LUKEलुकाChapter 11 सम्माननीय थियोफिलस, हाम्रा बीचमा भएका घटनाहरूको विवरण लेख्ने काम धेरै जनाले आफ्नो हातमा लिएका छन्।2 परमेश्वरले आफ्ना प्रतिज्ञाहरू पूरा गर्न के काम गर्नुभयो भन्ने विषयमा उहाँको शुरुका चेला र अरु प्रत्यक्षदर्शीहरूले हामीमाझ प्रस्तुत गरेका विवरणलाई तिनीहरूले आफ्नो आधार बनाएका छन्। 3 मैले शुरुदेखि नै सावधानीसाथ सबै कुराको खोजी गरेको छु र तपाईंको निम्ति एउटा क्रमैअनुसारको विवरण लेख्ने निर्णय गरेको छु। 4 यसैले कि तपाईंलाई सिकाइएका सम्पूर्ण सत्यता तपाईंलाई थाहा होस्। 5 यहूदियामा हेरोद राजा भएको बेला अबियाको वंशका जकरिया नाउँ भएका एक जना पूजाहारी थिए। उनकी पत्नी एलीशिबा पनि हारून वंशकी थिइन्। 6 जकरिया र उनकी पत्नी एलीशिबा दुवै परमेश्वरको दृष्टिमा धर्मी थिए, उनीहरूले प्रभुको सबै आज्ञा र नियमहरू होशियारीपूर्वक पालन गर्थे। 7 एलीशिबा बाँझी भएकी हुनाले उनीहरूका सन्तान थिएनन् र अब उनीहरू दुवैको उमेर निकै ढल्किसकेको थियो। 8 एक दिन जकरिया परमेश्वरको मन्दिरमा सेवा गरिरहेका थिए, त्यो हप्ताभरि नै मन्दिरमा सेवा गर्ने पालो उनको थियो। 9 पूजाहारीहरूको सेवाको रीतिअनुसार चिट्ठा हाल्दा परमप्रभुको मन्दिरभित्र पसेर धूप बाल्ने काम उनलाई पर्यो। 10 उनले धूप बाल्दै गर्दा मन्दिरबाहिर धेरै मानिसहरू भेला भएर प्रार्थना गरिरहेका थिए। 11 परमप्रभुका दूत धूप वेदीको दाहिनेपट्टि उभिरहेको अवस्थामा जकरियाकहाँ देखा परे। 12 जकरिया स्वर्गदूतलाई देखेर डरले आत्तिए। 13 तर स्वर्गदूतले भने, ‘‘नडराऊ, जकरिया, परमेश्वरले तिम्रो प्रार्थना सुन्नुभएको छ अनि तिम्री पत्नी एलीशिबाले एउटा छोरो जन्माउनेछिन् अनि तिमीले उनको नाउँ यूहन्ना राख्नू। 14 तिमीलाई बडो आनन्द र रमाहट हुनेछ अनि धेरै मानिसहरूले उनको जन्ममा तिमीसँग खुशी मनाउनेछन्, 15 किनभने उनी परमेश्वरको नजरमा महान् हुनेछन् । उनले कुनै पनि मद्य कहिल्यै पिउनेछैनन् र आमाको गर्भदेखि नै उनी पवित्र आत्माले भरिएका हुनेछन्। 16 उनले धेरै इस्राएलीहरूलाई परमप्रभु तिनीहरूका परमेश्वरतर्फ फर्काउनेछन्। 17 उनी प्राचीन अगमवक्ता एलियाको आत्मार शक्तिले भरिएका व्यक्ति हुनेछन् । उनी मानिसहरूलाई प्रभुको आगमनको निम्ति तयार गर्न उहाँको अघि आउनेछन्। उनले बाबुहरूको मन छोराछोरीतिर फर्काउनेछन् र अनाज्ञाकारीहरूका मन धर्मीहरूको ज्ञानतिर फर्काउनेछन् ।’’ 18 जकरियाले स्वर्गदूतलाई भने, ‘‘त्यस्तो कुरा हुनसक्छ भनी म कसरी विश्वास गरूँ? म निकै वृद्ध भइसकेँ र मेरी पत्नी पनि धेरै वृद्धा भएकी छिन्।’’ 19 स्वर्गदूतले भने, ‘‘म गब्रिएल हुँ, जो परमेश्वरको उपस्थितिमा खडा छु। म तिमीसँग कुरा गर्न र यो खुशीको समाचार सुनाउन तिमीकहाँ पठाइएको हुँ। 20 अब, मैले भनेका कुरामा तिमीले विश्वास नगरेको हुनाले तिम्रो छोरो नजन्मिञ्जेल तिमी बोल्न सक्नेछैनौ, किनभने मैले भनेका कुरा उचित समयमा निश्चय पूरा हुनेछन्।’’ 21 जकरिया मन्दिरबाट निस्किन निकै ढिलो गरेको हुनाले बाहिर भएका मानिसहरू अचम्म मान्दै पर्खिरहेका थिए। 22 आखिरमा उनी बाहिर निस्किएर आउन त आए तर कसैसित बोल्न सकेनन्। उनले इशारा मात्रै गर्नसके र उनको इशाराबाट उनले मन्दिरमा दर्शन देखेछन् भनी मानिसहरूले बुझे। 23 आफ्नो पालो नसकिन्जेलसम्म उनी मन्दिरमै बसिरहे। त्यसपछि मात्रै उनी घर फर्किए। 24 त्यसको लगत्तैपछि उनकी पत्नी एलीशिबा गर्भवती भइन् र पाँच महिनासम्म तिनी घरभित्रै बसिरहिन् । 25 तिनले खुशी हुँदै भनिन्, ‘‘परमप्रभु कति कृपालु हुनुहुन्छ, बाँझी भएकोमा मैले भोग्नुपरेको निन्दाबाट उहाँले मलाई बचाउनुभयो।’’ 26 एलीशिबा गर्भवती भएको छ महिनामा परमेश्वरले गब्रिएललाई गालीलको नासरतमा, 27 कन्या मरियमकहाँ पठाउनुभयो। तिनको मगनी दाऊदको वंशका यूसुफ भनिने व्यक्तिसँग भएको थियो। 28 गब्रिएल, मरियमको सामुन्ने देखा परे र भने, ‘‘परमेश्वरले कृपा देखाउनुभएकी नारी, तिमीलाई अभिवादन ! प्रभु तिम्रो साथमा हुनुहुन्छ।’’ 29 यो कस्तो किसिमको अभिवादन हो भन्ने सोचेर मरियम साह्रै विचलित भइन्। 30 स्वर्गदूतले भने, ‘‘नडराऊ मरियम, किनभने तिमीले परमेश्वरको कृपा पाएकी छयौ। 31 तिमी गर्भवती हुनेछयौ र एउटा छोरो जन्माउनेछयौ, तिमीले उहाँको नाउँ येशू राख्नू। 32 उहाँ महान् हुनुहुनेछ र सर्वोच्चका पुत्र कहलिनुहुनेछ। परमप्रभु परमेश्वरले उहाँलाई उहाँका पुर्खा दाऊदको सिंहासन दिनुहुनेछ । 33 उहाँले इस्राएलमा सधैँभरि राज्य गर्नुहुनेछ र उहाँको राज्यको अन्त्य कहिल्यै हुनेछैन।’’ 34 मरियमले स्वर्गदूतलाई सोधिन्, ‘‘यो कसरी हुनसक्छ? म त अहिलेसम्म कन्या नै छु।’’ 35 स्वर्गदूतले जवाफ दिए, ‘‘पवित्र आत्मा तिमीमा आउनुहुनेछ र सर्वशक्तिमान्को सामर्थ्यले तिमीमाथि छायाँ पार्नेछ। त्यसकारण तिम्रो कोखबाट जन्मिनुहुने पवित्र परमेश्वरका पुत्र कहलिनुहुनेछ। 36 हेर, तिम्रो नातेदार एलीशिबा पनि त वृद्धावस्थामा गर्भवती भएकी छिन्। मानिसहरूले तिनलाई बाँझी भन्ने गर्थे तर अहिले तिनको गर्भमा छ महिनाको बच्चा छ, 37 किनभने परमेश्वरको लागि कुनै कुरा पनि असम्भव हुँदैन।’’ 38 मरियमले जवाफ दिइन्, ‘‘म प्रभुकी दासी हुँ, त्यसकारण उहाँले जे इच्छा गर्नुहुन्छ त्यो ममा पूरा होस्। तपाईंले भन्नुभएका सबै कुरा सत्य हुनआऊन्।’’ त्यसपछि स्वर्गदूत त्यहाँबाट बिदा भए। 39 त्यसको केही दिनपछि मरियम यहूदियाको पहाडी बाटो हुँदै एउटा गाउँमा गइन्, 40 जहाँ जकरिया बस्थे। तिनी जकरियाको घरभित्र पसिन् र एलीशिबालाई अभिवादन गरिन् । 41 मरियमले अभिवादन गरेको सुन्नासाथै एलीशिबाको गर्भको बच्चा चल्मलायो र एलीशिबा पवित्र आत्माले भरिपूर्ण भइन्। 42 तिनी खुशीले कराइन् र मरियमलाई भनिन्, ‘‘सबै स्त्रीहरूमा धन्य तिमी, तिम्रो गर्भको फल धन्यको हो। 43 यो कस्तो कृपा मलाई ! मेरो प्रभुको आमा मेरो घरमा आइन्। 44 तिमी यहाँ आएर अभिवादन गर्दा मेरो गर्भको बच्चा आनन्दले उफ्रियो। 45 तिमी धन्यकी हौ, किनभने परमप्रभुले भन्नुभएको कुरामा तिमीले विश्वास गर्यौ।’’ 46 मरियमले जवाफ दिइन्, ‘‘अहा ! परमप्रभुको म कसरी स्तुति गरूँ? 47 म मेरा मुक्तिदाता परमेश्वरमा कसरी आनन्द मनाऊँ? 48 किनभने उहाँले मजस्ती तुच्छ, उहाँकी दासीमाथि कृपा गर्नुभयो। अबदेखि उसो सबै पुस्ताले मलाई धन्यकी भन्नेछन्, 49 किनभने सर्वशक्तिमान्ले मेरो निम्ति महान् काम गर्नुभएको छ। उहाँको नाउँ पवित्र छ। 50 उहाँका सामर्थी हातले अचम्मका कामहरू गर्छन्। हृदयमा घमण्ड गर्नेहरूलाई उहाँले कसरी छरपस्ट पार्नुहुन्छ। 51 उहाँका सामर्थी हातले अचम्मका कामहरू गर्छन्। हृदयमा घमण्ड गर्नेहरूलाई उहाँले कसरी छरपस्ट पार्नुहुन्छ। 52 उहाँले राजकुमारहरूलाई तिनका सिंहासनदेखि खसाल्नुभएको छ र नम्रहरूलाई उचाल्नुभएको छ। 53 भोकाहरूलाई असल थोकले तृप्त पार्नुभएको छ अनि धनीहरूलाई रित्तै हात पठाइदिनुभयो। 54 उहाँले आफ्नो दास इस्राएललाई कसरी सहायता गर्नुभयो, उहाँले तिनीहरूप्रति कृपालु हुने प्रतिज्ञा भुल्नुभएको छैन। 55 किनभने उहाँले हाम्रा पुर्खा अब्राहाम र उनका सन्तानसँग सधैँभरि कृपालु भइरहने प्रतिज्ञा गर्नुभयो। ’’ 56 यसरी मरियम एलीशिबाको घरमा तीन महिनासम्म बसेर आफ्नो घर फर्किन्। 57 एलीशिबाको सुत्केरी हुने बेला आयो र तिनले एउटा छोरो जन्माइन्। 58 प्रभुले तिनीमाथि महान् दया देखाउनुभएको कुरा तिनका छरछिमेकी र आफन्तहरूले पनि सुने र तिनीहरू सबैले तिनीसित आनन्द मनाए। 59 जब बालक आठ दिनको भयो, सबै नातेदार र मित्रहरू बालकको खतना गर्न जकरियाको घरमा भेला भए। तिनीहरूले बालकको नाउँ तिनको बाबुको नाउँजस्तै जकरिया राख्न लागेका थिए। 60 तर एलीशिबाले भनिन्, ‘‘होइन, उनको नाउँ यूहन्ना राखिनेछ।’’ 61 तिनीहरूले आश्चर्य माने, ‘‘के अरे? तिमीहरूको परिवारमा यस्तो नाउँको मानिस कोही पनि छैन ।’’ 62 तब तिनीहरूले बालकका बुबातिर फर्किएर इशारा गर्दै सोधे,‘‘तिमी यस बालकको नाउँ के राख्न चाहन्छौ?’’ 63 उनले एउटा पाटी मागे र लेखे: ‘‘उसको नाउँ यूहन्ना हो।’’ 64 त्यसको लगत्तैपछि उनी बोल्नसक्ने भए, त्यसपछि उनले परमेश्वरको प्रशंसा गर्नथाले। 65 छिमेकीहरू सबैमा डर छायो र उनको परिवारमा के भयो भन्ने कुराको खबर सम्पूर्ण यहूदियाको पहाडी क्षेत्रभरि फैलियो। 66 यी कुरा सुन्नेहरू सबैले यो बालक पछि कस्तो हुन्छ होला भनी आफ्ना मनमा गुने, किनकि परमप्रभुको बाहुली त्यसमाथि थियो। 67 तब बालकका बाबु जकरिया पवित्र आत्माले भरिए र यसो भन्दै अगमवाणी गरे, 68 ‘‘इस्राएलका परमप्रभु परमेश्वरको स्तुति होस्, किनकि उहाँ आफ्ना मानिसहरू कहाँ आउनुभयो र तिनीहरूलाई छुटकारा दिनुभयो। 69 उहाँले हामीकहाँ शक्तिशाली मुक्तिदाता पठाउनुभयो-उहाँको दास दाऊदको वंशबाट नै, 70 उहाँका प्राचीन पवित्र अगमवक्ताहरूद्वारा धेरै पहिले उहाँले प्रतिज्ञा गर्नुभएअनुसार। 71 अब हाम्रा शत्रुहरू र हामीलाई घृणा गर्नेहरूबाट हामीले छुटकारा पाउनेछौं, हामी बचाइनेछौं। 72 उहाँले हाम्रा पुर्खाहरूसँग कृपा देखाउनलाई र आफ्नो पवित्र करार स्मरण गर्नलाई, 73 जुन करार हाम्रो पुर्खा अब्राहामलाई दिइएको थियो। 74 हामी हाम्रा शत्रुहरूबाट बचाइएका छौं, त्यसकारण हामी भयमुक्त भएर परमेश्वरको सेवा गर्नसक्छौं, 75 सदासर्वदै पवित्रता र धार्मिकतामा। 76 अब तिमी, मेरो सानो बालक, तिमी सर्वोच्च अगमवक्ता कहलाइनेछौ, किनकि तिमीले परमप्रभुको मार्ग तयार गर्नेछौ। 77 तिमीले मानिसहरूलाई पाप-क्षमाद्वारा मुक्तिको ज्ञान प्रदान गर्नेछौ। 78 हाम्रा परमेश्वरको करुणामय कृपाको कारण स्वर्गबाट उज्यालो ज्योति हामीमाथि चम्किनेछ, 79 अन्धकारमा र मृत्युको छायाँमा रहनेहरूलाई ज्योति दिन र हामीलाई शान्तिको मार्गमा डोर्याउनलाई।’’ 80 अनि बालक यूहन्ना बढ्दै र आत्मामा बलियो हुँदै गए अनि इस्राएलीहरूकहाँ खुला रूपमा देखा नपरूञ्जेल तिनी उजाड स्थानमा नै बसे। 21 त्यसबेला सिजर अगस्टसले सारा रोमी साम्राज्यभरि जनगणना लिनू भन्ने उर्दी जारी गरे।2 सिरियामा कुरेनियस राज्यपाल हुँदा लिइएको यो पहिलो जनगणना थियो। 3 जनगणनामा आफ्नो नाउँ लेखाउनलाई सबै मानिसहरू आ-आफ्ना जन्मथलोमा गए। 4 यूसुफ दाऊदको वंशका भएको हुनाले दाऊदकै पुर्ख्यौली गाउँ यहूदियाको बेथलेहेममा गए। उनी गालीलको नासरतबाट हिँडेर त्यहाँ गए । 5 आफ्नो नाउँ दर्ता गर्न यूसुफ आफूसँग मगनी भएकी मरियमलाई साथमा लिएर आएका थिए, मरियम त्यसबेला गर्भवती थिइन्। 6 त्यसैबेला, तिनीहरू बेथलेहेममा हुँदा मरियमको सुत्केरी हुने बेला आयो। 7 तिनले पहिलो सन्तानको रूपमा छोरो जन्माइन् । तिनले शिशुलाई कपडाले बेह्रेर डुँडमा सुताइन्, किनभने त्यस गाउँमा तिनीहरूले कुनै पाटीपौवा र घरहरूमा वास बस्ने ठाउँ पाएनन्। 8 त्यस रात केही गोठालाहरू गाउँभन्दा केही पर आफ्नो भेडा बगालको हेरचाह गर्दै पाखामा बसिरहेका थिए। 9 अकस्मात् परमप्रभुका एक स्वर्गदूत तिनीहरूका माझमा देखा परे र परमेश्वरको महिमाले तिनीहरूलाई ढाक्यो।तिनीहरू अत्यन्तै डराए, 10 तर स्वर्गदूतले तिनीहरूलाई ढाडस दिए, ‘‘नडराओ, हेर, मैले तिमीहरूका निम्ति बडो आनन्दको सुसमाचार ल्याएको छु, जुन सबैको निम्ति हुनेछ, 11 किनकि आजै दाऊदको शहर बेथलेहेममा तिमीहरूका निम्ति मुक्तिदाताको जन्म भएको छ, जो प्रभु येशू, मसीह हुनुहुन्छ। 12 अनि तिमीहरूको निम्ति यो चिन्ह हुनेछ : तिमीहरूले एउटा बालकलाई लुगाले बेह्रेर डुँडमा सुताइएको भेट्टाउनेछौ।’’ 13 तत्कालै ती स्वर्गदूतसँग स्वर्गका असंख्य सेनाको एउटा ठूलो दल देखा पर्यो, तिनीहरूले यसो भन्दै परमेश्वरको प्रशंसा गरे, 14 ‘‘सर्वोच्च स्वर्गमा हुनुहुने परमेश्वरलाई महिमा र पृथ्वीमा हुने सबैमा शान्ति, जुन मानिसहरूसँग परमेश्वर प्रसन्न हुनुहुन्छ।’’ 15 स्वर्गदूतहरू स्वर्गतिर फर्किएपछि गोठालाहरूले आपसमा भने, ‘‘आऊ, हामी बेथलेहेममा जाऔं र प्रभुले हामीलाई भन्नुभएका यी अचम्मका कुरा हेरौं।’’ 16 तिनीहरू गाउँतिर दौडिए र त्यहाँ मरियम र यूसुफलाई भेट्टाए। त्यहाँ बालकलाई डुँडमा सुताइएको थियो। 17 गोठालाहरूले बालकको विषयमा स्वर्गदूूतले के भनेका थिए र कस्तो घटना घटेको थियो भनी हरेकलाई बताए। 18 गोठालाहरूले भनेको कुरा सुनेर मानिसहरू छक्क परे। 19 तर मरियमले ती सबै कुरालाई मनमा राखेर हृदयमा गुन्दै रहिन्। 20 स्वर्गदूतले तिनीहरूलाई भनेझैँ बालकलाई आफ्नै आँखाले देखेका हुनाले गोठालाहरू परमेश्वरलाई प्रशंसा चढाउँदै आफ्नै बगाल भएतिर फर्किए। 21 आठ दिनपछि बालकको खतना गरियो र उहाँको नाउँ येशू राखियो, जुन नाउँ उहाँ गर्भमा आउनुभन्दा अघि नै स्वर्गदूतद्वारा दिइएको थियो। 22 बालकको जन्म भएपछि शुद्ध गरिने दिन आयो र मोशाको व्यवस्थाअनुसार उहाँका आमा-बुबाले उहाँलाई परमेश्वरमा अर्पण गर्न यरूशलेम लगे। 23 परमप्रभुको व्यवस्थाले भन्दछ, ‘‘यदि कुनै स्त्रीले जेठो छोरो जन्माई भने उसलाई प्रभुमा अर्पण गर्नुपर्छ।’’ 24 त्यसकारण तिनीहरूले प्रभुको व्यवस्थाबमोजिम ‘एकजोर ढुकुर वा एक जोडी परेवा’ ल्याएर बलिदान चढाए। 25 यरूशलेममा बस्ने शिमियोन नाउँका एक जना मानिस थिए। उनी ज्यादै धर्मी र भक्त थिए। उनी पवित्र आत्माले भरिएका थिए र उनले इस्राएलको सान्त्वनाको बाटो हेरिरहेका थिए। 26 ‘प्रभुका ख्रीष्टलाई नदेखेसम्म तिमी मर्नेछैनौ’ भनी पवित्र आत्माले उनलाई प्रकट गर्नुभएको थियो। 27 त्यस दिन आत्माले उनलाई मन्दिरतिर डोर्याउनुभयो। अनि त्यसैबेला यूसुफ र मरियमले बालक येशूलाई व्यवस्थाबमोजिम अर्पण गर्न मन्दिरमा ल्याएका थिए। 28 शिमियोन त्यहीँ थिए। उनले बालकलाई आफ्नो अँगालोमा लिए र यसो भन्दै परमेश्वरको प्रशंसा गरे, 29 ‘‘प्रभु, तपाईंको वचनअनुसार अब म शान्तिसाथ मर्न सक्छु ! 30 मैले मुक्तिदातालाई देखेको छु, 31 तपाईंले सबै मानिसहरूलाई मुक्तिदाता दिनुभएको छ। 32 जाति-जातिलाई परमेश्वर प्रकट गर्ने उहाँ ज्योति हुनुहुन्छ अनि तपार्इंको प्रजा इस्राएललाई महिमा !’’ 33 येशूको विषयमा उनले भनेको कुरा सुनेर यूसुफ र मरियम छक्क परे। 34 तब शिमियोनले तिनीहरूलाई आशिष् दिएर मरियमलाई भने, ‘‘यो बालक इस्राएलमा धेरैको पतन र उत्थानको निम्ति अनि विरोधको एउटा चिन्ह हुनलाई नियुक्त भएको छ। 35 यसरी, धेरैका हृदयभित्रका कुरा प्रकट हुनेछन् र तिम्रो मुटुलाई तरवारले छँेड्नेछ ।’’ 36 मन्दिरमा हन्ना नाउँकी एउटी अगमवादिनी थिइन्। तिनी आशेर कुलका फनुएलकी छोरी थिइन् । तिनी निकै वृद्धा भइसकेकी थिइन्। विवाह गरेको सातै वर्षपछि तिनका पति मरेका हुनाले तिनी विधवा थिइन्। 37 यसबेला तिनको उमेर चौरासी वर्ष पुगेको थियो। तिनी उपवास र प्रार्थना गर्दै, दिनरात परमेश्वरको आराधना गर्न मन्दिरमै बस्थिन्, तिनी मन्दिरबाट बाहिर कतै जाँदिनथिन्। 38 यूसुफ र मरियमसँग शिमियोन बोल्दै गर्दा तिनी आइन् र परमेश्वरको स्तुति गर्न थालिन् । अनि तिनले यरूशलेमको उद्धारको लागि आउनुहुने प्रतिज्ञा गरिएको राजा येशू नै हुन् भनेर उहाँको प्रतीक्षा गर्नेहरू सबैलाई भनिन् । 39 येशूका आमा-बुबाले परमप्रभुको व्यवस्थाबमोजिमका सबै विधि पूरा गरिसके अनि उनीहरू आफ्नै घर गालीलको नासरतमा फर्किए । 40 अनि बालक बढ्दै र बलियो हुँदै जानुभयो, उहाँ बुद्धिले भरिनुभयो र परमेश्वरको अनुग्रह उहँामाथि थियो। 41 येशूका आमा-बुबा निस्तार-चाड मनाउन हरेक वर्ष यरूशलेम जानेगर्थे। 42 येशू बाह्र वर्षको हुनुहुँदा पनि उनीहरू सधैँझैँ चाड मनाउन यरूशलेममा गए। 43 चाड सकिएपछि उनीहरू नासरततिर लागे। तर येशू यरूशलेममा नै छोडिनुभयो। त्यो कुरा उहाँका आमा-बुबालाई थाहा भएन। 44 बाटोमा अरु पनि थुप्रै मानिसहरू थिए र येशू साथीहरूसँगै हुनुहुन्छ होला भनेर उनीहरूले सोचेका थिए। तर साँझ पर्दासम्म पनि उनीहरूले येशूलाई देखेनन् तसर्थ उनीहरूले यात्रीहरू र आफ्ना नातेदारहरूसित सोधखोज गर्नथाले। 45 उनीहरूले त्यहाँ पनि भेट्टाउन नसक्दा उहाँलाई खोज्दै-खोज्दै यरूशलेमतिरै फर्किए। 46 तीन दिनपछि मात्रै उनीहरूले येशूलाई भेट्टाए। उहाँ यरूशलेमको मन्दिरमा व्यवस्थाका शिक्षकहरूसँग गहिरा प्रश्नहरू सोध्दै बसिरहनुभएको थियो। 47 उहाँको ज्ञान र जवाफ सुन्नेहरू चकित भएका थिए। 48 उहाँलाई त्यहाँ भेट्टाएर उहाँका आमा-बुबा छक्क परे । आमाले सोधिन्, ‘‘ छोरा, तिमीले किन यसो गरेका? हेर, तिम्रा बुबा र म तिमीलाई व्याकुल भएर खोजिरहेका थियौं।’’ 49 उहाँले उनीहरूलाई भन्नुभयो, ‘‘तर तपाईंहरूले मलाई त्यसरी खोज्नुपर्थ्यो र? के म मेरा पिताको काममा व्यस्त रहनुपर्छ भन्ने तपाईंहरूलाई थाहा थिएन?’’ 50 तर उहाँले भन्न खोज्नुभएको कुरा उनीहरूले बुझेनन् । 51 अनि उहाँ उनीहरूसित नासरत फर्किनुभयो। उहाँ उनीहरूको अधीनमा बस्नुभयो। मरियमले यी सबै कुरा आफ्नो मनमै राखिन्। 52 यसरी येशू ज्ञान, जिउडाल अनि परमेश्वर र मानिसको अुनग्रहमा बढ्दै जानुभयो। 31 सिजर तिबेरिअसको शासनकालको पन्ध्रौं वर्षमा पिलातस यहूदियाको राज्यपाल थिए, अनि हेरोद एन्टिपास गालीलका शासक, उनका दाजु फिलिप इतुरिया त्राखोनितिसका शासक र लुसानियास अबिलेनेका शासक थिए।2 हन्नास र कैयाफा प्रधान पूजाहारीहरू थिए। त्यसबेला उजाड-स्थानमा जकरियाका छोरा यूहन्नाकहाँ परमेश्वरको सन्देश आयो। 3 अनि यूहन्ना यर्दन वरिपरिका जिल्लाहरूमा पापमोचनको निम्ति पश्चात्तापको बप्तिस्माको प्रचार गर्दै आए। 4 यशैया अगमवक्ताले यूहन्नाको बारेमा यसो भनेका थिए : ‘‘उनी उजाड-स्थानमा कराउनेको एउटा आवाज, परमप्रभुको निम्ति बाटो तयार पार, उहाँको बाटो सोझो बनाओ। 5 बेँसीहरू पुर र डाँडा-पहाडहरू सम्याओ, घुमाउरा बाटोहरू सीधा बनाओ र अप्ठयारा ठाउँहरू सम्म पार। 6 तब सबै मानिसहरूले परमेश्वरबाट पठाइएको मुक्तिलाई देख्नेछन्।’’ 7 यूहन्नाले उनीसँग बप्तिस्मा लिनआउने मानिसहरूलाई यसरी प्रचार गर्दथे, ‘‘ए, सर्पका सन्तानहरू हो, कसले तिमीहरूलाई आउनलागेको परमेश्वरको दण्डबाट उम्कने चेताउनी दियो ? 8 तिमीहरू आफ्नै चालचलनबाट साँच्चै फर्किएर परमेश्वरतिर मन फिराएका हौ भन्ने कुरा पक्का गराओ। ‘हामी सुरक्षित छौं, हामी अब्राहामका सन्तान हौं’ मात्रै नभन । तिमीहरूले त्यसो भन्दैमा केही हुनेछैन । परमेश्वरले यहाँ भएका यी ढुङ्गाहरूलाई अब्राहामका सन्तान बनाइदिन सक्नुहुन्छ। 9 अहिले नै परमेश्वरको न्यायको बञ्चरो रूखको फेदमा परिसकेको छ। तिमीहरू जरैसमेत ढल्नलागेका छौ। हो, असल फल नफलाउने हरेक रूख काटेर ढालिनेछ र आगोमा मिल्काइनेछ।’’ 10 भीडले सोधे,‘‘त्यसो भए हामी के गरौं?’’ 11 यूहन्नाले जवाफ दिए, ‘‘यदि तिमीहरूसँग दुईवटा दौरा छन् भने एउटा गरीबलाई दिइहाल। तिमीहरूसँग खानेकुरा छ भने त्यो भोकाएकाहरूसँग बाँडचुँड गर।’’ 12 महसुल उठाउने भ्रष्टाचारीहरू पनि बप्तिस्मा लिन आए। तिनीहरूले यूहन्नालाई सोधे, ‘‘गुरुज्यू, हामी के गरौं? ’’ 13 उनले जवाफ दिँदै भने, ‘‘आफ्नो इमानदारिता देखाओ । तिमीहरूलाई रोमी सरकारले तोकिदिएको भन्दा बढी नउठाओ।’’ 14 सिपाहीहरूले पनि आएर सोधे, ‘‘हामी के गरौं?’’ यूहन्नाले जवाफ दिए,‘‘कसैलाई अत्याचार नगर । घूस नलेओ। मानिसहरूलाई नचाहिँदो दोष नलगाओ। आफूले पाउने तलबमा सन्तुष्ट रहो।’’ 15 ख्रीष्ट चाँडै आउनुहुन्छ भनेर सबैले आशा गरिरहेका थिए र तिनीहरू यूहन्ना नै ख्रीष्ट हुन् कि भनी जान्न उत्सुक थिए, 16 तब यूहन्नाले भने, ‘‘आफ्ना पापबाट परमेश्वरतर्फ फर्किनेहरूलाई म पानीले बप्तिस्मा दिन्छु। तर मभन्दा पछि एक जना चँाडै आउँदै हुनुहुन्छ। उहाँ अत्यन्तै शक्तिशाली हुनुहुन्छ। म त उहाँको जुत्ताको फित्ता खोल्ने योग्यको पनि छैनँ। उहाँले नै तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुन्छ। 17 उहाँ भुसलाई गहुँबाट छुट्टयाउनलाई नाङ्लो लिएर तयार हुनुहुन्छ। उहाँले खला सफा गर्नुहुनेछ, गहुँजतिलाई जम्मा गरी आफ्नो भकारीमा थन्क्याउनुहुनेछ र भुसलाई कहिल्यै ननिभ्ने आगोको भट्टीमा फालिदिनुहुनेछ।’’ 18 यूहन्नाले यस्तै धेरै चेताउनीहरू दिँदै मानिसहरूलाई प्रचार गरे। 19 यूहन्नाले गालीलका शासक हेरोद एन्टिपासको पनि खुल्लमखुल्ला आलोचना गरे, किनभने तिनले आफ्नै भाइकी पत्नी हेरोदियाससित विवाह गरेका थिए र अरु पनि धेरै कुकर्म गरेका थिए। 20 यसकारण हेरोदले यूहन्नालाई झ्यालखानमा थुने, यसरी तिनले आफ्नो धेरै कुकर्ममा अझै एउटा कुकर्म थपे। 21 अब भीडलाई बप्तिस्मा दिइरहेको बेला येशू आफैले पनि बप्तिस्मा लिएर प्रार्थना गर्दैगर्दा आकाश उघ्रियो र पवित्र आत्मा ढुकुरको रूपमा उहाँमाथि ओर्लनुभयो। 22 स्वर्गबाट यस्तो वाणी आयो, ‘‘तिमी मेरा प्रिय पुत्र हौ, म तिमीसँग अति नै प्रसन्न छु।’’ 23 येशूले आफ्नो सार्वजनिक सेवकाइ शुरु गर्नुहुँदा तीस वर्षको हुनुहुन्थ्यो। उहाँ यूसुफका छोरोको रूपमा चिनिनुहुन्थ्यो। यूसुफ एलीका छोरा थिए। 24 एली मत्तातका छोरा थिए। त्तात लेवीका छोरा थिए।लेवी मल्कीका छोरा थिए। मल्की यान्नाका छोरा थिए। यान्ना योसेफका छोरा थिए। 25 योसेफ मत्ताथियासका छोरा थिए। मत्ताथियास आमोसका छोरा थिए। आमोस नहूमका छोरा थिए।नहूम इसलीका छोरा थिए। इसली नग्गैका छोरा थिए। 26 नग्गै माथका छोरा थिए। माथ मत्ताथियासका छोरा थिए। त्ताथियास सेमैनका छोरा थिए।सेमैन योसेखका छोरा थिए । योसेख योदाका छोरा थिए। 27 योदा योआनन्का छोरा थिए। योआनन् रेसाका छोरा थिए। रेसा यरुबाबेलका छोरा थिए। यरुबाबेल शालतिएलका छोरा थिए। शालतिएल नेरीका छोरा थिए। 28 नेरी मल्कीका छोरा थिए। मल्की अद्दीका छोरा थिए। अद्दी कोसामका छोरा थिए।कोसाम एलमादमका छोरा थिए। एलमादम एर्का छोरा थिए। 29 एर् यहशूका छोरा थिए। यहशू एलीएजरका छोरा थिए। एलीएजर योरीमका छोरा थिए। योरीम मत्तातका छोरा थिए। मत्तात लेवीका छोरा थिए। 30 लेवी शिमियोनका छोरा थिए। शिमियोन यहूदाका छोरा थिए। यहूदा योसेफका छोरा थिए। योसेफ योनान्का छोरा थिए । योनान् एल्याकीमका छोरा थिए। 31 एल्याकीम मलेआका छोरा थिए। लेआ मिन्नाका छोरा थिए।मिन्ना मत्ताथाका छोरा थिए। मत्ताथा नातानका छोरा थिए।नातान दाऊदका छोरा थिए। 32 दाऊद यिशैका छोरा थिए। यिशै ओबेदका छोरा थिए। ओबेद बोअजका छोरा थिए।बोअज सल्मोनका छोरा थिए। सल्मोन नहशोनका छोरा थिए। 33 नहशोन अम्मीनादाबका छोरा थिए। अम्मीनादाब आरामका छोरा थिए। ाराम हेस्रोनका छोरा थिए।हेस्रोन फारेसका छोरा थिए। फारेस यहूदाका छोरा थिए। 34 यहूदा याकूबका छोरा थिए। याकूब इसहाकका छोरा थिए। इसहाक अब्राहामका छोरा थिए। अब्राहाम तेरहका छोरा थिए । तेरह नाहोरका छोरा थिए। 35 नाहोर सरूगका छोरा थिए। सरूग रऊका छोरा थिए । रऊ पेलेगका छोरा थिए। पेलेग एबेरका छोरा थिए। एबेर शेलहका छोरा थिए। 36 शेलह केनानका छोरा थिए। केनान अर्पक्षदका छोरा थिए। अर्पक्षद शेमका छोरा थिए । शेम नोआका छोरा थिए। नोआ लेमेखका छोरा थिए । 37 लेमेख मतूशेलहका छोरा थिए । तूशेलह हनोकका छोरा थिए।हनोक येरेदका छोरा थिए । येरेद महलालेलका छोरा थिए। महलालेल केनानका छोरा थिए। 38 केनान एनोशका छोरा थिए। एनोश शेतका छोरा थिए। शेत आदमका छोरा थिएर आदम परमेश्वरका छोरा थिए। 41 तब पवित्र आत्माले भरिपूर्ण भएर येशू यर्दन नदीबाट निस्किनुभयो । पवित्र आत्माले उहाँलाई उजाड-स्थानतिर डोर्याउनुभयो।2 त्यहाँ शैतानले उहाँलाई चालीस दिनसम्म परीक्षा गर्यो । उहाँले ती दिनहरूमा केही खानु भएन र उहाँ साह्रै भोकाउनुयो। 3 तब शैतानले उहाँलाई भन्यो, ‘‘यदि तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने यो ढुङ्गालाई रोटी बनाउनुहोस्।’’ 4 तर येशूले त्यसलाई भन्नुभयो, ‘‘लेखिएको छ, ‘मानिस भोजनले मात्र बाँच्दैन’।’’ 5 त्यसपछि शैतानले उहाँलाई उच्च ठाउँमा लग्यो र छिनभरमै संसारका सबै राज्यहरू देखायो। 6 त्यसले उहाँलाई भन्यो, ‘‘म यी राज्यहरूको सारा गौरव र अधिकार तपाईंलाई दिनेछु, किनभने यो मलाई सुम्पिएको छ र जसलाई म इच्छा गर्दछु, उसलाई यो दिन्छु। 7 यदि तपाईंले मलाई दण्डवत् गर्नुभयो भने यी सबै थोक तपाईंका हुनेछन्।’’ 8 येशूले जवाफ दिनुभयो, ‘‘शैतान, मबाट हटिजा, किनभने लेखिएको छ, ‘तैंले तेरा परमप्रभु आफ्ना परमेश्वरलाई दण्डवत् गर्नू र उहाँको मात्रै सेवा गर्नू’।’’ 9 तब शैतानले उहाँलाई यरूशलेम मन्दिरको गजुरमा लग्यो र भन्यो, ‘‘यदि तपाईं परमेश्वरको पुत्र हुनुहुन्छ भने, यहाँबाट हामफाल्नुहोस्, 10 किनभने धर्मशास्त्रले भन्दछ, ‘उहाँले तपाईंको रक्षा गर्नका लागि आफ्ना स्वर्गदूतहरूलाई आज्ञा गर्नुहुन्छ। 11 अनि तिनीहरूले तपाईंलाई हातहातै थाम्नेछन् र तपाईंका खुट्टा ढुङ्गामा ठोकिनेछैनन्’।’’ 12 येशूले जवाफ दिनुभयो, ‘‘यो पनि लेखिएको छ, ‘तैंले आफ्ना परमप्रभु परमेश्वरको परीक्षा नगर्नू’।’’ 13 यी सबै परीक्षा गरिसकेपछि अर्को मौका नआउञ्जेलसम्मको निम्ति शैतानले उहाँलाई छोडेर गयो। 14 त्यसपछि येशू पवित्र आत्माको शक्तिले भरिएर गालीलमा फर्किनुभयो। त्यस वरपरका गाउँभरि उहाँको कीर्ति फैलियो। 15 उहाँले तिनीहरूका सभाघरहरूमा शिक्षा दिनुभयो अनि हरेकले उहाँको प्रशंसा गरे। 16 तब उहाँ आफू हुर्कि एको गाउँ नासरतमा फर्किनुभयो। उहाँ सधैँझैँ विश्राम-दिनमा सभाघरमा जानुभयो र धर्मशास्त्र पाठ गर्नका लागि उभिनुभयो। 17 यशैया अगमवक्ताको पुस्तकको मुट्ठो उहाँलाई दिइयो, जब उहाँले त्यस मुट्ठोलाई खोल्नुभयो तब यस्तो लेखिएको खण्ड भेट्टाउनुभयो : 18 ‘‘परमप्रभुको आत्मा ममाथि हुनुहुन्छ, किनभने उहाँले गरीबहरूलाई सुसमाचार सुनाउनको निम्ति मलाई अभिषेक गर्नुभएको छ। कैदीहरूलाई छुटकाराको सन्देश सुनाउन, अन्धाहरूलाई दृष्टि दिन, थिचोमिचोमा परेकाहरूलाई स्वतन्त्र गराउन, 19 र परमप्रभुको प्रसन्नताको वर्षको घोषणा गर्न उहाँले मलाई पठाउनुभएको छ।’’ 20 उहाँले धर्मशास्त्रको मुट्ठो बन्द गर्नुभयो र सेवकलाई दिएर बस्नुभयो, त्यहाँ भएका सबैले उहाँलाई एकटक लगाएर हेरे। 21 तब उहाँले भन्नुभयो, ‘‘तिमीहरूको सुनाइमा यो वचन पूरा भएको छ।’’ 22 उहाँको मुखबाट निस्केका अनुग्रहपूर्ण वचन सुनेर तिनीहरू छक्क परे र उहाँको सराहना गरे, तिनीहरूले आपसमा भने ‘‘यस्तो कुरा हुनसक्छ र? के यिनी यूसुफको छोरो होइनन् र ? ’’ 23 अनि उहाँले तिनीहरूलाई भन्नुभयो, ‘‘ निश्चय तिमीहरूले मलाई यो उखान भन्नेछौ, ‘ए वैद्य, आफैलाई निको पार। अथवा तिमीले कफर्नहुममा गरेका आश्चर्यकर्महरू यहाँ आफ्नै गाउँमा पनि गर।’ 24 साँच्चै म तिमीहरूलाई भन्दछु, कुनै पनि अगमवक्तालाई आफ्नै गाउँमा स्वीकार गरिँदैन। 25 एलियाको समयमा अवश्य पनि खाँचोमा परेका थुप्रै विधवाहरू थिए, जुन बेला साढे तीन वर्षसम्म पानी परेन र सारा देशभरि अनिकाल पर्यो। 26 तापनि एलियालाई तिनीहरूमध्ये कसैकहाँ पनि पठाइएको थिएन। तर उनलाई सीदोनको सारपतमा एउटी विधवाकहाँ पठाइएको थियो। 27 अगमवक्ता एलीशाको समयमा इस्राएलमा धेरै कुष्ठरोगीहरू थिए तर सिरियाको नामानबाहेक अरु कोही निको पारिएन।’’ 28 सभाघरमा बसेका ती मानिसहरू उहाँको कुरा सुनेर अत्यन्तै क्रोधित भए। 29 तिनीहरू रिसले चूर हुँदै उफ्रिँदै कराए र उहाँलाई धकेल्दै शहरबाहिर पहाडमा पुर्याए र भीरबाट खसालिदिनखोजे। 30 तर उहाँ भीडको बीचबाट छिरेर निस्किजानुभयो। 31 त्यसपछि येशू गालीलको कफर्नहुम शहरमा जानुभयो र हरेक विश्रामको दिनमा सभाघरमा गएर शिक्षा दिनुभयो। 32 त्यहाँ पनि मानिसहरू उहाँको शिक्षामा छक्क परे, किनभने उहाँ अधिकारसहित बोल्नुहुन्थ्यो। 33 एकपल्ट येशू सभाघरमा हुनुभएको बेला भूतात्माले सताइएको एउटा मानिस चर्को स्वरले कराउँदै यसो भन्न थाल्यो, 34 ‘‘तपाईं गइहाल्नुहोस्? हे नासरतका येशू, हामीसँग तपाईंको के काम? के तपाईं हामीलाई नाश गर्न आउनुभएको हो? तपाईं परमेश्वरबाट पठाइएको पवित्रजन हुनुहुन्छ भनी म जान्दछु ।’’ 35 येशूले त्यसलाई हपारेर भन्नुभयो, ‘‘चुप लाग्, त्यस मानिसबाट निस्किआइज।’’ भीडका मानिसहरूले हेर्दाहेर्दै भूतात्माले त्यस मानिसलाई भुइँमा पछार्यो र त्यसलाई केही हानी नगरी निस्केर गयो। 36 ती मानिसहरूले चकित हुँदै भने, ‘‘यिनको बोलीमा कस्तो अधिकार र शक्ति छ। उहाँले भूतात्माहरूलाई आज्ञा दिनुहुन्छ र ती निस्कन्छन्।’’ 37 उहाँको कीर्ति त्यस क्षेत्रभरि फैलियो। 38 त्यस दिन येशू सभाघरबाट निस्किएर सिमोनको घरमा जानुभयो । त्यहाँ उनकी सासू ज्वरोले सिकिस्त थिइन्। त्यहाँ हुने सबैले उहाँसँग विन्ती गरे, ‘‘ कृपया, यिनलाई निको पारिदिनुहोस् ।’’ 39 तिनको छेउमा उभिएर उहाँले ज्वरोलाई हप्काउनुभयो र तुरुन्तै ज्वरोले तिनलाई छोडिहाल्यो। तिनी त्यसैबेला उठिन् र घरमा भएका मानिसहरूका लागि भोजन तयार गर्न थालिन्। 40 त्यस दिन घाम अस्ताएपछि गाउँभरिका मानिसहरूले आफ्ना रोगी-बिमारीहरूलाई येशूकहाँ ल्याए। तिनीहरूको रोग जस्तोसुकै भए पनि उहाँले तिनीहरूमाथि आफ्नो हात राखेर सबैलाई निको पार्नुभयो। 41 तीमध्ये कोही-कोही भूतात्माले ग्रस्त थिए र उहाँले आज्ञा गर्नुहुँदा भूतात्माहरू चिच्च्याउँदै र यसो भन्दै निस्के, ‘‘तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ।’’ तर उहाँले तिनीहरूलाई बोल्न दिनुभएन, किनकि उहाँ ख्रीष्ट हुनुहुन्छ भनी तिनीहरू जान्दथे। 42 भोलिपल्ट एकाबिहानै येशू उजाड-स्थानतिर जानुभयो। भीडले उहाँलाई खोजे, आखिरमा उहाँलाई भेट्टाएपछि तिनीहरूले यसो भन्दै विन्ती गरे, ‘‘हामीहरूलाई छोडेर नजानुहोस्।’’ 43 तर उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, ‘‘मैले अरु ठाउँमा पनि परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्नुपर्छ, यही उद्देश्यको निम्ति मलाई पठाइएको हो।’’ 44 त्यसरी यहूदियाभरि नै उहाँ सभाघरहरूमा पसेर प्रचार गरिरहनुभयो। 51 एक दिन येशू गनेसरेत झीलको किनारमा प्रचार गरिरहनुभएको थियो र परमेश्वरको वचन सुन्नलाई मानिसहरूको ठूलो घुइँचो लाग्यो।2 उहाँले नजिकै किनारमा राखेका दुई डुङ्गाहरू देख्नुभयो, ती डुङ्गाका मछुवाहरू पाखामा निस्किएर जाल धुँदै थिए। 3 एउटा डुङ्गामा चढेर उहाँले त्यो डुङ्गाको मालिक सिमोनलाई केही परतिर धकेल्न लगाउनुभयो। यसरी उहाँ डुङ्गामा बस्नुभयो र त्यहीँबाट भीडलाई शिक्षा दिनुभयो। 4 बोलिसक्नुभएपछि उहाँले सिमोनलाई भन्नुभयो, ‘‘यो डुङ्गालाई गहिरोतिर लैजाऊ र जाल हान, तिमीले धेरै माछा पक्रनेछौ। ’’ 5 सिमोनले जवाफ दिए, ‘‘प्रभु, हामीले रातभरि जाल हान्यौं र पनि केही समात्न सकेनौं । तर तपाईंं यसै भन्नुहुन्छ भने हामी फे रि कोशिश गरी हेरौंला।’’ 6 यसपल्ट तिनीहरूको जालभरि माछा परे र माछा धेरै भएकोले जाल च्यातिन लाग्यो । 7 तिनीहरूले अर्को डुङ्गामा भएकाहरूसँग गुहार मागे, ती दुवै डुङ्गाहरू माछाले भरिएर डुब्न लाग्यो। 8 सिमोन पत्रुसले त्यो देखेर येशूको सामु घुँडा टेक्दै भने, ‘‘हे प्रभु ! तपाईं मबाट गइहाल्नुहोस् किनभने म तपाईंको छेउमा उभिन नसक्ने घोर पापी हुँ। ’’ 9 किनभने त्यति बिघ्न माछा जालमा परेको देखेर तिनी र अर्को डुङ्गामा हुनेहरू सबै चकित भएका थिए। 10 तिनका साझेदार, जब्दियाका छोराहरू याकूब र यूहन्ना पनि आश्चर्यले चकित भएका थिए। येशूले सिमोनलाई भन्नुभयो, ‘‘नडराऊ, अबदेखि तिमीले मानिसहरूलाई पक्रनेछौ । ’’ 11 तिनीहरूले आफ्ना डुङ्गाहरू पाखामा ल्याए र सबै थोक छोडेर येशूको पछि लागे। 12 येशू गाउँनेर पुग्नुहुँदा कुष्ठरोगले शरीर पूरै ग्रसित एउटा मानिससँग उहाँको भेट भयो। जब त्यसले येशूलाई देख्यो, तब भुइँसम्मै निहुरिएर विन्ती गर्दै भन्यो, ‘‘प्रभु तपाईंले चाहनुभयो भने म शुद्ध हुनसक्ने थिएँ।’’ 13 येशूले त्यसलाई छुनुभयो र भन्नुभयो, ‘‘म चाहन्छु, तिमी शुद्ध होऊ ।’’ अनि तुरुन्तै त्यसको कुष्ठरोग हटिहाल्यो। 14 तब उहाँले त्यसलाई आज्ञा दिँदै भन्नुभयो, ‘‘यो कुरा कसैलाई नभन्नू, सीधै पूजाहारीकहाँ गएर आफूलाई देखाऊ र आफू निको भएको प्रमाणस्वरूप मोशाको व्यवस्थाअनुसार शुद्धीकरणको निम्ति बलिदान चढाऊ।’’ 15 तापनि उहाँको कीर्ति चारैतिर फैलियो । यो खबर सुनेर मानिसका ठूला-ठूला भीड उहाँको वचन सुन्न र निको हुन भनी उहाँकहाँ आए । 16 तर येशू एकलै प्रार्थना गर्न घरीघरी उजाड-स्थानमा जानुहुन्थ्यो। 17 एक दिन येशूले शिक्षा दिइरहनुभएको बेला गालील र यहूदियाका हरेक गाउँहरू र यरूशलेमबाट आएका केही फरिसी र धार्मिक व्यवस्थाका शिक्षकहरू उहाँको छेवैमा बसिरहेका थिए। परमेश्वरको निको पार्ने शक्ति उहाँको साथमा थियो । 18 केही मानिसहरू एउटा पक्षाघातीलाई गुन्द्रीमा बोकेर त्यहाँ आए। तिनीहरूले भीडलाई छिचोलेर येशूकहाँ पुग्ने खुबै प्रयास गरे। 19 तर तिनीहरू उहाँसम्म पुग्न सकेनन्। त्यसकारण तिनीहरूले छानामा चढेर येशू बस्नुभएको ठीक माथिको छाना उप्काए र त्यहाँबाट तिनीहरूले त्यस बिरामीलाई गुन्द्रीसहित येशूको अघिल्तिर झारे। 20 तिनीहरूको विश्वास देखेर येशूले त्यस पक्षाघातीलाई भन्नुभयो, ‘‘छोरा, तिम्रा पाप क्षमा भएका छन् ।’’ 21 फरिसी र धार्मिक व्यवस्थाका शिक्षकहरूले भने, ‘‘यस मानिसले आफैलाई के ठान्छ हँ ? यो त ईश्वर-निन्दा हो । परमेश्वरबाहेक अरु कसले मानिसको पाप क्षमा गर्नसक्छ?’’ 22 तिनीहरूले के सोचिरहेका छन् भन्ने थाहा पाएर येशूले सोध्नुभयो, ‘‘तिमीहरू यसलाई किन ईश्वर-निन्दा ठान्छौ? 23 ‘तिम्रो पाप क्षमा भयो’ भन्नु वा ‘उठ र हिँड’ भन्नुमा कुन सजिलो हो? 24 तर तिमीहरूले यो कुरा जान: म, मानिसको पुत्रसँग पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ।’’त्यसपछि त्यस पक्षाघातीतर्फ फर्किएर उहाँले भन्नुभयो, ‘‘उठ, तिमी निको भएका छौ, आफ्नो गुन्द्री उठाऊ र घर जाऊ।’’ 25 सबैले हेर्दाहेर्दै त्यो मानिस जुरुक्क उठयो र आफ्नो गुन्द्री उठाएर परमेश्वरको प्रशंसा गर्दै घरतिर लाग्यो। 26 त्यो घटना देखेर सबै मानिसहरू आश्चर्यचकित भए र भयभीत भएर यसो भन्दै परमेश्वरको प्रशंसा गरे,‘‘आज हामीले बडो अनौठो कुरा देख्यौं।’’ 27 त्यसपछि गाउँबाट निस्किएर जाँदै गर्दा उहाँले लेवी नाउँको मानिसलाई महसुल उठाउने अड्डामा बसिरहेको देख्नुभयो र उसलाई भन्नुभयो, ‘‘आऊ, मेरोपछि लाग।’’ 28 त्यसरी लेवी आफ्ना सबै थोक त्यहीँ छोडेर उठे र उहाँको पछि लागे। 29 त्यसको लगत्तैपछि लेवीले आफ्नो घरमा भोज राखे र येशूलाई बडो आदर गरेर निम्त्याए। लेवीका महसुल उठाउने अन्य साथीहरू र अरु पनि धेरै मानिसहरू त्यहाँ भेला भएका थिए। 30 तर फरिसीहरू र तिनीहरूको धार्मिक व्यवस्थाका शिक्षकहरूले येशूका चेलाहरूसँग गुनासो गर्दै भने, ‘‘तिमीहरू किन यस्ता पापीहरूसित बसेर खानपिन गर्छौ?’’ 31 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, ‘‘निरोगी मानिसलाई वैद्यको खाँचो पर्दैन तर रोगीलाई पर्छ । 32 म धर्मीहरूलाई होइन, तर पापीहरूलाई पश्चात्तापको निम्ति बोलाउन आएको हुँ।’’ 33 धार्मिक अगुवाहरूले उहाँलाई भने, ‘‘यूहन्नाका चेलाहरू सधैँ उपवास र प्रार्थना गर्छन् र फरिसीहरूका चेलाहरू पनि त्यसै गर्छन् । तर तपाईंका चेलाहरू किन खान्छन् र पिउँछन्? ’’ 34 येशूले सोध्नुभयो, ‘‘के दुलहासँग आनन्द मनाइरहेका जन्तीहरू उपवास बस्छन् र? 35 कुनै दिन तिनीहरूबाट दुलहालाई लगिनेछ र त्यसपछि तिनीहरू उपवास बस्नेछन् ।’’ 36 अनि येशूले यस्तो उदाहरण दिनुभयो, ‘‘कसैले पनि नयाँ कपडाको टालोले पुरानो कपडा टाल्दैन। त्यसो भयो भने त्यो नयाँ टालो त च्यातिन्छ नै र पुरानोसँग मेल पनि खाँदैन। 37 त्यसैगरी पुरानो मशकमा कसैले पनि नयाँ अङ्गुरमद्य हाल्दैन, हाल्यो भने नयाँ अङ्गुरमद्यले पुरानो मशकलाई फटाउँछ र अङ्गुरमद्य पोखिन्छ। 38 नयाँ अङ्गुरमद्य नयैँ मशकमा राख्नुपर्छ। 39 पुरानो अङ्गुरमद्य पिएर कसैले नयाँको चाह गर्दैन, किनभने उसले भन्छ, ‘पुरानै असल छ’।’’ 61 विश्रामको दिन येशू खेतबाट गइरहनुभएको थियो । उहाँका चेलाहरूले गहुँका बाला टिपेर माड्दै खानथाले।2 त्यो देखेर केही फरिसीहरूले येशूलाई भने, ‘‘यिनीहरूले यस्तो गर्नुहुँदैनथ्यो। विश्रामको दिनमा फसलको कुनै काम गर्नु व्यवस्थाको विरुद्धमा हुन्छ।’’ 3 येशूले जवाफ दिनुभयो, ‘‘तिमीहरूले धर्मशास्त्रमा पढेका छैनौ? दाऊद र तिनका मानिसहरूले भोकाउँदा के गरे? 4 तिनी परमप्रभुको मन्दिरभित्र पसे र पूजाहारीहरूको निम्ति मात्रै अलग गरिएको रोटी आफू ले खाए र आफ्ना मानिसहरूलाई पनि दिए। त्यो पनि त व्यवस्थाको विरुद्धमा थियो।’’ 5 अनि येशूले अझै भन्नुभयो, ‘‘ म, मानिसको पुत्र त विश्राम-दिनको पनि प्रभु हुँ।’’ 6 अर्को विश्रामको दिन येशूले सभाघरमा गएर शिक्षा दिइरहनुभएको थियो। त्यहाँ दाहिने हात सुकेको एउटा मानिस पनि थियो। 7 धार्मिक व्यवस्थाका शिक्षकहरू र फरिसीहरूले येशूको चेवा गरिरहेका थिए। येशूले त्यस मानिसलाई विश्राम-दिनमा निको पार्नुभयो भने उहाँलाई व्यवस्था उल्लङ्घन गरेको आरोप लगाउन सकिन्छ भनी तिनीहरू पर्खिरहेका थिए। 8 तर तिनीहरू के विचार गर्दैछन् भन्ने कुरा थाहा पाएर उहाँले त्यस हात सुकेको मानिसलाई भन्नुभयो, ‘‘उठ र यहाँ माझमा खडा होऊ।’’ यसरी त्यो मानिस अगाडि आयो। 9 येशूले आफ्ना आलोचकहरूलाई भन्नुभयो, ‘‘म तिमीहरूलाई एउटा प्रश्न सोध्छु, विश्रामको दिनमा असल काम गर्नु उचित हो कि खराब ? यो ज्यान बचाउने दिन हो कि नाश पार्ने?’’ 10 उहाँले ती हरेकलाई पालैपालो हेर्नुभयो र त्यस मानिसलाई भन्नुभयो, ‘‘तिम्रो हात पसार ।’’ त्यसले हात पसार्यो र त्यो ठीक भइहाल्यो। 11 त्यो देखेर येशूका शत्रुहरू ज्यादै क्रोधित भए र अब उहाँलाई के गर्ने भनी आपसमा छलफल गर्नलागे। 12 त्यसको लगत्तैपछि एक दिन येशू पहाडतिर प्रार्थना गर्न जानुभयो र रातभरि परमेश्वरसँग प्र्रार्थना गर्नुभयो । 13 बिहान उज्यालो भएपछि उहाँले आफ्ना सबै चेलाहरूलाई बोलाउनुभयो। अनि तीमध्ये बाह्र जनालाई छानेर तिनीहरूलाई प्रेरित नाम दिनुभयो, तिनीहरू यिनै हुन्: 14 सिमोन- जसलाई पत्रुस पनि भनिन्छ, अन्द्रियास- जो पत्रुसको दाजु हो, याकूब, यूहन्ना, फिलिप बारथोलोमाइ, 15 मत्ती, थोमा, याकूब- जो अल्फयसको छोरो हो, सिमोन कनानी- उनलाई उग्रपन्थी पनि भनिएको छ। 16 यहूदा, जो याकूबको छोरो हो र यहूदा इस्करियोत, जसले येशूलाई धोका दिएको थियो। 17 उहाँहरू पहाडबाट ओर्लनुभएपछि एउटा समतल जग्गामा उभिनुभयो। उहाँको वरिपरि सबै चेलाहरू र सारा यहूदिया, यरूशलेम, टुरोस अनि सीदोन समुद्रको उत्तरी किनारबाट आएका धेरै मानिसहरूको ठूलो भीड लागेको थियो। 18 तिनीहरू उहाँको वचन सुन्न र आफ्ना रोग- बिमारबाट निको हुनआएका थिए। अनि उहाँले तिनीहरूमध्ये धेरै जनाबाट भूतात्माहरू निकाल्नुभयो। 19 सबैले उहाँलाई छुने कोशिश गरिरहेका थिए, किनकि उहाँबाट निको पार्ने शक्ति निस्किएर धेरैलाई निको पारिरहेको थियो। 20 तब येशू आफ्ना चेलाहरूतिर फर्किनुभयो र भन्नुभयो, ‘‘धन्य तिमी गरीबहरू, किनभने परमेश्वरको राज्य तिमीहरूलाई दिइएको छ। 21 धन्य अहिले भोकाउनेहरू, किनभने तिमीहरू तृप्त हुनेछौ। धन्य अहिले रुनेहरू, किनभने तिमीहरू आनन्दित भएर रमाउने समय आउनेछ। 22 धन्य तिमीहरू, जब मानिसहरूले तिमीहरूलाई मानिसको पुत्रको खातिर घृणा गर्नेछन्, बहिष्कार गर्नेछन्, गिल्ला गर्नेछन् र दुष्ट ठानी तिमीहरूका नाउँलाई अपमान गर्नेछन्। 23 त्यस दिन रमाओ र खुशीले उफ्र, किनभने स्वर्गमा तिमीहरूको इनाम ठूलो हुनेछ किनकि तिनीहरूका पुर्खाहरूले अगमवक्ताहरूलाई त्यसै गरेथे। 24 धिक्कार, तिमी धनीहरू, किनभने तिमीहरूले अहिल्यै सुख-चैन भोगिसकेका छौ। 25 धिक्कार, तिमी अहिले तृप्त हुनेहरू, किनभने तिमीहरूको अघि भोको रहनुपर्ने समय आउँदै छ, धिक्कार, तिमी निस्फिक्री भई हाँस्नेहरू किनभने तिमीहरूको हाँसो शोकमा परिणत हुनेछ। 26 धिक्कार, तिमी सबै मानिसबाट प्रशंसा पाउनेहरू, किनभने तिनीहरूका पुर्खाहरूले पनि झूटा अगमवक्ताहरूको प्रशंसा गरेका थिए। 27 तर तिमीहरू मेरा वचन सुन्न चाहन्छौ भने म भन्छु, तिम्रो शत्रुलाई प्रेम गर। जसले तिमीहरूलाई घृणा गर्छन्, तिनीहरूको भलाइ गर । 28 जसले तिमीहरूलाई सराप्छन्, तिनीहरूलाई आशिष् देऊ । तिमीहरूलाई दुर्व्यवहार गर्नेहरूको निम्ति प्रार्थना गर । 29 तिमीसँग भएको चीज माग्नेलाई देऊ अनि तिमीबाट लगिएको चीज फिर्ता लिने प्रयत्न नगर। 30 अरुले तिम्रोलागि जस्तो गरून् भन्ने चाहन्छौ, तिमीले पनि अरुको निम्ति त्यस्तै गर। 31 अरुले तिम्रोलागि जस्तो गरून् भन्ने चाहन्छौ, तिमीले पनि अरुको निम्ति त्यस्तै गर। 32 आफूलाई प्रेम गर्नेलाई मात्रै प्रेम गर्छौ भने त्यो कुन ठूलो कुरा हो र? पापीहरू पनि त त्यसै गर्छन्। 33 आफ्नो उपकार गर्नेको मात्र उपकार गर्छौ भने त्यो कुन ठूलो कुरा हो र? त्यति त पापीहरूले पनि गर्छन् । 34 यदि फर्काउन सक्नेलाई मात्र सापटी दिन्छौ भने के असल गर्यौ र? किनकि पापीहरूले पनि फेरि उत्ति नै फिर्ता पाउने आशा राखेर आफूजस्तैहरूलाई सापटी दिन्छन्। 35 तर आफ्ना शत्रुहरूलाई प्रेम गर। तिनीहरूको भलाइ गर। तिनीहरूलाई फिर्ता पाउने आशा नराखी देऊ । तब स्वर्गमा तिमीहरूको इनाम ठूलो हुनेछ। यसरी तिमीहरू सर्वोच्च परमेश्वरका सन्तान हुनेछौ, किनभने उहाँ बैगुनी र दुष्टहरूप्रति पनि कृपालु हुनुहुन्छ। 36 तिमीहरू पनि आफ्ना पिताजस्तै कृपालु हुनुपर्छ। 37 अरुको न्याय नगर र तिमीहरूको पनि न्याय गरिनेछैन। अरुलाई दोष लगाउन छोड र तिमीलाई दोष लगाइनेछैन। यदि तिमीले अरुलाई क्षमा गर्यौ भने तिमीलाई पनि क्षमा गरिनेछ। 38 यदि तिमीले दियौ भने तिमीलाई पनि दिइनेछ, तिमीलाई दिइने त्यो उपहार खाँदी-खाँदी, हल्लाइ-हल्लाइ र पोखिनेगरी पोल्टामा दिइनेछ। तिमीले अरुलाई दिँदा जुन नापले दिन्छौ, तिमीलार्ई पनि त्यही नापले दिइनेछ।’’ 39 अनि येशूले यो दृष्टान्त भन्नुभयो : ‘‘अन्धाले अन्धालाई डोर्याउन सक्दैन, के सक्छ र? के ती दुवै खाल्डोमा पर्दैनन् र? 40 विद्यार्थी आफ्नै शिक्षकभन्दा ठूलो हुँदैन तर कडा परिश्रम गर्ने विद्यार्थी शिक्षकजस्तै हुनसक्छ। 41 जब तिम्रो आफ्नै आँखामा मूढो छ भने भाइको आँखामा भएको कसिङ्गरको किन चिन्ता गर्छौ? 42 जब तिम्रो आफ्नै आँखामा मूढो छ र देख्न सक्तैनौ भने तिम्रो भाइको आँखामा भएको कसिङ्गर निकाल्छु भन्दै कसरी अघि सर्न सक्छौ? ए कपटीपाखण्डी, पहिले आफ्नै आँखाको मूढो निकाल र बल्ल तिमीले आफ्नो भाइको आँखामा भएको कसिङ्गर निकाल्न सकौला। 43 असल रूखले खराब फल फलाउँदैन र खराब रूखले असल फल फलाउन सक्दैन। 44 रूखलाई त्यसको फलद्वारा चिनिन्छ। काँडाको झ्याङमा नेभारो फल्दैन, अनि एेसेलुको झ्याङमा अङ्गुर फल्दैन। 45 असल व्यक्तिले आफ्नो असल हृदयबाट असलै कुरा निकाल्दछ, अनि दुष्टले आफ्नो दुष्ट हृदयबाट दुष्टै कुरा निकाल्दछ। तिम्रो मुखले तिम्रो हृदयमा भएका कुरा बोल्दछ। ग 46 तिमीहरू मेरा आज्ञापालन गर्दैनौ भने मलाई किन ‘प्रभु, प्रभु’ भन्छौ? 47 जो मकहाँ आएर मेरा वचनहरू सुन्छ र ती पालन गर्छ, त्यो कस्तो मानिस हो, म तिमीहरूलाई बताउँछु। 48 ऊ, त्यो मानिसजस्तो हो, जसले गहिरो खन्यो र चट्टानमाथि जग बसालेर घर बनायो। जब बाढी आयो र त्यस घरमा बजारियो, तैपनि त्यो घरलाई केही पनि भएन। 49 तर मेरा वचन सुनेर पनि त्यसअनुसार नगर्ने मानिस, त्यो व्यक्तिजस्तो हो, जसले जग नखनी घर बनायो। जब बाढी आयो र घरमाथि बजारियो तब त्यो घर पूर्णरूपले ध्वस्त भयो।’’ 71 येशूले यी सबै कुरा भनिसक्नुभएपछि उहाँ कफर्नहुमतिरै फर्कनुभयो।2 एक जना रोमी कप्तानको प्रिय नोकर सिकिस्त बिरामी थियो, ऊ मर्नैलागेको थियो। 3 जब कप्तानले येशूको विषयमा सुने, तब उनले यहूदी धर्मगुरुहरूलाई पठाएर उनको नोकरलाई निको पारिदेऊन् भनी येशूसँग विन्ती गर्न लगाए। 4 त्यसकारण तिनीहरूले येशूसँग त्यस नोकरलाई निको पारिदिनुहोस् भनेर आग्रहपूर्वक विन्ती गरे, ‘‘प्रभु, कप्तान तपाईंको कृपा पाउन योग्यका मानिस हुन्। 5 किनभने उनी हामी यहूदीहरूलाई प्रेम गर्छन् र उनले हाम्रा सभाघरहरूसमेत बनाइदिएका छन्।’’ 6 येशू तिनीहरूसित जानुभयो, तर कप्तानको घरमा पुग्नलाग्दा उनले अरु मानिसहरूलाई यसो भनेर खबर पठाए, ‘‘प्रभु मेरो घरमा आउने कष्ट नगर्नुहोस्, किनभने म त्यत्रो आदरको योग्य छैन। 7 म त तपाईंकहाँ आएर तपाईंलाई भेट्ने योग्यको पनि छैन। तपाईं जहाँ हुनुहुन्छ, त्यहीँबाट बोलिदिनुहोस् र मेरो नोकर निको भइहाल्नेछ । 8 म आफै पनि अख्तियारमुनि रहेको मानिस हुँ र मेरो अधीनमा पनि सिपाहीहरू छन्। मैले तिनीहरूलाई ‘जाओ’ भन्छु र तिनीहरू जान्छन् अथवा ‘आओ’ भन्छु, र तिनीहरू आउँछन्, मैले मेरा दाशहरूलाई ‘यो गर’ भन्छु, तिनीहरू गर्छन्।’’ 9 येशू, यो कुरा सुनेर छक्क पर्नुभयो। भीडतिर फर्किएर उहाँले भन्नुभयो, ‘‘म तिमीहरूलाई भन्छु, मैले सारा इस्राएलभरि यस्तो ठूलो विश्वास देखेको छैन।’’ 10 जब कप्तानका मानिसहरू घरमा फर्किए, त्यो नोकर पूरै निको भएको भेट्टाए। 11 त्यसको लगत्तैपछि येशू आफ्ना चेलाहरूसँग नाइन भन्ने गाउँतिर जानुभयो। एउटा ठूलो भीडले उहाँलाई पछयाइरहेको थियो। 12 उहाँ गाउँको प्रवेशद्वारमा पुग्नुहुँदा मलामीहरूको लस्कर गाउँबाट बाहिर आइरहेको थियो। विधवाको एकमात्र छोरो मरेको थियो। गाउँका धेरै जना शोक गर्नेहरू त्यस स्त्रीको साथमा थिए। 13 प्रभुले जब त्यो स्त्रीलाई देख्नुभयो, तब उहाँको हृदय दयाले भरियो र भन्नुभयो, ‘‘नरोऊ।’’ 14 तब उहाँ अघि बढेर अरथीलाई छुनुभयो र त्यसलाई बोक्ने मलामीहरू टक्क अडिए। अनि उहाँले भन्नुभयो,‘‘ए युवक, तिमी उठ !’’ 15 तब त्यो मरेको केटो उठेर बस्यो र त्यहाँ हुनेहरूसँग बोल्न थाल्यो। अनि येशूले त्यसलाई आमाको जिम्मा लगाउनुभयो। 16 त्यहाँ भएका सबै भयभीत भए र यसो भन्दै परमेश्वरको प्रशंसा गरे, ‘‘हाम्रो बीचमा महान् अगमवक्ता खडा हुनुभएको छ र परमेश्वरले आफ्ना मानिसहरूलाई भेट्नुभएको छ।’’ 17 त्यस दिन येशूले के गर्नुभयो भन्ने समाचार यहूदिया र त्यसको सीमापारिका इलाकाभरि फैलियो। 18 यूहन्नाका चेलाहरूले उनलाई येशूले गरिरहनुभएका सबै कुरा बताए। त्यसपछि उनले आफ्ना दुई जना चेलाहरूलाई बोलाए, 19 र प्रभुसँग यसो भनेर सोध्न पठाए, ‘‘के हामीले बाटो हेरेको मसीह तपाईं नै हुनुहुन्छ कि हामी अर्कैको प्रतीक्षा गरौं?’’ 20 यूहन्नाका दुई चेलाहरूले येशूलाई भेटे र भने, ‘‘बप्तिस्मा दिने यूहन्नाले हामीलाई यो सोध्न पठाएका छन्, ‘हामीले बाटो हेरेको मसीह तपाईं नै हुनुहुन्छ कि हामी अर्कैको प्रतीक्षा गरौं’?’’ 21 त्यसैबेला उहाँले धेरै मानिसहरूलाई तिनीहरूका विभिन्न रोगहरूबाट निको पार्नुभयो, दुष्टात्माहरू निकाल्नुभयो र अन्धाहरूलाई दृष्टि दिनुभयो। 22 त्यसपछि उहाँले यूहन्नाका चेलाहरूलाई यसो भन्नुभयो, ‘‘यूहन्नाकहाँ फर्केर जाओ र तिमीहरूले देखेका र सुनेका सबै कुरा उनलाई भन अर्थात् अन्धाहरू देख्छन्, लङ्गडाहरू हिँड्छन्, कुष्ठरोगीहरू निको भएका छन्, बहिराहरू सुन्छन् र मुर्दाहरू जीवित भएका छन् अनि गरीबहरूलाई सुसमाचार सुनाउने काम भइरहेको छ। 23 अनि उनलाई यो पनि भन, त्यो मानिस धन्यको हो, जसले मबाट ठेस खाँदैन।’’ 24 तिनीहरू गएपछि येशूले भीडसँग यूहन्नाको विषयमा भन्नुभयो,‘‘उजाड-स्थानमा यो मानिस को थियो र तिमीहरू उनलाई हेर्न गयौ? के तिमीहरूले उनलाई बतास चल्दा लर्किने निगालोजस्तो पायौ? 25 के तिमीहरूले उनी महँगो लुगा लगाउने व्यक्ति हुनुपर्छ भन्ने ठानेका थियौ ? त्यस्तो लुगा लगाउनेहरू त दरबारमा बस्छन्, उजाड-स्थानमा होइन। 26 के तिमीहरूले अगमवक्ताको खोजी गरिरहेका थियौ ? हो, उनी अगमवक्ताभन्दा पनि महान् हुन् । 27 धर्मशास्त्रले भनेको व्यक्ति यूहन्ना नै हुन्, जहाँ यसो भनिएको छ : ‘हेर, म, मेरो सन्देशवाहकलाई तिमीभन्दा अघि पठाउँदै छु र तिनले तिम्रोलागि बाटो तयार पार्नेछन्।’ 28 साँच्चै म तिमीहरूलाई भन्दछु, ‘अहिलेसम्म जिएका मानिसहरूमध्ये यूहन्नाभन्दा महान् कोही पनि छैनन् । तापनि परमेश्वरको राज्यमा जो सबैभन्दा सानो छ त्यो यूहन्नाभन्दा महान् हुनेछ’।’’ 29 जब सबै मानिसहरू र महसुल उठाउनेहरूले यो सुने, तब यूहन्नाको बप्तिस्मा पाएकोमा परमेश्वरको न्यायलाई तिनीहरूले स्वीकार गरे। 30 तर फरिसीहरू र व्यवस्थाका पण्डितहरूले उनीबाट बप्तिस्मा नलिएर आफ्नोनिम्ति परमेश्वरको उद्देश्यलाई रद्द गरे। 31 येशूले सोध्नुभयो, ‘‘यस पुस्ताको बयान म कसरी गरूँ? तिनीहरूलाई म केसित तुलना गरूँ? 32 यी मानिसहरू त चोकमा भेला भएर खेल्ने ससाना केटाकेटीहरूजस्तै छन्, तिनीहरू गुनासो गर्दै आफ्ना साथीहरूलाई भन्छन्, ‘हामीले तिमीहरूको लागि बाँसुरी बजायौं र पनि तिमीहरू नाचेनौ, हामीले विलापको गीत गायौं, र पनि तिमीहरू रोएनौ।’ 33 बप्तिस्मा दिने यूहन्नाले मद्य पिएनन्, तिनी प्राय: जसो उपवास बस्थे र तिमीहरू ‘उनलाई भूत लागेको छ’ भन्छौ । 34 म, मानिसको पुत्र खाँदै र पिउँदै आएँ अनि तिमीहरू ‘उनी घिचुवा, पियक्कड र नीच पापीहरूका मित्र हुन्’ भन्छौ। 35 तर बुद्धि ठीक हो कि होइन भन्ने कुरा त्यसको परिणामबाट प्रकट हुन्छ।’’ 36 एक जना फरिसीले येशूलाई आफ्नो घरमा भोजनको निम्ति निम्त्याए, उहाँले तिनको निम्तो स्वीकार गरेर जानुभयो र भोजनको निम्ति बस्नुभयो। 37 त्यस शहरमा एउटी पापी स्त्री थिइन्। फरिसीको घरमा येशू खान बस्नुभएको छ भन्ने सुनेर एउटा सिङ्गमरमरको शीशीमा अत्तर लिएर तिनी त्यहाँ आइन्, 38 तब तिनी येशूको पछिल्तिरबाट आएर उहाँको पाउनेर घुँडा टेकेर रुँदै उहाँको पाउ आँसुले भिजाउँदै आफ्नो केशले पुछ्न थालिन्। अनि तिनले उहाँको पाउमा चुम्बन गर्दै अत्तर लगाइदिइन्। 39 उहाँलाई निम्तो दिने फरिसीले यो देखेर मनमनै भने, ‘‘यदि यिनी अगमवक्ता हुँदा हुन् त, यिनलाई कसले छुँदै छ र यो कस्तो चरित्रकी स्त्री हो, भनी थाहा पाउने थिए, किनकि यो त पातकी स्त्री हो।’’ 40 तिनको विचार बुझेर येशूले भन्नुभयो, ‘‘सिमोन, मैले तिमीलाई केही भन्नु छ।’’ तिनले भने, ‘‘हुन्छ गुरुज्यू भन्नुहोस्।’’ 41 तब येशूले तिनलाई यो दृष्टान्त भन्नुभयो, ‘‘एक जना मानिसका दुई ऋणीहरू थिए। उसले एउटालाई पाँच सय र अर्कोलाई पचास दिनार ऋण दिएको थियो। 42 तर ती दुवैले ऋण चुक्ता गर्न सकेनन्। त्यसकारण उसले दया देखाउँदै दुवैलाई माफी दियो। अब ती दुईमध्ये कसले उसलाई बढ्ता प्रेम गर्ला?’’ 43 सिमोनले जवाफ दिए, ‘‘ मेरो विचारमा बढ्ता ऋण माफी पाउनेले।’’ येशूले भन्नुभयो, ‘‘ठीक भन्यौ।’’ 44 अनि उहाँले त्यस स्त्रीतिर फर्किएर सिमोनलाई भन्नुभयो,‘‘यी स्त्रीलाई हेर त, यिनी घुँडा टेकिरहेकी छिन् । म तिम्रो घरमा पस्दा तिमीले मलाई खुट्टा धुने पानी दिएनौ तर यिनले त आफ्नो आँसुले मेरा खुट्टा धोइन् र आफ्नै केशले पुछेकी छिन्। 45 तिमीले मलाई अभिवादनको चुम्बन गरेनौ तर यिनले त म आएदेखि मेरा पाउमा चुम्बन गर्न छोडेकी छैनन्। 46 तिमीले मेरो शिरमा जैतुनको तेल घसिदिएनौ तर यिनले त महँगो अत्तर नै मेरा पाउमा लगाइदिइन्। 47 त्यसकारण, म तिमीलाई भन्दछु, यिनका धेरै पाप थिए, ती क्षमा गरिएका छन्, किनकि यिनले त मप्रति बढी प्रेम देखाएकी छिन्। तर जसलाई थोरै क्षमा गरिन्छ, त्यसले थोरै प्रेम गर्दछ।’’ 48 त्यसपछि येशूले त्यस स्त्रीलाई भन्नुभयो, ‘‘तिम्रा पाप क्षमा भएका छन्।’’ 49 टेबुलको वरिपरि हुनेहरूले आपसमा भने, ‘‘पाप क्षमा गर्दै हिँड्ने यी मानिस को हुन्?’’ 50 तब येशूले त्यस स्त्रीलाई भन्नुभयो, ‘‘तिम्रो विश्वासले तिमीलाई बचाएको छ, शान्तिसित जाऊ ।’’ 81 त्यसको लगत्तैपछि येशू परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्दै नजिकका गाउँ-गाउँ र शहर-शहर घुम्नुभयो। बाह्रै चेलाहरू उहाँसँगै थिए।2 उहाँले निको पार्नुभएका र भूतहरू निकाल्नुभएका कतिपय स्त्रीहरू पनि उहाँको साथमा थिए। तिनीहरूमा एउटी मरियम मग्दलिनी थिइन्, जसबाट उहाँले सातवटा भूतहरू निकाल्नुभएको थियो। 3 अर्को हेरोदका भण्डारे खुजासकी पत्नी योअन्ना थिइन्। साथै सुसन्ना र अरु पनि थुप्रैथिए, जसले आफ्नै सम्पत्तिद्वारा येशू र उहाँका चेलाहरूको खाँचो टारिदिएर मदत गर्थे। 4 विभिन्न ठाउँबाट उहाँको शिक्षा सुन्न आएका धेरै मानिसहरूलाई उहाँले यो दृष्टान्त भन्नुभयो : 5 ‘‘एउटा किसान बीउ छर्न निस्कियो। उसले बीउ छर्दा केही बीउ बाटोमा परे, जुन खुट्टाले कुल्चिएर नष्ट पारिए र चराचुरुङ्गीले आएर खाइहाले। 6 अरु केही बीउ ढुङ्गेनी जमीनमा परे । बीउ उम्रिए तर जमीन चिस्यानी नभएकोले ती चाँडै नै ओइलाइहाले। 7 अरु बीउ कँाडाघारीमा परे र ती उम्रिए तापनि घारीले निसासिएर बढ्न पाएनन्। 8 तर केही बीउ मलिलो जमीनमा परे र छरिएको भन्दा सय गुणासम्म फल फलाए।’’ त्यसपछि उहाँले भन्नुभयो, ‘‘जसको सुन्ने इच्छा छ, त्यसले सुनोस् र बुझोस्।’’ 9 उहाँका चेलाहरूले ‘यो दृष्टान्तको अर्थ के हो’ भनी उहाँलाई सोधे। 10 उहाँले जवाफ दिनुभयो, ‘‘तिमीहरूलाई परमेश्वरको राज्यका गोप्य रहस्यहरू बुझ्ने अनुमति दिइएको छ। तर अरु मानिसहरूको अगाडि भने म दृष्टान्तहरूमा शिक्षा दिन्छु, यसरी धर्मशास्त्र पूरा होस्: ‘मैले गरेका काम तिनीहरू हेर्छन् तर देख्दैनन्। मेरा वचन तिनीहरू सुन्छन् तर बुझ्दैनन्।’ 11 यस दृष्टान्तको अर्थ यो हो: बीउ भनेको परमेश्वरको वचन हो। 12 बाटोमा पर्ने बीउले वचन सुन्ने ती मानिसहरूलाई जनाउँछ, जसले वचन सुन्छन् तर दुष्ट आएर ती चोरेर लैजान्छ र तिनीहरूलाई विश्वास गर्न र मुक्ति पाउँन दिँदैन। 13 ढुङ्गेनी जमीनले ती मानिसहरूलाई जनाउँछ, जसले वचन सुन्छन् र खुशीसाथ ग्रहण गर्छन् । तर जरा राम्ररी नगाडिएकाले तिनीहरूले केही क्षणको निम्ति विश्वास गर्छन् तर परीक्षा आउनसाथ विश्वासबाट पछि हट्छन्। 14 काँडाघारीमा परेको बीउले तिनीहरूलाई जनाउँछ, जसले वचन सुन्छन् र ग्रहण गर्दछन्, तर यस जीवनको फिक्री, धनको लोभ र सुख- चैनले घेरिएर तिनीहरू चाँडै निराश हुन्छन् । यसरी तिनीहरू कहिल्यै परिपक्व भएर बढ्न सक्दैनन्। 15 तर असल जमीनले तिनीहरूलाई जनाउँछ, जसको हृदय असल र इमानदार हुन्छन् अनि तिनीहरूले ठीकसित परमेश्वरको वचन सुन्छन् र त्यसैमा लागिरहन्छन् अनि स्थिर हुन्छन्। तिनीहरूले नै प्रशस्त फसलको उब्जनी गर्नेछन्। 16 कसैले पनि बत्ती बालेर त्यसलाई छोप्दैन वा खाटमुनि राख्दैन। तर भित्र पस्नेहरूले उज्यालो पाऊन् भनी उसले त्यो दीपदानीमा राख्दछ, 17 किनभने, लुकेको र गुप्तमा रहेको हरेक कुरा प्रकाशमा ल्याइनेछ अनि सबैको निम्ति खुलस्त पारिनेछ। 18 त्यसकारण तिमीहरू जे सुन्छौ, त्यसमा ध्यान देऊ। जो मेरो शिक्षाप्रति उदार छन्, तिनीहरूलाई अझै बढी बुझ्ने शक्ति दिइनेछ। तर जसले मेरो कुरा सुन्दैनन्, तिनीहरूसँग भएको ज्ञान पनि खोसिनेछ।’’ 19 एकपल्ट येशूलाई भेट्न भनेर उहाँकी आमा र उहाँका भाइहरू आए, तिनीहरू असाध्यै भीड भएकोले येशूको नजिक पुग्न सकेनन्। 20 कसैले येशूलाई भन्यो, ‘‘तपाईंकी आमा र तपाईंका भाइहरू बाहिर छन्, तपाईंलाई भेट्न चाहन्छन्।’’ 21 येशूले जवाफ दिनुभयो, ‘‘मेरी आमा र मेरा भाइहरू तिनीहरू नै हुन्, जसले परमेश्वरको वचन सुन्छन् र पालन गर्छन्।’’ 22 येशूले एक दिन आफ्ना चेलाहरूलाई भन्नुभयो, ‘‘हामी झीलको पारिपट्टि जाऔं।’’ त्यसकारण सबै जना डुङ्गामा चढे र त्यहाँबाट हिँडे। 23 डुङ्गा अघि बढ्दै गर्दा येशू निदाउनुभयो। उहाँ निदाइरहनुभएको बेला ठूलो आँधी आयो। त्यसले तिनीहरूलाई डुबाउन लाग्यो र तिनीहरू ठूलो सङ्कष्टमा परे। 24 चेलाहरूले चिच्च्याउँदै उहाँलाई ब्यूँझाए, ‘‘गुरुज्यू, गुरुज्यू हामी डुब्न लाग्यौं।’’ येशू उठ्नुभयो अनि बतास र छाललाई हप्काउनुभयो । आँधी रोकियो र छाल शान्त भइहाल्यो। 25 तब उहाँले तिनीहरूलाई सोध्नुभयो, ‘‘तिमीहरूको विश्वास खोई?’’ तिनीहरूले चकित र भयभीत हुँदै आपसमा भने, ‘‘यिनी को हुन्, बतास र पानीका छालले पनि यिनको आज्ञा मान्छन्?’’ 26 उहाँहरू गालीलको पारिपट्टि गनेसरेतको इलाकामा आइपुग्नुभयो। 27 येशू डुङ्गाबाट उत्रिनुभएपछि भूतात्माले ग्रसित एउटा मानिससँग उहाँको भेट भयो। त्यो धेरै समयदेखि नाङ्गै बस्थ्यो र घरमा नबसेर चिहानघारीतिर घुमिहिँड्थ्यो। 28 येशूलाई देख्नेबित्तिकै चिच्च्याएर त्यो उहाँको अघि घोप्टो पर्यो र कराउँदै भन्यो, ‘‘तपाईं किन मलाई दु:ख दिनुहुन्छ? हे सर्वोच्च परमेश्वरका पुत्र, म विन्ती गर्छु, मलाई नसताउनुहोस्।’’ 29 किनकि येशूले त्यसलाई अघि नै त्यस मानिसबाट निस्किजाने आज्ञा दिनुभएको थियो। दुष्टात्माले त्यस मानिसलाई घरीघरी छोप्थ्यो, त्यसलाई साङ्लाले बाँधेर राखे पनि सजिलै बन्धन चुँडाउँथ्यो र भूतको शक्तिद्वारा नियन्त्रित भएर निर्जन ठाउँतिर घुमिहिँड्थ्यो। 30 येशूले त्यसलाई सोध्नुभयो, ‘‘ तेरो नाउँ के हो?’’ त्यसले जवाफ दियो,‘‘फौज।’’ किनभने त्यस मानिसभित्र धेरै भूतात्माहरू थिए। 31 ‘अगाध खाल्डोमा जाने आज्ञा नदिनुहोस्’ भनेर भूतात्माहरूले येशूसँग विन्ती गरिरहे। 32 त्यहाँ नजिकै डाँडामा सुँगुरको एउटा ठूलो बथान चरिरहेको थियो। तिनीहरूले उहाँलाई ‘तिनै सुँगुरहरूभित्र पस्ने आज्ञा दिनुहोस्’ भनी विन्ती गरे र येशूले अनुमति दिनुभयो। 33 त्यसरी भूतात्माहरू त्यस मानिसबाट निस्किएर ती सुँगुरहरूभित्र पसे। सम्पूर्ण सुँगुरहरूको बथान भीरतिर हुर्रिंदै गएर तालमा खसे र डुबेर मरे। 34 ती सुँगुर चराउनेहरूले जब त्यो देखे, तिनीहरू नजिकैका गाउँतिर भागे र सारा गाउँभरि त्यो खबर फैलाए। 35 त्यसको केही क्षणमै ठूलो भीड येशूको वरिपरि जम्मा भयो, किनभने के भएको थियो भन्ने कुरा मानिसहरू आफै हेर्न चाहन्थे । भूतात्माले सताएको त्यस मानिसलाई लुगा लगाएर येशूको छेउमा सद्दे भएर बसिरहेको देखेर सम्पूर्ण भीड नै भयभीत भयो। 36 देख्नेहरूले त्यो भूत लागेको मानिसले कसरी भूतात्माबाट छुटकारा पायो भन्ने कुरा हरेकलाई सुनाए । 37 त्यस क्षेत्रका मानिसहरूमा ठूलो डर छायो। त्यसकारण सम्पूर्ण भीडले नै त्यस ठाउँबाट गइहाल्नुहोस् भनेर येशूसँग विन्ती गरे। त्यसकारण येशू फर्किएर डुङ्गामा चढ्नुभयो र त्यो ठाउँ छाडेर झीलको पारिपट्टि जानुभयो। 38 भूतात्माबाट छुटकारा पाएको त्यस मानिसले पनि उहाँसँगै जान पाऊँ भनेर विन्ती गर्यो तर येशूले त्यसलाई रोक्दै भन्नुभयो, 39 ‘‘होइन, घरमा जाऊ, सबैसँग भेटघाट गर र परमेश्वरले तिम्रो जीवनमा कस्तो आश्चर्यको काम गरिदिनुभयो भनी सबैलाई बताऊ।’’ त्यसकारण त्यो मानिस येशूले आफ्नो निम्ति गरिदिनुभएको महान् कामको विषयमा प्रचार गर्दै सारा शहरभरि घुम्यो। 40 उहाँ झील तरेर वारिपट्टि आइपुग्नुहुँदा सबै मानिसहरूले उहाँको स्वागत गरे, किनभने तिनीहरूले उहाँलाई पर्खिरहेका थिए। 41 सभाघरको एक जना अगुवा याइरस आएर उहाँको पाउमा परेर तिनको घरमा जान उहाँसित विन्ती गरे। 42 तिनको एउटै मात्र सन्तान बाह्र वर्षकी छोरी मर्नलागेकी थिई, येशू तिनीसँग जाँदै गर्नुहुँदा धेरै मानिसहरूको भीडले उहाँलाई घेरेका थिए। 43 त्यसै भीडमा बाह्र वर्षदेखि रगत बग्ने व्यथा लागेकी एउटी स्त्री पनि थिइन्। तिनले वैद्यहरूसित जँचाएर भएको सम्पत्ति खर्च गर्दा पनि तिनी निको हुनसकेकी थिइनन्। 44 तिनी येशूको पछिल्तिरबाट आइन् र उहाँको वस्त्रको फेरो छोइन्, तुरुन्तै तिनको रगत बग्न बन्द भयो। 45 येशूले सोध्नुभयो, ‘‘मलाई कसले छोयो?’’ उहाँको भनाइमा कसैले पनि सहमत जनाएनन् र पत्रुसले भने, ‘‘गुरुज्यू, त्यति ठूलो भीडले ठेलमठेला गरिरहेको छ।’’ 46 तर येशूले उनलाई भन्नुभयो, ‘‘त्यसो होइन, कसैले मलाई जानीबुझीकन छोएको छ, किनभने मबाट शक्ति निस्केर गएको मैले अनुभव गरेँ।’’ 47 येशूको नजरबाट ऊ छिपेकी छैन रहिछ भन्ने तथ्य जब तिनले थाहा पाइन् तब तिनी थरथर काँप्दै येशूको अघि घोप्टो परिन्। तिनले येशूलाई छोएकी र तुरुन्तै रोग निको भएको सत्यता सबैलाई बताइन्। 48 येशूले त्यस स्त्रीलाई भन्नुभयो, ‘‘छोरी, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ। शान्तिसँग जाऊ।’’ 49 उहाँ अझै तिनीसित बोल्दै गर्नुहुँदा याइरसको घरबाट खबर ल्याउनेहरू आएर भने, ‘‘तपार्इंकी सानी छोरी मरिसकिन्, अब गुरुज्यूलाई दु: ख दिनु व्यर्थ छ।’’ 50 येशूले त्यो कुरा सुनेर याइरसलाई भन्नुभयो, ‘‘नडराऊ, ममाथि भरोसा राख र तिनी ठीक हुनेछिन्।’’ 51 याइरसको घरमा आइपुगेर येशूले आफूसित त्यस बालिकाका आमा-बुबा, पत्रुस, याकूब र यूहन्नाबाहेक अरु कसैलाई भित्र पस्न दिनुभएन। 52 रुने र विलाप गर्नेहरू घरभरि थिए। येशूले तिनीहरूलाई भन्नुभयो, ‘‘नरोओ, यिनी मरेकी छैनन्, निदाएकी मात्रै छिन्।’’ 53 तर ठिटी मरिसकेकी छिन् भन्ने कुरा सबैलाई थाहा भइसकेको हुनाले तिनीहरूले येशूलाई हाँसोमा उडाए। 54 तब येशूले तिनका दुवै हात पक्रनुभयो र बोलाउँदै भन्नुभयो, ‘‘ए छोरी, उठ।’’ 55 त्यसैबेला तिनी जीवित भइन् र तत्कालै उठिन्। अनि येशूले तिनलाई ‘खानेकुरा देऊ’ भनी तिनीहरूलाई अह्राउनुभयो। 56 तिनका आमा-बुबा अत्यन्तै खुशी भए तर त्यस विषयमा ‘कसैलाई नभन्नू’ भनी येशूले तिनीहरूलाई कडा आज्ञा दिनुभयो। 91 एक दिन येशूले बाह्रै प्रेरितलाई बोलाएर तिनीहरूलाई सबै किसिमका रोग र भूतात्माहरू धपाउने शक्ति र अधिकार दिनुभयो।2 त्यसपछि उहाँले तिनीहरूलाई परमेश्वरका राज्यको आगमनको प्रचार गर्न र रोगी बिमारीहरूलाई निको पार्न पठाउनुभयो। 3 उहाँले तिनीहरूलाई भन्नुभयो, ‘‘आफ्नो साथमा लौरो नबोक, न झिटीगुन्टा, न खानेकुरा, न पैसा, न त जगेडा वस्त्र। 4 जब तिमीहरू कुनै गाउँमा पस्दछौ, एउटा मात्रै घरमा बस। 5 त्यस गाउँमा पसेर प्रचार गर्दा मानिसहरूले तिमीहरूको कुरा सुन्न इन्कार गरे भने त्यहाँबाट निस्किएर जाँदा तिनीहरूका विरुद्धमा गवाहीका निम्ति आफ्ना खुट्टामा लागेको धूलोसमेत टकटक्याओ।’’ 6 यसरी प्रेरितहरू सुसमाचार प्रचार गर्दै र रोगी-बिमारीहरूलाई निको पार्दै गाउँ-गाउँ घुमे। 7 जब येशूले गर्नुभएका आश्चर्यकर्महरूको विषयमा हेरोद एन्टिपासले सुने, तब तिनी ज्यादै चिन्तित र अलमल्ल परे, किनभने कसै-कसैले यसो भनिरहेका थिए, ‘मृत्युबाट पुनर्जीवित भएको बप्तिस्मा दिने यूहन्ना हुनुपर्छ।’ 8 अरु कोही-कोहीले उहाँलाई ‘एलिया वा प्राचीन अगमवक्ताहरूमध्ये कुनै पुनर्जीवित भएको हुनुपर्छ’ भन्थे। 9 हेरोदले भने, ‘‘मैले नै यूहन्नाको शिर काट्ने आज्ञा दिएँ, अनि यो मानिस को होला, जसको विषयमा मैले यस्तो अनौठो कुरा सुनिरहेको छु?’’ तिनले येशूलाई भेट्ने प्रयास गरे। 10 जब प्रेरितहरू फर्किएर आए, तिनीहरूले आफूले गरेका सबै कामहरूको विवरण येशूलाई बताए। त्यसपछि चेलाहरूलाई साथमा लिएर उहाँ सुटुक्क बेथसेदातिर जानुभयो। 11 तर उहाँ कतै जाँदै हुनुहुन्छ भन्ने थाहा पाएर भीड उहाँको पछि लाग्यो। उहाँले तिनीहरूलाई परमेश्वरको राज्यको विषयमा शिक्षा दिँदै र बिमारीहरूलाई निको पार्दै स्वागत गर्नुभयो। 12 दिन ढल्कन थालेपछि बाह्र चेलाहरूले उहाँको नजिक आएर भने,‘‘यी मानिसहरूलाई पठाइदिनुहोस्, यसैले कि तिनीहरूले नजिक गाउँमा गएर आफ्नोनिम्ति गाँस र बासको बन्दोबस्त गरून्, किनकि यस उजाड-स्थानमा हामीसित खानेकुरा केही पनि छैन।’’ 13 तर येशूले तिनीहरूलाई भन्नुभयो, ‘‘तिमीहरूले नै तिनीहरूलाई खुवाओ।’’ तब तिनीहरूले प्रत्युत्तर दिए, ‘‘हामीसित पाँच रोटी र दुई माछाबाहेक अरु केही पनि छैन अथवा के तपाईं हामी गएर यतिका भीडलाई खानेकुरा किनेर ल्याऔं भन्ने चाहनुहुन्छ?’’ 14 किनभने त्यहाँ पुरुषहरू मात्र लगभग पाँच हजारजति थिए। येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, ‘‘ तिनीहरूलाई पचास-पचासको समूहमा बस्न लगाओ।’’ 15 यसरी सबै मानिसहरू मिलेर बसे। 16 येशूले पाँच रोटी र दुई माछा लिनुभयो। त्यसपछि उहाँले स्वर्गतिर हेरेर खानाको निम्ति परमेश्वरसँग आशिष् माग्नुभयो र रोटीलाई टुक्रा पारेर मानिसहरूलाई बाँडिदिन चेलाहरूलाई दिनुभयो। 17 ती सबैले अघाउन्जेल खाए र तिनीहरूले उबारेका टुक्राटाक्री जम्मा गर्दा बाह्र डालो भयो। 18 एक दिन जब येशू व्यक्तिगतरूपमा प्रार्थना गरिरहनुभएको थियो। उहाँ चेलाहरू भएको ठाउँमा आउनुभयो र तिनीहरूलाई सोध्नुभयो, ‘‘मानिसहरूले मलाई, म को हुँ भन्छन्?’’ 19 तिनीहरूले जवाफ दिए, ‘‘तपाईंलार्इं कसैले बप्तिस्मा दिने यूहन्ना, कसैले एलिया र कसैले प्राचीन अगमवक्ताहरूमध्ये एक हो, भन्छन्।’’ 20 उहाँले सोध्नुभयो,‘‘तिमीहरू म को हुँ भन्छौ?’’ पत्रुसले जवाफ दिए, ‘‘तपाईं परमेश्वरबाट पठाइनुभएको मसीह हुनुहुन्छ।’’ 21 येशूले तिनीहरूलाई यस विषयमा कसैलाई नभन्नू भनी कडा आज्ञा दिनुभयो। 22 उहाँले भन्नुभयो, ‘‘किनभने म मानिसको पुत्रले धेरै भयानक कष्ट भोग्नुपर्छ । धार्मिक अगुवाहरू, मुख्य पूजाहारीहरू र धार्मिक व्यवस्थाका शिक्षकहरूले मलाई इन्कार गर्नेछन् र मार्नेछन् तर त्यसको तीन दिनपछि म मृतकबाट जीवित भई उठ्नेछु।’’ 23 त्यसपछि उहाँले भीडलाई भन्नुभयो, ‘‘यदि तिमीहरूमध्ये कोही मेरोपछि आउन चाहन्छ भने त्यसले आफैलाई इन्कार गरोस् र दिनहुँ आफ्नो क्रूस उठाएर मेरोपछि लागोस्। 24 यदि तिमीले आफ्नो जीवन बचाउने कोशिश गर्यौ भने त्यो गुमाउनेछौ। तर यदि तिमीले आफ्नो जीवन मेरोनिम्ति गुमायौ भने त्यो प्राप्त गर्नेछौ। 25 यदि तिमीहरूले सारा संसारै हात पारेर साँचो जीवन गुमायौ भने तिमीहरूलाई के लाभ छ र? 26 यदि कोही म र मेरो वचनसँग लजाउँछ भने म, मानिसको पुत्र पनि मेरो आफ्नो पिताको र पवित्र स्वर्गदूतहरूको महिमामय आगमनमा त्यससँग लजाउनेछु। 27 म तिमीहरूलाई साँचो कुरा भन्दछु, यहाँ अहिले उभिनेहरूमध्ये कोही-कोही परमेश्वरको राज्य नदेखेसम्म मर्नेछैनौ।’’ 28 त्यसको एक हप्तापछि पत्रुस, याकूब र यूहन्नालाई साथमा लिएर येशू प्रार्थना गर्न डाँडामा जानुभयो । 29 जब उहाँ प्रार्थना गरिरहनुभएको थियो, उहाँको मुहार परिवर्तन भयो र उहाँको वस्त्र प्रकाशसमान चहकिलो भयो। 30 त्यसपछि दुई जना मानिस, मोशा र एलिया देखा परे अनि येशूसँग बात मार्नथाले। 31 त्यो दृश्य साँच्चै महिमित थियो र येशूले यरूशलेममा उहाँको मृत्युद्वारा कसरी परमेश्वरको योजना पूरा हुनेछ भन्ने विषयमा उनीहरू कुरा गरिरहेका थिए। 32 पत्रुस र उनका साथीहरू निद्राले लट्ठ परेका थिए र तिनीहरू ब्यूँझिएपछि तिनीहरूले येशूको महिमा अनि उहाँसँग उभिएका दुई जनालाई देखे। 33 मोशा र एलिया त्यहाँबाट जानैलाग्दा पत्रुसले ‘के बोल्दैछु’ भन्ने कुरा थाहै नपाईकन एक्कासि भने, ‘‘गुरुज्यू, कस्तो अचम्म ! हामी यहीँ बस्नु असल हुन्छ। हामी यहाँ तीनवटा तम्बु बनाऔं, एउटा तपार्इंको लागि, एउटा मोशाको लागि र अर्को एलियाको लागि।’’ 34 तर उनले यसो भन्दै गर्दा उनीहरूलाई बाक्लो बादलले ढाक्यो र बादलले ढाक्दा उनीहरू भयभीत भए। 35 बादलबाट यसो भन्ने आवाज आयो, ‘‘यिनी मेरा प्रिय पुत्र हुन् । यिनको कुरा सुन।’’ 36 त्यसपछि त्यो आवाज हरायो, त्यतिबेला येशू मात्रै त्यहाँ हुनुहुन्थ्यो । अनि त्यसको धेरै पछिसम्म पनि आफूले देखेको घटनाको बारेमा उनीहरूले कसैलाई भनेनन्। 37 डाँडाबाट ओर्लिआएको भोलिपल्ट एउटा ठूलो भीडले येशूलाई घेर्यो। 38 भीडमा भएको एउटा मानिसले उहाँलाई भन्यो,‘‘गुरुज्यू, मेरो छोरोलाई हेर्नुहोस्। यो मेरो एउटै छोरो हो, 39 एउटा दुष्टात्माले त्यसलाई छोपिरहन्छ, यो अचानक चिच्च्याउँछ, अधमरो पारेर लडाउँछ, फीँज काड्छ अनि यसलाई सधैँ लछारपछार र चोट पार्छ। यसलाई म एकलै छोड्न सक्दिनँ। 40 मैले तपाईंका चेलाहरूसित त्यस दुष्टात्मालाई निकाल्नको निम्ति अनुरोध गरेँ, तर उनीहरूले सकेनन्।’’ 41 येशूले जवाफ दिनुभयो, ‘‘ए हठी र अविश्वासी मानिसहरू हो। म कहिलेसम्म तिमीहरूसँग रहिरहूँला? त्यस केटोलाई यहाँ ल्याओ।’’ 42 त्यो केटो उहाँको नजिक आउनासाथै त्यस भूतले त्यसलाई पछार्यो र नराम्रोसँग बटार्यो। तर येशूले त्यस दुष्टात्मालाई हप्काउनुभयो र के टालाई निको पार्नुभयो, त्यसपछि, त्यसलाई बुबाको जिम्मामा लगाइदिनुभयो। 43 ती मानिसहरू परमेश्वरको शक्ति प्रकट भएको देखेर चकित भए। उहाँले गर्नुभएका आश्चर्यकर्महरूमा मानिसहरू छक्क परिरहेको देखेर येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, 44 ‘‘मैले भन्न लागेको कुरा ध्यानपूर्वक सुन । मानिसको पुत्रलाई धोका दिन लागिएको छ ।’’ 45 तर उहाँले के भन्नुभएको हो भन्ने कुरा उनीहरूले बुझेनन्। उनीहरूले बुझ्न नसकून् भनेर त्यस रहस्यमय कुरालाई गुप्तमा नै राखिएको थियो। त्यसको अर्थ के हो भनेर सोध्ने साहस पनि उनीहरूले गर्न सकेनन्। 46 तब चेलाहरूले तिनीहरूमध्ये ‘सबैभन्दा ठूलो को हुनेछ’ भनी आपसमा बहस गर्नथाले। 47 तर तिनीहरूको हृदयको विचार बुझेर येशूले एउटा सानो बालकलाई आफ्नो छेउमा ल्याउनुभयो । 48 तब उहाँले तिनीहरूलाई भन्नुभयो, ‘‘जसले मेरो नाउँमा कसैलाई यस बालकलाई जस्तो गरी ग्रहण गर्छ, त्यसले मलाई ग्रहण गर्नेछ । जसले मलाई ग्रहण गर्छ, त्यसले मलाई पठाउनुहुने मेरा पितालाई ग्रहण गर्नेछ। तिमीहरूमध्ये जो सबैभन्दा सानो छ, त्यो नै सबैभन्दा ठूलो गनिनेछ।’’ 49 यूहन्नाले येशूलाई भने, ‘‘गुरुज्यू, कसैले तपाईंको नाउँमा भूतहरू धपाउने गरेको हामीले देख्यौं। त्यो मानिस हाम्रो समूहमा छैन, त्यसकारण हामीले त्यसलाई रोक्न खोज्यौं।’’ 50 तर येशूले भन्नुभयो,‘‘त्यसलाई नरोक। जो हाम्रो विरुद्धमा छैन, त्यो हाम्रो पक्षमा छ।’’ 51 उहाँको स्वर्गारोहणको दिन नजिक आयो, येशूले यरूशलेमतिर जाने निश्चय गर्नुभयो। 52 सामरियामा गएर उहाँको आगमनको निम्ति तयारी गर्न येशूले समाचारवाहकहरूलाई अगिअगि पठाउनुभयो। 53 तर त्यहाँ नबसेर यरूशलेमतिरै जाने येशूको अठोट थाहा पाएर सामरीहरूले उहाँलाई स्वागत गरेनन्। 54 अनि जब उहाँका चेलाहरू याकूब र यूहन्नाले यो देखे तब येशूलाई सोधे, ‘‘प्रभु, स्वर्गबाट आगो बर्सियोस् र यो गाउँ भस्म होस् भनेर के हामीले आज्ञा नगर्नू?’’ 55 तर तिनीहरूतिर फर्केर येशूले दुवैलाई हप्काउनुभयो, 56 तर तिनीहरूतिर फर्केर येशूले दुवैलाई हप्काउनुभयो, 57 बाटोमा जाँदै गर्दा कसैले येशूलाई भन्यो, ‘‘तपार्इं जहाँसुकै जानुभए तापनि म तपार्इंलाई पछयाउनेछु।’’ 58 तर येशूले जवाफ दिनुभयो, ‘‘फ्याउराहरूको बस्ने दुलाहरू हुन्छन् र चराचुरुङ्गीहरूका गुँडहरू तर म, मानिसको पुत्रको त शिरलाई अडेस लगाउने ठाउँसमेत छैनँ ।’’ 59 उहाँले अर्को मानिसलाई भन्नुभयो, ‘‘आऊ, मेरोपछि लाग।’’ त्यस मानिसले स्वीकार त गर्यो, तर यसो भन्यो, ‘‘प्रभु, पहिले मलाई घर गएर मेरो बुबालाई गाड्न दिनुहोस्।’’ 60 येशूले भन्नुभयो, ‘‘तिनीहरू, जो आत्मिकरूपमा मरेका छन्, तिनीहरूले नै आफ्ना मृतकहरूलाई गाडून्। तर तिमी गएर परमेश्वरको राज्यको प्रचार गर।’’ 61 अर्कोले भन्यो, ‘‘ज्यू प्रभु, म तपाईंको पछि लाग्छु तर पहिले गएर मेरो परिवारसित बिदा मागेर आउन दिनुहोस्।’’ 62 येशूले त्यसलाई भन्नुभयो, ‘‘हलोको अनौमा आफ्नो हात राखेर पछिल्तिर फर्केर हेर्ने मानिस परमेश्वरको राज्यको योग्य हुँदैन।’’ 101 प्रभुले अरु सत्तरी जनालाई छान्नुभयो र आफू जानलाग्नुभएको सबै शहर अनि गाउँहरूतिर तिनीहरूलाई दुई-दुई जना गरी आफूभन्दा अघि पठाउनुभयो ।2 उहाँले तिनीहरूलाई भन्नुभयो, ‘‘फसल त प्रशस्त छ, तर खेताला थोरै छन्। त्यसकारण फसलका मालिक प्रभुलाई खेताला पठाइदिनुहोस् भनी प्रार्थना गर। 3 अहिले तिमीहरू जाओ, यो कुरा याद राख कि मैले तिमीहरूलाई ब्वँासाहरूका माझमा पाठाहरूलाई झैँ पठाएको छु। 4 न त पैसाको थैली, न त झिटीगुन्टा, न जुत्ता बोक। अनि बाटोमा कसैलाई अभिवादन नगर। 5 तिमीहरू जुन घरमा पस्छौ, त्यस घरलाई आशिष् देओ। 6 यदि त्यस घरका मानिसहरू आशिष्को योग्य रहेछन् भने तिमीहरूले दिएको आशिष् तिनीहरूलाई लाग्नेछ र ती योग्यका रहेनछन् भने त्यो तिमीहरूमै फर्किआउनेछ। 7 जब तिमीहरू कुनै शहरमा पस्छौ, त्यहाँका घर-घर चहारी नहिँड। तिनीहरूले जे दिन्छन्, त्यो खाँदै-पिउँदै त्यही घरमा बसिरहो। कसैले तिमीहरूलाई आफ्नो घरमा निम्त्याउँछ भने तिनीहरूको सम्मान ग्रहण गर, किनभने खेताला ज्यालाको योग्य हुन्छन्। 8 यदि तिमीहरू कुनै शहरमा पस्छौ र तिनीहरूले स्वागत गरेर केही खान दिन्छन् भने खाओ। 9 रोगीहरूलाई निको पार । जब तिमीहरू कसैलाई निको पार्छौ, तब तिनीहरूलाई भन : ‘परमेश्वरको राज्य तिमीहरूको नजिकै आएको छ।’ 10 तर कुनै शहरले तिमीहरूलाई स्वागत गरेन भने त्यस शहरबाट बाहिर निस्क र भन, 11 ‘तिमीहरूको शहरमा टेक्दा हाम्रा खुट्टामा लागेको धूलोसमेत हामी तिमीहरूको विरुद्धमा टकटक्याइदिन्छौं र तिमीहरू यी कुरा नभुल कि परमेश्वरको राज्य नजिकै आएको छ।’ 12 म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा त्यस शहरको भन्दा सदोमको हालत सहनीय हुनेछ। 13 धिक्कार तँलाई ए खोराजिन ! धिक्कार तँलाई, ए बेथसेदा ! किनभने तिमीहरूमा गरिएका आश्चर्यकर्महरू टुरोस र सीदोनमा गरिएका भए, त्यहाँका मानिसहरूले धेरै पहिले नै भाङ्ग्रा ओढेर अनि आफ्ना शिरमा खरानी घसेर पश्चात्ताप गरिसक्ने थिए। 14 तर न्यायको दिनमा तिमीहरूको भन्दा टुरोस र सीदोनको अवस्था सहनीय हुनेछ। 15 ए कफर्नहुमका मानिसहरू हो, के तिमीहरू स्वर्गसम्म उचालिनेछौ र? होइन, तिमीहरू नरकमा खसालिनेछौ।’’ 16 उहाँले फेरि चेलाहरूलाई भन्नुभयो, ‘‘जसले तिमीहरूको कुरा सुन्छ र ग्रहण गर्छ त्यसले मलाई नै ग्रहण गर्नेछ। अनि जसले तिमीहरूलाई इन्कार गर्छ, त्यसले मलाई नै इन्कार गर्नेछ। त्यसैगरी जसले मलाई इन्कार गर्छ, त्यसले मलाई पठाउनुहुने परमेश्वरलाई इन्कार गर्नेछ।’’ े 17 ती सत्तरी जना चेलाहरू जब उहाँले अह्राउनुभएको काम पूरा गरेर आनन्दसाथ फर्किए र भने, ‘‘प्रभु हामील तपाईंको नाउँ लिँदा भूतात्माहरूले समेत हाम्रो आज्ञापालन गर्छन्।’’ 18 उहाँले भन्नुभयो, ‘‘हो, मैले शैतानलाई स्वर्गबाट बिजुलीझैँ खसिरहेको देखेँ। 19 मैले तिमीहरूलाई शत्रुका सम्पूर्ण शक्तिमाथि विजयी हुने अधिकार दिएको छु। हेर, तिमीहरूले सर्प र बिच्छीहरूलाई कुल्चिँदै हिँड्नेछौ, तापनि तिनले तिमीहरूको कुनै हानी गर्नेछैन। 20 तैपनि दुष्टात्माहरूले तिमीहरूको आज्ञापालन गरे भनेर नरमाओ, बरु स्वर्गका नागरिकको रूपमा तिमीहरूको नाउँ लेखिएको छ भनेर रमाओ।’’ 21 तब येशू पवित्र आत्माको आनन्दले भरिनुभयो र भन्नुभयो, ‘‘हे पिता, सारा स्वर्ग र पृथ्वीका प्रभु, आफैलाई बुद्धिमान् र चलाख ठान्नेहरूबाट तपाईंले सत्यता लुकाएर, यी बालकहरूलाई प्रकट गरिदिनुभएको निम्ति धन्यवाद । हो, पिता तपाईंलाई यसै गर्न उचित लाग्यो।’’ 22 उहाँले तिनीहरूलाई भन्नुभयो, ‘‘मेरा पिताले सबै थोकको अधिकार मलाई सुम्पिदिनुभएको छ। पिताबाहेक अरु कसैले पुत्रलाई चिन्दैन। त्यसैगरी पुत्रले जसलाई प्रकट गरिदिने इच्छा गर्दछ, तिनीहरूले मात्रै पितालाई चिन्दछन्।’’ 23 अरु कोही पनि नभएको बेला उहाँ चेलाहरूसित बोल्न थाल्नुभयो, ‘‘धन्यका हुन् ती आँखाहरू, जसले, तिमीहरूले देखेका यी कुरा देख्तछन्। 24 म तिमीहरूलाई भन्दछु, धेरै अगमवक्ता र राजाहरूले खुबै इच्छा गरे तापनि तिमीहरूले देखेका र सुनेका कुरा देख्न र सुन्न सकेनन्।’’ 25 एक दिन एक जना धार्मिक व्यवस्थाको पण्डित उहाँको जाँच गर्न भनेर आयो र येशूलाई यस्तो प्रश्न सोध्यो, ‘‘गुरुज्यू, अनन्त जीवन प्राप्त गर्न मैले के गर्नुपर्छ?’’ 26 येशूले जवाफ दिँदै भन्नुभयो, ‘‘मोशाको व्यवस्थाले के भन्छ? तिमी त्यसलाई कसरी पढ्छौ?’’ 27 त्यस मानिसले जवाफ दियो, ‘‘तैँले परमप्रभु तेरा परमेश्वरलाई आफ्नो सारा हृदयले, सारा प्राणले, सारा बलले र सारा मनले प्रेम गर्नू अनि आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू।’’ 28 येशूले भन्नुभयो, ‘‘ठीक भन्यौ, यसै गर र तिमी जिउनेछौ।’’ 29 त्यो मानिसले आफैलाई धार्मिक प्रमाणित गर्न चाहन्थ्यो। त्यसकारण त्यसले येशूलाई सोध्यो, ‘‘त्यसो भए मेरो छिमेकी को हो त?’’ 30 येशूले एउटा दृष्टान्तद्वारा जवाफ दिनुभयो, ‘‘एक जना मानिस यरूशलेमबाट यरीहोतिर गइरहेको थियो। बाटोमा जाँदैगर्दा उसलाई डाँकाहरूले आक्रमण गरे। तिनीहरूले उसलाई नाङ्गेझार पारेर लुटे, मरणासन्न हुने गरी पिटेर बाटोको छेउमा छोडी दिए। 31 संयोगले एक जना पूजाहारी त्यही बाटो भएर आयो। तर बाटो छेउमा पस्रिरहेको घाइते व्यक्तिलाई देखी मुन्टो फर्काएर गयो। 32 एक जना लेवी पनि त्यही बाटो भएर आयो र उसलाई देखेर त्यो पनि तर्केर गयो। 33 तब एक जना सामरी त्यही बाटो भएर आयो। जब उसले त्यस घाइतेलाई देख्यो, तब उसको हृदय दयाले भरियो। 34 उसले घाइतेको छेउमा बसेर उसका घाउहरू पुछिदियो र पट्टी बाँधेर औषधी लगाइदियो। उसले त्यसलाई आफ्नै गधामा चढायो र एउटा पौवामा ल्याएर हेरचाह गर्यो। 35 भोलिपल्ट उसले पौवाको मालिकलाई दुई दिनार दिएर त्यस मानिसको हेरचाह गर्न लगायो, उसले भन्यो, ‘यति पैसाले यस मानिसको हेरचाह गर्न पुगेन भने म फर्केर आएपछि बाँकी पैसा सबै चुक्ता गरिदिनेछु’।’’ 36 तब येशूले सोध्नुभयो, ‘‘तिम्रो विचारमा डाँकाहरूले घाइते बनाएर छोडेको त्यस व्यक्तिको छिमेकी ती तीन जनामध्ये को हो?’’ 37 त्यसले भन्यो, ‘‘जसले त्यसलाई दया देखायो।’’ त्यसपछि येशूले भन्नुभयो, ‘‘हो, अब तिमी पनि जाऊ र त्यसै गर।’’ 38 येशू र उहाँका चेलाहरू यरूशलेमतिर जाँदै गर्दा मार्था र मरियमको गाउँमा आइपुग्नुभयो। तिनीहरूले उहाँलाई आफ्नो घरमा स्वागत गरे । 39 मार्थाकी बहिनी मरियम येशूको पाउमा बसेर उहाँको वचन सुनिरहेकी थिइन् । 40 तर मार्था भने खानेकुरा तयार गर्नमा अति नै व्यस्त थिइन्। तिनी येशूको छेउमा आइन् र भनिन्, ‘‘प्रभु, मेरी बहिनीले सेवाको काममा मलाई एकलै पारेकी छिन्, के तपाईं मलाई वास्ता गर्नुहुन्न? मलाई सहायता गर्न भनी यिनलाई भन्नुहोस्।’’ 41 तर प्रभुले तिनलाई भन्नुभयो, ‘‘मार्था, मार्था तिमी धेरै कुरा लिएर व्याकुल हुन्छयौ। 42 तर आवश्यकता एउटै कुराको छ। त्यही असल कुरा मरियमले छानेकी छिन्, जो उनीबाट खोसिनेछैन।’’ र् 111 एकपल्ट येशूले बाहिर गएर प्रार्थना गरिरहनुभएको थियो । उहाँले प्रार्थना गरिसक्नुभएपछि चेलाहरूमध्ये एक जनाले उहाँलाई भने, ‘‘हे प्रभु, यूहन्नाले उनका चेलाहरूलाई प्रार्थना गर्न सिकाएजस्तै हामीलाई पनि सिकाउनुहोस् ।’’2 उहाँले भन्नुभयो, ‘‘तिमीहरूले यसरी प्रार्थना गनू: ‘‘हे पिता, तपाईंको नाउँ पवित्र मानियोस्, तपाईंको राज्य चाँडै आओस्। 3 हामीलाई प्रत्येक दिनको भोजन दिनुहोस्, 4 अनि हाम्रा पाप क्षमा गरिदिनुहोस्-जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौं। हामीलाई परीक्षामा पर्न नदिनुहोस्।’’ 5 उहाँले तिनीहरूलाई भन्नुभयो, ‘‘मानिलेऊ, तिमीहरूमध्ये कसैको एक जना मित्र छ। तिनी मध्यरातमा उनीकहाँ गएर भन्दछन्, ‘मित्र, मलाई तीनवटा रोटी पैँचो देऊ, 6 किनकि मेरो एक जना मित्र भर्खरै मकहाँ आइपुगेका छन् र उनलाई खानदिने मसँग केही पनि छैन।’ 7 उसले ओछयानबाटै यसो भनेर जवाफ देला, ‘मलाई दु:ख नदिनुहोस्। ढोका बन्द भइसकेको छ। हामी सबै सुतिसकेका छौं। म, अहिले तपाईंलाई केही सहायता गर्न सक्दिनँ।’ 8 तर म तिमीहरूलाई भन्दछु, उसले उठेर रोटी दिने इच्छा नगरे तापनि तिमी उसको मित्र भएको नाताले र तिमीले खुरन्धार मागिरहेको हुनाले, उसले उठेर तिमीलाई चाहिएजति दिनेछन्। 9 यसकारण म तिमीहरूलाई भन्दछु, मागिरहो र तिमीहरूले पाउनेछौ। खोजिरहो र तिमीहरूले भेट्टाउनेछौ । ढकढक्याइरहो र तिमीहरूका निम्ति ढोका उघारिनेछ। 10 किनभने जसले माग्छ, उसले पाउनेछ। जसले खोज्छ उसले भेट्टाउनेछ । अनि जसले ढकढक्याइरहन्छ उसको निम्ति ढोका उघारिनेछ। 11 बुबाहरू हो, तिमीहरूमध्ये को होला, जसको छोराछोरीहरूले माछा माग्दा सर्प दिन्छौ? 12 अथवा तिनीहरूले अण्डा माग्दा बिच्छी दिन्छौ? अवश्य पनि त्यसो गर्दैनौ। 13 तिमीहरू दुष्ट भएर पनि आफ्ना छोराछोरीलाई असल चीज दिनुपर्छ भनी जान्दछौ भने स्वर्गमा हुनुहुने तिमीहरूका पिताले आफूसँग माग्नेहरूलाई कति बढ्ता गरी पवित्र आत्मा दिनुहुनेछ।’’ 14 एक दिन येशूले एउटा गुँगो मानिसबाट भूतात्मा निकाल्नुभयो र त्यो तुरुन्तै बोल्नसक्ने भयो। त्यो देखेर सारा भीड छक्क पर्यो। 15 तर कसै-कसैले भने, ‘‘उसले भूतात्मा निकालेको देखेर अचम्म मान्नु पर्दैन। उसले भूतहरूको मालिक शैतानबाट नै त्यो शक्ति पाएको छ।’’ 16 अरुहरूले उहाँको जाँच गर्न उहाँसँग स्वर्गबाट एउटा चिन्ह मागे। 17 तिनीहरूको विचार चाल पाएर उहाँले भन्नुभयो, ‘‘आफैभित्र विभाजित भएको कुनै पनि राज्य टिक्दैन र भित्रभित्रै विभाजित भएको घर पनि नष्ट हुन्छ । 18 तिमीहरू मलाई भूतात्माहरूको मालिकद्वारा शक्तिशाली बनाइएको हो, भन्छौ। यदि मलाई भूतात्मा निकाल्ने शक्ति दिएर शैतान आफैमा विभाजित भयो भने त्यसको राज्य कसरी टिक्न सक्छ? 19 मलाई नै भूतात्माको मालिकले शक्तिशाली बनाएको भन्छौ भने तिमीहरूका चेलाहरू कसबाट शक्ति पाउँछन् नि? तिनीहरूले पनि त भूतहरू निकाल्छन्?यसकारण तिमीहरूले बोलेकै कुराद्वारा उनीहरूले तिमीहरूको न्याय गर्नेछन्। 20 तर परमेश्वरको शक्तिद्वारा म भूतहरू निकाल्छु भने उहाँको राज्य तिमीहरूकहाँ आएको छ। 21 किनभने जब कुनै बलियो मानिसले हातहतियारद्वारा सुसज्जित भई आफ्नो घरको रक्षा गर्छ, तब त्यसको धनसम्पत्ति सुरक्षित रहन्छ। 22 तर जब त्योभन्दा अझै बलियो मानिसले त्यसलाई आक्रमण गरी जित्छ र त्यसले भरोसा गरेका हातहतियार उसले खोसेर लैजान्छ अनि लूटका मालसामान बाँड्छ। 23 मेरो पक्षमा नहुने, मेरो विरुद्धमा हुन्छ र मसँग नबटुल्नेले छरपस्ट पार्छ। 24 जब दुष्टात्मा कुनै व्यक्तिबाट निकालिन्छ, त्यो उजाड-स्थानतिर विश्राम गर्ने ठाउँ खोज्दै डुल्छ र त्यसले कतै ठाउँ पाउँदैन, तब त्यसले भन्छ, ‘म अघि निस्केर आएकै व्यक्तिकहाँ फर्केर जान्छु।’ 25 अनि त्यो फर्केर आउँछ र उसको पहिलेको ठाउँ सफा गरिराखेको भेट्टाउँछ। 26 त्यसपछि त्यस दुष्टात्माले आफूभन्दा बढ्ता दुष्ट सातवटा आत्माहरूलाई आफूसित ल्याउँछ र त्यस व्यक्तिभित्र प्रवेश गर्छ। यसरी त्यस व्यक्तिको हालत पहिलेको भन्दा झनै खराब हुन्छ।’’ 27 उहाँले त्यसो भन्दै गर्नुहुँदा भीडबाट एउटी स्त्रीले उहाँलाई चर्को स्वरले यसो भनी, ‘‘धन्य हो, त्यो गर्भ, जसले तपाईंलाई धारण गर्यो र ती स्तनहरू, जो तपाईंले चुस्नुभयो।’’ 28 उहाँले जवाफ दिनुभयो, ‘‘परमेश्वरको वचन सुन्ने र त्यसअनुसार गर्ने व्यक्ति अझै धन्यको हो। 29 ‘‘यो दुष्ट पुस्ताले चिन्ह खोज्दछ, तर त्यसलाई योनाको चिन्हबाहेक अरु चिन्ह दिइनेछैन, 30 किनकि जसरी योना निनवेका मानिसहरूका लागि चिन्ह थिए, त्यसरी नै मानिसको पुत्र पनि यस पुस्ताका निम्ति चिन्ह हुनेछ। 31 न्यायको दिनमा शेबाकी रानी यस पुस्ताको विरुद्धमा खडा भएर यसलाई दोषी ठहर्याउनेछिन्, किनकि तिनी टाढा देशबाट सोलोमनको ज्ञानका कुरा सुन्न आएकी थिइन्। हेर, सोलोमनभन्दा महान् एक जना यहाँ छन्। 32 न्यायको दिनमा निनवेका मानिसहरू पनि यस पुस्ताको विरुद्धमा खडा भएर यसलाई दोष्याउनेछन्, किनभने तिनीहरूले योनाको प्रचारमा पश्चात्ताप गरे। हेर, अहिले योनाभन्दा महान् व्यक्ति यहाँ छन् । 33 कसैले पनि बत्ती बालेर लुकाउँदैन वा त्यसलाई डालोले छोप्दैन। बरु उसले त्यो बत्ती दीपदानीमा राख्दछ र कोठामा पस्ने सबैको लागि उज्यालो हुन्छ। 34 तिम्रो शरीरको बत्ती तिम्रो आँखा हो। तिम्रो आँखा ठीक छ भने तिम्रो सारा शरीर पूर्णरूपमा उज्यालो हुन्छ, तर त्यो खराब छ भने त तिम्रो शरीर पनि पूर्णरूपमा अँध्यारो हुन्छ। 35 यसकारण होशियार होओ, तिमीमा भएको उज्यालो, अँध्यारो नहोस्। 36 यदि तिम्रो सम्पूर्ण शरीर उज्यालोले भरिएको छ र कुनै भाग पनि अँध्यारो छैन भने चहकिलो बत्तीले उज्यालो पारेझैँ सम्पूर्ण शरीर नै उज्यालो हुनेछ।’’ 37 येशूले बोल्दै गर्नुहुँदा एक जना फरिसीले उहाँलाई आफ्नो घरमा भोजन गर्न निम्त्याए। यसकारण उहाँ तिनको घरमा जानुभयो र भोजन गर्न बस्नुभयो। 38 येशू हात नधोई भोजन गर्न बस्नुभएको देखेर तिनी छक्कै परे। 39 तब प्रभुले तिनलाई भन्नुभयो, ‘‘तिमी फरिसीहरू थाल र कचौराको बाहिरपट्टि त राम्ररी माझ्दछौ, तर भित्र घिनलाग्दा लोभ र दुष्टताले भरिएका छौ। 40 मूर्खहरू हो, शरीरको बाहिरी भाग बनाउनुहुने परमेश्वरले नै भित्री भाग पनि बनाउनुभएको होइन र ? 41 तिमीहरूले लोभ गरेर राखेको सम्पत्ति गरीबहरूलाई देओ र तिमीहरू पूर्णरूपले शुद्ध हुनेछौ। 42 धिक्कार तिमी फरिसीहरूलाई ! किनभने तिमीहरू आफ्नो थोरैभन्दा थोरै आम्दानीको दशांश त दिन्छौ तर न्याय र परमेश्वरको प्रेमलाई बेवास्ता गर्छौ। तिमीहरूले दशांश त दिनैपर्छ तर यी झन् महत्वपूर्ण कुरालाई बेवास्था गर्नुहुँदैनथ्यो। 43 धिक्कार तिमी फरिसीहरूलाई ! किनभने तिमीहरू सभाघरहरूमा मुख्य-मुख्य आसन र बजारहरूमा अभिवादन लिन रुचाउँछौ। 44 धिक्कार तिमी फरिसीहरूलाई ! तिमीहरू मैदानका नदेखिने चिहानहरूजस्ता छौ र चालै नपाई मानिसहरू ती माथिबाट हिँड्दछन्।’’ 45 एक जना व्यवस्थाका पण्डितले भने, ‘‘गुरुज्यू, यस्ता कुरा भनेर तपाईंले हाम्रो अपमान गर्नुभएको छ।’’ 46 येशूले भन्नुभयो, ‘‘धिक्कार तिमी व्यवस्थाका पण्डितहरू ! तिमीहरू मानिसहरूले थाम्नै नसक्ने नियमहरूको भारी बोकाउँछौ तर तिमीहरू आफैैले भने एक औँलाले पनि भारीहरू उठाउन सहायता गर्दैनौ। 47 धिक्कार तिमीहरूलाई ! किनभने तिमीहरूका पुर्खाहरूले पहिल्यै हत्या गरेका अगमवक्ताहरूका चिहान बनाउँछौ। 48 ए हत्याराहरू हो ! तिमीहरू आफ्ना पुर्खाहरूले गरेका काम ठीक थियो भनी सहमत हुन्छौ र तिमीहरू आफैले पनि त्यसको साक्षी दिन्छौ। 49 त्यसैकारण परमेश्वरले आफ्नो विवेकद्वारा तिमीहरूको बारेमा यो भन्नुभएको छ : ‘म तिनीहरूकहाँ अगमवक्ता र प्रेरितहरूलाई पठाउनेछु र तिनीहरूले कतिलाई मार्नेछन् अनि अरुहरूलाई सताउनेछन्।’ 50 यसकारण संसारका शुरुदेखि अहिलेसम्म मारिएका परमेश्वरका अगमवक्ताहरूको हत्याको लेखा यस पुस्ताका मानिसहरूसँग लिइनेछ। 51 हाबिलको हत्यादेखि लिएर वेदी र पवित्रस्थानको बीचमा मारिएका जकरियासम्मका रगतको लेखा यस पुस्तासँग लिइनेछ। 52 धिक्कार धार्मिक व्यवस्थाका पण्डितहरू ! किनभने तिमीहरू मानिसहरूदेखि ज्ञानको साँचो लुकाउँछौ, यसरी तिमीहरू आफै पनि भित्र पस्दैनौ र अरुलाई पनि पस्न दिँदैनौ।’’ 53 येशूले यी कुरा भनी सक्नुभएपछि फरिसी र धार्मिक व्यवस्थाका शिक्षकहरू अत्यन्तै क्रोधित भए । त्यसबेलादेखि तिनीहरूले उहाँको विरोध गर्दै धेरैवटा प्रश्नहरू सोध्नथाले, 54 तिनीहरूले उहाँलाई उहाँको मुखबाट निस्केका कुरामा फसाउने कोशिश गर्नथाले। 121 त्यसैबेला हजारौं मानिसहरूको भीड भेला भयो, तिनीहरूले एक-अर्कालाई कुल्चन लागे, तब उहाँले सबैभन्दा पहिला आफ्ना चेलाहरूलाई भन्नलाग्नुभयो, ‘‘तिमीहरू फरिसीहरूको खमीरदेखि होशियार बस, जो कपट हो।2 समय आउँदै छ र सबै थोक खुलस्त हुनेछ अनि गुप्तमा भएका सबै थोक प्रकट गरिनेछन्। 3 तिमीहरू जे कुरा अँध्यारोमा बोल्छौ, त्यो उज्यालोमा सुनिनेछ। अनि जे कुरा तिमीहरू गुप्तमा गर्छौ, त्यो घरको धुरीबाट प्रचारिनेछ। 4 प्रिय मित्रहरू हो, तिमीहरूलाई मार्न खोज्नेहरूसँग नडराओ, किनभने तिनीहरूले शरीरलाई मात्र मार्न सक्छन्, त्यसभन्दा बढ्ता केही पनि गर्न सक्दैनन्। 5 तर कोदेखि डराउनुपर्छ, म तिमीहरूलाई चेताउनी दिनेछु : उसैसँग डराऊ, जोसँग शरीरलाई मारेपछि नरकमा फालिदिने शक्ति छ, म तिमीहरूलाई भन्दछु, उसैसँग डराओ। 6 के दुई पैसामा पाँचवटा भँगेरा बिक्दैनन् र? तर परमेश्वरले तीमध्ये एउटैलाई पनि बिर्सिनुहुन्न। 7 अनि तिमीहरूको शिरका हरेक केशको गन्ती गरिएको छ । त्यसकारण नडराओ, तिमीहरू परमेश्वरका निम्ति सबै भँगेराहरूभन्दा पनि मूल्यवान् छौ। 8 साँच्चै म तिमीहरूलाई भन्दछु, यदि कसैले यस पृथ्वीमा सबै मानिसहरूको अगाडि मलाई स्वीकार गर्छ भने म, मानिसको पुत्रले पनि परमेश्वरका स्वर्गदूतहरूको सामुन्ने त्यसलाई स्वीकार गर्नेछु। 9 तर कसैले मलाई यस पृथ्वीमा इन्कार गर्छ भने म पनि परमेश्वरका स्वर्गदूतहरूको सामुन्ने त्यसलाई इन्कार गर्नेछु। 10 अनि मानिसको पुत्रको विरोधमा जसले बोल्दछ, त्यसलाई क्षमा गरिनेछ तर जसले पवित्र आत्माको निन्दा गर्छ, त्यसलाई कदापि क्षमा गरिनेछैन। 11 जब मानिसहरूले तिमीहरूलाई पक्रनेछन् अनि सभाघरका शासकहरू र अधिकारीहरूको अगाडि उभ्याउनेछन्, त्यसबेला आफ्नो बचाउको निम्ति के बोल्नुपर्छ भनी चिन्तित नहोओ । 12 तिमीहरू त्यहाँ उभिँदा के बोल्नुपर्छ भनेर पवित्र आत्माले तिमीहरूलाई सिकाउनुहुनेछ ।’’ 13 भीडमा हुनेहरूमध्ये कसैले उहाँलाई भन्यो, ‘‘गुरुज्यू,मेरो दाज्यूलाई हाम्रा बुबाको सम्पत्तिको अंशबण्डा गर्नू भनिदिनुहोस्। ’’ 14 येशूले जवाफ दिनुभयो, ‘‘मित्र, कसले मलाई त्यस्ता कुराको फैसला गर्ने न्यायकर्ता बनायो?’’ 15 तब उहाँले भन्नुभयो, ‘‘होशियार बस, सबै प्रकारका लालचबाट आफूलाई जोगाओ। धनसम्पत्तिको प्रशस्ततामा मात्र मानिसको जीवन अडिएको हुँदैन। 16 त्यसपछि उहाँले एउटा दृष्टान्त भन्नुभयो: एक जना धनी मानिस थियो। ऊसित राम्रो उब्जनी हुने खेत थियो र ऊ त्यसबाट प्रशस्त फसल उब्जाउँथ्यो। 17 अनि उसले मनमनै यस्तो विचार गर्यो, ‘के गरूँ, किनकि मसँग मेरो अन्न राख्ने ठाउँ नै छैन।’ 18 त्यसकारण उसले भन्यो, ‘अब मैले बुझेँ, म यस भकारीलाई भत्काएर अझै ठूलो बनाउनेछु। तब मसँग धेरै अन्न थन्क्याउने प्रशस्त ठाउँ हुनेछ। 19 त्यसपछि म मज्जाले बसेर आफैलाई भन्नेछु, ‘हे मेरो प्राण ! वर्षौंसम्म खान पुग्ने प्रशस्त अन्न तँसित छँदैछ। अब ढुक्क हो, खानपिन गर र मोजमज्जा गर्दै बस्।’ 20 तर परमेश्वरले उसलाई भन्नुभयो, ‘ए मूर्ख, तँ आजै राती मर्नेछस् । अनि तैँले आफ्नोनिम्ति जम्मा गरेका यी सबै थोक अब कसले पाउँछ ?’ 21 जसले आफ्नैनिम्ति धनसम्पत्ति थुपार्छ तर परमेश्वरको दृष्टिमा धनी नहुने मानिसको अवस्था यस्तै हुन्छ।’’ 22 उहाँले चेलाहरूतिर फर्केर भन्नुभयो, ‘‘त्यसकारण म तिमीहरूलाई भन्दछु, जिउनको निम्ति के खाऔंला र शरीरमा के पहिरौंला भनी फिक्री नगर । 23 किनकि जीवन खानेकुराभन्दा र शरीर लुगाफाटाभन्दा ठूलो हो। 24 आकाशमा उड्ने कागहरूलाई हेर। तिनीहरूले रोप्ने र बाली काट्ने गर्दैनन्, भकारीमा केही जम्मा गर्दैनन् तर पनि परमेश्वरले तिनीहरूलाई खुवाउनुहुन्छ अनि ती चराहरूभन्दा त तिमीहरू उहाँको निम्ति धेरै मूल्यवान् छौ। 25 तिमीहरूमध्ये कसले आफ्नो खातिर चिन्ता गरेर जीवनमा एक पल थप्न सक्छौ र? अहँ, कदापि सक्दैनौ। 26 तिमीहरूले चिन्ता गरेर यो सानो काम पनि गर्न सक्दैनौ भने अरु कुराको निम्ति किन चिन्ता गर्दछौ? 27 मैदानका लिली फूललाई हेर, ती कसरी बढ्छन्? ती परिश्रम गर्दैनन्, न त आफ्नो पहिरन बनाउँछन्, तापनि ती सोलोमन राजाको वैभव र सुन्दरताभन्दा पनि बढ्ता विभूषित छन्। 28 आज जमीनमा हुने र भोलि सुकिहाल्ने ती फूलहरूलाई परमेश्वरले त्यति धेरै सुन्दर पार्नुहुन्छ भने, ए अल्पविश्वासीहरू हो, उहाँले तिमीहरूलाई झन् कति बढ्ता गरी पहिराउनुहुनेछ? 29 के खाऔँला र के पिऔँला भनेर खानेकुराको निम्ति चिन्ता नगर, परमेश्वरले नै त्यसको बन्दोबस्त गरिदिनुहुनेछ। 30 सांसारिक मानिसहरू मात्र यस्ता कुराको ध्याउन्नमा हुन्छन्। तिमीहरूका स्वर्गका पिताले अघिबाटै तिमीहरूको खाँचोहरू जान्नुहुन्छ। 31 तर परमेश्वरको राज्यको खोजी गर र यी सबै कुरा तिमीहरूलाई थपिनेछन्। 32 त्यसकारण ए सानो बगाल, नडराओ। किनभने तिमीहरूका स्वर्गका पिता तिमीहरूलाई राज्य दिनको निम्ति प्रसन्न हुनुहुन्छ। 33 तिमीहरूसँग भएको सबै थोक बेच र खाँचोमा परेकाहरूलाई बाँडिदेओ। त्यसो गर्नाले तिमीहरूले स्वर्गमा धन जम्मा गर्नेछौ। स्वर्गमा भएको थैलीमा प्वाल हुँदैन। त्यहाँ तिमीहरूको धन सुरक्षित हुन्छ, त्यहाँ चोरले चोर्न सक्दैन र खियाले पनि नष्ट पार्न सक्दैन। 34 तिमीहरूको धन जहाँ हुन्छ, तिमीहरूको हृदय र विचार पनि त्यहीँ हुन्छ। 35 तिमीहरूका कम्मर कसिएका र तिमीहरूका बत्तीहरू बलिरहेका होऊन्। 36 तिमीहरू विवाह भोजबाट फर्केर आउने आफ्नो मालिकलाई पर्खिएर बस्ने सेवकहरूजस्ता होओ, जसले मालिक आएर ढोका ढकढक्याउँदा तुरुन्तै ढोका खोलिदिन्छन्। 37 ती दासहरु धन्यका हुन्, जसलाई मालिकले आफू आउँदा जागा रहेका भेट्टाउनेछन् । म तिमीहरूलाई साँचो भन्दछु, तिनले आफ्नो कम्मर कस्नेछन्, अनि तिनीहरूलाई खानका निम्ति बस्न लगाउनेछन् र अघि बढेर तिनीहरूको सेवा गर्नेछन्। 38 तिनी मध्यरातमा कि उज्यालो हुनुभन्दा अघि नै आउन सक्छन् । जुन बेला आए तापनि तयार भई बस्ने सेवकले स्याबासी पाउनेछ। 39 यो कुरा जानिराख, यदि घरधनीले चोर कुन बेला आउँछ भनेर जानेको भए उसले आफ्नो घर फोरिन दिने थिएन। 40 तिमीहरू पनि जागा बस, किनकि तिमीहरूले नसोचेको समयमा मानिसको पुत्रको आगमन हुनेछ।’’ 41 पत्रुसले सोधे, ‘‘प्रभु, यो दृष्टान्त हाम्रोनिम्ति मात्रै हो कि सबैको निम्ति हो?’’ 42 तब प्रभुले जवाफ दिनुभयो, ‘‘मैले एउटा विश्वसनीय र होशियार नोकरको विषयमा भनेको हुँ, जसलाई त्यसको मालिकले आफ्नो घरका मानिसहरूलाई खुवाउने र घरको रेखदेख गर्ने जिम्मेवारी सुम्पिन्छ। 43 यदि मालिक फर्केर आउँदा उसले भनेजस्तै गरी त्यस नोकरले गरिरहेको भेट्टायो भने त्यसले इनाम पाउनेछ। 44 साँच्चै म तिमीहरूलाई भन्दछु, त्यस मालिकले आफ्नो त्यो नोकरलाई घरमा भएका सबै थोकमाथि अधिकार सुम्पिनेछ। 45 तर त्यस नोकरले आफ्नो मालिक चाँडै फर्किंदैनन् भन्ने सोचेर अरु नोकरहरूलाई काममा जोतेर आफू खान, पिउन र मात्न थाल्यो भने 46 त्यसले नसोचेको बेलामा खबरै नगरी त्यसका मालिक आइपुग्छ र उसले त्यस नोकरलाई कठोर दण्ड दिनेछ अनि त्यसको अवस्था अविश्वासीहरूको जस्तो हुनेछ। 47 आफ्नो मालिकको इच्छा जानेर तयार नरहने र तिनको इच्छाबमोजिम नगर्ने दासले धेरै कोर्रा खानेछ। 48 तर आफूले खराब काम गर्दैछु भनेर चाल नपाउने मानिसहरूले थोरै मात्र दण्ड पाउनेछन्, किनभने जसलाई धेरै दिइएको हुन्छ, त्यसबाट धेरै मागिनेछ अनि जसलाई धेरै कुरा सुम्पिएको हुन्छ, त्यसबाट अझै बढी लिइनेछ। 49 म पृथ्वीमा आगो खन्याउन आएको हुँ अनि यो अघि नै सल्किसकेको भए हुनेथियो। 50 मेरो अगाडि भयानक बप्तिस्मा राखिएको छ, त्यो पूरा नभएसम्म म सकसमा परेको छु। 51 के तिमीहरू म पृथ्वीमा शान्ति ल्याउन आएको भन्ने ठान्छौ? होइन, म त यहाँ फूट र विभाजन ल्याउन आएको हुँ। 52 अबदेखि उसो परिवारमा पाँच जना एक-अर्कामा विभाजित हुनेछन्, तीन जनाका विरुद्धमा दुई र दुई जनाका विरुद्धमा तीन । 53 बुबा र छोरा, आमा र छोरी अनि सासू र बुहारीको बीचमा फाटो आउनेछ।’’ 54 त्यसपछि येशू भीडतिर फर्किनुभयो र भन्न लाग्नुभयो, ‘‘तिमीहरू पश्चिमतिरबाट बादल आकाशमा उठेको देखेर ‘पानी पर्न लागेछ’ भन्छौ र त्यस्तै हुन्छ । 55 जब दक्षिणी हावा चल्दछ, तिमीहरू ‘आज गर्मी बढ्ने रहेछ’ भन्छौ र त्यस्तै हुन्छ। 56 ए पाखण्डी हो, तिमीहरू आकाश र पृथ्वीका चिन्ह हेरेर के हुन्छ भन्न सक्छौ तर अहिले के हुँदैछ त्यो बताउन सक्दैनौ र? 57 कुन कुरा ठीक हो भनेर तिमीहरू आफै किन निर्णय गर्न सक्दैनौ? 58 तिम्रो वादीसँग न्यायाधीशकहाँ जाँदैगर्दा बाटोमै ऊसँग मिलाप गर्ने कोशिश गर, नत्र त त्यसले तिमीलाई अधिकारीकहाँ पुर्याउला र सजाय तोकेर झ्यालखानमा हालिदेला । 59 यदि यस्तो भयो भने धरौटीको एक-एक पैसा, चुक्ता नगरून्जेल तिमी झ्यालखानबाट मुक्त हुनेछैनौ।’’ 131 त्यसैबेला गालीलका केही मानिसहरूले यरूशलेमको मन्दिरमा बलिदान चढाउँदै गर्दा पिलातसले तिनीहरूको हत्या गरेका थिए भनी कसैले येशूलाई सुनायो।2 येशूले सोध्नुभयो, ‘‘के ती गालीलीहरू अरु सबै गालीलीहरूभन्दा बढ्ता पापी थिए भन्ने तिमीहरूलाई लाग्छ? के त्यसैकारण तिनीहरूले त्यसरी दु:ख पाएका थिए? 3 त्यसो होइन, अनि तिमी पनि आफ्ना दुष्ट चालबाट फर्किएर परमेश्वरतिर आएनौ भने त्यसरी नै नष्ट हुनेछौ। 4 त्यसरी नै के सिलोआमको धरहरा ढल्दा किचिएर मरेका ती अठार जना यरूशलेमका अरु बासिन्दाहरूभन्दा पापी थिए भनी ठान्छौ? 5 त्यसो होइन, म फेरि तिमीहरूलाई भन्दछु, तिमीहरूले पश्चात्ताप गरेनौ भने तिमीहरू पनि त्यसरी नै नष्ट हुनेछौ।’’ 6 येशूले यो दृष्टान्त भन्नुभयो: ‘‘एउटा मानिसले आफ्नो अङ्गुरबारीमा नेभारोको रूख लगायो र बेला-बेलामा आएर त्यसमा केही फल फलेको छ कि भनेर हेर्नथाल्यो, तर कहिल्यै पनि उसले त्यसमा केही फल भेट्टाएन र ऊ निराश भयो। 7 अन्त्यमा उसले अङ्गुरबारीमा काम गर्ने खेतालालाई भन्यो, ‘मैले तीन वर्षसम्म पर्खेँ, तर यसमा एउटै पनि फल लागेन। किन यसले ठाउँ मात्र ओगट्ने? त्यसकारण यसलाई काटेर ढाल।’ 8 खेतालाले विन्ती गर्यो, ‘हजूर, यसलाई अझै मलजल गरेर स्याहार गरौं र एक वर्षसम्म पर्खेर हेरौं। 9 यदि अर्को वर्ष यसले फल फलायो भने, ठीकै छ, होइन भने यसलाई ढाल्नुपर्छ’।’’ 10 एक विश्राम-दिनमा येशूले सभाघरमा शिक्षा दिइरहनुभएको थियो, 11 त्यहाँ उहाँले दुष्टात्माको कारण अठार वर्षदेखि कुप्रो परेकी एउटी स्त्रीलाई देख्नुभयो, जो आफै सीधा उभिन सक्दिनँ थिइन्। 12 येशूले त्यो देखेर तिनलाई बोलाउनुभयो, ‘‘नारी, तिमी तिम्रो बिमारबाट निको भयौ।’’ 13 त्यसपछि उहाँले तिनलाई छुनुभयो र तत्कालै तिनी सोझो भएर खडा भइन् अनि खुशी हुँदै परमेश्वरको प्रशंसा गर्न थालिन्। 14 तर येशूले विश्राम-दिनमा निको पार्नुभएको देखेर त्यस सभाघरका प्रमुख रिसाए। तिनले मानिसहरूलाई भने, ‘‘काम गर्नका लागि हामीसँग छ-छ दिन छन्। ती दिनहरूमा निको पारे पनि त हुन्थ्यो नि। विश्राम-दिनमा यसो गर्नु उचित होइन।’’ 15 तर प्रभुले जवाफ दिनुभयो, ‘‘ए पाखण्डी, तिमी पनि त विश्राम-दिनमा काम गर्छौ, के तिमी विश्राम-दिनमा आफ्ना गोरु वा गधालाई थलाबाट फुकाएर पानीमा पुर्याउँदैनौ र? 16 यी स्त्री पनि त अब्राहामकै छोरी हुन्, जो अठार वर्षदेखि शैतानको बन्धनमा परेकी थिइन्, के तिनले विश्रामको दिनमा त्यस बन्धनबाट छुटकारा पाउनु पर्दैन र ?’’ 17 उहाँको जवाफले उहाँका विरोधीहरूलाई लज्जित पार्यो। अरु सबै मानिसहरू उहाँले गर्नुभएको त्यस आश्चर्यकर्ममा आनन्दित भए। 18 तब येशूले भन्नुभयो, ‘‘परमेश्वरको राज्य के जस्तो छ? म त्यसको तुलना केसँग गरूँ? 19 यो त रायोको एउटा बीउजस्तो हो, जो कुनै मानिसले लिएर आफ्नो बारीमा रोप्यो। त्यो बढयो र एउटा रूख भयो अनि आकाशका चराचुरुङ्गीहरूले त्यसका हाँगाहरूमा गुँड लगाए।’’ 20 उहाँले फेरि सोध्नुभयो, ‘‘परमेश्वरको राज्य के जस्तो छ? 21 यो त खमीरजस्तो हो, जसलाई एउटी स्त्रीले पीठोमा मिसाई र त्यो पूरै खमीरी नभइन्जेलसम्म लुकाइराखी।’’ 22 येशू यरूशलेमतिर जाँदैगर्दा बाटोको छेउछाउका गाउँ र शहरहरूमा पस्दै र शिक्षा दिँदै जानुभयो। 23 कसैले उहाँलाई सोध्यो, ‘‘प्रभु, के उद्धार पाउनेहरू थोरै मात्र छन् र?’’ 24 उहाँले जवाफ दिनुभयो, ‘‘साँघुरो ढोकाबाट भित्र पस्ने कोशिश गर, किनकि म भन्छु, धेरै जना त्यस ढोकाबाट पस्न खोज्नेछन् तर सक्नेछैनन् । 25 तर जब घरका मालिकले ढोका बन्द गरिदिन्छन्, तब निकै ढीलो भइसकेको हुनेछ। अनि तिमीहरू बाहिरै उभिएर ढोका ढकढक्याउँदै विन्ती गर्नेछौ, ‘प्रभु, हाम्रोनिम्ति ढोका उघारिदिनुहोस्,’ तर उनले जवाफ दिनेछन्, ‘म तिमीहरूलाई चिन्दिनँ।’ 26 तिमीहरूले भन्नेछौ, ‘हामीहरूले तपाईंसित खानपिन गर्यौं । तपाईंले हाम्रै गल्ली र बाटोहरूमा शिक्षा दिनुभयो।’ 27 उनले जवाफ दिनेछन्, ‘म तिमीहरूलाई भन्दछु, म तिमीहरूलाई चिन्दिनँ। ए दुष्ट काम गर्नेहरू हो, यहाँबाट गइहाल।’ 28 अनि त्यहाँ ठूलो रुवाबासी र दाह्रा किटाइ हुनेछ, किनभने तिमीहरू अब्राहाम, इसहाक, याकूब र सबै अगमवक्ताहरूलाई परमेश्वरको राज्यभित्र देख्नेछौ र आफैलाई बाहिरपट्टि फालिएको भेट्टाउनेछौ। 29 मानिसहरू पूर्व र पश्चिम, उत्तर र दक्षिणबाट आउनेछन् अनि परमेश्वरको राज्यको भोजमा बस्नेछन्। 30 अनि जो पछि हुनेहरू छन्, ती अघि हुनेछन्, अघि हुनेहरू पछि हुनेछन्।’’ 31 त्यसैबेला केही फरिसीहरू येशूकहाँ आए र भने, ‘‘यदि तिमी बाँच्न चाहन्छौ भने यहाँबाट गइहाल, किनभने हेरोद एन्टिपासले तिमीलाई मार्न खोज्दैछन्।’’ 32 येशूले जवाफ दिनुभयो, ‘‘जाओ र त्यस फ्याउरालाई भनिदेओ, म आज र भोलि यहाँ भूतहरू निकाल्छु अनि निको पार्ने काम गर्छु र तेस्रो दिन म, मेरो उद्देश्य पूरा गर्नेछु। 33 तैपनि आज, भोलि र पर्सिसम्म मैले यात्रा गर्नु नै पर्छ, किनभने परमेश्वरका अगमवक्ताको हत्या यरूशलेमदेखि बाहिर हुनेछैन। 34 ए यरूशलेम, ए यरूशलेम, परमेश्वरको वचन ल्याउनेहरूलाई ढुङ्गा हान्ने र अगमवक्ताहरूलाई मार्ने शहर ! एउटा कुखुराले आफ्ना चल्लाहरूलाई पखेटामुनि राखेझैँ मैले घरीघरी तेरा बालकहरूलाई बटुल्न खोजेँ तर तैँले मलाई त्यसो गर्न दिइनस्। 35 अब हेर्, तेरो घर उजाड पारिनेछ र तैँले मलाई ‘परमप्रभुको नाउँमा आउने धन्य हुन्’ भन्ने समय नआउञ्जेल फेरि देख्न पाउनेछैनस्।’’ 141 एउटा विश्राम-दिनमा येशू फरिसीहरूको एक जना अगुवाको घरमा भोजन खान जानुभयो। मानिसहरूले उहाँलाई ध्यानपूर्वक हेरिरहेका थिए,2 त्यसै घरमा जलग्रह रोगले पीडित एक जना मानिस थियो। 3 येशूले फरिसीहरू र धार्मिक व्यवस्थाका पण्डितहरूलाई सोध्नुभयो, ‘‘विश्रामको दिनमा मानिसहरूलाई निको पार्नु उचित छ कि छैन?’’ 4 जब तिनीहरूले त्यसको जवाफ दिन अस्वीकार गरे, येशूले त्यस मानिसलाई छुनुभयो र त्यसलाई निको पारेर पठाउनुभयो। 5 त्यसपछि उहाँ ती मानिसहरूतिर फर्किनुभयो र सोध्नुभयो, ‘‘विश्राम- दिनमा तिमीहरूमध्ये काम नगर्ने को होला? यदि तिमीहरूको गधा वा गोरु खाडलमा पर्यो भने, तिमीहरू झट्टै गएर त्यसलाई निकाल्दैनौ र?’’ 6 तिनीहरूले कुनै पनि जवाफ दिनसकेनन्। 7 साँझमा भोजन खान आउने पाहुनाहरू आएर मुख्य ठाउँमा बस्न खोजेको देखेर येशूले तिनीहरूलाई भन्नुभयो, 8 ‘‘कसैले तिमीलाई विवाह-भोजमा निम्त्यायो भने मुख्य ठाउँमा गएर बस्न नखोज, किनभने त्यहाँ तिमीभन्दा पनि आदरणीय व्यक्तिलाई निम्त्याइएको हुनसक्छ। 9 निम्तो दिनेले आएर भन्ला, ‘यस व्यक्तिलाई यो ठाउँ छोडिदिनुहोस्,’ तब तिमी लाजमा पर्नुपर्ला र सबैले छोडेको ठाउँमा गएर बस्नुपर्ला। 10 बरु त्यसको सट्टामा गएर सबैभन्दा तल्लो ठाउँमा बस। जब निम्तो दिनेले तिमीलाई त्यहाँ बसिरहेको देख्छ र आएर भन्नेछ, ‘मित्र, तपाईंको लागि हामीले विशेष ठाउँ ठीक पारेका छौं।’ यसरी सबै पाहुनाहरूको अगाडि तिमीले ठूलो आदर पाउनेछौ। 11 किनभने घमण्डीहरू होच्याइनेछन् र नम्रहरू उच्च पारिनेछन्।’’ 12 तब उहाँ निम्तो दिने मानिसतर्फ फर्किनुभयो र भन्नुभयो, ‘‘आफ्नो घरमा भोज राख्दा आफ्ना साथीहरू, दाज्यू-भाइहरू, नातेदारहरू र धनी-धनीछिमेकीहरूलाई नबोलाऊ, किनभने तिनीहरूले पनि आफ्नो घरमा भोज राखेर तिमीलाई पनि निम्तो दिन्छन् र तिम्रो गुण फर्काइदिन्छन्। 13 त्यसको साटो गरीब, लुलालङ्गडा, अशक्त र अन्धाहरूलाई बोलाऊ। 14 तिमीले यसरी गुण फर्काउन नसक्नेहरूलाई बोलाऊ र धर्मीहरू पुनर्जीवित हुँदा परमेश्वरले तिमीलाई इनाम दिनुहुनेछ।’’ 15 येशूको छेउमा खानबसेको एक जना मानिसले उहाँको कुरा सुनेर भन्यो, ‘‘धन्यका हुन् ती मानिसहरू ! जो परमेश्वरको राज्यको भोजमा सहभागी हुनेछन्।’’ 16 येशूले यस्तो दृष्टान्त दिँदै जवाफ दिनुभयो, ‘‘एक जना मानिसले एउटा विशाल भोजको आयोजना गर्यो र धेरैलाई निम्तो दियो। 17 सबै थोक तयार भइसकेपछि तिनले आफ्ना नोकरहरूलाई निम्तालुहरूकहाँ पठाएर ‘अब आउनुहोस्’ भन्ने खबर दिन लगाए। 18 तर ती सबैले बहाना बनाउन थाले। पहिलो व्यक्तिले भन्यो, ‘मलाई माफ गर्नू भनिदेओ, किनभने मैले भर्खरै एउटा जमीन किनेको छु र मैले त्यसको हेरचाह गर्नुपर्छ।’ 19 अर्कोले भन्यो, ‘मैले भर्खरै पाँच हल गोरु किनेको छु, मैले तिनलाई आजै दाउनुपरेको छ।’ 20 अर्कोले भन्यो, ‘मैले भर्खरै विवाह गरेको छु, यसकारण म आउन सक्दिनँ।’ 21 ती नोकरहरू फर्किए र निम्त्याइएका मानिसहरूले भनेका कुराहरू आफ्नो मालिकलाई सुनाए । त्यो सुनेर तिनी ज्यादै रिसाए र भने, ‘जाओ, बाटो र शहरका गल्लीहरूमा गएर त्यहाँ भेटिएका जति अन्धाहरू, लुलालङ्गडाहरू गरीबहरूलाई भेला गरेर यहाँ ल्याऊ।’ 22 अनि नोकरले भन्यो, ‘मालिक, तपाईंले आज्ञा गर्नुभएअनुसार हामीले गर्यौं, तर अझै ठाउँ खाली छ।’ 23 तसर्थ तिनका मालिकले भने, ‘गल्ली र गाउँहरूतिर जाओ र भेटेजति सबैलाई भोजमा आउन कर लगाओ र घर भरिभराउ हुनेछ, 24 किनभने पहिले निम्त्याइएकाहरूमध्ये कसैले पनि उनीहरूका लागि तयार गरिएको भोज चाख्नसमेत पाउनेछैनन्’।’’ 25 धेरै ठूलो भीडले येशूलाई पछयाइरहेको थियो। उहाँले आफ्नो वरिपरि हेर्नुभयो र तिनीहरूलाई भन्नुभयो, 26 ‘‘यदि तिमीहरू मेरा चेला हुनचाहन्छौ भने तिमीहरूले आफ्ना बुबा-आमा, आफ्नी पत्नी, आफ्ना छोराछोरी, दाज्यू-भाइ र दिदी-बहिनीहरू र आफ्नै जीवनलाई भन्दा मलाई बढ्ता प्रेम गर्नुपर्छ, होइन भने तिमीहरू मेरा चेलाहरू हुन सक्दैनौ। 27 अनि तिमीहरू आफ्नो क्रूस उठाएर मेरोपछि लागेनौ भने मेरा चेला हुन सक्दैनौ। 28 तिमीहरूमध्ये कसैले एउटा घर बनाउने इच्छा गर्छ भने त्यो घर बनाउनको निम्ति आवश्यक खर्च आफूसित छ कि छैन भनी के पहिले नै त्यसले बसेर हिसाब लगाउँदैन र? 29 नत्र त जग बसालिसकेपछि खर्च सिद्धियो र काम अधुरै रह्यो भने, मानिसहरूले त्यसको गिल्ला गर्नेछन्। 30 मानिसहरूले भन्नेछन्, ‘त्यसले घर बनाउन त थाल्यो तर सिद्धयाउनलाई पैसा पुगेन र त्यतिकै छोडयो।’ 31 अथवा कुन राजा होला जसले अर्को राजासँग लडाइँ गर्न जाँदा आफ्नो साथमा भएका दश हजार सेनाले त्यसको विरुद्धमा आउने बीस हजारसँग लडाइँ गर्नसक्छु कि सक्दिनँ भनी पहिले बसेर सल्लाह गर्दैन? 32 यदि नसक्ने हो भने तिनले त्यो अर्को राजा टाढै हुँदा मिलापको शर्त सोध्न राजदूत पठाउनेछन्। 33 त्यसकारण तिमीहरूमध्ये, कसैले पनि मेरो खातिर सबै थोक त्याग्न सक्दैन भने त्यो मेरो चेला हुनसक्दैन। 34 नुन स्वादको निम्ति असल हुन्छ। तर नुनको स्वाद गयो भने त्यसलाई कसरी नुनिलो बनाउने? 35 स्वाद बेगरको नुन त मलको लागि खेतमा हाल्ने लायकको पनि हुँदैन। त्यो मिल्काइन्छ, जसको सुन्ने इच्छा छ, त्यसले सुनोस् र बुझोस्।’’ 151 अब महसुल उठाउने र पापी मानिसहरू येशूको शिक्षा सुन्नको लागि उहाँकहाँ आइरहेका थिए।2 त्यो देखेर फरिसी र धार्मिक व्यवस्थाका शिक्षकहरूले ‘‘येशू त्यस्ता तुच्छ मानिसहरूसँग बस्छन् र तिनीहरूसँगै बसेर भोजन गर्छन्’’ भनी गनगनाउन थाले। 3 त्यसकारण येशूले तिनीहरूलाई यस्तो दृष्टान्त भन्नुभयो, 4 ‘‘यदि तिमीहरूसित एक सयवटा भेडाहरू छन् र तीमध्ये एउटा जङ्गलमा हरायो भने तिमीहरूले उनान्सयवटा भेडालाई त्यतिकै छोडेर हराएको मध्ये एउटाको खोजी गर्न जाँदैनौ र? 5 जब तिमीले त्यस भेडालाई भेट्टाउँछौ तब रमाउँदै त्यसलाई आफ्नो काँधमा राखेर घर आउँछौ। 6 जब तिमी घरमा आइपुग्छौ, हराएको भेडा भेटिएको खुशीमा तिमीले आफ्नो साथीहरू र छिमेकीहरूलाई भेला गरेर रमाइलो गर्छौ, किनभने हराएको भेडा भेटिएको हुन्छ। 7 त्यसैगरी उनान्सय धर्मी र नबरालिएका मानिसहरूभन्दा एक जना पापी मानिसले पश्चात्ताप गरी परमेश्वरतर्फ फर्किन्छ भने, स्वर्गमा ठूलो हर्षबढाइँ हुन्छ। 8 मानौं, एउटी स्त्रीसँग दशवटा मूल्यवान् चाँदीका सिक्का थिए र तीमध्ये एउटा हरायो भने के तिनले बत्ती बालेर त्यो नभेटुन्जेलसम्म घरको कुना-कुनामा कुचो लगाउँदै होशियारीसाथ खोज्दिनन् र? 9 अनि जब तिनले त्यो भेट्टाउँछिन्, तिनले आफ्ना साथी-सङ्गी र छरछिमेकीलाई बोलाएर भन्छिन्, ‘आओ मसँग रमाओ किनभने हराएको सिक्का मैले फेरि पाएकी छु।’ 10 त्यस्तै प्रकारले जब कुनै एक पापीले पश्चात्ताप गर्छ तब परमेश्वरका दूतहरूको उपस्थितिमा त्यहाँ ठूलो आनन्द हुनेछ।’’ 11 येशूले भन्नुभयो, ‘‘एउटा मानिसका दुई जना छोराहरू थिए। 12 कान्छोले बुबालाई भन्यो, ‘तपाईंको सम्पत्तिबाट मैले पाउनुपर्ने अंश मलाई दिनुहोस्।’ त्यसकारण पिताले छोराहरूलाई अंशबण्डा गरिदिए । 13 केही दिनपछि कान्छो छोरो आफ्नो अंश लिएर टाढा देशमा गयो। त्यहाँ उसले आफूसित भएको सबै सम्पत्ति भोगविलासमा उडायो। 14 त्यसबेला त्यहाँ ठूलो अनिकाल पर्यो र ऊ भोकभोकै हुनथाल्यो। 15 ऊ त्यहाँको एक जना किसानकहाँ गयो र त्यसको सुँगुर चराउने गोठालो भयो। 16 ऊ असाध्यै भोकायो तर कसैले पनि उसलाई खानेकुरा नदिएको हुनाले उसले आफ्नो भोक मेटाउन सुँगुरको चारो खान खोज्यो। 17 अन्त्यमा जब उसको चेत खुल्यो, उसले मनमनै भन्यो, ‘मेरा बुबाको घरमा नोकरचाकरले समेत प्रशस्त खान पाउँछन् तर म यहाँ भोकभोकै मर्न आँटेको छु। 18 म मेरो घरमा जान्छु र बुबालाई भन्छु, बुबा, मैले तपाईंको दृष्टिमा र स्वर्गको विरुद्धमा पाप गरेको छु। 19 म त तपाईंको छोरो भनिने योग्यको पनि छैनँ। कृपया, मलाई तपाईंको कुनै एक नोकरको रूपमा राख्नुहोस्।’ 20 त्यसरी ऊ त्यहाँबाट फर्केर गयो। ऊ घरमा पुग्नुभन्दा निक्कै पर नै उसको बुबाले उसलाई आउँदैगरेको देखे। उनी दया र कृपाले भरिए अनि दौडिँदै गएर छोरालाई अँगालो हाली चुम्बन गरे । 21 छोराले भन्यो, ‘बुबा, मैले तपाईं र स्वर्गको विरोधमा पाप गरेको छु। म तपाईंको छोरो भनिने योग्यको छैनँ। 22 तर उसको बुबाले आफ्ना नोकरहरूलाई भने, ‘ए छिटो गर, घरमा भएको सबैभन्दा दामी कपडा ल्याएर उसलाई लगाइदेओ। उसको औँलामा राम्रो औंठी र खुट्टामा जुत्ता लगाइदेओ। 23 अनि गोठमा पालिराखेको मोटो पशु मार, हामीले आज भोज खाएर रमाइलो गर्नुपर्छ, 24 किनभने मेरो यो छोरो मरेको थियो र अहिले जीवित फर्केर आएको छ, यो हराएको थियो र अहिले भेट्टाइएको छ।’ तिनीहरूले आनन्द मनाउन थाले। 25 त्यसबेला जेठो छोरो खेतमा काम गरिरहेको थियो। जब ऊ घरमा फर्कियो, उसले घरमा नाचगान भइरहेको सुन्यो। 26 अनि उसले नोकरहरूमध्ये एउटालाई सोध्यो, ‘यहाँ के भइरहेको छ ?’ 27 त्यसले उसलाई भन्यो, ‘तपाईंको भाइ फर्किएर आउनुभएको छ अनि तपाईंका बुबाले गोठमा पालिराखेको मोटो पशु काट्न लगाउनुभयो र ठूलो भोज तयार गर्न अह्राउनुभयो । तपाईंको भाइ सकुशल फर्किआउनुभएको हुनाले हामी खुशी मनाइरहेका छौं।’ 28 जेठो छोरो रिसायो र घरभित्र पस्न मानेन। उसको बुबा बाहिर आए र जेठोसित अनुरोध गरे, 29 तर उसले जवाफ दिएर भन्यो,‘हेर्नुहोस्, यत्तिका वर्षसम्म मैले तपाईंको सेवा गरेको छु र मैले तपाईंको आज्ञा कहिल्यै उल्लङ्घन गरेको छैन। तापनि तपाईंले मेरोनिम्ति भनेर एउटा सानो पाठोसमेत दिनुभएन र मैले कहिल्यै पनि मेरा साथीहरूसँग बसेर रमाइलो गर्न पाएको छैन। 30 तर तपाईंको यो छोरो, सारा सम्पत्ति वेश्याहरूसँग उडाएर फर्किएको छ र तपाईंले उसको निम्ति भने बलियो पशु काटेर यति ठूलो भोज राख्ने !’ 31 बुबाले उसलाई भने, ‘प्यारो छोरा, हेर्, तँ त मसँग सधैँभरि नै छँदै छस् नि। अनि मसँग जेजति छन् त्यो सबै तेरै त हो। 32 तर हामी खुशी र आनन्दित हुनुपर्छ, किनभने हेर्, तेरो भाइ मरेको थियो, अहिले बाँचेर फर्किएको छ। ऊ हराएको थियो, तर अहिले त ऊ भेट्टाइएको छ’।’’ 161 येशूले आफ्ना चेलाहरूलाई यो दृष्टान्त पनि भन्नुभयो, ‘‘एक जना धनी मानिसले आफ्नो धनसम्पत्तिको रेखदेख गर्नको लागि एउटा व्यवस्थापक नियुक्त गर्यो। तर धेरै समय नबित्दै उसले आफ्ना मालिकको धनसम्पत्ति उडाइरहेको छ भन्ने अभियोग उसलाई लाग्यो।2 त्यसकारण उसको मालिकले एक दिन उसलाई बोलाएर भन्यो, ‘तिमीले मेरो धनसम्पत्तिमा मनपरी गर्दैछौ भन्ने सुनिन्छ नि, कुरा के हो ? सबै थोकको लेखा मलाई देऊ, किनभने अब तिमी व्यवस्थापक रहनेछैनौ । 3 व्यवस्थापकले मनमनै विचार गरे, ‘अब के गर्ने? मलाई अवश्य यहाँबाट निकालिदिन्छ। अब गएर खनजोत गरेर खान म सक्दिनँ, बलको काम गरेर म आफैलाई पाल्न सक्दिनँ अनि मागेर खान पनि मलाई लाज हुन्छ। 4 मैले के गर्नुपर्छ भनेर यसको समाधान पत्ता लगाएँ। अब म यहाँबाट हटाइएपछि पनि मलाई मानिसहरूले तिनीहरूको घरमा स्वीकार गर्नेछन् ।’ 5 त्यसपछि उसले ज-जसलाई मालिकको धनबाट ऋण दिएको थियो, ती सबैलाई बोलायो र हिसाब माग्यो। उसले पहिलोलाई सोध्यो, ‘तिमीले कति ऋण लिएका थियौ?’ 6 त्यसले जवाफ दियो, ‘तीन हजार लिटर तेल।’ अनि व्यवस्थापकले भन्यो, ‘त्यो पुरानो तमसुक च्यात र पन्ध्र सय लिटरको नयाँ तमसुक बनाऊ।’ 7 उसले अर्कोलाई सोध्यो, ‘अनि तिमीले मेरो मालिकबाट कति लिएका छौ?’ त्यसले जवाफ दियो, ‘तीन सय पचास क्वीन्टल गहुँ।’ व्यवस्थापकले भन्यो, ‘सुन, तिम्रो तमसुक ल्याऊ र त्यसमा तीन सय क्वीन्टल मात्रै लेख।’ 8 त्यस बेइमान व्यवस्थापकको चतुर्याइँ देखेर मालिकले उसको प्रशंसा गर्यो, किनकि त्यसले चतुरतापूर्वक काम गरेको थियो, किनकि यस संसारका सन्तान आफ्नो पुस्तामा ज्योतिका सन्तानभन्दा बढ्ता चतुर हुन्छन्। 9 त्यसकारण म तिमीहरूलाई भन्दछु, आफ्नो सांसारिक धनसम्पत्तिद्वारा अरुहरूको भलाइ गर र साथीहरू बनाओ। जब यस जीवनको अन्त्यमा तिमीहरूको सम्पत्तिसकिन्छ, तिम्रा साथीहरूले तिमीलाई आफ्नो अनन्त वासस्थानमा स्वागत गर्नेछन्। 10 तिमीहरू थोरै कुरामा विश्वसनीय भएनौ भने धेरै कुरामा पनि विश्वसनीय हुनसक्नेछैनौ। यदि थोरैमा तिमी इमानदार भएनौ भने धेरैमा पनि तिमी इमानदार हुनसक्दैनौ । 11 तिमी सांसारिक धनमा विश्वसनीय भएनौ भने कसले तिमीलाई स्वर्गको साँचो धन जिम्मा लगाउँछ र? 12 अनि यदि तिमीहरू अरु मानिसहरूको धनमा विश्वसनीय भएनौ भने तिमीहरूको आफ्नै धनमा तिमीहरूलाई कसले विश्वसनीयता देखाउला र? 13 कसैले पनि दुई जना मालिकको सेवा गर्न सक्दैन, किनभने तिमीले एउटालाई घृणा गर्नेछौ र अर्कोलाई माया गर्नेछौ अथवा तिमी एउटाप्रति समर्पित हुनेछौ र अर्कोलाई बेवास्ता गर्नेछौ । तिमीहरूले परमेश्वर र धनसम्पत्ति दुवैको सेवा गर्न सक्दैनौ।’’ 14 धनका लोभी फरिसीहरूले यो कुरा सुनेर उहाँको उपहास गरे। 15 तब उहाँले तिनीहरूलाई भन्नुभयो, ‘‘तिमीहरू मानिसहरूको अगाडि त आफूलाई धर्मी देखाउँछौ तर तिमीहरूको हृदय कति दुष्ट छ भन्ने कुरा परमेश्वर जान्नुहुन्छ। मानिसहरूको बीचमा जुनकुरालाई ज्यादै आदर गरिएको हुन्छ, त्यो परमेश्वरको दृष्टिमा तुच्छ हुन्छ। 16 बप्तिस्मा दिने यूहन्नाले प्रचार गर्न शुरु नगरूञ्जेल मोशाको व्यवस्था र अगमवक्ताहरूका पुस्तकहरूले नै तिमीहरूलाई मार्गदर्शन गर्थे। तर अहिले परमेश्वरको राज्यको सुसमाचारप्रचारिएको छ, धेरै मानिसहरू यस मार्गमा द्रुतगतिले अघि बढिरहेका छन्। 17 तर व्यवस्थाबाट एक मात्र विन्दु मेटिनभन्दा बरु स्वर्ग र पृथ्वी टलिजान सजिलो छ। 18 जसले आफ्नी पत्नीलाई त्यागेर अर्की स्त्रीसित विवाह गर्छ, त्यसले व्यभिचार गर्छ, अनि जसले त्यागिएकी स्त्रीसित विवाह गर्छ, त्यसले पनि व्यभिचार गर्छ।’’ 19 येशूले भन्नुभयो, ‘‘एउटा अत्यन्तै धनी मानिस थियो। ऊ सधैँ बहुमूल्य वस्त्र लगाएर दिनहुँ मोजमज्जामा रहन्थ्यो। 20 उसको घरमा ढोकानेर लाजरस नाउँ गरेको एउटा भिखारी लडेर बसिरहन्थ्यो। त्यसको शरीरभरि घावैघाउ थियो। 21 धनी मानिसले खाएर टेबुलबाट झरेको टुक्राटाक्रीबाट त्यसले आफ्नो पेट भर्ने लालसा राख्थ्यो र कुकुरहरू आएर त्यसको घाउचाट्दथे। 22 अन्त्यमा, त्यो भिखारी मर्यो र स्वर्गदूतहरूले त्यसलाई अब्राहामको काखमा पुर्याए। धनी मानिस पनि मर्यो र गाडियो। 23 अनि उसले नरकमा कष्ट भोगिरहेको बेला टाढाबाट आँखा उठाएर हेर्दा अब्राहामलाई देख्यो र लाजरस उनको काखमा बसिरहेको थियो। 24 धनी मानिसले रुँदै भन्यो, ‘हे पिता अब्राहाम, ममाथि दया गर्नुहोस्। लाजरसलाई यहाँ पठाइदिनुहोस् र त्यसले आफ्नो औँला पानीमा चोपेर मेरो जिब्रो शीतल गराइदेओस्, किनकि म यस आगोको ज्वालामा कठोर वेदना भोगिरहेको छु।’ 25 तर अब्राहामले उसलाई भने, ‘छोरा, पहिलेको कुरा सम्झी त, तैँले आफ्नो जीवनकालमा सबै असल कुरा प्राप्त गरिस्। तर लाजरससँगकेही पनि थिएन, तैँले चाहेजति सुख भोगिस् र यसले कष्टै कष्ट भोग्यो। यसैकारण लाजरस यहाँ आराममा छ र तँ कष्टमा छस्। ’ 26 यसबाहेक, हामी र तँ भएको ठाउँलाई अलग गर्ने धेरै ठूलो खाडल छ। यहाँबाट त्यहाँ र त्यहाँबाट यहाँ कोही पनि आउन र जान सक्दैन। 27 तब धनी मानिसले विन्ती गर्यो, ‘पिता अब्राहाम, कृपा गरी लाजरसलाई मेरा बाबुको घरमा पठाइदिनुहोस्। 28 त्यहाँ मेरा पाँच जना भाइहरू छन्, त्यहाँ गएर त्यसले तिनीहरूलाई साक्षी देओस् र मरेपछि तिनीहरू यस कष्टको ठाउँमा आउन नपरोस्।’ 29 तर अब्राहामले भने, ‘तिनीहरूका साथमा मोशा र अगमवक्ताहरू छन्। तिनीहरूले उनीहरूका वाणी सुनून्।’ 30 धनी मानिसले जवाफ दियो, ‘होइन, पिता अब्राहाम, मरिगएकाहरूमध्येका कसैलाई पठाइदिने हो भने तिनीहरूले पश्चात्ताप गर्नेछन्।’ 31 तर अब्राहामले भने, ‘यदि तिनीहरूले मोशा र अगमवक्ताहरूका कुरा त सुनेनन् भने अब कोही मृतकबाट जीवित भए पनि तिनीहरूले विश्वास गर्नेछैनन्’।’’ 171 येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, ‘‘पाप गर्न लगाउने परीक्षा त सधैँ आउँछन् नै, तर धिक्कार त्यसलाई, जसद्वारा परीक्षा आउँदछ।2 यी सानाहरूमध्ये कसैलाई पाप गर्नको निम्ति कारण बन्ने मानिसलाई त घिच्रोमा ठूलो जाँतो झुन्डयाएर समुद्रमा फ्याँकिदिनु बेश हुनेछ। 3 म तिमीहरूलाई चेताउनी दिँदैछु यदि तिम्रो भाइले पाप गर्छ भने त्यसलाई हप्काऊ। यदि उसले पश्चात्ताप गर्यो भने क्षमा गर। 4 यदि उसले तिम्रो विरुद्धमा दिनको सातपल्ट खराबी गर्यो र हरेकपल्ट तिमीकहाँ फर्किआएर क्षमा माग्यो भने उसलाई क्षमा गर।’’ 5 प्रेरितहरूले प्रभुसँग निवेदन गर्दै भने, ‘‘हाम्रो विश्वास बढाइदिनुहोस्।’’ 6 प्रभुले जवाफ दिनुभयो, ‘‘तिमीहरूसँग रायोको दानाजत्रो मात्रै विश्वास छ भने यस किम्बुको रूखलाई ‘तँ त्यहाँबाट उखेलिएर समुद्रमा रोपिन जा’ भन्यौ भने त्यसले तिम्रो आज्ञापालन गर्नेछ। 7 तिमीहरूमध्ये कसले गाईबस्तु चराउने र खनजोत गर्ने तिम्रो नोकरलाई खेत वा चरनबाट फर्कनेबित्तिकै बस र खाना खाऊ, भन्छौ? 8 बरु उसले आफ्नो नोकरलाई यसो भन्नेछ, ‘मैले खानपिन नगर्दासम्म खानपिन तयार गर्न कम्मर कस् र मेरो सेवाटहल गर्। त्यसपछि मात्र तैँले खा।’ 9 उसले आज्ञा पूरा गरेकोमा मालिकबाट कुनै धन्यवाद पाउँछ र? मलाई लाग्छ, पाउँदैन, किनभने उसले आफूले गर्नुपर्ने काम मात्रै गरिरहेको हुन्छ। 10 त्यसैगरी तिमीहरूले पनि मैले अह्राएका काम गरिरहेका हुन्छौ, तब तिमीहरूले भन्नू, यस कामको प्रशंसाको योग्य हामी होइनौं। हामी त नोकर मात्रै हौं र हामीले, आफूले गर्नुपर्ने काम मात्र गरेका छौं।’’ 11 येशू यरूशलेमतिर जाँदै गर्नुहुँदा उहाँ गालील र सामरियाको सिमानामा पुग्नुभयो। 12 उहाँ नजिकैको गाउँमा पस्नलाग्दा दश जना कुष्ठरोगीहरूसित उहाँको भेट भयो। 13 तिनीहरूले टाढै उभिएर चर्को सोरले विन्ती गरे, ‘‘हे प्रभु येशू, हामीमाथि कृपा गर्नुहोस्।’’ 14 उहाँले तिनीहरूलाई हेरेर भन्नुभयो, ‘‘जाओ र आफैलाई पूजाहारीहरूकहाँ देखाओ।’’ तिनीहरू त्यहाँबाट जाँदा-जाँदै तिनीहरूको कुष्ठरोग हराइहाल्यो। 15 तिनीहरूमध्ये एक जनाले जब आफ्नो कुष्ठरोग निको भएको देख्यो, तब ऊ चर्को सोरमा परमेश्वरको महिमा गर्दै उहाँ भएको ठाउँमा फर्किआयो। 16 ऊ येशूको पाउमा घोप्टो पर्यो र उहाँले निको पारिदिनुभएकोमा धन्यवाद चढायो। त्यो मानिस सामरी थियो। 17 येशूले सोध्नुभयो, ‘‘के मैले दश जनालाई शुद्ध पारेको होइन र? अरु नौ जना कता गए? 18 के यो विदेशी मात्रै परमेश्वरलाई महिमा दिन फर्कियो?’’ 19 अनि येशूले त्यस मानिसलाई भन्नुभयो, ‘‘उठ र आफ्नो बाटो लाग, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।’’ 20 फरिसीहरूले येशूलाई सोधे, ‘‘परमेश्वरको राज्य कहिले आउँछ?’’ येशूले जवाफ दिनुभयो, ‘‘परमेश्वरको राज्य देखिनेगरि आउँदैन। 21 ‘यो यहाँ छ’ कि, ‘त्यहाँ छ’ भनेर तिमीहरू भन्न सक्नेछैनौ, किनभने हेर परमेश्वरको राज्य तिमीहरूकै माझमा छ।’’ 22 पछि उहाँ यसै विषयमा आफ्ना चेलाहरूसित बोल्नुभयो, ‘‘त्यो बेला आउँदैछ, जब मानिसको पुत्रसँगै सहभागी हुन तिमीहरूले इच्छा गर्नेछौ। तर त्यसो गर्न तिमीहरू सक्नेछैनौ। 23 ‘मानिसको पुत्र यहाँ वा त्यहाँ फलानो ठाउँमा छन् हेर, भनेर मानिसहरूले तिमीहरूलाई सुनाउनेछन्। तर तिनीहरूका त्यस्ता कुरा नपत्याओ र उनलाई हेर्न कतै नजाओ, 24 किनकि जसरी बिजुली चम्कँदा आकाशको एक छेउदेखि अर्को छेउसम्म देख्न सकिन्छ, त्यसैगरी मानिसको पुत्र पनि आफ्नो दिनमा देखा पर्नेछ। 25 तर पहिले उनले धेरै कुरामा कष्ट भोग्नुपर्नेछ र यस पुस्ताबाट उनलाई इन्कार गरिनेछ। 26 नोआको समयमा जस्तै मानिसको पुत्रको दिनमा पनि यी कुरा हुनेछन्। 27 नोआ जहाजभित्र पसेका दिनसम्म तिनीहरूले खाइरहेका थिए, पिइरहेका थिए, विवाह गरिरहेका थिए, विवाह गराइँदै थियो अनि जलप्रलय आयो र तिनीहरू सबैलाई नाश पार्यो। 28 अनि लोतको समयमा भएकै जस्तो घटना संसारमा घट्नेछ। त्यसबेला मानिसहरू सधैँजस्तै खानपिन गरिरहेका, किनबेच गरिरहेका, रोपिरहेका र निर्माण गरिरहेका थिए। 29 तर लोतले त्यस दिन सदोम छोडे। आकाशबाट आगो र गन्धकको वर्षा भयो र ती सबै भस्म भइहाले। 30 हो, मानिसको पुत्र प्रकट हुने दिनसम्म पनि मानिसहरू यस्तै कुरामा अलमलिरहेका हुनेछन्। 31 त्यस दिन घरबाहिर भएको मानिस मालमत्ता झिक्न घरभित्र नपसोस्। त्यसरी नै खेतमा हुनेहरू पनि नफर्कून् । 32 लोतकी स्वास्नीलाई सम्झ ! 33 जसले आफ्नो प्राण बचाउने कोशिश गर्छ, उसले त्यो गुमाउनेछ। अनि जसले आफ्नो प्राण गुमाउँछ, उसले त्यो बचाउनेछ। 34 म तिमीहरूलाई भन्दछु, त्यस रात दुई जना एउटै ओछयानमा सुतिरहेका हुनेछन्, तिनीहरूमध्ये एक जना लगिनेछ र अर्को छोडिनेछ। 35 दुई जना स्त्रीहरूसँगसँगै जाँतो पिँधिरहेका हुनेछन्, तिनीहरूमध्ये एउटी लगिनेछे र अर्की छोडिनेछे। 36 दुई जना मानिस खेतमा हुनेछन्, तिनीहरूमध्ये एउटा लगिनेछ र अर्को छोडिनेछ।’’ 37 चेलाहरूले सोधे, ‘‘प्रभु, त्यस्ता घटनाहरू कहाँ हुनेछन्?’’ येशूले तिनीहरूलाई भन्नुभयो, ‘‘जहाँ सिनु हुन्छ, त्यहाँ गिद्धहरू भेला हुन्छन्।’’ 181 चेलाहरूले निरन्तर प्रार्थना गरिरहून् र हताश नहोऊन् भनी येशूले तिनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो,2 ‘‘कुनै एउटा शहरमा एक जना न्यायाधीश थिए । उनी परमेश्वरसित नडराउने र मानिसहरूको आदर नगर्ने व्यक्ति थिए। 3 त्यसै शहरकी एउटी विधवा घरीघरी उनीकहाँ आएर भन्थी, ‘मेरो हानि गर्ने वादीबाट मलाई न्याय दिनुहोस्।’ 4 केही दिनसम्म त न्यायाधीशले त्यस विधवाको निवेदनको वास्ता गरेनन् तर आखिरमा त्यसले उनलाई दिक्क पारी । उनले मनमनै भने, ‘म परमेश्वरसँग डराउँदिनँ न मानिसकै डर मान्छु, 5 तर त्यसले त मलाई दिक्क पारिरहेकी छे। म त्यसको न्याय गरिदिनेछु, नत्र त त्यसले एकोहोरो आएर मलाई हैरान पार्ली’।’’ 6 त्यसपछि प्रभुले चेलाहरूलाई भन्नुभयो, ‘‘त्यस दुष्ट न्यायाधीशबाट पाठ सिक। 7 उनले त आखिरमा आफ्नो विचार बद्लेर विधवालाई उचित न्याय दिए भने परमेश्वरका चुनिएका मानिसहरूले उहाँसँग रातदिन पुकारा गर्दा के उहाँले न्याय दिनुहुन्न र? के उहाँले न्याय दिन बियाँलो गर्नुहुन्छ र ? 8 म तिमीहरूलाई भन्दछु, उहाँले चाँडै तिनीहरूको न्याय गरिदिनुहुनेछ । तर जब मानिसको पुत्र फर्किआउँछ, के उसले यस पृथ्वीमा विश्वास भेट्टाउनेछ र?’’ 9 आफैमाथि भरोसा राख्ने र आफैलाई धर्मी ठानेर अरुहरूलाई तुच्छ ठान्नेहरू कसै- कसैलाई उहाँले यो दृष्टान्त भन्नुभयो, 10 ‘‘दुई जना मानिसहरू प्रार्थना गर्न मन्दिरमा गए। एक जना फरिसी थियो र अर्को कर उठाउने व्यक्ति थियो। 11 फरिसी बडो गर्व गर्दै उभियो र यसरी प्रार्थना गर्नथाल्यो, ‘हे परमेश्वर, म तपाईंलाई धन्यवाद दिन्छु, म अरुजस्तो धुताहा, अन्यायी, व्यभिचारी वा यो महसुल उठाउनेजस्तो पापी छैन। 12 म हप्ताको दुईपल्ट उपवास बस्छु र मेरो सम्पूर्ण कमाइको दशांश पनि तपाईंलाई दिन्छु।’ 13 तर महसुल उठाउने मानिस अलिक परै उभियो र स्वर्गतिर हेर्न पनि नसकी अधोमुख लगाउँदै, उसले आफ्नो छाती पिटयो र दु:खित भएर यसरी पुकारा गर्यो, ‘हे परमेश्वर म पापीमाथि दया गर्नुहोस्।’ 14 म तिमीहरूलाई भन्दछु, त्यो फरिसीभन्दा बरु महसुल उठाउने परमेश्वरको नजरमा धर्मी ठहरिएर घर फर्कियो, किनभने हरेक जसले आफूलाई उचाल्छ, त्यो होच्याइनेछ तरजसले आफूलाई होच्याउँछ त्यो उच्च पारिनेछ।’’ 15 येशूले बालबालिकाहरूमाथि आफ्नो हात राखेर आशिष् देऊन् भनी केही आमा-बुबाहरूले तिनीहरूलाई उहाँकहाँ ल्याए। तर चेलाहरूले तिनीहरूलाई हप्काए। 16 अनि येशूले ती बालबालिकाहरूलाई बोलाउनुभयो र चेलाहरूलाई भन्नुभयो, ‘‘बालबालिकाहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक, किनभने परमेश्वरको राज्य यस्तैहरूको हो। 17 साँच्चै म तिमीहरूलाई भन्दछु, जसले परमेश्वरको राज्यलाई बालकले जस्तै ग्रहण गर्दैन, त्यो कदापि त्यसभित्र प्रवेश गर्नेछैन।’’ 18 एकपल्ट एक जना धार्मिक अगुवाले येशूलाई यस्तो प्रश्न सोधे, ‘‘असल गुरु, अनन्त जीवन पाउनको निम्ति मैले के गर्नुपर्छ?’’ 19 येशूले भन्नुभयो, ‘‘तिमी मलाई किन असल भन्छौ? परमेश्वरबाहेक अरु कोही असल छैन। 20 तिमीलाई आज्ञाहरू त थाहा होला नि? ‘व्यभिचार नगर्नू, हत्या नगर्नू, नचोर्नू, झूटो साक्षी नदिनू, आमा-बुबाको आदर गर्नू’।’’ 21 त्यस मानिसले जवाफ दियो, ‘‘यी सबै आज्ञाहरू त मैले युवावस्थादेखि नै पालन गर्दै आएको छु।’’ 22 यो सुनेर येशूले भन्नुभयो, ‘‘तिमीमा अझै एउटा कुराको कमी रहेछ। आफूसँग भएको सबै धनसम्पत्ति बेच र आएको पैसा गरीबहरूलाई बाँडिदेऊ अनि स्वर्गमा तिम्रो धन हुनेछ । त्यसपछि आएर मेरोपछि लाग।’’ 23 तर उहाँको कुरा सुनेर त्यो मानिस त्यहाँबाट उदास भएर गइहाल्यो, किनभने ऊ धेरै धनी थियो। 24 येशूले त्यो जाँदै गरेको हेर्नुभयो र आफ्ना चेलाहरूलाई भन्नुभयो, ‘‘धनी मानिसहरूलाई परमेश्वरको राज्यमा प्रवेश गर्न कति गाह्रो हुन्छ । 25 धनी मानिसलाई परमेश्वरको राज्यमा प्रवेश गर्नुभन्दा त बरु एउटा ऊँटलाई सियोको नाथ्रीबाट छिर्न सजिलो हुन्छ।’’ 26 उहाँको त्यो कुरा सुन्नेहरूले भने, ‘‘त्यसो भए, यस संसारमा कसले उद्धार पाउनसक्छ त?’’ 27 उहाँले जवाफ दिनुभयो, ‘‘जुन कुरा मानिसको दृष्टिमा असम्भव छ, त्यो परमेश्वरमा सम्भव छ।’’ 28 पत्रुसले भने, ‘‘हामीले हाम्रा घरहरू छोडेर तपाईंलाई पछयाएका छौं।’’ 29 येशूले जवाफ दिनुभयो, ‘‘ठीक भन्यौ, साँच्चै म तिमीहरूलाई भन्दछु, ज-जसले परमेश्वरको राज्यको खातिर आफ्नो घर कि, आमा-बुबा कि, दाजु-भाइ कि, दिदी-बहिनी कि, श्रीमती कि, छोराछोरी छोड्दछ, 30 उसले नै यस जीवनमा धेरै इनाम र आउने युगमा अनन्त जीवन प्राप्त गर्नेछ।’’ 31 बाह्रै जना चेलाहरूलाई आफ्नो वरिपरि भेला गरेर येशूले भन्नुभयो, ‘‘हेर, हामी यरूशलेमतिर गइरहेका छौं र त्यहाँ पुगेपछि मानिसको पुत्रको विषयमा पुराना अगमवक्ताहरूले भनेका सबै अगमवाणीहरू पूरा हुनेछन्। 32 उसलाई अयहूदीहरूको हातमा सुम्पिइनेछ, उसलाई निन्दा र गिल्ला गरिइनेछ, उसलाई मानिसहरूले थुक्नेछन्, 33 तिनीहरूले उसलाई कोर्रा लगाउनेछन् र मार्नेछन्, तर त्यसको तीन दिनमा ऊ मृत्युबाट पुनर्जीवित भएर उठ्नेछ।’’ 34 तर उहाँले बोल्नुभएको एउटै कुरा पनि तिनीहरूले बुझेनन्। यसको अर्थ तिनीहरूबाट गुप्तमा राखियो र उहाँले के भनिरहनुभएको छ भनी तिनीहरूले बुझ्नसकेनन्। 35 उहाँहरू यरीहो नजिक पुग्नुहुँदा एक जना अन्धो मानिस भीख माग्दै बाटोको किनारमा बसिरहेको थियो। 36 त्यहाँबाट धेरै मानिसहरू गइरहेको सुनेर उसले के हो भनी सोध्यो। 37 नासरतका येशू त्यहाँबाट गइरहनुभएको छ भनी कसैले उसलाई भनिदियो। 38 त्यसकारण ऊ कराउन थाल्यो, ‘‘ए दाऊदका छोरा, येशू, ममाथि दया गर्नुहोस्।’’ 39 येशूको अगाडि हुने मानिसहरूले त्यस अन्धालाई झपारे। तर ऊ अझै जोड-जोडले कराइरह्यो, ‘‘हे दाऊदका छोरा, येशू, ममाथि दया गर्नुहोस्।’’ 40 जब येशूले त्यसको आवाज सुन्नुभयो, उहाँ उभिनुभयो र त्यसलाई आफूकहाँ ल्याउने आज्ञा दिनुभयो। 41 त्यसपछि येशूले त्यसलाई सोध्नुभयो, ‘‘म तिम्रोनिम्ति के गरिदिऊँ भन्ने चाहन्छौ?’’ उसले विन्ती गर्यो, ‘‘प्रभु,म दृष्टि पाउन चाहन्छु।’’ 42 तब येशूले भन्नुभयो, ‘‘ठीक छ, तिमीले दृष्टि प्राप्त गर, तिम्रो विश्वासले तिमीलाई देख्ने तुल्याएको छ ।’’ 43 त्यस मानिसले तत्कालै देख्नसक्यो र परमेश्वरको प्रशंसा गर्दै उसले येशूलाई पछयायो। त्यो देख्नेहरू सबैले पनि परमेश्वरलाई महिमा दिए। 191 येशू यरीहोको बाटो भएर जाँदै हुनुहुन्थ्यो।2 त्यहाँ एक जना जक्कै नाउँ गरेका मानिस थिए । तिनी कर उठाउनेहरूमध्येका एक मुख्य व्यक्ति थिए र तिनी धनी थिए । 3 तिनले येशूलाई हेर्न चाहन्थे, तर भीडले गर्दा देख्न सकेनन्, किनभने तिनी पुड्का थिए। 4 त्यसकारण तिनी दौडिँदै अघि गए र बाटो छेउको एउटा नेभारोको रूखमा चढे, जहाँबाट तिनले येशूलाई देख्नसक्थे। 5 जब येशू त्यही बाटो भएर त्यहाँ आइपुग्नुभयो,उहाँले मास्तिर हेर्नुभयो अनि तिनलाई देखेर भन्नुभयो, ‘‘जक्कै, ओर्लेर छिट्टो आऊ। आज म तिम्रो घरमा बस्नुपर्छ।’’ 6 जक्कै तुरुन्तै ओर्लेर आए र रमाउँदै येशूूलाई आफ्नो घरमा लगे। 7 तर त्यो देखेर भीडमा हुने मानिसहरूले गनगन गर्दै भने, ‘‘उहाँ त त्यस्तो पापीको घरमा पाहुना लाग्न जानुभयो।’’ 8 त्यसैबेला जक्कै सबैको अगाडि खडा भए र प्रभुलाई भने, ‘‘प्रभु, म आफूले आर्जन गरेको आधा सम्पत्ति गरीबहरूलाई बाँडिदिनेछु। अनि यदि मैले अन्यायपूर्वक कसैबाट बढी कर लिएको छु भने म त्यसको चार गुणा फिर्ता दिनेछु।’’ 9 येशूले जवाफ दिनुभयो, ‘‘आज यस घरमा उद्धार आएको छ, किनभने यो मानिस पनि अब्राहामको छोरो हो। 10 अनि म, मानिसको पुत्र यस्तै हराएकाहरूलाई खोज्न र बचाउन आएको हुँ।’’ 11 येशूका यी कुरा तिनीहरूले सुनिरहेका थिए, तब येशूले एउटा दृष्टान्तद्वारा भन्नुभयो, किनभने उहाँ यरूशलेमको नजिकै हुनुहुन्थ्यो र मानिसहरूले परमेश्वरको राज्य अब तुरुन्तै प्रकट हुनेछ भन्ने विचार गरिरहेका थिए । 12 त्यसकारण उहाँले भन्नुभयो, ‘‘एक जना खानदानी व्यक्ति आफ्नोनिम्ति एउटा राजपद प्राप्त गरेर फर्किने गरी टाढा देशमा गए। 13 त्यसकारण उनले आफ्ना दश जना नोकरलाई बोलाएर आफू नआउन्जेलसम्म लगानी गर्न भनी दश चाँदीका सिक्का दिए। 14 तर उनका प्रजाहरूले उनलाई घृणा गर्दथे र उनका पछि-पछि यसो भन्दै यस्तो समाचार पठाए, ‘यस मानिसले हामीमाथि राज्य गरेको हामी चाहँदैनौं ।’ 15 उनले राज्य प्राप्त गरी फर्केर आएपछि आफूले पैसा दिएका दश जना नोकरलाई बोलाए र तिनीहरूले के कति नाफा कमाएछन् भनी हिसाब मागे। 16 पहिलो नोकर आयो र भन्यो,‘मालिक, मैले साउँ रकमभन्दा अरु दश सिक्का बढी नाफा कमाएको छु।’ 17 उनले भने, ‘स्याबास्, तँ विश्वसनीय नोकर रहेछस्। मैले दिएको थोरै धनमा तँ विश्वसनीय भइस्, म तँलाई इनामस्वरूप दश शहरको शासक बनाउँछु।’ 18 दोस्रो नोकर आयो र भन्यो,‘मालिक, मैले साउँ रकमभन्दा अरु पाँच सिक्का बढी नाफा कमाएको छु।’ 19 उनले भने, ‘स्याबास्, तँ पनि पाँच शहरको शासक हुनेछस्।’ 20 तेस्रो नोकर आयो र भन्यो, ‘मालिक, हेर्नुहोस्, तपाईंको सिक्का यहाँ छ, त्यो मैले रुमालमा पोको पारेर राखेको थिएँ। 21 मलाई डर लागेको थियो, किनभने तपाईं कति निर्दयी व्यवहार गर्नुहुन्छ भन्ने मलाई थाहा थियो। तपाईं जे आफ्नो होइन त्यो लिनुहुन्छ र जे रोप्नुहुन्न, त्यसैको कटनी गर्ने मानिस हुनुहुन्छ।’ 22 उनले त्यसलाई भने, ‘दुष्ट नोकर, म तँलाई तेरै मुखको शब्दद्वारा न्याय गर्नेछु। के म निर्दयी छु? यदि तैँले म त्यस्तो कठोर मानिस छु भनी जान्दथिस् भने 23 तैँले यो पैसा लगेर किन बैंकमा राखिनस् त? त्यसो गरेको भए अहिले कम्तीमा पनि त्यसको ब्याजसहित म पाउनसक्ने थिएँ।’ 24 त्यसपछि उनले आफ्नो नजिकै उभिएका अरु मानिसहरूतिर फर्किएर आज्ञा दिए,‘उठ, यस नोकरबाट त्यो पैसा खोस र त्यो दश सिक्का हुनेलाई देओ ।’ 25 ती मानिसहरूले भने, ‘तिनीसँग त दश सिक्का छँदै छ नि।’ 26 किनभने म तिमीहरूलाई भन्दछु, ‘जोसँग छ, त्यसलाई अझै दिइनेछ, जोसँग छैन, त्यससँग भएको पनि खोसिनेछ। 27 अब मैले राज्य गरेको नचाहने मेरा शत्रुहरूलाई यहाँ ल्याओ र मेरो सामुन्ने मृत्युदण्ड देओ’।’’ 28 यो दृष्टान्त भनी सक्नुभएपछि येशू चेलाहरूको अगिअगि यरूशलेमतिर उक्लनुभयो। 29 उहाँ जैतुन डाँडा नजिकै बेथफागे र बेथानी शहरहरूमा आइपुग्नुभयो, उहाँले दुई जना चेलालाई आफूभन्दा अगाडि पठाउनुभयो। 30 उहाँले तिनीहरूलाई भन्नुभयो, ‘‘सामुन्नेको गाउँमा जाओ, त्यहाँ पस्दै गर्दा तिमीहरूले कहिल्यै कोही नचढेको गधाको बछेडो बाँधिराखेको भेट्टाउनेछौ। त्यसलाई खोलेर यहाँ ल्याऊ। 31 कसैले तिमीहरूलाई ‘के गरेको’ भनी सोध्यो भने, ‘हाम्रो प्रभुलाई यसको खाँचो परेको छ’ भनी जवाफ दिनू।’’ 32 तिनीहरू गए र येशूले भन्नुभएझैँ गधाको बछेडो भेट्टाए। 33 तिनीहरूले बछेडो फुकाउँदै गर्दा त्यसका मालिकले आएर सोधे, ‘‘तिमीहरूले हाम्रो बछेडोलाई किन खोलेका?’’ 34 चेलाहरूले जवाफ दिए, ‘‘प्रभुलाई यसको खाँचो छ।’’ 35 त्यसरी तिनीहरूले बछेडोलाई येशूकहाँ ल्याए अनि आफ्ना वस्त्रहरू त्यसको ढाडमा ओछयाइदिए र येशूलाई त्यसमाथि चढाए। 36 त्यसपछि भीडका सबै मानिसहरूले आ-आफ्ना खास्टोहरू फुकालेर येशूको अगाडि बाटोमा बिछयाइदिए। 37 उहाँ जैतुन डाँडाबाट ओर्लनुभएपछि चेलाहरूको भीडले, उहाँले गरेको शक्तिशाली कार्यहरू देखेर रमाउँदै, उच्च सोरले परमेश्वरको प्रशंसा गर्न शुरु गरे, 38 ‘‘परमप्रभुको नाउँमा आउनुहुने राजा धन्यका हुनुहुन्छ, स्वर्गमा शान्ति र परमधाममा महिमा होस्।’’ 39 तर भीडमा भएका केही फरिसीहरूले भने, ‘‘गुरुज्यू, तपाईंका चेलाहरूलाई हप्काउनुहोस्।’’ 40 येशूले जवाफ दिनुभयो,‘‘यदि यी मानिसहरू चुप लागे भने बाटोमा भएका ढुङ्गाहरू चिच्च्याउन थाल्नेछन्।’’ 41 तर यरूशलेम नजिकै आइपुग्नासाथ येशूूले शहरलाई नियाल्नुभयो र रुनुभयो। 42 अनि यसो भन्नुभयो,‘‘आज,यतिखेरसम्म पनि तैँले शान्तिको बाटो कुन हो भनी जानेको भए हुनेथियो । तर अब त धेरै ढिलो भइसक्यो। अब तेरो दृष्टिबाट शान्ति लुकाइएको छ । 43 तेरा शत्रुहरूले तेरो पर्खाल वरिपरि घेरेर मोर्चा कस्ने दिन आउँदै छ। तिनीहरूले चारैतिरबाट घेरेर तँलाई थुनिराख्नेछन्। 44 तिनीहरूले तँलाई र तँसितै तेरा बालबच्चाहरूलाई जमीनमा पछार्नेछन्, तिनीहरूले एउटा ढुङ्गोमाथि अर्को ढुङ्गो कतै छोड्नेछैनन्, किनभने तैँले, परमेश्वरले दिनखोज्नुभएको कृपापूर्ण अवसरलाई इन्कार गरिस्।’’ 45 त्यसपछि येशू मन्दिरभित्र पस्नुभयो र त्यहाँ भएका सबै किनबेच गर्ने व्यक्तिहरूलाई लखेट्न शुरु गर्नुभयो। 46 उहाँले तिनीहरूलाई भन्नुभयो, ‘‘लेखिएको छ,‘मेरो मन्दिर प्रार्थनाको घर हुनेछ, तर तिमीहरूले त यसलाई डाँकाहरूको ओडार बनायौ।’’ 47 त्यसपछि येशूले दिनहुँ मन्दिरमा शिक्षा दिनथाल्नुभयो। तर मुख्य पूजाहारीहरू, धार्मिक व्यवस्थाका शिक्षकहरू र अन्य अगुवाहरू मिलेर उहाँलाई कसरी मार्ने भनेर षडयन्त्र रच्न थाले। 48 तापनि उहाँको शिक्षामा सबै मानिसहरू मुग्ध भएकोले तिनीहरूले तुरुन्तै केही पनि गर्नसकेनन्। 201 एक दिन येशूले मन्दिरमा शिक्षा दिइरहनुभएको थियो र सुसमाचार प्रचार गर्नुभएको थियो, त्यसैबेला धार्मिक व्यवस्थाका शिक्षकहरू, मुख्य पूजाहारीहरू र अन्य अगुवाहरू उहाँकहाँ आए।2 तिनीहरूले सोधे, ‘‘मन्दिरबाट व्यापारीहरूलाई धपाउने अख्तियार तिमीलाई कसले दियो? वा तिमी कुन अधिकारले यस्ता काम गर्छौ?’’ 3 येशूले तिनीहरूलाई भन्नुभयो, ‘‘म पनि तिमीहरूलाई एउटा प्रश्न सोध्छु र मलाई जवाफ देओ । 4 यूहन्नाको बप्तिस्मा स्वर्गबाटको थियो कि मानिसबाटको?’’ 5 तिनीहरूले आपसमा त्यस विषयमा छलफल गरे,‘यदि हामीले स्वर्गबाटको हो भनौं भने त्यसो भए किन उनलाई विश्वास गरेनौ भन्लान्। 6 यदि मानिसबाटको हो भन्यौं भने मानिसहरूले हामीलाई ढुङ्गाले हान्लान्, किनभने यूहन्ना एक अगमवक्ता थिए भनी सबैले विश्वास गरेका थिए।’ 7 आखिरमा तिनीहरूले जवाफ दिए, ‘‘हामीलाई थाहा छैन।’’ 8 अनि येशूले पनि भन्नुभयो, ‘‘म पनि तिमीहरूलाई कुन अधिकारद्वारा यी कामहरू गर्दछु, भन्दिनँ।’’ 9 येशू फेरि मानिसहरूतिर फर्किनुभयो र यो दृष्टान्त भन्नुभयो, ‘‘एक जना मानिसले आफ्नो जमीनमा अङ्गुरको खेती लगायो। उसले त्यो मोहीहरूलाई जिम्मा दिएर लामो समयको निम्ति अर्कै देशमा गयो। 10 अङ्गुर टिप्ने समयमा उसले आफ्ना एक जना नोकरलाई आफ्नो भाग लिन पठायो। तर मोहीहरूले त्यो नोकरलाई पिटे र रित्तै हात पठाइदिए। 11 त्यसकारण त्यस मानिसले अर्को नोकरलाई पठायो । तिनीहरूले त्यसलाई पनि पिटे अनि बेइज्जत गरे र रित्तै हात पठाइदिए। 12 उसले तेस्रोपल्ट पनि आफ्नो अर्को नोकरलाई पठायो र त्यसलाई पनि तिनीहरूले पिटे र घाइते बनाएर लखेटे । 13 अब मैले के गर्ने होला भनी अङ्गुरबारीको मालिकले विचार गर्यो, ‘म, मेरो प्यारो छोरालाई पठाउनेछु, सायद तिनीहरूले उसलाई देखेर आदर गर्लान्।’ 14 तर जब ती मोहीहरूले मालिकको छोरालाई देखे, तब तिनीहरूले आपसमा मिलेमतो गरे र भने, ‘यस जमीनको हकवाला यही हो, लौ त्यसलाई मारौं र यो अङ्गुरबारी हाम्रै हुनेछ ।’ 15 त्यसरी तिनीहरूले त्यसलाई अङ्गुरबारीबाट घिसार्दै बाहिर लगे र त्यसको हत्या गरे। त्यसकारण अब त्यस अङ्गुरबारीको मालिकले ती मोहीहरूलाई के गर्लान्?’’ 16 उहाँले फेरि भन्नुभयो, ‘‘म तिमीहरूलाई भन्दछु, ऊ आफै आउनेछ अनि ती सबैलाई मार्नेछ र अङ्गुरबारी अरुलाई नै कमाउन दिनेछ।’’ उहाँको कुरा सुन्नेहरूले भने, ‘‘त्यस्तो त कहिल्यै नहोस्।’’ 17 तब येशूले तिनीहरूलाई हेरेर भन्नुभयो, ‘‘त्यसो भए धर्मशास्त्रले यसो भनेको अर्थ के हो त? ‘जुन ढुङ्गोलाई डकर्मीहरूले रद्द गरे, त्यही ढुङ्गो नै कुनाको मुख्य ढुङ्गो भएको छ।’ 18 त्यस ढुङ्गोमा ठोकिने जोसुकै टुक्राटुक्रा हुन्छ र जसमाथि त्यो ढुङ्गो बज्रिन्छ, ऊ पनि धूलोपीठो हुन्छ।’’ 19 जब धार्मिक व्यवस्थाका शिक्षकहरू र मुख्य पूजाहारीहरूले यो दृष्टान्त सुने, तब उहाँले त्यो तिनीहरूकै विरुद्धमा भन्नुभएको हो भन्ने बुझे। त्यसकारण तिनीहरूले त्यत्ति नै बेला उहाँमाथि हातपात गर्न खोजे तर मानिसहरूले हूलदङ्गा मच्चाउलान् भनेर तिनीहरू डराए। 20 अब तिनीहरू मौका हेर्नलागे र धर्मी भई टोपल्ने जासुसहरूलाई तिनीहरूले उहाँकहाँ पठाए। येशूले बोल्नुभएको कुरामा उहाँलाई फसाएर अधिकारीहरू र हाकिमका हातमा उहाँलाई सुम्पिदिने दाउमा तिनीहरू थिए। 21 तिनीहरूले सोधे, ‘‘गुरुज्यू, तपाईं ठीक बोल्नुहुन्छ र ठीक शिक्षा दिनुहुन्छ भन्ने हामीलाई थाहा छ, किनभने तपाईंले कसैलाई भेदभाव गर्नुहुन्न। बरु तपाईंले सत्यतामा परमेश्वरको मार्ग सिकाउनुहुन्छ। 22 अब हामीलाई भन्नुहोस्, हामीले सिजरलाई कर तिर्नु उचित हुन्छ कि हुँदैन?’’ 23 उहाँले तिनीहरूको कपट बुझेर भन्नुभयो, 24 ‘‘किन तिमीहरू मेरो परीक्षा गर्छौ ? मलाई एउटा सिक्का देखाओ। यसमा कसको आकृति खोपिएको छ?’’ तिनीहरूले जवाफ दिए, ‘‘सिजरको ।’’ 25 उहाँले तिनीहरूलाई भन्नुभयो, ‘‘त्यसो भए, जे सिजरका हुन्, ती सिजरलाई देओ। तर जे परमेश्वरका हुन्, ती परमेश्वरलाई देओ।’’ 26 यसरी मानिसहरूको सामुन्ने उहाँलाई फसाउन तिनीहरू असफल भए। अझ उहाँको जवाफ सुनेर तिनीहरू उल्टै छक्क परे र चुप लागे। 27 त्यसपछि केही सदुकीहरू उहाँकहाँ आए, जसले मृत्युपछि पुनरुत्थान हुन्छ भन्ने कुरामा विश्वास गर्दैन थिए। 28 तिनीहरूले यस्तो प्रश्न सोधे, ‘‘गुरुज्यू, मोशाले हामीलाई यो व्यवस्था दिएका छन्, यदि एउटा मानिस विवाह गरेर सन्तान नजन्माई मर्यो भने उसको दाजु वा भाइले विधवासित विवाह गरोस् र उसको हक लिने सन्तान जन्माओस्। 29 कुनै परिवारमा सात जना दाजुभाइ थिए। जेठोले विवाह गर्यो र सन्तान नजन्माई मर्यो। 30 त्यसकारण माहिलोले विधवासित विवाह गर्यो र त्यो पनि सन्तान नजन्माई मर्यो। 31 त्यसपछि साहिँलोले ऊसित विवाह गर्यो, यस प्रकारले सातै भाइले त्यस स्त्रीसित विवाह गरे तर कसैबाट सन्तान जन्मेन अनि ती सातै भाइ नि:सन्तान मरे। 32 अन्त्यमा त्यो स्त्री पनि मरी। 33 अब भन्नुहोस्, मृतकबाट पुनर्जीवित हुँदा त्यो स्त्री कसकी स्वास्नी हुन्छे? किनभने त्यससित सातै भाइले विवाह गरेका थिए।’’ 34 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, ‘‘यस संसारका मानिसहरूले विवाह गर्छन् र गरिदिन्छन्। 35 तर हुनआउने युगको योग्य ठहरिनेहरू र मृतकबाट पुनर्जीवित हुनेहरूले न विवाह गर्छन्, न विवाह गरिदिन्छन्। 36 अनि तिनीहरू फेरि कहिल्यै मर्नेछैनन्, किनभने तिनीहरू पुनरुत्थानका सन्तान भएका हुनाले स्वर्गदूतसमान परमेश्वरका छोराछोरी हुनेछन्। 37 जब मोशाले अब्राहामका परमप्रभु परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वरलाई पुकारा गर्दा मृतकहरू जीवित भई उठाइनेछन् भन्ने कुरा मोशाले पनि पोथ्राको विवरणमा दर्साएका थिए। 38 त्यसकारण उहाँ मृतकहरूका होइन, जीवितहरूका परमेश्वर हुनुहुन्छ, किनभने तिनीहरू सबै उहाँको निम्ति जीवित छन् ।’’ 39 त्यहाँ उभिएका मानिसहरूमध्ये कुनै कुनै धार्मिक व्यवस्थाका शिक्षकहरूले भने, ‘‘गुरुज्यू, तपाईंले ठीक भन्नुभयो।’’ 40 उहाँको त्यस जवाफले तिनीहरूलाई चुप गरायो र त्यस उप्रान्त तिनीहरूले उहाँलाई कुनै पनि कुरा सोध्ने आँट गरेनन्। 41 त्यसपछि येशूले तिनीहरूलाई यो प्रश्न गर्नुभयो, ‘‘ख्रीष्टलाई किन दाऊदका छोरा भनिएको हो? 42 किनभने दाऊद आफैले भजनसंग्रहमा यसो भनेका छन्, परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो, ‘मेरो दाहिने हातपट्टि बस, 43 जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो खुट्टाको पाउदान तुल्याउँदिनँ।’ 44 दाऊद आफैले उहाँलाई ‘प्रभु’ भन्छन् भने ख्रीष्ट कसरी उनका छोरा भए त?’’ 45 त्यसपछि येशू चेलाहरूतिर फर्किनुभयो र भीडले सुन्ने गरी आफ्ना चेलाहरूलाई भन्नुभयो, 46 ‘‘धार्मिक व्यवस्थाका शिक्षकहरूदेखि होशियार बस, जसले लामा-लामा पोशाक लगाएर हिँड्ने इच्छा गर्दछन् र बजारमा मानिसहरूले अभिवादन गरेको मन पराउँछन्। अनि तिनीहरू सभाघरमा मुख्य स्थान र भोजहरूमा आदरको स्थान खोज्छन्। 47 तर तिनीहरूले विधवाहरूका घर लुट्छन् र लोकाचारका लागि लामा-लामा प्रार्थना गर्दछन्। यस्ता मानिसहरूले अझ बढी दण्ड पाउनेछन्।’’ 211 येशू मन्दिरमा बसिरहनुभएको थियो। त्यहाँ धनी मानिसहरूले मन्दिरको दानपात्रमा आ-आफ्नो भेटी हालेको उहाँले हेरिरहनुभएको थियो।2 त्यसैबेला एउटी गरीब विधवाले पनि आफ्नो दुई पैसा भेटी हालेको उहाँले देख्नुभयो। 3 उहाँले भन्नुभयो, ‘‘साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरू सबैले भन्दा यस गरीब विधवाले धेरै भेटी चढाएकी छिन्, 4 किनभने तिमीहरूले त आ-आफ्नो प्रशस्तताबाट थोरै मात्र भेटी चढाएका छौ, तर यिनले त आफ्नो गरीबीबाट आफ्नो जीविका नै चढाएकी छिन्।’’ 5 उहाँका चेलाहरूमध्ये कसै-कसैले सुन्दर-सुन्दर ढुङ्गाहरू र परमेश्वरलाई चढाइएका दानका सामग्रीहरूद्वारा सुसज्जित पारिएका मन्दिरको बारेमा कुराकानी गरिरहेका थिए। तर येशूले भन्नुभयो, 6 ‘‘यस्तो दिन आउनेछ, तिमीहरूले अहिलेसम्म जे देखिरहेका छौ, त्यो फेरि एउटा ढुङ्गोमाथि अर्को ढुङ्गो रहनेछैन, ती सबै थोक ध्वस्त पारिनेछन्।’’ 7 तिनीहरूले सोधे, ‘‘गुरुज्यू, त्यस्तो अवस्था कहिले आउँछ? अनि त्यस्तो घटना घट्नुभन्दा पहिले कुनै चिन्ह देखिन्छ कि?’’ 8 उहाँले जवाफ दिनुभयो, ‘‘होशियार रहो, तिमीहरूलाई कसैले नबहकाओस्, किनभने मेरो नाउँमा धेरै जना ‘ख्रीष्ट हुँ’ भनेर दाबी गर्दैर् आउनेछन् र ‘समय नजिक आएको छ’ भन्नेछन् तर तिनीहरूको विश्वास नगर्नू। 9 तिमीहरूले जब युद्ध र खैलाबैलाका कुरा सुन्नेछौ तब भयभीत नहोओ, किनभने पहिले यी घटनाहरू हुनैपर्छ तर अन्त्य तुरुन्तै हुनेछैन।’’ 10 उहाँले अझै भन्नुभयो, ‘‘जाति जातिको विरुद्धमा र राज्य राज्यको विरुद्धमा खडा हुनेछन्। 11 ठूल्ठूला भूकम्प जानेछन्, डरलाग्दा महामारी र अनिकाल आउनेछन् र ठाउँ-ठाउँमा आतङ्क फैलिनेछ अनि आकाशमा अचम्मका दृश्य र ठूला-ठूला चिन्हहरू देखिनेछन्। 12 तर ती घटनाहरू हुनुभन्दा पहिले ठूलो सतावट हुनेछ । मानिसहरूले तिमीहरूलाई घिसार्दै सभाघरमा लानेछन् र झ्यालखानमा हाल्नेछन्। मलाई पछयाएको कारण राजाहरू र प्रशासकहरूका सामुन्ने तिनीहरूले तिमीहरूलाई दोष्याउनेछन्। 13 अनि त्यसबेला तिमीहरूले तिनीहरूलाई मेरो साक्षी दिने मौका पाउनेछौ। 14 त्यसकारण तिमीहरू, तिनीहरूले लगाएको आरोपको के जवाफ दिने भनी चिन्तित नहोओ, 15 किनभने त्यसबेला म आफै तिमीहरूलाई बोली र ज्ञान दिनेछु अनि तिमीहरूका कुनै पनि विरोधीले त्यो रोक्न वा काट्न सक्नेछैन । 16 तिमीहरूका आफ्नै मानिसहरू, आफ्नै आमा-बुबा, दाजु-भाइ, नातेदार र साथीहरूले समेत तिमीहरूलाई धोका दिनेछन्। अनि तिमीहरूमध्ये कति मारिनेछौ। 17 तिमीहरूलाई मेरो नाउँको कारण सबैले घृणा गर्नेछन्। 18 तर तिमीहरूको शिरको एउटै केश पनि नष्ट हुनेछैन। 19 तिमीहरूको धैर्यद्वारा तिमीहरूले आफ्नो जीवन प्राप्त गर्नेछौ। 20 अनि जब तिमीहरूले यरूशलेमलाई सेनाहरूले घेरा हालेको देख्नेछौ, तब त्यसको विनाशको दिन नजिकै आएछ भनी जान्नू। 21 तब यहूदियामा हुनेहरू पहाडहरूतिर भागून्। यरूशलेमभित्र हुनेहरू निस्केर जाऊन् र गाउँ-बस्तीमा हुनेहरू शहरभित्र नपसून्, 22 किनकि ती दिनहरू परमेश्वरले बदला लिने दिनहरू हुनेछन्। यसरी धर्मशास्त्रमा अगमवक्ताहरूले भनेका कुरा पूरा हुनेछन्। 23 हाय ! त्यस बेला गर्भवती र दूध चुसाउने आमाहरूको हालत कस्तो भयानक होला ! किनभने सारा मुलुकभरि ठूलो सङ्कष्ट आउनेछ र हरेक मानिसहरूमाथि क्रोध खन्याइनेछ। 24 तिनीहरू निर्ममतापूर्वक तरवारले काटिनेछन् र बाँचेकाहरूलाई कैदी बनाएर विभिन्न देशमा लगिनेछन्, यरूशलेमलाई अयहूदीहरूले कुल्चीमिल्ची पार्नेछन्, जबसम्म तिनीहरूलाई दिएको समय पूरा हुँदैन। 25 घाम, जून र ताराहरूमा विभिन्न चिन्हहरू देखिनेछन्। अनि पृथ्वीका राष्ट्रहरूमा पनि आँधीबेहरी र समुद्रका छालको गर्जनद्वारा भयङ्कर सङ्कष्ट आउनेछ। 26 संसारमा हुनआउने घटनाहरूको आशङ्काले मानिसहरू मूर्च्छा पर्नेछन्, किनभने आकाशका शक्तिहरू डगमगाउनेछन्। 27 अनि हरेकले मानिसको पुत्रलाई शक्ति र महामहिमाको साथमा बादलमा आइरहेको देख्नेछन्। 28 यसरी जब यी सबै कुरा हुनथाल्दछन्, तब खडा होओ, आफ्ना नजर माथितिर लगाओ, किनभने तिमीहरूको छुटकारा नजिकै छ। ’’ 29 त्यसपछि उहाँले तिनीहरूलाई यो दृष्टान्त भन्नुभयो : ‘‘नेभारो वा अरु कुनै रूखलाई हेर। 30 जब त्यसमा पालुवा पल्हाउन थालेको देखिन्छ, तब गृष्म ऋतु नजिक छ भनी तिमीहरूलाई कसैले भन्नुपर्दैन। 31 त्यसैगरी मैले भनेका यी घटनाहरू घटेको जब तिमीहरू देख्नेछौ, तब परमेश्वरको राज्य नजिकै छ भनी तिमीहरूले जान्नू। 32 साँच्चै म तिमीहरूलाई भन्दछु, यी सम्पूर्ण घटनाहरू नघटुन्जेलसम्म यो पुस्ता बितिजानेछैन। 33 स्वर्ग र पृथ्वी बितिजानेछन् तर मेरा वचन टल्नेछैनन्। 34 तिमीहरू जागा रहो, म फर्किआउँदा लापर्वाही भएर जथाभाबी खाँदै-पिउँदै वा जीवनका चिन्ताले भरिएर बसिरहेका नभेट्टिओ, किनभने त्यो दिन तिमीहरूमाथि पासोझैँ एक्कासि आइपर्ला। 35 पृथ्वीमा हुने सबैमाथि नै त्यो दिन पासोझैँ आइपर्नेछ। 36 यसकारण सधैँभरि जागा रहो र सम्भव भए ती सङ्कष्टबाट उम्किएर मानिसको पुत्रको सामु उभिनसकूँ भनी निरन्तर प्रार्थना गर्दै बस।’’ 37 येशूले हरेक दिन दिउँसो मन्दिरमा शिक्षा दिनुहुन्थ्यो र साँझमा बाहिर निस्केर जैतुन डाँडामा रात बिताउनुहुन्थ्यो। 38 अनि सबै मानिसहरू उहाँको कुरा सुन्न बिहानै मन्दिरमा आउँथे। 221 अब अखमीरी रोटीको चाड नजिकै आइपुगेको थियो । यसलाई निस्तार-चाड पनि भनिन्छ।2 मुख्य पूजाहारी र धार्मिक व्यवस्थाका शिक्षकहरूले येशूको हत्या गर्ने षडयन्त्र गरिरहेका थिए । तर तिनीहरू मानिसहरूसँग डराउँथे। 3 त्यसपछि बाह्र जनामध्येका इस्करियोत भनिने यहूदाको हृदयमा शैतान पस्यो। 4 येशूलाई कसरी सजिलै पक्राइ दिनसकिन्छ भनेर छलफल गर्न ऊ मुख्य पूजाहारी र मन्दिरका पहरेदारहरूका अधिकारीहरूकहाँ गयो। 5 तिनीहरू यहूदासित खुशी भए र उसलाई पैसा दिन सहमत भए। 6 यसरी उसले भीड नभएको बेला येशूलाई तिनीहरूका हातमा सुम्पिदिने मौका खोज्न थाल्यो। 7 अखमीरी रोटीको चाडको पहिलो दिनमा निस्तारको थुमाको बलिदान चढाइनुपर्थ्यो। 8 येशूले पत्रुस र यूहन्नालाई यसो भन्दै पठाउनुभयो, ‘‘जाओ र निस्तारको भोज तयार गर र हामीसँगै बसेर खाउँला।’’ 9 तिनीहरूले सोधे, ‘‘हामी कहाँ गएर भोज तयार गरेको तपाईं चाहनुहुन्छ?’’ 10 :उहाँले जवाफ दिनुभयो, ‘‘जब तिमीहरू यरूशलेमभित्र पस्नेछौ, त्यहाँ पानीको गाग्रो काँधमा बोकेर गइरहेको मानिसलाई तिमीहरूले भेट्नेछौ। तब तिमीहरू उसलाई पछयाउँदै जाओ र उसको घरमा पस । 11 त्यस घरका मालिकलाई भन, ‘हाम्रा गुरुज्यूले तपाईंलाई भन्नुभएको छ, मैले, मेरा चेलाहरूसित निस्तार-चाडको भोज खाने पाहुना कोठा कहाँ छ ?’ 12 तिनले तिमीहरूलाई माथिल्लो तलामा सजिसजाउ भएको एउटा ठूलो कोठा देखाउनेछन् । त्यहीँ निस्तारको भोज तयार गर।’’ 13 तिनीहरू गए र येशूले भन्नुभएजस्तै भेट्टाए अनि त्यहीँ नै निस्तार-चाडको भोज तयार गरे। 14 समय भएपछि खाना खाने टेबुलको वरिपरि येशू आफ्ना बाह्रै प्रेरितहरूसँग ढल्केर बस्नुभयो। 15 उहाँले तिनीहरूलाई भन्नुभयो, ‘‘मैले दु:ख भोग्नअघि तिमीहरूको साथमा यो निस्तार-चाडको भोजन खाने उत्कट इच्छा गरेको थिएँ, 16 किनभने म तिमीहरूलाई अहिले नै भन्दछु कि परमेश्वरको राज्यमा यो कुरा पूरा नभएसम्म म फेरि यो भोज कहिल्यै खानेछैनँ।’’ 17 त्यसपछि उहाँले अङ्गुरको रसको कचौरा लिनुभयो र धन्यवाद दिनुभएपछि उहाँले भन्नुभयो, ‘‘यो लेओ र आपसमा बाँड, 18 किनभने परमेश्वरको राज्य नआएसम्म फेरि म अङ्गुरको रस पिउनेछैन।’’ 19 तब उहाँले रोटी लिनुभयो, त्यसको लागि धन्यवाद दिएर त्यो भाँच्नुभयो र यसो भन्दै चेलाहरूलाई बाँडिदिनुभयो, ‘‘तिमीहरूका निम्ति दिइएको यो मेरो शरीर हो। मेरो सम्झनामा यो गर्ने गर।’’ 20 यसरी नै खाइसक्नुभएपछि उहाँले कचौरा लिनुभयो र भन्नुभयो, ‘‘यो कचौरा मेरो रगतमा स्थापित भएको नयाँ करार हो, जुन तिमीहरूको निम्ति बगाइएको छ। 21 तर यता हेर, मलाई धोका दिनेको हात मसँगै टेबुलमा छ, 22 किनकि मानिसको पुत्र त ठहराइएअनुसार जानैपर्छ तर धिक्कार त्यस मानिसलाई, जसले उसलाई धोका दिन्छ।’’ 23 तिनीहरूमध्ये कसले त्यस्तो काम गर्ला भनी चेलाहरू आपसमा सोधखोज गर्नथाले। 24 त्यसैगरी तिनीहरूमध्ये को ठूलो गनिने भनी विवाद पनि उठयो। 25 येशूले तिनीहरूलाई भन्नुभयो,‘‘यस संसारका अयहूदी राजाहरू र ठूला प्रशासकहरूले जनतामाथि अधिकार जमाउँछन्, तापनि तिनीहरूलाई ‘उपकारी’ भनिन्छ। 26 तर तिमीहरू त्यस्तो नहोओ। तिमीहरूमध्ये जो ठूलो छ, त्यो सबैभन्दा सानो बनोस्, अगुवा हुनेले सेवा गरोस्, 27 किनकि भोजन गर्न बस्ने ठूलो कि सेवा गर्ने ? के भोजन गर्न बस्ने होइन? तर म तिमीहरूका बीचमा सेवा गर्नेजस्तै छु। 28 मेरो परीक्षामा मसँग रहिरहने तिमीहरू नै हौ। 29 जसरी मेरा पिताले मलाई एउटा राज्य सुम्पनुभएको छ, म पनि तिमीहरूलाई सुम्पन्छु। 30 यसैले कि तिमीहरू त्यस राज्यमा मसितै मेरो टेबुलमा खानपिन गर्नेछौ। अनि इस्राएलका बाह्र कुलमाथि न्याय गर्दै तिमीहरू सिंहासनमा बस्नेछौ। 31 सिमोन, सिमोन, हेर, शैतानले तिमीलाई गहुँजस्तै निफन्न चाहेको छ। 32 तर मैले तिम्रो विश्वास नडगमगाओस् भनेर तिम्रो निम्ति प्रार्थना गरेको छु र तिमीले पश्चात्ताप गरी फर्केपछि तिम्रा दाज्यू-भाइहरूलाई स्थिर गराऊ।’’ 33 पत्रुसले भने, ‘‘प्रभु, म तपाईंसँगै झ्यालखानमा जान र मर्न पनि तयार छु।’’ 34 तर येशूले जवाफ दिनुभयो, ‘‘पत्रुस, म तिमीलाई भन्दछु, तिमीले मलाई चिन्दिनँ भनेर तीनपल्ट इन्कार नगरेसम्म आज भाले बास्नेछैन।’’ 35 येशूले तिनीहरूलाई सोध्नुभयो, ‘‘जब मैले तिमीहरूलाई पैसा झिटीगुन्टा र जुत्ताबिना पठाउँदा के तिमीहरूलाई कुनै कुराको अभाव भयो?’’ तिनीहरूले भने, ‘‘भएन।’’ 36 उहाँले भन्नुभयो, ‘‘तर अब पैसा बोक, त्यसरी नै झिटीगुन्टा र जोसँग तरवार छैन, त्यसले आफ्नो खास्टो बेचोस् र एउटा तरवार किनोस्, 37 किनभने लेखिएको यो कुरा ममा पूरा हुनुपर्छ, ‘उनी अपराधीहरूसँग गनिए’ किनभने मेरा विषयमा लेखिएका सबै कुरा पूरा हुनेछन्।’’ 38 तिनीहरूले जवाफ दिए, ‘‘प्रभु, हामीसँग दुईवटा तरवार छन्।’’ उहाँले भन्नुभयो, ‘‘त्यति भए पुग्छ।’’ 39 त्यसपछि सधैँजसो जैतुन डाँडामा जानको निम्ति उहाँ बाहिर निस्किनुभयो र चेलाहरू पनि उहाँको पछि लागे। 40 त्यहाँ पुगेपछि उहाँले तिनीहरूलाई भन्नुभयो, ‘‘परीक्षामा नपर्नका निम्ति प्रार्थना गर।’’ 41 अनि उहाँ तिनीहरूबाट एउटा ढुङ्गा हान्नेजतिको दूरीमा जानुभयो र घुँडा टेकेर प्रार्थना गर्न लाग्नुभयो, 42 ‘‘हे पिता, यदि तपाईं इच्छा गर्नुहुन्छ भने यो कचौरा मबाट हटाइदिनुहोस्, तापनि मेरो इच्छा होइन, तपाईंको इच्छा पूरा होस्।’’ 43 तब उहाँलाई शक्ति दिन स्वर्गबाट एक स्वर्गदूत देखा परे। 44 उहाँले अति व्याकुल भएर गम्भीरतासाथ प्रार्थना गर्नुभयो र उहाँका पसिना रगतका थोपाझैँ भुइँमा खसिरहेका थिए। 45 जब उहाँ प्रार्थनाबाट उठेर चेलाहरूकहाँ आउनुभयो, तब तिनीहरूलाई शोक र चिन्ताले थकित भएर निदाइरहेको भेट्टाउनुभयो। 46 तब उहाँले तिनीहरूलाई सोध्नुभयो, ‘‘ तिमीहरू किन निदाइरहेका छौ ? उठ र परीक्षामा नपर्नका निम्ति प्रार्थना गर।’’ 47 तर उहाँ बोलिरहनुभएको बेला हेर, उहाँका बाह्र चेलाहरूमध्येको एउटा यहूदा, मानिसहरूको एक हूल लिएर त्यहाँ आइपुग्यो। ऊ येशूलाई चुम्बन गर्न उहाँको नजिकै आयो। 48 तर येशूले भन्नुभयो, ‘‘यहूदा, के तिमी मानिसको पुत्रलाई चुम्बन गरेर धोका दिन्छौ?’’ 49 तब त्यहाँ हुनेहरूले, के हुनलागिरहेको छ, सो देखेर भने, ‘‘प्रभु, के हामीले तरवार चलाउनु पर्ला?’’ 50 तिनीहरूमध्ये एक जनाले प्रधान पूजाहारीको दासलाई हाने र त्यसको दाहिने कान च्वाट्टै छिनाइदिए। 51 तर येशूले तिनलाई भन्नुभयो,‘‘भयो, यसो नगर।’’ उहाँले त्यसको कान छोइदिनुभयो र त्यो निको भइहाल्यो। 52 अनि येशूले उहाँकहाँ आएका मुख्य पूजाहारीहरू, मन्दिरका पहरेदारहरूका कप्तान र अन्य अगुवाहरूलाई भन्नुभयो, ‘‘के तिमीहरू डाँकाको विरोधमा आएझैँ तरवार र लाठाहरू लिएर आयौ? 53 म दिनहुँ मन्दिरमा हुँदा तिमीहरूले ममाथि हात उठाएनौ तर यो तिमीहरूको समय हो, जब अन्धकारको शक्तिले राज्य गर्नेछ।’’ 54 त्यसरी तिनीहरूले उहाँलाई पक्रेर प्रधान पूजाहारीको घरमा पुर्याए र पत्रुसले टाढैबाट उहाँलाई पछयाइरहेका थिए। 55 त्यहाँ चोकमा पालेहरूले आगो बालेर वरिपरि बसेका थिए र पत्रुस पनि तिनीहरूसँगै बसे। 56 आगोको उज्यालोमा एउटी दासीले पत्रुसको अनुहार नियालेर हेरी र भनी, ‘‘यो मान्छे पनि ऊसँगै थियो।’’ 57 तर पत्रुसले त्यो कुरा अस्वीकार गरे। उनले भने, ‘‘ए नारी, तिमीले के भनेकी? म उसलाई चिन्दिनँ त।’’ 58 केही क्षणपछि अर्को एक जनाले उनलाई हेरेर भने, ‘‘तँ पनि तिनीहरूमध्येकै एक होस् ।’’ पत्रुसले जवाफ दिए, ‘‘हे मान्छे, म त होइन।’’ 59 त्यसको लगत्तै एक घण्टापछि अर्को मानिसले दाबी गर्दै भन्यो, ‘‘ निश्चय यो मान्छे पनि उसको साथमा थियो, किनभने यो पनि गालीली हो।’’ 60 तर पत्रुसले त्यस मानिसलाई भने, ‘‘हे मान्छे, तिमीले भनिरहेको कुरा मलाई थाहा छैन।’’ अनि ठीक त्यसैबेला उनी बोल्दै गर्दा भाले बास्यो। 61 त्यसैबेला प्रभु पत्रुसतिर फर्किनुभयो र उनलाई ताकेर हेर्नुभयो अनि ‘‘भाले बास्नुभन्दा अघि तिमीले मलाई तीनपल्ट इन्कार गर्नेछौ’’ भनी उहाँले भन्नुभएको कुरा उनले सम्झिए 62 अनि तिनी बाहिर निस्केर धुरुधुरु रुन लागे। 63 तब येशूलाई पक्र नेहरूले उहाँको निन्दा गरे र उहाँलाई पिटे। 64 तिनीहरूले उहाँका आँखा छोपिदिए र थप्पड हान्दै उहाँलाई सोधे, ‘‘ए अगमवक्ता, लौ अब अगमवाणी गर् त, तँलाई थप्पड हान्ने को हो?’’ 65 त्यसरी तिनीहरूले चाहिँदा नचाहिँदा कुरा गर्दै उहाँको निन्दा गरे। 66 उज्यालो भएपछि मुख्य पूजाहारीहरू, धार्मिक व्यवस्थाका शिक्षकहरू र अरु अगुवाहरू भेला भए। तिनीहरूले येशूलाई महासभामा उभ्याए। 67 अनि तिनीहरूले उहाँलाई सोधे, ‘‘के तँ ख्रीष्ट नै होस् त? हामीलाई भन्।’’ तर उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, ‘‘यदि मैले हुँ, भने पनि तपाईंहरूले विश्वास गर्नुहुनेछैन। 68 यदि मैले तपाईंहरूसँग केही सोधेँ भने पनि तपाईंहरूले मलाई जवाफ दिनुहुनेछैन। 69 तर अब उप्रान्त मानिसको पुत्र परमेश्वरको शक्तिको दाहिने बाहुलीतर्फ बसेको हुनेछ।’’ 70 तब तिनीहरू सबैले सोधे, ‘‘त्यसो भए, के तँ परमेश्वरको पुत्र होस् त?’’ उहाँले जवाफ दिनुभयो, ‘‘म उहाँको पुत्र हुँ, भनेर तपाईंहरू आफै भन्दै हुनुहुन्छ त ।’’ 71 तिनीहरूले भने, ‘‘अब हामीलाई अरु साक्षी किन चाहियो र? किनकि हामीले उसकै मुखबाट सुनिहाल्यौं।’’ 231 त्यसपछि सम्पूर्ण महासभाका मानिसहरूले येशूलाई रोमी बडा हाकिम पिलातसकहाँ पुर्याए।2 तिनीहरूले यसो भन्दै उहाँमाथि दोष लगाए, ‘‘यसले हाम्रा मानिसहरूलाई भड्काइरहेको छ र आफैलाई ‘ख्रीष्ट राजा’ भन्दै कैसरलार्ई कर तिर्न मनाही गरिरहेको हामीले भेट्टायौं।’’ 3 त्यो सुनेर पिलातसले उहाँलाई सोधे, ‘‘के तँ यहूदीहरूको राजा होस्?’’ येशूले जवाफ दिनुभयो, ‘‘हो, तपाईं नै यो भन्दै हुनुहुन्छ।’’ 4 पिलातसले मुख्य पूजाहारीहरू र अरु मानिसहरूतिर फर्केर भने, ‘‘म यस मानिसमा कुनै दोष पाउँदिनँ।’’ 5 तर तिनीहरूले जोडतोडको साथमा यसो भने,‘‘यसले गालीलदेखि शुरु गरेर सारा यहूदियाका मानिसहरूलाई शिक्षा दिएर भड्काउँदै यहाँसम्म आएको छ।’’ 6 यो सुनेर पिलातसले भने, ‘‘ए, उसो भए के यो मानिस गालीली हो ?’’ 7 उहाँ हेरोदको शासन क्षेत्रको मानिस भएको थाहा पाएर पिलातसले उहाँलाई हेरोदकहाँ पठाइदिए। त्यसबेला हेरोद यरूशलेममा नै थिए। 8 येशूलाई देखेर हेरोद धेरै खुशी भए, किनकि तिनले धेरै दिनदेखि उहाँलाई हेर्ने इच्छा गरेका थिए, किनभने तिनले उहाँको बारेमा धेरै कुरा सुनेका थिए, उहाँबाट आश्चर्यकर्महरू हेर्न चाहन्थे। 9 तिनले येशूलाई धेरै प्रश्नहरू गरे तर उहाँले केही जवाफ दिनुभएन। 10 त्यसैबेला मुख्य पूजाहारीहरू र धार्मिक व्यवस्थाका शिक्षकहरू खडा भएर उग्र हुँदै बडो जोडतोडको साथमा येशूलाई दोष लगाए। 11 त्यसपछि हेरोदले आफ्ना सिपाहीहरूसहित उहाँको अपमान र गिल्ला गरेपछि उहाँलाई राजकीय पोशाक पहिराएर फेरि पिलातसकहाँ पठाइदिए। 12 पिलातस र हेरोदको आपसमा वैरभाव थियो, तर त्यस दिनदेखि तिनीहरू मित्र भए। 13 तब पिलातसले मुख्य पूजाहारीहरू, यहूदी अगुवाहरू र अरु मानिसहरूलाई भेला हुन बोलाए, 14 अनि उनले तिनीहरूलाई भने, ‘‘तिमीहरूले उसलाई मानिसहरू भड्काएको दोष लगाएर मकहाँ ल्यायौ। मैले तिमीहरूकै सामुन्नेमा यस विषयमा राम्ररी जाँचबुझ गरेँ तर हेर, तिमीहरूले लगाएको कुनै पनि दोष मैले उसमा पाइनँ। 15 न त हेरोदले उसमा कुनै दोष पाउनुभयो, किनकि उहाँले उसलाई हामीकहाँ नै फिर्ता पठाउनुभयो। उसले मृत्युदण्ड पाउने लायकको कुनै कार्य गरेको छैन। 16 यसकारण म उसलाई सजाय दिएर छोडिदिन्छु।’’ 17 चाडको उपलक्षयमा तिनीहरूका निम्ति पिलातसले एउटा कैदी छोडिदिनुपर्थ्यो। 18 तब एक्कासि भीडले चर्को स्वरमा चिच्च्याउँदै भने, ‘‘त्यसलाई हटाउनुहोस् र हाम्रोनिम्ति बारब्बालाई छोडिदिनुहोस्।’’ 19 त्यसबेला बारब्बा राजद्रोहको आरोप र हत्याको अभियोगमा झ्यालखानमा थुनिएको थियो। 20 येशूलाई छोडिदिने इच्छा गरेर पिलातसले तिनीहरूलाई फेरि सम्बोधन गरे। 21 तर तिनीहरू यसो भन्दै एकोहोरो कराइरहे, ‘‘त्यसलाई क्रूसमा टाँग्नुहोस्, त्यसलाई क्रूसमा टाँग्नुहोस्।’’ 22 तेस्रोपल्ट पनि तिनले सोधे, ‘‘किन? उसले त्यस्तो के अपराध गरेको छ र? मैले उसलाई मृत्युदण्ड दिनुपर्ने कुनै कारण नै देखिनँ। त्यसकारण म उसलाई कोर्रा लगाएर छाडिदिन्छु।’’ 23 तर भीडले चर्को स्वरले एकोहोरो कराउँदै ‘येशूलाई क्रूसमा टाँग्नैपर्छ’ भनी माग गरिरह्यो र तिनीहरूकै जित भयो। 24 त्यसकारण पिलातसले ती मानिसहरूको मागअनुसार फैसला सुनाए। 25 तिनीहरूले आग्रह गरेअनुसार हत्या र राजद्रोहको अभियोगमा थुनिएको बारब्बालाई तिनले छोडिदिए र येशूलाई तिनीहरूको इच्छामा सुम्पिदिए। 26 तिनीहरूले येशूलाई क्रूसमा टाँग्न लाँदै गर्दा कुरेनीको सिमोनलाई गाउँबाट आउँदै गरेको भेटेर उहाँको क्रूस बोक्न कर लगाए। 27 धेरै ठूलो भीड पछिपछि लस्करै लागेको थियो, त्यस भीडमा येशूको निम्ति शोक र विलाप गरिरहेका स्त्रीहरू पनि थिए। 28 तर येशूले तिनीहरूतिर फर्केर भन्नुभयो, ‘‘ए यरूशलेमका छोरीहरू हो, मेरोनिम्ति विलाप नगर, बरु आफ्नो र आफ्नै छोराछोरीहरूको निम्ति विलाप गर, 29 किनभने हेर, त्यस्तो दिन आउनेछ, जब मानिसहरूले भन्नेछन्, ‘धन्य बाँझी स्त्रीहरू, गर्भधारण नगर्ने कोखहरू र ती जसले स्तन चुसाएनन्।’ 30 त्यसबेला मानिसहरूले भन्नेछन्, ‘पहाडहरू हामीमाथि खसिदेऊ र डाँडाहरू हामीलाई पुरिदेऊ।’ 31 किनकि हरियो रूखलाई त यिनीहरूले यसो गर्छन् भने झन् सुकेकोलाई के गर्लान्?’’ 32 अनि अरु दुई जना अपराधीहरूलाई पनि उहाँसँगै मृत्युदण्ड दिन लगिँदै थियो। 33 जब तिनीहरू खप्परे भन्ने ठाउँमा आइपुगे, तब तिनीहरूले उहाँलाई क्रूसमा टाँगे र ती दुई अपराधीहरूमध्ये एउटालाई उहाँको दाहिनेतिर र अर्कोलाई देब्रेतिर क्रूसमा टाँगे। 34 येशूले भन्नुभयो, ‘‘हे पिता, यिनीहरूलाई क्षमा गर्नुहोस्, किनभने यिनीहरूले के गरिरहेका छन् सो जान्दैनन्।’’ अनि सिपाहीहरूले उहाँको वस्त्रलाई चिट्ठा हालेर भाग लगाए। 35 मानिसहरूले उभिएर हेरिरहेका थिए। अनि शासकहरूले यसो भन्दै उहाँको गिल्ला गरे, ‘‘यसले अरुलाई त बचायो, यदि यो साँच्चै परमेश्वरद्वारा चुनिएको ख्रीष्ट हो भने आफैलाई बचाओस्।’’ 36 सिपाहीहरूले पनि उहाँलाई अमिलिएको अङ्गुरमद्य पिउन दिँदै उहाँको गिल्ला गरे। 37 तिनीहरूले उहाँलाई भने, ‘‘यदि तँ यहूदीहरूको राजा होस् भने आफैलाई बचा त !’’ 38 उहाँको शिरमास्तिर ग्रीक, ल्याटिन र हिब्रू अक्षरमा यस्तो लेखिएको दोषपत्र टाँसिदिए, ‘‘यो यहूदीहरूको राजा हो।’’ 39 उहाँको नजिकै क्रूसमा टाँगिएको एउटा अपराधीले उहाँको निन्दा गर्दै भन्यो, ‘‘तँ ख्रीष्ट होस् भने, आफैलाई र हामीलाई पनि बचा।’’ 40 तर अर्कोले त्यसलाई हपार्दै भन्यो, ‘‘तँ पनि त्यही दण्डमा परेको छस् र पनि परमेश्वरको डर मान्दैनस्? 41 किनभने हामीले त आफ्नो कामअनुसारको फल पाइरहेका छौं, तर उहाँले त कुनै अनुचित काम गर्नुभएको छैन।’’ 42 त्यसपछि उसले भन्यो, ‘‘येशू, तपाईं आफ्नो राज्यमा आउनुहुँदा मलाई पनि सम्झिनुहोस्।’’ 43 येशूले त्यसलाई जवाफ दिनुभयो, ‘‘साँच्चै म तिमीलाई भन्दछु, तिमी आजै मसित स्वर्गलोकमा हुनेछौ।’’ 44 मध्यान्हको समयदेखि लिएर दिउँसोको तीन बजेसम्म सारा देशभरि अन्धकार भयो। 45 सूर्य अँध्यारो भयो, त्यसैबेला मन्दिरको पर्दा च्यातिएर दुई फ्याक भयो। 46 अनि येशू ठूलो स्वरले कराउनुभयो, ‘‘हे पिता, म मेरो आत्मा तपाईंको हातमा सुम्पिन्छु।’’ यति भनेर उहाँले आफ्नो प्राण त्याग्नुभयो। 47 जब कप्तानले त्यो देख्यो, तब उसले परमेश्वरको प्रशंसा गर्दै भन्यो, ‘‘निश्चय यो मानिस धर्मी रहेछ।’’ 48 रमिता हेर्न आएका अरु मानिसहरू पनि त्यो घटना देखेर विलाप गरेर छाती पिट्दै फर्के। 49 तर उहाँका आफन्तहरू र गालीलबाट उहाँको पछि लागेका स्त्रीहरू ती कुरा हेर्दै उभिरहे। 50 योसेफ नाउँका एक जना असल र धर्मी व्यक्ति थिए। तिनी यहूदी महासभाका एक सदस्य थिए। 51 तिनीहरूको सल्लाह र कार्यमा तिनी सहमत थिएनन्। तिनी यहूदीहरूको शहर अरिमाथियाबाट आएका थिए। तिनी आफैले पनि परमेश्वरको राज्यको बाटो हेरिरहेका थिए। 52 तिनी पिलातसकहाँ गए र तिनले ‘येशूको लाश पाऊँ’ भनी निवेदन गरे। 53 त्यसपछि तिनले क्रूसबाट येशूको लाश उतारे र लामो सुतीको कपडाले बेह्रे, अनि लगेर ठूलो चट्टान कपेर बनाइएको चिहानमा राखे, जहाँ पहिले कुनै लाश राखिएको थिएन। 54 यो तयारीको दिन थियो र विश्राम-दिन शुरु हुनलागेको थियो। 55 अब गालीलबाट उहाँको साथमा आएका स्त्रीहरू पछि-पछि लागे अनि त्यो चिहान र उहाँको लाश कसरी राखियो, सो हेरे। 56 अनि तिनीहरूले फर्केर सुगन्धित मसला र अत्तर तयार पारे अनि व्यवस्थाअनुसार विश्राम-दिनमा विश्राम गरे। 241 अब हप्ताको पहिलो दिनको झिसमिसे उज्यालोमा, आफूले तयार पारेको सुगन्धित मसला लिएर केही स्त्रीहरू चिहानमा आइपुगे,2 तब तिनीहरूले चिहानको मुखमा राखिएको ढुङ्गो गुडाइएको भेट्टाए 3 अनि तिनीहरू भित्र पसे तर त्यहाँ प्रभु येशूको मृत-शरीर भेट्टाएनन्। 4 तिनीहरू अलमल्ल परिरहेको बेला चहकिला वस्त्र पहिरिएका दुई जना मानिसहरू छेउमा उभिरहेका देखे। 5 ती स्त्रीहरू भयभीत भई आफ्नो अनुहार भुइँतिर झुकाउँदा ती मानिसहरूले तिनीहरूलाई भने, ‘‘तिमीहरू जीवित व्यक्तिलाई किन मरेकाहरूको बीचमा खोज्छौ? 6 उहाँ यहाँ हुनुहुन्न। तर उहाँ जीवित भई उठ्नुभएको छ। गालीलमा हुँदा तिमीहरूलाई उहाँले के भन्नुभएको थियो, सो सम्झ त, 7 ‘मानिसको पुत्र पापी मानिसहरूका हातमा सुम्पिनु, क्रूसमा टाँगिनु र तेस्रो दिनमा मृतकबाट पुनर्जीवित भई उठाइनुपर्छ’।’’ 8 तब उहाँले भन्नुभएका वचन तिनीहरूले सम्झे। 9 तिनीहरू चिहानबाट फर्के अनि उहाँका एघार चेलाहरू र अरु सबैलाई त्यो खबर दिए। 10 चिहानमा जाने ती स्त्रीहरूमा मरियम मग्दलिनी, योअन्ना, याकूबकी आमा मरियम र अरु थुप्रै स्त्रीहरू थिए। तिनीहरूले प्रेरितहरूलाई यी सबै कुरा बताए। 11 तर तिनीहरूले यी कुरालाई व्यर्थका गफ ठाने र पत्याएनन्। 12 पत्रुस उठेर चिहानसम्म दगुरेर गए। त्यहाँ पुगेर निहुरेर हेर्दा कात्रो मात्र देखे र के भएको हो भन्ने कुरामा अचम्म मान्दै फर्के। 13 त्यही दिन तिनीहरूमध्ये दुई जना यरूशलेमदेखि लगभग आठ किलोमिटर टाढाको इम्माउस भन्ने गाउँतिर गइरहेका थिए। 14 यसरी घटेका सबै घटनाहरूको विषयमा तिनीहरूले आपसमा कुराकानी गरिरहेका थिए। 15 त्यस विषयमा आपसमा विचारविमर्श गरिरहेको बेला येशू स्वयम् तिनीहरूको नजिक आउनुभयो र तिनीहरू सँगसँगै हिँड्नुभयो। 16 तर उहाँ को हुनुहुन्छ भनी तिनीहरूले चिनेनन्, किनकि तिनीहरूका आँखा उहाँलाई चिन्न नसक्ने तुल्याइएका थिए। 17 उहाँले तिनीहरूलाई सोध्नुभयो, ‘‘तिमीहरू यसरी हिँड्दै आपसमा के कुरा गरिरहेका छौ ? र उदास पनि देखिन्छौ?’’ 18 तिनीहरूमध्ये क्लेओपासले जवाफ दिँदै भने, ‘‘के तपाईं यरूशलेममा परदेशी हुनुहुन्छ, यी दिनहरूमा त्यहाँ घटेका कुरा तपाईंलाई थाहा छैन?’’ 19 येशूले तिनीहरूलाई सोध्नुभयो, ‘‘के कुरा ?’’ तिनीहरूले उहाँलाई जवाफ दिए, ‘‘नासरतका येशूको विषयमा, जो परमेश्वर र सबै मानिसका सामु वचन र कर्ममा सामर्थी अगमवक्ता हुनुहुन्थ्यो। 20 मुख्य पूजाहारीहरू र हाम्रा शासकहरूले उहाँलाई मृत्युदण्डको निम्ति सुम्पिदिए र उहाँलाई क्रूसमा टाँगे। 21 इस्राएलको उद्धार गर्ने उहाँ नै हुनुहुन्छ भन्ने कुरामा हामी विश्वस्त थियौं, यी कुराहरूबाहेक यो घटना घटेको आज तेस्रो दिन हुँदैछ। 22 फेरि हाम्रो सङ्गतका केही स्त्रीहरू, जो झिसमिसे उज्यालोमा चिहानमा गएका थिए, तिनीहरूले त हामीलाई झन् छक्कै पारे। 23 किनकि तिनीहरूले उहाँको शरीर भेट्टाएनन्। तब तिनीहरू यसो भन्दै आए, ‘हामीले स्वर्गदूतहरूका दर्शन देख्यौं, जसले उहाँलाई जीवित हुनुहुन्छ’ भने । 24 अनि त्यसपछि हामीहरूमध्येका केही व्यक्तिहरू चिहानमा गए र तिनीहरूले पनि, ती स्त्रीहरूले जस्तो भनेका थिए, ठीक त्यस्तै भेटे। तर उहाँलाई तिनीहरूले देखेनन्।’’ 25 अनि येशूले तिनीहरूलाई भन्नुभयो, ‘‘हे अबुझ मानिस हो, अगमवक्ताहरूले भनेका कुरामा विश्वास गर्न तिमीहरूलाई कस्तो गाह्रो भइरहेको छ। 26 के ख्रीष्टले आफ्नो महिमामा प्रवेश गर्नुभन्दा पहिले यी सबै कष्ट भोग्नु आवश्यक थिएन र?’’ 27 अनि मोशादेखि शुरु गरेर सबै अगमवक्ताहरूसम्म सम्पूर्ण धर्मशास्त्रमा आफ्नो विषयमा लेखिएका सबै कुराको अर्थ उहाँले तिनीहरूलाईखोलिदिनुभयो। 28 तिनीहरू आफू जानलागेको गाउँ नजिकै पुग्दा उहाँले अझै अघि जानलागेको झैँ भान पार्नुभयो। 29 तर तिनीहरूले उहाँलाई यसो भनेर विन्ती गरे, ‘‘हामीहरूसितै बास बस्नुहोस् किनकि साँझ पर्न लाग्यो र दिन धेरै ढल्किसकेको छ।’’ अनि उहाँ तिनीहरूसँग बास बस्नलाई घरभित्र पस्नुभयो। 30 उहाँहरू भोजन गर्न बस्नुहुँदा येशूले रोटी लिएर धन्यवाद दिनुभयो र त्यो भाँचेर तिनीहरूलाई दिनुभयो। 31 तिनीहरूका आँखा अचानक खुले र तिनीहरूले उहाँलाई चिने। अनि त्यसैबेला उहाँ तिनीहरूका दृष्टिबाट अलप हुनुभयो। 32 तिनीहरूले आपसमा भने, ‘‘उहाँ हामीसँग बाटोमा बातचित गर्नुहुँदा र हामीलाई धर्मशास्त्रको अर्थ खोलिदिनुहुँदा के हाम्रो हृदय प्रज्वलित भएको थिएन र?’’ 33 तिनीहरू त्यति नै बेला उठेर यरूशलेममा फर्के अनि एघार चेला र तिनीहरूसँग जम्मा भएकाहरूलाई भेटे 34 अनि भने, ‘‘प्रभु साँच्चै पुनर्जीवित हुनुभएको छ र उहाँ पत्रुसकहाँ देखा पर्नुभएको छ।’’ 35 त्यसपछि तिनीहरूले बाटोमा भएका कुरा र रोटी भाँच्दाखेरि कसरी तिनीहरूले उहाँलाई चिने, सो बताइदिए। 36 तिनीहरूले यी कुरा भन्दै गर्दा येशू आफै उनीहरूका बीचमा खडा हुनुभयो र भन्नुभयो,‘‘तिमीहरूमा शान्ति होस्।’’ 37 तिनीहरू तर्से र डरले आत्तिए अनि ‘हामीले त भूत देखिरहेका छौं’ भन्ने सोचे। 38 उहाँले तिनीहरूलाई भन्नुभयो, ‘‘तिमीहरू किन विचलित हुन्छौ? अनि तिमीहरूका मनमा किन शङ्का उत्पन्न हुन्छ? 39 मेरा हात र खुट्टाहरू हेर। म नै हुँ, मलाई छोएर हेर, किनभने भूतको हड्डी र मासु हुँदैन तर तिमीहरू देख्छौ, मेरा त छन्।’’ 40 उहाँले बोल्दै गर्दा तिनीहरूलाई आफ्ना हातखुट्टाहरू पनि देखाउनुभयो। 41 जब आनन्द र आश्चर्यले गर्दा तिनीहरूले अझै पनि विश्वास गरेनन्, तब उहाँले तिनीहरूलाई सोध्नुभयो, ‘‘के तिमीहरूसँग यहाँ केही खानेकुरा छ ?’’ 42 तिनीहरूले उहाँलाई पकाएको माछा खान दिए। 43 अनि उहाँले त्यो लिएर तिनीहरूकै सामुन्ने खानुभयो। 44 तब उहाँले भन्नुभयो, ‘‘पहिले म तिमीहरूको साथमा हुँदा मोशाको व्यवस्था, अगमवक्ताहरू र भजनसंग्रहमा मेरो बारेमा लेखिएका सबै कुरा पूरा हुनुपर्छ भनी भनेकै थिएँ।’’ 45 त्यसपछि तिनीहरूले धर्मशास्त्र बुझून् भनेर उहाँले तिनीहरूको समझ खोलिदिनुभयो। 46 अनि उहाँले भन्नुभयो, ‘‘ख्रीष्टले कष्ट भोग्नुपर्छ र त्यसको तीन दिनमा मृतकबाट जीवित भई उठ्नुपर्ने कुरा लेखिएको छ। 47 अनि यरूशलेमबाट शुरु गरेर सबै जातिहरूलाई उहाँको नाउँमा पापमोचनको निम्ति पश्चात्तापको प्रचार गरिनुपर्छ। 48 तिमीहरू यी सबै कुराका साक्षी हौ। 49 हेर, म मेरा पिताको प्रतिज्ञा तिमीहरूकहाँ पठाउँछु तर माथिबाट शक्ति प्राप्त नगरूञ्जेल तिमीहरू यही शहरमा बसिरहो।’’ 50 त्यसपछि येशूले तिनीहरूलाई बेथानीमा लैजानुभयो र स्वर्गतिर हात उचाली उहाँले तिनीहरूलाई आशिष् दिनुभयो। 51 त्यसपछि उहाँले यसरी आशिष् दिँदै गर्नुहुँदा उहाँ तिनीहरूको बीचबाट उचालिनुभयो र स्वर्गतिर लगिनुभयो। 52 तिनीहरू उहाँको आराधना गर्दै बडो आनन्दले यरूशलेमतिर फर्के। 53 अनि तिनीहरूले मन्दिरमा परमेश्वरको प्रशंसा गर्दै बसे। आमेन्। |