HEBREWS

हिब्रु


Chapter 1

1 प्राचीन समयमा परमेश्वर हाम्रा पिता-पुर्खाहरूसँग विभिन्‍‌न समय र विभिन्‍‌न किसिमले अगमवक्ताहरूद्वारा बोल्‍‌नुभयो।

2 तर यी अन्तिम दिनहरूमा उहाँ आफ्‍‌नो पुत्रद्वारा हामीसँग बोल्‍‌नुभएको छ, जसलाई उहाँले सबै कुराका उत्तराधिकारी नियुक्त गर्नुभयो, जसद्वारा उहाँले संसार पनि सृष्टि गर्नुभयो।

3 उहाँ परमेश्वरको महिमाको प्रतिबिम्ब हुनुहुन्छ र परमेश्वरकै स्वभावको दुरुस्त प्रतिरूप हुनुहुन्छ, अनि सबै थोकलाई उहाँको शक्तिको वचनले सम्हाल्‍‌नुहुन्छ। पापको शुद्धीकरण गरिसकेपछि उहाँ महामहिम परमेश्वरको दाहिने बाहुलीपट्टि उच्च स्थानमा विराजमान हुनुभयो।

4 जसरी उहाँले प्राप्त गर्नुभएको नाउँ स्वर्गदूतहरूका भन्दा उत्तम छ , त्यसरी नै उहाँ तिनीहरूभन्दा अझ उच्च पारिनुभएको छ।

5 ‘‘तिमी मेरा पुत्र हौ, मैले नै आज तिमीलाई जन्माएको छु’’ भनी के कुनै स्वर्गदूतलाई परमेश्वरले कहिल्यै भन्‍‌नुभयो? र फेरि, ‘‘म तिनका पिता हुनेछु र तिनी मेरा पुत्र हुनेछन्’’ भनी कुनै स्वर्गदूतलाई कहिल्यै भन्‍‌नुभयो?

6 आफ्‍‌नो प्रथम जन्मेकालाई संसारमा ल्याउनुहुँदा उहाँ फेरि भन्‍‌नुहुन्छ, ‘‘परमेश्वरका स्वर्गदूतले उहाँलाई नै पुजून्।’’

7 स्वर्गदूतका विषयमा उहाँ भन्‍‌नुहुन्छ, ‘‘उहाँले आफ्‍‌ना स्वर्गदूतहरूलाई बतास र आफ्‍‌ना दासहरूलाई आगोको ज्वाला तुल्याउनुहुन्छ।’’

8 तर पुत्रको विषयमा उहाँ भन्‍‌नुहुन्छ, ‘‘हे परमेश्वर, तपाईंको सिंहासन सदासर्वदाको निम्ति रहिरहन्छ र धार्मिकताको राजदण्ड तपाईंका राज्यको राजदण्ड हो।

9 तपाईंले धार्मिकतालाई प्रेम गर्नुभएको छ र अधर्मलाई घृणा गर्नुभएको छ। यसकारण परमेश्वर, तपाईंका परमेश्वरले तपाईंलाई आफ्‍‌ना मित्रहरूभन्दा बढ्ता गरेर हर्षको तेलले अभिषेक गर्नुभएको छ।’’

10 उहाँ फेरि भन्‍‌नुहुन्छ, ‘‘हे परमप्रभु, तपाईंले आदिमा पृथ्वीको जग बसाल्‍‌नुभयो र आकाशमण्डल तपाईंका बाहुलीको काम हो।

11 तिनीहरू त नष्ट हुनेछन् तर तपाईं रहिरहनुहुन्छ, तिनीहरू वस्त्रझैँ पुराना भइहाल्‍‌नेछन्,

12 खास्टोझैँ तपाईंले तिनीहरूलाई लपेट्‍‌नुहुन्छ, वस्त्रझैँ ती फेरिनेछन्। तर तपाईं एकैनास हुनुहुन्छ र तपाईंका वर्षहरूको अन्त्य कहिल्यै हुनेछैन।’’

13 तर कुन स्वर्गदूतलाई कहिले उहाँले यसो भन्‍‌नुभयो, ‘तिमी मेरा दाहिने हातपट्टि बस, जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पाउदान तुल्याउँदिनँ?’

14 के ती सबै स्वर्गदूतहरू मुक्ति पाउनेहरूका खातिर सेवा गर्न पठाइएका आत्माहरू होइनन्?




2

1 त्यसकारण हामीले जे सुनेका छौं त्यसमा अझ बढी ध्यान दिनुपर्छ, नत्र त हामी यसबाट बहकिएर जानेछौं।

2 यदि स्वर्गदूतहरूद्वारा बोलिएको वचन त स्थिर रह्यो, अनि हरेक अपराध र अनाज्ञाकारिताले उचित दण्ड पायो भने,

3 झन् हामीले यति महान् मुक्तिको वास्ता राख्दैनौं भने हामी कसरी उम्कौंला? जुन मुक्तिको प्रचार पहिले प्रभुबाट शुरु भयो र उहाँलाई सुन्‍‌नेहरूद्वारा हाम्रा निम्ति यो कुरा पुष्टि गरियो।

4 परमेश्वरले चिन्हहरू, अचम्मका कामहरू र विभिन्‍‌न आश्चर्यकर्महरूद्वारा अनि उहाँको आफ्‍‌नो इच्छाअनुसारका पवित्र आत्माका वरदानहरू दिएर यस कुराको गवाही पनि दिनुभयो।

5 हामीले अहिले कुरा गर्दै आएको त्यो आउँदो संसारलाई परमेश्वरले स्वर्गदूतहरूको अधीनमा राख्‍‌नुभएन।

6 धर्मशास्त्रको कुनै एक ठाउँमा भनिएको छ, ‘‘मानिस के हो र तपाईं त्यसको विचार राख्‍‌नुहुन्छ? अनि मानिसको पुत्र को हो र तपाईं उहाँको फिक्री गर्नुहुन्छ?

7 तपाईंले उहाँलाई स्वर्गदूतहरूभन्दा केही कम दर्जाको तुल्याउनुभयो, तपाईंले उहाँलाई महिमा र आदरको मुकुट पहिराउनुभयो अनि आफ्‍‌ना बाहुलीका कामहरूमाथि उहाँलाई खटाउनुभयो।

8 तपाईंले सबै थोक उहाँको पैतालामुनि राखिदिनुभयो।’’ परमेश्वरले हरेक कुरा उहाँको अधीनमा राखिदिँदा कुनै पनि कुरा उहाँको अधीनबाहिर रहनदिनुभएन। तैपनि हामीले वर्तमान समयमा सबै कुरा उहाँको अधीनमा भएको देख्दैनौं।

9 तर हामी येशूलाई देख्तछौं, जसलाई केही बेरको निम्ति स्वर्गदूतहरूभन्दा केही कम दर्जाको तुल्याइयो र परमेश्वरको अनुग्रहद्वारा सबैको निम्ति उहाँले मृत्यु चाख्‍‌नुभएको होस् भनेर मृत्युको कष्टको कारण महिमा र आदरको मुकुट पहिराइयो।

10 किनकि परमेश्वर, जसका निम्ति र जसद्वारा सबै कुरा अस्तित्वमा छन्, धेरै सन्तानहरूलाई महिमामा ल्याउँन कष्टद्वारा तिमीहरूका मुक्तिका कर्तालाई सिद्ध तुल्याउन उहाँको निम्ति उचित थियो।

11 किनभने उहाँले पवित्र तुल्याउनुहुनेहरू र पवित्र तुल्याइसक्‍‌नुभएकाहरू, दुवै एउटै पिताबाटका हुन्, जुन कारणले गर्दा उहाँ तिनीहरूलाई आफ्‍‌ना भाइ-बहिनीहरू भन्‍‌न लाज मान्‍‌नुहुन्‍‌न

12 उहाँले यसो भन्‍‌नुहुन्छ, ‘‘मेरा भाइ-बहिनीहरूको बीचमा तपाईंको नाउँ म घोषणा गर्नेछु, सभाको बीचमा म तपाईंको प्रशंसा गर्नेछु।’’

13 र फेरि, ‘‘म उहाँमा मेरो भरोसा राख्‍‌नेछु,’’ अनि उहाँ फेरि भन्‍‌नुहुन्छ,‘‘हेर, म र परमेश्वरले मलाई दिनुभएका छोराछोरीहरू ।’’

14 छोराछोरीहरू रगत र मासुको सहभागी भएका हुनाले, मृत्युद्वारा नै मृत्युको शक्ति हुने शैतानलाई शक्तिहीन पार्नलाई उहाँ आफै पनि त्यसको सहभागी हुनुभयो।

15 यसैले कि मृत्युको डरले सारा जीवनभरि दासत्वमा परेका सबैलाई छुटकारा दिनसक्‍‌नुभएको होस्।

16 किनकि साँच्ची नै उहाँले स्वर्गदूतहरूको होइन, तर अब्राहामका सन्तानको स्वभाव लिनुभयो ।

17 त्यसकारण, मानिसहरूका पापको निम्ति मिलाप हुनलाई परमेश्वरसम्बन्धी कुरामा उहाँ कृपालु र विश्वसनीय प्रधान पूजाहारी बन्‍‌नसकून् भनेर, सबै कुरामा उहाँका भाइ-बहिनीहरूजस्तो बनाइनुपरेको थियो।

18 किनकि उहाँ आफै पनि परीक्षित भई दु:ख भोग्‍‌नुभएकोले गर्दा परीक्षामा पर्नेहरूलाई सहायता गर्न उहाँ सक्षम हुनुहुन्छ।




3

1 यसकारण, स्वर्गका बोलावटमा सहभागी भएका पवित्र भाइ-बहिनी हो, हामीले दृढस्वीकार गरेका प्रेरित र प्रधान पूजाहारी येशूलाई विचार गर।

2 जसरी मोशा परमेश्वरको सम्पूर्ण घरमा विश्वसनीय थिए, त्यसरी नै उहाँ आफूलाई नियुक्त गर्नुहुनेप्रति विश्वसनीय हुनुहुन्थ्यो।

3 तर मोशाभन्दा येशू अझ बढी महिमा पाउने योग्यको हुनुहुन्छ, जसरी घरभन्दा घर बनाउने व्यक्ति प्रशंसा पाउने योग्यको हुन्छ।

4 किनकि हरेक घर बनाउने कोही न कोही व्यक्ति हुन्छ, तर सबै कुरा बनाउनुहुने परमेश्वर नै हुनुहुन्छ।

5 अब पछिबाट बोलिने कुराका साक्षी हुनका निम्ति मोशा एक दासको रूपमा उहाँको सम्पूर्ण घरमा विश्वसनीय थिए।

6 यदि हामी हाम्रो आशा र हाम्रो आनन्दको गर्वलाई अन्त्यसम्मै बलियो गरी पक्रेर राख्छौं भने हामी उहाँका घर हौं, जुन घरमा ख्रीष्ट एक पुत्रको रूपमा विश्वसनीय हुनुहुन्थ्यो।

7 तसर्थ जसरी पवित्र आत्मा भन्‍‌नुहुन्छ, ‘‘आज तिमीहरूले उहाँको आवाज सुन्यौं भने,

8 उजाड-स्थानमा परीक्षाको समयमा विद्रोहको दिनमा गरेजस्तै आफ्‍‌ना हृदयलाई कठोर नपार,

9 जहाँ तिम्रा पुर्खाहरूले मेरो परीक्षा गरे र चालीस वर्षसम्म मेरा कामहरू देखे।

10 यसकारण त्यस पुस्तासँग म दु:खित भएँ र भनेँ, ‘तिनीहरूका हृदय सधैँ बरालिन्छन्, तिनीहरूले मेरा मार्ग चिनेका छैनन्।’

11 यसकारण मैले मेरो क्रोधमा शपथ खाएँ, ‘तिनीहरू मेरो विश्राममा कहिल्यै प्रवेश गर्नेछैनन्’।’’

12 भाइ-बहिनीहरू हो, होशियारी होओ। तिमीहरूमध्ये कुनै दुष्ट अविश्वासी हृदयले, तिमीहरूलाई जीवित परमेश्वरबाट फर्काएर टाढा नलैजाओस्।

13 जबसम्म ‘‘आजको दिन’’ भन्‍‌ने कुरा छ, तबसम्म एउटाले अर्कोलाई अर्ती देओ र पापको छलछामले तिमीहरू कसैको हृदय कठोर नहोस्।

14 किनकि यदि हामीले हाम्रो शुरुको भरोसा अन्त्यसम्मै दह्रोसँग पक्री राख्यौं भने, हामी ख्रीष्टमा सहभागी भएका छौं।

15 जस्तो भनिएको छ, ‘‘आज तिमीहरूले उहाँको आवाज सुन्यौ भने तिनीहरूले मलाई विद्रोहको दिनमा झैँ, आफ्‍‌नो हृदय कठोर नपार।’’

16 अनि परमेश्वरको आवाज सुनेर पनि उहाँलाई रिस उठाउनेहरू को थिए? के साँच्ची नै मोशाद्वारा मिश्रदेशबाट बाहिर डोर्‍याइएकाहरू नै होइनन् र?

17 अनि कोसँग उहाँ चालीस वर्षसम्म क्रोधित हुनुभयो? के ती पाप गर्नेहरूसँग नै होइन, जसका मृत शरीर उजाड-स्थानमा लडेका थिए ?

18 कोसँग उहाँले तिनीहरू उहाँको विश्राममा पस्‍‌नेछैनन् भनी शपथ खानुभयो, के ती अनाज्ञाकारीहरूसँग नै होइन र?

19 यसकारण हामी देख्तछौं कि तिनीहरू अविश्वासको कारण पस्‍‌न सकेनन्।




4

1 यसकारण परमेश्वरको विश्राममा प्रवेश पाउने प्रतिज्ञा छदाँछँदै हामी होशियार रहौं, नत्र त तिमीहरूमध्ये कोही त्यसभित्र प्रवेश गर्न नसकौला।

2 किनकि हामीलाई पनि तिनीहरूलाई झैँ सुसमाचार प्रचार गरिएको हो तर तिनीहरूले सुनेका वचनले तिनीहरूलाई केही फाइदा भएन, किनभने सुन्‍‌नेहरूले विश्वाससहित त्यसलाई ग्रहण गरेनन्।

3 हामी विश्वास गर्नेहरू त्यस विश्राममा प्रवेश गर्छौं, किनकि उहाँले यसो भन्‍‌नुभएको छ : ‘‘मेरो क्रोधमा मैले शपथ खाएँ, तिनीहरू मेरो विश्राममा कहिल्यै पस्‍‌नेछैनन्।’’ यद्यपि उहाँका कार्यहरू संसारको उत्पत्तिदेखि नै पूरा भइसकेका थिए ।

4 किनकि सातौं दिनको बारेमा, कुनै ठाउँमा उहाँले यसो भन्‍‌नुभएको छ,‘‘सातौं दिनमा परमेश्वरले आफ्‍‌ना सम्पूर्ण कामहरूबाट विश्राम लिनुभयो।’’

5 फेरि यही खण्डमा भन्‍‌नुभएको छ, ‘‘तिनीहरू मेरो विश्राममा पस्‍‌नेछैनन्।’’

6 यसकारण कतिलाई प्रवेश गर्न अझै बाँकी नै छ र तिनीहरू जसलाई पहिल्यै सुसमाचार प्रचार गरिएको थियो, तिनीहरू आफ्‍‌ना अनाज्ञाकारिताले गर्दा पस्‍‌नसकेनन्।

7 फेरि परमेश्वरले ‘‘आज’’ भनी एक दिन ठहराउनुभएको छ, जब उहाँले धेरै समयपछि दाऊदद्वारा अघि भनिएकै कुरा फेरि भन्‍‌नुभयो, ‘‘आज तिमीहरूले उहाँको शब्द सुन्यौ भने, तिमीहरूका हृदय कठोर नपार।’’

8 किनकि यदि यहोशूले तिनीहरूलाई विश्राम दिएका भए, त्यसपछि उहाँले ‘‘अर्को दिन’’ भनी भन्‍‌नुहुनेथिएन ।

9 त्यसकारण परमेश्वरका मानिसहरूका निम्ति विश्राम-दिनको विश्राम बाँकी नै छ।

10 किनभने परमेश्वरको विश्राममा प्रवेश गर्ने आफैले पनि आफ्‍‌ना कामहरूबाट विश्राम गरेको हुन्छ, जसरी संसारको सृष्टि गरिसक्‍‌नुभएपछि परमेश्वरले पनि विश्राम लिनुभयो।

11 यसकारण हामी त्यस विश्रामभित्र प्रवेश गर्नको निम्ति प्रयत्‍‌न गरौं । नत्र त अनाज्ञाकारिताको त्यही उदाहरण अनुसरण गरेर कोही पतन होला।

12 किनकि परमेश्वरको वचन जीवित, क्रियाशील र कुनै पनि दुईधारे तरवारभन्दा बढी धारिलो हुन्छ, जसले प्राण र आत्मालाई, जोर्नी-जोर्नी र मासीलाई पनि भाग-भाग पारुञ्जेल वारपार छेड्‍‌ने अनि हृदयका विचार र इच्छा जाँच्‍‌नसक्‍‌ने हुन्छ।

13 उहाँको दृष्टिबाट कुनै पनि प्राणी लुकेको छैन, उहाँको दृष्टिमा सबै कुरा खुला र उदाङ्गो छ। हामीले उहाँलाई नै लेखा दिनुपर्छ।

14 त्यसकारण स्वर्ग छिचोलेर जानुभएका परमेश्वरका पुत्र येशू, हाम्रा महान् प्रधान पूजाहारी हुनुभएको हुनाले हामीले स्वीकार गरेको विश्वासलाई थामिराखौं।

15 किनकि हाम्रा प्रधान पूजाहारी, हाम्रा कमजोरीहरूमा हामीलाई सहानुभूति देखाउन नसक्‍‌ने हुनुहुन्‍‌न, तर हामीले झैँ उहाँले सबै परीक्षाहरूको सामना गर्नुभयो, तैपनि उहाँले केही पाप गर्नुभएन।

16 यसकारण हामी हिम्मतसाथ अनुग्रहको सिंहासनको नजिकमा जाऔं, खाँचोको समयमा सहायता पाउनलाई कृपा र अनुग्रह प्राप्त गर्नसकौं।




5

1 मानिसहरूका बीचबाट लिइएका हरेक प्रधान पूजाहारी परमेश्वरसम्बन्धी कुरामा पापको निम्ति भेटी र बलिदानहरू चढाउनलाई मानिसहरूकै निम्ति नियुक्त भएको हुन्छ।

2 तिनले अजान र कुबाटोतिर लागेकाहरूसँग नम्रतापूर्वक व्यवहार गर्न सक्छन्, किनभने उनी आफै पनि निर्बलताले घेरिएका हुन्छन्।

3 त्यसकारण तिनले मानिसहरूका निम्ति जस्तै आफ्‍‌ना पापको निम्ति पनि बलिदान चढाउनुपर्छ।

4 कुनै मानिसले पनि आफ्‍‌नोनिम्ति यो सम्मान लिँदैन तर उनले लिन्छन्, जो हारूनझैँ परमेश्वरद्वारा बोलाइएका हुन्छन्।

5 त्यसकारण प्रधान पूजाहारी हुनको निम्ति ख्रीष्टले आफैलाई उच्च पार्नुभएन। तर परमेश्वरले पार्नुभयो, जसले उहाँलाई यसो भन्‍‌नुभयो, ‘‘तिमी मेरा पुत्र हौ, आज मैले तिमीलाई जन्माएको छु।’’

6 जसरी अर्को खण्डमा पनि उहाँ भन्‍‌नुहुन्छ, ‘‘मल्कीसेदेकको दर्जाबमोजिम तिमी सधैँभरिको निम्ति पूजाहारी हौ।’’

7 जब येशू यस संसारमा हुनुहुन्थ्यो, उहाँलाई मृत्युबाट बचाउन सक्‍‌नुहुनेसँग उहाँले ठूलो क्रन्दन र आँसुसित प्रार्थना र अर्जविन्ती गर्नुभयो, अनि उहाँको भक्तिपूर्ण समर्पणका कारण उहाँको सुनुवाइ भयो।

8 उहाँ पुत्र हुनुभएर पनि आफूले भोगेको कष्टद्वारा उहाँले आज्ञापालन गर्न सिक्‍‌नुभयो।

9 यसरी सिद्ध बनाइनुभएपछि उहाँका आज्ञापालन गर्नेहरू सबैको निम्ति उहाँ अनन्त मुक्तिको स्रोत हुनुभयो।

10 उहाँ मल्कीसेदेकको दर्जाअनुसार प्रधान पूजाहारीको पदमा परमेश्वरद्वारा नियुक्त हुनुभयो।

11 यस विषयमा हामीले भन्‍‌नु धेरै छ अनि यो बुझाउन पनि गाह्रो छ, किनकि तिमीहरू सुन्‍‌नुमा बोधो भएका छौ ।

12 किनकि यसबेलासम्म तिमीहरू शिक्षक भइसक्‍‌नुपर्ने थियो, तर परमेश्वरको वचनको प्रारम्भिक शिक्षाहरू फेरि तिमीहरूलाई सिकाउनुपरेको छ। तिमीहरूलाई खँदिलो खानेकुराको होइन तर अझै दूधको खाँचो पर्नेजस्ता तिमीहरू भएका छौ।

13 किनकि दूध मात्र पिएर बाँच्‍‌ने हरेक मानिस धार्मिकताको वचनसँग अनभिज्ञ हुन्छ, किनकि ऊ बालक हो ।

14 तर खँदिलो भोजन हुर्केकाहरूका निम्ति हुन्छ। यिनीहरूको मानसिक शक्ति लगातार अभ्यासद्वारा असल र खराब छुट्ट‍याउनसक्‍‌ने भएको हुन्छ।




6

1 यसकारण ख्रीष्टसम्बन्धी प्रारम्भिक शिक्षाहरूलाई छोडेर हामी परिपक्वतातर्फ बढौं, मृत्युतिर लैजाने कामहरूबाट पश्चात्तापको र परमेश्वरतर्फको विश्वासका कुरा,

2 बप्तिस्माहरूबारे निर्देशन, हात राख्‍‌ने काम, मरेकाहरूको पुनरुत्थान र अनन्त दण्डको विषयमा फेरि जग नबसालौं ।

3 यदि परमेश्वरको अनुमति भयो भने हामी यो गर्नेछौं।

4 किनकि तिनीहरू, जसले एकचोटि ज्योति पाएर स्वर्गका वरदान चाखेका छन् र पवित्र आत्माका सहभागी तुल्याइएका,

5 परमेश्वरको असल वचन र आउने युगको शक्तिको स्वाद पाएर

6 पतन भए भने यस्ताहरूलाई फेरि पश्चात्ताप गर्ने अवस्थामा ल्याउनु असम्भव छ। किनकि तिनीहरूले आफ्‍‌नैनिम्ति परमेश्वरका पुत्रलाई क्रूसमा टाँग्छन् र उहाँलाई खुल्लमखुल्ला शर्ममा पार्छन्।

7 किनकि जुन जमीनले आफूमाथि बारम्बार बर्सिने पानी पिउँछ र आफूलाई खनजोत गर्नेहरूका निम्ति काम लाग्‍‌ने सागपात उमार्छ भने त्यसले परमेश्वरबाट आशिष् पाउँछ।

8 तर यदि त्यसले काँडा र सिउँडीहरू उमार्छ भने त्यो बेकम्मा भई सरापमा पर्ने जोखिममा हुन्छ र अन्त्यमा त्यो जलाइन्छ।

9 तर प्रियहरू हो, हामीले यसरी बोले तापनि तिमीहरूका विषयमा अझै असल कुरा अर्थात् मुक्तिसँगै आउने कुराको भरोसा राखेका छौं।

10 किनकि परमेश्वर तिमीहरूका काम र प्रेमको परिश्रम भुलिदिने अधर्मी हुनुहुन्‍‌न, जो तिमीहरूले पवित्रजनको सेवा गरेर वा सेवा गर्दै उहाँका नाउँका निम्ति देखाएका छौ।

11 हामी चाहन्छौं कि तिमीहरू प्रत्येकले अन्त्यसम्मै आफ्‍‌ना सम्पूर्ण आशाको निश्चयताको निम्ति तत्परता देखाउनेछौ,

12 तसर्थ तिमीहरू अल्छे नहोओ, तर विश्वास र धैर्यद्वारा प्रतिज्ञाका हकदार हुनेहरूका देखासिकी गर्नेहरू होओ।

13 जब परमेश्वरले अब्राहामसँग प्रतिज्ञा गर्नुहुँदा, आफूभन्दा ठूलो कोही नपाउँदा उहाँले आफ्‍‌नै नाउँमा शपथ खानुभयो

14 र भन्‍‌नुभयो, ‘‘निश्चय म तँलाई आशिष् दिनेछु र निश्चय तेरो वृद्धि गर्नेछु।’’

15 अनि यसरी धैर्यसाथ पर्खेर तिनले प्रतिज्ञा प्राप्त गरे।

16 किनकि मानिसहरू आफूभन्दा ठूलाको नाउँमा शपथ खान्छन् र दृढनिश्चयतासाथ खाइएको शपथद्वारा तिनीहरूका सबै वादविवादको अन्त हुन्छ।

17 त्यसरी नै जब परमेश्वरले आफ्‍‌नो कहिले नबद्लिने उद्देश्य प्रतिज्ञाका हकदारहरूलाई देखाउने इच्छा गर्नुभयो, तब उहाँले शपथबाट नै पुष्टि गर्नुभयो।

18 यी दुई अपरिवर्तनीय कुराद्वारा, जसमा परमेश्वरले झूट बोल्‍‌न असम्भव छ, यसैले कि हाम्रोअघि राखिएको आशालाई पक्रन शरणको निम्ति हामी दगुरेकाहरूलाई ठूलो उत्साह होस्।

19 यो आशा हाम्रो आत्माको निम्ति निश्चित र स्थिर लङ्गरको रूपमा हामीसित छ। यो आशा पर्दाभित्र प्रवेश गर्दछ।

20 जहाँ येशू मल्कीसेदेकको दर्जाबमोजिम प्रधान पूजाहारी बनेर हाम्रो अग्रदूतको रूपमा प्रवेश गर्नुभएको छ।




7

1 यिनै मल्कीसेदेक, शालेमका राजा, सर्वोच्च परमेश्वरका पूजाहारी, जसले राजाहरूलाई मारेर फर्किरहेका अब्राहामलाई भेटे र तिनलाई आशिष् दिए।

2 त्यसपछि अब्राहामले आफूले लडाइँमा जितेर ल्याएका सबै कुराको दशांश मल्कीसेदेकलाई दिए। तिनको नाउँको अर्थ ‘धार्मिकताका राजा’ र फेरि ‘शालेमका राजा’ पनि हो अर्थात् ‘शान्तिका राजा’।

3 बिनाबुबा, बिनाआमा, बिनावंशावली, जीवनको आदि र अन्त्य नभएका तर परमेश्वरका पुत्रजस्तै यिनी सधैँ पूजाहारी भई रहन्छन्।

4 अब हेर, यिनी कस्ता महान् व्यक्ति थिए, जसलाई कुलपिता अब्राहामले पनि लुटका मालमत्ताको दशांश दिए !

5 पूजाहारी पदमा नियुक्त भएका लेवीका छोराहरूलाई आफ्‍‌नै भाइहरूबाट दशांश लिने आज्ञा व्यवस्थाले दिएको छ, यद्यपि तिनीहरू पनि अब्राहामकै सन्तान थिए।

6 तर लेवीका वंशावलीमा नपर्ने यिनै मानिसले अब्राहामबाट दशांश लिएका हुन् र प्रतिज्ञाहरू पाउनेलाई नै यिनले आशीर्वाद दिएका हुन्।

7 यसमा विवाद गर्ने केही कुरा छैन, किनकि सानाले ठूलाबाट आशीर्वाद पाउँछ।

8 एकातिर मरणशील मानिसहरूले दशांश लिन्छन्, अर्कोतिर सदाकाल जीवित रहन्छन् भनी घोषणा गरिएका उनै एक जनाले सो लिन्छन्।

9 अनि यो भन्‍‌न सकिन्छ, अब्राहामद्वारा दशांश पाउने लेवीले पनि दशांश दिए।

10 किनकि मल्कीसेदेकले अब्राहामलाई भेट्दा तिनी आफ्‍‌ना पुर्खाकै शरीरमा नै थिए।

11 अब यदि लेवीको पूजाहारी पदद्वारा सिद्धता प्राप्त हुनेभए (जसको आधारमा मानिसहरूले व्यवस्था प्राप्त गरेका थिए), हारूनको दर्जाबमोजिम नै नभएर फेरि मल्कीसेदेकको दर्जाअनुसार अर्को पूजाहारी खडा गर्न के आवश्यक पर्थ्यो?

12 अनि जब पूजाहारी पद बद्लिन्छ, व्यवस्था पनि बद्लिनु नै पर्दछ।

13 किनभने जसको विषयमा हामी कुरा गरिरहेका छौं, उहाँ अर्कै कुलसित सम्बन्धित हुनुहुन्छ, जसका सदस्यहरूले वेदीमा सेवा गर्दैनन्।

14 किनभने यो स्पष्ट छ, हाम्रा प्रभु यहूदा कुलबाट आउनुभयो र पूजाहारी पदका सम्बन्धमा मोशाले कहिल्यै पनि यस कुलको नाम लिएनन्।

15 यदि मल्कीसेदेकजस्तै अर्को पूजाहारी खडा हुने हो भने यो कुरा अझ स्पष्ट हुन्छ।

16 अर्थात् उहाँ पुर्ख्यौली नियमको आधारमा होइन तर अविनाशी जीवनको शक्तिद्वारा पूजाहारी हुनुभएको हो ।

17 किनकि उहाँको बारेमा यस्तो गवाही दिइएको छ, ‘‘मल्कीसेदेकको दर्जाबमोजिम तिमी सधैँभरिको निम्ति एक पूजाहारी हौ।’’

18 किनभने एकातिर त्यो पहिलो नियम कमजोर र बेकामको भएको हुनाले खारिज भएको छ भने

19 (व्यवस्थाले कुनै कुरा सिद्ध तुल्याएन), अर्कोतिर एउटा उत्तम आशा ल्याइएको छ, जसद्वारा हामी परमेश्वरको नजिक हुन्छौं।

20 अनि उहाँ शपथबिना पूजाहारी हुनुभएको होइन,

21 किनकि तिनीहरू शपथ नलिईकन पूजाहारी भएका थिए, तर उहाँ शपथसहित पूजाहारी बन्‍‌नुभयो र उहाँको विषयमा परमेश्वर भन्‍‌नुहुन्छ, ‘‘परमप्रभुले शपथ हाल्‍‌नुभएको छ, र आफ्‍‌नो मन बदल्‍‌नुहुनेछैन : ‘तिमी सधैँभरिको निम्ति पूजाहारी हौ’।’’

22 परमेश्वरको शपथको कारणले गर्दा येशू नै यो उत्तम करारको प्रभावकारिताको जमानत हुनुहुन्छ।

23 अर्को भिन्‍‌नताको कुरा यो छ कि पुरानो व्यवस्था अन्तर्गत धेरै पूजाहारीहरू थिए। जब एउटा पूजाहारीको मृत्यु हुन्थ्यो, अर्को पूजाहारीले त्यसको स्थान लिनुपर्थ्यो।

24 तर येशू सधैँभरि पूजाहारी रहिरहनुहुनेछ। उहाँको पूजाहारी पद स्थायी छ।

25 त्यसकारण, उहाँद्वारा परमेश्वरकहाँ आउने सबै मानिसहरूलाई उहाँले सधँैको निम्ति एकैपल्ट उद्धार गर्न सक्‍‌नुहुन्छ। उहाँ तिनीहरूका पक्षमा परमेश्वरसित अर्जविन्ती गर्नको निम्ति सदैव जीवित रहनुहुन्छ।

26 उहाँ हाम्रो यस्तो प्रधान पूजाहारी हुनुहुन्छ, जो पवित्र, दोषरहित र निष्कलङ्क, पापीहरूबाट अलग, स्वर्गभन्दा उच्च हुनुहुन्छ।

27 अब प्रधान पूजाहारीले जस्तो उहाँले हरेक दिन बलिदानहरू चढाइरहनुपर्दैन। तिनीहरूले पहिले आफ्‍‌नैनिम्ति र त्यसपछि मानिसहरूका पापको निम्ति बलिदान चढाउँथे। किनकि उहाँले आफैलाई अर्पण गरेर सधैँको निम्ति एकैपल्ट यो बलिदान चढाउनुभयो ।

28 किनकि व्यवस्थाद्वारा नियुक्त भएका प्रधान पूजाहारी कमजोर छन्, तर व्यवस्थाको पछि आएको शपथको वचनद्वारा नियुक्त हुनुभएको पुत्र सधैँको निम्ति सिद्ध तुल्याइनुभएको छ ।




8

1 अब हामीले भन्‍‌न चाहेको कुरा यो हो हाम्रा यस्ता प्रधान पूजाहारी हुनुहुन्छ, जो स्वर्गमा महान् परमेश्वरका सिंहासनका दाहिनेपट्टि विराजमान हुनुहुन्छ।

2 उहाँ मानिसद्वारा होइन तर परमप्रभुले खडा गर्नुभएको वेदी, साँचो पवित्र वासस्थानमा सेवक हुनुहुन्छ।

3 किनकि हरेक प्रधान पूजाहारी भेटी र बलिदानहरू चढाउन नियुक्त गरिएको हुन्छ, यसकारण यी प्रधान पूजाहारीले पनि केही कुरा चढाउनु नै पर्दछ।

4 यदि उहाँ संसारमा हुनुभएको भए, उहाँ पूजाहारी नै हुनुहुनेथिएन, किनकि त्यहाँ पहिलेदेखि नै व्यवस्थाले माग गरेबमोजिम भेटी चढाउने पूजाहारीहरू थिए।

5 जसले स्वर्गमा भएका कुराको प्रतिरूप र छायाँको सेवा गर्दछन्, जसरी मोशाले पवित्र वासस्थान बनाउनलाग्दा परमेश्वरले चेताउनी दिँदै भन्‍‌नुभयो, ‘‘पर्वतमा तँलाई देखाइदिएको नमूनाबमोजिम तैँले सब थोक बनाउनू।’’

6 तर अब उहाँले प्राप्त गर्नुभएको सेवा अझ उत्तम छ, अझ उहाँ उत्तम प्रतिज्ञाहरूमा खडा गरिएको उत्तम करारको मध्यस्थ पनि हुनुहुन्छ।

7 यदि पहिलाको करार दोषरहित भएको भए, दोस्रोको आवश्यकता पर्ने थिएन।

8 किनभने ती मानिसहरूको दोष देखाउँदै उहाँ भन्‍‌नुहुन्छ, ‘‘परमप्रभु भन्‍‌नुहुन्छ, हेर ती दिन आउनेछन्, जब मैले इस्राएल र यहूदाका घरानासँग एउटा नयाँ करार स्थापित गर्नेछु।

9 तिनीहरूका पुर्खासित बाँधेको करारजस्तो यो हुनेछैन, जब मैले तिनीहरूलाई हात समातेर मिश्रदेशबाट डोर्‍याएर ल्याएँ। तिनीहरू मेरो करारप्रति विश्वसनीय भएर रहेनन्। यसकारण मैले तिनीहरूको वास्ता गरिनँ, परमप्रभु भन्‍‌नुहुन्छ।

10 परमप्रभु भन्‍‌नुहुन्छ : ती दिनपछि म इस्राएलको घरानासित एउटा नयाँ करार बाँध्‍‌नेछु, म तिनीहरूका मनमा मेरो व्यवस्था राख्‍‌नेछु र तिनीहरूको हृदयमा यो लेखिदिनेछु अनि म तिनीहरूका परमेश्वर हुनेछु र तिनीहरू मेरा मानिसहरू हुनेछन्।

11 ‘परमप्रभुलाई चिन’ भनेर अब उसो कुनै मानिसले आफ्‍‌नो छिमेकीलाई वा आफ्‍‌ना दाज्यू-भाइलाई सिकाउनेछैन। किनकि सानादेखि लिएर ठूलासम्म तिनीहरू सबैले मलाई चिन्‍‌नेछन्।

12 किनकि म तिनीहरूका अपराध क्षमा गर्नेछु र तिनीहरूका पाप म फेरि कहिल्यै सम्झनेछैन।’’

13 एउटा नयाँ करार भन्‍‌नुभएर उहाँले पहिलोलाई पुरानो पार्नुभएको छ। जब उहाँले ‘‘नयाँ करार’’ भन्‍‌नुभयो, उहाँले पहिलेकोलाई पुरानो तुल्याउनुभएको छ तर पुरानो भएको कुरा हराएर जान्छ।




9

1 पहिलाको करारमा आराधनाका धर्म-विधि र एउटा सांसारिक पवित्रस्थान पनि थिए।

2 त्यहाँ एउटा पवित्र वासस्थान तयार भएको थियो, जसको पहिलो कोठाभित्र सामदान, टेबुल र भेटीका रोटीहरू थिए, त्यसलाई पवित्रस्थान भनिन्थ्यो

3 र दोस्रो पर्दाको पछाडिपट्टि महापवित्रस्थान भनिने कोठा थियो।

4 त्यस कोठामा सुनको धूप वेदी र सुनले मोहोरिएको करारको सन्दुक थियो। सन्दुकभित्र मन्‍‌न राखेको सुनको भाँडो, कोपिला लागेको हारूनको लौरो र करारका शिला-पाटीहरू थिए।

5 सन्दुकमाथि कृपा-आसनमा छायाँ पारिराख्‍‌ने ईश्वरीय महिमाका करूबहरू थिए। तर यी कुराका विषयमा अहिले हामी विस्तारपूर्वक भन्‍‌न सक्दैनौं।

6 अब यी सबै कुराको प्रबन्ध भइसकेपछि पूजाहारीहरू आफ्‍‌ना धार्मिक विधि र कर्तव्य पालन गर्दै नियमितरूपले बाहिरपट्टिको पवित्रस्थानभित्र प्रवेश गर्थे।

7 तर भित्रपट्टिको कोठामा भने, प्रधान पूजाहारी मात्रै एकलै वर्षमा एकचोटि जान्छन्, त्यो पनि रगत नलिईकन होइन । त्यो रगत उसले आफ्‍‌नोनिम्ति र मानिसहरूका पापको निम्ति चढाउँछ।

8 यसैबाट पवित्र आत्मा देखाउनुहुन्छ कि जबसम्म बाहिरपट्टिको पवित्रस्थान रहिरहन्छ, तबसम्म महापवित्रस्थानभित्र जाने बाटो प्रकट गरिएको थिएन।

9 यो त अहिले वर्तमान समयको निम्ति एक दृष्टान्त हो। यसले यही देखाउँछ कि चढाएका भेटी र बलिदानहरूले आराधकको विवेकलाई शुद्ध तुल्याउन सक्दैनन्।

10 केवल ती खाने, पिउने र विभिन्‍‌न विधिका स्‍‌नान मात्र हुन्, अर्थात् शारीरिक धर्म-विधि हुन्, जुन सुधारको समय नआउञ्जेल स्थापना गरिएका थिए।

11 जब ख्रीष्ट, आउने असल कुराका प्रधान पूजाहारीको रूपमा प्रकट हुनुभयो। उहाँ अझ महान् र सिद्ध पवित्रस्थानमा प्रवेश गर्नुभयो, जुन मानिसका हात र यो सृष्टि गरिएको संसारको थोकद्वारा बनाइएको होइन।

12 बोका र बाछाहरूको रगतले होइन तर आफ्‍‌नै रगतद्वारा अनन्त उद्धार प्राप्त गरिदिएर सधैँको निम्ति एकपल्ट महापवित्रस्थानभित्र उहाँ प्रवेश गर्नुभयो।

13 बोका र साँढेहरूको रगत अनि कोरलीको खरानी अशुद्ध मानिसहरूमाथि छर्कदा तिनीहरूका शरीर शुद्ध हुन्छ भने

14 ख्रीष्टको रगतले झन् कति बढ्ता गरी तिमीहरूका विवेकलाई मृतकर्महरूबाट शुद्ध पार्नेछ, यसैले कि तिमीहरू जीवित परमेश्वरको सेवा गर्नसक्छौ। किनकि उहाँले अनन्त आत्माद्वारा आफैलाई निस्खोट बलिदानको रूपमा परमेश्वरकहाँ अर्पण गर्नुभयो।

15 त्यसकारण उहाँ नयाँ करारको मध्यस्थ हुनुहुन्छ, बोलाइएकाहरूले अनन्त उत्तराधिकारको प्रतिज्ञा पाऊन् भनेर पहिलो करार अन्तर्गत गरिएका अपराधको छुटकाराको निम्ति मृत्युले ठाउँ लियो।

16 किनभने जहाँ इच्छापत्र हुन्छ, त्यहाँ त्यो बनाउनेको मृत्युको पनि आवश्यकता पर्छ।

17 किनकि इच्छापत्र तब मात्र लागू हुन्छ, जब त्यो बनाउने व्यक्तिको मृत्यु हुन्छ। किनभने इच्छापत्र दिने बाँचुन्जेलसम्म यो लागू हुँदैन।

18 त्यसकारण पहिलो करार पनि रगतबिना लागू हुनसकेन ।

19 किनकि मोशाले मानिसहरूलाई परमेश्वरका सबै व्यवस्था बताइसकेपछि तिनले बाछा र बोकाको रगत अनि पानी लिएर रातो ऊन र हिसपका स्याउलाद्वारा परमेश्वरको व्यवस्थाको पुस्तकमाथि र सबै मानिसहरूमाथि यसो भन्दै छर्के,

20 ‘‘यो परमेश्वरले तिमीहरूलाई आज्ञा गर्नुभएको करारको रगत हो।’’

21 अनि यसरी नै तिनले पवित्र वासस्थानमाथि र सेवाका सबै भाँडाहरूमाथि रगत छर्के।

22 वास्तवमा व्यवस्थाअनुसार रगतले प्राय: सबै कुरा शुद्ध पार्दछ, रगत नबगाईकन कुनै पनि पापको क्षमा हुँदैन।

23 यदि स्वर्गका कुराका नमूनालाई शुद्ध पार्न यी विधि चाहिए भने स्वर्गकै कुरालाई शुद्ध पार्न त अझ उत्तम बलिको आवश्यकता पर्‍यो।

24 किनकि ख्रीष्ट हातले बनाइएको पवित्रस्थानमा प्रवेश गर्नुभएन, जुन वास्तविक कुराको छायाँ मात्र थियो तर उहाँ स्वर्गमा नै प्रवेश गर्नुभयो र अहिले हाम्रोनिम्ति परमेश्वरको अघि उपस्थित हुनुहुन्छ।

25 येशू आफैलाई बारम्बार बलि चढाउन स्वयम् पस्‍‌नुभएको होइन, जसरी प्रधान पूजाहारी वर्षैपिच्छे आफ्‍‌नै रगत होइन तर अर्काको रगत लिएर महापवित्रस्थानभित्र प्रवेश गर्दछन्।

26 नत्र त संसारको उत्पत्तिदेखि नै उहाँले बारम्बार दु:ख भोग्‍‌नुपर्थ्यो। तर यस युगको अन्त्यमा आफ्‍‌नै बलिद्वारा पाप हटाउनलाई उहाँ सधैँको निम्ति एकैपल्ट प्रकट हुनुभएको छ।

27 जसरी मानिसको निम्ति एकपल्ट मर्नु निश्चित छ र त्यसपछि इन्साफ आउँछ।

28 त्यसरी नै ख्रीष्ट पनि धेरै जनाको पाप बोक्‍‌नलाई एकैपल्ट बलि हुनुभयो र उहाँ दोस्रोपल्ट देखा पर्नुहुनेछ, पाप बोक्‍‌नको निम्ति होइन तर उत्सुकतापूर्वक उहाँको प्रतीक्षा गर्नेहरूका उद्धारको निम्ति हो।




10

1 किनभने व्यवस्था अब आउने उत्तम कुराको खास रूप नभएर छायाँ मात्र हो, यसकारण वर्षैपिच्छे चढाइने त्यही किसिमका बलिहरूद्वारा नजिक आउनेहरूलाई यसले सिद्ध पार्नसक्दैन।

2 नत्र त बलिदान चढाउने कार्य के बन्द हुनेथिएन र? किनकि आराधकहरू एकैपल्टमा शुद्ध हुनेभए, तिनीहरूमा त्यसपछि पापको चेतना हुनेथिएन।

3 तर ती बलिदानहरूले वर्षैपिच्छे पापको सम्झना गराउँदछन् ।

4 किनकि साँढे र बोकाहरूको रगतले पाप हटाउन असम्भव छ।

5 यसकारण संसारमा आउनुहुँदा उहाँले भन्‍‌नुभयो, ‘‘बलिदान र भेटी तपाईंले चाहनुभएन तर तपाईंले मेरोनिम्ति एउटा शरीर तयार पारिदिनुभएको छ।

6 होमबलि र पापबलिमा तपाईं प्रसन्‍‌न हुनुहुन्‍‌न।

7 तब मैले भनेँ, ‘हेर्नुहोस्, हे परमेश्वर पुस्तकको मुट्ठोमा मेरोबारेमा लेखिएजस्तै तपाईंको इच्छा पूरा गर्न म आएको हुँ’।’’

8 उहाँले पहिला भन्‍‌नुभयो, ‘‘बलिदान र भेटीहरू, होमबलि र पापबलिहरू तपाईंले चाहनुभएन। तपाईं तिनीहरूमा प्रसन्‍‌न हुनुभएन। ’’ (यी त व्यवस्थाबमोजिम चढाइन्छ।)

9 अनि त्यसपछि भन्‍‌नुभयो, ‘‘हेर्नुहोस्, तपाईंकै इच्छा पूरा गर्न म आएको छु।’’ दोस्रोलाई स्थापित गर्न पहिलो उहाँले खारिज गर्नुहुन्छ।

10 त्यही इच्छाबाट येशू ख्रीष्टको शरीरको बलिदानद्वारा एकैपल्टमा सधैँको निम्ति हामी पवित्र बनाइएका छौं ।

11 अनि हरेक पूजाहारी एकै किसिमको बलिदान बारम्बार चढाउँदै दिनहुँ सेवामा खडा रहन्छ, जुन बलिदानले पाप उठाइ लैजानसक्दैन।

12 तर उहाँले पापको निम्ति सधैँको लागि एउटै बलिदान चढाएर परमेश्वरका दाहिने बाहुलीपट्टि विराजमान हुनुभएको छ।

13 अनि ‘उहाँका शत्रुहरू उहाँको पाउदान नहोउञ्जेल’ उहाँ पर्खिरहनुहुन्छ ।

14 किनकि एउटै बलिदानद्वारा उहाँले पवित्र पारिएकाहरूलाई सधैँको निम्ति सिद्ध बनाउनुभएको छ।

15 अनि पवित्र आत्माले पनि हामीलाई गवाही दिनुहुन्छ। पहिल्यै उहाँ भन्‍‌नुहुन्छ,

16 ‘‘ती दिनपछि तिनीहरूसँग बाँध्‍‌ने मेरो करार यही हो, परमप्रभु भन्‍‌नुहुन्छ, तिनीहरूका हृदयमा म मेरो व्यवस्था राखिदिनेछु र तिनीहरूका मनमा पनि म त्यो लेखिदिनेछु।’’

17 तब उहाँ भन्‍‌नुहुन्छ, ‘‘तिनीहरूका पाप र तिनीहरूका दुष्कर्महरू म फेरि सम्झनेछैनँ।’’

18 अब जहाँ यी कुराको क्षमा हुन्छ, त्यहाँ अब फेरि पापको निम्ति कुनै बलिदान हुँदैन।

19 यसकारण प्रिय भाइहरू हो, येशूको रगतको कारणले गर्दा हामी साहसपूर्वक महापवित्रस्थानभित्र प्रवेश गर्नसक्छौं ।

20 हाम्रो निम्ति उहाँले एउटा नयाँ र जीवित मार्ग खोलिदिनुभएको छ, जसको कारण पर्दा अर्थात् उहाँको शरीरद्वारा हामीभित्र पस्‍‌न सक्छौं।

21 अनि परमेश्वरका घरमाथि हाम्रा महान् प्रधान पूजाहारी हुनुभएकोले,

22 हाम्रा हृदय खराब विवेकबाट छिट्काउद्वारा चोख्याइएर अनि शुद्ध पानीले हाम्रो शरीरलाई धोएर साँचो हृदयले विश्वासको सम्पूर्ण निश्चयतामा हामी परमेश्वरको नजिक जाऔं।

23 हामीले दृढविश्वास गरेको आशालाई नडगमगाइ दह्रोसँग थामिराखौं, किनकि प्रतिज्ञा गर्नुहुने उहाँ विश्वसनीय हुनुहुन्छ।

24 हामी एउटाले अर्कालाई प्रेम र असल कामहरूले हौसला दिने कुरा विचार गरौं ।

25 तर कसै-कसैको बानी भएझैँ, हामी एक ठाउँमा भेला हुन नछोडौं तर दिन नजिक आएको तिमीहरूले देखेका हुनाले एक-अर्कालाई झन् बढी उत्साह दिऔं।

26 किनकि सत्यको ज्ञान पाएपछि पनि हामी जानीबुझी पाप गर्दछौं भने पापको निम्ति कुनै बलिदान बाँकी रहँदैन।

27 तर न्यायको डरलाग्दो प्रतीक्षा र विरोधीहरूलाई भस्म गर्ने क्रोधको अग्‍‌निबाहेक अरु कुनै कुरा रहनेछैन।

28 मोशाको व्यवस्था पालन नगर्ने कुनै पनि मानिस दुई वा तीन साक्षीहरूको गवाहीमा दयाबिना मर्थ्यो भने,

29 अब विचार गर, परमेश्वरका पुत्रलाई खुट्टामुनि कुल्चने, आफूलाई पवित्र तुल्याइएको करारको रगतलाई अपवित्र ठान्‍‌ने र अनुग्रहको आत्मालाई अपमानित गर्नेको सजाय झन् कति कठोर होला।

30 किनकि यस्तो भन्‍‌नुहुनेलाई हामी चिन्छौं, ‘‘बदला म लिनेछु। प्रतिफल म दिनेछु।’’ अनि फेरि भन्‍‌नुहुन्छ, ‘‘परमप्रभुले आफ्‍‌ना मानिसहरूको न्याय गर्नुहुनेछ।’’

31 जीवित परमेश्वरको हातमा पर्नु डरलाग्दो कुरा हो।

32 तर ती पहिलेका दिनहरू सम्झ, जब ज्योति पाएपछि तिमीहरूले दु:खको ठूलो सङ्घर्ष सह्यौ,

33 कहिले तिमीहरू निन्दा र कष्टका कारण खुला तमासा बन्यौ, अनि कहिले त्यस्तो व्यवहार सहेकाहरूसित सहभागी भयौ,

34 किनकि तिमीहरूको आफ्‍‌नै अझ उत्तम र सदा रहने सम्पत्ति छ भन्‍‌ने जानेर तिमीहरूले कैदीहरूलाई सहानुभूति देखायौ र तिमीहरूका सम्पत्ति लुटिँदा पनित्यसलाई सहर्ष स्वीकार गर्‍यौ।

35 त्यसकारण आफ्‍‌नो आत्मविश्वास नगुमाओ, जसको एउटा ठूलो इनाम छ ।

36 तिमीहरूलाई परमेश्वरको इच्छा पूरा गरेर प्रतिज्ञा गरिएको फल पाउन धैर्यको खाँचो छ।

37 किनकि अब थोरै समयमा, ‘‘उहाँ, जो आउँदै हुनुहुन्छ, आउनु नै हुनेछ र ढिलो गर्नुहुनेछैन।

38 तर मेरो धर्मीजन विश्वासद्वारा जिउनेछ र यदि ऊ पछि हट्छ भने मेरो प्राण त्यसमा प्रसन्‍‌न हुनेछैन।’’

39 हामी नाश हुनका निम्ति पछि हट्‍‌नेहरूमध्येका होइनौं तर आत्मा बचाउनलाई विश्वास गर्नेहरूमध्येका हौं।




11

1 अब विश्वास, आशा गरिएका कुराको निश्चयता र नदेखिएका कुराको दृढ भरोसा हो ।

2 किनकि यसै विश्वासद्वारा प्राचीनकालका मानिसहरूलाई परमेश्वरले ग्रहण गर्नुभयो।

3 विश्वासद्वारा हामी बुझ्छौं कि संसार परमेश्वरका वचनद्वारा बनिए, त्यसकारण देखिने कुरा देखिएका थोकद्वारा बनिएका होइनन्।

4 विश्वासद्वारा हाबिलले परमेश्वरलाई कयिनले भन्दा अझ उत्तम बलि चढाए र त्यसद्वारा तिनी धर्मी ठहरिए, तिनको बलि स्वीकार गरेर परमेश्वरले आफ्‍‌नो स्वीकृति जनाउनुभयो, तिनी मरे तापनि विश्वासद्वारा नै तिनी अझ बोलिरहेका छन्।

5 विश्वासद्वारा मृत्यु नचाखी हनोक स्वर्गमा उठाई लगिए, ‘तिनी कतै फेला परेनन्, किनकि परमेश्वरले तिनलाई उठाई लैजानुभयो।’ तिनी उठाई लगिनुभन्दाअघि परमेश्वरलाई तिनले प्रसन्‍‌न पारेको कुरा पुष्टि भएको थियो।

6 अनि बिनाविश्वास परमेश्वरलाई रिझाउन असम्भव छ। किनकि जो परमेश्वरको नजिक आउँछ, त्यसले परमेश्वर हुनुहुन्छ र उहाँलाई यत्‍‌नसित खोज्‍‌नेहरूलाई उहाँले प्रतिफल दिनुहुन्छ भन्‍‌ने पक्का विश्वास गर्नुपर्छ।

7 विश्वासद्वारा नोआले त्यतिबेलासम्म नदेखिएको घटनाको बारेमा परमेश्वरबाट चेताउनी पाएर भक्तिसाथ आफ्‍‌नो घरानालाई बचाउन एउटा पानीजहाज बनाए। यसैद्वारा संसारलाई दोषी ठहराएर विश्वासद्वारा आउने धार्मिकताका उत्तराधिकारी भए।

8 विश्वासद्वारा अब्राहामले बोलावट पाएपछि तिनले उत्तराधिकारको रूपमा पाउनुपर्ने ठाउँमा गई परमेश्वरको आज्ञापालन गरे र कता जानुपर्ने हो सो नजाने तापनि तिनी निस्केर गए।

9 विश्वासैद्वारा तिनी एक परदेशीझैँ प्रतिज्ञाको देशमा, त्यही प्रतिज्ञाको देशमा त्यही प्रतिज्ञाका सहहकदार इसहाक र याकूबझैँ तम्बुहरूमा बसोबास गरे ।

10 किनकि तिनले जग भएको शहरको आशा गर्दथे, जसको शिल्पकार र निर्माता परमेश्वर नै हुनुहुन्छ।

11 विश्वासैद्वारा साराले उमेर ढल्किसकेपछि पनि गर्भधारण गर्ने क्षमता प्राप्त गरिन्, किनकि उनले प्रतिज्ञा गर्नुहुनेलाई विश्वसनीय ठानिन्।

12 त्यसैकारण, मरेतुल्य शरीर भइसकेको एउटै मानिसबाट ‘आकाशका ताराजतिकै असङ्ख्य र समुद्र किनारका अनगिन्ती बालुवाका कणजतिकै’ सन्तान उत्पन्‍‌न भए।

13 तिनीहरू सबै प्रतिज्ञा प्राप्त नगरी तर त्यसलाई टाढैबाट देखेर स्वागत गरी, पृथ्वीमा परदेशी र यात्री हौं भनी स्वीकार गर्दै विश्वासमा नै मरे।

14 यस्ता कुरा गर्ने मानिसहरूले आफ्‍‌नो एउटा देश खोजिरहेका छन् भन्‍‌ने कुरा प्रस्ट हुन्छ।

15 यदि साँच्चै तिनीहरूले आफू निस्केर गएको देशको बारेमा सोचेका भए, तिनीहरूले फर्केर जाने मौका पाउने थिए।

16 तर अब तिनीहरूले अझै उत्तम देश अर्थात् स्वर्गदेशको चाहना गर्छन्, यसकारण परमेश्वर, उनीहरूका परमेश्वर भनिन लजाउनुहुन्‍‌न, किनकि उहाँले तिनीहरूका निम्ति एउटा शहर तयार पार्नुभएको छ।

17 विश्वासैद्वारा अब्राहामले, तिनको जाँच हुँदा इसहाकलाई बलि गर्न तयार भए, जसले प्रतिज्ञा पाएका थिए, तिनी आफ्‍‌नो एकमात्र छोरोलाई बलिदान चढाउन राजी भए।

18 यिनी नै ती व्यक्ति हुन्, जसलाई यसो भनिएको थियो, ‘इसहाकद्वारा नै तेरो सन्तानको नाउँ रहनेछ।’

19 परमेश्वरले मानिसहरूलाई मृतकबाट जीवित पार्न सक्‍‌नुहुन्छ भन्‍‌ने कुरा अब्राहामले सोचेको हुनाले तिनले इसहाकलाई प्रतीकको रूपमा फिर्ता पाए।

20 विश्वासैद्वारा इसहाकले आउनलागेका कुराको विषयमा याकूब र एसावलाई आशीर्वाद दिए।

21 विश्वासद्वारा याकूबले मर्ने बेलामा आफ्‍‌नो लौरोको टुप्पोमा अडेस लागेर परमेश्वरको आराधना गरे र योसेफको प्रत्येक छोरालाई आशीर्वाद दिए।

22 विश्वासद्वारा योसेफले आफ्‍‌नो जीवनको अन्त्यतिर इस्राएलीहरू निस्केर जाने विषयमा बताए र तिनका हाडहरूको विषयमा आदेश दिए।

23 मोशा जन्मदा तिनका आमा-बुबाले तिनलाई सुन्दर देखे र विश्वासद्वारा तीन महिनासम्म तिनलाई लुकाइराखे र राजाका हुकुमको तिनीहरूले डरै मानेनन्।

24 जवान भएपछि विश्वासद्वारा मोशाले फारोकी छोरीको छोरा कहलाइन इन्कार गरे।

25 पापको क्षणिक सुख भोग्‍‌नुभन्दा बरु परमेश्वरका मानिसहरूसँग दु:ख भोग्‍‌न तिनले रोजे।

26 तिनले ख्रीष्टको निम्ति निन्दा सहने कुरालाई मिश्रदेशको धनसम्पत्तिभन्दा मूल्यवान् ठाने। किनकि तिनको दृष्टि इनामतिर लागेको थियो।

27 विश्वासैद्वारा तिनले राजाको क्रोधसँग नडराईकन मिश्रदेशलाई त्यागे, किनकि जो देखिनुहुन्‍‌न उहाँलाई देखेजस्तै गरी तिनी स्थिर रहे।

28 जेठोहरूलाई नाश गर्नुहुनेले तिनीहरूलाई नछोऊन् भनी विश्वासद्वारा तिनले निस्तार-चाड र रगतको छिट्काउको पालन गरे।

29 विश्वासैद्वारा तिनीहरू ओबानो जमीनमा हिँडेझैँ गरी लालसमुद्र पार भए, मिश्रीहरू पनि त्यही बाटो भएर जाँदा डुबेर मरे।

30 सात दिन परिक्रमा गरेपछि विश्वासैद्वारा यरीहोको पर्खाल ढल्यो।

31 विश्वासैद्वारा वेश्या राहाबले शान्तिसाथ जासुसहरूलाई सत्कार गरेकीले उनी अनाज्ञाकारीहरूका साथमा नष्ट भइनन्।

32 योभन्दा बढ्ता म के भनूँ? किनकि गिदोन, बाराक, शिमशोन, यिप्ताको बारेमा र दाऊद, शमूएल र अगमवक्ताहरूका विषयमा भनिरहन मलाई समय छैन।

33 ज-जसले विश्वासद्वारा राज्यहरू जिते, धार्मिकताका कार्यहरू गरे, प्रतिज्ञाहरू पाए, सिंहहरूका मुख बन्द गरिदिए,

34 आगोका ज्वाला निभाए, तरवारका धारबाट बाँचे, कमजोरीबाट बलिया बनाइए, लडाइँमा वीर भए, विदेशीहरूका फौजलाई भगाए,

35 स्त्रीहरूले आफ्‍‌ना मरेकाहरूलाई पुनरुत्थानद्वारा फेरि जीवित रूपमा पाए, अरुहरूले मृत्युपछि अझ उत्तम जीवन प्राप्त गर्नलाई छुटकारा इन्कार गरेर दण्ड भोगे।

36 अनि अरुहरूले गिल्ला, कोर्रा, बन्धन र कैद पनि भोगे।

37 तिनीहरूलाई ढुङ्गाले हाने। तिनीहरू करौँतीले चिरिए । तिनीहरू तरवारले मारिए। भेडा र बाख्राका छालाहरू लगाएर कङ्गाल भई क्लेश र दु:ख पाएर तिनीहरू यताउता डुलिहिँडे।

38 संसार तिनीहरूका निम्ति योग्यको थिएन। मरुभूमि, पहाडहरू, गुफाहरू र पृथ्वीका ओडारहरूतिर तिनीहरूलाई घुमिहिँड्‍‌नुपर्‍यो।

39 अनि तिनीहरू सबैले विश्वासद्वारा स्वीकृति पाए तापनि प्रतिज्ञा गरिएका कुरा प्राप्त गरेनन्।

40 किनकि हामीबिना तिनीहरू सिद्ध नहोऊन् भनेर परमेश्वरले हाम्रा निम्ति पहिलेबाट केही उत्तम कुराको प्रबन्ध गर्नुभएको थियो।




12

1 यसकारण यतिका धेरै साक्षीहरूका बादलले हामीलाई घेरेको हुनाले हरेक किसिमका टन्टा र हामीलाई सजिलैसित अल्झाउने पापलाई पन्साएर हाम्रा सामुन्‍‌ने राखिदिएको दौड धैर्यसाथ दौडौं।

2 अनि हाम्रा विश्वासका कर्ता र सिद्ध तुल्याउनुहुने येशूलाई हेरौं, जसले आफ्‍‌नो सामुन्‍‌ने राखिएको आनन्दको निम्ति अपमानलाई तुच्छ ठानेर क्रूसको कष्ट भोग्‍‌नुभयो र परमेश्वरको सिंहासनको दाहिने बाहुलीपट्टि विराजमान हुनुभएको छ।

3 यसैले पापीहरूबाट उहाँको विरुद्धमा भएका यतिका वादविवाद सहनुहुनेलाई विचार गर र तिमीहरू शिथिल नहोओ र हरेस नखाओ।

4 तिमीहरूले अझसम्म पापको विरुद्धमा लडेर रगताम्मे हुनेगरी विरोध गरेका छैनौ।

5 तिमीहरूले त्यस अर्तीलाई भुलेका छौ, जसले छोराछोरीसित झैँ तिमीहरूलाई सम्बोधन गर्दछ, ‘‘हे मेरो छोरा, परमप्रभुको ताडनालाई हलुका नसम्झ, उहाँबाटको दण्डमा रेस नखाऊ,

6 किनकि जसलाई परमप्रभुले प्रेम गर्नुहुन्छ, त्यसैलाई ताडना दिनुहुन्छ र आफूले ग्रहण गर्नुभएको हरेक छोरालाई उहाँले दण्ड दिनुहुन्छ।’’

7 तिमीहरू ताडनाको निम्ति नै कष्ट सहन्छौ। परमेश्वरले तिमीहरूसँग छोरालाई झैँ व्यवहार गर्नुहुन्छ। किनकि बुबाले ताड्‍‌ना नदिएको कुन छोरो हुन्छ र?

8 तर यदि सबै जना सहभागी भएको त्यो ताडना तिमीहरूले पाएका छैनौ भने त तिमीहरू आफ्‍‌ना बुबाका साख्खै छोराछोरीहरू होइनौ, तर व्यभिचारमा जन्मेका सन्तान हौ।

9 यसबाहेक हामीलाई ताडना दिने हाम्रा सांसारिक पिताहरू थिए र हामीले तिनीहरूलाई आदर गर्‍यौं भने के हामी आत्माका पिताको अधीनमा बसेर जिउनु पर्दैन र?

10 किनकि तिनीहरूले असल ठानेझैँ केही समयको निम्ति हामीलाई ताडना दिए तर उहाँले हामी उहाँको पवित्रताको सहभागी बनौं भनेर हाम्रो भलाइको निम्ति ताडना दिनुहुन्छ।

11 कुनै पनि ताडना अहिलेलाई आनन्दमय हुँदैन तर दु:खदायी हुन्छ, तापनि ताडनाद्वारा तालिम पाएकाहरूका लागि यसले पछि गएर धार्मिकताको शान्तिपूर्ण फल उत्पन्‍‌न गराउँछ।

12 यसकारण लत्रेका हातहरू र दुर्बल घुँडाहरू बलिया बनाओ।

13 आफ्‍‌ना खुट्टाहरूका निम्ति सोझो बाटो बनाओ, यसैले कि तिमीहरूका लङ्गडो खुट्टाका जोर्नीहरू नखुस्कोस्, तर निको होस्।

14 सबै मानिसहरूसित शान्तिमा बस्‍‌ने र पवित्र हुने कोशिश गर, पवित्रताबिना कुनै मानिसले परमेश्वरलाई देख्‍‌नेछैन।

15 ध्यान देओ, कुनै मानिस परमेश्वरको अनुग्रहबाट वञ्चित नहोस्, नत्र त तीतोपनको जरो टुसाएर त्यसले फूट ल्याउला र धेरै जनालाई बिटुलो पार्ला।

16 कोही पनि एसावजस्तो एकछाक भोजनको निम्ति आफ्‍‌नो जन्मको अधिकार बेच्‍‌ने दुराचारी र भक्तिहीन व्यक्ति नहोस्।

17 तिमीहरूलाई थाहै छ, पछिबाट आशीर्वाद पाउन खोज्दा पनि ऊ अस्वीकृत भयो किनकि उसले पश्चात्ताप गर्ने मौका पाएन, यद्यपि उसले रुँदै त्यसको खोजी गरेको थियो।

18 तिमीहरू छुन सकिने पर्वतको छेउमा आएका छैनौं, जहाँ आगोको ज्वाला, कालो बादल, हुरी-बतास र घोर अन्धकार छ।

19 तुरहीको चर्को सोर र वचनको आवाज थियो, जुन आवाज तिनीहरूले सुन्दा ‘अब फेरि अरु बढ्ता एकै वचन नभनियोस्’ भनी तिनीहरूले विन्ती गरेका थिए।

20 किनभने ‘‘यदि कुनै जनावरले त्यो पर्वत छोए, त्यसलाई ढुङ्गाले हानेर मार्नू’’ भन्‍‌ने आज्ञा तिनीहरूले सहन सकेनन्।

21 अनि त्यो दृश्य यति भयानक थियो कि मोशाले पनि ‘‘म डरले काम्दछु’’ भनेका थिए।

22 तर तिमीहरू त सियोन पर्वतमा, जीवित परमेश्वरका शहर, स्वर्गका यरूशलेम, असङ्ख्य स्वर्गदूतहरूको जमातमा,

23 सर्वसाधारण सभामा र स्वर्गमा नाउँ लेखिएका पहिले जन्मेकाहरूका मण्डलीमा, सबैका न्यायकर्ता परमेश्वरकहाँ, सिद्ध पारिएका धर्मी मानिसहरूका आत्माहरूकहाँ

24 अनि नयाँ करारका मध्यस्थ येशूकहाँ, र हाबिलको रगतभन्दा अझ राम्रो गरी बोलिदिने रगतको छिट्काउमा आएका छौ।

25 होशियार बस, जो बोल्दै हुनुहुन्छ, उहाँलाई तिमीहरू इन्कार नगर। किनकि यदि पृथ्वीमा चेताउनी दिनेलाई इन्कार गर्नेहरू उम्केनन् भने स्वर्गबाट चेताउनी दिनुहुनेबाट मुख फर्काउने हामी कसरी उम्कन सक्छौं?

26 अनि जसको आवाजले त्यसबेला पृथ्वी काँप्यो तर अब उहाँले यसो भनेर प्रतिज्ञा गर्नुभएको छ, ‘‘अझ एकपल्ट, पृथ्वी मात्र होइन तर स्वर्गलाई समेत म हल्लाउनेछु।’’

27 अनि ‘अझ एकपल्ट’ भन्‍‌ने वचनले यो देखाउँछ कि हल्लाउन सकिने कुरा अर्थात् सृष्टि भएका कुरा हटाइनेछन्, तर हल्लाउननसकिने कुरा स्थिर रहनेछन्।

28 यसकारण, हल्लाउन नसकिने राज्य पाएकोमा हामी कृतज्ञ होऔं। त्यसैले हामी भक्ति र भयसाथ परमेश्वरलाई ग्रहणीय हुने आराधना चढाऔं।

29 किनभने हाम्रा परमेश्वर भस्म पार्ने आगो हुनुहुन्छ।




13

1 भातृ-प्रेम निरन्तर रहोस् ।

2 परदेशीहरूको अतिथिसत्कार गर्न नबिर्स, किनकि यसरी नै कसै-कसैले अजानमा स्वर्गदूतहरूको सत्कार गरेका छन्।

3 आफै पनि कैदमा परेझैँ झ्यालखानमा हुनेहरूको सम्झना गर र आफू पनि शरीरमा भएझैँ गरी दुर्व्यवहार गरिएकाहरूलाई सम्झना गर।

4 विवाह सबैको बीचमा आदरणीय होस्, वैवाहिक सम्बन्ध नबिटुलियोस्, परस्त्रीगमन र व्यभिचारीहरूको न्याय परमेश्वरले गर्नुहुनेछ।

5 तिमीहरूको चालचलन रुपियाँपैसाको लोभरहित होस् र तिमीहरूसित भएका कुरामा सन्तुष्ट होओ, किनकि उहाँ आफैले भन्‍‌नुभएको छ, ‘‘म तिमीहरूलाई कुनै रीतिले छोड्‍‌नेछैनँ, म तिमीहरूलाई त्याग्‍‌नेछैनँ।’’

6 यसकारण हामी दृढविश्वाससँग भन्दछौं, ‘‘प्रभु मेरा सहायक हुनुहुन्छ, म डराउनेछैनँ, मानिसले मलाई के गर्न सक्छ र?’’

7 तिमीहरूलाई परमेश्वरको वचन सुनाउने तिमीहरूका अगुवाहरूलाई सम्झ, र तिनीहरूका चालचलनको नतिजा विचार गरेर तिनीहरूका विश्वासको देखासिकी गर।

8 येशू ख्रीष्ट हिजो, आज र सधैँभरि एक समान हुनुहुन्छ।

9 विभिन्‍‌न र अनौठा शिक्षाद्वारा यताउति नबरालिओ । किनकि खाने-पिउने कुरा सम्बन्धित विधिद्वारा होइन, बरु अनुग्रहद्वारा हृदय सुदृढ भएको असल हो, किनभने यस्ता विधि गर्नेहरूलाई कुनै फायदा भएको छैन।

10 हामीसित एउटा वेदी छ, जसबाट पवित्र वासस्थानमा सेवा गर्नेहरूलाई खाने अधिकार छैन।

11 किनकि प्रधान पूजाहारीले पाप- बलिको निम्ति जनावरको रगत पवित्रस्थानमा ल्याउँछन् तर तिनको शरीर छाउनीबाहिर लगेर जलाइन्छ।

12 त्यसकारण येशूले पनि उहाँको आफ्‍‌नै रगतद्वारा मानिसहरूलाई पवित्र पार्नको निम्ति ढोकाबाहिर कष्ट भोग्‍‌नुभयो।

13 यसैले हामी पनि छाउनीबाहिर जाऔं र उहाँसँगै निन्दा सहौं ।

14 किनकि हामीसँग यहाँ सधैँ रहिरहने शहर छैन, तर हामी आउने शहरको खोजी गर्दछौं।

15 यसकारण हामी उहाँद्वारा निरन्तर परमेश्वरलाई बलिदान चढाऔं अर्थात् उहाँको नाउँलाई धन्यवाद दिने ओठका फल चढाऔं।

16 तर भलाइ गर्न र बाँडचुँड गर्न नबिर्स, किनकि यस्ता बलिदानद्वारा परमेश्वर प्रसन्‍‌न हुनुहुन्छ।

17 तिमीहरूका अगुवाहरूको आज्ञा मान र उनीहरूका अधीनमा बस, किनकि हिसाब दिनुपर्नेहरूले जस्तो गरी तिनीहरू तिमीहरूका प्राणको हेरचाहा गर्छन्। यो काम तिनीहरूले दु:खित भएर होइन तर आनन्दसाथ गरून्, किनकि यसबाट तिमीहरूलाई केही फाइदा हुँदैन।

18 हाम्रो निम्ति प्रार्थना गर, किनकि हामीसित असल विवेक छ भनी निश्चित छौं र सबै कुरामा हामी इमानदारीसँग जिउन इच्छुक छौं।

19 अनि तिमीहरूलाई मेरो विशेष आग्रह यो छ, कि मेरोनिम्ति प्रार्थना गरिदेओ र म फेरि तिमीहरूकहाँ चाँडै आउनसकूँ।

20 अब भेडाका महान् गोठाला हाम्रा प्रभु येशूलाई अनन्त करारको रगतद्वारा मृत्युबाट जावित पार्नुहुने शान्तिका परमेश्वरले

21 तिमीहरूलाई हरेक असल गुणले सिद्ध पारून् र तिमीहरूले उहाँको इच्छा पूरा गर्नसक। जे परमेश्वरलाई मनपर्दो छ, येशू ख्रीष्टद्वारा उहाँले तिमीहरूमा गरून्। उहाँको महिमा सधैँ भइरहोस्। आमेन्।

22 तर भाइ-बहिनी हो, म तिमीहरूलाई निवेदन गर्दछु कि यी अर्तीका कुरा मान, जुन मैले छोटकरीमा लेखेको छु।

23 तिमीहरूलाई यो थाहा दिन चाहन्छु,कि हाम्रा भाइ तिमोथी कैदबाट छुटेका छन्, यदि तिनी आए भने म उनको साथमा तिमीहरूलाई भेट्‍‌न आउनेछु।

24 तिमीहरूका सबै अगुवाहरू र सबै सन्तहरूलाई अभिवादन देओ। इटालियाकाहरूले अभिवादन पठाएका छन्।

25 तिमीहरू सबैसँग अनुग्रह रहोस्।



AMAZING GRACE BIBLE INSTITUTE