COLOSSIANS

तीतस


Chapter 1

1 पावल परमेश्वरको इच्छाद्वारा ख्रीष्ट येशूका एक प्रेरित र हाम्रा भाइ तिमोथीबाट :

2 कलस्सेमा भएका सन्तहरू र ख्रीष्टमा विश्वसनीय भाइहरूलाई परमेश्वर हाम्रा पिताबाट अनुग्रह र शान्ति।

3 हामी तिमीहरूका निम्ति प्रार्थना गर्दै हाम्रा प्रभु येशू ख्रीष्टका पिता परमेश्वरलाई सधैँ धन्यवाद चढाउँछौं।

4 किनकि ख्रीष्ट येशूमा भएको तिमीहरूको विश्वास र सबै सन्तहरूप्रति भएको तिमीहरूको प्रेमको विषयमा हामीले सुनेका छौं।

5 तिमीहरूका निम्ति स्वर्गमा राखिएको आशा, जसको बारेमा तिमीहरूले सत्यको वचन, सुसमाचारमा पहिल्यै सुनिसकेका छौ।

6 यो सुसमाचार तिमीहरूकहाँ आएको छ। जसरी यसले सारा संसारमा निरन्तर फैलिएर फल फलाइरहेको छ, त्यसरी नै तिमीहरूले यसको विषयमा सुनेको र सत्यतामा परमेश्वरको अनुग्रहबारे जानेको दिनदेखि तिमीहरूमा पनि यसले फल फलाइरहेको छ।

7 यो कुरा तिमीहरूले हाम्रा प्रिय सङ्गी-दास इपाफ्रासबाट सिक्यौ, तिनी हाम्रा पक्षमा ख्रीष्टका एक विश्वसनीय सेवक हुन् ।

8 अनि तिनले नै आत्मामा भएको तिमीहरूको प्रेमको विषयमा हामीलाई बताए।

9 यसैकारण हामीले त्यो सुनेको दिनदेखि उहाँको इच्छाको ज्ञानले सारा आत्मिक बुद्धि र समझमा तिमीहरू पूर्ण होओ भनेर विन्ती गर्दै तिमीहरूका निम्ति प्रार्थना गर्न छोडेका छैनौं।

10 यसैले कि हरेक असल काममा फलवन्त हुँदै र परमेश्वरको ज्ञानमा बढ्दै तिमीहरू प्रभुलाई प्रसन्‍‌न पार्न उहाँको योग्य चालमा हिँड ।

11 आनन्दसित सम्पूर्ण धैर्य र सहनशीलताको निम्ति उहाँको महिमित सामर्थ्यअनुसार सारा शक्तिले बलवान् होओ

12 र पितालाई धन्यवाद चढाओ, जसले ज्योतिमा सन्तगणको उत्तराधिकारको भागीदार हुनका निम्ति हामीलाई योग्य बनाउनुभएको छ।

13 किनकि उहाँले हामीलाई अन्धकारको राज्यमा शासन गर्नेको हातबाट बचाएर उहाँको प्रिय पुत्रको राज्यमा ल्याउनुभएको छ ।

14 उहाँमा हाम्रो छुटकारा अर्थात् पापको क्षमा छ।

15 उहाँ अदृश्य परमेश्वरको प्रतिरूप हुनुहुन्छ, सारा सृष्टिको जेठो हुनुहुन्छ।

16 किनकि उहाँद्वारा नै सबै थोक सृष्टि भएका थिए, स्वर्ग र पृथ्वी दुवैमा भएका दृश्य र अदृश्य थोक, चाहे सिंहासनहरू, चाहे प्रभुत्वहरू, चाहे प्रधानताहरू, चाहे अधिकारहरू, सबै कुरा उहाँद्वारा र उहाँकै निम्ति सृष्टि गरिएका हुन्।

17 अनि सबै कुराभन्दाअघि उहाँ हुनुहुन्छ र सबै थोक उहाँमा नै एकसाथ मिलेर रहेका छन्।

18 उहाँ शरीर अर्थात् मण्डलीका शिर हुनुहुन्छ, उहाँ शुरु हुनुहुन्छ, मृतकहरूबाट जीवित हुनेहरूमा जेठो हुनुहुन्छ र सबै कुरामा उहाँलाई नै पहिलो स्थान दिइयोस्।

19 किनकि सारा पूर्णताले उहाँमा वास गरेकोमा पिता प्रसन्‍‌न हुनुभयो,

20 परमेश्वरले उहाँको क्रूसको रगतद्वारा शान्ति गराएर पृथ्वीको होस् वा स्वर्गको होस्, उहाँद्वारा नै सबै थोकलाई आफूसँग मिलापमा ल्याउनुभयो।

21 अनि बितेको समयमा तिमीहरू दुष्ट कामको कारण परमेश्वरदेखि बिराना भई आफ्‍‌नो मनको विचारमा शत्रु भएका थियौ,

22 तापनि अब तिमीहरूलाई आफ्‍‌ना दृष्टिमा पवित्र, निष्कलङ्क र निर्दोष ठहराउनलाई उहाँले मृत्युद्वारा आफ्‍‌नो मासुको शरीरमा तिमीहरूको मिलाप गराउनुभएको छ।

23 यदि तिमीहरू आफ्‍‌ना विश्वासमा अटल र स्थिर भइरह्यौ र तिमीहरूले सुनेका सुसमाचारको आशाबाट हटेनौ भने तिमीहरूको मिलाप हुनेछ। यही नै त्यो सुसमाचार हो, जो स्वर्गमुनि हरेक प्राणीलाई प्रचार गरिएको छ, जसको म, पावल सेवक भएँ।

24 अब म तिमीहरूका निम्ति मेरा दु:ख भोगाइमा आनन्द मनाउँछु अनि उहाँको शरीर अर्थात् मण्डलीको निम्ति ख्रीष्टका कष्टहरूमा जे कमी छ, त्यसलाई म मेरो शरीरमा पूरा गर्दछु।

25 तिमीहरूका निम्ति परमेश्वरका वचन पूर्णरूपले घोषणा गर्न मलाई दिइएको परमेश्वरको बन्दोबस्तअनुसार म मण्डलीको सेवक बनाइएँ,

26 युगौँयुग र पुस्तौँदेखि गुप्तमा रहेको त्यो रहस्य अब उहाँका सन्तहरूलाई प्रकट गरिएको छ।

27 उनीहरूकहाँ परमेश्वरले, अयहूदीहरूको बीचमा यो रहस्यको महिमाको धन के हो, सो प्रकट गर्न चाहनुभयो, जुन ख्रीष्ट अर्थात् महिमाको आशा तिमीहरूमा हुनु नै हो।

28 हरेक मानिसलाई ख्रीष्ट येशूमा सिद्ध ठहराउन, उनीहरू हरेकलाई चेताउनी र सम्पूर्ण बुद्धिसित शिक्षा दिँदै हामी उहाँलाई प्रचार गर्दछौं।

29 यही उद्देश्यको निम्ति, मभित्र सामर्थ्यसाथ काम गर्ने उहाँको शक्तिअनुसार म परिश्रम गर्दछु।




2

1 तिमीहरूले यो कुरा जान भनेर म चाहन्छु कि तिमीहरू र लाउडिकियामा भएकाहरूको निम्ति, साथै मलाई व्यक्तिगतरूपले नचिन्‍‌ने अरु धेरै जना मित्रहरूको निम्ति मैले कति धेरै परिश्रम गरेको छु।

2 यसकारण कि प्रेममा एकसाथ बाँधिएर तिनीहरूका हृदयले सान्त्वना पाऊन् अनि समझको सम्पूर्ण निश्चयताको सारा धन प्राप्त गरेर परमेश्वरको रहस्यको ज्ञान अर्थात् ख्रीष्टलाई प्राप्त गरून्।

3 उहाँमा नै बुद्धि र ज्ञानका सम्पूर्ण भण्डार लुकेको छ।

4 तिमीहरूलाई ठीकैजस्तो लाग्‍‌ने तर्कका कुराद्वारा कसैले धोका नदेओस् भनी म यो तिमीहरूलाई भन्दछु।

5 किनकि शरीरमा म अनुपस्थित भए पनि आत्मामा तिमीहरूसँगै छु र तिमीहरूको सुव्यवस्थित आचरण र ख्रीष्टमा भएको तिमीहरूको विश्वासको दृढतालाई देखेर म रमाउँदछु। ख्रीष्टको जीवनद्वारा छुटकारा

6 जसरी ख्रीष्ट येशूलाई तिमीहरूले आफ्‍‌नो प्रभु भनी स्वीकार गर्‍यौ, त्यसरी नै अब तिमीहरू उहाँमा चल।

7 उहाँमा जरा गाड्दै र बनिँदै जाओ अनि तिमीहरूलाई सिकाइएको विश्वासमा बलियो होओ। उहाँले गर्नुभएका सबै कुराको निम्ति तिमीहरूको जीवन धन्यवादले पूर्ण होस्।

8 होशियार बस, कसैले तिमीहरूलाई खोक्रो दर्शनशास्त्र र छलपूर्ण कुराद्वारा नबहकाओस्, जुन ख्रीष्टबाट होइन तर मानिसहरूको परम्परा र यो संसारको प्राथमिक सिद्धान्तहरूमा आधारित छन् ।

9 किनकि उहाँमा नै ईश्वरत्वको सारा पूर्णताले शारीरिकरूपमा वास गर्दछ

10 र उहाँमा नै तिमीहरू परिपूर्ण पारिएका छौ, जो सबै प्रधानता र शक्तिका शिर हुनुहुन्छ।

11 उहाँमा ख्रीष्टको खतनाद्वारा पापमय स्वभावको देहलाई त्यागेर, बिनाहात गरिएको खतनाद्वारा तिमीहरूको खतना भएको थियो।

12 तिमीहरू बप्तिस्मामा ख्रीष्टसँगै गाडिएका थियौ। मरेकाहरूबाट उहाँलाई जीवित पार्नुहुने परमेश्वरको सामर्थ्यमा विश्वास राख्‍‌नाले यही बप्तिस्मामा तिमीहरू पनि उहाँसँगै जीवित पारियौ।

13 अनि तिमीहरू आफ्‍‌ना पाप र आफ्‍‌नो देहको खतना नभएको अवस्थामा मरेको बेला तिमीहरूका सबै अपराध क्षमा गरेर उहाँले तिमीहरूलाई उहाँसितै जीवित पार्नुभएको छ।

14 हाम्रो विरुद्धमा कानूनी दाबी भएको दोषपत्र उहाँले रद्द गरिदिनुभयो। उहाँले त्यो लिनुभयो र उहाँको क्रूसमा कीला ठोकेर नष्ट पारिदिनुभयो ।

15 उहाँले प्रधानताहरू र अधिकारीहरूलाई हातहतियाररहित पारेर तिनीहरूलाई खुल्लमखुल्ला तमासा बनाइदिनुभयो र उहाँ तिनीहरूमाथि विजयी बन्‍‌नुभयो।

16 यसकारण खाने-पिउने, वा कुनै पवित्र दिन र औंसी वा विश्राम-दिन पालन गर्ने विषयमा कसैले तिमीहरूलाई दोष लगाउन नपाओस्।

17 यी आउने कुराका छायाँ मात्र हुन्, तर मूल कुरा ख्रीष्ट हुनुहुन्छ।

18 आफ्‍‌नै शरीरलाई सास्ती दिने कुरामा जिद्दी गरेर, स्वर्गदूतलाई पुज्‍‌न लगाएर, आफ्‍‌नो दर्शनमा अडिएर, आफ्‍‌नो अभिलाषी मनले, कारणबिनाको घमण्डले फुलिएर कसैले तिमीहरूलाई इनाम गुमाउने नतुल्याओस्।

19 यस्ताहरूले शिरलाई समातेर राख्दैनन्, जसबाट पोषण पाएर जोर्नी र ग्रन्थिहरूद्वारा एकसाथ गाँसिएर सारा शरीर परमेश्वरले दिनुभएको वृद्धिअनुसार बढ्दै जान्छ।

20 यदि संसारका आधारभूत सिद्धान्तहरूप्रति ख्रीष्टसँग तिमीहरू मरेका छौ भने यस संसारका जस्ता भई किन तिमीहरू बाँचिरहन्छौ? किन नियमहरूका अघि झुक्छौ?

21 ‘‘नसमात, नचाख, नछोओ !’’

22 यी सबै कुरा व्यवहार गर्दागर्दै नष्ट भएर जान्छन्। यी कुरा मानिसहरूका आदेश र सिद्धान्तहरूमा आधारित छन्।

23 उपासनालाई कष्टदायी बनाएर र आफैलाई हियाएर र शरीरलाई सास्ती दिएर तिनीहरूले बुद्धिको स्वाङ त पार्छन् तर शरीरका अभिलाषालाई काबूमा ल्याउन यी कुरा कुनै मूल्यको हुँदैनन्।




3

1 यदि तिमीहरू ख्रीष्टसित पुनर्जीवित भएका छौ भने माथिका कुरा खोज, जहाँ ख्रीष्ट परमेश्वरको दाहिने हाततर्फ बस्‍‌नुभएको छ।

2 माथिका कुरामा मन लगाओ, पृथ्वीमा भएका कुरामा होइन।

3 किनकि तिमीहरू मरेका छौ र तिमीहरूको जीवन ख्रीष्टसित परमेश्वरमा लुकेको छ।

4 ख्रीष्ट जो हाम्रो जीवनमा हुनुहुन्छ, उहाँ प्रकट हुनुहुँदा तिमीहरू पनि उहाँसँगै महिमामा प्रकट हुनेछौ।

5 यसकारण तिमीहरूमा भएका सांसारिक स्वभावका कुरा अर्थात् व्यभिचार, अशुद्धता, कामुकता, खराब इच्छा र लोभ, जो मूर्त्तिपूजा हो, तिनलाई मार।

6 यी नै कुराका खातिर परमेश्वरको क्रोध आज्ञा नमान्‍‌नेहरूमाथि आउँदछ।

7 यी कुराको प्रभावमा जीवन बिताएर तिमीहरू पनि एक समय यस्तै चालमा चल्दथ्यौ।

8 तर अब त तिमीहरूले पनि त्यस्तो क्रोध, रिस, ईर्ष्यालु व्यवहार, निन्दा र मुखबाट निस्कने खराब बोलीवचनहरू त्याग।

9 एक-अर्कालाई नढाँट, किनकि तिमीहरूले आफ्‍‌नो पुरानो मानव स्वभाव र त्यसका सबै कार्यहरूलाई त्यागेका छौ,

10 अनि नयाँ स्वभावलाई धारण गरेका छौ, जो आफ्‍‌नो सृष्टिकर्ताको स्वरूपअनुसार ज्ञानमा नयाँ भएको हुन्छ।

11 जहाँ ग्रीक र यहूदी, खतना र बेखतनाका, अशिक्षित, असभ्य, कमारा र स्वतन्त्रको भेद रहनेछैन तर ख्रीष्ट नै सबै कुरा र सबै कुरामा हुनुहुन्छ।

12 यसकारण परमेश्वरका चुनिएका, पवित्र र प्रियजनले झैँ कोमल माया, दया, मनको नम्रता, दीनता, सहनशीलतालाई धारण गर।

13 एउटाले अर्कोलाई सहेर, कुनै मानिसको विरुद्धमा केही दोषको कारण छ भने एउटाले अर्कोलाई क्षमा गर, जसरी प्रभुले पनि तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसैगरी तिमीहरूले पनि क्षमा गर।

14 तर सबैभन्दा बढी प्रेम धारण गर, जसले सबै कुरालाई पूर्ण एकतामा बाँद्धछ।

15 ख्रीष्टको शान्तिले तिमीहरूका हृदयमा राज्य गरोस्, यसैका निम्ति तिमीहरू एउटै शरीरमा बोलाइएका छौ र तिमीहरू धन्यवादी होओ।

16 ख्रीष्टको वचनले तिमीहरूभित्र प्रशस्त गरी वास गरोस्। भजन, स्तुतिगान र आत्मिक गीतद्वारा सारा बुद्धिसित एकले अर्कोलाई सिकाओ र सम्झाओ, आफ्‍‌ना हृदयमा कृतज्ञ भई परमेश्वरको निम्ति गाओ।

17 अनि वचनमा र काममा तिमीहरू जे पनि गर्दछौ, उहाँद्वारा परमेश्वर र पितालाई धन्यवाद चढाउँदै सबै कुरा प्रभु येशूकै नाउँमा गर।

18 पत्‍‌नी हो, आ-आफ्‍‌नो पतिको अधीनमा बस, किनकि प्रभुमा यो उचित छ।

19 पति हो, आ-आफ्‍‌नो पत्‍‌नीलाई प्रेम गर, तिनीहरूसित कठोर व्यवहार नगर ।

20 छोराछोरीहरू हो, सबै कुरामा आफ्‍‌ना आमा-बुबाको आज्ञा मान, किनकि यसले प्रभुलाई प्रसन्‍‌न तुल्याउँछ ।

21 बुबा हो, आफ्‍‌ना छोराछोरीलाई रिस नउठाओ, नत्र उनीहरू निराश हुनेछन्।

22 कमारा हो, आँखाको अगाडि मानिसहरूलाई खुशी पार्नेजस्तो गरी होइन तर परमेश्वरको भयमा हृदयको इमान्दारीबाट सबै कुरामा तिमीहरूका सांसारिक मालिकहरूको आज्ञापालन गर।

23 तिमीहरू जे गर्छौ त्यो मानिसको निम्ति होइन तर प्रभुको निम्ति जस्तै गरी दिलोज्यानले र आनन्दसाथ गर।

24 यो जानेर कि प्रभुले तिमीहरूलाई इनामको रूपमा उत्तराधिकार दिनुहुनेछ। तिमीहरूले प्रभु येशू ख्रीष्टको सेवा गर्दछौ।

25 तर खराबी गर्नेले खराबीको प्रतिफल पाउनेछ र त्यहाँ पक्षपात हुँदैन।




4

1 मालिक हो, तिमीहरू आफ्‍‌ना दासहरूप्रति न्यायी र निष्पक्ष होओ। यो याद गर कि तिमीहरूका पनि स्वर्गमा एक मालिक हुनुहुन्छ।

2 सतर्क भएर धन्यवादसहित स्थिर भएर प्रार्थनामा लागिरहो।

3 हाम्रो निम्ति पनि प्रार्थना गर्न नबिर्स, यसैले कि परमेश्वरले हामीलाई ख्रीष्टको रहस्यको प्रचार गर्ने प्रशस्त मौका देऊन्, जसको निम्ति म अहिले यहाँ कैदमा छु ।

4 जसरी मैले बोल्‍‌नुपर्ने हो, त्यसरी नै यसलाई प्रकट गर्नसकूँ।

5 समयको सदुपयोग गर्दै बाहिरकाहरूसँग बुद्धिमानीसाथ चल।

6 तिमीहरूको वचन सधैँ नूनले स्वादिलो पारिएको जस्तो अनुग्रहपूर्ण होस्, र हरेकलाई कसरी जवाफ दिनुपर्ने हो सो तिमीहरूलाई थाहा होस्।

7 मेरो विषयमा सबै कुरा तुखिकसले तिमीहरूलाई बताउनेछन्, उनी प्रभुमा प्रिय भाइ, विश्वसनीय सेवक र सङ्गी -दास हुन्।

8 उनले तिमीहरूको अवस्था जानून् र तिमीहरूको हृदयलाई उत्साहित पारून् भनेर नै मैले उनलाई तिमीहरूकहाँ पठाएको छु।

9 उनको साथमा ओनेसिमसलाई पठाइरहेको छु, उनी अति प्रिय र विश्वसनीय भाइ, साथै तिमीहरूमध्येकै एक व्यक्ति हुन्। उनीहरूले हालका सबै कुरा तिमीहरूलाई सुनाउनेछन्।

10 मसँगै कैदमा हुने अरिस्तार्खसले तिमीहरूलाई अभिवादन पठाएका छन्, त्यसैगरी बर्णाबासका भानिज पर्ने, मर्कूसले पनि (उनीबारे तिमीहरूले निर्देशन पाइसकेका छौ: यदि उनी तिमीहरूकहाँ आए भने उनलाई स्वागत गर),

11 अनि युस्तस भनिने येशूले पनि अभिवादन पठाएका छन्। यिनीहरू मात्र खतना गरिएका विश्वासीहरू हुन्, जो परमेश्वरका राज्यका निम्ति मेरा सहकर्मीहरू हुन्, यिनीहरू मेरानिम्ति सान्त्वना प्रमाणित भएका छन्।

12 तिमीहरूमध्येकै एक व्यक्ति, येशू ख्रीष्टका दास इपाफ्रासले अभिवादन पठाएका छन्। तिमीहरू परिपक्व र परमेश्वरको सबै इच्छामा पूर्ण निश्चित होओ भनेर आफ्‍‌ना प्रार्थनामा तिनलेपरिश्रम गर्छन्।

13 म तिमीहरूलाई विश्वास दिलाउन सक्छु कि तिनले तिमीहरूका निम्ति र लाउडिकिया अनि हिरापोलिसमा भएकाहरूको निम्ति गहिरो वास्ता गर्छन्।

14 प्रिय वैद्य लूका र डेमासले पनि आफ्‍‌नो अभिवादन पठाएका छन्।

15 कृपा गरी लाउडिकियाका विश्वासी दाज्यू-भाइ, दिदी-बहिनीहरूलाई अनि नुम्फास र तिनको घरमा सङ्गति गर्नेहरूलाई मेरो अभिवादन देओ।

16 अनि यो पत्र तिमीहरूको बीचमा पढिएपछि, यसलाई लाउडिकियाको मण्डलीमा पनि पढ्‍‌न लगाओ र यसरी नै लाउडिकियाको मेरो पत्र पनि तिमीहरूले पढ।

17 अर्खिप्पसलाई यसो भनिदेऊ, ‘‘प्रभुले तिमीलाई सुम्पिनुभएको सेवाको काम अवश्य पूरा गर।’’

18 म पावल, यो अभिवादन आफ्‍‌नै हातले लेख्दैछु। मेरो कैदलाई याद गर। तिमीहरूसँग अनुग्रह रहोस्।



AMAZING GRACE BIBLE INSTITUTE