ACTSप्रेरितChapter 11 प्रिय थियोफिलस, मेरो पहिलो पुस्तकमा येशूले गर्न र सिकाउन थाल्नुभएका सबै कुराका बारेमा,2 आफैले छान्नुभएका प्रेरितहरूलाई पवित्र आत्माद्वारा आज्ञाहरू दिनुभएको दिनदेखि उहाँ उचालिनुभएको दिनसम्मका कुरा मैले लेखेको छु, 3 उहाँले दु:खभोग सहनुभएपछि चालीस दिनसम्म तिनीहरूका सामु देखा पर्दै र परमेश्वरको राज्यको बारेमा बताउँदै, धेरै अकाटय प्रमाणहरूद्वारा आफैलाई तिनीहरूकहाँ जीवित प्रस्तुत पनि गर्नुभयो। 4 तिनीहरूसँग भेला हुँदा उहाँले तिनीहरूलाई आज्ञा गर्नुभयो, ‘‘यरूशलेम छोडेर कतै नजाओ तर तिमीहरूले मबाट सुनेका पिताको प्रतिज्ञालाई पर्खेर बस, 5 किनभने यूहन्नाले त पानीमा बप्तिस्मा दिए तर अबका थोरै दिनमा पवित्र आत्मामा तिमीहरूको बप्तिस्मा हुनेछ।’’ 6 त्यसैकारण जब तिनीहरू भेला भएका थिए, तिनीहरूले उहाँलाई सोधे, ‘‘ हे प्रभु, के तपाईंले यसै समयमा इस्राएल राज्यको पुनर्स्थापना गरिदिनुहुनेछ?’’ 7 उहाँले तिनीहरूलाई भन्नुभयो, ‘‘पिताले आफ्नो अधिकारद्वारा तोक्नुभएको समय वा घडी जान्न खोज्नु तिमीहरूको काम होइन। 8 तर पवित्र आत्मा तिमीहरूमाथि आउनुभएपछि तिमीहरूले शक्ति पाउनेछौ र तिमीहरू यरूशलेम, सारा यहूदिया, सामरिया र पृथ्वीको अन्तिम छेउसम्म मेरा साक्षी हुनेछौ।’’ 9 उहाँले यो कुरा भनिसक्नुभएपछि, तिनीहरूले हेर्दाहेर्दै उहाँ उँभो उचालिनुभयो र बादलले उहाँलाई तिनीहरूको दृष्टिबाट ढाकिदियो। 10 उहाँ माथि उचालिनुभएको बेला तिनीहरूले आकाशतिर एकटक लाएर हेरिरहेका थिए, तब सेतो वस्त्र लगाएका दुई जना मानिसहरू तिनीहरूका छेउमा खडा भए। 11 अनि उनीहरूले भने, ‘‘हे गालीलका मानिस हो, तिमीहरू किन आकाशतिर हेर्दै यहाँ उभिरहेका छौ? उही येशू, जो तिमीहरूबाट स्वर्गमा लगिनुभएको छ, अहिले जसरी तिमीहरूले उहाँलाई स्वर्गमा जानुभएको देख्यौ, त्यसरी नै उहाँ फेरि आउनुहुनेछ।’’ 12 त्यसपछि प्रेरितहरू जैतुन पहाडबाट यरूशलेममा फर्के। यरूशलेमदेखि यो पहाड लगभग एक किलोमिटरजति टाढामा पर्छ। 13 अनि शहरभित्र पसेपछि तिनीहरू माथिल्लो तलाको आफू बस्ने कोठामा गए। त्यहाँ उपस्थित हुनेहरू यिनै हुन् : पत्रुस, यूहन्ना, याकूब, अन्द्रियास, फिलिप, थोमा, बारथोलोमाइ , मत्ती, अल्फयसको छोरो याकूब, उग्रपन्थी दलको सिमोन र याकूबको छोरो यहूदा। 14 येशूकी आमा मरियम, अरु धेरै स्त्रीहरू र येशूका भाइहरूका साथ यिनीहरू सबै एकै मनका भएर निरन्तर प्रार्थना गरिरहन्थे। 15 प्राय : एक सय बीस जनाजति विश्वासीहरू भेला भएको बेला पत्रुस खडा भए र भने, 16 भाइ हो, ‘‘धर्मशास्त्रको वचन पूरा हुनैपर्थ्यो, जुन वचन येशूलाई पक्रनेहरूको अगुवा यहूदाको विषयमा दाऊदको मुखबाट अघिबाटै पवित्र आत्माले बोल्नुभएको थियो, 17 किनकि त्यो हामीमध्येकै एक थियो र यस सेवकाइमा त्यसको हिस्सा थियो।’’ 18 अनि यहूदाले दुष्टताको कमाइबाट एउटा जग्गा किन्यो। त्यो उँधोमुन्टो भई खस्यो र त्यसको भुँडी फुटयो अनि त्यसका सबै आन्द्राभुँडी बाहिर निस्किए। 19 यरूशलेमका मानिसहरूमाझमा त्यसको अगति मृत्युको खबर पुग्यो। त्यो जग्गाको नाउँ तिनीहरूका आफ्नो भाषामा आखेल्दामा अर्थात् ‘रगतको खेत’ राखियो। 20 पत्रुसले भने, ‘‘किनकि भजनसंग्रहमा यस्तो लेखिएको छ : ‘त्यसको बस्ने घर उजाड होस्, त्यहाँ वास गर्ने कोही नहोस्, र त्यसको स्थान अर्कोले लेओस्।’ 21 यसर्थ, यहूदाको स्थानमा हाम्रासाथमा रहने मानिसहरूमध्ये यस्तो एक जना छानौं, जुन व्यक्ति प्रभु येशू हाम्राबीचमा रहनुहुँदा सधैँ हामीसँग थियो, 22 अर्थात् यस्तो व्यक्ति जो यूहन्नाको बप्तिस्मादेखि लिएर उहाँ हामीबाट उँभो उचालिनुभएको दिनसम्म हामीसँगै थियो, यसरी चुनिने व्यक्ति हामीसँगसँगै उहाँ मृत्युबाट पुनर्जीवित हुनुभएको घटनाको साक्षी हुनुपर्छ।’’ 23 त्यसैले तिनीहरूले दुई जना अर्थात् बारसाबास भन्ने योसेफ(जसलाई युस्तस पनि भनिन्थ्यो) र मतियासको नाउँ प्रस्ताव गरे। 24 तिनीहरूले यसरी प्रार्थना गरे, ‘‘सबै मानिसहरूका हृदयको कुरा जान्नुहुने हे प्रभु, यी दुईमध्ये तपाईंले कसलाई चुन्नुभएको छ, सो हामीलाई देखाउनुहोस् 25 अनि चुनिएको व्यक्तिले प्रेरितको स्थानमा रहेर सेवा गर्न सकोस्। जुन सेवाबाट यहूदा भड्केर आफ्नो निज ठाउँमा मर्यो।’’ 26 तब तिनीहरूले ती दुईका बीचमा गोला हाले अनि गोला मतियासको नाँउमा पर्यो र तिनी अरु एघार प्रेरितहरूसँग गनिए। 21 येशू पुनर्जीवित हुनुभएको सात हप्तापछि, जब पेन्तिकोसको दिन आइपुग्यो, विश्वासीहरू सबै एकै ठाउँमा भेला भएका थिए।2 अनि अचानक स्वर्गबाट ठूलो बतासको झोक्काजस्तै गर्जनको आवाज आयो र तिनीहरू बसेको पूरा घरै भरियो। 3 आगोका ज्वालाहरू जिब्रो आकारमा तिनीहरूकहाँ देखा परे र भाग-भाग भएर तिनीहरू हरेकमाथि बसे। 4 अनि हरेक उपस्थित व्यक्ति पवित्र आत्माले भरिए र पवित्र आत्माले तिनीहरूलाई दिनुभएको उच्चारण गर्ने शक्तिबमोजिम तिनीहरू अन्यभाषामा बोल्नथाले। 5 अब स्वर्गमुनि भएका हरेक राष्ट्रबाट भक्त यहूदीहरू यरूशलेममा आएका थिए। 6 यो आवाज सुनेर भीड जम्मा भयो, उनीहरू आश्चर्यचकित भए, किनकि हरेकले आ-आफ्नो भाषामा तिनीहरू बोलिरहेका सुने। 7 उनीहरू सबै छक्क परे र यसो भन्दै अचम्म माने, ‘‘हेर, के यी बोल्नेहरू सबै गालीली होइनन् र? 8 अनि कसरी हामी जन्मेका देशहरूमा बोलिने हाम्रा मातृभाषामा यिनीहरूले बोलिरहेका हामी सुन्दछौं? 9 हामी यहाँ पार्थीहरू, मादीहरू, एलामीहरू, मेसोपोटामियाका, यहूदियाका, कापाडोकियाका, पोन्टस र एसियाका बासिन्दाहरू छौं। 10 अनि फिग्रिया, पामफिलिया, मिश्र र कुरेनीमा पर्ने लिबियाका कतिपय क्षेत्रहरू र रोमबाट आएका परदेशीहरू, यहूदी र यहूदी मत मान्नेहरू दुवै छौं। 11 क्रेटका बासिन्दाहरू र अरबीहरू पनि छौं, अनि हामी आ-आफ्ना भाषामा परमेश्वरका महान् कार्यहरूको चर्चा तिनीहरूले गरिरहेका सुन्दछौं।’’ 12 अचम्म र अन्योलमा परेर उनीहरू एउटाले अर्कोलाई सोधासोध गर्न लागे, ‘‘यसको अर्थ के हो?’’ 13 तर भीडमा भएका अरुहरूले खिल्ली उडाउँदै भने, ‘‘तिनीहरू नयाँ मद्यले मातेका छन्।’’ 14 तब पत्रुसले एघार जनासँग उभिएर चर्को स्वरमा उनीहरूलाई भने, ‘‘हे यहूदियाका मानिसहरू र यरूशलेमका जम्मै बासिन्दाहरू हो। यो कुरा तपाईंहरूलाई थाहा होस् र मेरो कुरामा ध्यान दिनुहोस्। 15 तपाईंहरूमध्ये कतिले यिनीहरू मातेका छन् भन्ने ठान्नुहुँदैछ तर यिनीहरू मातेका छैनन्, किनभने अहिले बिहानको नौ मात्र बजेको छ। यति बिहानै कोही पनि मात्दैनन्। 16 तर योएल अगमवक्ताद्वारा भनिएको कुरा यही हो : 17 ‘आखिरी दिनहरूमा यस्तो हुनेछ भनी परमेश्वर भन्नुहुन्छ, म सबै मानिसहरूमाथि मेरो आत्मा खन्याइदिनेछु र तिमीहरूकाछोराछोरीहरूले अगमवाणी बोल्नेछन् अनि तिमीहरूका युवकहरूले दर्शन देख्नेछन् र तिमीहरूका बूढापाकाहरूले सपना देख्नेछन्। 18 ती दिनहरूमा मेरा दासदासीहरूमाथि मेरो आत्मा खन्याइदिनेछु र तिनीहरूले अगमवाणी बोल्नेछन्। 19 माथि आकाशमा म अचम्मका काम र तल पृथ्वीमा चिन्हहरू देखाउनेछु-रगत, आगो र धूवाँको मुस्लाहरू। 20 परमप्रभुको महान् र गौरवमय दिन आउनअघि सूर्य अन्धकारमा र चन्द्रमा रगतमा परिवर्तन हुनेछन्। 21 अनि ज-जसले परमप्रभुको नाउँ लिनेछ, त्यसले उद्धार पाउनेछ।’ 22 हे इस्राएलका मानिसहरू हो, यी वचन सुन्नुहोस्, नासरतका येशूलाई परमेश्वरले शक्तिशाली कामहरू, अचम्मका कामहरू र चिन्हहरूद्वारा तपाईंहरूका सामुन्ने प्रमाणित गर्नुभयो। ती घटनाहरू तपाईंहरूलाई थाहै छ। 23 परमेश्वरको पूर्वज्ञान र उहाँले ठहराउनुभएको निश्चित योजनाअनुसार तपाईंहरूले अधर्मीहरूका हातद्वारा येशूलाई क्रूसमा टाँगेर मार्नुभयो। 24 अनि परमेश्वरले उहाँलाई मृत्युको पीडाबाट छुटाएर जीवित पार्नुभयो। किनकि मृत्युले उहाँलाई आफ्नो शक्तिको अधीनमा राखिरहन असम्भव थियो। 25 किनकि दाऊदले उहाँको विषयमा भन्दछन् : ‘परमप्रभु सधैँ मसित हुनुहुन्छ भन्ने मलाई थाहा छ। उहाँ मेरो दाहिने बाहुलीपट्टि हुनुभएकोले, म कहिल्यै डगमगाउनेछैन। 26 यसकारण मेरो हृदय आनन्दित छ, अनि मेरो जिब्रो अति आनन्दित भयो; यसबाहेक मेरो शरीर पनि आशामा रहनेछ। 27 किनभने तपाईंले मेरो प्राणलाई चिहानमा छोड्नुहुनेछैन। न त तपाईंले आफ्नो पवित्रजनको शरीर कुहुन नै दिनुहुनेछ। 28 तपाईंले मलाई जीवनका मार्गहरू थाहा गराउनुभएको छ, तपाईंको आफ्नो उपस्थितिमा तपाईंले मलाई आनन्दले गद्गद पार्नुहुनेछ।’ 29 प्रिय भाइहरू हो, म तपाईंहरूलाई हाम्रा पुर्खा दाऊदको बारेमा निश्चयतासाथ भन्न सक्छु कि उनी मरे, गाडिए अनि यो दिनसम्म उनको चिहान छँदैछ, 30 किनभने उनी एक अगमवक्ता थिए र उनलाई थाहा थियो कि दाऊदको निज सन्तानमध्ये एक जनालाई ख्रीष्ट तुल्याएर दाऊदकै सिंहासनमा राख्नेछु भनी परमेश्वरले शपथ खाएर प्रतिज्ञा गर्नुभएको थियो। 31 पछि हुने घटना पहिले नै थाहा पाएकाले दाऊदले ख्रीष्टको पुनरुत्थानको विषयमा यसरी बोले कि उहाँ न चिहानमा छोडिनुभयो, न त उहाँको शरीर नै कुह्यो। 32 यिनै येशूलाई परमेश्वरले जीवित पार्नुभयो, जुन कुराका हामी सबै साक्षी छौं। 33 यसकारण परमेश्वरको दाहिने बाहुलीपट्टि उच्च पारिएर अनि पिताबाट पवित्र आत्माको प्रतिज्ञालाई प्राप्त गरेर उहाँले त्यो खन्याउनुभयो, जुन कुरा तपाईंहरूले अहिले देख्दै र सुन्दै हुनुहुन्छ। 34 किनकि दाऊद स्वयम् स्वर्गमा उचालिएनन् तर उनी आफैले भन्दछन् : ‘परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो, तिमी मेरो दाहिने बाहुलीपट्टि बस, 35 जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पाउदान तुल्याउँदिनँ।’ 36 त्यसैकारण इस्राएलका सारा घरानाले पक्का गरी जानोस्, कि येशू, जसलाई तपाईंहरूले क्रूसमा टाँग्नुभयो, परमेश्वरले उहाँलाई प्रभु र ख्रीष्ट दुवै बनाउनुभयो।’’ 37 पत्रुसद्वारा बोलिएको वचनले सुन्नेहरूको हृदय छियाछिया भयो अनि पत्रुस र अरु प्रेरितहरूलाई तिनीहरूले भने, ‘‘ए भाइ हो, हामीले के गर्ने?’’ 38 पत्रुसले जवाफ दिए, ‘‘पश्चात्ताप गर र तिमीहरू हरेकले पाप क्षमाको निम्ति येशू ख्रीष्टको नाउँमा बप्तिस्मा लेऊ अनि तिमीहरूले पवित्र आत्माको वरदान पाउनेछौ, 39 किनकि प्रतिज्ञा तिमीहरूका निम्ति, तिमीहरूका सन्तानको निम्ति र टाढा-टाढामा रहेका सबैका निम्ति हो, प्रत्येक जसलाई प्रभु हाम्रा परमेश्वरले आफूकहाँ बोलाउनुहुनेछ।’’ 40 अरु धेरै वचनद्वारा पत्रुसले तिनीहरूलाई गवाही र अर्ती दिँदै भने, ‘‘यस बाटो बिराएका पुस्ताबाट तिमीहरूले आफैलाई बचाओ।’’ 41 तिनको सन्देशलाई ग्रहण गर्नेहरूले बप्तिस्मा लिए र त्यसै दिन प्राय: तीन हजार मानिसहरू तिनीहरूको संख्यामा थपिए। 42 तिनीहरू अरु विश्वासीहरूसित एक भए अनि प्रेरितहरूका शिक्षा, सङ्गति, संयुक्त भोज र प्रार्थनामा भक्तिसाथ लागिरहन्थे। 43 सबैमा भक्ति उत्पन्न गर्ने गहिरो भयको आभास उत्पन्न भयो अनि प्रेरितहरूद्वारा धेरै अचम्मका काम र चिन्हहरू भए। 44 ती सबै विश्वासीहरू एकसाथ रहन्थे र हरेकसित भएका थोक साझा थिए। 45 तिनीहरूले आफ्ना सम्पत्ति र मालमत्ता बेच्नथाले अनि ज-जसलाई जे-जे कुराको खाँचो पर्थ्यो सबैलाई ती बाँड्नेगर्थे। 46 हरेक दिन मन्दिरमा एकै मनको भएर भेला हुन्थे अनि घरघरमा संयुक्त भोज गर्दै तिनीहरू आ-आफ्ना भोजन आनन्दित र शुद्ध हृदयले खान्थे 47 अनि परमेश्वरको प्रशंसा गर्थे र सबै मानिसहरूबाट शुभेच्छा पाउँथे। उद्धार पाएकाहरूलाई प्रभुले दिनदिनै तिनीहरूको संख्यामा थपिदिनुहुन्थ्यो। 31 पत्रुस र यूहन्ना दिउँसो तीन बजेतिर प्रार्थनाको समयमा मन्दिरतर्फ जाँदैथिए।2 मन्दिरभित्र पस्नेहरूसित भीख माग्न भनी मानिसहरूले जन्मैदेखिको एक लङ्गडोलाई बोकेर ल्याई दिनहुँ मन्दिरको सुन्दर भनिने ढोकामा राखिदिन्थे। 3 पत्रुस र यूहन्नालाई मन्दिरभित्र पस्नलागेका देखेर त्यसले पैसा माग्यो। 4 पत्रुस र यूहन्नाले त्यसलाई एकटक लाएर हेरे अनि पत्रुसले भने, ‘‘हामीतिर हेर !’’ 5 त्यो लङ्गडो मानिसले केही पाउने आशाले ध्यान दिएर तिनीहरूलाई हेर्यो। 6 तर पत्रुसले भने, ‘‘मसित सुनचाँदी छैन तर जे मसित छ, त्यही म तँलाई दिन्छु। नासरतका येशू ख्रीष्टको नाउँमा हिँड्।’’ 7 तब पत्रुसले त्यसको दाहिने हात समातेर त्यसलाई उठ्न सहायता गरे अनि तुरुन्तै त्यसका खुट्टाहरू र गोलीगाँठोमा ताकत आयो। 8 अनि जुरुक्कै उठेर त्यो खडा भयो र हिँड्न थाल्यो र हिँड्दै-उफ्रँदै अनि परमेश्वरको स्तुति गर्दै तिनीहरूसँग मन्दिरमा पस्यो। 9 सबै मानिसहरूले त्यसलाई हिँड्दै गरेको र परमेश्वरको प्रशंसा गरिरहेको देखे । 10 तिनीहरूले त्यसलाई मन्दिरको सुन्दर ढोकामा सधैँ भीख माग्न बसिरहने यही नै हो भनेर जब चिने, त्यसलाई के भयो भनी तिनीहरू आश्चर्यले चकित भए। 11 त्यसले पत्रुस र यूहन्नालाई समातिरहँदा आश्चर्यले चकित भएका मानिसहरू सोलोमनको दलानमा एकसाथ तिनीहरूतिर दौडेर आए। 12 पत्रुसले यो देखेर मानिसहरूलाई भने, ‘‘इस्राएलका मानिस हो, यस कुरामा तपाईंहरू किन छक्क पर्नुहुन्छ? मानौं, हामीले हाम्रो शक्ति वा भक्तिद्वारा यस मानिसलाई हिँड्नसक्ने तुल्याएजस्तै किन वाल्ल परेर हामीलाई हेर्नुहुन्छ? 13 अब्राहाम, इसहाक र याकूबका परमेश्वर, हाम्रा पुर्खाका परमेश्वरले आफ्ना पुत्र येशूलाई महिमित पार्नुभयो, जसलाई तपाईंहरूले पिलातसको हातमा सुम्पिदिनुभयो र उनले उहाँलाई छोडिदिने निर्णय गर्दा पनि तपार्ईंहरूले उहाँलाई उनकै सामुन्ने अस्वीकार गर्नुभयो। 14 तर तपाईंहरूले पवित्र र धर्मीजनलाई अस्वीकार गरेर एउटा ज्यानमारालाई छोडिदिने माग गर्नुभयो। 15 तपाईंहरूले जीवनको सृजनाहारलाई मार्नुभयो तर परमेश्वरले उहाँलाई मृतकबाट पुनर्जीवित पार्नुभयो। हामी यसका गवाही छौं। 16 उहाँको नाउँमाथि गरेको विश्वासले र उहाँकै नाउँले, तपाईंहरूले देखेका अनि जानेका यस मानिसलाई बलियो तुल्यायो। येशू नाउँमा राखेको विश्वासले यस मानिसलाई तपाईंहरूकै आँखाअघि पूरा निको पार्यो। 17 अब भाइहरू हो, मलाई थाहा छ, कि तपाईंहरूले येशूलाई जे गर्नुभयो, त्यो अजानमा गर्नुभयो र तपाईंका शासकहरूले पनि त्यसै गरे। 18 ख्रीष्टले कष्ट भोग्नैपर्छ भन्ने अगमवक्ताहरूबाट बोलिएका अगमवाणीहरू परमेश्वरले यसरी पूरा गर्नुभयो। 19 यसकारण पश्चात्ताप गर्नुहोस् र परमेश्वरतर्फ फर्कनुहोस्, यसैले कि तपाईंहरूको पाप मेटिओस् र परमप्रभुको उपस्थितिबाट आनन्दको समय आओस्। 20 उहाँले तपाईंहरूका निम्ति अघिबाटै नियुक्त गर्नुभएको येशूलाई पठाइदिनुहुन्छ। 21 परमेश्वरले उहिलेको समयदेखि नै आफ्ना पवित्र अगमवक्ताहरूका मुखबाट बोल्नुभएका सबै थोकको पुनर्स्थापना हुने समय नआउञ्जेल ख्रीष्ट स्वर्गमा रहनुपर्छ, 22 किनकि मोशाले पुर्खाहरूलाई भनेका छन्, ‘तिमीहरूका आफ्नै मानिसहरूमध्येबाट मजस्तै एक जना अगमवक्तालाई परमप्रभु तिम्रा परमेश्वरले खडा गर्नुहुनेछ, उहाँले तिमीहरूलाई भनेका सबै कुरा सुन्नेछौ। 23 अनि यसो हुनेछ कि त्यस अगमवक्तालाई नसुन्ने प्रत्येक जन मानिसहरूबाट निकालिनेछ र पूर्णरूपले नष्ट हुनेछ।’ 24 शमूएलदेखि लिएर त्यसपछिका सबै अगमवक्ताहरूले यी दिनहरूमा हुँदै गरेका घटनाहरूको बारेमा बोलेका छन्। 25 तपाईंहरू तिनै अगमवक्ताहरूका र त्यही करारका सन्तान हुनुहुन्छ, जुन करार परमेश्वरले तपार्ईंहरूका पुर्खा अब्राहामसँग यसो भनेर बाँध्नुभयो, ‘तिम्रा सन्तानमा पृथ्वीका सबै परिवारले आशिष् पाउनेछन्।’ 26 जब परमेश्वरले आफ्ना पुत्रलाई खडा गर्नुभयो, तपाईंहरू सबैलाई अधर्मबाट फर्काएर आशिष् दिन उहाँलाई तपाईंहरूकहाँ नै पहिले पठाउनुभयो।’’ 41 पत्रुस र यूहन्ना मानिसहरूसित बोल्दै गर्दा पूजाहारीहरू, मन्दिरका कप्तान र सदुकीहरू तिनीहरूकहाँ आए,2 किनभने तिनीहरूले मानिसहरूलाई शिक्षा दिइरहेका र येशूमा मृतकहरू पुनर्जीवित हुन्छन् भनी घोषणा गरिरहेका थिए। 3 तब उनीहरूले तिनीहरूलाई पक्रे र साँझ परिसकेको हुनाले भोलिपल्टसम्म थुनामा राखे। 4 तर वचन सुन्नेहरूमध्ये धेरैले नै विश्वास गरे र विश्वासीहरूको संख्या लगभग पाँच हजार पुग्यो। 5 अनि भोलिपल्ट यस्तो भयो, उनीहरूका शासकहरू, धर्मगुरुहरू र धार्मिक व्यवस्थाका शिक्षकहरू, 6 प्रधान पूजाहारी हन्नास, कैयाफा, यूहन्ना र अलेक्जेण्डर अनि प्रधान पूजाहारीका सबै आफन्तहरू यरूशलेममा भेला भए। 7 उनीहरूले पत्रुस र यूहन्नालाई बीचमा खडा गराएर सोधे, ‘‘कुन शक्तिबाट अथवा कसको नाउँमा तिमीहरूले यो गरेका छौ?’’ 8 तब पवित्र आत्माले भरिएका पत्रुसले उनीहरूलाई यस्तो जवाफ दिए, ‘‘हे जनताका शासक र इस्राएलका धर्मगुरुहरू हो, 9 आज हामीले एउटा लङ्गडो मानिसप्रति एक असल काम गरेको विषयमा त्यो कुन उपायले निको पारियो भनेर प्रश्न गर्नुहुन्छ भने 10 तपाईंहरू सबैलाई र इस्राएलका सारा मानिसलाई स्पष्ट बुझाउने मौका मलाई दिनुहोस् कि तपाईंहरूले क्रूसमा टाँग्नुभएका र परमेश्वरले मृतकबाट जीवित पार्नुभएका, उनै नासरतका येशू ख्रीष्टको नाउँमा यो मानिस तपाईंहरूका सामुन्ने निको भएर उभिएको छ। 11 ‘तपाईं डकर्मीहरूले बेकम्मा ठान्नुभएको उहाँ त्यही ढुङ्गो हुनुहुन्छ, जो अहिले कुनाको शिर ढुङ्गो हुनुभएको छ।’ 12 अरु कसैमा मुक्ति छैन, किनकि स्वर्गमुनि मानिसहरूको बीचमा अर्को कुनै नाउँ दिइएको छैन, जसद्वारा हामीले मुक्ति पाउन सक्छौं।’’ 13 पत्रुस र यूहन्नाजस्ता अशिक्षित र साधारण मानिसहरूमा यस्तो साहस देखेर उनीहरू छक्क परे। यिनीहरू येशूको साथमा रहन्थे भन्ने उनीहरूले थाहा पाए। 14 तर निको भएको मानिसलाई यिनीहरूसँग उभिरहेको देखेर सभामा जुटेकाहरूले केही बोल्न सकेनन्। 15 यसैले उनीहरूले पत्रुस र यूहन्नालाई सभाभवनबाट बाहिर जाने हुकुम दिएपछि उनीहरूले आपसमा मतो गरे, 16 ‘‘यी मानिसहरूलाई अब हामीले के गर्ने हो? किनकि यरूशलेमवासीहरूलाई यिनीहरूबाट भएका अचम्मका कामबारे थाहा भइसकेको छ र हामी पनि यसलाई इन्कार गर्न सक्दैनौं। 17 तर यो कुरा अब अझै जनतामा नफैलियोस् भनी यिनीहरूलाई यस नाउँमा फेरि कुनै मानिससँग नबोल्ने चेताउनी दिऔं।’’ 18 त्यसपछि उनीहरूले पत्रुस र यूहन्नालाई बोलाएर ‘अब उप्रान्त येशूको नाउँमा नबोल्नू र कुनै शिक्षा नदिनू’ भनी आदेश दिए। 19 तर पत्रुस र यूहन्नाले जवाफ दिए, ‘‘परमेश्वरको भन्दा तपाईंहरूको कुरा सुन्नु उहाँको दृष्टिमा उचित छ कि छैन सो तपाईंहरू आफै विचार गर्नुहोस्, 20 किनकि हामीले देखेका र सुनेका अचम्मका कुरा हामी नबोली बस्न सक्दैनौं।’’ 21 सजाय दिने निहुँ नभेट्टाएकोले मानिसहरूको डरले गर्दा यिनीहरूलाई अझ बढी धम्क्याएर महासभाले छोडिदिए, किनभने अचम्मका घटनाहरूको निम्ति मानिसहरूले परमेश्वरको प्रशंसा गरिरहेका थिए, 22 किनकि आश्चर्यकर्मद्वारा निको पारिएको लङ्गडोको उमेर चालीस वर्षभन्दा बढी थियो। 23 छुटकारा पाएपछि पत्रुस र यूहन्नाले साथीहरूकहाँ आएर प्रधान पूजाहारी र धर्मगुरुहरूले भनेका सबै कुराको बेलीबिस्तार लगाए। 24 जब सारा विश्वासीहरूले यी कुरा सुने, तब सबैले एकै मनको भएर परमेश्वरतिर उच्च सोर उचाल्दै भने, ‘‘हे प्रभु, तपाईंले स्वर्ग, समुद्र र तिनमा भएका यावत् थोक सृजनुभयो, 25 जसले पवित्र आत्माद्वारा आफ्ना सेवक, हाम्रा पुर्खा दाऊदको मुखबाट बोल्नुभयो : ‘किन अयहूदीहरूरिसाए, किन मानिसहरूले व्यर्थका योजनाहरूमा समय फाले? 26 परमप्रभुको विरुद्धमा र उहाँका अभिषिक्तजनको विरुद्धमा पृथ्वीका राजाहरू खडा भए र शासकहरू एकसाथ भेला भए।’ 27 त्यही त भयो यो शहरमा, तपाईंले अभिषेक गर्नुभएका, तपाईंका पवित्र सेवक येशूको विरुद्धमा हेरोद, शासक पन्तियस पिलातस, अयहूदीहरू र इस्राएलीहरूसँग भेला भएका थिए, 28 तपाईंको बाहुली र तपाईंको पूर्वसल्लाहअनुसार यसो हुनआयो। 29 अब हे प्रभु, तिनीहरूका धम्कीमाथि नजर गर्नुहोस् र प्रचार गर्दा तपाईंका सेवकहरूलाई ठूलो साहस दिनुहोस्। 30 तपाईंको पवित्र पुत्र येशूको नाउँद्वारा रोगीहरूलाई पूर्ण निको तुल्याउन अनि आश्चर्यपूर्ण चिन्हहरू र अलौकिक कामहरू गर्न आफ्नो बाहुली फैलाउनुहोस्।’’ 31 यो प्रार्थना सकेपछि, तिनीहरू भेला भएको ठाउँ हल्लियो र तिनीहरू सबै जना पवित्र आत्माले भरिए र तिनीहरूले साहससित परमेश्वरको वचन बोल्नथाले । 32 सबै विश्वासीहरू एउटै हृदय र मनका भएका थिए अनि जे पनि तिनीहरूसित थियो, कसैसित तेरो र मेरो भन्ने भावना थिएन तर आफूसित भएका थोक आपसमा बाँडचुँड गर्थे। 33 ती प्रेरितहरूले प्रभु येशू मृतकबाट पुनर्जीवित हुनुभएको शक्तिशाली गवाही दिन्थे र तिनीहरू सबैमाथि ठूलो अनुग्रह रहेको थियो। 34 तिनीहरूमध्ये कसैलाई केही कुराको खाँचो हुँदैनथ्यो, किनकि जति जना जग्गाजमीन वा घरका मालिक थिए, तिनीहरूले ती बेचेर त्यसको मोल ल्याउँथे 35 र प्रेरितहरूका चरणमा राखिदिन्थे र ज-जसलाई जे-जे कुराको अभाव हुन्थ्यो, सो प्रत्येकलाई बाँडिदिन्थे। 36 अब साइप्रस देशको लेवी कुलका योसेफ, जसलाई प्रेरितहरूले बर्णाबास ( जसको अर्थ, उत्साहको पुत्र) भन्ने गर्थे, 37 उनले आफ्नो जमीन बेचे, अनि त्यसको मोल ल्याएर प्रेरितहरूको चरणमा राखिदिए। 51 त्यसबेला हननिया नाउँ भएको एक जना व्यक्तिले आफ्नी स्वास्नी सफीरासित मिलेर एक टुक्रा जमीन बेचे2 र त्यसको मोलबाट, तिनकी स्वास्नीले पनि थाहा पाउने गरी, केही हिस्सा आफूसँग राखे र बाँकी हिस्सा ल्याएर प्रेरितहरूको चरणमा राखिदिए, 3 अनि पत्रुसले भने, ‘‘ए हननिया, पवित्र आत्मासँग झूट बोल्न र जमीनको मोलबाट केही हिस्सा राख्ने काम गर्नलाई शैतानले किन तिम्रो हृदय भरिदियो? 4 जमीन बेचे पनि, नबेचे पनि त्यो तिम्रो इच्छाअनुसार थियो र बेचिसकेपछि, पैसा दिनु-नदिनु तिम्रो अधिकारको कुरा थियो। यस्तो काम गर्ने विचार तिम्रो हृदयमा कसरी पलायो ? तिमीले मानिसहरूसँग होइन, परमेश्वरसँग झूटबोल्यौ।’’ 5 यो कुरा सुनेर हननिया भुइँमा ढले र मरे। यो घटना सुन्नेहरू सबै भयभीत भए। 6 त्यसपछि केही जवानहरूले तिनलाई कात्रोले बेरे र बाहिर लगेर गाडे। 7 त्यहाँ घटेको घटना थाहा नपाई, प्राय: तीन घण्टापछि तिनकी स्वास्नी पनि त्यहाँ भित्र आइन्। 8 पत्रुसले तिनलाई सोधे, ‘‘मलाई भन त, तिमी र तिम्रो लोग्नेले बेचेको जमीनको रकम त्यत्ति नै हो त?’’ अनि तिनले भनिन् ‘‘ज्यू, त्यत्ति नै हो।’’ 9 अनि पत्रुसले तिनलाई भने, ‘‘प्रभुको आत्माको परीक्षा गर्न तिमीहरू कसरी सहमत भयौ? हेर, तिम्रो लोग्नेलाई गाड्नेहरू ढोकामै छन् र तिनीहरूले तिमीलाई पनि बोकेर बाहिर पुर्याउनेछन्।’’ 10 तुरुन्तै तिनी पत्रुसको पाउनेर लडिन् र मरिन् । जब युवकहरू भित्र आए, तब तिनलाई मरिसकेकी देखेर बाहिर बोकेर लगे र तिनको लोग्नेको नजिकमा गाडिदिए । 11 सारा मण्डलीमाथि र यी कुरा सुन्ने सबैमाथि ठूलो डर छायो। 12 त्यही समय, प्रेरितहरूका हातबाट अचम्मका चिन्हहरू र अनौठा कामहरू मानिसहरूका बीचमा हुनथाले र तिनीहरू सबै सोलोमनको दलानमा भेला हुनेगर्थे। 13 तिनीहरूसँग मिल्ने आँट कसैले गरेन, तापनि हरेकले तिनीहरूलाई आदर गर्थे। 14 प्रभुमा विश्वास गर्ने पुरुष र स्त्रीहरूको संख्या दिनदिनै बढ्ने क्रम जारी नै रह्यो। 15 यहाँसम्म कि, मानिसहरूले गल्ली-गल्लीमा बिमारीहरूलाई ल्याए र पत्रुस आउँदा तिनको छायाँ मात्र भए पनि तिनीहरूमध्ये कसैमाथि परिहालोस् भनी ओछयान र खाटहरूमा राखिदिन्थे। 16 यरूशलेम वरिपरिका गाउँहरूबाट पनि धेरै मानिसहरूले बिमारीहरू र अशुद्ध आत्माले सताइएकाहरूलाई लिएर आउँथे र ती सबै निको हुन्थे। 17 तर प्रधान पूजाहारी र उनका साथीहरू (जो सदुकी पन्थका थिए) डाहले भरिएर प्रेरितहरूका विरुद्धमा खडा भए 18 अनि प्रेरितहरूलाई तिनीहरूले पक्रेर सार्वजनिक झ्यालखानमा हालिदिए। 19 तर प्रभुका एउटा दूतले राती झ्यालखानका ढोकाहरू खोलेर तिनीहरूलाई बाहिर निकाले र भने, 20 ‘‘जाओ र मन्दिरमा उभिएर जीवनको यो सन्देश मानिसहरूलाई सुनाओ।’’ 21 यो सुनेर प्रेरितहरू एकाबिहानै मान्दिरभित्र पसे र शिक्षा दिनथाले। जब प्रधान पूजाहारी र उनका सहयोगीहरू आइपुगे र महासभा अर्थात् इस्राएलीहरूको सम्पूर्ण सभाका सबैलाई डाके अनि प्रेरितहरूलाई झ्यालखानबाट ल्याउन मानिसहरू पठाए। 22 तर जब मन्दिरका पहरेदारहरू झ्यालखानमा पुगे तब मानिसहरूलाई नभेट्टाउँदा फर्की आएर महासभालाई यस्तो खबर दिए, 23 ‘‘झ्यालखानका ढोकाहरूमा बलिया तालाहरू लाएका र पालेहरू ढोकाहरूमा नै तैनाथ थिए तर ढोका उघार्दा हामीले भित्र कसैलाई भेट्टाएनौं।’’ 24 जब मन्दिरका पहरेदारहरूका कप्तान र प्रधान पूजाहारीहरूले यो खबर सुने, तब ‘यो कुराको परिणाम के होला’ भनी तिनीहरू अन्योलमा परे। 25 त्यसैबेला कोही एक जना आएर खबर दियो, ‘‘हेर्नुहोस्, तपाईंहरूले जुन मानिसहरूलाई झ्यालखानमा हाल्नुभएको थियो, तिनीहरूले मन्दिरमा मानिसहरूलाई शिक्षा दिइरहेका छन्।’’ 26 मन्दिरका पहरेदारहरूसित कप्तान गए र तिनीहरूलाई बलजफत नगरी ल्याए (किनभने मानिसहरूले तिनीहरूलाई ढुङ्गाले हान्लान् भनी उनीहरू डराए)। 27 उनीहरूले प्रेरितहरूलाई ल्याएर महासभाको अघि उभ्याए र प्रधान पूजाहारीले यसो भन्दै सोधे, 28 ‘‘हामीले तिमीहरूलाई यस नाउँमा केही नसिकाउनू भनी कडा चेताउनी दिएका थियौं, हेर, तिमीहरूले आफ्ना शिक्षाले सारा यरूशलेम भरिसक्यौ र त्यस मानिसको रगतको दोष हामीमाथि ल्याउन चाहन्छौ।’’ 29 तब पत्रुस र अरु प्रेरितहरूले जवाफ दिए, ‘‘हामीले मानिसहरूको भन्दा परमेश्वरको आज्ञा मान्नैपर्छ। 30 तपाईंहरूले क्रूसमा झुन्डयाएर मार्नुभएको येशूलाई हाम्रा पुर्खाहरूका परमेश्वरले मृतकहरूबाट पुनर्जीवित पार्नुभयो। 31 उहाँ उही नै हुनुहुन्छ, जसलाई परमेश्वरले इस्राएलको पश्चात्तापको लागि र तिनीहरूलाई पापको क्षमा दिन उहाँलाई राजा र मुक्तिदाता तुल्याएर आफ्नो दाहिने बाहुलीपट्टि उच्चस्थानमा राख्नुभयो । 32 हामी उहाँको आज्ञापालन गर्नेहरूलाई दिइएको पवित्र आत्मा र यी सबै कुराका साक्षी छौं।’’ 33 यो कुरा सुनेपछि, उनीहरू साह्रै रिसाए र तिनीहरूलाई मार्न खोजे। 34 गमलिएल नाउँका एक जना फरिसी, जो जनताहरूद्वारा मानिएका व्यवस्थाका एक पण्डित थिए, उनले महासभामा उठेर प्रेरितहरूलाई केही क्षणको निम्ति बाहिर लैजाने आदेश दिए, 35 अनि उनले महासभाका मानिसहरूलाई भने, ‘‘इस्राएलका मानिस हो, यी मानिसहरूलाई तपाईंहरूले जे गर्न आँट्नुभएको छ, त्यसमा होशियार हुनुहोस्। 36 केही समयअघि थूदास भन्ने व्यक्तिले आफैलाई ‘मै हुँ’ भनी दाबी गर्दा प्राय: चार सयजति मानिसहरू उसको पछि लागेका थिए। तर ऊ मारियो र उसलाई पछयाउनेहरू सबै छरपस्ट भए अनि तिनीहरूको नाउँनिसान नै मेटियो। 37 यस मानिसपछि जनगणनाको समयमा गालीलवासी यहूदा देखा पर्यो। उसले पनि कतिपय मानिसहरूलाई आफूतिर खिँच्यो। तर ऊ पनि मारियो अनि उसका सबै चेलाहरू छरपस्ट भए। 38 यसर्थ यस मामिलामा पनि तपाईंहरूलाई मेरो सल्लाह यो छ कि यी मानिसहरूबाट अलग रहनुहोस्, यिनीहरूलाई छोडिदिनुहोस्। यदि यिनीहरूले सिकाउँदै र गर्दै गरेका कामहरू आफ्नैतर्फबाट गरेका हुन् भने यो त्यसै हराएर जानेछ, 39 तर यदि यिनीहरूले गरेका कामहरू परमेश्वरका नै हुन् भने त तपाईंहरूले यिनीहरूलाई रोक्न सक्नुहुन्न। नत्र त तपाईंहरू परमेश्वरको विरुद्धमा उठेको ठहरिनुहुनेछ।’’ 40 महासभाले उनको सल्लाह मानिलिए।उनीहरूले प्रेरितहरूलाई भित्र बोलाएर कोर्रा लगाए र येशूको नाउँमा फेरि नबोल्नू भन्ने आदेश दिएर छोडिदिए। 41 परमेश्वरले हामीलाई येशूको नाउँको खातिर अपमान सहने योग्यको ठहर्याउनुभयो भन्दै प्रेरितहरू बडो आनन्दसाथ महासभाको उपस्थितिबाट निस्केर गए। 42 तिनीहरूले हरेक दिन ‘‘येशू नै ख्रीष्ट हुनुहुन्छ’’ भन्ने सुसमाचार मन्दिरमा र घरघरमा सिकाउन अनि प्रचार गर्न छोडेनन्। 61 तर जब चेलाहरूको संख्या लगातार बढ्दै गयो, तब हिब्रूहरूका विरुद्धमा ग्रीक-यहूदीहरूले गनगन गरे, किनभने दैनिक भोजन वितरणमा तिनीहरूका विधवाहरूको बेवास्ता गरिएको थियो।2 तब बाह्रै चेलाहरूलाई भेला गरेर भने, ‘‘परमेश्वरको वचन छोडेर खुवाउने-पियाउने सेवा गर्नु हाम्रोनिम्ति उचित हुँदैन। 3 यसकारण हे भाइहरू हो, अब तिमीहरूका बीचबाट पवित्र आत्मा र बुद्धिले भरपूर भएका, साथै सबैबाट आदर पाएका सात जना मानिस छान, जसलाई हामी यस काममा नियुक्त गर्न सक्छौं। 4 तर हामी भने प्रार्थना र वचनको सेवकाइमा निरन्तर लागिरहनेछौं।’’ 5 यो कुरा समूहमा सबैलाई मन पर्यो र तिनीहरूले पवित्र आत्मा र विश्वासले भरिएका स्तिफनस, फिलिप, प्रखरस, निकनोर, तीमोन, पर्मिनास र यहूदी मतमा लागेका एन्टिओकका निकोलाउसलाई छाने। 6 तिनीहरूले यी मानिसहरूलाई प्रेरितहरूको अघि ल्याए र प्रेरितहरूले तिनीहरूमाथि हात राखेर प्रार्थना गरिदिए। 7 परमेश्वरको वचन चारैतिर फैलिँदै गयो। यरूशलेममा विश्वास गर्नेहरूको सङ्ख्या अत्यन्तै बढयो र यहूदी पूजाहारीहरूमध्ये धेरैले यस विश्वासलाई स्वीकार गरे। 8 परमेश्वरको शक्ति र अनुग्रहले पूर्ण भएर मानिसहरूका बीचमा स्तिफनसले ठूला-ठूला अचम्मका काम र चिन्हहरू गरे। 9 तर एक दिन स्वतन्त्र पारिएका कमाराहरूका सभाघर (यसको नाउँ यही थियो) बाट आएका कोही-कोहीले स्तिफनससँग वादविवाद गर्नथाले। तिनीहरू कुरेनी, अलेक्जेन्ड्रिया, किलिकिया र एसियाका प्रान्तबाट आएका थिए। 10 स्तिफनस जुन बुद्धि र आत्माद्वारा बोल्थे, त्यसको सामना तिनीहरूमध्ये कसैले गर्न सकेनन्, 11 तब तिनीहरूले केही मानिसहरूलाई गुप्तमा उक्साएर स्तिफनसको विरुद्धमा यसो भन्न लगाए ‘‘मोशा र परमेश्वरको विरुद्धमा यसले निन्दापूर्ण कुरा बोलेको हामीले सुनेका छौं।’’ 12 यस्तो कुराले जनतालाई, धर्मगुरुहरूलाई र धार्मिक व्यवस्थाका शिक्षकहरूलाई उक्साए अनि तिनीहरूले स्तिफनसलाई पक्रेर महासभाको अघि ल्याए। 13 झूटा गवाहीहरूले बयान दिए, ‘‘यो मानिस सधैँ नै मन्दिर र मोशाको व्यवस्थाको विरुद्धमा बोलिरहन्छ, 14 किनभने यसले यसो भनेको हामीले सुन्यौं, नासरतका येशूले यस ठाउँलाई नाश गर्नेछन् र मोशाले हामीलाई दिएका रीतिथिति पनि बदल्ने अरे।’’ 15 महासभामा उपस्थित सबैले तिनलाई एकटक लाएर हेरे, किनभने तिनको मुहार स्वर्गदूतको झैँ चहकिलो भएको थियो। 71 तब प्रधान पूूजाहारीले स्तिफनसलाई सोधे, ‘‘के यी आरोपहरू साँचो हुन् ?’’2 स्तिफनसले जवाफ दिए, ‘‘दाजुभाइ र आदरणीय बुबाहरू हो, मतिर ध्यान दिनुहोस् । महिमाका परमेश्वरले पुर्खा अब्राहाम हारानमा जानुभन्दा अघि मेसोपोटामियामा छँदा दर्शन दिनुभएको थियो 3 र तिनलाई भन्नुभएको थियो, ‘तिमी आफ्नो देश र आफन्तहरूलाई छोडेर, जुन देश म तिमीलाई देखाउँछु, त्यहाँ जाऊ।’ 4 तब अब्राहाम कल्दीहरूको देश छोडेर आफ्नो पिताको मृत्यु नहुन्जेल हारानमा बसे। त्यसपछि परमेश्वरले तिनलाई त्यहाँबाट यस मुलुकमा ल्याउनुभयो, जहाँ अहिले तपाईंहरू बसिरहनुभएको छ। 5 अनि परमेश्वरले तिनलाई यस मुलुकमा जायजेथा त परै जाओस्, पाइला टेक्ने ठाउँसम्म पनि दिनुभएन। तर परमेश्वरले अब्राहामसँग प्रतिज्ञा गर्नुभयो कि आखिरी समयमा सारा देश अब्राहाम र तिनका सन्तानको अधिकारमा रहनेछ। तापनि त्यसबेलासम्म तिनको सन्तान थिएन। 6 तर परमेश्वरले यसो पनि भन्नुभयो, ‘तेरा सन्तान अरुको मुलुकमा गएर बस्नेछ्न् , जहाँ उनीहरूले तिनीहरूलाई कमारा तुल्याएर चार सय वर्षसम्म थिचोमिचो गरी राख्नेछन्।’ 7 परमेश्वरले भन्नुभयो, ‘तर तिनीहरूलाई कमारा तुल्याउने जातिलाई म दण्ड दिनेछु अनि त्यसपछि तिनीहरू निस्किआएर यसै ठाउँमा मेरो सेवा गर्नेछन्।’ 8 त्यो समयमा परमेश्वरले अब्राहामलाई खतनाको करार पनि दिनुभयो। अब्राहामको छोरा इसहाकको आठौं दिनमा खतना भयो। इसहाक याकूबका पिता थिए र याकूब बाह्र कुलका पिता भए। 9 पुर्खाहरूले योसेफसँग डाह गरेर तिनलाई मिश्रमा बेचिदिए तापनि परमेश्वर तिनीसित हुनुहुन्थ्यो, 10 परमेश्वरले तिनका सारा कष्टबाट छुटाएर मिश्रदेशका राजा फारोको सामुन्ने तिनीमाथि कृपा र बुद्धि खन्याउनुभयो र फारोले तिनलाई मिश्रदेश र उनका सारा घरानाका हाकिम तुल्याए। 11 त्यसपछि सारा मिश्रदेश र कनानमा अनिकाल पर्यो । हाम्रा पुर्खाहरू भोजनको अभावले ठूलो सङ्कटमा परे । 12 याकूबले मिश्रदेशमा अन्न छ भन्ने कुरा सुनेपछि हाम्रा पुर्खाहरूलाई केही अन्न किन्न त्यहाँ पठाए। 13 जब तिनीहरू दोस्रोपल्ट त्यहाँ पुगे, योसेफले तिनका दाजु-भाइहरूलाई आफ्नो परिचय दिए र फारोसँग पनि तिनीहरूलाई परिचय गराए। 14 यसपछि योसेफले आफ्ना पिता याकूब र आफ्ना सारा कुटुम्बलाई आफूकहाँ बोलाए, तिनीहरूको संख्या पचहत्तर थियो। 15 याकूब मिश्रदेशमा गए र उनीलगायत हाम्रा सबै पुर्खाहरू त्यहीँ नै मरे। 16 शकेमबासी हमोरका छोराहरूबाट अब्राहामले किनेको जमीन शकेममा थियो, त्यहीँ चिहान तयार गरेर तिनीहरूका मृत शरीरहरू राखिए। 17 तर जब परमेश्वरले अब्राहामसँग बाँध्नुभएको करार पूरा हुने समय नजिक आइपुग्यो, तब मिश्रदेशमा रहेका हाम्रा मानिसहरूको संख्या तीव्रगतिले बढयो, 18 मिश्रदेशमा योसेफलाई नचिन्ने एक नयाँ राजा खडा नभइन्जेल यस्तो भयो। 19 यो राजाले हाम्रा जातिसँग धूर्तताको व्यवहार गरे र हाम्रा पुर्खाहरूलाई थिचोमिचो गरे अनि तिनीहरूले उनीहरूका बालकहरूसमेत नबाँचून् भनेर फाल्न लगाए। 20 त्यही समयमा मोशाको जन्म भयो। तिनी परमेश्वरको दृष्टिमा सुन्दर थिए। तिनी तीन महिनासम्म आफ्नो आमा-बुबाको घरमा पालिए। 21 अनि तिनी फालिएपछि फारोकी छोरीले तिनलाई उठाएर लगिन् र आफ्नै छोरासरह पालिन्। 22 मिश्रीहरूले सिक्ने विद्यामा मोशालाई निपुण बनाइयो अनि मोशा वचन र काम दुवैमा शक्तिशाली भए। 23 चालीस वर्षको उमेरमा टेकेपछि मोशाले आफ्ना इस्राएली दाजु-भाइहरूलाई भेट्ने निर्णय गरे। 24 यो भेटघाटको अवधिमा मोशाले आफ्ना जातभाइमध्ये एक जनामाथि एक मिश्रीद्वारा अत्याचार भइरहेको देखेर त्यस मिश्रीलाई मारे अनि बदलालिए र आफ्नो भाइको रक्षा गरे। 25 तिनीहरूलाई अत्याचारबाट छुटकारा दिलाउन परमेश्वरले तिनलाई पठाउनुभएको हो भन्ने कुरा आफ्ना भाइबन्धुले बुझ्लान् भनी मोशाले सोचेका थिए । तर तिनीहरूले सो बुझेनन्। 26 भोलिपल्टको भ्रमणमा आउँदा तिनले दुई जना इस्राएलीहरू आपसमा झगडा गरिरहेका देखे र तिनीहरूलाई मिलाउने कोशिश गरेर भने, ‘हे मानिस हो, तिमीहरू त दाजु-भाइ हौ, तब किन एकले अर्कोलाई चोट पारिरहेका छौ?’ 27 तर चोट पुर्याउने मानिसले मोशालाई घचेटेर भन्न थाल्यो, ‘तिमी आफ्नो बाटो लाग, कसले तिमीलाई हामीमाथि शासन गर्ने र न्याय गर्ने तुल्यायो?’ त्यसले फेरि सोध्यो, 28 ‘हिजो त्यस मिश्रीलाई मारेजस्तै तिमी मलाई पनि मार्न खोज्छौ?’ 29 यो कुरा सुनेर मोशा त्यो ठाउँ छोडेर भागे र मिद्यानमा परदेशीको रूपमा बस्नथाले, जहाँ तिनका दुई छोराहरू जन्मे। 30 त्यहाँ बसेको चालीस वर्ष बितिसक्दा, सीनै पर्वतको उजाड-स्थानमा जलिरहेको पोथ्राको ज्वालामा एक स्वर्गदूत मोशाकहाँ देखा परे। 31 मोशाले यो देखे र के होला भन्दै छक्क परे। जब तिनी हेर्न गए तब प्रभुको आवाजले तिनलाई बोलाउनुभएको तिनले सुने: 32 ‘म तेरा पुर्खाहरूका परमेश्वर हुँ, म अब्राहाम, इसहाक र याकूबका परमेश्वर हुँ।’ मोशा डरले काम्न लागे र तिनले हेर्ने आँट गरेनन्। 33 तब परमप्रभुले तिनलाई भन्नुभयो, ‘तेरो खुट्टाबाट जुत्ता फुकाल्, किनभने तँ उभिएको ठाउँ पवित्र छ, 34 तँलाई थाहा होस् कि, मैले मेरा मानिसहरूको दु:ख देखेको छु। मैले तिनीहरूको चित्कार सुनेको छु। तिनीहरूलाई बचाउन म ओर्लिआएको छु। अब आइज, म तँलाई मिश्रदेशमा नै पठाउनेछु।’ 35 अनि परमेश्वरले तिनै मोशालाई पठाउनुभयो, जसलाई मानिसहरूले ‘कसले तिमीलाई हामीमाथि शासन गर्ने र न्याय गर्ने तुल्यायो?’ भनी इन्कार गरेका थिए। तिनलाई जलिरहेको पोथ्रामा देखा पर्ने स्वर्गदूतको सन्देशद्वारा इस्राएलीहरूमाथि शासक र उद्धारकर्ता हुनलाई पठाइएको थियो। 36 तिनले मिश्रदेश, लालसमुद्र र चालीस वर्षभरि उजाड-स्थानमा उदेकका काम र आश्चर्यजनक चिन्हहरू गर्दै इस्राएलीहरूलाई मिश्रदेशदेखि बाहिर ल्याइपुर्याए। 37 मोशा आफैले इस्राएलीहरूलाई बताएका थिए, ‘परमेश्वरले मलाई खडा गर्नुभएजस्तै तिमीहरूका दाजु-भाइहरूमध्येबाट नै तिमीहरूका निम्ति एक अगमवक्ता खडा गर्नुहुनेछ।’ 38 यी तिनै मोशा हुन्, जो उजाड-स्थानमा भएको समुदायमा स्वर्गदूतसँग थिए, जुन स्वर्गदूतले सीनै पर्वतमा र हाम्रा पुर्खाहरूसँग बोलेका थिए र तिनैले हामीलाई दिनका निम्ति जीवित वाणीहरू पाएका थिए। 39 हाम्रा पुर्खाहरूले मोशालाई इन्कार गरे अनि मिश्रदेश नै फर्केर जाने इच्छा गरे। 40 तिनीहरूले हारूनलाई यसो भने, ‘हाम्रा अगिअगि लाग्ने केही देवताहरू बनाइदिनुहोस्, किनकि हामीलाई मिश्रदेशबाट निकाली ल्याउने यी मोशालाई के भयो, सो हामीलाई थाहा छैन।’ 41 त्यसपछि तिनीहरूले बाछोको आकारको मूर्त्ति बनाए र त्यसमा बलि पनि चढाए अनि आफ्नै हातले बनाएका कुरामा उत्सव मनाए। 42 तब परमेश्वरले आफ्नो दृष्टि तिनीहरूबाट हटाउनुभयो। अनि तिनीहरूलाई सूर्य, चन्द्र र तारामण्डलको पूजा गर्न छोडिदिनुभयो। जस्तो अगमवक्ताहरूको पुस्तकमा लेखिएको छ: ‘इस्राएलका मानिस हो, के तिमीहरूले चालीस वर्षसम्म उजाड-स्थानमा चढाएका बलिहरू मेरानिम्ति थिए र? 43 तिमीहरूले मोलोखको तम्बू, रेफन देवताको तारा र पुज्नलाई बनाएका मूर्त्तिहरू उठाइलग्यौ। यसैले, म तिमीहरूलाई बेबिलोनजस्तो टाढा ठाउँमा कैदी बनाएर पठाउनेछु।’ 44 उजाड-स्थानभरि हाम्रा पुर्खाहरूले एउटा साक्षीको पाल बोकिहिँडे। परमेश्वरद्वारा मोशालाई देखाइएको योजनागत ढाँचामा यो बनाइएको थियो। 45 त्यस पाललाई पछिबाट आउने हाम्रा पुर्खाहरूले प्राप्त गरेर यहोशूको साथमा अयहूदीहरूको देशभित्र ल्याए, जुन अयहूदीहरूलाई परमेश्वरले हाम्रा पुर्खाहरूका सामुबाट दाऊदको समयसम्म लखेट्नुभयो। 46 दाऊदले परमेश्वरको निगाह पाए र याकूबको परमेश्वरको निम्ति सधैँ रहिरहने भवन बनाउने अनुमति मागे। 47 तर उहाँको निम्ति त्यो भवन सोलोमनले बनाए। 48 तापनि मानिसहरूका हातले बनाएको मन्दिरहरूमा सर्वोच्च परमेश्वर वास गर्नुहुन्न, जसरी अगमवक्ताले भनेका छन् : 49 ‘स्वर्ग मेरो सिंहासन हो र पृथ्वी मेरो खुट्टाको पाउदान, तिमीहरूले मेरोलागि कस्तो मन्दिर बनाउँछौ? परमेश्वर सोध्नुहुन्छ, मेरो विश्रामको ठाउँ कुन हो? 50 के यी सबै कुरा मैले नै बनाएको होइन र?’ 51 हे जिद्दी गर्ने मानिसहरू हो, हृदयमा तपाईंहरू अयहूदीसरह र सत्यताको निम्ति बहिरा हुनुहुन्छ। तपाईंहरूका पुर्खाले जस्तो गरे तपाईंहरू पनि त्यस्तै गर्नुहुन्छ । 52 एक जना यस्तो अगमवक्ताको नाउँ तोक्नुहोस्, जसलाई तपाईंहरूका पुर्खाहरूले सताएनन्? धर्मीजनको आगमनको अगमवाणी गर्नेहरू सबैको तिनीहरूले हत्या गरे। उहाँलाई तपाईंहरूले विश्वासघात गर्नुभयो र उहाँको हत्या गर्नुभयो। 53 स्वर्गदूतहरूको मुखबाट सुनाइएको व्यवस्था तपाईंहरूले पाउनुभयो तर तपाईंहरूले जानीबुझी पालन गर्नुभएन।’’ 54 स्तिफनसले अभियोग लगाएको सुनेपछि, यहूदी अगुवाहरू रीसले चुरमुरिएर दाह्रा किट्न थाले। 55 तर स्तिफनस पवित्र आत्माले भरिपूर्ण भएर उँभो स्वर्गतिर एकटक लाएर हेरिरहे। त्यहाँ तिनले परमेश्वरको महिमा र परमेश्वरको दाहिनेपट्टिसम्मानित स्थानमा येशूलाई उभिरहनुभएको देखे। 56 अनि तिनले भने, ‘‘हेर्नुहोस् त, म स्वर्ग उघ्रेको र मानिसको पुत्रलाई परमेश्वरको दाहिने हातपट्टि सम्मानित स्थानमा उभिरहनुभएको देख्तछु।’’ 57 तब तिनीहरूले आ-आफ्नो कान थुने अनि तिनको आवाज छोपिने गरी चर्को सोरले कराउँदै उठे र तिनीहरू एकसाथ तिनीमाथि झम्टे। 58 तिनीहरूले स्तिफनसलाई शहरबाहिर घिस्याउँदै लगेर ढुङ्गाले हिर्काए। त्यस घटनाका साक्षीहरूले आ-आफ्ना लुगा शाऊल नामक एक युवकको खुट्टानेर राखे। 59 जुन बेला तिनीहरूले स्तिफनसमाथि ढुङ्गा हानिरहेका थिए, तिनले प्रार्थना गरे, ‘‘हे प्रभु येशू, मेरो आत्मालाई ग्रहण गर्नुहोस्।’’ 60 तिनले घुँडा टेकेर प्रार्थना गरे, ‘‘हे प्रभु, यिनीहरूलाई यो पापको दोष नलागोस्।’’ यति भनेर तिनले प्राण त्यागे। 81 तिनको हत्यामा सहमत भएकाहरूमध्ये शाऊल पनि एक थिए, त्यही दिन यरूशलेमको मण्डलीको विरुद्धमा ठूलो सतावट शुरु भयो र प्रेरितहरूबाहेक अरु सबै जना यहूदिया र सामरियाका क्षेत्रहरूभरि छरपस्ट भए।2 अनि भक्तजनहरूले स्तिफनसलाई गाडे र तिनको निम्ति ठूलो विलाप गरे, 3 शाऊलले मण्डलीलाई खेदो गर्न शुरु गरे, तिनले घरघर पसेर पुरुष र स्त्रीहरूलाई घिसार्दै झ्यालखानमा हाले। 4 तर छरपस्ट भएका विश्वासीहरूले चारैतिर वचनको प्रचार गर्दै गए। 5 अनि फिलिप सामरियाको एउटा शहरभित्र पसे र ख्रीष्टको विषयमा मानिसहरूलाई बताए। 6 फिलिपले बोलेको वचन सुनेर अनि तिनले गरेका आश्चर्यकर्महरू देखेर मानिसहरूले तिनको कुरामा ध्यान दिए। 7 धेरै दुष्टात्माहरू ठूलो स्वरले चिच्च्याउँदै मानिसहरूबाट निस्के अनि धेरै पक्षाघातीहरू र लङ्गडाहरू निको पारिए। 8 त्यसले गर्दा त्यस शहरमा ठूलो आनन्द छायो। 9 त्यस शहरमा केही समयदेखि सिमोन नाउँ भएको एक जादुगरले टुनामुना गरेर सामरियाका मानिसहरूलाई चकित पारेको थियो, उसले आफू एक महान् व्यक्ति भएको दाबी गर्थ्यो। 10 सामरियाका ठूला-साना सबै मानिसहरूले उसलाई ‘‘ईश्वरीय शक्ति भएको महान् व्यक्ति’’ भन्ने गर्थे। 11 उसले देखाएको जादुगरीको कारण ऊ प्रभावशाली भएको थियो। 12 तर अब फिलिपद्वारा मानिसहरूले परमेश्वरको राज्य र येशू ख्रीष्टको नाउँको सुसमाचार सुनेर विश्वास गर्नथाले। फलस्वरूप, धेरै पुरुष र स्त्रीहरूलेबप्तिस्मा लिए। 13 तब सिमोन आफैले पनि विश्वास गरी बप्तिस्मा लियो। ऊ फिलिपको साथ लाग्यो अनि फिलिपद्वारा भएका चिन्ह र आश्चर्यकर्महरू देखेर छक्क पर्यो। 14 जब सामरियाका मानिसहरूले परमेश्वरको सन्देश ग्रहण गरे भनी यरूशलेममा रहेका प्रेरितहरूले सुने, त्यहाँ तिनीहरूले पत्रुस र यूहन्नालाई पठाए। 15 तिनीहरू त्यहाँ पुग्नेबित्तिकै नयाँ ख्रीष्टियनहरूले पवित्र आत्मा पाऊन् भनी प्रार्थना गरिदिए। 16 त्यतिन्जेलसम्म पवित्र आत्मा तिनीहरूमध्ये कोहीमाथि पनि आउनुभएको थिएन, तिनीहरूले प्रभु येशूको नाउँमा बप्तिस्मा मात्र लिएका थिए। 17 त्यसपछि पत्रुस र यूहन्नाले ती विश्वासीहरूमाथि आफ्ना हात राखे अनि तिनीहरूले पवित्र आत्मा पाए। 18 प्रेरितहरूले मानिसहरूको शिरमाथि हात राख्दा पवित्र आत्मा आउनुभएको जब सिमोनले देख्यो, तब उसले त्यो शक्ति किन्न पैसा टक्रयाउँदै 19 भन्यो, ‘‘मलाई पनि यो शक्ति दिनुहोस् र जसकसैमाथि मैले हात राख्दा तिनीहरूले पवित्र आत्मा पाऊन्।’’ 20 तर पत्रुसले जवाफ दिए, ‘‘परमेश्वरको वरदान किन्न सकिन्छ भन्ने तिम्रो विचारसितै तिम्रो पैसा पनि नष्ट भइहालोस्। 21 यसमा तिम्रो न त कुनै भाग न हिस्सा नै छ, किनभने परमेश्वरको दृष्टिमा तिम्रो हृदय ठीक छैन। 22 आफ्नो दुष्टयाइँबाट फर्क र प्रभुलाई पुकार। हुनसक्छ, उहाँले तिम्रा दुष्ट विचारहरूलाई क्षमा गर्नुहुन्छ। 23 किनभने म देख्दैछु कि तिमी तितोपनले भरिएका र पापद्वारा बाँधिएका छौ।’’ 24 तर सिमोनले विन्ती गर्यो, ‘‘मेरोनिम्ति प्रभुलाई प्रार्थना गरिदिनुहोस् र यस्तो कुरा ममाथि नघटोस्।’’ 25 तर सिमोनले विन्ती गर्यो, ‘‘मेरोनिम्ति प्रभुलाई प्रार्थना गरिदिनुहोस् र यस्तो कुरा ममाथि नघटोस्।’’ 26 परमप्रभुका दूतले फिलिपलाई भने, ‘‘उठ, र यरूशलेमदेखि गाजातिर जाने मरुभूमिको दक्षिणपट्टि जाऊ।’’ 27 उनी उठे र गए अनि हेर, त्यहाँ इथियोपियाली कन्दाकी रानीका महान् अख्तियारमुनि रहेका एक नपुंसक कोष-प्रबन्धक थिए । तिनी यरूशलेमतिर आराधना गर्न गएका थिए। 28 अनि आफ्नो रथमा घर फर्किरहँदा उनले अगमवक्ता यशैयाको पुस्तक पढिरहेका थिए। 29 पवित्र आत्माले फिलिपलाई भन्नुभयो, ‘‘जाऊ, यस रथको साथ लागेर हिँड।’’ 30 फिलिप दगुरेर गए अनि त्यस मानिसले अगमवक्ता यशैयाको पुस्तकबाट पढ्दै गरेको सुने र तिनले सोधे, ‘‘तपाईंले पढिरहनुभएको पुस्तक बुझ्दै हुनुहुन्छ?’’ 31 ती मानिसले जवाफ दिए, ‘‘यसको अर्थ बताइदिने कोही नहुन्जेल म कसरी बुझ्न सक्छु र?’’ अनि उनले फिलिपलाई रथमा चढेर आफूसित बस्ने आग्रह गरे। 32 उनले पढिरहेका धर्मशास्त्रको खण्ड यो थियो, ‘‘जसरी भेडालाई काट्न लगिन्छ, त्यसरी नै उहाँलाई लगियो र जसरी ऊन कत्रनेको सामु भेडा चुप लागेर बस्छ, त्यसैगरी उहाँले पनि आफ्नो मुख खोल्नुभएन। 33 उहाँको अपमानित अवस्थामा उहाँ न्यायबाट वञ्चित हुनुभयो, उहाँका पुस्ताको कसले वर्णन गर्नसक्छ? किनकि उहाँको जीवन पृथ्वीबाट हटाइयो।’’ 34 नपुंसकले फिलिपलाई सोधे, ‘‘कृपा गरी मलाई भन्नुहोस्, अगमवक्ताले यो आफ्नैबारेमा कि अरु कसैको बारेमा भनेका हुन्?’’ 35 यसैले फिलिपले धर्मशास्त्रको त्यही खण्डबाट शुरु गरेर उनलाई येशूको बारेमा बताए। 36 बाटोमा जाँदै गर्दा, तिनीहरू केही पानी भएको ठाउँमा पुगे र नपुंसकले भने, ‘‘हेर्नुहोस् यहाँ पानी रहेछ, म किन बप्तिस्मा लिन सक्तिनँ?’’ 37 फिलिपले भने, ‘‘यदि तपाईंले सारा हृदयले नै विश्वास गर्नुहुन्छ भने बप्तिस्मा लिन सक्नुहुन्छ।’’ उनले जवाफ दिए, ‘‘येशू ख्रीष्ट नै परमेश्वरका पुत्र हुनुहुन्छ भनी म विश्वास गर्छु।’’ 38 त्यति भनिसकेर उनले रथ रोक्न लगाए। अनि फिलिप र नपुंसक पानीभित्र गए र फिलिपले उनलाई बप्तिस्मा दिए। 39 जब तिनीहरू पानीबाट बाहिर निस्के, प्रभुको आत्माले फिलिपलाई अकस्मात् लिएर जानुभयो र नपुंसकले फिलिपलाई फेरि देखेनन्, तर उनी रमाउँदै आफ्नो बाटो लागे। 40 त्यही बेला फिलिपले आफैलाई अश्दोदमा पाए। तिनले त्यहाँ सुसमाचार सुनाए र बाटोमा पर्ने हरेक शहरमा कैसरिया नपुगुन्जेलसम्म प्रचार गरिरहे। 91 त्यतिबेला, शाऊलले सम्पूर्ण शक्ति लगाएर धम्की दिइरहेका थिए। प्रभुका चेलाहरूको हत्या गर्ने इच्छाले तिनी प्रधान पूजाहारीकहाँ गए2 अनि यस मार्गलाई पालन गर्ने कुनै पनि पुरुष वा स्त्रीलाई बाँधेर यरूशलेममा ल्याउन पाऊँ भनी तिनले पुर्जी मागे। 3 आफ्नो उद्देश्यको निम्ति तिनी दमस्कस पुग्नलाग्दा, स्वर्गबाट अचानक चम्किलो ज्योति तिनको वरिपरि चम्क्यो। 4 तिनी भुइँमा लडे र यसो भन्ने आवाज सुने, ‘‘हे शाऊल, शाऊल, किन तैँले मलाई सताउँदै छस्?’’ 5 शाऊलले प्रश्न गरे, ‘‘प्रभु, तपाईं को हुनुहुन्छ?’’ अनि उहाँले भन्नुभयो, ‘‘म येशू हुँ, जसलाई तैँले सताइरहेको छस्? 6 अब उठ्, र शहरभित्र जा अनि तैँले जे गर्नुपर्छ त्यो त्यहाँ बताउनेछु।’’ 7 शाऊलसित भएका मानिसहरू छक्क पर्दै अवाक भई उभिरहे, किनभने तिनीहरूले आवाज सुने तर कसैलाई देखेनन्। 8 तब शाऊल भुइँबाट उठे, तिनका आँखाहरू खुल्लै भए तापनि तिनले केही देखेनन् । यसैले तिनका साथीहरूले शाऊललाई हातमासमातेर डोर्याउँदै दमस्कससम्म पुर्याए। 9 अनि तीन दिनसम्म तिनी नदेख्ने भए र तिनले न त खाए, न त पिए। 10 त्यसबेला दमस्कसमा हननिया नाउँ भएको एक जना चेला थिए। प्रभुले उनलाई दर्शनमा बोलाउँदै भन्नुभयो, ‘‘ए हननिया !’’ उनले जवाफ दिए, ‘‘ज्यू प्रभु हाजिर छु।’’ 11 प्रभुले भन्नुभयो, ‘‘सीधा भनिने गल्लीमा जाऊ, त्यहाँ यहूदाको घर छ। त्यहाँ पुगेपछि टार्ससको शाऊललाई सोध। अहिले ऊ मलाई प्रार्थना गरिरहेको छ। 12 दर्शनमा हननिया नाउँको व्यक्तिले आफ्नो टाउकोमा उसका हातहरू राखेर आँखा देख्ने तुल्याएको तिनले देखेका छन्।’’ 13 तर हननियाले जवाफ दिए,‘‘प्रभु, यो मानिसले यरूशलेममा वास गर्ने तपाईंका सन्तगणलाई सताएको कुरा मैले सुनेको छु। 14 अनि यहाँ पनि तपाईंको नाउँ लिने सबैलाई बाँध्ने अधिकार मुख्य पूजाहारीहरूबाट तिनले प्राप्त गरेका छन्।’’ 15 तर प्रभुले तिनलाई भन्नुभयो, ‘‘जाऊ र म जे भन्छु त्यही गर, किनभने शाऊललाई मैले अयहूदीहरू, राजाहरू र इस्राएलीहरूलाई समेत मेरो वचन सुनाउनलाई छानेको छु। 16 अनि मेरो नाउँको खातिर तिनले कति दु:ख भोग्नुपर्छ, त्यो म तिनलाई देखाउनेछु।’’ 17 तब हननिया गए र त्यस घरभित्र पसे। उनले तिनीमाथि आफ्नो हात राखेर भने, ‘‘भाइ शाऊल, तपाईंले बाटोमा देख्नुभएको प्रभु येशूले तपाईं देख्नसक्ने हुनुहोस् र पवित्र आत्माद्वारा भरिनुहोस् भनी मलाई पठाउनुभएको छ।’’ 18 अनि तुरुन्तै शाऊलका आँखाहरूबाट पाप्राजस्तो केही खसे र तिनी देख्ने भए। तब तिनी जुरुक्क उठे र बप्तिस्मा लिए। 19 त्यसपछि तिनले भोजन खाएर बल पाए। शाऊल धेरै दिनसम्म विश्वासीहरूसित दमस्कसमा बसे। 20 अनि तिनले तुरुन्तै ख्रीष्ट परमेश्वरका पुत्र हुनुहुन्छ भनी सभाघरहरूमा प्रचार गर्न थाले। 21 तिनको कुरा सुन्नेहरू सबैले छक्क परेर सोधे,‘‘ जसले यरूशलेममा येशूका चेलाहरूलाई नाश गर्ने विचारले सताउँदै थियो, यो त्यही मानिस होइन, के त्यो यहाँ तिनीहरूलाई पक्रेर मुख्य पूजाहारीहरूकहाँ पुर्याउन आएको होइन ?’’ 22 शाऊलको प्रचार झन्झन् शक्तिशाली हुँदै गयो अनि तिनले दमस्कसवासी यहूदीहरूलाई येशू साँच्चै ख्रीष्ट हुनुहुन्छ भन्ने प्रमाण दिएर निरुत्तर बनाए। 23 अनि धेरै दिनपछि यहूदीहरूले तिनलाई मार्ने षडयन्त्र गरे। 24 तर शाऊलले तिनीहरूको षडयन्त्रको सुइँको पाए। उनीहरू तिनलाई मार्न रातदिन शहरका ढोकाहरूमा ढुकिबस्थे। 25 यसैले चेलाहरूले तिनलाई टोकरीमा बसाएर शहरको पर्खालबाट तल झारिदिए। 26 जब शाऊल यरूशलेममा आइपुगे, तिनले विश्वासीहरूसित भेट्ने कोशिश गरे तर सबै विश्वासीहरू तिनीसँग डराए। तिनी एक चेला हुन् भनी तिनीहरूले विश्वास गरेनन्। 27 तर बर्णाबासले तिनलाई समातेर प्रेरितहरूकहाँ ल्याए र तिनीहरूलाई यो बताइदिए कि कसरी तिनले प्रभुलाई बाटोमा देखे र उहाँ तिनीसित बोल्नुभयो अनि कसरी तिनले दमस्कसमा निर्भिक भएर येशूको नाउँमा प्रचार गरे। 28 अनि तिनी यरूशलेममा भित्रबाहिर गर्दै उनीहरूसितै रहन्थे। 29 अनि तिनी प्रभु येशूको नाउँमा साहससँग बोल्थे र ग्रीकभाषा बोल्ने यहूदीहरूसँग तर्क गर्थे तर उनीहरूले तिनलाई मार्नखोजे । 30 यस्तो कुरा विश्वासीहरूले जब सुने, उनीहरूले तिनलाई कैसरिया ल्याए र टार्ससमा पठाइदिए। 31 त्यसपछि यहूदिया, गालील र सामरियाका मण्डलीहरूमा शान्ति छायो अनि मण्डली बलियो भयो र संख्यामा बढ्दै गयो। विश्वासीहरू प्रभुको भयमा र पवित्र आत्माको सान्त्वनामा हिँडिरहेका थिए। 32 पत्रुस यताउति सबै ठाउँमा यात्रा गर्दै लुड्डामा भएका सन्तहरूकहाँ पनि आइपुगे। 33 तिनले त्यहाँ एनियास नाउँ भएको एक जना मानिसलाई भेटे, जो आठवर्षदेखि पक्षाघातले थला परेको थियो। 34 पत्रुसले त्यसलाई भने, ‘‘ए एनियास, येशू ख्रीष्टले तँलाई निको पार्नुहुन्छ। उठ् र आफ्नो ओछयान उठा।’’ अनि त्यो तुरुन्तै उठिहाल्यो। 35 अनि लुड्डा र शारोनमा बस्नेजति सबै जना त्यसलाई देखेर प्रभुतिर फर्किए। 36 योप्पामा तबीता (ग्रीकभाषामा ‘डोरकास’) नाउँकी एउटी विश्वासी थिइन्। तिनी असल काम गर्न र दानपुण्यमा लागिरहन्थिन्। 37 ती दिनहरूमा तिनी बिरामी परिन् र मरिन् अनि मानिसहरूले लाशलाई नुहाइदिए र माथिल्लो तलाको एउटा कोठामा राखे। 38 लुड्डा योप्पाको नजिक भएको हुनाले, चेलाहरूले पत्रुस त्यहाँ छन् भन्ने सुनेर तिनीकहाँ दुई जना मानिसलाई यसो भनी पठाए, ‘‘हामीकहाँ झट्टै आउनुहोस्।’’ 39 तब पत्रुस तिनीहरूसित गए अनि जब उनी त्यहाँ पुगे, तिनीहरूले उनलाई माथिल्लो कोठामा पुर्याए। विधवाहरू सबै तिनको नजिक उभिएर रोइरहेका थिए र तिनीहरूले तबीता तिनीहरूसित हुँदा तिनले बनाइराखेका पोशाक र अरु वस्त्र देखाए। 40 तर पत्रुसले कोठाभित्रका सबैलाई बाहिर जाने आग्रह गरे अनि घुँडा टेकी प्रार्थना गरे र लाशतिर फर्केर भने, ‘‘ए तबीता उठ।’’ अनि तिनले आँखा खोलिन् र पत्रुसलाई देखेर उठेर बसिन्। 41 उनले तिनलाई आफ्नो हात दिएर जुरुक्कै उठाए। तब उनले सबै सन्तगण र विधवाहरूलाई भित्र बोलाए अनि तिनको जीवित शरीर सुम्पिदिए। 42 अब यो कुरा सारा योप्पाभरि फैलियो र धेरैले प्रभुमा विश्वास गरे। 43 अनि छालाको काम गर्ने सिमोनसँग पत्रुस धेरै समयसम्म योप्पामा नै बसे। 101 कैसरियामा कर्नेलियस नाउँ भएका रोमी सैनिक अधिकारी बस्थे, जो इटालिया पल्टनका एक कप्तान थिए।2 तिनी एक भक्त थिए र तिनका सम्पूर्ण परिवारले इस्राएलका परमेश्वरको भय मान्थे। तिनले मानिसहरूलाई उदारतासित दान दिन्थे अनि परमेश्वरसँग निरन्तर प्रार्थना गरिरहन्थे। 3 लगभग तीन बजेतिर तिनले दर्शनमा परमेश्वरको एक स्वर्गदूत आफूतिर आइरहेको स्पष्ट देखे। स्वर्गदूतले ‘‘हे कर्नेलियस’’ भनेको तिनले सुने। 4 तिनले स्वर्गदूतलाई देखे र भयभीत हुँदै भने, ‘‘हे प्रभु यो के हो ?’’ अनि स्वर्गदूतले जवाफ दिए, ‘‘तिम्रा प्रार्थना र गरीबहरूलाई दिएका दान परमेश्वरले देख्नुभएको छ। 5 अब सिमोन पत्रुस नाउँ भएको मानिसलाई बोलाउन केही मानिसहरूलाई योप्पामा पठाऊ। 6 समुद्र किनारमा बस्ने छालाको काम गर्ने सिमोनसँग तिनी बसेका छन्। तिनलाई बोलाऊ र तिमीले के गर्नुपर्छ सो तिनले तिमीलाई बताउनेछन्।’’ 7 स्वर्गदूत जानेबित्तिकै कर्नेलियसले घरका दुई जना नोकरहरू र निरन्तर सेवाटहल गर्ने एक जना भक्त सिपाहीलाई बोलाए 8 र तिनीहरूलाई सबै कुरा बताएर योप्पामा पठाए। 9 भोलिपल्ट कर्नेलियसबाट खबर ल्याउनेहरू उता शहरको नजिक आइपुग्न लागेको बेला यता पत्रुस घरको छानामा प्रार्थना गर्न उक्ले। यतिबेला बाह्र बज्दै थियो। 10 उनी भोकाएका थिए। तर दिउँसोको भोजन तयार हुँदै गर्दा उनी अचेत अवस्थामा पुगे। 11 उनले आकाश उघ्रेको र चारवटा कुना भएको ठूलो तन्नाजस्तो केही थोक झर्दै गरेको देखे। 12 त्यो तन्नामा पृथ्वीका सबै किसिमका चारखुट्टे जनावर, घस्रने जन्तु र आकाशका चराचुरुङ्गी थिए। 13 तब उनीकहाँ यस्तो आवाज आयो, ‘‘हे पत्रुस उठ र मारेर खाऊ। ’’ 14 तर पत्रुसले भने, ‘‘हुँदैन प्रभु, मैले कहिल्यै कुनै अपवित्र र अशुद्ध थोक खाएको छैनँ।’’ 15 दोस्रोपल्ट फेरि यसो भन्ने आवाज आयो, ‘‘परमेश्वरले शुद्ध पारेको थोकलाई अशुद्ध नठान।’’ 16 यस्तो तीनपल्टसम्म भयो र त्यो तन्ना तुरुन्तै माथि आकाशतिर लगियो। 17 अब आफूले देखेको दर्शनको अर्थ के होला भनी पत्रुस अलमल्ल परिरहेको बेला हेर, क र्नेलियसले पठाएका ती मानिसहरू सिमोनको घर खोज्दै ढोकाको सामुन्ने आइपुगे र 18 सिमोन पत्रुस बस्नुहुने घर यही हो ? भनी तिनीहरूले सोधे। 19 दर्शनको अर्थ के होला भनी विचार गरिरहँदा पत्रुसलाई आत्माले भन्नुभयो, ‘‘हेर, तीन जना मानिसहरू तिमीलाई खोज्दै आएका छन् । 20 तल झर, अनि तिनीहरूसित नहिचकिचाईकन जाऊ, किनभने मैले नै तिनीहरूलाई पठाएको हुँ।’’ 21 तब पत्रुस ओर्लेर ती मानिसहरूकहाँ गएर भने, ‘‘हेर्नुहोस् तपाईंहरूले खोज्नुभएको मानिस मै हुँ। तपाईंहरू के कामले आउनुभएको छ?’’ 22 तिनीहरूले भने, ‘‘हामी कप्तान कर्नेलियसद्वारा पठाइएका हौं । उनी परमेश्वरसँग डराउने एक भक्त र सबै यहूदीहरूद्वारा मानिएका मानिस हुन्। एक पवित्र स्वर्गदूतले उनलाई बताएअनुसार तपाईंले उनको घरमा गएर उनलाई सन्देश सुनाउनुहोस् भनी तपाईंलाई लिन आएका हौं।’’ 23 यसैले पत्रुसले ती मानिसहरूलाई भित्र बोलाएर सत्कार गरे। भोलिपल्ट पत्रुस तिनीहरू र योप्पाका अरु विश्वासीहरूसित गए। 24 पर्सिपल्ट तिनीहरू कैसरियामा पुगे। अब कर्नेलियसले आफन्तहरू र नजिकका साथीहरूलाई बोलाएर तिनीहरूलाई पर्खिरहेका थिए। 25 पत्रुस उनको घरभित्र पस्नेबित्तिकै कर्नेलियसले तिनका पाउमा परी दण्डवत् गरे। 26 तर पत्रुसले उनलाई उठाउँदै भने, ‘‘खडा हुनुहोस्। म पनि तपाईंजस्तै एक मानिस हुँ।’’ 27 तब तिनी उनीसित बातचित गर्दै घरभित्र पसे, त्यहाँ तिनले धेरै मानिसहरू जम्मा भएको देखे। 28 पत्रुसले तिनीहरूलाई भने, ‘‘तपाईंहरू जान्नुहुन्छ कि मेरोनिम्ति यसरी अयहूदी घरभित्र आउनु यहूदी व्यवस्थाको विरुद्ध हो। तर पनि मैले कसैलाई अपवित्र वा अशुद्ध भन्नुहुँदैन भन्ने कुरा परमेश्वरले मलाई देखाउनुभयो। 29 यसैले तपाईंहरूले मलाई बोलाउनुहुँदा कुनै प्रश्नै नगरी म आइहालेँ। यसकारण म सोद्धछु कि तपाईंहरूले मलाई कुन कारणले बोलाउनुभयो?’’ 30 कर्नेलियसले जवाफ दिए, ‘‘चार दिनअघि मैले तीन बजेतिर घरमा प्रार्थना गरिरहेको बेला अचानक चम्किलो पोशाक लगाएका व्यक्ति मेरोअघि उभिरहेको देखेँ। 31 उहाँले मलाई भन्नुभयो, ‘कर्नेलियस, तेरो प्रार्थनाको सुनाइभएको छ र गरीबहरूलाई तैँले दिएका दान परमेश्वरले देख्नुभएको छ। 32 अब योप्पामा मानिसहरू पठाएर सिमोन पत्रुसलाई बोला, जो समुद्रको किनारमा बस्ने छालाको काम गर्ने सिमोनको घरमा बसेका छन्।’ 33 यसर्थ, मैले तपाईंलाई तुरुन्तै बोलाउन लगाएँ अनि तपाईं आइदिनुभएको असल भयो। अब हामी यहाँ तपाईंलाई परमश्वरले दिनुभएको वचन सुन्न परमेश्वरको अघि पर्खिरहेका छौं।’’ 34 तब पत्रुसले उत्तर दिए, ‘‘मैले स्पष्टसँग के बुझ्दैछु भने परमेश्वरले पक्षपात गर्नुहुन्न, 35 तर उहाँसित डराउने अनि सही काम गर्ने कुनै पनि स्थान र जातको मानिसलाई उहाँले ग्रहण गर्नुहुन्छ। 36 सबैका प्रभु ख्रीष्ट येशूद्वारा प्रचार गरिएको शान्तिको सुसमाचार परमेश्वरले इस्राएलका मानिसहरूका निम्ति पठाउनुभएको हो भनी तपाईंहरूलाई थाहा नै छ। 37 बप्तिस्मा दिने यूहन्नाले प्रचार गरेदेखि यता गालीलदेखि शुरु हुँदै सारा यहूदियाभरि घटेका घटनाहरूको बारेमा तपाईंहरू जान्नुहुन्छ। 38 अनि यसमा सन्देह छैन कि परमेश्वरले नासरतका येशूलाई पवित्र आत्मा र शक्तिले अभिषिक्त तुल्याउनुभयो, यो तपाईंहरूलाई थाहा छ। त्यसपछि येशू असल काम गर्नुहुँदै र शैतानद्वारा सताइएकाहरूलाई निको पार्नुहुँदै चारैतिर जानुभयो, किनभने परमेश्वर उहाँसित हुनुहुन्थ्यो। 39 इस्राएली मुलुकभरि र यरूशलेममा उहाँले जे गर्नुभयो, हामी ती सबै कुराको गवाही छौं । तिनीहरूले उहाँलाई क्रूसमा झुन्डयाएर मारे। 40 तर परमेश्वरले उहाँलाई तीन दिनपछि पुनर्जीवित पार्नुभयो र उहाँलाई खुल्लमखुल्ला प्रकट गर्नुभयो। 41 सबै मानिसहरूकहाँ त होइन, तर परमेश्वरद्वारा पहिल्यै चुनिएका साक्षीहरूकहाँ अर्थात् हामीकहाँ ज-जसले उहाँ पुनर्जीवित हुनुभएपछि उहाँसँग खायौं र पियौं। 42 अनि उहाँ नै त्यो व्यक्ति हुनुहुन्छ जसलाई परमेश्वरले जिउँदा र मरेकाहरूका बीचमा न्यायकर्ताको रूपमा नियुक्त गर्नुभएको छ भन्ने कुराको साक्षी दिन र मानिसहरूमा प्रचार गर्न हामीलाई उहाँले आदेश दिनुभयो। 43 सबै अगमवक्ताहरूले साक्षी दिएका व्यक्ति उहाँ नै हुनुहुन्छ। उहाँमा विश्वास गर्ने हरेक मानिसले आफ्ना पापबाट उहाँकै नाउँद्वाराक्षमादान पाउँदछ।’’ 44 पत्रुसले यी वचन बोल्दै गर्दा तिनको वचन सुन्नेहरू सबैमाथि पवित्र आत्मा ओर्लनुभयो । 45 पत्रुससित आएका यहूदी विश्वासीहरू अयहूदीहरूमाथि पनि पवित्र आत्मा आउनुभएको देखेर छक्क परे। 46 किनभने उनीहरूले अन्यभाषामा बोलिरहेका र परमेश्वरको प्रशंसा गरिरहेका थिए। त्यसपछि पत्रुसले सोधे, 47 ‘‘हामीले झैँ पवित्र आत्मा पाउने यिनीहरूले अब पानीको बप्तिस्मा लिन सक्तैन भन्ने कोही छ?’’ 48 अनि तिनले येशू ख्रीष्टको नाउँमा उनीहरूले बप्तिस्मा लेऊन् भनी आदेश दिए। कर्नेलियसले तिनलाई आफूसितै केही दिन बसिदेऊन् भनी आग्रह गरे। 111 अयहूदीहरूले पनि परमेश्वरको वचन ग्रहण गरेका कुरा यहूदियामा भएका प्रेरितहरू र अरु विश्वासीहरूको कानमा पुग्यो।2 तर जब पत्रुस फर्केर यरूशलेममा आइपुगे, तब खतना लिनेहरूले उनको आलोचना गर्दै भने, 3 ‘‘तपाईं खतना नगरेका मानिसहरूकहाँ गई तिनीहरूसँग खानुभएछ। ’’ 4 तब पत्रुसले यसो भन्दै सबै कुरा तिनीहरूलाई बताए, 5 ‘‘म योप्पा शहरमा प्रार्थना गरिरहेको बेला मैले एउटा दर्शन देखेँ, त्यसबेला मैले चारै कुनामा बाँधिएको ठूलो तन्नाजस्तो केही आकाशबाट मतिर झदर्ैै गरेको देखेँ। 6 जब मैले त्यसमा हेरेँ, त्यहाँ मैले पृथ्वीका चारखुट्टे जन्तुहरू, जङ्गली जनावरहरू, घस्रने जन्तुहरू र आकाशका चराचुरुङ्गी देखेँ। 7 अनि मैले यसो भन्ने आवाज सुनेँ, ‘हे पत्रुस, उठ र मारेर खाऊ।’ 8 तर मैले भने, ‘प्रभु यस्तो नहोस्, किनकि मेरो मुखभित्र कहिल्यै पनि कुनै अपवित्र वा अशुद्ध थोक परेको छैन।’ 9 तर फेरि स्वर्गबाट आवाज आयो, ‘परमेश्वरले शुद्ध पारेको थोकलाई अशुद्ध नठान।’ 10 यस्तो तीनपल्टसम्म भयो र तन्नाभित्र भएका कुरा फेरि आकाशतिरै उठाइलगियो। 11 अनि हेर, ठीक त्यही समयमा कैसरियाबाट मलाई बोलाउन पठाइएका तीन जना मानिसहरू म बसेको घरको ढोकामा आइपुगे। 12 तिनीहरू अयहूदी हुन् भन्ने कुराको वास्ता नगरी तिनीहरूसित जानू भन्ने कुरा पवित्र आत्माले मलाई बताउनुभयो, यी छ जना भाइहरूले मलाई साथ दिए अनि जुन मानिसले हामीलाई बोलाइपठाएका थिए उनको घरमा हामी चाँडै पुग्यौँ। 13 उनले हामीलाई बताए कि एउटा स्वर्गदूत उनको घरमा उभिएर यसो भनिरहेका उनले देखे, ‘योप्पामा मानिस पठाएर पत्रुस भनिने सिमोनलाई बोलाऊ। 14 उनले तिमीलाई र तिम्रो घरानालाई उद्धार पाउने कुरा बताउनेछन्।’ 15 जब म बोल्न थालेँ, त्यहाँ तिनीहरूमाथि पवित्र आत्मा त्यसरी नै आउनुभयो जसरी शुरुमा हामीहरूमाथि आउनुभएको थियो। 16 त्यसपछि मैले, प्रभुले भन्नुभएको वचन सम्झँे, ‘‘बप्तिस्मा दिने यूहन्नाले पानीमा बप्तिस्मा दिए, तर तिमीहरूले पवित्र आत्माद्वारा बप्तिस्मा पाउनेछौ। 17 प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्ने हामीहरूलाई जुन वरदान उहाँले दिनुभयो, परमेश्वरले नै उनीहरूलाई पनि त्यही वरदान दिनुभएपछि उहाँसित बहस गर्ने म को हुँ र?’’ 18 जब अरुहरूले यो कुरा सुने, तिनीहरूको प्रतिवाद त्यहीँ सकियो र यसो भन्दै परमेश्वरको प्रशंसा गर्नलागे, ‘‘अब त परमेश्वरले अयहूदीहरूलाई समेत पश्चात्तापद्वारा जीवनमा डोर्याउनुभएछ।’’ 19 स्तिफनसको विषयमा शुरु भएको सतावटले गर्दा यरूशलेमबाट छरपस्ट भएका विश्वासीहरू फोनिके, साइप्रस र सिरियाको एन्टिओकसम्म पुगे। तिनीहरूले त्यहाँ रहेका यहूदीहरूलाई मात्र वचन प्रचार गरे। 20 तर केही विश्वासीहरू साइप्रस र कुरेनीबाट एन्टिओकमा आएर प्रभु येशूको बारेमा प्रचार गर्दै ग्रीकभाषा बोल्ने यहूदीहरूसँग पनि बातचित गरे। 21 प्रभुको बाहुली तिनीहरूमाथि थियो, अनि अयहूदीहरूले ठूलो सङ्ख्यामा विश्वास गरे र प्रभुतिर फर्किए। 22 जब यरूशलेमको मण्डलीले यो कुरा चाल पाए, तब तिनीहरूले बर्णाबासलाई एन्टिओकमा पठाए। 23 अनि उनी त्यहाँ आइपुगे र परमेश्वरको अनुग्रहको प्रमाण देखेपछि आनन्दले भरिएर विश्वासीहरूलाई सम्पूर्ण हृदयले प्रभुमा निरन्तररूपमालागिरहने उत्साह दिए। 24 बर्णाबास एक असल, पवित्र आत्मामा भरपूर र विश्वासमा दह्रो मानिस थिए अनि उनले ठूलो संख्यामा मानिसहरूलाई प्रभुमा डोर्याए। 25 त्यसपछि बर्णाबास पावललाई भेट्न टार्ससतिर गए। 26 जब उनले पावललाई भेटे, तब तिनलाई एन्टिओकमा फर्काएर ल्याए। दुवैले एक वर्षसम्म विश्वासीहरूलाई शिक्षा दिँदै त्यहाँ बसे । एन्टिओकमा नै सबैभन्दा पहिले चेलाहरूलाई ‘ख्रीष्टियन’ भनिएको हो। 27 यही बेला कुनै-कुनै अगमवक्ताहरू यरूशलेमदेखि एन्टिओकमा आए। 28 तिनीहरूमध्ये अगाबस नाउँले चिनिने एक अगमवक्ताले पवित्र आत्माबाट सूचना पाएर सम्पूर्ण रोमी साम्राज्यभरि ठूलो अनिकाल आउन आँटेको छ भन्ने कुराको अगमवाणीगरे। क्लौडियसको शासनकालमा यो पूरा भयो। 29 यसैले एन्टिओकमा बस्ने चेलाहरूले आफ्नो औकातअनुसार यहूदियामा भएका विश्वासी भाइ-बहिनीहरूलाई सहयोग पठाउने निश्चय गरे। 30 तिनीहरूले उठाएका दान-रकम बर्णाबास र शाऊलको हातद्वारा यरूशलेममा भएको मण्डलीका धर्मगुरुकहाँ पठाइदिए । 121 त्यो समयमा राजा हेरोद अग्रिपाले मण्डलीका केही विश्वासीहरूलाई सताउन थाले ।2 तिनले यूहन्नाका भाइ याकूबलाई तरवारले मारे। 3 यस कुराले यहूदी अगुवाहरूलाई खुशी तुल्याएको देखेर हेरोदले निस्तार-चाडको बेला पत्रुसलाई पनि पक्रने तरखर गरे, यो अखमीरी रोटीको चाडको बेलामा घटेको थियो । 4 अनि तिनलाई झ्यालखानमा हालेपछि चार-चार जनाको जत्था भएको चार पहरेदारहरूको समूहलाई तिनको निरीक्षण गर्न आदेश दिए। निस्तार-चाडपछि हेरोदले पत्रुसलाई जनताको अघि ल्याउने विचार गरेका थिए। 5 तर पत्रुस झ्यालखानमा हुँदा, मण्डलीले तिनको निम्ति परमेश्वरसँग निरन्तर प्रार्थना गरे। 6 हेरोदले पत्रुसलाई जनताको अघि ल्याउन खोजेकै रात तिनी सिक्रीले बाँधिएर दुई जना सिपाहीहरूको बीचमा सुतिरहेका थिए, साथै झ्यालखानको ढोकामा पनि दुई पहरेदारहरू तैनाथ थिए। 7 अनि हेर, प्रभुका दूत तिनको छेउमा उभिए र झ्यालखानमा ज्योति चम्क्यो अनि उनले पत्रुसलाई कोखामा हिर्काएर ‘‘छिटो उठ ’’ भन्दै तिनलाई उठाए। 8 स्वर्गदूतले तिनलाई भने, ‘‘कम्मर कस र आफ्ना जुत्ता लगाऊ’’ अनि तिनले त्यसै गरे। अनि उनले तिनलाई भने, ‘‘आफ्नो वस्त्र लगाऊ र मलाई पछयाऊ।’’ 9 अनि तिनी निस्केर स्वर्गदूतको पछि लागे र स्वर्गदूतद्वारा गरिएको कुरा साँच्चीकै हो भनी तिनलाई थाहा भएन, तर दर्शन देख्दैछु भन्ने तिनले ठाने। 10 तिनीहरू पहिलो र दोस्रो पहरेदारहरूलाई पार गरेर शहरमा पस्ने फलामे ढोकामा आइपुगे अनि यो ढोका आफै खुल्यो। यसरी दुवै जनाले ढोका नाघिसकेपछि बाटोमा हिँड्दाहिँड्दै स्वर्गदूतले उनलाई अचानक बाटैमा छोडिदिए। 11 अनि होशमा आएपछि पत्रुसले भने, ‘‘अब मलाई साँच्चै थाहा भयो, प्रभुले आफ्नो दूत पठाएर मलाई हेरोद राजाको हातबाट र यहूदी जातिका सारा आशाबाट छुटाउनुभएछ।’’ 12 केही क्षण विचार गरेपछि ती मर्कूस उपनाम भएको यूहन्नाकी आमा मरियमको घरमा गए, जहाँ धेरै जना प्रार्थनाको निम्ति भेला भएका थिए। 13 तिनले ढोका ढकढक्याए अनि रोदा नाउँ गरेकी नोकर्नी केटी हेर्न आई। 14 अनि पत्रुसको सोर चिनेर उसले खुशीको कारणले ढोका खोलिनन् तर दगुरेर भित्र गइन् र ‘‘पत्रुस ढोकाको सामु उभिरहनुभएको छ’’ भनी खबर दिइन्। 15 तिनीहरूले भने, ‘‘तँ बौलाही होस्।’’ तर त्यसले उहाँ नै हुनुहुन्छ भनी जिद्दी गरिरही र तिनीहरूले भने, ‘‘सायद, उहाँको दूत होला।’’ 16 तर पत्रुसले ढोका ढकढक्याइरहे। जब उनीहरूले ढोका खोले तब पत्रुसलाई देखेर छक्कपरे। 17 तर आफ्नो हातले उनीहरूलाई चुप लाग्ने इसारा गरेपछि प्रभुले तिनलाई कसरी झ्यालखानबाट निकाल्नुभयो, सो तिनले उनीहरूलाई बताए। अनि तिनले भने, ‘‘जाओ, यी कुरा याकूब र भाइहरूलाई बताइदेओ।’’ अनि तिनी निस्केर अर्को ठाउँमा गए। 18 उज्यालो भइसकेपछि ‘पत्रुसलाई के भयो होला’ भनी पहरेदारहरूको माझमा ठूलो खैलाबैला मच्चियो। 19 हेरोदले तिनको खोजी गरेर पनि फेला नपार्दा पालेहरूको जाँच गरी तिनीहरूलाई ज्यानसजायँको हुकुम गरे। अनि उनी यहूदियाबाट ओर्लेर कैसरियामा बसे। 20 अब हेरोद टुरोस र सीदोनका मानिसहरूसित साह्रै रिसाएका थिए। तर तिनीहरू एक मनका भएर तिनीकहाँ आए र राजमहलको सचिव बलस्तसलाई मित्र बनाएर मिलाप गर्न खोजे, किनकि राजाको देशद्वारा उनीहरूको देशको पालनपोषणहुन्थ्यो। 21 जब तोकिएको दिन आइपुग्यो, हेरोदले राजकीय पोशाक पहिरेर सिंहासनमा विराजमान भई तिनीहरूलाई भाषण छाँटे। 22 मानिसहरूले यसो भन्दै चिच्च्याए, ‘‘यो त देवको बोली हो, मानिसको होइन।’’ 23 परमप्रभुको दूतले हेरोदलाई तुरुन्तै रोगले प्रहार गरे, किनभने उनले परमेश्वरलाई दिनुपर्ने महिमा आफैले लिए। यसैले उनी स्याउँस्याउँ कीरा परेर मरे। 24 तर परमेश्वरको वचन लगातार फैलिरह्यो र नयाँ विश्वासीहरूको संख्या पनि बढ्दै गयो। 25 जब बर्णाबास र शाऊलले यरूशलेममा प्रचारको कार्य सिद्धयाए, तब मर्कूस उपनाम भएको यूहन्नालाई साथमा लिएर तिनीहरू एन्टिओकमा फर्किए। 131 सिरियाको एन्टिओकमा भएको मण्डलीमा अगमवक्ताहरू र शिक्षकहरू थिए, तीमध्ये बर्णाबास, शिमियोन (काला), लुकियस (कुरेनी), मनेन(राजा हेरोद एन्टिपाससँगै हुर्केका व्यक्ति) र शाऊल थिए।2 एक दिन तिनीहरू उपवासको साथमा प्रभुको सेवा गरिरहेका बेला पवित्र आत्माले भन्नुभयो, ‘‘मेरोनिम्ति बर्णाबास र शाऊललाई त्यस कामको लागि अलग गर, जसको निम्ति मैले उनीहरूलाई बोलाएको छु।’’ 3 तब तिनीहरूले उपवास र प्रार्थना गरेपछि उनीहरूमाथि हात राखेर पठाइदिए। 4 पवित्र आत्माद्वारा पठाइएको हुनाले शाऊल र बर्णाबास सिलुकियातर्फ प्रस्थान गरे र त्यहाँबाट साइप्रसतिर समुद्रयात्रा गरे। 5 उनीहरू सलामिस शहरमा आइपुगेपछि यहूदीहरूको सभाघरहरूमा परमेश्वरको वचन प्रचार गरे र यूहन्ना मर्कूस पनि उनीहरूको साथमा थिए। 6 उनीहरू त्यो टापु छिचोलेर पाफोसमा आइपुग्दा ‘बार येशू’ नाम भएको टुनामुना गर्ने यहूदी झूटा अगमवक्तालाई भेटे, 7 जो प्रान्तीय शासक सर्गियस पौलस(एक बुद्धिमान् मानिस थिए)सँग बस्तथ्यो। तिनले शाऊल र बर्णाबासलाई बोलाएर परमेश्वरको वचन सुन्ने इच्छा गरे। 8 तर एलुमास जादुगरले प्रान्तीय शासकलाई विश्वासबाट तर्काउन खोज्दै उनीहरूको विरोध गर्यो। 9 तब शाऊल, जसलाई पावल पनि भनिन्छ, जो पवित्र आत्माले भरिएर त्यसलाई एकटक लाएर हेरे र 10 भने, ‘‘हे सारा छल र सम्पूर्ण धूर्तताले भरिएको शैतानको बच्चा, सारा धार्मिकताको शत्रु, के तँ प्रभुका सीधा बाटोहरू बङ्गयाउन छोड्दैनस्? 11 अब हेर्, प्रभुको हात तँमाथि परेको छ र तँ केही समयका निम्ति घाम नदेख्ने अन्धो हुनेछस्।’’ अनि तुरुन्तै कुइरो र अन्धकारले त्यसलाई ढाक्यो र हातमा समाती डोर्याओस् भनेर त्यो कसैलार्ई यताउति खोज्न लाग्यो। 12 तब प्रान्तीय शासकले यो घटना देखेर प्रभुको शिक्षामा अचम्म मान्दै विश्वास गरे। 13 अब पावल र उनलाई साथ दिनेहरूले पाफोसबाट समुद्रयात्रा गर्दै पामफिलियाको पर्गामा आए । त्यहीँबाट यूहन्ना मर्कूस उनीहरूलाई छोडेर यरूशलेममा फर्किए। 14 तर उनीहरू पर्गाबाट निस्केर पिसिदियाको एन्टिओकमा आइपुगे र विश्राम-दिनमा सभाघरमा गएर बसे। 15 अनि व्यवस्था र अगमवक्ताहरूका पुस्तकबाट पाठ गरेपछि सभाघरका शासकहरूले उनीहरूकहाँ यसो भन्दै पठाए, ‘‘ए भाइ हो, मानिसहरूको निम्ति तपाईंहरूसित कुनै उत्साहका वचन छन् भने, भन्नुहोस्।’’ 16 अनि पावल उठे र हातले इसारा गर्दै भने, ‘‘परमेश्वरको डर मान्ने मानिसहरू हो, सुन्नुहोस्, 17 यस इस्राएली जातिका परमेश्वरले हाम्रा पुर्खाहरूलाई चुन्नुभयो अनि मिश्रदेशमा रहँदा तिनीहरूलाई उच्च पार्नुभयो र उहाँको शक्तिशाली बाहुलीले तिनीहरूलाई निकाल्नुभयो। 18 उहाँले चालीस वर्षसम्म उजाड-स्थानमा तिनीहरूको चाललाई सहनुभयो। 19 अनि कनान देशमा सातवटा जातिहरूलाई नष्ट पारेर उहाँले उनीहरूको देश तिनीहरूको अधिकारमा दिनुभयो। 20 त्यो ठाउँ अधिकार गर्नु प्राय: चार सय पचास वर्ष लाग्यो। त्यसपश्चात्, उहाँले अगमवक्ता शमूएलको समयसम्म तिनीहरूलाई न्यायकर्ताहरू दिनुभयो। 21 तब तिनीहरूले एक राजाको माग गरे अनि परमेश्वरले तिनीहरूलाई बेन्यामीन कुलबाट किशका छोरा शाऊललाई राजाको रूपमा दिनुभयो, जसले चालीसवर्षसम्म राज्य गरे। 22 तर परमेश्वरले उनलाई राजकीय सिंहासनबाट हटाएपछि दाऊदलाई राजा बनाएर राख्नुभयो, जसबारे परमेश्वर भन्नुहुन्छ, ‘यिशैको छोरा दाऊदलाई मैले आफ्नो हृदयअनुसारको मानिस पाएँ, किनभने जसले मेरा सबै इच्छा पूरा गर्नेछ।’ 23 यही मानिसको वंशबाट परमेश्वरले आफ्नो प्रतिज्ञाअनुसार इस्राएलको निम्ति एक जना मुक्तिदाता अर्थात् येशूलाई खडा गर्नुभयो। 24 उहाँ आउनुभन्दा पहिले यूहन्नाले सारा इस्राएल जातिलाई पश्चात्तापको बप्तिस्माको प्रचार गरे। 25 यूहन्नाले आफ्नो कार्य समाप्त गर्नलाग्दा भनेका थिए, ‘तिमीहरू म को हुँ भनी ठान्छौ? म उहाँ होइन। तर हेर, मपछि एक जना आउनुहुन्छ, जसका खुट्टाको जुत्ता फुकाल्ने योग्यको म छैनँ।’ 26 हे अब्राहामका वंशको सन्तान र तिमीहरूमध्ये परमेश्वरको डर मान्ने भाइहरू हो, हामीकहाँ नै यो मुक्तिको वचन पठाइएको छ, 27 किनकि यरूशलेमका बासिन्दा र तिनीहरूका शासकहरूले न त उहाँलाई चिने, न हरेक विश्रामको दिनमा पढिने अगमवक्ताका वाणी नै बुझे, यसकारण उहाँलाई दण्डको आज्ञा दिएर तिनीहरूले ती वाणीलाई पूरा गरेका छन्। 28 यद्यपि उहाँलाई मृत्युदण्ड दिन तिनीहरूले कुनै ठोस कारण फेला पारेनन् तर पनि उहाँलाई ज्यानसजायँ दिनुपर्छ भनी पिलातससँग तिनीहरूले मागगरे। 29 जब तिनीहरूले उहाँको मृत्युसम्बन्धी भविष्यवाणीहरू पूरा गरिसके, उहाँलाई क्रूसबाट झारेर चिहानमा राखे। 30 तर परमेश्वरले उहाँलाई मृतकबाट पुनर्जीवित पार्नुभयो। 31 अनि गालीलदेखि यरूशलेमसम्म उहाँसितै जानेहरूकहाँ उहाँ धेरै दिनसम्म देखा पर्नुभयो। अहिले तिनीहरू नै मानिसहरूका सामु उहाँका साक्षीहरू छन्। 32 हामी, हाम्रा पिता-पुर्खाहरूलाई गर्नुभएको प्रतिज्ञाको सुसमाचार तपाईंहरूलाई प्रचार गर्छौं। 33 परमेश्वरले येशूलाई पुनर्जीवित पार्नुभएर त्यो कुरा हाम्रा सन्तानको निम्ति पूरा गरिदिनुभयो, जसरी भजनसंग्रह दुईमा लेखिएको छ, ‘तिमी मेरा पुत्र हौ, आज म तिम्रो पिता भएको छु।’ 34 किनभने परमेश्वरले उहाँलाई कुहुन दिनुभएन तर मृतकबाट पुनर्जीवित पार्नुभएको तथ्य यी वचनमा भनिएको छ : ‘म तिमीलाई दाऊदका अटल कृपा दिनेछु।’ 35 भजनसंग्रहको अर्को भागले अझ स्पष्ट पारेको छ : ‘तपाईंले आफ्नो पवित्रजनलाई चिहानभित्र कुहुन दिनुहुनेछैन।’ 36 किनभने, दाऊद त परमेश्वरको इच्छाबमोजिम आफ्नो पुस्ताको सेवा गरेर मरे, आफ्ना पिता-पुर्खाहरूसँग गाडिए र उनको शरीर कुह्यो। 37 तर परमेश्वरले पुनर्जीवित पार्नुभएको उहाँको शरीर कुहेन। 38 यसकारण हे भाइहरू हो, यो कुरा तपाईंहरूलाई थाहा होस्, यिनै मानिसद्वारा तपाईंहरूलाई पापको क्षमाको घोषणा गरिएको छ 39 तपाईं विश्वास गर्नेहरू हरेकले उहाँद्वारा नै सबै कुराबाट छुटकारा पाउनुभएको छ, जुन छुटकारा मोशाको व्यवस्थाद्वारा तपाईंहरूका निम्ति सम्भव थिएन। 40 यसकारण, होशियार हुनुहोस्, अगमवक्ताहरूको मुखबाट निस्केका वचन तपाईंहरूमा लागू नहोस्। किनभने, तिनीहरूले यसो भने, 41 ‘हे ठट्टा गर्नेहरू, हेर, छक्क पर र नष्ट भइजाओ, किनभने म तिमीहरू बाँचेकै समयमा यस्तो काम गरिरहेछु, यदि कसैले तिमीहरूलाई यसबारे बताए तापनि तिमीहरूले विश्वास गर्नेछैनौ’।’’ 42 त्यस दिन पावल र बर्णाबास सभाघरबाट निस्कनलाग्दा मानिसहरूले उनीहरूलाई अर्को विश्राम-दिनमा पनि आएर यही विषयमा बोलिदिनुहोस् भनी आग्रह गरे। 43 सभा समाप्त भएपछि धेरै यहूदीहरू र यहूदी मतमा लाग्ने भक्तहरूले पावल र बर्णाबासलाई पछयाए अनि उनीहरूले तिनीहरूसँग बोल्दै भने, ‘परमेश्वरको अनुग्रहमा लागिरहनुहोस्।’ 44 अर्को विश्राम-दिनमा प्राय: सम्पूर्ण शहर नै परमेश्वरको वचन सुन्न ओइरिए। 45 तर जब यहूदीहरूले भीडलाई देखे, ईर्ष्याले हुरहुरती जले। यसैले तिनीहरूले पावलद्वारा बोलेको वचनको खण्डन गर्दै ईश्वर-निन्दा गरे। 46 तब पावल र बर्णाबासले साहससित बोल्दै भने, ‘‘परमेश्वरबाट आएको सुसमाचार प्रथमत: तपाईं यहूदीहरूलाई दिइनु नै पर्थ्यो। तर जब कि तपाईंहरूले यसलाई इन्कार गर्नुभयो र आफै -आफैलाई अनन्त जीवनको अयोग्य ठहर्याउनुभएको हुनाले हेर्नुहोस् हामी अयहूदीहरूकहाँ जानेछौं, 47 किनभने प्रभुले आज्ञा गर्नुहुँदा यसो भन्नुभएको छ, ‘मैले तिमीहरूलाई अयहूदीहरूमा ज्योति तुल्याएको छु, पृथ्वीको अन्तिम कुनासम्म मुक्ति पुर्याउन नियुक्त गरेको छु’।’’ 48 जब अयहूदीहरूले यो कुरा सुने, तिनीहरू अत्यन्तै रमाए अनि परमेश्वरको वचनको महिमा गर्नलागे र अनन्त जीवनको निम्ति नियुक्त भएकाहरूजतिले विश्वास गरे। 49 यसरी प्रभुको वचन त्यो क्षेत्रभरि फैलियो। 50 तब यहूदीहरूले सम्मानित धार्मिक स्त्रीहरू अनि शहरका नेताहरूलाई पावल र बर्णाबासलाई सताउन उक्साए अनि तिनीहरूलाई आफ्नो क्षेत्रबाट बाहिर निकाले। 51 तर पावल र बर्णाबासले आ-आफ्नो खुट्टाको धूलो तिनीहरूको विरुद्धमा टकटक्याए अनि आइकोनियन शहरमा गए। 52 अनि चेलाहरू आनन्द र पवित्र आत्माले परिपूर्ण भए। 141 आइकोनियनमा यहूदीहरूको सभाघरमा पावल र बर्णाबास गएर सामर्थ्यसाथ प्रचार गरे र यहूदीहरू अनि ग्रीकहरूको ठूलो जमातले विश्वास गरे।2 तर विश्वास गर्न नचाहने यहूदीहरूले पावल र बर्णाबासको विरुद्धमा नाना थरीका खराब कुरा गर्दै, अयहूदीहरूको मनलाई खल्बलाइदिए। 3 त्यहाँ प्रेरितहरू प्रभुको अनुग्रहबारे साहससित प्रचार गर्दै लामो अवधिसम्म बसे। तिनीहरूले प्रचार गरेको सन्देश सही हो भन्ने प्रमाणको निम्ति प्रभुले आश्चर्यमय चिन्हहरू र चमत्कार गर्ने शक्ति दिनुभयो। 4 तर तिनीहरूबारे शहरका मानिसहरू आ-आफ्ना मतअनुसार दुई भागमा विभाजित भए। कोही यहूदीतर्फ र कोही प्रेरितहरूतर्फ लागे। 5 अयहूदीहरू र यहूदीहरूको भीडले आफ्ना नेताहरूको नेतृत्वमा प्रेरितहरूलाई ढुङ्गाले लोहोर्याउँदै आक्रमण गर्ने योजना बनाए। 6 जब प्रेरितहरूलाई यो कुरा थाहा भयो, तिनीहरू आफ्नो ज्यान जोगाउन भागे। तिनीहरू लुकोनिया क्षेत्रभित्र पर्ने लुस्त्रा र डर्बी शहरहरूमा गए। 7 अनि तिनीहरूले त्यहाँ सुसमाचार सुनाए। 8 तिनीहरू लुस्त्रामा हुँदा एक जना जन्मैदेखिको लङ्गडोलाई भेटे, जो कहिल्यै हिँडेको थिएन। 9 पावलले प्रचार गरेको उसले सुनिरह्यो। उनले त्यसलाई एकटक लाएर हेरे र त्यसमा निको हुने विश्वास रहेछ भन्ने कुरा थाहा पाएर 10 चर्को स्वरमा त्यसलाई भने, ‘‘उठ !’’ अनि त्यो मानिस बुर्लुक्क उफ्रेर उभियो र हिँड्न लाग्यो। 11 पावलले गरेका काम देखेर भीड यसो भन्दै लुकोनियाको भाषामा कराए, ‘‘देवहरू मानिसका रूपमा हामीकहाँ ओर्लेर आएका छन्।’’ 12 तिनीहरूले बर्णाबासलाई ‘जिउस’ र पावललाई मुख्य वक्ता ठानी ‘हर्मेस’ देवताको नाउँले पुकार्न लागे। 13 जिउसको मन्दिर शहरबाहिर बनाइएको थियो। मन्दिरका पूजाहारीहरू र भीडले गोरुहरू र फूलका मालाहरू ल्याए अनि त्यो शहरको ढोकामा प्रेरितहरूको पूजा गर्दै बलिदान चढाउने इच्छा गरे। 14 तर जब बर्णाबास र पावलले त्यहाँ भइरहेको घटनाबारे चाल पाए, तब तिनीहरूले आ-आफ्नो वस्त्र च्यातेर दु:खित हुँदै मानिसहरूको भीडलाई चिच्च्याउँदै भने, 15 ‘‘हे हजूर हो, तपाईंहरूले यो के गर्न लाग्नुभएको हो? हामी त तपाईंहरूजस्तै मानिसहरू मात्र हौं।तपाईंहरू व्यर्थका कुरालाई छोडेर स्वर्ग, पृथ्वी, समुद्र र त्यसमा भएका सबै थोक सृजनुहुने जीवित परमेश्वरतर्फ फर्कनुहोस् भनी हामी प्रचार गर्छौं। 16 जसले बितेका दिनहरूमा सबै जातिहरूलाई आ-आफ्नो मार्गमा चल्ने छुट दिनुभयो। 17 तर पनि उहाँले आफूलाई बिनासाक्षी छोड्नुभएन। उहाँले परोपकार गर्दै आकाशबाट वर्षा र फल लाग्ने ऋतुहरू दिएर, भोजन र आनन्दले हाम्रा हृदयलाई भर्नुभयो।’’ 18 अनि यी कुरा भनेर उनीहरूले आफ्ना सामु बलिदान चढाउनदेखि ती मानिसहरूलाई रोक्न निकै कठिन परिरहेको थियो। 19 त्यही बेला एन्टिओक र आइकोनियनबाट केही यहूदीहरू त्यहाँ आइपुगे, अनि भीडलाई उक्साएर पावललाई ढुङ्गाले हाने, र उनी मरेछन् भनि ठानेर उनलाई शहरदेखि बाहिर घिस्स्याएर लगे। 20 जब चेलाहरूले उनलाई घेरे, उनी जुरुक्क उठेर शहरभित्र पसे। भोलिपल्ट बर्णाबाससित उनी डर्बीतर्फ लागे। 21 डर्बीमा सुसमाचार प्रचार गरेर धेरै चेलाहरू बनाएपछि पावल र बर्णाबास लुस्त्रा र आइकोनियन हुँदै एन्टिओकमा फर्किए । 22 अनि चेलाहरूका आत्मालाई स्थिर गराउँदै तिनीहरूलाई विश्वासमा रहिरहेर ‘‘अनेक कष्ट सही परमेश्वरको राज्यमा पस्नुपर्छ’’ भन्ने उत्साह दिए । 23 पावल र बर्णाबासले प्रत्येक मण्डलीमा भरोसायोग्य मानिसलाई धर्मगुरुको रूपमा नियुक्त गरेर उपवाससहित प्रार्थना गर्दै प्रभुको हातमा सुम्पे। 24 तब तिनीहरू पिसिदिया हुँदै पामफिलियातर्फ यात्रा गरे। 25 तिनीहरू ले पर्गामा फेरि प्रचार गरे, त्यसपछि अटालियामा गए। 26 अन्तमा, तिनीहरू जहाजमा चढेर सिरियाको एन्टिओक फर्किए, जहाँ तिनीहरूले पूरा गरेका कामको निम्ति परमेश्वरको अनुग्रहमा तिनीहरू सुम्पिएका थिए । 27 एन्टिओक आइपुग्नासाथ त्यहाँका मण्डलीलाई एकसाथ बोलाएर परमेश्वरले गर्नुभएका कामहरू र उहाँले अयहूदीहरूको निम्ति विश्वासको ढोका खोलिदिनुभएका कुराको विवरण दिए । 28 अनि तिनीहरू त्यहाँ चेलाहरूको साथमा धेरै दिनसम्म बसे। 151 केही मानिसहरू यहूदियाबाट त्यहाँ आएर विश्वासीहरूलाई यसरी शिक्षा दिए : ‘‘तपाईंहरूले मोशाको रीतिअनुसार खतना नगरेसम्म मुक्ति पाउन सक्नुहुन्न।’’2 तब पावल र बर्णाबासको तिनीहरूसित धेरै झगडा र बहस भएपछि, ती भाइहरूले पावल र बर्णाबास अनि तिनीहरूमध्येबाट पनि कुनै कुनैलाई यस सवालको विषयमा यरूशलेममा प्रेरितहरू र धर्मगुरुहरूकहाँ जानलाई नियुक्त गरे। 3 मण्डलीले त्यसरी पठाएपछि अयहूदीहरू विश्वासमा आएको कुरा बताउँदै तिनीहरू फोनिके र सामरियाबाट भएर गए, यस कुराले भाइहरूलाई धेरै आनन्दित तुल्यायो। 4 जब तिनीहरू यरूशलेम आइपुगे, पावल र बर्णाबासलाई सम्पूर्ण मण्डली, प्रेरितहरू र एल्डरहरूले स्वागत गरे । परमेश्वरले तिनीहरूसँग गर्नुभएका सबै कुराको बेलीबिस्तार लगाए। 5 तर विश्वासमा आएका केही फरिसीहरू यसो भन्दै उठे, ‘‘तिनीहरूले खतना र मोशाको व्यवस्था पालन गर्नु आवश्यक छ।’’ 6 यसैले प्रेरितहरू र मण्डलीका अगुवाहरू यो समस्याको विषयमा विचार गर्न भेला भए। 7 सभामा लामो बहस भएपछि, पत्रुसले उठेर यसो भने, ‘‘भाइहरू, तपाईंहरूलाई थाहा नै छ कि केही समयअघि परमेश्वरले मलाई अयहूदीहरूले सुसमाचार सुनून् र विश्वास गरून् भनेर तपाईंहरूमध्येबाटै चुन्नुभयो। 8 मानिसको हृदय जान्नुहुने परमेश्वरले उनीहरूलाई, हामीलाई झैँ पवित्र आत्मा दिनुभएर अयहूदीहरूलाई ग्रहण गर्नुहुन्छ भन्ने कुराको गवाही दिनुभयो। 9 हाम्रो र उनीहरूको माझमा उहाँले पक्षपात गर्नुभएन, किनभने उहाँले उनीहरूको हृदय विश्वासद्वारा शुद्ध गर्नुभयो। 10 यसकारण हामी र पुर्खाहरूले उचाल्न नसकेको जुवा अयहूदी विश्वासीहरूलाई बोकाएर तपाईंहरूले किन परमेश्वरको परीक्षा गर्नुहुन्छ? 11 तर हामीजस्तै उनीहरूले पनि प्रभु येशूको विशेष अनुग्रहद्वारा उद्धार पाएका हुन् भनी हामी विश्वास गर्दछौं।’’ 12 तब सारा भीड चुप भयो अनि बर्णाबास र पावलले अयहूदीहरूको माझमा परमेश्वरले गर्नुभएका आश्चर्यमय चिन्हहरू र चमत्कारहरूको बारेमा बताएको सुने। 13 जब तिनीहरूले आ-आफ्ना कुरा भनिसके, तब याकूबले उठेर भने, ‘‘भाइहरू, मेरो कुरा सुन्नुहोस्, 14 अयहूदीहरूबाट परमेश्वरले आफ्नानिम्ति एक जाति तयार पार्नलाई सबैभन्दा पहिले उहाँले नै कसरी उनीहरूमाथि चासो देखाउनुभयो, यो बारेमा सिमोनले तपाईंहरूलाई बताइसकेका छन् । 15 अनि यसैसँग अगमवक्ताहरूका वचन पनि मिल्छ, जस्तो लेखिएको छ: 16 ‘यसपछि म फर्किनेछु र दाऊदको भत्केको पाल फेरि निर्माण गर्नेछु। भग्नावशेषबाट नै म यसको पुनर्निर्माण गर्नेछु र पुन:स्थापना गर्नेछु। 17 अनि बाँकी रहेका मानवजातिले प्रभुलाई खोजून् र मेरो नाउँद्वारा बोलाइएका अयहूदीहरूले पनि, 18 संसारको उत्पतिदेखि यी कुरा जनाउने परमप्रभु भन्नुहुन्छ।’ 19 यसर्थ, मेरो फैसला यो हो कि परमेश्वरतिर फर्किने अयहूदीहरूलाई हामी दु:ख नदिऔं। 20 तर यति मात्र लेखिदिनुपर्छ कि तिनीहरूले मूर्त्तिहरूलाई चढाएका प्रसाद नखाऊन्, व्यभिचारबाट अलग रहून्, रगत नपिऊन् र घाँटी अँठयाएर मारेको मासु नखाऊन्। 21 किनभने प्रत्येक शहरमा अवस्थित यहूदी सभाघरहरूमा यस्ता मोशाको व्यवस्था प्रत्येक विश्राम-दिनमा पुस्ता-पुस्तादेखि प्रचार हुँदै आएको छ।’’ 22 तब आफ्नै बीचबाट चुनिएका मानिसहरू अर्थात् भाइहरूका बीचमा मुख्य मानिसहरू-बारसाबास उपनाम भएको यहूदा अनि सिलासलाई पावल र बर्णाबासको साथमा एन्टिओकमा पठाउनु सम्पूर्ण मण्डलीसहित प्रेरितहरू र एल्डरहरूलाई असललाग्यो। 23 तिनीहरूले आफूहरूसित लगेको पत्र यस्तो थियो : ‘‘प्रेरित, एल्डरहरू र यरूशलेमका भाइहरूबाट एन्टिओक, सिरिया र किलिकियामा रहने अयहूदी विश्वासीहरूलाई अभिवादन। 24 हामीले सुनेका छौं कि यहाँबाट केही मानिसहरू आएर तपाईंहरूलाई दु:ख दिएका छन् र आफ्ना वचनले तपाईंहरूलाई दु: खित तुल्याएका छन् तर तिनीहरूलाई हामीले त्यस्तो निर्देशन दिएका होइनौं। 25 यसकारण हामी सबै एकै मनका भएर मानिसहरू चुनेर तिनीहरूलाई हाम्रा प्रिय पावल र बर्णाबासका साथमा तपाईंहरूकहाँ पठाउन हामीलाई असल लाग्यो। 26 जसले हाम्रो प्रभु येशू ख्रीष्टको निम्ति आफ्नो ज्यान पनि जोखिममा हालेका छन्। 27 यसकारण हामीले यहूदा र सिलासलाई पठाएका छौं। तिनीहरूले पनि सोही कुरा मुखैले बताउनेछन् । 28 यी आवश्यक कुराबाहेक तपाईंहरूमाथि अरु बोझ नबोकाऊँ भन्ने पवित्र आत्मा र हामीलाई असल लाग्यो। 29 तपाईंहरूले मूर्त्तिहरूलाई चढाएको प्रसाद, रगत वा घाँटी अँठयाएर मारेको पशुको मासु र व्यभिचारबाट आफूलाई जोगाउनुपर्छ। यति गर्नुभयो भने, तपाईंहरूले असल गर्नुहुनेछ, बिदा।’’ 30 त्यसैले तिनीहरू बिदा भएपछि एन्टिओक आए र मानिसहरूलाई भेला गरेर सो पत्र बुझाइदिए। 31 त्यो पढेपछि तिनीहरू सान्त्वना पाएर आनन्दित भए। 32 अनि यहूदा र सिलास, आफैहरू पनि अगमवक्ताहरू भएका हुनाले भाइहरूलाई धेरै वचनले उत्साह दिएर स्थिर गराए। 33 अनि त्यहाँ केही समयसम्म बसेपछि उनीहरू भाइहरूबाट प्रेरितहरूकहाँ जानलाई शान्तिसित बिदा गरिए। 34 तर सिलासले त्यहीँ बस्ने इच्छा गरे। 35 अनि पावल र बर्णाबास अरु धेरै जनासँग प्रभुको वचन सिकाउँदै र प्रचार गर्दै एन्टिओकमा केही दिनसम्म बसे। 36 केही समयपछि पावलले बर्णाबासलाई भने,‘‘हामी फेरि जाऔं र हरेक शहरमा, जहाँ हामीले प्रभुको वचन प्रचार गरेका थियौं, हाम्रा भाइहरूलाई भेटौं र उनीहरू कस्ता रहेछन्, हेरौं।’’ 37 अनि बर्णाबासले यूहन्ना मर्कूसलाई पनि उनीहरूको साथमा लैजान खोजे। 38 तर पावलले यूहन्ना मर्कूसलाई लैजान मानेनन्, किनभने उनले पामफिलियामा हुँदा तिनीहरूबाट छुट्टिएर गएका थिए र तिनीहरूका साथ काममा गएका थिएनन्। 39 तिनीहरूको आपसमा भएको चर्को मतभेदले गर्दा तिनीहरू एक-अर्काबाट अलग भए। बर्णाबासले यूहन्ना मर्कूसलाई साथमा लिएर साइप्रसतिर समुद्रयात्रा गरे। 40 पावलले सिलासलाई चुने र भाइहरूद्वारा परमेश्वरको अनुग्रहमा सुम्पिएपछि बाटो लागे। 41 यसर्थ, तिनी सिरिया र किलिकियाभरि रहेका मण्डलीहरूलाई स्थिर गराउँदै यात्रा गरिरहे। 161 तब तिनी डर्बी र त्यसपछि लुस्त्रा गए । त्यहाँ तिनले एक चेला तिमोथीलाई भेटे, जसको आमा यहूदी विश्वासी र बुबा ग्रीक थिए।2 लुस्त्रा र आइकोनियनका भाइहरूले तिमोथीको बारेमा राम्रो कुरा गर्थे। 3 पावलले तिनलाई आफ्नो यात्रामा लैजाने इच्छा गरे। यहूदीहरूको क्षेत्रलाई ध्यानमा राख्दै, त्यो ठाउँ छोड्नुभन्दा अघि तिनको खतना गराए, किनभने तिनको बुबा ग्रीक हुन् भन्ने कुरा सबैलाई थाहा थियो। 4 यसरी एकदेखि अर्को शहर भएर जाँदा तिनीहरूले यरूशलेमका प्रेरितहरू र एल्डरहरूले गरेका निर्णयहरू उनीहरूलाई पालन गर्नू भनी बताए। 5 यसरी मण्डलीहरू आफ्ना विश्वासमा बलिया भए र दिनहुँ संख्यामा पनि बढ्दै गए। 6 अनि तिनीहरूले फ्रिगिया र गलातियाको क्षेत्र हुँदै यात्रा गरे, किनभने त्यो समय पवित्र आत्माले तिनीहरूलाई एसियाको प्रान्तभित्र नजानू भनी बताउनुभएको थियो। 7 त्यसपछि माइसियाको सिमाना हुँदै बिथिनियातर्फ जान चाहे तर आत्माले मनाही गर्नुभयो। 8 यसर्थ, तिनीहरू माइसिया हुँदै त्रोआसतिर ओर्ले। 9 त्यो रात पावलले दर्शन पाए। उत्तरी ग्रीस स्थित म्यासिडोनियाबाट एक जना मानिसले ‘हामीकहाँ आउनुहोस् र हामीलाई सहायता गर्नुहोस्’ भन्दै पुकारा गरेको तिनले देखे। 10 यो दर्शनपछि हामीले तुरुन्तै म्यासिडोनिया जाने निर्णय गर्यौं, किनभने परमेश्वरले हामीलाई त्यहाँ सुसमाचार प्रचार गर्न बोलाउनुभएको हो भन्ने निर्णयमा हामी पुग्यौं। 11 तब हामीहरू त्रोआसमा अडिएको जहाजमा चढी सोझै सामोथ्राके टापुतिर लाग्यौं र भोलिपल्ट नियापोलिस आइपुग्यौं। 12 हामी नियापोलिसबाट रोमी उपनिवेश साथै म्यासिडोनिया जिल्लाको प्रमुख शहर, फिलिप्पीमा आइपुग्यौं र धेरै दिन त्यहाँ बितायौं। 13 हामी विश्राम-दिनमा शहरदेखि अलिक बाहिर नदीको किनारमा गयौं, जहाँ मानिसहरू प्रार्थनामा भेला हुन्छन् भन्ने अनुमान लगायौं र त्यहाँ बसेर जम्मा भएका स्त्रीहरूसँग बातचित गर्न लाग्यौं। 14 बैजनी वस्त्रको व्यापारी थिआटीरा निवासी लिडिया तिनीहरूमध्ये एक थिइन्। तिनी परमेश्वरको एक भक्त थिइन्। जुन बेला तिनले, हामीले बोलेका कुरा सुनिन्, प्रभुले तिनको हृदय खोलिदिनुभयो र पावलका कुरा तिनले स्वीकार गरिन् । 15 आफ्नो परिवारका अन्य सदस्यहरूसितै तिनले बप्तिस्मा लिइन् र तिनले हामीलाई कर लगाउँदै भनिन्, ‘‘यदि तपाईंहरूले मलाई प्रभुमा विश्वसनीय ठान्नुहुन्छ भने, मेरो घरमा आएर बसिदिनुहोस्।’’ 16 हामी एक दिन प्रार्थना गर्ने ठाउँमा गइरहेका थियौं, भूतात्माले ग्रस्त एक कमारी केटीसँग हाम्रो भेट भयो, जसले जोखना हेरेर त्यसका मालिकहरूका निम्ति धेरै कमाइ गरिदिन्थी। 17 त्यो पावल र हाम्रोपछि लागेर यसो भन्दै चिच्च्याइ, ‘‘यिनीहरू सर्वोच्च परमेश्वरका सेवकहरू हुन् र यिनीहरूले तपाईंहरूलाई मुक्तिको मार्गको घोषणा गर्छन्।’’ 18 त्यसले धेरै दिनसम्म यसो गरिरही। तब पावलले झिँजो मानेर फनक्क फर्की दुष्टात्मालाई भने, ‘‘म येशू ख्रीष्टको नाउँमा तँलाई त्यसबाट निस्कने आज्ञा गर्दछु।’’ अनि तुरुन्तै त्यसले त्यो केटीलाई छोडयो। 19 त्यसका मालिकहरूले सम्पत्ति कमाउने आशा टुटेको देखेर पावल र सिलासलाई समाते अनि बजारको चोकमा शासकहरूकहाँ तान्दै लगे 20 र घिस्स्याउँदै हाकिमहरूकहाँ ल्याएर भने, ‘‘यी मानिसहरू यहूदी हुन् र पनि यिनीहरूले हाम्रो शहरमा गोलमाल मच्चाउँछन्। 21 यिनीहरूले मानिसहरूलाई यस्ता कुरा गर्न सिकाइरहेका छन्, जुन ग्रहण गर्नु र पालन गर्नु हामी रोमीहरूलाई उचित हुँदैनँ।’’ 22 तुरुन्तै पावल र सिलासको विरुद्धमा एक ठूलो भीड जाइलाग्यो अनि शहरका हाकिमहरूले तिनीहरूका लुगा फुकालेर छडी लगाउने आदेश दिए। 23 उनीहरूले तिनीहरूलाई धेरै छडी लगाएपछि झ्यालखानमा हालिदिए र झ्यालखानका हाकिमलाई ती कैदीहरूलाई कडा रेखदेखमा राख्ने हुकुम दिए। 24 यसर्थ, तिनले यस्तो आदेश पाउनेबित्तिकै तिनीहरूलाई भित्री कोठामा लगेर खुट्टाहरूमा ठिँगुरो ठोकिदिए। 25 मध्यराततिर पावल र सिलास प्रार्थना गर्दै, परमेश्वरको भजन गाइरहेका थिए, सो अन्य कैदीहरूले सुनिरहेका थिए। 26 अचानक त्यहाँ ठूलो भूकम्प भयो र झ्यालखानको जग हल्लिएर तुरुन्तै सबै ढोका उघ्रिए अनि सबैका बन्धन खुले। 27 झ्यालखानका हाकिम निद्राबाट ब्यूँझिएर ढोकाहरू खोलिएका देख्दा कैदीहरू भागे होलान् भनी ठानेर उनले आत्महत्या गर्न तरवार थुते। 28 तर पावल यसो भन्दै चर्को सोरले कराए, ‘‘तपाईंले आफूलाई केही हानि नगर्नुहोस् किनकि हामी सबै यहीँ छौं।’’ 29 तब हाकिम बत्ती मागेर दगुर्दै भित्र आए अनि डरले काम्दै पावल र सिलासको चरणमा घोप्टो परे 30 र उनले तिनीहरूलाई बाहिर ल्याएर सोधे, ‘‘गुरुजन हो, मुक्ति पाउनलाई मैले के गर्नुपर्ला?’’ 31 तिनीहरूले जवाफ दिए, ‘‘प्रभु येशूमा विश्वास गर्नुहोस् अनि तपाईं र तपाईंको परिवारले मुक्ति पाउनुहुनेछ।’’ 32 तब तिनीहरूले उनलाई र उनको घरमा भएका सबैलाई प्रभुको वचन सुनाए। 33 तब रातको त्यही घडी हाकिमले तिनीहरूलाई लगेर तिनीहरूका घाउहरू धोइदिए अनि उनले र उनको परिवारले तुरुन्तै बप्तिस्मा लिए। 34 तब उनले तिनीहरूलाई आफ्नो घरभित्र ल्याए र तिनीहरूको अघि भोजन राखिदिए। उनी र उनको सम्पूर्ण परिवार परमेश्वरमा विश्वास गरेको कारण रमाए। 35 भोलिपल्ट शहरका प्रमुख हाकिमले झ्यालखानका अधिकारीकहाँ ‘‘ती मानिसहरूलाई छोडिदिनू’’ भन्ने आदेश दिएर सिपाहीहरूलाई पठाए। 36 यसर्थ झ्यालखानका अधिकारीले पावललाई भने, ‘‘हाकिमले तपाईंहरूलाई छोडिदिने आदेश दिनुभएको छ, त्यसकारण तपाईंहरू अब निस्केर शान्तिसँग जानुहोस्।’’ 37 तर पावलले जवाफ दिए, ‘‘तिनीहरूले हामी रोमी नागरिकलाई दोषी नठहर्याईकन जनताको सामु पिटेर झ्यालखानमा हाले अनि अहिले हामीलाई सुटुक्क जाऊ भन्छन्? यस्तो हुन सक्तैनँ । तिनीहरू आफै आएर हामीलाई निकालून्।’’ 38 जब सिपाहीहरूले त्यो खबर शहरका प्रमुख शासककहाँ पुर्याए, उनीहरू पावल र सिलास रोमी नागरिक रहेछन् भन्ने थाहा पाएर डराए। 39 उनीहरू आएर तिनीहरूसित विन्ती गरे अनि तिनीहरूलाई बाहिर निकाले र शहर छोडेर जाने आग्रह गरे। 40 झ्यालखानबाट बाहिर निस्केपछि पावल र सिलास लिडियाको घरमा पसे र भाइहरूसँग भेटघाट गरेपछि शहर छोड्नुभन्दा अघि तिनीहरूलाई अझ एकपल्ट हौसला दिइराखे। 171 अब पावल र सिलास अम्फिपोलिस र अपोल्लोनिया हुँदै थेसलोनिकेमा आइपुगे। त्यहाँ एउटा यहूदी सभाघर थियो।2 पावल आफ्नो प्रथाअनुसार सभाघरमा गए र त्यहाँ उपस्थित मानिसहरूसँग धर्मशास्त्रबाट बहस गर्दै, 3 ख्रीष्टले दु:ख भोग्नुपर्ने र मृतकबाट पुनर्जीवित हुनुपर्ने सम्बन्धमा भएको भविष्यवाणी कसरी पूरा भयो भन्ने कुराको प्रमाणहरू खुलस्त पार्दै तिनले भने, ‘‘तपाईंहरूलाई बताउँदै गरेको यही येशू नै ख्रीष्ट हुनुहुन्छ ।’’ 4 अनि वचन सुन्नेहरूमध्ये कोही-कोहीले, ईश्वरभक्त ग्रीकहरूको ठूलो भीडले र शहरका प्रमुख स्त्रीहरूमध्ये धेरैले विश्वास गरे अनि पावल र सिलासको साथमा लागे। 5 तर यहूदीहरू डाहले भरिएर दङ्गा मच्चाउनलाई बजारका दुष्ट मानिसहरूलाई भेला गरे। तिनीहरूले पावल र सिलासलाई खोजेर भीडको अघि ल्याउनलाई यासोनको घरमा आक्रमण गरे। 6 तिनीहरूलाई त्यहाँ फेला पार्न नसक्दा उनीहरूले तिनीहरूको साटोमा यासोन र कुनै कु नै विश्वासीहरूलाई घिस्स्याएर शहरका शासकहरूको सामु यसो भन्दै ल्याए , ‘‘संसारलाई उलटपुलट पार्ने यी मानिसहरू यहाँ पनि आएका छन् 7 अनि यासोनले तिनीहरूलाई आफ्नो घर खोलिदिएको छ। तिनीहरूले अर्को राजा येशू छन् भन्दै सिजरको आदेशको विरुद्धमा काम गरेका छन्।’’ 8 शहरका मानिसहरू साथै शासकहरू पनि यो खबर सुनेर आँत्तिए। 9 तर शासकहरूले यासोन र तिनका साथमा भएका मानिसहरूसँग धरौटी लिएर तिनीहरूलाई छोडिदिए। 10 त्यही रात त्यहाँका विश्वासीहरूले पावल र सिलासलाई बेरिया पठाइदिए। जब तिनीहरू त्यहाँ पुगे, तब यहूदीहरूको सभाघरमा गए। 11 अनि बेरियाका मानिसहरू थेसलोनिकेका मानिसहरूभन्दा खुला मनका भएको हुनाले पावलको प्रचार उत्सुकतासाथ सुने। पावल र सिलासले दिएका शिक्षा सत्य छन् कि छैनन् भनी तिनीहरूले दिनहुँ धर्मशास्त्रमा खोजी गर्थे। 12 यसकारण यिनीहरूमध्ये धेरैले, साथै धेरै जना उच्च घरानाका ग्रीक महिलाहरू र पुरुषहरूले समेत विश्वास गरे। 13 तब थेसलोनिकेमा भएका यहूदीहरूले बेरियामा पावलले परमेश्वरको वचन प्रचार गर्दैछन् भन्ने सुनेर तिनीहरू त्यहाँ गए अनि पावलको विरुद्धमा भीडलाई सुर्याए। 14 विश्वासीहरूले तुरुन्तै पावललाई समुद्रको किनारतिर पठाइदिए। तर सिलास र तिमोथी बेरियामै बसे। 15 पावललाई पुर्याउन जानेहरू तिनीसित एथेन्ससम्म पुगे। अनि सिलास र तिमोथीले तुरुन्तै पावललाई भेटून् भन्ने खबर लिएर तिनीहरू फर्किए। 16 पावलले तिनीहरूलाई एथेन्स शहरमा पर्खिरहेको बेला त्यो शहर मूर्त्तिहरूले भरिएको देखेर तिनको आत्मा अत्यन्त विचलित बन्यो। 17 यसैले तिनी यहूदीहरू र ईश्वरभक्त अयहूदीहरूसँग सभाघरमा अनि बजारमा भेटेकाहरूसँग दिनहुँ तर्क गर्थे। 18 तिनले कुनै कुनै इपिक्यूरी र स्तोइकी दार्शनिकहरूसँग पनि वादविवाद गरे। कतिले भने, ‘‘यस बकबकेले के भन्न चाहन्छ?’’ अरुले भने, ‘‘ऊ त नौला देवताहरूको प्रचारकजस्तो देखिन्छ।’’ किनभने तिनले तिनीहरूलाई येशू र उहाँ मृतकबाट पुनर्जीवितहुनुभएको प्रचार गर्दथे। 19 तब तिनीहरूले उनलाई समातेर यसो भन्दै अरियोपागसमा लगे, ‘‘तपाईंले दिनुभएको यो नयाँ शिक्षा के हो, के हामी जान्न सक्छौं? 20 तपाईंले भन्नुभएका कुरा हामीलाई नयाँ लाग्दैछ र हामी यो विषयमा अझ बढी जान्न चाहन्छौं।’’ 21 किनकि सबै एथेन्सवासी र त्यहाँ रहेका परदेशीहरूले कुनै न कुनै नयाँ कुरा भन्नु वा सुन्नुबाहेक अरु कुनै कुरामा समय बिताउँदैन थिए। 22 यसर्थ पावलले सभाको बीचमा खडा भएर भने, ‘‘एथेन्सका मानिसहरू हो, मेरो विचारमा तपाईंहरू अति नै धार्मिक हुनुहुँदो रहेछ, 23 किनभने म यहाँ घुमफिर गर्दा तपाईंहरूको धेरैवटा वेदीहरू देखेँ। अनि तीमध्ये एउटामा यस्तो लेखिएको थियो, ‘नजानिएको देवताको निम्ति।’ तपाईंहरूले उहाँ को हुनहुन्छ भन्ने तथ्य नजानीकन उहाँलाई पुज्दै हुनुहुन्छ अनि म तपाईंहरूलाई उहाँबारे बताउने इच्छा गर्दछु। 24 उहाँ परमेश्वर हुनुहुन्छ जसले संसार र त्यसमा भएका प्रत्येक कुरा बनाउनुभयो। स्वर्ग र पृथ्वीका मालिक हुनुभएकोले उहाँ मानिसको हातले बनिएको मन्दिरमा बस्नुहुन्न 25 अनि मानिसका हातहरूले उहाँको आवश्यकताहरू पूरा गर्न सक्तैन, किनभने उहाँलाई कुनै थोकको अभाव छैन। उहाँ आफैले सबैलाई जीवन र सास अनि सबै थोक दिनुहुन्छ। 26 उहाँले एक जना मानिसबाट सारा पृथ्वीभरि धेरै जातिहरूको सृजना गर्नुभयो। कुन व्यक्ति वा जातिको उत्थान हुन्छ र पतन हुन्छ भन्ने कुराको निर्णय उहाँले अघिबाटै गर्नुभयो अनि उहाँले तिनीहरूको सीमा-रेखा कोरिदिनुभयो। 27 यी सबै कुरा गर्नुको पछि सबै जातिहरूले परमेश्वरलाई खोजून्, उहाँको बाटोमा आऊन् र उहाँलाई पाऊन् भन्ने उहाँको उद्देश्य छ, किनभने उहाँ हामीहरूमध्ये कोहीबाट पनि टाढा हुनुहुन्न। 28 किनभने ‘हामी उहाँमा जिउँछौं र उहाँमा चलहल गर्छौं अनि उहाँमा नै हाम्रो अस्तित्व छ।’ जसरी तपाईंहरूकै कुनै-कुनै कविले यसो भनेका छन्, ‘हामी उहाँका सन्तान हौं।’ 29 यसकारण हामी परमेश्वरकै सन्तान भएका हुनाले ईश्वरीय स्वभाव मानिसको कारिगरी र कल्पनाद्वारा कुँदेर बनाइएको सुनचाँदी वा ढुङ्गाको मूर्त्तिजस्तो हुन्छ भनी हामीले सोच्नु हुँदैन। 30 यसकारण परमेश्वरले मानिसहरूको अज्ञानताको समयलाई वास्ता गर्नुभएन तर अब सबै ठाउँमा सबै मानिसहरूलाई पश्चात्ताप गर्नू भन्ने आज्ञा दिनुहुन्छ। 31 किनकि उहाँले तोक्नुभएको दिनमा उहाँले नै नियुक्त गर्नुभएको मानिसद्वारा धार्मिकतामा संसारको न्याय गर्नुहुनेछ। उहाँलाई मृतकबाट जीवित पारेर परमेश्वरले सबै मानिसहरूलाई यसको प्रमाण दिनुभएको छ।’’ 32 मरेकाहरू पुनर्जीवित हुन्छन्, भन्ने कुरा सुनेर तिनीहरूमध्ये कोही हाँसे तर कसै-कसैले भने, ‘‘यस विषयमा हामी फेरि पनि तिम्रा कुरा सुन्नेछौं।’’ 33 त्यसपछि पावल तिनीहरूका बीचबाट निस्केर गए। 34 तर कोही मानिसहरू तिनका साथ लागे अनि विश्वास गरे । तिनीहरूमध्ये अरियोपागसका डियनुसियस, दामारिस नाउँ भएकी एउटी स्त्री र अरुहरू पनि थिए। 181 यी कुरापछि पावल एथेन्स छोडेर कोरिन्थमा गए।2 त्यहाँ तिनले पोन्टसमा जन्मेका अक्विला नाउँ भएका एक जना यहूदीलाई भेटे, जो हालसालै आफ्नी पत्नी प्रिस्किलासित इटालियाबाट त्यहाँ आएका थिए, किनभने कैसर क्लौडियसले सबै यहूदीहरूलाई रोमबाट निस्किजाने आज्ञा दिएका थिए। तिनी उनीहरूलाई भेट्न गए 3 अनि एकै पेशाका हुनाले तिनी पनि उनीहरूसँगै बसे र काम गरे, किनकि उनीहरूको पेशा पाल बनाउने थियो। 4 तिनले हरेक विश्राम-दिनमा सभाघरमा आएका यहूदीहरू र ग्रीकहरूलाई पनि बुझाउने प्रयत्न गर्थे। 5 अनि सिलास र तिमोथी म्यासिडोनियाबाट आइपुगे, पावलले येशू नै ख्रीष्ट हुनुहुन्छ भनी यहूदीहरूलाई यत्नसित साक्षी दिँदै उहाँको वचनको शिक्षामा आफूलाई पूर्णरूपले अर्पण गरे। 6 तर जब यहूदीहरूले तिनको विरोध र निन्दा गरे, पावलले आफ्नो लुगाबाट धूलो टकटक्याउँदै यसो भने, ‘‘तपाईंहरूको रगत तपाईंहरूकै शिरमा परोस्, म निर्दोष छु। अब उसो म अयहूदीहरूकहाँ जानेछु।’’ 7 त्यसपछि तिनी परमेश्वरको उपासना गरिरहने तीतस युस्तस नाउँको एक अयहूदीसित बसे, जसको घर सभाघरको छेउमा थियो। 8 सभाघरका शासक क्रिस्पस र उनको परिवारका सबैले प्रभुमा विश्वास गरे अनि कोरिन्थीहरूमध्ये पनि धेरै जनाले सुनेर विश्वास गरे र बप्तिस्मा लिए। 9 एक रात प्रभु पावलसँग दर्शनमा यसो भन्दै बोल्नुभयो, ‘‘नडराऊ, तर बोल्दै जाऊ र चुप नलाग, 10 किनभने म तिम्रोसाथमा छु, अनि कसैले पनि तिमीलाई हानि पुर्याउनेछैन, कारण यस शहरमा मेरा मानिसहरू धेरै छन्।’’ 11 यसैले पावल एक वर्ष छ महिनासम्म त्यहाँ परमेश्वरको वचनबाट शिक्षा दिँदै बसे। 12 तर जब गलियोन अखैयाका शासक भए, केही यहूदीहरू एकैमतको भएर पावलको विरुद्धमा उठे र तिनलाई न्याय- आसनको अघि ल्याए। 13 अनि यसो भने,‘‘व्यवस्थाको ठीक विपरीत यसले परमेश्वरको उपासना गर्न कर लाउँदै छ।’’ 14 तर पावल बोल्नै आँट्दा गलियोनले यहूदीहरूलाई भने, ‘‘हे यहूदीहरू हो, मेरो कुरा सुन। यदि साँच्चै नै यो अन्याय वा खतरनाक अपराधको कुरा भएको भए, म तिमीहरूको अभियोग सुन्न बाध्य हुनेथिएँ। 15 तर तिमीहरूको विवादको घेरा सानो रहेछ, शब्द, नाउँहरू र तिमीहरूको आफ्नै व्यवस्थाको सवाल भएको हुनाले तिमीहरू आफै विचार गर, किनकि म यस्ता कुराको न्यायकर्ता हुन चाहँदिनँ।’’ 16 अनि उनले तिनीहरूलाई न्याय-आसनको सामुन्नेबाट लखेटिदिए। 17 न्याय-आसनकै अघिल्तिर सबै ग्रीकहरूले सभाघरको अगुवा, सोस्थेनेसलाई समातेर पिटे । तर गलियोनले त्यस कुराको वास्तै राखेनन्। 18 कोरिन्थमा पावल धेरै दिनसम्म बसे। त्यसपछि तिनले त्यहाँका भाइ-बहिनीहरूलाई बिदा माग्दै प्रिस्किला र अक्विलालाई लिएर सिरियातर्फ समुद्रयात्रा गरे। (आफूले गरेको भाकल सम्झेर पावलले यहूदी रीतिअनुसार किंक्रियामा आफ्नो कपाल खौरे। ) 19 जब तिनीहरू एफिससमा आइपुगे, पावलले तिनीहरूलाई त्यहीँ छोडे। तर आफू यहूदीहरूसँग तर्कवितर्क गर्न एउटा सभाघरमा गए। 20 उनीहरूले तिनलाई केही दिन बस्ने आग्रह गरे तर तिनले मानेनन्। 21 ‘‘परमेश्वरको इच्छा भए, म फेरि आउँला’’ भन्दै तिनले बिदा मागे। त्यसपछि एफिससबाट समुद्रयात्रा गरे। 22 जहाजबाट कैसरियामा उत्रेपछि तिनी माथि गएर मण्डलीसँग भेटघाट गरी फेरि एन्टिओकमा ओर्ले। 23 त्यहाँ केही समय बिताएपछि गलातिया र फ्रिगियाका चेलाहरूलाई भेटेर प्रभुमा सामर्थी बनाउँदै पावल एक ठाउँदेखि अर्को ठाउँ गए। 24 अलेक्जेन्ड्रियामा जन्मेका, धर्मशास्त्रमा पोख्त अपोल्लस भनिने एक यहूदी वक्ता एफिससमा आइपुगेका थिए। 25 उनलाई प्रभुको मार्ग सिकाइएको थियो र उनले येशूको बारेमा ठूलो जोशसित हुबहु अरुहरूलाई सिकाउँथे। तर उनले यूहन्नाको बप्तिस्माको बारेमा मात्र जानेका थिए 26 सभाघरमा उनले साहससित प्रचार गरिरहेका सुने अनि प्रिस्किला र अक्विलाले उनलाई आफ्नो घरमा लगेर परमेश्वरको मार्गको अर्थ अझै स्पष्टसित बुझाइदिए। 27 उनले अखैयामा जाने मन गर्दा भाइहरूले उनलाई त्यहाँ जाने प्रोत्साहन दिए र उनलाई ग्रहण गरून् भनी त्यहाँका चेलाहरूलाई उत्साह दिएर पत्र लेखे। उनले त्यहाँ पुगेर अनुग्रहद्वारा विश्वास गर्नेहरूलाई धेरै सहायता गरे, 28 किनकि उनले खुल्लमखुल्ला ‘‘येशू नै ख्रीष्ट हुनुहुन्छ’’ भनी धर्मशास्त्रबाट प्रमाणित गर्दै यहूदीहरूलाई चुप गराए। 191 अपोल्लस कोरिन्थमा हुँदा, पावल भित्री इलाकाहरू हुँदै एफिससमा आइपुगे। त्यहाँ तिनले धेरै चेलाहरूलाई भेट्टाए।2 तिनले उनीहरूलाई सोधे, ‘‘विश्वास गरेर के तपाईंहरूले पवित्र आत्मा पाउनुभयो?’’ उनीहरूले जवाफ दिए, ‘‘अहँ, पवित्र आत्मा हुनुहुन्छ भन्ने कुरा हामीले कहिल्यै सुनेका पनि छैनौं।’’ 3 अनि तिनले उनीहरूलाई भने, ‘‘तब तपाईंहरूले कस्तो बप्तिस्मा लिनुभयो ?’’ उनीहरूले जवाफ दिए, ‘‘यूहन्नाको बप्तिस्मा।’’ 4 तब पावलले भने, ‘‘यूहन्नाले दिएको बप्तिस्मा पश्चात्तापको बप्तिस्मा थियो, उनीपछि आउनुहुने व्यक्ति येशूमाथि विश्वास गर्नू भनी तिनले मानिसहरूलाई बताउँथे।’’ 5 यो कुरा सुन्नेसाथ उनीहरूले प्रभु येशूको नाउँमा बप्तिस्मा लिए। 6 त्यसपछि जब पावलले उनीहरूमाथि आफ्नो हात राखे, पवित्र आत्मा आउनुभयो अनि उनीहरूले अन्यभाषामा बोल्न र अगमवाणी भन्न लागे। 7 उनीहरू प्राय: बाह्र जनाजति थिए। 8 तब पावल सभाघरमा गए अनि परमेश्वरका राज्यको विषयका कुरामा तर्क गर्दै र विश्वास दिलाउँदै तीन महिनासम्म साहससित बोले। 9 तर कतिले कठोर र अनाज्ञाकारी भएर मानिसहरूको अघि यस मार्गको विषयमा खराब कुरा बोले, तब तिनले उनीहरूलाई छोडेर चेलाहरूलाई अलग गरी दिनहुँ टिरान्नसको विद्यालयमा बहस गर्नलागे। 10 शिक्षा दिने काम दुई वर्षसम्म भइरह्यो। त्यसकारण एसिया प्रान्तभित्र रहने यहूदी र ग्रीकहरूले प्रभुको सन्देश सुने। 11 परमेश्वरले पावललाई अघि कहिल्यै नगरिएका आश्चर्यकर्महरू गर्ने सामर्थ्य दिनुभयो। 12 यहाँसम्म हुनलाग्यो कि तिनको शरीरमा रुमाल वा वस्त्र छुवाएर रोगीहरूलाई लगिदिँदा, उनीहरू निको हुनथाले र उनीहरूभित्र वास गरेका दुष्टात्माहरू निस्कन लागे। 13 तर कुनै कुनै झारफुके डुलुवा यहूदीहरूले पनि दुष्टात्मा भएकाहरूमाथि यसो भनी प्रभु येशूको नाउँ लिनलाई हात हाले, ‘‘पावलले प्रचार गरेका येशूद्वारा म तँलाई आज्ञा गर्दछु।’’ 14 स्केवास नाउँ भएका यहूदी मुख्य पूजाहारीका सात जना छोराहरूले यसो गर्थे। 15 तब दुष्टात्माले जवाफ दिएर तिनीहरूलाई भन्यो, ‘‘म येशूलाई चिन्छु अनि पावललाई चिन्छु। तर तिमीहरू को हौ?’’ 16 अनि त्यस भूतात्मा लागेको मानिसले हिंसात्मक ढङ्गले तिनीहरूलाई झम्टेर आक्रमण गर्यो अनि तिनीहरू त्यस घरबाट घाइते भएर नाङ्गै भागे। 17 त्यो घटनाको विषयमा एफिसस शहरभरि भएका यहूदीहरू र ग्रीकहरूले थाहा पाए र तिनीहरू सबैलाई डर भयो र प्रभु येशूको नाउँको महिमा भयो। 18 विश्वास गर्नेहरू धेरैले खुल्लमखुल्ला आफ्ना पाप मानिलिए। 19 तिनीहरूमध्ये टुनामुना गर्ने धेरैले आ-आफ्ना तन्त्रमन्त्रका पुस्तकहरू एक ठाउँमा थुपारेर सबैले हेर्दाहेर्दै जलाए। किन्नपर्दा ती पुस्तकहरूको मोल लगभग पचास हजार चाँदीको सिक्का पर्थ्यो। 20 यसरी प्रभुको वचन सामर्थ्यसँग बढ्दै गयो र प्रबल भयो। 21 त्यसपछि पावलले यरूशलेममा फेरि फर्किजानअघि पवित्र आत्माको अगुवाइमा म्यासिडोनिया र अखैया जाने निश्चय गरे। तिनले भने, ‘‘त्यहाँदेखि म रोमतर्फ जानैपर्छ।’’ 22 तिनले आफ्ना दुई सहयोगी तिमोथी र इरास्तसलाई आफूभन्दाअघि म्यासिडोनिया पठाए तर आफू केही समय एसियामा नै बसे। 23 अब त्यही समयतिर यस मार्गको विषयमा एफिससमा ठूलो हलचल मच्चियो, 24 किनभने डेमेत्रियस नाउँ भएको एक जना चाँदीको शिल्पकारले आर्तेमिस देवीका चाँदीका ससाना मन्दिरहरू बनाएर कारीगरहरूका निम्ति धेरै आम्दानी गराउँथ्यो। 25 उसले सबै कारीगरहरूलाई एक ठाउँमा जम्मा गरेर भन्यो, ‘‘साथीहरू हो, तपाईंहरूलाई थाहा नै छ, कि यही व्यापारबाट हामीले कमाइ गर्दैछौं। 26 तपाईंहरूले देखिरहनु र सुनिरहनुभएको छ कि यो पावल भन्ने मान्छेले ‘हातले बनिएको देवदेवताहरू केही पनि होइनन्’ भनी हाम्रा मानिसहरूलाई फुस्लाएर एकोहोरो बनाइसकेको छ। अनि यी कुरा एफिससमा मात्र होइन तर सम्पूर्ण एसिया प्रान्तभरि फैलिएको छ। 27 अनि अर्को कुरा, हाम्रो व्यापारमा भएको प्रतिष्ठामा कलङ्क लाग्ला भन्ने डर मात्र होइन, तर म यस कुरामा चिन्तित छु कि सारा एसिया र संसारभरि मानिएकी देवी आर्तेमिसको गौरव हटाउनेछ र महान् देवीको मन्दिर पनि बेकामको हुनेछ।’’ 28 यो सुनेर तिनीहरू रीसले चूर भए अनि यसो भन्दै कराउन थाले, ‘‘एफिसीहरूकी आर्तेमिस महान् हुन्।’’ 29 एक ठूलो भीड जम्मा भयो र चाँडै शहरभरि खैलाबैला मच्चियो। सबै जना मिलेर पावलका सहयात्री म्यासिडोनियावासी गायस र अरिस्तार्खसलाई समातेर रङ्गशालाभित्र घिस्स्याउँदै लगे। 30 पावलले त्योभित्र जाने इच्छा गरे तर विश्वासीहरूले तिनलाई रोके। 31 एसियाका कतिपय मुख्य मानिसहरू पावलका मित्र थिए, उनीहरूले तिनलाई यसो भनेर विन्ती गरे, ‘‘रङ्गशालाभित्र पसेर आफैलाई जोखिममा नहाल्नोस्।’’ 32 रङ्गशालाभित्र मानिसहरू कसैले एउटा कुरा, अर्कोले अर्कै कु रा भन्दै चिच्च्याइरहेका थिए, किनकि त्यहाँ हलचल मच्चिएको थियो। वास्तवमा कति जनालाई त त्यहाँ मानिसहरू किन जम्मा भएका हुन्, त्यो पनि थाहा थिएन। 33 यस्तो स्थितिको जड के हो भनी बुझाइदेऊन् भनी केही यहूदीहरूले अलेक्जेन्डरलाई अघि सारे। उनले भीडलाई शान्त पारे अनि बचाउको पक्षमा बोल्ने प्रयास गरे । 34 तर जब अलेक्जेन्डर यहूदी रहेछ भनी भीडले थाहा पाए, तब तिनीहरू यसो भन्दै दुई घण्टासम्म लगातार चिच्च्याइरहे, ‘‘एफिसीहरूकी आर्तेमिस महान् हुन्, एफिसीहरूकी आर्तेमिस महान् हुन्।’’ 35 शहरका हाकिमले भीडलाई शान्त पारेपछि भने, ‘‘हे एफिससका मानिस हो, एफिसीहरूको शहर महान् आर्तेमिसको मन्दिर र आकाशबाट खसेको उसको मूर्त्तिको रक्षक हो भन्ने कुरा कसलाई थाहा छैन र ? 36 तपाईंहरू जान्नुहुन्छ, यो कुरा अकाटय छ, यसैले तपाईंहरू शान्त हुनुहोस् र कुनै उत्ताउलो काम नगर्नुहोस् । 37 तपाईंहरूले यी मानिसहरूलाई यहाँ ल्याउनुभयो तर यिनीहरूले न त मन्दिरबाट केही चोरेका छन्, न हाम्रो देवीको निन्दा गरेका छन्। 38 यदि डेमेत्रियस र शिल्पकारहरूसित यिनीहरूको विरुद्धमा केही मुद्दा भए, अदालतहरू खुला छन् अनि न्यायाधीशहरूले मुद्दाको जाँच तुरुन्तै गर्नेछन्। तिनीहरूले कानूनअनुसार मुद्दा लडून्। 39 अनि योबाहेक अरु विषय भए नियमित सभामा त्यसको समाधान हुनेछ। 40 मलाई डर लागिरहेको छ, किनकि आजको यस हूलदङ्गाको दोष हामीलाई लाग्ने खतरा छ । यो कारणविनाको दङ्गाफसादको स्पष्टीकरण रोमी सरकारले मागेको खण्डमा हामीले के बयान दिनुपर्ने हो, थाहा छैन।’’ 41 यति भनेर तिनले सभालाई विसर्जन गरे। 201 यो हूलदङ्गा थामिएपछि पावलले चेलाहरूलाई बोलाएर उत्साह दिए। त्यसपछि तिनले म्यासिडोनिया जानलाई तिनीहरूबाट बिदा मागे ।2 अनि ती इलाकाहरूबाट भएर जाँदा तिनीहरूलाई धेरै अर्ती र उत्साहका वचन दिएपछि तिनी ग्रीसमा आए 3 र त्यहाँ तिनी तीन महिनासम्म बसे। तिनले सिरियातर्फ जानलाई समुद्रयात्रा गर्नलाग्दा यहूदीहरूले तिनको ज्यान लिने षडयन्त्र गरेको थाहा पाएपछि तिनले म्यासिडोनिया भएरै फर्किने निर्णय गरे। 4 धेरै मानिसहरू तिनीसँग यात्रा गरिरहेका थिए। बेरिया निवासी पुरसका छोरा सोपात्रोस, थेसलोनिकेबाट अरिस्तार्खस र सिकन्दस, डर्बीका गायस अनि एसिया प्रान्तबाट तिमोथी, तुखिकस र त्रोफिमस तिनको साथमा गए। 5 तिनीहरू हामीभन्दा अघि नै गएर त्रोआसमा हामीलाई पर्खिबसे। 6 तब हामी अखमीरी रोटीको चाड सकिनासाथ म्यासिडोनियाको फिलिप्पीबाट समुद्रयात्रा गर्दै पाँच दिनमा त्रोआसमा तिनीहरूकहाँ आयौं रत्यहाँ सात दिनसम्म बस्यौं। 7 हप्ताको पहिलो दिनमा जब हामी प्रभु-भोजको रोटी भाँच्नलाई जम्मा भयौं तब पावलले भोलिपल्ट नै जाने इच्छा गरेको हुनाले तिनीहरूलाई मध्यरातसम्म प्रवचन दिए। 8 हामी भेला भएको माथिल्लो तलाको कोठामा धेरै बत्तीहरू थिए। 9 युटिकस नाउँ भएको एक जना युवक झ्यालमा बसेको थियो। पावलले लामो समयसम्म प्रचार गर्दा त्यो मस्त निद्रामा परेर तीन तलामाथि बाट खस्यो र त्यो मरेको अवस्थामा उठाइयो। 10 तब पावल तल ओर्ले र घोप्टो परी त्यसलाई अँगालो हाले र भने, ‘‘नआँत्तिनुहोस्, किनभने त्यो जीवितै छ।’’ 11 तब तिनीहरू सबै माथिल्लो तलामा उक्ले अनि रोटी भाँचेर खाइसकेपछि बिहानसम्म पावल तिनीहरूसँग बातचित गरिबसे। त्यसपछि तिनी बिदा भए। 12 अनि तिनीहरूले त्यस युवकलाई जीवित अवस्थामै लगे र धेरै सान्त्वना पाए। 13 हामी जहाजमा चढेर अस्सोसमा गयौं, त्यहाँ हामी पावललाई पनि जहाजमा चढाउन चाहन्थ्यौं तर तिनले स्थलमार्गबाट जाने निर्णय गरेको हुनाले तिनी पैदलै त्यतातिर लागे। 14 तिनले हामीलाई अस्सोसमा भेटे अनि हामीले तिनलाई जहाजमा चढायौं र मितिलेनेमा आयौं। 15 अनि त्यहाँबाट जहाजमा यात्रा गरेर भोलिपल्ट हामी खियसको सामुन्ने आइपुग्यौं अनि अर्को दिन हामी सामोसमा आइपुग्यौं र भोलिपल्ट हामी मिलेटस आयौं, 16 किनकि पावललाई एसियामा अलमलिने विचार नभएकोले तिनले एफिससको किनारबाट भएर जाने निश्चय गरेका थिए, किनभने सकेसम्म पेन्तिकोसको दिनमा यरूशलेममा नै पुग्ने तिनले आतुरी गरिरहेका थिए। 17 तिनले मिलेटसबाट एफिससमा मानिस पठाएर मण्डलीका एल्डरहरूलाई बोलाए। 18 जब उनीहरू त्यहाँ आए, तिनले उनीहरूलाई भने, ‘‘एसियामा पाइला टेकेको पहिलो दिनदेखि नै मैले सम्पूर्ण समय तपाईंहरूसँग कसरी बिताएँ सो तपाईंहरूलाई थाहा छँदै छ। 19 प्रभुको काम मैले नम्रतामा गरेँ। अँ, बरु आँसुसित गरेँ। मैले यहूदीहरूको षडयन्त्र पनि सहेँ। 20 तापनि तपाईंहरूलार्ई फाइदा हुने कुरा मैले कहिल्यै लुकाइनँ, बरु सबैको सामु र घरघरमा गएर शिक्षा दिएको छु। 21 मैले यहूदी र अयहूदीहरू, दुवैलाई पश्चात्ताप गरेर परमेश्वरतिर फर्कनू र हाम्रा प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्नू भन्ने कुराको गवाही दिएको छु। 22 अब हेर्नुहोस्, म पवित्र आत्मामा बाध्य भएर यरूशलेमतिर जाँदैछु, त्यहाँ मलाई के कसो परिआउने हो सो म केही जान्दिनँ। 23 यति मात्र मलाई थाहा छ कि प्रत्येक शहरमा कैद र कष्ट ममाथि आइपर्छ भन्ने कुरा पवित्र आत्माले मलाई गवाही दिनुहुन्छ। 24 तर म आफ्नो जीवनलाई कुनै मूल्यको वा प्रिय सम्झँदिनँ, यति मात्र चाहन्छु कि परमेश्वरका अनुग्रहको सुसमाचारको गवाही दिनलाई मेरो दौड र प्रभु येशूबाट मिलेको मेरो सेवकाइ म पूरा गर्नसकूँ। 25 अनि अहिले म जान्दछु कि तपाईंहरू ज-जसलाई मैले राज्यको प्रचार गरेको छु, तपाईंहरूले मेरो मुहार फेरि कहिल्यै देख्न पाउनुहुनेछैन। 26 यसैकारण आजको दिन म तपाईंहरूलाई साक्षी दिन चाहन्छु कि म सबै मानिसहरूको रगतको निम्ति निर्दोष छु, 27 किनभने परमेश्वरको सबै सल्लाह तपाईंहरूलाई घोषणा गर्न म पछि हटिनँ। 28 यसकारण तपाईंहरू आफ्नो विषयमा र सम्पूर्ण बगालको विषयमा होशियार हुनुहोस्। पवित्र आत्माले तपाईंहरूलाई बगालको जिम्मावाल बनाउनुभएको हुनाले उहाँको आफ्नै रगतले किन्नुभएको परमेश्वरका मण्डलीको हरेचाह तपाईंहरू गर्नुहोस्। 29 मलाई यो राम्ररी थाहा छ कि म यहाँबाट गइसकेपछि झूटा शिक्षकहरू डरलाग्दा ब्वाँसाहरूको रूपमा आउनेछन् अनि बगाललाई बाँकी राख्नेछैनन्। 30 तपाईंहरूकै बीचबाट पनि चेलाहरूलाई आफ्नोपछि खिँच्नलाई भर्माउने कुरा गर्ने मानिसहरू खडा हुनेछन्। 31 यसकारण यो सम्झेर होशियार हुनुहोस् कि तीन वर्षसम्म दिनरात आँसु बगाउँदै हरेक मानिसलाई मैले चेताउनी दिइरहेँ। 32 अब म तपाईंहरूलाई परमेश्वरमा र उहाँका अनुग्रहको वचनमा सुम्पिदिन्छु, जसले तपाईंहरूलाई बलियो पार्नसक्छ र पवित्र पारिएकाहरू सबैका बीचमा उत्तराधिकार दिनसक्छ। 33 मैले कसैको सुनचाँदी वा लुगाफाटाको लोभ गरिनँ । 34 तपाईंहरू जान्नुहुन्छ कि यिनै हातहरूले आफ्नो आवश्यकताहरू पूरा गरेका हुन् र मसित भएकाहरूको अभाव पनि मैले पूरा गरँे। 35 अनि कडा परिश्रम गरेर गरीबहरूलाई कसरी सहायता गर्नुपर्छ भन्ने कुराको म निरन्तर रूपमा नमुना बन्दै आएको छु। तपाईंहरूले प्रभु येशूको वचन सम्झना गर्नुपर्छ, ‘लिनुभन्दा दिनु अझ असल हो’।’’ 36 यति भनिसकेर तिनले घुँडा टेके र सबैसित मिलेर प्रार्थना गरे। 37 अनि उनीहरू सबै साह्रै रोए र पावललाई अँगालो हालेर चुम्बन गरे 38 अनि विशेषगरी उनीहरूले तिनको मुहार फेरि देख्न पाउनेछैनन् भनेकोमा उनीहरू साह्रै दु:खी भए र उनीहरूले तिनलाई जहाजसम्म पुर्याए। 211 एफिससका एल्डरहरूलाई बिदा मागेर हामी सीधै कोसमा आयौं। भोलिपल्ट हामी रोडसमा र त्यहाँबाट पटारामा आइपुग्यौं।2 अनि फोनिकेमा जाने एउटा जहाज भेट्टाएर हामी त्यसैमा चढेर गयौं। 3 हामीले साइप्रसको टापु देख्यौं, तब हामी त्यसलाई देब्रेतिर पारी सिरियातर्फ लागेर टुरोसमा उत्रियौं, किनभने त्यहीँ नै जहाजले सामानहरू उतार्नुपर्थ्यो। 4 हामीले किनारामा चेलाहरूलाई भेटेर उनीहरूसँगै एक हप्तासम्म बस्यौं। ती चेलाहरूले पावल यरूशलेम नजाऊन् भनी पवित्र आत्माको अगुवाइमा बोले। 5 एक हप्ता बितेपछि हामी फर्कनलाग्दा उनीहरू सबै आफ्ना पत्नी र नानीहरूसित हामीलाई पुर्याउन समुद्रको किनारसम्म आए। हामीले त्यहीँ नै घुँडा टेक्यौं र प्रार्थना गर्यौं। 6 अनि एक-अर्काबाट छुट्टिएर जहाजमा चढयौं र उनीहरू आफ्ना घर फर्के । 7 टुरोसबाट समुद्रयात्रा गरेपछि हामी टोलेमाइसमा आयौं । त्यहाँ भाइहरूलाई अभिवादन गरी तिनीहरूसँग एक दिन मात्र बस्यौं। 8 तब भोलिपल्ट हामी कैसरियामा आयौं र प्रचारक फिलिपको घरमा बस्यौं। तिनी सात जनामध्ये एक थिए। 9 अगमवाणीको वरदान पाएका तिनका चार जना कन्ये छोरीहरू थिए। 10 हामी त्यहाँ निकै दिन बसिरहँदा अगाबस भनिने अगमवक्ता यहूदियाबाट आइपुगे । 11 जब उनी हामीलाई भेट्न आए, उनले पावलको पटुका लिएर आफ्नो हातखुट्टा बाँधे र भने, ‘‘पवित्र आत्मा यसो भन्नुहुन्छ ‘यस पटुकाको हकदारलाई यरूशलेममा यहूदीहरूले यसैगरी बाँध्नेछन् र अयहूदीहरूका हातमा सुम्पिदिनेछन्’ ।’’ 12 जब हामीले यस्तो कुरा सुन्यौं, तिनीसँग यात्रा गर्नेहरू र स्थानीय विश्वासीहरू मिलेर पावललाई यरूशलेममा नजानुहोस् भनी विन्ती गर्यौं। 13 तर तिनले भने, ‘‘तपाईंहरू यसरी रोएर मेरो मन किन बिगार्नुहुन्छ? प्रभु येशूको खातिर यरूशलेममा कैदी बन्नु मात्र होइन तर मर्न पनि म तयार छु।’’ 14 अब तिनलाई मनाउन सक्दैनौं भन्ने कुरा स्पष्ट भएपछि ‘‘प्रभुको इच्छा पूरा होस्’’ भनेर हामी चुप लाग्यौं। 15 केही दिनपछि लगत्तै हामी हाम्रा सामल तयार गरी यरूशलेमतर्फ लाग्यौं। 16 कैसरियाका कुनै कुनै विश्वासीहरूले हामीलाई साथ दिए र साइप्रसका एक पुराना चेला मनासोनको घरमा तिनीहरूले हामीलाई ल्याए। हामीलाई त्यहाँ बसाइयो। 17 यरूशलेममा रहने सबै भाइ-बहिनीहरूले हामीलाई हार्दिक स्वागत गरे। 18 भोलिपल्ट पावल हामीलाई लिएर याकूबसँग भेट गर्न गए र त्यहाँ यरूशलेमका सबै एल्डरहरू उपस्थित थिए। 19 एक-अर्कालाई अभिवादन गरिसकेपछि पावलले तिनको सेवकाइद्वारा अयहूदीहरूका बीचमा परमेश्वरले गर्नुभएका काम तिनीहरूलाई एक-एक गरी बयान गरे। 20 यो सुनेपछि तिनीहरूले परमेश्वरको महिमा गरे। तब तिनलाई भने, ‘‘प्रिय, भाइ, तपाईंलाई थाहा होस् कि हजारौं यहूदी विश्वासीहरू छन्, जो व्यक्तिहरू सबै व्यवस्थाका कुरामा जोशिला छन्। 21 अयहूदीहरूको बीचमा बस्ने सबै यहूदीहरूलाई तपाईंले ‘मोशालाई त्याग्नू र बालकहरूको खतना नगर्नू र रीतिअनुसार नचल्नू’ भनी सिकाउनुभएको छ अरे। 22 अब के गर्ने हो? तपाईं आउनुभएको कुरा तिनीहरूले निश्चय सुन्नेछन्। 23 त्यसकारण तपाईंलाई हाम्रो सल्लाह यो छ, हामीसँग भाकल गर्नेहरू चार जना छन्। तिनीहरू कपाल खौरन तयार छन्। 24 यी मानिसहरूलाई साथमा लिएर तिनीहरूको शुद्धीकरणमा भाग लिनुहोस् र त्यसमा लाग्ने तिनीहरूको खर्च तिरिदिनुहोस्। यसो गर्दा तिनीहरू आ-आफ्ना कपाल खौरिन सक्छन् र जुन कुराको खबर तिनीहरूले तपाईंको विषयमा पाएका छन्, त्यो केही होइन रहेछ, तर तपाईं आफै पनि व्यवस्था पालन गर्दै विधिपूर्वक चल्नुहुँदो रहेछ भनी सबैले थाहा पाऊन् । 25 तर अयहूदीहरू जसले विश्वास गरेका छन्। तिनीहरू मूर्त्तिहरूलाई चढाएको प्रसाद, रगत वा घाँटी अँठयाएर मारेको पशुको मासु र व्यभिचारबाट अलग रहनुपर्छ भन्ने हाम्रो निर्णय जनाएर हामीले पत्र लेखेका छौं।’’ 26 यसैले पावल उनीहरूको कुरामा सहमत भए अनि भोलिपल्ट तिनीहरूसितै शुद्धीकरणको लागि मन्दिरभित्र पसे। तब तिनले जनसमूहको अघि भाकल पूरा हुने दिनको र तिनीहरूमध्ये हरेकको निम्ति बलि चढाइने कुराको घोषणा गरे। 27 एक साता पूरा हुनलागेको बेलामा एसियाका यहूदीहरूले पावललाई मन्दिरमा देखेर एक ठूलो भीडलाई उक्साएर तिनलाई पक्रे। 28 उनीहरूले यसो भन्दै हल्ला मच्चाए, ‘‘ इस्राएलका मानिस हो, मदत पुर्याउनुहोस् ! यो त्यही मानिस हो, जसले हाम्रा मानिसहरूलाई हाम्रो जाति, यहूदी व्यवस्था र यस ठाउँको विरुद्धमा शिक्षा दिएर हिँड्छ। यति मात्र होइन, यसले ग्रीकहरूलाई पनि मन्दिरभित्र ल्याएर हाम्रो पवित्र स्थानलाई बिटुलो पारेको छ ।’’ 29 किनभने अघिल्लो दिन उनीहरूले तिनलाई एफिससबाट आएको त्रोफिमससित देखेका थिए र पावलले उनलाई मन्दिरभित्र ल्याएका हुन् भनी उनीहरूले ठाने। 30 तब सम्पूर्ण शहरका बासिन्दाहरूमा हलचल मच्चियो र मानिसहरू हतारिँदै त्यहाँ आए। उनीहरूले पावललाई पक्रेर मन्दिरबाट बाहिर घिस्स्याउँदै ल्याए र तुरुन्तै ढोकाहरू बन्द गरिदिए। 31 जब उनीहरूले तिनलाई मार्ने चेष्टा गरिरहेका थिए, तब सारा यरूशलेम खल्बलिएको छ भन्ने खबर रोमी पल्टनको सेनापतिकहाँ पुग्यो। 32 उनले तुरुन्तै सिपाही र कप्तानहरूलाई साथमा लिएर भीड भएतिर दौडिए। उनीहरूले सेनापति र सिपाहीहरूलाई देखेपछि पावललाई कुट्न छाडे। 33 सेनापतिले तिनलाई पक्रे र दुईटा साङ्लाले बाँध्ने हुकुम दिए। त्यसपछि उनले ‘तिनी को हुन् र के गरेका छन्’ भनी सोध्न थाले। 34 तर त्यस भीडमध्ये कसैले एउटा कुरा र कसैले अर्कै कुरा गर्दै होहल्ला मच्चाए। उनले त्यस होहल्लाको वातावरणमा खास कुरा पत्तो लगाउन नसक्दा अलमल्ल परेर ‘पावललाई छाउनीमा लैजानू’ भनी आदेश दिए। 35 जब सिपाहीहरू भर्याङमा आइपुगे, तब भीडको हिंस्रक उत्तेजनाले गर्दा सिपाहीहरूले तिनलाई उचालेर लगे, 36 किनभने मानिसहरूको भीड ‘त्यसलाई सिद्धयाइदेऊ’ भनी कराउँदै पछि-पछि लागेको थियो। 37 पावललाई छाउनीभित्र पुर्याउनलाग्दा तिनले सेनापतिलाई अनुमति माग्दै भने, ‘‘हजूर के म तपाईंलाई केही भन्न सक्छु?’’ उनले सोधे, ‘‘के तँलाई ग्रीकभाषा आउँछ? 38 के तँ त्यही मिश्री होइनस् जसले केही समयअघि विद्रोह मच्चाइ चार हजार विद्रोहीहरूलाई उजाड-स्थानमा लगेको थियो?’’ 39 पावलले जवाफ दिए, ‘‘म होइनँ, म त किलिकिया शहरको टार्ससमा जन्मेको एक यहूदी हुँ। म सानोतिनो शहरको बासिन्दा होइन। दया गरी मलाई यी मानिसहरूसँग बोल्न दिनुहोस्।’’ 40 सेनापतिले तिनलाई अनुमति दिए, तसर्थ पावलले भर्याङमा उभिएर मानिसहरूलाई हातले इसारा गरे । मानिसहरू बिलकुलै शान्त भएपछि, तिनले उनीहरूलाई हिब्रूभाषामा यसो भने, 221 ‘‘हे मानिसहरू, भाइहरू र आदरणीय बुबाहरू हो, तपाईंहरूका सामु मैले आफ्नो पक्षमा भन्नुपर्ने कुरा अब सुन्नुहोस्।’’2 तिनले हिब्रूभाषामा बोलेको सुने र उनीहरू शान्त भए। 3 तिनले भने, ‘‘म किलिकियाको टार्सस शहरमा जन्मेको एक यहूदी हुँ तर यस यरूशलेममा गमलिएलको चरणमा शिक्षा लिँदै हुर्किएको हुँ। हाम्रा पुर्खाका विधिअनुसार मैले ठीक-ठीक शिक्षा पाएको हुँ। आज तपाईंहरू परमेश्वरतर्फ जति उत्साहित हुनुहुन्छ, म पनि त्यत्तिकै उत्साहित थिएँ। 4 मैले यस मार्गका मानिसहरूलाई मृत्युसम्मै सताएँ अनि पुरुष र स्त्री दुवैलाई बाँध्दै झ्यालखानमा हालिदिएँ। 5 प्रधान पूजाहारी र सम्पूर्ण अगुवाहरूको सभाले यसको गवाही दिनसक्छन्, किनभने उनीहरूकै तर्फबाट भाइहरूको नाउँमा पुर्जी पाएर म त्यहाँ भएका विश्वासीहरूलाई बाँधेर यरूशलेममा ल्याएर सजाय दिलाउन दमस्कस गएको थिएँ। 6 म दमस्कसनेर पुग्नलाग्दा बाटोमा मध्यान्ह भएको थियो। अचानक स्वर्गबाट एउटा ठूलो ज्योति मेरो वरिपरि चम्क्यो। 7 म भुइँमा पछारिएँ र मैले यसो भनिरहेको आवाज सुनेँ, ‘ए शाऊल, ए शाऊल, तिमी मलाई किन सताउँछौ?’ 8 अनि मैले सोधेँ, ‘हे प्रभु, तपाईं को हुनुहुन्छ?’ अनि उहाँले मलाई भन्नुभयो, ‘नासरतको येशू म नै हुँ, जसलाई तिमीले सताउँदै छौ।’ 9 मसित हुनेहरूले ज्योति त देखे तर बोल्नेको आवाज सुनेनन्। 10 मैले भनँे, ‘हे प्रभु, अब म के गरूँ?’ अनि प्रभुले मलाई बताउनुभयो, ‘उठ, र दमस्कसमा जाऊ अनि त्यहाँ तिमीले जे गर्नुपर्छ त्यो तिमीलाई बताइनेछ।’ 11 ज्योतिको तेजले गर्दा, म अन्धासरह भएँ र मसँग हुनेहरूले मलाई डोर्याएर दमस्कसमा ल्याइपुर्याए। 12 हननिया नाउँका मानिस त्यहाँ बस्थे। उनी व्यवस्थाअनुसार जिउने भक्त मानिस थिए अनि दमस्कसमा बस्ने सबै यहूदीहरूले उनलाई आदर गर्थे। 13 उनी मकहाँ आए र मेरो छेउमा उभिएर भने, ‘भाइ शाऊल, दृष्टि प्राप्त गर्नुहोस्।’ अनि त्यही घडी नै मैले देख्नसकेँ। 14 तब उनले मलाई भने, ‘हाम्रा पिता-पुर्खाका परमेश्वरले उहाँको इच्छा बुझ्न, धर्मीजनलाई देख्न र उहाँको शब्द सुन्न तपाईंलाई चुन्नुभएको छ, 15 किनकि तपाईंले जे देख्नुभएको छ र जे सुन्नुभएको छ ती कुराका सबै मानिसहरूमा तपाईं उहाँको साक्षी हुनुहुनेछ। 16 अनि त्यसो हो भने, किन पर्खिरहनुहुन्छ? अब उठ्नुहोस् र प्रभु येशूको नाउँमा बप्तिस्मा लिँदै आफ्ना पाप पखाल्नुहोस्।’ 17 यरूशलेममा फर्केपछि, एक दिन म मन्दिरमा प्रार्थना गरिरहेको थिएँ अनि म अचेत अवस्थामा परेँ। 18 येशूले मलाई यसो भनिरहनुभएको दर्शन मैले देखेँ, ‘चाँडो गरी यरूशलेमबाट निस्किहाल, किनभने जब तिमीले मेरो विषयमा तिनीहरूलाई गवाही दिन्छौ, मानिसहरूले तिम्रो कुरा पत्याउनेछैनन्।’ 19 मैले भनँे, ‘तर प्रभु, मैले प्रत्येक सभाघरमा गएर तपाईंमाथि विश्वास गर्नेहरूलाई कुटपिट गर्दै झ्यालखानमा हालेको कुरा तिनीहरूलाई थाहै छ । 20 अनि तपाईंको साक्षी स्तिफनसको रगत बगाइँदा म पनि तिनीहरूसँग सहमत थिएँ। उनलाई मार्नेहरूका वस्त्र मैले रुँगिदिएको थिएँ।’ 21 तर प्रभुले मलाई भन्नुभयो, ‘जाऊ किनभने म तिमीलाई टाढा-टाढा अयहूदीहरूकहाँ पठाउनेछु’।’’ 22 मानिसहरूको भीडले जब यो कुरा सुने तब यसो भन्दै एकसाथ कराउन लागे, ‘‘यसलाई सिद्धयाइदेऊ। यो बाँच्ने योग्यको छैन।’’ 23 तिनीहरू आफ्नो वस्त्र च्यात्दै र धूलो उडाउँदै कराउन थाले। 24 त्यसैले सेनापतिले हुकुम दिए, ‘‘पावललाई छाउनीभित्र ल्याऊ र कोर्रा लगाएर उसलाई केरकार गर। यसैले कि यी मानिसहरूको भीड किन यति क्रुद्ध भएर उसको विरुद्धमा कराइरहेका छन् सो उसले जानोस्।’’ 25 जब तिनीहरूले पावललाई कोर्रा लगाउनलाई बाँधे, तब पावलले त्यहाँ उभिरहने कप्तानलाई भने, ‘‘के रोमी नागरिक र दोषी नठहरिएको मानिसलाई कोर्रा लगाउन उचित छ र?’’ 26 कप्तानले सेनापतिकहाँ गएर भने, ‘‘तपाईंले यस मानिसलाई के गर्न लाग्नुभएको हो ? यो मानिस त रोमी नागरिक रहेछ।’’ 27 यसर्थ सेनापतिले गएर पावललाई सोधे, ‘‘मलाई भन त, के तिमी रोमी नागरिक हौ?’’ पावलले जवाफ दिए, ‘‘ज्यू, म रोमी नागरिक हुँ।’’ 28 सेनापतिले भने, ‘‘यस नागरिकताको हक पाउनलाई मैले धेरै पैसा खर्च गरेको छु।’’ पावलले भने, ‘‘म जन्मसिद्ध नागरिक हुँ।’’ 29 पावललाई केरकार गर्न तयार भएका सिपाहीहरू यो कुरा सुन्नेबित्तिकै हटेर गए अनि पावल एक रोमी नागरिक रहेछ भन्ने थाहा पाउनासाथ सेनापति पनि डराए, किनभने उनले तिनलाई बाँधेका थिए। 30 तर भोलिपल्ट यहूदीहरूले पावललाई कुन खास कारणले दोष लाएका थिए, सो बुझ्ने इच्छाले तिनलाई फुकाइदिए र सबै मुख्य पूजाहारीहरू र महासभालाई जम्मा हुने आज्ञा गरे अनि पावललाई तल ल्याएर तिनीहरूका सामुन्ने खडा गरे। 231 महासभातिर एकटक लाएर हेर्दै पावलले भने, ‘‘भाइ हो, आजको दिनसम्म परमेश्वरको दृष्टिमा मैले शुद्ध विवेकले जीवन बिताउँदै आएको छु।’’2 प्रधान पूजाहारी हननियाले छेउमा उभिरहनेहरूलाई तुरुन्तै पावलको अनुहारमा झापट लाउने हुकुम दिए। 3 तर पावलले उनलाई भने, ‘‘ए चुनाले पोतिएको भित्तो ! तिमीलाई पनि परमेश्वरले यसरी नै हिर्काउनुहुनेछ। तिमी व्यवस्थाबमोजिम मेरो इन्साफ गर्न बसेर के व्यवस्थाको विपरीत मलाई हिर्काउने हुकुम दिन्छौ?’’ 4 अनि छेउमा उभिरहनेहरूले पावललाई भने, ‘‘के तँ परमेश्वरको प्रधान पूजाहारीको अपमान गर्छस्?’’ 5 पावलले जवाफ दिँदै भने, ‘‘भाइ हो, उहाँ प्रधान पूजाहारी हुनुहुन्छ भन्ने मलाई थाहा थिएन, किनभने वचनले भन्छ, ‘तैँले जनतामाथि शासन गर्नेहरूको विरुद्धमा कुनै खराबी नबोल्नू’।’’ 6 तर त्यस महासभामा उपस्थित सदस्यहरूमध्ये कुनै एक दल सदुकी र अर्को दल फरिसीहरू रहेछन् भन्ने चाल पाएर पावलले उच्च सोरमा भने, ‘‘भाइहरू हो, मेरा पुर्खाहरूझैँ म पनि एक फरिसी हुँ। मरेकाहरू पुनर्जीवित हुन्छन् भन्ने आशाको कारण मेरो मुद्दा चलिरहेछ।’’ 7 यो कुराले सैद्धान्तिक मतभेद भएका फरिसीहरू र सदुकीहरूको बीचमा झन् फाटो ल्यायो, 8 किनकि सदुकीहरू पुनरुत्थानमा विश्वास गर्दैनन्, साथै स्वर्गदूतहरू र आत्मा हुँदैनन् भन्दछन् तर फरिसीहरू भने यी सबै कुरामा विश्वास गर्छन्। 9 त्यहाँ ठूलो होहल्ला मच्चियो र धार्मिक व्यवस्थाका गुरुहरू, जो फरिसीहरू थिए, पावलले भनेका कुरा ठीकै हुन् भन्दै उनीहरू उफ्रँदै बहस गर्नलागे, ‘‘यस मानिसमा हामी केही खराबी पाउँदैनौं तर कुनै आत्मा वा स्वर्गदूतले यिनीसित बात गरेका छन् भने हामी परमेश्वरको विरोधमा खडा नहौं।’’ 10 त्यहाँ ठूलो मतभेद भएपछि तिनीहरूका हातबाट पावल लुछलाछ पारिएलान् भन्ने डरले सेनापतिले सिपाहीहरूलाई तल गएर तिनलाई तिनीहरूका बीचबाट बलजफतीसँग ल्याएर छाउनीभित्र लैजानू भनी आज्ञा दिए। 11 त्यही राती पावलको अघि प्रभु देखा पर्नुभयो र भन्नुभयो, ‘‘साहस गर, पावल, किनकि जसरी तिमीले यरूशलेममा मेरो विषयमा गवाही दियौ, त्यसरी नै तिमीले रोममा पनि गवाही दिनुपर्छ।’’ 12 भोलिपल्ट उज्यालो हुनेसाथ यहूदीहरू आपसमा सङ्गठित भएर पावललाई नसिद्धयाएसम्म ‘केही नखाने र नपिउने’ शपथ लिए। 13 यो षडयन्त्र रच्नेहरू चालीस जनाभन्दा धेरै थिए। 14 यिनीहरूले मुख्य पूजाहारीहरू र अन्य अगुवाहरूलाई गएर भने, ‘‘पावलको हत्या नगरेसम्म हामी केही खानेछैनौं वा पिउनेछैनौं भनी हामीले दृढ शपथ खाएका छौं। 15 यसकारण तपाईंहरू र महासभा मिलेर सेनापतिलाई अपिल गर्नुहोस् र त्यसको मुद्दाको छिनाफाना ठीकसँग गर्नुपर्छ भन्ने बहाना बनाएर त्यसलाई झिकाउनुहोस् । अनि त्यो यहाँ आउनेसाथ हामी त्यसलाई मार्न तयार रहन्छौं।’’ 16 तर पावलको भानिजले तिनीहरूको षडयन्त्रपूर्ण सल्लाह सुनेर छाउनीभित्र पुर्याइएको पावललाई त्यो सुनाइदियो। 17 तब पावलले कप्तानहरूमध्ये एक जनालाई बोलाएर भने, ‘‘यस जवान ठिटोलाई सेनापतिकहाँ पुर्याइदिनुहोस्, किनभने यससँग उहाँलाई भन्नुपर्ने खास कुरा छ अरे।’’ 18 यसकारण कप्तानले त्यस जवान ठिटोलाई सेनापतिकहाँ पुर्याएर भने, ‘‘कैदी पावलले मलाई बोलाएर यस ठिटोलाई तपाईंकहाँ लैजानू भनेको छ, यससँग तपाईंलाई भन्नुपर्ने केही कुरा छ, अरे।’’ 19 सेनापतिले त्यसको पाखुरामा समातेर एकातिर लगी सोधे, ‘‘तँ मलाई के भन्न चाहन्छस्?’’ 20 पावलको भानिजले उनलाई भने, ‘‘केही यहूदीहरूले पावलको विषयमा अझ राम्रो जानकारी पाउने निहुँले भोलि तिनलाई महासभामा ल्याइदिनुहोस् भनी तपाईंसँग अनुरोध गर्ने मतो गरेका छन्। 21 तर तपाईंले तिनीहरूको अनुरोध स्वीकार नगरिदिनुहोस्, किनभने तिनीहरूमध्ये चालीस जनाभन्दा बढी मानिसहरूले तिनको हत्या नगरूञ्जेलसम्म केही नखाने र नपिउने शपथ लिएका छन् अनि अब तिनीहरू तपाईंको स्वीकृतिको आशा गरेर बसेका छन्।’’ 22 यसकारण सेनापतिले त्यस ठिटोलाई यसो भनी चेताउनी दिएर पठाए, ‘‘तैँले मलाई यो खबर दिएको कुरा कसैले चाल नपाओस् है।’’ 23 त्यसपछि सेनापतिले दुई जना कप्तानहरूलाई बोलाएर भने, ‘‘आज राती नौ बजेतिर दुई सय सिपाहीहरू, सत्तरी जना घोडचढी र दुई सय भालावालहरूलाई कैसरियासम्म जान तयार पारिराख। 24 अनि पावलको निम्ति पनि घोडाको व्यवस्था गर र उनलाई सुरक्षासाथ हाकिम फेलिक्सकहाँ पुर्याऊ।’’ 25 तब उनले एउटा यस्तो पत्र पनि लेखे: 26 ‘‘माननीय हाकिम फेलिक्सलाई क्लौडियस लुसियसको अभिवादन ! 27 यस मानिसलाई केही यहूदीहरूले पक्रेर मार्न खोजेका थिए तर जब म फौजसँग त्यहाँ पुगेँ, यो मानिस रोमी नागरिक रहेछ भन्ने थाहा पाएर यसलाई सुरक्षासाथ छुटाएँ। 28 कुन अभियोगमा तिनीहरूले यसलाई दोष लगाएका रहेछन् भन्ने कुरा बुझ्न मैले यसलाई तिनीहरूको महासभामा खडा गराएँ। 29 तिनीहरूले व्यवस्थाका सम्बन्धमा यसलाई दोष लगाएका रहेछन्। तर ज्यानसजायँ अथवा कैद गर्नुपर्ने माफिकको केही दोष मैले यस मानिसमा भेट्टाइनँ। 30 यस मानिसको विरुद्ध षडयन्त्र रचिँदै छ भन्ने कुराको गुप्त सूचना पाएर यसलाई तुरुन्तै तपाईंको सामु पठाएको छु र यसको विरुद्धमा दोष लाउनेहरूलाई पनि तपाईंको सामु बयान दिनू भनी आदेश जारी गरेको छु।’’ 31 सेनापतिद्वारा आज्ञा पाएबमोजिम सिपाहीहरूले पावललाई राती नै एन्टिपाट्रिसमा पुर्याए। 32 घोडचढीहरूलाई तिनको साथमा जान त्यहीँ छोडेर अर्को दिन तिनीहरू छाउनीमा फर्के । 33 जब तिनीहरू कैसरिया पुगे, तिनीहरूले हाकिमलाई पत्र बुझाएर पावललाई पनि उनका सामुन्ने हाजिर गराए। 34 उनले पत्र पढे, अनि तिनी कुन जिल्लाका हुन् भनी सोधे। तिनी किलिकियाका हुन् भन्ने थाहा पाएपछि उनले भने, 35 ‘‘तिमीलाई अभियोग लाउनेहरू यहाँ आइपुगेपछि म तिम्रो मुद्दा सुन्नेछु।’’ अनि हाकिमले पावललाई हेरोदको प्रेटोरियनमा राख्दै गर्नू भनी हुकुम दिए। 241 पाँच दिनपछि प्रधान पूजाहारी हननिया र कतिपय यहूदी धर्मगुरुहरू तर्तुल्लस नाउँका वकीलसँग पावलको विरुद्धमा मुद्दा पेश गर्न आइपुगे।2 जब पावललाई भित्र बोलाइयो, तब तर्तुल्लसले हाकिमको सम्मुख पावलको विरुद्धमा मुद्दा पेश गर्दै यसरी सम्बोधन गरे: ‘‘सम्माननीय फेलिक्स, हामी यहूदी जातिले हजूरबाट शान्ति उपभोग गर्न पाएका छौं र हाम्रो जातिको निम्ति हजूरले धेरै सुधारका कामहरू पनि गरिदिनुभएको छ। 3 अनि यी सबै कुराको निम्ति हामी हजूरप्रति अत्यन्तै कृतज्ञ छौं। 4 तर हजूरको बढी समय नलिएर हाम्रो विन्ती छोटकरीमा दया गरी सुनिदिनुहोस्, 5 किनभने हामीले यस मानिसलाई जताततै दु:ख दिएर हिँड्ने, संसारभरिका सारा यहूदीहरूका बीचमा आन्दोलन मच्चाउने र नासरी पन्थका मुख्य अगुवाको रूपमा भेट्टाएका छौं। 6 यसले मन्दिर पनि अपवित्र पार्ने चेष्टा गरेको थियो। तर हामीले यसलाई पक्रयौं। हाम्रो व्यवस्थाअनुसार कारवाही गर्ने पनि थियौं 7 तर सेनापति लुसियसले हामीकहाँ आएर बडो जबरजस्तीसित त्यसलाई हाम्रो हातबाट खोसेर लैजानुभयो र यसको विरुद्धमा अभियोग लाउनेहरूलाई हजूरकहाँ आउने आज्ञा गर्नुभयो। 8 तर अब हामीले यसलाई लगाएको अभियोग साँचो हो वा होइन, हजूरले यसलाई जाँच गर्नुहुँदा पत्तो पाउन सक्नुहुनेछ।’’ 9 तब अरु यहूदीहरूले पनि ती कुरा ठीक हुन् भनी समर्थन गरे। 10 हाकिमले तिनलाई बोल्ने इसारा गरेपछि पावल बोल्नथाले, ‘‘धेरै वर्षदेखि हजूर यहूदी जातिका न्यायाधीश हुनुभएका कुराले मलाई मेरो पक्षमा बोल्ने भरोसा दिलाएको छ। 11 हजूरले तुरुन्तै पत्तो लगाउन सक्नुहुन्छ कि यरूशलेमको मन्दिरमा म आराधना गर्न आएको बाह्र दिनभन्दा बढी भएकै छैन। 12 मैले मन्दिरमा कसैसित बहस नै गरिनँ, न त यिनीहरूले मलाई सभाघरमा वा शहरका गल्लीहरूमा हूलदङ्गा मच्चाएको नै भेट्टाएका छन्। 13 यिनीहरूले ममाथि लगाएका अभियोगको पक्का प्रमाण पनि दिन सक्दैनन्। 14 तर म जुन मार्गमा हिँडिरहेको छु, त्यसलाई यिनीहरूले एउटा पन्थको संज्ञा दिएका छन्, यहूदी व्यवस्था र अगमवाणीका पुस्तकहरूमा लेखिएका सबै कुरामा विश्वास राख्ने भएकोले नै म हाम्रा पिता-पुर्खाहरूका परमेश्वरको उपासना गर्दछु। 15 धर्मी र अधर्मी दुवै मृतकबाट पुनर्जीवित हुन्छन् भन्ने आशा यिनीहरूमा छ, त्यस्तै आशा म पनि परमेश्वरमा राख्तछु। 16 यसैकारण, परमेश्वरप्रति र मानिसहरूप्रति म सधँै शुद्ध विवेक राख्ने चेष्टा गर्दछु। 17 निकै वर्षपछि आफ्नो जातिलाई आर्थिक सहयोग पुर्याउन र परमेश्वरलाई भेटी चढाउन म यरूशलेम फर्केको थिएँ। 18 मैले शुद्ध हुने रीति पूरा गर्नलाग्दा यिनीहरूले मलाई मन्दिरमा भेट्टाएका थिए। त्यहाँ कुनै भीड थिएन, होहल्ला त झन् बिलकुलै थिएन। 19 बरु एसिया प्रान्तबाट आएका कुनै-कुनै यहूदीहरू त्यहाँ थिए, तिनीहरू यहाँ हजूरको सम्मुख हाजिर हुनुपर्ने थियो। मेरो विरुद्धमा यदि केही भन्ने कुरा भएको भए, तिनीहरूले अभियोग लाउन सक्थे। 20 हजूरको सामुन्ने यिनीहरू आफैले भनून्- म महासभाको अघि खडाहुँदा ममा के कसुर भेट्टाएका थिए ? 21 केवल एउटै कुरा मात्र जो मैले कराएर यसो भनेको थिएँ, ‘मृतकहरू पुनर्जीवित हुन्छन् भन्ने मेरो विषयमा आज तपाईंहरूका सामुन्ने मेरो मुद्दा चलिरहेको छ’।’’ 22 यस मार्गको गुदीसमेत जान्ने फेलिक्सले यी कुरा सुनेपछि तिनीहरूलाई यसो भनी टारेर पठाए, ‘‘सेनापति लुसियस यहाँ आइपुगुञ्जेलसम्म पर्ख। त्यसपछि म तिमीहरूको मुद्दाको फैसला गरिदिनेछु।’’ 23 तब उनले पावललाई निगरानीमा राख्ने हुकुम कप्तानलाई दिएर भने, यिनलाई केही स्वतन्त्रता दिनू र यिनका कुनै साथीले खाँचो पूरा गरिदिन आएको खण्डमा तिनीहरूलाई नरोक्नू। 24 केही दिनपछि फेलिक्स आफ्नी यहूदी पत्नी द्रुसिल्लासित आएर पावललाई बोलाए र ख्रीष्ट येशूमाथिको विश्वासबारे तिनीबाट सुने। 25 पावलले धार्मिकता, आत्मसंयम र आउनेवाला न्यायबारे बताउँदै गर्दा फेलिक्स आँत्तिए र यसो भने, ‘‘अहिलेलाई भयो, अब जाऊ, मौका पारेर म तिमीलाई फेरि बोलाउँला।’’ 26 पावलबाट कतै रुपियाँ पनि मिलिहाल्ला कि भनी उनले आशा गरेका थिए। यसकारण पनि उनले तिनलाई घरीघरी बोलाएर कुराकानी गर्ने गर्थे। 27 तर दुई वर्षपछि जब फेलिक्सको बदलीमा पर्किअस फेस्तस आए, तब फेलिक्सले यहूदीहरूलाई खुशी राख्नका निम्ति पावललाई झ्यालखानमै राखेर गए। 2581 फे स्तस आफ्नो प्रान्तमा आएका तीन दिनपछि कैसरियाबाट यरूशलेम गए।2 मुख्य पूजाहारीहरू र यहूदी धर्मगुरुहरूले उनलाई भेटे अनि पावलको विरुद्धमा अभियोग लाए, 3 अनि तिनलाई बाटैमा मार्ने षडयन्त्र रचेर पावललाई यरूशलेममा झिकाइदिने कृपा होस् भन्ने विन्ती गरे। 4 तर फेस्तसले पावल कैसरियाको झ्यालखानमा राखिएको र आफू पनि चाँडै जाने इच्छा भएको कुरा व्यक्त गरे, 5 उनले भने, ‘‘यसकारण तिमीहरूमध्येका सक्षम मानिसहरू त्यहाँ मेरोसाथ जाऊन् र त्यस मानिसमा केही खराबी छ भने त्यसलाई अभियोग लगाऊन्।’’ 6 तिनीहरूका बीचमा उनी आठ-दश दिनभन्दा बढी नबसी कैसरिया फर्के र त्यसकै भोलिपल्ट न्याय-आसनमा बसेर उनले पावललाई ल्याउने हुकुम गरे। 7 तिनी आएपछि यरूशलेमबाट आएका यहूदीहरू तिनको वरिपरि उभिए र पावलको विरुद्धमा अनेक गम्भीर अभियोग लगाए तर जसको तिनीहरूले प्रमाण भने दिनसकेनन्। 8 पावलले आफ्नो पक्षमा बोल्दै भने, ‘‘मैले यहूदी व्यवस्थाको विरुद्धमा, मन्दिरको विरुद्धमा र सिजरको विरुद्धमा केही अपराध गरेको छैनँ।’’ 9 तर फेस्तसले यहूदीहरूलाई खुशी तुल्याउने विचारले तिनलाई सोधे, ‘‘के तिमी यरूशलेममा गएर त्यहाँ मेरो सामुन्ने यी कुराका विषयमा न्याय गरियोस् भन्ने इच्छा गर्छौ?’’ 10 तर पावलले जवाफ दिए, ‘‘म सिजरको न्यायालयमा उभिरहेको छु। मेरो इन्साफ यहीँ हुनुपर्छ। यहूदीहरूको विरुद्धमा मैले केही खराबी गरेको छैनँ, म निर्दोष छु, सो कुरा हजूरलाई विदितै छ। 11 यदि मैले ज्यानसजायँ पाउने योग्यको अपराध गरेको छु भने मर्नलाई म इन्कार गर्दिनँ। तर यिनीहरूले मलाई लगाएको दोष कुनैै पनि सत्य होइनन् भने कसैले पनि मलाई यिनीहरूको हातमा सुम्पन सक्नेछैन। म सिजरकहाँ अपिल गर्छु।’’ 12 तब फेस्तसले सल्लाहकारहरूसँग परामर्श लिएर भने, ‘‘तिमीले सिजरकहाँ अपिल गरेका छौ, यसर्थ तिमी सिजरकहाँ नै जानेछौ।’’ 13 केही दिन बितेपछि राजकीय भ्रमणमा राजा अग्रिपास आफ्नी बहिनी बरनिकीलाई लिएर हाकिम फेस्तसलाई भेट्न कैसरियामा आइपुगे। 14 तिनीहरू त्यहाँ धेरै दिनसम्म बस्दा फेस्तसले राजाको अघि पावलको मुद्दाको कुरा गर्दै भने, ‘‘फेलिक्सले झ्यालखानमा छोडिराखेको एक जना मानिस यहाँ छ 15 अनि म यरूशलेममा छँदा त्यहाँका मुख्य पूजाहारीहरू र यहूदी धर्मगुरुहरूले उसलाई दोष लगाउँदै ज्यानसजायँको माग गरे। 16 तिनीहरूलाई मैले भनेँ कि दोष लगाइएको व्यक्तिले दोष लाउनेहरूलाई मुखामुख भेटेर आफ्नो विरोधमा लगाइएको आरोपको विषयमा आफ्नोनिम्ति जवाफ दिने मौका पाउनुभन्दाअघि कुनै पनि मानिसलाई मार्नका निम्ति सुम्पिदिने रोमीहरूकोप्रथा छैन। 17 अनि जब तिनीहरू यहाँ भेला भए, म ढिलो नगरी न्याय-आसनमा बसेर उसलाई हाजिर गराउने हुकुम दिएँ। 18 तब तिनीहरूले उसको विरुद्धमा मैले सोचेजस्तो दोष लगाएनन् । 19 तर तिनीहरूको मतभेद तिनीहरूकै धर्मको विषयमा र मरिसकेका येशूको विषयमा रहेछ, जसलाई पावलले अझै जीवित छ भनी दाबी गर्दथ्यो । 20 यस विषयमा म अन्योलमा परेको हुनाले कहीँ ऊ यरूशलेममा गएर न्याय गरिएको चाहन्छ कि भनी मैले उसलाई सोधेँ। 21 तर पावलले अगस्टसकहाँ अपिल गरेको हुँदा उसलाई सिजरकहाँ नपठाउञ्जेल पहरामा राख्ने हुकुम गरँे।’’ 22 तब अग्रिपासले इच्छा प्रकट गरे, ‘‘यस मानिसको बारेमा म आफैले सुन्नपाए हुन्थ्यो।’’ अनि फेस्तसले सहमति जनाए, ‘‘हुन्छ भोलि सुन्नुहोस्।’’ 23 यसर्थ, भोलिपल्ट अग्रिपास र बरनिकी बढो रवाफसँग सेनापतिहरू र शहरका प्रसिद्ध मानिसहरूको साथमा सभाभवनभित्र सवार भए। फेस्तसको हुकुमअनुसार पावललाई भित्र ल्याइयो। 24 तब फेस्तसले भने, ‘‘राजा अग्रिपास र उपस्थित समस्त सज्जनवृन्द, यो मानिसलाई हेर्नुहोस्, ‘जसको मृत्युदण्ड हुनैपर्छ’ भनी स्थानीय यहूदीहरू र यरूशलेमवासी यहूदीहरूले माग गरेका थिए। 25 तर यो मानिसले ज्यानसजायँ पाउने अपराध नगरेको मैले पाएँ अनि उसले सम्राटलाई अपिल गरेको कारण, मैले उसलाई उहाँकहाँ पठाउने निर्णय गरेँ 26 र पनि मैले उसको बारेमा सम्राटलाई लेखेर पठाउने कुनै निश्चित कुरा छैन। यसैले मैले उसलाई सबैका सामुन्ने विशेषगरी राजा अग्रिपासको सम्मुख ल्याएको छु । यसको जाँचबुझ भइसकेपछि मैले पनि केही लेख्ने कुरा पाऊँ। 27 यसको विरुद्धमा कुनै ठोस अभियोग नपाईकन यसलाई सम्राटकहाँ पठाउन मलाई युक्तिसङ्गत लागेको छैन।’’ 261 तब अग्रिपासले पावललाई भने, ‘‘तिमीलाई आफ्नो पक्षमा बोल्ने अनुमति छ।’’ यसैले पावलले आफ्नो हात पसारेर आफ्नो पक्षमा बोल्नलागे :2 ‘‘हे राजा अग्रिपास, यहूदीहरूले ममाथि लगाएका सबै दोषको विषयमा आज मैले हजूरका सामु आफ्नो पक्षमा बोल्नपाएकोमा म आफूलाई धन्यको सम्झन्छु, 3 किनभने मलाई थाहा छ, हजूर यहूदीहरूका सबै प्रथा र वादविवादका विषयमा विशेषरूपले पोख्त हुनुहुन्छ। अब मेरो बयान ध्यानपूर्वक सुनिदिनुहुन अनुरोध गर्दछु। 4 मेरा आफ्नै यहूदी जातिको बीचमा र यरूशलेममा बाल्यावस्थादेखि लिएर युवावस्थासम्म मैले यहूदी व्यवस्थाअनुसारको शिक्षादीक्षा पाएको कुरा सम्पूर्ण यहूदी धर्मगुरुहरूलाई थाहा छ। 5 तिनीहरूले मेरो विषयमा धेरै अघिदेखि जानेको हुनाले यदि तिनीहरू मेरो विषयमा गवाही दिन चाहन्छन् भने म हाम्रो धर्मको कट्टरपन्थ एक फरिसी भएर जिएको हुँ। 6 अनि अहिले म परमेश्वरले हाम्रा पुर्खाहरूलाई दिनुभएको प्रतिज्ञामा आशा राखेकोले आज मेरो मुद्दा चलिरहेको छ, 7 हाम्रा बाह्र कुलहरूले यत्नपूर्वक रातदिन परमेश्वरको सेवा गर्दै यही प्रतिज्ञा प्राप्त गर्ने आशा गरेका थिए। यही आशाकै निम्ति, हे राजा अग्रिपास, म यहूदीहरूद्वारा दोष लगाइएको हुँ। 8 परमेश्वरले मृतकहरूलाई जीवित पार्नुहुन्छ भन्ने कुरालाई तपाईंहरूको माझमा किन अपत्यार गरिन्छ? 9 यसैले नासरतका येशूको नाउँको विरुद्धमा मैले धेरै कार्यहरू गर्नुपर्छ भनी सोचेको थिएँ। 10 मुख्य पूजाहारीहरूबाट अख्तियार पाएर मैले यरूशलेमवासी विश्वासीहरूलाई झ्यालखानमा थुनिदिएँ। त्यति मात्र नभएर तिनीहरूको हत्यामा मैले पनि आफ्नो मत खसालेको थिएँ। 11 अनि हरेक सभाघरमा बारम्बार दण्ड दिँदै म उनीहरूलाई येशूको नामको निन्दा गर्न कर लाउँथँे र उनीहरूको विरोधमा रिसले आगो भएर मैले बाहिरका शहरहरूसम्म पनि उनीहरूलाई सताएँ। 12 यस्तो गरिरहँदा मुख्य पूजाहारीहरूबाट अधिकार र आदेश लिएर दमस्कसतिर गइरहेको बेला 13 मध्यदिनतिर, हे राजा, मैले स्वर्गबाट सूर्यभन्दा पनि चम्किलो ज्योति म र मेरा साथमा यात्रा गरिरहेकाहरूको वरिपरि चम्किरहेको देखेँ। 14 हामी सबै लडयौँ र मैले हिब्रूभाषामा यसो भनिरहेको सुनेँ, ‘शाऊल, शाऊल तिमी मलाई किन सताउँछौ?’ 15 अनि मैले सोधेँ, ‘हे प्रभु, तपाईं को हुनुहुन्छ?’ अनि प्रभुले जवाफ दिनुभयो, ‘म येशू हुँ, जसलाई तिमीले सताइरहेका छौ। 16 अब उठ र खडा होऊ, किनभने ममा तिमीले देखेका र मैले तिमीलाई देखाउने कुराका निम्ति सेवक र साक्षी नियुक्त गर्ने उद्देश्यले म तिमीकहाँ देखा परेको छु । 17 म तिमीलाई यहूदीहरूबाट र अब तिमीलाई मैले पठाउनलागेका अयहूदीहरूबाट पनि छुटकारा दिनेछु 18 कि तिमीले तिनीहरूका आँखा उघारिदेऊ र तिनीहरू अन्धकारबाट ज्योतितर्फ र शैतानबाट परमेश्वरतर्फ फर्कन सकून्। तब तिनीहरूले आफ्ना पापको क्षमा र ममा विश्वासद्वारा पवित्र पारिएकाहरूको साथमा उत्तराधिकार पाऊन्।’ 19 यसकारण हे राजा अग्रिपास, स्वर्गीय दर्शनप्रति म अटेरी भइनँ। 20 तर पहिले दमस्कसमा, त्यसपछि यरूशलेममा र सारा यहूदिया अनि अयहूदीहरूलाई पनि पश्चात्ताप गर्दै परमेश्वरतर्फ फर्क र पश्चात्ताप योग्यको फल फलाऊ भन्दै प्रचार गरेँ। 21 यही कारणले गर्दा केही यहूदीहरूले मलाई मन्दिरमा पक्रेर झन्डै मारे । 22 तर परमेश्वरले मलाई सुरक्षित राख्नुभएकोले, म सानादेखि ठूलासम्मलाई गवाही दिन आजसम्म जीवित छु। अगमवक्ताहरू र मोशाले बोलेका कुरा पूरा हुनेछन् भन्ने कुराबाहेक मैले अरु शिक्षा दिएको छैनँ 23 कि कसरी ख्रीष्टले दु:ख भोग्नुपर्छ र मृतकबाट जीवित भएर यहूदी र अयहूदी दुवैलाई ज्योतिको घोषणा गर्ने पहिलो व्यक्ति हुनुपर्छ।’’ 24 यसरी पावल आफ्नो बचाउमा बोल्दाबोल्दै फेस्तसले चर्को स्वरमा भने, ‘‘पावल तँ बौलाहा होस्, तेरो धेरै विद्याले तँलाई बौलाहा बनाएको छ।’’ 25 पावलले भने, ‘‘माननीय फेस्तस, म बौलाहा होइनँ, तर सत्य र सुबुद्धिका कुरा बोलिरहेको छु। 26 राजा अग्रिपासलाई सबै कुरा थाहा छ। म निश्चित छु कि यी घटनाहरूसित उहाँ परिचित हुनुहुन्छ, यसैले म निर्धक्कसँग बोल्दैछु, किनभने यी कुरा गुप्तमा गरिएका होइनन्। 27 हे राजा अग्रिपास, के हजूरले अगमवक्ताहरूमाथि विश्वास गर्नुहुन्छ? म जान्दछु, हजूरले विश्वास गर्नुहुन्छ।’’ 28 अग्रिपासले पावललाई भने, ‘‘के तिमी यति छिट्टै मलाई ख्रीष्टियन बनाउन खोज्छौ?’’ 29 पावलले जवाफमा भने, ‘‘चाहे चाँडै होस् वा ढिलो, हजूर मात्र होइन तर आज मेरा कुरा सुनिरहेका सबै मजस्तै होऊन् भन्ने मेरो प्रार्थना छ, केवल साङ्लाहरू तपाईंहरूलाई नलागोस्।’’ 30 यति सुन्नासाथ, राजा, हाकिम, बरनिकी र त्यहाँ बसिरहेकाहरू सबै जर्याकजुरुक उठे। 31 अनि तिनीहरू बाहिर निस्के र यसो भन्दै आपसमा कुरा गरे, ‘‘यस मानिसले प्राणदण्ड पाउने वा कैद जाने माफिकको कुनै अपराध गरेको छैन।’’ 32 अनि अग्रिपासले फेस्तसलाई भने, ‘‘यदि यस मानिसले सिजरकहाँ अपिल नगरेको भए, यसलाई छोडिदिए पनि हुनेथियो।’’ 271 हामीले इटालिया जाने निर्णय गरेपछि तिनीहरूले पावल र अन्य कैदीहरूलाई सम्राट अगस्टसका फौजको युलियस नाउँका कप्तानको जिम्मामा सुम्पिदिए।2 अनि हामी एसियाका विभिन्न ठाउँमा जानलागेको एड्रामिटेनोसको एउटा जहाजमा चढेर यात्रा गर्यौं। त्यहाँ अरिस्तार्खस नाउँ भएका थेसलोनिकेका एक जना म्यासिडोनियन हाम्रासाथमा थिए। 3 हामीले भोलिपल्ट सीदोनमा लङ्गर हाल्यौं। युलियसले पावलमाथि दया देखाउँदै त्यहाँ बसोबास गर्ने साथीहरूबाट चाहिँदो सहायता लिने अनुमति दिए। 4 त्यहाँबाट जहाज फेरि समुद्रतिर लाग्यो र उल्टो बतास चलेको हुनाले हामी साइप्रसको आड लिएर गयौं। 5 हामी किलिकिया र पामफिलिया पार गर्दै लुकियाको एउटा शहर, माइरामा आइपुग्यौं। 6 त्यहाँ कप्तानले इटालिया जाने अलेक्जेन्ड्रियाको जहाज भेटे र हामीलाई त्यसैमा चढाए। 7 हामीले धेरै दिनसम्म असजिलो यात्रा झेलिरह्यौं अनि कठिनतासाथ क्नीडसमा आइपुग्यौं। तर बतासले अघि बढ्न नदिएको हुनाले सालमोनेको सामुन्ने क्रेटको आड लागेर गयौं। 8 हामी कठिनसँग यात्रा गर्दै एउटा सुन्दर बन्दरगाह भनिने ठाउँमा आइपुग्यौं, जहाँबाट लासिया शहर नजिक पर्थ्यो। 9 हाम्रो समय बितिसकेको थियो। अबको यात्रा पनि जोखिमपूर्ण थियो, साथै प्रायश्चित्त-दिनको उपवासको समय पनि बितिसकेको हुनाले पावलले तिनीहरूलाई सम्झाए 10 र भने, ‘‘ए हजूर हो, यो समुद्रयात्राले केवल जहाज र मालसामानको मात्र होइन तर हाम्रो ज्यानको समेत खतरा र नोक्सानी होला भन्ने म देख्तछु।’’ 11 तर कप्तानले पावलको कुराभन्दा जहाज चालक र जहाजका मालिकको कुरा पत्यार गरे। 12 अनि यो सुन्दर बन्दरगाहमा हिउँद काट्नलाई निकै गाह्रो पर्ने हुनाले कुनै उपायले पनि फोनिक्समा नै पुगी जाडो बिताउने इच्छाले धेरै जनाले त्यहाँबाट जहाज अगाडि बढाउने सल्लाह दिए। फोनिक्स क्रेटको दक्षिण-पश्चिम र उत्तर- पश्चिमपट्टि फर्केको एउटा बन्दरगाह हो। 13 जब दक्षिणी बतास मन्दगतिले बहन थाल्यो, अब अघि बढ्न सक्छौं भन्ने सोचेर नाविकहरूले लङ्गर निकालेर क्रेटको किनारै-किनार अघि बढे। 14 तर थोरै समयपछि प्रचण्ड गतिमा उत्तर-पूर्वी आँधी चल्न थाल्यो। 15 अनि जब जहाज त्यसमा फँस्यो तब त्यसले आँधीको सामना गर्न नसक्दा हामीले त्यसलाई जता जान्छ जाओस् भनेर छोडिदियौं। 16 अनि क्लौडा नाम भएको कुनै एउटा टापुको आडमा बहँदै जाँदा हामीले कठिनसाथ जहाजको डुङ्गालाई वशमा ल्याउन सक्यौं। 17 त्यसपछि हामीले जहाजलाई बलियो पार्नलाई लट्ठाले बाँध्दै ल्यायौं र अफ्रिकी तटमा पर्ने सिरटिस भन्ने बलौटे धापमा जहाज फँस्छ कि भन्ने डरले नाविकहरूले पाल झारिदिए र जहाज आफै बहन थाल्यो। 18 भोलिपल्ट पनि आँधीले जहाजलाई हुत्त्याइरहेको देखेर तिनीहरूले जहाजका मालसामान फ्याँक्न थाले। 19 अनि तेस्रो दिन तिनीहरूले आ-आफ्ना हातले जहाजको सरसामानहरू फालिदिए । 20 अनि जब धेरै दिनसम्म न त घाम न ताराहरू देखा परे अनि ठूलो आँधीबेहरीले हामीलाई छोप्यो तब बाँचौला भन्ने सबै आशा नै हरायो। 21 धेरै दिनसम्म कसैको मुखमा केही परेको थिएन। आखिरी समयमा पावलले तिनीहरूकहाँ आएर भने, ‘‘साथीहरू हो, तपाईंहरूले मेरो सल्लाह मानेर सुन्दर बन्दरगाह नछोड्नुपर्थ्यो। मेरो सल्लाह मानेको भए तपाईंहरूलेयस्तो सङ्कष्ट र नोक्सानी खप्नुपर्ने थिएन। 22 तर साहस गर्नुहोस्, जहाज नष्ट भए तापनि तपाईंहरूमध्ये कसैको पनि ज्यान जानेछैन, 23 किनभने जुन परमेश्वरको अधीनमा म छु, उहाँकै सेवा पनि गर्दछु, आज राती उहाँको एक दूतले मेरो छेउमा खडा हुँदै भने, 24 ‘पावल नडराऊ, तिमी सिजरको सामु खडा हुनुपर्छ र हेर, तिमीसँग जहाजमा हुनेहरू सबैलाई परमेश्वरले तिम्रो हातमा सुम्पिनुभएको छ।’ 25 यसैले साथी हो, साहस गर्नुहोस्, किनभने मलाई बताइएअनुसार हुनेछ भनी म परमेश्वरमा विश्वास गर्छु। 26 तर हामी कुनै एउटा टापुमा बजारिनुपर्छ।’’ 27 तर चौधौं दिनको मध्यरातमा एड्रियास नामक समुद्रमा आँधीद्वारा हुत्तिरहेका बेलामा नाविकहरूले जहाज जमीनको नजिकै पुग्दै गरेको अन्दाज लगाए। 28 तिनीहरूले पानीको गहिराइ नापे। त्यसको गहिराइ 120 फिट थियो। अलिक पर पुगेर नाप्दा गहिराइ घटेर 90 फिट मात्र पुग्यो । 29 यस्तै हो भने कुनै चट्टानमाथि बजारिनपुग्ने रहेछौं भन्ने डरले तिनीहरूले जहाजको पछिल्तिरबाट चारवटा लङ्गरहरू खसाले र चाँडै बिहान होस् भनी प्रार्थना गर्नथाले। 30 जब नाविकहरू जहाजबाट भाग्न खोजिरहेका थिए र अघिल्तिर लङ्गर खसाल्ने निहुँमा ज्यान बचाउने डुङ्गा समुद्रमा झारिसकेका थिए, 31 तब पावलले कप्तान र सिपाहीहरूलाई भने, ‘‘नाविकहरू जहाजभित्रै बसेनन् भने तपाईंहरू सबैको ज्यान जानेछ।’’ 32 तब सिपाहीहरूले डुङ्गाका डोरीहरू काटिदिए र डुङ्गालाई जानदिए। 33 मिरमिरे उज्यालो छिर्दै थियो, पावलले तिनीहरू सबैलाई भोजन लिने आग्रह गर्दै भने, ‘‘तपाईंहरू केही नखाई पर्खेर बस्नुभएको आज चौधौं दिन भइसक्यो। 34 आफ्नो शरीरको पनि ख्याल गर्दै केही कुरा खानुहोस् भन्ने आग्रह गर्दछु। तपाईंहरूको शिरको एउटा केश पनि नष्ट हुनेछैन।’’ 35 यति भनेपछि तिनले रोटी हातमा लिएर परमेश्वरलाई धन्यवाद चढाए अनि भाँचेर खानथाले। 36 तब तिनीहरूले पनि उत्साह पाएर केही खानेकुरा खाए । 37 जहाजभित्र हामी जम्मा 276 जना थियौं । 38 सबैले मनग्गे खाइसकेपछि, तिनीहरूले जहाजबाट गहुँको भारीहरू समुद्रमा फ्याँकेर जहाजलाई हलुका बनाए। 39 बिहानको उज्यालोमा पनि तिनीहरूले त्यो ठाउँ चिन्न सकेनन् तर तिनीहरूले एउटा किनार भएको खाडी देखे। अनि जहाजलाई किनारातर्फ लान सकिन्छ कि भन्दै तिनीहरूले योजना गरे। 40 यसकारण तिनीहरूले लङ्गरहरू खसाले र समुद्रमै रहन दिए। तब पतवारहरूलाई बाँधिराखेका डोरीहरू फुकाइदिए। अघिल्तिरको पाल उठाएर बतासको दिशातिर फर्काइदिए र जहाजलाई किनारतर्फ बढाए। 41 तर जहाजले पानीमुनिको गिलो बालुवा भेटेर त्यहीँ भासियो। जहाजको अघिल्लो भाग भासिएर चल्नै सकेन र पछिल्लो भाग छालहरूको झोक्काले भत्किन थाल्यो। 42 कैदीहरू पौडेर भाग्लान् कि भनी ठानेर सिपाहीहरूले तिनीहरूलाई किनारामा निस्कनभन्दा अघि नै मार्ने मतो गरे। 43 तर कप्तानले पावललाई बचाउन चाहेकोले तिनीहरूको विचारलाई रद्द गरिदिए। तब उनले पौडन सक्नेजतिलाई जहाजबाट हामफालेर जमीनमा उत्रनू भन्ने हुकुम दिए। 44 प्रत्येक व्यक्ति किनारमा सकुशल पुगून् भनेर बाँकी रहेकाहरूलाई फल्याकहरूमा र जहाजका टुक्राहरूमा टेकेर पारि निस्कनू भने। 281 हामी सकुशल किनारमा पुगेपछि मात्र त्यस टापुलाई माल्टा भनिँदो रहेछ भनी थाहा पायौं।2 त्यहाँका बासिन्दाहरूले हामीमाथि दया देखाए। पानी परेर जाडो भएकोले तिनीहरूले आगो बालिदिए र हामीलाई स्वागत गरे। 3 पावलले एक बिटा दाउरा अँगालोमा ल्याएर आगोमा थपे। आगोको रापले एउटा सर्प निस्केर आयो र तिनको हातमा बेरियो। 4 टापुवासीहरूले तिनको हातमा सर्प झुन्डिएको देखेर एक-अर्कामा कुरा गर्दै भने, ‘‘निश्चय यो मानिस ज्यानमारा हुनुपर्छ। ऊ समुद्रबाट बाँचेर निस्के तापनि न्यायबाट उम्कन सकेन।’’ 5 तर पावलले त्यस सर्पलाई आगोभित्र झट्कारिदिए र तिनलाई केही हानि भएन। 6 तिनको हातबाट शुरु हुँदै शरीर पूरै सुनिएर तिनी एक्कासि ढलेर मर्नेछन् भनी तिनीहरूले पर्खिरहेका थिए। तर धेरै समय बित्दा पनि तिनको केही बिगार नभएको देखेर तिनीहरूको विचारमा परिवर्तन आयो र आपसमा यसो भन्न लागे, ‘‘यिनी त देवता पो रहेछन्।’’ 7 जुन किनारामा हामी ओर्लियौं, त्यसको छेउमा भएको फाँटिलो जमीन त्यस टापुका मुखिया पब्लियसको पर्थ्यो । उनले हामीलाई हार्दिक स्वागत गरे र तीन दिनसम्म उनले, आफ्नो घरमा हाम्रो अतिथिसत्कार गरे। 8 अनि यस्तो भयो, पब्लियसको बुबा ज्वरो र आउँको बिमारले थला परेका थिए। पावल तिनलाई हेर्न भित्र गए र तिनको लागि प्रार्थना गरेपछि आफ्नो हात तिनीमाथि राखी तिनलाई निको पारे। 9 यस्तो घटना देखेपछि टापुका अरु रोगीहरू पनि प्रार्थनाको लागि आए र निको हुँदै फर्के । 10 फलस्वरूप, तिनीहरूले हामीप्रति धेरै सम्मान जनाए र जब हामी जहाजमा चढयौं, ती मानिसहरूले हामीलाई बाटोमा चाहिने विभिन्न सामग्रीहरू दिए। 11 तीन महिनापछि हामी अलेक्जेन्ड्रियाको जहाजमा चढयौं, यो जहाज हिउँदमा यसै टापुमा थियो। त्यो जहाजको अघिल्लो भागमा जुम्ल्याहा देवताहरूको प्रतिमा कुँदिएको थियो । 12 हामी सुराकुसाईमा पुगेर त्यहाँ तीन दिन बस्यौं। 13 त्यहाँबाट हामी किनारा लाग्दै रेगियनमा आइपुग्यौं। एक दिनपछि दक्षिणी बतास चल्यो र भोलिपल्ट हामी पटिओलीतिर लाग्यौं। 14 त्यहाँ हामीले केही विश्वासीहरूलाई भेटयौं र उनीहरूले हामीलाई सात दिनसम्म उनीहरूसित बसिदिनलाई आग्रह गरे। यसरी हामी रोममा आइपुग्यौं। 15 हामी त्यहाँ आइपुग्दै छौं भन्ने खबर सुनेर भाइ-बहिनीहरू हामीलाई भेट्न अप्पियसको बजारमा आए । अरु कतिले हामीलाई तीनपाटी भन्ने ठाउँमा भेटे। पावलले यिनीहरूलाई देखेर परमेश्वरलाई धन्यवाद चढाए र साहस पाए। 16 जब हामी रोममा आइपुग्यौं तब पावललाई एक जना सिपाहीको रेखदेखमा एकलै बस्ने अनुमति मिल्यो। 17 त्यहाँ आइपुगेको तीन दिनपछि पावलले यहूदीहरूका मुख्य अगुवाहरूलाई बोलाइपठाए। तिनले उनीहरूलाई भने, ‘‘भाइ हो, मैले त आफ्नो जातिका मानिसहरू वा हाम्रा पिता-पुर्खाका रीतिरिवाजका विरुद्धमा केही काम गरेको थिइनँ, तापनि म यरूशलेममा पक्राउ परेँ र उनीहरूले मलाई रोमी सरकारको हातमा सुम्पिदिए। 18 रोमीहरूले मलाई केरकार गरे अनि ममा मृत्युदण्डको कुनै कारण नभेट्टाउँदा छोडिदिने इच्छा गरेका थिए। 19 तर यहूदीहरूले त्यस निर्णयको विरोध गरेका हुनाले मलाई सिजरकहाँ अपील गर्न करै लाग्यो, तापनि आफ्नो जातिलाई दोष लाउने कुनै कारण भएकोले त होइन। 20 यसकारण यसैका लागि तपाईंहरूसित भेट गरूँ र बातचित गरूँ भनेर मैले तपाईंहरूलाई बोलाएको हुँ किनकि इस्राएलका आशाका निम्ति म यस साङ्लाले बाँधिएको छु।’’ 21 अनि उनीहरूले तिनलाई भने, ‘‘हामीले तपाईंको विषयमा न त यहूदियाबाट कुनै चिठी पाएका छौं, न कुनै भाइहरू आएर तपाईंको विरुद्धमा कुनै नराम्रो कुरा सुनाएका वा बोलेका छन्। 22 तर हामी तपाईंको विचार के हो, सो तपाईंबाट नै सुन्न चाहन्छौं, किनकि यस पन्थको विषयमा हामीलाई यति मात्र थाहा छ कि जताततै मानिसहरू यसको विरुद्धमा मात्र बोल्दछन् ।’’ 23 तब उनीहरूले तिनको निम्ति एक दिन तोकिदिए अनि ठूलो सङ्ख्यामा मानिसहरू तिनको डेरामा आए र उनीहरूलाई बिहानदेखि बेलुकीसम्मै मोशाको व्यवस्था र अगमवक्ताहरूको पुस्तकबाट समेत परमेश्वरको राज्यको अर्थ खोलिदिँदै र साक्षी दिँदै येशूको विषयमा उनीहरूलाई स्पष्ट पारिदिए। 24 तिनले भनेका कुरामा कतिले विश्वास गरे र कतिले गरेनन्। 25 तर उनीहरू आपसमा मतभेद हुँदै गर्दा बिदा हुने बेलामा पावलले अन्तिम शब्दहरू यसरी बोले, ‘‘तिमीहरूका पिता-पुर्खाहरूलाई यशैयाअगमवक्ताद्वारा पवित्र आत्माले भन्नुभएको वचन ठीक थियो : 26 ‘मेरा मानिसहरूलाई गएर भन्, ‘‘सुन्न त तिमीहरू सुन्छौ, तर बुझ्दैनौ, हेर्न त हेर्छौ, तर देख्दैनौ।’’ 27 किनभने यी मानिसहरूको हृदय बोधो भएको छ र तिनीहरूका कान बहिरा भएका छन्। तिनीहरूले आफ्ना आँखाहरू बन्द गरेका छन्, नत्र त तिनीहरूका आँखाले देख्ने थिए, कानले सुन्ने थिए, हृदयले बुझ्ने थिए, र फर्कने थिए अनि म तिनीहरूलाई निको पार्ने थिएँ।’ 28 यसकारण तपाईंहरूलाई थाहा होस् कि परमेश्वरको यो मुक्ति अयहूदीहरूको निम्ति पठाइएको छ र तिनीहरूले सुन्नेछन्। ’’ 29 अनि पावलको मुखबाट यस्ता कुरा सुनेपछि यहूदीहरू आपसमा धेरै वादविवाद गर्दै बिदा भए। 30 पावल पूरा दुई वर्षसम्म आफैले बहालमा लिएको डेरामा बसे र तिनीकहाँ आउनेहरू सबैलाई स्वागत गर्दै, 31 तिनले खुल्लमखुल्ला र विनारोकटोक निर्धक्कसँग परमेश्वरको राज्यको घोषणा गर्थे र प्रभु येशू ख्रीष्टको बारेमा शिक्षा दिन्थे। |