2 PETER

२ पुत्रस


Chapter 1

1 सिमोन पत्रुस ख्रीष्ट येशूका दास र प्रेरितबाट, हाम्रा परमेश्वर र मुक्तिदाता येशू ख्रीष्टको धार्मिकताद्वारा हामीजस्तै अनमोल विश्वास प्राप्त गर्नेहरूलाई :

2 परमेश्वर र हाम्रा प्रभु येशूको ज्ञानद्वारा अनुग्रह र शान्ति तिमीहरूका निम्ति प्रशस्त हुँदै जाओस्।

3 जसले हामीलाई महिमा र सद्गुणद्वारा बोलाउनुभयो उहाँले आफ्‍‌नो ईश्वरीय शक्तिअनुसार हामीलाई जीवन र भक्तिसँग सम्बन्ध राख्‍‌ने सबै कुरा उहाँकै ज्ञानद्वारा दिनुभएको छ।

4 यसैले कि हामीलाई अत्यन्तै ठूला र बहुमूल्य प्रतिज्ञाहरूद्वारा तिमीहरू यस संसारका अभिलाषाबाट हुने भ्रष्टतादेखि उम्केर ईश्वरीय स्वभावका सहभागी होओ।

5 यही कारणले गर्दा तिमीहरूले सबै किसिमका प्रयत्‍‌नले तिमीहरूका विश्वासमा सद्गुण, सद्गुणमा ज्ञान,

6 ज्ञानमा संयम, संयममा धैर्य, धैर्यमा भक्ति,

7 भक्तिमा भ्रातृ-स्‍‌नेह, भ्रातृ-स्‍‌नेहमा प्रेम थप।

8 किनकि यी गुण तिमीहरूमा छन् र प्रशस्त हुँदै जान्छन् भने यिनीहरूले तिमीहरूलाई हाम्रा प्रभु येशू ख्रीष्टको ज्ञानमा बाँझो र निष्फल नहुने तुल्याउँछन्।

9 तर यी कुराको अभाव भएको व्यक्ति पहिलेका पापबाट शुद्ध भएको कुरा बिर्सेर अन्धा र टाढाका कुरा नदेख्‍‌नेजस्तो हुन्छ।

10 यसकारण भाइ हो, तिमीहरूको बोलावट र चुनाउ निश्चय गर्नलाई बढ्ता प्रयत्‍‌न गर, किनकि यी कुरा गर्‍यौ भने तिमीहरूले कहिल्यै ठेस खानेछैनौ।

11 किनकि यसरी तिमीहरूले हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्टको अनन्त राज्यमा प्रशस्त गरी प्रवेश पाउनेछौ।

12 यसर्थ, तिमीहरूले यी कुरा जानेर अहिले तिमीहरूसित भएको सत्यतामा स्थिरतापूर्वक स्थापित छौ तापनि तिमीहरूलाई यी कुरा सधैँ स्मरण गराउनेछु।

13 अनि म यस डेरामा रहुन्जेल तिमीहरूलाई स्मरण गराउँदै जागृत गराउन उचित सम्झन्छु।

14 किनकि म जान्दछु, कि हाम्रा प्रभु येशू ख्रीष्टले मलाई देखाउनुभएअनुसार मेरो यो डेरा ढल्‍‌ने बेला चाँडै आउँदै छ।

15 यसकारण तिमीलाई स्पष्ट पार्नको निम्ति म धेरै परिश्रम गर्दछु, ताकि मेरो मृत्युपछि पनि तिमीहरू यी कुरा सम्झनसक।

16 किनकि हामीले तिमीहरूलाई हाम्रो प्रभु येशू ख्रीष्टको शक्ति र आगमनको बारेमा बताउँदा चतुर्‍याइँसँग रचिएका दन्त्य कथाहरूको अनुसरण गरेनौं, तर हामी उहाँको वैभव देख्‍‌ने साक्षीहरू थियौं।

17 उहाँले त्यसबेला परमेश्वर पिताबाट आदर र महिमा प्राप्त गर्नुभयो जब स्वर्गको तेजस्वी महिमाबाट एउटा यस्तो आवाज आयो ‘‘यिनी मेरा प्रिय पुत्र हुन्, जसमा म अति प्रसन्‍‌नछु।’’

18 त्यस पवित्र डाँडामा हामी उहाँसँग हुँदा स्वर्गबाट आएको यो आवाज हामी आफैले सुनेका थियौं।

19 त्यसकारण अगमवक्ताहरूद्वारा घोषणा गरिएको वचन अझ निश्चित भएको छ। बिहान नभइन्जेलसम्म र तिमीहरूका हृदयमा बिहानको तारा नउदाउन्जेल अन्धकारमा ज्योति चम्केझैँ तिमीहरूले यस कुरामा ध्यान दिनु असल हुनेछ।

20 तर मुख्य कुरा तिमीले बुझ्‍‌नुपर्छ कि धर्मशास्त्रको कुनै पनि अगमवाणी अगमवक्ताको आफ्‍‌नैतर्फबाट आएको होइन,

21 किनकि कुनै अगमवाणी मानिसको इच्छाबाट आएन तर मानिसहरू पवित्र आत्माद्वारा प्रेरणा पाएर परमेश्वरका तर्फबाट बोलेका हुन्।




2

1 तर इस्राएलीहरूको बीचमा झूटा अगमवक्ता भएझैँ तिमीहरूका बीचमा पनि झूटा शिक्षकहरू हुनेछन्। तिनीहरूले परमेश्वरको बारेमा विनाशकारी झूटा शिक्षा सिकाउँछन् कि तिनीहरूलाई उद्धार गर्नुहुने सार्वभौम प्रभुलाई पनि तिनीहरूले इन्कार गर्दछन्- तिनीहरूको अन्त भयानक रीतिले हुन्छ।

2 धेरै जनाले तिनीहरूका विलासी आचरणलाई पछ‍याउनेछन् र तिनीहरूकै कारण येशू र उहाँको सत्यताको मार्गको बदनामी हुनेछ।

3 तिनीहरू लोभमा परेर आफूले कथेका कथाहरूद्वारा तिमीहरूलाई शोषण गर्नेछन्, तिनीहरूको न्याय अब धेरै लामोसम्म जानेछैन र तिनीहरूको विनाश निश्चित छ।

4 स्वर्गदूतहरूले पाप गर्दा परमेश्वरले तिनीहरूलाई बाँकी राख्‍‌नुभएन, तिनीहरूलाई नरकमा फालिदिनुभयो र न्यायको दिनसम्मको निम्ति पातालभित्रको अन्धकारको खाडलमा फालिदिनुभयो ।

5 धार्मिकताका प्रचारक नोआ र तिनको परिवारका सात जना सदस्यबाहेक परमेश्वरले प्राचीन संसारलाई बाँकी राख्‍‌नुभएन । त्यसपछि परमेश्वरले भक्तिहीनहरूको संसारलाई जलप्रलयद्वारा नाश गर्नुभयो।

6 पछि उहाँले सदोम र गमोरा भन्‍‌ने शहरलाई भस्म पारेर तिनको अस्तित्व संसारबाट नै मेटाइदिनुभयो र भक्तिहीनहरूका सामु तिनीहरूलाई एक नमुना बनाउनुभयो।

7 त्यही समयमा परमेश्वरले अनैतिक आचरणका मानिसहरूद्वारा थिचिएका धार्मिक लोतलाई बचाउनुभयो।

8 ती मानिसहरूका माझमा बस्दा अनि दिन-प्रतिदिन तिनीहरूका कुकर्म देख्दा र सुन्दा तिनी आफ्‍‌नो धार्मिक आत्मामा व्याकुल भएका थिए।

9 यसकारण भक्त मानिसलाई परीक्षाबाट बचाउन र दुष्ट मानिसलाई न्यायको दिनसम्म कसरी राख्‍‌ने भन्‍‌ने कुरा परमेश्वरलाई थाहा थियो।

10 यो विशेषगरी, तिनीहरूको सम्बन्धमा सत्य छ, जो पापमय स्वभावका भ्रष्ट इच्छालाई पछ‍याउँछन् र अधिकारलाई घृणा गर्छन्, तिनीहरू हठी र अहङ्कारी छन्, किनकि तिनीहरू स्वर्गका प्राणीहरूको निन्दा गर्न डराउँदैनन्।

11 स्वर्गदूतहरू, जो शक्ति र सामर्थ्यमा अझ उच्च भए तापनि प्रभुको सामुन्‍‌ने तिनीहरूले ती प्राणीहरूलाई निन्दापूर्ण दोष दिँदैनन्।

12 तर ती झूटा शिक्षकहरू विवेकहीन जनावरहरूजस्ता छन् र स्वाभाविक इच्छाहरूका वशमा रहन्छन्, जो मारिनलाई नै जन्मेका हुन्छन्। यी मानिसहरू आफैले नबुझेका कुराको गिल्ला गर्छन् र तिनीहरू आफ्‍‌नै भ्रष्टतामा पूर्णरूपले नाश हुनेछन्।

13 तिनीहरूले, आफूले गरेको खराबीको सट्टा खराबी पाउनेछन् । तिनीहरू दिउँसै भोगविलास गर्न मन पराउँछन्, तिनीहरूका भोजमा तिमीहरूसँगै बसेर खानलाई सुखविलास सम्झने ती छलीहरू दाग र कलङ्क हुन्।

14 तिनीहरूको आँखा व्यभिचारले भरिएका हुन्छन् र जति पाप गर्दा पनि सन्तुष्ट हुँदैनन्। तिनीहरूले चञ्चल मन भएकाहरूलाई फुस्लाउँछन्, तिनीहरूका हृदयले लोभ गर्ने तालिम पाएका हुन्छन्। तिनीहरू श्रापित सन्तान हुन्।

15 तिनीहरू सोझो बाटो छोडेर बओरको छोरो बालामको पछि लागेका छन्, जसले अधार्मिकताको कमाइको लोभ गर्दछ।

16 तर ऊ आफ्‍‌नो दुष्ट‍याइँको निम्ति हप्काइयो, एक मूक गधाले मानिसको बोली बोलेर अगमवक्ताको पागलपनलाई रोकेको थियो।

17 यी मानिसहरू पानीबिनाका खोला र आँधीले बत्ताएर लैजाने कुइरोजस्ता छन्, तिनीहरूका निम्ति सधैँको लागि घोर अन्धकार साँचेर राखिएको छ।

18 तिनीहरू मूर्खतापूर्ण ठूल्ठूला अहङ्कारका कुरा गर्दछन् र कुमार्गबाट भर्खरै उम्केर आएकाहरूलाई शरीरका विलासमय कामवासनाका कुराले फसाउँछन्।

19 तिनीहरूलाई स्वतन्त्रता दिने प्रतिज्ञा गर्छन् तर तिनीहरू आफै दुष्टताको दास छन्, किनकि मानिस जसद्वारा हार्छ, त्यसैको दास बनाइन्छ।

20 तर यदि प्रभु र मुक्तिदाता येशू ख्रीष्टलाई चिन्‍‌ने ज्ञानद्वारा यस संसारको अशुद्धपनबाट उम्केपछि तिनीहरू फेरि पापमा फसेर पराजित भए भने तिनीहरूको पछिल्लो दशा अगाडिको भन्दा झन् खराब हुन्छ।

21 तिनीहरूलाई दिएको पवित्र आज्ञा थाहा पाएर पनि इन्कार गर्दछन् भने तिनीहरूलाई धार्मिकताको बाटो थाहा नहुनु नै असल हो।

22 तिनीहरूको सम्बन्धमा यी उखान सत्य भएको छ, ‘‘कुकुर आफ्‍‌नै बान्तामा फर्किआउँछ’’ र ‘‘नुहाइदिएको भुनी फेरि हिलैमा नै खेल्छे।’’




3

1 प्रिय हो, यो मेरो दोस्रो पत्र तिमीहरूलाई लेखिरहेको छु र यी दुवै पत्रमा मैले यिनै कुराको सम्झना गराएर तिमीहरूका मनमा चोखो विचार जागृत गराउन खोजेको हुँ।

2 म तिमीहरूलाई सम्झाउन चाहन्छु कि धेरै समयअघि पवित्र अगमवक्ताहरूबाट बोलिएका र प्रेरितहरूद्वारा हाम्रा प्रभु र मुक्तिदाताको आज्ञा दिइएको कुरा सम्झ।

3 तर तिमीहरूले मुख्य कुरा बुझ्‍‌नुपर्छ कि अन्तिम दिनमा गिल्ला गर्नेहरू र आफ्‍‌नै अभिलाषाको पछि हिँड्‍‌नेहरू यसो भन्दै आउनेछन्,

4 ‘उहाँको आगमनको प्रतिज्ञा कहाँ गयो? हाम्रा पुर्खाहरू सुतेका दिनदेखि नै सबै कुरा सृष्टिको शुरुदेखि चलिआएजस्तै आज पनि छँदै छ।’

5 तिनीहरू जानीबुझीकन पनि यस कुराको वास्ता गर्दैनन्, कि परमेश्वरको वचनद्वारा स्वर्गहरू अघिदेखि नै थिए र पृथ्वीचाहिँ पानीमाझमा र पानीद्वारा नै बनाइयो,

6 यसै पानीबाट त्यस समयको संसार जलप्रलयमा नष्ट भयो।

7 तर अहिलेका आकाश र पृथ्वी त्यही वचनद्वारा भक्तिहीन मानिसहरूको विनाश र न्यायको दिनको विरुद्धमा छुट्ट‍याएर आगोको निम्ति साँचिराखिएको छ।

8 तर मित्रहरू हो, एउटा कुरा नबिर्स कि प्रभुको निम्ति एक दिन हजार वर्षझैँ, र हजार वर्ष एक दिनझैँ हुन्छ।

9 कसै-कसैले सम्झेझैँ आफ्‍‌नो प्रतिज्ञाको बारेमा प्रभु ढिलो गर्नुहुन्‍‌न तर कोही पनि नाश नहोस् तर सबै जनाले पश्चात्ताप गरून् भन्‍‌ने इच्छा गरेर प्रभुले तिमीहरूतर्फ धैर्य देखाउनुभएको छ।

10 तर प्रभुको दिन त चोरजस्तै गरी आउनेछ, जसमा आकाश ठूलो आवाजसाथ बितिजानेछ अनि पृथ्वी र त्यसमा भएका सम्पूर्ण थोक आगोले नष्ट हुनेछन् र त्यहाँ भएका सबै काम पनि जलाइनेछन्।

11 यी सबै कुरा यसरी पग्लेर जानेछ भनी जानेर तिमीहरू कस्तो किसिमका मानिसहरू हुनुपर्छ? तिमीहरू सबै पवित्र चालचलन र भक्तिमा

12 परमेश्वरको दिनको प्रतीक्षा गर्दछौ र त्यस दिन नजिक आएको चाहन्छौ। जुन दिन आकाशहरू जलेर भस्म हुनेछन् र तत्वहरू आगोको रापले पग्लनेछन्।

13 तर पनि हामी उहाँको प्रतिज्ञाअनुसार नयाँ स्वर्ग र नयाँ पृथ्वीको बाटो हेर्दछौं, जहाँ धार्मिकताले वास गर्दछ।

14 यसकारण हे प्रिय हो, यी कुराको बाटो हेर्ने भएर शान्तिसाथ तिमीहरू प्रभुको दृष्टिमा निस्खोट र निर्दोष भेट्टाइने प्रयत्‍‌न गर।

15 अनि हाम्रा प्रभुको धैर्य मुक्ति हो भनी सम्झ, जसरी हाम्रा प्रिय भाइ पावलले उनलाई दिइएको बुद्धिअनुसार तिमीहरूलाई यी कुरा लेखेका छन्।

16 उनका सबै पत्रहरूमा उनले यी कुराको उल्लेख गरेका छन्। उनका कुनै-कुनै कुरा बुझ्‍‌न गाह्रो छन्, जो अशिक्षित र चञ्चल मानिसहरूले अरु धर्मशास्त्रहरूलाई जस्तै उल्टापाल्टा पार्छन् र आफैमाथि विनाश ल्याउँछन्।

17 यसकारण, प्रिय हो, तिमीहरू यी कुरा अघिबाटै थाहा पाएको हुनाले होशियार रहो, नत्र त दुष्टहरूका भ्रमबाट एकातिर लागेर तिमीहरू आफ्‍‌ना दृढताबाट पतित हुनेछौ।

18 बरु हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्टको अनुग्रह र ज्ञानमा बढ्दै जाओ। उहाँलाई महिमा र आदर, अहिले र सदासर्वदा भइरहोस्। आमेन्।



AMAZING GRACE BIBLE INSTITUTE