1 JOHN

१ युहन्ना


Chapter 1

1 त्यस जीवनको वचनको विषयमा, जो शुरुदेखि नै हुनुहुन्थ्यो, जो हामीले सुनेका छौं र जसलाई हाम्रै आँखाहरूले देखेका छौं। जो हामीले हेर्‍यौं र हाम्रा आफ्‍‌नै हातहरूले छोएका छौं।

2 यो जीवन प्रकट भयो र हामीले उहाँलाई देख्यौं अनि पितासित हुनुभएको र हामीकहाँ प्रकट हुनुभएको अनन्त जीवनको तिमीहरूलाई साक्षी दिन्छौं र घोषणा गर्दछौं।

3 हामीले जे देखेका र सुनेका छौं, त्यही कुरा हामी तिमीहरूलाई घोषणा गर्दछौं, यसैले कि हामीसित तिमीहरूको सङ्गति होस् अनि हाम्रो सङ्गति पितासित र उहाँको पुत्र येशू ख्रीष्टसित छ ।

4 हामी यी कुरा यस उद्देश्यले लेखिरहेका छौं कि हाम्रो आनन्द पूर्ण होस्।

5 जुन सन्देश हामीले उहाँबाट सुन्यौ, त्यो हामी तिमीहरूलाई सुनाउँछौं, त्यो यही हो, कि परमेश्वर ज्योति हुनुहुन्छ अनि उहाँमा कति पनि अँध्यारो छैन।

6 यदि उहाँसँग हाम्रो सङ्गति छ भन्छौं तापनि अन्धकारमै हिँड्छौं भने हामीले झूट बोलेका हुन्छौं र हामी सत्यमा चलेका हुँदैनौं।

7 तर हामी ख्रीष्टझैँ परमेश्वरको उपस्थितिको ज्योतिमा हिँडेका छौं भने एक-अर्कासँग हाम्रो सङ्गति हुन्छ, र उहाँको पुत्र येशूको रगतले हामीलाई सबै प्रकारको पापबाट शुद्ध पार्छ।

8 यदि हामी, हामीमा पाप छैन भन्छौं भने हामीले आफैलाई धोका दिइरहेका हुन्छौं र हामीमा सत्यता हुँदैन।

9 तर, यदि हामीले उहाँको अघि आफ्‍‌ना सबै पाप स्वीकार गर्‍यौं भने उहाँ विश्वसनीय र धर्मी हुनुहुन्छ किनकि उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्छ र सबै प्रकारका अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्छ।

10 यदि हामीले पाप गरेका छैनौं भनेर दाबी गर्छौं भने हामीले उहाँलाई झूटो तुल्याउँछौं र हामीमा उहाँको वचन रहँदैन।




2

1 मेरा साना नानीहरू हो, म यी कुरा तिमीहरूले पाप नगर भनी तिमीहरूलाई लेखिरहेको छु। तर यदि कसैले पाप गर्‍यो भने पितासँग त्यसको पक्षमा बोलिदिनुहुने एक जना सहायक, धार्मिक येशू ख्रीष्ट हुनुहुन्छ,

2 उहाँ हाम्रा पापको निम्ति प्रायश्चित्तको बलिदान हुनुभएको छ। उहाँ हाम्रा पापको निम्ति मात्र बलिदान हुनुभएको होइन तर सारा संसारको पापको निम्ति पनि हो।

3 अनि हामी उहाँका आज्ञापालन गर्दछौं भने यसैबाट हामी उहाँलाई चिन्छौं भनी हामी थाहा पाउँछौं ।

4 यदि कसैले ‘म परमेश्वरलाई चिन्छु’ भन्छ, तर उहाँका आज्ञापालन गर्दैन भने त्यो झूट हो र त्यसमा सत्यता हुँदैन।

5 तर कसैले उहाँका वचन पालन गर्छ भने साँच्चै उसमा परमेश्वरको प्रेम सिद्ध भएको हुन्छ। यसैबाट हामी उहाँमा छौं भनी थाहा पाउँछौं।

6 जसले ‘म उहाँमा रहन्छु’ भन्छ, ऊ आफै पनि जसरि उहाँ हिँड्नुहुन्थ्यो, त्यसरि नै हिँड्नुपर्छ।

7 प्रिय हो, मैले तिमीहरूको निम्ति नयाँ आज्ञा लेखिरहेको छैन तर त्यही पुरानो आज्ञा, जुन शुरुदेखि नै तिमीहरूसित थियो। यो तिमीहरूले शुरुदेखि नै सुनेको वचन हो।

8 अघिदेखि नै चम्किरहेछ।

9 जसले ‘म ज्योतिमा छु’ भनी भन्छ, तर आफ्‍‌नो भाइलाई घृणा गर्छ भने त्यो व्यक्ति अझै पनि अन्धकारमा नै छ।

10 जसले आफ्‍‌ना भाइलाई प्रेम गर्छ, ऊ ज्योतिमा रहन्छ र उसमा ठेस लाग्‍‌ने कुनै कारण हुँदैन।

11 तर जसले आफ्‍‌नो भाइलाई घृणा गर्छ भने त्यो अन्धकारमा हुन्छ र अन्धकारमा नै हिँड्‌छ। ऊ कहाँ जाँदै छ भन्‍‌ने कुरा आफैले जान्दैन, किनकि अन्धकारले उसको अँाखालाई अन्धो पारेको हुन्छ।

12 मेरा साना नानीहरू हो, म तिमीहरूलाई लेख्दै छु, किनभने उहाँका नाउँका खातिर तिमीहरूका पाप क्षमा गरिएका छन्‌।

13 बुबाहरू हो, म तिमीहरूलाई लेख्दै छु, किनभने येशू ख्रीष्ट, जो शुरुदेखि हुनुहुन्थ्यो, उहाँलाई तिमीहरूले चिनेका छौ। युवकहरू हो, म तिमीहरूलाई लेख्दै छु, किनभने तिमीहरूले त्यस दुष्टलाई जितेका छौ। मेरा साना नानीहरू हो, मैले तिमीहरूलाई लेखेको छु, किनभने तिमीहरूले पितालाई चिनेका छौ।

14 बुबाहरू हो, मैले तिमीहरूलाई लेखेको छु, किनभने शुरुदेखि हुनुहुनेलाई तिमीहरूले चिनेका छौ। युवकहरू हो, मैले तिमीहरूलाई लेखेको छु, किनभने परमेश्वरको वचन तिमीहरूमा रहेको हुनाले तिमीहरू बलिया छौ र तिमीहरूले त्यस दुष्ट शैतानलाई जितेका छौ।

15 संसार र यसमा भएका कुनै पनि वस्तुलाई प्रेम नगर, यदि कसैले संसारलाई प्रेम गर्छ भने पिताको प्रेम त्यस व्यक्तिमा हुँदैन।

16 पिताबाट आएका होइनन्‌ तर दुष्ट संसारबाट आएका हुन्‌।

17 अनि संसार र त्यसको अभिलाषा बितेर जानेछ। तर परमेश्वरको इच्छा पालन गर्ने व्यक्ति सधैँ जीवित रहन्छ।

18 मेरा साना नानीहरू हो, यो नै अन्तिम समय हो। तिमीहरूले ख्रीष्ट-विरोधी आउनेछ भनेर सुनेका छौ, अनि अहिले धेरै ख्रीष्ट-विरोधीहरू देखा परिसकेका छन्‌। हामी यसैबाट अन्तिम समय आइसकेछ भनेर थाहा पाउँदछौं।

19 यी मानिसहरू हाम्रो समूहबाट निस्केर गए, किनभने तिनीहरू वास्तवमा हाम्रा समूहका थिएनन्‌, किनकि तिनीहरू हाम्रा समूहका भए हामीसितै बस्‍‌ने थिए। जब तिनीहरू हामीलाई छोडेर गए, त्यसैबाट तिनीहरू हाम्रा थिएनन्‌ भन्‍‌ने कुरा प्रकट हुँदछ।

20 तर तिमीहरूको अभिषेक पवित्रजनद्वारा भएको छ र तिमीहरू सबै कुरा जान्दछौ।

21 यसैकारण तिमीहरूले सत्यलाई जान्दैनौ भनेर होइन तर तिमीहरू यो जान्दछौ कि झूट सत्यताबाट आउँदैन।

22 अब झूटो को हो त? जसले येशू नै ख्रीष्ट हुनुहुन्छ भन्‍‌ने कुरालाई इन्कार गर्छ, त्यही नै झूटो हो। जसले पिता र पुत्रलाई इन्कार गर्छ, त्यही ख्रीष्ट-विरोधी हो।

23 हरेक जसले पुत्रलाई इन्कार गर्छ, त्यससँग पिता पनि हुनुहुन्‍‌न। तर जसले पुत्रलाई स्वीकार गर्छ, त्यससँग पिता पनि हुनुहुन्छ।

24 यसकारण, जुन कुरा तिमीहरूले शुरुदेखि नै सुनेका छौ, ती कुरा तिमीहरूमा रहिरहोस्‌। यदि शुरुदेखि सुनेका ती कुरा तिमीहरूमा रहे भने तिमीहरूमा पुत्र र पिता पनि रहनुहुनेछ।

25 अनि

उहाँले हामीसित गर्नुभएको प्रतिज्ञा यही हो, अर्थात्‌ अनन्त जीवन,

26 किनभने तिमीहरूलाई बहकाउनेहरूको विषयमा मैले तिमीहरूलाई यी कुरा लेखेको छु।

27 तर तिमीहरूले उहाँबाट पाएका अभिषेक तिमीहरूमा रहिरहन्छ र तिमीहरूलाई कसैले सिकाउन आवश्यकता पर्दैन। तर उहाँको अभिषेकले तिमीहरूलाई सबै कुराका विषयमा सिकाउने हुनाले र यो झूटो होइन सत्य भएको हुनाले, तिमीहरूलाई सिकाएबमोजिम तिमीहरू उहाँमा रहिरहो।

28 अब, मेरा साना नानीहरू हो, तिमीहरू उहाँमा रहिरहो, यसैले कि उहाँ प्रकट हुनुहुँदा हामी शर्ममा पर्नु नपरोस्‌।

29 यदि उहाँ धर्मी हुनुहुन्छ भनी तिमीहरू जान्दछौ भने तिमीहरूले यो पनि जान्दछौ कि धार्मिकताको अभ्यास गर्ने सबै जना परमेश्वरबाट जन्मेका हुन्छन्‌।




3

1 हेर, पिताले हामीलाई कस्तो किसिमले प्रेम गर्नुभएको छ, कि हामी उहाँका सन्तान कहलिनुपर्छ र हामी त्यसै हौं पनि। तर यस संसारले उहाँलाई नचिनेको हुनाले, त्यसले हामीलाई पनि चिन्दैन।

2 प्रिय हो, अब हामीहरू साँच्चै नै परमेश्वरका सन्तान हौं र हामी कस्ता हुनेछौं भन्‍‌ने कुरा अझ प्रकट भएको छैन। तर हामीलाई थाहा छ कि जब उहाँ देखा पर्नुहुनेछ, हामी उहाँजस्तै हुनेछौं , किनकि उहाँ जस्तो हुनुहुन्छ उहाँलाई हामी त्यस्तै देख्‍‌नेछौं।

3 अनि उहाँमा यो आशा राख्‍‌ने हरेक मानिसले जस्तो उहाँ शुद्ध हुनुहन्छ, त्यस्तैगरी आफूलाई शुद्ध पार्दछ।

4 हरेक जसले पाप गर्दछ, त्यसले व्यवस्था पनि भङ्ग गर्दछ, किनभने व्यवस्था भङ्ग गर्नु नै पाप हो।

5 हामी जान्दछौं कि हामीलाई पापबाट अलग गराउनलाई नै उहाँ प्रकट हुनुभयो र उहाँमा कुनै पाप छैन।

6 यसकारण उहाँमा रहने कसैले पनि पाप गर्दैन। तर हरेक जसले पाप गर्दछ, त्यसले उहाँलाई न त देखेको छ, न चिनेको नै छ।

7 मेरा साना नानीहरू हो, कसैले पनि तिमीहरूलाई धोका दिन नपाओस्, जसले धार्मिकताको अभ्यास गर्दछ, ऊ धर्मी हो, जस्तो ख्रीष्ट धर्मी हुनुहुन्छ।

8 तर जसले पाप गरिरहन्छ त्यो व्यक्ति शैतानबाटको हो, किनकि त्यसले शुरुदेखि नै पाप गर्दै आइरहेको छ। तर परमेश्वरका पुत्र शैतानका कामहरू नष्ट गर्नलाई आउनुभयो।

9 परमेश्वरको सन्तान भएर जन्मेका हरेकले पाप गरिरहँदैन, किनभने उहाँको स्वभाव त्यसमा रहेको हुन्छ र त्यसले पाप गरिरहन सक्दैन, किनकि त्यो परमेश्वरबाट जन्मेको हो।

10 यसैबाट परमेश्वरको सन्तान र शैतानको सन्तान को हो भन्‍‌ने कुरा प्रकट हुन्छ। हरेक जसले धार्मिकताको अभ्यास गर्दैन र आफ्‍‌नो दाज्यू-भाइलाई प्रेम गर्दैन त्यो परमेश्वरबाटको होइन।

11 तिमीहरूले शुरुदेखि सुनेको सन्देश यही हो : हामीले एक-अर्कालाई प्रेम गर्नुपर्छ।

12 हामी दुष्टबाटको कयिनजस्तो हुनुहुँदैन, जसले आफ्‍‌नो भाइको हत्या गर्‍यो। किन त्यसले आफ्‍‌नो भाइको हत्या गर्‍यो? किनभने त्यसका कार्यहरू दुष्ट थिए र त्यसको भाइका कार्यहरू धार्मिक थिए।

13 प्रिय भाइहरू हो, यदि संसारले तिमीहरूलाई घृणा गर्छ भने तिमीहरू अचम्म नमान।

14 हामीले आफ्‍‌ना भाइहरूलाई प्रेम गरेका हुनाले हामीहरू मृत्युबाट जीवनमा सरेका कुरा जान्दछौं। तर जसले आफ्‍‌ना भाइहरूलाई प्रेम गर्दैन त्यो अझै पनि मृत्युमा नै रहन्छ।

15 जसले आफ्‍‌ना दाज्यू-भाइलाई घृणा गर्छ त्यो साँच्चै नै हत्यारा हो अनि कुनै पनि हत्यारासित अनन्त जीवन हुँदैन भन्‍‌ने कुरा तिमीहरू जान्दछौ ।

16 यसैमा हामीले परमेश्वरको प्रेम के हो थाहा पाउँछौं, किनभने उहाँले हाम्रा निम्ति आफ्‍‌नो प्राण अर्पण गर्नुभयो, यसैकारण हामीले पनि आफ्‍‌नो दाज्यू-भाइका निम्ति आफ्‍‌नो प्राण अर्पण गर्नुपर्छ।

17 तर कसैसित यस संसारको प्रशस्त धनसम्पत्ति छ र आफ्‍‌नो दाज्यू-भाइहरू खाँचोमा परेको देखेर पनि उनीहरूलाई सहायता गर्न इन्कार गर्छ भने परमेश्वरको प्रेम त्यस व्यक्तिमा कसरी वास गर्न सक्छ र?

18 मेरा साना नानीहरू हो, हामी एक-अर्कालाई शब्द र बोलीले मात्र प्रेम नगरौं तर कार्य र सत्यतामा प्रेम गरौं।

19 यसैद्वारा हामी सत्यताबाटका रहेछौं भनी थाहा पाउँछौं र उहाँको सामुन्‍‌ने हाम्रो हृदयलाई ढाडस दिनसक्छौं।

20 किनकि यदि हाम्रो हृदयले हामीलाई दोष दिए तापनि परमेश्वर त हाम्रो हृदयभन्दा महान् हुनुहुन्छ र उहाँले सबै कुरा जान्‍‌नुहुन्छ।

21 प्रिय हो, यदि हाम्रो हृदयले हामीलाई दोष दिँदैन भने हामी परमेश्वरकहाँ हिम्मतसाथ आउन सक्छौं।

22 अनि हामी उहाँलाई जे माग्छौं सो उहाँबाट पाउँदछौं, किनभने हामी उहाँका आज्ञापालन गर्दछौं र उहाँका दृष्टिमा मनपर्दो कार्य गर्दछौं।

23 अनि उहाँको आज्ञा यही हो, हामीले उहाँको पुत्र, येशू ख्रीष्टमा विश्वास गर्नुपर्छ र उहाँले हामीलाई आज्ञा दिनुभएअनुसार एक-अर्कालाई प्रेम गर्नुपर्छ।

24 जसले उहाँका आज्ञापालन गर्दछ, ऊ उहाँमा रहन्छ र उहाँ उसमा रहनुहुन्छ। अनि उहाँले हामीलाई दिनुभएको पवित्र आत्माद्वारा उहाँ हामीभित्र वास गर्नुहुन्छ भनी हामी जान्दछौं।




4

1 प्रिय हो, जुनसुकै आत्मालाई विश्वास नगर, तर आत्माहरू परमेश्वरबाट आएका हुन् कि होइनन् तिनीहरूलाई जाँचेर हेर, किनभने अहिले यस संसारमा धेरै झूटा अगमवक्ताहरू छन्।

2 यसरी नै तिमीहरूले परमेश्वरको आत्मालाई चिन्छौ: येशू ख्रीष्ट मानव शरीरमा आउनुभएको हो भनी स्वीकार गर्ने हरेक आत्मा परेमश्वरबाटको हो।

3 अनि येशू ख्रीष्ट शरीरमा आउनुभएको हो भनी स्वीकार नगर्ने हरेक आत्मा परमेश्वरबाटको होइन। यस किसिमको आत्मा ख्रीष्ट-विरोधी आत्मा हो। त्यो यस संसारमा आउँछ भनेर जसको विषयमा तिमीहरूले सुनेका थियौ अनि अघि नै आइसकेको छ।

4 साना नानीहरू हो, तिमीहरू परमेश्वरबाटका हौ। तिमीहरू ती झूटा अगमक्ताहरूमाथि विजयी भएका छौ, किनभने जो तिमीहरूमा हुनुहुन्छ, उहाँ संसारमा हुनेभन्दा महान् हुनुहुन्छ।

5 ती मानिसहरू यस संसारका हुन्, यसकारण तिनीहरू संसारकै कुरा गर्दछन् र संसारले तिनीहरूका कुरा सुन्छ।

6 तर हामी परमेश्वरका हौं। जसले परमेश्वरलाई चिन्छ उसले हाम्रो कुरा सुन्छ। यदि तिनीहरू परमेश्वरका होइनन् भने हाम्रा कुरा पनि सुन्दैनन्। यसैबाट हामी सत्यका आत्मा र भ्रमको आत्मालाई चिन्छौं।

7 प्रिय हो, हामी एक-अर्कालाई प्रेम गरौं, किनकि प्रेम परमेश्वरबाट आउँछ। प्रेम गर्ने हरेक व्यक्ति परमेश्वरबाट जन्मेको हुन्छ र परमेश्वरलाई चिन्छ।

8 हरेक व्यक्ति जसले प्रेम गर्दैन, त्यसले परमेश्वरलाई चिन्दैन, किनकि परमेश्वर प्रेम हुनुहुन्छ।

9 परमेश्वरले हामीलाई कति धेरै प्रेम गर्नुभएको छ भन्‍‌ने कुरा हामी यसैबाट थाहा पाउँछौं, किनकि हामी उहाँद्वारा जिउन सकौं भनेर उहाँले आफ्‍‌नो पुत्रलाई यस संसारमा पठाउनुभयो।

10 यो नै वास्तविक प्रेम हो। हामीले परमेश्वरलाई प्रेम गरेका होइनौं तर उहाँले हामीलाई प्रेम गर्नुभयो र आफ्‍‌नो एकमात्र पुत्रलाई हाम्रो पापको निम्ति क्षतिपूर्त्ति हुन पठाउनुभयो।

11 प्रिय हो, यदि परमेश्वरले हामीलाई यसरी प्रेम गर्नुभयो भने निश्चय नै हामीले पनि एक-अर्कालाई प्रेम गर्नैपर्छ।

12 कसैले परमेश्वरलाई कहिल्यै देखेको छैन। तर यदि हामीले एक-अर्कालाई प्रेम गर्‍यौं भने परमेश्वर हामीमा रहनुहुन्छ र उहाँको प्रेम हामीमा पूर्ण भएको हुन्छ।

13 यसैले हामी जान्दछौं कि हामी उहाँमा र उहाँ हामीमा रहनुहुन्छ किनभने उहाँले हामीलाई आफ्‍‌नो आत्मा दिनुभएको छ।

14 अनि अझै भन्‍‌नुपर्दा, हामीले उहाँलाई आफ्‍‌नै आँखाले देखेका छौं र परमेश्वर पिताले आफ्‍‌नो पुत्रलाई संसारको मुक्तिदाता हुनलाई पठाउनुभयो भनी हामी अहिले गवाही दिन्छौं।

15 कसैले येशू परमेश्वरका पुत्र हुनुहुन्छ भनी स्वीकार गर्छ भने परमेश्वर त्यो व्यक्तिमा वास गर्नुहुन्छ र त्यो व्यक्ति उहाँमा जिउँछ

16 अनि हामीप्रति परमेश्वरले कति धेरै प्रेम गर्नुभएको छ भन्‍‌ने कुरा हामी जान्दछौं र हामी उहाँमा विश्वास गर्दछौं। परमेश्वर प्रेम हुनुहुन्छ र जो प्रेममा रहन्छ। त्यो परमेश्वरमा रहन्छ अनि परमेश्वर त्यसमा रहनुहुन्छ।

17 न्यायको दिनमा हामी निर्धक्क हुनसकौं भनेर प्रेम हामीमा सिद्ध भएको छ, किनकि उहाँ जस्तो हुनुहुन्छ, हामी पनि यस संसारमा त्यस्तै छौं।

18 प्रेममा डर हुँदैन, तर सिद्ध प्रेमले सबै किसिमको डरलाई हटाउँछ। किनकि डरमा पीडा समावेश हुन्छ, जो डराउँछ ऊ प्रेममा सिद्ध पारिएको छैन।

19 हामी उहाँलाई प्रेम गर्छौं, किनभने उहाँले पहिले हामीलाई प्रेम गर्नुभयो।

20 यदि कसैले ‘म परमेश्वरलाई प्रेम गर्छु’ भन्छ, तर आफ्‍‌नो दाज्यू-भाइलाई घृणा गर्छ भने त्यो व्यक्ति झूट हो, किनकि जसले आफूले देखेको आफ्‍‌नो दाज्यू-भाइलाई प्रेम गर्दैन, त्यसले नदेखेको परमेश्वरलाई कसरी प्रेम गर्नसक्छ र?

21 अनि हामीले उहाँबाट यो आज्ञा पाएका छौं कि जसले परमेश्वरलाई प्रेम गर्छ, त्यसले आफ्‍‌नो भाइलाई पनि प्रेम गर्छ।




5

1 हरेक व्यक्ति जसले येशू नै ख्रीष्ट हुनुहुन्छ भनी विश्वास गर्छ, ऊ परमेश्वरबाट जन्मेको हुन्छ। अनि हरेक जसले जन्माउनु हुनेलाई प्रेम गर्छ, उसले उनलाई पनि प्रेम गर्छ, जो उहाँबाट जन्मिएको हुन्छ ।

2 जब हामी परमेश्वरलाई प्रेम गर्छौं र उहाँका आज्ञापालन गर्छौं तब यसैबाट हामी परमेश्वरका सन्तानलाई प्रेम गर्छौं भनेर थाहा पाउँछौं।

3 परमेश्वरलाई प्रेम गर्नु भनेको उहाँको आज्ञापालन गर्नु हो अनि उहाँका आज्ञा कठिन छैनन्।

4 किनभने परमेश्वरबाट जन्मेको प्रत्येकले संसारलाई जितेको छ र संसारलाई जित्‍‌ने विजय हाम्रो विश्वास हो।

5 अनि येशू नै परमेश्वरका पुत्र हुनुहुन्छ भनी विश्वास गर्नेबाहेक संसारमाथि विजय हुने अरु को हो र?

6 उहाँ उही हुनुहुन्छ, जो पानी र रगतद्वारा आउनुभयो अर्थात् येशू ख्रीष्ट, जो पानीद्वारा मात्र होइन तर पानी र रगतद्वारा आउनुभयो। अनि गवाही दिनुहुने आत्मा नै हुनुहुन्छ, किनकि आत्मा सत्य हुनुहुन्छ।

7 किनकि स्वर्गमा गवाही दिने तीन जना हुनुहुन्छ - पिता, वचन र पवित्र आत्मा, यी तीन एकै हुनुहुन्छ।

8 पृथ्वीमा गवाही दिने तीन जना छन् - आत्मा, पानी र रगत अनि यी तीन एउटै कुरामा सहमत छन्।

9 यदि हामी मानिसहरूको गवाही त ग्रहण गर्छौं भने परमेश्वरबाट आएको गवाही त झन् महान् छ। किनकि परमेश्वरको गवाही यही हो, जुन उहाँले आफ्‍‌नो पुत्रको विषयमा दिनुभएको छ।

10 जसले परमेश्वरको पुत्रमाथि विश्वास गर्छ, त्यसको आफैमा गवाही हुन्छ, जसले परमेश्वरमा विश्वास गर्दैन, त्यसले उहाँलाई झूट तुल्याउँछ, किनभने परमेश्वरले आफ्‍‌नो पुत्रको विषयमा दिनुभएको गवाहीलाई त्यसले विश्वास गरेको हुँदैन।

11 अनि गवाही यही हो, कि उहाँले हामीलाई अनन्त जीवन दिनुभयो, यो जीवन उहाँको पुत्रमा छ।

12 यसकारण जससँग परमेश्वरका पुत्र हुनुहुन्छ, त्यससित जीवन छ, जससँग परमेश्वरका पुत्र हुनुहुन्‍‌न, त्यससित जीवन छैन।

13 यी कुरा मैले तिमी परमेश्वरका पुत्रको नाउँमा विश्वास गर्नेहरूलाई लेखेको छु कि तिमीहरूसित अनन्त जीवन छ भन्‍‌ने कुरा तिमीहरूलाई थाहा होस् र तिमीहरूले परमेश्वरका पुत्रको नाउँमा विश्वास गर।

14 अनि उहाँमा भएको हाम्रो दृढविश्वास यही हो कि यदि हामीले उहाँको इच्छाअनुसार जे कुरा मागे तापनि उहाँले हाम्रो विन्ती सुन्‍‌नुहुन्छ।

15 यदि हामीले जेसुकै कुरा मागे तापनि उहाँले हाम्रो विन्ती सुन्‍‌नुहुन्छ भनी जान्दछौं भने हामीले उहाँसँग जे मागेका छौं त्यो पाएका पनि छौं भनी हामी जान्दछौं।

16 यदि कसैले आफ्‍‌नो दाज्यू-भाइलाई मृत्युसम्म नपुर्‍याउने किसिमको पाप गरेको देख्यो भने, त्यसले प्रार्थना गरोस् र परमेश्वरले ती मृत्युसम्म नपुर्‍याउने पाप गर्नेहरूका निम्ति जीवन दिनुहुनेछ। तर मृत्युसम्म पुर्‍याउने पाप पनि हुन्छ र त्यसको निम्ति प्रार्थना गरोस् भनी म भन्दिनँ।

17 सबै अधर्म पाप हो तर मृत्युसम्म नपुर्‍याउने पाप पनि हुन्छ।

18 हरेक जो परमेश्वरबाट जन्मेको हुन्छ त्यसले पाप गर्दैन भनी हामी जान्दछौं, किनभने परमेश्वरका पुत्रले त्यसलाई सुरक्षित राख्‍‌नुहुन्छ र दुष्टले त्यसलाई छुनै सक्तैन।

19 हामी परमेश्वरका सन्तान हौं, र सारा संसार त्यस दुष्टको अधीनमा परेको छ भन्‍‌ने कुरा हामी जान्दछौं।

20 हामी जान्दछौं कि परमेश्वरका पुत्र आउनुभएको छ, र जो सत्य परमेश्वर हुनुहुन्छ, उहाँलाई चिन्‍‌नसकौं भनेर उहाँले हामीलाई समझशक्ति दिनुभएको छ। अनि अहिले हामी उहाँमा छौं, किनकि हामी उहाँको पुत्र येशू ख्रीष्टमा छौं। उहाँ नै सत्य परमेश्वर र अनन्त जीवन हुनुहुन्छ।

21 मेरा साना नानीहरू हो, मूर्त्तिहरूबाट तिमीहरू आफैलाई जोगाओ।



AMAZING GRACE BIBLE INSTITUTE