2 TIMOTHY

२ तिमोथी


Chapter 1

1 ख्रीष्ट येशूमा भएको जीवनको प्रतिज्ञाअनुसार परमेश्वरको इच्छाद्वारा येशू ख्रीष्टका प्रेरित पावलबाट,

2 मेरो प्रिय छोरा तिमोथीलाई, परमेश्वर पिता र हाम्रा प्रभु येशू ख्रीष्टबाट अनुग्रह, कृपा र शान्ति।

3 जब म तिमीलाई निरन्तर मेरो प्रार्थनामा दिनरात सम्झिराखेको हुन्छु, म परमेश्वरलाई धन्यवाद दिन्छु, जसको मैले शुद्ध विवेकले सेवा गर्दछु, जसरी मेरा पितापुर्खाले गर्दथे।

4 तिम्रो आँसु सम्झेर तिमीलाई भेट्‍‌ने ठूलो इच्छा राख्दछु, यसैले कि म आनन्दले पूर्ण हुनसकूँ।

5 मैले तिमीमा भएको निष्कपट विश्वासको सम्झना गर्दा, जो पहिला तिम्री बज्यै लोइसमा र तिम्री आमा युनिसमा थियो र तिमीमा पनि छ भन्‍‌ने मलाई निश्चय छ।

6 यसैकारण म तिमीलाई सम्झना गराउँछु, तिमीमा भएको परमेश्वरको वरदानलाई जल्दोबल्दो पार, जुन मेरो हात रखाइद्वारा तिमीले पाएका थियौ।

7 किनकि परमेश्वरले हामीलाई डरको आत्मा होइन तर शक्ति , प्रेम र आत्मसंयमको आत्मा दिनुभएको छ।

8 यसकारण हाम्रो प्रभुको गवाही दिन शर्म नमान, न त म उहाँको कैदीको, तर परमेश्वरको शक्तिमा सुसमाचारको निम्ति तिमी मसँग दु:खभोगमा सहभागी होऊ।

9 उहाँले हामीलाई उद्धार गर्नुभयो र एउटा पवित्र बोलावटद्वारा बोलाउनुभयो। हाम्रो कामको आधारमा होइन, तर उहाँको आफ्‍‌नै अभिप्राय र अनुग्रहअनुसार हो, जो उहाँले ख्रीष्ट येशूमा युगौँयुग अघिदेखि हामीलाई दिनुभएको थियो

10 तर यो अब हाम्रो उद्धारकर्ता येशू ख्रीष्टको आगमनद्वारा प्रकट भएको छ, जसले मृत्युलाई नाश गर्नुभयो, अनि जीवन र अमरत्वलाई सुसमाचारद्वारा प्रकाशमा ल्याउनुभयो।

11 यो सुसमाचारको निम्ति, म एक प्रचारक, प्रेरित र शिक्षक नियुक्ति भएको छु।

12 यिनै कुराको निम्ति मैले दु:ख भोगेको छु तर पनि म सर्माउँदिनँ, किनभने मैले कसमाथि विश्वास राखेको छु, त्यो मलाई थाहा छ र मलाई निश्चय छ, जुन कुरा उहाँलाई त्यस दिनको निम्ति मैले सुम्पेको छु, त्यो सुरक्षित राख्‍‌नसक्‍‌ने उहाँ हुनुहुन्छ।

13 ख्रीष्ट येशूमा भएको विश्वास र प्रेममा तिमीले मबाट जे सुनेका छौ, ती सत्य कुरा पक्रिराख।

14 जुन असल कुरा तिमीलाई दिइएको छ, त्यो हामीमा वास गर्नुहुने पवित्र आत्माको सहयोगमा सुरक्षित राख।

15 तिमीलाई थाहा नै छ, एसियामा हुनेहरू सबै मबाट तर्किएका छन्, तीमध्ये फुगेलस र हर्मोगेनस हुन्।

16 प्रभुले ओनेसिफरसको घरानालाई कृपा गरून् किनभने तिनले मलाई प्राय: हौसला दिन्थे र मेरो साङ्लाको शर्म मान्दैनथिए।

17 तर तिनी रोममा आएपछि धुइँधुइँती खोजी गरेर मलाई भेटेका थिए।

18 प्रभुको दिनमा तिनलाई प्रभुले कृपा प्रदान गरून्, तिमीलाई राम्रै थाहा छ, एफिससमा तिनले विभिन्‍‌न प्रकारले मेरो पूरा सेवा गरेका थिए।




2

1 यसकारण तिमी मेरो छोरो, ख्रीष्ट येशूमा भएको अनुग्रहमा बलियो होओ।

2 धेरै जना साक्षीहरूका उपस्थितिमा तिमीले मद्वारा जे कुरा सुनेका छौ, ती अरुलाई पनि सिकाउनसक्‍‌ने विश्वसनीय मानिसहरूलाई सुम्पिदेऊ।

3 ख्रीष्ट येशूको असल सिपाहीजस्तैै मसँग दु:ख भोग।

4 सेवामा भर्ना भएको सिपाही आफ्‍‌नै सुख-सुविधामा अल्झिएर बस्दैन, किनकि उसलाई भर्ना गर्नेलाई खुशी पार्नु नै उसको लक्षय भएको हुन्छ।

5 यसैगरी नियमबमोजिम नखेली कुनै पनि खेलाडीले इनाम पाउन सक्दैन।

6 जुन किसानले परिश्रम गर्दछ, बालीको पहिलो हिस्सा उसैले पाउनुपर्छ।

7 म जे भन्दछु त्यसमा ध्यान देऊ, किनभने सबै कुरामा प्रभुले तिमीलाई समझ दिनुहुनेछ।

8 मृतकबाट जीवित हुनुभएको दाऊदको वंशको येशू ख्रीष्टलाई याद गर, मैले प्रचार गरेको सुसमाचार यही हो।

9 यही सुसमाचार जसको निम्ति मैले दु:ख भोगिरहेको छु र अपराधीसरह साङ्लाले बाँधिएको छु तर परमेश्वरको वचन त साङ्लाले बाँधिदैन।

10 यसकारण चुनिएकाहरूको निम्ति म सबै कुरा सहन्छु, यसैले कि ख्रीष्ट येशूमा भएको अनन्त महिमासहित तिनीहरूले मुक्ति प्राप्त गर्नसकून्।

11 यो भनाइ निश्चित छ यदि हामी उहाँसँगै मर्‍यौं भने हामी उहाँसँग जिउने पनि छौं।

12 यदि हामी सहन्छौं भने उहाँसँगै राज्य गर्नेछौं, यदि हामीले उहाँलाई इन्कार गर्छौं भने उहाँले पनि हामीलाई इन्कार गर्नुहुनेछ।

13 हामी विश्वसनीय नभए पनि उहाँ त विश्वसनीय नै भइरहनुहुनेछ, किनभने उहाँले आफैलाई इन्कार गर्न सक्‍‌नुहुन्‍‌न।

14 तिनीहरूलाई यी कुरा सम्झाइदेऊ र प्रभुको सामुन्‍‌ने चेताउनी देऊ, यसैले कि तिनीहरूले शब्दको विषय लिएर वादविवाद नगरून्, यसले असल गर्दैन तर सुन्‍‌नेहरूलाई हानी मात्र पुर्‍याउँछ,

15 आफैले आफैलाई परमेश्वरको निम्ति ग्रहणीय बनाउने भरमग्दुर प्रयत्‍‌न गर्दै सर्माउन नपर्ने कामदारजस्तै भएर सत्यको वचन ठीकसँग प्रयोग गर।

16 तर अशुद्ध, व्यर्थको बकबादलाई त्याग, किनकि यसले मानिसलाई झन् बढी भक्तिहीनतातिर लैजान्छ।

17 तिनीहरूका यस्ता कुरा सइनको घाउजस्तै फैलिन्छ। तिनीहरूमध्ये हुमेनियस र फिलेतस हुन्।

18 पुनरुत्थान अघि नै भइसकेको छ भन्दै यिनीहरू सत्यबाट बहकिएका छन् र कति जनाको त विश्वासलाई नै नाश पारिदिएका छन्।

19 तर पनि परमेश्वरको दृढ जग स्थिर नै रहन्छ, जसमा यो छाप लागेको छ। ‘‘प्रभुले आफ्‍‌नाजतिलाई चिन्‍‌नुहुन्छ’’ र ‘‘जोजतिले प्रभुको नाउँ लिन्छन् तिनीहरू हरेक प्रकारका अधर्मबाट अलग रहून्।’’

20 अब ठूलो घरानामा सुन र चाँदीका भाँडाहरू मात्र हुँदैनन् तर काठ र माटोका पनि हुन्छन्, कुनै आदर र कुनै अनादरको निम्ति हुन्छन्।

21 यसकारण, कुनै मानिसले यी कुराबाट आफूलाई शुद्ध राख्छ भने त्यो सबै असल काममा तम्तयार रहेको मालिकको प्रयोगको निम्ति आदरको योग्य चोख्याइ राखेको भाँडो हुनेछ।

22 त्यसैले जवानीको अभिलाषाबाट भाग र शुद्ध हृदयले प्रभुका नाउँ लिनेहरूसँगसँगै धार्मिकता, विश्वास, प्रेम र शान्तिको पछि लाग।

23 तर मूर्ख र बेसमझका वादविवादबाट अलग बस, तिमीलाई थाहा नै छ यसले झगडा उत्पन्‍‌न गर्छ।

24 प्रभुको सेवक झगडालु हुनुहुँदैन, बरु सबै मानिसहरूप्रति कोमल, सिकाउनमा सिपालु, सहनशील,

25 विरोध गर्नेहरूलाई नम्रतासाथ सुधार्ने हुनुपर्छ, सायद परमेश्वरले तिनीहरूको सत्यतालाई बुझेर पश्चात्ताप गर्ने मन दिनुहुन्छ।

26 अनि तिनीहरू चेतना खुलेर शैतानको पासोबाट उम्कनेछन्, जसले तिनीहरूलाई त्यसको इच्छाअनुसार गर्नलाई कैदी बनाएर राखेको छ।




3

1 तर यो जानिराख कि आखिरी दिनहरूमा भयङ्कर डरलाग्दो त्रासपूर्ण समय आउनेछ।

2 किनभने मानिसहरू आफैलाई मात्र माया गर्ने, रुपियाँपैसामा लोभी, घमण्डी, हठी, ईश्वर-निन्दक, आमा-बुबाको आज्ञापालन नगर्ने, बैगुनी र अपवित्र,

3 स्वाभाविक प्रेमरहितका, कसै गर्दा पनि खुशी पार्न नसकिने, अरुलाई निन्दाजनक अपमान गर्ने, निर्दयी, दुराचारी, असल कुरालाई घृणा गर्ने,

4 विश्वासघाती, उत्ताउला, घमण्डले फुलेका, परमेश्वरलाई भन्दा सुखविलास नै रुचाउने,

5 भक्तिको भेष धारण गर्ने, तर त्यसको शक्तिलाई इन्कार गर्ने हुनेछन्, यी मानिसहरूबाट परै बस।

6 किनभने यिनीहरूमध्येकै ती व्यक्तिहरू हुन्, जसले घरघरमा पसेर नानावलीका पापका कुइच्छाले भरिएका विभिन्‍‌न अभिलाषामा परेका कमजोर स्त्रीहरूलाई आफ्‍‌नो कब्जामा पार्दछन्।

7 जुन स्त्रीहरू सिक्‍‌न त सधैँ सिक्छन् तर सत्यको ज्ञानमा भने कहिल्यै पनि आउनसक्दैनन्।

8 मोशालाई विरोध गर्ने यान्‍‌नेस र याम्ब्रेसजस्तै यिनीहरू पनि सत्यको विरोध गर्दछन्। यिनीहरू बुद्धि बिग्रिएर भ्रष्ट भएका र विश्वासको विषयमा भन्‍‌ने हो भने त रद्दी मानिसहरू नै हुन्।

9 तर यिनीहरू अब धेरै टिक्‍‌न सक्‍‌नेछैनन्, किनकि यी दुई जनाको जस्तै यिनीहरूको मूर्खता पनि सबै मानिसमा प्रकट भएको छ।

10 अब त तिमीले मेरो शिक्षा, मेरो चरित्र, मेरो जीवनको लक्षय, मेरो विश्वास, मेरो धैर्य, मेरो प्रेम, मेरो स्थिरता देखेका छौ।

11 मेरा सतावट र मेरा कष्टहरू एन्टिओकमा, आइकोनियनमा र लुस्त्रामा ममाथि जे पर्न आयो र कस्ता कस्ता कष्ट र खेदो मैले सहेँ, तापनि ती सबैबाट प्रभुले मलाई छुटकारा दिई बचाउनुभयो।

12 ख्रीष्ट येशूमा भक्तिसाथ जीवन बिताउन इच्छा गर्नेहरू सबै जना खेदोमा पर्ने नै छन्।

13 तर दुष्ट-पाखण्डी मानिसहरू र धोकेबाजहरू धोका दिँदै र खाँदै झन् दुष्ट-भ्रष्ट हुँदै जानेछन्।

14 तर तिमी आफूले सिकेका र दृढ विश्वास गरेका कुरामा नै लागिरह, ती कसबाट सिकेका छौ, सो तिमी आफैलाई थाहा छ।

15 तिमीले बाल्यावस्थादेखि नै पवित्रशास्त्र जानेका छौ, जसले ख्रीष्ट येशूमा भएको विश्वासद्वारा मुक्तिको निम्ति तिमीलाई बुद्धिमान् बनाउँछ।

16 परमेश्वरद्वारा प्रेरणा भएको सम्पूर्ण पवित्रशास्त्र जो छ, सो सिकाउनलाई, अर्ती दिनलाई, सच्याउनलाई, धार्मिकताको तालिमको निम्ति उपयोगी हुन्छ।

17 यसैले कि परमेश्वरको जन प्रत्येक सुकर्ममा पूर्णरूपले सुसज्जित भई सिद्ध भएको होस्।




4

1 परमेश्वर जिउँदा र मरेकाहरूको न्याय गर्न आउनुहुने ख्रीष्ट येशूमा, उहाँको आगमन र उहाँको राज्यको सामुन्‍‌ने म तिमीलाई कडा आज्ञा दिन्छु

2 वचन प्रचार गर, समय र बेसमयमा तम्तयार रहेर अर्ती देऊ, हप्काऊ, उत्साह देऊ र सहनशीलतासाथ शिक्षा दिने कुरामा नचुक।

3 किनकि यस्तो समय आउनेछ जब तिनीहरूले सत्य सिद्धान्तको शिक्षालाई सहनै नसक्‍‌ने हुनेछन् तर आफ्‍‌नै अभिलाषाअनुसारको शिक्षा दिने शिक्षकहरूको थुप्रो लगाउनेछन् र जे सुन्‍‌नलाई तिनीहरूका कान उत्सुक हुन्छ त्यही मात्र सुन्‍‌नेछन्।

4 साथै सत्यबाट कानहरू तर्काएर दन्त्यकथाहरूतिर लगाउनेछन्।

5 तर तिमी सबै कुरामा होशियार हुनू, कष्ट भोग्‍‌नू, प्रचारको काम गर्नू र तिम्रो सेवाको काम पूरा गर्नू।

6 किनभने म त बलिको रूपमा अर्पित भइसकेको छु र मेरो बिदाइको बेला आइसकेको छ।

7 मैले उत्तम लडाइँ लडेको छु। मैले दौडलाई पूरा गरेको छु। मैले विश्वासलाई बचाइराखेको छु।

8 अब उप्रान्त मेरोनिम्ति धार्मिकताको मुकुट राखिएको छ, जो धार्मिक न्यायाधीश प्रभुले त्यस दिन मलाई र मलाई मात्र होइन तर उहाँको आगमन प्रिय मान्‍‌नेहरू, सबैलाई दिनुहुनेछ।

9 मकहाँ चाँडै आउने सक्दो प्रयत्‍‌न गर।

10 किनकि डेमासले यस वर्तमान संसारलाई प्रेम गरी मलाई त्यागेर थेसलोनिकेमा गएको छ, क्रेसेन्स गलातियामा गएका छन्, तीतस दलमातियामा।

11 लूका मात्र मसँग छन्। मर्कूसलाई खोजेर तिमीसँगै लिएर आऊ, किनकि तिनी मेरा सेवाको काममा खूबै उपयोगी छन्।

12 साथै तुखिकसलाई मैले एफिससमा पठाएको छु।

13 त्रोआसमा कार्पसकहाँ मैले छोडेको ओड्‍‌ने खास्टो र ती पुस्तकहरू, विशेषगरी चर्मपत्रहरू तिमी आउँदा तिम्रोसाथमा लिएर आउनू।

14 यो तमौटे अलेक्जेन्डरले मलाई साह्रै खराबी गर्‍यो। प्रभुले त्यसलाई त्यसको कामअनुसारको बदला दिनुहुनेछ।

15 त्यसदेखि तिमी पनि होशियार हुनू, किनकि त्यसले हाम्रो सन्देशको अति नै विरोध गर्‍यो।

16 मेरो पहिलो प्रतिवादमा कसैले मेरो पक्ष लिएन तर सबैले मलाई त्यागे। यस कुराको दोष तिनीहरूलाई नलागोस्।

17 तर अरु सबै अयहूदीहरूले सुन्‍‌नपाऊन् भनेर प्रभु मेरो साथमा खडा हुनुभयो र सम्पूर्णरूपले वचनको प्रचार गर्न मलाई शक्ति दिनुभयोर मैले सिंहको मुखबाट छुटकारा पाएँ।

18 प्रभुले मलाई सबै खराबीबाट जोगाउनुहुनेछ र उहाँको स्वर्गका राज्यको निम्ति मलाई उद्धार गर्नुहुने उहाँलाई सदासर्वदा महिमा होस्। आमेन्।

19 प्रिस्किला र अक्विलालाई र ओनेसिफरसको घरानालाई अभिवादन भनिदेऊ ।

20 इरास्तस कोरिन्थमै रहे, तर त्रोफिमसलाई त मैले मिलेटसमा बिरामी अवस्थामै छोडेँ।

21 सकेसम्म हिउँदअघि नै आउने कोशिश गर। युबुलसले तिमीलाई अभिवादन पठाएका छन् र पुडेस, लिनस, क्लौडिया र सबै भाइ-बहिनीहरूले पनि।

22 प्रभु तिम्रो आत्मासँग रहून्, तिमीसित अनुग्रह रहोस्।



AMAZING GRACE BIBLE INSTITUTE