GALATIANS

गलाती


Chapter 1

1 पावल, न त मानिसहरूबाट न त मानिसद्वारा, तर येशू ख्रीष्ट र उहाँलाई मृतकबाट पुनर्जीवित पार्नुहुने परमेश्वर पिताद्वारा पठाइएको एक प्रेरित

2 र मसँग हुने भाइहरूबाट गलातियाका मण्डलीहरूलाई :

3 परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्टबाट तिमीहरूलाई अनुग्रह र शान्ति,

4 जसले परमेश्वर पिताको इच्छाअनुसार यस वर्तमान दुष्ट युगबाट हामीलाई छुटकारा दिनलाई हाम्रा पापका निम्ति आफैलाई अर्पण गर्नुभयो।

5 परमेश्वरलाई सदासर्वदा महिमा भइरहोस्, आमेन्।

6 तिमीहरूले ख्रीष्टको अनुग्रहमा बोलाउनुहुनेलाई यति चाँडै त्यागेर अर्कै सुसमाचारतिर लागेको हुँदा म छक्क परेको छु।

7 वास्तवमा अर्को सुसमाचार छैन, तर यस्ता कोही कोही छन्, जसले ख्रीष्टको सुसमाचारलाई भ्रष्ट पार्न खोज्छन्।

8 तर हामीले तिमीहरूलाई प्रचार गरिसकेको सुसमाचारभन्दा अर्कै सुसमाचार यदि हामी कसैले अथवा कुनै स्वर्गदूतले नै प्रचार गर्छ भने पनि त्यो व्यक्ति श्रापित होस्।

9 हामीले पहिले भनेकै कुरा म अहिले फेरि पनि भन्दछु, यदि कसैले तिमीहरूले ग्रहण गरेको भन्दा अर्कै सुसमाचार प्रचार गर्दछ भने त्यो व्यक्ति श्रापित होस्।

10 अब के म मानिसहरूको निगाह खोज्दै छु कि परमेश्वरको? अथवा के मैले मानिसहरूलाई खुशी पार्न खोज्दै छु ? यदि मैले अझै मानिसहरूलाई खुशी पार्न खोजेको भए, म ख्रीष्टको कमारो हुने नै थिइनँ।

11 मेरा प्रिय भाइहरू हो, मैले प्रचार गरेको सुसमाचार मानिसले बनाएको होइन।

12 किनकि न त मैले यो मानिसबाट पाएँ, न मलाई सिकाइएको हो तर येशू ख्रीष्टको प्रकाशद्वारा मैले यो पाएँ।

13 यहूदी मतमा छँदा मेरो पहिलेको जीवनशैलीको विषयमा तिमीहरूले सुनेका छौ कि कसरी मैले परमेश्वरको मण्डलीलाई भयानकरूपमा सताउने गर्दथेँ र त्यसलाई नष्ट गर्न खोजेँ,

14 मेरा पिता-पुर्खाका प्रथामा असाध्य जोशिलो हुँदै, आफ्‍‌ना देशवासीहरूमा मेरा दौंतरकाहरू धेरैलाई उछिनेर म यहूदी मतमा अघि बढेको थिएँ।

15 मेरी आमाको गर्भदेखि नै अलग गर्नुहुने र उहाँको अनुग्रहद्वारा मलाई बोलाउनुहुने परमेश्वरले

16 आफ्‍‌नो पुत्रलाई ममा प्रकट गर्न खुशी हुनुभयो, यसैले कि मैले उहाँलाई अयहूदीहरूको बीचमा प्रचार गर्नसकूँ, त्यसबेला मैले कुनै मानिससँग केही सल्लाह लिइनँ,

17 मभन्दा अघि प्रेरित भइसकेकाहरूलाई भेट्‍‌न यरूशलेम पनि गइनँ, बरु सोझै अरब गएँ, त्यसपछि दमस्कस फर्कें ।

18 तब तीन वर्षपछि केफासलाई भेट्‍‌न म यरूशलेम गएँ र तिनीसँग पन्ध्र दिनसम्म बसेँ।

19 तर मैले प्रभुका भाइ याकूबबाहेक अरु कुनै प्रेरितलाई भेटिनँ।

20 अब परमेश्वरको अघि म तिमीहरूलाई विश्वस्त पार्दछु, मैले तिमीहरूलाई लेखिरहेको कुरा झूटो होइन।

21 त्यसपछि म सिरिया र किलिकियाका इलाकातिर गएँ।

22 त्यो समयसम्म यहूदियाका ख्रीष्टमा भएका मण्डलीहरूका विश्वासीहरूले मलाई व्यक्तिगतरूपमा चिनेका थिएनन्।

23 तर ‘‘जसले विगत समयमा हामीलाई सताएका थिए, उनैले अहिले आफूले अघि नष्ट पार्न कोशिश गरेको विश्वासलाई प्रचार गर्दा रहेछन्’’ भनी उनीहरूले सुनेका मात्र थिए।

24 तिनीहरूले मेरो कारण परमेश्वरलाई महिमा दिए।




2

1 म चौध वर्षपछि बर्णाबाससँग तीतसलाई साथमा लिएर फेरि यरूशलेम गएँ ।

2 प्रकाश पाएअनुसार म गएँ र मैले अयहूदीहरूको बीचमा प्रचार गरेको सुसमाचार तिनीहरूलाई बताइदिएँ, तर कतै मैले जुन दौड दौडिरहेको छु वा दौडेको थिएँ, त्यो व्यर्थमा नहोस् भनेर मैले प्रतिष्ठित अगुवाहरूको अघि पनि यो एकान्तमा प्रस्तुत गरेँ।

3 तर मेरोसाथमा हुने तीतसलाई ग्रीक भए तापनि खतना हुनुपर्छ भनेर कसैले कर लगाएनन्।

4 सुटुक्कै भित्र ल्याइएका झूटा भाइहरूको कारणले यो कुरा उठ‍यो, जो व्यक्तिहरू ख्रीष्ट येशूमा भएको हाम्रो स्वतन्त्रताको चियो गर्न र हामीलाई दास तुल्याउन छिरेका थिए ।

5 तिमीहरूसित सुसमाचारको सत्यता सुरक्षित रहोस् भनेर तिनीहरूका अघि हामी एकै क्षण पनि झुकेनौं।

6 ती नाउँ चलेका व्यक्तिहरू जस्ता भए तापनि मलाई त केही फरक पर्दैन, परमेश्वरले मानिसको पक्षपात गर्नुहुन्‍‌न, किनकि ती नाउँ चलेकाहरूले मलाई केही थप कुरा दिएनन्।

7 तर त्यसको विपरीत, खतना भएकाहरूलाई सुसमाचार सुनाउन पत्रुसलाई सुम्पिएजस्तै बेखतनेहरूलाई सुसमाचार सुनाउन मलाई सुम्पिएको छ भन्‍‌ने कुरा उनीहरूले देखे,

8 किनकि पत्रुसलाई खतनाका मानिसहरूका प्रेरित बनाएर काम गराउने जो हुनुहुन्छ, उहाँले नै मलाई अयहूदीहरूका लागि काम गराउनुभयो।

9 मण्डलीका खम्बाहरू कहलिएका याकूब, केफास र यूहन्‍‌नाले मलाई दिइएको अनुग्रह थाहा पाएर हामी अयहूदीहरूकहाँ र उनीहरू खतनेहरूकहाँ जाने भनी मलाई र बर्णाबासलाई सङ्गतिको अधिकार दिए।

10 केवल यही मात्र तिनीहरूको इच्छा थियो कि गरीबमाथि हाम्रो सम्झना रहोस्, त्यही गर्न म पनि उत्सुक थिएँ।

11 तर जब केफास एन्टिओकमा आए, तब म उनकै सामुन्‍‌ने उनको विरुद्धमा खडा भएँ, किनकि उनी दोषी ठहरिएका थिए।

12 किनकि कोही मानिसहरू याकूबकहाँबाट आउनभन्दा अगाडि उनले अयहूदीहरूसित बसेर खान्थे तर तिनीहरू आएपछि खतनेहरूसँग डराएर उनी पछि हटे र अलग्गै बसे।

13 अनि उनका साथमा रहेका यहूदीहरू पनि कपटमा सहभागी भए, यहाँसम्म कि बर्णाबास पनि तिनीहरूको कपटद्वारा भड्काइए।

14 मैले तिनीहरूलाई सुसमाचारको सत्यताअनुसार ठीकसँग नचलेको देख्दा सबैका सामु पत्रुसलाई भनेँ, ‘‘तपाईं एक यहूदी भएर पनि यहूदीजस्तो नभई अयहूदीसरह चल्‍‌नुहुन्छ भने तपाईं अयहूदीहरूलाई यहूदीजस्तै चल्‍‌नू भनी कसरी कर लाउनुहुन्छ?

15 हामी स्वभावैले यहूदीहरू हौं, अयहूदीजस्ता पापी होइनौं,

16 तैपनि मानिस व्यवस्थाका कर्मद्वारा धर्मी ठहरिँदैन तर ख्रीष्ट येशूमा भएको विश्वासद्वारा धर्मी ठहरिन्छ भन्‍‌ने जानेर हामी आफैले पनि व्यवस्थाका कर्मद्वारा होइन बरु ख्रीष्टको विश्वासद्वारा धर्मी ठहरिऔं भनेर येशू ख्रीष्टमा विश्वास गर्‍यौं, किनकि व्यवस्थाका कर्मद्वारा कोही पनि धर्मी ठहरिनेछैन।

17 यदि ख्रीष्टद्वारा धर्मी ठहरिन खोज्दा हामी आफै पनि पापी भेट्टाइन्छौं भने के ख्रीष्ट पापका सेवक हुनुहुन्छ त ? यस्तो हुनसक्दैन !

18 म आफैले एकपल्ट भत्काएको कुरा फेरि बनाउँछु भने आफैले आफैलाई अपराधी हुँ भनेर दोषी ठहराउँछु।

19 किनकि म त परमेश्वरको निम्ति जिउन सकूँ भनेर व्यवस्थाद्वारा व्यवस्थाको निम्ति मरेको छु।

20 म ख्रीष्टसँग क्रूसमा टाँगिएको छु, अब उसो म होइन तर ख्रीष्ट ममा जिउनुहुन्छ। जुन जीवन अहिले म शरीरमा जिउँछु, मलाई प्रेम गर्नुहुने र मेरो निम्ति आफैलाई दिनुहुने परमेश्वरका पुत्रको विश्वासद्वारा जिउँछु।

21 म परमेश्वरको अनुग्रहलाई व्यर्थ तुल्याउँदिनँ, किनकि यदि धार्मिकता व्यवस्थाद्वारा आउँछ भने ख्रीष्ट मर्नुभएको व्यर्थ हुन्छ।’’




3

1 हे मूर्ख गलाती हो ! सत्यता पालन नगर्नू भनेर कसले मोहित पार्‍यो? के तिमीहरूकै आँखाको अघि येशू ख्रीष्ट क्रूसमा टाँगिनुभएको स्पष्ट चित्रण बिर्स्यौ?

2 यति मात्र म तिमीहरूबाट जान्‍‌न चाहन्छु, तिमीहरूले आत्मालाई व्यवस्थाका कर्मद्वारा कि विश्वासको सुनाइबाट पायौ?

3 के तिमीहरू यतिका मूर्ख छौ? आत्मामा शुरु भएर के अब शरीरद्वारा सिद्ध‍याउँछौ?

4 के तिमीहरूले व्यर्थमा यतिका दु:ख भोग्यौ? यदि यो साँच्चै नै व्यर्थको थियो भने,

5 जसले तिमीहरूलाई पवित्र आत्मा दिनुहुन्छ र तिमीहरूका माझमा आश्चर्यकर्महरू गर्नुहुन्छ, के यो व्यवस्थाको कर्मबाट गर्नुभएको हो कि विश्वासको सुनाइबाट?

6 यसरी नै अब्राहामले ‘‘परमेश्वरमा विश्वास गरे र यो तिनको निम्ति धार्मिकता गनियो।’’

7 यसकारण निश्चित होऊ कि विश्वासबाटका सबै अब्राहामका सन्तान हुन्।

8 परमेश्वरले अयहूदीहरूलाई विश्वासबाट धर्मी ठहराउनुहुन्छ भन्‍‌ने धर्मशास्त्रले पहिले नै देखेर अब्राहामलाई अघिबाटै ‘‘तँमा नै सबै जातिले आशिष् पाउनेछन्’’ भन्‍‌ने सुसमाचार प्रचार गरियो।

9 यसकारण विश्वास गर्ने मानिसहरूले विश्वासी अब्राहामसँगै आशिष् पाएका छन्।

10 किनकि व्यवस्थाका कर्मका अधीनमा हुनेजति सबै श्रापित् छन्, किनभने यस्तो लेखिएको छ, ‘‘व्यवस्थाका पुस्तकमा लेखिएका सबै कुरामा नरहने र ती पालन नगर्ने हरेक श्रापित् हुन्छ।’’

11 अब परमेश्वरको दृष्टिमा व्यवस्थाद्वारा कोही मानिस धर्मी ठहरिँदैन भन्‍‌ने कुरा स्पष्ट छ, किनभने ‘‘धर्मीजन त विश्वासद्वारा जिउनेछ।’’

12 तैपनि व्यवस्था विश्वासबाटको होइन, तर ‘‘त्यो पालन गर्नेजति त्यसैद्वारा जिउनेछन्।’’

13 हाम्रा निम्ति सराप बनेर ख्रीष्टले हामीलाई व्यवस्थाको सरापबाट मोल तिरेर छुटकारा दिनुभयो, किनकि ‘‘काठमा झुन्डिने हरेक श्रापित् हुन्छ’’ भन्‍‌ने लेखिएको छ,

14 यसैले कि येशू ख्रीष्टद्वारा अब्राहामको आशिष् अयहूदीहरूमा आओस् र हामी विश्वासद्वारा पवित्र आत्माको प्रतिज्ञा प्राप्त गर्नसकौं।

15 हे भाइहरू हो, मानिसको रीतिअनुसार म भन्दछु, करार मानिसकै भए तापनि त्यो पक्का भएपछि न त त्यसलाई कसैले रद्द गर्न सक्छ, न त्यसमा थप्‍‌न सक्छ।

16 प्रतिज्ञाहरू अब्राहाम र उनका सन्तानलाई दिइएको थियो। ‘‘सन्तानहरूलाई’’ भनी धेरै जनालाई भनेझैँ गरी होइन तर एकै जनालाई ‘‘तेरो वंशलाई’’ जो ख्रीष्ट हुनुहुन्छ।

17 अब मेरो भनाइको अर्थ यो हो, कि चार सय तीस वर्षपछि आएको व्यवस्थाले त्यसभन्दा अघि परमेश्वरले पक्का गर्नुभएको प्रतिज्ञालाई काट्दैन, नत्र त प्रतिज्ञा रद्द हुनेथ्यो।

18 किनकि उत्तराधिकार व्यवस्थामा आधारित छ भने प्रतिज्ञामा आधारित हुनैसक्तैन। तर परमेश्वरले प्रतिज्ञाद्वारा नै अब्राहामलाई यो दिनुभयो।

19 तब व्यवस्थाको आवश्यकता किन पर्‍यो त? जुन सन्तानलाई प्रतिज्ञा भएको थियो, ऊ नआउन्जेल अपराधको कारणले व्यवस्था थपियो। एक जना मध्यस्थकर्ताको हातमा स्वर्गदूतहरूद्वारा यो व्यवस्था स्थापित गरिएको थियो।

20 एक मध्यस्थकर्ताले एउटै झुन्डको मात्र प्रतिनिधित्व गर्दैन तर परमेश्वर एकमात्र हुनुहुन्छ।

21 तब के व्यवस्था परमेश्वरका प्रतिज्ञाहरूका विरुद्धमा छ र? कदापि छैन ! यदि व्यवस्थाले जीवन दिने हो भने धार्मिकता निश्चय पनि व्यवस्थामा आधारित हुन्थ्यो।

22 तर प्रतिज्ञा येशू ख्रीष्टमा भएको विश्वासद्वारा विश्वास गर्नेहरूलाई दिइयोस् भनेर नै धर्मशास्त्रले सबैलाई पापको अधीनमा राखेको छ।

23 तर हामी विश्वास आउनअघि पछि प्रकट हुनआउने विश्वासबाट थुनिएर व्यवस्थाको अधीनमा राखिएका थियौं।

24 यसकारण हामी विश्वासद्वारा धर्मी ठहरिनसकौं भनेर व्यवस्था हामीलाई ख्रीष्टकहाँ डोर्‍याउने शिक्षक भएको छ।

25 तर त्यो विश्वास आएको हुनाले अब उप्रान्त हामी शिक्षकको अधीनतामा छैनौं।

26 यसैले ख्रीष्ट येशूमाथि राखिएको विश्वासद्वारा तिमीहरू सबै परमेश्वरका सन्तान हौ

27 किनकि तिमीहरू ख्रीष्टमा बप्तिस्मा भएका जति, सबैले ख्रीष्टलाई धारण गरेका छौ।

28 अब न त यहूदी छ न ग्रीक, न कमारा छ न फुक्का, न त पुरुष न स्त्री छ, किनभने ख्रीष्ट येशूमा तिमीहरू सबै एउटै हौ।

29 यदि तिमीहरू ख्रीष्टका हौ भने त, अब्राहामका सन्तान हौ, र तिमीहरू प्रतिज्ञाबमोजिमका हकवाला पनि हौ।




4

1 अब म भन्दछु, उत्तराधिकारी नाबालक छउन्जेल ऊ सबै सम्पत्तिको मालिक भए तापनि दासभन्दा भिन्‍‌न हुँदैन।

2 तर बुबाले ठहराएको समयसम्म ऊ अभिभावक र प्रबन्धकहरूको अधीनमा रहन्छ।

3 त्यसैगरी हामी पनि बालक हुँदा संसारका आधारभूत तत्वहरूको अधीनमा थियौं।

4 तर समयको पूर्णतामा परमेश्वरले आफ्‍‌ना पुत्रलाई पठाउनुभयो, उहाँ व्यवस्थाको अधीनमा रही स्त्रीबाट जन्मनुभयो।

5 उहाँले व्यवस्थाको अधीनमा भएकाहरूलाई छुटकारा दिनुभयो, यसैले कि हामी धर्मपुत्रको रूपमा स्वीकारिन सकौं।

6 तिमीहरू छोराहरू भएका हुनाले परमेश्वरले ‘‘हे अब्बा, पिता’’ भन्दै पुकार्ने उहाँको पुत्रको आत्मा तिमीहरूका हृदयमा पठाउनुभएको छ।

7 त्यसकारण अब उप्रान्त तिमी दास होइनौ, तर पुत्र हौ अनि पुत्र हौ भने ख्रीष्टद्वारा परमेश्वरका उत्तराधिकारी पनि हौ।

8 तैपनि तिमीहरू परमेश्वरलाई नचिनेको समयमा तिनीहरूका दास थियौ जो स्वभावैले देवहरू होइनन्।

9 तर अब त तिमीहरूले परमेश्वरलाई चिनेका छौ अथवा परमेश्वरले तिमीहरूलाई चिन्‍‌नुभएको छ तापनि कसरी तिमीहरू ती कमजोर र व्यर्थका आधारभूत तत्वहरूतिर फर्केर फेरि तिनीहरूका दास हुनचाहन्छौ?

10 तिमीहरू दिन, महिना, ऋतु र वर्षहरू मान्दछौ।

11 मलाई त यस्तो लाग्छ कि तिमीहरूका निम्ति मैले गरिरहेको परिश्रम व्यर्थ भयो।

12 हे भाइहरू हो, तिमीहरू मजस्तै होओ भनी विन्ती गर्दछु, किनभने म तिमीहरूजस्तै भएको छु। तिमीहरूले मेरो केही खराबी गरेका छैनौ।

13 निश्चय नै तिमीहरूलाई सम्झना हुनुपर्दछ, पहिलोपल्ट तिमीहरूकहाँ ख्रीष्टको असल सन्देशलाई लिएर आउँदा म बिरामी थिएँ।

14 मेरो शारीरिक अवस्था तिमीहरूको निम्ति दिक्कलाग्दो भए तापनि तिमीहरूले मलाई न त घृणा, न तिरस्कार नै गर्‍यौ तर मलाई परमेश्वरका दूतको रूपमा ख्रीष्टलाई झैँ स्वीकार गर्‍यौ।

15 तिमीहरूमा भएको त्यो आशिष्को अनुभव कता गयो? किनभने म तिमीहरूका निम्ति गवाही दिन्छु कि यदि सम्भव भएको भए तिमीहरूले मलाई आफ्‍‌ना आँखा झिकेर दिने थियौ।

16 मैले तिमीहरूसँग सत्य बोलेर के म अब तिमीहरूको शत्रु भएको छु?

17 उनीहरूले तिमीहरूमाथि यतिको चासो राखेको राम्रो मनसायले होइन, तर उनीहरूले तिमीहरूलाई मदेखि छुट्ट‍याउनलाई यसो गर्दछन्।

18 म तिमीहरूसँग भएको बेलामा मात्र होइन तर सधैँ असल कुरामा चासो राख्‍‌नु राम्रो हो।

19 मेरा प्रिय बालक हो, तिमीहरूमा ख्रीष्टको रूप नभएसम्म म पुनप्रसववेदनाको पीडामा छु।

20 म अहिले नै तिमीहरूसँग भएर मेरो कुरा बदल्‍‌न चाहन्छु, किनकि तिमीहरूको बारेमा म अन्योलमा परेको छु।

21 तिमी व्यवस्थाको अधीनमा रहन चाहनेहरूले मलाई भन, के तिमीहरूले व्यवस्थाको कुरा सुन्दैनौ ?

22 किनभने लेखिएको छ, ‘अब्राहामका दुई छोराहरू थिए, कमारीबाटको एक र स्वतन्त्र स्त्रीबाटको अर्को।’

23 तर कमारीबाटको शरीरअनुसार जन्मेको थियो भने स्वतन्त्र स्त्रीबाटको प्रतिज्ञाद्वारा जन्मियो।

24 त्यो त एउटा रूपक मात्र हो, ती स्त्रीहरू दुई किसिमका करार हुन् । एउटी सीनै पर्वतबाट दासत्वको निम्ति सन्तान जन्माउने हागार हुन्।

25 हागार अरबदेशको सीनै पर्वत हुन् र वर्तमान यरूशलेमसँग उनको तुलना गर्न सकिन्छ, किनकि तिनी आफ्‍‌ना सन्तानसँगै दासत्वमा छिन्।

26 तर माथिको यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन्।

27 किनभने लेखिएको छ, ‘‘हे नजन्माउने बाँझी, आनन्द गर, हे प्रसववेदना थाहा नपाउने, मन खोलेर कराऊ, किनभने लोग्‍‌ने हुनेको भन्दा नहुनेकै छोराछोरी धेरै छन्।’’

28 अब हे भाइहरू हो, हामी पनि इसहाकजस्तै प्रतिज्ञाका सन्तान हौं।

29 तर त्यसबेला जसरी शरीरअनुसार जन्मेकोले आत्माअनुसार जन्मेकोलाई सताउँदथ्यो, अहिले पनि त्यस्तै छ।

30 तर धर्मशास्त्रले के भन्दछ? ‘‘कमारी र त्यसको छोरालाई निकालिदेऊ, किनभने कमारीको छोरो स्वतन्त्र स्त्रीको छोरोसँग सहउत्तराधिकारी हुनसक्दैन।’’

31 तसर्थ, हे भाइहरू हो, हामी कमारीका सन्तान होइनौं तर स्वतन्त्र स्त्रीका सन्तान हौं।




5

1 स्वतन्त्रताको निम्ति ख्रीष्टले हामीलाई स्वतन्त्र पार्नुभएको छ। यसकारण स्थिर भइरहो र फेरि दासत्वको जुवामा ननारिओ।

2 हेर, म, पावल तिमीहरूलाई भन्दछु, यदि तिमीहरूले खतना गर्‍यौ भने ख्रीष्ट तिमीहरूका निम्ति कुनै लाभदायक हुनुहुनेछैन।

3 खतना हुने सबैलाई म फेरि चेताउनी दिन्छु, कि ऊ सम्पूर्ण व्यवस्था पालन गर्न ऋणी हुन्छ।

4 तिमीहरू, जो व्यवस्थाबाट धर्मी हुन चाहन्छौ, ख्रीष्टबाट अलग भएका छौ, अनुग्रहबाट खसेका छौ।

5 किनकि हामी आत्मामा विश्वासद्वारा धार्मिकताको आशाको निम्ति बाटो हेर्दर्छौं।

6 किनभने ख्रीष्ट येशूमा न त खतना, न बेखतना केही मूल्यको हुन्छ तर प्रेमद्वारा काम गर्ने विश्वासको मूल्य हुन्छ।

7 तिमीहरू राम्रै दौडिरहेका थियौ। कसले तिमीहरूलाई सत्यता पालन गर्नमा बाधा दियो?

8 तिमीहरूलाई बोलाउनुहुनेबाट यो फकाउने-फुस्लाउने काम भएको होइन।

9 थोरै खमीरले जम्मै ढिकालाई खमीरी बनाउँछ।

10 म प्रभुमा भरोसा राख्तछु कि तिमीहरूले अरु कुनै विचार अप्‍‌नाउनेछैनौ। तिमीहरूलाई पिरोल्‍‌ने जोसुकै भए पनि त्यसले दण्ड भोग्‍‌नेछ।

11 तर भाइहरू हो, यदि म अझै खतनाको प्रचार गर्छु भने किन म अझै सताइन्छु? त्यसो हो भने त क्रूसको ठेस लाग्‍‌ने बाधा हटिगएको छ ।

12 तिमीहरूलाई विचलित पार्नेहरूले त बरु आफ्‍‌नो अङ्ग नै काटे पनि हुन्थ्यो ।

13 भाइहरू हो, तिमीहरू स्वतन्त्रताका निम्ति बोलाइएका छौ, तर यति होस्-यो स्वतन्त्रता शरीरको लागि मौका नबनोस्, तर प्रेमद्वारा एक-अर्काको सेवा गर।

14 किनकि सम्पूर्ण व्यवस्था एउटै वचन ‘‘तिमीले आफ्‍‌नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर’’ मा पूरा हुन्छ।

15 तर तिमीहरू एउटाले अर्कोलाई टोक्‍‌ने र निल्‍‌ने गर्छौ भने त होशियार बस, एकबाट अर्को भस्म हुन नपरोस्।

16 यसकारण म भन्दछु : आत्माद्वारा चल र तिमीहरूले शरीरको अभिलाषा कुनै रीतिले पूरा गर्नेछैनौ।

17 किनकि शरीरले आत्माको विरुद्धमा र आत्माले शरीरको विरुद्धमा अभिलाषा गर्दछ, यिनीहरू एक-अर्काको विरुद्धमा भएको हुनाले तिमीहरूले गर्न चाहेको कुरा गर्न सक्दैनौ।

18 तर तिमीहरू आत्माद्वारा डोर्‍याइँदैछौ भने व्यवस्थाको अधीनमा हुँदैनौ।

19 पाप-स्वभावका कामहरू प्रत्यक्ष छन्, जो यी नै हुन्-व्यभिचार, अपवित्रता, कामुकता,

20 मूर्त्तिपूजा, मन्त्रतन्त्र, दुश्मनी, झैझगडा, ईर्ष्या, क्रोध, स्वार्थीपन, फूट, गुटबन्दी,

21 डाह, पियक्कडपन, उन्मत्तता र यस्तै अरु, जसका विषयमा म तिमीहरूलाई चेताउनी दिन्छु र अघि पनि दिएकै हुँ। ज-जसले यस्ता कामहरू गर्दछन्, परमेश्वरका राज्यका हकदार बन्‍‌नेछैनन्।

22 तर पवित्र आत्माको फलचाहिँ प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वस्तता,

23 नम्रता, संयम हुन् । यस्ता कुराको विरुद्धमा कुनै व्यवस्था छैन।

24 तर तिनीहरू, जो ख्रीष्ट येशूका हुन्, तिनीहरूले पाप-स्वभावलाई त्यसको वासना र लालसासहित क्रूसमा टाँगिदिएका छन्।

25 यदि हामी आत्मामा जिउँछौं भने आत्माअनुसार नै हिँडौं।

26 हामी अहङ्कारी नहोऔं, एउटाले अर्कोलाई रीस नउठाऔं र एउटाले अर्कोको ईर्ष्या नगरौं।




6

1 भाइहरू हो, यदि कुनै मानिस अपराधमा पक्राउ पर्‍यो भने पनि तिमी जो आत्मिक छौ, धैर्यताको आत्मामा उसलाई सुधार गर। हरेकले आफैलाई विचार गर, नत्र त तिमीहरू पनि परीक्षामा पर्नेछौ।

2 तिमीहरू एउटाले अर्काको भार उठाओ र यसरी ख्रीष्टको व्यवस्था पूरा गर।

3 किनकि केही न केहीको मानिसले म केही हुँ भनी सोच्छ भने त त्यसले आफैलाई धोका दिन्छ।

4 हरेकले आफ्‍‌नै कामको जाँच गरोस्, अर्काको विषयमा होइन, तब उसले आफ्‍‌नै विषयमा मात्र घमण्ड गर्ने कारण हुनेछ।

5 किनभने हरेकले आफ्‍‌नै भार उठाउनेछ।

6 वचनको शिक्षा लिनेले शिक्षा दिनेसँग सबै असल कुरा बाँडचुँड गर्नुपर्छ।

7 धोकामा नपर, परमेश्वर ठट्टामा उडाइनुहुन्‍‌न, किनकि मानिसले जे छर्छ, त्यसैको कटनी पनि गर्नेछ।

8 जसले आफ्‍‌नो शरीरको निम्ति छर्छ त्यसले शरीरबाट नै विनाशको कटनी गर्नेछ तर जसले आत्माको निम्ति छर्छ, त्यसले आत्माबाट नै अनन्त जीवनको कटनी गर्नेछ।

9 हामी भलाइ गर्ने काममा नथाकौं, यदि हामी थाकेनौं भने उचित समयमा कटनी गर्नेछौं।

10 यसकारण मौका हुँदा नै हामी सबै मानिसको, विशेषगरी विश्वासका घरानाको भलाइ गरौं।

11 हेर, मैले आफ्‍‌नै हातले कति ठूला-ठूला अक्षरमा तिमीहरूलाई लेखेको छु।

12 शरीरमा आफैलाई असल देखाउन खोज्‍‌नेजतिले ख्रीष्टको क्रूसको कारण सतावटमा नपरौं भनेर तिनीहरूले तिमीहरूलाई खतना गर्न कर लगाउँछन्।

13 ती खतनेहरू आफैले पनि व्यवस्थाको पालन गर्दैनन् तर तिमीहरूको शरीरको विषयमा घमण्ड गर्न पाऔं भनेर तिमीहरूलाई खतना गराउन चाहन्छन्।

14 तर मैले हाम्रा प्रभु येशू ख्रीष्टको क्रूसको विषयमा बाहेक घमण्ड गर्न नपरोस्, जसद्वारा म संसारको निम्ति र संसार मेरो निम्ति क्रूसमा टाँगिएको छ।

15 किनभने ख्रीष्ट येशूमा न त खतना, न बेखतना केही मूल्यको हुन्छ तर नयाँ सृष्टि नै मूल्यवान् हुन्छ ।

16 अब यो नियम पालन गर्नेहरूमाथि र परमेश्वरको इस्राएलमाथि शान्ति र कृपा रहोस्।

17 अबदेखि उसो कसैले पनि मलाई नपिरलोस्, किनभने मेरो शरीरमा प्रभु येशूका डामहरू छन्।

18 भाइहरू हो, हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूको आत्मासँग रहोस्। आमेन्।



AMAZING GRACE BIBLE INSTITUTE