1 TIMOTHY

१ तिमोथी


Chapter 1

1 मुक्तिदाता परमेश्वर र हाम्रा आशा प्रभु येशू ख्रीष्टको आज्ञाअनुसार म पावल, येशू ख्रीष्टको एक प्रेरितको तर्फबाट,

2 विश्वासमा मेरो आफ्‍‌नै छोरो तिमोथीलाई, परमेश्वर पिता तथा हाम्रा प्रभु येशू ख्रीष्टबाट अनुग्रह, कृपा र शान्ति।

3 म्यासिडोनिया जाँदा मैले तिमीलाई आग्रह गरेझैँ अब उसो एफिससमा नै बसेर कति जनालाई झूटा शिक्षा प्रचार नगर्नू भनी कडा आज्ञा देऊ।

4 साथै काल्पनिक-कथा तथा कहिले टुङ्गो नलाग्‍‌ने वंशावलीको पछि नलागून् भनी आज्ञा देऊ। यस्ता कुराले त विश्वासमा ईश्वरीय आत्मिक उन्‍‌नतिको निर्माण नगरेर बरु फोस्रो वादविवाद मात्र बढाउँछन्।

5 हाम्रो आज्ञाको लक्षय शुद्ध हृदय, असल विवेक र निष्कपट विश्वासबाट उत्पन्‍‌न हुने प्रेम हो।

6 कति जना त यी सबैबाट तर्किएर व्यर्थका कुरा गरिहिँड्‍‌ने भएका छन्।

7 तिनीहरू व्यवस्थाका शिक्षक बन्‍‌न चाहन्छन् तर आफूले बोलेको कुरा वा आफूले किटान गरेर भनेको कुरा तिनीहरू आफै बुझ्दैनन्।

8 तर हामीलाई थाहा छ, ठीकसँगले प्रयोग गरे व्यवस्था असल छ।

9 हामी यो पनि जान्दछौं कि व्यवस्था धर्मी मानिसको निम्ति बनाइएको होइन तर अधर्मी र अटेरीका निम्ति, अहङ्कारी, नास्तिक र पापी, अपवित्र र अशुद्ध, पितृ-मातृघातक, ज्यानमारा,

10 व्यभिचारी, पुरुषगामी, अपहरणकारी, असत्य बोल्‍‌ने र झूटो किरिया हाल्‍‌ने र सत्य सिद्धान्तका विरुद्धमा भएका अरु कुनै पनि कुराको निम्ति हो।

11 जुन मलाई सुम्पिएका परमधन्य परमेश्वरको महिमित सुसमाचारअनुसार छ।

12 म ख्रीष्ट येशू, हाम्रा प्रभुलाई धन्यवाद चढाउँछु, जसले मलाई सामर्थी तुल्याउनुभयो, किनभने उहाँले मलाई विश्वसनीय सम्झनुभयो र आफ्‍‌नो सेवामा नियुक्त गर्नुभयो।

13 यद्यपि म अघि ईश्वर-निन्दक, सताउने र अत्याचारी थिएँ, तरै पनि मैले कृपा पाएँ, किनकि मैले अविश्वासमा छँदा अजानमा त्यो गरेको थिएँ।

14 अनि हाम्रा प्रभुको अनुग्रह विश्वास र प्रेमसित साह्रै प्रशस्त भयो, जो ख्रीष्ट येशूमा छ।

15 यो भनाइ विश्वसनीय र हरप्रकारले ग्रहणीय छ कि ख्रीष्ट येशू पापीहरूलाई बचाउन संसारमा आउनुभयो, जसमध्ये मुख्य म नै हुँ।

16 तरै पनि अनन्त जीवन पाउनलाई पछिबाट उहाँमाथि विश्वास गर्नेहरूका निम्ति एउटा नमूना बनाउनलाई येशू ख्रीष्टले पहिले ममा सारा सहनशीलता देखाउनुभयो, यही कारण मैले कृपा पाएँ।

17 युगौँयुगका राजा, अविनाशी, अदृश्य एकमात्र परमेश्वरलाई आदर र महिमा सदासर्वदा होस्, आमेन्।

18 मेरो छोरो तिमोथी, म तिमीलाई यो आज्ञा दिँदै छु, तिम्रो विषयमा अघिबाट गरिएका अगमवाणीअनुरूप असल लडाइँ लड।

19 विश्वास र असल विवेक कायम राख। कतिपय मानिसले विवेकलाई बहिष्कार गरेर आफ्‍‌नो विश्वासको जहाज डुबाएका छन्।

20 हुमेनियस र अलेक्जेण्डर यी मध्येका हुन्, जसलाई ईश्वर-निन्दा गर्नुहुँदैन भन्‍‌ने कुरा सिकून् भनी मैले शैतानको हातमा सुम्पिएको छु।




2

1 म यो अर्ती दिन्छु कि सबैभन्दा पहिले विन्ती, प्रार्थना, अन्तर्विन्ती र धन्यवाद सबै मानिसहरूका निम्ति चढाइऊन्।

2 राजाहरू र सबै उच्च अधिकारीहरूका निम्ति पनि, यसैले कि हामी सारा भक्ति र इमानदारीमा शान्तिपूर्ण निर्धक्क जीवन बिताउनसकौं।

3 हाम्रा मुक्तिदाता परमेश्वरको दृष्टिमा जो असल र ग्रहणीय छ।

4 सबै मानिसहरूले मुक्ति पाऊन् र सत्यको ज्ञानमा आऊन् भन्‍‌ने उहाँ चाहनुहुन्छ।

5 किनभने परमेश्वर एउटै हुनुहुन्छ, साथै परमेश्वर र मानिसहरूका बीचमा मध्यस्थ पनि एकै जना हुनुहुन्छ, जो मानिस, ख्रीष्ट येशू हुनुहुन्छ।

6 जसले सबैका लागि छुटकाराको मोलको रूपमा आफैलाई सुम्पिदिनुभयो, जसको साक्षी ठीक समयमा दिइयो।

7 अनि यसैको निम्ति म एक प्रचारक, प्रेरित अनि विश्वास र सत्यतामा अयहूदीहरूका निम्ति शिक्षक नियुक्त भएँ-म साँचो भन्दछु, ढाँट्दिनँ।

8 यसैकारण पुरुषहरूले सबै ठाउँमा पवित्र हात उठाएर बिनाक्रोध र बिनाविवाद प्रार्थना गरून् भन्‍‌ने म चाहन्छु।

9 यसरी नै स्त्रीहरूले योग्य स्वभाव र भद्रतासहित सुहाउने वस्त्रले आफूलाई सिँगारून्, केशको बढी सिँगार गरेर, सुन, मोती वा बहुमूल्य वस्त्रहरू पहिरेर होइन,

10 तर असल कामद्वारा सुसज्जित होऊन्, जो परमेश्वरको भक्ति गर्ने स्त्रीहरूलाई सुहाउँछ।

11 स्त्रीले पूरा अधीनतामा बसेर चुपचापसँग सिकून्।

12 तर म स्त्रीले शिक्षा दिने र पुरुषमाथि अधिकार जमाउने अनुमति दिन्‍‌नँ, बरु तिनी चुपचापै रहून्।

13 किनकि आदम पहिले बनाइए, त्यसपछि हव्वा।

14 आदम बहकिएका होइनन्, तर स्त्री बहकिएर अपराधमा फसेकी हुन्।

15 तापनि तिनी आत्मसंयमसित विश्वास, प्रेम र पवित्रतामा लागिरहिन् भने सन्तान जन्ममा बचाइनेछिन्।




3

1 यो सत्य भनाइ हो यदि कुनै मानिसले बिशपको काम गर्छ भने त्यसले असलै कामको इच्छा गरेको हो।

2 यसकारण बिशप निर्दोष, एउटै पत्‍‌नीका पति, संयमी, समझदार, सुशील, अतिथिसत्कार गर्ने, सिकाउनमा सिपालु हुनुपर्छ।

3 मतवाला,रिसाहा,अनुचित स्वार्थ-लाभ खोज्‍‌ने होइन तर भद्र, झगडा नगर्ने, धनको लोभ नगर्ने,

4 घरगृहस्थी सुचारुरूपले सम्हाल्‍‌ने, छोराछोरीलाई अधीनमा राखी आफ्‍‌नो मानमर्यादामा बस्‍‌ने हुनुपर्छ।

5 आफ्‍‌नै घरगृहस्थी सम्हाल्‍‌न नसक्‍‌नेले परमेश्वरको मण्डलीको कसरी रेखदेख गर्नसक्छ र?

6 तिनी विश्वासमा आएका नयाँ व्यक्ति नहोऊन्, नत्र त घमण्डले फुलिएर उनी शैतानको दण्डमा पर्लान्।

7 फेरि बाहिरकाहरूमा पनि राम्रो मानमर्यादा पाएको हुनुपर्छ, नत्र त अपमानित हुनसक्छन् र शैतानको युक्तिमा पर्नसक्छन्।

8 यसैगरी, डिकनहरू पनि आदरको योग्य, निष्कपट, पियक्कड र अनुचित स्वार्थ-लाभ नखोज्‍‌ने हुनुपर्छ।

9 बरु विश्वासको गहिरो रहस्यलाई विशुद्ध विवेकसहित थामेर राख्‍‌ने हुनुपर्छ।

10 तर उनीहरू पनि पहिले जाँचिऊन्, त्यसपछि निर्दोष पाइए भने उनीहरूले डिकनको सेवा गरून्।

11 त्यसैगरी, उनीहरूका पत्‍‌नी पनि मानमर्यादामा बस्‍‌ने, अरुको बदनामी नगर्ने तर संयमी र सबै कुरामा विश्वासिलो हुनुपर्छ।

12 डिकन एउटै पत्‍‌नीका पति होऊन्। आफ्‍‌ना छोराछोरीहरू र आफ्‍‌नो घरको प्रबन्ध राम्ररी मिलाउनसक्‍‌ने होऊन्।

13 किनकि डिकनले गर्नुपर्ने सेवा जसले राम्ररी गर्छन्, तिनीहरूले आ-आफ्‍‌नानिम्ति प्रतिष्ठा र ख्रीष्ट येशूमा भएको विश्वासमा पनि ठूलो भरोसा पाउनेछन्।

14 तिमीकहाँ चाँडै आउने आशा राख्दै म यी कुरा तिमीलाई लेख्दैछु।

15 तर ढिलो भइहाल्यो भने पनि परमेश्वरको घर, जो जीवित मण्डली, सत्यको खाँबो र जग हो, त्यसमा तिमीहरूले कसरी चल्‍‌नुपर्छ, सो तिमीहरू जानिराख।

16 यसमा कुनै किसिमको विवाद छैन कि ईश्वरीय स्वभावको रहस्य महान् छ - परमेश्वर स्वयम् शरीरमा प्रकट हुनुभयो, आत्मामा धर्मी ठहरिनुभयो, स्वर्गदूतद्वारा देखिनुभयो, अयहूदीहरूमा घोषित गरिनुभयो, सारा संसारमा विश्वास गरिनुभयो, महिमामा माथि उचालिनुभयो।




4

1 अन्तिम समयमा धूर्त आत्माहरूको कुरा र शैतानका सिद्धान्तहरूमा मन दिएर कति मानिसहरू विश्वासबाट भड्केर जान्छन् भन्‍‌ने कुरा पवित्र आत्माले प्रस्टै भन्‍‌नुहुन्छ।

2 तिनीहरू आफ्‍‌नो कपटमा झूट बोल्छन्, जसको विवेक तातो फलामले डामिएको हुन्छ।

3 तिनीहरूले विवाह गर्न निषेध गर्छन्। विश्वास गर्नेहरू र सत्य जान्‍‌नेहरूले धन्यवादसाथ ग्रहण गर्नुपर्ने परमेश्वरले सृष्टि गर्नुभएका खानेकुरा खान निषेध गर्छन्।

4 परमेश्वरको प्रत्येक सृष्टि असल छ र धन्यवाद चढाएर ग्रहण गरे कुनै पनि कुरा अस्वीकार गरिनुपर्दैन।

5 किनभने परमेश्वरको वचन र प्रार्थनाद्वारा त्यो पवित्र तुल्याएको हुन्छ।

6 यदि तिमीले भाइहरूलाई यी कुरा देखाइदियौ भने तिमी विश्वास र असल शिक्षाको वचनद्वारा हुर्किएको येशू ख्रीष्टका असल सेवक बन्‍‌नेछौ, जुन शिक्षा तिमीले राम्ररी जानेका छौ।

7 तर भक्तिहीन र अर्थहीन दन्त्यकथाहरूदेखि एकदमै अलग बस, बरु भक्तिको साधना गर।

8 किनभने शारीरिक तालिम केही मूल्यको मात्र हुन्छ तर ईश्वर-भक्ति हरेक किसिमले लाभदायक हुन्छ, यसैमा वर्तमान र आउने जीवन, दुवैको निम्ति प्रतिज्ञा छ।

9 यो भनाइ विश्वसनीय र सम्पूर्णरूपले स्वीकार्य छ।

10 यसैको निम्ति हामी परिश्रम गर्छौं तथा दिलोज्यान दिन्छौं, किनभने हामीले जीवित परमेश्वरमा भरोसा राखेका छौं, जो सारा मानवजातिका, विशेषगरी उहाँमाथि विश्वास गर्नेहरूका मुक्तिदाता हुनुहुन्छ।

11 यिनै कुराको आज्ञा देऊ र सिकाऊ।

12 कुनै मानिसले तिम्रो जवानीलाई तुच्छ ठान्‍‌न नपाओस्, तर वचनमा, चालचलनमा, प्रेममा, आत्मामा, विश्वासमा, शुद्धतामा तिमी विश्वासीहरूका लागि एक उदाहरण होओ।

13 म नआएसम्म धर्मशास्त्र पढाइ, अर्ती र शिक्षामा ध्यान देऊ।

14 एल्डरहरूले तिमीमाथि हात राख्दा अगमवाणीद्वारा तिमीलाई प्राप्त भएको वरदानलाई अवहेलना नगर।

15 यी कर्तव्य पालन गर। तिनीहरूमा नै लागिबस, यसैले कि तिम्रो प्रगति सबैले देखून्।

16 आफ्‍‌नो विषयमा र आफ्‍‌नो शिक्षाको विषयमा होशियार बस। यी कुरामा लागिरह। यसो गर्नाले तिमीले आफैलाई र सुन्‍‌नेहरूलाई समेत बचाउनेछौ।




5

1 वृद्ध पुरुषलाई नहप्काऊ, तर तिनलाई बुबालाई जस्तै गरी सम्झाऊ। आफूभन्दा सानाहरूलाई भाइसँग जस्तो व्यवहार गर।

2 वृद्ध स्त्रीहरूसँग आमाझैँ र युवतीहरूसँग सम्पूर्ण पवित्रतासाथ बहिनीहरूसँग जस्तो व्यवहार गर।

3 जो साँच्चै विधवाहरू हुन्, तिनलाई आदर गर।

4 तर कुनै विधवाका छोराछोरीहरू वा नातिनातिनाहरू छन् भने तिनीहरूले पहिले घरमा भक्ति देखाऊन् र बुबा-आमालाई उपकारको बदला तिर्न सिकून्, किनकि यो कुरा परमेश्वरको सामु असल र ग्रहणीय छ।

5 तर जो साँच्चै विधवा हुन् र तिनको कोही छैन भने तिनले परमेश्वरको आशा राख्तछिन् र रातदिन नम्र-निवेदन र प्रार्थनामा लागिरहन्छिन्।

6 तर जो सुखविलासमा जिउँछे, ऊ जिउँदै मरेकी हो।

7 तिनीहरूलाई यी कुराको आज्ञा देऊ, यसैले कि तिनीहरू दोषरहित होऊन्।

8 तर यदि कसैले आफ्‍‌नाहरूका निम्ति र विशेषगरी आफ्‍‌नो परिवारका निम्ति प्रबन्ध गर्दैन भने उसले विश्वासलाई इन्कार गरेको छ र ऊ अविश्वासीभन्दा पनि खराब भएको छ।

9 साठी वर्षदेखि माथिकी विधवा, जसको एकचोटि मात्र विवाह भएको थियो, तिनलाई मात्र विधवा-सूचीमा राख।

10 साथै तिनले असल काम गरेकी, छोराछोरीहरू हुर्काएकी, परदेशीहरूको सत्कार गरेकी, सन्तहरूका खुट्टा धोएकी, दु:खीहरूको उपकार गरेकी र जुनसुकै असल काममा ध्यान दिएकी साबित हुनुपर्छ।

11 तर तरुणी विधवाहरूको नाउँ विधवा-सूचीमा नलेख, किनकि जब तिनीहरूको कामवासनाले तिनीहरूलाई ख्रीष्टबाट टाढा लान्छ, तब तिनीहरूले विवाह गर्ने इच्छा गर्छन्।

12 यसरी आफ्‍‌नो पहिलो वाचा भङ्ग गरेको कारण तिनीहरू दण्डमा पर्छन्।

13 त्यसबाहेक तिनीहरू घरघर डुल्‍‌ने भएर अल्छी गर्ने मात्र होइन, तर कुराउटे, अर्काको काममा हातहाल्‍‌ने, बोल्‍‌नु नहुने कुरा बोल्‍‌ने हुन्छन्।

14 यसकारण कम उमेरका विधवाहरूले विवाह गरून्, छोराछोरीहरू पाऊन्, घरबार सँभालून्, विरोधीहरूलाई हाम्रो बदनाम गर्ने मौका नदेऊन् भन्‍‌ने म चाहन्छु।

15 किनकि कोही-कोही त अघि नै शैतानतर्फ गएका छन्।

16 यदि विश्वासी स्त्रीका कोही आफन्तहरू विधवा छन् भने तिनले उनीहरूलाई सघाऊन् र मण्डलीमाथि कुनै बोझ नपरोस् र मण्डलीले सकसमा परेका विधवाहरूलाई सहायता दिनसकोस्।

17 मण्डलीको असल रेखदेख गर्ने एल्डरहरू दोबर आदरका योग्य हुन्छन्, विशेषगरी जसले वचनको प्रचार र शिक्षामा परिश्रम गर्छन्।

18 किनभने पवित्र-शास्त्र भन्छ, ‘‘दाइँ गर्ने गोरुको मुखमा मोहोलो नलगाउनू,’’ र ‘‘श्रमिकले आफ्‍‌नो कामको ज्याला पाउनुपर्छ।’’

19 दुई वा तीन साक्षीको गवाहीबाहेक एल्डरको विरुद्धमा लाएको आरोप कहिल्यै स्वीकार नगर।

20 पापमा लागिरहनेहरूलाई सबैका सामु हप्काऊ र यसरी अरुहरू पनि डराउनेछन्।

21 परमेश्वर र ख्रीष्ट येशूको सामु अनि चुनिएका स्वर्गदूतहरूका सामु म तिमीहरूलाई कडा आज्ञा दिन्छु, कुनै भेदभाव वा पक्षपात नगरी यी नियमहरू तिमीले पालन गर।

22 कसैमाथि हात राख्‍‌ने काममा हतार नगर। कुनै मानिसको पापमा सहभागी नहोऊ। आफूलाई पवित्र राख।

23 अघिजस्तो पानी मात्र पिउने नगर तर तिम्रो पेटको लागि र घरीघरी बिरामी भएकोले गर्दा अलिअलि अङ्गुरमद्य पिउने गर।

24 कुनै कुनै मानिसका पाप त सोझै न्यायमा पुग्‍‌ने गरी प्रत्यक्ष हुन्छन् तर अरु कतिका पाप पछि मात्र देखा पर्छन्।

25 त्यसैगरी असल कामहरू त प्रत्यक्ष हुन्छन् र जो प्रत्यक्ष छैनन्, ती पनि गुप्तमा रहन सक्दैनन्।




6

1 दासत्वका जुवामुनि हुने सबैले आ-आफ्‍‌ना मालिकलाई पूरा सम्मानको योग्य ठानून्, यसैले कि परमेश्वरको नाउँ र हाम्रो शिक्षाको बदनामी नहोस्।

2 विश्वासी मालिकहरूलाई तिनका कमाराहरूले विश्वासमा दाज्यू-भाइ भन्दैमा अनादर नगरून्। बरु तिनीहरूले उनीहरूको झन् बढी सेवा गरून्, किनभने तिनीहरूका सेवाबाट लाभ पाउनेहरू विश्वासी र प्रियहरू नै हुन्। यी कर्तव्य पालन गर्न सिकाऊ र आग्रह गर।

3 यदि कसैले अरु सिद्धान्त सिकाउँछ र हाम्रा प्रभु येशू ख्रीष्टको उचित वचन र ईश्वर-भक्तिअनुसारको शिक्षासँग सहमत हुँदैन भने

4 त्यो घमण्डले फुलेको हुन्छ र त्यसले केही जानेको हुँदैन। त्यसले व्यर्थका वादविवाद गर्छ र एक-एक शब्द लिएर झगडा गर्न खोजिहिँड्छ। यी कुराले डाह, कलह, बदनामी र खराब शङ्काहरू उत्पन्‍‌न गराउँछन्

5 अनि बुद्धि भ्रष्ट भएका र सत्यबाट अलग भएका मानिसहरूका माझमा कचिङ्गल उठाउँछन्, अनि भक्ति फाइदा उठाउने उपाय हो भनी तिनीहरू ठान्छन्।

6 सन्तुष्टिसहितको भक्ति नै ठूलो लाभ हो।

7 किनकि हामीले न त यस संसारमा केही ल्यायौं, न यहाँबाट केही लैजान नै सक्छौं।

8 तर खान र लाउनसम्म छ भने हामी त्यसैमा सन्तुष्ट होऔं।

9 तर धनी हुने इच्छा गर्नेहरू परीक्षामा पर्छन्, पासोमा फस्छन् अनि धेरै अर्थहीन र दु:खदायी इच्छामा डुब्छन्, जसले मानिसहरूलाई बरबादी र सर्वनाशमा डुबाउँछन् ।

10 किनभने रुपियाँपैसाको मोह नै सबै किसिमका खराबीको जरा हो। पैसाको लोभमा परेर कोही-कोही विश्वासबाट कुमार्गतिर लागेका छन् र धेरै पीडाले तिनीहरूका हृदय घोचेका छन्।

11 तर परमेश्वरका जन तिमीले यी सबै त्याग र धार्मिकता, भक्ति, विश्वास, प्रेम, स्थिरता र नम्रताको लक्षय राख।

12 विश्वासको उत्तम लडाइँ लड। अनन्त जीवन पक्रिराख। यसैमा तिमीलाई बोलावट भएको थियो, जब तिमीले धेरै साक्षीहरूका उपस्थितिमा तिम्रो विश्वासको असल साक्षी दिएका थियौ।

13 सबै थोकलाई जीवन दिनुहुने परमेश्वरको उपस्थितिमा र पन्तियस पिलातसको सामुन्‍‌ने असल गवाही दिनुहुने ख्रीष्ट येशूको उपस्थितिमा

14 म तिमीलाई आदेश दिँदछु, कि प्रभु येशू ख्रीष्ट देखा नपरून्जेल यस आज्ञालाई कलङ्क र अपवादबाट अलग राख।

15 अनि धन्य र सर्वोच्च राजाहरूका महाराजा, प्रभुहरूका महाप्रभुले उचित समयमा ख्रीष्टको आगमनलाई प्रकट गर्नुहुनेछ,

16 उहाँमा नै अमरत्व छ र उहाँ त्यस ज्योतिमा वास गर्नुहुन्छ जसको नजिक कोही जान सक्दैन। उहाँलाई कुनै मानिसले कहिल्यै देखेको छैन, न त देख्‍‌न नै सक्छ। उहाँलाई नै आदर र पराक्रम सदासर्वदा होस्। आमेन्।

17 यस संसारका धनीहरूलाई घमण्डी नहुने आज्ञा देऊ र अनिश्चित सम्पत्तिमा होइन, तर हामीलाई हरेक थोक प्रशस्तसँग उपभोग गर्न दिनुहुने परमेश्वरमाथि तिनीहरूले आशा राखून्।

18 तिनीहरूले असल कार्य गरून्, र असल काममा धनी, उदार-चित्त भएका र दानी होऊन्।

19 यसरी आफ्‍‌नैलागि भविष्यको असल जग बसाल्‍‌न सकून् र तिनीहरूले त्यो जीवन पक्रिराखून्, जो साँच्ची नै जीवन हो।

20 तिमोथी, जे तिमीलाई सुम्पिएको छ, त्यो सुरक्षित राख। भक्तिहीन गन्थन र खण्डनहरू, जो झूटो ज्ञान हो, तिनलाई परित्याग गर।

21 यी कुराका पछि लागेर कति जना आफ्‍‌नो विश्वासको लक्षयबाट चुकेर गएका छन्। तिमीसँग अनुग्रह रहोस्।



AMAZING GRACE BIBLE INSTITUTE