2 CORINTHIANS

२ कोरिन्थी


Chapter 1

1 परमेश्वरको इच्छाद्वारा येशू ख्रीष्टका प्रेरित पावल, र हाम्रा भाइ तिमोथीबाट सारा अखैयामा भएका सबै पवित्रजनसहित कोरिन्थमा भएका परमेश्वरको मण्डलीलाई :

2 हाम्रा पिता परमेश्वर र प्रभु येशू ख्रीष्टबाट तिमीहरूलाई अनुग्रह र शान्ति।

3 परमेश्वर धन्यका होऊन्, जो हाम्रा प्रभु येशू ख्रीष्टका पिता, करुणाका पिता र सबै सान्त्वनाका परमेश्वर हुनुहुन्छ ।

4 उनै परमेश्वरबाट सान्त्वना पाएर जस्तै सङ्कष्टमा परेकाहरूलाई पनि हामीले सान्त्वना दिनसकौं भनी उहाँले हाम्रा सबै सङ्कष्टमा सान्त्वना दिनुहुन्छ।

5 किनकि जसरी हामीलाई ख्रीष्टको कष्ट प्रशस्त मात्रामा हुन्छ, त्यसरी नै हाम्रो सान्त्वना पनि ख्रीष्टद्वारा प्रशस्त मात्रामा हुन्छ।

6 हामीले दु:ख पायौं भने पनि यो तिमीहरूको सान्त्वना र मुक्तिको निम्ति हो। हामीले सान्त्वना पायौं भने पनि त्यो तिमीहरूका सान्त्वनाको निम्ति हो। हामीले भोगेका जस्तै दु:ख भोग्‍‌नलाई तिमीहरूमा धैर्य उत्पन्‍‌न गर्दछ।

7 तिमीहरूका निम्ति हाम्रो आशा दृढ छ। किनकि हामी जान्दछौं कि जसरी तिमीहरू हाम्रा दु:खमा सहभागी छौ, त्यसरी नै हाम्रो सान्त्वनामा पनि तिमीहरू सहभागी हुनेछौ।

8 भाइहरू हो, हामीले एसियामा भोग्‍‌नुपरेका कष्टको विषयमा तिमीहरू अजान रहो भन्‍‌ने हामी चाहँदैनौं। किनभने हामी सहन नसक्‍‌ने किसिमले यति साह्रो मिचिएका थियौं कि जीवनदेखि हामीले हरेस खाइसकेका थियौं।

9 हामीलाई त मृत्युदण्ड नै पाएझैँ लागेको थियो, हामी आफैमाथि होइन तर मृतकहरूलाई जीवन दिएर उठाउनुहुने परमेश्वरमाथि हामी भर परौं भनेर यो हुन आयो।

10 उहाँले हामीलाई भयानक मृत्युको जोखिमबाट छुटाउनुभयो र उहाँले हामीलाई छुटाउनु पनि हुनेछ। उहाँमाथि नै हामीले हाम्रो भरोसा राखेका छौं कि उहाँले हामीलाई निरन्तररूपमा छुटाउनुहुनेछ।

11 तिमीहरूले पनि प्रार्थनाद्वारा हामीलाई सहायता गर्नैपर्छ। तब धेरै प्रार्थनाको प्रत्युत्तरमा हामीलाई प्राप्त भएको आशिष्को निम्ति धेरैले हाम्रो पक्षमा धन्यवाद चढाउनेछन्। प

12 यस कुरामा हामी गर्व गर्छौं अनि हाम्रो विवेकले त्यसको गवाही दिन्छ कि संसारमा र विशेषगरी तिमीहरूसँगको हाम्रो सम्बन्धमा हामी पवित्रता र ईश्वरीय सत्यतामा चलेका छौं, यो सांसारिक बुद्धिअनुसार होइन तर परमेश्वरको अनुग्रहबाट हो।

13 किनकि तिमीहरूले पढ्‍‌न र बुझ्‍‌न नसक्‍‌ने केही कुरा हामी लेख्दैनौं र म आशा गर्छु, तिमीहरूले पूर्णरूपमा अन्तसम्म बुझ्‍‌नेछौ,

14 जसरी हामी तिमीहरूका गर्वका कारण हौं भनेर तिमीहरूले पनि केही मात्रामा हामीलाई स्वीकार गरेका छौ, त्यसरी नै तिमीहरू पनि प्रभु येशूको दिनमा हाम्रा गर्वका कारण हौ।

15 यो कुराको मलाई निश्चय भएको हुनाले तिमीहरूलाई दोहोरो फाइदा होस् भनेर तिमीहरूकहाँ पहिले आउने मैले इच्छा गरेँ।

16 म्यासिडोनिया जाँदा तिमीहरूकहाँ भेटघाट गरेर जाने र म्यासिडोनियाबाट तिमीहरूकहाँ फर्किआउने, अनि त्यहाँबाट यहूदियाको मेरो यात्रामा तिमीहरूले मलाई पठाइदिनेछौ भन्‍‌ने म चाहन्थेँ।

17 के यो गर्न चाहँदा मैले अस्थिरता देखाएँ र? के मैले आफ्‍‌नो योजना बनाउँदा सांसारिक मानिसजस्तो एउटै मुखले ‘हो’ र ‘होइन’ भन्‍‌ने हुँ र?

18 परमेश्वर विश्वसनीय हुनुभएझैँ हाम्रो वचन पनि ‘हो’ र ‘होइन’ भएको छैन।

19 किनभने तिमोथी, सिलास र मैले तिमीहरूका बीचमा प्रचार गरेको परमेश्वरका पुत्र येशू ख्रीष्ट ‘हो’ र ‘होइन’ हुनुहुन्‍‌नथ्यो। तर उहाँमा सधैँ ‘हो’ मात्र छ।

20 किनकि परमेश्वरका सबै प्रतिज्ञाहरू उहाँमा ‘हो’ हुन्छ। यसैकारण उहाँद्वारा परमेश्वरको महिमाको निम्ति हामी ‘आमेन्’ भन्छौं।

21 तर हामीलाई तिमीहरूसँग ख्रीष्टमा स्थिर पार्नुहुने र हामीलाई अभिषेक गर्नुहुने परमेश्वर नै हुनुहुन्छ।

22 उहाँले हामीमाथि आफ्‍‌नो छाप लगाउनुभएको छ र अब के हुनआउनेछ भन्‍‌ने पक्का गरेर हाम्रो हृदयमा बैनाको रूपमा पवित्र आत्मा दिनुभएको छ।

23 अब परमेश्वर मेरो साक्षी हुनुहुन्छ कि तिमीहरूलाई सजायबाट बचाउन म कोरिन्थमा आइनँ ।

24 तर हामी तिमीहरूका आनन्दको निम्ति तिमीहरूसँग मिलेर काम गर्छौं, किनकि तिमीहरू आफ्‍‌नो विश्वासमा स्थिर छौ।




2

1 तर तिमीहरूकहाँ फेरि शोकित भएर नआऊँ भन्‍‌ने मैले आफैमा निश्चय गरेँ।

2 किनकि यदि मैले तिमीहरूलाई शोकित पारेँ भने मद्वारा शोकित भएकोले बाहेक अरु कसले मलाई खुशी पार्ला र?

3 अनि मैले जे कुरा लेखेँ, त्यो यस हेतुले लेखेँ कि म आउँदा जुन व्यक्तिहरूद्वारा मैले आनन्द पाउनुपर्थ्यो, तिनीहरूद्वारा म दु:खित नहोऊँ। किनकि मेरो आनन्द तिमीहरू सबैको आनन्द हुन्छ भन्‍‌ने मलाई तिमीहरू सबैको बारेमा भरोसा थियो।

4 किनभने तिमीहरूलाई दु:खित तुल्याउन होइन तर तिमीहरूप्रति भएको मेरो प्रशस्त प्रेम तिमीहरूले जान भनेर हृदयको धेरै पीडा र वेदनामा धेरै आँसु बगाउँदै मैले तिमीहरूलाई लेखेथेँ।

5 तर कसैले शोकित तुल्याएको छ भने उसले मलाई होइन, तर साह्रै कडा गरी नभन्‍‌ने हो भने तिमीहरू सबैलाई केही हदसम्म दु:खित तुल्याएको छ।

6 त्यस्तालाई बहुमतद्वारा दिइएको सजाय पर्याप्त छ।

7 यसकारण बरु तिमीहरूले त्यसलाई क्षमा र सान्त्वना दिनुपर्छ, नत्र त त्यो मानिस साह्रै ठूलो शोकमा डुब्‍‌नेछ।

8 यसकारण म तिमीहरूलाई अनुरोध गर्दछु कि त्यस व्यक्तिलाई तिमीहरू झन् आफ्‍‌नो प्रेमको प्रमाण देऊ।

9 यसैकारण तिमीहरूलाई जाँच्‍‌न र हरेक कुरामा तिमीहरू आज्ञाकारी छौ कि छैनौ भन्‍‌ने थाहा पाउनलाई मैले तिमीहरूलाई लेखेथेँ।

10 जसलाई तिमीहरू क्षमा गर्छौ, म पनि क्षमा गर्छु। यदि मैले कसैलाई केही कुरामा क्षमा गरेको छु भने, तिमीहरूकै खातिर ख्रीष्टको उपस्थितिमा क्षमा गरेको छु।

11 यसैले कि शैतानले हामीलाई फसाउन नपाओस्, किनकि त्यसका युक्तिहरूका बारेमा हामी अजान छैनौं।

12 जब म ख्रीष्टको सुसमाचारको निम्ति त्रोआसमा आएँ र प्रभुमा मेरोनिम्ति एउटा ढोका खोलियो,

13 तर मेरो भाइ तीतसलाई त्यहाँ नभेट्टाउँदा मेरो मनमा चैन भएन। यसकारण तिनीहरूबाट बिदा लिएर म म्यासिडोनियातर्फ लागेँ।

14 तर परमेश्वरलाई धन्यवाद होस्, जसले हामीलाई ख्रीष्टमा सधैँ विजयको निम्ति डोर्‍याउनुहुन्छ, र उहाँको ज्ञानको सुवासना हामीद्वारा हरेक स्थानमा फैलाउनुहुन्छ।

15 किनकि मुक्ति पाएकाहरूमा र नष्ट भइरहेकाहरूमा हामी परमेश्वरको निम्ति ख्रीष्टको मीठो बास्‍‌ना हौं।

16 हामी कतिका लागि मृत्युका निम्ति मृत्युको गन्ध हौं, र कतिका निम्ति जीवनका सुवासना हौं। यस्ता कुराको योग्य को छ र?

17 किनकि हामी ती धेरै मानिसहरूजस्ता होइनौं, जसले परमेश्वरको वचन आफ्‍‌नै फाइदाको निम्ति बङ्ग‍याउँछन्, तर हामी परमेश्वरबाट पठाइएका चोखो मन भएकाहरूले झैँ परमेश्वरका सामु ख्रीष्टमा बोल्दछौं।




3

1 के हामी फेरि आफ्‍‌नै तारिफ गर्न थालेका छौं? अथवा के कोही मानिसहरूलाई झैँ हामीलाई पनि तिमीहरूलाई अथवा तिमीहरूबाट सिफारिसपत्रको आवश्यकता पर्छ र ?

2 तिमीहरू नै हाम्रा सिफारिसपत्र हौ, जो सबै मानिसहरूले चिन्‍‌न र पढ्‍‌न सक्‍‌नेगरी तिमीहरूका हृदयमा लेखिएको छ।

3 यो प्रकट भएको छ, तिमीहरू ख्रीष्टका पत्र हौ, जसको सेवा हामीद्वारा भएको छ, जो मसीले लेखिएको होइन तर जीवित परमेश्वरका आत्माले, ढुङ्गाको पाटीहरूमा होइन तर हृदयका पाटीहरूमा लेखिएको छ।

4 हाम्रो भरोसा ख्रीष्टद्वारा परमेश्वरप्रति यस्तै छ।

5 कुनै पनि कुरा हामीबाट आएको हो भनी दाबी गर्न हामी आफै योग्य छैनौं तर हाम्रो योग्यता परमेश्वरबाट आउँछ।

6 उहाँले नै हामीलाई नयाँ करारका सेवकहरूको रूपमा योग्य तुल्याउनुभयो, लिखित अक्षरमा होइन तर पवित्र आत्मामा। किनभने लिखित अक्षरले त मार्छ तर पवित्र आत्माले जीवन दिनुहुन्छ।

7 तर यदि ढुङ्गामा लेखिएको र खोपिएको मृत्युको सेवा महिमित भएको थियो भने, यहाँसम्म कि इस्राएलका सन्तानले मोशाको अनुहारको तेजले गर्दा उनको अनुहार डीठ लगाएर हेर्नसक्तैन थिए, जुन तेज घटेर जाँदै पनि थियो।

8 आत्माको सेवा साँच्चै झन् कसरी महिमित नहोला त?

9 किनभने दोषी ठहराउने सेवा महिमित थियो भने, धार्मिकताको सेवा अझ बढी महिमित हुनेछ।

10 किनभने जो एकपल्ट महिमामय थियो, अहिले त्यसलाई उछिन्‍‌ने महिमा आएकोले गर्दा अब त्यो महिमामय रहेन।

11 किनकि जो बितेर गयो, त्यो महिमासाथ आएको थियो भने स्थायी रहिरहने त झन् बढी महिमापूर्ण हुनुपर्छ।

12 यसकारण हाम्रो यस्तो आशा भएकोले हामी आफ्‍‌नो बोलीमा अत्यन्तै साहसी बनेका छौं।

13 हामी मोशाजस्तै होइनौं, जसले आफ्‍‌नो धमिलिँदै गएको महिमाको अन्तिम झलक इस्राएलीहरूले नदेखून् भनेर आफ्‍‌नो अनुहारमा घुम्टो हाल्‍‌नेगर्थे।

14 तर ती मानिसहरूका मन कठोर भएका थिए, किनकि आजको दिनसम्मै पुरानो करार पढ्दा त्यो घुम्टो उठाइएको छैन। त्यो घुम्टोख्रीष्टद्वारा मात्र हटाइन्छ।

15 हो, आजसम्म पनि मोशाको पुस्तक पढ्दा तिनीहरूका हृदयमा घुम्टो हालिएको हुन्छ।

16 तर जब मानिस प्रभुतर्फ फर्कन्छ, तब त्यो घुम्टो हटाइन्छ।

17 अब प्रभु आत्मा हुनुहुन्छ र जहाँ प्रभुका आत्मा हुनुहुन्छ, त्यहाँ स्वतन्त्रता हुन्छ।

18 हामी सबैले घुम्टो हटाइएको अनुहारले प्रभुको महिमा प्रतिबिम्बित गरेका हुन्छौं र हामी महिमादेखि महिमातिर बढ्दै उहाँको स्वरूपमा बद्लिँदै जान्छौं। यो परमप्रभुबाट आउँछ, जो आत्मा हुनुहुन्छ।




4

1 यसकारण परमेश्वरको कृपाद्वारा हामीसँग यो सेवकाइ भएको हुनाले हामी हरेस खाँदैनौं।

2 हामीले शर्मका र लुकीछिपी गर्ने कामहरू त्यागेका छौं। हामी धूर्त काम गर्न वा परमेश्वरको वचनलाई हेरफेर गर्न इन्कार गर्छौं। तर सत्यको वचन खुलस्त गरी घोषणा गर्दै परमेश्वरको दृष्टिमा हामी हरेक मानिसको विवेकमा आफैलाई ग्रहणीय तुल्याउँछौं।

3 यदि हाम्रो सुसमाचारमा घुम्टो हालेको छ भने, त्यो नष्ट हुनेहरूकै निम्ति घुम्टो हालेको छ।

4 परमेश्वरको स्वरूप, ख्रीष्टको महिमित सुसमाचारको ज्योति विश्वास नगर्नेहरूको मनमा नचम्कोस् भनेर यस संसारको देवले तिनीहरूको मनलाई अन्धो तुल्याइदिएको छ।

5 हामी आफैलाई होइन तर ख्रीष्ट येशूलाई प्रभु भनी प्रचार गर्दछौं र हामी आफै येशूको खातिर तिमीहरूका कमाराहरू हौं।

6 ख्रीष्टको अनुहारमा भएको परमेश्वरको महिमित ज्ञानको ज्योति फैलाउनलाई ‘‘अँध्यारोबाट ज्योति चम्कनेछ’’ भन्‍‌नुहुने परमेश्वर स्वयम् हाम्रो हृदयमा चम्कनुभएको छ।

7 सर्वश्रेष्ठ शक्ति हाम्रो होइन तर परमेश्वरको हो भनी प्रस्ट पार्न यो धन हामीसित माटोको भाँडाहरूमा छ।

8 हामी हरप्रकारले कष्टमा परेका छौं तर किचिएका छैनौं। अन्योलमा परेका छौं तर हताश भएका छैनौं।

9 सताइएका छौं तर त्यागिएका छैनौं। प्रहार गरिएका छौं तर नाश भएका छैनौं।

10 येशूको जीवन हाम्रो शरीरमा प्रकट होस् भनेर हामी धेरै कष्ट भोग्दै उहाँको मृत्यु सधैँ हाम्रो शरीरमा बोकेर हिँड्छौं।

11 येशूको जीवन हाम्रो मरणशील शरीरमा प्रकट होस् भनेर उहाँको खातिर हामी जीवितहरू बारम्बार मृत्युका मुखमा सुम्पिएका हुन्छौं।

12 यसकारण मृत्युले हामीमा र जीवनले तिमीहरूमा काम गर्दछ।

13 लेखिएअनुसार, ‘‘मैले विश्वास गरेँ, यसकारण म बोलेँ’’ भन्‍‌नेकै विश्वासको आत्मा हामीमा भएको हुनाले, हामी विश्वास पनि गर्छौं त्यसकारण बोल्छौं पनि।

14 यो जानेर कि येशूलाई पुनर्जीवित पार्नुहुनेले हामीलाई पनि पुनर्जीवित पार्नुहुनेछ र उहाँले नै हामीलाई तिमीहरूसँग उहाँको उपस्थितिमा ल्याउनुहुनेछ।

15 किनकि यी सबै तिमीहरूकै खातिर हुन्, किनभने जुन अनुग्रह धेरैभन्दा धेरै मानिसहरूमा फैलिरहेछ, त्यसद्वारा परमेश्वरको महिमाको निम्ति धन्यवाद दिने काम पनि बढ्‍‌न सकोस्।

16 त्यसकारण हामी हरेस खाँदैनौं, तर हाम्रो बाहिरी मनुष्यत्व नाश हुँदै गए पनि हाम्रो भित्री मनुष्यत्व दिन-प्रतिदिन नयाँ हुँदै जान्छ।

17 किनकि यो क्षणभरको र हलुका कष्टले हाम्रानिम्ति अतुलनीय तथा अनन्तको महान् महिमा तयार गरिरहेछ।

18 हामी देखिने कुरालाई होइन तर नदेखिने कुरालाई हेर्छौं, किनकि देखिने कुरा क्षणिक हुन्छन् तर नदेखिने कुरा अनन्तसम्म रहन्छन्।




5

1 हामी जान्दछौं, यदि सांसारिक डेरा, जुन हाम्रो शरीर हो, त्यो भत्किए तापनि हामीसित परमेश्वरले स्वर्गमा बनाउनुभएको एउटा अनन्त घर छ, जो हातले बनाइएको होइन।

2 किनकि स्वर्गको घरको धारण गर्ने उत्कट इच्छा गर्दै हामी यो डेरामा सुस्केरा हाल्छौं।

3 किनभने जब हामी यो धारण गर्नेछौं तब हामी नाङ्गो भेट्टाइनेछैनौं।

4 यस डेरामा हुँदा हामी भारीले थिचिएर सुस्केरा हाल्छौं, किनकि हामी वस्त्र फुकालिएका होइनौं तर ढाकिएका हुनचाहन्छौं, जसमा मृत्यु अमरताद्वारा निलिएको होस्।

5 अब यस उद्देश्यको निम्ति हामीलाई तयार पार्नुहुने परमेश्वर हुनुहुन्छ, जसले हामीलाई हुनआउने कुराको बैनास्वरूप पवित्र आत्मा दिनुभएको छ।

6 यसकारण हामी यो कुरा जानेर सधैँ ढुक्क छौं, जबसम्म हामी शरीरमा रहन्छौं तबसम्म प्रभुदेखि टाढा हुन्छौं।

7 किनकि हामी दृष्टिले होइन, विश्वासद्वारा हिँड्छौं।

8 हामीमा पूर्ण भरोसा छ, बरु शरीरबाट अलग भएर प्रभुसित रहन चाहन्छौं।

9 यसैकारण चाहे हामी शरीरमा रहौं वा नरहौं, हामी उहाँको निम्ति ग्रहणीय हुने लक्षय राख्छौं।

10 किनकि हामी सबै ख्रीष्टको न्यायआसनको अघि उभिनुपर्छ। हामीमध्ये हरेकले आफ्‍‌नो शरीरमा असल वा खराब जे-जस्तो काम गरेका छौं, त्यही अनुसारको प्रतिफलपाउनेछौं।

11 यसकारण हामी प्रभुको भय मान्दै मानिसहरूलाई मनाउँछौं। तर हामी परमेश्वरकहाँ प्रकट गरिएका छौं र म भरोसा गर्छु, तिमीहरूका विवेकमा पनि प्रकट भएकै छौं।

12 किनकि हामी फेरि तिमीहरूका सामु आफ्‍‌नो प्रशंसा गर्दैनौं तर तिमीहरूले हृदयको कुरामा होइन, बाहिरी कुरामा घमण्ड गर्नेहरूलाई जवाफ दिनसक भनेर तिमीहरूलाई हाम्रो विषयमा गर्व गर्ने मौका दिन्छौं।

13 यदि हाम्रो होश ठेगानमा छैन भने यो परमेश्वरको निम्ति हो, अनि हामी होशमा छौं भने यो तिमीहरूका निम्ति हो।

14 किनकि ख्रीष्टको प्रेमले हामीलाई करमा पार्दछ। हामीलाई यो विश्वास छ कि सबैका निम्ति एक जना मर्नुभएको हुनाले सबै मरे।

15 अनि उहाँ सबैका निम्ति मर्नुभयो यसैले कि अब जिउनेहरू आफ्‍‌नैनिम्ति जिउने होइन तर उहाँको निम्ति जिऊन्, जो तिनीहरूका निम्ति मर्नुभयो र फेरि जीवित भईउठाइनुभयो।

16 यसकारण अबदेखि उसो हामी कुनै मानिसलाई शरीरअनुसार चिन्दैनौं र हामीले ख्रीष्टलाई शरीरअनुसार चिनेको भए तापनि अब उसो उहाँलाई त्यसरी चिन्दैनौं।

17 यसकारण यदि कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हो, पुराना कुरा बितिसके, हेर, ती सबै नयाँ भएका छन् ।

18 सबै कुरा परमेश्वरबाटका हुन्, जसले ख्रीष्टद्वारा हामीलाई आफूसित मिलाप गराउनुभयो र हामीलाई मिलापको सेवा दिनुभयो

19 अर्थात् परमेश्वरले ख्रीष्टमा भएर संसारलाई आफूसित मिलापमा ल्याउनुभयो र तिनीहरूका अपराधका लेखा नलिएर मिलापको वचन उहाँले हामीलाई सुम्पिदिनुभयो।

20 यसकारण परमेश्वरले हामीलाई अपिल गरिरहनुभएझैँ हामी ख्रीष्टका निम्ति राजदूतहरू हौं, हामी ख्रीष्टको पक्षमा तिमीहरूलाई विन्ती गर्दछौं कि तिमीहरू परमेश्वरसित मिलाप गर।

21 हामी ख्रीष्टमा परमेश्वरका धार्मिकता हुन पाऔं भनेर पापै थाहा नपाउनुहुनेलाई पनि उहाँले हाम्रोनिम्ति पाप तुल्याउनुभयो।




6

1 परमेश्वरका सहकर्मी भएको हुनाले हामी तिमीहरूलाई विन्ती गर्छौं कि उहाँको अनुग्रह व्यर्थ हुन नदेओ।

2 किनभने उहाँ भन्‍‌नुहुन्छ, ‘‘ग्रहणीय समयमा मैले तिम्रो पुकारा सुनेँ र मुक्तिको दिनमा मैले तिमीलाई सहायता गरेँ।’’ हेर, ग्रहणीय समय अहिले हो, मुक्तिको दिन अहिले हो।

3 हाम्रो सेवा बदनाम नहोस् भनेर हामी कसैलाई बाधा दिने काम गर्दैनौं,

4 तर सबै कुरामा परमेश्वरका सेवकहरू हौं भनी प्रमाणित गर्दै, ज्यादै सहनशीलतामा, कष्टमा, कठिनाइमा, आपद्-विपद्मा,

5 कुटाइ-चुटाइमा, कैदमा, हूलदङ्गामा, परिश्रममा, अनिदोमा बस्दा, भोकमा,

6 शुद्धतामा, ज्ञानमा, धैर्यमा, दयामा, पवित्र आत्मामा र साँचो प्रेममा,

7 सत्य बोलीमा, परमेश्वरको शक्तिमा, दाहिने र देब्रेपट्टि धार्मिकताको अस्त्रशस्त्र धारण गरेर,

8 आदरमा र अनादरमा, बदनाममा र सुनाममा हामी ठगाहाझैँ ठानिन्छौं तर हामी सत्य छौं।

9 अपरिचित भए तापनि सुपरिचित छौं। मर्न लागेका झैँ तापनि हामी बाँचेकै छौं। सजाय भोगेका, तापनि मारिएका छैनौं।

10 अफसोसी तापनि सधैँ आनन्दित। गरीब भए तापनि धेरैलाई धनी तुल्याउने। केही नभएजस्तो तापनि सबै थोक भएका जस्ता छौं।

11 ए कोरिन्थीहरू हो, हामीले तिमीहरूलाई प्रस्टै भनिदिएका छौं, हाम्रो हृदय तिमीहरूका निम्ति खुला छ।

12 तिमीहरूका लागि हाम्रो हृदय साँघुरो भएको छैन तर तिमीहरू पो आफ्‍‌नो हृदयमा साँघुरा छौ।

13 अब म आफ्‍‌नै बालकहरूलाई झैँ भन्दछु, कि तिमीहरूले पनि आफ्‍‌ना हृदय खुला राख।

14 विश्वास नगर्नेहरूसँग एउटै जुवामा ननारिओ; किनकि के धार्मिकताको अधार्मिकतासँग साझेदारी हुन्छ? अथवा अँध्यारोसित उज्यालोको के सहभागिता?

15 ख्रीष्टको शैतानसित के मेल? विश्वास गर्नेको विश्वास नगर्नेसित के समानता?

16 मूर्त्तिहरूसँग परमेश्वरको मन्दिरको के सम्झौता? किनभने हामी जीवित परमेश्वरका मन्दिर हौं, जसरी परमेश्वरले भन्‍‌नुभएको छ, ‘‘म तिनीहरूमा वास गर्नेछु र तिनीहरूका बीचमा हिँडडुल गर्नेछु र म तिनीहरूका परमेश्वर हुनेछु अनि तिनीहरू मेरा प्रजा हुनेछन्।’’

17 ‘‘यसकारण तिनीहरूका बीचबाट निस्केर आओ र तिनीहरूबाट तिमीहरू अलग होओ, परमप्रभु भन्‍‌नुहुन्छ। अशुद्ध कुरा केही नछोओ र म तिमीहरूलाई ग्रहण गर्नेछु।

18 म तिमीहरूका पिता हुनेछु र तिमीहरू मेरा छोराछोरीहरू हुनेछौ,’’ सर्वशक्तिमान् परमप्रभु भन्‍‌नुहुन्छ।




7

1 यसकारण हे प्रिय हो, हामीसित यी प्रतिज्ञाहरू भएका हुनाले, हाम्रो शरीर र आत्मालाई अपवित्र पार्ने हरेक किसिमका अशुद्धताबाट परमेश्वरको भयमा पवित्रतातर्फ बढ्दै जाऔं।

2 कृपा गरी तिमीहरूका हृदय हामीप्रति खुला राखिदेओ। हामीले कसैको केही खराबी गरेका छैनौं, हामीले कसैलाई भ्रष्ट पारेका छैनौं, हामीले कुनै मानिसबाट फाइदा उठाएका छैनौं।

3 तिमीहरूलाई दोषी ठहराउनलाई मैले यो भनेको होइनँ, किनभने मैले अगाडि नै भनिदिएको छु, हाम्रो हृदयमा तिमीहरूका निम्ति यतिसम्म स्थान छ कि हामी तिमीहरूका साथमा मर्न वा बाँच्‍‌नतयार छौं।तिमीहरूमा मेरो ठूलो भरोसा छ। तिमीहरूमाथि म औधी गर्व गर्दछु। म धेरै उत्साहित भएको छु। हाम्रा सबै कष्टमा म अति आनन्दित छु।

4 किनकि हामी म्यासिडोनियामा आएपछि पनि हामीले विश्राम पाएनौं, तर चारैतिरबाट हामीलाई सङ्कष्ट आइपरेको थियो। बाहिर सङ्घर्ष थियो र भित्र डरैडर थियो।

5 तर उदासीहरूलाई सान्त्वना दिनुहुने परमेश्वरले हामीलाई तीतसको आगमनद्वारा सान्त्वना दिनुभयो।

6 अनि तिनको आगमनले मात्र होइन तर त्यस सान्त्वनाले पनि, जुन सान्त्वना तिनले तिमीहरूका बीचमा पाएका थिए। मलाई भेट्‍‌न चाहने तिमीहरूको ठूलो इच्छा, मेरोनिम्ति तिमीहरूको शोक र मप्रति तिमीहरूको गहिरो चिन्ताको विषयमा तिनले बताए र यसरी म अझै बढी आनन्दित भएँ।

7 मैले आफ्‍‌नो पत्रबाट तिमीहरूलाई शोकित तुल्याएकोमा केही समयको निम्ति मैले पछुतो गरेँ, तर अब म पछुतो गर्दिनँ। मलाई थाहा भयो कि त्यस पत्रले तिमीहरूलाई थोरै समयको निम्ति मात्र भए पनि शोकित तुल्यायो।

8 मैले आफ्‍‌नो पत्रबाट तिमीहरूलाई शोकित तुल्याएकोमा केही समयको निम्ति मैले पछुतो गरेँ, तर अब म पछुतो गर्दिनँ। मलाई थाहा भयो कि त्यस पत्रले तिमीहरूलाई थोरै समयको निम्ति मात्र भए पनि शोकित तुल्यायो।

9 अब म साह्रै खुशी छु, तिमीहरूलाई दुख्यो भनेर होइन, तर यसकारणले कि शोकले तिमीहरूलाई पश्चात्तापमा डोर्‍यायो, किनभने तिमीहरूलाई हाम्रोतर्फबाट केही हानि नहोस् भनेर तिमीहरू परमेश्वरका इच्छाअनुसार शोकित भयौ।

10 किनभने ईश्वरीय शोकले मुक्तिको निम्ति पश्चात्ताप उत्पन्‍‌न गर्छ र त्यसमा पछुतो हुँदैन तर सांसारिक शोकले भने मृत्यु उत्पन्‍‌न गर्छ।

11 किनकि हेर, यस ईश्वरीय शोकले तिमीहरूमा कस्तो उत्साह ल्याएको छ आफैलाई निर्दोष तुल्याउन तिमीहरूमा कस्तो उत्सुकता छ, कस्तो क्रोध, कस्तो भय, कस्तो तृष्णा, कस्तो जोश र न्याय होस् भन्‍‌ने कस्तो इच्छा छ !

12 मैले यो पत्र अन्याय गर्ने व्यक्तिको कारणले लेखेको होइनँ, न त अन्यायमा पर्ने व्यक्तिको कारणले नै हो तर यस हेतुले कि परमेश्वरको दृष्टिमा हामीप्रति तिमीहरूको उत्साह कतिको छ, सो तिमीहरूलाई थाहा होस्।

13 यस कुराद्वारा हामीलाई सान्त्वना मिलेको छ। हामीले पाएको आफ्‍‌नै सान्त्वनाबाहेक हामी तीतसको आनन्दमा बढी रमायौं, किनकि तिमीहरूद्वारा तिनको मन फेरि ताजा भएको छ।

14 किनभने तिनको सामु तिमीहरूका बारेमा मैले केही घमण्ड गरेको थिएँ भने मलाई त्यसमा केही शर्म भएन। तर जसरी मैले तिमीहरूलाई सधैँ सत्य कुरा बताएको छु, त्यसरी नै तीतसको सामुन्‍‌ने मैले गरेको घमण्ड पनि सत्य साबित भएको छ।

15 अनि तिमीहरूले कसरी डर र कम्पसाथ तिनलाई स्वागत गर्‍यौ, तिनले तिमीहरू सबैको आज्ञाकारिताको सम्झना गर्दा तिनको स्‍‌नेह तिमीहरूप्रति झन् बढेर आउँछ।

16 अब म साह्रै रमाउँछु, किनभने तिमीहरूमाथि मेरो पूरा भरोसा छ।




8

1 अब भाइहरू हो, म्यासिडोनियाका मण्डलीहरूलाई दिइएको परमेश्वरको अनुग्रहको बारेमा हामी तिमीहरूलाई बताउन चाहन्छौं,

2 तिनीहरू कष्टको भयङ्कर परीक्षाको बीचमा पनि प्रशस्तै आनन्दित भए र घोर दरिद्रतामा पनि तिनीहरूले उदारचित्तले दान दिए।

3 किनकि म गवाही दिनसक्छु कि तिनीहरूले आफ्‍‌नो औकातअनुसार र आफ्‍‌नो औकातभन्दा बढी आफ्‍‌नै राजीखुसीले दिए।

4 सन्तहरूलाई सहायता पुर्‍याउने काममा सहभागी हुन पाऔं भनेर तिनीहरूले हामीलाई घरीघरी आग्रहपूर्वक विन्ती गरे।

5 अनि यो हामीले आशा गरेअनुसार होइन तर तिनीहरूले पहिले आफैलाई प्रभुमा अर्पण गरे र परमेश्वरको इच्छाअनुसार हामीलाई दिए।

6 यसैकारण तीतसले अघिबाटै शुरु गरिसकेका उदारताका काम तिमीहरूमा पूरा गरून् भनी हामीले तिनलाई विन्ती गर्‍यौं।

7 तर जसरी तिमीहरू सबै कुरामा बढेर गएका छौ अर्थात् विश्वासमा, वचनमा, ज्ञानमा, सबै जोशमा र हामीले तिमीहरूमा जगाएको प्रेममा, त्यसरी नै तिमीहरू यस उदारचित्तले दिने काममा पनि प्रशस्त होओ।

8 मैले यो आज्ञाको रूपमा भनेको होइनँ तर अरुहरूको जोशसँग तुलना गरेर तिमीहरूको प्रेम पनि साँचो हो भन्‍‌ने प्रमाणित गर्नलाई मैले यो भनेको हुँ।

9 हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूलाई थाहा छ, यद्यपि उहाँ धनी हुनुहुन्थ्यो तापनि तिमीहरूका खातिर उहाँ गरीब बन्‍‌नुभयो, यसैले कि उहाँको गरीबीबाट तिमीहरू धनी हुनसक।

10 अब यस विषयमा मेरो सल्लाह यही छ, एक वर्षअघि तिमीहरूले जुन दिने काम शुरु गरेका मात्र होइन तर त्यो गर्ने उत्कट इच्छा पनि गरेका थियौ, त्यसलाई अब पूरा गर्नु तिमीहरूका निम्ति असल हुन्छ।

11 इच्छा गर्नमा तिमीहरूको जुन तत्परता थियो, त्यही मुताबिक आफ्‍‌नो औकातअनुसार दिएर यस कामलाई पूरा गर।

12 किनभने दिने तत्परता छ भने मानिससित भएअनुसारको दान नै ग्रहणीय हुन्छ, जे ऊसँग छैन, त्यो अनुसारको दान होइन।

13 किनकि अरुहरूलाई सुविधा र तिमीहरूलाई दु:ख होस् भनेर म यो भन्दिनँ। तर समानता होस् भनेर हो।

14 तर वर्तमान समयमा तिमीहरूको प्रशस्तताबाट तिनीहरूको अभाव पूरा होस् र तिनीहरूका प्रशस्तताले तिमीहरूको अभाव पूरा गरिदेओस्। यसरी सबैमा समानता होस्।

15 जस्तो लेखिएको छ, ‘‘धेरै बटुल्‍‌नेसित केही पनि उब्रेन र थोरै बटुल्‍‌नेहरूलाई अभाव पनि भएन।’’

16 तर परमेश्वरलाई धन्यवाद होस्, जसले तीतसको हृदयमा तिमीहरूका निम्ति गहिरो चासो हालिदिनुभएको छ।

17 किनकि तिनले हाम्रो अनुरोधलाई मानेका मात्र होइनन् तर आफै पनि साह्रै उत्साहित भएर आफ्‍‌नै इच्छाले तिमीहरूलाई भेट्‍‌न आउँदै छन्।

18 हामी तिनीसँग अर्को एक भाइलाई पनि पठाउँदै छौं, जो सुसमाचार प्रचारमा सबै मण्डलीमा प्रख्यात् छन्।

19 अनि यति मात्र होइन, तर प्रभुका महिमाको निम्ति र हाम्रो सद्भाव प्रकट गर्न हामीले गरिरहेको असल काममा हामीसँग यात्रा गर्न मण्डलीहरूद्वारा तिनी नियुक्त भएका छन्।

20 उदारचित्तले दिएको यो दान प्रयोग गर्दा त्यस विषयमा कसैले हामीमा दोष नभेटोस् भनी हामी जोगिन्छौं।

21 किनकि प्रभुको दृष्टिमा मात्र होइन तर मानिसहरूका दृष्टिमा पनि जे आदरणीय छ, त्यो गर्ने कष्ट हामीले उठाइरहेका छौं।

22 तिनीहरूसँग हामी अर्को एक भाइलाई पनि पठाउँदै छौं, जसलाई हामीले धेरैपल्ट जाँचेर धेरै कुरामा जोशिलो भेट्टाएका छौं। तिमीहरूमा भएको तिनको ठूलो भरोसाले गर्दा तिनी अझै उत्साहित भएका छन्।

23 कसैले तीतसबारे सोधे भने, तिनी मेरा सहभागी हुन् , तिमीहरूका बीचमा मेरो सहकर्मी हुन् र हाम्रा भाइहरूका विषयमा, तिनीहरू मण्डलीहरूका दूतहरू र ख्रीष्टका महिमा हुन्।

24 यसकारण तिमीहरूले आफ्‍‌नो प्रेमको र तिमीहरूको पक्षमा हामीले गरेको गर्वको प्रमाण उनीहरूलाई अनि मण्डलीहरूका सामु देखाइदेओ।




9

1 सन्तहरूको निम्ति दिइएको भेटीबारे तिमीहरूलाई लेखिरहन मलाई आवश्यक छैन।

2 किनभने म तिमीहरूको तत्परता जान्दछु, यसको सम्बन्धमा म्यासिडोनियाका मानिसहरूका अघि तिमीहरूमाथि गर्व गर्दै मैले भनेथेँ कि पोहोर सालदेखि अखैयाका मानिसहरू भेटी दिन तयार भइरहेका छन्। तिमीहरूको जोशले तिनीहरूमध्ये धेरैलाई उत्साहित तुल्याएको छ।

3 तर यस विषयमा तिमीहरूमाथि हामीले गर्व गरेको व्यर्थ नहोस् र मैले भनेअनुसार तिमीहरू तयार रहो भनेर म भाइहरूलाई पठाइरहेको छु।

4 यदि कोही म्यासिडोनियाका मानिसहरू मसँग आउँदा तिमीहरूलाई तयार भेट्टाएनन् भने हामीले तिमीहरूमाथि राखेको भरोसाको कारण हामी ठूलो शर्ममा पर्नेछौं।

5 यसकारण तिमीहरूले प्रतिज्ञा गरेका भेटीको बन्दोबस्त अघिबाटै मिलाउनलाई मभन्दा अघि यी भाइहरूलाई तिमीहरूकहाँ पठाउन मलाई आवश्यक लाग्यो, तर यो भेटी करकापमा होइन, राजीखुसीले दिइएको होस्।

6 तर म यो भन्दछु कि थोरै छर्नेले थोरै नै कटनी गर्छ र प्रशस्तसँग छर्नेले प्रशस्तसँग कटनी गर्छ।

7 हरेक मानिसले आफ्‍‌नो मनमा सङ्कल्प गरेअनुसार देओस्, चित्त दुखाउँदै वा करमा परेर होइन, किनभने खुसीसाथ दिनेलाई परमेश्वरले प्रेम गर्नुहुन्छ।

8 परमेश्वरले तिमीहरूलाई सबै अनुग्रह प्रशस्तसँग दिनसक्‍‌नुहुन्छ, यसैले कि तिमीहरूसित सधैँ नै हरेक कुरा प्रशस्त भइरहोस् र हरेक असल कामको निम्ति तिमीहरूले प्रशस्त मात्रामा दिनसक।

9 यसरी लेखिएको छ, ‘‘उसले छर्छ र गरीबहरूलाई दिन्छ, उसको धार्मिकता सदासर्वदै रहिरहन्छ।’’

10 अब छर्नेलाई बीउ र खानलाई रोटी दिनुहुनेले तिमीहरूलाई भोजनको भण्डार दिएर त्यसको वृद्धि गरिदिनुहुन्छ र तिमीहरूका धार्मिकताको फसल बढाइदिनुहुनेछ।

11 तिमीहरू सबै उदारताको कारण धनी हुनेछौ र तिमीहरूको उदारता परमेश्वरमा कृतज्ञता हुनेछ।

12 किनकि यस सेवाको कामले पवित्रजनका खाँचोहरू मात्र पूरा गर्दैन, तर परमेश्वरलाई धन्यवाद दिने कार्यमा अझ यो प्रशस्त हुँदै जाने कुरा हो।

13 तिमीहरूले आफ्‍‌ना सेवाको कामद्वारा आफैलाई प्रमाणित गरेको कारण ख्रीष्टको सुसमाचारको साथमा तिमीहरूको आज्ञाकारिताको निम्ति साथै तिनीहरू र सबैलाई उदारतासित सबै कुरामा सहभागी भएकाले तिनीहरूले परमेश्वरको महिमा गर्दछन्।

14 तिमीहरूद्वारा परमेश्वरको असीम अनुग्रह देखाइएको कारण तिनीहरूले तिमीहरूको तिर्सना राख्दै प्रार्थना गर्दछन् ।

15 परमेश्वरलाई उहाँको वर्णन गर्न नसकिने दानको निम्ति धन्यवाद होस् !




10

1 अब म पावल, ख्रीष्टको नम्रता र कोमलताद्वारा तिमीहरूसँग आग्रह गर्दछु, म तिमीहरूको उपस्थितिमा नम्र र तिमीहरूको अनुपस्थितिमा साहसी बन्दछु।

2 म तिमीहरूलाई विन्ती गर्दछु कि तिमीहरूकहाँ आउँदा मैले देखाउनखोजेको त्यो साहस निर्भयतासाथ तिनीहरूलाई देखाउन नपरोस्, ज-जसले हामी सांसारिक तरिकाले काम गर्छौं भन्‍‌ने शङ्का गर्दछन्।

3 किनकि हामी शरीरमा छौं, तापनि शरीरअनुसार लडाइँ गर्दैनौं।

4 किनभने हाम्रो लडाइँका हातहतियार शारीरिक होइनन् तर तिनीहरूमा किल्लाहरू भत्काउनसक्‍‌ने ईश्वरीय शक्ति छन्।

5 हामी परमेश्वरको ज्ञानको विरुद्धमा खडा हुने कल्पनाहरू र अहङ्कारपूर्ण कुरालाई नाश गर्छौं र हरेक विचारलाई ख्रीष्टको आज्ञापालन गर्नलाई वशमा पार्छौं।

6 तिमीहरूको आज्ञाकारिता पूरा भएपछि हामी प्रत्येक अनाज्ञाकारितालाई दण्ड दिन तयार रहन्छौं।

7 तिमीहरूको आँखाकै सामुन्‍‌ने भएका थोकलाई हेर। यदि कसैले ‘म ख्रीष्टको हुँ’ भनी आफूमाथि भरोसा गर्छ भने जसरी ऊ ख्रीष्टको हो, त्यसरी नै हामी पनि ख्रीष्टका हौं भनी ऊ आफैले फेरि सोचोस्।

8 किनकि तिमीहरूलाई भत्काउन होइन तर बनाउनलाई प्रभुले दिनुभएको अधिकारबारे मैले गर्व गरे तापनि, म यसको लागि शर्म मान्‍‌नेछैनँ।

9 अब म आफ्‍‌ना पत्रहरूद्वारा तिमीहरूलाई डर देखाउनेजस्तो देखिन चाहन्‍‌नँ।

10 किनकि तिनीहरू भन्छन्, ‘‘त्यसका पत्रहरू गहकिला र प्रभावशाली हुन्छन् तर त्यो आफै उपस्थित हुँदा त्यो कमजोर हुन्छ र त्यसको वचनको केही महत्व हुँदैन।’’

11 त्यसो भन्‍‌नेहरूले यो याद राखून् कि हामी आफ्‍‌नो अनुपस्थितिमा पत्रहरूद्वारा जे भन्छौं, उपस्थित हुँदा पनि सोही काम गर्छौं।

12 आफ्‍‌नो तारिफ आफै गर्ने कुनै-कुनै व्यक्तिहरूसँग हामी आफैलाई एउटै श्रेणीमा राख्‍‌न वा आफैलाई तिनीहरूसँग दाँज्‍‌न साहस गर्दैनौं। तर तिनीहरू आफूले आफैलाई एक-अर्कासँग नापेर हेर्दा अथवा दाँज्दा तिनीहरू बेसमझका हुन्छन्।

13 तर हामी आफ्‍‌नो सीमादेखि बाहिरका कुरामा गर्व गर्दैनौं तर परमेश्वरले हामीलाई तोकिदिनुभएको सीमाअनुसार मात्र हामी गर्व गर्दछौं,जुन सीमा तिमीहरूसम्म पनि पुग्छ।

14 तिमीहरूकहाँ आउँदै नआएजस्तो हामी बढाइचढाइ घमण्ड गर्दैनौं, किनभने ख्रीष्टको सुसमाचार लिएर तिमीहरूकहाँ पहिला आउने हामी नै थियौं।

15 न त हामी सीमा नाघेर अरुहरूले गरिसकेका काममा नै घमण्ड गर्छौं, बरु हाम्रो आशा यो छ कि तिमीहरूको विश्वास बढ्दै जाँदा तिमीहरूका बीचमा हाम्रो काम पनि बढ्दै जानेछ।

16 यसैले कि हामी अरुको क्षेत्रमा अघिबाट नै भइसकेको काममा घमण्ड नगरी तिमीहरूदेखि बाहिरका ठाउँहरूमा सुसमाचार प्रचार गर्न सकौं।

17 ‘‘घमण्ड गर्नेले परमप्रभुमा नै घमण्ड गरोस्।’’

18 किनकि आफ्‍‌नो तारिफ आफै गर्ने मानिस स्वीकार गरिँदैन, तर प्रभुले तारिफ गर्नुहुने मानिस स्वीकार गरिनेछ।




11

1 मेरो थोरै मूर्खतामा तिमीहरूले सहिदेओ भन्‍‌ने म चाहन्छु तर साँच्चै तिमीहरूले मलाई सहिरहेका पनि छौं।

2 म तिमीहरूप्रति ईश्वरीय डाहले डाही भएको छु। किनभने मैले तिमीहरूको मगनी एउटै पुरुषसँग गरिदिएको छु, यसैले कि म तिमीहरूलाई ख्रीष्टमा पवित्र कन्याको रूपमा प्रस्तुत गर्नसकूँ।

3 तर जसरी सर्पले आफ्‍‌नो चलाकीद्वारा हव्वालाई छल्यो, त्यसरी नै ख्रीष्टप्रति भएको निष्कपट र चोखो भक्तिबाट तिमीहरूलाई बहकाउला कि भनेर मलाई डर लागेको छ।

4 कसैले आएर हामीले प्रचार गरेको भन्दा अर्कै येशू वा तिमीहरूले पाएको भन्दा अर्कै आत्मा वा तिमीहरूले स्वीकार गरेको भन्दा भिन्‍‌नै सुसमाचार सुनाए भने तिमीहरू त्यसका सामु सजिलै झुक्दा रहेछौ।

5 ती सर्वोच्च प्रेरितहरूभन्दा म कुनै कुरामा कम छैनँ।

6 म बोल्‍‌नमा उति सिपालु नभए पनि, ज्ञानमा त्यस्तो छैनँ, हामीले सबै कुरामा यो तिमीहरूलाई प्रमाणित गरिदिएका छौं।

7 मैले तिमीहरूलाई उचाल्दै आफैलाई होच्याएर तिमीहरूबाट कुनै थोक लिने आशा नगरीकन ख्रीष्टको सुसमाचार सुनाएकोमा के मैले पाप गरेँ त?

8 तिमीहरूको सेवा गर्न अरु मण्डलीहरूबाट ज्याला लिएर मैले तिनीहरूलाई लुटेंँ।

9 तिमीहरूसँग रहँदा जब मलाई अभाव परेको थियो, तब म कसैको बोझ भइनँ, किनभने म्यासिडोनियाबाट आएका भाइहरूले मेरो अभाव पूरा गरिदिए । अनि हरेक कुरामा म तिमीहरूको निम्ति बोझ हुनदेखि बाँचे र बाँचिरहेको छु।

10 जसरी ख्रीष्टको सत्यता ममा छ, त्यसरी नै अखैयाका इलाकाहरूमा मेरो यस घमण्डलाई कसैले रोक्‍‌न सक्दैन।

11 किन? के म तिमीहरूलाई प्रेम गर्दिनँ र? परमेश्वर जान्‍‌नुहुन्छ कि म तिमीहरूलाई प्रेम गर्छु।

12 तर हामीले जस्तै काम गर्‍यौं भनी घमण्ड गर्ने मौका खोज्‍‌नेहरूलाई त्यो मौका नदिनलाई मैले जे काम गर्दैछु, त्यो गरी नै रहनेछु।

13 ती मानिसहरू झूटा प्रेरितहरू, छली कामदारहरू र ख्रीष्टका प्रेरितहरूको भेष लगाएर हिँड्‍‌नेहरू मात्र हुन्।

14 यसमा अचम्म नमान, किनकि शैतानले पनि ज्योतिर्मय स्वर्गदूतको भेष धारण गर्दछ।

15 यसकारण यो कुनै अनौठो कुरा होइन कि त्यसका चाकरहरूले पनि धार्मिकताको सेवकहरू हुने बहानामा त्यस्ता भेषहरू बदल्‍‌न सक्छन्, तिनीहरूको अन्त्य तिनीहरूले गरेका दुष्ट कामहरूको नापअनुसार हुनेछ।

16 म फेरि भन्दछु, कसैले मलाई मूर्ख नसम्झोस् तर तिमीहरू त्यस्तो सम्झन्छौ भने पनि मूर्खलाई झैँ मलाई ग्रहण गर, यसैले कि म पनि केही घमण्ड गर्नसकूँ।

17 यो घमण्डमा भरोसा राखेर म जे बोल्छु, त्यो प्रभुअनुसार होइन तर मूर्खतामा बोल्छु।

18 धेरै जनाले शरीरमा घमण्ड गरेझैँ म पनि गर्दछु।

19 किनकि तिमीहरू बुद्धिमान् भएकोले मूर्खलाई आनन्दसाथ सहन्छौ।

20 वास्तवमा कसैले पनि तिमीहरूलाई कमारा तुल्याउँदा, आफ्‍‌नो शिकार बनाउँदा, फाइदा उठाउँदा, धाक जमाउँदा र मुखैमा हिर्काउँदा पनि तिमीहरू सहँदा रहेछौ।

21 म शर्मसाथ स्वीकार गर्छु कि हामीले यी सबै सहन सकेनौं। तर कसैले कुनै कुरामा घमण्ड गर्छ भने म पनि ती कुरामा गर्छु। हो, म मूर्खझैँ बोल्दैछु।

22 के तिनीहरू हिब्रू हुन्? म पनि हुँ। के तिनीहरू इस्राएलीहरू हुन्? म पनि हुँ। के तिनीहरू अब्राहामका सन्तान हुन्? म पनि हुँ।

23 के तिनीहरू ख्रीष्टका सेवकहरू हुन्? म अझ असल सेवक हुँ, बौलाहाझैँ म बोलिरहेको छु। मैले ज्यादै परिश्रम गरेँ। कैदमा अझ धेरैपल्ट परेँ। अनगिन्ती कोर्रा खाएँ, मृत्युको मुखमा बारम्बार परिरहेँ।

24 विभिन्‍‌न समयमा मैले यहूदीहरूबाट एक कम चालीस गरी पाँचपल्ट कोर्रा खाएँ।

25 तीनपल्ट म लौरोले पिटिएँ, एकपल्ट ढुङ्गाले हानिएँ, तीनपल्ट म चढेको जहाज ध्वस्त भयो। एकपल्ट समुद्रमा, एक दिन र एक रात छर्लङ्गै काटेको छु।

26 मेरो बारम्बारको यात्राहरूमा, म नदीहरूका जोखिममा, डाँकाहरूका जोखिममा, आफ्‍‌नै जातिका मानिसहरूका जोखिममा, अयहूदीहरूका जोखिममा र शहरको जोखिममा, उजाड-स्थानको जोखिममा, समुद्रको जोखिममा, झूटा भाइहरूबाट आउने जोखिममा परेँ,

27 परिश्रम र कष्टमा कति-कति अनिदो रातहरूमा, भोक र तिर्खामा, बारम्बार खानु न पिउनुको अवस्थामा, जाडो र नग्‍‌नतामा परेँ।

28 यी सबै कुराबाहेक, मण्डलीहरू कसरी चल्दै होलान् भन्‍‌ने बोझ पनि दिनहुँ ममाथि छ।

29 को दुर्बल छ? र म दुर्बल छैन? को पापमा पर्दा म व्याकुल हुँदिनँ?

30 मैले घमण्ड गर्नुपर्छ भने, म मेरो दुर्बलतामा घमण्ड गर्नेछु।

31 हाम्रा प्रभु येशूका पिता परमेश्वर महिमा पाउने योग्यको हुनुहुन्छ, जसले जान्‍‌नुहुन्छ कि मैले झूटो बोलिरहेको छैन।

32 दमस्कसमा अरितस राजाका हाकिमले मलाई पक्रन शहरको ढोकामा पहरा राखेका थिए।

33 तर पर्खालको एउटा झ्यालबाट डालोमा हालेर मलाई तल झारिदिएको हुनाले म तिनका हातबाट उम्केँ ।




12

1 फाइदा नभए पनि मैले घमण्ड गर्नु आवश्यक छ तर म प्रभुबाट पाएका दर्शन र प्रकाशहरूबारे बताउन चाहन्छु।

2 म ख्रीष्टमा एक जना मानिसलाई चिन्दछु, चौध वर्ष भयो, शरीरमा हो कि बिनाशरीरमा हो, म जान्दिनँ, परमेश्वरले जान्‍‌नुहुन्छ, त्यो मानिस तेस्रो स्वर्गसम्म उचालेर लगियो।

3 म यस मानिसलाई चिन्दछु, शरीरमा हो कि बिनाशरीरमा, त्यो मलाई थाहा छैन तर यो कुरा परमेश्वर जान्‍‌नुहुन्छ।

4 त्यो मानिस स्वर्गलोकमा उठाइयो, र त्यहाँ बताउन नहुने कुरा उसले सुन्यो, जुन मानिसले उच्चारणसम्म पनि गर्नुहुँदैन।

5 यस मानिसको पक्षमा म घमण्ड गर्नेछु तर आफ्‍‌नै पक्षमा भने मेरो कमजोरीबाहेक अरु कुरामा म घमण्ड गर्नेछैनँ।

6 यदि मैले घमण्ड गर्ने इच्छा नै गरेँ भने पनि म मूर्ख बन्‍‌नेछैनँ, किनकि म सत्य बोलिरहेको हुनेछु। तर मानिसले ममा देखेको र मबाट सुनेको भन्दा बढी कसैले मलाई नठानोस् भनेर म घमण्ड गर्नदेखि थामिन्छु।

7 तर प्रशस्त प्रकाशहरूको कारण घमण्डले म बढ्ता नफुलूँ भनेर मलाई सताउन र घमण्डबाट रोक्‍‌नलाई शैतानको दूत अर्थात् एउटा काँडो मेरो शरीरमा दिइयो।

8 यो मबाट हटोस् भनेर मैले तीनपल्ट प्रभुसित विन्ती गरेँ।

9 उहाँले मलाई भन्‍‌नुभयो, ‘‘मेरो अनुग्रह तेरोनिम्ति पर्याप्त छ, किनभने मेरो शक्ति दुर्बलतामा नै सिद्ध हुन्छ।’’ यसकारण ख्रीष्टको शक्तिले ममा वास गरोस् भनेर म बरु मेरो कमजोरीमा बढी खुसीसाथ गर्व गर्नेछु।

10 यसकारण ख्रीष्टको खातिर दुर्बलताहरूमा, बदनामीहरूमा, कठिनाइहरूमा, सतावटहरूमा, आपद्हरूमा म खुसी हुन्छु, किनकि जब म दुर्बल छु, तब म शक्तिशाली हुन्छु।

11 म मूर्ख भएको छु, तिमीहरूले नै मलाई कर लगायौ, वास्तवमा तिमीहरूले मेरो प्रशंसा गर्नुपर्ने थियो। किनभने सर्वोच्च प्रेरितहरूभन्दा म कुनै कुरामा कम थिइनँ।

12 साँचो प्रेरितका लक्षणहरू तिमीहरूका बीचमा सम्पूर्ण धीरजसाथ चिन्हहरू, अचम्मका कामहरू र शक्तिका कामहरूमा प्रकट गरिएका थिए।

13 त्यति मात्र हो कि मैले तिमीहरूको निम्ति एउटा काम गरिनँ, जो अरु मण्डलीहरूमा गर्दै आएको छु, त्यो हो, म तिमीहरूको बोझ बनिनँ। कृपा गरी मलाई यो भूलको निम्ति क्षमा गरिदेओ !

14 अब हेर, तेस्रोपल्ट म तिमीहरूकहाँ आउनलागेको छु। म तिमीहरूका निम्ति बोझ बन्‍‌नेछैनँ, किनकि म तिमीहरूको सम्पत्ति होइन तर तिमीहरूलाई नै चाहन्छु । किनभने छोराछोरीले बुबा-आमाको निम्ति होइन, बरु बुबा-आमाले छोराछोरीको निम्ति धन जुटाइदिनुपर्छ।

15 म आफैलाई पनि खुशीसाथ तिमीहरूका निम्ति खर्चिन तयार छु। म तिमीहरूलाई बढ्ता प्रेम गर्छु भने के मैले कम प्रेम पाउने?

16 मैले तिमीहरूलाई बोझ बोकाइनँ, यो ठिक्कै हो, तर मैले चलाकी गरेर तिमीहरूलाई फसाएँ भनी तिमीहरू भन्छौ।

17 निश्चय मैले तिमीहरूकहाँ पठाएका मानिसहरूद्वारा फाइदा उठाएको छैन, के फाइदा उठाएको छु र?

18 मैले तीतसलाई तिमीहरूकहाँ जाने आग्रह गरेँ र अर्को भाइलाई पनि पठाएँ, के तीतसले तिमीहरूबाट केही फाइदा उठाए? के हामी एकै आत्मामा र एकै कदममा चलेनौं र?

19 हामीले आफैलाई बचाउन खोज्‍‌ने कुरा मात्र बोलिरहेका छौं भनी के तिमीहरूले सोचिरहेका छौ? परमेश्वरको सामुन्‍‌ने हामी ख्रीष्टमा बोलिरहेका छौं र यी सबै तिमीहरूलाई निर्माण गर्नको निम्ति हुन्।

20 किनभने म आउँदा मैले इच्छा गरेबमोजिम तिमीहरूलाई नभेट्टाउँला र तिमीहरूले पनि मलाई आफूले इच्छा गरेबमोजिम भेट्टाउँदैनौ कि भन्‍‌ने मलाई डर लागेको छ । सायद त्यहाँ झगडा, डाह, क्रोध, स्वार्थ, बदख्वाइँ, निन्दा-चर्चा, अभिमान र गोलमाल हुन्छ होला।

21 म त्यहाँ आउँदा तिमीहरूका कारण परमेश्वरले मलाई फेरि झुक्‍‌न लाउनुहुन्छ भन्‍‌ने डर लागेको छ र अशुद्धता, व्यभिचार र छाडापनका पाप अघिबाटै गरेर पश्चात्ताप नगरी त्यतिकै बसिरहने धेरैको निम्ति मैले शोक गर्नुपर्ला।




13

1 अब तेस्रोपल्ट म तिमीहरूकहाँ आइरहेको छु। ‘‘कुनै पनि दोष दुई वा तीन साक्षीहरूका गवाहीद्वारा साबित गरिनुपर्छ।’’

2 दोस्रोपल्ट तिमीहरूका बीचमा हुँदा मैले तिमीहरूलाई चेताउनी दिएजस्तै अब अनुपस्थितिमा हुँदा पनि म तिमीहरूलाई चेताउनी दिँदै छु। म फेरि आउँदा अगिअगि पाप गर्नेहरू र अरु कसैलाई पनि म छोड्‍‌नेछैनँ।

3 किनकि ख्रीष्ट मद्वारा बोल्‍‌नुहुन्छ भन्‍‌ने सम्पूर्ण प्रमाण म तिमीहरूलाई दिनेछु। तिमीहरूसँगको व्यवहारमा उहाँ दुर्बल हुनुहुन्‍‌न तर उहाँ तिमीहरूमा शक्तिशाली हुनुहुन्छ।

4 यद्यपि उहाँ दुर्बलतामा क्रूसमा मर्नुभयो तर अहिले परमेश्वरको सर्वोच्च शक्तिद्वारा उहाँ जीवित हुनुहुन्छ, किनकि हामी पनि दुर्बल छौं तापनि तिमीहरूको सेवा गर्नलाई हामी परमेश्वरको शक्तिद्वारा उहाँसँग जिउँछौं,

5 तिमीहरू विश्वासमा छौ कि छैनौ, आफैलाई जाँचेर हेर। आफैलाई जाँच। जाँचमा असफल भएनौ भने येशू ख्रीष्ट तिमीहरूमा हुनुहुन्छ भन्‍‌ने तिमीहरूलाई थाहा हुनुपर्ने हो।

6 म आशा गर्छु कि हामी असफल भएका छैनौं भन्‍‌ने तिमीहरूले थाहा पाउनेछौ।

7 तिमीहरूले कुनै खराबी गर्न नपरोस् भनी हामी परमेश्वरमा प्रार्थना गर्दछौं। हाम्रो सेवामा हामी सफल भएको देखाउनलाई होइन तर हामी आफै असफलजस्तो देखा परे तापनि तिमीहरूले जे असल छ सो गर्न सक्छौ।

8 किनकि हामी सत्यको विरुद्धमा केही गर्न सक्तैनौं तर सत्यको निम्ति मात्र गर्न सक्छौं।

9 हामी आफै कमजोर र तिमीहरू बलियो हुँदा हामी खुशी हुन्छौं र तिमीहरू सिद्ध हुनसक भनी हामी प्रार्थना गर्दछौं।

10 तिमीहरूबाट अलग हुँदा म यो लेख्दछु, यस हेतुले कि तिमीहरूकहाँ आउँदा प्रभुले मलाई दिनुभएको अधिकार मैले कठोरतापूर्वक प्रयोग गर्न नपरोस्, जुन निर्माण गर्नको निम्ति दिनुभएको हो, भत्काउनलाई होइन।

11 अन्त्यमा प्रिय भाइहरू हो, अब बिदा पाऊँ, आनन्दित होओ, सिद्धताको लक्षय राख। सान्त्वना पाओ, एकै मनको होओ, शान्तिमा बस, प्रेम र शान्तिको परमेश्वर तिमीहरूको साथमा रहनुहुनेछ।

12 एउटाले अर्कोलाई पवित्र चुम्बनले अभिवादन गर।

13 सबै सन्तहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्।

14 प्रभु येशू ख्रीष्टको अनुग्रह, परमेश्वरको प्रेम र पवित्र आत्माको सङ्गति तिमीहरू सबैसँग रहून्।



AMAZING GRACE BIBLE INSTITUTE