1 THESSALONIANS

१ थैसलोनिकी


Chapter 1

1 पावल, सिलास र तिमोथीबाट : परमेश्वर पिता र प्रभु येशू ख्रीष्टमा भएका थेसलोनिकीहरूको मण्डलीलाई अनुग्रह र शान्ति।

2 तिमीहरू सबैको निम्ति, हामी सबैले परमेश्वरलाई धन्यवाद दिँदछौं र निरन्तररूपमा प्रार्थना गर्दछौं।

3 हाम्रा परमेश्वर र पिताको सामुन्‍‌ने हाम्रा प्रभु येशू ख्रीष्टको विषयमा तिमीहरूको विश्वासको काम, प्रेमको परिश्रम र आशाको धैर्य निरन्तर सम्झँदै,

4 हे परमेश्वरका प्रिय भाइ हो, तिमीहरूको चुनाउ जानेर

5 कि कसरी हाम्रो सुसमाचार केवल बोलीमा मात्र होइन तर शक्तिमा पनि र पवित्र आत्मामा अनि ज्यादै आत्मविश्वासमा तिमीहरूकहाँ आएको हो। जसरी तिमीहरू पनि जान्दछौ, तिमीहरूका खातिर हामी आफैले कस्ता किसिमका मानिसहरू थियौं भनी तिमीहरूलाई देखाएका थियौं।

6 पवित्र आत्माको आनन्दसाथ, ज्यादै कष्टमा वचन ग्रहण गरेर तिमीहरू हाम्रो र प्रभुको देखासिकी गर्ने भयौ।

7 त्यसैले तिमीहरू म्यासिडोनिया र अखैयामा भएका सबै विश्वासीहरूको निम्ति उदाहरण भयौ।

8 किनकि तिमीहरूबाट परमेश्वरको वचन केवल म्यासिडोनिया र अखैयामा मात्र सुन्‍‌नमा आएको होइन तर परमेश्वरतर्फको तिमीहरूको विश्वासको कुरा हरेक ठाउँमा फैलिएको छ। हामीले यसमा भन्‍‌नुपर्ने केही दरकार छैन।

9 तिमीहरूले हामीलाई कस्तो किसिमको स्वागत गर्‍यौ भन्‍‌ने विषयमा तिनीहरू आफैले बताउँछन्। तिनीहरूले कसरी तिमीहरू साँचो र जीवित परमेश्वरको सेवा गर्न

10 र स्वर्गबाट आउने उहाँका पुत्रको प्रतीक्षा गर्न मूर्त्तिबाट फर्कियौ। उही ख्रीष्ट येशू जसलाई परमेश्वरले मृतकबाट पुनर्जीवित पार्नुभयो, उहाँले नै हामीलाई आउने क्रोधबाट बचाउनुहुन्छ।




2

1 भाइहरू हो, तिमीहरूकहाँ हाम्रो प्रवेश व्यर्थ नभएको तिमीहरू आफै जान्दछौ।

2 तर फिलिप्पीमा हामीले कस्तो नराम्रो प्रकारले दु:ख भोग्यौं भन्‍‌ने कुरा पनि तिमीहरू जान्दछौ। परमेश्वरमा हामी घोर विरोधमा पनि तिमीहरूकहाँ परमेश्वरको सुसमाचारको घोषणा गर्न साहसी भयौं।

3 किनकि हाम्रो अर्ती-उपदेश गल्ती वा अशुद्धता वा छलकपटद्वारा भएको होइन।

4 तर जसरी सुसमाचार हाम्रो जिम्मामा सुम्पनका निम्ति परमेश्वरले हामीलाई योग्य ठान्‍‌नुभयो, मानिसलाई होइन तर हाम्रो हृदयको जाँच गर्नुहुने परमेश्वरलाई खुशी तुल्याउनलाई नै हामी बोल्दछौं।

5 तिमीहरूलाई थाहै छ कि हामीले कहिल्यै चिप्लोघस्‍‌ने कुरा गरेनौं, न त लोभले बहाना नै गर्‍यौं, परमेश्वर यसको साक्षी हुनुहुन्छ ।

6 हामी ख्रीष्टका प्रेरितहरू भएकोले तिमीहरूमाथि बोझ बन्‍‌न सक्थ्यौं तर हामीले मानिसहरूबाट आदर खोजेनौं, न तिमीहरूबाट न त अरुहरूबाट नै।

7 आफ्‍‌ना बालकहरूको स्याहारसुसार गर्ने आमाझैँ हामी तिमीहरूका बीचमा कोमल भयौं।

8 हामीले तिमीहरूलाई यतिसम्म प्रेम गर्‍यौं कि परमेश्वरको सुसमाचार मात्र होइन तर तिमीहरू हाम्रो निम्ति प्रिय भएकोले तिमीहरूको खातिर आफ्‍‌नै जीवन पनि दिएका थियौं।

9 किनकि भाइ हो, हाम्रो कष्ट र परिश्रमको सम्झना तिमीहरूलाई छ। तिमीहरू कसैलाई बोझ नबोकाऔं भनेर दिनरात काम गर्दै हामीले परमेश्वरको सुसमाचार तिमीहरूलाई सुनायौं।

10 सबै विश्वासीहरूका अघि हाम्रो व्यवहार पवित्र, ठीक, निस्खोट थियो भन्‍‌ने कुराको तिमीहरू साक्षी छौ र परमेश्वर पनि हुनुहुन्छ।

11 बुबाले आफ्‍‌ना छोराछोरीहरूसित व्यवहार गरेझैँ हामीले तिमीहरूलाई कसरी अर्ती, उत्साह र आदेश दिँदै तिमीहरूसँग व्यवहार गर्‍यौं।

12 यस हेतुले कि तिमीहरूको चाल परमेश्वरको योग्यको होस्, जसले तिमीहरूलाई उहाँको आफ्‍‌नै राज्य र महिमामा बोलाउनुहुन्छ।

13 यसकारण यसको निम्ति हामी पनि परमेश्वरलाई सधैँ धन्यवाद चढाउँछौं कि तिमीहरूले हामीबाट सुनेको वचन, जो वास्तवमा परमेश्वरको वचन हो, सो तिमीहरूले मानिसको वचनजस्तै होइन तर परमेश्वरको वचनजस्तै ग्रहण गर्‍यौ, जुन वचनले तिमी विश्वासीहरूमा काम गर्दछ।

14 किनकि भाइ हो, ख्रीष्ट येशूमा यहूदियामा भएका परमेश्वरको मण्डलीको देखासिकी गर्ने तिमीहरू भयौ, किनकि तिमीहरूका आफ्‍‌नै भाइहरूले भोगेका दु:ख तिमीहरूले पनि भोग्यौ, जो तिनीहरूले यहूदीहरूबाट भोगेका थिए।

15 जसले प्रभु येशू ख्रीष्टलाई र अगमवक्ताहरूलाई मारे र हामीलाई पनि बाहिर खेदे, तिनीहरूले परमेश्वरलाई अप्रसन्‍‌न तुल्याउँछन् र सबै मानिसहरूको विरोध गर्छन्।

16 अयहूदीहरूको मुक्ति हुन्छ भनेर तिनीहरूले हामीलाई उनीहरूसँग बोल्‍‌न मनाही गरेका छन्, यसरी तिनीहरूले आफ्‍‌नो पापमाथि पाप थपेका छन् तर अन्त्यमा परमेश्वरको क्रोध तिनीहरूमाथि परेको छ।

17 तर भाइ हो, थोरै समयका निम्ति तिमीहरूबाट हृदयमा होइन तर शरीरमा अलग पारिएकोमा हामीले बडो लालसासाथ तिमीहरूको अनुहार देख्‍‌नका निम्ति झन् बेसी प्रयत्‍‌न गर्‍यौं।

18 किनकि हामीले तिमीहरूकहाँ आउने इच्छा गरेका थियौं, विशेष गरी म, पावलले बारम्बार इच्छा गरेको थिएँ तर शैतानले हामीलाई रोकिदियो ।

19 हाम्रो आशा वा आनन्द वा रमाहटको मुकुट के हो? हाम्रा प्रभु येशू ख्रीष्टको आगमनमा उहाँको सामु के तिमीहरू नै होइनौ र?

20 किनकि तिमीहरू हाम्रो गौरव र आनन्द हौ।




3

1 यसकारण हामीले सहनै नसकेपछि, म एथेन्समा नै बस्‍‌न असल हुन्छ भनी हामीले विचार गर्‍यौं।

2 हामीले तिमीहरूलाई विश्वासमा स्थिर गराउन र अर्ती-उपदेश दिन, परमेश्वरमा ख्रीष्टको सुसमाचारको सेवक हाम्रो भाइ तिमोथीलाई पठायौं,

3 ताकि यी कष्टले गर्दा कोही नडगमगाओस् । तिमीहरू आफैलाई थाहा छ कि यसैको निम्ति हामी खटाइएका हौं।

4 किनकि साँच्चै तिमीहरूको साथमा हुँदा हामीले कष्ट भोग्‍‌न लागेका छौं भनी तिमीहरूलाई अघिबाटै बताएका थियौं र यस्तो भयो पनि, जुन तिमीहरूलाई थाहा छ।

5 यसैकारण जब मैले सहनै सकिनँ, तब तिमीहरूको विश्वासको बारेमा थाहा गर्न तिमोथीलाई पठाएँ। शैतानले तिमीहरूलाई परीक्षामा पारेर हाम्रो परिश्रम व्यर्थ बनायो कि भनी मलाई डर लागेको थियो।

6 तिमीहरूको विश्वास र प्रेमको शुभखबर लिएर अहिले भर्खरै तिमोथी फर्केको छ। तिमीहरूले सधैँ हामीलाई सम्झना गर्दा रहेछौ र जसरी हामी तिमीहरूलाई भेट्‍‌ने इच्छा गर्छौं, तिमीहरूले पनि त्यसरी नै हामीलाई भेट्‍‌ने इच्छा गर्दा रहेछौ।

7 त्यसैले प्रिय भाइ हो, हाम्रो आफ्‍‌नै समस्या र सङ्कष्टको समयमा पनि तिमीहरूको विश्वासद्वारा हामीलाई सान्त्वना मिलेको छ।

8 यदि तिमीहरू प्रभुमा स्थिर भई रह्यौ भने हामी साँच्चै जिउँछौं।

9 हाम्रा परमेश्वरको अघि तिमीहरूको कारणले पाएको आनन्द र हर्षको निम्ति परमेश्वरलाई हामी कसरी धन्यवाद चढाउन सक्छौं र?

10 तिमीहरूको अनुहार देख्‍‌न पाऔं र तिमीहरूको विश्वासमा जे कमी छ, सो पूरा गर्न पाऔं भनेर हामी रातदिन खूबै प्रार्थना गरिरहन्छौं।

11 अब हाम्रा परमेश्वर र पिता आफैले अनि येशू हाम्रा प्रभुले तिमीहरूकहाँ आउने हाम्रो बाटो खोलिदेऊन्।

12 अनि जसरी हामी तिमीहरूलाई प्रेम गर्छौं, त्यसरी नै प्रभुले तिमीहरूलाई एक-अर्काप्रतिको र सबै मानिसहरूको प्रेममा प्रशस्तरूपले वृद्धि गराऊन्।

13 यसैले कि उहाँले हाम्रा प्रभु येशू आफ्‍‌ना सन्तगणसँग आउनुहुँदा हाम्रा परमेश्वर र पिताको अघि तिमीहरूका हृदय पवित्रतामा निस्खोट पारून्।




4

1 अन्त्यमा, भाइ हो, प्रभु येशूमा हामी तिमीहरूलाई आग्रहपूर्वक विन्ती गर्छौं र अर्ती दिन्छौं कि तिमीहरूले कसरी चल्‍‌नुपर्छ र परमेश्वरलाई कसरी खुशी तुल्याउनुपर्छ भन्‍‌ने जसरी तिमीहरूले हामीबाट शिक्षा पायौ, तिमीहरू चल्दै पनि छौ, त्यसरी नै तिमीहरू झन् बढ्दै जाओ।

2 किनकि प्रभु येशूको अधिकारद्वारा हामीले तिमीहरूलाई दिएका आज्ञाहरू तिमीहरू जान्दछौ ।

3 किनकि परमेश्वरको इच्छा तिमीहरूको पवित्रीकरण हो, कि तिमीहरू व्यभिचारबाट अलग बस।

4 अनि तिमीहरूमध्ये हरेकले कसरी पवित्रीकरण र आदरको साथमा आफ्‍‌नी पत्‍‌नीलाई हासिल गर्नुपर्छ सो जानोस्।

5 परमेश्वरलाई नचिन्‍‌ने अयहूदीहरूजस्तो कामुकताको वासनामा नबस।

6 यस विषयमा कसैले अपराध गरेर आफ्‍‌नो भाइलाई खराबी नगरोस्, किनकि यस्ता सबै कुरामा बदला लिनुहुने प्रभु नै हुनुहुन्छ। हामीले तिमीहरूलाई अगाडि नै यसबारे गम्भीर चेताउनी दिएका छौं।

7 किनकि परमेश्वरले हामीलाई पवित्र हुनको निम्ति बोलाउनुभएको छ, अपवित्र जीवन जिउनु होइन।

8 यी कुरा गर्न इन्कार गर्नेले मानिसलाई होइन तर तिमीहरूलाई पवित्र आत्मा दिनुहुने परमेश्वरलाई इन्कार गर्छ।

9 तर ख्रीष्टियन प्रेम जो परमेश्वरका जनका अगाडि प्रकट गर्नुपर्छ त्यसको बारेमा मैले तिमीहरूलाई लेख्‍‌नु आवश्यक छैन। किनकि एक-अर्कालाई प्रेम गर्नुपर्छ भनी परमेश्वरले नै तिमीहरूलाई सिकाउनुभएको छ।

10 वास्तवमा म्यासिडोनियामा भएका सबै विश्वासीहरूप्रति तिमीहरूको प्रेम एकदमै बलियो छ। त्यसरी नै प्रिय भाइ हो, अझै बढ्ता प्रेम गर भनी तिमीहरूलाई विन्ती गर्छौं।

11 अनि हामीले तिमीहरूलाई आज्ञा दिएझैँ चुपचाप रहन, आ-आफ्‍‌नो काम गर्न र आफ्‍‌नै हातले कमाउने प्रयत्‍‌न गर।

12 यसैले बाहिरकाहरूसँग तिमीहरू इमानदार भएर चल्‍‌नसक र तिमीहरूलाई कुनै कुराको खाँचो नपरोस्।

13 तर भाइ हो, सुतिगएकाहरूलाई के हुनेछ भन्‍‌ने विषयमा तिमीहरू अजान रहो भन्‍‌ने म चाहन्‍‌नँ, कारण तिमीहरू आशा नहुनेहरूजस्तै शोक नगर।

14 किनकि यदि हामी येशूको मृत्यु र पुनरुत्थान भएकोमा विश्वास गर्छौं भने ख्रीष्टमा सुतिगएकाहरूलाई पनि त्यसरी नै परमेश्वरले उहाँको साथमा ल्याउनुहुनेछ।

15 प्रभुको वचनद्वारा हामी तिमीहरूलाई यो भन्दछौं कि हामी जो जीवित छौं र प्रभुको पुनरागमनसम्म रहिरह्यौं भने हामीले कुनै रीतिले पनि सुतिगएकाहरूलाई उछिन्‍‌नेछैनौं।

16 किनकि प्रभु आफै स्वर्गबाट ठूलो गर्जन, प्रधान स्वर्गदूतको आवाज र परमेश्वरको तुरहीको स्वरको साथमा आउनुहुनेछ र ख्रीष्टमा मृतकहरू पहिले पुनर्जीवित हुनेछन्।

17 त्यसपछि हामीहरू जो जीवित र बाँकी रहेकाहरू उनीहरूसँगै बादलमा प्रभुलाई भेट्‍‌न र उहाँसँग सदा रहनको निम्ति उचालिनेछौं।

18 यसकारण एउटाले अर्कोलाई यी वचनद्वारा सान्त्वना देओ।




5

1 प्रिय भाइ हो, वास्तवमा यी सबै कुरा कसरी र कहिले हुनेछन् भन्‍‌नेबारेमा तिमीहरूलाई लेख्‍‌नु आवश्यक छैन।

2 किनकि तिमीहरू सबैलाई पूर्णरूपले थाहा छ कि प्रभुको दिन राती चोर आएझैँ आउनेछ।

3 ‘‘सबै राम्रै छ, सबै कुरा शान्तिपूर्ण र सुरक्षित छन्’’ भनी जब तिनीहरूले भनिरहेका हुन्छन्, तब बच्चा जन्माउने बेलाको प्रसववेदनाले ग्रसित स्त्रीको जस्तो ठूलो विपत्ति अचानक आइपर्नेछ र त्यहाँ कुनै उम्कने बाटो हुनेछैन।

4 तर भाइ हो, तिमीहरू अन्धकारमा छैनौ, तसर्थ त्यो दिनले तिमीहरूलाई चोरले जस्तै चकित पार्नेछैन।

5 तिमीहरू सबै ज्योति र दिनका सन्तान हौ। हामीहरू रात र अन्धकारका होइनौं।

6 त्यसैले हामी सबै सतर्क रहौं र अरुझैँ नसुतौं तर हामी सचेत र संयमी रहौं।

7 सुत्‍‌नेहरू रातमा सुत्छन्, मद्य पिउनेहरू पनि रातमा पिउँछन्।

8 तर हामी दिनका हुनाले विश्वास र प्रेमका छाती-पाता अनि मुक्तिको आशाको टोप लगाएर हामी संयमी होऔं।

9 किनकि परमेश्वरले हामीलाई क्रोधको निम्ति होइन, तर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा मुक्ति प्राप्त गर्नको निम्ति नियुक्त गर्नुभएको छ।

10 चाहे हामी मरेका वा जिएका भए तापनि हामीहरू उहाँसँग सदा जिउन सकौं भन्‍‌ने हेतुले उहाँ हाम्रो निम्ति मर्नुभयो।

11 त्यसैले एक-अर्कालाई उत्साह दिने र निर्माण गर्ने काम गर, जसरी तिमीहरूले गरिरहेका पनि छौ।

12 तर भाइ हो, हामी तिमीहरूलाई आग्रहपूर्वक विन्ती गर्दछौं कि तिमीहरूका बीचमा परिश्रम गर्नेहरू, जो प्रभुमा अगुवाहरू हुन् र तिमीहरूलाई चेताउनी दिन्छन्, तिनको आदर गर।

13 अनि तिनीहरूका कामको खातिर तिनीहरूलाई प्रेमसाथ अति उच्च आदर गर। तिमीहरू आपसमा मेलमिलापमा बस।

14 हे भाइ हो, अल्छेहरूलाई चेताउनी देओ भनी हामी तिमीहरूलाई विन्ती गर्छौं, डराउनेहरूलाई उत्साह देओ। दुर्बलहरूलाई वास्ता गर, हरेकसँग सहनशील होओ।

15 खराबीको विरुद्ध खराबी गर्न नदेऊ र एउटाले अर्को र सबैसँग भलाइ गर्ने कोशिश गर।

16 सधैँ आनन्दित होओ।

17 निरन्तर प्रार्थना गर।

18 सबै कुरामा सधैँ धन्यवादी होओ। किनकि ख्रीष्ट येशूमा तिमीहरूका लागि परमेश्वरको इच्छा यही हो।

19 पवित्र आत्मालाई ननिभाओ ।

20 अगमवाणीलाई तुच्छ नठान।

21 सबै कुराको राम्ररी जाँच गर र जे असल छ त्यसमा लागिरहो।

22 हरेक खराबीबाट अलग बस।

23 अब शान्तिका परमेश्वरले तिमीहरूलाई पूर्णरूपले पवित्र गराऊन् र प्रभु येशू ख्रीष्टको आगमनसम्म तिमीहरूका सम्पूर्ण आत्मा, प्राण र शरीरलाई निस्खोट राखून्।

24 परमेश्वर, जसले तिमीहरूलाई बोलाउनुभयो, उहाँ विश्वसनीय हुनुहुन्छ र उहाँले यो पूरा गर्नुहुनेछ।

25 प्रिय भाइ हो, हाम्रो निम्ति प्रार्थना गर।

26 सबै भाइहरूलाई पवित्र चुम्बनले अभिवादन गर।

27 म तिमीहरूलाई प्रभुमा आग्रह गर्दछु कि यो पत्र पढेर सबै भाइहरूलाई सुनाइदेओ।

28 हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूसँग रहोस्।



AMAZING GRACE BIBLE INSTITUTE