2 THESSALONIANS

२ थैसलोनिकी


Chapter 1

1 पावल, सिलास र तिमोथीबाट परमेश्वर पिता र प्रभु येशू ख्रीष्टमा भएका थेसलोनिकीहरूको मण्डलीलाई :

2 परमेश्वर पिता र प्रभु येशू ख्रीष्टबाट तिमीहरूलाई अनुग्रह र शान्ति।

3 प्रिय भाइ हो, हामी तिमीहरूको निम्ति सदा परमेश्वरलाई धन्यवाद चढाउन बाद्दे छौं, यो योग्य पनि छ, किनकि तिमीहरूको विश्वास अत्यन्तै बढ्दै छ र तिमीहरू प्रत्येकको प्रेम एक-अर्काप्रति बढ्दै छ।

4 यसकारण, हामी तिमीहरूका सबै सतावट र तिमीहरूले सहिरहेका कष्टका बीचमा तिमीहरूका स्थिरता र विश्वासको निम्ति परमेश्वरका मण्डलीहरूको माझमा ज्यादै गर्व गर्छौं।

5 यो परमेश्वरको धार्मिक न्यायको स्पष्ट प्रमाण हो कि तिमीहरू परमेश्वरका राज्यको योग्य ठहरिओ, जसका निम्ति तिमीहरू दु:ख -कष्ट भोगिरहेका छौ।

6 परमेश्वर न्यायी हुनुहुन्छ, उहाँले तिमीहरूलाई दु:ख दिनेलाई दु:ख दिनुहुनेछ

7 र तिमी कष्ट पाएकाहरूलाई हामीसँगै आराम दिनुहुनेछ। यी त्यसबेला हुनेछ, जब प्रभु येशू आफ्‍‌ना शक्तिशाली स्वर्गदूतहरूसँग बल्दो आगोमा स्वर्गबाट प्रकट हुनुहुनेछ।

8 परमेश्वरलाई नचिन्‍‌नेहरू र हाम्रा प्रभु येशूको सुसमाचार नमान्‍‌नेहरूले दण्ड पाउनेछन्,

9 तिनीहरूले प्रभुको उपस्थितिबाट र उहाँको शक्तिको महिमाबाट अनन्त विनाशको दण्ड पाउनेछन्।

10 जब त्यस दिन उहाँका सन्तहरूमा महिमा पाउन र विश्वास गर्नेहरू सबैलाई चकित पार्न उहाँ आउनुहुनेछ, किनभने तिमीहरूलाई दिएको हाम्रो गवाहीमा तिमीहरूले विश्वास गर्‍यौ।

11 त्यसैले हामीहरू तिमीहरूका निम्ति निरन्तर प्रार्थना गरिरहेका छौं, यसैले कि हाम्रा परमेश्वरले तिमीहरूलाई आफ्‍‌नो बोलावटको योग्य तुल्याऊन् र उहाँको शक्तिद्वारा हरेक असल उद्देश्य र विश्वासको कामलाई पूरा गरून्।

12 हाम्रा परमेश्वर र प्रभु येशू ख्रीष्टको अनुग्रहअनुसार हाम्रा प्रभु येशू ख्रीष्टको नाउँको महिमा तिमीहरूमा होस् र तिमीहरू उहाँमा महिमित होओ।




2

1 भाइ हो, अब हाम्रा प्रभु येशू ख्रीष्टको आगमन र हामीहरू उहाँकहाँ भेला हुनेबारेमा तिमीहरूलाई विन्ती गर्दछौं।

2 ख्रीष्टको दिन नजिकै आइपुगेको छ जस्तै गरी आत्माद्वारा वा वचनद्वारा, वा हामीबाट आएको जस्तो पत्रद्वारा तिमीहरू यति चाँडै मनमा थरथर नकाँप, न त विचलित होओ।

3 तिमीहरूलाई कसैले कुनै किसिमले धोका नदेओस्। किनकि पहिले विद्रोह नभएसम्म पापको मानिस अर्थात् सर्वनाशको छोरो प्रकट नभइन्जेलसम्म, त्यो दिन आउनेछैन।

4 त्यसले आफैलाई उचाल्‍‌नेछ र हरेक देवलाई इन्कार गर्नेछ, आराधना र पूजाका हरेक वस्तुको विरोध गर्नेछ र परमेश्वरको मन्दिरमा आफैलाई बसाल्‍‌नेछ र परमेश्वरको रूपमा प्रकट गर्नेछ।

5 म तिमीहरूसँग रहँदा नै मैले यी कुरा भनेको छु भन्‍‌ने के तिमीहरू स्मरण गर्दैनौ?

6 अनि त्यो आफ्‍‌नै समयमा प्रकट होस् भनेर त्यसलाई कसले रोकिराखेको छ, सो तिमीहरू जान्दछौ।

7 किनकि अधर्मको रहस्यले अघिदेखि नै काम गरिरहेको छ तर त्यसलाई रोकी राख्‍‌नुहुनेचाहिँ आफ्‍‌नो बाटोबाट नहटुन्जेल त्यसलाई रोकी राख्‍‌नुहुनेछ।

8 अनि त्यो अधर्मी प्रकट हुनेछ, जसलाई प्रभुले आफ्‍‌नो मुखको सासले नाश गर्नुहुनेछ र आफ्‍‌नो आगमनको तेजले भस्म पार्नुहुनेछ।

9 त्यसको आगमन शैतानको कार्यअनुसार सबै सामर्थ्य, चिन्हहरू र झूटा चमत्कारहरूका साथमा हुन्छ।

10 अनि नष्ट हुनेहरूको बीचमा अधर्मका सबै प्रकारका धोकाबाजीको साथमा हुन्छ, किनभने मुक्ति पाउनका निम्ति तिनीहरूले सत्यको प्रेम ग्रहण गरेनन्।

11 त्यसैले तिनीहरूमाथि परमेश्वरले ठूलो भ्रम पठाउनुहुनेछ र यी सबै झूटा कुरा तिनीहरूले विश्वास गर्नेछन्।

12 त्यसपछि सत्यतालाई विश्वास नगर्नेहरू र अधर्ममा आनन्द मनाउनेहरू सबै जना दोषी ठहरिनेछन्।

13 प्रभुले प्रेम गर्नुभएका भाइहरू, तिमीहरूका निम्ति हामी परमेश्वरमा सधैँ धन्यवाद चढाउन बाद्दे छौं, किनकि शुरुदेखि नै पवित्र आत्माको पवित्र तुल्याउने कामद्वारा र सत्यतामाथिको विश्वासद्वारा मुक्ति पाउनलाई परमेश्वरले तिमीहरूलाई चुन्‍‌नुभयो।

14 यसैको निम्ति हाम्रो सुसमाचारद्वारा हाम्रा प्रभु येशू ख्रीष्टको महिमा प्राप्त गर्न उहाँले तिमीहरूलाई बोलाउनुभयो।

15 त्यसैले प्रिय भाइ हो, यी सबै कुरा मनमा राखेर स्थिर बस र हामीले तिमीहरूलाई व्यक्तिगतरूपमा र पत्रद्वारा सिकाएका कुरालाई थामिराख।

16 अब हाम्रा प्रभु येशू ख्रीष्ट, आफैले अनि हामीलाई प्रेम गर्नुहुने र अनुग्रहबाट अनन्त शान्ति र उत्तम आशा दिनुहुने परमेश्वर हाम्रा पिताले,

17 तिमीहरूका हृदयलाई सान्त्वना देऊन् अनि सबै उत्तम काम र वचनमा स्थिर गराऊन्।




3

1 अन्तमा भाइ हो, हाम्रानिम्ति प्रार्थना गरिदेओ र प्रभुको वचन अघि बढोस् र महिमित होस्, जस्तो तिमीहरूको बीचमा भएको थियो।

2 अनि भ्रष्ट र दुष्ट मानिसहरूबाट हामी बँच्‍‌न सकौं, किनकि सबै मानिसहरूसँग विश्वास हुँदैन।

3 तर प्रभु विश्वसनीय हुनुहुन्छ, उहाँले तिमीहरूलाई बलियो पार्नुहुन्छ र दुष्ट मानिसबाट सुरक्षित राख्‍‌नुहुन्छ।

4 हामीले आज्ञा गरेका कुरा तिमीहरूले गरिरहेका छौ र सधैँ गर्नेछौं भनी प्रभुमा हामी विश्वस्त छौं।

5 प्रभुले परमेश्वरको प्रेमको गहिरो विवेक र ख्रीष्टबाट आउने सहनशीलतामा तिमीहरूलाई डोर्‍याऊन्।

6 अब हे भाइ हो, हाम्रा प्रभु येशू ख्रीष्टको नाउँमा हामी तिमीहरूलाई आज्ञा दिन्छौं कि बेकाइदासँग चल्‍‌ने र हामीबाट पाएका शिक्षाअनुसार नचल्‍‌ने हरेक भाइबाट अलग होओ।

7 हाम्रो देखासिकी कसरी गर्नुपर्छ सो तिमीहरूलाई थाहा छ। जब हामी तिमीहरूसँग थियौं, हामी कदापि अल्छे थिएनौं।

8 हामीले कसैको रोटी सित्तैँमा खाएनौं तर तिमीहरूलाई भार नहोस् भनेर हामीले दिनरात र कष्टसाथ काम गर्‍यौं।

9 हाम्रो सहायता पाउने हक नभएर होइन, तर हाम्रो आचरण तिमीहरूको निम्ति एक आदर्श बनोस् भनेर हामीले त्यसो गर्‍यौं।

10 तिमीहरूका साथमा हुँदा हामीले तिमीहरूलाई यो आज्ञा दिएका थियौं, ‘‘कसैले काम गर्दैन भने त्यसले नखाओस्।’’

11 किनकि हामी सुन्छौं, तिमीहरूको बीचमा कति जना अल्छे जीवन बिताइरहेका छन्, तिनीहरूले आफू केही काम गर्दैनन् तर अरुको काममा व्यर्थै हात हाल्दै अनुशासनहीन जीवन बिताउँछन्।

12 अब यस्ताहरूलाई हाम्रा प्रभु येशूको नाउँले आज्ञा र अर्ती दिन्छौं कि तिनीहरूले चुपचाप काम गरेर आ-आफ्‍‌नै रोटी खाने गरून्।

13 हे भाइ हो, असल काम गर्न थकित नहोओ।

14 यस पत्रमा हामीले भनेका कुरा नमान्‍‌नेलाई चिनी राख र त्यससँग तिमीहरूले सम्बन्ध नराख, यसैले कि ऊ लज्जित होस्।

15 तरै पनि उसलाई शत्रुजस्तो नठान तर भाइलाई जस्तो गरी उसलाई चेताउनी देओ।

16 जेसुकै भए तापनि शान्तिका प्रभुले सदा उहाँको शान्ति देऊन्। प्रभु सदा तिमीहरूसँग रहून्।

17 यो अभिवादन म पावलको आफ्‍‌नै हातले लेखेको हुँ। जुन चिन्ह मेरो प्रत्येक पत्रमा हुन्छ, म त्यसैगरी लेख्तछु।

18 हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह, तिमीहरू सबैको साथमा रहून् । आमेन्।



AMAZING GRACE BIBLE INSTITUTE