JOHN

युहन्ना


Chapter 1

1 सृष्टिभन्दा अघिदेखि नै वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो र उहाँ परमेश्वर नै हुनुहुन्थ्यो।

2 सृष्टिभन्दा अघिदेखि नै उहाँ परमेश्वरसँग हुनुहुन्थ्यो।

3 सबै थोक उहाँद्वारा नै अस्तित्वमा आए। बनिएका कुनै पनि थोक उहाँबिना हुनआएन।

4 उहाँमा जीवन थियो र त्यो जीवन नै मानिसहरूको ज्योति थियो।

5 ज्योति अन्धकारमा चम्किन्छ र अन्धकारले यसलाई बुझ्‍‌न सकेन।

6 परमेश्वरबाट पठाइएका एक जना मानिस आए, जसको नाउँ यूहन्‍‌ना थियो।

7 उनीद्वारा सबै मानिसहरूले विश्वास गरून् भनेर उनी त्यस ज्योतिको बारेमा साक्षी दिन गवाही बनेर आए।

8 उनी स्वयम् नै त्यो ज्योति थिएनन् तर त्यो ज्योतिको साक्षी हुन मात्र पठाइएका थिए।

9 प्रत्येक मानिसलाई प्रज्वलित पार्ने साँचो ज्योति संसारमा आउँदै हुनुहुन्थ्यो।

10 उहाँ संसारमा हुनुहुन्थ्यो, संसार उहाँद्वारा बनिएको थियो तर त्यसले उहाँलाई चिनेन ।

11 उहाँ आफ्‍‌नै मानिसहरूकहाँ आउनुभयो र उहाँका आफ्‍‌नै मानिसहरूले उहाँलाई स्वीकार गरेनन्।

12 तर ज-जसले उहाँलाई स्वीकार गरे र उहाँको नाउँमा विश्वास गरे, तिनीहरूलाई उहाँले परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो।

13 जो न त रगतबाट, न त शारीरिक इच्छाबाट, न मानिसको इच्छाबाट तर परमेश्वरबाट जन्मेका हुन्।

14 वचन देहधारी हुनुभयो अनि अनुग्रह र सत्यताले पूर्ण भई हाम्रो बीचमा बास गर्नुभयो। हामीले उहाँको महिमा देख्यौं, जुन महिमा पिताको एकलौते पुत्रको जस्तो थियो।

15 यूहन्‍‌नाले उहाँको विषयमा साक्षी दिँदै घोषणा गरे, ‘‘उहाँ, त्यही व्यक्ति हुनुहुन्छ, जसको बारेमा मैले भनेको थिएँ: ‘मपछि आउनुहुने मभन्दा उच्च हुनुहुन्छ, किनकि उहाँ मभन्दा अघिबाटै हुनुहुन्थ्यो’।’’

16 उहाँको परिपूर्णताबाट हामी सबैले अनुग्रहमाथि अनुग्रह पायौं,

17 किनभने व्यवस्था मोशाद्वारा दिइयो अनि अनुग्रह र सत्यता ख्रीष्ट येशूद्वारा आयो।

18 परमेश्वरलाई कसैले कहिल्यै देखेको छैन। तर उहाँको एकलौते पुत्र, जो पिताको साथमा हुनुहुन्छ, उहाँले नै पितालाई प्रकट गर्नुभएको छ।

19 यरूशलेमबाट यहूदीहरूले केही पूजाहारी र लेवीहरूलाई यूहन्‍‌नाकहाँ ‘‘तिमी को हौ?’’ भनी सोध्‍‌न पठाए। तब यूहन्‍‌नाले दिएको गवाही यो थियो।

20 यूहन्‍‌नाले तिनीहरूको प्रश्‍‌नलाई इन्कार गर्दै भने, ‘‘म ख्रीष्ट होइनँ।’’

21 तिनीहरूले सोधे, ‘‘त्यसो भए, तिमी को हौ त? के तिमी एलिया हौ त?’’ उनले जवाफ दिए, ‘‘होइनँ।’’ तिनीहरूले सोधे, ‘‘के तिमी अगमवक्ता हौ?’’ उनले जवाफ दिए, ‘‘होइनँ।’’

22 तिनीहरूले अन्तमा उनलाई भने,‘‘त्यसो भए तिमी को हौ त ? हामीलाई जवाफ देऊ र हामी गएर हामीलाई पठाउनेहरूलाई भन्‍‌न सकौं। तिमी आफ्‍‌नो विषयमा के भन्छौ?’’

23 उनले भने, ‘‘यशैया अगमवक्ताले भनेझैँ, ‘परमप्रभुको बाटो सोझो बनाओ’ भन्दै म उजाड-स्थानमा कराउने एउटा आवाज हुँ।’’

24 अब फरिसीहरूद्वारा पठाइएकाहरूले उनलाई सोधे,

25 ‘‘यदि तिमी ख्रीष्ट होइनौ, एलिया वा अगमवक्ता पनि होइनौ भने तिमीले किन बप्तिस्मा दिन्छौ त?’’

26 यूहन्‍‌नाले तिनीहरूलाई भने, ‘‘म त तिमीहरूलाई पानीले बप्तिस्मा दिन्छु तर यही भीडमा एक जना खडा हुनुहुन्छ, जसलाई तिमीहरू चिन्दैनौ।

27 मपछि आउनुहुने व्यक्ति उहाँ नै हुनुहुन्छ, जसका जुत्ताको फित्ता खोल्‍‌ने योग्यको पनि म छैन।’’

28 यी कुरा बेथानीको पूर्वपट्टि यर्दन नदीमा भएका थिए, जहाँ यूहन्‍‌नाले मानिसहरूलाई बप्तिस्मा दिइरहेका थिए।

29 त्यसको भोलिपल्ट यूहन्‍‌नाले येशूलाई आफूतिर आउँदै गर्नुभएको देखे र उनले भने, ‘‘हेर, संसारको पाप उठाउने परमेश्वरको थुमा !

30 उहाँ त्यही व्यक्ति हुनुहुन्छ, जसको बारेमा मैले भनेको थिएँ, ‘मपछि आउनुहुने मभन्दा उच्च हुनुहुन्छ, किनकि उहाँ मभन्दा अघिबाटै हुनुहुन्थ्यो।’

31 म आफैले उहाँलाई चिनेको थिइनँ तर इस्राएलमा उहाँ प्रकट होऊन् भनेर म पानीले बप्तिस्मा दिँदै आएँ।’’

32 फेरि यूहन्‍‌नाले भने, ‘‘मैले पवित्र आत्मालाई ढुकुरको रूपमा स्वर्गबाट ओर्लिएर उहाँमाथि बस्‍‌नुभएको देखेँ।

33 म आफैले उहाँलाई चिनेको थिइनँ तर जसले मलाई पानीले बप्तिस्मा दिनू भनी पठाउनुभयो, उहाँले नै भन्‍‌नुभयो, ‘आत्मा जसमाथि ओर्लिएर बसेको तिमीले देख्‍‌नेछौ, पवित्र आत्माले बप्तिस्मा दिनुहुने उहाँ नै हुनुहुन्छ।’

34 मैले यो देखेँ र त्यसैको साक्षी म छु, उहाँ नै परमेश्वरका पुत्र हुनुहुन्छ।’’

35 त्यसको भोलिपल्ट पनि यूहन्‍‌ना आफ्‍‌ना दुई जना चेलाहरूसँग त्यहाँ उभिरहेका थिए।

36 येशू त्यहाँबाट जाँदै गर्नुभएको देखेर उनले भने,‘‘हेर, परमेश्वरका थुमा !’’

37 उनले भनेका कुरा ती दुवैले सुने र येशूको पछि-पछि गए।

38 येशूले फर्केर हेर्नुभयो र तिनीहरूलाई आफ्‍‌नो पछि-पछि आएको देखेर सोध्‍‌नुभयो, ‘‘तिमीहरू के चाहन्छौ?’’ तिनीहरूले भने, ‘‘रब्बी (जसको अर्थ हो, गुरुज्यू), तपाईं कहाँ बस्‍‌नुहुन्छ?’’

39 उहाँले भन्‍‌नुभयो, ‘‘आओ र तिमीले देख्‍‌नेछौ ।’’ तिनीहरू गए र उहाँ बस्‍‌नुभएको ठाउँ देखे। त्यस दिन तिनीहरूले उहाँसँगै बिताए, त्यसबेला प्राय: चार बजिसकेको थियो।

40 यूहन्‍‌नाको कुरा सुनेर येशूको पछि लाग्‍‌ने ती दुई जनामध्ये एक सिमोन पत्रुसका दाजु, अन्द्रियास थिए।

41 तिनले सबैभन्दा पहिले आफ्‍‌नो भाइ सिमोनलाई भेटे र भने, ‘‘हामीले मसीह (जसको अर्थ हो, ख्रीष्ट) लाई भेट्टायौं।’’

42 त्यसपछि तिनले सिमोनलाई येशूकहाँ ल्याए। येशूले तिनलाई नियालेर हेर्नुभयो र भन्‍‌नुभयो, ‘‘तिमी यूहन्‍‌नाका छोरा सिमोन हौ, तिमीलाई केफास(जसको अर्थ हो, चट्टान) भनिनेछ।’’

43 त्यसको भोलिपल्ट येशूले गालील जाने निर्णय गर्नुभयो। उहाँले फिलिपलाई भेट्‍‌नुभयो र भन्‍‌नुभयो, ‘‘मेरोपछि लाग।’’

44 फिलिप पनि पत्रुस र अन्द्रियासकै गाउँ बेथसेदाका थिए।

45 फिलिपले नथानेललाई भेटे र तिनलाई भने, ‘‘मोशा र अगमवक्ताहरूले जसको विषयमा लेखेका थिए, हामीले उहाँलाई भेट‍यौं। उहाँ यूसुफको छोरा नासरतको येशू हुनुहुन्छ।’’

46 नथानेलले छक्क पर्दैै भने,‘‘नासरत ! के नासरतबाट पनि कुनै राम्रो कुरा आउँछ र ?’’ फिलिपले भने, ‘‘आएर हेर।’’

47 नथानेललाई आफूतिर आइरहेको देखेर येशूले भन्‍‌नुभयो, ‘‘एक जना छलकपट नभएको सच्चा इस्राएलीलाई हेर !’’

48 नथानेलले येशूलाई सोधे,‘‘तपाईंलाई मेरो विषयमा कसरी थाहा भयो?’’ अनि येशूले जवाफ दिनुभयो,‘‘फिलिपले बोलाउनुभन्दा अघि मैले तिमीलाई नेभारोको फेदमा बसिरहेको देखेँ।’’

49 नथानेलले जवाफ दिँदै भने, ‘‘गुरुज्यू, तपाईं परमेश्वरका पुत्र, इस्राएलका राजा हुनुहुन्छ।’’

50 येशूले भन्‍‌नुभयो,‘‘के मैले तिमीलाई नेभारोको फेदमा देखेँ भनेकोले नै तिमीले विश्वास गरेका हौ ? तिमीले योभन्दा पनि ठूला कुरा देख्‍‌नेछौ।’’

51 येशूले भन्‍‌नुभयो, ‘‘साँच्चै, म तिमीलाई भन्दछु, तिमीहरूले स्वर्ग उघ्रिएको र परमेश्वरका दूतहरूलाई मानिसको पुत्रमाथि उक्लँदै र ओर्लंदै गरेका देख्‍‌नेछौ।’’




2

1 तेस्रो दिन गालीलको कानानगरमा एउटा विवाह थियो। येशूकी आमा त्यहाँ थिइन्।

2 येशू र उहाँका चेलाहरू पनि त्यस विवाहमा निम्त्याइएका थिए।

3 अङ्गुरमद्य सिद्धिएपछि येशूकी आमाले उहाँलाई भनिन्, ‘‘तिनीहरूसित अङ्गुरमद्य सिद्धिएछ।’’

4 येशूले तिनलाई भन्‍‌नुभयो, ‘‘हे नारी, किन मलाई समावेश गर्नुहुन्छ ? मेरो समय अझै आएको छैन ।’’

5 तर उहाँकी आमाले नोकरहरूलाई भनिन्, ‘‘उनले जे भन्छन्, त्यो गर्नू।’’

6 त्यहाँ यहूदी रीतिअनुसार चोख्याउनका लागि हरेकमा प्राय: एक सय लिटर पानी अटाउने छवटा ढुङ्गाका घ्याम्पाहरू राखिएका थिए ।

7 येशूले तिनीहरूलाई भन्‍‌नुभयो, ‘‘यी घ्याम्पाहरू पानीले भर ।’’ तिनीहरूले घ्याम्पाहरूको मुखसम्मै पानीले भरे।

8 उहाँले तिनीहरूलाई भन्‍‌नुभयो, ‘‘अब त्यसबाट अलिकति उघाएर भोजका मुखियाकहाँ लैजाओ।’’ तिनीहरूले, उहाँले अह्राएबमोजिम गरे।

9 जब भोजका मुखियाले अङ्गुरमद्य बनाइएको पानी चाखे तब यो कहाँबाट आयो भन्‍‌ने थाहा पाएनन् तर पानी उघाउने नोकरहरूलाई यो कुरा थाहा थियो। उनले दुलहालाई बोलाए

10 र भने, ‘‘प्राय: मानिसले पाहुनालाई पहिले कडा अङ्गुरमद्य पिउन दिन्छन् र पिउनेहरूले मस्तसित पिएपछि कमसल खालको दिन्छन् तर तपाईंले त पछिसम्म पनि कडा अङ्गुरमद्य राखिछाड्‍‌नुभएको रहेछ।’’

11 उहाँले गर्नुभएका आश्चर्यकर्ममध्ये गालीलको कानानगरमा गरिएको यो चिन्ह पहिलो थियो। यसबाट उहाँले आफ्‍‌नो महिमा देखाउनुभयो र उहाँका चेलाहरूले उहाँमाथि विश्वास गरे।

12 येशू त्यस विवाह-भोजपछि आफ्‍‌नी आमा, भाइहरू र चेलाहरूसँग कफर्नहुममा जानुभयो र त्यहाँ केही दिन बस्‍‌नुभयो।

13 यहूदीहरूको निस्तार-चाड नजिकै थियो र येशू यरूशलेममा जानुभयो।

14 उहाँले मन्दिर परिसरमा गोरु, भेडा र ढुकुर बेच्‍‌ने तथा पैसा सटही गर्नेहरूलाई देख्‍‌नुभयो,

15 तब उहाँले डोरीको कोर्रा बनाउनुभयो र ती सबैलाई, तिनीहरूका भेडा र गोरुहरूलाई समेत मन्दिरबाट लखेट्‍‌नुभयो अनि टेबुल पल्टाएर पैसा पनि छरपस्ट पारिदिनुभयो।

16 तब ढुकुर बेच्‍‌ने ती मानिसहरूको नजिक गएर उहाँले भन्‍‌नुभयो, ‘‘यी सबै चीज यहाँबाट बाहिर लैजाओ, मेरा पिताको घरलाई बजार नबनाओ।’’

17 चेलाहरूले धर्मशास्त्रमा लेखिएको यो कुरा सम्झिए, ‘‘तपाईंका घरको जोशले मलाई जलाउनेछ ।’’

18 त्यसपछि यहूदीहरूले उहाँलाई सोधे, ‘‘यो काम गर्न तपाईंसँग हामीलाई देखाउने के आश्चर्यमय चिन्ह छ ?’’

19 येशूले जवाफ दिएर तिनीहरूलाई भन्‍‌नुभयो, ‘‘त्यसो भए ठीक छ, यो मन्दिर नष्ट पार र तीन दिनमा म फेरि यसलाई खडा गर्नेछु।’’

20 तिनीहरूले चकित हुँदै भने, ‘‘यो मन्दिर बनाउन छयालीस वर्ष लागेको थियो अनि के तिमी तीन दिनभित्रै यसलाई खडा गर्न सक्छौ?’’

21 तर येशूले आफ्‍‌नै शरीरको मन्दिरका बारेमा कुरा गरिरहनुभएको थियो।

22 उहाँले भन्‍‌नुभएको त्यो कुरा उहाँ मृत्युबाट जीवित हुनुभएपछि मात्र चेलाहरूले सम्झे र तिनीहरूले येशूले बोल्‍‌नुभएको वचन र धर्मशास्त्रमा विश्वास गरे।

23 उहाँले निस्तार-चाडको अवसरमा यरूशलेममा गर्नुभएका आश्चर्यकर्महरू देखेर धेरै मानिसहरूले उहाँको नाउँमा विश्वास गरे।

24 तर येशूले ती मानिसहरूमाथि विश्वास गर्नुभएन, किनकि उहाँलाई ती कस्ता मानिसहरू हुन् भन्‍‌ने कुरा थाहा थियो ।

25 उहाँलाई मानिसको विषयमा कसैको गवाहीको आवश्यकता थिएन, किनकि मानिसको मनमा के हुन्छ भनी उहाँले जान्‍‌नुहुन्थ्यो।




3

1 त्यहाँ फरिसीहरूमध्येका एक, निकोदेमस नाउँ भएका यहूदीहरूका शासक थिए,

2 तिनी राती येशूकहाँ आए र उहाँलाई भने, ‘‘गुरुज्यू, हामी जान्दछौं कि तपाईं परमेश्वरबाट आउनुभएको शिक्षक हुनुहुन्छ, किनकि परमेश्वर साथमा हुनुभएन भने तपाईंले गर्नुभएका यी चिन्हहरू कसैले पनि गर्न सक्दैन।’’

3 येशूले जवाफ दिनुभयो, ‘‘साँचो साँचो म तिमीलाई भन्दछु, कोही मानिस नयाँ गरी नजन्मिएसम्म परमेश्वरको राज्य देख्‍‌न सक्दैन।’’

4 निकोदेमसले छक्क पर्दै भने, ‘‘बूढो भइसकेको मानिस फेरि कसरी जन्मिन सक्छ? के ऊ आफ्‍‌नी आमाको गर्भमा दोस्रोचोटि पसेर जन्मिनु सक्छ र?’’

5 येशूले जवाफ दिनुभयो, ‘‘साँचो साँचो म तिमीलाई भन्दछु, कोही मानिस पानी र आत्माद्वारा नजन्मिएसम्म परमेश्वरको राज्यमा प्रवेश गर्न सक्दैन।

6 त्यो, जो शरीरबाट जन्मिन्छ, शरीर नै हो र त्यो, जो आत्माबाट जन्मिन्छ, आत्मा नै हो।

7 ‘तिमी नयाँ गरी जन्मिनुपर्छ’ भन्‍‌ने मेरो भनाइमा अचम्म नमान।

8 जसरी तिमी हावा चलेको सुन्दछौ तर त्यो कहाँबाट आउँछ र कहाँ जान्छ भनि भन्‍‌न सक्दैनौ, त्यसरी नै आत्माबाट जन्मिएको हरेक मानिस पनि त्यस्तै हुन्छ।’’

9 निकोदेमसले भने, ‘‘कसरी यी कुरा हुन सक्छन्?’’

10 येशूले जवाफ दिनुभयो, ‘‘तिमी इस्राएलको शिक्षक भएर पनि यी कुरा बुझ्दैनौ?

11 साँचो साँचो म तिमीलाई भन्दछु, हामीले जानेका कुरा बोल्दछौं, देखेका कुराको साक्षी दिन्छौं तर पनि तिमीले हाम्रो साक्षी स्वीकार गर्दैनौ।

12 यदि मैले सांसारिक कुराभन्दा त तिमीहरू विश्वास गर्दैनौ भने स्वर्गका कुरा गर्दा कसरी विश्वास गरौला ?

13 स्वर्गबाट ओर्लिआएको मानिसको पुत्रबाहेक अरु कोही पनि स्वर्गमा उचालिएको छैन।

14 जसरी मोशाले उजाड-स्थानमा सर्पलाई उचाले त्यसरी नै मानिसको पुत्र पनि उचालिनुपर्दछ।

15 यसैले कि जसले विश्वास गर्छ, त्यसले उहाँमा अनन्त जीवन पाओस्।

16 किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले एकमात्र पुत्रलाई दिनुभयो, जसले उहाँमा विश्वास गर्छ, नाश हुनेछैन तर अनन्त जीवन पाउँदछ,

17 किनकि परमेश्वरले संसारलाई दोषी ठहर्‍याउन आफ्‍‌नो पुत्रलाई पठाउनुभएन तर पुत्रद्वारा संसार बचाइयोस् भनी पठाउनुभयो ।

18 उहाँमा विश्वास गर्नेको न्याय हुँदैन, उहाँमाथि विश्वास नगर्नेको न्याय अघिबाटै भएको छ किनभने उसले परमेश्वरको एकमात्र पुत्रको नाउँमा विश्वास गरेको छैन।

19 न्याय यही हो कि संसारमा ज्योति आएको छ, मानिसहरूले ज्योतिलाई भन्दा अन्धकारलाई रुचाए, किनकि तिनीहरूका कामहरू दुष्ट थिए।

20 हरेक जसले दुष्ट काम गर्छ, उसले ज्योतिलाई घृणा गर्छ र ज्योतिमा आउँदैन, नत्र त उसका कामहरू प्रकट हुन्छन्।

21 तर जसले सत्य काम गर्दछ, ऊ ज्योतिमा आउँछ, यसैले कि उसका कामहरू परमेश्वरमा गरिएका हुन् भन्‍‌ने कुरा प्रकट होऊन्।’’ यूहन्‍‌नाको अन्तिम गवाही

22 यी कुरा भइसकेपछि येशू र उहाँका चेलाहरू यहूदियामा आए र उहाँले तिनीहरूसँग त्यहाँ केही समय बिताउँदै गर्दा बप्तिस्मा दिनुभयो।

23 यूहन्‍‌नाले पनि सालीमको नजिक एनोनमा बप्तिस्मा दिइरहेका थिए, किनभने त्यहाँ प्रशस्त पानी थियो र मानिसहरू उनीकहाँ आएर बप्तिस्मा लिन्थे,

24 किनभने यूहन्‍‌ना अझसम्म झ्यालखानमा परेका थिएनन्।

25 त्यही बेला यूहन्‍‌नाका चेलाहरूको एक जना यहूदी अगुवासँग शुद्धीकरणको बारेमा वादविवाद भयो।

26 तिनीहरूले यूहन्‍‌नाकहाँ आएर भने, ‘‘गुरुज्यू, हेर्नोस् त,यर्दनपारि तपाईंसँग हुने,तपाईंले नै साक्षी दिएका, ती मानिसले बप्तिस्मा दिइरहेका छन् र सबै उनैकहाँ गइरहेका छन्।’’

27 यूहन्‍‌नाले जवाफ दिए, ‘‘मानिसलाई स्वर्गबाट नदिइएसम्म त्यसले कुनै कुरा पाउन सक्दैन।

28 ‘म ख्रीष्ट होइनँ तर उहाँको अघि पठाइएको हुँ’ भनी मैले भनेको कुराको साक्षी तिमीहरू छौ।

29 जससँग दुलही छ, दुलहा त्यही हो। तर दुलहाको साथी, जो ऊसँग रहन्छ र उसको कुरा सुनेर अत्यन्त आनन्दित हुन्छ, त्यसैमा मेरो आनन्द पूरा भएको छ।

30 उहाँ बढ्‍‌नुपर्छ तर म घट्‍‌नुपर्छ।

31 जो माथिबाट आउनुहुन्छ, उहाँ सबैभन्दा उच्च हुनुहुन्छ, पृथ्वीबाट आउने पृथ्वीकै हो र पृथ्वीकै कुरा बोल्छ। स्वर्गबाट आउनुहुने सबैभन्दा उच्च हुनुहुन्छ।

32 उहाँले जे देख्‍‌नु र सुन्‍‌नुभएको छ, त्यसैको साक्षी दिनुहुन्छ तर कसैले पनि उहाँको साक्षी ग्रहण गर्दैन।

33 जसले उहाँको साक्षी ग्रहण गरेको छ, त्यसले ‘परमेश्वर सत्य हुनुहुन्छ’ भनी छाप लगाइसकेको छ,

34 किनकि परमेश्वरबाट पठाइएकाले परमेश्वरकै वचन बोल्दछ, किनभने उहाँले बिनानाप आत्मा दिनुहुन्छ ।

35 पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ र सबै थोक उहाँकै हातमा दिनुभएको छ।

36 पुत्रमा विश्वास गर्नेसित अनन्त जीवन छ र पुत्रमा विश्वास नगर्नेले जीवन देख्‍‌नेछैन तर परमेश्वरको क्रोध त्यसमाथि रहन्छ।’’




4

1 यूहन्‍‌नाले भन्दा येशूले धेरै चेला बनाएर बप्तिस्मा दिँदै हुनुहुन्छ भन्‍‌ने कुरा फरिसीहरूले सुने भनी प्रभुले थाहा पाउनुभयो।

2 तापनि उहाँ आफैले होइन,उहाँका चेलाहरूले बप्तिस्मा दिन्थे।

3 उहाँ यहूदिया छोडेर फेरि गालीलमा फर्कनुभयो।

4 उहाँ सामरिया भएर जानुपर्थ्यो।

5 आखिरमा उहाँ सामरिया शहरको सुखार भनिने ठाउँमा आइपुग्‍‌नुभयो, जुन ठाउँ याकूबले आफ्‍‌नो छोरो योसेफको लागि किनिदिएको जमीनको नजिकै पर्दछ।

6 त्यहाँ याकूबको कुवा थियो, प्राय: मध्यान्हतिर येशू लामो यात्राबाट थकित हुनुभएकोले कुवाको छेउमा बसिरहनुभएको थियो।

7 एउटी सामरी स्त्री पानी लिन त्यहाँ आई, येशूले त्यसलाई भन्‍‌नुभयो, ‘‘कृपया मलाई पानी पिउन देऊ।’’

8 उहाँका चेलाहरू सबै जना खानेकुरा किन्‍‌न शहरमा गएका थिए।

9 त्यसले उहाँलाई भनी, ‘‘तपाईं एक यहूदी भएर पनि म, सामरी स्त्रीको हातबाट कसरी पिउने पानी माग्‍‌नुहुन्छ?’’ किनकि यहूदीहरूले सामरीहरूसँग केही सम्बन्ध राख्दैनन्।

10 येशूले जवाफ दिनुभयो, ‘‘यदि तिमीले परमेश्वरको वरदान र ‘मलाई पिउनदेऊ’ भन्‍‌ने व्यक्तिलाई चिनेकी भए तिमीले ऊसित माग्‍‌ने थियौ र उसले तिमीलाई जीवित पानी दिनेथियो।’’

11 त्यस स्त्रीले उहाँलाई भनी, ‘‘हजूर, तपाईंसित उघाउने भाँडो छैन र कुवा पनि गहिरो छ। तब तपाईंले त्यो जिउँदो पानी कहाँबाट पाउनुहुन्छ?

12 के तपाईं यो कुवा खनिदिने हाम्रा पुर्खा याकूबभन्दा पनि महान् हुनुहुन्छ र? यस कुवाबाट उनी आफै, आफ्‍‌ना सन्तानहरू र गाईबस्तुहरूले पिएका थिए।’’

13 येशूले जवाफ दिनुभयो, ‘‘यो पानी पिउने सबै फेरि तिर्खाउनेछन्,

14 तर मैले दिने पानी पिउने कहिल्यै तिर्खाउनेछैन। मैले दिने पानी त उसमा अनन्त जीवनको उम्रिरहने पानीको मूल बन्‍‌नेछ।’’

15 त्यस स्त्रीले भनी, ‘‘हजूर, मलाई त्यही पानी दिनुहोस्, यसैले कि म कहिल्यै तिर्खाउनेछैन र फेरि यस कुवामा पानी लिन आउनुपर्नेछैन। ’’

16 येशूले भन्‍‌नुभयो, ‘‘जाऊ र तिम्रो लोग्‍‌नेलाई बोलाएर यहाँ ल्याऊ।’’

17 त्यस स्त्रीले भनी, ‘‘मेरो लोग्‍‌ने नै छैन।’’ येशूले भन्‍‌नुभयो, ‘‘मेरो लोग्‍‌ने छैन, भनेर तिमीले ठीकै भनेकी छ‍यौ,

18 किनभने तिमीसित पाँच जना लोग्‍‌ने भइसकेका छन् र अहिले तिमीसित हुने पनि तिम्रो लोग्‍‌ने होइन। यो तिमीले साँचो भनेकी छ‍यौ।’’

19 त्यस स्त्रीले भनी, ‘‘हजूर, तपाईं त एक अगमवक्ता हुनुहुँदोरहेछ ।

20 हाम्रा पिता-पुर्खाहरूले यस पहाडमा आराधना गरे र तपाईं भन्‍‌नुहुन्छ कि मानिसहरूले आराधना गर्नुपर्ने ठाउँ यरूशलेममा छ।’’

21 येशूले जवाफ दिनुभयो, ‘‘हे नारी, मलाई विश्वास गर, यस्तो समय आउँदै छ, जब तिमीहरूले पितालाई न त यस पहाडमा, न त यरूशलेममा नै आराधना गर्नेछौ।

22 तिमीहरू जसलाई चिन्दैनौ, उहाँको आराधना गर्दछौ, हामी जसलाई चिन्दछौं, उहाँकै आराधना गर्दछौं, किनकि उद्धार यहूदीहरूबाट नै आउँछ।

23 तर समय आउँदैछ र त्यो अहिले नै हो, सच्चा आराधकहरूले पितालाई आत्मा र सत्यतामा आराधना गर्नेछन्, किनकि त्यस्ता मानिसहरूलाई पिताले आफ्‍‌ना आराधकहरू भएको चाहनुहुन्छ।

24 परमेश्वर आत्मा हुनुहुन्छ र उहाँलाई पुज्‍‌नेहरूले आत्मा र सत्यतामा पुज्‍‌नुपर्छ।’’

25 त्यस स्त्रीले भनी, ‘‘मलाई थाहा छ,कि मसीह(जसलाई ख्रीष्ट भनिन्छ) आउँदै हुनुहुन्छ, जब उहाँ आउनुहुन्छ, उहाँले हामीहरूलाई सबै कुरा बताउनुहुनेछ।’’

26 तब येशूले त्यसलाई भन्‍‌नुभयो, ‘‘तिमीसँग बोल्‍‌ने म, उही हुँ।’’

27 त्यत्ति नै बेला चेलाहरू आइपुगे र उहाँले एउटी स्त्रीसँग कुराकानी गरिरहनुभएको देखेर छक्क परे, तापनि ‘तपाईं के खोज्‍‌नुहुन्छ?’ वा ‘किन तपाईं तिनीसित कुराकानी गर्नुहुन्छ?’ भनी कसैले पनि सोधेनन्।

28 तब त्यस स्त्रीले पानीको गाग्रो त्यहीँ छाडेर शहरमा गई र मानिसहरूलाई भनी,

29 ‘‘आओ र एक जना मानिसलाई हेर, जसले मैले गरेका सबै कुरा बताइदिनुभयो। कतै उहाँ नै मसीह त हुनुहुन्‍‌न?’’

30 तब तिनीहरू शहरबाट निस्के र उहाँकहाँ आए।

31 त्यही समयमा उहाँका चेलाहरूले, ‘‘हे गुरुज्यू, खाना खानुहोस्’’ भन्दै उहाँलाई विन्ती गरे।

32 तर उहाँले तिनीहरूलाई भन्‍‌नुभयो, ‘‘मसँग खानलाई भोजन छ, जसको बारेमा तिमीहरूलाई थाहा छैन।’’

33 त्यसकारण चेलाहरूले एक-आपसमा भने, ‘‘कसैले उहाँलाई खानेकुरा ल्याएर दियो कि कसो ?’’

34 येशूले भन्‍‌नुभयो, ‘‘मेरो भोजन नै मलाई पठाउनुहुनेको इच्छा र उहाँको काम पूरा गर्नु हो।

35 ‘अझै चार महिना छन् र बाली काट्‍‌ने समय आउँछ’ भनी के तिमीहरू भन्दैनौ र? हेर, म तिमीहरूलाई भन्दछु, आफ्‍‌ना नजर उठाएर खेतबारीमा हेर, किनकि त्यो कटनीको निम्ति पाकिसकेको छ।

36 जसले बाली काट्छ, उसले ज्याला पाइरहन्छ र अनन्त जीवनको लागि फल बटुल्छ अनि छर्ने र बटुल्‍‌ने दुवै एकसाथ रमाउँछन्,

37 किनभने यस विषयमा ‘एउटाले छर्छ र अर्कोले बटुल्छ’ भन्‍‌ने यो भनाइ सत्य छ।

38 तिमीहरूले परिश्रम नै नगरेको ठाउँमा मैले तिमीहरूलाई बाली काट्‍‌न पठाएँ। अरुले परिश्रम गरे र तिमीहरूले त्यस परिश्रमको फल लिन पायौ ।’’

39 त्यस स्त्रीले ‘‘मैले गरेका सबै कुरा उहाँले बताइदिनुभयो,’’ भनी साक्षी दिएको कारण धेरै सामरीहरूले येशूमा विश्वास गरे।

40 यसकारण जब सामरीहरू उहाँकहाँ आए, तिनीहरूले उहाँलाई तिनीहरूसित बस्‍‌नुहोस् भनेर विन्ती गरे, तब उहाँ दुई दिनसम्म त्यहाँ बस्‍‌नुभयो।

41 उहाँको वचन सुनेर अझै धेरैले विश्वास गरे।

42 तिनीहरूले त्यस स्त्रीलाई भने, ‘‘अब तिम्रो भनाइको कारणले मात्र हामीले विश्वास गरेका होइनौं किनकि अब हामी आफैले उहाँबाट सुनेका छौं र जान्दछौं कि उहाँ साँच्चै नै ख्रीष्ट, संसारका मुक्तिदाता हुनुहुन्छ।’’

43 दुई दिनपछि येशू त्यहाँबाट गालीलतिर जानुभयो ।

44 येशू आफैले अगमवक्तालाई उसको आफ्‍‌नै ठाउँमा आदर हुँदैन भनी साक्षी दिनुभयो।

45 यसकारण जब उहाँ गालीलमा आउनुभयो, तब गालीलीहरूले निस्तार-चाडको समयमा यरूशलेममा उहाँले गर्नुभएका सबै कुरा देखेका हुनाले उहाँलाई स्वागत गरे, किनकि तिनीहरू पनि त्यस चाडमा गएका थिए।

46 येशू फेरि गालीलको कानामा आउनुभयो, जहाँ उहाँले पानीलाई अङ्गुरमद्य बनाउनुभएको थियो। त्यहाँ कुनै एक जना अधिकृत थिए, जसको छोरो कफर्नहुममा बिरामी थियो।

47 जब तिनले येशू यहूदियाबाट गालीलतिर आउनुभएको छ भन्‍‌ने सुने, तब तिनी येशूकहाँ गए र उहाँ आएर आफ्‍‌नो छोरालाई निको पारिदेऊन् भनी विन्ती गरे, किनभने तिनको छोरो मर्नै लागेको थियो।

48 येशूले तिनलाई भन्‍‌नुभयो, ‘‘चिन्ह र आश्चर्यकर्महरू नदेखेसम्म तिमीहरूले कहिल्यै विश्वास गर्दैनौ।’’

49 ती अधिकृतले अनुरोध गरे, ‘‘हजूर, मेरो छोरो मर्नुभन्दा अघि नै आइदिनुहोस्।’’

50 तब येशूले तिनलाई भन्‍‌नुभयो, ‘‘आफ्‍‌नो बाटो लाग। तिम्रो छोरो बाँच्छ।’’ तिनले, येशूले बोल्‍‌नुभएको वचन विश्वास गरे र आफ्‍‌नो बाटो लागे।

51 तिनी तल झर्दै गर्दा तिनका नोकरहरूले भेटेर तिनको छोरो बाँचेको समाचार दिए।

52 तिनले सोधे, ‘‘कुन बेलादेखि छोरो ठीक हुनथाल्यो?’’ तिनीहरूले भने, ‘‘हिँजो दिउँसो एक बजे ज्वरोले छोड‍यो।’’

53 यसकारण त्यो समय येशूले तिनलाई ‘तिम्रो छोरो बाँच्छ’ भनेकै बेलामा हो रहेछ भनी बुबाले थाहा पाए। तब तिनी आफैले र तिनका सम्पूर्ण घरानाले विश्वास गरे।

54 यहूदियाबाट गालीलमा आएर येशूले गर्नुभएको यो दोस्रो चिन्ह थियो।




5

1 त्यसपछि यहूदीहरूको एउटा चाड भएकोले येशू यरूशलेमतिर उक्लनुभयो।

2 यरूशलेममा भेडा-ढोका नजिकै पाँच दलान भएको एउटा तलाउ थियो, जसलाई हिब्रू भाषामा बेथस्दा भनिन्छ।

3 त्यहाँ रोगीहरूको भीड अर्थात् अन्धा, लङ्गडा, पक्षाघातीहरू पानी कहिले छचल्किएला भनी पर्खेर पस्रिरहेका हुन्थे।

4 किनकि कहिलेकहीँ परमप्रभुको दूत तलाउमा ओर्लेर पानी छचल्काइदिन्थे। पानी छचल्किँदा जो पहिले तलाउमा पस्थ्यो, जस्तोसुकै बिमारी भए तापनि निको भइहाल्थ्यो।

5 त्यहाँ अठ्तीस वर्षदेखि थला परेको एउटा बिमारी थियो।

6 जब येशूले त्यसलाई त्यहाँ पस्रिएको देख्‍‌नुभयो र त्यो लामो समयदेखि त्यस हालतमा रहेछ भनी थाहा पाएर सोध्‍‌नुभयो, ‘‘के तिमी निको हुन चाहन्छौ?’’

7 त्यस बिमारीले येशूलाई जवाफ दियो, ‘‘हजूर, पानी छचल्किँदा मलाई तलाउमा ओह्रालिदिने कोही पनि छैन तर म जाँदाजाँदै मभन्दा अघि अर्को मान्छे ओर्लिहाल्छ।’’

8 येशूले त्यसलाई भन्‍‌नुभयो, ‘‘उठ, आफ्‍‌नो ओछ‍यान उठाऊ र हिँड।’’

9 त्यो मानिस तत्कालै निको भइहाल्यो अनि आफ्‍‌नो ओछ‍यान उठाएर हिँड‍यो। त्यो दिन विश्राम-दिन थियो।

10 त्यसकारण यहूदीहरूले त्यो निको भएको मानिसलाई भने,‘‘यो विश्राम-दिन हो र तिमीले आफ्‍‌नो ओछ‍यान बोकेर हिँड्‍‌नु व्यवस्था सङ्गत छैन।’’

11 त्यसले तिनीहरूलाई जवाफ दियो, ‘‘मलाई जसले निको पार्नुभयो, उहाँले नै ‘आफ्‍‌नो ओछ‍यान उठाएर हिँड’ भन्‍‌नुभएको हो।’’

12 तिनीहरूले सोधे,‘‘तिमीलाई आफ्‍‌नो ओछ‍यान उठाएर हिँड् भन्‍‌ने त्यो मानिस को हो?’’

13 निको भएको मानिसलाई उहाँ को हुनुहुन्थ्यो भन्‍‌नेबारेमा केही थाहा थिएन, किनभने त्यस ठाउँमा भीड भएको हुनाले येशू त्यहाँबाट गइसक्‍‌नुभएको थियो।

14 त्यसपछि येशूले त्यस मानिसलाई मन्दिरमा भेटेर भन्‍‌नुभयो, ‘‘हेर, तिमी निको भएका छौ, अब पाप नगर नत्र त तिमीमाथि ठूलो विपत्ति आइलाग्‍‌नेछ।’’

15 त्यो मानिस गयो र त्यसलाई निको पारिदिने त येशू हुनुहुँदो रहेछ भनी त्यसले यहूदीहरूलाई भन्यो।

16 यसकारण यहूदीहरूले येशूलाई सताइरहेका थिए, किनभने उहाँले विश्राम-दिनमा यी कामहरू गरिरहनुभएको थियो।

17 तर येशूले तिनीहरूलाई जवाफ दिनुभयो, ‘‘मेरा पिताले काम गरिरहनुभएको छ र म पनि काम गरिरहन्छु ।’’

18 त्यसकारण, तिनीहरूले उहाँलाई मार्न खोजे किनभने उहाँले विश्राम-दिनलाई मात्र भङ्ग गर्नुभएको थिएन, तर आफूलाई परमेश्वरसँग बराबरी तुल्याउँदै ‘परमेश्वर मेरा पिता हुनुहुन्छ’ पनि भन्‍‌नुभयो।

19 तब येशूले तिनीहरूलाई जवाफ दिनुभयो, ‘‘साँचो, साँचो म तिमीहरूलाई भन्दछु, पुत्र आफैले केही गर्न सक्दैन तर पिताले जे गर्नुभएको देख्छ त्यही मात्र गर्छ, किनकि पिताले जे गर्नुहुन्छ, पुत्रले पनि त्यसै गर्छ।

20 किनभने पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ र उहाँ आफैले गरिरहनुभएका सबै कामहरू पुत्रलाई देखाउनुहुन्छ। यीभन्दा महान् कामहरू उहाँले पुत्रलाई देखाउनुहुनेछ र तिमीहरू आश्चर्यचकित हुनेछौ।

21 जसरी पिताले मृतकहरूलाई पुनर्जीवित पारेर जीवन दिनुहुन्छ, त्यसरी नै पुत्रले पनि आफूले चाहेकाहरूलाई जीवन दिनुहुन्छ।

22 किनकि पिताले कसैको न्याय गर्नुहुन्‍‌न तर सबै न्याय गर्ने काम पुत्रलाई दिनुभएको छ।

23 यसैले कि सबैले पुत्रको आदर गरून्, जसरी तिनीहरूले पिताको आदर गर्दछन्। पुत्रको आदर नगर्नेले उसलाई पठाउनुहुने पिताको पनि आदर गर्दैन।

24 साँचो, साँचो म तिमीहरूलाई भन्दछु, जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुनेमाथि विश्वास गर्छ, त्यससित अनन्त जीवन छ र त्यो न्यायमा पर्नेछैन तर ऊ मृत्युबाट जीवनमा सरिसकेको हुन्छ ।

25 साँचो, साँचो म तिमीहरूलाई भन्दछु, समय आइरहेछ र त्यो अहिले नै हो, जब मृतकहरूले परमेश्वरका पुत्रको सोर सुन्‍‌नेछन् र सुन्‍‌नेहरू जीवित हुनेछन्।

26 किनभने जसरी पिता आफैमा जीवन छ, त्यसरी नै उहाँले पुत्रलाई पनि आफैमा जीवन होस् भनेर दिनुभएको छ

27 र उहाँले पुत्रलाई न्याय गर्ने अधिकार पनि दिनुभएको छ, किनभने उनी मानिसका पुत्र हुन्।

28 यस कुरामा अचम्म नमान, किनभने त्यो समय आइरहेको छ, जब चिहानमा हुने सबैले उहाँको सोर सुन्‍‌नेछन्।

29 असल काम गर्नेहरू जीवनको निम्ति र खराब काम गर्नेहरू न्यायको निम्ति पुनर्जीवित भई बाहिर आउनेछन्।

30 म आफै केही गर्न सक्दिनँ। जस्तो म सुन्छु, त्यस्तै न्याय म गर्छु र मेरो न्याय ठीक छ, किनकि म आफ्‍‌नै इच्छा होइन तर मलाई पठाउनुहुनेको इच्छा खोज्दछु।

31 यदि मैले आफ्‍‌नो विषयमा साक्षी दिएँ भने मेरो साक्षी सत्य हुँदैन।

32 मेरो बारेमा साक्षी दिने अर्कै एक जना हुनुहुन्छ, मेरो बारेमा उहाँले दिने साक्षी सत्य छ भनी म जान्दछु।

33 तिमीहरूले यूहन्‍‌नाकहाँ कुरा बुझ्‍‌नलाई मानिसहरू पठाएका थियौ र उनले सत्यताको साक्षी दिए।

34 तर म मानिसबाटको साक्षी ग्रहण गर्दिनँ तर तिमीहरूले मुक्ति पाओ भनेर म यी कुरा भन्दछु ।

35 उनी बलिरहेका र चम्किरहेका बत्ती थिए र तिमीहरूले केही समयसम्म उनको ज्योतिमा आनन्द मनाउने इच्छा गर्‍यौ।

36 तर मसँग यूहन्‍‌नाको भन्दा महान् साक्षी छ, किनकि जुन कामहरू पिताले मलाई पूरा गर्न दिनुभएको छ, मैले गर्ने ती कामहरूले, पिताले मलाई पठाउनुभएको हो भन्‍‌ने कुराको साक्षी दिँदछन्।

37 मलाई पठाउनुहुने पिताले मेरो साक्षी दिनुभएको छ। तिमीहरूले न त कहिल्यै उहाँको सोर सुनेका छौ, न उहाँको रूप नै देखेका छौ।

38 उहाँको वचन तिमीहरूमा रहँदैन, किनकि उहाँले पठाउनुहुनेलाई तिमीहरू विश्वास गर्दैनौ।

39 तिमीहरू धर्मशास्त्रमा खोजी गर्छौ, किनकि तिमीहरूले तिनैमा अनन्त जीवन पाइन्छ भनी सोच्दछौ र मेरो साक्षी दिने तिनै हुन्।

40 तापनि तिमीहरू जीवन प्राप्त गर्नको निम्ति मकहाँ आउन इन्कार गर्छौ।

41 म मानिसहरूबाट महिमा ग्रहण गर्दिनँ

42 तर तिमीहरूमा परमेश्वरको प्रेम छैन भनी म जान्दछु।

43 म, मेरा पिताको नाउँमा आएको छु र पनि तिमीहरू मलाई ग्रहण गर्दैनौ। तर अर्को कोही उसको आफ्‍‌नै नाउँमा आयो भने तिमीहरूले त्यसलाई ग्रहण गर्नेछौ।

44 तिमीहरू आपसमा एक-अर्काबाट सम्मान खोज्छौ र पनि एकमात्र परमेश्वरबाट आउने त्यो सम्मानको खोजी गर्दैनौ भने कसरी तिमीहरू विश्वास गर्न सक्छौ?

45 मैले तिमीहरूलाई पिताको सामु दोष लगाउनेछु भनी नसोच। तिमीहरूलाई दोष लगाउने त्यही मोशा हुन्, जसमाथि तिमीहरूले भरोसा राखेका छौ ।

46 किनकि यदि तिमीहरूले मेरो विषयमा लेख्‍‌ने मोशालाई विश्वास गरेका भए, मलाई पनि विश्वास गरेका हुनेथियौ।

47 तर यदि तिमीहरूले, उनले लेखेका कुरा विश्वास गर्दैनौ भने कसरी मेरा कुरा विश्वास गर्नेछौ?’’




6

1 यी कुरा भइसकेपछि येशू गालील समुद्रको पारिपट्टि जानुभयो, जसलाई तिबेरियासको समुद्र पनि भनिन्छ।

2 एउटा ठूलो भीडले उहाँलाई पछ‍यायो, किनभने उहाँले रोगीहरूमाथि गर्नुभएका आश्चर्यकर्महरू तिनीहरूले देखेका थिए।

3 येशू डाँडामा उक्लिनुभयो र चेलाहरूसँग बस्‍‌नुभयो।

4 त्यो यहूदीहरूको निस्तार-चाड आउनै लागेको समय थियो।

5 येशूले आफ्‍‌नो आँखा उचालेर हेर्नुभयो र मानिसहरूको ठूलो भीड आफूतिर आउँदै गरेको देखेर फिलिपलाई भन्‍‌नुभयो, ‘‘फिलिप, यत्तिका धेरै मानिसहरूलाई खुवाउने रोटी हामीले कहाँबाट किन्‍‌नु?’’

6 उहाँले फिलिपको जाँच गर्नलाई त्यसो भन्‍‌नुभएको थियो, किनभने उहाँले के गर्नुहुनेछ भन्‍‌ने उहाँ आफैलाई थाहा थियो।

7 फिलिपले जवाफ दिए, ‘‘दुई सय दिनारको रोटीले सबैलाई अलिअलि दिए पनि पुग्दैन।’’

8 अनि उहाँका एक जना चेला, पत्रुसका दाजु अन्द्रियासले उहाँलाई भने,

9 ‘‘यहाँ एउटा ठीटोसित पाँचवटा जौका रोटी र दुईवटा माछा छन्। तर यत्तिका धेरै मान्छेलाई यी के हुन् र?’’

10 येशूले अह्राउनुभयो, ‘‘यी सबैलाई बस्‍‌न लगाओ।’’ अब त्यस ठाउँमा प्रशस्त घाँस थियो, यसकारण गन्तीमा प्राय: पाँच हजार पुरुषहरू त्यहाँ बसे।

11 त्यसपछि येशूले ती रोटी लिनुभयो र त्यसको निम्ति परमेश्वरलाई धन्यवाद दिइसक्‍‌नुभएपछि उहाँले चेलाहरूलाई दिनुभयो र चेलाहरूले ती बसेका मानिसहरूलाई बाँडिदिए। त्यसैगरी तिनीहरूलाई चाहिएजति माछाहरू पनि बाँडिदिए।

12 तिनीहरू अघाइसकेपछि उहाँले चेलाहरूलाई भन्‍‌नुभयो, ‘‘उब्रेका टुक्राटाक्रीहरू बटुल, यसैले कि एउटै पनि खेरो नजाओस्।’’

13 यसकारण तिनीहरूले बटुले र पाँचवटा जौका रोटी खानेहरूले उबारेका टुक्राटाक्रीहरूले बाह्र डाला भरे।

14 जब ती मानिसहरूले उहाँले गर्नुभएको आश्चर्यकर्म देखे, तब तिनीहरूले भने, ‘‘निश्चय नै संसारमा आउनुहुने अगमवक्ता उहाँ नै हुनुहुन्छ।’’

15 तिनीहरू आएर उहाँलाई जबरजस्ती लगेर राजा बनाउन खोज्दैछन् भन्‍‌ने थाहा पाएर येशू फेरि तिनीहरूबाट अलग भई एकलै डाँडातिर जानुभयो।

16 साँझ परेपछि उहाँका चेलाहरू समुद्रतिर झरे,

17 अनि डुङ्गामा चढेर समुद्रपारि कफर्नहुमतिर लागे । त्यसबेला अँध्यारो भइसकेको थियो र येशू त्यसबेलासम्म पनि आइपुग्‍‌नुभएको थिएन ।

18 एउटा ठूलो आँधीबेहरी चलेको कारण समुद्रको छाल उर्लन लाग्यो।

19 तिनीहरू डुङ्गा खियाएर लगभग पाँच-छ किलोमिटरजति टाढा पुगेपछि तिनीहरूले येशूलाई पानीमाथि हिँड्दै डुङ्गाको नजिक आउँदै गर्नुभएको देखे र भयभीत भए।

20 तर उहाँले तिनीहरूलाई भन्‍‌नुभयो, ‘‘म नै हुँ , नडराओ ।’’

21 तब तिनीहरूले खुशीसाथ उहाँलाई डुङ्गामा राखे र तुरुन्तै डुङ्गा तिनीहरू जान चाहेको ठाउँमा पुगिहाल्यो। येशू, जीवनको रोटी

22 त्यसको भोलिपल्ट समुद्रको पारिपट्टिको किनारमा उभिरहेका मानिसहरूले उहाँका चेलाहरू चढेको डुङ्गाबाहेक अरु कुनै डुङ्गा त्यहाँ देखेनन् र येशू पनि आफ्‍‌ना चेलाहरूसित डुङ्गाभित्र चढनुभएको थिएन तर उहाँका चेलाहरू मात्रै त्यहाँबाट गएको थाहा पाए।

23 तर पनि जहाँ प्रभुले धन्यवाद दिनुभएपछि तिनीहरूले रोटी खाएका थिए, त्यही ठाउँको नजिकमा तिबेरियासबाट अरु डुङ्गाहरू आइपुगे।

24 जब ती मानिसहरूले त्यहाँ येशू र उहाँका चेलाहरूलाई देखेनन्, तब तिनीहरू आफै डुङ्गामा चढे र उहाँलाई खोज्दै कफर्नहुममा आए।

25 अनि जब तिनीहरूले उहाँलाई समुद्रको पारिपट्टि भेट्टाए, तब तिनीहरूले उहाँलाई भने, ‘‘गुरुज्यू, तपाईं यहाँ कहिले आउनुभयो?’’

26 येशूले जवाफ दिनुभयो, ‘‘साँचो साँचो म तिमीहरूलाई भन्दछु, तिमीहरू चिन्हहरू देखेका कारणले होइन तर रोटी खाएर अघाएकोले मलाई खोज्दै छौ।

27 नष्ट हुने भोजनको निम्ति होइन तर अनन्त जीवनसम्म रहिरहने भोजनको निम्ति परिश्रम गर, जो मानिसको पुत्रले तिमीहरूलाई दिनेछन्, किनकि परमेश्वर पिताले उनैमाथि आफ्‍‌नो छाप लगाउनुभएको छ।’’

28 तिनीहरूले उहाँलाई सोधे, ‘‘परमेश्वरको काम गर्नलाई हामी के गरौं?’’

29 येशूले भन्‍‌नुभयो, ‘‘उहाँले जसलाई पठाउनुभएको छ, उनलाई विश्वास गर, यही नै परमेश्वरको काम हो।’’

30 तिनीहरूले भने, ‘‘तपाईं हामीलाई के चिन्ह देखाउनुहुन्छ र हामी तपाईंमाथि विश्वास गरौं? तपाईं के काम गर्नुहुन्छ?

31 हाम्रा पिता-पुर्खाले उजाड-स्थानमा मन्‍‌न खाए। धर्मशास्त्रले भनेअनुसार, ‘उहाँले तिनीहरूलाई स्वर्गबाटको रोटी खान दिनुभयो’।’’

32 येशूले भन्‍‌नुभयो, ‘‘साँचो, साँचो, म तिमीहरूलाई भन्दछु, मोशाले तिमीहरूलाई स्वर्गबाटको त्यो रोटी दिएनन् तर मेरा पिताले तिमीहरूलाई स्वर्गबाट साँचो रोटी दिनुहुन्छ।

33 किनभने परमेश्वरका रोटी उनै हुन्, जो स्वर्गबाट ओर्लेर आउँछन् र संसारलाई जीवन दिन्छन्।’’

34 तिनीहरूले उहाँलाई भने, ‘‘प्रभु, त्यसो भए यो रोटी हामीलाई सधैँ दिनुहोस्।’’

35 येशूले जवाफ दिनुभयो, ‘‘जीवनको रोटी म नै हुँ। मकहाँ आउने कहिल्यै भोकाउने छैन र जसले ममाथि विश्वास गर्छ, त्यो पनि कहिल्यै तिर्खाउनेछैन।

36 तर मैले तिमीहरूलाई भनेजस्तै तिमीहरूले मलाई देखेका छौ, तापनि अहिलेसम्म विश्वास गर्दैनौ।

37 पिताले मलाई दिनुभएका सबै जना मकहाँ आउँछन् र मकहाँ आउनेलाई म कुनै रीतिले त्याग्‍‌नेछैनँ ।

38 किनभने म आफ्‍‌नै इच्छा होइन तर मलाई पठाउनुहुनेको इच्छा पूरा गर्नका निम्ति स्वर्गबाट ओर्लिआएको हुँ।

39 अनि मलाई पठाउनुहुनेको इच्छा यो हो कि मलाई दिइएकाहरूमध्ये एउटालाई पनि म नगुमाऊँ तर अन्तिम दिनमा ती सबैलाई पुनर्जीवित पारूँ।

40 किनभने पुत्रलाई देख्‍‌ने र उसमाथि विश्वास गर्ने कोही पनि नष्ट नहोऊन् तर तिनीहरूले अनन्त जीवन पाऊन् भन्‍‌ने मेरा पिताको इच्छा छ। अन्त्यको दिनमा म तिनीहरूलाई पुनर्जीवित पार्नेछु।’’

41 त्यसकारण यहूदीहरूले उहाँसँग गनगन गरिरहेका थिए, किनभने उहाँले भन्‍‌नुभयो, ‘‘म स्वर्गबाट ओर्लिआएको रोटी हुँ। ’’

42 तिनीहरूले भने, ‘‘के यिनी यूसुफको छोरो येशू होइनन् र? जसका बाबु र आमालाई हामी चिन्छौं? तब यिनले कसरी ‘म स्वर्गबाट ओर्लिआएको हुँ’ भन्छन् त?’’

43 तर येशूले जवाफ दिनुभयो, ‘‘तिमीहरू आपसमा गनगन नगर।

44 किनभने मलाई पठाउनुहुने पिताले नखिँचेसम्म कोही पनि मकहाँ आउन सक्दैन। अनि अन्त्यको दिनमा म उसलाई पुनर्जीवित पार्नेछु ।

45 यही कुरा अगमवक्ताहरूको पुस्तकमा लेखिएको छ, ‘तिनीहरू सबैलाई परमेश्वरद्वारा नै सिकाइनेछ। पिताबाट सुन्‍‌ने र उहाँबाट सिक्‍‌नेहरू हरेक मकहाँ आउँछन्।

46 पितालाई कसैले देखेको छैन, केवल जो पिताबाट पठाइएको छ, उसले मात्र पितालाई देखेको छ।

47 साँचो, साँचो म तिमीहरूलाई भन्दछु, जसले ममाथि विश्वास गर्दछ, त्योसँग अनन्त जीवन छ।

48 जीवनको रोटी म नै हुँ।

49 तिमीहरूका पिताले उजाड-स्थानमा मन्‍‌न खाए र तिनीहरू मरे।

50 स्वर्गबाट ओर्लिआएको रोटी यही हो, जसले यो खान्छ त्यो मर्नेछैनँ।

51 स्वर्गबाट ओर्लिआएको जीवित रोटी म नै हुँ। यदि कसैले यो रोटी खान्छ भने ऊ सधैँभरि जिउनेछ। यस संसारले जीवन पाओस् भनेर मैले दिएको त्यो रोटी मेरो देह हो।’’

52 यसकारण यहूदीहरूले ‘‘यस मानिसले कसरी हामीलाई आफ्‍‌नो देह खान दिनसक्छ?’’ भन्दै आपसमा तर्क गर्नलागे।

53 तब येशूले फेरि भन्‍‌नुभयो, ‘‘साँचो, साँचो म तिमीहरूलाई भन्दछु, तिमीहरूले मानिसको पुत्रको देह नखाएसम्म र उसको रगत नपिएसम्म तिमीहरू आफैमा जीवन छैन।

54 तर जसले मेरो देह खान्छ र रगत पिउँछ, ऊसँग अनन्त जीवन छ र म उसलाई अन्त्यको दिनमा पुनर्जीवित पार्नेछु।

55 किनभने मेरो देह साँच्चीकै खानेकुरा हो र मेरो रगत पिउने कुरा हो।

56 मेरो देह खाने र मेरो रगत पिउने ममा रहन्छ र म त्यसमा रहन्छु।

57 जसरी जीवित पिताले मलाई पठाउनुभयो र म पिताद्वारा जिउँछु, त्यसरी नै जसले मलाई खान्छ, ऊ पनि मद्वारा जिउनेछ ।

58 स्वर्गबाट ओर्लिआएको रोटी यही नै हो। तिमीहरूका पुर्खाहरूले मन्‍‌न खाए र मरे तर जसले यो रोटी खान्छ, त्यो सधैँभरि जिउनेछ।’’

59 कफर्नहुमको सभाघरमा शिक्षा दिनुहुँदा उहाँले यी कुरा भन्‍‌नुभयो।

60 त्यसकारण यो सुनेपछि उहाँका चेलाहरूमध्ये धेरैले भने, ‘‘यो कठोर वचन हो, कसले यसलाई बुझ्‍‌नसक्छ र?’’

61 उहाँका चेलाहरूले गनगन गरिरहेका छन् भन्‍‌ने बुझेर उहाँले तिनीहरूलाई भन्‍‌नुभयो, ‘‘के मेरा कुराले तिमीहरूलाई ठेस लाग्यो?

62 तिमीहरूले मानिसका पुत्रलाई पहिले उनी जहाँ थिए, त्यतैतिर उक्लँदै गइरहेका देख्यौ भने नि, कसो?

63 जीवन दिनुहुने त आत्मा हुनुहुन्छ, शरीरबाट केही फाइदा हुँदैन। मैले तिमीहरूलाई भनेका यी वचन आत्मा र जीवन हुन्।

64 तर तिमीहरूमध्ये कति जनाले ममाथि विश्वास गर्दैनौ।’’ किनभने उहाँलाई कसले विश्वास गर्दैन र कसले उहाँलाई धोका दिनेछ भन्‍‌ने विषयमा शुरुदेखि नै थाहा थियो।

65 तब उहाँले भन्‍‌नुभयो, ‘‘यसैकारण मैले तिमीहरूलाई भनेको हुँ-‘पिताले नदिएसम्म कोही पनि मकहाँ आउन सक्दैन’।’’

66 त्यस समयदेखि उहाँका धेरै जना चेलाहरू पछि हटे र उहाँसँग हिँड्‍‌न छोडे।

67 अनि येशूले बाह्र चेलाहरूतर्फ फर्केर सोध्‍‌नुभयो, ‘‘के तिमीहरू पनि मलाई छोडेर जान चाहन्छौ?’’

68 सिमोन पत्रुसले जवाफ दिए, ‘‘प्रभु, हामी कसकहाँ जाऊँ? तपाईंसँग मात्रै अनन्त जीवनका वचन छन्।

69 हामीले तपाईंको वचनमा विश्वास गरेका छौं र थाहा पाएका छौं कि तपाईं जीवित परमेश्वरका पुत्र ख्रीष्ट हुनुहुन्छ।’’

70 तब येशूले भन्‍‌नुभयो, ‘‘के म आफैले तिमीहरू, बाह्रै जनालाई चुनिनँ र ? तापनि तिमीहरूमध्ये एक जना दुष्ट छ।’’

71 उहाँले यो कुरा सिमोन इस्करियोतको छोरो यहूदाको विषयमा भन्‍‌नुभएको थियो, किनभने बाह्रमध्ये एक जना भएर पनि त्यसले उहाँलाई धोका दिने भयो।




7

1 यसपछि येशू गालीलमा नै घुमिरहनुभयो। यहूदी अगुवाहरूले उहाँलाई मार्न खोजेकाले उहाँ यहूदियामा जानुभएन।

2 अब यहूदीहरूको छाप्रो-वासको चाड नजिकै थियो ।

3 यसकारण येशूका भाइहरूले उहाँलाई भने, ‘‘यो ठाउँ छोडेर यहूदिया जानुहोस् र तपाईंले गरिरहनुभएका कामहरू तपाईंका चेलाहरूले पनि देखून्।

4 खुल्लमखुल्ला चिनिने इच्छा राख्‍‌नेले कुनै पनि कुरा गुप्तमा गर्दैन, यदि तपाईं यी कुरा गर्नुहुन्छ भने आफैलाई संसारमा प्रकट गर्नुहोस्।’’

5 किनभने उहाँका आफ्‍‌नै भाइहरूले पनि उहाँमाथि विश्वास गर्दैन थिए।

6 येशूले जवाफ दिनुभयो, ‘‘मेरो समय अझै आएको छैन। तर तिमीहरूको समय सधैँ तयार छ।

7 संसारले तिमीहरूलाई घृणा गर्नसक्दैन तर मलाई गर्छ, किनकि त्यसका कामहरू दुष्ट छन् भनी म गवाही दिन्छु।

8 तिमीहरू यस चाडमा जाओ, म अहिले जान्‍‌नँ। म यस चाडमा जान तयार भएको छैन, किनकि मेरो समय अझै पूरा भएको छैन।’’

9 यी कुरा भन्‍‌नुभएपछि येशू गालीलमा नै बस्‍‌नुभयो। मन्दिरमा येशूको शिक्षा

10 जब उहाँका भाइहरू चाड मान्‍‌न गए, तब उहाँ आफै पनि खुल्लमखुल्ला होइन तर चालै नपाउने गरी चाडमा जानुभयो।

11 चाडमा यहूदीहरूले उहाँलाई यसो भन्दै खोजे,‘‘तिनी कहाँ छन्?’’

12 मानिसहरूको बीचमा उहाँकै विषयमा थुप्रै चर्चा चलिरहेको थियो। कसैले भन्थे, ‘‘उनी एक असल मानिस हुन्।’’ अरुले भन्थे, ‘‘होइन, उसले मानिसहरूलाई भड्काउँछ।’’

13 तर पनि कसैले उहाँको बारेमा खुल्लमखुल्ला बोलेनन्, किनभने तिनीहरू यहूदीहरूसँग डराउँथे।

14 अब चाड आधाआधी बितेपछि येशू मन्दिरमा उक्लिनुभयो र शिक्षा दिनलाग्‍‌नुभयो।

15 यहूदीहरूले अचम्म मान्दै यसो भने, ‘‘यो मानिसले पढ्दै नपढी कसरी यस्तो ज्ञान प्राप्त गर्‍यो?’’

16 येशूले तिनीहरूलाई भन्‍‌नुभयो, ‘‘मेरो शिक्षा मेरो आफ्‍‌नै होइन तर मलाई पठाउनुहुनेको हो।

17 यदि कसैले परमेश्वरको इच्छा पालन गर्न चाहन्छ भने मेरो शिक्षा परमेश्वरतर्फबाट हो कि मेरो आफ्‍‌नैतर्फबाट हो, सो उसले जान्‍‌नेछ।

18 आफ्‍‌नै

विचार प्रस्तुत गर्नेले आफ्‍‌नै महिमा खोज्छ, तर जसले आफूलाई पठाउनेको आदर होस् भन्‍‌ने चाहन्छ, ऊ सत्य हो र उसमा कुनै अधर्म हुँदैन।

19 के मोशाले तिमीहरूलाई व्यवस्था दिएनन् र? तर पनि तिमीहरू कसैले मोशाको व्यवस्था पालन गर्दैनौ। तिमीहरू किन मलाई मार्न खोज्छौ?’’

20 मानिसहरूले जवाफ दिए, ‘‘तिमीलाई भूत लागेको छ । कसले तिमीलाई मार्न खोज्छ र?’’

21 येशूले जवाफ दिनुभयो, ‘‘मैले एउटा काम गरेँ र त्यसमा तिमीहरू अचम्म मान्दछौ।

22 यसकारण मोशाले तिमीहरूलाई खतनाको विधि दिए (यो मोशाबाट होइन, तर पिता-पुर्खाहरूबाट हो)अनि तिमीहरू विश्राम-दिनमा मानिसको खतना गर्दछौ।

23 मोशाको व्यवस्था भङ्ग नहोस् भनेर विश्राम-दिनमा यदि तिमीहरू मानिसहरूको खतना गराउँछौ भने विश्राम-दिनमै मैले एक जना मानिसलाई पूर्णरूपले निको पारिदिएकोमा ममाथि तिमीहरू किन खनिन्छौ?

24 मुख हेरेर न्याय नगर तर ठीक न्याय गर।’’

25 यरूशलेमका कुनै कुनै मानिसहरूले आपसमा भने, ‘‘तिनीहरूले मार्न खोजेको व्यक्ति यिनी नै होइनन् र?

26 तर यिनी खुल्लमखुल्ला बोल्दैछन् तरै पनि यिनलाई तिनीहरू केही भन्दैनन्। शासकहरूलाई यिनी नै ख्रीष्ट हुन् भन्‍‌ने कुरा थाहा छैन कि कसो?

27 तापनि यी मानिस कहाँबाटका हुन् भनी हामीलाई थाहा छ, तर ख्रीष्ट आउनुहुँदा त उहाँ कहाँका हुनुहुन्छ भनी कसैलाई थाहा हुनेछैन।’’

28 येशूले मन्दिरमा बसेर शिक्षा दिनुहुँदा यसो भन्‍‌नुभयो, ‘‘तिमीहरू मलाई चिन्दछौ, म कहाँबाट आएको हुँ भन्‍‌ने कुरा पनि तिमीहरूलाई थाहा छ। म आफ्‍‌नैतर्फबाट आएको होइन तर जसले मलाई पठाउनुभयो उहाँ सत्य हुनुहुन्छ र उहाँलाई तिमीहरू चिन्दैनौ।

29 म उहाँलाई चिन्दछु, किनभने म उहाँबाट आएँ र उहाँले नै मलाई तिमीहरूकहाँ पठाउनुभएको हो।’’

30 तब तिनीहरूले उहाँलाई पक्रन खोजे, तर कसैले पनि उहाँमाथि हात हालेन, किनभने उहाँको समय अझसम्म आएको थिएन।

31 मन्दिरमा भेला भएका मानिसहरूमध्ये धेरैले उहाँमाथि विश्वास गरे। तिनीहरूले भने, ‘‘जब ख्रीष्ट आउनुहुन्छ, तब के यी मानिसले गर्नुभएको चिन्हहरूभन्दा बढी उहाँले गर्नुहुनेछ र ?’’

32 मानिसहरूले उहाँको विषयमा त्यस्तो कुरा गरेका फरिसीहरूले सुने अनि फरिसीहरू र मुख्य पूजाहारीहरूले उहाँलाई पक्रनको निम्ति पहरेदारहरूलाई पठाए ।

33 तब येशूले तिनीहरूलाई भन्‍‌नुभयो, ‘‘अझ केही समयसम्म म तिमीहरूसँग हुन्छु र म, मलाई पठाउनुहुनेकहाँ जान्छु।

34 तिमीहरूले मलाई खोज्‍‌नेछौ, तर भेट्टाउनेछैनौ र जहाँ म हुन्छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ।’’

35 तब यहूदीहरूले आपसमा भने, ‘‘हामीले भेट्टाउनै नसक्‍‌ने कस्तो ठाउँमा यो मानिस जान खोज्दैछ? के छरिएर बसेका ग्रीकहरूको बीचमा गएर शिक्षा दिने त होइन?

36 ‘तिमीहरूले मलाई खोज्‍‌नेछौ तर भेट्टाउनेछैनौ, म जाने ठाउँमा तिमीहरू आउन पनि सक्दैनौ’ भनी यिनले के भन्‍‌न खोजेका हुन् त?’’

37 अब अन्तिम दिन, चाडको मुख्य दिनमा येशू भीडको सामुन्‍‌ने उभिएर उच्च स्वरले बोल्‍‌नुभयो, ‘‘यदि कोही तिर्खाउँछ भने त्यो मकहाँ आओस् र पिओस्।

38 धर्मशास्त्रले भनेअनुसार ममा विश्वास गर्नेको अन्तस्करणबाट जीवित पानीको खोलाहरू बग्‍‌नेछन्।’’

39 यो कुरा उहाँले आत्माको विषयमा भन्‍‌नुभएको थियो, जुन उहाँमाथि विश्वास गर्नेहरूले पाउनुपर्ने थियो। पवित्र आत्मा अझैसम्म दिइनुभएको थिएन, किनकि येशू अझै महिमित हुनुभएको थिएन।

40 उहाँले त्यसो भन्‍‌नुभएको सुनेर भीडमा हुनेहरूमध्ये कतिले भने, ‘‘निश्चय नै यी मानिस अगमवक्ता हुन्।’’

41 अरुले भने, ‘‘उहाँ ख्रीष्ट नै हुनुहुन्छ।’’ तर अझै अरुहरूले सोधे, ‘‘के ख्रीष्ट गालीलबाट नै आउनुहुनेछ र?

42 के धर्मशास्त्रले ख्रीष्ट दाऊदको वंश र दाऊदकै शहर बेथलेहेमबाट आउनेछन् भनी बताएको छैन र?’’

43 उहाँको कारण मानिसहरूको बीचमा मतभेद भयो।

44 अनि कतिले उहाँलाई पक्रन चाहन्थे तर कसैले पनि उहाँमाथि हात लगाएन।

45 उहाँलाई गिरफ्तार गर्न पठाइएका मन्दिरका पहरेदारहरू, मुख्य पूजाहारी र फरिसीहरूकहाँ फर्केर आए । उनीहरूले तिनीहरूलाई सोधे, ‘‘तिमीहरूले त्यसलाई किन ल्याएनौ?’’

46 तिनीहरूले जवाफ दिए, ‘‘यी मानिसले बोलेझैँ त कसैले कहिल्यै बोलेको छैन।’’

47 फरिसीहरूले भने, ‘‘के तिमीहरू पनि बहकियौ?

48 के शासकहरू वा फरिसीहरूमध्ये कसैले उसमाथि विश्वास गरेको छ र?

49 तर व्यवस्था नजान्‍‌ने यी मानिसहरू श्रापित छन्।’’

50 तिनीहरूमध्येकै एक जना निकोदेमस, जो एकपल्ट राती येशूलाई भेट्‍‌न गएका थिए, तिनले भने,

51 ‘‘के हाम्रो व्यवस्थाले कुनै मानिसलाई, उसको कुरा पहिले नसुनीकन र उसले के गर्दछ, सो नजानीकन न्याय गर्छ र?’’

52 तिनीहरूले जवाफ दिए, ‘‘के तिमी पनि गालीली हौ? खोज र हेर, किनकि कुनै पनि अगमवक्ता गालीलबाट आउँदैन।’’

53 अनि हरेक मानिस आ-आफ्‍‌ना घरतिर लागे।




8

1 येशू जैतुन डाँडामा जानुभयो।

2 अनि एकाबिहानै उहाँ फेरि मन्दिरमा नै आउनुभयो र सबै मानिसहरू उहाँकहाँ आए, अनि उहाँ तिनीहरूका बीचमा बसेर सिकाउन थाल्‍‌नुभयो।

3 उहाँले शिक्षा दिँदै गर्नुहुँदा, धार्मिक व्यवस्थाका केही शिक्षकहरू र फरिसीहरूले व्यभिचारमा पक्राउ परेकी एउटी स्त्रीलाई समातेर येशूकहाँ ल्याए र भीडको अगाडि त्यस स्त्रीलाई उभ्याए,

4 तिनीहरूले येशूलाई भने, ‘‘गुरुज्यू, यो स्त्री व्यभिचार गर्दागर्दै पक्राउ गरिएकी हो।

5 अब मोशाको व्यवस्थाले त यस्ताहरूलाई ढुङ्गाले हान्‍‌ने आज्ञा दिएको छ, तर तपाईं यसबारेमा के भन्‍‌नुहुन्छ ?’’

6 तिनीहरूले उहाँमाथि कुनै दोष लगाउने आधार होस् भनी उहाँको जाँच गर्न यसो भनेका थिए। र येशूले निहुरिएर औँलाले भुइँमा लेख्‍‌नुभयो।

7 तर जब तिनीहरूले उहाँसँग सोधी नै रहे, तब येशू खडा हुनुभयो र भन्‍‌नुभयो, ‘‘तिमीहरूमध्ये जो पापरहित छ, त्यसले पहिले यिनलाई ढुङ्गाले हानोस्।’’

8 अनि उहाँ फेरि निहुरिनुभयो र भुइँमा लेख्‍‌न थाल्‍‌नुभयो।

9 अनि जसले यो कुरा सुने तिनीहरू ठूलोबाट शुरु गरेर सानैसम्म एक-एक गर्दै त्यहाँबाट गए अनि येशू र भीडको बीचमा उभिएकी त्यो स्त्री मात्र त्यहाँ रहे।

10 उहाँ फेरि खडा हुनुभयो र त्यस स्त्रीलाई भन्‍‌नुभयो, ‘‘नारी, तिनीहरू कता गए? के कसैले तिमीलाई दोष लगाएनन्?’’

11 त्यसले जवाफ दिई, ‘‘कसैले पनि लगाएनन्, प्रभु।’’। तब येशूले भन्‍‌नुभयो, ‘‘म पनि तिमीलाई दोष लगाउँदिनँ। जाऊ र अबदेखि पाप नगर।’’

12 येशूले मानिसहरूलाई भन्‍‌नुभयो, ‘‘म संसारको ज्योति हुँ; मेरोपछि लाग्‍‌ने अन्धकारमा हिँडडुल गर्नेछैन तर त्यसले जीवनको ज्योति पाउनेछ।’’

13 फरिसीहरूले जवाफ दिए, ‘‘तिमीले आफ्‍‌नो गवाही आफै दिइरहेका छौ, तिम्रो गवाही सत्य छैन।’’

14 येशूले तिनीहरूलाई भन्‍‌नुभयो, ‘‘मैले मेरो बारेमा आफै गवाही दिए तापनि यो सत्य छ, किनभने म कहाँबाट आएको हुँ र कहाँ जाँदैछु भन्‍‌ने कुरा मलाई थाहा छ तर तिमीहरू म कहाँबाट आएको हुँ र कहाँ जाँदैछु भन्‍‌ने कुरा जान्दैनौ।

15 तिमीहरू शरीरअनुसार न्याय गर्दछौ, म कसैको न्याय गर्दिनँ।

16 मैले तिमीहरूको न्याय गरेँ भने पनि मेरो न्याय सत्य छ, किनभने यसमा म एकलै छैनँ तर म र मलाई पठाउनुहुने छौं।

17 ‘दुई जनाले दिएको गवाही सत्य हुन्छ’ भनी तिमीहरूको आफ्‍‌नै व्यवस्थामा लेखिएको छ।

18 आफ्‍‌नै विषयमा गवाही दिने एउटा म नै हुँ र मलाई पठाउनुहुने मेरा पिताले पनि मेरो विषयमा गवाही दिनुहुन्छ।’’

19 तिनीहरूले उहाँलाई सोधे, ‘‘तिम्रो पिता कहाँ छन्?’’ येशूले जवाफ दिनुभयो, ‘‘तिमीहरू न त मलाई न पितालाई चिन्दछौ; यदि तिमीहरूले मलाई चिनेको भए, मेरा पितालाई पनि चिनेका ुहुन्थ्यौ।’’

20 उहाँले यी कुरा मन्दिरको ढुकुटीनेर शिक्षा दिँदै गर्नुहुँदा भन्‍‌नुभएको थियो तर तिनीहरूले अझै पनि उहाँलाई हात हालेनन्, किनभने उहाँको समय अझसम्म आएको थिएन। विश्वास नगर्नेहरूलाई चेताउनी

21 केही बेरपछि येशूले तिनीहरूलाई फेरि भन्‍‌नुभयो, ‘‘म त गइहाल्छु, तिमीहरू मलाई खोज्‍‌नेछौ र आफ्‍‌ना पापमा नै मर्नेछौ; जहाँ म जाँदै छु, त्यहाँ तिमीहरू आउनसक्दैनौ।’’

22 यहूदी अगुवाहरूले उहाँलाई सोधे, ‘‘के यिनी आत्महत्या गर्ने सुर गर्दैछन् कि क्या हो? होइन भने ‘म जाने ठाउँमा तिमीहरू आउन सक्दैनौ’ भनेर के भनेका हुन्?’’

23 अनि उहाँले तिनीहरूलाई भन्‍‌नुभयो, ‘‘तिमीहरू तलका हौ, म माथिबाटको हुँ। तिमीहरू यस संसारका हौ, म होइनँ।

24 त्यसैले मैले तिमीहरूलाई भनेको हुँ, ‘तिमीहरू आ-आफ्‍‌नै पापमा मर्नेछौ’, जबसम्म तिमीहरूले ‘म, उही हुँ’ भनी विश्वास गर्दैनौ, तिमीहरू आफ्‍‌ना पापमा मर्नेछौ।’’

25 तिनीहरूले उहाँलाई सोधे, ‘‘तिमी को हौ त?’’ येशूले भन्‍‌नुभयो, ‘‘मैले तिमीहरूलाई शुरुदेखि नै के भन्दै आइरहेको छु?

26 मैले तिमीहरूको विषयमा भन्‍‌नुपर्ने र तिमीहरूको न्याय गर्नुपर्ने धेरै कुरा मसँग छन् तर मलाई पठाउनुहुने सत्य हुनुहुन्छ र मैले उहाँबाट सुनेका कुरा मात्र संसारलाई बताउँछु ।’’

27 तर उहाँले यो पिताको विषयमा भन्‍‌नुभएको हो भनेर तिनीहरूले बुझेनन्।

28 त्यसकारण येशूले भन्‍‌नुभयो, ‘‘जब तिमीहरूले मानिसको पुत्रलाई उचाल्‍‌नेछौ तब मात्रै तिमीहरूले ‘म उही हुँ’ र मैले आफ्‍‌नैतर्फबाट केही पनि गर्दिनँ तर पिताले मलाई सिकाउनुभएअनुसार नै बोल्दछु भनी तिमीहरूले थाहा पाउनेछौ ।

29 मलाई पठाउनुहुने मसँग हुनुहुन्छ ; उहाँले मलाई एकलै छोडिदिनुभएको छैन, किनभने म सधैँ उहाँलाई मनपर्ने काम मात्रै गर्दछु।’’

30 उहाँले यी कुरा भन्‍‌नुहुँदा धेरैले उहाँमाथि विश्वास गरे। येशू र अब्राहाम

31 येशूले आफूमाथि विश्वास गर्ने यहूदीहरूलाई भन्‍‌नुभयो, ‘‘यदि तिमीहरू मेरा वचनमा रह्यौ भने तिमीहरू साँच्चै मेरा चेलाहरू हौ;

32 अनि तिमीहरूले सत्य चिन्‍‌नेछौ र सत्यले तिमीहरूलाई स्वतन्त्र पार्नेछ।’’

33 तिनीहरूले भने, ‘‘तर हामी त अब्राहामका सन्तान हौं र अझसम्म कहिल्यै कसैको दास हुनुपरेको छैन; तपाईंले ‘तिमीहरू स्वतन्त्र हुनेछौ’ भनी के भन्‍‌नुभएको?’’

34 येशूले जवाफ दिनुभयो, ‘‘साँचो, साँचो म तिमीहरूलाई भन्दछु, हरेक जसले पाप गर्दछ, त्यो पापको दास हो।

35 दास सधैँभरि घरमा रहिरहँदैन; छोरो त सधैँभरि रहन्छ।

36 तसर्थ, यदि पुत्रले तिमीहरूलाई स्वतन्त्र गरायो भने तिमीहरू साँच्चै स्वतन्त्र हुनेछौ।

37 म जान्दछु कि तिमीहरू अब्राहामका सन्तान हौ, तापनि तिमीहरूमध्येकै कतिले मलाई मार्न खोजेका छौ, किनभने मेरो वचनको लागि तिमीहरूका हृदयमा कुनै ठाउँ नै छैन।

38 मैले मेरा पितामा जे देखेको छु, त्यही म तिमीहरूलाई भन्दछु; त्यसरी नै तिमीहरू पनि आफ्‍‌ना पिताबाट सुनेका कुरा गर्दछौ।’’

39 तिनीहरूले उहाँलाई भने, ‘‘अब्राहाम, हाम्रा पिता हुन्।’’ येशूले जवाफ दिँदै भन्‍‌नुभयो, ‘‘यदि तिमीहरू अब्राहामका सन्तान हुँदा हौ त तिमीहरूले अब्राहामका काम गर्नेथियौ।

40 तर म, जसले परमेश्वरबाट सुनेको सत्यता तिमीहरूलाई बताउँछु, उसलाई तिमीहरू मार्न खोज्दछौ; यस्तो त अब्राहामले गरेनन्।

41 तिमीहरूले आफ्‍‌ना पिताले गरेका काम गरिरहेका छौ।’’ तिनीहरूले उहाँलाई भने, ‘‘हामी व्यभिचारबाट जन्मेका होइनौं, हाम्रा एउटै मात्र पिता, स्वयम् परमेश्वर हुनुहुन्छ।’’

42 येशूले भन्‍‌नुभयो, ‘‘यदि परमेश्वर नै तिमीहरूका पिता हुनुहुन्थ्यो भने तिमीहरूले मलाई प्रेम गर्नेथियौ, किनभने म परमेश्वरबाट नै तिमीहरूकहाँ आएको हुँ। म यहाँ आफै आएको होइनँ, उहाँले नै मलाई पठाउनुभएको हो।

43 तिमीहरू किन मेरो कुरा बुझ्दैनौ? किनभने तिमीहरू मेरा कुरा सुन्‍‌न सक्तैनौ।

44 तिमीहरू त आफ्‍‌ना पिता शैतानका हौ र तिमीहरू आफ्‍‌ना पिताको इच्छा पूरा गर्न चाहन्छौ। त्यो त शुरुदेखि नै हत्यारा हो र त्यो सत्यमा टिक्दैन, किनभने त्यसमा कुनै सत्यता छैन। जब त्यसले झूटो बोल्दछ, तब त्यो आफ्‍‌नै स्वभावबाट बोल्दछ, किनकि त्यो झूट र झूटहरूको पिता हो।

45 तर मैले सत्य बोलेको हुनाले तिमीहरू मलाई विश्वास गर्दैनौ।

46 तिमीहरूमध्ये कसले मलाई पापको दोष लगाउन सक्छौ? यदि म सत्य बोल्छु भने किन तिमीहरू मलाई विश्वास गर्दैनौ?

47 ऊ जो परमेश्वरको हो, उसले परमेश्वरको वचन सुन्दछ, तिमीहरू परमेश्वरका होइनौ, त्यसैले उहाँका वचन सुन्दैनौ।’’

48 यहूदीहरूले जवाफ दिँदै भने, ‘‘तिमी भूत लागेको एउटा सामरी हौ भनी हामीले ठीकै भनेनौं र?’’

49 येशूले जवाफ दिनुभयो, ‘‘मलाई भूत लागेको छैन तर म मेरा पितालाई आदर गर्छु, तिमीहरू मलाई अनादर गर्छौ।

50 अनि म आफ्‍‌नै महिमा खोज्दिनँ, महिमा खोज्‍‌ने र न्याय गर्ने एक जना हुनुहुन्छ।

51 साँचो, साँचो म तिमीहरूलाई भन्दछु, यदि कसैले मेरा वचन पालन गर्छ भने त्यसले कहिले पनि मृत्यु देख्‍‌नेछैन।’’

52 यहूदीहरूले उहाँलाई भने, ‘‘अब हामीलाई पक्का थाहा भयो कि तिमीलाई भूत लागेको छ। अब्राहाम र अगमवक्ताहरू त सबै मरे तर तिमी भन्छौ, ‘मेरा वचन पालन गर्नेले कहिल्यै मृत्युको स्वाद चाख्‍‌नेछैन।’

53 के तिमी मरिगएका हाम्रा पुर्खा, अब्राहाम र अगमवक्ताहरूभन्दा पनि ठूला हौ ? तिमी आफूलाई को हुँ भनी ठान्छौ?’’

54 येशूले जवाफ दिनुभयो, ‘‘यदि म आफैलाई आदर गर्छु भने मेरो आदर केही पनि होइन, मलाई आदर गर्नुहुने त मेरा पिता हुनुहुन्छ, जसलाई तिमीहरू, ‘उहाँ हाम्रा परमेश्वर हुनुहुन्छ’ भनी भन्दछौ।

55 तिमीहरूले उहाँलाई चिनेका छैनौ तर म उहाँलाई चिन्दछु, यदि मैले उहाँलाई ‘चिन्दिनँ’ भन्छु भने म पनि तिमीहरूजस्तै झूटो हुनेछु, तर म उहाँलाई चिन्छु र उहाँको वचन पालन गर्दछु।

56 तिमीहरूका पिता अब्राहाम मेरो दिन देख्‍‌ने आशामा हर्षित थिए, अनि उनले देखे र आनन्दित भए।’’

57 यहूदीहरूले उहाँलाई भने, ‘‘तिमी अझै पचास वर्षका पनि भएका छैनौ, तब कसरी अब्राहामलाई देखेको छु भनी भन्छौ?’’

58 येशूले जवाफ दिनुभयो, ‘‘साँचो, साँचो म तिमीहरूलाई भन्दछु, अब्राहाम जन्मनुभन्दा अघिदेखि नै म छँदैछु ।’’

59 यसकारण, तिनीहरूले उहाँलाई हान्‍‌न भनी ढुङ्गा टिपे तर येशू लुक्‍‌नुभयो र मन्दिरको क्षेत्रबाट सुटुक्क बाहिर निस्किजानुभयो।




9

1 येशूले जाँदै गर्नुहुँदा एक जना जन्मैदेखिको अन्धो मानिसलाई देख्‍‌नुभयो।

2 चेलाहरूले उहाँलाई सोधे, ‘‘गुरुज्यू, यो मानिस कसको पापले गर्दा अन्धो जन्मेको हो? के त्यसको आफ्‍‌नै पापले गर्दा हो कि त्यसका आमा-बुबाले गरेको पापले गर्दा ?’’

3 येशूले जवाफ दिनुभयो, ‘‘न त यस मानिसले, न यसका आमा-बुबाले गरेका पापले गर्दा हो। तर परमेश्वरका कामहरू यसमा प्रकट होऊन् भनी यसो भएको हो।

4 मैले, मलाई पठाउनुहुनेको कामहरू दिन छँदै गरिहाल्‍‌नुपर्छ। रात आउँदै छ, तब कसैले काम गर्न सक्दैन।

5 जब म संसारमा छु, म संसारको ज्योति हुँ।’’

6 यी कुरा भनेपछि उहाँले भुइँमा थुक्‍‌नुभयो अनि थुकले माटोको हिलो बनाएर अन्धा मानिसका आँखाहरूमा लगाइदिनुभयो।

7 अनि उहाँले त्यसलाई भन्‍‌नुभयो, ‘‘जाऊ र सिलोआम(सिलोआमको अर्थ ‘पठाइएको’ भन्‍‌ने हुन्छ)को तलाउमा गएर धोऊ।’’ त्यो तलाउमा गयो र आँखा धोयो अनि देख्‍‌नसक्‍‌ने भएर आयो।

8 त्यसका छरछिमेकी र त्यसलाई भीख मागेको देख्‍‌नेहरूले भने, ‘‘बसेर भीख माग्‍‌ने मानिस के यही होइन र?’’

9 कसै-कसैले भने, ‘‘यो त्यही हो।’’ अरुहरूले भने, ‘‘होइन, तर यो त्यहीजस्तो देखिन्छ।’’ तर उसले भन्यो, ‘‘म, उही हुँ।’’

10 तब तिनीहरूले त्यसलाई सोधे, ‘‘तेरा आँखाहरू कसरी खोलिए त?’’

11 त्यसले जवाफ दियो, ‘‘येशू भन्‍‌ने एउटा मानिसले मेरा आँखामा माटो मुछेर लगाइदिनुभयो र ‘सिलोआमको तलाउमा पखाल’ भन्‍‌नुभयो । मैले गएर पखालेँ र देख्‍‌नसक्‍‌ने भएँ ।’’

12 तिनीहरूले त्यसलाई सोधे, ‘‘उनी कहाँ छन्?’’ त्यसले भन्यो, ‘‘मलाई थाहा छैन।’’

13 तिनीहरूले पहिले अन्धा भएको त्यस मानिसलाई फरिसीहरूकहाँ ल्याए।

14 जुन दिन येशूले हिलो बनाएर त्यसका आँखा खोलिदिनुभएको थियो, त्यो विश्राम-दिन थियो।

15 फेरि फरिसीहरूले त्यसलाई सोधे, ‘‘तँ कसरी देख्‍‌ने भइस्?’’ त्यसले तिनीहरूलाई भन्यो, ‘‘उहाँले मेरा आँखाहरूमा हिलो लगाइदिनुभयो, अनि मैले धोएँ र म देख्‍‌ने भएँ।’’

16 यसकारण फरिसीहरूमध्ये कतिले भने, ‘‘त्यो मानिस परमेश्वरबाटको होइन, किनभने त्यसले विश्राम-दिन पालन गर्दैन।’’ अरुहरूले भने, ‘‘कसरी पापी मानिसले यस्तो चिन्हहरू गर्नसक्छ र?’’ अनि तिनीहरूको बीचमा मतभेद भयो।

17 तिनीहरूले त्यसलाई फेरि सोधे, ‘‘तेरा आँखा खोलिदिने त्यस मानिसको विषयमा तँ आफै के भन्छस्?’’ त्यसले जवाफ दियो, ‘‘उहाँ अगमवक्ता हुनुहुन्छ।’’

18 त्यसको विषयमा यहूदीहरूले त्यसका आमा-बुबालाई बोलाएर नसोधुन्जेल त्यो अन्धो थियो र देख्‍‌ने भयो भन्‍‌ने कुरामा विश्वास गरेनन्।

19 तब तिनीहरूले उनीहरूलाई यसो भन्दै सोधे, ‘‘के यो तिमीहरूको छोरो हो, जो ‘अन्धो जन्मेको थियो’ भनी तिमीहरू भन्दछौ? तब कसरी उसले अहिले देख्छ त?’’

20 त्यसका आमा-बुबाले तिनीहरूलाई जवाफ दिए, ‘‘हामी जान्दछौं, यो हाम्रै छोरो हो र यो अन्धै जन्मेको थियो।

21 तर अब यसले कसरी देख्तछ हामी जान्दैनौ, अथवा यसका आँखाहरू कसले खोलिदिए, त्यो पनि हामी जान्दैनौ, यसको उमेर पुगेको छ, यसैलाई सोध्‍‌नुहोस्, आफ्‍‌नो विषयमा त्यो आफै बोल्‍‌नेछ।’’

22 त्यसका आमा-बुबाले यी कुरा भने, किनकि उनीहरू यहूदीहरूसँग डराउँथे, किनभने यहूदीहरूले येशूलाई ख्रीष्ट भनी स्वीकार गर्नेहरूलाई सभाघरबाट निकाल्‍‌ने अघिबाटै मतो गरिसकेका थिए।

23 यसैकारण त्यसका आमा-बुबाले भने, ‘‘यसको उमेर पुगेको छ, यसैलाई सोध्‍‌नुहोस्।’’

24 तब तिनीहरूले त्यस मानिसलाई फेरि बोलाएर भने, ‘‘परमेश्वरलाई महिमा देऊ। हामी जान्दछौं कि त्यो मानिस पापी हो।’’

25 त्यसले जवाफ दिँदै भन्यो, ‘‘उहाँ पापी हुनुहुन्छ कि हुनुहुन्‍‌न, म जान्दिनँ, एउटा कुरा मात्र म जान्दछु, कि म अन्धो थिएँ, अब देख्तछु।’’

26 तब तिनीहरूले त्यसलाई भने, ‘‘उसले तँलाई के गर्‍यो? उसले तेरा आँखाहरू कसरी खोलिदियो?’’

27 त्यसले भन्यो, ‘‘हेर्नुहोस्, मैले अघि नै भनेँ, तपाईंहरूले सुन्‍‌नुभएन। फेरि किन सुन्‍‌न चाहनुहुन्छ? के तपाईंहरू पनि उहाँका चेला बन्‍‌न चाहनुहुन्छ?’’

28 तब तिनीहरूले त्यसलाई हप्काउँदै भने, ‘‘तँ पो उसको चेला होस्, तर हामी त मोशाका चेलाहरू हौं।

29 परमेश्वर मोशासित बोल्‍‌नुभयो,त्यो हामीलाई थाहा भएकै कुरा हो, तर त्यो मानिस कहाँबाट आएको हो त्यो हामीलाई थाहा छैन।’’

30 त्यस मानिसले तिनीहरूलाई भन्यो, ‘‘कस्तो अचम्मको कुरा, तपाईंहरूले उहाँ कहाँबाट आउनुभएको हो भनेर पनि जान्‍‌नुहुन्‍‌न, तापनि उहाँले मेरा आँखा खोलिदिनुभयो।

31 हामीलाई थाहा छ कि परमेश्वरले पापीहरूलाई सुन्‍‌नुहुन्‍‌न। तर उहाँले ईश्वरभक्त र उहाँको इच्छा पालन गर्ने मानिसका कुरा सुन्‍‌नुहुन्छ।

32 आजसम्म कसैले जन्मैको अन्धाको आँखा खोलिदिएको कुरा कहिल्यै सुनिएको छैन।

33 यदि उहाँ परमेश्वरबाट नआउनुभएको भए त उहाँले केही पनि गर्न सक्‍‌नुहुने थिएन।’’

34 तिनीहरूले त्यसलाई भने, ‘‘तँ त पूर्णरूपले पापैमा जन्मिएको थिइस् । के तँ हामीलाई सिकाउँछस्?’’ यसो भनेर तिनीहरूले त्यसलाई बाहिर निकालिदिए। आत्मिक अन्धोपन

35 तिनीहरूले त्यसलाई बाहिर निकालिदिएको कुरा येशूले सुन्‍‌नुभयो र त्यसलाई भेट्टाएपछि भन्‍‌नुभयो, ‘‘के तिमी मानिसको पुत्रमाथि विश्वास गर्छौ?’’

36 त्यसले जवाफ दियो, ‘‘प्रभु, उहाँ को हुनुहुन्छ? म पनि उहाँमा विश्वास गर्नसकूँ।’’

37 येशूले त्यसलाई भन्‍‌नुभयो, ‘‘तिमीले उसलाई देखेका छौ र तिमीसँग बोल्‍‌ने उही हो।’’

38 त्यसले येशूलाई भन्यो, ‘‘प्रभु, म विश्वास गर्छु।’’ अनि त्यसले उहाँलाई दण्डवत् गर्‍यो।

39 येशूले त्यसलाई भन्‍‌नुभयो, ‘‘म न्याय गर्नको निम्ति संसारमा आएँ, यसैले कि नदेख्‍‌नेहरूले देखून् र देख्‍‌नेहरू अन्धा होऊन्।’’

40 उहाँसँग भएका फरिसीहरूले यी कुरा सुने र उहाँलाई सोधे, ‘‘के हामी पनि अन्धा हौं र?’’

41 येशूले तिनीहरूलाई भन्‍‌नुभयो, ‘‘यदि तिमीहरू अन्धा हुँदा हौ त तिमीहरूमा पाप हुने थिएन तर अब हामी देख्छौं भनी तिमीहरू भन्छौ। यसकारण तिमीहरूका पाप रहिरहन्छ।




10

1 साँचो, साँचो म तिमीहरूलाई भन्दछु, जो ढोकाबाट भेडाको गोठभित्र पस्दैन, तर अर्कोतिरबाट उक्लेर पस्छ, त्यही नै चोर र डाँका हो।

2 तर ढोकाबाट भित्र पस्‍‌ने भेडाको गोठालो हो।

3 तर ढोकाबाट भित्र पस्‍‌ने भेडाको गोठालो हो।

4 जब उसले आफ्‍‌ना सबै भेडाहरूलाई बाहिर निकाल्छ, ऊ तिनीहरूको अगिअगि हिँड्छ र भेडाहरूले उसलाई पछ‍याउँछन्, किनकि तिनीहरूले उसको स्वर चिन्छन्।

5 तिनीहरूले अपरिचित व्यक्तिलाई पछ‍याउँदैनन् तर ऊदेखि भाग्‍‌नेछन्, किनकि तिनीहरूले अपरिचितहरूको स्वर चिन्दैनन्।’’

6 येशूले भन्‍‌नुभएको यो दृष्टान्त तिनीहरूले बुझेनन्।

7 येशूले फेरि भन्‍‌नुभयो, ‘‘साँचो साँचो म तिमीहरूलाई भन्दछु, भेडाहरूको ढोका म नै हुँ।

8 म भन्दाअघि आउनेहरू सबै चोर र डाँकाहरू हुन् तर भेडाहरूले तिनीहरूलाई सुनेनन्।

9 ढोका म नै हुँ; यदि जो कोही मद्वारा भित्र पस्छ, ऊ बचाइनेछ अनि त्यसले भित्रबाहिर आउने-जाने गर्नेछ र खर्क पाउनेछ।

10 चोर त चोरूँ र मारूँ अनि नाश पारूँ भनेर मात्रै आउँछ, म त तिनीहरूले जीवन पाऊन् र त्यो प्रशस्त मात्रामा पाऊन् भन्‍‌ने हेतुले आएँ।

11 असल गोठालो म नै हुँ। असल गोठालोले आफ्‍‌नो जीवन भेडाहरूको निम्ति अर्पण गर्छ।

12 तर ज्यामी गोठालो होइन, ती भेडाहरू पनि त्यसका आफ्‍‌नै होइनन्, ब्वाँसोलाई आउँदै गरेको देखेर त्यो भेडाहरूलाई छोडेर भाग्छ र ब्वाँसोले तिनीहरूलाई गाँजेर लैजान्छ अनि भेडाहरूलाई तितरबितर पारिदिन्छ।

13 त्यो भाग्छ, किनभने त्यो ज्यामी हो र त्यसले भेडाहरूको केही वास्ता गर्दैन।

14 असल गोठालो म नै हुँ; म मेरा भेडाहरूलाई चिन्दछु र तिनीहरूले पनि मलाई चिन्दछन्।

15 जसरी पिताले मलाई चिन्‍‌नुहुन्छ, म पनि उहाँलाई चिन्छु, अनि म मेरा भेडाहरूको निम्ति आफ्‍‌नो जीवन अर्पण गर्छु।

16 मेरा अरु भेडाहरू पनि छन्, जो यस बगालका होइनन्, तिनीहरूलाई पनि मैले ल्याउनुपरेको छ, तिनीहरूले मेरो स्वर सुन्‍‌नेछन् र एउटै गोठालोको एउटै बगाल हुनेछ।

17 यसैकारण पिताले मलाई प्रेम गर्नुहुन्छ, किनभने फेरि फिर्ता लिने गरी म आफ्‍‌नो जीवन अर्पण गर्छु।

18 कसैले पनि मेरो जीवन मबाट खोसेर लाँदैन। म आफ्‍‌नै खुशीले आफ्‍‌नो जीवन अर्पण गर्छु, किनभने मैले चाहेको बेलामा यो जीवन अर्पण गर्ने र फिर्ता लिने अधिकार मसँग छ, किनभने मेरा पिताबाट यो आज्ञा मैले पाएको छु।’’

19 यहूदीहरूको बीचमा यो वचनको कारण फेरि मतभेद भयो।

20 तिनीहरूमध्ये कतिले भने, ‘‘उसलाई भूत लागेको छ, कि त ऊ बौलाएको छ। उसको कुरा किन सुन्छौ?’’

21 अरुहरूले भने, ‘‘यी कुरा भूत लागेका मानिसका होइनन्। के भूतले अन्धाको आँखा खोल्‍‌न सक्तछ र?’’

22 अनि यरूशलेममा समर्पण-चाड थियो, र हिउँदको समय थियो।

23 उहाँ मन्दिरभित्र सोलोमनको दलानमा टहलिरहनुभएको थियो।

24 यहूदी अगुवाहरूले उहाँलाई घेरे र भने, ‘‘तिमी हामीलाई कहिलेसम्म अलमल्याइ राख्छौ? यदि तिमी ख्रीष्ट हौ भने प्रस्टै भनिदेऊ।’’

25 येशूले जवाफ दिनुभयो, ‘‘मैले भनिसकेको छु, तर तिमीहरू विश्वासै गर्दैनौ। मेरा पिताका नाउँमा मैले गरेका कामहरूले नै मेरो विषयमा गवाही दिन्छन्।

26 तर तिमीहरू विश्वास गर्दैनौ, किनभने तिमीहरू मेरा भेडाहरूमध्येका होइनौ।

27 मेरा भेडाहरूले मेरो स्वर चिन्छन्, म तिनीहरूलाई चिन्छु र तिनीहरूले मलाई पछ‍याउँछन्।

28 म तिनीहरूलाई अनन्त जीवन दिन्छु र तिनीहरू कहिल्यै नाश हुनेछैनन्, न त कसैले तिनीहरूलाई मेरो हातबाट खोसिलैजानेछ,

29 किनभने मेरा पिता, जसले मलाई तिनीहरू दिनुभएको छ, उहाँ सबैभन्दा महान् हुनुहुन्छ र कसैले पनि तिनीहरूलाई पिताको हातबाट खोसेर लैजान सक्दैन।

30 म र पिता एक हौं।’’

31 यहूदीहरूले फेरि पनि येशूलाई हान्‍‌न ढुङ्गा टिपे।

32 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, ‘‘मैले, मेरा पितातर्फका धेरै असल कामहरू देखाएँ; तीमध्ये कुन कामको निम्ति तिमीहरू मलाई ढुङ्गाले हान्छौ?’’

33 यहूदीहरूले उहाँलाई जवाफ दिए, ‘‘असल कामको निम्ति होइन, तर ईश्वर-निन्दाको निम्ति हामी तिमीलाई ढुङ्गाले हान्छौ, किनभने तिमी मानिस भएर पनि आफैलाई परमेश्वर तुल्याउँछौ।’’

34 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, ‘‘के तिमीहरूको व्यवस्थामा ‘मैले भने, तिमीहरू देवहरू हौ’ भनी लेखिएको छैन?

35 जसकहाँ परमेश्वरको वचन आयो, तिनीहरूलाई उहाँले ‘देवहरू’ भन्‍‌नुहुँदा ‘धर्मशास्त्र भङ्ग हुनसक्दैन’ भने

36 जसलाई पिताले पवित्र गरेर संसारमा पठाउनुभयो, के उनैलाई तिमीहरू ‘म परमेश्वरका पुत्र हुँ’ भनी मैले भनेकोमा ‘तिमी परमेश्वरको निन्दा गर्छौ’ भनी भन्दछौ?

37 यदि म मेरा पिताका कामहरू गर्दिनँ भने मलाई विश्वास नगर ।

38 यदि मैले ती कामहरू गर्दछु भने तिमीहरूले ममाथि विश्वास नगरे तापनि, ती आश्चर्यकर्मलाई विश्वास गर र तिमीहरूले यो जान्‍‌न र विश्वास गर्न सक्‍‌नेछौ कि पिता ममा हुनुहुन्छ र म पितामा छु।’’

39 त्यसकारण तिनीहरूले फेरि एकपल्ट उहाँलाई पक्रन खोजे तर उहाँ तिनीहरूका हातबाट उम्कनुभयो।

40 तब उहाँ पहिले बप्तिस्मा दिने यूहन्‍‌नाले बप्तिस्मा दिनेगरेको ठाउँ, यर्दन नदीको पारिपट्टि गएर बस्‍‌नुभयो।

41 अनि धेरै मानिसहरू उहाँकहाँ आए र भने, ‘‘यूहन्‍‌नाले कुनै आश्चर्यकर्म गरेनन्, तर तिनले यस मानिसको विषयमा गरेका सबै कुरा सत्यरहेछन्।’’

42 त्यहाँ धेरैले उहाँमा विश्वास गरे।




11

1 अब मरियम र तिनकी दिदी मार्थाको गाउँ, बेथानीमा लाजरस नाउँ भएका व्यक्ति बिमारी थिए।

2 यी तिनै मरियम थिइन्, जसले येशूको पाउमा बहुमूल्य अत्तर दलेर आफ्‍‌नो केशले पुछेकी थिइन्। लाजरस उनकै भाइ थिए।

3 त्यसकारण ती दिदीबहिनीले उहाँकहाँ यसो भनी पठाए, ‘‘हे प्रभु हेर्नुहोस्, तपाईंले माया गर्नुहुने हाम्रो भाइ साह्रै सिकिस्त छ।’’

4 तर येशूले त्यो सुनेर भन्‍‌नुभयो, ‘‘यो बिमार मृत्युको निम्ति होइन तर परमेश्वरको महिमाको निम्ति हो, यसैले कि परमेश्वरका पुत्र यसद्वारा महिमित होऊन्।’’

5 येशूले मार्था, तिनकी बहिनी र लाजरसलाई प्रेम गर्नुहुन्थ्यो,

6 लाजरस बिरामी छन् भनी सुनेपछि पनि उहाँ आफू भएकै ठाउँमा अझै दुई दिन बस्‍‌नुभयो।

7 दुई दिन बितेपछि आखिरमा उहाँले चेलाहरूलाई भन्‍‌नुभयो, ‘‘लौ, हामी फेरि यहूदियामा जाऔं।’’

8 उहाँका चेलाहरूले प्रतिवाद गर्दै भने, ‘‘गुरुज्यू, यहूदियाका यहूदीहरूले तपाईंलाई मार्न खोजेका थिए । के तपाईं फेरि त्यहीँ जानुहुन्छ?’’

9 येशूले जवाफ दिनुभयो, ‘‘के दिनमा बाह्र घण्टा हुँदैन र? यदि कोही दिनमा हिँडडुल गर्छ भने त्यसलाई ठेस लाग्दैन, किनभने त्यसले संसारको ज्योति देख्छ।

10 तर यदि कोही राती हिँडडुल गर्छ भने त्यसलाई ठेस लाग्छ, किनकि त्यसमा ज्योति हुँदैन।’’

11 यी कुरापछि उहाँले तिनीहरूलाई भन्‍‌नुभयो, ‘‘हाम्रा मित्र लाजरस निदाएका छन् तर म तिनलाई निद्राबाट ब्यूँझाउन जाँदैछु।’’

12 तब चेलाहरूले उहाँलाई भने, ‘‘हे प्रभु, यदि तिनी निद्रामा छन् भने तिनी निको हुनेछन्।’’

13 येशूले लाजरसको मृत्युको विषयमा यसो भन्‍‌नुभएको थियो। तर उहाँका चेलाहरूले भने उनी सुतेकै छन् भन्‍‌ने ठानेका थिए।

14 तब उहाँले तिनीहरूलाई प्रस्टै भन्‍‌नुभयो, ‘‘लाजरस मरेका छन्।

15 अनि तिमीहरूले विश्वास गर्नसक भनेर तिमीहरूकै निम्ति म त्यहाँ नभएकोमा खुशी छु, जे भए तापनि हामी उनीकहाँ जाऔं।’’

16 तब दिदुमस भन्‍‌ने थोमाले आफ्‍‌ना सङ्गी-चेलाहरूलाई भने, ‘‘लौ, हामी पनि जाऔं र उहाँसँगै मरौं।’’

17 येशू जब बेथानीमा आइपुग्‍‌नुभयो, उहाँले लाजरस मरेर चिहानमा राखिएको चार दिन भइसकेको थाहा पाउनुभयो।

18 यरूशलेमबाट बेथानी लगभग तीन किलोमिटर जति टाढा पर्थ्यो

19 अनि धेरै जना यहूदीहरू मार्था र मरियमलाई तिनीहरूका भाइको मृत्युमा सान्त्वना दिन त्यहाँ आएका थिए।

20 येशू आउँदै हुनुहुन्छ भन्‍‌ने सुन्‍‌नेबित्तिकै मार्था उहाँलाई भेट्‍‌न गइन् तर मरियम घरमै बसिरहिन्।

21 तब मार्थाले येशूलाई भनिन्, ‘‘प्रभु, यदि तपाईं यहाँ हुनुभएको भए मेरो भाइ मर्ने थिएन,

22 तर अझै पनि म जान्दछु, तपाईंले जेसुकै माग्‍‌नुभए पनि परमेश्वरले तपाईंलाई दिनुहुनेछ।’’

23 येशूले तिनलाई भन्‍‌नुभयो, ‘‘तिम्रो भाइ फेरि जीवित हुनेछ।’’

24 मार्थाले उहाँलाई भनिन्, ‘‘म जान्दछु कि अन्तिम दिनको पुनरुत्थानमा ऊ पुनर्जीवित हुनेछ।’’

25 येशूले तिनलाई भन्‍‌नुभयो, ‘‘पुनरुत्थान र जीवन म नै हुँ; ममाथि विश्वास गर्ने मर्‍यो भने पनि बाँच्‍‌नेछ।

26 बाँच्‍‌ने र ममा विश्वास गर्ने प्रत्येक कहिल्यै पनि मर्नेछैन। के तिमी यो विश्वास गछ‍र्यौ?’’

27 तिनले उहाँलाई भनिन्, ‘‘हो प्रभु, तपाईं संसारमा आउने परमेश्वरका पुत्र, ख्रीष्ट हुनुहुन्छ भनी मैले विश्वास गरेकी छु।’’

28 अनि यी कुरा भनेपछि तिनी गइन्, र आफ्‍‌नो बहिनी मरियमलाई यसो भन्दै सुटुक्क बोलाइन्, ‘‘गुरुज्यू आउनुभएको छ र तिमीलाई बोलाउँदै हुनुहुन्छ।’’

29 यो सुन्‍‌नेबित्तिकै तिनी झट्टै उठिन् र उहाँकहाँ आइन्।

30 त्यतिबेलासम्म येशू गाउँमा आइपुग्‍‌नुभएको थिएन तर उहाँ मार्थाले भेटेकै ठाउँमा हुनुहुन्थ्यो।

31 मरियमलाई घरबाट हतारिएर निस्किएको देखेर तिनलाई सान्त्वना दिन आउने यहूदीहरूले तिनी लाजरसको चिहानमा रुन गएकी हुन् भनी ठानेर तिनीहरू तिनको पछि लागे।

32 जब मरियम येशू भएको ठाउँमा आइपुगिन् र उहाँलाई देखिन्, तिनले उहाँको पाउमा घोप्टो परेर रुँदै भनिन्, ‘‘हे प्रभु, यदि तपाईं यहाँ हुनुभएको भए, मेरो भाइ मर्ने थिएन।’’

33 येशूले जब मरियमलाई रोइरहेकी र तिनीसँग आउने अरु यहूदीहरूलाई पनि तिनीसँगै विलाप गरिरहेका देख्‍‌नुभयो, तब उहाँ आत्मामा विचलित र दु:खित हुनुभयो।

34 अनि उहाँले सोध्‍‌नुभयो, ‘‘तिमीहरूले तिनलाई कहाँ राखेका छौ?’’ तिनीहरूले उहाँलाई भने, ‘‘हे प्रभु, आएर हेर्नुहोस्।’’

35 येशू रुनुभयो।

36 तब यहूदीहरूले भने, ‘‘हेर, उहाँले तिनलाई कति माया गर्नुहुन्थ्यो।’’

37 तर तिनीहरूमध्ये कतिले भने, ‘‘अन्धाका आँखा खोलिदिनेले के यस मानिसलाई मर्नदेखि बचाउने थिएनन् र?’’

38 येशू फेरि पनि विचलित भएर चिहानमा जानुभयो। त्यो चिहान एउटा ओडार थियो र त्यसको मुखमा ठूलो ढुङ्गोले थुनिएको थियो।

39 येशूले मानिसहरूलाई अह्राउनुभयो, ‘‘ढुङ्गो हटाओ।’’ मृतककी दिदी मार्थाले भनिन्, ‘‘हे प्रभु, त्यो मरेको चार दिन भइसक्यो, अब त त्यो गन्हाउन थालिसक्यो होला।’’

40 येशूले तिनलाई भन्‍‌नुभयो, ‘‘यदि तिमीले विश्वास गर्‍यौ भने परमेश्वरको महिमा देख्‍‌नेछ‍यौ भनेर के मैले तिमीलाई भनिनँ?’’

41 त्यसैले तिनीहरूले ढुङ्गो हटाए र येशूले मास्तिर हेरेर भन्‍‌नुभयो, ‘‘हे पिता, तपाईंले मेरो विन्ती सुन्‍‌नुभएको लागि धन्यवाद छ।

42 म जान्दछु, तपाईंले सधैँ मेरो विन्ती सुन्‍‌नुभएको छ । तर यहाँ उभिएका यी मानिसहरूले मलाई तपाईंले नै पठाउनुभएको हो भनेर विश्वास गरून् भनी मैले यसो भनेको हुँ।’’

43 त्यसपछि यी कुरा भनेर उहाँ ठूलो सोरले कराउनुभयो, ‘‘लाजरस, बाहिर निस्किआऊ।’’

44 त्यो मरेको मानिस हातखुट्टा बाँधिएको कात्रोसहित निस्किआयो। तिनको अनुहार रुमालले बेह्रेको थियो। येशूले तिनीहरूलाई भन्‍‌नुभयो, ‘‘यिनलाई फुकाइदेओ र जानदेओ।’’

45 मरियमकहाँ आउने यहूदीहरूले यो घटना देखेर उहाँमाथि विश्वास गरे।

46 तर तिनीहरूमध्ये कोही कोही फरिसीहरूकहाँ गए र येशूले गर्नुभएका कुरा बताइदिए।

47 तब मुख्य पूजाहारीहरू र फरिसीहरूले सभा बोलाए र भने, ‘‘अब हामी के गरौं? किनभने यस मानिसले धेरै चिन्हहरू गर्दैछ।

48 यदि हामीले यसलाई यसै छोडिदियौं भने त सबैले यसमाथि विश्वास गर्नेछन् र रोमीहरू आउनेछन् अनि हाम्रा ठाउँ र जातिलाई समेत लैजानेछन्।’’

49 त्यस वर्षका प्रधान पूजाहारी कैयाफाले भने, ‘‘तिमीहरू केही पनि जान्दैनौ,

50 समस्त जाति नष्ट हुनुभन्दा बरु जनताको निम्ति एक जना मानिस मर्नुमा नै तिमीहरूको हित छ भनी तिमीहरू बुझ्दैनौ।’’

51 कैयाफाले आफै सोचेर यसो भनेका थिएनन् तर उनी त्यस वर्षका प्रधान पूजाहारी भएको हुनाले येशू सम्पूर्ण जातिका निम्ति मर्नुपर्छ भन्‍‌ने अगमवाणी तिनको मुखबाट निस्केको थियो।

52 त्यस जातिको निम्ति मात्र होइन तर छरपस्ट भएका परमेश्वरका सन्तानलाई एकसाथ जम्मा पार्न येशू मर्नुहुनेछ भनेर तिनले यो भनेका थिए।

53 त्यस दिनदेखि तिनीहरूले उहाँलाई मार्ने मतो गरे।

54 त्यसकारण येशू यहूदीहरूको बीचमा खुल्लमखुल्ला हिँडडुल गर्नुभएन। तर उहाँ उजाड-स्थानको छेउमा भएको एफ्राइम गाउँ जानुभयो र त्यहाँ आफ्‍‌ना चेलाहरूसँग बस्‍‌नुभयो।

55 अब यहूदीहरूको निस्तार-चाड नजिकै थियो। यसकारण चाड शुरु हुनुभन्दा पहिल्यै आफूलाई विधिपूर्वक शुद्ध पार्नलाई गाउँ-गाउँबाट मानिसहरू यरूशलेम आए।

56 तिनीहरूले येशूलाई खोजिरहेका थिए र मन्दिरमा खडाहुँदा आपसमा भने, ‘‘तिमीहरू के सोच्छौ, के उनी चाडमा आउँदै नआउलान् र?’’

57 अब मुख्य पूजाहारीहरू र फरिसीहरूले उहाँलाई पक्रन सकौं भनेर उहाँ कहाँ हुनुहुन्छ, सो कसैले थाहा पाएमा त्यसले देखाइदेओस् भनी आदेश दिएका थिए।




12

1 निस्तार-चाडको छ दिनअघि येशू बेथानीमा आउनुभयो, जहाँ लाजरसलाई उहाँले मृतकबाट जीवित पार्नुभएको थियो।

2 त्यहाँ तिनीहरूले उहाँको निम्ति बेलुकीको भोजन तयार पारे अनि मार्थाले सेवा गरिन्, लाजरस उहाँसँग टेबुलमा बस्‍‌नेहरूमध्ये एक थिए।

3 तब मरियमले एक माना अति महँगो जटामसीको सुगन्धित अत्तर लिएर आइन् । तिनले त्यो अत्तर येशूको पाउमा दलिन् र आफ्‍‌नै केश फुकाएर पुछिन्, त्यस अत्तरको बास्‍‌ना घरभरि फैलियो।

4 तब उहाँका चेलाहरूमध्ये एक जना, उहाँलाई पछि धोका दिने सिमोनको छोरा यहूदा इस्करियोतले भन्यो,

5 ‘‘यो अत्तर तीन सय दीनारमा बेचेर त्यसको पैसा गरीबहरूलाई किन दिइएन?’’

6 गरीबहरूको वास्ता गरेर उसले त्यसो भनेको थिएन तर ऊ चोर थियो र पैसाको थैली उसैले राख्थ्यो अनि त्यसबाट पैसा चोर्ने गर्थ्यो।

7 येशूले जवाफ दिनुभयो, ‘‘यिनलाई आफ्‍‌नो खुशी गर्नदेऊ। यिनले मेरो दफनको दिनको तयारीका लागि नै यो गरेकी हुन्।

8 किनकि गरीबहरू त सधैँ तिमीहरूसँग छँदैछन्, तर म त सधैँ तिमीहरूसँग हुँदिनँ।’’

9 यहूदीहरूले जब येशू त्यहाँ आउनुभएको छ भनी थाहा पाए, तब तिनीहरू येशूलाई मात्र होइन तर उहाँले मृत्युबाट जीवित पार्नुभएको लाजरसलाई पनि हेर्न आए।

10 तब मुख्य पूजाहारीहरूले लाजरसलाई समेत मार्ने मतो गरे,

11 किनभने तिनकै कारणले गर्दा यहूदीहरूमध्ये धेरै जना तिनीहरूलाई छोडी येशूमा विश्वास गर्नलागेका थिए। यरूशलेममा येशूको विजयी प्रवेश

12 अर्को दिन चाडमा आएको ठूलो भीडले येशू यरूशलेमतिर आउँदै हुनुहुन्छ भन्‍‌ने जब सुने,

13 तब खजूरका हाँगाहरू लिएर उहाँलाई भेट्‍‌न आए र यसरी उच्च स्वरले स्वागत गर्नलागे, ‘‘होसन्‍‌ना ! परमप्रभुको नाउँमा आउने इस्राएलका राजा धन्यका होऊन् !’’

14 येशूले एउटा गधाको बछेडो भेट्टाउनुभयो अनि त्यसमाथि चढ्‍‌नुभयो र लेखिएको यो वचन पूरा भयो :

15 ‘हे सियोनकी छोरी, नडराओ। हेर, तिम्रा राजा गधाको बछेडामा चढेर आउनुहुन्छ।’

16 यी कुरा उहाँका चेलाहरूले पहिले बुझेनन् तर येशू महिमामा प्रवेश गर्नुभएपछि मात्रै यी कुरा उहाँको बारेमा लेखिएका थिए र तिनीहरूले उहाँको निम्ति यी कामहरू गरेका थिए भनी तिनीहरूले सम्झे।

17 यसकारण उहाँले लाजरसलाई चिहानबाट बोलाएर मृतकबाट पुनर्जीवित पार्नुहुँदा उहाँसँग हुने त्यस भीडले उहाँको गवाही दियो।

18 यही कारणले गर्दा मानिसहरूले उहाँसित भेट गरे, किनकि उहाँले यो चिन्ह देखाउनुभएको थियो भनी तिनीहरूले सुने।

19 तब फरिसीहरूले आपसमा भने, ‘‘तिमीहरूबाट केही हुनसक्दैन । हेर, संसारै उसको पछि लागिसक्यो ।’’

20 अनि चाड मनाउन आउनेहरूका बीचमा केही ग्रीकहरू पनि थिए।

21 तिनीहरू गालीलको बेथसेदावासी फिलिपकहाँ आए र यसो भन्दै विन्ती गरे, ‘‘हजूर, हामी येशूलाई हेर्न चाहन्छौं।’’

22 फिलिपले गएर अन्द्रियाससित कुरा गरे अनि अन्द्रियास र फिलिप गएर येशूलाई भने।

23 अनि येशूले तिनीहरूलाई यसो भन्दै जवाफ दिनुभयो, ‘‘मानिसको पुत्रको महिमा हुने समय आइपुगेको छ।

24 साँचो साँचो म तिमीहरूलाई भन्दछु, गहुँको दाना भुइँमा परेर मरेन भने त्यो एकलै रहन्छ। तर यदि मर्‍यो भने त्यसले धेरै फल फलाउँछ।

25 जसले आफ्‍‌नो जीवनलाई माया गर्छ, त्यसले त्यो गुमाउँछ तर आफ्‍‌नो जीवनलाई यस संसारमा तुच्छ ठान्‍‌नेले यसलाई अनन्त जीवनसम्म जोगाइराख्‍‌नेछ।

26 यदि कसैले मेरो सेवा गर्छ भने मेरोपछि लागोस् र म जहाँ हुन्छु, त्यहाँ मेरो सेवक पनि हुनेछ। यदि कसैले मेरो सेवा गर्छ भने पिताले उसलाई आदर गर्नुहुनेछ।

27 अब मेरो प्राण अत्यन्तै व्याकुल भएको छ र म के भनूँ? ‘हे पिता, मलाई यस घडीबाट बचाउनुहोस्।’ तर यसैको निम्ति त म यस घडीसम्म आएँ।

28 हे पिता, आफ्‍‌नो नाउँको महिमा गर्नुहोस्।’’ तब स्वर्गबाट यसो भन्‍‌ने एउटा आवाज आयो, ‘‘मैले महिमा गरेको छु र फेरि पनि महिमा गर्नेछु।’’

29 भीडका मानिसहरूले त्यो आवाज सुनेर भने, ‘‘यो मेघ गर्जेको हो।’’ अरुहरूले भने, ‘‘स्वर्गदूत उनीसित बोलेका हुन्।’’

30 तब येशूले तिनीहरूलाई भन्‍‌नुभयो, ‘‘त्यो आवाज मेरो लागि होइन, तर तिमीहरूकै लागि हो।

31 अब यस संसारको न्याय हुन्छ, अब यस संसारको शासक निकालिनेछ।

32 यदि म पृथ्वीबाट उचालिएँ भने सबै मानिसहरूलाई मतिर खिँच्‍‌नेछु।’’

33 उहाँको मृत्यु कुन प्रकारले हुने हो, सो सङ्केत दिनलाई उहाँले यसो भन्‍‌नुभएको थियो।

34 भीडले उहाँलाई भन्यो, ‘‘हामीले ख्रीष्ट सधैँभरि रहिरहनुहुन्छ भन्‍‌ने कुरा व्यवस्थाबाट सुनेका छौं। तपाईं ‘मानिसको पुत्र उचालिनैपर्छ’ भनी कसरी भन्‍‌न सक्‍‌नुहुन्छ? यो मानिसको पुत्र को हो?’’

35 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, ‘‘अझ केही बेरसम्म ज्योति तिमीहरूसँग छ। ज्योति रहुन्जेल हिँडडुल गर। नत्र त अन्धकारले तिमीहरूलाई छोप्ला, किनकि अन्धकारमा हिँड्‍‌नेले ऊ कहाँ जान्छ सो थाहा पाउँदैन।

36 तिमीहरूसँग ज्योति हुँदा नै ज्योतिमा विश्वास गर, तब तिमीहरू ज्योतिका सन्तान हुनेछौ।’’ यी कुरा भनिसकेपछि येशू त्यहाँबाट अलग्गिनुभयो र तिनीहरूबाट लुकेर बस्‍‌नुभयो। मानिसहरूको अविश्वास

37 तर येशूले त्यति धेरै चिन्हहरू गर्नुभए तापनि अझै तिनीहरूले उहाँमाथि विश्वास गरेनन्,

38 यसैले कि यशैयाले बोलेको अगमवाणी पूरा होस्, ‘‘हे प्रभु, हाम्रो बयानलाई क सले विश्वास गरेको छ? परमप्रभुको बाहुबल कसलाई प्रकट गरियो?’’

39 त्यसैकारण तिनीहरूले विश्वास गर्न सकेनन्, किनभने यशैयाले फेरि भनेका छन् :

40 ‘‘उहाँले तिनीहरूका आँखा बन्द गरिदिनुभएको छ र तिनीहरूका हृदय कठोर पारिदिनुभएको छ, नत्र त, तिनीहरूले देख्‍‌नेछन् र हृदयले बुझ्‍‌नेछन् अनि फर्कनेछन् र म तिनीहरूलाई निको पार्नेछु।’’

41 यशैयाले यी कुरा भने, किनकि तिनले उहाँको महिमा देखे र उहाँका विषयमा भने।

42 शासकहरूमध्ये धेरैले उहाँमाथि विश्वास गरे तापनि फरिसीहरूले सभाघरबाट बहिष्कार गरिदेलान् भन्‍‌ने डरले तिनीहरूले येशूलाई खुल्लमखुल्ला स्वीकार गरेनन्,

43 किनभने तिनीहरू परमेश्वरको भन्दा मानिसहरूको प्रशंसा पाउन चाहन्थे।

44 येशूले कराएर भन्‍‌नुभयो, ‘‘जसले ममाथि विश्वास गर्छ, उसले मलाई होइन, तर मलाई पठाउनुहुनेलाई विश्वास गर्छ।

45 अनि मलाई देख्‍‌नेले मलाई पठाउनुहुनेलाई देख्दछ।

46 ममाथि विश्वास गर्ने हरेकले अन्धकारमा रहन नपरोस् भनेर म यस संसारमा ज्योति भएर आएको हुँ।

47 यदि कसैले मेरा वचन सुनेर विश्वास गर्दैन भने म त्यसको न्याय गर्दिनँ, किनभने म संसारको न्याय गर्न होइन, तर संसारलाई बचाउन आएको हुँ।

48 मलाई इन्कार गर्ने र मेरा वचन ग्रहण नगर्नेलाई न्याय गर्ने एउटा छ, मैले बोलेका वचनले नै अन्तिम दिनमा त्यसको न्याय गर्नेछ,

49 किनकि म आफ्‍‌नैतर्फ बाट बोलेको छैनँ तर मलाई पठाउनुहुने पिताले मैले के भन्‍‌नुपर्छ र के बोल्‍‌नुपर्छ, सो मलाई आज्ञा दिनुभयो।

50 अनि म जान्दछु कि उहाँको आज्ञा अनन्त जीवन हो। यसकारण म जे बोल्दछु, पिताले मलाई भन्‍‌नुभएझैँ बोल्दछु।’’




13

1 निस्तार-चाडको अघि येशूले यस संसारलाई छाडेर पिताकहाँ फर्किने बेला आइपुग्यो भन्‍‌ने थाहा पाएर संसारमा भएका आफ्‍‌नाहरूलाई अन्तसम्मै प्रेम गर्नुभयो।

2 बेलुकीको भोजन हुँदै गर्दा शैतानले सिमोनको छोरो यहूदा इस्करियोतको मनमा येशूलाई धोका दिने विचार हालिसकेको थियो।

3 पिताले सबै थोक उहाँकै हातमा दिनुभएको छ र उहाँ परमेश्वरबाट आउनुभएको हो अनि परमेश्वरकहाँ जानुहुन्छ भन्‍‌ने कुरा येशूलाई थाहा थियो,

4 उहाँ भोजनबाट उठ्‍‌नुभयो, लुगा एकातिर राखेर तौलिया लिनुभयो र कम्मरमा बेर्नुभयो,

5 तब उहाँले बाटामा पानी खन्याउनुभयो र चेलाहरूका खुट्टा धुँदै तौलियाले पुछ्‍‌न थाल्‍‌नुभयो।

6 जब उहाँ सिमोन पत्रुसको अगाडि आइपुग्‍‌नुभयो, तिनले येशूलाई भने, ‘‘प्रभु, के तपाईंले मेरा खुट्टा धुनुहुने?’’

7 येशूले तिनलाई भन्‍‌नुभयो, ‘‘म के गर्दैछु, तिमी अहिले बुझ्दैनौ तर पछि बुझ्‍‌नेछौ।’’

8 पत्रुसले उहाँलाई भने, ‘‘हुँदैन, तपाईंले मेरा खुट्टा कहिल्यै धुनु हुनेछैन, तपाईंलाई म मेरा खुट्टा धुनु दिँदैदिन्‍‌नँ ।’’ येशूले तिनलाई जवाफ दिनुभयो, ‘‘यदि मैले तिम्रा खुट्टा धोइनँ भने मसित तिम्रो कुनै सम्बन्ध हुँदैन।’’

9 सिमोन पत्रुसले भने, ‘‘त्यसो भए प्रभु, मेरा खुट्टा मात्रै होइन, मेरा हात र शिरसमेत धोइदिनुहोस्।’’

10 येशूले जवाफ दिनुभयो, ‘‘नुहाइसकेको व्यक्तिले खुट्टा मात्र धोए पुग्छ, किनकि ऊ शुद्धै हुन्छ । तिमीहरू शुद्ध छौ तर सबै त होइन।’’

11 किनकि आफूलाई पक्राउनेलाई उहाँले चिन्‍‌नुभएको थियो, यसैकारण उहाँले ‘तिमीहरू सबै शुद्ध छैनौ’ भन्‍‌नुभयो।

12 तिनीहरूका खुट्टा धोइसकेपछि उहाँले आफ्‍‌नो लुगा लगाउनुभयो र आफ्‍‌नो ठाउँमा बसेर तिनीहरूलाई भन्‍‌नुभयो, ‘‘मैले तिमीहरूलाई के गरेको छु, के तिमीहरू जान्दछौ?

13 तिमीहरू मलाई गुरु र प्रभु भन्दछौ, तिमीहरूले ठीकै भन्दछौ, किनभने म उही हुँ।

14 यदि म तिमीहरूका प्रभु र गुरु भएर पनि तिमीहरूका खुट्टा धोएको छु भने तिमीहरूले पनि एक-अर्काको खुट्टा धुनुपर्छ।

15 किनकि मैले तिमीहरूलाई एउटा उदाहरण दिएको छु र जस्तो मैले तिमीहरूका निम्ति गरेँ, तिमीहरूले पनि त्यसै गर।

16 साँचो साँचो म तिमीहरूलाई भन्दछु, दास आफ्‍‌नो मालिकभन्दा ठूलो हुँदैन, न त खबर पुर्‍याउने पठाउनेभन्दा ठूलो हुन्छ।

17 यदि तिमीहरूले यी कुरा जान्यौ र ती गर्‍यौ भने तिमीहरू धन्यका हौ।

18 तिमीहरू सबैको विषयमा म भन्दिनँ। मैले चुनेकाहरूलाई म चिन्दछु, तर धर्मशास्त्रको यो कुरा पूरा होस् भनेर यसो भएको हो: ‘मसँग रोटी खानेले मेरो विरुद्धमा लात्ती उठायो।’

19 ‘म उही हुँ’ भनी तिमीहरूले विश्वास गर भनेर त्यो घटना हुनुभन्दा अघि अर्थात् अहिलेबाट नै तिमीहरूलाई भन्दछु।

20 साँचो साँचो म तिमीहरूलाई भन्दछु, मैले पठाएकोलाई ग्रहण गर्नेले मलाई ग्रहण गर्दछ र मलाई ग्रहण गर्नेले मलाई पठाउनुहुनेलाई ग्रहण गर्दछ।’’

21 येशूले यी कुरा भनिसक्‍‌नुभएपछि आत्मामा विचलित हुँदै गम्भीर भएर भन्‍‌नुभयो, ‘‘साँचो साँचो म तिमीहरूलाई भन्दछु, तिमीहरूमध्ये एक जनाले मलाई धोका दिनेछ ।’’

22 तब उहाँले कसको विषयमा भन्‍‌नुभएको होला भनी शङ्का गर्दै चेलाहरूले एक-अर्कालाई हेरे।

23 येशूले अति नै प्रेम गर्नुहुने चेलाहरूमध्ये एक जना उहाँको छातीमा अडेस लागेका थिए।

24 सिमोन पत्रुसले तिनै चेलालाई इशारा गर्दै भने,‘‘उहाँले कसको विषयमा भन्‍‌नुभएको हो, सोधन।’’

25 येशूको छातीमा अडेस लाग्‍‌नेले उहाँलाई सोधे, ‘‘प्रभु, त्यो को हो?’’

26 येशूले जवाफ दिनुभयो, ‘‘जसलाई म रोटीको टुक्रा चोपेर दिन्छु, त्यही हो।’’ अनि उहाँले रोटी चोपेर सिमोन इस्करियोतको छोरा, यहूदालाई दिनुभयो।

27 यहूदाले त्यो रोटी खाइसक्‍‌नेबित्तिकै शैतान त्यसभित्र पस्यो । तब येशूले त्यसलाई भन्‍‌नुभयो, ‘‘तिमीले जे गर्नुछ, चाँडै गरिहाल।’’

28 अब भोजनमा बस्‍‌नेहरू कसैले पनि उहाँले त्यसलाई कुन उद्देश्यले त्यसो भन्‍‌नुभयो, सो बुझेनन्,

29 किनभने कसै-कसैले यहूदासित थैली छ, यसैकारण येशूले त्यसलाई चाडको निम्ति जे कुरा चाहिन्छ सो किनोस् अथवा त्यसले गरीबहरूलाई केही देओस्, भन्‍‌नुभएको हो भनी सम्झे।

30 तब रोटीको टुक्रा लिएपछि त्यो तुरुन्तै बाहिर निस्क्यो। त्यसबेला रात परेको थियो।

31 यसकारण यहूदा बाहिर गएपछि येशूले भन्‍‌नुभयो, ‘‘अब मानिसको पुत्र महिमित भएको छ र परमेश्वर उसमा महिमित हुनुभएको छ।

32 यदि परमेश्वर उसमा महिमित हुनुभयो भने परमेश्वरले उसलाई आफैमा महिमित तुल्याउनुहुनेछ र तुरुन्तै महिमित तुल्याउनुहुनेछ।

33 साना बालकहरू हो, अब केही बेर मात्र म तिमीहरूसँग छु। तिमीहरूले मलाई खोज्‍‌नेछौ, ‘म जहाँ जान्छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ, जसरी यो मैले यहूदीहरूलाई भनेको थिएँ, अब तिमीहरूलाई पनि भन्दछु।

34 म तिमीहरूलाई एउटा नयाँ आज्ञा दिन्छु: तिमीहरू एक-अर्कालाई प्रेम गर। जस्तो मैले तिमीहरूलाई प्रेम गरेको छु, तिमीहरूले पनि एक-अर्कालाई त्यसरी नै प्रेम गर।

35 यदि तिमीहरूले एक-अर्कालाई प्रेम गर्‍यौ भने यसैद्वारा सबै मानिसहरूले तिमीहरू मेरा चेलाहरू हौ भनी जान्‍‌नेछन्।’’

36 सिमोन पत्रुसले भने, ‘‘प्रभु, तपाईं कहाँ जाँदै हुनुहुन्छ?’’ येशूले जवाफ दिनुभयो, ‘‘म जहाँ जाँदैछु, त्यहाँ तिमी अहिले आउन सक्दैनौ। तर पछिबाट तिमीले मलाई पछ‍याउनेछौ।’’

37 पत्रुसले उहाँलाई भने, ‘‘प्रभु, म किन अहिले नै तपाईंको पछि लाग्‍‌न सक्दिनँ? म आफ्‍‌नो जीवन तपाईंको निम्ति अर्पण गर्नेछु।’’

38 येशूले जवाफ दिनुभयो, ‘‘के तिमीले, आफ्‍‌नो जीवन मेरोनिम्ति अर्पण गर्नेछौ? साँचो साँचो म तिमीलाई भन्दछु, तिमीले मलाई तीनपल्ट इन्कार नगरेसम्म भाले बास्‍‌नेछैन।’’




14

1 तिमीहरूको हृदय विचलित नहोस्, तिमीहरू परमेश्वरमा विश्वास गर्दछौ, मलाई पनि विश्वास गर।

2 मेरा पिताको घरमा धेरै बस्‍‌ने ठाउँहरू छन्, यदि त्यसो नभए त म तिमीहरूलाई भन्‍‌ने थिएँ किनकि म तिमीहरूको निम्ति ठाउँ तयार पार्न जान्छु।

3 अनि यदि मैले गएर तिमीहरूको निम्ति ठाउँ तयार पारेँ भने म फेरि आउनेछु र तिमीहरूलाई मकहाँ लैजानेछु र जहाँ म छु, त्यहाँ तिमीहरू पनि हुनेछौ।

4 अनि म जहाँ जान्छु, त्यो तिमीहरू जान्दछौ र तिमीहरू बाटो चिन्छौ।’’

5 थोमाले उहाँलाई भने, ‘‘प्रभु, तपाईं कहाँ जानुहुन्छ, हामी जान्दैनौं र हामी कसरी बाटो चिन्‍‌न सक्छौं र?’’

6 येशूले तिनलाई भन्‍‌नुभयो, ‘‘बाटो, सत्य र जीवन म नै हुँ। मबाहेक अरु कोहीद्वारा पिताकहाँ आउन सक्दैनँ।

7 यदि तिमीहरूले मलाई चिनेका भए मेरा पितालाई पनि चिनेका हुन्थ्यौ, अब उसो तिमीहरू उहाँलाई चिन्छौ र उहाँलाई देखेका पनि छौ।’’

8 फिलिपले उहाँलाई भने, ‘‘प्रभु, हामीलाई पिता देखाउनुहोस्, त्यत्ति भए हामीलाई पुग्छ।’’

9 येशूले तिनलाई भन्‍‌नुभयो, ‘‘यतिका समयसम्म म तिमीहरूसँग छु, तैपनि के तिमीले मलाई चिनेका छैनौ फिलिप? जसले मलाई देखेको छ, उसले पितालाई देखेको छ, तब हामीलाई पिता देखाउनुहोस् भनी तिमी कसरी भन्दछौ?

10 म पितामा छु र पिता ममा हुनुहुन्छ भनी के तिमी विश्वास गर्दैनौ? तिमीहरूलाई भनेका कुरा मैले आफ्‍‌नैतर्फबाट भनेको होइनँ। ममा रहनुहुने पिताले नै आफ्‍‌नो काम मबाट गर्दै हुनुहुन्छ।

11 म पितामा छु र पिता ममा हुनुहुन्छ भनेर विश्वास गर, नत्रभने मैले गरेका कामहरूकै खातिर भए पनि विश्वास गर।

12 साँचो साँचो म तिमीहरूलाई भन्दछु, जसले ममाथि विश्वास गर्छ, उसले मैले गरेका र तीभन्दा पनि ठूलठूला कामहरू गर्नेछ, किनभने म, मेरा पिताकहाँ जान्छु।

13 तिमीहरू मेरो नाउँमा जेसुकै माग्दछौ, पुत्रमा पिताको महिमा होस् भनेर त्यो म गर्नेछु।

14 यदि तिमीहरूले मेरो नाउँमा केही माग्यौ भने त्यो म गर्नेछु। पवित्र आत्माको प्रतिज्ञा

15 यदि तिमीहरू साँच्चै मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू पालन गर्नेछौ।

16 म मेरा पितासँग विन्ती गर्नेछु र उहाँले अर्को सल्लाहकार पठाइदिनुहुनेछ, जो सधैँभरि तिमीहरूसँग रहनुहुनेछ।

17 उहाँ सत्यको आत्मा हुनुहुन्छ, जसलाई संसारले ग्रहण गर्न सक्दैन, किनभने त्यसले उहाँलाई न त देख्छ, न चिन्छ तर तिमीहरू त उहाँलाई चिन्दछौ, किनभने उहाँ तिमीहरूसँग रहनुहुन्छ र तिमीहरूमा हुनुहुनेछ।

18 म तिमीहरूलाई टुहुरा छोड्‍‌नेछैनँ, म तिमीहरूकहाँ आउनेछु।

19 अब केही बेरपछि संसारले मलाई फेरि कहिल्यै देख्‍‌नेछैन तर तिमीहरूले त मलाई देख्‍‌नेछौ। किनभने म जीवित छु र तिमीहरू पनि जीवित रहनेछौ।

20 म, मेरा पितामा र तिमीहरू ममा अनि म तिमीहरूमा छु भन्‍‌ने त्यस दिन तिमीहरूले जान्‍‌नेछौ।

21 जोसँग मेरा आज्ञा छन् र ती पालन गर्छन्, त्यसले मलाई प्रेम गर्दछ र मलाई प्रेम गर्नेलाई मेरा पिताले प्रेम गर्नुहुनेछ। म पनि त्यसलाई प्रेम गर्नेछु र म आफैलाई त्यसकहाँ प्रकट गर्नेछु।’’

22 यहूदा (इस्करियोत होइन) ले उहाँलाई भन्यो, ‘‘प्रभु, तपाईंले किन हामीकहाँ मात्र आफैलाई प्रकट गर्नुहुन्छ, तर संसारमा गर्नुहुन्‍‌न?’’

23 येशूले त्यसलाई जवाफ दिनुभयो, ‘‘मलाई प्रेम गर्नेले मेरो वचन पालन गर्नेछ र मेरा पिताले त्यसलाई प्रेम गर्नुहुनेछ अनि हामी त्यसकहाँ आउनेछौं र त्यससँग वास गर्नेछौं।

24 मलाई प्रेम नगर्नेले मेरा वचन पालन गर्दैन र तिमीहरूले सुनेको वचन मेरो होइन, तर पिताको हो, जसले मलाई पठाउनुभयो।

25 तिमीहरूसँग रहँदा नै मैले तिमीहरूलाई यी कुरा भनेको छु।

26 पिताले मेरो नाउँमा पठाइदिनुहुने सल्लाहकार अर्थात् पवित्र आत्माले तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ र मैले तिमीहरूलाई भनेको प्रत्येक कुरा पनि सम्झना गराइदिनुहुनेछ ।

27 शान्ति म तिमीहरूसँग छोड्दछु, मेरो आफ्‍‌नै शान्ति म तिमीहरूलाई दिन्छु। मैले दिने शान्ति संसारले दिनेजस्तो त होइन। तिमीहरूको हृदय न त विचलित होस्, न भयभीत नै होस्।

28 ‘म जाँदै छु र तिमीहरूकहाँ फेरि आउनेछु’ भनी मैले भनेको कुरा त तिमीहरूले सुन्यौ। तिमीहरूले मलाई प्रेम गरेको भए म पिताकहाँ जानलाग्दा तिमीहरू आनन्दित हुनेथियौ, किनकि पिता मभन्दा महान् हुनुहुन्छ।

29 तिमीहरूले विश्वास गर भनेर त्यो घटना हुनुभन्दा अघि अर्थात् अहिले नै तिमीहरूलाई मैले भनेको छु।

30 म तिमीहरूसँग अब धेरै बोल्‍‌नेछैनँ, किनभने संसारको शासक आउँछ र त्यसको मसँग केही सरोकार छैन।

31 तर म पितालाई प्रेम गर्दछु र जसरी पिताले मलाई आज्ञा गर्नुभएको छ, सोहीअनुसार गर्दछु भनी संसारले जानोस्। उठ, हामी यहाँबाट जाऔं।




15

1 साँचो अङ्गुरको बोट म हुँ र मेरा पिता कृषक हुनुहुन्छ ।

2 ममा फल नफल्‍‌ने हरेक हाँगालाई उहाँले काटिदिनुहुन्छ र फल फल्‍‌ने हरेक हाँगालाई झन् बढ्ता फल फलोस् भनेर छिमल्‍‌नुहुन्छ।

3 मैले तिमीहरूलाई भनेका वचनद्वारा तिमीहरू अघिबाटै शुद्ध भइसकेका छौ।

4 ममा रहो र म तिमीहरूमा रहन्छु। जसरी हाँगा अङ्गुरको बोटमा रहेन भने त्यो आफैले फल फलाउन सक्दैन, त्यसरी नै तिमीहरू ममा रहेनौ भने तिमीहरूले पनि सक्दैनौ।

5 अङ्गुरको बोट म नै हुँ र तिमीहरू हाँगाहरू हौ। जो ममा रहन्छ र म त्यसमा रहन्छु, त्यसले धेरै फल फलाउँछ, किनभने मबाट अलग रहेर तिमीहरूले केही पनि गर्न सक्दैनौ।

6 यदि कोही ममा रहेन भने, ऊ त्यो हाँगाझैँ बाहिर मिल्काइन्छ र त्यो सुकिहाल्छ। तिनलाई बटुलेर आगोमा फालिन्छ र जलाइन्छ।

7 यदि तिमीहरू ममा रह्यौ र मेरा वचन तिमीहरूमा रहे भने जे तिमीहरूलाई इच्छा लाग्छ माग र त्यो तिमीहरूका निम्ति गरिनेछ।

8 यदि तिमीहरूले प्रशस्त फल फलाएर तिमीहरू मेरा चेलाहरू हौ भनी प्रमाणित गर्‍यौ भने त्यसैद्वारा मेरा पिताको महिमा हुनेछ।

9 मेरा पिताले मलाई प्रेम गर्नुभएझैँ मैले पनि तिमीहरूलाई प्रेम गरेको छु । तिमीहरू मेरो प्रेममा रहिरहो।

10 यदि तिमीहरूले मेरा आज्ञाहरू पालन गर्‍यौ भने तिमीहरू मेरो प्रेममा रहनेछौ, जसरी मैले मेरा पिताका आज्ञाहरू पालन गरेको छु र उहाँको प्रेममा रहेको छु।

11 मैले यी कुरा तिमीहरूलाई भनेको छु कि मेरो आनन्द तिमीहरूमा रहोस् र तिमीहरूको आनन्द पूर्ण होस्।

12 मेरो आज्ञा यही हो : एक-अर्कालाई प्रेम गर, जसरी मैले तिमीहरूलाई प्रेम गरेको छु।

13 मित्रहरूका लागि आफ्‍‌नो जीवन अर्पण गर्नुभन्दा ठूलो प्रेम अर्को छैन।

14 तिमीहरूले मेरा आज्ञापालन गर्‍यौ भने तिमीहरू मेरा मित्रहरू हौ।

15 अबदेखि म तिमीहरूलाई दास भन्दिनँ, किनभने दासले त्यसका मालिकले के गर्दछ, जान्दैन तर मैले तिमीहरूलाई मित्रहरू भनेको छु, किनकि जे मैले मेरा पिताबाट सुनेँ, ती सबै मैले तिमीहरूलाई भनिसकेको छु।

16 मलाई तिमीहरूले चुनेनौ तर मैले नै तिमीहरूलाई चुनेँ, तिमीहरू जाओ र फल फलाओ अनि तिमीहरूको फल फलिरहोस् भनी तिमीहरूलाई नियुक्त गरेँ र तिमीहरूले पितासँग मेरो नाउँमा जे मागौला, सो उहाँले तिमीहरूलाई दिनुहुनेछ।

17 म तिमीहरूलाई यो आज्ञा दिन्छु: तिमीहरूले एक-अर्कालाई प्रेम गर। चेलाहरूलाई घृणा

18 यदि संसारले तिमीहरूलाई घृणा गर्छ भने तिमीहरूलाई घृणा गर्नुभन्दा पहिले त्यसले मलाई घृणा गरेको छ भनी जान।

19 यदि तिमीहरू यस संसारका हुँदा हौ त त्यसले आफ्‍‌नोलाई प्रेम गर्नेथियो। तर तिमीहरू यस संसारका होइनौ, मैले तिमीहरूलाई संसारबाट चुनेँ, यसकारण त्यसले तिमीहरूलाई घृणा गर्छ।

20 ‘दास आफ्‍‌नो मालिकभन्दा ठूलो हुँदैन’ भनी मैले तिमीहरूलाई भनेको वचन याद गर। तिनीहरूले मलाई सताएका छन् भने तिमीहरूलाई पनि सताउनेछन्। तिनीहरूले मेरा वचन पालन गरेका छन् भने तिमीहरूको पनि पालन गर्नेछन्।

21 तर तिनीहरूले मेरो नाउँको खातिर यी सबै कुरा तिमीहरूलाई गर्नेछन्, किनभने तिनीहरूले मलाई पठाउनुहुनेलाई चिन्दैनन्।

22 यदि म नआएको भए र तिनीहरूलाई नभनेको भएदेखि तिनीहरूसँग पाप हुनेथिएन तर अब त आफ्‍‌नो पापको निम्ति तिनीहरूसँग कुनै बहाना छैन।

23 जसले मलाई घृणा गर्छ, त्यसले मेरा पितालाई पनि घृणा गर्छ।

24 यदि अरु कसैले नगरेको काम मैले तिनीहरूका बीचमा नगरेको भए तिनीहरूसँग पाप हुनेथिएन तर अब तिनीहरूले म र मेरा पिता दुवैलाई देखेका छन् र घृणा गरेका छन्।

25 तर ‘तिनीहरूले मलाई बिनाकारण घृणा गरे’ भन्‍‌ने तिनीहरूका व्यवस्थामा लेखिएको वचन पूरा होस् भनेर नै तिनीहरूले गरेका छन्।

26 तर जब सल्लाहकार आउनुहुन्छ, जसलाई म पिताका तर्फबाट तिमीहरूकहाँ पठाउनेछु, जो पिताबाट निस्किआउनुहुने सत्यको आत्मा हुनुहुन्छ, उहाँले नै मेरो बारेमा गवाही दिनुहुनेछ।

27 अनि तिमीहरूले पनि गवाही दिनेछौ, किनभने तिमीहरू शुरुदेखि नै मसँग छौ।




16

1 तिमीहरूलाई ठेस नलागोस् भनेर मैले यी कुरा तिमीहरूलाई भनेको छु ।

2 तिनीहरूले तिमीहरूलाई सभाघरहरूबाट निकालिदिनेछन्। साँच्चै, यस्तो समय आउँदै छ, तिमीहरूलाई मार्नेहरूले परमेश्वरको सेवा गरिरहेको छु भनी ठान्‍‌नेछन्।

3 अनि तिनीहरूले यी काम गर्नेछन्, किनकि तिनीहरूले न त पितालाई, न मलाई चिनेका छन्।

4 मैले यी कुरा तिमीहरूलाई यसैकारण बताएको छु कि जब त्यो समय आउँछ, तब मैले तिमीहरूलाई चेताउनी दिएको थिएँ भनी तिमीहरूले स्मरण गर्नेछौ। यी कुरा मैले तिमीहरूलाई शुरुमा नै भनिनँ, किनकि म तिमीहरूसँग थिएँ।

5 तर अब मलाई पठाउनुहुनेकहाँ म जाँदै छु र तिमीहरूमध्ये कसैले पनि ‘तपाईं कहाँ जानुहुन्छ?’ भनी सोध्दैनौ।

6 तर मैले यी कुरा तिमीहरूलाई भनेको हुनाले तिमीहरूको हृदय शोकले भरिएको छ।

7 तापनि म तिमीहरूलाई साँचो भन्दछु, म जानुमा नै तिमीहरूको निम्ति भलाइ छ, किनकि म गइनँ भने सल्लाहकार तिमीहरूकहाँ आउनुहुनेछैन। तर यदि म गएँ भने उहाँलाई तिमीहरूकहाँ पठाइदिनेछु।

8 अनि जब उहाँ आउनुहुनेछ तब संसारलाई पाप, धार्मिकता र न्यायको विषयमा दोषी ठहराउनुहुनेछ।

9 पापको विषयमा, किनकि तिनीहरूले मलाई विश्वास गर्दैनन्,

10 धार्मिकताको विषयमा, किनकि म पिताकहाँ जान्छु र तिमीहरूले मलाई फेरि कहिल्यै देख्दैनौ,

11 न्यायको विषयमा, किनकि यस संसारको शासकको न्याय अघि नै भइसकेको छ।

12 मैले तिमीहरूलाई भन्‍‌नुपर्ने कुरा अझ धेरै छन्। तर तिमीहरूले अहिले तिनलाई सहन सक्दैनौ।

13 सत्यका आत्मा जब आउनुहुन्छ, उहाँले नै तिमीहरूलाई सबै सत्यतामा डोर्‍याउनुहुनेछ। उहाँले आफ्‍‌नैतर्फबाट बोल्‍‌नुहुनेछैन तर जे जे उहाँले सुन्‍‌नुहुनेछ त्यही बोल्‍‌नुहुनेछ । उहाँले नै तिमीहरूलाई पछि हुनआउने कुरा बताउनुहुनेछ।

14 जे मेरा हुन्, त्यसबाट लिएर त्यो तिमीहरूलाई प्रकट गरिदिएर उहाँले मेरो महिमा गर्नुहुनेछ।

15 पितासँग भएका सबै कुरा मेरा हुन्। त्यसैकारण जे मेरा हुन्, त्यसबाट लिएर आत्माले त्यो तिमीहरूलाई प्रकट गरिदिनुहुनेछ भनी मैले भनेको हुँ।

16 केही क्षणपछि तिमीहरूले मलाई देख्‍‌नेछैनौ र केही क्षणपछि तिमीहरूले मलाई फेरि देख्‍‌नेछौ।’’

17 उहाँका केही चेलाहरूले आपसमा भने, यो के हो, जो उहाँले हामीलाई भन्‍‌नुहुन्छ : ‘‘केही क्षणपछि तिमीहरूले मलाई देख्‍‌नेछैनौ र केही क्षणपछि तिमीहरूले मलाई फेरि देख्‍‌नेछौ किनकि म पिताकहाँ जान्छु।’’

18 त्यसकारण तिनीहरूले भने, ‘‘उहाँले ‘केही क्षणपछि’ भन्‍‌नुभएको अर्थ के हो? उहाँ के भन्दै हुनुहुन्छ हामी बुझ्दैनौं ।’’

19 तिनीहरूले उहाँलाई सोध्‍‌ने इच्छा गर्दै छन् भन्‍‌ने थाहा पाएर येशूले तिनीहरूलाई भन्‍‌नुभयो, ‘‘ ‘केही क्षणपछि तिमीहरूले मलाई देख्‍‌नेछैनौ र केही क्षणपछि तिमीहरूले मलाई फेरि देख्‍‌नेछौ’ भनी मैले भनेको विषयमा के तिमीहरूले सोधपुछ गर्दै छौ?

20 साँचो साँचो म तिमीहरूलाई भन्दछु, तिमीहरू रुनेछौ र विलाप गर्नेछौ तर संसार रमाउनेछ । तिमीहरू शोकाकुल हुनेछौ तर तिमीहरूको शोक आनन्दमा बद्लिनेछ।

21 स्त्री सुत्केरी हुँदा कष्टमा पर्छे, किनकि त्यसले शिशु जन्माउने समय आएको हुन्छ तर शिशु जन्मिएपछि संसारमा एउटा मानिसको जन्म भयो भन्‍‌ने खुशीको कारण त्यसले त्यस कष्टलाई बिर्सन्छे।

22 यसरी नै तिमीहरूलाई अहिले दु:ख हुन्छ तर म फेरि तिमीहरूलाई भेट्‍‌नेछु र तिमीहरूको हृदय आनन्दित हुनेछ र तिमीहरूको आनन्द कसैले तिमीहरूबाट खोसेर लानेछैन,

23 अनि त्यस दिन तिमीहरूले मलाई केही सोध्‍‌नेछैनौ। साँचो साँचो म तिमीहरूलाई भन्दछु, तिमीहरूले पितासँग जे मागौला, उहाँले मेरो नाउँमा तिमीहरूलाई दिनुहुनेछ।

24 अहिलेसम्म तिमीहरूले मेरो नाउँमा केही मागेका छैनौ। माग र तिमीहरूले पाउनेछौ, अनि तिमीहरूको आनन्द पूर्ण हुनेछ।

25 यी कुरा मैले तिमीहरूलाई दृष्टान्तहरूमा भनेको छु जब त्यो समय आउँछ, तब म तिमीहरूलाई फेरि दृष्टान्तहरूमा भन्‍‌नेछैनँ तर पिताको विषयमा तिमीहरूलाई स्पष्टसँग बताउनेछु।

26 त्यो दिन तिमीहरूले मेरो नाउँमा माग्‍‌नेछौ र ‘म तिमीहरूका निम्ति पितालाई विन्ती गर्नेछु’ भनी तिमीहरूलाई भन्दिनँ।

27 किनभने पिता आफैले तिमीहरूलाई प्रेम गर्नुहुन्छ, किनकि तिमीहरूले मलाई प्रेम गरेका छौ र म परमेश्वरतर्फबाट आएको हुँ भनी विश्वास गरेका छौ।

28 म पिताबाट संसारमा आएँ र फेरि म संसारलाई छोडेर पिताकहाँ जाँदै छु।’’

29 तब उहाँका चेलाहरूले भने, ‘‘हेर्नुहोस्, तपाईं अहिले स्पष्टसँग बोल्दै हुनुहुन्छ र दृष्टान्तहरूमा होइन।

30 तपाईं सबै कुरा जान्‍‌नुहुन्छ र कसैले तपाईंलाई सोध्‍‌न आवश्यक छैन भनी अब हामी जान्दछौं, यसैमा तपाईं परमेश्वरतर्फबाट निस्किएर आउनुभएको हो भनी हामी विश्वास गर्दछौं।’’

31 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, ‘‘के तिमीहरू अब विश्वास गर्दछौ?

32 हेर, बेला आउँदै छ र आएकै छ, तिमीहरू हरेक आ-आफ्‍‌नै ठाउँमा तितरबितर हुनेछौ र मलाई एकलै छोड्‍‌नेछौ। तापनि म एकलै छैन, किनभने पिता मसँग हुनुहुन्छ।

33 ममा तिमीहरूलाई शान्ति होस् भनेर मैले यी कुरा तिमीहरूलाई भनेको छु। संसारमा तिमीहरूलाई सङ्कष्ट हुनेछ, तर ढाडस गर ! मैले संसारलाई जितेको छु।’’




17

1 यी कुरा भनिसक्‍‌नुभएपछि येशूले माथि स्वर्गतिर हेरेर प्रार्थना गर्नुभयो, ‘‘हे पिता, बेला आइपुगेको छ, पुत्रको महिमा गर्नुहोस् र पुत्रले पनि तपाईंको महिमा गरोस्।

2 किनकि तपाईंले दिनुभएको हरेकलाई अनन्त जीवन दिनसकोस् भनेर तपाईंले उसलाई यस पृथ्वीको मानिस जातिमाथि अधिकार दिनुभएको छ।

3 अनन्त जीवन यही हो कि तिनीहरूले तपाईं एकमात्र सत्य परमेश्वरलाई र तपाईंले पठाउनुभएको येशू ख्रीष्टलाई चिनून्।

4 तपाईंले मलाई अह्राउनुभएका सबै काम सिद्ध‍याएर यस पृथ्वीमा मैले तपाईंको महिमा गरेको छु।

5 अब हे पिता, मलाई तपाईंको सामु त्यो महिमाले महिमित गराउनुहोस्, जुन महिमा संसार हुनुभन्दा अघि मेरोनिम्ति तपाईंमा थियो।

6 मैले यी मानिसहरूकहाँ तपाईंको नाउँ प्रकट गरिदिएको छु, जसलाई तपाईंले यस संसारबाट मलाई दिनुभयो, तिनीहरू तपाईंका थिए र मलाई तपाईंले तिनीहरू दिनुभयो अनि तिनीहरूले तपाईंको वचन पालन गरेका छन्।

7 मसित जेजति छन् ती सबै तपाईंबाट नै आएका हुन् भन्‍‌ने कुरा अहिले तिनीहरूले थाहा पाएका छन्।

8 किनभने जुन वचन तपाईंले मलाई दिनुभयो, ती मैले तिनीहरूलाई दिएको छु र तिनीहरूले ती ग्रहण गरे अनि म तपाईंबाट आएको हुँ भनी तिनीहरूले निश्चय गरी जानेका छन् अनि तपाईंले मलाई पठाउनुभएको हो भनी तिनीहरूले विश्वास गरेका छन्।

9 म तिनीहरूका निम्ति प्रार्थना गर्दछु, संसारको निम्ति त मैले प्रार्थना गरिरहेको छैन तर तपाईंले मलाई दिनुभएकाहरूको लागि म प्रार्थना गरिरहेको छु, किनभने तिनीहरू तपाईंकै हुन्।

10 मेरा सबै कुरा तपाईंका हुन्, तपाईंका मेरा हुन् र म तिनीहरूमा महिमित भएको छु।

11 म फेरि संसारमा हुँदिनँ तर यिनीहरू त यही संसारमा रहन्छन् र म तपाईंकहाँ आउँछु। हे पवित्र पिता, जो तपाईंले मलाई दिनुभएको छ, तपाईंको नाउँमा तिनीहरूलाई जोगाइराख्‍‌नुहोस् र तिनीहरू पनि हामीजस्तै एक होऊन्।

12 जब म तिनीहरूसँग संसारमा थिएँ, तपाईंले मलाई दिनुभएकाहरूलाई तपाईंको नाउँमा जोगाइराखेँ र तिनीहरूको रक्षा गरेँ। धर्मशास्त्र पूरा होस् भनेर विनाशको छोरोबाहेक अरु कोही पनि नष्ट भएनन्।

13 अब म तपाईंकहाँ आउँदै छु। तिनीहरू मेरो आनन्दमा पूरा भरपूर होऊन् भनी म संसारमा हुँदा नै मैले यी कुरा भनिदिएको छु।

14 मैले तिनीहरूलाई तपाईंको वचन दिएको छु । तर संसारले तिनीहरूलाई घृणा गर्‍यो, किनकि तिनीहरू संसारका होइनन्, जस्तो म संसारको होइन।

15 तपाईंले तिनीहरूलाई संसारबाट लैजानुहोस् भनी म विन्ती गर्दिनँ, तर तिनीहरूलाई दुष्टबाट जोगाइराख्‍‌नुहोस्।

16 जस्तो म संसारको होइन, तिनीहरू पनि संसारका होइनन्।

17 सत्यले तिनीहरूलाई पवित्र पार्नुहोस्, तपाईंको वचन सत्य छ।

18 जसरी तपाईंले मलाई संसारमा पठाउनुभयो, मैले पनि तिनीहरूलाई संसारमा पठाएँ।

19 तिनीहरू पनि सत्यमा पवित्र होऊन् भनेर म आफैलाई तिनीहरूका खातिर पवित्र गर्दछु।

20 म तिनीहरूका निम्ति मात्र विन्ती गर्दिनँ, तर तिनीहरूका वचनद्वारा मलाई विश्वास गर्नेहरूका निम्ति पनि गर्दछु।

21 जसरी तपाईं ममा र म तपाईंमा एक छौं, त्यसरी नै हे पिता, तिनीहरू पनि हामीमा एक होऊन्। तपाईंले नै मलाई पठाउनुभएको हो भनी संसारले विश्वास गर्नसकोस्

22 तपाईंले मलाई दिनुभएको महिमा मैले तिनीहरूलाई दिएको छु। तिनीहरू हामीझँै एक हुनसकून्, जसरी हामी एक छौं।

23 म तिनीहरूमा र तपाईं ममा भएझैँ तिनीहरूमा पूर्ण रूपमा एकता होस्। तपाईंले मलाई संसारमा पठाउनुभएको हो र तपाईंले मलाई प्रेम गरेजस्तै तिनीहरूलाई पनि प्रेम गर्नुभयो भनी संसारले थाहा पाओस्।

24 हे पिता, म इच्छा गर्दछु कि जो जो तपाईंले मलाई दिनुभएको छ, तिनीहरू पनि म जहाँ छु मसितै होऊन् र तपाईंले मलाई दिनुभएको महिमा तिनीहरूले देखून् किनकि तपाईंले संसारको उत्पत्तिभन्दा पहिलेदेखि नै मलाई प्रेम गर्नुभयो।

25 हे धार्मिक पिता, संसारले तपाईंलाई चिनेन, तापनि म तपाईंलाई चिन्दछु र तपाईंले मलाई पठाउनुभयो भनी तिनीहरूले थाहा पाएका छन्।

26 मैले तिनीहरूलाई तपाईंको नाउँ प्रकट गराएको छु र प्रकट गराइरहनेछु, यसैले कि जुन प्रेमले तपाईंले मलाई प्रेम गर्नुभयो, सो प्रेम तिनीहरूमा रहोस् र म तिनीहरूमा रहूँ।’’




18

1 यी कुरा गरिसकेपछि येशू आफ्‍‌ना चेलाहरूसँग किद्रोन खोल्सापारि जानुभयो, त्यहाँ एउटा बगैँचा थियो र उहाँ आफ्‍‌ना चेलाहरूको साथमा त्यहाँ पस्‍‌नुभयो।

2 उहाँलाई पक्राइदिने यहूदाले पनि त्यो ठाउँ चिनेको थियो, किनकि येशू आफ्‍‌ना चेलाहरूसँग त्यहाँ प्राय: भेट्‍‌ने गर्नुहुन्थ्यो।

3 तब यहूदा मुख्य पूजाहारीहरू र फरिसीहरूबाट सिपाहीहरूको एक दल र मन्दिरका पहरेदारहरू लिएर बत्ती, राँको र हातहतियारसहित त्यहाँ आयो।

4 यसकारण येशूले आफूमाथि आइपर्ने सबै कुरा थाहा पाएर अघि बढ्‍‌नुभयो र तिनीहरूलाई सोध्‍‌नुभयो, ‘‘तिमीहरू कसलाई खोज्दै छौ?’’

5 तिनीहरूले उहाँलाई जवाफ दिए, ‘‘नासरतका येशूलाई।’’ येशूले तिनीहरूलाई भन्‍‌नुभयो,‘‘म उही हुँ।’’ अनि उहाँलाई पक्राइदिने यहूदा पनि तिनीहरूसँगै उभिरहेको थियो।

6 उहाँले ‘‘म उही हुँ’’ भन्‍‌नासाथ तिनीहरू पछि हटे र भुइँमा लोटे।

7 उहाँले फेरि तिनीहरूलाई सोध्‍‌नुभयो, ‘‘तिमीहरू कसलाई खोज्दै छौ?’’ तिनीहरूले भने, ‘‘नासरतका येशूलाई।’’

8 येशूले जवाफ दिनुभयो, ‘‘मैले तिमीहरूलाई भनी हालेँ, म उही हुँ। यसकारण यदि तिमीहरू मलाई खोज्दै छौ भने यिनीहरूलाई जानदेऊ।’’

9 उहाँले भन्‍‌नुभएको यो वचन पूरा होस् भनेर यी कुरा भए: ‘‘तपाईंले मलाई दिनुभएकाहरूमध्ये कसैलाई पनि मैले गुमाइनँ।’’

10 तब सिमोन पत्रुसले आफूसँग भएको तरवार थुतेर प्रधान पूजाहारीको दासको दाहिने कान च्वाट्टै काटिदिए। त्यो दासको नाउँ माल्कस थियो।

11 तर येशूले पत्रुसलाई भन्‍‌नुभयो, ‘‘तरवार म्यानमा हाल। पिताले दिनुभएको कचौराबाट के म नपिऊँ?’’

12 त्यसरी सिपाहीहरूका दल, तिनका कप्तान र मन्दिरका पहरेदारहरूले येशूलाई पक्रे र बाँधे।

13 तिनीहरूले येशूलाई पहिले हन्‍‌नासकहाँ लगे, जो त्यस वर्षका प्रधान पूजाहारी कैयाफाका ससुरा थिए।

14 जसले ‘जनताको निम्ति एक जना मानिस मर्नुमा नै हित छ’ भनी यहूदीहरूलाई सल्लाह दिए। पत्रुसको पहिलो इन्कार

15 सिमोन र अर्को एक जना चेलाले येशूलाई पछ‍याउँदै थिए। त्यो अर्को चेला प्रधान पूजाहारीका चिनाजानी भएकोले तिनी येशूसँगै प्रधान पूजाहारीको आँगनमा पसे।

16 तर पत्रुस ढोकाबाहिरै उभिरहेका थिए । प्रधान पूजाहारीलाई चिन्‍‌ने त्यो अर्को चेला फर्केर गई ढोकामा पाले बस्‍‌ने स्त्रीलाई भनसुन गरेर पत्रुसलाई भित्र ल्याए।

17 तब ढोकामा पाले बस्‍‌ने स्त्रीले पत्रुसलाई सोधी, ‘‘तिमी पनि यस मानिसका चेलाहरूमध्ये एक होइनौ र?’’ तिनले भने, ‘‘अहँ, म होइन।’’

18 जाडोले गर्दा ती घरका नोकरहरू र पहरेदारहरू आफूलाई न्यानो पार्न आगो बालेर तापिरहेका थिए। पत्रुस पनि तिनीहरूसँग उभिएर आगो ताप्‍‌न लागे।

19 तब प्रधान पूजाहारीले येशूलाई उहाँका चेलाहरू र उहाँका शिक्षाको विषयमा सोधे।

20 येशूले जवाफ दिनुभयो, ‘‘मैले संसारलाई खुल्लमखुल्ला बताएको छु; मैले सधैँ सभाघरहरू र मन्दिरमा शिक्षा दिएको छु, जहाँ सबै यहूदीहरू भेला हुन्छन्। मैले गुप्तमा केही भनेको छैनँ।

21 तपाईं मलाई किन सोध्‍‌नुहुन्छ? मैले यिनीहरूलाई के भने सो सुन्‍‌नेहरूलाई नै सोध्‍‌नुहोस्। हेर्नुहोस्, मैले भनेका कुरा यिनीहरूलाई नै थाहा छ।’’

22 येशूले यी कुरा भनिसकेपछि उहाँको छेउमा उभिरहेको एक जना पहरेदारले उहाँलाई थप्पड हान्दै भनेँ, ‘‘के प्रधान पूजाहारीलाई जवाफ दिने तरीका यस्तै हो?’’

23 येशूले तिनलाई जवाफ दिनुभयो, ‘‘यदि मैले खराब बोलेको छु भने, गवाही देऊ तर असल बोलेको छु भने किन हिर्काउँछौ?’’

24 तब हन्‍‌नासले येशूलाई बाँधिएकै अवस्थामा प्रधान पूजाहारी कैयाफाकहाँ पठाइदिए।

25 पत्रुस उभिएर आगो ताप्दै थिए, तिनीहरूले तिनलाई सोधे, ‘‘के तिमी पनि उनका चेलाहरूमध्येका एक होइनौ?’’ तिनले इन्कार गर्दै भने, ‘‘म होइनँ।’’

26 प्रधान पूजाहारीका नोकरहरूमध्ये एक जना, जो पत्रुसद्वारा कान काटिएको व्यक्तिको आफन्त थियो, उसले सोध्यो, ‘‘के मैले तिमीलाई तिनीसँग बगैँचामा देखिनँ र?’’

27 तब फेरि पत्रुसले इन्कार गरे र तुरुन्तै भाले बास्यो।

28 त्यसपछि तिनीहरूले येशूलाई कैयाफाकहाँबाट प्रेटोरियनमा लगे। यसबेला बिहान भइसकेको हुनाले यहूदीहरू आफू बिटुलिएर निस्तार-भोज खान नपाइएला कि भन्‍‌ने डरले त्यसभित्र पसेनन्।

29 यसकारण पिलातस बाहिर तिनीहरूकहाँ गए र भने, ‘‘यस मानिसको विरुद्धमा तिमीहरू के आरोप लगाउँछौ?’’

30 तिनीहरूले जवाफ दिएर उनलाई भने, ‘‘यदि यो मानिस कुकर्मी नहुँदो हो त, हामी यसलाई तपाईंकहाँ सुम्पिने थिएनौं।’’

31 पिलातसले भने, ‘‘त्यसो भए यसलाई लैजाओ र आफ्‍‌नै व्यवस्थाअनुसार न्याय गर।’’ यहूदीहरूले उनलाई भने, ‘‘कुनै मानिसलाई प्राणदण्ड दिने अधिकार हामीलाई छैन।’’

32 उहाँको मृत्यु कस्तो प्रकारले हुनेछ, त्यसको सङ्केत दिएर आफैले भन्‍‌नुभएको वचन पूरा होस् भनी यसो भएको थियो।

33 तब पिलातस फेरि प्रेटोरियनभित्र पसे र येशूलाई बोलाएर सोधे, ‘‘के तिमी यहूदीहरूका राजा हौ?’’

34 येशूले भन्‍‌नुभयो, ‘‘के तपाईं आफैले सोध्‍‌नुभएको हो कि, अरु कसैले तपाईंलाई मेरो विषयमा भनेको हो?’’

35 पिलातसले जवाफ दिए, ‘‘के म यहूदी हुँ र? तिम्रै जाति र मुख्य पूजाहारीहरूले तिमीलाई मकहाँ सुम्पिदिए। तिमीले के गरेका छौ?’’

36 तब येशूले जवाफ दिनुभयो, ‘‘मेरो राज्य यस संसारको होइन । यदि मेरो राज्य यस संसारको भएदेखि मेरा सेवकहरूले म यहूदीहरूको हातमा नसुम्पिऊँ भनेर लडाइँ गर्नेथिए। तर मेरो राज्य यस संसारको होइन।’’

37 पिलातसले फेरि सोधे, ‘‘त्यसो भए तिमी राजा नै हौ त?’’ येशूले जवाफ दिनुभयो, ‘‘म राजा हुँ भनी तपाईं ठीकै भन्‍‌नुहुन्छ। यसैको निम्ति म जन्मेको हुँ र सत्यताको गवाही दिन म यस संसारमा आएको छु। हरेक, जो सत्यको हो, त्यसले मेरो स्वर सुन्छ।’’

38 पिलातसले उहाँलाई भने, ‘‘सत्य के हो त?’’ तब पिलातस बाहिर गए र यहूदीहरूलाई भने, ‘‘म यिनमा एउटै पनि दोष भेट्टाउँदिनँ।

39 तर प्रत्येक वर्ष निस्तार-चाडको अवसरमा मैले एक जनालाई तिमीहरूका निम्ति छोडिदिने तिमीहरूको चलन छ, यसकारण के मैले यहूदीहरूका राजालाई छोडिदिएको तिमीहरू चाहन्छौ?’’

40 तर तिनीहरू फेरि यसो भन्दै कराए, ‘‘यसलाई होइन ! तर बारब्बा (जो एक डाँका थियो) लाई छोडिदिनुहोस्।’’




19

1 तब पिलातसले येशूलाई लगेर कोर्रा हान्‍‌न लगाए।

2 सिपाहीहरूले काँडाको मुकुट बनाएर उहाँको शिरमा लगाइदिए। अनि उहाँलाई बैजनी रङ्गको वस्त्र पहिराइदिए।

3 अनि उहाँका नजिक आएर भने, ‘‘जय होस्, यहूदीहरूका राजा !’’ तिनीहरूले उहाँलाई थप्पड लगाए।

4 पिलातसले फेरि बाहिर निस्केर भने, ‘‘म यस मानिसलाई बाहिर तिमीहरूकहाँ ल्याउँछु, म यिनमा केही दोष पाउँदिनँ भनी तिमीहरूले थाहा पाओ।’’

5 त्यसपछि येशूलाई काँडाको मुकुट र बैजनी रङ्गको वस्त्र पहिर्‍याएर बाहिर ल्याइयो। पिलातसले भने, ‘‘यो मानिसलाई हेर !’’

6 जब मुख्य पूजाहारीहरू र मन्दिरका पहरेदारहरूले उहाँलाई देखे, तब तिनीहरू यसो भन्दै कराए, ‘‘त्यसलाई क्रूसमा टाँग्‍‌नुहोस् ! त्यसलाई क्रूसमा टाँग्‍‌नुहोस् !’’ पिलातसले तिनीहरूलाई भने, ‘‘तिमीहरू आफैले लगेर क्रूसमा टाँग, किनकि म यिनमा केही दोष पाउँदिनँ।’’

7 यहूदीहरूले तिनलाई जवाफ दिए, ‘‘हामीसँग व्यवस्था छ र त्यसअनुसार यो मर्नैपर्छ, किनकि यसले आफैलाई परमेश्वरको पुत्र तुल्याएको छ।’’

8 यस्तो कुरा सुनेर पिलातस झन् डराए।

9 अनि फेरि तिनले येशूलाई प्रेटोरियनभित्र लगे, र उहाँलाई सोधे, ‘‘तिमी कहाँका हौ?’’ तर येशूले कुनै जवाफ दिनुभएन।

10 पिलातसले सोधे, ‘‘के तिमी मसँग बोल्दैनौ? तिमीलाई छोडिदिने वा क्रूसमा टाँग्‍‌ने अधिकार मसँग छ भन्‍‌ने के तिमीलाई थाहा छैन?’’

11 येशूले जवाफ दिनुभयो, ‘‘माथिबाट नदिइएको भए तपाईंले ममाथि केही पनि अधिकार पाउनुहुने थिएन। यसकारण मलाई तपाईंकहाँ सुम्पिदिनेलाई झन् ठूलो पाप लाग्छ।’’

12 जसको फलस्वरूप पिलातसले येशूलाई छोडिदिने प्रयास गरे तर यहूदी अगुवाहरू यसो भन्दै कराए, ‘‘यदि तपाईंले यसलाई छोडिदिनुभयो भने तपाईं सिजरका मित्र हुनुहुन्‍‌न। प्रत्येक जसले आफैलाईराजा हुँ भन्छ, त्यो सिजरको विरुद्धमा बोल्दछ।’’

13 जब तिनीहरूले त्यसो भनेको पिलातसले सुने, तिनले येशूलाई फेरि तिनीहरूका सामुन्‍‌ने बाहिर ल्याए। तिनी आँगनमा भएको ‘ढुङ्गोको पाटी’ (हिब्रूमा ‘गब्बथा’) भनिने न्याय आसनमा बसे।

14 निस्तार-चाडको तयारीको दिन मध्यान्हतिर पिलातसले यहूदीहरूलाई भने, ‘‘हेर, तिमीहरूका राजा !’’

15 यसकारण तिनीहरू चिच्च्याउँदै कराए, ‘‘त्यसलाई लैजानुहोस् ! त्यसलाई लैजानुहोस् ! त्यसलाई क्रूसमा टाँग्‍‌नुहोस् !’’ पिलातसले सोधे, ‘‘के तिमीहरूका राजालाई म क्रूसमा टाँगँू?’’ मुख्य पूजाहारीहरूले जवाफ दिए, ‘‘सिजरबाहेक हाम्रा अरु राजा नै छैन।’’

16 तब पिलातसले येशूलाई क्रूसमा टाँग्‍‌नू भनी तिनीहरूको जिम्मा लगाए। अनि तिनीहरूले येशूलाई लिएर गए।

17 उहाँ आफ्‍‌नो क्रूस आफै बोकेर खप्परे भनिने ठाउँमा जानुभयो, जसलाई हिब्रूमा ‘गलगथा’ भनिन्छ।

18 त्यहाँ तिनीहरूले उहाँलाई क्रूसमा टाँगे। उहाँको दायाँ र बायाँ दुईतिर दुई जनालाई उहाँसँगै तिनीहरूले क्रूसमा टाँगे, उहाँलाई बीचमा टाँगे।

19 अनि पिलातसले लेखिदिएको दोषपत्र पनि उहाँको शिरमाथि टाँसिदिए। त्यसमा ‘‘नासरतका येशू, यहूदीहरूका राजा’’ लेखिएको थियो।

20 यसकारण धेरै यहूदीहरूले यो दोषपत्र पढे ्किनकि येशूलाई क्रूसमा टाँगिएको ठाउँ शहरको नजिकै थियो। त्यो दोषपत्र हिब्रू, ल्याटिन र ग्रीकभाषामा लेखिएको थियो।

21 तब यहूदीहरूका मुख्य पूजाहारीहरूले पिलातसलाई भने, ‘‘ ‘यहूदीहरूका राजा’ होइन, बरु यसले ‘म यहूदीहरूको राजा हुँ’ भन्थ्यो भनी लेखिदिनुहोस्।’’

22 तर पिलातसले जवाफ दिँदै भने, ‘‘मैले जे लेखेँ, लेखेँ।’’

23 तब तिनीहरूले येशूलाई क्रूसमा टाँगेपछि उहाँका वस्त्र लिएर हरेक सिपाहीका लागि एक-एक भाग हुनेगरी चार भाग लगाए र अलखा पनि। त्यो अलखा नसिलाइएको तर सिङ्गै बुनिएको थियो ।

24 यसकारण तिनीहरूले आपसमा भने, ‘‘यो नच्यातौं, तर यो कसको हुने हो भनी चिट्ठा हालौं।’’ यसरी धर्मशास्त्रमा भनिएको वचन पूरा भयो : ‘‘तिनीहरूले मेरा वस्त्र आपसमा बाँडे र बाहिरी वस्त्रको निम्ति चिट्ठा हाले।’’ यसकारण सिपाहीहरूले यो काम गरे।

25 त्यहाँ नजिकै येशूकी आमा, उहाँकी छ‍यामा, क्लोपासकी पत्‍‌नी मरियम र मरियम मग्दलिनी उभिरहेका थिए।

26 जब येशूले आफ्‍‌नी, आमालाई र उहाँले प्रेम गर्नुभएको चेलालाई नजिकमा उभिरहेको देख्‍‌नुभयो, तब उहाँले आफ्‍‌नी आमालाई भन्‍‌नुभयो, ‘‘हे नारी, हेर तिम्रो छोरो !’’

27 अनि उहाँले त्यस चेलालाई पनि भन्‍‌नुभयो, ‘‘हेर तिम्री आमा !’’ त्यस समयदेखि त्यो चेलाले मरियमलाई आफ्‍‌नै घरमा लगे।

28 यसपछि येशूले सबै कार्य सकियो भनी जानेर धर्मशास्त्र पूरा होस् भनी यसो भन्‍‌नुभयो, ‘‘मलाई तिर्खा लाग्यो।’’

29 त्यहाँ सिर्काले भरिएको एउटा भाँडो राखिएको थियो। तब तिनीहरूले एउटा स्पन्ज त्यस भाँडामा चोबेर त्यसलाई हिसपको हाँगामा राखी उहाँको मुखसम्म पुर्‍याए।

30 येशूले सिर्का लिनुभयो र भन्‍‌नुभयो, ‘‘अब सिद्धियो !’’ तब उहाँले शिर निहुराएर आफ्‍‌नो आत्मा सुम्पिनुभयो।

31 त्यो दिन तयारीको दिन भएकोले विश्राम दिनमा (किनकि त्यो विशेष विश्राम-दिन थियो) यहूदीहरूले शरीरहरू क्रूसमा नरहून् भनेर पिलातससँग तिनीहरूका खुट्टा भाँचिऊन् र तिनीहरू लगिऊन् भनी विन्ती चढाए।

32 तब सिपाहीहरू आएर पहिलोको खुट्टा भाँचे र उहाँसित क्रूसमा टाँगिएको अर्कोको पनि भाँचे।

33 तर जब तिनीहरू येशूकहाँ आए, उहाँलाई अघि नै मरिसकेको देखेर तिनीहरूले उहाँका खुट्टा भाँचेनन्।

34 तर सिपाहीहरूमध्ये एक जनाले उहाँको कोखामा भालाले घोच्यो र तुरुन्तै रगत र पानी निस्क्यो।

35 अनि तिमीहरूले विश्वास गर भनेर जसले यो देख्यो, उसैले गवाही दिएको हो, अनि उसको गवाही सत्य छ र सत्य बोल्दछु भनी उसले जान्दछ।

36 किनकि ‘‘उहाँको एउटै पनि हड्डी भाँचिनेछैन’’ भन्‍‌ने धर्मशास्त्रको वचन पूरा होस् भनेर यी कुरा भएका थिए।

37 अनि फेरि अर्को ठाउँमा धर्मशास्त्रले भन्दछ, ‘‘जसलाई तिनीहरूले घोचे, उहाँलाई तिनीहरूले हेर्नेछन्।’’ येशूको मृतक-संस्कार

38 त्यसपछि अरिमाथियाका योसेफ (जो यहूदीहरूको डरले गुप्तमा येशूका चेला भएका थिए)ले पिलातससित येशूको शरीर क्रूसबाट झिकेर लैजाने अनुमति मागे । पिलातसले अनुमति दिए। यसकारण तिनले आएर येशूको लाश लगे।

39 पहिले येशूलाई राती भेट्‍‌न आउने निकोदेमस पनि चौंतीस किलोग्रामजति गन्धरस र मुर्र मिसाइएको सुगन्धित अत्तर लिएर आए।

40 ती दुवै जना मिलेर येशूको लाशलाई यहूदी प्रथाअनुसार अत्तर घसेर सुतीको कात्रोले बेरे ।

41 उहाँ क्रूसमा टाँगिनुभएको ठाउँ नजिकै एउटा बगैँचा थियो, अनि त्यहाँ अघि कुनै लाश नराखिएको एउटा नयाँ चिहान थियो।

42 यहूदीहरूको तयारीको दिन भएकोले तिनीहरूले येशूको लाशलाई त्यही चिहानमा राखे।




20

1 हप्ताको पहिलो दिन बिहानै मिर्मिरेमा मरियम मग्दलिनी चिहानमा आइन् र चिहानको मुखमा राखिएको ढुङ्गो हटाइएको देखिन्।

2 तिनी त्यहाँबाट दौडिन् अनि सिमोन पत्रुस र येशूले प्रेम गर्नुहुने चेलाकहाँ आइन् अनि तिनीहरूलाई भनिन्, ‘‘तिनीहरूले प्रभुको लाशलाई चिहानबाट लगेछन् र कहाँ राखेका छन् हामीलाई थाहा छैन।’’

3 सिमोन पत्रुस र अर्को चेला चिहान भएतिर दौडेर गए।

4 ती दुवै सँगसँगै दगुरे अनि त्यो अर्को चेलाले पत्रुसलाई उछिनेर चिहानमा पहिले आइपुगे।

5 तिनले निहुरेर हेरे, त्यहाँ सुतीको कात्रो मात्रै लत्रिएको देखे, तर तिनी भित्र पसेनन्।

6 तब तिनको पछि-पछि सिमोन पत्रुस आइपुगे र चिहानभित्र पसे। तिनले पनि कात्रो मात्रै त्यहाँ पडिरहेको देखे।

7 उहाँको शिरमा बाँधिएको रुमाल कात्रोसँग होइन तर अलग्गै एक ठाउँमा पट्ट‍याएर राखिएको थियो।

8 तब चिहानमा पहिले आइपुग्‍‌ने अर्को चेला पनि भित्र पसे र त्यो देखेर तिनले विश्वास गरे,

9 किनभने उहाँ मृतकबाट पुनर्जीवित हुनुपर्छ भन्‍‌ने धर्मशास्त्रको वचन अहिलेसम्म तिनीहरूले बुझेका थिएनन्।

10 त्यसपछि ती चेलाहरू आ-आफ्‍‌ना घर गए।

11 तब मरियम रुँदै चिहानबाहिर उभिरहेकी थिइन् र रुँदै तिनले निहुरेर चिहानभित्र हेरिन्।

12 अनि जहाँ येशूको लाश राखिएको थियो, त्यहाँ सेता वस्त्र लाएका दुई स्वर्गदूतहरूलाई एउटा शिरतिर, अनि अर्को पाउतिर बसिरहेको तिनले देखिन्।

13 उनीहरूले तिनलाई भने, ‘‘हे नारी, तिमी किन रुन्छ‍यौ?’’ तिनले उनीहरूलाई भनिन्, ‘‘तिनीहरूले मेरा प्रभुलाई लगेछन् र उहाँलाई कहाँ राखेका छन्, म जान्दिनँ।’’

14 यति भनि सकेर तिनले पछाडि फर्केर हेरिन् र आफ्‍‌नो पछि कोही उभिरहेको देखिन्, उहाँ येशू हुनुहुन्थ्यो तर तिनले उहाँलाई चिनिनन्।

15 येशूले तिनलाई ‘‘हे नारी, तिमी किन रुन्छ‍यौ? तिमी कसलाई खोज्दैछ‍यौ?’’ तिनले उहाँलाई बगँैचामा काम गर्ने माली भनी ठानेर सोधिन्, ‘‘हजूर, यदि तपाईंले उहाँको लाशलाई यहाँबाट लैजानुभएको भए, कहाँ राख्‍‌नुभएको छ? मलाई भनिदिनुहोस् र म उहाँलाई लैजानेछु।’’

16 येशूले भन्‍‌नुभयो, ‘‘हे मरियम !’’ तिनी उहाँतिर फर्किन् र भनिन्, ‘‘रब्बोनी (अर्थात् गुरुज्यू)!’’

17 येशूले तिनलाई भन्‍‌नुभयो, ‘‘मलाई नछोऊ, किनभने म अझै माथि पिताकहाँ गएको छैनँ। बरु मेरा भाइहरूकहाँ जाऊ र तिनीहरूलाई भनिदेऊ, म मेरा र तिमीहरूका पिता अनि मेरा र तिमीहरूका परमेश्वरकहाँ माथि जान्छु।’’

18 मरियम मग्दलिनी आइन् र भनिन्, ‘‘मैले प्रभुलाई देखेँ !’’ अनि तिनले, उहाँले भन्‍‌नुभएको कुरा चेलाहरूलाई बताइन्।

19 हप्ताको पहिलो दिन साँझमा येशूका चेलाहरू यहूदीहरूको डरले ढोका थुनेर बसिरहेका बेला अचानक येशू तिनीहरूका माझमा आएर उभिनुभयो र तिनीहरूलाई भन्‍‌नुभयो, ‘‘तिमीहरूलाई शान्ति होस् !’’

20 यति भनिसक्‍‌नुभएपछि उहाँले तिनीहरूलाई आफ्‍‌ना हात र कोखा देखाउनुभयो। तिनीहरू प्रभुलाई देखेर अत्यन्तै खुशी भए।

21 तब येशूले फेरि तिनीहरूलाई भन्‍‌नुभयो, ‘‘तिमीहरूलाई शान्ति होस्, जसरी मेरा पिताले मलाई पठाउनुभयो, त्यसरी नै म पनि तिमीहरूलाई पठाउँछु।’’

22 अनि यसो भनेर उहाँले तिनीहरूमाथि श्वास फुकिदिनुभयो र तिनीहरूलाई भन्‍‌नुभयो, ‘‘पवित्र आत्मा लेओ।

23 यदि तिमीहरूले कसैको पाप क्षमा गर्‍यौ भने तिनीहरूलाई क्षमा हुनेछ। यदि तिमीहरूले तिनीहरूका पाप क्षमा गरेनौ भने तिनीहरूका पाप क्षमा हुनेछैन।’’

24 येशू देखा पर्नुभएको बेला बाह्रमध्येका एक, दिदुमस भनिने थोमा तिनीहरूको बीचमा थिएनन्।

25 यसकारण अरु चेलाहरूले तिनलाई भने, ‘‘हामीले प्रभुलाई देख्यौं !’’ तर तिनले तिनीहरूलाई भने, ‘‘जबसम्म म उहाँका हातमा काँटीहरूका डोब देख्दिनँ र आफ्‍‌नो औँला ती काँटीहरूका डोबमा राख्दिनँ अनि आफ्‍‌नो हात उहाँको कोखामा हाल्दिनँ तबसम्म म विश्वास गर्नेछैनँ। ’’

26 त्यसको आठ दिनपछि उहाँका चेलाहरू फेरि कोठाभित्र थिए र तिनीहरूसँग थोमा पनि थिए। ढोकाहरू बन्द भएकैमा येशू आउनुभयो, बीचमा उभिएर भन्‍‌नुभयो, ‘‘तिमीहरूलाई शान्ति होस् !’’

27 तब उहाँले थोमालाई भन्‍‌नुभयो, ‘‘तिम्रा आैंलाहरू यहाँ हाल, मेरा हातहरू हेर। तिम्रा हात मेरा कोखामा हाल। अबदेखि उसो शङ्कालु नहोऊ तर विश्वास गर।’’

28 थोमाले उहाँलाई भने, ‘‘मेरा प्रभु र मेरा परमेश्वर !’’

29 तब येशूले तिनलाई भन्‍‌नुभयो, ‘‘तिमीले मलाई देख्यौ, त्यसकारण विश्वास गर्‍यौ ? तर मलाई नदेखिकन पनि विश्वास गर्नेहरू धन्यका हुन्।’’

30 येशूले आफ्‍‌ना चेलाहरूका अघि अरु पनि धेरै चिन्हहरू गर्नुभयो, जुन यस पुस्तकमा लेखिएका छैनन्।

31 तर तिमीहरूले येशू नै परमेश्वरका पुत्र ‘ख्रीष्ट’ हुनुहुन्छ भनी विश्वास गर अनि विश्वास गरेर उहाँको नाउँमा जीवन पाओ भनी यी लेखिएका हुन्।




21

1 यी कुरापछि येशूले फेरि पनि आफूलाई तिबेरियास समुद्रको छेउमा चेलाहरूकहाँ यसरी प्रकट गर्नुभयो :

2 सिमोन पत्रुस, दिदुमस भनिने थोमा, गालीलको कानानगरका नथानेल, जब्दियाका दुई छोराहरू र उहाँका चेलाहरूमध्ये अरु दुई जना एकसाथ थिए।

3 सिमोन पत्रुसले तिनीहरूलाई भने, ‘‘म माछा मार्न जान्छु।’’ तिनीहरूले उनलाई भने, ‘‘हामी पनि तिमीसितै जान्छौं।’’ तिनीहरू गए र तुरुन्तै एउटा डुङ्गामा चढे, अनि त्यो रात तिनीहरूले एउटै पनि माछा पक्रेनन्।

4 बिहान मिर्मिरेमा चेलाहरूले येशूलाई किनारमा उभिरहनुभएको देखे तर उहाँ, येशू नै हुनुहुन्छ भनी तिनीहरूले चिनेनन्।

5 येशूले तिनीहरूलाई भन्‍‌नुभयो, ‘‘बालक हो, के तिमीहरूसँग केही माछा छ?’’ तिनीहरूले जवाफ दिए, ‘‘छैन।’’

6 उहाँले तिनीहरूलाई भन्‍‌नुभयो, ‘‘जाल डुङ्गाको दाहिनेपट्टि हान र पाउनेछौ।’’ तब तिनीहरूले जाल हाने, अनि माछाहरूको थुप्रोले गर्दा तिनीहरूले जाल तान्‍‌न सकेनन्।

7 तब येशूले प्रेम गर्नुहुने चेलाले पत्रुसलाई भने, ‘‘उहाँ त प्रभु पो हुनुहुँदोरहेछ !’’ जब पत्रुसले ‘उहाँ प्रभु हुनुहुँदोरहेछ’ भन्‍‌ने सुने, तब तिनले आफ्‍‌नो वस्त्र कम्मरमा बेह्रे (किनकि काम गर्दा तिनले वस्त्र खोलेका थिए) र समुद्रमा हामफाले।

8 अरु चेलाहरू माछाले भरिएको जाल तान्दै सानो डुङ्गामा चढेर किनारमा आए (किनकि तिनीहरू किनारबाट लगभग एक सय मिटरजति टाढा थिए)।

9 तिनीहरू किनारमा आइपुग्दा रोटी र भुङ्ग्रोमाथि माछा राखिएको देखे।

10 येशूले तिनीहरूलाई भन्‍‌नुभयो, ‘‘तिमीहरूले अहिले पक्रेका केही माछा यहाँ ल्याओ।’’

11 सिमोन पत्रुस डुङ्गामा चढेर एक सय त्रिपन्‍‌नवटा ठूलठूला माछाले भरिएको जाल किनारमा तान्दै ल्याए र धेरै माछा मारे तापनि जाल फाटेन।

12 येशूले तिनीहरूलाई भन्‍‌नुभयो, ‘‘आएर खाओ।’’ अनि उहाँ प्रभु हुनुहुन्छ भनी जानेर चेलाहरूमध्ये कसैले पनि ‘‘तपाईं को हुनुहुन्छ?’’ भनी उहाँलाई सोध्‍‌ने आँट गरेनन्।

13 येशू आएर रोटी लिई तिनीहरूलाई दिनुभयो र त्यसरी नै माछा पनि दिनुभयो।

14 मृतकबाट पुनर्जीवित हुनुभएपछि येशू चेलाहरूकहाँ देखा पर्नुभएको यो तेस्रोपल्ट हो।

15 अनि तिनीहरूले खाइसकेपछि येशूले सिमोन पत्रुसलाई भन्‍‌नुभयो, ‘‘ए यूहन्‍‌नाको छोरो सिमोन, के तिमी मलाई यिनीहरूभन्दा बढ्ता साँचो प्रेम गर्छौ?’’ पत्रुसले भने, ‘‘ज्यू प्रभु, तपाईं जान्‍‌नुहुन्छ, म तपाईंलाई प्रेम गर्छु।’’ उहाँले भन्‍‌नुभयो, ‘‘मेरा थुमाहरूलाई खुवाऊ।’’

16 येशूले दोस्रोपल्ट तिनलाई भन्‍‌नुभयो, ‘‘ए यूहन्‍‌नाको छोरो सिमोन, के तिमी मलाई साँचो प्रेम गर्छौ?’’ पत्रुसले भने, ‘‘ज्यू प्रभु, तपाईंलाई थाहा छ, म तपाईंलाई प्रेम गर्छु।’’ येशूले तिनलाई भन्‍‌नुभयो, ‘‘मेरा भेडाहरूको हेरचाह गर।’’

17 येशूले फेरि तेस्रोपल्ट पत्रुसलाई भन्‍‌नुभयो, ‘‘ए यूहन्‍‌नाको छोरो सिमोन, के तिमी मलाई प्रेम गर्छौ?’’ पत्रुस दु:खित भए, किनकि उहाँले तेस्रोपल्ट तिनलाई ‘के तिमी मलाई प्रेम गर्छौ ?’ भन्‍‌नुभयो। तिनले उहाँलाई भने, ‘‘प्रभु, तपाईं सब कुरा जान्‍‌नुहुन्छ, म तपाईंलाई प्रेम गर्दछु भनी तपाईंलाई थाहै छ।’’ येशूले तिनलाई भन्‍‌नुभयो, ‘‘मेरा भेडाहरूलाई चराऊ।

18 साँचो साँचो म तिमीलाई भन्दछु, जब तिमी जवान थियौ, तब तिमी आफैले पटुका कस्थ्यौ, जहाँ मन लाग्यो त्यहीँ जान्थ्यौ तर बूढो भएपछि तिमीले आफ्‍‌ना हात पसार्नेछौ अनि अर्को एक जनाले तिम्रो पटुका कसिदिनेछ र तिमीलाई मन नलागेको ठाउँमा लैजानेछ।’’

19 कुन किसिमको मृत्युद्वारा तिनले परमेश्वरको महिमा गर्नेछन्, त्यसको सङ्केत गर्दै उहाँले यो भन्‍‌नुभएको थियो। यति भनेर उहाँले तिनलाई भन्‍‌नुभयो, ‘‘मेरोपछि लाग !’’

20 पत्रुसले पछि फर्केर हेर्दा येशूले प्रेम गर्नुहुने चेलालाई पछि-पछि आउँदै गरेका देखे। तिनले नै बेलुकीको भोजनको समयमा उहाँको छातीमा ढल्केर, ‘‘प्रभु, तपाईंलाई धोका दिने चेला को हो?’’ भनी सोधेका थिए।

21 तिनलाई देखेर पत्रुसले येशूलाई सोधे, ‘‘प्रभु, यिनले के गर्नेछन् त?’’

22 येशूले जवाफ दिनुभयो, ‘‘यदि म नआउन्जेल यिनी बाँचिरहून् भन्‍‌ने इच्छा मैले गरेँ भने पनि तिमीलाई यसको के चासो? तिमी मेरोपछि लाग !’’

23 यसरी ‘तिनी मर्दैनन्’ भन्‍‌ने कुरा भाइहरूको बीचमा फैलियो तापनि येशूले तिनी मर्नेछैनन् भनी भन्‍‌नुभएको थिएन। ‘‘यदि म नआउन्जेल यिनी बाँचिरहून् भन्‍‌ने इच्छा मैले गरेँ भने पनि तिमीलाई यसको के चासो?’’ मात्र भन्‍‌नुभएको थियो।

24 यी कुराको विषयमा गवाही दिने र लेख्‍‌ने चेला यिनै हुन् अनि हामी जान्दछौं कि तिनको गवाही सत्य छ।

25 येशूले गर्नुभएका अरु पनि धेरै कामहरू छन्, यदि ती सबै एक-एक गरी विस्तृतरूपमा लेखिएका भए, मेरो विचारमा लेखिएका ती पुस्तकहरू संसारमा अटाउने थिएनन्।



AMAZING GRACE BIBLE INSTITUTE