1 CORINTHIANS

१ कोरिन्थी


Chapter 1

1 परमेश्वरको इच्छाद्वारा येशू ख्रीष्टको प्रेरित हुनलाई बोलाइएका पावल र हाम्रो भाइ सोस्थेनेसबाट,

2 कोरिन्थमा भएको परमेश्वरको मण्डलीलाई, जो ख्रीष्ट येशूमा पवित्र भएको छ र तिनीहरूका साथसाथै हरेक स्थानमा सन्त हुनलाई बोलाइएकाहरू सबैलाई, ज-जसले प्रभु येशू ख्रीष्टको नाउँ पुकार्दछन्, जो तिनीहरू र हाम्रा प्रभु हुनुहुन्छ :

3 परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्टबाट तिमीहरूलाई अनुग्रह र शान्ति।

4 ख्रीष्ट येशूमा तिमीहरूलाई दिइएको परमेश्वरका अनुग्रहको कारण तिमीहरूका निम्ति म परमेश्वरमा सधैँ धन्यवाद चढाउँछु।

5 हरेक कुरामा तिमीहरू उहाँमा धनी तुल्याइएका छौ अर्थात् सबै बोलीवचनमा र सारा ज्ञानमा,

6 जसरी ख्रीष्टसम्बन्धी साक्षी पनि तिमीहरूमा पुष्टि भएको छ,

7 यहाँसम्म कि हाम्रा प्रभु येशू ख्रीष्टको प्रकाशको प्रतीक्षा गर्दा तिमीहरूलाई कुनै वरदानको पनि कमी छैन।

8 हाम्रा प्रभु येशू ख्रीष्टको दिनमा तिमीहरूलाई दोषरहित राख्‍‌न उहाँले तिमीहरूलाई अन्त्यसम्मै सुदृढ राख्‍‌नुहुनेछ।

9 परमेश्वर विश्वसनीय हुनुहुन्छ, जसद्वारा तिमीहरू उहाँका पुत्र, हाम्रा प्रभु येशू ख्रीष्टको सङ्गतिमा बोलाइयौ।

10 अब भाइहरू हो, प्रभु येशू ख्रीष्टको नाउँद्वारा म तिमीहरूलाई अर्ती दिँदछु कि तिमीहरू सबै एक अर्कोसँग सहमत होओ र तिमीहरूको माझमा केही फूट नहोस्। तिमीहरू विचार र उद्देश्यमा एकै मनका होओ।

11 किनकि भाइहरू हो, तिमीहरूमा झगडा छ भन्‍‌ने कुरा क्लोएका परिवारका सदस्यहरूले मलाई बताएका छन्।

12 तिमीहरूमध्ये कसैले ‘‘म पावलको,’’ कसैले ‘‘म अपोल्लसको,’’ कसैले ‘‘म केफासको,’’ र कसैले ‘‘म ख्रीष्टको हुँ,’’ भन्दै छौ अरे।

13 के ख्रीष्ट बाँडिनुभएको छ र? के पावल तिमीहरूको खातिर क्रूसमा टाँगियो र? वा के तिमीहरूले पावलको नाउँमा बप्तिस्मा लिएका थियौ र?

14 म परमेश्वरलाई धन्यवाद चढाउँछु कि मैले तिमीहरूमध्ये क्रिस्पस र गायसलाई बाहेक अरु कसैलाई पनि बप्तिस्मा दिएको छैन।

15 मेरो नाउँमा बप्तिस्मा भयौ भनी तिमीहरू कसैले पनि भन्‍‌न पाउनेछैनौ ।

16 (मैले स्तिफनसको परिवारलाई पनि बप्तिस्मा दिएँ। यस उप्रान्त, मैले अरु कसैलाई बप्तिस्मा दिएजस्तो लाग्दैन।)

17 किनभने ख्रीष्टले मलाई बप्तिस्मा दिन होइन तर सुसमाचार प्रचार गर्न पठाउनुभएको हो, बोलीको चतुर्‍याइँमा होइन, नत्र त ख्रीष्टको क्रूस व्यर्थ हुनेछ।

18 किनकि नष्ट भइरहेकाहरूका निम्ति क्रूसको सन्देश मूर्खता हो तर हामी उद्धार पाएकाहरूका निम्ति यो परमेश्वरको शक्ति हो।

19 किनभने लेखिएको छ, ‘‘म बुद्धिमान्हरूको बुद्धि नष्ट पार्नेछु र चतुरहरूको चतुर्‍याइँ विफल तुल्याउनेछु।’’

20 बुद्धिमान् कहाँ छ? शास्त्री कहाँ छ? यस युगका तर्क गर्नेहरू कहाँ छन् ? के परमेश्वरले संसारको ज्ञानलाई मूर्ख तुल्याउनु भएन र?

21 संसारले आफ्‍‌नै बुद्धिद्वारा परमेश्वरलाई चिन्‍‌न नसकेको हुनाले, उहाँको बुद्धिअनुसार हामीले प्रचार गरेको सुसमाचारको मूर्खताद्वारा नै विश्वास गर्नेहरूलाई बचाउन परमेश्वरले उचित ठहर्‍याउनुभयो।

22 यहूदीहरू चिन्ह माग्छन् र ग्रीकहरू बुद्धि खोज्छन्।

23 तर हामी क्रूसमा टाँगिनुभएको ख्रीष्टको प्रचार गर्छौं, जुन यहूदीहरूका निम्ति बाधा र अयहूदीहरूका निम्ति मूर्खता हो ।

24 तर बोलाइएका यहूदीहरू र अयहूदीहरू, दुवैका निम्ति ख्रीष्ट परमेश्वरको शक्ति र बुद्धि हुनुहुन्छ।

25 किनकि परमेश्वरको मूर्खता मानिसहरूको ज्ञानभन्दा श्रेष्ठ छ र परमेश्वरको दुर्बलता मानिसहरूको शक्तिभन्दा महान् छ।

26 भाइहरू हो, तिमीहरूको बोलावटलाई विचार गर, शरीरअनुसार धेरै जना ज्ञानी, शक्तिशाली र खानदानी थिएनौ।

27 ज्ञानीहरूलाई शर्ममा पार्नको निम्ति परमेश्वरले संसारका मूर्ख कुरालाई छान्‍‌नुभयो र शक्तिशालीलाई शर्ममा पार्न निर्बलहरूलाई छान्‍‌नुभयो ।

28 परमेश्वरले संसारका नीच र तुच्छ ठहरिएका कुरालाई चुन्‍‌नुभयो अनि भएका कुरालाई बेकम्मा तुल्याउनका निम्ति हुँदै नभएका कुरालाई चुन्‍‌नुभयो,

29 यसैले कि उहाँको सामु कुनै प्राणीले घमण्ड गर्न नपाओस्।

30 तर उहाँद्वारा नै तिमीहरू ख्रीष्टमा छौ, जो परमेश्वरबाट हाम्रा निम्ति बुद्धि, धार्मिकता, पवित्रता र छुटकारा ठहरिनुभएको छ,

31 यसैले लेखिएको छ, ‘‘गर्व गर्नेले प्रभुमा नै गर्व गरोस्।’’




2

1 भाइहरू हो, म तिमीहरूकहाँ आउँदा ठूला- ठूला कुरा र बुद्धिमा परमेश्वरको गवाहीको घोषणा गर्दै आइनँ।

2 किनकि तिमीहरूसँग हुँदा येशू ख्रीष्ट र उहाँलाई क्रूसमा टाँगेका कुराबाहेक अरु केही नजान्‍‌ने नै मैले निश्चय गरेको थिएँ।

3 म तिमीहरूकहाँ दुर्बलतामा अनि ज्यादै डर र कम्पसाथ आएँ।

4 मेरो उपदेश र प्रचार घत्लाग्दो र चतुर्‍याइँपूर्ण वाक्यहरूमा थिएन तर पवित्र आत्मा र शक्तिको प्रदर्शनमा थियो ।

5 यसैले कि तिमीहरूको विश्वास मानिसको बुद्धिमा होइन, तर परमेश्वरको शक्तिमा आधारित होस्।

6 तापनि परिपक्वहरूका बीचमा हामी बुद्धिका कुरा बोल्छौं तर यस युगको बुद्धि होइन, न त यस युगका शासकहरूको बुद्धि, जो निश्चय बितिजानेछ।

7 तर हामी परमेश्वरको गुप्त र लुकेको बुद्धिको प्रचार गर्छौं, जो युगौँयुगअघि हाम्रो महिमाको निम्ति परमेश्वरले नियुक्त गरिदिनुभयो।

8 जुन कुरा यस जगतका कुनै पनि शासकहरूले बुझेका छैनन्। किनकि तिनीहरूले बुझेका भएदेखि महिमाका प्रभुलाई क्रूसमा टाँग्‍‌ने नै थिएनन्।

9 तर जसरी यो लेखिएको छ, ‘‘आँखाले नदेखेका र कानले नसुनेका अनि मानिसले मनमा नसोचेका, यी नै कुरा परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूका निम्ति तयार पार्नुभएको छ।’’

10 किनभने परमेश्वरले आत्माद्वारा हाम्रा निम्ति यी कुरा प्रकाशमा ल्याउनुभएको छ, किनकि आत्माले सबै कुरा, यद्यपि परमेश्वरका गहिरा कुरा पनि खोजिनिकाल्‍‌नुहुन्छ।

11 मानिसको हृदयको कुरा ऊभित्र भएको आत्माबाहेक अरु कसले बुझ्‍‌नसक्छ र? त्यसरी नै परमेश्वरका विचारहरू पनि उहाँको आत्माबाहेक अरु कसैले जान्‍‌न सक्तैन।

12 परमेश्वरले हामीलाई सित्तँैमा दिनुभएका कुराका बारेमा जान्‍‌न सकौं भनेर हामीले संसारको होइन तर परमेश्वरबाटको आत्मा पाएका छौं।

13 जुन कुरा हामी प्रचार गर्छौं, ती कुरा मानिसहरूका बुद्धिले सिकाएका शब्दहरूमा होइन, तर आत्माले सिकाउनुभएअनुसार हामी आत्मिक विचारहरू र आत्मिक शब्दहरूमा बोल्दछौं।

14 तर स्वाभाविक मानिसले परमेश्वरका आत्माका कुरा ग्रहण गर्दैन, ती उसको निम्ति मूर्खता हुन्छन् र उसले ती कुरा बुझ्‍‌न सक्दैन, किनकि ती आत्मिक रीतिले जाँचिएका हुन्छन्।

15 तर आत्मिक मानिसले सबै कुरा जाँच्दछ तर ऊ, आफै कोही मानिसद्वारा जाँचिदैन।

16 किनकि कसले प्रभुको मनलाई जानेको छ र? अनि कसले उहाँलाई सिकाउन सक्छ? तर हामीसँग त ख्रीष्टको मन छ।




3

1 भाइहरू हो, तिमीहरूसँग बोल्दा म आत्मिक मानिसहरूसँगजस्तै बोल्‍‌न सकिनँ तर सांसारिक मानिस, ख्रीष्टमा दूधे बालकहरूसँग झैँ बोलेँ।

2 मैले तिमीहरूलाई दूधै खुवाएँ, खँदिलो खानेकुरा होइन, किनकि तिमीहरू अझै त्यसलाई ग्रहण गर्न सक्तैन थियौ, अझ पनि सक्तैनौ।

3 किनकि तिमीहरू अझ पनि शारीरिक नै छौ। किनभने जब तिमीहरूका बीचमा डाह र कलह छ, त के तिमीहरू शारीरिक चालमा चल्‍‌ने मानिसहरूजस्ता मात्र भएनौ र?

4 जब एउटाले ‘‘म पावलको हुँ’’ अनि अर्कोले ‘‘म अपोल्लसको हुँ’’ भन्छौ भने, के तिमीहरू शारीरिक मानिसहरू भएनौ र?

5 तब अपोल्लस को हो? अनि पावल को हो? प्रभुले हरेकलाई खटाउनुभएअनुसार सेवकहरू मात्र हुन्, जसद्वारा तिमीहरूले विश्वास गर्‍यौ।

6 मैले रोपेँ, अपोल्लसले पानी हाले तर परमेश्वरले नै बढाउनुभयो।

7 यसकारण रोप्‍‌ने केही होइन, न पानी हाल्‍‌ने तर परमेश्वर मात्र, जसले वृद्धि दिनुहुन्छ।

8 अब रोप्‍‌ने र पानी हाल्‍‌ने एकै समान हो तर हरेकले आ-आफ्‍‌नै मेहनतअनुसार इनाम पाउनेछन्।

9 किनकि हामी परमेश्वरका सहकर्मीहरू हौं, तिमीहरू परमेश्वरका खेत हौ, परमेश्वरका घर हौ।

10 मलाई दिइएको परमेश्वरको अनुग्रहअनुसार घर बनाउने निपुण कारीगरले जस्तै मैले जग बसालेँ अनि अब अरुले बनाउँदै लाँदै छन्। त्यसमाथि बनाउँदै जाने हरेक मानिसले कसरी बनाउँदै छ, त्यसमा ध्यान देओस् ।

11 किनकि जुन जग बसालिइसकिएको छ, जो येशू ख्रीष्ट हुनुहुन्छ, त्यसबाहेक कुनै मानिसले अर्को जग बसाल्‍‌न सक्दैन।

12 अब यदि कुनै मानिसले यस जगमाथि सुनचाँदी र बहुमूल्य पत्थर, काठ, घाँस र परालले निर्माण गर्छ भने

13 प्रत्येक मानिसको काम प्रकट हुनेछ, किनकि त्यस दिनले त्यो खुलस्त गरिदिनेछ। त्यो आगोद्वारा प्रकट हुनेछ र हरेकले कस्तो काम गरेको छ, सो आगोले जाँच गर्नेछ।

14 यदि कुनै मानिसले गरेको काम आगोबाट बाँच्यो भने त्यसले इनाम पाउनेछ।

15 यदि कुनै मानिसको काम जलेर नष्ट भयो भने उसले नोक्सानी भोग्‍‌नुपर्नेछ तर ऊ, आफै आगोबाट उम्केझैँ बाँच्‍‌नेछ।

16 तिमीहरू परमेश्वरका मन्दिर हौ र तिमीहरूमा परमेश्वरका आत्माले वास गर्नुहुन्छ भन्‍‌ने के तिमीहरूलाई थाहा छैन?

17 जसले परमेश्वरको मन्दिरलाई नष्ट पार्छ, परमेश्वरले उसलाई पनि नष्ट पार्नुहुन्छ । किनभने परमेश्वरको मन्दिर पवित्र छ र त्यो तिमीहरू नै हौ।

18 कुनै मानिसले आफैलाई धोका नदेओस्। यदि तिमीहरूमध्ये कसैले आफैलाई यस युगमा बुद्धिमान् ठान्छ भने त्यो मूर्ख बनोस् यसैले कि त्यो बुद्धिमान् बन्‍‌नसकोस्।

19 किनकि यो संसारको बुद्धि परमेश्वरको सामु मूर्खता हो। किनकि लेखिएको छ, ‘‘उहाँले बुद्धिमान्हरूलाई तिनीहरूको धूर्ततामा पक्रनुहुन्छ।’’

20 र फेरि, ‘‘बुद्धिमान्हरूका विचार व्यर्थ हुन् भनी परमप्रभु जान्‍‌नुहुन्छ।’’

21 यसैकारण कसैले मानिसहरूमाथि गर्व नगरोस्। किनकि सबै थोक तिमीहरूकै हुन्।

22 चाहे पावल, कि अपोल्लस, कि पत्रुस, अथवा संसार, वा जीवन वा मृत्यु, वा वर्तमान, कि भविष्य सबै तिमीहरूकै हुन्

23 अनि तिमीहरू ख्रीष्टका हौ र ख्रीष्ट परमेश्वरका हुनुहुन्छ।




4

1 मानिसहरूले हामीलाई ख्रीष्टका सेवकहरू र परमेश्वरका रहस्यहरूका भण्डारेहरू सम्झून्। हामी परमेश्वरका रहस्यहरू खोलिदिने भण्डारेहरू हौं ।

2 यसबाहेक यो कुरामा भण्डारेहरू विश्वसनीय पाइनुपर्छ।

3 तर तिमीहरूबाट वा मानिसको कुनै अदालतबाट मेरो न्याय हुनु मेरोनिम्ति धेरै सानो कुरा हो, म आफै पनि आफ्‍‌नो न्याय गर्दिनँ।

4 मेरो आफ्‍‌नै विरुद्धमा केही छ भन्‍‌ने कुरा मलाई थाहा छैन तर त्यसले मलाई निर्दोष साबित गर्दैन। मेरो न्याय गर्ने त प्रभु नै हुनुहुन्छ।

5 यसकारण प्रभु आउनुभन्दाअघि कुनै पनि कुराको न्याय गर्न हतार नगर । प्रभु आउनुभएपछि उहाँले अँध्यारोमा लुकेका कुरालाई उज्यालोमा ल्याउनुहुनेछ र मानिसका ह्रदयका अभिप्रायहरू प्रकट गरिदिनुहुनेछ । तब हरेक मानिसले परमेश्वरबाट प्रशंसा पाउनेछ।

6 भाइहरू हो ! मैले तिमीहरूका खातिर आफ्‍‌नै र अपोल्लसको विषयमा उदाहरण दिएको छु कि लेखिएको कुराभन्दा बढ्ता गर्नुहुन्‍‌न भन्‍‌ने तिमीहरूले हामीबाट सिक र तिमीहरूमध्ये कोही पनि एउटा अर्कोको विरुद्धमा घमण्डले नफुल।

7 अरुहरूभन्दा तिमीहरू कुन कुरामा फरक छौ? तिमीहरूसित के छ, जो तिमीहरूले पाएका छैनौ? अनि तिमीहरूले त्यो पाएका छौ भने मानौं त्यो वरदान तिमीले पाएका होइनौ जस्तै गरी किन तिमीहरू घमण्डले फुल्दछौ?

8 तिमीहरू तृप्त भइसकेका छौ। तिमीहरू धनी भइसकेका छौ। हामीबिना नै तिमीहरू राजा भएका छौ। तिमीहरूले साँच्चै राज्य गरेका भए हुन्थ्यो, यसैले कि हामी पनि तिमीहरूसँगै राज्य गर्नसकौं।

9 किनकि मलाई यस्तो लाग्छ, परमेश्वरले हामी प्रेरितहरूलाई मृत्युको निम्ति ठहराएझैँ गरी सबैभन्दा पछिल्तिर राख्‍‌नुभएको छ, किनकि हामी संंसारका निम्ति, स्वर्गदूतहरूका निम्ति र मानिसहरूका निम्ति तमासा बनाइएका छौं।

10 हामी ख्रीष्टको खातिर मूर्ख छौं तर तिमीहरू ख्रीष्टमा बुद्धिमान् छौ, हामी कमजोर छौं, तर तिमीहरू बलिया छौ, तिमीहरूले आदर पाएका छौ तर हामी तुच्छ गनिएका छौं।

11 यस घडीसम्म हामी भोका र प्यासा छौं, नाङ्गा छौं, दुर्व्यवहार गरिएका छौं, घरविहीन छौं।

12 हाम्रो जीविकाको निम्ति हामीले आफ्‍‌नै हातले काम गर्दै आएका छौं । हामीलाई सराप्‍‌नेहरूलाई हामी आशीर्वाद दिन्छौं। हामीले सतावट सहेका छौं।

13 निन्दित हुँदा हामी नम्रतापूर्वक बोल्छौं। अहिलेसम्म पनि हामी संसारका फोहोर र पृथ्वीमा फालिएका कसिङ्गर बनेका छौं।

14 तिमीहरूलाई शर्ममा पार्नलाई यी कुरा मैले लेखेको होइनँ तर मेरा प्यारा बालकहरूलाई जस्तै अर्ती दिएको मात्र हो।

15 किनकि तिमीहरूलाई ख्रीष्टबारे सिकाउनेहरू दश हजार भए पनि तिमीहरूका धेरै पिताहरू छैनन्। किनभने सुसमाचारद्वारा ख्रीष्ट येशूमा म तिमीहरूका पिता बनेँ।

16 यसकारण, तिमीहरूलाई मेरो आग्रह छ कि तिमीहरूले मेरो अनुकरण गर।

17 यसैले गर्दा म तिमोथीलाई तिमीहरूकहाँ पठाउँदै छु। तिनी प्रभुमा मेरा प्रिय र विश्वसनीय छोरो हुन्। मैले सबै ठाउँमा, सबै मण्डलीमा सिकाएअनुसार ख्रीष्टमा भएका मेरो चाल तिनले तिमीहरूलाई स्मरण गराउनेछन्।

18 मलाई थाहा छ कि म तिमीहरूकहाँ नआउने भन्‍‌ने ठानेर तिमीहरूमध्ये कति जना अहङ्कारी भएका छौ।

19 यदि प्रभुको इच्छा भयो भने म तिमीहरूकहाँ चाँडै आउनेछु र ती अहङ्कारी मानिसहरूको कुराको होइन तर तिनीहरूका शक्तिको पत्तो लगाउनेछु।

20 किनकि परमेश्वरको राज्य कुरामा होइन तर परमेश्वरको शक्तिमा छ।

21 तिमीहरू के इच्छा गर्छौ? म तिमीहरूकहाँ आउँदा छडी लिएर कि प्रेम र भद्रताको आत्मामा आऊँ?




5

1 तिमीहरूका बीचमा व्यभिचार छ भन्‍‌ने कुरा पक्का गरी सुनिएको छ, यस्तो व्यभिचार जो अयहूदीहरूको बीचमा पनि हुँदैन। तिमीहरूमध्ये कुनै एक जनाले आफ्‍‌नै बाबुकी स्वास्‍‌नी राखेको छ, भन्‍‌ने सुनिन्छ।

2 अनि तिमीहरू घमण्डले फुलेका छौ, यस्तो काम गर्ने तिमीहरूका बीचबाट निकालियोस् भनेर बरु तिमीहरूले विलाप गर्नुपर्थ्यो।

3 किनकि म शरीरमा उपस्थित नभए पनि आत्मामा तिमीहरूसँग छु। म उपस्थित भएझैँ गरी यस्तो काम गर्नेको न्याय मैले गरिसकेको छु।

4 जब तिमीहरू हाम्रा प्रभु येशू ख्रीष्टको नाउँमा भेला हुन्छौ र म आत्मामा तिमीहरूसँग उपस्थित हुन्छु अनि हाम्रा प्रभु येशूको शक्ति त्यहीँ हुन्छ।

5 मैले त्यस्तो मानिसलाई सङ्गतिबाट अलग गरेर शैतानको हातमा सुम्पिदिने निश्चय गरेको छु, यसैले कि त्यसको पापमय स्वभाव नाश होस् र प्रभु येशूको दिनमा त्यसको आत्मा बाँच्‍‌न सकोस्।

6 तिमीहरूको घमण्ड ठीक होइन। अलिकति खमीरले जम्मै ढिकालाई खमीरी बनाइहाल्छ भन्‍‌ने के तिमीहरूलाई थाहा छैन?

7 यसकारण पुरानो खमीर निकालेर शुद्ध पार र तिमीहरू एउटा नयाँ ढिका हुनसक। यस्तै अखमीरी तिमीहरू छौ पनि। किनकि ख्रीष्ट पनि, जो हाम्रो निस्तारको पाठो हुनुहुन्छ, हाम्रा निम्ति बलिदान हुनुभएको छ।

8 यसकारण हामी कुकर्म र दुष्टताको पुरानो खमीर हालेको रोटीले होइन, तर निष्कपटता र सत्यताको अखमीरी रोटीले चाड मनाऔं।

9 मैले तिमीहरूलाई व्यभिचारीहरूसँग सङ्गत नगर्नू भनी पत्रमा लेखेको थिएँ।

10 त्यसको अर्थ, यस संसारका व्यभिचारीहरू, लोभीहरू, लुटाहाहरू वा मूर्त्तिपूजकहरूसँग सङ्गत नगर्नू भनेको होइन, नत्र त तिमीहरू संंसारबाट नै निस्किजानुपर्थ्यो।

11 मैले भन्‍‌न चाहेको यो हो कि जसले आफैलाई विश्वासी हुँ भनी भन्छ तर वास्तवमा जो व्यभिचारी वा लोभी वा मूर्त्तिपूजक वा निन्दा गर्ने वा मतवाला वा लुटाहा हो, त्यस्तो मानिससँग त खान पनि नबस।

12 किनकि बाहिरकाहरूका न्याय गर्न मलाई के अधिकार छ ? के तिमीहरू मण्डलीभित्रकाहरूको न्याय गर्दैनौ र?

13 बाहिर हुनेहरूका न्याय परमेश्वरले नै गर्नुहुनेछ। ‘‘तिमीहरूले आफ्‍‌नो बीचबाट दुष्ट मानिसलाई निकालिदेओ।’’




6

1 तिमीहरूमध्ये एक जनाको आफ्‍‌नो छिमेकीसँग झगडा भएको छ भने न्यायको निम्ति सन्तहरूकहाँ नगएर अधर्मीहरूकहाँ जाने के त्यसले आँट गर्छ?

2 वा सन्तहरूले नै संसारको न्याय गर्छन् भन्‍‌ने के तिमीहरूलाई थाहा छैन? यदि तिमीहरूले नै संसारको न्याय गर्छौ भने सानाभन्दा साना कुराको न्याय गर्न के तिमीहरू अयोग्य छौ र?

3 हामी स्वर्गदूतहरूको न्याय गर्नेछौं भन्‍‌ने के तिमीहरूलाई थाहा छैन? उसो भए यस जीवनमा हुने कुरा कति ठूला हुन् र?

4 यसकारण तिमीहरूले यस जीवनसम्बन्धी कुराको न्याय गर्नुपर्दा के मण्डलीसँग सम्बन्ध नै नभएका व्यक्तिहरूलाई न्यायाधीशहरू तुल्याउँछौ?

5 तिमीहरूलाई शर्ममा पार्न म यो भन्दछु। दाज्यू-भाइहरू बीचको झगडा मिलाइदिनसक्‍‌ने बुद्धिमान् व्यक्ति के तिमीहरूको बीचमा कोही छैन र?

6 तर एउटा भाइ अर्को भाइको विरुद्धमा अदालतमा जान्छ, त्यो पनि विश्वास नगर्नेहरूका अघि !

7 एउटाले अर्काको विरुद्धमा मुद्दा लड्‍‌नु नै तिमीहरूको ठूलो हार हो। बरु अन्याय नै किन सहँदैनौ? बरु ठगिएर नै किन बस्दैनौं?

8 तर तिमीहरू आफै नै अन्याय गर्दछौ र ठग्छौ, त्यही पनि आफ्‍‌नै भाइ-बहिनीलाई !

9 अधर्मीहरू परमेश्वरका राज्यको हकदार हुँदैनन् भन्‍‌ने के तिमीहरूलाई थाहा छैन? धोका नखाओ, अनैतिकहरू, मूर्त्तिपूजकहरू, व्यभिचारीहरू, पुरुषवेश्याहरू, पुरुषगामीहरू, समलिङ्गीहरू,

10 चोरहरू, लोभीहरू, मतवालाहरू, निन्दा गर्नेहरू, लुटाहाहरू, परमेश्वरको राज्यका हकदार हुनेछैनन्।

11 तिमीहरूमध्ये कोही कोही यस्तै थियौ तर अब तिमीहरू धोइएका छौ, पवित्र पारिएका छौ। तिमीहरू प्रभु येशू ख्रीष्टको नाउँ र हाम्रा परमेश्वरको आत्माद्वारा धर्मी ठहराइएका छौ।

12 ‘सबै कुरा मेरोनिम्ति न्यायसङ्गत छन्’ तर सबै कुरा फाइदाजनक छैनन्। ‘सबै कुरा मेरोनिम्ति न्यायसङ्गत छन्’ तापनि म कुनै कुराको वशमा पर्दिनँ।

13 ‘भोजन पेटको निम्ति र पेट भोजनको निम्ति हो।’ तर परमेश्वरले यी दुवैलाई नाश गर्नुहुनेछ। शरीर व्यभिचारको निम्ति होइन तर प्रभुको निम्ति हो र प्रभु हाम्रो शरीरको निम्ति हुनुहुन्छ।

14 अब परमेश्वरले प्रभुलाई मात्र मरेकाहरूबाट जीवित पार्नुभएन तर उहाँको शक्तिद्वारा हामीलाई पनि जीवित पार्नुहुनेछ।

15 तिमीहरूका शरीर ख्रीष्टका अङ्गहरू हुन् भन्‍‌ने के तिमीहरूलाई थाहा छैन? तब के म ख्रीष्टका अङ्गहरूलाई लिएर तिनलाई वेश्याको अङ्गहरू तुल्याऊँ? यस्तो कदापि नहोस् !

16 वा वेश्यासित मिसिने व्यक्ति त्यससँग एक हुन्छ भन्‍‌ने कुरा के तिमीहरूलाई थाहा छैन? किनकि उहाँ भन्‍‌नुहुन्छ, ‘‘ती दुवै एउटै शरीर हुनेछन्।’’

17 तर जो प्रभुसँग एक हुन्छ, त्यो उहाँसँग आत्मामा एउटै हुन्छ।

18 व्यभिचारदेखि अलग बस। अरु जुनसुकै पाप जो मानिसले गर्दछ, त्यो शरीरबाट बाहिर हुन्छ तर व्यभिचार गर्ने मानिसले आफ्‍‌नै शरीरको विरुद्धमा पाप गर्छ।

19 तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो, जुन पवित्र आत्मा तिमीहरूले परमेश्वरबाट पाएका हौ, जो तिमीहरूभित्र रहनुहुन्छ भन्‍‌ने के तिमीहरूलाई थाहा छैन ? तिमीहरूको आफूमाथि कुनै अधिकार छैन।

20 किनभने तिमीहरू दाम तिरेर किनिएका हौ। यसकारण आफ्‍‌नो शरीरद्वारा परमेश्वरको महिमा गर।




7

1 अब तिमीहरूले पत्रमा लेखेका कुराका विषयमा: पुरुषले स्त्रीलाई नछोएकै राम्रो हो।

2 तर बढ्दो व्यभिचार भएकोले हरेक पुरुषको आफ्‍‌नै पत्‍‌नी होस् र हरेक स्त्रीको पनि आफ्‍‌नै पति होस्।

3 पतिले आफ्‍‌नी पत्‍‌नीतर्फको आफ्‍‌नो कर्तव्य पूरा गरोस् र यसरी नै पत्‍‌नीले पनि आफ्‍‌नो पतितर्फ त्यसै गरोस्।

4 पत्‍‌नीको आफ्‍‌नो शरीरमाथि आफ्‍‌नै अधिकार हुँदैन तर पतिको हुन्छ, यसरी नै पतिको पनि आफ्‍‌नै शरीरमाथि अधिकार हुँदैन तर उसको पत्‍‌नीको अधिकार हुन्छ।

5 पति-पत्‍‌नीले आफ्‍‌नो पारस्परिक संसर्गदेखि एक-अर्कालाई इन्कार नगर। इन्कार गर्‍यौ भने पनि आपसमा सल्लाह गरेर केही समयको निम्ति मात्र, यसैले कि तिमीहरू प्रार्थनामा लागिरहनसक। त्यसपछि फेरि एकसाथ बस,यसैले कि आत्मसंयमको अभावमा शैतानले तिमीहरूलाई परीक्षामा नपारोस्।

6 यो म तिमीहरूलाई आज्ञाको रूपमा होइन, तर अनुमतिको रूपमा भन्दछु।

7 सबै मानिसहरू मजस्तै होऊन् भन्‍‌ने म इच्छा गर्छु। तर हरेकसँग परमेश्वरबाट प्राप्त भएको आ-आफ्‍‌नो वरदान छ, एउटालाई एक किसिमको, अर्कोलाई अर्कै किसिमको।

8 अब अविवाहित र विधवाहरूलाई म भन्दछु, तिनीहरू मजस्तै भएर रहे भने तिनीहरूलाई असल हुनेछ।

9 तर यदि तिनीहरूले आफूलाई वशमा राख्‍‌न सक्दैनन् भने विवाह गरून् किनभने कामवासनामा जल्‍‌नुभन्दा विवाह गर्नु असल हो ।

10 अब विवाह गरेकाहरूलाई म कडा आज्ञा दिन्छु(म होइन, तर प्रभु दिनुहुन्छ), पत्‍‌नी पतिबाट छुट्टिएर नबसोस्।

11 तर छुट्टिएर बसिहाले तापनि त्यसले अर्कोसँग विवाह नगरोस्, बरु फर्केर आफ्‍‌नो पतिसँग मिलापमा बसोस् र पतिले आफ्‍‌नी पत्‍‌नीलाई नत्यागोस्।

12 अब बाँकी रहेका अरुलाई म भन्दछु (यो भनाइ मेरो हो, प्रभुको होइन), यदि कुनै विश्वासी पतिको अविश्वासी पत्‍‌नी छिन् र तिनी ऊसँग बस्‍‌न चाहन्छिन् भने उसले तिनलाई नत्यागून्।

13 त्यसरी नै यदि कुनै ख्रीष्टियन पत्‍‌नीको विश्वास नगर्ने पति छन् र उनी तिनीसित बस्‍‌न चाहन्छन् भने तिनले आफ्‍‌नो पतिलाई नत्यागून्।

14 किनकि विश्वास नगर्ने पति आफ्‍‌नो विश्वास गर्ने पत्‍‌नीमा पवित्र हुन्छन् र विश्वास नगर्ने पत्‍‌नी विश्वास गर्ने पतिमा पवित्र हुन्छिन्, नत्र त तिनीहरूका छोराछोरीहरू अशुद्ध हुन्छन् तर अब तिनीहरू शुद्ध पारिएका छन्।

15 तर यदि विश्वास नगर्ने छुट्टिन्छ भने छुट्टिओस्। यस्तो अवस्थामा त्यो विश्वास गर्ने पति अथवा पत्‍‌नी कुनै बन्धनमा रहनेछैन। किनभने परमेश्वरले हामीलाई शान्तिमा रहन बोलाउनुभएको हो।

16 किनकि हे पत्‍‌नी हो, तिमी के जान्दछ‍यौ, कहीँ तिमीले आफ्‍‌ना पतिलाई बचाउन सक्छ‍यौ कि? अथवा हे पति हो, तिमी के जान्दछौ, कहीँ तिमीले आफ्‍‌नी पत्‍‌नीलाई बचाउन सक्छौ कि?

17 प्रभुले हरेकलाई जस्तो जीवन खटाउनुभएको छ र जस्तो स्थितिमा बोलाउनुभएको छ, सोहीबमोजिम त्यो चलोस् । सबै मण्डलीहरूका निम्ति मेरो निर्देशन यही हो।

18 के कुनै मानिस खतना भएको अवस्थामा बोलाइएको छ? ऊ खतनाबिनाको नबनोस्। के कोही खतना नभएको अवस्थामा बोलाइएको छ? उसको खतना नगरियोस्।

19 खतना केही होइन र बेखतना पनि केही होइन तर परमेश्वरको आज्ञापालन गर्नु नै मुख्य कुरा हो।

20 प्रत्येक मानिसलाई जुन अवस्थामा बोलाइएको छ, त्यसैमा नै रहिरहोस्।

21 के तिमी दासको अवस्थामा बोलाइएका थियौ? तिमी त्यसको बारेमा फिक्री नगर तर तिमी स्वतन्त्र हुनसक्छौ भने बरु मौका नचुकाऊ।

22 किनकि परमेश्वरको बोलावट पाउँदा कोही मानिस दास थियो भने ऊ अब परमेश्वरद्वारा स्वतन्त्र पारिएको हो, त्यही किसिमले बोलावट हुँदा कोही मानिस स्वतन्त्र थियो भने ऊ अब ख्रीष्टको दास हो।

23 तिमीहरू दाम तिरेर किनिएका हौ, मानिसहरूका दास नबन।

24 यसकारण हे भाइ हो, जो जस्तो अवस्थामा बोलावट भएको छ, प्रत्येक त्यही अवस्थामा परमेश्वरसँग रहिरहोस्।

25 अब कन्याहरूका बारेमा प्रभुको आज्ञा मसित केही छैन । तर विश्वसनीय हुनलाई प्रभुबाट कृपा पाएअनुसार म आफ्‍‌नो सल्लाह दिन्छु।

26 वर्तमानको सङ्कष्टलाई विचार्दा जुन व्यक्ति जस्तो अवस्थामा छ, ऊ त्यसैमा नै रहे असल होला भन्‍‌ने ठान्दछु।

27 के तिमी विवाहको बन्धनमा परेका छौ? त्यसो भए स्वतन्त्र हुन नखोज। के तिमी विवाहको बन्धनबाट मुक्त छौ? त्यसो भए विवाह गर्न नखोज।

28 तर यदि तिमीले विवाह गर्‍यौ भने पनि पाप गरेका हुँदैनौ, कन्‍‌नेकेटीले विवाह गरेमा त्यो पाप हुँदैन, तापनि यस्ताहरूले शरीरमा कष्ट पाउनेछन् तर म तिमीहरूलाई जोगाउन चाहन्छु।

29 हे भाइहरू हो, म यो भन्दछु कि समय थोरै छ र अब उप्रान्त पत्‍‌नी हुनेहरू पत्‍‌नी नभएकाहरूजस्ता होऊन्।

30 अनि रुनेहरू नरुनेहरूजस्ता, आनन्द मनाउनेहरू पनि आनन्द नमनाउनेहरूजस्ता र किन्‍‌नेहरू पनि केही थोक नभएकाहरूजस्ता होऊन्

31 अनि यस संसारका थोक उपभोग गर्नेहरू तिनमा रुचि नलिनेहरूजस्ता होऊन्, किनभने यस संसारको वर्तमान रूप बितेर जाँदै छ।

32 तर तिमीहरू सबै निष्फिक्री होऊ भन्‍‌ने म चाहन्छु। विवाह नभएको मानिसले प्रभुलाई कसरी खुशी तुल्याऊँ भनेर प्रभुकै कुराको विषयमा फिक्री गर्दछ।

33 तर विवाहित मानिसले पत्‍‌नीलाई कसरी खुशी राखूँ भनेर सांसारिक कुरामा ध्यान लगाउँछ।

34 यस्तो मानिसको रुचि बाँडिएको हुन्छ। अनि अविवाहित स्त्रीले शरीर र आत्मा दुवैमा कसरी पवित्र रहूँ भनेर प्रभुकै कुरा सोचिरहन्छे। तर विवाह भएकीले कसरी आफ्‍‌ना पतिलाई खुशी राखूँ भनी संसारका कुरामा मन लगाउँछे।

35 यो कुरा तिमीहरूमाथि प्रतिबन्ध लगाउनलाई होइन तर तिमीहरूका भलाइका खातिर नै भनिरहेको छु कि तिमीहरूले प्रभुलाई एकोहोरो भक्ति देखाएर ठीक किसिमले जीवन बिताउनसक।

36 यदि कसैले आफूले मगनी गरेको कन्यासित अनुचित व्यवहार गरेझैँ लाग्छ, त्यस कन्याको उमेर पनि ढल्कँदै जाँदै छ र उसलाई विवाह गर्नुपर्छ जस्तो लाग्छ भने उसले कुनै पाप गरेको हुँदैन, तिनीहरूले विवाह गर्नुपर्छ।

37 तर जुन मानिसले आफ्‍‌नो मन पक्का गरिसकेको छ, जो कुनै करकापमा छैन तर आफ्‍‌नो इच्छालाई वशमा राख्‍‌नसक्छ भने उसले त्यस कन्यालाई विवाह नगर्ने निर्णय गरे पनि त्यस मानिसले ठीकै गर्छ।

38 यसरी जसले कन्यालाई विवाह गर्छ उसले ठीकै गर्छ तर जसले विवाह गर्दैन, उसले अझ असल गर्छ।

39 पति बाँचुञ्जेल पत्‍‌नी पतिकै बन्धनमा रहन्छे। तर पतिको मृत्यु भएपछि, त्यसले इच्छा गरेको प्रभुको जनसित विवाह गर्न त्यो स्वतन्त्र हुन्छे।

40 तर मेरो विचारमा त्यो त्यतिकै रही भने झन् सुखी हुन्छे र म सोच्दछु कि मसँग पनि परमेश्वरको आत्मा हुनुहुन्छ।




8

1 अब मूर्त्तिलाई चढाएको खानेकुराको विषयमा: हामी जान्दछौं, हामी सबैसँग ज्ञान छ। ज्ञानले घमण्ड ल्याउँछ तर प्रेमले मण्डलीमा उन्‍‌नति ल्याउँछ।

2 यदि कसैले म केही जान्दछु भन्छ, भने त्यसले आफूले जान्‍‌नुपर्ने कुरा केही जानेको हुँदैन।

3 तर यदि कसैले परमेश्वरलाई प्रेम गर्छ भने त्यो उहाँद्वारा चिनिएको हुन्छ।

4 त्यसकारण हामी मूर्त्तिहरूलाई चढाइएको खानेकुराको विषयमा जान्दछौं कि मूर्त्ति संसारमा केही पनि होइन र एक परमेश्वरबाहेक अरु कोही छैन।

5 किनकि चाहे आकाशमा होस्, चाहे पृथ्वीमा, ईश्वर भनिनेहरू त छन् नै, जसरी धेरै ईश्वरहरू र धेरै प्रभुहरू छन्,

6 तर हाम्रा निम्ति एक मात्र परमेश्वर हुनुहुन्छ अर्थात् पिता, जसबाट सबै कुरा भएका छन् र हामी उहाँमा छौं अनि एक मात्र प्रभु हुनुहुन्छ अर्थात् येशू ख्रीष्ट, जसद्वारा सबै कुरा भएका छन् अनि हामी उहाँद्वारा नै अस्तित्वमा छौं।

7 तरै पनि सबैमा त्यो ज्ञान हुँदैन । किनकि विवेकमा मूर्त्ति रहेको हुनाले कतिले यस घडीसम्म पनि यसलाई मूर्त्तिर्लाई चढाएको थोक सम्झेर खान्छन् अनि उनीहरूको विवेक कमजोर भएर अशुद्ध हुन्छन्।

8 तर खानेकुराले हामीलाई परमेश्वरको दृष्टिमा अझ ग्रहणीय बनाउँदैन, नखाँदैमा कुनै हानि हुँदैन र खाँदैमा कुनै लाभ हुँदैन।

9 तर होशियार बस, तिमीहरूको स्वतन्त्रता दुर्बलहरूका निम्ति ठोकरको कारण नबनोस्।

10 किनकि कसैले तिमी ज्ञान भएको मानिसलाई मूर्त्तिको मन्दिरमा खाइरहेको देख्यो भने, के त्यस कमजोर मानिसको विवेकले मूर्त्तिहरूलाई चढाएका थोक खानका निम्ति हौसला पाउनेछैन र?

11 तिम्रो ज्ञानको कारणले त्यो दुर्बल भाइ नष्ट हुन्छ, जसको निम्ति ख्रीष्ट मर्नुभयो।

12 जब तिमी आफ्‍‌ना भाइहरूको विरुद्धमा यसरी पाप गर्छौ र तिनीहरूका कमजोर विवेकलाई चोट पुर्‍याउँछौ तब तिमीहरू ख्रीष्टकै विरुद्धमा पाप गर्दछौ।

13 यसकारण यदि कुनै खानेकुराले मेरो भाइलाई ठेस लाग्छ भने, मेरो भाइलाई ठेस नदिऊँ भनेर म कहिल्यै मासु खानेछैनँ।




9

1 के म स्वतन्त्र छैनँ? के म प्रेरित होइनँ? के मैले येशू हाम्रा प्रभुलाई देखेको छैनँ? के प्रभुमा तिमीहरू मेरो कामका प्रतिफल होइनौ?

2 म अरुहरूको निम्ति प्रेरित नभए तापनि कमसेकम तिमीहरूका निम्ति त हुँ, किनकि प्रभुमा मेरो प्रेरितपनको छाप तिमीहरू नै हौ।

3 मेरो विरुद्धमा बोल्‍‌नेहरूलाई मेरो जवाफ यही छ।

4 के हामीलाई खाने र पिउने अधिकार छैन?

5 के अरु प्रेरितहरूजस्तै, प्रभुका भाइहरू र केफासलाई जस्तै हामीलाई पनि पत्‍‌नी लिएर हिँड्‍‌ने अधिकार छैन र?

6 अथवा के मैले र बर्णाबासले मात्र जीविकाको निम्ति काम गर्नुपर्छ र?

7 आफ्‍‌नै खर्चमा कसले सिपाहीको काम गर्छ र? अङ्गुरबारी लगाएर कसले त्यसको फल खाँदैन र? गाईबस्तु पालेर कसले त्यसको दूध पिउँदैन र?

8 के मानिसको दृष्टिकोणबाट मात्र म यो भन्दछु र? के व्यवस्थाले पनि यसै भन्दैन र?

9 किनभने मोशाको व्यवस्थाले भन्दछ, ‘‘दाइँ गर्दा गोरुलाई मोहोलो नलगाओ।’’ के गोरुहरूको विषयमा परमेश्वर चिन्तित हुनुहुन्छ?

10 के उहाँले हाम्रो खातिर नै यो भन्‍‌नुभएको होइन र? हाम्रो खातिर नै यो लेखिएको हो। किनकि जोत्‍‌ने र दाइँ गर्नेले अन्‍‌नको केही हिस्सा पाउने आशामा नै जोत्छ र दाइँ गर्छ।

11 यदि हामीले तिमीहरूका माझमा आत्मिक थोक छरेका छौं भने र तिमीहरूको भौतिक सम्पत्तिको कटनी गर्‍यौं भने के त्यो अति भयो र?

12 जब अरु तिमीहरूमाथि अधिकारका भागीदार भए भने हामी झन् हुँदैनौं र? तरै पनि हामीले यो अधिकार काममा लाएका छैनौं तर ख्रीष्टको सुसमाचारलाई कुनै प्रकारको बाधा नदिऊँ भनेर हामी सबै कुरा सहन्छौं।

13 मन्दिरमा सेवा गर्नेहरूले मन्दिरका थोकबाट खान्छन् र वेदीका सेवा गर्नेहरूले बलिबाट हिस्सा लिन्छन् भन्‍‌ने कुरा के तिमीहरूलाई थाहा छैन र?

14 त्यसरी नै सुसमाचार प्रचारकहरूले पनि सुसमाचारबाट नै जीविका चलाऊन् भनी प्रभुले आज्ञा दिनुभयो।

15 तापनि मैले यी कुरामध्ये कुनैको प्रयोग गरेको छैनँ र अब मेरोनिम्ति यसै होस् भनेर मैले यी कुरा लेखेको होइनँ। किनभने कसैले मेरो घमण्ड व्यर्थको ठहराउनुभन्दा बरु मेरोनिम्ति मर्नु असल छ।

16 किनकि यदि मैले सुसमाचार प्रचार गरेँ भने त्यसमा मैले घमण्ड गर्ने केही कारण छैन। म प्रचार गर्न बाध्य छु। सुसमाचार प्रचार गरिनँ भने मलाई धिक्कार छ !

17 किनकि यदि म यो आफ्‍‌नै इच्छाले गर्छु भने मेरोनिम्ति इनाम छ तर मेरो इच्छाको विरुद्धमा गर्छु भने मलाई एउटा ठूलो उत्तरदायित्व सुम्पिइएको छ।

18 त्यसो भए मेरो इनाम के हो? केवल यति नै हो कि सित्तैँमा सुसमाचार प्रचार गर्न पाऊँ र मैले सुसमाचार प्रचार गर्दा पाउने पूर्ण हकको दाबी गर्नु नपरोस्।

19 किनभने म मानिसहरूबाट स्वतन्त्र भए तापनि अझ धेरैलाई जित्‍‌नसकूँ भनेर मैले आफैलाई सबैको दास तुल्याएँ।

20 अनि यहूदीहरूलाई हात पारूँ भनेर म यहूदीहरूको निम्ति यहूदीझैँ भइदिएँ, व्यवस्थाका अधीनमा हुनेहरूलाई जित्‍‌नसकूँ भनेर व्यवस्थाका अधीनमा हुनेहरूका निम्ति व्यवस्थाको अधीनमा झैँ भइदिएँ,

21 व्यवस्थाका अधीनमा नभएकाहरूलाई हात पारूँ भनेर म व्यवस्थाको अधीनमा नभएझैँ भइदिएँ, तर परमेश्वरको व्यवस्थाबाट म स्वतन्त्र छैनँ, म ख्रीष्टको व्यवस्थाको अधीनमा छु।

22 कमजोरीहरूलाई जित्‍‌नसकूँ भनेर कमजोरीहरूको निम्ति म कमजोर भएँ, हरप्रकारले कसैलाई बचाऊँ भनेर म सबै मानिसहरूको निम्ति सबै कुरा भएँ।

23 अनि सुसमाचारको सहभागी हुनसकूँ भनेर म यसको निम्ति सबै कुरा गर्दछु।

24 के तिमीहरूलाई थाहा छैन, दौडमा दगुर्नेहरू सबै दगुर्छन् तर इनाम एउटैले मात्र पाउँछ? तिमीहरू इनाम प्राप्त गर्ने किसिमले दौड।

25 खेलमा भाग लिने सबै जना सबै कुरामा आत्मसंयमी हुनुपर्दछ। तिनीहरू नष्ट भएर जाने मुकुट पाउनलाई यसो गर्दछन् तर हामी अविनाशी मुकुट पाउनलाई यसो गर्दछौं।

26 यसकारण लक्षय नराखी म दगुर्दिनँ। हावामा मुक्का हान्‍‌नेले जस्तै म मुक्का हान्दिनँ।

27 तर म आफ्‍‌नो शरीरलाई कठोरतासाथ सधाउँछु र यसलाई वशमा राख्तछु, नत्र त अरुहरूलाई प्रचार गरेपछि म आफै अयोग्य ठहरिनेछु।




10

1 अब भाइहरू हो, हाम्रा सबै पुर्खाहरू बादलमुनि थिए र सबै समुद्रको बीचबाट भएर पार भए भन्‍‌ने कुरामा तिमीहरू अजान रहो भन्‍‌ने मेरो इच्छा छैनँ।

2 अनि तिनीहरू सबैले बादल र समुद्रमा मोशामा बप्तिस्मा पाएका थिए।

3 तिनीहरू सबैले एकै किसिमको आत्मिक भोजन खाए।

4 सबैले आत्मिक पानी पिए, किनकि तिनीहरूका साथसाथै हिँड्‍‌ने आत्मिक चट्टानको पानी तिनीहरूले पिए। त्यो चट्टान ख्रीष्ट नै हुनुहुन्थ्यो।

5 तापनि तिनीहरूमध्ये धेरै जनासँग परमेश्वर प्रसन्‍‌न हुनुभएन र तिनीहरू मरुभूमिमा नै नष्ट भए।

6 तिनीहरूले जस्तो हामीले खराबीको इच्छा नगरौं भनी यी कुरा हाम्रो चेताउनीको निम्ति हुन्।

7 तिमीहरू मूर्त्तिपूजक नबन, जसरी तिनीहरूमध्ये कति जना बने, जस्तो लेखिएको छ, ‘‘मानिसहरू खान र पिउनलाई बसे र मनोरञ्जन गर्नलाई उठे।’’

8 हामी व्यभिचारमा नफसौं, जसरी तिनीहरूमध्ये कतिजना फसे र एकै दिनमा तेइस हजार मानिसहरू मरे।

9 हामी ख्रीष्टलाई परीक्षा नगरौं, जसरी तिनीहरूमध्ये कतिले गरे, अनि सर्पहरूद्वारा नष्ट भए।

10 तिनीहरूले जस्तै हामी गनगन नगरौं, जो नाश गर्ने दूतहरूद्वारा नष्ट पारिए।

11 यी कुरा तिनीहरूलाई चेताउनीको निम्ति भए तापनि ती हाम्रै शिक्षाको निम्ति लेखिएका हुन्, जसमाथि युगको अन्त्य आइसकेको छ।

12 यसकारण जसले म खडा छु भनी सम्झन्छ, त्यो होशियार रहोस्, नत्र त त्यो लड्‍‌नेछ।

13 मानिसमाथि आइपर्ने किसिमको परीक्षाबाहेक अरु परीक्षा तिमीहरूमाथि आइपरेको छैन तर परमेश्वर विश्वसनीय हुनुहुन्छ, जसले तिमीहरूलाई तिमीहरूको शक्तिदेखि बाहिरको परीक्षामा पर्न दिनुहुनेछैन, तर तिमीहरूले सहनसक भनेर परीक्षाको साथ-साथमा उम्किने बाटो पनिबनाउनुहुनेछ।

14 यसकारण मेरा प्रियहरू हो, मूर्त्तिपूजाबाट अलग बस।

15 बुद्धिमान् मानिसहरूसँग बोलेझैँ म बोल्दछु, म जे भन्दछु, त्यस कुरालाई जाँच।

16 जुन आशिष्का कचौराको निम्ति हामी आशिष् माग्छौं, के त्यो ख्रीष्टको रगतमा हुने सहभागिता होइन र? अनि त्यो रोटी, जो हामी भाँच्छौं, के त्यो ख्रीष्टको शरीरमा हुने सहभागिता होइन र?

17 रोटी एउटै हो, यसकारण हामी धेरै भए तापनि एउटै शरीर हौं, किनकि हामी सबै एउटै रोटीबाट खान्छौं।

18 इस्राएली जातिलाई विचार गर, बलिदानको वस्तु खानेहरू के वेदीका सहभागीहरू भएनन् र?

19 म के भन्‍‌न खोजिरहेछु? के मूर्त्तिलाई चढाएका बलिको केही अर्थ छ र? अथवा मूर्त्तिर्कै पनि के मोल छ र?

20 छैन, अयहूदीहरूले जुन बलिदान चढाउँछन् त्यो परमेश्वरलाई होइन तर भूतात्माहरूलाई चढाउँछन् र तिमीहरू भूतप्रेतसँग सहभागीहोओ भन्‍‌ने म चाहन्‍‌नँ।

21 तिमीहरू प्रभुको कचौरा र भूतप्रेतको कचौरा दुवैबाट पिउन सक्तैनौ। तिमीहरू प्रभुको टेबुल र भूतप्रेतको टेबुल दुवैबाट खान सक्तैनौ।

22 वा के हामीले प्रभुलाई डाही तुल्याउने? के हामी उहाँभन्दा शक्तिशाली छौं?

23 सबै कुरा न्यायसङ्गत छन् तर सबै कुरा फाइदाका छैनन्। सबै कुरा न्यायसङ्गत छन् तर सबै कुराले सुधार गर्दैनन्।

24 आफ्‍‌नै मात्र भलाइ नखोज, तर आफ्‍‌नो छिमेकीको भलाइ खोज।

25 मासुको बजारमा जे बिक्री हुन्छ, विवेकको निम्ति केही सोधपुछ नगरी खाओ,

26 किनभने, ‘‘पृथ्वी र त्यसमा भएका यावत् थोक सबै परमप्रभुकै हुन्।’’

27 अनि विश्वास नगर्नेहरूमध्ये कसैले तिमीहरूलाई निम्तो गर्‍यो भने, र तिमीहरूले जाने इच्छा गर्‍यौ भने, तिमीहरूका अघि जे राखिन्छ विवेकको निम्ति केही सोधपुछ नगरी खाओ।

28 तर कसैले तिमीहरूलाई ‘‘यो त मूर्त्तिहरूलाई चढाइएको थोक हो’’ भन्यो भने त्यो बताउने मानिसको विवेकको निम्ति नखाओ, किनकि ‘पृथ्वी र यसको भरपूरी प्रभुकै हुन्।’

29 यो तिम्रो आफ्‍‌नै विवेकको खातिर होइन, तर बताइदिनेको खातिर हुन्छ। तब मेरो स्वतन्त्रता अर्को मानिसको विवेकद्वारा किन जाँचिन्छ त ?

30 यदि परमेश्वरलाई धन्यवाद दिएर भोजनमा म सहभागी हुन्छु भने त्यही भोजनको खातिर म किन निन्दित हुनु?

31 यसकारण चाहे तिमीहरू खाओ वा पिओ वा जेसुकै गर, सबै परमेश्वरकै महिमाको निम्ति गर।

32 तिमीहरूले यहूदीलाई वा अयहूदीलाई वा परमेश्वरको मण्डलीलाई कुनै किसिमको बाधा पुर्‍याउने काम नगर।

33 जसरी म पनि आफ्‍‌नै लाभ होइन तर धेरैको लाभ खोज्दै र तिनीहरूको उद्धार होस् भनेर सबै मानिसलाई सबै विषयमा प्रसन्‍‌न तुल्याउने चेष्टा गर्दछु।




11

1 मेरो अनुकरण गर, जसरी म ख्रीष्टको अनुकरण गर्दछु ।

2 भाइहरू हो, म तिमीहरूको प्रशंसा गर्दछु, किनकि सबै कुरामा तिमीहरूले मलाई सम्झना गर्दछौ र मैले तिमीहरूलाई दिएका शिक्षाहरू पालन गर्दछौ।

3 तर तिमीहरूले यो बुझिराख भन्‍‌ने म चाहन्छु कि हरेक पुरुषको शिर ख्रीष्ट हुनुहुन्छ र स्त्रीको शिर पुरुष हो अनि ख्रीष्टको शिर परमेश्वर हुनुहुन्छ।

4 प्रार्थना गर्दा वा अगमवाणी बोल्दा आफ्‍‌नो शिर ढाक्‍‌ने पुरुषले आफ्‍‌नो शिरको अपमान गर्दछ।

5 तर जुन स्त्रीले आफ्‍‌नो शिरलाई रुमालले नढाकी प्रार्थना गर्छे वा अगमवाणी बोल्छे भने त्यस स्त्रीले आफ्‍‌नो शिरको अपमान गरेकी हुन्छे, किनकि यो उसले आफ्‍‌नो केश खौरेको जस्तै हो।

6 शिर ढाक्‍‌न अस्वीकार गर्ने स्त्रीले केश काटोस्। तर केश काट्‍‌ने र खौरने कुरा स्त्रीको निम्ति लाजमर्दो कुरा हो भने त उसले शिरमा घुम्टो हालोस्।

7 आराधना गर्दा पुरुषले आफ्‍‌नो शिर ढाक्‍‌नुहुँदैन, किनभने ऊ परमेश्वरको प्रतिरूप र गौरव हो, तर स्त्री पुरुषको गौरव हो।

8 किनकि पुरुष स्त्रीबाटको होइन, तर स्त्री पुरुषबाटकी हो।

9 पुरुष स्त्रीको लागि बनिएको होइन, तर स्त्री पुरुषको लागि बनिएकी हो।

10 यसैकारण स्वर्गदूतहरूको खातिर स्त्रीले आफ्‍‌नो शिरमा अख्तियारको चिन्ह राखोस्।

11 तरै पनि प्रभुमा न त पुरुष स्त्रीबाट स्वतन्त्र हुन्छ, न स्त्री पुरुषबाट स्वतन्त्र हुन्छे।

12 किनभने जसरी स्त्री पुरुषबाटकी हो, त्यसरी नै पुरुष पनि स्त्रीबाटको हो, तर सबै कुरा परमेश्वरबाटका हुन्।

13 तिमीहरूले आफ्‍‌नो विषयमा निर्णय गर, के स्त्रीले शिर नढाकी परमेश्वरसँग प्रार्थना गर्न उचित हुन्छ?

14 पुरुषले लामो केश पाल्यो भने त्यसैले उसलाई अपमानित तुल्याइराखेको हुन्छ भन्‍‌ने के प्रकृतिले पनि सिकाउँदैन र?

15 तर लामो केश स्त्रीको निम्ति शोभा हो, किनकि स्त्रीको केश उसलाई घुम्टोस्वरूप दिइएको हो।

16 तर कसैले विवाद गर्न चाहन्छ भने उसलाई थाहा होस् कि हाम्रो यस्तो रीति छैन, न त परमेश्वरको मण्डलीकै छ।

17 तर अब यी आदेश दिँदा म तिमीहरूको प्रशंसा गर्दिनँ, किनकि तिमीहरू भेला हुँदा त्यो असलको निम्ति हुँदैन तर त्यो अझ खराबीको निम्ति हुन्छ।

18 प्रथम कुरा यो छ कि तिमीहरू मण्डलीमा जम्मा हुँदा, तिमीहरूमा फाटो हुन्छ भन्‍‌ने म सुन्दै छु। केही हदसम्म म त्यसमा विश्वास पनि गर्दछु।

19 तर तिमीहरूमध्ये धार्मिकतामा जिउने मानिसहरू चिनिनलाई तिमीहरूमा मतभेद हुनु पनि जरुरी नै छ।

20 यसकारण जब तिमीहरू एकसाथ जम्मा हुन्छौ तब त्यो प्रभु-भोज खानका निम्ति होइन,

21 किनकि खाँदा हरेकले आफ्‍‌नो भोजन अगाडि नै खाइहाल्छ अनि एउटा भोकै रहन्छ र अर्को मातेर लट्ठ परेको हुन्छ।

22 खान र पिउनलाई के तिमीहरूका आ-आफ्‍‌नै घर छैनन् र? के तिमीहरू परमेश्वरको मण्डलीलाई अपमान गर्न चाहन्छौ? अनि गरीबहरूलाई लाजमा पार्छौ? म तिमीहरूलाई के भनूँ? के मैले यसको निम्ति तिमीहरूको प्रशंसा गरेको चाहन्छौ? कदापि म त्यसो गर्दिनँ।

23 किनकि मैले प्रभुबाट जे पाएँ, त्यो तिमीहरूलाई पनि सुम्पिदिएँ। जुन रात उहाँ पक्राउ पर्नुभयो, त्यो रात प्रभु येशूले रोटी लिनुभयो,

24 र धन्यवाद दिनुभएपछि उहाँले त्यो रोटी भाँच्‍‌नुभयो र भन्‍‌नुभयो, ‘‘यो तिमीहरूका निम्ति मेरो शरीर हो। मेरो सम्झनामा यो गर। ’’

25 त्यसैगरी खाएपछि उहाँले कचौरा लिएर यसो भन्‍‌नुभयो, ‘‘यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो। जहिले-जहिले तिमीहरू यो पिउँछौ, मेरो सम्झनामा यो अक्सर गर।’’

26 किनभने जहिले-जहिले तिमीहरू यो रोटी खान्छौ र यस कचौराबाट पिउँछौ, उहाँ नआउन्जेल तिमीहरू प्रभुको मृत्युको घोषणा गर्दछौ।

27 यसकारण यदि कसैले अयोग्य रीतिले रोटी खान्छ अथवा प्रभुको कचौराबाट पिउँछ भने, त्यो प्रभुको शरीर र रगतको दोषी ठहरिनेछ ।

28 हरेक मानिसले आफूलाई जाँचोस्, त्यसपछि मात्र त्यसले रोटी खाओस् र कचौराबाट पिओस्।

29 किनकि रोटी खाँदा र कचौराबाट पिउँदा ख्रीष्टको शरीरको आदर गर्न नजान्‍‌ने मानिसले आफूमाथि दण्ड ल्याउनेछ।

30 त्यसैकारण तिमीहरूमध्ये धेरै जना दुर्बल र रोगी छौ र कतिजना त मरिसकेका पनि छन्।

31 तर यदि हामीले आफूलाई ठीकसँग जाँच्यौं भने त हाम्रो न्याय गरिनेछैन।

32 तर संसारसँग हामी दोषी नठहरिऔं भनेर हामी प्रभुबाट चेताउनी पाउँछौं।

33 यसकारण, ए भाइहरू हो, जब तिमीहरू खानको निम्ति भेला हुन्छौ, तब एक-अर्कालाई पर्ख।

34 अनि कोही भोकाउँछ भने उसले घरैमा खाओस्, नत्र त एकसाथ भेला हुँदा तिमीहरू दण्डको भागी हुनेछौ। म आउँदा अरु कुराका विषयमा निर्देशन दिनेछु।




12

1 भाइहरू हो, तिमीहरू आत्मिक वरदानहरूको विषयमा अजान रहो भन्‍‌ने म चाहन्‍‌नँ।

2 तिमीहरूलाई थाहै छ कि जब तिमीहरू मूर्त्तिपूजक थियौ, तब नबोल्‍‌ने मूर्त्तिहरूले तिमीहरूलाई प्रभावित पारेझैँ त्यतैतिर डोर्‍याइएका थियौ।

3 यसकारण म तिमीहरूलाई थाहा दिन्छु, परमेश्वरका आत्माद्वारा बोल्‍‌ने कसैले ‘येशू श्रापित होस्’ भन्‍‌न सक्दैन अनि पवित्र आत्माद्वारा बाहेक कसैले ‘येशू नै प्रभु हुनुहुन्छ’ भन्‍‌न सक्तैन।

4 अब वरदानहरू विभिन्‍‌न किसिमका छन्, तर आत्मा त उही हुनुहुन्छ।

5 सेवाहरू विभिन्‍‌न किसिमका छन्, तर प्रभु त उही हुनुहुन्छ।

6 कार्यहरू पनि किसिम-किसिमका छन् तर परमेश्वर उही हुनुहुन्छ, जसले सबैमा सबै कुरा गर्नुहुन्छ।

7 तर सबैलाई फाइदा होस् भनेर हरेकलाई आत्माको प्रकाश दिइएको छ।

8 किनकि एउटालाई आत्माद्वारा बुद्धिको वचन दिइन्छ र अर्कोलाई उही आत्माद्वारा ज्ञानको वचन दिइन्छ।

9 कसैलाई उही आत्माद्वारा विश्वासको वरदान, कसैलाई उही आत्माद्वारा चङ्गाइको वरदान,

10 अनि कसैलाई आश्चर्यकर्महरू गर्ने शक्तिको वरदान, कसैलाई अगमवाणी बोल्‍‌ने, कसैलाई आत्माहरू छुट्ट‍याउने, कसैलाई भिन्‍‌नाभिन्‍‌नै अन्यभाषा बोल्‍‌ने र कसैलाई ती अन्यभाषाको अर्थ खोल्‍‌ने वरदान।

11 तर यी सबै कुरा एउटै र उही आत्माले नै गर्नुहुन्छ, उहाँले आफ्‍‌नै इच्छाअनुसार हरेकलाई वरदानहरू बाँडिदिनुहुन्छ।

12 किनकि शरीर एउटै हुन्छ र त्यसका अङ्गहरू धेरै हुन्छन् अनि एउटै शरीरका सबै अङ्गहरू धेरै भए तापनि एउटै शरीर हो।

13 किनकि चाहे यहूदी होस् वा ग्रीक, चाहे दास होस् वा स्वतन्त्र, हामी सबै एउटै शरीर भई एउटै आत्मामा बप्तिस्मा भयौं र सबैलाई एउटै आत्माबाट पिउनलाई दिइयो।

14 किनकि शरीर एक अङ्ग मात्र होइन तर धेरै हो।

15 यदि खुट्टाले ‘‘म हात होइनँ, यसैले म शरीरको अङ्ग होइनँ’’ भन्छ भने के यसैकारण त्यो शरीरको अङ्ग हुँदैन र?

16 अनि कानले ‘‘म कान मात्र हुँ, आँखा होइनँ, यसैले म शरीरको अङ्ग होइनँ’’ भन्छ भने, के त्यो शरीरको अङ्ग हुँदैन र?

17 यदि सम्पूर्ण शरीर आँखा भएको भए, कहाँबाट सुन्‍‌ने? यदि सम्पूर्ण शरीर सुन्‍‌ने हुँदो हो त, कहाँबाट सुँघ्‍‌ने?

18 तर परमेश्वरले प्रत्येक अङ्गलाई हाम्रो शरीरमा आफ्‍‌नो इच्छाअनुसार राख्‍‌नुभएको छ।

19 यदि सबै एउटै अङ्ग भइदिएको भए शरीर कहाँ हुने थियो?

20 तर अङ्गहरू धेरै छन् तापनि शरीर एउटै छ।

21 आँखाले हातलाई कहिल्यै यसो भन्‍‌न सक्तैन, ‘‘मलाई तेरो दरकार छैन।’’ शिरले खुट्टालाई भन्‍‌न सक्तैन, ‘‘मलाई तेरो दरकार छैन।’’

22 बरु, यो सत्य हो कि शरीरका कमजोर देखिने अङ्गहरू पनि आवश्यक हुन्छन्।

23 अनि हामीले कम महत्व दिएका अङ्गहरूलाई नै बढ्ता आदर दिन्छौं र देखाउन नसकिने अङ्गहरूलाई विशेषरूपले आदरपूर्वक व्यवहार गर्छौं।

24 प्रत्यक्ष देखाउन सकिने अङ्गहरूलाई त्यस्तो वास्ता चाहिँदैन । तर परमेश्वरले शरीरका अङ्गहरूलाई यसरी मिलाइदिनुभएको छ कि कम मूल्य भएका अङ्गहरूलाई बढी आदर दिनुभएको छ,

25 यसैले कि शरीरमा कुनै बेमेल नहोस् तर अङ्गहरूले एक-अर्काको निम्ति एकै प्रकारको वास्ता राखून्।

26 अनि एउटा अङ्गले कष्ट भोग्दा अरु अङ्गहरूले पनि कष्ट भोग्छन् र एउटाले आदर पाउँदा सबै अङ्गहरू त्योसँग रमाउँछन्।

27 अब तिमीहरू ख्रीष्टका शरीर हौ र त्यसैका विभिन्‍‌न अङ्गहरू हौ ।

28 अनि परमेश्वरले कतिलाई मण्डलीमा नियुक्त गर्नुभएको छ : प्रथम प्रेरितहरू, दोस्रो अगमवक्ताहरू, तेस्रो शिक्षकहरू, तब आश्चर्यकर्म गर्नेहरू, चङ्गाइका वरदान पाएकाहरू, सहायता गर्नेहरू, प्रशासन चलाउनेहरू, थरीथरी अन्य भाषा बोल्‍‌नेहरू।

29 के सबै प्रेरितहरू हुन्? के सबै अगमवक्ता हुन्? के सबै शिक्षकहरू हुन्? के सबैसित आश्चर्यकर्म गर्ने वरदान छ?

30 के सबैसँग चङ्गाइका वरदानहरू छन्? के सबैले अन्यभाषामा बोल्छन्? के सबैले अर्थ खोल्छन्?

31 तर अझ उच्च वरदानहरूका निम्ति उत्कट इच्छा गर र म अब तिमीहरूलाई अझै उत्तम मार्ग देखाउँछु।




13

1 यदि म मानिसहरू र स्वर्गदूतहरूको भाषामा बोलेँ, तापनि ममा प्रेम छैन भने, म हल्ला मच्चाउने घण्टा र झ्याइँझ्याइँ गर्ने झ्याली मात्र हुन्छु।

2 अनि यदि मसँग अगमवाणीको वरदान होला र सबै रहस्य अनि सबै ज्ञान बुझ्‍‌न सकूँला र पहाडहरू हटाउनसक्‍‌नेसम्मको सम्पूर्ण विश्वास मसित होला, तर ममा प्रेम छैन भने म केही पनि होइनँ।

3 यद्यपि मैले मेरा सारा सम्पत्ति गरीबहरूलाई खुवाउन दिएँ र आफ्‍‌नो शरीर जलाउनलाई दिएँ, तर मसँग प्रेम छैन भने मलाई केही पनि लाभ हुँदैन।

4 प्रेम धीरजी र दयालु हुन्छ। प्रेमले डाह गर्दैन, न शेखी गर्छ।

5 प्रेम हठी हुँदैन, न ढीट हुन्छ। प्रेमले आफ्‍‌नै कुरामा जिद्दी गर्दैन, झर्को मान्दैन, खराबीको हिसाब राख्दैन।

6 प्रेम खराबीमा प्रसन्‍‌न हुँदैन, तर सत्यतामा रमाउँछ।

7 प्रेमले सबै कुरा सहन्छ, सबै कुराको पत्यार गर्छ, सबै कुरामा आशा राख्छ, सबै कुरामा स्थिर रहन्छ।

8 प्रेमको कहिल्यै अन्त्य हुँदैन। अगमवाणीहरू बितेर जानेछन्, अन्यभाषा बन्द हुनेछन्, ज्ञान टलिजानेछ।

9 हाम्रो ज्ञान अपूर्ण छ, हाम्रो अगमवाणी अपूर्ण छ।

10 तर जब सिद्धता आउनेछ, तब अपूर्णता टलिजानेछ।

11 जब म बालक थिएँ, तब बालकजस्तै बोल्थेँ, बालकले जस्तो बुज्दथेँ, बालकले जस्तै विचार गर्थें तर जब म जवान भएँ, तब बालकको प्रवृत्ति छोडिदिएँ।

12 अहिले हामी एेनामा जस्तै धमिलोसँग देख्छौं तर त्यो बेला आमुन्‍‌नेसामुन्‍‌ने छर्लङ्ग देख्‍‌नेछौं। अहिले म थोरै मात्र बुझ्दछु तर त्यसबेला पूरै बुझ्‍‌नेछु, जसरी म पनि पूर्णरूपले चिनिएको छु।

13 अब विश्वास, आशा र प्रेम, यी तीन रहन्छन् तर यिनमा सर्वोत्तम प्रेम नै हो।




14

1 प्रेमको पछि लाग, तापनि आत्मिक वरदानहरूका निम्ति उत्कट इच्छा गर, विशेषगरी अगमवाणी बोल्‍‌नलाई।



2 किनकि अन्यभाषामा बोल्‍‌नेले मानिसहरूसित होइन तर परमेश्वरसित बोल्दछ। उसले बोलेको कसैले बुझ्दैन, किनभने उसले आत्मामा रहस्यका कुरा बोल्दछ ।

3 तर जसले अगमवाणी बोल्दछ, उसले मानिसहरूको आत्मिक वृद्धि, उत्साह र सान्त्वनाको निम्ति बोल्दछ।

4 अन्यभाषामा बोल्‍‌नेले आफ्‍‌नै सुधार गर्छ तर अगमवाणी बोल्‍‌नेले मण्डलीको सुधार गर्छ।

5 तिमीहरू सबै अन्यभाषा बोल भन्‍‌ने म चाहन्छु, तर त्यसभन्दा अझ बढी तिमीहरूले अगमवाणीको वचन ल्याएको म चाहन्छु, किनकि अन्यभाषामा बोल्‍‌नेले मण्डलीको सुधारको निम्ति त्यसको अर्थ खोलेन भने अगमवाणी गर्ने नै अन्यभाषा बोल्‍‌नेभन्दा श्रेष्ठ हुन्छ।

6 प्रिय भाइहरू हो, यदि म तिमीहरूकहाँ आउँदा अन्यभाषा बोल्दै आएँ, तर प्रकाशद्वारा वा ज्ञानद्वारा वा अगमवाणीद्वारा वा शिक्षाद्वारा तिमीहरूलाई मैले केही बताइनँ भने मबाट तिमीहरूलाई के फाइदा हुनेछ र?

7 बाँसुरी वा वीणाजस्ता निर्जीव वस्तुहरूका पनि त सुर हुन्छन् तर यदि ती वस्तुहरूका सुरमा भिन्‍‌नता भएन भने के बजाएको हो भनी सुन्‍‌नेले कसरी बुझ्‍‌ने?

8 किनकि तुरहीले स्पष्ट आवाज निकालेन भने लडाइँका निम्ति कसले आफैलाई तयार पार्दछ र?

9 तिमीहरूसँग पनि यस्तै हुन्छ। यदि बुझ्‍‌नै नसकिने शब्द तिमीहरू आफ्‍‌नो जिब्रोले बोल्दछौ भने तिमीहरूले के भनिरहेछौ सो कसले बुझ्‍‌ने? तिमीहरू त हावामा बोलिरहेझैँ हुनेछौ।

10 संसारमा सायद अनेकौं भाषाहरू छन् र ती कुनै पनि अर्थहीन छैनन्।

11 यदि बोलेको भाषाको अर्थ मैले बुझिनँ भने त बोल्‍‌नेको निम्ति म विदेशी हुन्छु र त्यो बोल्‍‌ने मेरोनिम्ति विदेशी हुनेछ।

12 यसरी नै तिमीहरू पनि आत्मिक वरदानहरूका निम्ति उत्सुक भएका हुनाले मण्डलीको निर्माणको काममा श्रेष्ठता हासिल गर्ने कोशिश गर।

13 यसकारण अन्यभाषामा बोल्‍‌नेले त्यसको अर्थ खोल्‍‌ने शक्तिको निम्ति प्रार्थना गरोस्।

14 किनकि मैले अन्यभाषामा प्रार्थना गर्दा मेरो आत्माले प्रार्थना गर्दछ, तर मैले बोलेका कुरा म आफै बुझ्दिनँ।

15 त्यसो भए म के गरुँ? म आत्मामा प्रार्थना गर्नेछु र समझले पनि प्रार्थना गर्नेछु। आत्मामा स्तुति गाउनेछु र समझले पनि स्तुति गर्नेछु।

16 यदि तिमीले आत्मामा मात्र परमेश्वरको प्रशंसा गर्दा कुरा नबुझ्‍‌नेले तिमीसितै कसरी ‘‘आमेन्’’ भन्ला? तिमीले के भन्दैछौ सो नबुझ्‍‌नेले परमेश्वरलाई कसरी धन्यवाद चढाउने त?

17 तिमीले त राम्ररी धन्यवाद दिइरहेका हुन्छौ, तर अरु मानिसहरूको जीवनमा त्यसले आत्मिक वृद्धि गर्दैन।

18 म परमेश्वरलाई धन्यवाद चढाउँछु। म तिमीहरू सबैले भन्दा बढी अन्यभाषामा बोल्दछु ।

19 तापनि मण्डलीमा सङ्गति हुँदा अन्यभाषामा दश हजार शब्द बोल्‍‌नुभन्दा त बरु बुझ्‍‌न सकिने पाँचवटा शब्द म बोल्दछु, यसैले कि म अरुहरूलाई शिक्षा दिनसकूँ।

20 प्रिय भाइहरू हो, सोचविचारमा बालकझैँ नबन। खराबीको कुरामा बालकजस्तै बन, तर सोचविचारमा वयस्क बन।

21 व्यवस्थामा यो लेखिएको छ, ‘‘अनौठो भाषा बोल्‍‌ने मानिसहरूबाट र विदेशीका ओठबाट यी मानिसहरूसँग म बोल्‍‌नेछु तर पनि तिनीहरूले मेरो कुरा सुन्‍‌नेछैनन्,’’ परमप्रभु भन्‍‌नुहुन्छ।

22 यसकारण अन्यभाषा विश्वासीहरूको निम्ति होइन तर विश्वास नगर्नेहरूका निम्ति चिन्ह हो। त्यसरी नै अगमवाणी विश्वासीहरूको लागि हो, विश्वास नगर्नेहरूका लागि होइन।

23 यदि सम्पूर्ण मण्डली जम्मा भएर अन्यभाषामा बोले भने अनि विश्वास नगर्ने र नबुझ्‍‌ने मानिसहरू त्यहाँ आए भने के तिनीहरूले तिमीहरूलाई बौलाहा भन्‍‌नेछैनन् र?

24 तर सबैले अगमवाणी बोलिरहेका बेला कोही विश्वास नगर्ने वा कुरा नबुझ्‍‌ने त्यहाँ आयो भने, ऊ सबैद्वारा पापको कायल हुनेछ र सबैद्वारा जाँचिनेछ,

25 उसका हृदयका गुप्त कुरा प्रकट गरिनेछ र घोप्टो परेर उसले परमेश्वरलाई पुज्‍‌नेछ अनि उसले ‘परमेश्वर तिमीहरूका माझमा हुनुहुन्छ’ भनी घोषणा गर्नेछ।

26 भाइहरू हो, अब हामी के भनौं त? तिमीहरू एकसाथ जम्मा हुँदा, हरेकसँग भजन वा शिक्षा, प्रकाश, अन्यभाषा वा अर्थ खोलाइ हुन्छ तर हरेक कुरा आत्मिक निर्माणको निम्ति गरियोस्।

27 यदि कोही अन्यभाषामा बोल्छ भने दुई वा बढीमा तीन जना पालैपालो गरी बोलोस् र एक जनाले त्यसको अर्थ खोलिदेओस्।

28 तर यदि अर्थ खोल्‍‌ने कोही नभए, बोल्‍‌ने मानिस मण्डलीको सभामा चुप रहोस् र ऊ आफैसँग र परमेश्वरसँग बोलोस्।

29 अनि अगमवाणी बोल्‍‌ने दुई अथवा तीन जना होऊन् र अरुले, तिनीहरूले बोलेका कुरा राम्ररी जाँच गरून्।

30 तर त्यहाँ बस्‍‌ने कुनै एक जनालाई प्रकाश आयो भने पहिले बोल्‍‌ने चुप लागोस्।

31 यसरी तिमीहरू सबैले एकपछि अर्को गर्दै अगमवाणी बोल्‍‌नसक्छौ र यसरी नै सबैले सिक्‍‌न र उत्साह पाउन सक्छन्।

32 अगमवक्ताहरूका आत्मा अगमवक्ताहरूकै अधीनमा हुन्छन्।

33 किनकि उहाँ गोलमालका परमेश्वर हुनुहुन्‍‌न तर उहाँ शान्तिका परमेश्वर हुनुहुन्छ, जसरी पवित्रजनका सबै मण्डलीहरूमा छ।

34 स्त्रीहरू मण्डलीको सभामा चुपचाप रहून्। तिनीहरूलाई बोल्‍‌ने अनुमति छैन तर व्यवस्थाले भनेझैँ तिनीहरू अधीनमा रहून्।

35 यदि तिनीहरूले केही कुरा सोध्‍‌न परे आ-आफ्‍‌ना पतिलाई घरमा पुगेर सोधून्, किनभने मण्डलीमा स्त्रीहरू बोल्‍‌नु शर्मको कुरा हो।

36 अथवा के परमेश्वरको वचन तिमीहरूबाट निस्क्यो? कि के तिमीहरूकहाँ मात्र आयो?

37 यदि कसैले आफूलाई अगमवक्ता अथवा आत्मिक मानिस सम्झन्छ भने मैले लेखेको कुरा प्रभुको आज्ञा हो भन्‍‌ने उसले स्वीकार गरोस्।

38 यदि कसैले यसको वास्ता गर्दैन भने, त्यसको पनि वास्ता गरिनेछैन।

39 यसकारण मेरा भाइहरू हो, अगमवाणी बोल्‍‌नलाई उत्कट इच्छा राख र अन्यभाषा बोल्‍‌नेहरूलाई मनाही नगर।

40 तर सबै काम शिष्टतापूर्वक र सुव्यवस्थित ढङ्गले हुनुपर्छ।




15

1 भाइहरू हो, मैले तिमीहरूलाई सुनाएको सुसमाचार अब म याद गराउन चाहन्छु । यो सुसमाचारलाई तिमीहरूले ग्रहण गर्‍यौ र जसमा तिमीहरू स्थिर पनि छौ।

2 यस सुसमाचारमा अटल रह्यौ भने यसैमा तिमीहरूको उद्धार भएको छ, अन्यथा तिमीहरूले व्यर्थैमा विश्वास गरेछौ।

3 किनकि सबैभन्दा पहिले मैले तिमीहरूलाई त्यस कुरा सुम्पिदिएँ, जुन कुरा मैले पनि पाएको थिएँ, अर्थात् धर्मशास्त्रअनुसार ख्रीष्ट हाम्रा पापका निम्ति मर्नुभयो

4 र गाडिनुभयो अनि पवित्र धर्मशास्त्रअनुसार तेस्रो दिनमा मरेकाहरूबाट पुनर्जीवित हुनुभयो।

5 उहाँ केफासकहाँ र बाह्रै जनाकहाँ देखा पर्नुभयो।

6 त्यसपछि उहाँ एकै समयमा पाँच सयभन्दा बढी भाइहरूकहाँ एकैचोटि देखा पर्नुभयो, जसमध्ये धेरै जना अहिलेसम्म छँदैछन् तर कोही-कोही प्रभुमा सुतिसकेका छन्।

7 त्यसपछि याकूब र सबै प्रेरितहरूकहाँ उहाँ देखा पर्नुभयो।

8 अनि सबैभन्दा पछि म बेला नपुगी जन्मिएको मानिसजस्तो व्यक्तिकहाँ पनि उहाँ देखा पर्नुभयो।

9 किनकि प्रेरितहरूमध्ये म सबैभन्दा तुच्छ हुँ, म प्रेरित भनिने योग्य छैनँ। किनभने मैले परमेश्वरको मण्डलीलाई पनि खेदो गरेंँ।

10 म जे छु, परमेश्वरको अनुग्रहद्वारा छु अनि मलाई दिइएको उहाँको अनुग्रह व्यर्थ भएन तर मैले उनीहरू सबैले भन्दा धेरै परिश्रम गरेँ, तापनि मैले होइनँ तर मसँग भएको परमेश्वरको अनुग्रहले गर्दा नै हो।

11 यसकारण चाहे मेरो प्रचारले होस् वा तिनीहरूको प्रचारले, कुरा यो हो कि तिमीहरूले हाम्रो प्रचारद्वारा विश्वास गर्‍यौ।

12 मृतकहरूबाट ख्रीष्ट पुनर्जीवित हुनुभयो भनेर प्रचार गरिन्छ भने कसरी तिमीहरूमध्ये कसै-कसैले मृतकबाट पुनर्जीवित हुँदैन भनी भन्‍‌न सक्छौ?

13 तर यदि मृतकहरू पुनर्जीवित हुँदैनन् भने त ख्रीष्ट पनि मृतकबाट पुनर्जीवित पारिनुभएको होइन।

14 यदि ख्रीष्ट मरेकाबाट फेरि जीवित पारिनुभएको होइन भने त हाम्रा प्रचार काम नलाग्‍‌ने हुन्छ र परमेश्वरमा राखेको तिमीहरूको विश्वास पनि व्यर्थ हुन्छ।

15 अनि हामी सबै प्रेरितहरू परमेश्वरका झूटा साक्षी ठहरिन्छौं, किनकि परमेश्वरले ख्रीष्टलाई मरेकाबाट जीवित तुल्याउनुभयो भनी हामीले गवाही दिएका छौं। तर साँच्चै मरेकाहरू पुनर्जीवित नहुने हो भने ख्रीष्टलाई फेरिजीवित पारिएको कुरा पनि असत्य ठहरिनेभयो।

16 यदि मृतकहरू पुनर्जीवित नहुने हो भने ख्रीष्ट पनि मृतकबाट फेरि जीवित पारिनुभएन।

17 अनि ख्रीष्ट फेरि जीवित पारिनुभएन भने तिमीहरूको विश्वास व्यर्थ छ र अहिलेसम्म तिमीहरू आफ्‍‌ना पापमा नै छौ।

18 तब जो ख्रीष्टमा सुतेका छन्, तिनीहरू पनि नष्ट भए।

19 यदि हामीले यस जीवनको निम्ति मात्र ख्रीष्टमा आशा राखेका छौं भने हामी सबै मानिसहरूभन्दा बढी दयनीय छौं।

20 तर अब मर्नेहरूमा पहिलो फल भएर ख्रीष्ट मृतकबाट पुनर्जीवित हुनुभएको छ।

21 किनकि मृत्यु एक जना मानिसबाट आयो भने मृतकहरूको पुनरुत्थान पनि एकै जना मानिसबाट आयो।

22 किनकि जसरी आदममा सबै मर्दछन्, त्यसरी नै ख्रीष्टमा सबै जीवित पारिनेछन्।

23 तर सबै आ-आफ्‍‌नो पालोमा, अर्थात् ख्रीष्ट पहिलो फल, त्यसपछि उहाँ आउनुभएपछि उहाँका जति सबै,

24 तब अन्त्य आउनेछ, जब उहाँले हरेक प्रभुत्व, अधिकार र शक्तिलाई नाश गरेर आफ्‍‌ना पितालाई राज्य सुम्पिदिनुहुनेछ।

25 किनकि ख्रीष्टले आफ्‍‌ना सारा शत्रुलाई आफ्‍‌ना खुट्टामुनि नपारून्जेल उहाँले राज्य गर्नैपर्छ।

26 सबैभन्दा पछि नष्ट पारिने शत्रु, मृत्यु हो।

27 ‘‘किनभने परमेश्वरले उहाँलाई सबै थोक आफ्‍‌नो खुट्टामुनि राख्‍‌ने अख्तियार दिनुभएको छ।’’ तर यो स्पष्ट छ कि ‘सबै थोकमाथि उहाँको अधीनता’ भन्‍‌नाले परमेश्वर आफै पनि त्यस अधीनतामुनि हुनुहुन्छ भन्‍‌ने बुझ्‍‌नु हुँदैन, किनभने उहाँले नै सबै थोक ख्रीष्टको अधीनमा राखिदिनुभएको हो।

28 जब पुत्रले सबै कुरा आफ्‍‌नो अधीनमा ल्याउनुहुन्छ, तब उहाँले आफैलाई पिताको अधीनमा सुम्पिदिनुहुनेछ, जसले सबै थोक उहाँको अधीनतामा राख्‍‌नुहुन्छ, यसैले कि पिता परमेश्वर नै सबै थोकमाथि सर्वेसर्वा होऊन्।

29 यदि मृतकहरू पुनर्जीवित भई उठ्दैनन् भने मृतकहरूका निम्ति बप्तिस्मा लिएकाहरूले के गर्छन्? मृतकहरू कुनै दिन जीवित नपारिने भए त तिनीहरूले किन त्यो विधि अप्‍‌नाएका होलान्?

30 त्यसो भए, हामी किन हरघडी जोखिममा परिरहेका छौं?

31 हाम्रा प्रभु येशू ख्रीष्टमा तिमीहरूका निम्ति मलाई जो गर्व छ, त्यसैको आधारमा म दृढतापूर्वक भन्दछु, ‘म दिनहुँ मर्छु।’

32 केवल मानिसकै विचारअनुसार मैले एफिससमा भएका जङ्गली जनावरहरूसँग लडेको भए मलाई के लाभ हुन्थ्यो र? मृतकहरू जीवित नहुने भए त, ‘‘हामी खाऔं र पिऔं, किनभने भोलि त हामी मरिहाल्छौं।’’

33 भ्रममा नपर। खराब सङ्गतले राम्रो चरित्रलाई नष्ट पार्छ।

34 होशमा आओ, अब उप्रान्त पाप नगर। किनकि कतिलाई त परमेश्वरको ज्ञान नै छैन। तिमीहरूलाई लज्जित तुल्याउनलाई मैले यो भनेको हुँ।

35 तर कसैले सोध्ला, ‘‘मृतकहरू कसरी पुनर्जीवित पारिनेछन्? अनि तिनीहरू कस्ता शरीर लिएर आउनेछन्?’’

36 हे मूर्ख ! जे तिमी रोप्तछौ, त्यो नमरेसम्म जिउँदो हुँदैन।

37 तिमी जे छर्छौ, त्यो पछि हुने शरीर होइन तर बीउ मात्र छर्छौ, चाहे त्यो गहुँ होस् वा अरु कुनै अन्‍‌न ।

38 तब परमेश्वरले आफ्‍‌नो इच्छाबमोजिम त्यसलाई एउटा शरीर दिनुहुन्छ र हरेक किसिमको बीउलाई त्यसैको शरीर दिनुहुन्छ।

39 सबै शरीर एकै किसिमका हुँदैनन्। मानिसको शरीर एक किसिमको र जीवजन्तुहरूको अर्कै किसिमको, चराहरूको अर्कै किसिमको र माछाहरूको अर्कै किसिमको शरीर हुन्छ।

40 अनि शरीर पनि अलौकिक र लौकिक हुन्छन्। अलौकिक शरीरको तेज एक किसिमको छ र लौकिक शरीरको सौन्दर्य अर्कै किसिमको हुन्छ।

41 सूर्यको तेज एक किसिमको, चन्द्रमाको अर्कै किसिमको र ताराहरूको अर्कै किसिमको तेज हुन्छ, किनभने एउटा तारा अर्को ताराभन्दा तेजमा भिन्‍‌नै हुन्छ।

42 मृतकहरू पुनर्जीवित हुने कुरा पनि त्यस्तै हो। जुन शरीर विनाशमा गाडिन्छ, त्यो अविनाशमा जीवित हुन्छ।

43 त्यो अनादरमा छरिन्छ तर आदरमा जीवित तुल्याइनेछ, त्यो दुर्बलतामा छरिन्छ तर सामर्थ्यमा जीवित तुल्याइनेछ।

44 त्यो प्राकृतिक शरीरमा छरिनेछ तर आत्मिक शरीरमा जीवित तुल्याइनेछ।

45 यसकारण यस्तो लेखिएको छ, ‘‘पहिलो मानिस, आदम जीवित प्राणी भयो ।’’ तर अन्तिम आदम जीवन दिने आत्मा बन्‍‌नुभयो।

46 आत्मिक पहिला आउनुभएन, तर प्राकृतिक आयो अनि त्यसपछि आत्मिक आउनुभयो,

47 पहिलो मानिस आदम पृथ्वीको माटोबाट बनिएको हो। दोस्रो मानिस ख्रीष्ट, स्वर्गबाट आउनुभएको हो।

48 माटोको मानिस जस्तो छ, ती माटोले बनिएकाहरू पनि त्यस्तै हुन्छन्, स्वर्गका मानिस जस्तो हुनुहुन्छ, स्वर्गका पनि त्यस्तै हुन्छन्।

49 जसरी हामीले माटोले बनेको मानिसको रूपधारण गरेका छौं, त्यसरी नै हामी स्वर्गबाट आउनुभएको मानिसको रूपधारण गर्नेछौं।

50 अब भाइहरू हो, म यो भन्दछु रगत र मासु परमेश्वरको राज्यको हकदार हुनसक्तैन, न त विनाश अविनाशको हकदार हुनसक्छ।

51 हेर, म तिमीहरूलाई एउटा रहस्य भन्दछु, हामी सबै सुत्दैनौं तर हामी सबैको परिवर्तन हुनेछ,

52 यो घटना एकै क्षणमा, आँखाको एक झिमिकमा, तुरहीको आखिरीआवाजमा हुनेछ, किनकि तुरही बज्‍‌नेछ, प्रभुमा सुतेकाहरू अविनाशी शरीर लिएरपुनर्जीवित भई उठ्‍‌नेछन् र हामी परिवर्तन हुनेछौं।

53 किनकि यस विनाशीले अविनाशी र यस मरणशील शरीरले अमरत्व धारण गर्नुपर्छ।

54 तर जब यस विनाशीले अविनाशी धारण गरेको र मरणशीलले अमरत्व धारण गरेको हुन्छ, तब लेखिएको यो वचन पूरा हुनेछ-‘‘मृत्यु विजयमा निलियो।’’

55 ‘‘ए मृत्यु, तेरो विजय कहाँ? ए मृत्यु, तेरो खील कहाँ?’’

56 किनकि मृत्युको खील पाप हो र पापको शक्ति व्यवस्था हो।

57 तर परमेश्वरलाई धन्यवाद होस्, जसले हामीलाई हाम्रा प्रभु येशू ख्रीष्टद्वारा विजय दिनुहुन्छ।

58 यसकारण मेरा प्रिय भाइहरू हो, स्थिर र अटल बस। प्रभुको काममा सधैँ जोशिलो भई अघि बढ किनकि तिमीहरू जान्दछौ कि प्रभुमा तिमीहरूको परिश्रम व्यर्थ हुँदैन।




16

1 अब सन्तहरूको निम्ति गलातियाका मण्डलीहरूलाई मैले दिएको आदेशअनुसार तिमीहरूले पनि भेटी उठाइदिनुपर्छ।

2 प्रत्येक हप्ताको पहिलो दिन अर्थात् प्रभुको दिनमा तिमीहरू हरेकले आ-आफ्‍‌नो कमाइअनुसार केही पैसा छुट्ट‍याएर जम्मा गर्दै राख्‍‌नू, यसैले कि म आउँदा सङ्कलन गर्न नपरोस्।

3 अनि म आएपछि तिमीहरूले चाहेका मानिसहरूलाई पत्र दिएर तिमीहरूका भेटी लिई यरूशलेम पठाउनेछु ।

4 तर म पनि जान उचित भए, तिनीहरू मसँग जानेछन्।

5 म्यासिडोनियाको यात्रा गरेपछि म तिमीहरूसँग भेटघाट गर्न आउनेछु, किनभने म म्यासिडोनिया नै भएर जाने योजना बनाइरहेको छु।

6 सायद म तिमीहरूकहाँ केही दिन बस्‍‌नेछु, हुनसक्छ हिउँद पनि बिताउँला। त्यसपछि अर्को ठाउँतिर जाने बेलाको मेरो यात्रामा मलाई बन्दोबस्त मिलाएर पठाउन सक्‍‌नेछौ।

7 यदि प्रभुको इच्छा भयो भने, यसपालि म तिमीहरूकहाँ आउँदा एकक्षण भेट्‍‌ने मात्र होइन तर लामो समयसम्म तिमीहरूसँगै बस्‍‌ने आशा गरेको छु।

8 तर पेन्तिकोसको चाडसम्म म एफिससमा नै बसिरहेको हुनेछु।

9 किनकि मेरोनिम्ति ठूलो र प्रभावकारी सेवाको निम्ति ढोका खोलिएको छ र विरोध गर्नेहरू पनि छन्।

10 तिमोथी तिमीहरूकहाँ आउँदा तिमीहरूसँग बिनाडर रहून्, किनकि तिनले पनि मैले गरेजस्तै प्रभुको काम गरिरहेका छन्।

11 यसकारण कसैले तिनलाई हेला नगरोस्। तर शान्तिसित तिनलाई आफ्‍‌नो यात्रामा पठाइदेऊ र तिनी मकहाँ आऊन्, किनकि भाइहरूको साथमा म तिनलाई पर्खिरहेको छु।

12 अब भाइ अपोल्लसको विषयमा भन्‍‌नुपर्दा, मैले तिनलाई अरु भाइहरूसँग एकसाथ तिमीहरूलाई भेटघाट गर्ने आग्रह गरेँ तर तिनलाई अहिले झट्टै आउने इच्छा भएन । तर मौका पाउनेसाथ तिनी आउनेछन्।

13 सतर्क रहो, आफ्‍‌नो विश्वासमा स्थिर भइरहो। साहसिलो र सामर्थी बन।

14 तिमीहरू जेजति गर्छौ, सबै काम प्रेमसाथ गर।

15 भाइहरू हो, तिमीहरूलाई थाहा छ कि स्तिफनस र तिनको परिवार ग्रीसको अखैयामा विश्वास गर्नेहरूमा प्रथम हुन् । तिनीहरूले आफ्‍‌नो जीवनलाई पवित्रजनको सेवामा अर्पण गरिसकेका छन्।

16 तिमीहरू यस्ताहरूको अधीनमा बस, साथै हामीसँग काम गर्ने र परिश्रम गर्ने हरेकको अधीनमा बस।

17 स्तिफनस, फोर्टुनाटस र अखाइकस यहाँ आइपुग्दा म आनन्दित भएँ । किनकि तिमीहरूबाटको कमीलाई तिनीहरूले पूरा गरिदिए।

18 किनकि तिनीहरूले मेरो र तिमीहरूको आत्मालाई ताजा पारिदिएका छन्, यसकारण यस्ताहरूलाई आदर गर।

19 एसिया प्रान्तमा रहेका मण्डलीहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्। अक्विला, प्रिस्किला र तिनीहरूको घरमा जम्मा हुने मण्डलीले प्रभुमा तिमीहरूलाई हार्दिक अभिवादन पठाएका छन्।

20 सबै भाइहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्। एकले अर्कोलाई पवित्र चुम्बनले अभिवादन गर।

21 म पावल, आफ्‍‌नै हातले यो अभिवादन लेख्दैछु।

22 यदि कसैले प्रभुलाई प्रेम गर्दैन भने त्यो श्रापित हुन्छ। हे हाम्रा प्रभु, आउनुहोस् !

23 प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूसँग रहोस्।

24 ख्रीष्ट येशूमा मेरो प्रेम तिमीहरू सबैसँग रहोस्। आमेन्।



AMAZING GRACE BIBLE INSTITUTE