1 PETER

१ पुत्रस


Chapter 1

1 पत्रुस, येशू ख्रीष्टका एक प्रेरितबाट पोन्टस, गलातिया, कापाडोकिया, एसिया र बिथिनियाभरि छरिएर परदेशी भएर बसेकाहरूलाई :

2 येशू ख्रीष्टको आज्ञापालन र उहाँको रगतको छिट्काउको निम्ति आत्माको पवित्रीकरणको कार्यद्वारा परमेश्वर पिताको पूर्वज्ञानअनुसार चुनिएकाहरूमा अनुग्रह र शान्ति बढ्दै जाओस्।

3 हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर र पिता धन्यको हुनुहुन्छ,जसले आफ्‍‌नो महान् कृपाअनुसार मृतकबाट येशू ख्रीष्टको पुनरुत्थानद्वारा जीवित आशाको निम्ति हामीलाई फेरि नयाँ जन्म दिनुभयो,

4 स्वर्गमा तिमीहरूका निम्ति साँचिराखेको अविनाशी, विशुद्ध र नष्ट नहुने उत्तराधिकार प्राप्त गर्नलाई,

5 तिमीहरू परमेश्वरको शक्तिबाट विश्वासद्वारा आखिरी समयमा प्रकट हुन तयार भएको मुक्तिको निम्ति सुरक्षित राखिएका छौ।

6 जसमा तिमीहरू अहिले केही समयको निम्ति अनेक किसिमका परीक्षाहरूको कठिनाइमा पर्छौ, तापनि यसमा तिमीहरू रमाउँछौ।

7 आगोबाट खारिने तर नष्ट भएर जाने सुनभन्दा पनि तिमीहरूको विश्वास मूल्यवान् छ। तिमीहरूको यो विश्वास साँचो प्रमाणित होस् अनि येशू ख्रीष्ट प्रकट हुनुहुँदा प्रशंसा, महिमा र आदरको योग्य बनोस्।

8 तिमीहरूले देखेका छैनौ तापनि उहाँलाई प्रेम गर्छौ। उहाँलाई तिमीहरू अहिले देख्दैनौ, तापनि उहाँमाथि विश्वास गर्छौ अनि अवर्णनीय र महिमित आनन्दमा रमाउँछौ

9 अनि तिमीहरूका विश्वासको फल अर्थात् तिमीहरूले आत्माको मुक्ति पाउँछौ।

10 तिमीहरूका निम्ति हुनआउने अनुग्रहको विषयमा अगमवाणी गर्ने अगमवक्ताहरूले यही मुक्तिको प्रयत्‍‌नसाथ खोजी र सोधपुछ गरेका थिए।

11 तिनीहरूभित्र हुनुभएका ख्रीष्टको आत्माले ख्रीष्टका कष्ट र त्यसपछि आउने महिमाको भविष्यवाणी गर्नुहुँदा देखाउनुभएको समय र परिस्थितिको बारेमा तिनीहरूले खोजी गरेका थिए।

12 तिनीहरूलाई यो प्रकट गरिएको थियो कि तिनीहरूले आफ्‍‌नो होइन तर तिमीहरूको सेवा गरिरहेका थिए। यी कुरा स्वर्गबाट पठाइनुभएका पवित्र आत्माबाट तिमीहरूलाई प्रचार भएको सुसमाचार सुनाउनेहरूद्वारा अहिले तिमीहरूलाई घोषणा भएको छ। स्वर्गदूतहरू पनि यी कुरा हेर्न अति उत्सुक छन्।

13 यसकारण आफ्‍‌नो मन बाँधेर सचेत होओ र येशू ख्रीष्टको प्रकाशमा तिमीहरूकहाँ ल्याइने अनुग्रहमा तिमीहरूको आशा ठीकसँग राख।

14 आज्ञापालन गर्ने बालकहरूले झैँ तिमीहरूको अजान अवस्थाको समयमा तिमीहरूका अगिअगिका अभिलाषाअनुसार नचल।

15 तर तिमीहरूलाई बोलाउनुहुने जस्तो पवित्र हुनुहुन्छ, तिमीहरू आफै पनि जीवनका सबै रहनसहनमा पवित्र होओ,

16 किनभने यो लेखिएको छ, ‘‘तिमीहरू पवित्र होओ, किनभने म पवित्र छु।’’

17 पक्षपात नगरी मानिसको कामअनुसार न्याय गर्नेलाई पिता भनी पुकार्छौ भने आफ्‍‌नो प्रवासको समय डरसँग बिताओ।

18 तिमीहरू जान्दछौ कि आफ्‍‌ना पिता-पुर्खाबाट आएका व्यर्थका रीति-विधिदेखि सुन वा चाँदीजस्ता नाश हुने थोकद्वारा दाम तिरी तिमीहरू छुट्ट‍याइएका होइनौ

19 तर निस्खोट र निष्कलङ्क थुमाको जस्तो ख्रीष्टको अनमोल रगतद्वारा दाम तिरी छुट्ट‍याइएका हौ।

20 उहाँ सृष्टिभन्दा अगाडिदेखि नै नियुक्त हुनुभएको थियो, तर तिमीहरूका खातिर समयको अन्त्यमा प्रकट हुनुभयो।

21 उहाँद्वारा परमेश्वरमाथि तिमीहरूको भरोसा छ, जसले ख्रीष्टलाई मृतकबाट जीवित पारेर महिमा दिनुभयो, यसैले कि तिमीहरूको विश्वास र आशा परमेश्वरमा रहोस्।

22 अब सत्यताको पालनद्वारा तिमीहरूले आफैलाई शुद्ध पारेको हुनाले आफ्‍‌ना दाज्यू-भाइहरूलाई निष्कपट प्रेम गर र हृदयबाट नै एउटाले अर्कोलाई प्रगाढ प्रेम गर।

23 परमेश्वरको जीवन र नित्य रहने वचनद्वारा, विनाशी होइन तर अविनाशी वीर्यबाट तिमीहरू नयाँ गरी जन्मेका छौ।

24 किनकि, ‘‘सबै प्राणी घाँसजस्तै हुन् र तिनका सबै गौरव घाँसका फूलजस्ता। घाँस ओइलाउँछ र फूल झरिहाल्छ,

25 तर परमप्रभुको वचन सदासर्वदा रहिरहन्छ ।’’ अनि तिमीहरूलाई प्रचार गरिएको सुसमाचारको वचन यही हो।




2

1 यसकारण सबै दुष्टता, छल, कपट, ईर्ष्या र सबै निन्दालाई त्याग।

2 नयाँ जन्मेका बालकहरूजस्तै शुद्ध आत्मिक दूधको तृष्णा गर र त्यसबाट तिमीहरू आफ्‍‌नो मुक्तिमा बढ्दै जान सक्‍‌नेछौ,

3 किनकि तिमीहरूले प्रभुको दयाको स्वाद पाएका छौ।

4 मानिसहरूबाट इन्कार हुनुभएको तर परमेश्वरको दृष्टिमा चुनिनुभएको बहुमूल्य जीवित पत्थरकहाँ आओ,

5 तिमीहरू पनि येशू ख्रीष्टद्वारा परमेश्वरमा ग्रहणीय आत्मिक बलिदान चढाउने पवित्र पूजाहारीगिरीको निम्ति जीवित पत्थरझैँ आत्मिक घर बनेका हौ।

6 किनभने धर्मशास्त्रमा यो छ : ‘‘हेर, सियोनमा छानिएको एउटा मुख्य बहुमूल्य कुनाको ढुङ्गो म राख्तछु र उहाँमाथि विश्वास गर्ने शर्ममा पर्नेछैन।’’

7 यसकारण तिमीहरू जसले विश्वास गर्छौ, तिमीहरूका निम्ति त उहाँ बहुमूल्य हुनुहुन्छ तर विश्वास नगर्नेहरूका निम्ति, ‘‘जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे, त्यही कुनाको शिर-ढुङ्गो बन्यो।’’

8 र, ‘‘एउटा ढुङ्गो, जसले मानिसहरूलाई ठेस खान लगाउँछ, एउटा चट्टान, जसले तिनीहरूलाई लोट्‍‌न लगाउँछ।’’ किनकि तिनीहरू वचन उल्लङ्घन गर्छन् र लोट्छन्। तिनीहरूका निम्ति यस्तै हुन तोकिएको थियो।

9 तर तिमीहरू त चुनिएका वंश राजकीय पूजाहारीगिरी, पवित्र जाति, परमेश्वरका निजी प्रजा हौ र अन्धकारबाट उहाँको गजबको ज्योतिमा तिमीहरूलाई बोलाउनेको सर्वश्रेष्ठता तिमीहरूले प्रकट गर।

10 ‘‘तिमीहरू बितेका समयमा प्रजा थिएनौ तर अहिले परमेश्वरका प्रजा भएका छौ, कृपा पाएका थिएनौ तर अहिले पाएका छौ।’’

11 प्रिय हो, म तिमीहरूलाई आग्रहपूर्वक विन्ती गर्दछु कि विदेशी र प्रवासीहरू हौ भनी जानेर तिमीहरूका आत्माको विरुद्धमा लडाइँ गर्ने शारीरिक अभिलाषाबाट अलग रहो।

12 अयहूदीहरूका बीचमा तिमीहरूको चालचलन असल होस्। कसैले तिमीहरूलाई कुकर्मी भनी तिमीहरूको बदनाम गर्छन् तापनि तिनीहरूले तिमीहरूका असल काम देखून् र आगमनको दिनमा तिनीहरूले परमेश्वरको महिमा गरून्।

13 प्रभुको खातिर मानिसका हरेक शासनको अधीनमा बस; चाहे राजाको, जोसँग अधिकार छ,

14 चाहे शासकहरूको अधीनमा, किनकि ती कुकर्मीहरूका दण्डको निम्ति र असल काम गर्नेहरूका प्रशंसाको निम्ति उहाँद्वारा पठाइएका हुन्।

15 किनकि परमेश्वरको इच्छा यही हो, तिमीहरूले असल काम गरेर मूर्ख मानिसहरूको अज्ञानतालाई चुप गराइदेओ,

16 स्वतन्त्रजस्तै भएर हिँड तर दुष्टताको ओढ्‍‌नेले तिमीहरूका स्वतन्त्रतालाई ढाकेर होइन तर परमेश्वरका दासहरूजस्तै भएर हिँड।

17 सबै मानिसहरूलाई आदर गर । भाइबन्धुलाई प्रेम गर । परमेश्वरसँग डराओ। राजाको आदर गर।

18 कमाराहरू हो, सम्पूर्ण आदरपूर्वक आफ्‍‌ना मालिकहरूका अधीनमा बस। तिमीहरूमाथि दयालु र भला हुनेहरूका अधीनमा मात्र होइन तर निर्दयीहरूका अधीनमा पनि बस।

19 परमेश्वरलाई सम्झेर कुनै मानिसले अन्यायपूर्ण कष्ट सहन्छ भने त्यो परमेश्वरमा प्रशंसनीय हुन्छ,

20 किनभने तिमीहरूले खराब काम गरेर कुटाइ खाँदा धैर्यसँग सह्यौ भने यसमा ठूलो कुरा के छ र? तर तिमीहरूले असल गरेर पनि दु:ख भोग्‍‌नुपर्दा धैर्यसँग सहन्छौ भने यो परमेश्वरमा ग्रहणीय हुन्छ,

21 किनकि यसैको निम्ति तिमीहरू बोलाइएका हौ। ख्रीष्टले पनि तिमीहरूका निम्ति कष्ट भोग्‍‌नुभयो र तिमीहरूका लागि एउटा उदाहरण छोडिजानुभयो, तिमीहरू उहाँकै पाइलामा हिँड्‍‌नुपर्छ।

22 ‘‘उहाँले कुनै पाप गर्नुभएन र उहाँको बोलीमा कुनै छलको कुरा पाइएन ।’’

23 तिनीहरूले उहाँलाई अपमान गर्दा उहाँले साटो फेर्नुभएन। दु:ख भोग्‍‌नुहुँदा उहाँले धम्की दिनुभएन तर उहाँले उचित न्याय गर्नुहुनेमाथि भरोसा राख्‍‌नुभयो।

24 हामी पापको निम्ति मरेर धार्मिकताको निम्ति जिऔं भनी उहाँले क्रूसमा आफ्‍‌नै शरीरमा हाम्रा पाप बोक्‍‌नुभयो। उहाँकै चोटद्वारा तिमीहरू निको भयौ।

25 किनभने तिमीहरू भेडाहरूझैँ बरालिइरहेका थियौ तर अब तिमीहरूका आत्माको गोठाला र संरक्षककहाँ फर्किआएका छौ।




3

1 त्यसरी नै पत्‍‌नीहरू हो, आ-आफ्‍‌ना पतिको अधीनमा बस र यसरी तिनीहरूले वचन पालन नगरे तापनि आफ्‍‌ना पत्‍‌नीहरूको आचरणले गर्दा बिनावचन भए पनि तिनीहरूलाई विश्वासमा ल्याउन सकियोस्।

2 तिमीहरूको जीवनको शुद्धता र आदरयोग्य चालचलन देखेर तिनीहरू परिवर्तन हुनेछन्।

3 अनि तिमीहरूको सिँगार-केश बाट्‍‌ने, सुनको गरगहना र किसिम-किसिमका वस्त्र पहिरिने बाहिरी सिँगार नहोस्।

4 तर नम्र र शान्त आत्माको अविनाशी वस्त्र लगाएको हृदयको त्यो गुप्त व्यक्तित्व होस्, जो परमेश्वरको दृष्टिमा ठूलो मोलको हुन्छ।

5 किनकि यसरी नै परमेश्वरमा आशा राख्‍‌ने पहिले-पहिलेका पवित्र स्त्रीहरूले पनि आ-आफ्‍‌ना पतिका अधीनमा रहेर सिँगार गर्थे।

6 जसरी साराले अब्राहामलाई ‘स्वामी’ भन्दै तिनको आज्ञा मान्थिन्। यदि तिमीहरूले उचित काम गर्‍यौ र कुनै कुरामा भयभीत भएनौ भने तिमीहरू उनकै छोरीहरू भएका छौ।

7 त्यसरी नै पतिहरू पनि आफ्‍‌ना पत्‍‌नीलाई कमजोर पात्र र जीवनका अनुग्रहका साझा उत्तराधिकारी सम्झिएर, उनीहरूलाई आदर गर्दै बुद्धिमानीसाथ उनीहरूसँग बस र तिमीहरूका प्रार्थना नरोकियोस्।

8 अन्तमा, तिमीहरू सबै एकै मनका, एक-अर्काप्रति सहानुभूति देखाउने, भ्रातृ-प्रेम गर्ने, कोमल मनका र विनयी होओ,

9 खराबीको बदला खराबी नगर्ने वा गालीको बदला गाली नदिने, बरु त्यसको सट्टामा आशिष् दिने होओ, किनकि आशिष्को उत्तराधिकारी हुनलाई तिमीहरू बोलाइएका हौ।

10 किनकि, ‘‘जसले जीवनलाई प्रेम गर्छ र असल दिनहरू देख्‍‌ने इच्छा गर्दछ, त्यसले आफ्‍‌नो जिब्रोलाई खराबीबाट र आफ्‍‌नो ओठलाई छली कुरा बोल्‍‌नबाट अलग राखोस्।

11 त्यो खराबीबाट फर्कोस् र असल गरोस्, त्यसले शान्तिको खोजी गरोस् र त्यसको पछि लागोस्।

12 किनकि परमेश्वरको दृष्टि धर्मात्माहरूमाथि रहन्छ र उहाँका कान तिनीहरूका प्रार्थनातिर खुला हुन्छन् तर परमप्रभुको मुहार खराबीगर्नेहरूका विरुद्धमा हुन्छ।’’

13 यदि तिमीहरू भलाइ गर्न उत्साहित हुन्छौ भने तिमीहरूको हानि गर्ने को हुन्छ र?

14 तर यदि धार्मिकताको निम्ति तिमीहरूले दु:ख भोग्‍‌नुपर्‍यो भने पनि तिमीहरू धन्यका हौ, ‘‘तिनीहरूका धम्कीको डर नमान र भयभीत नहोओ।’’

15 तर ख्रीष्टलाई प्रभु मानेर तिम्रा हृदयमा उहाँको श्रद्धा गर। तिमीहरूमा भएको आशाको कारण तिमीहरूसँग सोध्‍‌नेहरू हरेकलाई नम्रता र सम्मानसाथ जवाफ दिन सधैँ तयार भइरहो।

16 तिमीहरूका विवेक शुद्ध राख, यसैले कि तिमीहरूका विरोधमा बोल्‍‌नेहरू र ख्रीष्टमा तिमीहरूका चालचलनको निन्दा गर्नेहरू लज्जित होऊन् ।

17 किनकि परमेश्वरको इच्छा यस्तै छ भने खराबी गर्नमा भन्दा असल काम गर्नमा नै दु:ख भोग्‍‌नु उत्तम हो।

18 किनभने हामीलाई परमेश्वरकहाँ ल्याउन ख्रीष्ट पनि हाम्रा सम्पूर्ण पापका निम्ति सदाको लागि एकचोटि मर्नुभयो, उहाँ धर्मीजन भएर अधर्मीहरूको निम्ति शरीरमा मारिनुभयो तर आत्माद्वारा जीवित पारिनुभयो,

19 जुन आत्मामा उहाँ जानुभयो र कैदमा भएका आत्माहरूलाई पनि प्रचार गर्नुभयो।

20 ती आत्माहरूले प्राचीनकालमा आज्ञापालन गरेनन्, जब नोआको समयमा जहाज बनाउँदा परमेश्वरले धैर्य धारण गरी पर्खिनुभएको थियो। त्यस जहाजमा थोरै अर्थात् आठ जना मात्र पानीद्वारा बचाइए।

21 यही पानी बप्तिस्माको एउटा प्रतीक हो, जसले तिमीहरूलाई बचाउँछ। यो शरीरको मैला हटाएजस्तो होइन। तर शुद्ध विवेकको निम्ति परमेश्वरतर्फको एउटा प्रतिज्ञा हो, यसले मृतकबाट भएको येशू ख्रीष्टको पुनरुत्थानद्वारा तिमीहरूलाई बचाउँछ।

22 उहाँ स्वर्ग जानुभएको छ र परमेश्वरका दाहिने बाहुलीपट्टि विराजमान हुनुहुन्छ, स्वर्गदूतहरू, अख्तियारहरू र शक्तिहरू उहाँकै अधीनमा राखिएका छन्।




4

1 यसकारण जसरी ख्रीष्टले शरीरमा दु:ख भोग्‍‌नुभयो, त्यसरी नै तिमीहरूले पनि त्यही प्रकारको मन भएको हतियार धारण गर, किनकि जसले शरीरमा दु:ख भोगेको छ, त्यसले पाप गर्न छोडेको हुन्छ।

2 यसरी त्यसले आफ्‍‌नो जीवनको बाँकी समय फेरि शरीरको अभिलाषामा होइन तर परमेश्वरको इच्छामा बिताउँछ ।

3 किनकि बितेका दिनमा अयहूदीहरूले गरेझैँ तिमीहरूले व्यभिचार, कुवासना, मद्यपान, मोजमज्जा, पियक्कडपन र घृणित मूर्त्तिपूजामा प्रशस्त समय बितायौ।

4 तिमीहरू तिनीहरूसँग दुष्टताको बाटोमा नहिँडेका देखेर तिनीहरू छक्क पर्छन् र तिमीहरूको बदख्वाइँ गर्छन्।

5 तर जिउँदो र मृतकहरूका न्याय गर्न तत्पर हुनुहुनेलाई तिनीहरूले लेखा दिनुपर्नेछ।

6 यसैकारण मृतकहरूलाई पनि सुसमाचार सुनाइयो, यसैले कि तिनीहरूले मानिसहरूजस्तै शरीरमा न्याय पाऊन् तर आत्मामा परमेश्वरका इच्छाअनुसार जिऊन्।

7 सबै कुराको अन्त नजिकै आएको छ। यसकारण तिमीहरू सचेत होओ र प्रार्थनामा जागा रहो ।

8 सबैभन्दा बढी एक-अर्काप्रति तिमीहरूको प्रेम अटूट रहोस् किनकि प्रेमले नै असङ्ख्य पाप ढाक्‍‌नेछ।

9 एउटाले अर्काको बिनागनगन अतिथिसत्कार गर।

10 जसले जस्तो वरदान पाएको छ, परमेश्वरका अनुग्रहको विभिन्‍‌न वरदान पाएका असल भण्डारेझैँ ती एक-अर्काको निम्ति प्रयोग गर।

11 यदि कोही बोल्छ भने परमेश्वरको वाणीजस्तै गरी बोलोस्, कसैले सेवा गर्दछ भने परमेश्वरले दिनुभएको बलले गरोस् कि सबै कुरामा परमेश्वरको महिमा येशू ख्रीष्टद्वारा गरियोस्, जसको सदासर्वदा महिमा र पराक्रम छ, आमेन्।

12 प्रिय हो, तिमीहरूलाई जाँच गर्ने अग्‍‌निमय परीक्षा तिमीहरूमाथि आइपर्दा केही अनौठो कुरा भएजस्तै छक्क नपर।

13 तर ख्रीष्टका कष्टभोगमा सहभागी हुँदा रमाओ, यसैले कि उहाँको महिमा प्रकट हुँदा तिमीहरू पनि आनन्दित र हर्षित हुनसक।

14 यदि ख्रीष्टको नाउँमा तिमीहरू निन्दित भयौ भने, तिमीहरू धन्यका हौ। किनभने महिमा र परमेश्वरका आत्मा तिमीहरूमाथि रहनुहुन्छ। तिनीहरूबाट उहाँको निन्दा भएको हुन्छ तर तिमीहरूबाट उहाँको महिमा भएको हुन्छ।

15 तर तिमीहरूमध्ये कसैले पनि हत्यारा वा चोर वा खराबी गर्ने वा अर्काको कुरामा हात हाल्‍‌नेले झैँ दु:ख नभोग।

16 तर कसैले ख्रीष्टियन भएको कारण दु:ख भोग्छ भने उसले लाज नमानोस्, तर त्यही नाउँमा उसले परमेश्वरलाई महिमा देओस्।

17 किनभने न्याय परमेश्वरकै परिवारबाट शुरु हुने समय आएको छ, यदि यो हामीबाट शुरु हुन्छ भने परमेश्वरको सुसमाचार नमान्‍‌नेहरूको कस्तो अवस्था होला?

18 अनि ‘‘यदि धर्मीजनको मुक्ति कठिनसँग हुन्छ भने, अधर्मी र पापीको अवस्थाकस्तो होला?’’

19 यसकारण, परमेश्वरको इच्छाअनुसार दु:ख भोग्‍‌नेहरूले भलाइ गर्दै आफ्‍‌ना आत्मा विश्वसनीय सृष्टिकर्ताकहाँ सुम्पून्।




5

1 त्यसकारण ख्रीष्टका कष्टको साक्षी र प्रकट हुने महिमाको सहभागी भएको नाताले र एक सङ्गी-एल्डरको हैसियतले तिमीहरूमध्येका एल्डरहरूलाई म आग्रह गर्दछु।

2 तिमीहरूको देखरेखमा राखिएको परमेश्वरका बगालको करले होइन तर स्वेच्छाले, धनको लोभले होइन तर उत्साहसाथ हेरचाह गर।

3 तिमीहरूको जिम्मामा रहेकाहरूमाथि अधिकार जमाएर होइन, तर बगालको निम्ति उदाहरण भएर

4 र जब मूल गोठालो प्रकट हुनुहुनेछ, तब तिमीहरूले कहिले नओइलाउने महिमाको मुकुट पाउनेछौ।

5 त्यसैगरी जवान हो, एल्डरहरूका अधीनमा बस। एक-अर्काको अधीनमा बस्दै तिमीहरू सबैले नम्रताको वस्त्र धारण गर। किनभने, ‘‘परमेश्वरले घमण्डीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ।’’

6 यसकारण, परमेश्वरका शक्तिशाली बाहुलीमुनि तिमीहरूले आफैलाई विनम्र तुल्याओ र उहाँले उचित समयमा तिमीहरूलाई उच्च पार्नुहुनेछ।

7 तिमीहरूका सारा फिक्री उहाँलाई सुम्पिदेओ किनकि उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ।

8 सचेत रहो, जागा रहो, तिमीहरूका शत्रु शैतान कसलाई भेट्टाऊँ र निलिहालूँ भनी गर्जने सिंहझैँ खोजिहिँड्छ।

9 विश्वासमा दह्रिला भएर त्यसको विरोध गर, किनकि संसारभरि नै तिमीहरूका दाज्यू-भाइहरूले पनि त्यस्तै कष्टको अनुभव गरिरहनुपरेको छ।

10 अनि सबै अनुग्रहका परमेश्वरले ख्रीष्टमा आफ्‍‌नो अनन्त महिमाको निम्ति तिमीहरूलाई बोलाउनुभएको छ। तिमीहरूले केही बेर कष्ट भोगेपछि उहाँले नै तिमीहरूलाई फेरि नयाँ पार्नुहुनेछ, स्थिर गर्नुहुनेछ र शक्तिशाली पार्नुहुनेछ।

11 उहाँलाई महिमा र पराक्रम सधैँ भइरहोस्। आमेन्।

12 विश्वसनीय भाइ सिलासको सहायताद्वारा, छोटकरीमा मैले तिमीहरूलाई उत्साह दिँदै र गवाहीस्वरूप परमेश्वरको साँचो अनुग्रह यही नै हो भनी लेखाएको छु। यसमा तिमीहरू स्थिर रहो।

13 तिमीहरूसँगसँगै चुनिएको बेबिलोनमा भएको मण्डलीले, र मेरो छोरो मर्कूसले पनि, तिमीहरूलाई अभिवादन पठाएका छन्।

14 एउटाले अर्कोलाई प्रेमको चुम्बनले अभिवादन गर । ख्रीष्टमा भएका तिमीहरू सबैलाई शान्ति भइरहोस्।



AMAZING GRACE BIBLE INSTITUTE