JAMES

याकुब


Chapter 1

1 परमेश्वर र प्रभु येशू ख्रीष्टका एक कमारा, याकूबबाट : ठाउँ- ठाउँमा तितरबितर भएका बाह्र कुललाई अभिवादन।

2 मेरा भाइहरू हो, हरेक किसिमका परीक्षाहरू तिमीहरूमा आइपर्दा तिनलाई पूरा आनन्दको कुरा सम्झ,

3 यो जानेर कि तिमीहरूको विश्वासको जाँचले धैर्य उत्पन्‍‌न गराउँछ।

4 तर तिमीहरू सबै कुरामा परिपक्व र पूर्ण हुनको निम्ति धैर्यलाई आफ्‍‌नो काम पूरा गर्न देओ,

5 यदि तिमीहरूमध्ये कसैलाई बुद्धिको अभाव छ भने उदारतापूर्वक नझर्की दिनुहुने परमेश्वरसित त्यसले मागोस् र त्यसलाई त्यो दिइनेछ।

6 तर त्यसले कुनै पनि शङ्का नगरी विश्वाससाथ मागोस् किनकि शङ्का गर्ने बतासले उचाल्दै-पछार्दै गरेको समुद्रका छालसमान हो।

7 किनकि त्यस मानिसले प्रभुबाट केही पाउनेछु भन्‍‌ने आशा नगरोस्।

8 दोमनको मानिस सबै चालचलनमा अस्थिर हुन्छ।

9 दीन अवस्थाको भाइले आफू उच्च पारिएको छ भन्‍‌ने कुरामा आनन्द गरोस्।

10 अनि धनीले आफू तल झारिएको छ भन्‍‌ने कुरामा गर्व गरोस्, किनभने ऊ घाँसको फूलजस्तै ओइलाएर जानेछ।

11 किनकि पोल्‍‌ने तापसित घाम झुल्किन्छ र घाँसलाई ओइलाइदिन्छ अनि त्यसको फूल झर्छ र त्यसको सौन्दर्य नाश हुन्छ। यही प्रकारले धनी मानिस पनि आफ्‍‌ना प्रयासमा ओइलिएरजानेछ।

12 त्यो मानिस धन्यको हो, जो परीक्षामा स्थिर रहन्छ, किनकि उसको विश्वासको जाँच भइसकेपछि उसले जीवनको मुकुट पाउनेछ, जुन परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूलाई दिनुहुने प्रतिज्ञा गर्नुभएको छ।

13 कसैले पनि आफू परीक्षामा पर्दा, ‘‘परमेश्वरद्वारा मेरो परीक्षा भएको छ,’’ नभनोस्। किनकि कुनै खराब कुराबाट परमेश्वरको परीक्षा हुनसक्दैन, न त उहाँले कुनै मानिसको परीक्षा गर्नुहुन्छ।

14 तर हरेक मानिस आफ्‍‌नै खराब अभिलाषाद्वारा लोभिएर परीक्षामा पर्दछ ।

15 खराब अभिलाषाद्वारा गर्भधारण गरेर यसले पापलाई जन्म दिन्छ र पाप पूरै बढेपछि त्यसले मृत्यु ल्याउँछ।

16 मेरा प्रिय भाइहरू हो, धोकामा नपर।

17 हरेक असल दान र हरेक सिद्ध वरदान माथि हुनुहुने ज्योतिका पिताबाट तल आउँछ, उहाँमा बद्लिरहने छायाँजस्तो कुनै हेरफेर हुँदैन।

18 हामी उहाँका सृष्टिको एक अगौटे फल हुनसकौं भनेर उहाँले हामीलाई आफ्‍‌नै इच्छाले सत्यको वचनद्वारा जन्माउनुभयो।

19 त्यसकारण मेरा प्रिय भाइहरू हो, थाहा पाई राख प्रत्येक व्यक्ति सुन्‍‌नमा छिटो, बोल्‍‌न र रिसाउनमा ढीलो हुनुपर्छ।

20 किनकि मानिसको रिसले परमेश्वरको धार्मिकताको काम पूरा गर्दैन।

21 त्यसकारण सबै फोहोर कुरा र सबै दुष्टतालाई त्याग र तिमीहरूमा रोपिएका वचन नम्रतापूर्वक स्वीकार गर, जसले तिमीहरूमा मुक्ति ल्याउनसक्छ।

22 तर वचन पालन गर्ने होओ र सुन्‍‌ने मात्र भएर आफैलाई धोका नदेओ।

23 किनकि यदि कसैले वचन सुनेर त्यो पालन गर्दैन भने, त्यो मानिस एेनामा आफ्‍‌नो अनुहार हेर्ने व्यक्तिजस्तो हो,

24 किनकि उसले आफैलाई हेर्छ र आफ्‍‌नो बाटो लाग्छ अनि ऊ कस्तो किसिमको मानिस थियो, त्यो तत्कालै बिर्सिहाल्छ।

25 तर जसले स्वतन्त्रताको सिद्ध व्यवस्थाभित्र ध्यान दिएर हेर्छ र त्यसैमा लागिरहन्छ, ऊ सुनेर बिर्सिने मानिसजस्तो होइन तर त्यस कामलाई गर्ने मानिस भएको हुनाले त्यो मानिस आफ्‍‌नो काममा आशिषित हुनेछ।

26 यदि कसैले आफैलाई धार्मिक सम्झिन्छ र आफ्‍‌नो जिब्रोमा लगाम लगाउँदैन भने त उसले आफैलाई धोका दिन्छ र उसको धर्म व्यर्थ हुन्छ।

27 टुहुराहरू र विधवाहरूलाई उनीहरूको दु:खमा हेरचाह गर्नु र आफूलाई संसारबाट निष्कलङ्क राख्‍‌नु परमेश्वर पिताको सामुन्‍‌ने चोखो र शुद्ध धर्म हो।




2

1 हे मेरा भाइहरू हो, पक्षपातरहित आचरणसहित हाम्रा महिमित प्रभु येशू ख्रीष्टमा विश्वास राख।

2 किनकि यदि कुनै मानिस सुनको औंठी र राम्रो वस्त्र लगाएर तिमीहरूको सभामा आयो र कुनै एउटा गरीब पनि झुत्रो वस्त्र लगाएर आयो

3 अनि तिमीहरूले त्यो राम्रो वस्त्र लाउनेलाई विशेष आदर गरेर, ‘यहाँ राम्रो ठाउँमा बस्‍‌नुहोस्’ भन्छौ र त्यस गरीबलाई ‘तँ त्यहीँ उभिबस्’ अथवा ‘मेरो पाउनेर बस्’ भन्छौ भने,

4 के तिमीहरू आफ्‍‌नैबीचमा पक्षपाती र कुविचारले न्याय गर्ने ठहरिएनौ र?

5 हे मेरा भाइहरू हो, सुन, के परमेश्वरले यस संसारका गरीबहरूलाई विश्वासमा धनी र उहाँलाई प्रेम गर्नेहरूको निम्ति उहाँले प्रतिज्ञा गर्नुभएका राज्यको उत्तराधिकार बनाउनलाई चुन्‍‌नुभएको होइन?

6 तर तिमीहरूले गरीबलाई तुच्छ ठानेका छौ। के धनीहरूले तिमीहरूलाई अत्याचार गर्दैनन् र ? के तिमीहरूलाई अदालतमा घिसारेर लैजाँदैनन् र?

7 के तिनीहरूले त्यस उत्तम नाउँको निन्दा गर्दैनन्, जुन नाउँले तिमीहरू बोलाइएका छौ?

8 तापनि, यदि तिमीहरूले साँच्चै पवित्रशास्त्रअनुसार, ‘‘तिमीले आफ्‍‌नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर’’ भन्‍‌ने राजकीय व्यवस्था पूरा गर्‍यौ भने तिमीहरूले असल गर्दछौ।

9 तर यदि तिमीहरूले पक्षपात गर्‍यौ भने, तिमीहरूले पाप गर्दछौ र व्यवस्थाद्वारा अपराधी ठहरिन्छौ।

10 किनकि जो कसैले सम्पूर्ण व्यवस्था पालन गर्दछ, तर पनि एउटै कुरामा चुक्यो भने ऊ सबै कुरामा दोषी ठहरिन्छ।

11 किनकि जसले ‘‘व्यभिचार नगर’’ भन्‍‌नुभयो, उहाँले ‘‘हत्या नगर’’ पनि भन्‍‌नुभयो, अब तिमीले व्यभिचार नगरे तापनि हत्या गर्‍यौ भने तिमी व्यवस्था भङ्ग गर्ने हुन्छौ।

12 यसकारण, तिमीहरूको बोली र व्यवहार स्वतन्त्रताको व्यवस्थाबमोजिम न्याय पाउनेहरूका जस्तै होस्।

13 किनकि जसले दया देखाएको छैन, उसको न्याय दयाबिना नै हुनेछ; दया न्यायमाथि विजयी हुन्छ !

14 मेरा भाइहरू हो, यदि कुनै मानिसले ‘मसित विश्वास छ ’ भन्छ, तर काम गर्दैन भने, यसबाट के लाभ? के त्यसको विश्वासले त्यसलाई बचाउन सक्छ र?

15 यदि कुनै भाइ वा बहिनी नाङ्गो छ र त्यसलाई दिनहुँको भोजनको अपुग छ

16 र तिमीहरूमध्ये कसैले त्यसलाई, ‘शान्तिसित जाऊ, न्यानो गरी बस, पेटभरि खाऊ’ मात्र भन्छ, तर त्यसको शरीरलाई चाहिने कुरा दिँदैन भने त्यसबाट के लाभ हुन्छ र?

17 यसरी नै विश्वास पनि कामरहितको छ भने स्वयम् मरेतुल्य हुन्छ।

18 तर कसैले भन्ला ‘तिमीसित विश्वास छ, मसित काम छन्। कामबिनाको तिम्रो विश्वास मलाई देखाऊ र मैले गरेको कामद्वारा म आफ्‍‌नो विश्वास तिमीलाई देखाउनेछु।’

19 परमेश्वर एकमात्र हुनुहुन्छ भनी तिमी विश्वास गर्छौ, त्यो असल हो। भूतात्माहरूले पनि त विश्वास गर्छन् र थरथर काम्छन्।

20 ए मूर्ख हो, कामबिनाको विश्वास व्यर्थ हुन्छ भनी के तिमी जान्दैनौ?

21 आफ्‍‌नो पुत्र इसहाकलाई वेदीमा अर्पण गर्दा के हाम्रा पुर्खा अब्राहाम उनका कामद्वारा धर्मी ठहरिएका होइनन् र?

22 तिमी देख्तछौ, कसरी उनका कामसँगसँगै विश्वासले कार्य गरिरहेको थियो र उनका कामद्वारा विश्वास सिद्ध पारियो।

23 अनि धर्मशास्त्रको यसो भन्‍‌ने वचन पूरा भयो, ‘‘अब्राहामले परमेश्वरमा विश्वास गरे अनि यो उनको निम्ति धार्मिकता गनियो’’ र उनी परमेश्वरका मित्र कहलिए।

24 तिमी देख्तछौ कि मानिस विश्वासद्वारा मात्र होइन, तर कामद्वारा धर्मी ठहरिँदो रहेछ।

25 त्यसैगरी राहाब वेश्याले पनि जब जासुसहरूलाई सत्कार गरिन् र अर्कै बाटो पठाइदिइन् तब के उनी कामद्वारा धर्मी ठहरिएकी होइनन् र?

26 किनकि जसरी आत्माबिना शरीर मरेको हुन्छ, त्यसरी नै कामबिना विश्वास मरेको हुन्छ।




3

1 भाइहरू हो, शिक्षा दिनेहरूको न्याय अझ कठोर रूपले हुनेछ भन्‍‌ने जानेर तिमीहरूमध्ये धेरै जना शिक्षक नबन।

2 किनभने हामी सबै धेरै कुरामा चुक्तछौं। यदि कोही आफूले भनेको वचनमा चुक्तैन भने ऊ सिद्ध मानिस हो, जसले आफ्‍‌नो सम्पूर्ण शरीरमा लगाम लगाउन पनि सक्छ।

3 अब घोडाहरूले हाम्रो आज्ञा मानून् भनेर तिनीहरूको मुखमा यदि लगाम लगायौं भने हामी तिनीहरूका सम्पूर्ण शरीरलाई काबूमा राख्‍‌न सक्छौं।

4 हेर त, जहाजहरू जो तेज हावाले चल्दछन्, ती ठूला-ठूला भए तापनि एउटा सानो कर्णद्वारा कर्णधारले आफ्‍‌नो इच्छाअनुसार जता मन पर्‍यो त्यतै लैजान्छ।

5 त्यसरी नै जिब्रोले पनि शरीरको एउटा सानो अङ्ग भएर ठूला-ठूला कुराको घमण्ड गर्दछ। हेर, एउटा सानो आगोको झिल्काले ठूलो वन पनि स्वाहा पार्दछ।

6 अनि जिब्रो पनि एउटा आगो हो, यो शरीरका अङ्गहरूमध्ये अधर्मको एउटा संसार नै हो। यसले सारा शरीरलाई दूषित पार्दछ र हाम्रो जीवनको सारा यात्रामा आगो सल्काइदिन्छर नरकको आगोमा त्यो जल्छ।

7 हरेक किसिमका पशुपक्षी, घस्रने जन्तु र समुद्रका जीवजन्तुलाई तह लगाउन सकिन्छ र मानिस जातिबाट नै तह लगाइएको छ।

8 तर जिब्रोलाई कुनै मानिसले तह लगाउन सक्दैन। घातक विषले भरिएको यो चञ्चल दुष्ट हो।

9 हामी यसैले प्रभु र पिताको स्तुति गर्छौं र यसैद्वारा हामी परमेश्वरको स्वरूपमा बनाइएका मानिसहरूलाई सराप पनि दिन्छौं।

10 एउटै मुखबाट आशीर्वाद र सराप निस्कन्छन्। मेरा भाइहरू हो, यसो नहुनुपर्ने हो।

11 के एउटै मुहानबाट मीठो र तीतो पानी निस्किन्छन् र?

12 मेरा भाइहरू हो, के नेभारोको रूखले भद्राक्ष वा अङ्गुरको बोटले नेभारो फलाउन सक्छ? त्यसरी नै कुनै पनि मुहानबाट मीठो र तीतो पानी निस्किँदैन।

13 तिमीहरूमध्ये बुद्धिमान् र समझदार को छ? उसले असल जीवनद्वारा बुद्धिको नम्रतामा आफ्‍‌नो कामहरू देखाओस्।

14 तर तिमीहरूको हृदयमा तीतो, डाहा र स्वार्थी भावना छ भने अभिमान नगर र सत्यको विरुद्धमा झूट नबोल।

15 यो माथिबाट आउने बुद्धि होइन तर सांसारिक, शारीरिक र शैतानी शक्ति हो।

16 किनकि जहाँ ईर्ष्या र स्वार्थी भावना हुन्छ, त्यहाँ अव्यवस्था र हरेक प्रकारको दुष्टता हुन्छ।

17 तर माथिबाटको बुद्धि पहिले शुद्ध हुन्छ, त्यसपछि मिलनसार, कोमल, विचारशील, कृपापूर्ण र असल फलले भरिएको पक्षपात र कपटरहित हुन्छ।

18 शान्ति कायम राख्‍‌नेहरूले शान्तिमा छर्छन् र धार्मिकताको कटनी गर्छन्।




4

1 तिमीहरूका बीचमा झगडा र लडाइँ कहाँबाट आउँछ? के तिमीहरूका अङ्गहरूमा सङ्घर्ष गर्ने अभिलाषाबाट नै होइन र?

2 तिमीहरू अभिलाषा गर्दछौ र पाउँदैनौ, यसैले तिमीहरू हत्या गर्दछौ। तिमीहरू ईर्ष्या गर्दछौ र पाउँदैनौ, त्यसैले तिमीहरू झगडा र लडाइँ गर्दछौ। तिमीहरूसित हुँदैन, किनकि तिमीहरू माग्दैनौ ।

3 तिमीहरू माग्छौ तर पाउँदैनौ, किनकि तिमीहरू आफ्‍‌नै अभिलाषाको निम्ति गलत अभिप्रायले माग्दछौ।

4 हे व्यभिचारी हो, संसारसितको मित्रता परमेश्वरसितको शत्रुता हो भन्‍‌ने के तिमीहरूलाई थाहा छैन? त्यसकारण जो संसारको मित्र हुने इच्छा गर्दछ त्यो परमेश्वरको शत्रु हुनेछ।

5 अथवा के तिमीहरूको धर्मशास्त्रले व्यर्थमा यसो भन्दछ भन्‍‌ने सोच्दछौ: ‘‘हामीमा परमेश्वरले राख्‍‌नुभएका आत्माको निम्ति उहाँ तीव्र डाह राख्‍‌नुहुन्छ।’’

6 तर उहाँले अझ बढ्ता अनुग्रह दिनुहुन्छ, त्यसकारण, उहाँ यसो भन्‍‌नुहुन्छ, ‘‘परमेश्वरले घमण्डीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ।’’

7 यसकारण परमेश्वरको अधीनमा बस। शैतानको विरोध गर र त्यो तिमीहरूबाट भाग्‍‌नेछ।

8 परमेश्वरको नजिक आओ र उहाँ तिमीहरूका नजिक आउनुहुनेछ, हे पापीहरू हो, तिमीहरूका हातहरू शुद्ध पार, हे दोमनकाहरू हो , तिमीहरूका हृदय पवित्र पार।

9 दु:खित होओ, शोकित होओ र रोओ, तिमीहरूका हाँसो शोकमा र तिमीहरूका आनन्द दु:खमा परिणत होस्।

10 प्रभुको उपस्थितिमा आफैलाई नम्र तुल्याओ र उहाँले तिमीहरूलाई उच्च पार्नुहुनेछ।

11 हे भाइहरू हो, एक-अर्काको विरुद्धमा नबोल, किनकि भाइको विरुद्धमा बोल्‍‌ने वा भाइको न्याय गर्नेले व्यवस्थाको विरोध र न्याय गर्छ, तर यदि तिमीले व्यवस्थाको न्याय गर्‍यौ भने तिमी व्यवस्था पालन गर्ने होइन तर यसका न्यायाधीश हौ।

12 व्यवस्थादाता र न्यायाधीश एकै जना मात्र हुनुहुन्छ, जो बचाउन र नाश गर्न सक्षम हुनुहुन्छ, तर आफ्‍‌नो छिमेकीको न्याय गर्ने तिमी को हौ?

13 अब यसो भन्‍‌नेहरू हो ‘आज कि भोलि हामी फलानो शहरमा जाऔँला र त्यहाँ एक वर्ष बिताउँला, किनबेच गरौंला र नाफा कमाउँला।’

14 तापनि भोलि के हुने हो, तिमीहरू जान्दैनौ, तिम्रो जीवन के हो? तिमीहरू केवल वाफजस्ता हौ, जो केही क्षण देखा पर्छ र बिलाइहाल्छ।

15 यसको सट्टामा तिमीहरूले यसो भन्‍‌नुपर्थ्यो, ‘यदि प्रभुको इच्छा भयो भने हामी बाँचौंला र यस्तो वा उस्तो गरौंला।’

16 तर अहिले तिमीहरू आ-आफ्‍‌ना शेखीमा घमण्ड गर्छौ, त्यस्तो सबै शेखी दुष्टता हो।

17 त्यसकारण जसले भलाइ गर्न जानेर पनि गर्दैन, उसको निम्ति त्यो पाप हो।




5

1 अब तिमी धनीहरू हो, तिमीहरूमाथि आइपर्ने दु:ख-कष्टको निम्ति डाँको छोड्दै रोओ।

2 तिमीहरूका धन सडेका छन् र तिमीहरूका पोशाकहरू माउले खाएका छन्।

3 तिमीहरूका सुनचाँदीमा कस लागेको छ र त्यही कस तिमीहरूका विरुद्धमा साक्षी हुनेछ र आगोले जस्तै तिमीहरूको शरीर खानेछ। तिमीहरूले आखिरी दिनहरूका निम्ति धन साँचेका छौ।

4 हेर, तिमीहरूका खेतबारीमा बाली काट्‍‌नेहरूका ज्याला, जुन तिमीहरूले रोकेर राखेका थियौ, त्यसले तिमीहरूको विरुद्धमा चित्कार गर्नेछ र ती बाली काट्‍‌नेहरूको पुकारा सेनाहरूका कप्तान परमप्रभुको कानमा पुगेको छ।

5 तिमीहरू यस पृथ्वीका सुखविलास र मोजमज्जामा मस्त भएर जिएका छौ। बलिका दिनको निम्ति तिमीहरूले आफ्‍‌नो हृदयलाई पोसेका छौ।

6 तिमीहरूले धर्मी मानिसलाई दोषी ठहराएर मारेका छौ र तिनले विरोध गरेनन्।

7 यसैले भाइहरू हो, प्रभुको आगमन नभइञ्जेल धैर्य गर। हेर, किसानले भूमिको बहुमूल्य फसलको निम्ति अघिल्लो र पछिल्लो झरी नहोउञ्जेलसम्म धैर्य धारण गरेर पर्खिरहन्छ।

8 तिमीहरू पनि धैर्य धारण गर र आफ्‍‌नो हृदयलाई बलियो पार, किनकि प्रभुको आगमन नजिक छ।

9 भाइहरू हो, आफै दोषी नठहरिनको निम्ति तिमीहरू एउटाले अर्काको विरुद्धमा गनगन नगर। हेर, न्याय गर्ने ढोकामा नै हुनुहुन्छ।

10 भाइहरू हो, कष्ट भोगाइ र धैर्यको उदाहरणको निम्ति प्रभुको नाउँमा बोल्‍‌ने अगमवक्ताहरूलाई हेर।

11 हेर, हामी धैर्य धारण गर्नेहरूलाई धन्यको भन्छौं। तिमीहरूले अय्यूबको सहनशीलताको बारेमा सुनेका छौ र प्रभुका व्यवहारको परिणाम देखेका छौ कि उहाँ कति दयालु र कृपालु हुनुहुन्छ।

12 मेरा भाइहरू हो, सबै कुराभन्दा बढी स्वर्ग वा पृथ्वी वा अरु कुनै कुराको नाउँ लिएर शपथ नखाओ तर न्यायमा नपर्नलाई तिमीहरूको ‘हो,’ ‘हो’ नै होस् र ‘होइन’ ‘होइन’ नै होस्।

13 के तिमीहरूमा कसैले कष्ट भोगिरहेको छ? त्यसले प्रार्थना गरोस्। के कोही आनन्दित छ? त्यसले प्रशंसाको भजन गाओस्।

14 के तिमीहरूमा कोही बिरामी छ? त्यसले मण्डलीका एल्डरहरूलाई बोलाओस्। तिनीहरूले प्रभुको नाउँमा त्यसलाई तेलले अभिषेक गरी त्यसको निम्ति प्रार्थना गरून्।

15 अनि विश्वासको प्रार्थनाले बिरामीलाई बचाउनेछ र प्रभुले त्यसलाई निको पार्नुहुनेछ। यदि त्यसले पापै गरेको छ भने पनि त्यसलाई क्षमा हुनेछ।

16 यसकारण तिमीहरू एउटाले अर्कोसँग आ-आफ्‍‌ना पाप स्वीकार। तिमीहरू निको हुनलाई एउटाले अर्काको निम्ति प्रार्थना गर। धर्मी मानिसको प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्छ।

17 एलिया हामीजस्तै स्वभाव भएका मानिस थिए, अनि तिनले पानी नपरोस् भनेर भक्तिसाथ प्रार्थना गरे र पृथ्वीमा तीन वर्ष छ महिनासम्म पानी परेन।

18 तिनले फेरि प्रार्थना गरे र आकाशबाट पानी बर्सियो र भूमिले उब्जनी दियो।

19 मेरा भाइहरू हो, यदि तिमीहरूमध्ये कोही सत्यताबाट तर्केर गएको छ र कसैले त्यसलाई फर्काएर ल्यायो भने

20 उसले यो जानोस् कि जसले एक जना पापीलाई कुमार्गबाट फर्काएर ल्याउँछ, त्यसलाई मृत्युबाट बचाउनेछ र असङ्ख्य पापलाई ढाक्‍‌नेछ।



AMAZING GRACE BIBLE INSTITUTE