JUDE

यहूदा


Chapter 1

1 यहूदा, येशू ख्रीष्टका कमारा र याकूबका भाइबाट, परमेश्वर पितामा बोलाइएका र ख्रीष्ट येशूमा प्रिय र सुरक्षित राखिएकाहरूलाई:

2 तिमीहरू कृपा, शान्ति र प्रेममा प्रशस्त हुँदै जाओ।

3 प्रियहरू हो, जब मैले तिमीहरूलाई हाम्रो साझा मुक्तिको विषयमा लेख्‍‌नलाई हरप्रकारको प्रयत्‍‌न गरिरहेथेँ, तब पवित्रजनलाई एकैचोटि सदाका लागि सुम्पिएको विश्वासको निम्ति तिमीहरूले यत्‍‌नपूर्वक सङ्घर्ष गर्नुपर्छ भनी उत्साह दिँदै तिमीहरूलाई लेख्‍‌न मलाई खाँचो पर्‍यो।

4 किनकि गुप्तरूपले प्रवेश गरेका कति जना भक्तिहीन मानिसहरूले हाम्रा परमेश्वरका अनुग्रहलाई कामुकतामा परिवर्तन गर्छन् र हाम्रा एकमात्र मालिक, प्रभु येशू ख्रीष्टलाई इन्कार गर्छन्। तिनीहरू अघिदेखि नै दण्डको भागीदार ठहरिएका छन्।

5 तिमीहरूले यी सबै कुरा एकपल्ट जानेकै थियौ, तापनि अहिले म तिमीहरूलाई स्मरण गराउन चाहन्छु कि परमप्रभुले मिश्रदेशबाट बचाएर ल्याउनुभएका मानिसहरूमध्ये विश्वास नगर्नेहरूलाई पछिबाट नाश पार्नुभयो।

6 अनि आफ्‍‌नो मर्यादामा नरहने तर आफ्‍‌नो उचित वासस्थान त्याग्‍‌ने स्वर्गदूतहरूलाई उहाँले त्यस महान् दिनको न्यायका निम्ति अन्धकारमुनि सदाकालका साङ्लाहरूमा राख्‍‌नुभएको छ।

7 जसरी सदोम र गमोरा अनि त्यसका वरिपरिका शहरहरू जसले आफैलाई पूर्णरूपले व्यभिचारका निम्ति सुम्पिदिए र अर्कै शरीरको पछि लागे, उनीहरू अनन्त आगोको दण्डभोगको उदाहरण बनेका छन्।

8 त्यसैगरी यी सपना देख्‍‌नेहरू आफ्‍‌ना शरीरलाई अशुद्ध पार्छन्, अख्तियारलाई तुच्छ ठान्छन् र स्वर्गका प्राणीहरूको निन्दा गर्छन्।

9 तर प्रधान दूत मिखाएलले मोशाको लाशको विषयमा शैतानसँग विवाद गर्दा त्यसमाथि निन्दित दोष लाउने साहस नगरी, ‘तँलाई प्रभुले हप्काउनुहुन्छ’ भनेका थिए।

10 तर यिनीहरू आफूले नबुझेका कुराको निन्दा गर्छन् र विवेकहीन पशुहरूले झैँ स्वाभाविक ज्ञानले जान्‍‌ने कुराद्वारा नै यिनीहरू नाश हुन्छन्।

11 तिनीहरूलाई धिक्कार छ ! किनकि तिनीहरू कयिनको चालमा हिँड्छन्, स्वार्थको निम्ति बालामको गल्तीको पछि दगुर्छन् र कोरहको विद्रोहमा जस्तै नष्ट हुन्छन्।

12 तिमीहरूका प्रीति-भोजमा यिनीहरू कलङ्क हुन्। किनकि यिनीहरू आफ्‍‌नै मात्र ख्याल राखी बिनासङ्कोच धन्दै नमानी खान्छन् र पिउँछन्। तिनीहरू बतासले उडाइलैजाने पानीबिनाको बादलजस्ता छन्, हिउँदका फलहीन, दुईपल्ट मरिसकेका र जरैसमेत उखेलिएका रूखजस्ता छन्।

13 यिनीहरू त आफ्‍‌नै शर्मको फीँज काड्‍‌ने समुद्रको उर्लिंदो छालजस्तै हुन्, डुलुवा ताराहरू, जसका निम्ति घोर अन्धकार सधैँको लागि साँचिराखिएको छ।

14 यिनीहरूकै निम्ति आदमदेखि सात पुस्तापछिका हनोकले यस्तो अगमवाणी गरेका थिए, ‘‘हेर परमप्रभु आफ्‍‌ना असङ्ख्य पवित्रजनका साथमा आउनुहुन्छ,

15 सबैको न्याय गर्न, सबै मानिसहरूलाई दण्ड दिन, जसले अधार्मिक रीतिले भक्तिहीन कार्यहरू गरेका छन् र जसले उहाँको विरुद्धमा कठोर कुरा बोलेका छन्, ती भक्तिहीन मानिसहरूलाई दण्ड दिन आउनुहुन्छ।’’

16 गनगनाउनेहरू, गुनासो गर्नेहरू, आफ्‍‌नै अभिलाषाको पछि लाग्‍‌नेहरू, अहङ्कारी कुरा गर्नेहरू, लाभको निम्ति मानिसहरूको चापलुसी गर्नेहरू, यिनीहरू नै हुन्।

17 तर प्रिय हो, तिमीहरूले हाम्रा प्रभु येशू ख्रीष्टमा प्रेरितहरूद्वारा पहिल्यै भनिएका वचन स्मरण गर।

18 तिनीहरूले यसो भनेका थिए,‘‘अन्तिम समयमा आफ्‍‌नै भक्तिहीन अभिलाषाको पछि लागेर गिल्ला गर्नेहरू हुनेछन्।’’

19 विभाजन गराउने र सांसारिक मन भएका, अनि पवित्र आत्मारहित मानिसहरू यिनै हुन्।

20 तर हे प्रिय हो, तिमीहरू आफ्‍‌नो अति पवित्र विश्वासमा उन्‍‌नति गर्दै, पवित्र आत्मामा प्रार्थना गर्दै

21 अनन्त जीवनको निम्ति हाम्रा प्रभु येशू ख्रीष्टको कृपाको आशा राखेर, तिमीहरू आफैलाई परमेश्वरको प्रेममा राखिछोड।

22 अनि शङ्का गर्नेहरूमाथि दया गर ।

23 अरुहरूलाई आगोबाट तानेर बचाओ, शरीरबाट दूषित भएका वस्त्रलाई घृणा गर्दै, कसै-कसैमाथि डरसहित दया देखाओ।

24 अब उहाँ, जसले तिमीहरूलाई लड्‍‌नबाट रक्षा गर्न र उहाँको महिमाको सामुन्‍‌ने तिमीहरूलाई अति आनन्दसाथ निष्कलङ्क खडा गराउन सक्‍‌नुहुन्छ,

25 एकमात्र परमेश्वर र मुक्तिदातालाई, हाम्रा प्रभु येशू ख्रीष्टद्वारा महिमा, प्रभुत्व, पराक्रम र शक्ति आज अनि सदासर्वदा भइरहोस्। आमेन्।



AMAZING GRACE BIBLE INSTITUTE