि आदरको स्थानमा बिराजमान हुनुभयो । 20 त्यसपछि चेलाहरू चारैतिर गए र प्रचार गर्नलागे । प्रभुले धेरै चिन्हहरूद्वारा तिनीहरूको प्रचारलाई प्रमाणित गर्नुभयो। |